Skip to contentSkip to left sidebar Skip to footer

वस्तु विनिमय बजार सम्बन्धी एेन, २०७४

वस्तु विनिमय बजार सम्बन्धी ऐन, २०७४

वस्तु विनिमय बजारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक

प्रस्तावनाः वस्तु विनिमय बजारको विकास तथा सञ्चालन, लगानीकर्ताको संरक्षण, वस्तुको कारोबार, राफसाफ तथा फस्र्यौट र वेयर हाउस सञ्चालन सम्बन्धी व्यवसायलाई नियमन गर्न वाञ्छनीय भएकोले,

नेपालको संविधानको धारा २९६ को उपधारा (१) बमोजिमको व्यवस्थापिका—संसदले यो ऐन बनाएको छ ।

परिच्छेद — १ प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भः (१) यस ऐनको नाम “वस्तु विनिमय बजार सम्बन्धी ऐन, २०७४” रहेको छ ।
(२) यो ऐन प्रमाणीकरण भएको मितिले एकानब्बेऔं दिनदेखि प्रारम्भ हुनेछ ।

२. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,–

(क) “अदालत” भन्नाले नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको अदालतको वाणिज्य इजलाश सम्झनु पर्छ ।

(ख) “अध्यक्ष” भन्नाले बोर्डको अध्यक्ष सम्झनु पर्छ ।

(ग) “अनुमतिपत्र” भन्नाले दफा ५ बमोजिमको अनुमतिपत्र सम्झनु पर्छ ।

(घ) “कारोबार” भन्नाले वस्तु विनिमय बजारमा हुने वस्तु करारको खरिद, बिक्री, राफसाफ तथा फस्र्यौट, हस्तान्तरण र तत्सम्बन्धी अन्य कार्य सम्झनु पर्छ ।

(ङ) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।

(च) “बोर्ड” भन्नाले धितोपत्र सम्बन्धी प्रचलित कानून बमोजिम स्थापना भएको नेपाल धितोपत्र बोर्ड सम्झनु पर्छ ।

(छ) “राफसाफ तथा फस्र्यौट (क्लियरि· एण्ड सेटलमेन्ट) व्यवसाय” भन्नाले दफा २६ बमोजिम राफसाफ तथा फस्र्यौट सम्बन्धी कारोबार सम्झनु पर्छ ।

(ज) “राफसाफ तथा फस्र्यौट व्यवसायी (क्लियरि· हाउस)” भन्नाले राफसाफ तथा फस्र्यौट सम्बन्धी व्यवसाय गर्ने अनुमतिपत्र प्राप्त संस्था सम्झनु पर्छ ।

(झ) “लगानीकर्ता” भन्नाले वस्तु विनिमय बजारमा वस्तु करार मार्फत वस्तु खरिद गर्ने व्यक्ति सम्झनु पर्छ र सो शब्दले वस्तु बिक्री गर्ने व्यक्तिलाई समेत जनाउँछ ।

(ञ) “वस्तु (कमोडिटिज)” भन्नाले वस्तु विनिमय बजारमा वस्तु करार मार्फत कारोबार हुन सक्ने तोकिए बमोजिमको वस्तु सम्झनु पर्छ ।

(ट) “वस्तु विनिमय बजार” भन्नाले दफा ५ बमोजिम अनुमतिपत्र प्राप्त संगठित संस्था सम्झनु पर्छ ।

(ठ) “वस्तु कारोबार व्यवसाय” भन्नाले दफा १९ को उपदफा (१) बमोजिमको वस्तु कारोबार सम्बन्धी व्यवसाय सम्झनु पर्छ ।

(ड) “वस्तु कारोबार व्यवसायी” भन्नाले वस्तु कारोबार व्यवसाय गर्न अनुमतिपत्र प्राप्त संस्था सम्झनु पर्छ ।

(ढ) “वस्तु करार (डेरिभेटिभ)” भन्नाले खरिदकर्ता तथा बिक्रेताबीच कम्तीमा तीस दिन पछि वस्तु खरिद वा बिक्री गर्र्ने गरी वस्तुको मूल्य, परिमाण, गुणस्तर तथा हस्तान्तरण मिति उल्लेख गरी भएको वस्तु करार सम्झनु पर्छ ।

(ण) “वेयर हाउस” भन्नाले वेयर हाउस सञ्चालन गर्न अनुमतिपत्र प्राप्त संस्था सम्झनु पर्छ ।

(त) “संस्था” भन्नाले प्रचलित कानून बमोजिम संस्थापना भएको कम्पनी वा संगठित संस्था सम्झनु पर्छ ।

(थ) “संगठित संस्था” भन्नाले प्रचलित कम्पनी कानून बमोजिम संस्थापना भएको पब्लिक कम्पनी वा धितोपत्र बजार मार्फत धितोपत्रको सार्वजनिक निष्काशन गर्न सक्ने गरी स्थापना भएको संगठित संस्था सम्झनु पर्छ ।

परिच्छेद – २ अनुमति सम्बन्धी व्यवस्था

३. अनुमतिपत्र प्राप्त नगरी कारोबार गर्न नहुनेः यस ऐन बमोजिम अनुमतिपत्र प्राप्त नगरी कसैले पनि देहायको व्यवसाय सञ्चालन गर्नु हुँदैनः—

(क) वस्तु विनिमय बजार,
(ख) वस्तु कारोबार व्यवसाय,
(ग) राफसाफ तथा फस्र्यौट व्यवसाय, वा
(घ) वेयर हाउस ।

४. अनुमतिपत्र प्राप्त गर्न निवेदन दिनु पर्नेः (१) वस्तु विनिमय बजार सञ्चालन गर्न चाहने संगठित संस्थाले वस्तु विनिमय बजार सञ्चालनको लागि अनुमतिपत्र प्राप्त गर्न तोकिए बमोजिमको विवरण, कागजात तथा निवेदन शुल्कसहित बोर्ड समक्ष तोकिए बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ ।

(२) वस्तु कारोबार, राफसाफ तथा फस्र्यौट व्यवसाय वा वेयर हाउस सञ्चालन गर्न चाहने संस्थाले वस्तु कारोबार, राफसाफ तथा फस्र्यौट व्यवसाय वा वेयर हाउस सञ्चालनको लागि अनुमतिपत्र प्राप्त गर्न तोकिए बमोजिमका विवरण, कागजात तथा निवेदन शुल्कसहित बोर्ड समक्ष तोकिए बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ ।

(३) उपदफा (१) वा (२) बमोजिम निवेदन दिने संगठित संस्था वा संस्थाको योग्यता तोकिए बमोजिम हुनेछ ।

५. अनुमतिपत्र दिन सक्नेः (१) दफा ४ बमोजिम प्राप्त निवेदन र कागजातको अध्ययन गर्दा लगानीकर्ता र सर्वसाधारणको हित हुने कुरामा बोर्ड सन्तुष्ट भएमा वस्तु विनिमय बजारको हकमा एकसय बीस दिनभित्र र वस्तु कारोबार व्यवसाय, राफसाफ तथा फस्र्यौट व्यवसाय वा वेयर हाउस सञ्चालनको हकमा नब्बे दिनभित्र बोर्डले तोकिए बमोजिमको दस्तुर लिई निवेदकलाई तोकिए बमोजिमको ढाँचामा अनुमतिपत्र दिनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिमको निवेदन र कागजातको अध्ययन गर्दा निवेदकसँग थप विवरण वा कागजात माग गर्नुपर्ने वा पेश भएको विवरण वा कागजातका सम्बन्धमा थप स्पष्ट गर्नु पर्ने देखिएमा बोर्डले त्यस्तो विवरण वा कागजात माग गर्न वा पेश भएको विवरण वा कागजातका सम्बन्धमा थप स्पष्ट गर्न बढीमा तीस दिनको अवधि तोकी आदेश दिन सक्नेछ ।

(३) उपदफा (२) बमोजिम आदेश भएमा सम्बन्धित निवेदकले त्यस्तो आदेश बमोजिम विवरण वा कागजात पेश गर्ने वा पेश भएको विवरण वा कागजातमा थप स्पष्ट गर्नु पर्नेछ ।

६. अनुमतिपत्र दिन इन्कार गर्न सकिनेः दफा ५ मा जुनसुकै कुरा लेखिएको भए तापनि बोर्डले मुलुकको अर्थतन्त्र, औद्योगिक व्यवसायको विकास, वस्तु कारोबारको सम्भाव्यता तथा लगानीकर्ताको हित संरक्षणको दृष्टिकोणले उपयुक्त नदेखिएमा अनुमतिपत्र दिन इन्कार गर्न सक्नेछ र त्यसरी इन्कार गर्नाको आधार र कारण उल्लेख गरी यथाशीघ्र लिखित जानकारी निवेदकलाई दिनु पर्नेछ ।

७. शर्तहरु तोक्न सक्नेः अनुमतिपत्र प्रदान गर्दा बोर्डले आवश्यक शर्तहरु तोक्न सक्नेछ र त्यस्तो शर्तहरुको पालना गर्नु अनुमतिपत्र प्राप्त संस्थाको कर्तव्य हुनेछ ।

८. अनुमतिपत्रको अवधि र नवीकरण सम्बन्धी व्यवस्थाः (१) अनुमतिपत्रको अवधि तीन वर्ष बहाल रहनेछ ।

(२) उपदफा (१) बमोजिम अनुमतिपत्रको अवधि समाप्त हुनु भन्दा नब्बे दिन अगावै अनुमतिपत्र नवीकरणका लागि तोकिए बमोजिमको दस्तुर सहित बोर्ड समक्ष तोकिए बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि अनुमतिपत्रको अवधि समाप्त हुनु भन्दा कम्तीमा तीस दिन अगाबै अनुमतिपत्र नवीकरणका लागि लाग्ने दस्तुरको दोब्बर दस्तुर सहित बोर्ड समक्ष तोकिए बमोजिमको ढाँचामा निवेदन दिन सकिनेछ ।

(४) उपदफा (२) वा (३) बमोजिम नवीकरणका लागि निवेदन प्राप्त भएमा बोर्डले निवेदन प्राप्त भएको तीस दिनभित्र नवीकरण गरी त्यसको जानकारी अनुमतिपत्र प्राप्त संस्थालाई दिनु पर्नेछ ।

(५) यस दफा बमोजिम अनुमतिपत्र नवीकरण नभई अनुमतिपत्रको अवधि समाप्त भएमा त्यस्तो संस्थाको अनुमतिपत्र दफा ३५ को उपदफा (१) बमोजिम खारेज हुनेछ र त्यसको जानकारी सम्बन्धितलाई यथाशीघ्र दिनु पर्नेछ ।

९. पूर्वाधार सम्बन्धी व्यवस्थाः (१) अनुमतिपत्र प्राप्त संस्थाले अनुमतिपत्र प्राप्त गरेको मितिले एकसय असी दिनभित्र अनुमतिपत्र बमोजिमको व्यवसाय सञ्चालन गर्न तोकिए बमोजिमको पूर्वाधारको व्यवस्था गर्नु पर्नेछ ।

तर वेयर हाउस सञ्चालनको लागि आवश्यक पर्ने पूर्वाधार बोर्डले तोके बमोजिम हुनेछ ।

(२) उपदफा (१) बमोजिमको अवधिभित्र पूर्वाधारको व्यवस्था गर्न नसकी थप अवधि माग गरेमा बोर्डले बढीमा नब्बे दिनसम्म थप गरिदिन सक्नेछ ।

(३) यस दफा बमोजिम पूर्वाधार व्यवस्था नगरी अनुमति प्राप्त संस्थाले कारोबार सञ्चालन गर्न सक्ने छैन ।

(४) उपदफा (२) बमोजिम थपिएको म्यादभित्र पनि पूर्वाधार व्यवस्था नगरेमा त्यस्तो संस्थाको अनुमतिपत्र दफा ३५ को उपदफा (१) बमोजिम खारेज हुनेछ ।

१०. न्यूनतम चुक्ता पूँजी र आर्थिक स्रोत कायम गरेको हुनु पर्नेः (१) वस्तु विनिमय बजार सञ्चालन गर्ने संगठित संस्थाको न्यूनतम चुक्ता पूँजी पचास करोड रुपैयाँमा नघट्ने गरी बोर्डले समय समयमा तोकिदिए बमोजिम हुनु पर्नेछ ।

(२) वस्तु कारोबार व्यवसाय, राफसाफ तथा फस्र्यौट व्यवसाय वा वेयर हाउस सञ्चालन गर्ने संस्थाको न्यूनतम चुक्ता पूँजी तोकिए बमोजिम हुनेछ ।

परिच्छेद –३ वस्तु विनिमय बजार

११. बोर्डको पूर्व स्वीकृति लिनु पर्नेः (१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि वस्तु विनिमय बजार सञ्चालन गर्ने कम्पनी संस्थापना गर्नु अघि बोर्डको पूर्व स्वीकृति लिनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम स्वीकृति प्रदान गर्ने सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

१२. सञ्चालक सम्बन्धी व्यवस्थाः (१) वस्तु विनिमय बजारमा कम्तीमा दुई जना स्वतन्त्र सञ्चालक सहित बढीमा सात जना सञ्चालक रहनेछन् ।

(२) सञ्चालकको योग्यता देहाय बमोजिम हुनेछः–

(क) अर्थशास्त्र, वाणिज्य शास्त्र, वित्त, लेखा, व्यवस्थापन वा कानून विषयमा मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी उपाधि हासिल गरेको र सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको कार्य अनुभव भएको,
(ख) पैँतीस वर्ष उमेर पूरा गरेको, र
(ग) तोकिए बमोजिमको अयोग्यता नरहेको ।

(३) सञ्चालकको नियुक्ति गर्दा सम्भव भएसम्म उपदफा (२) को खण्ड (क) मा उल्लिखित फरक फरक विधाको प्रतिनिधित्व हुने गरी गर्नु पर्नेछ ।

(४) स्वतन्त्र सञ्चालकको नियुक्ति गर्ने प्रयोजनको लागि वस्तु विनिमय बजारले रिक्त स्वतन्त्र सञ्चालकको संख्याको तेब्बर संख्यामा सम्भाव्य उम्मेदवारको नामावली सिफारिश गरी बोर्ड समक्ष पेश गर्नु पर्नेछ ।

(५) उपदफा (४) बमोजिम पेश भएका सम्भाव्य उम्मेदवारहरु मध्येबाट उपयुक्त उम्मेदवारलाई बोर्डले स्वतन्त्र सञ्चालक नियुक्त गर्नेछ ।

१३. वस्तु विनिमय बजारको शेयर सम्बन्धी व्यवस्थाः (१) कसैले पनि वस्तु विनिमय बजार सञ्चालन गर्ने कम्पनीको चुक्ता पूँजीको पाँच प्रतिशत भन्दा बढी शेयर लिन सक्ने छैन ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि विदेशी पूँजी, सीप तथा प्रविधिको प्रयोग गरी वस्तु विनिमय बजार सञ्चालन गर्ने प्रयोजनको लागि रणनीतिक साझेदारको रुपमा विदेशी लगानीकर्ताले त्यस्तो कम्पनीको चुक्ता पूँजीको बढीमा एकाउन्न प्रतिशतसम्म शेयर लिन सक्नेछ ।

(३) वस्तु विनिमय बजार सञ्चालन गर्ने कम्पनीको रणनीतिक साझेदार तथा शेयर खरिद सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

१४. वस्तु विनिमय बजारको शेयर लिन नसक्ने अवस्थाः (१) देहायकोे व्यक्ति वा संस्थाले वस्तु विनिमय बजारको शेयर खरिद गर्न सक्ने छैनः–

(क) दामासाही सम्बन्धी कारबाहीमा परेको बाह्र वर्ष अवधि व्यतित नभएको,
(ख) अर्को वस्तु विनिमय बजारको शेयरधनी रहेको,
(ग) प्रचलित कानून बमोजिम करार गर्न अयोग्य रहेको,
(घ) प्रचलित कानून बमोजिम कालो सूचीमा रहेको वा त्यस्तो सूचीबाट हटेको तीन वर्षको अवधि पूरा नभएको,
(ङ) प्राकृतिक व्यक्तिको हकमा भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरको अभियोगमा अदालतको अन्तिम फैसलाबाट कसूरदार ठहर भएको,
(च) सरकारी रकम तिर्न बाँकी भएको,
(छ) नैतिक पतन देखिने फौजदारी कसूरमा सजाय पाएको,
(ज) तोकिए बमोजिमको अन्य अवस्थामा रहेको ।

(२) उपदफा (१) बमोजिम शेयर खरिद गर्न नसक्ने व्यक्ति वा संस्थाले कुनै किसिमले शेयर प्राप्त गरेमा वा शेयर खरिद गरिसकेपछि उपदफा (१) बमोजिमको अवस्था उत्पन्न भएमा पैँतीस दिनभित्र त्यस्तो शेयर अरु कसैलाई बिक्री वा हस्तान्तरण गर्नु पर्नेेछ ।

(३) उपदफा (२) बमोजिमको अवधिभित्र शेयर विक्री वा हस्तान्तरण नगरेमा बोर्डले त्यस्तो शेयर जफत गर्नेछ ।

(४) उपदफा (३) बमोजिम जफत गरेको शेयर बोर्डले तोकिए बमोजिम बिक्री गर्नेछ ।

१५. वस्तु विनिमय बजारको काम, कर्तव्य र अधिकारः यस ऐनमा अन्यत्र उल्लिखित काम, कर्तव्य र अधिकारका अतिरिक्त वस्तु विनिमय बजारको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–

(क) लगानीकर्तालाई एकै ठाउँमा निरन्तर रुपमा वस्तु करार मार्फत वस्तुको खरिद, बिक्री वा विनिमय गर्ने बजार, स्थान वा सुविधा उपलब्ध गराउने,
(ख) वस्तु कारोबार व्यवसायीलाई सदस्यता प्रदान गर्ने,
(ग) वस्तु कारोबारको लागि वस्तुको सूचीकरण गर्र्ने वा गराउने,
(घ) वस्तु कारोबारलाई पारदर्शी, स्वच्छ र नियमित रुपमा सञ्चालन गर्ने वा गराउने,
(ङ) वस्तु कारोबार व्यवसायीको काम कारबाहीको अनुगमन र सुपरिवेक्षण गर्ने वा गराउने,
(च) वस्तु विनिमय बजारको कारोबार प्रणाली (ट्रेडिङ सिस्टम) लाई संरक्षण गर्न वा त्यसको संभावित जोखिम न्यूनीकरण गर्न आवश्यक उपाय अवलम्बन गर्ने,
(छ) बोर्डले दिएको निर्देशनको कार्यान्वयन गर्ने वा गराउने,
(ज) तोकिए बमोजिमका अन्य कार्य गर्ने वा गराउने ।

१६. वस्तु वा कारोबारको सीमा निर्धारण गर्न सक्नेः (१) एक पटकमा कारोबार गर्न सकिने वस्तुको सीमा बोर्डले निर्धारण गरे बमोजिम हुनेछ ।

(२) वस्तुको सीमा निर्धारण गर्दा त्यस्तो वस्तु वा कारोबारको किसिमको आधारमा छुट्टाछुट्टै गर्न सकिनेछ ।

(३) प्राकृतिक व्यक्ति वा संस्थाले आफ्नो स्वामित्वमा राख्न पाउने वस्तुको सीमा तोकिए बमोजिम हुनेछ ।

१७. लगानीकर्ता संरक्षण कोषको व्यवस्था गर्नु पर्नेः (१) वस्तु विनिमय बजारले लगानीकर्तालाई हुन सक्ने सम्भावित प्रणालीगत जोखिम (सिस्टमिक रिस्क) बाट सुरक्षित गर्न लगानीकर्ता संरक्षण कोषको स्थापना गर्नु पर्नेछ ।

(२) लगानीकर्ता संरक्षण कोषको स्थापना तथा सञ्चालन सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।

१८. वस्तु विनिमय बजारको प्रमुख कार्यकारी अधिकृत सम्बन्धी व्यवस्थाः वस्तु विनिमय बजारको सञ्चालक समितिले प्रशासकीय प्रमुखको रुपमा कार्य गर्न देहायको योग्यता पुगेको व्यक्तिलाई प्रमुख कार्यकारी अधिकृतको पदमा नियुक्ति गर्नेछः–

(क) अर्थशास्त्र, वाणिज्य शास्त्र, वित्त, लेखा, व्यवस्थापन वा कानून विषयमा मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको र सम्बन्धित क्षेत्रमा कम्तीमा सात वर्षको कार्य अनुभव भएको,
(ख) तोकिए बमोजिमको अयोग्यता नरहेको ।

परिच्छेद – ४ वस्तु कारोबार व्यवसाय

१९. वस्तु कारोबार व्यवसायीले सञ्चालन गर्न सक्ने व्यवसायः (१) वस्तु कारोबार व्यवसायीले देहायको व्यवसाय सञ्चालन गर्न सक्नेछः–

(क) बजार निर्माण व्यवसाय,
(ख) लगानी व्यवस्थापन व्यवसाय,
(ग) लगानी परामर्शदाता व्यवसाय,
(घ) वस्तु संरक्षक (कस्टोडियन) सेवा व्यवसाय,
(ङ) वस्तु कारोबार दलाली व्यवसाय,
(च) वस्तु कारोबार व्यापार व्यवसाय,
(छ) तोकिए बमोजिमको अन्य वस्तु कारोबार व्यवसाय ।

(२) उपदफा (१) को प्रयोजनको लागि वस्तु कारोबार व्यवसायीलाई देहाय बमोजिम वर्गीकरण गर्न सकिनेछः–

(क) बजार निर्माता,
(ख) लगानी व्यवस्थापक,
(ग) लगानी परामर्शदाता,
(घ) संरक्षक (कस्टोडियन),
(ङ) वस्तु कारोबार दलाल,
(च) वस्तु कारोबार व्यापारी,
(छ) तोकिए बमोजिमको अन्य वस्तु कारोबार व्यवसायी ।

(३) वस्तु कारोबार व्यवसाय सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

२०. वस्तु कारोबार व्यवसायीले सदस्यता लिनु पर्नेः (१) वस्तु कारोबार व्यवसाय सञ्चालन गर्न तोकिए बमोजिमको वस्तु कारोबार व्यवसायीले वस्तु विनिमय बजारको सदस्यता लिनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम सदस्यता प्राप्त गर्ने कार्यविधि, सदस्यता तथा अन्य व्यवस्था सम्बन्धित वस्तु विनिमय बजारको विनियममा उल्लेख भए बमोजिम हुनेछ ।

२१. शेयरधनी तथा स्वामित्व सम्बन्धी व्यवस्थाः (१) कुनै एक वस्तु कारोबार व्यवसायीको शेयरधनी वा निजको एकासगोलको परिवारको सदस्यले अर्को वस्तु कारोबार व्यवसायीको शेयर लिन पाउने छैन ।

(२) वस्तु कारोबार व्यवसायीको शेयर वा त्यसको स्वामित्व, बिक्री वा हस्तान्तरण सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

२२. सम्झौता गर्नु पर्नेः वस्तु कारोबार व्यवसायीले लगानीकर्तासँग कारोबार गर्नु अघि तोकिए बमोजिम सम्झौता गर्नु पर्नेछ ।

२३. अभिलेख राख्नु पर्नेः (१) वस्तु कारोबार व्यवसायीले कारोबार गर्नु अघि लगानीकर्ताको वास्तविक रुपमा परिचय खुल्ने कागजात वा विवरण लिनु पर्नेछ ।

(२) वस्तु कारोबार व्यवसायीले लगानीकर्ताको परिचय खुल्ने कागजात वा विवरण, कारोबारसँग सम्बन्धित रकम लेनदेन सम्बन्धी विवरण वा तोकिए बमोजिमका अन्य कार्यको अभिलेख राख्नु पर्नेछ ।

२४. बीमा गराउनु पर्नेः वस्तु कारोबार व्यवसायीले बोर्डले तोकेको वस्तु कारोबार व्यवसायको बीमा गराउनु पर्नेछ ।

परिच्छेद–५ राफसाफ तथा फस्र्यौट व्यवसाय

२५. राफसाफ तथा फस्र्यौट व्यवसायी नियुक्त गर्नु पर्नेः (१) वस्तु विनिमय बजारले राफसाफ तथा फस्र्यौट सम्बन्धी कार्यको लागि राफसाफ तथा फस्र्यौट व्यवसायी नियुक्त गर्नु पर्नेछ ।

(२) राफसाफ तथा फस्र्यौट व्यवसायी नियुक्त गर्दा वस्तु विनिमय बजारले राफसाफ तथा फस्र्यौट व्यवसायीसँग तोकिए बमोजिम सम्झौता गर्नु पर्नेछ र सम्झौताको एक प्रति वस्तु विनिमय बजारले त्यस्तो सम्झौता गरेको पन्ध्र दिनभित्र बोर्डसमक्ष पेश गर्नु पर्नेछ ।

(३) राफसाफ तथा फस्र्यौट व्यवसायीको नियुक्ति तथा तत्सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

२६. राफसाफ तथा फस्र्यौट व्यवसायीले गर्ने कारोबारः (१) राफसाफ तथा फस्र्यौट व्यवसायीले वस्तु विनिमय बजारमा वस्तु करार बमोजिम खरिद वा बिक्री भएको कारोबारलाई राफसाफ तथा फस्र्यौट गर्नु पर्नेछ ।

(२) राफसाफ तथा फस्र्यौट व्यवसायीले गर्ने राफसाफ तथा फस्र्यौट सम्बन्धी अन्य कारोबार तोकिए बमोजिम हुनेछ ।

परिच्छेद–६ वेयर हाउस

२७. वेयर हाउस तोक्न सक्नेः (१) दफा २८ बमोजिमको कारोबार गर्ने प्रयोजनको लागि वस्तु विनिमय बजारले दफा ५ बमोजिम अनुमतिपत्र प्राप्त संस्थालाई वेयर हाउस तोक्न सक्नेछ ।

(२) वेयर हाउस तोेक्दा वस्तु विनिमय बजारले वेयर हाउससँग तोकिए बमोजिम सम्झौता गर्नु पर्नेछ र सम्झौताको एक प्रति वस्तु विनिमय बजारले त्यस्तो सम्झौता गरेको पन्ध्र दिनभित्र बोर्डसमक्ष पेश गर्नु पर्नेछ ।

(३) वस्तु विनिमय बजारले वेयर हाउस तोक्ने सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

२८. वेयर हाउसले गर्न सक्ने कारोबारः (१) वेयर हाउसले देहायका कारोबार गर्न सक्नेछः—

(क) वस्तु विनिमय बजारमा हुने कारोबारसँग सम्बन्धित वस्तुको भण्डारण गर्ने वा तत्सम्बन्धी निस्सा जारी गर्ने,
(ख) खण्ड (क) बमोजिम भण्डारण भएका वस्तुको संरक्षण तथा त्यस्तो वस्तुको कारोबार पश्चात हस्तान्तरण गर्ने ।

(२) वेयर हाउसको सञ्चालन सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

परिच्छेद–७ बोर्डको काम, कर्तव्य र अधिकार

२९. बोर्डको काम, कर्तव्य र अधिकारः प्रचलित कानून तथा यस ऐनमा अन्यत्र उल्लिखित काम, कर्तव्य र अधिकारका अतिरिक्त बोर्डको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–

(क) वस्तु विनिमय बजार तथा वस्तु कारोबारको विकाससँग सम्बन्धित विषयमा नेपाल सरकारलाई सुझाव दिने,
(ख) वस्तु विनिमय बजारको विकासको लागि दीर्घकालीन तथा अल्पकालीन योजना तथा नीति स्वीकृत गर्ने,
(ग) वस्तु विनिमय बजार सञ्चालन सम्बन्धी सम्भाव्यता अध्ययन गर्ने,
(घ) वस्तु विनिमय बजारमा कारोबार गर्न सकिने वस्तु तथा वस्तु करारको दर्ता गर्ने,
(ङ) अवधि तोकी वस्तु विनिमय बजार बन्द गर्न वा निश्चित अवधिका लागि अनुमतिपत्र प्राप्त संस्थाको कारोबार स्थगन गर्न आदेश दिने,
(च) कुनै वस्तु सूचीकरण गराउन वा सूचीकरणबाट हटाउन वा कुनै कारोबार रोक्का गर्न सम्बन्धित वस्तु विनिमय बजारलाई निर्देशन दिने,
(छ) वस्तु विनिमय बजारको विद्युतीय कारोबार प्रणालीमा कुनै समस्या देखिएमा वा सुधार गर्नुपर्ने देखिएमा त्यस्तो सुधार नगरेसम्मका लागि कारोबार स्थगन गर्न आदेश दिने,
(ज) बोर्डमा दर्ता भएको वस्तु तथा वस्तु करारको खरिद, बिक्री, हस्तान्तरणलाई नियमित तथा व्यवस्थित गर्ने,
(झ) अनुमतिपत्र प्राप्त संस्था तथा कारोबारमा संलग्न पक्षको काम कारबाहीको नियमन तथा अनुगमन गर्ने,
(ञ) अनुमतिपत्र प्राप्त संस्थाको विनियम स्वीकृत गर्ने,
(ट) लगानीकर्ताको हित संरक्षण गर्न सम्बन्धित अनुमतिपत्र प्राप्त संस्थालाई विनियममा आवश्यक व्यवस्था गर्न निर्देशन दिने,
(ठ) वस्तु वा वस्तु करार सम्बन्धी विषयमा सुपरिवेक्षण तथा नियमन गर्न अन्य नियमनकारी निकायसँग समन्वय गर्नेे,
(ड) अनुमतिपत्र प्राप्त संस्थाको आर्थिक तथा व्यवस्थापकीय पक्षमा सुधार गर्न आवश्यक निर्देशन दिने,
(ढ) तोकिए बमोजिमका अन्य कार्य गर्ने ।

३०. बोर्डले आदेश वा निर्देशन दिन सक्नेः (१) बोर्डले वस्तु विनिमय बजार र कारोबारको स्थिति तथा लगानीकर्ताको हितलाई ध्यानमा राखी अनुमतिपत्र प्राप्त संस्था वा कारोबारसँग सम्बन्धित पक्षलाई यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा विनियम बमोजिम कुनै काम गर्न वा नगर्न आवश्यक आदेश वा निर्देशन दिन सक्नेछ ।

(२) अनुमतिपत्र प्राप्त संस्थाको कुनै सञ्चालक, पदाधिकारी वा कर्मचारीले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा विनियम वा सो अन्तर्गत बोर्डले दिएको आदेश वा निर्देशन उल्लङ्घन गरेमा त्यस्तो सञ्चालक, पदाधिकारी वा कर्मचारीलाई आवश्यक कारबाही चलाउन सम्बन्धित अनुमतिपत्र प्राप्त संस्थालाई आदेश दिन सक्नेछ ।

(३) दफा ३२ बमोजिम पेश भएको निरीक्षण वा सुपरीवेक्षण प्रतिवेदनको आधारमा बोर्डले अनुमतिपत्र प्राप्त संस्था वा कारोबारसँग सम्बन्धित पक्ष वा सम्बन्धित संस्थाको सञ्चालक वा कर्मचारीलाई यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा विनियम बमोजिम कुनै काम गर्न वा नगर्न निर्देशन दिन सक्नेछ ।

परिच्छेद–८ नियमन, निरीक्षण तथा सुपरिवेक्षण

३१. नियमन गर्ने अधिकारः (१) बोर्डलाई अनुमतिपत्र प्राप्त संस्था र वस्तु विनिमय बजार मार्फत हुने कारोबारसँग सम्बन्धित पक्षको नियमन गर्ने वा गराउने पूर्ण अधिकार हुनेछ ।

(२) उपदफा (१) बमोजिम नियमन गर्ने प्रयोजनको लागि बोर्डले आवश्यक देखेका विषयमा आदेश वा निर्देशन दिन वा सूचना वा परिपत्र जारी गर्न सक्नेछ ।

३२. निरीक्षण तथा सुपरीवेक्षण गर्न सक्नेः (१) बोर्डले अनुमतिपत्र प्राप्त संस्थाले कारोबार गर्दा यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम, विनियम वा सो अन्तर्गत जारी भएका आदेश वा निर्देशनको पालना गरे नगरेको सम्बन्धमा जुनसुकै बखत निरीक्षण तथा सुपरीवेक्षण गर्न वा गराउन सक्नेछ ।

(२) बोर्डले आवश्यकता अनुसार विशेषज्ञ टोली वा बोर्डको अधिकृत कर्मचारीलाई खटाई अनुमतिपत्र प्राप्त संस्थाको स्थलगत (अनसाइट) वा सम्बन्धित अनुमतिपत्र प्राप्त संस्थामा रहेका सूचना, तथ्याङ्क, कागजात, अभिलेख तथा विवरणहरु आफू समक्ष झिकाई (अफसाइट) निरीक्षण तथा सुपरीवेक्षण गर्न सक्नेछ ।

(३) उपदफा (२) बमोजिम निरीक्षण तथा सुपरीवेक्षण गर्ने प्रयोजनको लागि बोर्डले आवश्यकता अनुसार विशेषज्ञ टोलीको गठन गर्न सक्नेछ र विशेषज्ञ टोलीले पाउने सुविधा त्यस्तो टोली गठन हुँदाका बखत बोर्डले तोके बमोजिम हुनेछ ।

(४) अनुमतिपत्र प्राप्त संस्थाको निरीक्षण तथा सुपरिवेक्षण गर्दा उपदफा (२) बमोजिमको विशेषज्ञ टोली वा बोर्डका अधिकृत कर्मचारीले सम्बन्धित अनुमतिपत्र प्राप्त संस्थाको कारोबारसँग सम्बन्धित सूचना, तथ्याङ्क, कागजात, अभिलेख तथा विवरणको निरीक्षण तथा सुपरीवेक्षण गर्न वा सम्बन्धित व्यक्तिसँग सोधपुछ गर्न सक्नेछ ।

(५) अनुमतिपत्र प्राप्त संस्थाको निरीक्षण तथा सुपरीवेक्षणको सिलसिलामा निरीक्षण तथा सुपरीवेक्षण गर्ने विशेषज्ञ टोली वा बोर्डको अधिकृत कर्मचारीले आवश्यक देखेमा अनुमतिपत्र प्राप्त संस्थाको कारोबारसँग सम्बन्धित सूचना, तथ्याङ्क, कागजात, अभिलेख तथा विवरणमा शिलबन्दी गरी त्यसको अभिलेख राखी आफैसँग राख्न वा अनुमतिपत्र प्राप्त संस्थाको जिम्मामा राख्न लगाउन सक्नेछ ।

(६) विशेषज्ञ टोली वा बोर्डको अधिकृत कर्मचारीले अनुमतिपत्र प्राप्त संस्थाको निरीक्षण वा सुपरीवेक्षणको कार्य सम्पन्न गरेको मितिले पन्ध्र दिनभित्र त्यसको प्रतिवेदन बोर्ड समक्ष पेश गर्नु पर्नेछ ।

(७) निरीक्षण तथा सुपरिवेक्षण सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

३३. सूचना, तथ्याङ्क तथा विवरण माग गर्न सक्नेः (१) बोर्डले अनुमतिपत्र प्राप्त संस्था वा कारोबारसँग सम्बन्धित व्यक्तिसँग कारोबार सम्बन्धी कुनै पनि सूचना, तथ्याङ्क वा विवरण माग गर्न सक्नेछ ।

(२) दफा ३२ बमोजिम निरीक्षण तथा सुपरिवेक्षणको सिलसिलामा आवश्यक देखेका कुनै पनि सूचना, तथ्याङ्क वा विवरण बोर्ड वा बोर्डबाट अधिकार प्राप्त व्यक्तिले सम्बन्धित अनुमतिपत्र प्राप्त संस्था वा व्यक्तिसँग माग गर्न सक्नेछ ।

(३) उपदफा (१) वा (२) बमोजिम मागिएको सूचना, तथ्याङ्क वा विवरण उपलब्ध गराउनु सम्बन्धित अनुमतिपत्र प्राप्त संस्था वा व्यक्तिको कर्तव्य हुनेछ ।

३४. अनुमतिपत्र निलम्बन गर्न सक्नेः (१) कुनै अनुमतिपत्र प्राप्त संस्थाले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा विनियम विपरीत काम गरेमा वा बोर्डले दिएको आदेश वा निर्देशन पालना नगरेमा वा लगानीकर्ताको हित विपरीत काम गरेमा वा बोर्ड समक्ष पेश गर्नुपर्ने आर्थिक तथा कारोबार सम्बन्धी विवरण पेश नगरेमा बोर्डले अवधि तोकी त्यस्तो संस्थाको अनुमतिपत्र निलम्बन गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम निलम्बनमा रहेको अनुमतिपत्र प्राप्त संस्थाले निलम्बनको अवधिभर कारोबार गर्न सक्ने छैन ।

३५. अनुमतिपत्र खारेजी सम्बन्धी व्यवस्थाः (१) बोर्डले देहायका अवस्थामा अनुमतिपत्र प्राप्त संस्थाको अनुमतिपत्र खारेज गर्नेछः–

(क) दफा ८ बमोजिम अनुमतिपत्र नवीकरण नभई अनुमतिपत्रको अवधि समाप्त भएमा,
(ख) दफा ९ बमोजिम पूर्वाधारको व्यवस्था नगरेमा,
(ग) वस्तु विनिमय बजार, वस्तु कारोबार व्यवसाय, राफसाफ तथा फस्र्यौट व्यवसाय वा वेयर हाउस सञ्चालन गर्न बन्द गरेमा,
(घ) प्रचलित कानून बमोजिम दामासाहीमा परेमा वा अन्य कुनै किसिमले विघटन भएमा, वा
(ङ) अनुमतिपत्र खारेज गरी पाउँ भनी निवेदन दिएमा ।

(२) बोर्डले देहायका अवस्थामा अनुमतिपत्र प्राप्त संस्थाको अनुमतिपत्र खारेज गर्न सक्नेछः–

(क) अनुमतिपत्रमा उल्लिखित शर्तहरु उल्लङ्घन गरेमा,
(ख) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा विनियमको उल्लङ्घन गरेमा,
(ग) लगानीकर्ताको हित विपरित हुने गरी वस्तु विनिमय बजार, वस्तु कारोबार व्यवसाय, राफसाफ तथा फस्र्यौट व्यवसाय वा वेयर हाउस सञ्चालन गरेमा,
(घ) बोर्डले दिएको आदेश वा निर्देशनको बारम्बार उल्लङ्घन गरेमा,
(ङ) निलम्बन भएको अवधिभित्र बोर्डले माग गरेको आर्थिक तथा कारोबार सम्बन्धी विवरण नबुझाएमा, वा
(च) यस ऐन बमोजिम बुझाउनु पर्ने रकम नबुझाएमा ।

(३) उपदफा (२) बमोजिम अनुमतिपत्र खारेज गर्नु अघि अनुमतिपत्र प्राप्त संस्थालाई सफाईको मौका दिनु पर्नेछ ।

(४) उपदफा (१) र (२) बमोजिम अनुमतिपत्र खारेज भएको कारणबाट त्यस्तो अनुमतिपत्र प्राप्त संस्थाले अनुमतिपत्र खारेज हुनुभन्दा अघि गरेको काम कारबाहीबाट सृजित दायित्वमा कुनै असर पर्ने छैन ।

३६. बोर्डले कारबाही गर्न सक्नेः यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा विनियम बमोजिम बोर्डले दिएको आदेश वा निर्देशनको पालना नगर्ने अनुमतिपत्र प्राप्त संस्था, सञ्चालक, पदाधिकारी वा कर्मचारीलाई बोर्डले देहाय बमोजिमको कुनै एक वा एकभन्दा बढी कारबाही गर्न सक्नेछः–

(क) सचेत गराउने वा लिखित चेतावनी दिने,
(ख) सुधारात्मक कदम चाल्न निर्देशन दिने,
(ग) कारोबारमा आंशिक वा पूर्णरूपमा प्रतिबन्ध लगाउने,
(घ) बोर्डले उपलब्ध गराउने सेवा निलम्बन गर्ने वा रोक्का राख्ने,
(ङ) निलम्बनमा राख्न आदेश दिने,
(च) सम्बन्धित अनुमतिपत्र प्राप्त संस्थाको सञ्चालक समितिलाई तलब, भत्ता लगायतका सुबिधाहरु उपलब्ध नगराउन आदेश दिने,
(छ) सञ्चालकलाई पदबाट हटाउन वा पदाधिकारी वा कर्मचारीलाई सेवाबाट अवकाश दिन सम्बन्धित अनुमतिपत्र प्राप्त संस्थाको सञ्चालक समितिलाई आदेश दिने ।

३७. जरिबाना गर्न सक्नेः (१) दफा ५ बमोजिम अनुमतिपत्र प्राप्त नगरी देहायको कार्य गर्नेलाई बोर्डले देहाय बमोजिम जरिबाना गर्नेछः—

(क) वस्तु विनिमय बजार सञ्चालन गरेमा वा वस्तु विनिमय बजारको नाम प्रयोग गरेमा दश लाख रुपैयाँदेखि पचास लाख रुपैयाँसम्म,
(ख) राफसाफ तथा फस्र्यौट व्यवसाय वा वेयर हाउस सञ्चालन गरेमा दुई लाख रुपैयाँदेखि दश लाख रुपैयाँसम्म,
(ग) वस्तु कारोबार व्यवसाय गरेमा एक लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म ।

(२) अनुमतिपत्र प्राप्त संस्थाले दफा ९ को उपदफा (३) विपरीत कारोबार सञ्चालन गरेमा बोर्डले त्यस्तो संस्थालाई पचास हजार रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिबाना गर्नेछ ।

(३) दफा ४८ वा ४९ बमोजिमको म्यादभित्र सूचना तथा विवरण नदिने वा प्रतिवेदन पेश नगर्ने अनुमतिपत्र प्राप्त संस्थालाई बोर्डले त्यस्तो सूचना तथा विवरण वा प्रतिवेदन पेश गर्ने म्याद समाप्त भएको दिनदेखि प्रतिदिन एक हजार रुपैयाँका दरले जरिबाना गर्नेछ ।

(४) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम दिएको आदेश वा निर्देशन वा तोकिएको शर्त पालना नगर्ने अनुमतिपत्र प्राप्त संस्थालाई बोर्डले एक लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।

(५) यस ऐन बमोजिम बोर्डले निरीक्षण तथा सुपरीवेक्षण वा जाँचबुझको सिलसिलामा माग गरेको सूचना, तथ्याङ्क, कागजात, अभिलेख तथा विवरण तोकिएको समयभित्र पेश नगर्ने अनुमतिपत्र प्राप्त संस्थाका सञ्चालक वा पदाधिकारी वा कर्मचारीलाई बोर्डले पचास हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।

(६) यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियम वा विनियम बमोजिम राख्नु पर्ने वा तयार गर्नु पर्ने वा पेश गर्नुपर्ने हिसाब किताब, खाता, विवरण वा यस्तै अन्य कुनै कागजात नराख्ने वा तयार नगर्ने अनुमतिपत्र प्राप्त संस्थालाई बोर्डले दुई लाख रुपैयाँदेखि दश लाख रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।

(७) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा विनियम वा बोर्डले दिएको आदेश वा निर्देशन विपरीत कार्य गरी लगानीकर्तालाई हानी नोक्सानी गरे वा गराएमा बोर्डले त्यस्तो अनुमतिपत्र प्राप्त संस्थालार्ई दश लाख रुपैयाँदेखि पचास लाख रुपैयाँसम्म जरिबाना गरी त्यस्तो हानी नोक्सानी भएको रकम समेत लगानीकर्तालाई भराई दिनु पर्नेछ ।

(८) दफा ६० बमोजिमको आचारसंहिता पालना नगर्ने अनुमतिपत्र प्राप्त संस्थालाई बोर्डले पच्चीस हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिबाना गर्नेछ ।

परिच्छेद–९ कसूर र सजाय

३८. उजुरी दिने म्यादः (१) यस ऐन बमोजिम सजाय हुने कसूरमा त्यस्तो कसूर हुन लागेको वा कसूर भएको कुरा थाहा पाएको मितिले एक वर्षभित्र उजुरी दिनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम उजुरी परेको मितिले छ महिनाभित्र सम्बन्धित अदालत समक्ष मुद्दा दायर गरिसक्नु पर्नेछ ।

३९. कसूर गरेको मानिनेः कसैले देहायको कार्य गरे वा गराएमा यस ऐन बमोजिम कसूर गरेको मानिनेछः—

(क) कृत्रिम वा झुटो कारोबार वा चक्रीय कारोबार (सर्कुलर ट्रेडिङ) गरी वा गराई वा कुनै वस्तु करारको मूल्यमा प्रभाव पार्ने उद्देश्यले त्यस्तो करार अरुले गर्न नसक्ने गरी अस्वाभाविक अवधिसम्म ठूलो परिमाणमा जम्माखोरी गरी वस्तुको मूल्य स्थिर गराएमा, बढाएमा, घटाएमा वा बारम्बार परिवर्तन गराई मूल्यमा उतार चढाव गराएमा,

(ख) कारोबारमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्न वा वस्तु करारको खरिद वा बिक्री नहोस् भन्ने उद्देश्यले आफैले वा अरुसँग मिली वस्तु करारको बजारमूल्य बढाउने, घटाउने वा मूल्यस्थिर बनाई वस्तु विनिमय बजारलाई प्रभावित पारेमा,

(ग) झुटो, भ्रामक वा गलत विवरण वा पूर्व अनुमान सम्बन्धी विवरण प्रकाशित गर्ने वा त्यस्तो विवरण दिई प्रतिज्ञा गर्ने वा वस्तु विनिमय बजारमा कुनै वस्तुको सक्रिय रुपमा कारोबार भइरहेको छ भन्ने देखाउनका लागि मात्र कारोबार गर्र्ने वा बदनियतसाथ कुनै तथ्य वा जानकारी लुकाई झुक्याउने काम गरेमा,

(घ) कसैलाई हानी नोक्सानी पु¥याउने वा कसैबाट गलत फाइदा लिने बदनियतले झुक्याउने प्रविधि प्रयोग गरेमा वा त्यस्तो नियतले प्रविधिको दुरुपयोग गरेमा, योजना बनाएमा वा कुनै काम गरेमा वा कसैलाई झुक्यानमा पारी जालसाजीयुक्त कारोबार गरेमा,

(ङ) कसैले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा विनियम बमोजिम राखेको लिखत, विवरण वा अभिलेख नष्ट गरेमा, झुटो बनाएमा वा लुकाएमा,

(च) कसैलाई हानी नोक्सानी पु¥याउने उद्देश्यले अनुमतिपत्र प्राप्त संस्थाले दफा ४४ बमोजिम स्थापना गरेको विद्युतीय कारोबार प्रणालीमा क्षति पुर्याएमा वा त्यसको गलत प्रयोग गरेमा,

(छ) खण्ड (क) देखि (च) सम्मका कार्य गर्न कसैलाई मद्दत गरेमा वा दुरुत्साहन गरेमा ।

४०. सजायः (१) देहायको कसूर गर्ने व्यक्तिलाई देहाय बमोजिमको सजाय हुनेछः—

(क) दफा ३९ को खण्ड (क) बमोजिमको कसूर गर्ने व्यक्तिलाई बिगो खुलेकोमा बिगो भराई बिगो बमोजिमको जरिबाना र बिगो नखुलेकोमा पाँच लाख रुपैयाँसम्म जरिबाना र पाँच बर्षसम्म कैद ।

(ख) दफा ३९ को खण्ड (ख) बमोजिमको कसूर गर्ने व्यक्तिलाई बिगो खुलेकोमा बिगो भराई बिगो बमोजिमको जरिबाना र बिगो नखुलेकोमा चार लाख रुपैयाँसम्म जरिबाना र चार वर्षसम्म कैद ।

(ग) दफा ३९ को खण्ड (ग), (घ) वा (ङ) बमोजिमको कसूर गर्ने व्यक्तिलाई बिगो खुलेकोमा बिगो भराई बिगो बमोजिम जरिबाना र बिगो नखुलेकोमा तीन लाख रुपैंयाँसम्म जरिबाना र तीन वर्षसम्म कैद ।

(घ) दफा ३९ को खण्ड (च) बमोजिमको कसूर गर्ने व्यक्तिलाई बिगो खुलेकोमा बिगो भराई बिगो बमोजिमको जरिबाना र बिगो नखुलेकोमा दश लाख रुपैयाँसम्म जरिबाना र एक वर्षसम्म कैद ।

(ङ) दफा ३९ को खण्ड (छ) बमोजिमको कसूर गर्ने व्यक्तिलाई मुख्य कसूरदारलाई हुने सजायको आधा सजाय ।

(२) अनुमतिपत्र प्राप्त संस्थाको प्रयोग गरी कसैले दफा ३९ बमोजिमको कसूर गरेमा त्यस्तो कसूर गर्ने व्यक्ति, अनुमतिपत्र प्राप्त संस्थाको सञ्चालक, पदाधिकारी वा कर्मचारीलाई उपदफा (१) बमोजिम सजाय हुनेछ ।

(३) उपदफा (२) बमोजिम अनुमतिपत्र प्राप्त संस्थाको सञ्चालक, पदाधिकारी वा कर्मचारीको पहिचान हुन नसकेमा त्यस्तो कसूर हुँदाको बखत अनुमतिपत्र प्राप्त संस्थाको प्रमुख भई कामकाज गर्ने सञ्चालक, पदाधिकारी वा कर्मचारीलाई उपदफा (१) बमोजिम सजाय हुनेछ ।

परिच्छेद–१० विविध

४१. कोष सम्बन्धी व्यवस्थाः (१) बोर्डको कोषमा धितोपत्र सम्बन्धी प्रचलित कानून बमोजिम प्राप्त हुने रकमका अतिरिक्त यस ऐन बमोजिम बोर्डलाई प्राप्त हुने देहाय बमोजिमका रकमहरु रहनेछन्ः–

(क) निवेदन शुल्क बापतको रकम,
(ख) अनुमतिपत्र दस्तुर बापतको रकम,
(ग) अनुमतिपत्र नवीकरण दस्तुर बापतको रकम,
(घ) जरिबाना बापतको रकम, र
(ङ) ऐन बमोजिम प्राप्त हुने अन्य कुनै रकम ।

(२) उपदफा (१) बमोजिम कोषमा प्राप्त रकमको उपयोग, त्यसको लेखा तथा लेखापरीक्षण सम्बन्धी व्यवस्था धितोपत्र सम्बन्धी प्रचलित कानूनमा व्यवस्था भए बमोजिम हुनेछ ।

४२. लेखा परीक्षक नियुक्तिः (१) अनुमतिपत्र प्राप्त संस्थाले तोकिएको अवधिभित्र लेखापरीक्षण नगराएमा वा अन्य कुनै कारणले लेखापरीक्षक नियुक्त हुन नसकेमा त्यस्तो अनुमतिपत्र प्राप्त संस्थाको हिसाब, किताब, नगदी, जिन्सी सम्पत्ति समेतको लेखापरीक्षण गर्नु पर्ने देखिएमा बोर्डले लेखा परीक्षकको नियुक्ति गरी लेखा परीक्षण गराउन सक्नेछ ।

(२) उपदफा (१) बमोजिम नियुक्त भएको लेखापरीक्षकको पारिश्रमिक सम्बन्धित अनुमतिपत्र प्राप्त संस्थाले व्यहोर्नु पर्नेछ ।

४३. सेवा शुल्क वा नियमन शुल्क सम्बन्धी व्यवस्थाः (१) अनुमतिपत्र प्राप्त संस्थाले सेवा प्रदान गरे बापत लिन सक्ने सेवा शुल्क तोकिए बमोजिम हुनेछ ।

(२) उपदफा (१) बमोजिम अनुमतिपत्र प्राप्त संस्थाले एक आर्थिक वर्षमा प्राप्त गरेको कुल सेवा शुल्कको तोकिए बमोजिमको रकम नियमन शुल्कको रुपमा बोर्डमा बुझाउनु पर्नेछ ।

४४. विद्युतीय कारोबार प्रणाली स्थापना गर्नु पर्नेः (१) अनुमतिपत्र प्राप्त संस्थाले विद्युतीय रुपमा आफ्नो कारोबार गर्न सकिने गरी विद्युतीय कारोबार प्रणाली स्थापना गर्नु पर्नेछ ।

(२) विद्युतीय कारोबार प्रणाली सुरक्षित, उपयुक्त र भरपर्दो हुनु पर्नेछ ।

(३) विद्युतीय कारोबार प्रणालीलाई बोर्डले आवश्यकता अनुसार सम्परीक्षण (अडिट) गर्न वा गराउन सक्नेछ ।

(४) विद्युतीय कारोबार प्रणालीमा कुनै प्रकारको सुधार गर्नु पर्ने देखिएमा बोर्डले आवश्यक निर्देशन दिन सक्नेछ ।

(५) उपदफा (४) बमोजिम प्राप्त निर्देशनको पालना गर्नु सम्बन्धित अनुमतिपत्र प्राप्त संस्थाको कर्तव्य हुनेछ ।

४५. वस्तु करार सम्बन्धी विशेष व्यवस्थाः (१) भविष्यमा वस्तु खरिद वा बिक्री गर्ने सम्बन्धमा अधिकार तथा दायित्वको विशेष व्यवस्था हुने गरी भएको वस्तु करारको कारोबार (ट्रेडिङ्ग अफ अप्सन) का सम्बन्धमा लागू हुने व्यवस्था, शर्त तथा मापदण्ड तोकिए बमोजिम हुनेछ ।

(२) उपदफा (१) बमोजिमको व्यवस्था, शर्त तथा मापदण्ड लागू नभएसम्म त्यस्तो वस्तु करारको कारोबार (ट्रेडिङ्ग अफ अप्सन) गर्न पाइने छैन ।

४६. विदेशी वस्तु विनिमय बजारमा कारोबार गर्न सक्नेः वस्तु विनिमय बजारमा बजार निर्माता, कारोबारको अर्को पक्ष (काउन्टर पार्टी) को कार्य गर्ने व्यवसायी वा त्यस्तो प्रकृतिको व्यवसाय गर्ने व्यवसायीले यस ऐन बमोजिम कारोबार गरी बहन गर्नुपर्ने जोखिमलाई व्यवस्थित गर्न विदेशी वस्तु विनिमय बजारमा तोकिए बमोजिम वस्तु करारको खरिद वा बिक्री गर्न सक्नेछ ।

४७. विदेशी मुद्रामा कारोबार गर्न स्वीकृति लिनु पर्नेः वस्तु कारोबार गर्दा विदेशी मुद्रामा कारोबार गर्नुपर्ने भएमा विदेशी विनिमय सम्बन्धी प्रचलित कानून बमोजिम सम्बन्धित निकायको स्वीकृति लिएर मात्र कारोबार गर्नु पर्नेछ ।

४८. सूचना तथा विवरण दिनु पर्नेः अनुमतिपत्र प्राप्त संस्थाले कारोबार वा व्यवसाय सम्बन्धी तोकिए बमोजिमको सूचना तथा विवरण तोकिए बमोजिमको समयभित्र बोर्डलाई दिनु पर्नेछ ।

४९. प्रतिवेदन पेश गर्नु पर्नेः अनुमतिपत्र प्राप्त संस्थाले प्रत्येक आर्थिक वर्ष समाप्त भएको चार महिनाभित्र उक्त आर्थिक वर्षमा आफूले गरेको काम कारबाही तथा वस्तु कारोबार सम्बन्धी विवरण सहितको वार्षिक प्रतिवेदन तयार गरी बोर्ड समक्ष पेश गर्नु पर्नेछ ।

५०. विवरण सार्वजनिक गर्नु पर्नेः बोर्डले अनुमतिपत्र प्राप्त संस्थाको नियमन, निरीक्षण तथा सुपरीवेक्षण सम्बन्धी काम कारबाहीको विवरण तथा यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम, विनियम वा निर्देशिका बमोजिम बोर्डले दिएको आदेश वा निर्देशनको अनुमतिपत्र प्राप्त संस्थाले पालना गरे नगरेको तथा दफा ४८ बमोजिम अनुमतिपत्र प्राप्त संस्थाले बोर्डमा पेश गरेको सूचना तथा विवरण तोकिए बमोजिम सार्वजनिक गर्नेछ ।

५१. आदेश वा निर्देशनको पालना गर्नु पर्नेः यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम बोर्डले दिएको आदेश वा निर्देशनको पालना गर्नु सम्बन्धित पक्षको कर्तव्य हुनेछ ।

५२. जरिबाना असुल गरिनेः (१) दफा ३७ बमोजिम भएको जरिबानाको रकम सम्बन्धित व्यक्तिले त्यस्तो जरिबानाको रकम तीस दिनभित्र बोर्डलाई बुझाउनु पर्नेछ ।

(२) जरिबानाको रकम तीस दिनभित्र नबुझाएमा बोर्डले त्यस्तो व्यक्तिको चल अचल सम्पत्तिबाट सरकारी बाँकी सरह असूल उपर गरी लिन सक्नेछ ।

५३. पुनरावेदन गर्न सकिनेः दफा ३५ को उपदफा (२) बमोजिम अनुमतिपत्र खारेज गरेको वा दफा ३६ बमोजिम कारबाही गरेको वा दफा ३७ बमोजिम जरिबाना गरेको निर्णय उपर चित्त नबुझ्ने पक्षले बोर्डको त्यस्तो निर्णयको जानकारी पाएको मितिले पैँतीस दिनभित्र उच्च अदालतमा पुनरावेदन गर्न सक्नेछ ।

५४. नेपाल सरकार वादी हुनेः (१) दफा ३९ बमोजिमको कसूर सम्बन्धी मुद्दा नेपाल सरकार वादी भई दायर हुनेछ र त्यस्तो मुद्दा सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ को अनुसूची–१ मा समावेश भएको मानिनेछ ।

(२) उपदफा (१) बमोजिमको कसूरको अनुसन्धान वा अभियोजन गर्दा सम्बन्धित अधिकारीलाई बोर्डले आवश्यक सहयोग गर्नु पर्नेछ ।

५५. नेपाल सरकारले निर्देशन दिन सक्नेः वस्तु विनिमय बजार, वस्तु कारोबार व्यवसाय, राफसाफ तथा फस्र्यौट व्यवसाय, वेयर हाउस सञ्चालन, वस्तु विनियम बजारको विकास तथा लगानीकर्ताहरुको हित संरक्षण जस्ता नीतिगत विषयमा नेपाल सरकारले बोर्डलाई समय समयमा आवश्यक निर्देशन दिन सक्नेछ र त्यस्तो निर्देशनको पालना गर्नु बोर्डको कर्तव्य हुनेछ ।

५६. बोर्डलाई सहयोग गर्नु पर्नेः वस्तु विनिमय बजार, वस्तु कारोबार व्यवसाय, राफसाफ तथा फस्र्यौट व्यवसाय तथा वेयर हाउस सञ्चालन, वस्तु विनियम बजारको विकास तथा लगानीकर्ताको हितलाई संरक्षण गर्ने जस्ता विषयलाई नियमित तथा व्यवस्थित गर्ने कार्यमा बोर्डलाई सहयोग पुर्याउनु सम्बन्धित सबैको कर्तव्य हुनेछ ।

५७. अधिकार प्रत्यायोजनः यस ऐन अन्तर्गत बोर्डलाई प्राप्त अधिकारहरु मध्ये केही अधिकार बोर्डका अध्यक्ष, सञ्चालक वा कर्मचारीले प्रयोग गर्न पाउने गरी बोर्डले अधिकार प्रत्यायोजन गर्न सक्नेछ ।

५८. नेपाल सरकारसँग सम्पर्कः बोर्डले नेपाल सरकारसँग सम्पर्क राख्दा अर्थ मन्त्रालय मार्फत राख्नु पर्नेछ ।

५९. पदाधिकारीलाई कारबाही हुनेः यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियममा जिम्मेवारी तोकिएको पदाधिकारीले आफूलाई तोकिएको काम कारबाही समयभित्रै सम्पन्न नगरेमा वा बदनियतपूर्वक काम कारबाही गरेमा निजलाई प्रचलित कानून अनुसार कारबाही हुनेछ ।

६०. आचारसंहिता बनाई लागू गर्न सक्नेः (१) बोर्डले अनुमतिपत्र प्राप्त संस्थाले पालना गर्नुपर्ने आचारसंहिता बनाई लागू गर्नेछ ।

(२) उपदफा (१) बमोजिम लागू गरेको आचारसंहिता पालना गर्नु अनुमतिपत्र प्राप्त संस्थाको कर्तव्य हुनेछ ।

(३) अनुमतिपत्र प्राप्त संस्थाले आफ्ना सञ्चालक तथा कर्मचारीले पालन गर्नु पर्ने आचारसंहिता बनाई लागू गर्न सक्नेछ ।

६१. नियम बनाउने अधिकारः यस ऐनलाई कार्यान्वयन गर्न बोर्डले नेपाल सरकार, अर्थ मन्त्रालयको स्वीकृति लिई आवश्यक नियमहरु बनाउन सक्नेछ ।

६२. विनियम बनाउन सक्नेः (१) यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियमको अधीनमा रही वस्तु विनिमय बजार, वस्तु कारोबार व्यवसाय, राफसाफ तथा फस्र्यौट व्यवसाय, वेयर हाउस सञ्चालन तथा कारोबारलाई नियमन तथा व्यवस्थित गर्न बोर्डले आवश्यक विनियमहरु बनाई लागू गर्न सक्नेछ ।

(२) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको अधीनमा रही अनुमतिपत्र प्राप्त संस्थाले बोर्डको स्वीकृति लिई देहायका विषयहरुमा आवश्यक विनियमहरु बनाउन सक्नेछः–

(क) सूचीकरण, कारोबार सञ्चालन तथा कारोबार प्रणाली,
(ख) वस्तु विनिमय बजार, वस्तु कारोबार व्यवसायी, राफसाफ तथा फस्र्यौट व्यवसायी तथा वेयर हाउसको सदस्यता, सदस्यता शुल्क, सदस्यको व्यावसायिक मर्यादा तथा सदस्यता निलम्बन तथा खारेजी,
(ग) वस्तु विनिमय बजार, वस्तु कारोबार व्यवसाय, राफसाफ तथा फस्र्यौट व्यवसाय तथा वेयर हाउसको सञ्चालन तथा लगानीकर्ताको हितका लागि अन्य आवश्यक व्यवस्था गर्ने,
(घ) वस्तु विनिमय बजार, वस्तु कारोबार व्यवसायी, राफसाफ तथा फस्र्यौट व्यवसायी तथा वेयर हाउसका कर्मचारीको सेवाका शर्त तथा सुविधा र आचरण ।

६३. निर्देशिका बनाई लागू गर्न सक्नेः यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको अधीनमा रही बोर्डले वस्तु कारोबारलाई व्यवस्थित गर्नका लागि देहायका विषयमा निर्देशिका बनाई लागू गर्न सक्नेछः–

(क) वस्तु विनिमय बजार, वस्तु कारोबार व्यवसाय, राफसाफ तथा फस्र्यौट व्यवसाय तथा वेयर हाउस सञ्चालन,
(ख) वस्तु कारोबारको नियमन लगायत आवश्यक अन्य विषयहरु ।

६४. यसै ऐन बमोजिम हुनेः प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐनमा लेखिए जति विषयको हकमा यसै ऐन बमोजिम र अरुको हकमा प्रचलित कानून बमोजिम हुनेछ ।