Skip to contentSkip to left sidebar Skip to footer

साझेदारी ऐन, २०२०

साझेदारी ऐन, २०२०

लालमोहर र प्रकाशन मिति
२०२०।११।१६
संशोधन गर्ने ऐन
१. न्याय प्रशासन सुधार (चौथो संशोधन) ऐन, २०४३ २०४३।७।२४
२. साझेदारी (पहिलो संशोधन) ऐन, २०४४ २०४४।७।१
३. न्याय प्रशासन ऐन, २०४८ २०४८।२।१६
प्रमाणीकरण र प्रकाशन मिति
४. गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून
संशोधन गर्ने ऐन, २०६६, २०६६।१०।७
५.   केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७२                २०७२।११।१३
६.नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५   २०७५।११।१९
२०२० सालको ऐन नं. ३६
साझेदारी व्यबस्था गर्न बनेको ऐन
प्रस्तावना- सर्बसाधारण जनताको हित तथा सुबिधाका लागि साझेदारी सम्बन्धी कानूनी ब्यबस्था गर्नु बाञ्छनीय भएकोले,
श्री ५ महाराजधिराज बीरेन्द्र बीर बिक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले यो ऐन बनाइबक्सेकोछ ।

परिच्छेद–१ प्रारम्भिक

१. संक्षिप्त नाम, विस्तार र प्रारम्भ -(१) यस ऐनको नाम “साझेदारी ऐन, २०२०” रहेको छ ।
(२)यो ऐन नेपाल ……….. भर हुनेछ ।
(३)यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषा -विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “व्यवसाय” भन्नाले उद्योग वाणिज्य पेशा वा वृत्तिलाई समेत जनाउँछ ।
(ख) “तोकिएको” वा “तोकिएबमोजिम” भन्नाले यस ऐन वा यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिएबमोजिम सम्झनुपर्छ ।
(ग) “उनाउ व्यक्ति” भन्नाले साझेदारी फर्मका सम्बन्धमा साझेदार वाहेकका अरु कुनै व्यक्तिलाई सम्झनुपर्छ ।
(घ) “सूचित आदेश” भन्नाले नेपाल सरकारले नेपाल राजपत्रमा प्रकाशित गरेको कुनै आदेश सम्झनु पर्छ
(ङ)   “सम्बन्धित विभाग” भन्नाले वाणिज्य सम्बन्धी फर्मको विषयको लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग र सो बाहेकका अन्य उद्योगको विषयका लागि उद्योग विभाग सम्झनु पर्छ र सो शब्दले वाणिज्य सम्बन्धी विषय र घरेलु तथा साना उद्योगको विषयको लागि प्रदेश सरकारको वाणिज्य तथा उद्योग हेर्ने विभाग वा कार्यालयलाई समेत जनाउनेछ।
३. साझेदारी भन्नाले -(१) कुनै व्यक्तिहरुले एउटै नाम राखी मुनाफा बण्डा लगाउने गरी सबै साझेदारले प्रत्येक साझेदारका लागि वा कुनै साझेदारले सबै साझेदारका लागि सबै कारोवारमा भाग लिन आपसमा कबुलियत गरी यस ऐन बमोजिम नेपाल सरकारको लगतमा दर्ता गराएको कुनै कारोवारलाई सम्झनु पर्छ ।
(२) कुबलियत गर्ने व्यक्तिहरुलाई एक अर्काको सम्बन्धमा साझेदार र सबै साझेदारलाई सामुहिक रुपले फर्म र जुन एक नामबाट कारोवार चल्दछ त्यसलाई फर्मको नाम भन्नु पर्छ ।
(३) साझेदार बाहेक साझेदारी फर्म व्यक्ति हुदैन ।
४. एका सगोलका कारोवार साझेदारी भन्न नहुने -एकाघर सगोलका अंशियारहरुले कबुलियत गरी साझेदारीमा कारोवार चलाएका रहेनछन भने सगोलको कारोवार यस ऐनको तात्पर्यका लागि साझेदारी मानिने छैन ।

परिच्छेद–२ फर्महरु सम्बन्धित विभागको लगतमा दर्ता गराई प्रमाण दिनु पर्ने

५. सम्बन्धित विभागको लगतमा दर्ता गराउनु पर्ने – साझेदारी खडा भएको ६ महिना भित्र सो साझेदारीलाई यस ऐन बमोजिम सम्बन्धित विभागको लगतमा दर्ता गराउनु पर्छ ।
तर सो बमोजिम दर्ता नभएको अवधिभित्र सो साझेदारीले वा सो साझेदारीका निमित्त गरेको कुनै काम वा कारोवारलाई यस ऐन वमोजिमको कानूनी मान्यता हुने छैन ।
६. दर्ताको दरखास्तमा खुलाउनु पर्ने विषय र दस्तूर – फर्म लगतमा दर्ता गराउन अनुसूची –२ (क) मा तोकिएको दस्तूर सामेल राखी साझेदारहरुको आपसमा कबुलियत भएको भए त्यसको रीतपूर्वकको नक्कल एक प्रति समेत राखी अनुसूची–१ (क) को ढाँचामा देहायको विवरण समेत खुलाई सम्बन्धित विभागमा दरखास्त दिनु  पर्छ ।
(क) फर्मको पूरा नाम,
(ख) फर्मको कारोवार गर्ने मूख्य ठेगाना,
(ग) फर्मले काम गर्न चाहेको चीज वस्तु वा गर्न खोजेको सेवाको छोटकरी वयान सहित फर्मको उद्देश्य,
(घ) साझेदारहरुको पूरा नाम, थर र स्थायी ठेगाना,
(ङ) कुनै साझेदारको अधिकार उपर बन्देज लगाएको भए सो कुरा,
(च) साझेदारको किसिम र प्रत्येक साझेदारले लगाएको पूँजी,
(छ) फर्मको प्रतिनिधित्व गर्ने साझेदार वा साझेदारहरुको नाम,
(ज) नाफा नोक्सान वण्डा लगाउने तरिका,
(झ) नाफा निश्चित गर्ने तरिका,
(ञ) सम्बन्धित विभागले खुलाउनु पर्ने भनी तोकिदिएको अरु कुनै विषयहरु ।
७. फर्मको नाम – पहिले रजिष्ट्रेशन भैराखेको अरु फर्मको नाम र कम्पनी ऐन अन्तर्गत रजिष्ट्रेशन भैराखेको लिमिटेड कम्पनीको नाम मिल्ने गरी फर्मको नाम राख्नु हुँदैन ।
८. फर्म दर्ताको निस्सा – दफा ६ र ७ को शर्तहरु बमोजिम छ भने यस ऐनबमोजिम सम्वन्धित विभागको लगत किताबमा फर्मको नाम दर्ता भैसकेपछि साझेदारको नाममा सम्वन्धित विभागबाट अनुसूची ३ (क) को ढाँचाको निस्सा (प्रमाणपत्र) दिइनेछ ।
९. अघिको फर्म दर्ता गराउन नपर्ने – प्राईभेट फर्म रजिष्ट्रेशन ऐन, २०१४ अन्तर्गत रजिष्ट्रेशन भई राखेको फर्महरु फेरि यस ऐन अन्तर्गत दर्ता गराउनु पर्दैन । तर दफा ६ मा उल्लेख भएको अनुसूची १ (क) मा तोकिएको विवरण पहिले उल्लेख नभएको रहेछ भने सम्वन्धित विभागबाट मागेमा साझेदारहरुले त्यस्तो विवरण पेश गर्नुपर्छ ।
१०. विवरणमा हेरफेर गर्नु परेमा स्वीकृति लिनु पर्ने- फर्म दर्ता गर्दा दफा ६ बमोजिम पेश गरेको दरखास्त र कबुलियतको विवरणमा कुनै हेरफेर गर्नु परेमा सो कुरा जनाई सम्वन्धित विभागमा दरखास्त दिनु पर्नेछ र सम्वन्धित विभागबाट स्वीकृति प्राप्त भएपछि मात्र सो विवरण हेरफेर गर्न सकिन्छ ।
११. नवीकरण गर्नु पर्ने – यस ऐनबमोजिम दर्ता भएको फर्मको आर्थिक वर्ष भुक्तान भएको पैंतीस दिनभित्र अनुसूची २ (ख) मा तोकिएको दस्तूर साथ अनुसूची १ (ख) को ढाँचाको फारममा सम्वन्धित विभागमा दरखास्त दिनु पर्नेछ । सो म्यादभित्र दस्तूरसाथ दरखास्त परेमा सम्वन्धित विभागले त्यस्तो फर्मको दर्ता लगतमा र दर्ता प्रमाणपत्रमा नवीकरणको व्यहोरा जनाई दिनु  पर्नेछ । नवीकरण नगराई सोही नामबाट कुनै फर्म चलाउनु  हुँदैन ।
११क. सम्वन्धित विभागले विवरण माग गर्न सक्ने – (१) यस ऐन अन्तर्गत दर्ता भएको कुनै फर्मसँग सम्वन्धित विभागले त्यस्तो फर्मको हिसाबको विवरण माग गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम माग गरिएको हिसाबको विवरण सम्वन्धित विभागलाई पेश गर्नु त्यस्तो फर्मको कर्तव्य हुनेछ ।
११ख. फर्म खारेज गर्न सक्ने : (१) देहायको अवस्थामा यस ऐनबमोजिम दर्ता भएको फर्म सम्वन्धित विभागले खारेज गर्न सक्नेछ
(क) वाणिज्य व्यवसायको लागि दर्ता भएको फर्मले तोकिएको अवधिभित्र नवीकरण नगराएमा,
(ख) साझेदारहरुले मुनासिब कारण दर्शाई फर्म खारेज गरी पाउँ भनी सम्वन्धित विभागमा निवदेन दिएमा,
(ग) सम्वन्धित विभागले दफा ११ क बमोजिमको विवरण माग गर्दा सम्वन्धित फर्मले तोकिएको अवधिभित्र सो विवरण पेश नगरेमा,
(घ) उद्योगसम्वन्धी फर्मले कार्य सञ्चालन गरी सम्वन्धित विभागलाई जानकारी दिई वा नदिई उद्योग बन्द गरेमा,
(ङ) उद्योगसम्वन्धी फर्मले नवीकरण गर्ने म्याद समाप्त भएको मितिले तोकिएको अवधिभित्र नवीकरण नगराएमा वा नवीकरण गराएर पनि इजाजतको शर्त अनुसार उद्योग स्थापना र सञ्चालनको गर्नको लागि कारखाना निर्माण, मेशिनरी औजार, उपकरणको खरीद वा उद्योग सञ्चालनको लागि आवश्यक कार्य गरेको लिखित प्रगति विवरण सम्वन्धित विभागमा नदिएमा, वा
(च) फर्मले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको विपरीत हुने गरी अन्य कुनै काम गरेमा ।
(२) उपदफा (१) को खण्ड (क), (ग), (घ), (ङ) वा (च) बमोजिम सम्वन्धित विभागबाट फर्म खारेज गर्नु अघि सम्वन्धित फर्मलाई सबूद पेश गर्ने उचित अवसर दिनु पर्नेछ ।
(३) उपदफा (१) को खण्ड (क), (ग), (घ), (ङ) वा (च) बमोजिम सम्वन्धित विभागबाट फर्म खारेज भएमा त्यसरी खारेज भएको फर्मका साझेदारहरुको नाममा एक वर्षसम्म सोही उद्देश्य भएको अर्को फर्म दर्ता गरिने छैन ।
११ग.   प्रदेशमा साझेदारीको दर्ताः प्रदेशस्तरमा साझेदारीको दर्ता, नवीकरण तथा तत् सम्बन्धी अन्य व्यवस्था यस ऐनको अधीनमा रही प्रदेश कानूनमा व्यवस्था भए बमोजिम हुनेछ।

परिच्छेद ३ साझेदारको पारस्परिक सम्बन्ध

१२. साझेदारको आपसी सम्वन्ध – (१) साझेदारहरुको आपसमा भएको कबुलियतद्वारा साझेदारीमा हक र दायित्व कायम हुन्छ । यस्तो कबुलियत आपसको व्यवहारबाट अंकित भएको वा लिखित रुपमा पनि हुन सक्छ ।
(२) साझेदारीको कबुलियत भएकोमा सो कबुलियतमा लेखिए बमोजिम र सो नभएकोमा यस ऐनका दफा १३ देखि २६ सम्मको दफाहरु साझेदारीलाई लागू गर्नुपर्छ ।
१३. साझेदारीमा रहेको जायज्येथा – साझेदारीको जम्मा जायज्येथा देहाय बमोजिम हुनेछ –
(क) साझा कारोबार शुरु हुँदा त्यसको लागि जम्मा गरिएको सबै जायज्येथा,
(ख) साझेदारीको लागि वा त्यसका निमित्त वा त्यसका प्रयोजनमा प्राप्त गरेको जायज्येथा,
(ग) साझेदारीले कारोबार गरी कमाएको धन, र
(घ) साझेदारीमा चलाएको कारोबारबाट प्राप्त हुन आएको ख्याति (गुड वील) ।
स्पष्टीकरण – प्रसङ्गबाट अन्य इरादा देखिएकोमा बाहेक फर्मको धन हाली प्राप्त गरेको सबै सम्पत्ति र हकहरु फर्मको निमित्त प्राप्त गरेको मानिनेछ ।
१४. साझेदारी जायज्येथाको प्रयोग – साझेदारी कारोबारको प्रयोगमा बाहेक साझेदारी धनमाल साझेदारीहरुले अरु काममा लगाउन र लगाउन दिन हुँदैन ।
१५. पूँजी थप्न कर नलाग्ने – अरु साझेदारले माग गरे पनि साझेदारी कबुलियतमा तोकेको अंक भन्दा बढी पूँजी थप्न कुनै साझेदारलाई कर लाग्दैन ।
१६. साटोमा राख्न नपाउने – साझेदार कसैले पनि अन्य साझेदारको मञ्जुरी बेगर अरु कुनै व्यक्तिलाई आफ्नो सट्टामा साझेदार गराउन र राख्न पाउँदैन ।
१७. साझेदारले कममा भाग लिन पाउने – (१) कबुलियतद्वारा साझेदारी कारोबारको बन्दोबस्तमा भाग लिन नपाउने साझेदारले बाहेक
अन्य साझेदारले बिरोध नगरेसम्म प्रत्येक साझेदारले साझा कारोबारको बन्दोबस्तमा भाग लिन पाउँछ ।
तर, सबै साझेदारको मञ्जुरी बेगर साझा कारोबारसँग सम्वन्ध नभएको अरु काम साझेदारीको नामबाट गर्न भने हुँदैन ।
(२) साझेदारीको सबै वा कुनै काम सबै साझेदारले वा सो मध्ये कुनै दुई वा दुई भन्दा बढी साझेदारहरुले संयुक्त रुपमा गर्ने कबुलियत भएकोमा कुनै मनासिब माफिकको कारण परी कबुलियतबमोजिम यस्ता सबै साझेदारहरुले सो काम गर्न नभ्याउने भएमा निजहरुले आफू मध्ये कसैलाई सो काम गर्न अधिकृत गर्न सक्नेछन् ।
१८. श्रेस्ता हेर्न नक्कल लिन पाउने – साझेदारीको हिसाब किताब श्रेस्ता हेर्न चाहेमा हरेक साझेदारले हेर्न पाउनेछन् र नक्कल लिन चाहेमा सो श्रेस्ता जिम्मा लिने साझेदारले सक्कल बमोजिमको नक्कल उतारी आफ्नो सहिछाप गरी दिनुपर्छ ।
१९. पारिश्रमिक र ब्याज – (१) साझा कामको बन्दोबस्त गरे बापतको पारिश्रमिक कबुलियतद्वारा तोकिएबमोजिम हरेक साझेदारले पाउनेछन् र निजले कबूल गरे भन्दा बढी पूँजी लगाएको भए दश प्रतिशतमा नबढाई लिखत बमोजिमको ब्याज पनि पाउँछ ।
(२) कुनै साझेदारले जानी जानी लापरवाही गरी हानी नोक्सानी गरे पारेमा त्यसको बिगो निजले तिर्नुपर्छ ।
२०. साझेदारले आर्जेको मुनाफा फर्मको हुने – फर्मको कुनै करोबारको सिलसिलामा वा फर्मको धनमालको उपयोग गरी वा फर्मको कारोबारको सम्वन्धबाट वा फर्मको नाममा कुनै साझेदारले नाफा बनाएमा सो नाफा र त्यसको हिसाब समेत फर्मलाई बुझाउनु पर्छ ।
२१. साझेदारले बुझाएको रकम हिसाबमा देखाउनु पर्ने – दफा १९ र २० बमोजिम कुनै साझेदारले तिरे बुझाएमा सो रकम फर्मको आर्थिक वर्षको नाफा नोक्सानको हिसाब श्रेस्तामा स्पष्ट देखाउनु पर्छ ।
२२. नाफा नोक्सानको बाँडफाँड – (१) साझेदारहरुमा नाफा नोक्सानको हिसाब गरी बाँडफाँड गर्दा कबुलियतमा व्यवस्था, भएकोमा सोही बमोजिम र नभएकोमा बराबर दरले बण्डा लगाइनेछ ।
(२) कुनै साझेदारले साझेदारी खडा गर्दा लगाएको पूँजीमा ब्याज दिने लिने कबुलियत भए सो ब्याज मुनाफाबाट मात्र तिर्न पर्छ ।
२३. मुनाफा पाउन नसक्ने – कुनै साझेदारले आफ्नो भागको बुझाउन पर्ने पूँजी फर्मलाई तिरी बुझाइ सकेको रहेनछ भने सो बुझाउन पर्ने बाँकी अंक चुक्ता भर्ना नभएसम्म निजले पाउन पर्ने मुनाफा पाउन सक्नेछैन ।

परिच्छेद ४ फर्म र उनाउ व्यक्तिको सम्वन्ध

२४. साझेदारले काम गर्न हुने – दफा १७ मा उल्लेखित कबुलियतका अधीनमा रही प्रत्येक साझेदारले फर्मको प्रतिनिधित्व गर्न हुन्छ र फर्मको कारोबार चलाउनलाई साझेदारले गरेको कामबाट फर्म बाध्य हुनेछ । कुनै साझेदारले फर्मको काम कारवाईको सिलसिलामा जालसाज गरेमा अरु साझेदारको उजूर पर्न आए अधिकार प्राप्त अदालतले यस्तो साझेदारलाई फर्मको प्रतिनिधित्व गर्नबाट बाहेक गरी दिन हुन्छ ।
२५. साझेदारले गरेको कारवाईमा फर्म बाध्य हुने – साझेदारले कबुलियतद्वारा साझेदारीको प्रतिनिधित्व गर्ने विषयमा बन्देज लगाउन हुन्छ । यस्तो बन्देजी कबुलियतमा जेसुकै लेखिएको भए पनि फर्मसँग कारोबार गर्ने उनाउ व्यक्तिलाई सो बन्देजको थाहा रहेनछ भने हरेक साझेदारले फर्मको निमित्त गरेको कारवाईले फर्म बाध्य हुनेछ ।
२६. जवाफदेही हुने – आफू साझेदार छँदा फर्मको निमित्त गरिएका सबै काम उपर संयुक्त वा व्यक्तिगत रुपमा प्रत्येक साझेदार जवाफदेही हुनेछ ।
२७. नयाँ साझदार जवाफदेही नहुने – (१) आफू साझेदार हुनुभन्दा अगाडि भएको गरेको साझेदारी कामको हकमा नयाँ हुने साझेदार जवाफदेही हुनेछैन ।
(२) साझेदारीबाट अलग हुने साझेदारलाई फर्मको अघिको काममा उनाउ व्यक्ति प्रतिको जवाफदेहीबाट सो उनाउ व्यक्तिसँगको कबुलियतद्वारा र साझेदारी कायम रहेका बाँकी साझेदारहरुको मञ्जूरीले मात्र फूर्सत हुन सक्नेछ ।
(३) उनाउ व्यक्तिलाई कुनै साझेदार साझेदारीबाट अलग हुने भएको छ भन्ने थाहा भएमा अलग हुने साझेदार आफू अलग भईसकेपछि अरु साझेदारले फर्मको नामबाट गरे भएका काम प्रति निजको जवाफदेही हुने छैन ।
२८. साझेदारले आफ्नो हक बिक्री इत्यादि गर्ने : कुनै साझेदारले फर्ममा रहेको आफ्नो सबै हक अरु कसैलाई बिक्री गरी वा बन्धक राखी वा अरु कुनै प्रकारले दिएमा सो साझेदारले सो अवधिभित्र साझेदारी कारोबारबाट पाउने मुनाफा वा अन्य कुनै रकममा सो व्यक्तिले दाबी गर्न सक्नेछ ।
तर–
(क) त्यस्तो व्यक्ति सो फर्मको साझेदार मानिने छैन, र
(ख) सबै साझेदारीहरुको मञ्जूरी बेगर निजलाई सो फर्मको हिसाब किताब जाँच्ने अधिकार हुने छैन ।

परिच्छेद ५, साझेदारीको बिघटन

२९. साझेदारी बिघटन हुने – सबै साझेदारका मञ्जूरीले वा निजहरुका बीचमा भएका कबुलियतबमोजिम साझेदारी बिघटन हुन सक्नेछ ।
३०. लिखित सूचनाद्वारा बिघटन हुने – कुनै साझेदारी अनिश्चित समयको निमित्त चलाईएको छ भने जुनसुकै समयमा जुनसुकै साझेदारले अरु साझेदारहरुलाई लिखित सूचना दिई साझेदारी बिघटन गराउन सक्नेछ । साझेदारहरुको बीचमा अन्यथा मञ्जूरी नभएको भए त्यस्तो सूचनामा लेखिएको मितिदेखि वा मिति नतोकिएको भए सूचना तामेल भएको मितिदेखि साझेदारी बिघटन भएको मानिनेछ ।
३१. जुनसुकै बखत साझेदारी बिघटन हुन सक्ने – साझेदारहरुमा जुनसुकै व्यहोराको कबुलियत भएको भए पनि कुनै साझेदारले बिशेष कारणबश र खासगरी देहायका परिस्थितिमा साझेदारी बिघटन गराउन सक्नेछ –
(क) कुनै साझेदार आफूले गरेको कबुलियत बमोजिमको साझेदारी कार्यभार सम्हाल्न असमर्थ भएमा, वा
(ख) अर्को साझेदारले फर्मलाई तिर्न बुझाउन पर्ने रकम नतिरेमा वा आफूले साझेदारीको हिस्सा अरु साझेदारको मञ्जूरी बेगर कसैलाई हक छाडी दिएमा, वा
(ग) अर्को साझेदारको हक अदालतबाट भरी भराउमा परेमा, वा
(घ) अर्को साझेदारले फर्मको काम कारवाईमा जालसाज वा असाध्य लापरवाही गरेमा, वा
(ङ) अर्को साझेदारले कैदको सजाय पाएमा ।
३२. कार्यकाल पछि स्वतः बिघटन हुने – साझेदारहरुमा आपसमा भएका कबुलियतको अधीनमा रही कुनै साझेदारी सीमित कालको लागि खडा भएकोमा सो अवधि नाघेपछि वा कुनै एक वा एक भन्दा बढी कामको निमित्त खडा भएकोमा सो काम पूरा भएपछि साझेदारी स्वतः बिघटन   हुनेछ ।
३३. साझेदारी तुरुन्त बिघटन हुने – कुनै साझेदार मरेमा वा साहुको ऋण तिर्न नसक्ने भई दामासाहीमा परेमा साझेदारी तुरुन्त बिघटन हुनेछ ।
३४. उनाउ व्यक्ति प्रतिको दायित्व पूरा गर्नु पर्ने – साझेदारी बिघटन भएको प्रचार प्रकाश नगरिएको वा त्यस्ता विघटनको थाहा जानकारी फर्मसँग सम्वन्धित उनाउ व्यक्तिलाई नभएमा साझेदारी विघटन भएपनि फर्मको नाममा गरेको काम कारवाईबाट उनाउ व्यक्ति प्रतिको दायित्व सबै साझेदारले पूरा गर्नुपर्छ ।
तर, मरेका वा दामासाहीमा परेका साझेदारको ज्येथाबाट निज मरेका वा दामासाहीमा परेका मिति पछिको काम कारवाई बापत तिर्न पर्ने छैन ।
३५. वारेसद्वारा भाग लिन हुने – दफा ३२ को अधिनमा रही हरेक साझेदारले आफू वा आफ्नो वारेसद्वारा साझेदारी विघटनमा भाग लिन हुन्छ ।
३६. बिघटन भएपछि पनि कायम रहने – फर्मको विघटनको काम टुँग्याउनलाई जो चाहिने काम कारवाई र विघटन हुनु पहिले शुरु गरेको अपूरो काम पूरा गर्नलाई साझेदारी विघटन भैसकेपछि पनि फर्मलाई बाध्य गर्न र साझेदारहरुको आपसको हक दायित्व निश्चित गर्ने अधिकार साबिक बमोजिम कायम रहनेछ ।
३७. फर्मको हिसाब फस्र्याउने – साझेदारहरुको बीचमा भएको कबुलियत र दफा ३२ को अधीनमा रही बिघटन भएका फर्मको हिसाब फछ्यौट गर्दा देहाय बमोजिम गर्नुपर्छ –
(क) फर्मको हितमा बाधा नपर्ने गरी फर्मको जायज्येथाको नगदमा परिणत गर्ने,
(ख) पूँजी घटेको समेतको नोक्सानी सबभन्दा पहिले मुनाफाबाट र त्यसबाट नपुगे पूँजीबाट र त्यसबाट पनि नपुगे प्रत्येक साझेदारका घर घरानाबाट भर्ना  गर्नुपर्छ ।
(ग) पूँजीको कमी भर्ना गर्न लगायत फर्मको ज्येथा देहायका क्रम र तरीकाबाट उपयोग गर्नुपर्छ ः
(१) फर्मले उनाउ व्यक्तिहरुलाई तिर्नपर्ने ऋण,
(२) पूँजी बाहेकको साझेदारले दिएका थप कर्जाको दामासाहीले,
(३) साझेदारले बुझाएका पूँजीको दामासाही, र
(४) शेष बाँकी ज्येथाबाट साझेदारहरुको भाग हिस्साबमोजिम मुनाफा बाँड्नमा ।
३८. जायज्येथा भाग नलाग्ने – साझेदारका बीचमा कबुलियत भएको भएपनि फर्मको ऋण भुक्तान नगरी साझेदारमा बण्डा गर्न हुँदैन ।
३९. लिक्विडेटर नियुक्ती गर्ने – फर्मको हिसाब किताब फछ्यौट गर्न नचाहिदो सुस्ती भयो भन्ने सबूद प्रमाण सहित कुनै साझेदारले उजूर गरेमा सम्वन्धित विभागले फर्म बिघटन गर्ने कार्य गर्न एक वा बढी लिक्विडेटर नियुक्त गर्न सक्नेछ । लिक्विडेटर वा लिक्विडेटरहरुले साझेदारी कबुलियत र यो ऐनबमोजिम बिघटनको कार्य र हिसाब किताबको फछ्यौट गर्नुपर्छ । लिक्विडेटरहरुको काम कारवाई सम्वन्धित विभागको नियन्त्रणमा रहनेछ ।
४०. पुनरावेदन गर्न सक्ने – सम्वन्धित विभागले गरेको निर्णय उपर चित्त नबुझ्ने साझेदारले त्यसको सूचना पाएको पैंतीस दिनभित्र सम्वन्धित विभाग उपर -उच्च अदालतमा पुनरावेदन गर्न  सक्नेछ ।

परिच्छेद ६, विविध विषय

४१. दण्ड सजाय – देहायका कलममा सम्वन्धित विभागको आदेशले देहाय बमोजिमको सजाय हुन सक्नेछ
(क) दफा ५ को बर्खिलाप कुनै साझेदारी दर्ता नगराई कारोबार गरेमा प्रत्येक साझेदारलाई रु. ५०/” पचास रुपैयाँसम्म जरिवाना,
(ख) दफा ६ बमोजिम दरखास्तमा झुटो व्यहोरा लेखेको देखिएमा सो बमोजिम दर्ता भएको फर्मको प्रत्येक साझेदारलाई रु. १०0/– एक सयसम्म,
(ग) दफा १० बमोजिम दिन पर्ने सूचना नदिने फर्मलाई रु. १००/– एक सयसम्म,
(घ) दफा ११ को बर्खिलाप गरेमा प्रत्येक साझेदारलाई रु. ५०/– पचास रुपैयाँसम्म जरिवाना ।
४२ पुनरावेदन गर्ने – दफा ४१ का खण्डहरु बमोजिमको सजाय सम्वन्धित विभागबाट गरेकोमा चित्त नबुझ्नेले सो गरे भएको सूचना पाएका पैंतीस दिनभित्र सम्वन्धित विभाग उपर उच्च अदालतमा पुनरावेदन गर्न  सक्नेछ ।
४२क. अनुसूची हेरफेर गर्न सक्ने : नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी अनुसूची हेरफेर गर्न सक्नेछ ।
४३. यो ऐनबमोजिम हुने – यो ऐनमा लेखिएको कुरामा सोही बमोजिम र अरुमा प्रचलित नेपाल कानून बमोजिम गर्नुपर्छ ।
४४. नियम बनाउने अधिकार : यस ऐनको उद्देश्य कार्यान्वित गर्न नेपाल सरकारले नियमहरु बनाउन सक्नेछ ।

अनुसूची १ (क) फर्म दर्ताको निमित्त दिने दरखास्तको ढाँचा

श्रीमान् महा–निर्देशकज्यू,
उद्योग/वाणिज्य मन्त्रालय,
उद्योग/घरेलु तथा साना उद्योग/वाणिज्य विभाग,
काठमाण्डौं, नेपाल ।
महोदय,
हामीहरुले साझेदारी फर्म खोली तपसीलमा लेखिए बमोजिमको व्यवसाय चलाउन मञ्जूर गरेकोले मञ्जूरीको कागत समेत सामेल राखी निवेदन गर्न आएको छौं । लाग्ने सरकारी दस्तूर लिई तल लेखिएको नामको फर्म हामीहरुका नाममा दर्ता गरी पाऊँ । लेखिएको व्यहोरामा कुनै कुरा झुटा ठहरे कानूनबमोजिम सहुँला  बुझाउँला ।
                                                                तपसील
                                                     १. हिस्साको अंक
                                                     २. साझेदारहरुको तीन पुस्ता नाम, थर र वतन ।
साक्षी
दरखास्तवालाको माथि लेखिए बमोजिमको
नाम, थर, वतन ठीक दुरुस्त छ भनी सनाखत गर्ने
                                                                                                                                                                               भवदीय,
                                                                                                                                                            दरखास्तवालाको सहीछाप

अनुसूची १ (ख) फर्म नवीकरण गर्नको निमित्त दिने दरखास्तको ढाँचा

                                                                                                                                                                     मिति – ………………….
श्रीमान् महानिर्देशकज्यू,
उद्योग/वाणिज्य मन्त्रालय,
उद्योग/घरेलु तथा ग्रामीण उद्योग/बाणिज्य विभाग,
काठमाण्डौं, नेपाल ।
महोदय,
यस फर्मले ………… …………………………………………….. व्यवसाय चलाउन त्यस विभागबाट ………………………. मा दर्ता नं. …………………… को प्रमाण पत्र पाएकोले त्यसको नवीकरणको निमित्त दरखास्त गरेका छौं । सो प्रमाण पत्र नवीकरण गरी दिन अनुरोध गर्दछौं ।
                                                                                                                                                                              भवदीय,
                                                                                                                                                       साझेदारमा मुख्यको सहिछाप
                                                                                                                                                               (फर्मको नाम)

अनुसूची २ (क) फर्मको दर्ता दस्तुर

देहायको पूँजी भएको साझेदारी फर्म रजिष्ट्रेशन गर्दा देहाय बमोजिको रजिष्ट्रेशन दस्तूर लाग्नेछ –
(क) एक लाख रुपैयाँ सम्म                                                                                                                      छ सय रुपैयाँ ।
(ख) एक लाख रुपैयाँ भन्दा बढी तीन लाख रुपैयाँ सम्म                                                                             दुई हजार रुपैयाँ ।
(ग) तीन लाख रुपैयाँ भन्दा बढी पाँच लाख रुपैयाँ सम्म                                                                             चार हजार रुपैयाँ ।
(घ) पाँच लाख रुपैयाँ भन्दा बढी दश लाख रुपैयाँ सम्म                                                                              सात हजार रुपैयाँ ।
(ङ) दश लाख रुपैयाँ भन्दा बढी पचास लाख रुपैयाँ सम्म                                                                            दश हजार रुपैयाँ ।
(च) पचास लाख रुपैयाँ भन्दा बढी जतिसुकै भएपनि                                                                                पन्ध्र हजार रुपैयाँ ।

अनुसूची २ (ख) फर्मको नवीकरण दस्तुर

(क) एक लाख रुपैयाँ सम्म पूँजी भएको फर्मलाई                                                                                         एक सय रुपैयाँ ।
(ख) एक लाख रुपैयाँ भन्दा बढी तीन लाख रुपैयाँ सम्म
पूँजी भएको फर्मलाई                                                                                                                                 एक सय पच्चीस रुपैयाँ ।
(ग) तीन लाख रुपैयाँ भन्दा बढी पाँच लाख रुपैयाँ सम्म
पूँजी भएको फर्मलाई                                                                                                                                 एक सय पचास रुपैयाँ ।
(घ)पाँच लाख रुपैयाँ भन्दा बढी दश लाख रुपैयाँ सम्म
 पूँजी भएको फर्मलाई                                                                                                                                 दुई सय रुपैयाँ ।
(ङ) दश लाख रुपैयाँ भन्दा बढी पचास लाख रुपैयाँ सम्म
पूँजी भएको फर्मलाई                                                                                                                                  दुई सय पचास रुपैयाँ ।
(च) पचास लाख रुपैयाँ भन्दा बढी जतिसुकै
भएपनि पूँजी भएको फर्मलाई                                                                                                                     तीन सय रुपैयाँ ।