Skip to contentSkip to left sidebar Skip to footer

प्रतिस्पर्धा प्रवर्द्धन तथा बजार संरक्षण ऐन, २०६३

प्रस्तावना

 

प्रतिस्पर्धा प्रवद्र्धन तथा बजार संरक्षण ऐन, २०६३

प्रमाणीकरण र प्रकाशन मिति

२०६३।९।३०

२०६३ सालको ऐन न. ३५

प्रतिस्पर्धा प्रवद्र्धन तथा बजार संरक्षणका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन

प्रस्तावना : वस्तु वा सेवाको उत्पादन वा वितरण गर्ने व्यक्ति वा प्रतिष्ठानबीच स्वच्छ प्रतिस्पर्धा कायम गरी राष्ट्रिय अर्थतन्त्रलाई अझ बढी खुला, उदार, बजारमुखी तथा प्रतिस्पर्धी बनाउन, स्वच्छ प्रतिस्पर्धाको माध्यमबाट उत्पादक वा वितरकको व्यावसायिक क्षमता विकास गरी राष्ट्रिय उत्पादकत्व वृद्धि गर्न,  बजारलाई अवाञ्छित रुपमा हस्तक्षेप हुनबाट संरक्षण प्रदान गर्न, एकाधिकार तथा नियन्त्रित व्यापारिक  अभ्यासलाई नियन्त्रण गरी उत्पादित वस्तु तथा सेवाको गुणस्तर अभिवृद्धि गराई प्रतिस्पर्धी मूल्यमा उपभोक्ता समक्ष पुर्याउने काममा प्रोत्साहन गर्न तथा व्यापारिक अभ्यासमा हुन सक्ने सम्भावित अस्वच्छ  प्रतिस्पर्धालाई निवारण गरी सर्वसाधारणको आर्थिक हित तथा सदाचार कायम गर्न कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले,  प्रतिनिधिसभाको घोषणा, २०६३ जारी भएको पहिलो वर्षमा प्रतिनिधिसभाले यो ऐन बनाएको छ ।

परिच्छेद–१ प्रारम्भिक

१. संक्षिप्त नाम, विस्तार र प्रारम्भ : (१) यस ऐनको नाम “प्रतिस्पर्धा प्रवद्र्धन तथा बजार संरक्षण ऐन, २०६३” रहेको छ ।

(२) यो ऐन नेपाल राज्यभर लागू हुनेछ र कसैले नेपाल बाहिर बसी यस ऐन विपरीतका कार्य गरेमा निजको हकमा समेत यो ऐन लागू हुनेछ ।

(३) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।

 

२. परिभाषा : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,–

(क) “अध्यक्ष” भन्नाले बोर्डको अध्यक्ष सम्झनु पर्छ ।

(ख) “प्रतिष्ठान” भन्नाले वस्तु वा सेवा उत्पादन वा वितरण गर्नेे कुनै फर्म, कम्पनी वा सङ्गठित संस्था सम्झनु पर्छ र सो शब्दले त्यस्तो फर्म, कम्पनी वा संस्थाको प्रत्यक्ष वा अप्रत्यक्ष नियन्त्रणमा रहेका सहायक वा सोसँग आबद्ध फर्म, कम्पनी वा संस्था समेतलाई जनाउँछ ।

(ग) “बोर्ड” भन्नाले दफा १२ बमोजिमको प्रतिस्पर्धा प्रवद्र्धन तथा बजार संरक्षण बोर्ड सम्झनु पर्छ ।

(घ) “बोलपत्र” भन्नाले कुनै संस्था वा निकायले कुनै वस्तु खरिद गर्दा, निर्माण कार्य गर्दा वा सोको मर्मत गर्दा वा कुनै सेवा लिँदा त्यस्तो संस्था वा निकायको सूचना अनुसार कुनै व्यक्ति वा प्रतिष्ठानले सो संस्था वा निकायले तोकेको ढाँचामा खामबन्दी गरी लाहाछाप लगाई पेश गरेको प्रस्ताव सम्झनु पर्छ र सो शब्दले प्रति एकाइ मूल्य सहितको विवरण र सो सम्बन्धी कागजात वा दर रेट सहितको दरभाउपत्र समेतलाई जनाउँछ ।

(ङ) “विज्ञापन” भन्नाले कुनै वस्तु वा सेवाको बजार प्रवद्र्धन वा प्रचार प्रसारको लागि सार्वजनिक रुपमा गराइएको जानकारी सम्झनु पर्छ ।

(च) “सदस्य” भन्नाले बोर्डको सदस्य सम्झनु पर्छ र सो शब्दले बोर्डको अध्यक्ष तथा सदस्य–सचिव समेतलाई जनाउँछ ।

(छ) “सम्झौता” भन्नाले दुई वा दुईभन्दा बढी व्यक्ति वा प्रतिष्ठानबीच कुनै काम गर्न वा नगर्न लिखित वा मौखिक रुपमा वा आचरणबाट गरेको प्रचलित कानून बमोजिम कार्यान्वयन गर्न सकिने वा नसकिने करार, सम्झौता, बन्दोबस्त वा समझदारी सम्झनु पर्छ र सो शब्दले त्यस्ता व्यक्ति वा प्रतिष्ठानबीच भएको निर्णय वा सिफारिस समेतलाई जनाउँछ ।

(ज) “अदालत” भन्नाले नेपाल सरकारले सर्वोच्च अदालतको परामर्श लिई नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको अदालतको वाणिज्य इजलास सम्झनु पर्छ ।

(झ) “बजार संरक्षण अधिकृत” भन्नाले दफा २२ बमोजिमको बजार संरक्षण अधिकृत सम्झनु पर्छ ।

(ञ) “बिक्री मूल्य” भन्नाले कुनै वस्तु वा सेवाको उत्पादन वा वितरण गरे बापत प्राप्त हुने मूल्य, कुनै प्रकारको भाडा, वीमा, शुल्क, व्याजदर, विनिमय दर, प्रिमियम वा यस्तै अन्य कुनै प्रकारको रकम सम्झनु पर्छ ।

(ट) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।

परिच्छेद–२ स्वच्छ प्रतिस्पर्धा विरुद्धका काम कारबाहीहरु

३. प्रतिस्पर्धा विरुद्धको सम्झौता गर्न नहुने : (१) कुनै वस्तु वा सेवा उत्पादन वा वितरण गर्ने कुनै व्यक्ति वा प्रतिष्ठानले प्रतिस्पर्धा सीमित वा नियन्त्रण गर्ने उद्देश्यले त्यस्तै किसिमको वस्तु वा सेवा उत्पादन गर्ने अन्य कुनै व्यक्ति वा प्रतिष्ठानसँग एक्लै वा सामूहिक रुपमा देहायको कुनै सम्झौता गर्न वा गराउन हुँदैन : –

(क) कुनै वस्तु वा सेवाको प्रत्यक्ष वा परोक्ष रुपमा खरिद वा बिक्री मूल्य निर्धारण गर्ने वा त्यस्तो वस्तु वा सेवाको खरिद बिक्रीका शर्तहरु तोक्ने,

(ख) कुनै वस्तु वा सेवाको उत्पादन वा वितरण बजार सीमित वा नियन्त्रण गर्ने वा सोको प्राविधिक विकास वा उन्नतिका लागि गरिने लगानी सीमित वा नियन्त्रण गर्ने,

(ग) कुनै वस्तु वा सेवाको उत्पादन वा वितरणको थोक परिमाण सीमित वा नियन्त्रण गर्ने वा त्यस्तो वस्तुको खुद्रा उपभोग्य परिमाण वा त्यसको गुणस्तर घटाउने,

(घ) कुनै खास ठाउँमा त्यस्तो वस्तु वा सेवाको बिक्री वितरण नगर्ने वा कुनै खास ठाउँमा मात्र बिक्री वितरण गर्ने वा गराउने,

(ङ) कुनै निश्चित व्यक्ति वा प्रतिष्ठानले उत्पादन वा वितरण गरेको वस्तु वा सेवाको मात्र बजार प्रवद्र्धन गर्ने गरी त्यस्तै किसिमका वस्तु वा सेवा उत्पादन वा वितरण गर्ने अन्य कुनै व्यक्ति वा प्रतिष्ठानको वस्तु वा सेवा खरिद बिक्री वा वितरण नगर्ने वा त्यस्ता वस्तु वा सेवाको बजारमा प्रवेश हुन नदिने,

(च) कुनै वस्तु वा सेवाको उत्पादन वा वितरण गर्ने व्यक्ति वा प्रतिष्ठानबीच आपसमा बजार विभाजन गर्ने,

(छ) कुनै वस्तु वा सेवा पालैपालोसँग उत्पादन वा वितरण गर्ने वा त्यस्तो वस्तु वा सेवाको कोटा निर्धारण गरी उत्पादन वा वितरण गर्ने,

(ज) मनासिब कारण बिना कुनै वस्तु वा सेवाको मूल्य फरक फरक तोकी खरिद, बिक्री वा वितरण गर्ने वा खरिद, बिक्री वा वितरणका फरक फरक शर्त तोक्ने,

(झ) सार्वजनिक रुपमा आह्वान गरिएको बोलपत्र वा दरभाउपत्र उपर आपसी सहमतिबाट बोलपत्र वा दरभाउपत्र दाखिला गर्ने वा समान अङ्क वा अन्य विवरण उल्लेख गरी दाखिला गर्ने,

(ञ) कुनै पनि वस्तु वा सेवाको ढुवानी वा वितरणमा चक्र प्रणाली (सिण्डिकेट) लागू गर्ने,

(ट) तोकिए बमोजिमका अन्य काम गर्ने वा गराउने ।

(२) उपदफा (१) को सर्वमान्यतामा प्रतिकूल हुने गरी कुनै वस्तुको उत्पादन वा वितरण गर्ने वा कुनै सेवा उत्पादन, वितरण वा सञ्चालन गर्ने कुनै दुई वा दुईभन्दा बढी व्यक्ति वा प्रतिष्ठानले कुनै संस्थासँग मिली वा अन्य कुनै उपाय अपनाई निजहरुले वस्तु वा सेवा उत्पादन, वितरण वा सञ्चालन गरेको इलाकामा अर्को व्यक्ति वा प्रतिष्ठानले त्यस्तो वस्तु वा सेवा उत्पादन, वितरण वा सञ्चालन गर्न नपाउने वा त्यस्तो वस्तु वा सेवा उत्पादन, वितरण वा सञ्चालन गर्न त्यस्तो व्यक्ति वा संस्थासँग सम्बद्ध हुनु पर्ने वा त्यस्तो उपायमा संलग्न हुनु पर्ने वा त्यस्तो सम्झौता वा उपायद्वारा तोकिएको कुनै शर्त पालना गर्नु पर्ने गरी कुनै किसिमको सम्झौता गर्न सकिने छैन ।

(३) उपदफा (२) को प्रतिकूल हुने गरी भएको सम्झौता स्वतः बदर हुनेछ ।

 

४. प्रभुत्वशाली हैसियतको दुरुपयोग गर्न नहुने : (१) प्रभुत्वशाली हैसियत भएको कुनै प्रतिष्ठानले आफूले वा आफ्ना सम्बद्ध निकाय मार्पmत कुनै वस्तु वा सेवाको उत्पादन वा वितरण गर्दा प्रतिस्पर्धा नियन्त्रण गर्ने उद्देश्यले त्यस्तो हैसियतको दुरुपयोग गर्न गराउन हुँदैन ।

स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि “प्रभुत्वशाली हैसियत” भन्नाले कुनै वस्तु वा सेवा उत्पादन वा वितरण गर्ने कुनै व्यक्ति वा प्रतिष्ठानले एक्लै वा समान प्रकृतिका वस्तु वा सेवा उत्पादन वा वितरण गर्ने अन्य प्रतिष्ठानसँग आपसमा मिली त्यस्ता वस्तु वा सेवाको नेपाल राज्यभित्र वार्षिक उत्पादन वा वितरणको कम्तीमा चालीस प्रतिशत वा सोभन्दा बढी हिस्सा ओगटेको हैसियत वा त्यस्तो प्रतिष्ठानले एक्लै वा समान प्रकृतिका वस्तु वा सेवा उत्पादन वा वितरण गर्ने अन्य व्यक्ति वा प्रतिष्ठानसँग मिली सम्बद्ध बजार प्रभाव पार्न सक्ने वा आफ्ना निर्णय एकपक्षीय रुपमा कार्यान्वयन गर्न सक्ने हैसियत सम्झनु पर्छ ।

(२) उपदफा (१) को सर्वमान्यतामा प्रतिकूल हुने गरी प्रभुत्वशाली हैसियत भएको कुनै प्रतिष्ठानले नेपाल राज्यभर वा नेपाल राज्यको कुनै इलाकामा देहायको कुनै काम गरेमा प्रभुत्वशाली हैसियतको दुरुपयोग गरेको मानिनेछ :–

(क) समान प्रकृतिको वस्तु वा सेवाको उत्पादन वा वितरण गर्ने अन्य व्यक्ति वा  प्रतिष्ठानले उत्पादन वा पैठारी गरेको कुनै वस्तु वा सेवालाई आफ्नो वस्तु वा सेवाको बजार प्रवेशमा रोक वा बन्देज लगाउने,

(ख) मनासिब कारण बिना बजारमा आपूर्ति कम हुन सक्ने गरी कुनै वस्तु वा सेवाको उत्पादन वा वितरण सीमित वा नियन्त्रण गर्ने वा त्यस्तो वस्तु वा सेवाको उत्पादन वा वितरण सम्बन्धी प्रविधिको विकासको लागि गरिने लगानीमा सीमित गर्ने वा रोक लगाउने,

(ग) समान भौगोलिक क्षेत्रको बजारमा मनासिब कारण बिना कुनै वस्तु वा सेवाको खरिद वा बिक्री मूल्य फरक कायम गर्ने वा त्यस्ता वस्तु वा सेवाको खरिद वा बिक्रीका थप शर्त तोक्ने,

(घ) आफूले उत्पादन वा वितरण गरेको वस्तु वा सेवाको प्रत्यक्ष वा परोक्ष रुपमा बजारमा प्रतिस्पर्धा हुन नसक्ने गरी मूल्य तोक्ने,

तर नेपाल सरकार वा प्रचलित कानून बमोजिम अधिकार प्राप्त अधिकारीबाट पूर्व स्वीकृति लिई सम्बन्धित प्रतिष्ठानले त्यस्तो वस्तु वा सेवाको मूल्य निर्धारण गर्न वा त्यस्तो कुनै वस्तु वा सेवाको मूल्यमा हेरफेर गर्न यस खण्डमा लेखिएको कुनै कुराले प्रतिकूल असर पारेको मानिने छैन ।

(ङ) मनासिब कारण बिना उपभोक्तालाई प्रतिकूल असर पर्ने गरी आफूले उत्पादन वा वितरण गरेको वस्तु वा सेवाको परिमाण कटौती गर्ने वा त्यस्ता वस्तु वा सेवाको गुणस्तर घटाउने,

(च) कुनै वस्तु वा सेवा उत्पादन वा वितरण गर्दा त्यस्तो वस्तु वा सेवासँग असम्बन्धित वा अनावश्यक शर्त तोक्ने ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको कुनै काम गर्दा सो उपदफा बमोजिमको काम हुन गएको प्रमाणित भएमा प्रभुत्वशाली हैसियतको दुरुपयोग गरेको मानिने छैन:–

(क) प्रभुत्वशाली हैसियत भएको कुनै व्यक्ति वा प्रतिष्ठानले उत्पादन वा वितरण गर्दै आएको वस्तु वा सेवाको गुणस्तर वृद्धि गर्न वा सोको प्राविधिकस्तर सुधार गर्नका लागि कुनै काम कारबाही गरेकोमा र त्यस्तो काम कारबाहीबाट प्राप्त हुने प्रतिफल त्यस्तो वस्तु वा सेवाको उपभोग गर्ने उपभोक्ताको हितमा हुने भएमा,

(ख) प्रचलित कानून बमोजिम कुनै व्यक्तिलाई प्राप्त भएको कुनै किसिमको बौद्धिक सम्पत्तिको संरक्षण वा प्रचलनका लागि त्यस्तो कार्य गरेकोमा ।

(४) यस दफाको प्रयोजनको लागि बोर्डले विभिन्न वस्तु वा सेवा उत्पादन वा वितरण गर्ने प्रभुत्वशाली हैसियत भएका प्रतिष्ठानको सूची तयार गरी समय समयमा सार्वजनिक रुपमा प्रकाशन गर्नु पर्नेछ ।

(५) उपदफा (४) बमोजिमको सूचीमा हेरफेर नभएसम्म त्यस्ता प्रतिष्ठानको प्रभुत्वशाली हैसियत कायम रहेको मानिनेछ ।

 

५. प्रतिस्पर्धालाई नियन्त्रण गर्ने उद्देश्यले प्रतिष्ठान गाभिन वा मिल्न नहुने : कुनै वस्तु वा सेवा उत्पादन वा वितरण गर्ने प्रतिष्ठानले एकाधिकार कायम गर्ने वा बजारमा नियन्त्रित व्यापारिक अभ्यास कायम गर्ने उद्देश्यले समान प्रकृतिको वस्तु वा सेवा उत्पादन वा वितरण गर्ने अन्य प्रतिष्ठानसँग गाभिन, आपसमा मिल्न एक्लै वा आप्mनो सहायक प्रतिष्ठानसँग मिली त्यस्तो प्रतिष्ठानको पचास प्रतिशत वा सोभन्दा बढी शेयर खरिद गर्न वा त्यस्तो प्रतिष्ठानको व्यवसाय कब्जा गरी ग्रहण (टेक ओभर) गर्न सक्ने छैन ।

स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि कुनै एकै प्रकृतिको वस्तु वा सेवा उत्पादन वा वितरण गर्ने व्यक्ति वा प्रतिष्ठान एक आपसमा गाभिदा, मिल्दा, शेयर खरिद गर्दा वा टेक ओभर गर्दा त्यस्ता वस्तु वा सेवा नेपाल राज्यभित्र हुने कुल उत्पादन वा वितरण मध्ये चालीस प्रतिशतभन्दा बढी उत्पादन वा वितरण हुने भएमा प्रतिस्पर्धा नियन्त्रण गर्ने उद्देश्यले प्रतिष्ठान गाभिएको, मिलेको वा टेकओभर गरेको मानिनेछ ।

 

६. बोलपत्रमा अनियमितता गर्न नहुने : (१) कुनै निकायले सार्वजनिक रुपमा आह्वान गरेको बोलपत्रमा त्यस्तो बोलपत्र पेश गर्ने बोलपत्रदाताले देहायको काम गरी बोलपत्रमा अनियमितता गर्न गराउन हुँदैन :

(क) कुनै बोलपत्रदाताको बोलपत्र दाखिला नगर्न वा एउटा मात्र बोलपत्रदाताले बोलपत्र दाखिला गर्न वा प्रत्यक्ष वा परोक्ष रुपमा सबै बोलपत्रदाताले एकै किसिमको मूल्य वा अन्य विवरण उल्लेख गरी बोलपत्र दाखिला गर्ने गरी सम्झौता गरेर,

(ख) बोलपत्रदाताहरुबीच बोलपत्र दाखिला गर्नु अघि बोलपत्रमा खुलाउनु पर्ने सूचना वा अन्य कुराहरु एक अर्कालाई जानकारी गराएर,

(ग) कुनै एक बोलपत्रदाताको बोलपत्र स्वीकार हुन सक्ने गरी आपसमा सम्झौता गरी बोलपत्र दाखिला गरेर ।

(२) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै प्रतिष्ठान वा त्यस्ता प्रतिष्ठानको सहायक प्रतिष्ठानबीच बोलपत्र सम्बन्धी एक आपसमा सूचना आदान प्रदान गर्दा उपदफा (१) बमोजिमको अनियमितता भएको मानिने छैन ।

 

७. एकलौटी कारोबार गर्न नहुने : (१) कुनै वस्तु वा सेवा उत्पादन वा वितरण गर्ने व्यक्ति वा प्रतिष्ठानले त्यस्तो वस्तु वा सेवाको उत्पादन वा वितरण एकलौटी कारोबार (एक्सक्लुसिभ डिलिङ्ग) गर्न गराउन हुँदैन।

स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि कुनै प्रतिष्ठानले देहायको कुनै शर्त राखी कुनै वस्तु वा सेवाको उत्पादन वा वितरण गरेमा एकलौटी कारोबार गरेको मानिनेछ :–

(क) कुनै व्यक्ति वा प्रतिष्ठानले उत्पादन वा वितरण गरेको वस्तु वा सेवा बाहेक अन्य व्यक्ति वा प्रतिष्ठानले उत्पादन वा वितरण गरेको त्यस्तै प्रकृतिको वस्तु वा सेवा खरिद नगर्ने वा त्यस्तो व्यक्ति वा प्रतिष्ठानसँग तत्सम्बन्धी कुनै कारोबार नगर्ने,

(ख) खण्ड (क) बमोजिमको शर्त पालना गरी वस्तु वा सेवाको खरिद बिक्री वा कारोबार गरेमा बढी सहुलियतपूर्ण शर्तमा वस्तु वा सेवा आपूर्ति गर्ने ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै प्रतिष्ठानले आफ्नो मुख्य वा सहायक प्रतिष्ठानबाट मात्र कुनै वस्तु वा सेवा प्राप्त गर्ने वा आफ्नो अधिकृत बिक्रेता वा एजेन्सी मार्फत आफ्नो वस्तु वा सेवा वितरण गर्ने व्यवस्था भएकोमा एकलौटी कारोबार गरेको मानिने छैन ।

 

८. बजार सीमित गर्न नहुने : कुनै वस्तु वा सेवा उत्पादन वा वितरण गर्ने व्यक्ति वा प्रतिष्ठानले त्यस्तो वस्तु वा सेवाको उत्पादन वा वितरणको बजार सीमित (मार्केट रेस्ट्रिक्शन) गर्ने गरी कुनै कारोबार गर्न गराउन हुँदैन ।

स्पष्टीकरण : कुनै वस्तु वा सेवा उत्पादन वा वितरण गर्ने व्यक्ति वा प्रतिष्ठानले तोकेको कुनै निश्चित बजारमा मात्र त्यस्तो वस्तु वा सेवा उत्पादन वा वितरण गर्ने वा त्यस्तो व्यक्ति वा प्रतिष्ठानले तोकेको निश्चित बजारमा बाहेक अन्य कुनै स्थानमा त्यस्तो वस्तु वा सेवा वितरण गरेमा सो बापत क्षतिपूर्ति शोधभर्ना माग गर्ने शर्त राखी कुनै बिक्रेता, डिलर, व्यापारी वा प्रतिष्ठानलाई त्यस्तो वस्तु वा सेवा उपलब्ध गराएमा बजार सीमित गरेको मानिनेछ ।

 

९. बन्धनयुक्त बिक्री गर्न नहुने : कुनै वस्तु वा सेवा बिक्री गर्ने व्यक्ति वा प्रतिष्ठानले बन्धनयुक्त बिक्री (टाइड सेलिङ्ग) को कारोबार गर्न हुँदैन  ।

स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि कुनै व्यक्ति वा प्रतिष्ठानले देहायको कुनै शर्त राखी कुनै वस्तु वा सेवाको बिक्री वितरण गरेकोमा बन्धनयुक्त बिक्रीको कारोबार गरेको मानिनेछ :–

(क) कुनै वस्तु वा सेवा खरिद गर्दा त्यस्तो व्यक्ति वा प्रतिष्ठान वा त्यस्तो प्रतिष्ठानले तोकेको अन्य व्यक्ति वा प्रतिष्ठानबाट उत्पादन वा वितरण गरेको अर्को कुनै वस्तु वा सेवा समेत खरिद गर्नु पर्ने,

(ख) खण्ड (क) बमोजिम खरिद गरेको वस्तु वा सेवामा त्यस्तो वस्तु वा सेवा उत्पादन वा वितरण गर्ने वा निजले तोकेको व्यक्ति वा प्रतिष्ठान बाहेक अन्य व्यक्ति वा प्रतिष्ठानले उत्पादन वा वितरण गरेको वस्तु वा सेवा राखी प्रयोग गर्न वा बिक्री वितरण गर्न नहुने,

(ग) खण्ड (क) वा (ख) बमोजिमको शर्त पालना गरी कुनै वस्तु वा सेवाको प्रयोग वा बिक्री वितरण गरेमा बढी सहुलियतपूर्ण शर्तमा त्यस्तो वस्तु वा सेवा वितरण गर्ने ।

 

१०. भ्रमपूर्ण विज्ञापन गर्न नहुने : कुनै वस्तु वा सेवा उत्पादन वा वितरण गर्ने व्यक्ति वा प्रतिष्ठानले प्रतिस्पर्धालाई नियन्त्रण वा सीमित गर्ने उद्देश्यले भ्रमपूर्ण विज्ञापन गर्न गराउन हुँदैन ।

स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि कुनै व्यक्ति वा प्रतिष्ठानले देहायको कुनै काम गरेमा भ्रमपूर्ण विज्ञापन गरेको मानिनेछ :–

(क) वस्तु वा सेवाको वास्तविक गुण, परिमाण वा मूल्यभन्दा फरक हुने गरी भ्रमपूर्ण वा झुट्टा विवरण दिई विज्ञापन गरेमा,

(ख) वस्तु वा सेवाको वारेण्टी, फाइदा, गुण वा आयु सम्बन्धी झुट्टा वा भ्रमपूर्ण विज्ञापन गरी बजार प्रवद्र्घन गरेमा,

(ग) कुनै व्यक्ति वा प्रतिष्ठानले उत्पादन वा वितरण गरेको वस्तु वा सेवाको बजारलाई प्रतिकूल हुने वा त्यस्तो वस्तु वा सेवाका विरुद्ध झुट्टा वा भ्रमपूर्ण विज्ञापन गरेमा,

(घ) विज्ञापनमा उल्लेख गरिएको मूल्यभन्दा बढी हुने गरी वस्तु वा सेवाको बिक्री वितरण गरेमा ।

 

११. यो ऐन लागू नहुने : यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि दफा १० को व्यवस्था बाहेक देहायका व्यापारिक वा व्यावसायिक क्रियाकलापहरुमा यो ऐन लागू हुने छैन :–

(क) औद्योगिक व्यवसाय ऐन, २०४९ बमोजिमका लघु तथा घरेलु उद्योग सम्बन्धी व्यवसाय,

(ख) तोकिए बमोजिमका साना किसानबाट उत्पादित कृषि उत्पादन तथा कृषिजन्य सहकारी व्यवसाय,

(ग) कच्चा पदार्थको खरिद कार्य,

(घ) निर्यात व्यवसाय,

(ङ) सामूहिक सौदाबाजीको श्रमिक अधिकारको लागि गरिने कार्य,

(च) अनुसन्धान तथा विकास सम्बन्धी कार्य,

(छ) व्यवस्थापन सम्बन्धी सहकार्य,

(ज) व्यापारिक क्षमता अभिवृद्धिको लागि गरिने सङ्गठनात्मक र प्रक्रियागत सुधारका लागि गरिने सहकार्य ।

परिच्छेद–३ बोर्डको गठन तथा काम, कर्तव्य र अधिकार

१२. बोर्डको गठन : (१) बजार संरक्षण गरी बजारमा स्वच्छ प्रतिस्पर्धा अभिवृद्धि गर्न प्रतिस्पर्धा प्रवद्र्धन तथा बजार संरक्षण बोर्डको गठन गरिएको छ ।

(२) उपदफा (१) बमोजिमको बोर्डमा देहायका सदस्यहरु रहने छन्:–

(क) सचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय – अध्यक्ष

(ख) प्रतिनिधि, कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय – सदस्य

(ग) प्रतिनिधि, अर्थ मन्त्रालय – सदस्य

(घ) प्रतिनिधि, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय – सदस्य

(ङ) उद्योग तथा वाणिज्य सम्बन्धी संघ संस्थामा कार्यरत व्यक्तिहरु मध्येबाट नेपाल सरकारले मनोनीत गरेको दुईजना – सदस्य

(च) उपभोक्ता हकहितसँग सम्बन्धित संघ संस्थामा कार्यरत व्यक्तिहरुमध्येबाट कम्तीमा एकजना महिला रहने गरी नेपाल सरकारले मनोनीत गरेको चारजना – सदस्य

(छ) महानिर्देशक, वाणिज्य विभाग – सदस्य–सचिव

(३) उपदफा (२) बमोजिम मनोनीत सदस्यहरुको पदावधि दुई वर्षको हुनेछ ।

(४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै मनोनीत सदस्यको काम सन्तोषजनक नदेखिएमा नेपाल सरकारले त्यसको कारण खुलार्ई निजलाई जुनसुकै बखत बोर्डको सदस्यबाट हटाउन सक्नेछ ।

 

१३. बोर्डको बैठक र निर्णय : (१) बोर्डको बैठक आवश्यकता अनुसार बस्नेछ ।

(२) बोर्डको बैठक अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ ।

(३) बोर्डको कुल सदस्य सङ्ख्याको पचास प्रतिशतभन्दा बढी सदस्यहरु उपस्थित भएमा बोर्डको बैठकको लागि गणपूरक सङ्ख्या पुगेको मानिनेछ ।

(४) बोर्डको बैठकको अध्यक्षता अध्यक्षले गर्नेछ र निजको अनुपस्थितिमा उपस्थित सदस्यहरुले आफूहरु मध्येबाट छानेको सदस्यले बैठकको अध्यक्षता गर्नेछ ।

(५) बोर्डको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ ।

(६) बोर्डको निर्णय बोर्डको सदस्य–सचिवले प्रमाणित गर्नेछ ।

(७) बोर्डले आवश्यक देखेमा सम्बन्धित विषयका विज्ञलाई बोर्डको बैठकमा पर्यवेक्षकको रुपमा भाग लिन आमन्त्रण गर्न सक्नेछ ।

(८) बोर्डको बैठक सम्बन्धी अन्य कार्यविधि बोर्ड आफैले निर्धारण गरे बमोजिम हुनेछ ।

 

१४. बोर्डको काम, कर्तव्य र अधिकार : यस ऐनमा अन्यत्र लेखिएका काम, कर्तव्य र अधिकारको अतिरिक्त बोर्डको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :–

(क) स्वच्छ प्रतिस्पर्धा कायम गर्ने सम्बन्धमा अवलम्बन गर्नु पर्ने नीति तर्जुमा गरी नेपाल सरकार समक्ष पेश गर्ने,

(ख) प्रतिस्पर्धा सम्बन्धी कानूनको पुनरावलोकन गर्नु पर्ने देखिएमा सोको पुनरावलोकन गरी आवश्यक सुधारको लागि नेपाल सरकारलाई सुझाव दिने,

(ग) स्वच्छ प्रतिस्पर्धाबाट अर्थतन्त्रमा पर्ने सकारात्मक प्रभाव र स्वच्छ प्रतिस्पर्धा विपरीतका कृयाकलापबाट पर्ने नकारात्मक असरका सम्बन्धमा जनचेतना जगाउने,

(घ) मुलुकको आर्थिक अवस्था, व्यापारिक स्थिति, बजारमा स्वच्छ प्रतिस्पर्धा तथा उपभोक्ता हित अभिवृद्धिका लागि गर्नु पर्ने कामका सम्बन्धमा नेपाल सरकारलाई आवश्यक सुझाव दिने,

(ङ) बजारमा स्वच्छ प्रतिस्पर्धा अभिवृद्धिका लागि देखिएका समस्याको पहिचान गर्ने तथा त्यस्ता समस्या समाधान गर्न सम्बन्धित निकायलाई सुझाव दिने,

(च) बजारमा स्वच्छ प्रतिस्पर्धा प्रवद्र्धनका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने,

(छ) बजारमा स्वच्छ प्रतिस्पर्धालाई प्रवद्र्धन गर्ने सम्बन्धमा आवश्यक अध्ययन तथा अनुसन्धान गर्ने, गराउने,

(ज) स्वच्छ प्रतिस्पर्धा प्रवद्र्धन गर्ने सम्बन्धमा कार्ययोजना बनाई लागू गराउने,

(झ) स्वच्छ प्रतिस्पर्धा विपरीतका काम कारबाही कसैबाट भए नभएको सम्बन्धमा निरीक्षण, अनुगमन तथा जाँचबुझ गर्ने, गराउने,

(ञ) खण्ड (झ) बमोजिम निरीक्षण, अनुगमन तथा जाँचबुझ गर्दा गराउँदा कसैबाट स्वच्छ प्रतिस्पर्धा विपरीतका कुनै काम कारबाही हुन लागेको देखिएमा त्यस्तो काम तुरुन्त रोक्न लगाउने,

(ट) आफूले गर्नु पर्ने कामका सम्बन्धमा आवश्यकतानुसार समिति गठन गर्ने,

(ठ) स्वच्छ प्रतिस्पर्धा कायम गर्ने सम्बन्धमा आवश्यक अन्य काम गर्ने, गराउने ।

 

१५. बैठक भत्ता : बोर्डको बैठकमा भाग लिए बापत अध्यक्ष तथा सदस्यले तोकिए बमोजिम बैठक भत्ता पाउने छन्।

 

१६ . बोर्डको सचिवालय : वाणिज्य विभागले बोर्डको सचिवालयको रुपमा काम गर्नेछ ।

परिच्छेद–४ कसूर तथा सजाय सम्बन्धी व्यवस्था

१७. स्वच्छ प्रतिस्पर्धा विपरीतको कसूर गरेको मानिने : कुनै व्यक्ति वा प्रतिष्ठानले परिच्छेद–२ विपरीतको कुनै काम कारबाही गरे गराएमा निजले स्वच्छ प्रतिस्पर्धा विपरीतको कसूर गरे गराएको मानिनेछ ।

१८. सजाय : (१) देहायको काम कारबाही गर्ने गराउने व्यक्ति वा प्रतिष्ठानलाई कसूरको मात्रा अनुसार देहाय बमोजिमको सजाय हुनेछ :–

(क) दफा ३, ४ वा ५ विपरीत काम कारबाही गरे गराएमा त्यस्तो काम कारबाही बदर गरी त्यस्तो काम कारबाही गर्ने गराउने व्यक्ति वा प्रतिष्ठानलाई पाँच लाख रुपैयाँसम्म जरिबाना,

(ख) दफा ६ को उपदफा (१) विपरीत काम कारबाही गरे गराएमा त्यस्तो काम कारबाही बदर गरी त्यस्तो काम कारबाही गर्ने गराउने व्यक्ति वा प्रतिष्ठानलाई तीन लाख रुपैयाँसम्म जरिबाना,

(ग) दफा ७ विपरीत काम कारबाही गरे गराएमा त्यस्तो काम कारबाही गर्ने गराउने व्यक्ति वा प्रतिष्ठानलाई एक लाख रुपैयाँसम्म जरिबाना,

(घ) दफा ८ विपरीत काम कारबाही गरे गराएमा त्यस्तो काम कारबाही गर्ने गराउने व्यक्ति वा प्रतिष्ठानलाई पचास हजार रुपैयाँसम्म जरिबाना,

(ङ) दफा ९ वा १० विपरीत काम कारबाही गरे गराएमा त्यस्तो काम कारबाही गर्ने गराउने व्यक्ति वा प्रतिष्ठानलाई पच्चीस हजार रुपैयाँसम्म जरिबाना,

(च) खण्ड (क), (ख), (ग), (घ) र (ङ) मा लेखिएदेखि बाहेक यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम विपरीत काम कारबाही गर्ने गराउने व्यक्ति वा प्रतिष्ठानलाई दश हजार रुपैयाँसम्म जरिबाना ।

(२) उपदफा (१) बमोजिमको सजाय पाएको व्यक्ति वा प्रतिष्ठानले यस ऐन अन्तर्गतको कुनै कसूर पुनः गरेमा त्यस्तो व्यक्ति वा प्रतिष्ठानलाई सो उपदफा बमोजिम हुने जरिबानाको दोब्बर जरिबाना हुनेछ ।

(३) उपदफा (१) बमोजिमको काम कारबाही कुनै सम्झौता अनुसार भए गरेको रहेछ भने त्यस्तो सम्झौता समेत बदर हुनेछ ।

(४) कसैले कुनै व्यक्ति वा प्रतिष्ठानलाई हानि नोक्सानी पुर्याउने वा दुःख दिने नियतले झुट्टा उजुर दिएको ठहरेमा निजलाई दश हजार रुपैयाँसम्म जरिबाना हुनेछ ।

१९. बाधा विरोध गर्नेलाई सजाय : यस ऐन अन्तर्गतको कसूरमा अनुसन्धान तथा तहकिकात सम्बन्धी काम कारबाहीमा कसैले बाधा विरोध गरेमा निजलाई बजार संरक्षण अधिकृतको प्रतिवेदनको आधारमा अदालतले पच्चीस हजार रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।

२०. मुख्य भई काम गर्नेले कसूर गरेको मानिने : कुनै फर्म, कम्पनी वा सङ्गठित संस्थाले यस ऐन बमोजिम कसूर मानिने कुनै काम गरेमा फर्मको हकमा त्यस्तो काम गर्दाका बखत कायम रहेका फर्मका हिस्सेदार र कम्पनी वा सङ्गठित संस्थाको हकमा त्यस्तो कम्पनी वा संस्थाको मुख्य भई काम गर्ने व्यक्तिले त्यस्तो कसूर गरेको मानिनेछ ।

तर मुख्य भई काम गर्ने व्यक्ति नियुक्ति हुनु अगावै त्यस्तो काम भए गरेको वा सो काम गर्ने निर्णय त्यसरी मुख्य भई काम गर्ने व्यक्तिको मञ्जुरी बिना भएको हो भन्ने कुरा प्रमाणित भएमा जसले त्यस्तो काम गरेको छ सोही व्यक्तिले कसूर गरेको मानिनेछ ।

स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि “मुख्य भई काम गर्ने व्यक्ति” भन्नाले कम्पनी वा सङ्गठित संस्थाको अध्यक्ष, सञ्चालक समितिका सदस्य, महाप्रवन्धक, प्रवन्ध निर्देशक वा सोही हैसियतमा काम गर्ने व्यक्ति सम्झनु पर्छ ।

२१. सजायमा छुट : (१) कुनै कसूरको अनुसन्धान तथा तहकिकात गर्दा सो कसूरसँग सम्बन्धित कुनै व्यक्ति वा प्रतिष्ठानले देहाय बमोजिम सहयोग गरेमा बजार संरक्षण अधिकृतले मुद्दा दायर गर्दा त्यस्तो व्यक्ति वा प्रतिष्ठानलाई दफा १८ बमोजिम हुने सजाय पूरै वा आंशिक रुपमा छूट दिने गरी अदालत समक्ष माग गर्न सक्नेछः–

(क) अनुसन्धान तथा तहकिकात प्रारम्भ हुनु अघि नै त्यस्तो कसूरको बारेमा जानकारी वा सूचना दिएमा,

(ख) अनुसन्धान तथा तहकिकातको सिलसिलामा जाँचबुझ गर्ने अधिकारीले पत्ता लगाउन नसकेको महत्वपूर्ण प्रमाण वा जानकारी उपलब्ध गराएमा,

(ग) अनुसन्धान तथा तहकिकातको काम कारबाहीमा अन्य कुनै विशेष सहयोग पुर्याएमा ।

(२) उपदफा (१) बमोजिम बजार संरक्षण अधिकृतले माग गरेको सजाय छूटको व्यहोरा मनासिब देखिएमा अदालतले कसूर गर्ने व्यक्ति वा प्रतिष्ठानलाई यस ऐन बमोजिम हुन सक्ने सजाय आंशिक वा पूर्ण रुपले छूट गर्न सक्नेछ ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कसूरमा संलग्न व्यक्ति वा प्रतिष्ठानले दफा २९ बमोजिम क्षतिपूर्ति दिनु पर्ने दायित्वबाट छुट पाउन सक्ने छैन ।

परिच्छेद–५ मुद्दाको तहकिकात र दायरी सम्बन्धी व्यवस्था

२२. बजार संरक्षण अधिकृत तोक्ने : (१) यस ऐन बमोजिम सजाय हुने कसूर सम्बन्धी मुद्दाको अनुसन्धान तथा तहकिकात गरी अदालत समक्ष मुद्दा दायर गर्ने काम समेतको लागि नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी नेपाल राज्यको आवश्यक जिल्लामा कुनै अधिकृत  कर्मचारीलाई बजार संरक्षण अधिकृतको रुपमा तोक्नेछ ।

(२) बजार संरक्षण अधिकृतको योग्यता तथा अन्य काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछन् ।

 

२३. उजुरी दिन सक्ने : (१) कुनै व्यक्ति वा प्रतिष्ठानले यस ऐन विपरीत कुनै काम कारबाही गरेमा सो  कुराको जानकारी पाउने जुनसुकै व्यक्तिले आफुसँग भएको जानकारी वा सबूत प्रमाण सहित  तोकिए बमोजिम बोर्ड वा बजार संरक्षण अधिकृत समक्ष उजुरी दिन सक्नेछ ।

(२) उपदफा (१) बमोजिम उजुरी दिने व्यक्तिले आप्mनो नाम गोप्य राख्न चाहेमा त्यस्तो व्यक्तिको नाम गोप्य राखिनेछ ।

 

२४. मुद्दाको तहकिकात र दायरी : (१) यस ऐन बमोजिम सजाय हुने कुनै कसूर भए गरेको सम्बन्धमा दफा २३ बमोजिम उजुरी प्राप्त भएमा वा सो विषयमा अन्य कुनै माध्यमबाट आपूmलाई जानकारी  हुन आएमा बजार संरक्षण अधिकृतले सो मुद्दाको अनुसन्धान तथा तहकिकात गर्नेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐन बमोजिम सजाय हुने कुनै कसूर भए गरेको सम्बन्धमा दफा २३ बमोजिम बोर्डमा उजुरी परेकोमा बोर्डले त्यस्तो उजुरी आवश्यक कारबाहीको लागि कुनै बजार संरक्षण अधिकृत समक्ष पठाउन वा त्यस्तो उजुरी उपर  उपसमिति गठन गरी आपैmले अनुसन्धान तथा तहकिकात गराउन सक्नेछ ।

(३) दफा २३ बमोजिम उजुरी दिने व्यक्तिले कसूरको अनुसन्धान तथा तहकिकातको सिलसिलामा थप प्रमाण वा जानकारी दिएमा अनुसन्धान तथा तहकिकात गर्ने अधिकारीले त्यस्तो प्रमाण वा जानकारीलाई समेत विचार गरी अनुसन्धान तथा तहकिकात गर्नु पर्नेछ ।

(४) उपदफा (२) बमोजिम उपसमितिबाट कुनै मुद्दाको अनुसन्धान तथा तहकिकात भएकोमा त्यस्तो मुद्दाको अनुसन्धान तथा तहकिकातको काम समाप्त भएपछि अदालतमा मुद्दा दायर गर्न बोर्डले कुनै बजार संरक्षण अधिकृतलाई आदेश दिनेछ ।

(५) उपदफा (१) बमोजिम मुद्दाको अनुसन्धान तथा तहकिकातको काम समाप्त भएको वा उपदफा (४) बमोजिम बोर्डबाट मुद्दा दायर गर्न आदेश पाएको मितिले पैंतीस दिनभित्र बजार संरक्षण अधिकृतले अदालत समक्ष मुद्दा दायर गर्नु पर्नेछ ।

(६) उपदफा (५) बमोजिम मुद्दा दायर गर्दा बजार संरक्षण अधिकृतले सरकारी वकीलको राय लिनु पर्नेछ ।

(७) उपदफा (५) बमोजिम अदालत समक्ष दायर भएको मुद्दाको बहस पैरवी तथा प्रतिरक्षा सरकारी वकीलबाट हुनेछ ।

 

२५ निरीक्षण, जाँचबुझ वा खानतलासी गर्न सक्ने : (१) कसैले यो ऐन वा यस अन्तर्गत बनेको नियम विपरीत कुनै काम कारबाही गरिरहेको छ भन्ने विश्वास हुने मनासिब कारण भएमा वा सो सम्बन्धमा दफा २३ बमोजिम उजुरी प्राप्त भएमा बजार संरक्षण अधिकृत वा बोर्डद्वारा गठित उपसमितिले सम्बन्धित ठाउँको निरीक्षण, जाँचबुझ वा खानतलासी गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम निरीक्षण, जाँचबुझ वा खानतलासी गर्दा अपनाउनु पर्ने कार्यविधि तोकिए बमोजिम हुनेछ ।

 

२६. नेपाल सरकार वादी हुने : यस ऐन अन्तर्गत कसूर हुने मुद्दा नेपाल सरकार वादी हुनेछ ।

 

२७. विशेषज्ञको सहयोग लिन सक्ने : कुनै कसूरको प्रकृति र गाम्भीर्यताको कारण सो कसूरको अनुसन्धान तथा तहकिकातमा सम्बन्धित विषयको विशेषज्ञको सहयोग आवश्यक भएमा वा तहकिकात गर्ने उपसमिति वा बजार संरक्षण अधिकृतले सम्बन्धित विशेषज्ञको सेवा लिन सक्नेछ ।

 

२८. मुद्दाको कारबाही र किनारा : (१) यस ऐन अन्तर्गतको मुद्दाको कारबाही र किनारा गर्ने अधिकार अदालतलाई हुनेछ ।

(२) अदालतले यस ऐन अन्तर्गत दायर भएको मुद्दाको कारबाही र किनारा गर्दा संक्षिप्त कार्यविधि ऐन, २०२८ बमोजिमको कार्यविधि अपनाउनु पर्नेछ ।

परिच्छेद–६ विविध

२९. क्षतिपूर्ति : (१) कुनै व्यक्ति वा प्रतिष्ठानले यस ऐन अन्तर्गतको कुनै कसूर गरेको कारणबाट कसैलाई कुनै प्रकारको हानि नोक्सानी हुन गएमा त्यस्तो हानि नोक्सानीको क्षतिपूर्ति भराई पाउन अदालत समक्ष निवेदन दिन सक्नेछ ।

(२) उपदफा (१) बमोजिम परेको निवेदन उपर कारबाही हुँदा क्षतिपूर्ति भराउनु पर्ने देखिएमा अदालतले हानि नोक्सानीको यकिन गरी त्यसरी हानि नोक्सानी पुर्याउने व्यक्ति वा प्रतिष्ठानबाट निवेदकलाई क्षतिपूर्ति भराई दिनु पर्नेछ ।

 

३०. नेपाल सरकारको विशेष अधिकार : यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल राज्यभर वा नेपाल राज्यको कुनै खास क्षेत्रमा कुनै वस्तु वा सेवाको उत्पादन वा वितरणमा सङ्कट उत्पन्न भएमा वा हुन सक्ने देखिएमा वा कुनै वस्तु वा सेवाको आपूर्ति तथा वितरणको अवस्थालाई विचार गरी नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी सोही सूचनामा तोकिएको अवधि र क्षेत्रमा परिच्छेद–२ मा लेखिएको कुनै कुरा लागू नहुने गरी आवश्यक आदेश जारी गर्न सक्नेछ ।

तर यो ऐन लागू हुनुभन्दा अघि नेपाल सरकारले गरेको आपूर्ति तथा वितरण सम्बन्धी व्यवस्था र आदेश यसै ऐन बमोजिम भए गरेको मानिनेछ ।

 

३१. काम कारबाही रोक्न आदेश दिन सक्ने : कसैले यस ऐन विपरीत गर्न लागेको कुनै काम कारबाही तत्काल नरोकिएमा बजारमा कुनै वस्तु वा सेवाको आपूर्ति वा वितरणमा तत्काल गम्भीर प्रतिकूल अवस्था सृजना हुन सक्छ भन्ने कुरा बजार संरक्षण अधिकृत वा बोर्डबाट अदालतलाई जानकारी हुन आएमा र सो कुरामा अदालत विश्वस्त भएमा अदालतले सो काम कारबाही तत्काल रोक्न आदेश दिन सक्नेछ ।

 

३२. बौद्धिक सम्पत्तिको दुरुपयोग रोक्ने व्यवस्था गर्न सक्ने : कुनै बौद्धिक सम्पत्तिको धनीले आप्mनो बौद्धिक सम्पत्तिको दुरुपयोग गरी स्वच्छ प्रतिस्पर्धामा बाधा पुर्याएमा वा उपभोक्ताको हक हित विपरीत काम गरेमा नेपाल सरकारले सो सम्बन्धमा आवश्यक व्यवस्था गर्न सक्नेछ ।

 

३३. प्रचलित कानून बमोजिम मुद्दा चलाउन बाधा नपर्ने : यस ऐन बमोजिम कसूर ठहरिने कुनै काम कारबाही अन्य प्रचलित कानून बमोजिम पनि कसूर ठहरिने रहेछ भने सो कानून बमोजिम मुद्दा चलाउन यस ऐनको कुनै कुराले बाधा पुर्याएको मानिने छैन ।

 

३४. पुरस्कार दिन सक्ने : कसैले यस ऐन विपरीत कुनै कसूर गरेको वा गर्न लागेको भन्ने सम्बन्धमा बोर्ड वा बजार संरक्षण अधिकृतलाई दिएको सूचना अदालतबाट मुद्दाको अन्तिम किनारा हुँदा सत्य ठहरिएमा त्यस्तो सूचनादातालाई बोर्डले उचित पुरस्कार दिन सक्नेछ ।

 

३५ सहयोग गर्नु पर्ने : यस ऐन अन्तर्गतको कसूरको सम्बन्धमा अनुसन्धान तथा तहकिकात गर्दा बोर्ड, बोर्डद्वारा गठित उपसमिति वा बजार संरक्षण अधिकृतलाई आवश्यक सहयोग पुर्याउनु सम्बन्धित सबैको कर्तव्य हुनेछ ।

 

३६. सूचनाको गोप्यता : यस ऐन बमोजिम निरीक्षण, अनुगमन, अनुसन्धान वा तहकिकात गर्दा बोर्ड वा बजार संरक्षण अधिकृतले आफुलाई प्राप्त हुन आएको व्यापारिक कारोवार तथा सूचना गोप्य राख्नु पर्नेछ ।

तर आफ्नो कार्य सम्पादनको सिलसिलामा उल्लेख गरेको वा सार्वजनिक महत्वको जानकारी दिलाएको विषयलाई गोप्यता भङ्ग गरेको मानिने छैन ।

 

३७. अधिकार प्रत्यायोजन : बोर्डले आपूmलाई प्राप्त अधिकार मध्ये आवश्यकतानुसार केही अधिकार बोर्डको अध्यक्ष, सदस्य, सदस्य–सचिव, यस ऐन बमोजिम गठित समिति वा नेपाल सरकारको कुनै अधिकृत कर्मचारीलार्ई प्रत्यायोजन गर्न सक्नेछ ।

 

३८. वार्षिक प्रतिवेदन : बोर्डले आफ्नो काम कारबाहीको वार्षिक प्रतिवेदन प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले साठी दिनभित्र नेपाल सरकार समक्ष पेश गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम पेश भएको वार्षिक प्रतिवेदन नेपाल सरकारले सार्वजनिक गर्न सक्नेछ ।

 

३९. नियम बनाउने अधिकार: यस ऐनको उद्देश्य कार्यान्वयन गर्न नेपाल सरकारले आवश्यक नियम बनाउन सक्नेछ।