३. विद्युत वितरक : देहाय बमोजिमको विद्युतको हकमा देहाय बमोजिमको व्यक्ति वा संस्थालाई विद्युत वितरक मानिनेछ ः–
(क) विद्युत ऐन, २०४९ को दफा ४ बमोजिम विद्युत उत्पादन तथा बिक्री वितरण गर्ने अनुमतिपत्र प्राप्त गरी राष्ट्रिय ग्रीड प्रयोग गरी वा नगरी बिक्री वितरण गरेको विद्युतको हकमा अनुमति पत्र प्राप्त व्यक्ति,
(ख) विद्युत ऐन, २०४९ को दफा २१ बमोजिम नेपाल सरकारले खरीद गरी राष्ट्रिय ग्रीडमा समावेश गराई बिक्री वितरण गरिने विद्युतको हकमा नेपाल सरकार र अन्य कुनै संस्था मार्फत खरीद गराई बिक्री वितरण गरेको विद्युतको हकमा त्यसरी खरीद गर्ने संस्था,
(ग) विद्युत ऐन, २०४९ को दफा २२ को उपदफा (१) बमोजिम नेपाल…………….. भित्र आयात गरी बिक्री वितरण गरेको विद्युतको हकमा सम्बन्धित आयातकर्ता,
(घ) विद्युत ऐन, २०४९ को दफा ३४ बमोजिम नेपाल सरकार आफैंले उत्पादन तथा विकास गरी बिक्री वितरण गर्ने विद्युतको हकमा नेपाल सरकार,
(ङ) विद्युत ऐन, २०४९ को दफा ३५ बमोजिम नेपाल सरकारसंग विद्युत बिक्री वितरण सम्बन्धमा करार गरी बिक्री वितरण गरेको विद्युतको हकमा त्यस्तो करार गर्ने व्यक्ति वा संस्था,
(च) एउटा वितरकको वितरण प्रणाली प्रयोग गरी एउटा प्वाइन्टबाट व्हिलिङ्ग गरी अर्को प्वाइन्टमा विद्युत प्राप्त गरी बिक्री वितरण गर्ने विद्युतको हकमा त्यसरी पछिल्लो प्वाइन्टमा विद्युत प्राप्त गर्ने व्यक्ति वा संस्था,
४. वितरकको दायित्व : आफ्ना उपभोक्ताहरुको हितलाई सर्वोपरी राखी काम गर्नु वितरक संस्था र त्यसका कर्मचारीहरुको कर्तव्य हुनेछ । सो सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ र उपभोक्ताहरुको हकको उल्लङ्घन भएमा तोकिए बमोजिमको क्षतिपूर्तिको व्यवस्था गरिनेछ ।
५. आचार संहिता : वितरक संस्था र आफ्ना कर्मचारीहरुको हकमा यो ऐन प्रारम्भ भएपछि एक आचार संहिता तयार गरी लागू गरिनेछ । यसको उल्लङ्घनकर्ता फौजदारी अभियोग सरह सजायको भागिदार हुनेछ र यस सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।
६. विद्युत चोरी गर्न नहुने : कुनै पनि व्यक्तिले विद्युत चोरी गर्न गराउन वा त्यस्तो कार्य गर्न कसैलाई मद्दत गर्न हुँदैन ।
७. कसूर गरेको मानिने : (१) कुनै पनि व्यक्तिले देहाय बमोजिमको कुनै कार्य गरेमा विद्युत चोरीको कसूर गरेको मानिनछ ः–
(क) उर्जामापक यन्त्रमार्फत बाहेक विद्युतको अन्य लाइनबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा विद्युतको लाइन तानेमा वा जडान गरेमा,
(ख) वितरकको स्वीकृति विना सडक बत्ती वा अन्य प्रयोजनको लागि विद्युतको लाइनबाट विद्युतको लाइन तानेमा वा जडाज गरेमा,
(ग) उर्जामापक यन्त्र मार्फत घर वा भवनमा विद्युतको आपूर्ति गर्न निर्धारित प्रविधि बाहेकको अन्य प्रविधि अपनाएमा,
(घ) एउटा उर्जामापक यन्त्रको पोलारिटी उल्टो पारी त्यसबाट फेज र अर्को उर्जामापक यन्त्र वा अर्थबाट न्यूट्रल लाइन लिएमा,
(ङ) उर्जामापक यन्त्रमा कुनै पदार्थ घुसाएमा वा अन्य कुनै तरिकाबाट उर्जामापक यन्त्रको डिस्कको सामान्य परिचालनमा अवरोध खडा गरेमा,
(च) टर्मिनल लिङ्क खोलेमा,
(छ) वितरकको तर्फबाट उर्जामापक यन्त्रमा लगाइएको टर्मिनल वा टेष्ट सिल तोडेमा, नासेमा, बिगारेमा वा नक्कली टर्मिनल वा टेष्ट सिल प्रयोग गरेमा,
(ज) उर्जामापक यन्त्र तोडी, नासी, बिगारी वा अन्य कुनै किसिमले क्षति पु¥याएमा वा सामान्य परिचालन हुन नसक्ने गरी असक्षम बनाएमा,
(झ) उर्जामापक यन्त्र राख्ने बाकसको सिल नभएको वा भए तापनि वितरकको छाप नलागेको वा वितरकको बाहेक अरु कसैको छाप लगाएको वा त्यस्तो सिल बिगारेको,
(ञ) सी.टी. वा पी.टी. वा दुबैको सिल बिग्रेको, पोलारिटी उल्टो वा फरक भएको वा कनेक्शन छुट्टाइएको,
(ट) खण्ड (क) देखि (ञ) सम्म उल्लिखित अवस्थामा बाहेक विद्युत शक्तिको चोरी गर्ने अन्य कुनै तरिका अपनाएको ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कसूरको अनुसन्धान तथा तहकिकातको सिलसिलामा प्राविधिक जाँचबुझ हुँदा ग्राहक वा उपभोक्ताको तर्फबाट नभई अन्य कुनै प्राविधिक कारण वा भवितव्यबाट उर्जामापक यन्त्र बिग्रिएको देखिएमा कसूर गरेको मानिने छैन ।
८. कसूरको दायित्व निहित रहने : (१) दफा ७ बमोजिमको कसूरको दायित्व सो कसूर सम्बन्धी कार्यमा संलग्न व्यक्ति, सम्बन्धित ग्राहक र त्यस्तो कसूर गर्न मद्दत पु¥याउने व्यक्तिमा निहित रहनेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहाय बमोजिमको घर वा भवनमा भएको कसूरको दायित्व देहाय बमोजिमको व्यक्तिमा निहित रहनेछ ।
(क) संस्था वा कार्यालयले प्रयोग गरेको घर वा भवनमा भएको कसूरको हकमा सम्बन्धित संस्था वा कार्यालयको प्रमुख,
(ख) भाडामा वा अन्य कुनै तरिकाबाट उपभोग गरेको घर वा भवनमा भएको कसूरको हकमा त्यस्तो घर वा भवन प्रयोग गर्ने संस्था, वा कार्यालयको प्रमुख र कुनै व्यक्ति वा परिवारले त्यस्तो घर वा भवन उपभोग गरेको रहेछ भने त्यस्तो व्यक्ति वा परिवारको मुख्य व्यक्ति वा घरधनी,
(ग) संयुक्त आवास वा एकभन्दा बढी संस्था, कार्यालय, व्यक्ति वा परिवार सामूहिक रुपमा बसोवास गरेको घर वा भवनमा भएको कसूरको हकमा त्यस्तो घर वा भवन उपभोग गर्ने संस्था, कार्यालय, व्यक्ति वा परिवारमध्ये कसूरमा संलग्न संस्था वा कार्यालयको प्रमुख वा व्यक्ति वा परिवारको मुख्य व्यक्ति वा घरधनी,
(घ) कुनै घर वा भवनको धनीले बिक्री वा अन्य कुनै व्यहोराबाट हस्तान्तरण गरिसकेको घर वा भवनमा हुन गएको कसूरको हकमा त्यस्तो घर वा भवन उपभोग गर्ने संस्था, कार्यालय, व्यक्ति वा परिवारमध्ये कसूरमा संलग्न संस्था वा कार्यालयको प्रमुख वा व्यक्ति वा परिवारको मुख्य व्यक्ति,
तर कुनै घर वा भवनको धनीले घर वा भवन भाडामा दिएको कुरा प्रमाणित गर्ने भार त्यस्तो घर वा भवनको धनीको हुनेछ । अन्यथा त्यस्तो घर वा भवनमा भएको कसूरको दायित्व घर वा भवनको धनीमा निहित रहनेछ ।
९. विद्युत लाइन काट्न सकिने : देहायको अवस्थामा विद्युत लाइन काट्न सकिनेछ-
(क) निर्धारित समयभित्र विद्युत महसूल नतिरेमा,
(ख) दफा ७ बमोजिमको कसूर गरेको देखिएमा ।
१०. विद्युत चोरीबाट बढ्ता प्रभावित क्षेत्रमा विशेष व्यवस्था लागू गर्न सकिने – नेपाल …………… का विद्युत चोरीबाट बढी प्रभावित कुनै क्षेत्रका हकमा राजपत्रमा सूचना प्रकाशित गरी तोकिएको परिमाणमा मात्र विद्युत प्रवाह हुने गरी ठेक्का वा “कट–आउट प्रणाली” लागू गर्न सकिनेछ ।
११. हानि नोक्सानी तथा क्षतिपूर्ति रकम कसूरदारले तिर्नुपर्ने : (१) कसैले दफा ७ बमोजिमको कसूर गरी हानि नोक्सानी भएमा सो बापतको रकम र सो बराबरको क्षतिपूर्ति रकम कसूरदारले तिर्नु पर्नेछ । यसरी तिर्नुपर्ने रकम तथा क्षतिपूर्ति नतिरेसम्म विद्युत लाइन जोडिने छैन ।
(२) उपदफा (१) बमोजिम एक पटक हानि नोक्सानी तथा क्षतिपूर्ति तिरे बुझाएको व्यक्तिले पुनः सोही कसूर गरेमा प्रत्येक पटक वितरकलाई वास्तविक रुपमा हुन गएको हानि नोक्सानी बापतको रकम र सोको दुई सय प्रतिशत रकम क्षतिपूर्ति बापत कसूरदारले वितरकलाई तिर्नु बुझाउनु पर्नेछ ।
(३) उपदफा (१) र (२) बमोजिम वितरकलाई वास्तविक रुपमा हुन गएको हानि नोक्सानी मूल्याङ्कन गर्ने तरिका र कार्यविधि तोकिए बमोजिम हुनेछ ।