परिषद्को काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछः
६.१ प्राविधिक शिक्षा तथा व्यावसायिक तालीमको विकास गर्नको लागि तोकिए बमोजिमका विभिन्न शिक्षण प्रशिक्षण र अनुसन्धानको व्यवस्था गर्ने र त्यसको सञ्चालनको व्यवस्था मिलाउने ।
६.२ निजी एवं गैर सरकारी क्षेत्रमा स्थापना वा सञ्चालन हुने प्राविधिक शिक्षा एवं व्यावसायिक तालीमको अध्यापन वा सञ्चालनको स्वीकृति दिने र तिनीहरूले पाउने सुविधा र सहयोग सम्बन्धी व्यवस्था गर्ने ।
६.३ प्राविधिक शिक्षा एवं व्यावसायिक तालीमको सम्बन्धमा स्वदेशी विश्वविद्यालय वा शैक्षिक संस्थासँग सम्बन्ध कायम गर्ने र स्तरयुक्त शिक्षा वा तालीममा जोड दिने ।
६.४ प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम सम्बन्धी नीति निर्धारण गरी सभामा स्वीकृतिको लागि पेश गर्ने ।
६.५ प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम कार्यक्रमहरूको क्षेत्र र स्तर निर्धारण गर्ने ।
६.६ आधारभूत तहको सीप तथा तालीम सञ्चालन गर्ने र मध्यम स्तरीय जनशक्ति उत्पादन गर्ने ।
६.७ बहु–प्राविधिक (पोलिटेक्निक) शिक्षालय स्थापना एवं सञ्चालन गर्ने गराउने ।
६.८ नेपाल सरकारको स्वामित्वमा रहेका संगठित संस्था तथा गैर सरकारी संगठित संस्थाद्वारा सीप विकासको निमित्त दिइने व्यावसायिक तालीमको पाठ्यक्रम र पाठ्यपुस्तक निर्धारण समितिले निर्धारण गरे बमोजिम लागू गर्ने गराउने ।
६.९ विभिन्न तालीम सम्बन्धी कार्यक्रमहरू बीच समन्वय कायम गर्ने गराउने ।
६.१० प्राविधिक प्रशिक्षक सम्बन्धी तालीम सञ्चालन गर्ने गराउने ।
६.११ एप्रेन्टिससिप तालीम सम्बन्धी आवश्यक व्यवस्था मिलाउने ।
६.१२ प्राविधिक शिक्षालयको क्षेत्रभित्र विभिन्न स्थानमा अल्पकालीन वा घुम्ती तालीम कार्यक्रम सञ्चालन गर्न प्रशिक्षण केन्द्रहरू, पाठ्य विषय (ट्रेनिङ्ग प्याकेज) तथा तालीम दिने शिक्षक सम्बन्धी आवश्यक व्यवस्था मिलाउने ।
६.१३ सीपको वर्गीकरण, परीक्षण तथा प्रमाणीकरण सम्बन्धी व्यवस्था गर्ने गराउने ।
६.१४ सीप प्रमाणीका बनाउने र सीपको स्तर निर्धारण गर्ने ।
६.१५ सरकारी तथा गैर सरकारी निकायहरूले सञ्चालन गरी आएका सेवाकालीन तथा पूर्व सेवाकालीन, प्राविधिक तथा व्यावसायिक तालीम पाठ्यक्रममा सामञ्जस्य ल्याई त्यस्ता तालीमहरूको राष्ट्रिय स्तरमा मूल्याङ्कन गरी स्तर निर्धारण गर्ने र मान्यता प्रदान गर्ने ।
६.१६ आधारभूत, मध्यमस्तरीय तथा उच्चस्तरीयप्राविधिक जनशक्ति उत्पादन गर्न आवश्यक कार्य गर्ने गराउने ।
६.१७ सभाले पारित गरेको कार्यक्रमको कार्यान्वयन गर्ने गराउने ।
६.१८ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट सहयोग जुटाउने र प्राप्त सहयोगको सुव्यवस्थित रूपले परिचालन गर्ने गराउने ।
६.१९ नेपाल सरकारलाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालीमका लागि आवश्यक परामर्श दिने ।
६.२० नेपाल सरकारको पूर्व स्वीकृति लिई स्वदेशी, विदेशी वा अन्तर्राष्ट्रिय संघ संस्थासँग सम्झौता वा करार गर्ने ।
६.२१ परिषद्को वार्षिक बजेट, प्रगति प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र अन्य प्रतिवेदन स्वीकृत वा अनुमोदन वा जानकारीको लागि सभामा पेश गर्ने ।
६.२२ यस ऐनको उद्देश्य कार्यान्वयनको लागि आवश्यक अन्य कार्यहरू गर्ने गराउने ।