Skip to contentSkip to left sidebar Skip to footer

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४

 

प्रमाणीकरण तथा प्रकाशित मिति
२०७४।५।२२
संवत्२०७४ सालको ऐन नं. १५

प्रस्तावना : प्रतिनिधि सभा सदस्यको निर्वाचन गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गर्न वाञ्छनीय भएकोले,
नेपालको संविधानको धारा २९६ को उपधारा (१) बमोजिमको व्यवस्थापिका–संसदले यो ऐन बनाएको छ ।

परिच्छेद – १ प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भः (१) यस ऐनको नाम “प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४” रहेको छ ।

(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।

२. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,–

(क) “अदालत” भन्नाले संविधानको धारा १३७ को उपधारा (१) बमोजिमको सर्वोच्च अदालतको संवैधानिक इजलास सम्झनु पर्छ ।

(ख) “आयोग” भन्नाले संविधानको धारा २४५ बमोजिमको निर्वाचन आयोग सम्झनु पर्छ ।

(ग) “उम्मेदवार” भन्नाले दफा १८ बमोजिम प्रतिनिधि सभाको सदस्यमा उम्मेदवार हुन मनोनयन गरिएको व्यक्ति सम्झनु पर्छ र सो शब्दले दफा २८ बमोजिम उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएको व्यक्तिलाई समेत जनाउँछ ।

(घ) “उम्मेदवारको बन्दसूची” भन्नाले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचनमा उम्मेदवारी दिने प्रयोजनका लागि दलले दफा २८ बमोजिम आयोग समक्ष पेश गरेको बन्दसूची सम्झनु पर्छ ।

(ङ) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा वा आयोगले दफा ७६ बमोजिम जारी गरेको आदेशमा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।

(च) “दल” भन्नाले निर्वाचनको प्रयोजनको लागि आयोगमा दर्ता भएको राजनीतिक दल सम्झनु पर्छ र सो शब्दले एकल चुनाव चिह्न लिई संयुक्त रुपमा निर्वाचनमा सहभागी हुने दलहरुको समूहलाई समेत जनाउँछ ।

(छ) “निर्वाचन” भन्नाले यस ऐन बमोजिम हुने प्रतिनिधि सभाका सदस्यको निर्वाचन सम्झनु पर्छ र सो शब्दले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गतको निर्वाचनबाट निर्वाचित भएको सदस्यको पद रिक्त भएको अवस्थामा गरिने उपनिर्वाचनलाई समेत जनाउँछ ।

(ज) “निर्वाचन अधिकृत” भन्नाले दफा ८ बमोजिम आयोगबाट नियुक्त भएको मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत सम्झनु पर्छ र सो शब्दले सहायक निर्वाचन अधिकृतलाई समेत जनाउँछ ।

(झ) “निर्वाचन क्षेत्र” भन्नाले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचनका लागि सङ्घीय कानून बमोजिम निर्वाचन क्षेत्र निर्धारण आयोगले निर्धारण गरेको निर्वाचन क्षेत्र सम्झनु पर्छ ।

(ञ) “निर्वाचन प्रतिनिधि” भन्नाले दफा ६३ बमोजिम नियुक्त भएको निर्वाचन प्रतिनिधि सम्झनु पर्छ ।

(ट) “पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली” भन्नाले दफा ४ बमोजिमको निर्वाचन प्रणाली सम्झनु पर्छ ।

(ठ) “पिछडिएको क्षेत्र” भन्नाले अछाम, कालिकोट, जाजरकोट, जुम्ला, डोल्पा, बझाङ, बाजुरा, मुगु र हुम्ला जिल्ला सम्झनु पर्छ ।

(ड) “प्रतिनिधि सभा” भन्नाले संविधानको धारा ८४ बमोजिम गठन हुने प्रतिनिधि सभा सम्झनु पर्छ ।

(ढ) “मतदाता” भन्नाले सङ्घीय कानून बमोजिम अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको व्यक्ति सम्झनु पर्छ ।

(ण) “मतपत्र” भन्नाले निर्वाचनमा मतदान गर्नको लागि व्यवस्था गरिएको मतपत्र सम्झनु पर्छ र सो शब्दले विद्युतीय उपकरणबाट मतदान हुने व्यवस्था भएकोमा त्यस्तो विद्युतीय उपकरणमा प्रयोग हुने मतपत्र वा त्यस्तो उपकरणमा जडित डिजिटल मतपत्रलाई समेत जनाउँछ ।

(त) “मतपेटिका” भन्नाले मत सङ्केत गरेको मतपत्र राख्नको लागि आयोगले व्यवस्था गरेको मतपेटिका सम्झनुपर्छ र सो शब्दले विद्युतीय उपकरणबाट मतदान गरेकोमा त्यसरी मतदान गरेको मत सङ्केतलाई अभिलेख गर्ने विधुतीय उपकरणलाई समेत जनाउँछ ।

(थ) “मतदान अधिकृत” भन्नाले दफा ११ बमोजिम नियुक्त भएको मतदान अधिकृत सम्झनु पर्छ र सो शब्दले सहायक मतदान अधिकृतलाई समेत जनाउँछ ।

(द) “सदस्य” भन्नाले प्रतिनिधि सभाको सदस्य सम्झनु पर्छ ।

(ध) “समानुपातिक निर्वाचन प्रणाली” भन्नाले दफा ५ बमोजिमको निर्वाचन प्रणाली सम्झनु पर्छ ।

(न) “संविधान” भन्नाले नेपालको संविधान सम्झनु पर्छ ।

परिच्छेद–२ निर्वाचन प्रणाली

३. निर्वाचन प्रणालीः प्रतिनिधि सभाको दुई सय पचहत्तर सदस्य सङ्ख्याको लागि देहायको निर्वाचन प्रणाली अपनाइनेछः–

(क) एकसय पैसठ्ठी सदस्य सङ्ख्याको लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली,

(ख) एकसय दश सदस्य सङ्ख्याको लागि समानुपातिक निर्वाचन प्रणाली ।

४. पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीः पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत
एक निर्वाचन क्षेत्र एक पदको आधारमा सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार प्रतिनिधि सभाको सदस्यमा निर्वाचित हुनेछ ।

५. समानुपातिक निर्वाचन प्रणालीः समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत सम्पूर्ण देशलाई एक
निर्वाचन क्षेत्र मानी दललाई मत दिने र प्रत्येक दलले प्राप्त गरेको कूल मत सङ्ख्याको अनुपातमा त्यस्तो दलको तर्फबाट प्रतिनिधित्व गर्ने उम्मेदवार प्रतिनिधि सभाकोसदस्यमा निर्वाचित हुनेछन् ।

परिच्छेद–३ निर्वाचनको सूचना

६. निर्वाचनको मिति तोक्नेः (१) नेपाल सरकारले निर्वाचनकोमिति तोक्नेछ ।
तर निर्वाचनको मिति तोक्नुभन्दा अघि नेपाल सरकारले आयोगको परामर्श लिनु पर्नेछ ।

(२) संविधानको धारा ७६ को उपधारा (७) बमोजिम प्रतिनिधिसभा विघटन भएकोमा राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधि सभा विघटन भएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुने गरीे निर्वाचनको मिति तोक्नेछ ।

(३) उपदफा (१) वा (२) बमोजिमको मितिमा एकै चरणमा निर्वाचन सम्पन्न गर्न सम्भव नभएमा सो मितिबाट निर्वाचन शुरु हुने गरी दुई वा दुईभन्दा बढी चरणमा निर्वाचन सम्पन्न गर्न अलगअलग मिति समेत तोक्न सकिनेछ ।

(४) यस दफा बमोजिम निर्वाचनको मिति तोकेको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्नु पर्नेछ ।

७. निर्वाचन कार्यक्रमको सूचनाः (१) दफा ६ बमोजिम निर्वाचनको मिति तोकिएको सूचना प्रकाशित भएपछि आयोगले निर्वाचन कार्यक्रमको सूचना प्रकाशन गर्नेछ ।

(२) उपदफा (१) बमोजिमको निर्वाचन कार्यक्रममा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने, मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, उम्मेदवारको विरोधमा उजुरी दिने, मनोनयनपत्र जाँच गर्ने, मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, उम्मेदवारले नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र मतदान गर्ने मिति, समय र स्थान उल्लेख गरेको हुनु पर्नेछ ।

(३) उपदफा (१) बमोजिमको निर्वाचन कार्यक्रममा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचनको लागि उम्मेदवारको बन्दसूची आयोगमा पेश गर्ने, सो उपर दाबी विरोध गर्ने र उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन गर्ने कार्यक्रम समेत समावेश गर्नु पर्नेछ ।

(४) यस दफा बमोजिमको निर्वाचन कार्यक्रम नेपाल राजपत्रमा प्रकाशन गरिनेछ ।

(५) उपदफा (१) बमोजिम आयोगले प्रकाशन गरेको निर्वाचन कार्यक्रम बमोजिमको सूचना सम्बन्धित निर्वाचन अधिकृतले निर्वाचन अधिकृतको कार्यालयमा प्रकाशन गर्नु पर्नेछ ।

परिच्छेद–४ मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, मतदान अधिकृत र अन्य कर्मचारी

८. निर्वाचन अधिकृतको नियुक्तिः (१) संविधान, यस ऐन तथा सङ्घीय कानून बमोजिम निर्वाचनमा सम्पादन गर्नुपर्ने काम गर्न वा गराउनका लागि प्रत्येक जिल्लामा आयोगले एक जना मुख्य निर्वाचन अधिकृत र प्रत्येक निर्वाचन क्षेत्रमा एक जना निर्वाचन अधिकृत नियुक्त गर्नेछ ।

(२) उपदफा (१) बमोजिम आयोगले निर्वाचन अधिकृत नियुक्त गर्दा न्याय परिषद्को परामर्शमा जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतमा र न्याय सेवा आयोगको परामर्शमा नेपाल न्याय सेवाका कम्तीमा राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्त गर्नेछ।

(३) निर्वाचन अधिकृतले आयोगले तोके बमोजिमको सङ्ख्यामा सहायक निर्वाचन अधिकृत र अन्य कर्मचारी नियुक्त गर्न सक्नेछ ।

९. मुख्य निर्वाचन अधिकृतको काम, कर्तव्य र अधिकारः (१) आयोगको निर्देशनको अधीनमा रही आफूलाई तोकिएको जिल्लाभित्रको निर्वाचन क्षेत्रहरुको निर्वाचन सम्बन्धी कामको समन्वय र सुपरिवेक्षण गरी आवश्यक निर्देशन दिनु मुख्य निर्वाचन अधिकृतको कर्तव्य हुनेछ ।

(२) मुख्य निर्वाचन अधिकृतले आफूलाई तोकिएको निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको काम, कर्तव्य र अधिकारको प्रयोग र पालना समेत गर्नेछ ।

१०. निर्वाचन अधिकृतको काम, कर्तव्य र अधिकारः (१) आयोग र मुख्य निर्वाचन अधिकृतको निर्देशनको अधीनमा रही आफूलाई तोकिएको निर्वाचन क्षेत्रमा यस ऐन बमोजिम निर्वाचन गराउने सम्बन्धी सम्पूर्ण काम कारबाही स्वच्छ, निष्पक्ष र स्वतन्त्र रुपमा गर्नु, गराउनु निर्वाचन अधिकृतको कर्तव्य हुनेछ ।

(२) निर्वाचन अधिकृतको अन्य काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।

(३) निर्वाचन अधिकृतले निर्वाचनको काम गर्न खटाएको कर्मचारीलाई आवश्यकता अनुसार आफ्नो अधिकार प्रत्यायोजन गर्न सक्नेछ ।तर मनोनयनपत्र जाँच्ने, मनोनयन पत्र सदर वा बदर गर्ने र मतगणनाको अन्तिम परिणाम घोषणा गर्ने अधिकार प्रत्यायोजन गर्न सकिने छैन ।

(४) निर्वाचन अधिकृतले नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहका कर्मचारी, नेपाल सरकार, प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकार वा प्रदेश सरकारकोअनुदानमा सञ्चालित संस्थाका कर्मचारी वा विश्वविद्यालय वा सामुदायिक विद्यालयका
शिक्षक वा कर्मचारीलाई निर्वाचन सम्बन्धी कुनै काममा खटाउन वा लगाउन सक्नेछ ।

तर यसरी कर्मचारी वा शिक्षक खटाउँदा कर्मचारीको हकमा निजको घर ठेगाना रहेको स्थानको सम्बन्धित वडामा र शिक्षकको हकमा निज कार्यरत स्थान र निजको घर ठेगाना रहेको स्थानको सम्बन्धित वडामा नपर्ने गरी खटाउनु पर्नेछ ।

११. मतदान अधिकृतको नियुक्तिः (१) निर्वाचन अधिकृतले नेपाल सरकार, प्रदेश सरकार तथास्थानीय तहका कर्मचारी, नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा
नेपाल सरकार वा प्रदेश सरकारको अनुदानमा सञ्चालित संस्थाका कर्मचारी वा विश्वविद्यालय वा
सामुदायिक विद्यालयका शिक्षक वा कर्मचारीलाई मतदान अधिकृत वा सहायक मतदान अधिकृत नियुक्त गर्न सक्नेछ ।
तर यसरी मतदान अधिकृत वा सहायक मतदान अधिकृत नियुक्त गर्दा कर्मचारीको हकमा
निजको घर ठेगाना रहेको स्थानको सम्बन्धित वडामा र शिक्षकको हकमा निज कार्यरत स्थान र
निजको घर ठेगाना रहेको स्थानको सम्बन्धित वडामा नपर्ने गरी नियुक्त गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम नियुक्त मतदान अधिकृत र सहायक मतदान अधिकृतले यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम वा जारी भएको आदेशले तोके बमोजिमको मतदान गराउने सम्बन्धी सम्पूर्ण काम स्वच्छ, निष्पक्ष र स्वतन्त्र रुपमा सम्पन्न गराउनु पर्नेछ ।

(३) मतदान अधिकृत तथा सहायक मतदान अधिकृतको अन्य काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।

परिच्छेद–५ उम्मेदवार तथा मनोनयनपत्र

१२. उम्मेदवारको योग्यताः कुनै व्यक्ति निर्वाचनमा उम्मेदवार हुन देहायको योग्यता पूरा गरेको हुनुपर्नेछस्ः–

(क) नेपालको नागरिक,

(ख) मतदाता नामावलीमा नाम समावेश भएको,

(ग) पच्चीस वर्ष उमेर पूरा भएको,

(घ) कुनै सङ्घीय कानूनले अयोग्य नभएको, र

(ङ) कुनै लाभको पदमा बहाल नरहेको ।

स्पष्टीकरणः खण्ड (ङ) को प्रयोजनको लागि “लाभको पद” भन्नाले निर्वाचन वा मनोनयनद्वारा पूर्ति गरिने राजनीतिक पद बाहेक कुनै सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने अन्य पद सम्झनु पर्छ ।

१३. उम्मेदवारको अयोग्यताः यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि देहायको व्यक्ति निर्वाचनमा उम्मेदवार हुन अयोग्य मानिनेछः–

(क) दफा १२ बमोजिमको योग्यता नभएको,

(ख) नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहमा तथा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको

,
(ग) निर्वाचन सम्बन्धी प्रचलित कानून बमोजिम सजाय पाई त्यस्तो सजाय भोगिसकेकोमितिले दुई वर्ष भुक्तान नगरेको,

(घ) भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागू औषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरण सम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा सजाय पाई वा कुनै कसूरमा जन्म कैद वा बीस वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो पैmसला अन्तिम भएको,

(ङ) सङ्गठित अपराध सम्बन्धी कसूरमा कैदको सजाय पाई वा कर्तब्य ज्यान सम्बन्धी कसूरमा बीस वर्षभन्दा कम कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको,

(च) जातीय भेदभाव तथा छुवाछूत, बोक्सा बोक्सी वा बहुविवाह सम्बन्धी कसूरमा कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएको,

(छ) खण्ड (घ) र (ङ) मा उल्लिखित कसूर बाहेक अन्य कसूरमा पाँच वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको,

(ज) प्रचलित कानून बमोजिम कालो सूचीमा रहेकोमा सो अवधिभर,

(झ) कैदमा बसेकोमा कैद बसेको अवधिभर,

(ञ) मानसिक सन्तुलन ठीक नभएको।

१४. दोहोरो उम्मेदवार हुन नपाउनेः (१) पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अनुसार हुने
निर्वाचनमा एक व्यक्तिले एक पटकमा कुनै एक निर्वाचन क्षेत्रका लागि मात्र उम्मेदवारी दिन सक्नेछ । त्यसरी कुनै व्यक्ति एकभन्दा बढी निर्वाचन क्षेत्रमा उम्मेदवार भएमा निजको सबै निर्वाचन क्षेत्रको उम्मेदवारी आयोगले बदर गर्नेछ ।

(२) समानुपातिक निर्वाचन प्रणाली तर्फको बन्दसूचीमा नाम समावेश भएको व्यक्ति पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फ उम्मेदवार हुन र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फ उम्मेदवार भएको व्यक्तिको नाम समानुपातिक निर्वाचन प्रणाली तर्फको बन्दसूचीमा समावेश गर्न पाइने छैन ।

(३) समानुपातिक निर्वाचन प्रणाली तर्फ एउटै व्यक्तिको नाम एकभन्दा बढी दलको बन्दसूचीमा समावेश भएमा आयोगले त्यस्तो व्यक्तिको नाम त्यस्ता सबै दलको बन्दसूचीबाट हटाउनेछ ।

(४) प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै मितिमा हुने गरी निर्वाचनको मिति तोकिएको अवस्थामा कुनै व्यक्ति प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा उम्मेदवार भएमा निजको दुवै निर्वाचनतर्पmको उम्मेदवारी आयोगले बदर गर्नेछ ।

१५. उम्मेदवारको अयोग्यता सम्बन्धी निर्णय गर्नेः (१) सदस्यको लागि उम्मेदवारीको मनोनयन दर्ता भइसकेको तर निर्वाचन परिणाम घोषणा भई नसकेको अवस्थामा कुनै उम्मेदवार अयोग्य छ वा हुन गएको छ भन्ने कसैलाई लागेमा सो विषयमा स्पष्ट प्रमाण सहित सम्बन्धित निर्वाचन
अधिकृत मार्फत आयोग समक्ष उजुरी दिन सकिनेछ ।

(२) उपदफा (१) बमोजिम उजुरी प्राप्त भएमा निर्वाचन अधिकृतले त्यस्तो उम्मेदवारलाई सात दिनको म्याद दिई त्यस सम्बन्धमा स्पष्टीकरण माग गर्न सक्नेछ ।

(३) उपदफा (२) बमोजिम स्पष्टीकरण प्राप्त भएपछि वा म्यादभित्र स्पष्टीकरण प्राप्त नभएमा सोही व्यहोरा उल्लेख गरी निर्वाचन अधिकृतले उपदफा (१) बमोजिम परेको उजुरी र तत्सम्बन्धी कागजात यथाशीघ्र आयोगमा पठाउनु पर्नेछ ।

(४) उपदफा (३) बमोजिम उजुरी सहितका कागजात प्राप्त भएपछि आयोगले चाहेमा सो विषयमा सम्बन्धित उम्मेदवारसँग बुझ्न वा थप प्रमाण माग गर्न सक्नेछ ।

(५) आयोगले उपदफा (३) बमोजिम निर्वाचन अधिकृतबाट प्राप्त उजुरी सहितका कागजात जाँचबुझ गरी उजुरी प्राप्त भएको मितिले सात दिनभित्र उम्मेदवारको अयोग्यता सम्बन्धमा निर्णय गरिसक्नु पर्नेछ ।

(६) उपदफा (५) बमोजिम उम्मेदवारको अयोग्यता सम्बन्धमा निर्णय गर्दा अपनाउनु पर्ने कार्यविधि आयोगले निर्धारण गरे बमोजिम हुनेछ ।

(७) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि आयोगले कुनै उम्मेदवारको अयोग्यताका सम्बन्धमा यस दफा बमोजिम निर्णय गरी नसकेको कारणबाट मात्र त्यस्तो निर्वाचनको काम कारबाहीमा कुनै असर पर्ने छैन ।

१६. पद मुक्त हुनेः (१) सदस्यको पदमा निर्वाचित कुनै व्यक्ति दफा १३ बमोजिम अयोग्य रहेको
अदालतबाट ठहर भएमा निज त्यस्तो पदबाट मुक्त हुनेछ ।

(२) उपदफा (१) बमोजिम पद मुक्त भएको जानकारी आयोगले सम्बन्धित व्यक्तिलाई दिनु पर्नेछ ।

(३) सदस्यको पदमा निर्वाचित कुनै व्यक्तिको अयोग्यता सम्बन्धमा अदालतमा उजुरी दिने सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।

(४) उपदफा (१) बमोजिम सदस्य पदमुक्त भएकोसूचना नेपाल राजपत्रमा प्रकाशन गर्नु पर्नेछ ।

१७. उम्मेदवारको उमेरको गणनाः निर्वाचनमा उम्मेदवार हुनको लागि उम्मेदवारको उमेरको गणना गर्दा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको हकमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने मितिसम्ममा र समानुपातिक निर्वाचन प्रणालीको हकमा उम्मेदवारको बन्दसूची पेश गर्ने मितिसम्ममा पच्चीस वर्ष उमेर पूरा गरेको हुनु पर्नेछ ।

१८. उम्मेदवारको मनोनयनः (१) दफा १३ बमोजिम अयोग्यता नभएको व्यक्ति तोकिए बमोजिम
निर्वाचनमा उम्मेदवार हुन वा त्यस्तो व्यक्तिलाई उम्मेदवार मनोनयन गर्न सकिनेछ ।

(२) उपदफा (१) बमोजिम उम्मेदवार मनोनयन गर्दा एक जना प्रस्तावक र एक जना समर्थक हुनु पर्नेछ । त्यस्तो प्रस्तावक र समर्थक सोही निर्वाचन क्षेत्रको मतदाता नामावलीमा नाम दर्ता भएको व्यक्ति हुनु पर्नेछ ।

(३) उपदफा (२) बमोजिम कुनै व्यक्तिलाई उम्मेदवारको रुपमा प्रस्ताव गरिएको अवस्थामा त्यस्तो उम्मेदवारले मनोनयनपत्रमा आफ्नो मञ्जुरी लेखी सहीछाप समेत गर्नु पर्नेछ ।

(४) दलले खडा गरेको उम्मेदवारको सम्बन्धमा त्यस्तो दलको तर्फबाट दफा १९ को उपदफा(१) बमोजिमको अधिकारीले दिएको औपचारिक पत्र मनोनयनपत्र साथ पेश गर्नु पर्नेछ ।

(५) उपदफा (४) बमोजिमको अधिकारीले उम्मेदवारलाई दिएको त्यस्तो औपचारिक पत्रको एक प्रति निर्वाचन अधिकृतलाई समेत पठाउनु पर्नेछ ।

(६) उपदफा (४) बमोजिमको रीत नपुर्याई मनोनयनपत्र दाखिला भएको अवस्थामा त्यस्तो उम्मेदवारलाई सो दलको उम्मेदवारको रुपमा मान्यता दिइने छैन ।

(७) कुनै व्यक्तिलाई निर्वाचनको लागि बढीमा दुई मनोनयनपत्रद्वारा मनोनयन गर्न सकिनेछ ।

१९. मनोनयनको औपचारिक पत्र प्रदान गर्ने अधिकारी सम्बन्धी व्यवस्थाः (१) दलले आफ्नोतर्फबाट उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्न त्यस्तो दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिको पदाधिकारीलाई तोक्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिमको पदाधिकारीको नाम, थर, पद र निजको दस्तखतको नमूना त्यस्तो दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिले तोकेको सो समितिको पदाधिकारीले प्रमाणित गरी उम्मेदवारको लागि मनोनयनपत्र दाखिला गर्ने मिति अगावै आयोगले तोकेको अवधिभित्र आयोगलाई उपलब्ध गराउनु पर्नेछ ।

(३) आयोगले उपदफा (२) बमोजिमको दस्तखत नमूना सहितको विवरण मनोनयन पत्र दर्ता गर्न तोकिएको मिति अगावै सम्बन्धित निर्वाचन अधिकृत समक्ष पठाइसक्नुपर्नेछ ।

२०. मनोनयनपत्रको दर्ताः (१) उम्मेदवारको मनोनयनपत्र उम्मेदवार आफैँले वा निजको प्रतिनिधि वा प्रस्तावक वा समर्थकले सम्बन्धित निर्वाचन अधिकृत समक्ष पेश गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम पेश भएको मनोनयनपत्र सम्बन्धित निर्वाचन अधिकृतले यस ऐन बमोजिम रीतपूर्वकको भए नभएको जाँचबुझ गरी रीतपूर्वकको भए दर्ता गरी सोको निस्सा मनोनयनपत्र दर्ता गर्न ल्याउने व्यक्तिलाई दिनु पर्नेछ ।

(३) कसैले प्रस्तावक वा समर्थक नभएको, प्रस्तावक वा समर्थक दोहोरिएको, यस ऐन बमोजिमको धरौटी राखेको निस्सा नभएको, प्रस्तावक वा समर्थक वा उम्मेदवार हुने व्यक्तिको सहीछाप नभएको वा अन्य रीत नपुगेको मनोनयनपत्र दर्ता गर्न ल्याएमा निर्वाचन अधिकृतले रीत नपुगेको जति कुरा सच्याउन लगाई त्यस्तो मनोनयनपत्र दर्ता गर्नु पर्नेछ । कसैले यसरी रीत नपुगेको कुरा नसच्याई मनोनयनपत्र दर्ता गराउन चाहेमा सोही व्यहोरा मनोनयनपत्रमा जनाई त्यसको सूचना मनोनयनपत्र दर्ता गराउने व्यक्तिलाई दिनु पर्नेछ ।

(४) मनोनयनपत्र साथ पेश गर्नु पर्ने अन्य कागजात तोकिए बमोजिम हुनेछ ।

(५) निर्वाचन अधिकृतले मनोनयनपत्र दर्ता गर्ने समय समाप्त भएपछि निर्वाचन कार्यक्रमको सूचनामा तोकिएको मिति, समय र स्थानमा मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्नेछ ।

२१. दाबी विरोध गर्न सक्नेः दफा २० बमोजिम मनोनयनपत्र दर्ता भएको कुनै उम्मेदवारको योग्यताको सम्बन्धमा दाबी विरोध गर्न चाहने उम्मेदवार वा निजको प्रतिनिधिले निर्वाचन कार्यक्रमको सूचनामा तोकिएको मिति, समय र स्थानमा निर्वाचन अधिकृत समक्ष उजुरी दिन सक्नेछ ।

२२. मनोनयनपत्रको जाँचः (१) दफा २० बमोजिम दर्ता भएको मनोनयनपत्र जाँच गर्दा निर्वाचन
कार्यक्रमको सूचनामा तोकिएको मिति, समय र स्थानमा उम्मेदवार वा निजको प्रतिनिधि, प्रस्तावक वा समर्थक उपस्थित हुनु पर्नेछ ।

(२) निर्वाचन अधिकृतले उपदफा (१) मा उल्लेख गरिएका व्यक्तिको उपस्थितिमा सम्पूर्ण उम्मेदवारको मनोनयनपत्र जाँच गर्नु पर्नेछ ।
तर त्यसरी उपस्थित हुनु पर्ने कुनै उम्मेदवार वा निजको प्रस्तावक वा समर्थक वा प्रतिनिधि उपस्थित नभएमा पनि मनोनयनपत्र जाँच गर्न र सो विषयमा कानून बमोजिम निर्णय गर्न यस उपदफाले बाधा पुर्याएको मानिने छैन ।

(३) देहायको अवस्थामा निर्वाचन अधिकृतले यस दफा बमोजिम गर्नु पर्ने मनोनयनपत्रको जाँच सम्बन्धी कारबाही स्थगित गर्न सक्नेछ र यसरी मनोनयनपत्रको जाँच सम्बन्धी कारबाही स्थगित भएको जानकारी आयोगलाई दिनु पर्नेछः–

(क) मनोनयनपत्र जाँच गर्ने समयमा सो स्थानमा हुलदङ्गा लगायत अन्य असामान्य परिस्थिति उत्पन्न भएमा, वा

(ख) प्राकृतिक विपद्को कारणले काबू बाहिरको परिस्थिति उत्पन्न भएमा ।

(४) उपदफा (३) बमोजिम मनोनयनपत्रको जाँच सम्बन्धी कारबाही स्थगित भएमा आयोगले कुनै निर्देशन दिएको भए सो समेतको आधारमा निर्वाचन अधिकृतले समय र स्थान तोकी यथासम्भव छिटो मनोनयनपत्रकोजाँच गर्नु पर्नेछ ।

(५) मनोनयनपत्रको जाँच सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

२३. मनोनयनपत्र बदर हुने अवस्थाः (१) देहायको अवस्थामा मनोनयनपत्र बदर हुनेछः–

(क) संविधान र यस ऐन बमोजिम उम्मेदवारको योग्यता नभएमा,

(ख) उम्मेदवार हुने व्यक्तिको मञ्जुरी नभएमा वा निज वा निजको प्रस्तावक र समर्थकको सहीछाप नभएमा वा किर्ते सहीछाप भएमा,

(ग) दफा ७ को उपदफा (२) बमोजिम तोकिएको समयभित्र मनोनयनपत्र दर्ता नभएमा,

(घ) दफा १८, १९ र २० मा लेखिए बमोजिम मनोनयनपत्र दाखिला नभएमा,

(ङ) दफा ७० बमोजिम धरौटी दाखिला नगरेमा,

(च) यस ऐन बमोजिम अन्य रीत नपुगेको भएमा ।

(२) दफा १४ को उपदफा (२) विपरीत समानुपातिक निर्वाचन प्रणाली तर्फको बन्दसूचीमा नाम समावेश भएको उम्मेदवार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फ उम्मेदवार भएमा निजको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फको मनोनयनपत्र बदर हुनेछ ।

२४. उम्मेदवारको नामावलीः निर्वाचन अधिकृतले मनोनयनपत्र जाँच गरिसकेपछि कानून बमोजिम रीत पुगेका मनोनयनपत्र बमोजिमका उम्मेदवारको नामावली तयार गरी सोको एक प्रति आफ्नो कार्यालयमा प्रकाशन गर्नु पर्नेछ ।

२५. नाम फिर्ता लिनेः (१) पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फको कुनै उम्मेदवारले
उम्मेदवारको नामावलीबाट आफ्नो नाम फिर्ता लिन चाहेमा दफा ७ को उपदफा (२) बमोजिम
तोकिएको समयभित्र निर्वाचन अधिकृतलाई लिखित सूचना दिई आफ्नो नाम फिर्ता लिन सक्नेछ।

(२) उपदफा (१) बमोजिम नाम फिर्ता लिएको सूचना उम्मेदवार आफैँले वा निजको
प्रतिनिधिले दाखिला गर्नु पर्नेछ ।

(३) उपदफा (१) बमोजिम नाम फिर्ता लिएको सूचना निर्वाचन अधिकृत समक्ष दाखिला भैसकेपछि त्यस्तो सूचना बदर गर्न वा फिर्ता लिन पाइने छैन ।

(४) उपदफा (१) वा (२) बमोजिम दाखिला भएको सूचनाको बारेमा निर्वाचन अधिकृत विश्वस्त भएमा त्यस्तो उम्मेदवारको नाम उम्मेदवारको नामावलीबाट हटाउनु पर्नेछ । यसरी नाम हटाइएको सूचना निर्वाचन अधिकृतले आफ्नो कार्यालयमा तुरुन्त प्रकाशन गर्नु पर्नेछ ।

(५) कुनै दलको तर्पmबाट उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्न दफा १९ को उपदफा (१) बमोजिम तोकिएको पदाधिकारीले त्यस्तो दलको तर्फबाट उम्मेदवारी दिएको कुनै उम्मेदवारको नाम फिर्ता लिने गरी निर्वाचन अधिकृतलाई दफा ७ को उपदफा (२) बमोजिम तोकिएको समयभित्र लेखी पठाएमा निजलाई उम्मेदवारकोरुपमा कायम राखिने छैन ।

२६. उम्मेदवारको अन्तिम नामावलीः (१) दफा ७ को उपदफा (२) बमोजिम नाम फिर्ता लिन
तोकिएको समय समाप्त भएपछि निर्वाचन अधिकृतले बाँकी रहेका उम्मेदवारको नामावली तयार गरी एक प्रति तुरुन्त आफ्नो कार्यालयमा प्रकाशन गर्नु पर्नेछ र त्यसको एक प्रति आयोगमा
पठाउनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिमको नामावलीमा उम्मेदवारको नाम नेपाली वर्णानुक्रम अनुसार लेखिनेछ र कुनै उम्मेदवार दलको तर्फबाट मनोनीत भएकोमा निजको ठेगानामा त्यस्तो दलको नाम समेत उल्लेख गर्नु पर्नेछ ।

२७. निर्विरोध निर्वाचितः पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत कुनै निर्वाचन क्षेत्रमा एक जना मात्र उम्मेदवार कायम हुन आएमा निर्वाचन अधिकृतले सो पदमा त्यस्तो उम्मेदवार निर्विरोध निर्वाचित भएको घोषणा गर्नेछ ।

२८. उम्मेदवारको बन्दसूची तयार गर्नेः (१) समानुपातिक निर्वाचन प्रणाली अनुसार हुने निर्वाचनमा भाग लिन चाहने दलले आफ्नो दलको तर्फबाट प्रतिनिधित्व गर्ने उम्मेदवारको बन्दसूची तयार गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम दलले उम्मेदवारको बन्दसूची तयार गर्दा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत निर्वाचित हुने कूल सदस्य सङ्ख्याको कम्तीमा दश प्रतिशत सदस्यका लागि उम्मेदवारी दिने गरी बन्दसूची तयार गर्नु पर्नेछ ।

(३) दलले उम्मेदवारको बन्दसूची तयार गर्दा कूल उम्मेदवारको कम्तीमा पचास प्रतिशत महिलाको नाम समावेश गर्नु पर्नेछ ।

(४) दलले उम्मेदवारको बन्दसूची तयार गर्दा समानुपातिक निर्वाचन प्रणाली तर्फ निर्धारित कूल सदस्य सङ्ख्याभन्दा बढी हुने गरी उम्मेदवारको नाम समावेश गर्न पाउने छैन ।

(५) दलले यस दफा बमोजिम उम्मेदवारको बन्दसूची तयार गर्दा भूगोल र प्रादेशिक सन्तुलनलाई समेत ध्यान दिई जनसङ्ख्याको आधारमा अनुसूची–१ मा उल्लेख भए बमोजिम
दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु र मुस्लिम समेतको प्रतिनिधित्व हुने गरी
समावेशी सिद्धान्त बमोजिम तयार गर्नु पर्नेछ ।

(६) दलले उम्मेदवारको बन्दसूची तयार गर्दा पिछडिएको क्षेत्र तथा अपाङ्गता भएका व्यक्तिको समेत प्रतिनिधित्व हुने गरी गर्नु पर्नेछ ।

(७) दलले उम्मेदवारको बन्दसूची तयार गर्दा उपदफा (५) बमोजिम प्रत्येक समावेशी आधारमा समावेश गरिएका उम्मेदवार छुट्टिने गरी तोकिएको ढाँचामा तयार गर्नु पर्नेछ ।

(८) दलले यस दफा बमोजिम तयार भएको उम्मेदवारको बन्दसूची दफा ७ को उपदफा (३) बमोजिम तोकिएको समयभित्र आयोगमा पेश गर्नु पर्नेछ । यसरी बन्दसूची आयोगमा पेश गरेपछि उम्मेदवारको मनोनयन गरेको मानिनेछ ।

(९) उपदफा (८) बमोजिम उम्मेदवारको बन्दसूची पेश गर्दा त्यस्तो बन्दसूचीमा नाम समावेश भएको व्यक्तिले सो दलको तर्फबाट उम्मेदवार हुन मञ्जुर गरेको मञ्जुरीनामा समेत पेश गर्नु पर्नेछ ।

(१०) उपदफा (८) बमोजिम दलबाट प्राप्त उम्मेदवारको बन्दसूची यस ऐन बमोजिम तयार भए नभएको यकिन गरी सोबमोजिम तयार नभएको भए सम्बन्धित दललाई सात दिनभित्र सच्याउन आयोगले सूचित गर्नेछ ।

(११) उपदफा (१०) बमोजिम आयोगबाट उम्मेदवारको बन्दसूची सच्याउन सूचित भएपछि सम्बन्धित दलले सो बमोजिम उम्मेदवारको बन्दसूची संशोधन गरी सात दिनभित्र आयोगमा पठाउनु पर्नेछ ।

(१२) उपदफा (१०) बमोजिम उम्मेदवारको बन्दसूची पेश भएको तर निर्वाचन सम्पन्न भई नसकेको अवस्थामा कुनै उम्मेदवारको मृत्यु भएमा दलले त्यस्तो बन्दसूचीमा अर्को उम्मेदवार समावेश गरी उम्मेदवार मनोनयन गर्नु पर्नेछ । यसरी उम्मेदवार मनोनयन गर्दा मृत्यु भएको उम्मेदवार जुन समावेशी आधारमा मनोनयन गरिएको हो सोही समावेशी आधारमा अर्को उम्मेदवार मनोनयन गर्नु पर्नेछ ।

२९. उम्मेदवारको बन्दसूची उपर दाबी विरोधको मौका दिनेः (१) दफा २८ बमोजिम प्राप्त उम्मेदवारको बन्दसूची आयोगले जाँचबुझ गरी प्रकाशन गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम उम्मेदवारको बन्दसूची प्रकाशन गर्दा आयोगले त्यस्तो सूचीमा नाम समावेश भएको कुनै उम्मेदवारको योग्यता संविधान वा यस ऐन बमोजिम नभएको सम्बन्धमा सात दिनभित्र दाबी विरोध गर्न सकिने व्यहोराको सूचना समेत प्रकाशन गर्नु पर्नेछ ।

(३) आयोगले उपदफा (१) बमोजिम प्रकाशित बन्दसूची आवश्यकता अनुसार सञ्चार माध्यमबाट प्रकाशन र प्रसारण गर्न सक्नेछ ।

(४) उपदफा (१) बमोजिम प्रकाशित उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएको कुनै उम्मेदवारको संविधान वा यस ऐन बमोजिम योग्यता नपुगेको भनी कुनैमतदाताले दफा ७ को
उपदफा (३) बमोजिमको सूचनामा उल्लेख गरेको समयभित्र प्रमाण सहित आयोगमा दाबी विरोध सहितको निवेदन पेश गर्न सक्नेछ ।

(५) उपदफा (४) बमोजिम दाबी विरोधको निवेदन प्राप्त भएमा आयोगले सो सम्बन्धमा आवश्यक जाँचबुझ गर्नेछ र जाँचबुझबाट बन्दसूचीमा नाम समावेश भएको व्यक्तिको संविधान वा यस ऐन बमोजिमको योग्यता पुगेको नदेखिएमा आयोगले सोही व्यहोरा जनाई त्यस्तो उम्मेदवारको नाम त्यस्तो सूचीबाट हटाउनु पर्नेछ ।

(६) उपदफा (५) बमोजिम परेको दाबी विरोध सम्बन्धमा सो उपदफा बमोजिमको कार्य सम्पन्न भएपछि र दाबी विरोध नपरेमा दाबी विरोध गर्ने म्याद समाप्त भएपछि आयोगले उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन गर्नेछ ।

(७) उपदफा (६) बमोजिम प्रकाशन भएको बन्दसूची आयोगले प्रमाणित गरी सम्बन्धित दललाई पठाउनु पर्नेछ ।

३०. उम्मेदवारको बन्दसूची मान्य हुने अवधिः (१) दफा २९ को उपदफा (६) बमोजिम प्रकाशित
बन्दसूची प्रतिनिधि सभाको सो कार्यकालभर मान्य हुनेछ ।
तर प्रतिनिधि सभा गठन भइसके पछि मनोनयन गर्ने दलले कुनै उम्मेदवारको नाम हटाउन लेखी पठाएमा आयोगले बन्दसूचीबाट त्यस्तो उम्मेदवारको नाम हटाउन सक्नेछ ।

(२) समानुपातिक निर्वाचन प्रणाली अनुसार निर्वाचित कुनैसदस्यको मृत्यु भई, राजीनामा दिई, दल त्याग गरी वा अन्य कुनै कारणले पद रिक्त भएमा सम्बन्धित दलको सिफारिसमा तोकिए बमोजिम अर्को सदस्य निर्वाचित हुनेछ । यसरी दलले सिफारिस गर्दा पद रिक्त भएको उम्मेदवार जुन समावेशी आधारमा मनोनयन गरिएको होसोही समावेशी आधारमा उम्मेवारको बन्दसूचीबाट अर्को उम्मेदवारको नाम सिफारिस गर्नु पर्नेछ ।

(३) प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणाली तर्फको उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएको व्यक्ति उपदफा (१) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम नाम हटेको अवस्थामा बाहेक राष्ट्रिय सभा, प्रदेश सभा वा स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुन सक्ने छैन ।
स्पष्टीकरणः यस उपदफाको प्रयोजनको लागि “राष्ट्रिय सभा” भन्नाले संविधानको धारा ८६ बमोजिम गठन हुने राष्ट्रिय सभा, “प्रदेश सभा” भन्नाले संविधानको धारा १७६ बमोजिम गठन हुने प्रदेश सभा र “स्थानीय तह” भन्नाले गाउँपालिका, नगरपालिका र जिल्ला सभा सम्झनु पर्छ ।

३१. निर्वाचन चिह्नः (१) निर्वाचनका लागि दल र उम्मेदवारलाई वितरण गर्ने निर्वाचन चिह्न आयोगले निर्धारण गर्नेछ ।

(२) उपदफा (१) बमोजिम निर्धारण गरिएको निर्वाचन चिह्न दल र उम्मेदवारलाई तोकिए बमोजिम प्रदान गरिनेछ ।

(३) उपदफा (२) बमोजिम प्रदान गरिएको निर्वाचन चिह्न त्यस्तो दलका उम्मेदवार वा दल बाहेक अरु कसैले पनि प्रयोग गर्न पाउने छैन ।

(४) आयोगले कुनै उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिसकेपछि त्यस्तो उम्मेदवारले आफ्नो दल त्याग गरेमा वा अर्को दलमा प्रवेश गरेमा निजलाई प्रदान गरिएको निर्वाचन चिह्न परिवर्तन हुने छैन । त्यस्तो उम्मेदवार निर्वाचित भएमा सम्बन्धित दलले प्रमाण सहित आयोगमा उजुरी दिएमा निजको सदस्यता खारेज हुनेछ ।

(५) यस दफा बमोजिम पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फ उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्दा दलको उम्मेदवारलाई उपदफा (१) बमोजिम त्यस्तो दलको लागि निर्धारण गरिएको निर्वाचन चिह्न प्रदान गर्नु पर्नेछ । यसरी निर्वाचन चिह्न वितरण गर्दा कुनै गल्ती भएको वा फरक पर्न गएको भन्ने आयोगलाई लागेमा आयोगले त्यस्तो चिह्न परिवर्तन गर्न सक्नेछ ।

(६) पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फ स्वतन्त्र उम्मेदवारलाई आयोगले निर्धारण गरेको निर्वाचन चिह्नको समूहबाट तोकिए बमोजिमको तरिका अनुसार निर्वाचन अधिकृतले निर्वाचन चिह्न प्रदान गर्नेछ ।

(७) उपदफा (५) र (६) बमोजिम प्रदान गरिएको निर्वाचन चिह्न मतपत्रमा समावेश गर्दा देहायको क्रममा समावेश गर्नु पर्नेछः–

(क) निर्वाचन हुनुभन्दा तत्कालअघि कायम रहेको प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलले त्यस्तो प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्पm प्राप्त गरेको मत सङ्ख्याको आधारमा सो दलको उम्मेदवारको निर्वाचन चिह्न,

(ख) खण्ड (क) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व नगर्ने दलको हकमा निर्वाचन प्रयोजनको लागि आयोगमा दर्ता भएको क्रमको आधारमा सो दलको उम्मेदवारको निर्वाचन चिह्न,

(ग) स्वतन्त्र उम्मेदवारको नामको वर्णानुक्रमको आधारमा त्यस्तो
उम्मेदवारको निर्वाचन चिह्न ।

(८) उपदफा (७) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन प्रारम्भ भएपछि हुने पहिलो पटकको निर्वाचनको हकमा मतपत्रमा निर्वाचन चिह्न समावेश गर्दा देहायको क्रममा समावेश गर्नु पर्नेछः–

(क) व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने दलले संविधान सभा सदस्य निर्वाचन २०७० मा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मत सङ्ख्याको आधारमा सो दलको उम्मेदवारको निर्वाचन चिह्न,

(ख) व्यवस्थापिका–संसदमा प्रतिनिधित्व नगर्ने दलको हकमा निर्वाचन प्रयोजनको लागि आयोगमा दर्ता भएको क्रमको आधारमा सो दलको उम्मेदवारको निर्वाचन चिह्न,

(ग) स्वतन्त्र उम्मेदवारको नामको वर्णानुक्रमको आधारमा त्यस्तो उम्मेदवारको निर्वाचन चिह्न ।

(९) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि समानुपातिक निर्वाचन प्रणाली तर्फ निर्वाचन चिह्न वितरण गर्दा आयोगले सम्बन्धित दलको लागि निर्धारण गरेको निर्वाचन चिह्न वितरण गर्नु पर्नेछ र त्यस्तो निर्वाचन चिह्न मतपत्रमा समावेश गर्दा उपदफा (७) को खण्ड (क) र (ख) वा उपदफा (८) को खण्ड (क) र (ख) को क्रममा समावेश गर्नु पर्नेछ ।

(१०) प्रतिनिधिसभा वा व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने दुई वा सोभन्दा बढी दलहरु एकीकरण भएको वा गाभिएकोमा उपदफा (७) को खण्ड (क) वा उपदफा (८) को खण्ड (क) को प्रयोजनको लागि त्यसरी एकीकरण हुनु वा गाभिनुअघि त्यस्ता दलहरुले प्राप्त गरेको कूल मत सङ्ख्यालाई हाल कायम भएको दलले प्राप्त गरेको मत सङ्ख्या मानिनेछ ।

३२. उम्मेदवारको मृत्यु भएमाः (१) दफा २६ बमोजिम उम्मेदवारको अन्तिम नामावली प्रकाशन
हुनुअघि वा प्रकाशन भइसकेपछि दलबाट मनोनयन भएको कुनै उम्मेदवारको मृत्यु भई सोको लिखित सूचना निर्वाचन प्रतिनिधि, सम्बन्धित दल वा अन्य कुनै व्यक्तिबाट प्राप्त भएमा र सो कुरामा निर्वाचन अधिकृत विश्वस्त भएमा निर्वाचन अधिकृतले त्यस्तो निर्वाचनसँग सम्बन्धित अन्य कार्यक्रम तुरुन्त स्थगित गरी सोको जानकारी आयोगलाई दिनु पर्नेछ ।

तर पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गतको स्वतन्त्र उम्मेदवार वा
समानुपातिक निर्वाचनका लागि उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएको कुनै उम्मेदवारको मृत्यु भएमा निर्वाचन कार्यक्रम स्थगित हुने छैन ।

(२) उपदफा (१) बमोजिम कार्यक्रम स्थगित भएको सूचना अन्य उम्मेदवार समेतको जानकारीको लागि निर्वाचन अधिकृतले आफ्नो कार्यालयमा टाँस्नु पर्नेछ ।

(३) उपदफा (१) बमोजिमको जानकारी प्राप्त भएमा आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनुअघि उम्मेदवारको मृत्यु भएकोमा त्यस्तो निर्वाचनको मतदानको कार्यक्रममा असर नपर्ने गरी उम्मेदवारको मनोनयन सम्बन्धी कार्यक्रम र उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मृत्यु भएकोमा मतदान गर्ने मिति लगायत यस परिच्छेद बमोजिमको अन्य कार्यक्रम पुनः निर्धारण गरी निर्वाचन अधिकृतलाई पठाउनु पर्नेछ ।

(४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि उम्मेदवारको मृत्यु भई निर्वाचनको कार्यक्रम स्थगित भएकोमा दफा ७ को उपदफा (२) बमोजिमको निर्वाचन कार्यक्रममा लेखिए बमोजिमको काम सम्पन्न गर्नु पर्ने अवधि पन्ध्र दिनभन्दा बढी भएमा पुनः अर्को कार्यक्रम प्रकाशन गर्नु पर्ने छैन र सोही कार्यक्रमको समयावधिभित्र मतदानको काममा बाधा नपुग्ने गरी उम्मेदवारको मनोनयन सम्बन्धी काम पूरा गर्नु पर्ने गरी निर्वाचन कार्यक्रम निर्धारण गर्नु पर्नेछ ।

(५) उपदफा (१) बमोजिम निर्वाचन कार्यक्रम स्थगित भएकोमा पहिले मनोनयनपत्र पेश गरेको उम्मेदवारले पुनः मनोनयनपत्र दाखिला गर्नु पर्ने छैन र जुन दलको उम्मेदवारको मृत्यु भएको हो त्यस्तो दलको तर्फबाट मात्र पुनः उम्मेदवार मनोनयन गर्न सकिनेछ ।

३३. उम्मेदवारको परिचयपत्र : यस परिच्छेद बमोजिम अन्तिम नामावलीमा कायम रहेको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गतका उम्मेदवारलाई निर्वाचन अधिकृतले आयोगले तोके बमोजिमकोपरिचयपत्र दिनेछ ।

परिच्छेद–६ मतदान केन्द्र, मतपत्र र मतपेटिका

३४. मतदान केन्द्रः (१) आयोगले निर्वाचनका लागि आवश्यक सङ्ख्यामा मतदान केन्द्र तथा उपकेन्द्र तोक्नेछ ।

(२) निर्वाचन अधिकृतले उपदफा (१) बमोजिमको मतदान केन्द्र वा उपकेन्द्र थपघट गर्न आवश्यक ठानेमा त्यसरी थपघट गर्नु पर्ने आवश्यकता र औचित्य सहित आयोगमा लेखी पठाउन
सक्नेछ र आयोगले त्यस्तो व्यहोरा मनासिब ठानेमा मतदान केन्द्र वा उपकेन्द्र थपघट गर्न सक्नेछ।

(३) निर्वाचन अधिकृतले आवश्यक भएमा आयोगको पूर्व स्वीकृति लिई सुविधाजनक वा व्यवहारिक दृष्टिबाट मतदाताको पहुँच हुने ठाउँमा मतदान केन्द्र वा उपकेन्द्र सार्न सक्नेछ ।

(४) उपदफा (१), (२) र (३) बमोजिम मतदान केन्द्र तथा उपकेन्द्र तोकिएको, थपघट गरिएको वा सारिएको सूचना आयोगले नेपाल राजपत्रमा प्रकाशन गर्नु पर्नेछ ।

(५) एउटा मतदानस्थलको क्षेत्रभित्र आवश्यकता अनुसार एक वा एकभन्दा बढी मतदान
केन्द्र, उपकेन्द्र वा मतदान कक्षहरु रहन सक्नेछन्।

(६) मतदान केन्द्र, उपकेन्द्र वा मतदान कक्ष तोक्ने आधार, प्रक्रिया र अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

३५. मतपत्रः (१) आयोगले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तथा समानुपातिक निर्वाचन
प्रणाली अन्तर्गत हुने निर्वाचनका लागि निर्वाचन चिह्न भएको मतपत्रको व्यवस्था गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिमको मतपत्रमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फ प्रत्येक उम्मेदवार र समानुपातिक निर्वाचन प्रणाली तर्फ निर्वाचन प्रयोजनको लागि आयोगमा दर्ता भएका दलका लागि दफा ३१ बमोजिम प्रदान गरिएको निर्वाचन चिह्न सहितको मतदान गर्ने कोठा हुनेछ ।

(३) मतपत्र सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

३६. मतपेटिकाः (१) पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तथा समानुपातिक निर्वाचन प्रणाली अनुरुप हुने निर्वाचनमा मतदानको लागि प्रयोग हुने गरी आयोगले मतपेटिकाको व्यवस्था गर्नु पर्नेछ ।

(२) मतपेटिका व्यवस्थापन सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

परिच्छेद–७ मतदान

३७. मतदानको समयः मतदान हुने मितिमा मतदान गर्ने समय दफा ७ को उपदफा (२) बमोजिमकोसूचनामा तोके बमोजिम हुनेछ ।

३८. मतदानः (१) निर्वाचन क्षेत्रको कुनै गाउँपालिका वा नगरपालिकाको कुनै वडाको मतदाता
नामावलीमा नाम दर्ता भएको मतदाताले सोही गाउँपालिका वा नगरपालिकाको सोही वडाको लागि निजलाई तोकिएको मतदान केन्द्रमा मात्र मतदान गर्न पाउनेछ ।
तर अस्थायी मतदाताको हकमा आयोगले छुट्टै मतदान केन्द्र तोक्न सक्नेछ ।

(२) मतदाताले मतदान गर्न तोकिए बमोजिम मतपत्र लिई सोको लागि राखिएको मतपेटिकामा मतदान गर्नु पर्नेछ ।

(३) अस्थायी मतदाताले तोकिए बमोजिम समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचनका लागि मात्र मतदान गर्न सक्नेछ ।

(४) मतदाता नामावलीमा नाम दर्ता भएको मतदाताको नामबाट त्यस्तो मतदाता बाहेक अन्य कुनै व्यक्तिले मतदान गर्न पाउने छैन ।

(५) कुनै पनि मतदाताले एउटै निर्वाचनमा एकभन्दा बढी पटक वा एकभन्दा बढी मतदान केन्द्रमा मतदान गर्न पाउने छैन ।

(६) कुनै पनि मतदाताले मतदानको अवधिभर आफूले कसलाई मतदान गरेको हो भन्ने व्यहोरा कुनै पनि माध्यमबाट कसैलाई पनि प्रकट गर्नु हुँदैन ।

३९. मतदानको प्रक्रियाः (१) मतदान केन्द्रमा मतदानको लागि उपस्थित मतदातालाई मतदान
अधिकृतले तोकिए बमोजिमको रीत पुर्याई मतपत्र दिनेछ ।

(२) मतदातालाई मतपत्र दिनुअघि मतदान अधिकृतले मतदाता नामावलीमा तोकिए बमोजिमको सङ्केत जनाई आयोगले निर्धारण गरे बमोजिमको मतपत्र दिनेछ ।

(३) मतदाताले मतपत्रमा तोकिए बमोजिमको छाप वा चिह्न गोप्य तवरले लगाई मतदान गर्नु पर्नेछ ।

(४) मतदाताले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचनको हकमा मतपत्रमा आफूले रोजेको कुनै एक जना उम्मेदवारको चिह्न भएको कोठामा र समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचनको हकमा आफूले रोजेको कुनै एक दलको निर्वाचन चिह्न भएको कोठामा उपदफा (३) बमोजिमको छाप वा चिह्न लगाई तोकिए बमोजिम मतदान गरी मतपेटिकामा खसाउनु पर्नेछ ।

(५) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि मतदान गर्ने प्रयोजनको लागि विधुतीय उपकरण प्रयोग गरिएको अवस्थामा मतदाताले तोकिए बमोजिम विधुतीय उपकरणद्वारा मतदान गर्नु पर्नेछ ।

४० नाम ढाँटी मतदान गर्न आएमा विरोध गर्नेः (१) कुनै व्यक्तिले आफ्नो नाम ढाँटी अर्को मतदाताको नाममा मतदान गर्नको लागि मतपत्र लिन आएमा उम्मेदवार, निजको प्रतिनिधि वा सोही मतदान केन्द्रको कुनै मतदाताले एक सय रुपैयाँ धरौटी राखी मतदान अधिकृत समक्ष विरोध गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम विरोध भएमा मतदान अधिकृतले त्यस सम्बन्धमा आवश्यक कुरा बुझी तत्काल निर्णय गर्नु पर्नेछ र यसरी पर्न आएको विरोध र त्यसको निर्णय आयोगले तोके बमोजिमको निर्णय किताबमा तुरुन्त जनाउनु पर्नेछ ।

(३) उपदफा (१) बमोजिम विरोध ठीक ठहरेमा मतदान अधिकृतले त्यस्तो धरौटी रकम सम्बन्धित व्यक्तिलाई फिर्ता दिनेछ र विरोध गलत देखिएमा त्यस्तो धरौटी रकम जफत हुनेछ ।

(४) उपदफा (१) बमोजिमको विरोध ठीक ठहरेमा त्यसरी नाम ढाँटी मतदान गर्न आउने व्यक्तिलाई मतदान अधिकृतले निर्वाचन कसूर तथा सजाय सम्बन्धी सङ्घीय कानून बमोजिम
जरिबाना गर्नेछ ।

४१. मतदान केन्द्रमा प्रवेशः (१) मतदान अधिकृतले मतदान केन्द्रमा देहायका व्यक्ति बाहेक अरु कसैलाई प्रवेश गर्न दिने छैनः–

(क) मतदाता,

(ख) पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फको उम्मेदवार वा निजको एक जना निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधि,

(ग) समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलकोनिर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधि,

(घ) आयोगबाट अनुमति प्राप्त पर्यवेक्षक,

(ङ) आयोग, निर्वाचन अधिकृत वा मतदान अधिकृतबाट अनुमति पाएका व्यक्ति,

(च) मतदाताको साथमा रहेको बढीमा पाँच वर्षको बालक,

(छ) दृष्टिविहीन वा शारीरिक रुपले अशक्त मतदाताको सहयोगको लागि साथमा आएको एकाघरको परिवारको सदस्य ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि मतदान केन्द्रको सुरक्षार्थ खटिएको सुरक्षाकर्मी बाहेक कुनै प्रकारको हतियार साथ लिएको व्यक्ति वा मादक पदार्थ सेवन गरेको व्यक्तिलाई मतदान अधिकृतले मतदान केन्द्रमा प्रवेश गर्न दिने छैन ।

(३) मतदान केन्द्रमा प्रवेश गरिसकेका मतदान गर्न बाँकी मतदाता बाहेक मतदानको समय समाप्त भएपछि अन्य मतदाताले मतदान केन्द्रमा प्रवेश गर्न वा त्यहाँ रहन पाउने छैनन्।

४२. अशक्त मतदाताः दृष्टिविहीन, शारीरिक अशक्तता वा अरु कुनै कारणवश कुनै मतदाता आफैँले मत सङ्केत गर्न नसक्ने भई मत सङ्केत गर्ने काममा सहयोग पु¥याउन आफ्नो एकाघरको परिवारको सदस्यलाई साथमा लैजान अनुमति मागेमा वा मत सङ्केत गर्ने काममा सहयोग पुर्याउन मतदान अधिकृतलाई अनुरोध गरेमा र मतदान अधिकृतलाई सो कुरा उपयुक्त लागेमा निजको परिचय खुल्ने प्रमाणको आधारमा परिवारको त्यस्तो सदस्यलाई मतदाताको साथमा मत सङ्केत गर्ने स्थानमा प्रवेश गर्न अनुमति दिन वा मतदान अधिकृतले मतदाताको इच्छा अनुसार निजको मतपत्रमा मत सङ्केत गरिदिन सक्नेछ ।

४३. निरीक्षण गर्न सक्नेः कुनै मतदाता मत सङ्केत गर्ने स्थानमा मनासिब समयभन्दा बढी समयसम्म बसेमा वा मतदान अधिकृतलाई कुनै शङ्का लागेमा निजले मत सङ्केत गर्ने स्थानमा प्रवेश गरी निरीक्षण गर्न सक्नेछ ।

४४. मतपेटिका नोक्सान भएमा वा तोडफोड गरिएमाः (१) कुनै मतदान केन्द्रमा मतदानको लागि प्रयोग भएको मतपेटिका दुर्घटनावश नोक्सान भएमा वा जानाजान तोडफोड गरी नोक्सान
गरिएमा मतदान अधिकृतले सम्बन्धित निर्वाचन अधिकृतलाई त्यस घटनाको प्रतिवेदन तुरुन्त दिनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिमको प्रतिवेदन प्राप्त भएमा वा मतदान अधिकृतले निर्वाचन अधिकृतलाई बुझाई सकेको मतदानको लागि प्रयोग भएको मतपेटिका कुनै किसिमले खोसिएमा, जानाजान तोडफोड गरी नोक्सान गरिएमा वा दुर्घटनावश नोक्सान भएमा निर्वाचन अधिकृतले त्यस्तो मतदान केन्द्रको मतदान तुरुन्त रद्द गरी त्यसको प्रतिवेदन आयोगमा दिनु पर्नेछ ।

(३) उपदफा (२) बमोजिम मतदान रद्द गरिएको मतदान केन्द्रमा निर्वाचन अधिकृतले पुनः मतदान गर्ने मिति र समय तोकी सोको सूचना त्यस्तो मतदान केन्द्रमा तुरुन्त प्रकाशन गर्नु पर्नेछ।

४५. विशेष परिस्थितिमा मतदान स्थगित गर्न सकिनेः (१) कुनै मतदान केन्द्रमा हुलदङ्गा लगायत अन्य असामान्य परिस्थिति उत्पन्न भई वा कुनै कारणले विद्युतीय उपकरण सञ्चालन हुन नसकी वा उपद्रव वा प्राकृतिक विपत्ति वा काबू बाहिरको कुनै कारणले मतदानको काम हुन नसक्ने कुरामा मतदान अधिकृत विश्वस्त भएमा निजले त्यस्तो मतदान केन्द्रको मतदान कार्य तत्काल स्थगित गरी सोकोसूचना सोही स्थानमा प्रकाशन गर्नु पर्नेछ ।

(२) मतदान अधिकृतले उपदफा (१) बमोजिम मतदान स्थगित गरेको सूचना तुरुन्त निर्वाचन अधिकृतलाई दिनु पर्नेछ ।

(३) उपदफा (१) बमोजिम मतदान स्थगित भएको व्यहोराको जानकारी निर्वाचन अधिकृतले तुरुन्त आयोगलाई र मुख्य निर्वाचन अधिकृतलाई समेत दिनु पर्नेछ ।

(४) उपदफा (२) बमोजिमको जानकारी प्राप्त गरेपछि आयोगले अन्यथा निर्देशन दिएमा बाहेक निर्वाचन अधिकृतले त्यस्तो मतदान केन्द्रमा पुनः मतदान हुने मिति र समय तोकी सोको सूचना त्यस्तो मतदान केन्द्रमा तुरुन्त प्रकाशन गर्नु पर्नेछ ।

४६. मतदान केन्द्रको अनधिकृत कब्जाः (१) देहायको अवस्थामा मतदान केन्द्रको अनधिकृत कब्जा भएको मानिनेछः–

(क) कसैले बल प्रयोग गरी वा डर त्रास देखाई वा धम्की दिई मतदान केन्द्र वा मतदान गर्न निश्चित गरिएको स्थान आफ्नो कब्जामा लिई मतदानको कार्यमा प्रभाव पारेमा वा कुनै उम्मेदवारको समर्थक मतदातालाई मात्र मतदान गर्न दिएमा वा अन्य मतदातालाई मतदान गर्न नदिएमा,

(ख) कसैले मतदातालाई कुनै उम्मेदवारको पक्षमा मतदान गर्न वा नगर्न डर त्रास देखाएमा वा धम्की दिएमा वा मतदान गर्नको लागि बाटो वा गौँडा छेकी रोकेमा वा मतदान केन्द्रमा वा मतदान गर्ने स्थानमा जान वा प्रवेश गर्न नदिएमा, वा

(ग) कसैले मतदान कार्य सञ्चालन गर्न खटिएको मतदान अधिकृत वा कर्मचारीलाई आफ्नो कर्तव्य पालना गर्न नदिएमा वा निजको जिम्मामा रहेको मतपत्र, मतपेटिका वा मतदान सम्बन्धी सामग्री खोसेमा वा अन्य त्यस्तै कार्य गरी मतदानको कार्य निष्पक्ष तथा स्वतन्त्र रुपमा सामान्य ढङ्गले सञ्चालन नहुने वा हुन नसक्ने गरी प्रभावित गरेमा ।

(२) उपदफा (१) को खण्ड (क), (ख) वा (ग) मा उल्लिखित कुनै प्रकारले मतदान केन्द्रको अनधिकृत कब्जा भएमा मतदान अधिकृतले तत्काल मतदान स्थगित गरी त्यसको प्रतिवेदन निर्वाचन अधिकृतलाई र निर्वाचन अधिकृतले आयोगलाई तुरुन्त दिनु पर्नेछ ।

(३) उपदफा (२) बमोजिमको प्रतिवेदन प्राप्त भएमा आयोगले वा आयोगबाट कुनै निर्देशन प्राप्त भएमा निर्वाचन अधिकृतले आयोगको निर्देशन बमोजिम उपदफा (१) बमोजिमको घटनाको जाँच गर्न सक्नेछ र त्यस्तो जाँचको प्रतिवेदनको आधारमा आयोगले वा आयोगको निर्देशन अनुसार निर्वाचन अधिकृतले त्यस्तो मतदान केन्द्रको मतदान रद्द गर्न सक्नेछ ।

(४) उपदफा (३) बमोजिम मतदान रद्द भएको मतदान केन्द्रमा निर्वाचन अधिकृतले पुनः मतदान गर्ने मिति र समय तोकी सोको सूचना त्यस्तो मतदान केन्द्रमा समेत तुरुन्त प्रकाशन गर्नु पर्नेछ ।

४७. मतपेटिका बन्द गर्नेः मतदान समाप्त भएपछि मतदान अधिकृतले मतदान गरिएको मतपत्र
राखिएको मतपेटिका आयोगले तोके बमोजिमको रीत पुर्याई बन्द गर्नु पर्नेछ ।

४८. मतपेटिका निर्वाचन अधिकृतलाई हस्तान्तरण गर्नेः मतदान अधिकृतले मतदानको लागि प्रयोग गरिएको मतपेटिका सुरक्षित रुपमा निर्वाचन अधिकृतलाई हस्तान्तरण गर्नु पर्नेछ ।

परिच्छेद–८ मतगणना र निर्वाचन परिणाम

४९. निर्वाचन अधिकृतले मतगणना गर्नु, गराउनु पर्ने: निर्वाचन अधिकृतले आफ्नो निर्वाचन क्षेत्रभित्र भएको निर्वाचनको मतगणनाको काम तोकिए बमोजिम गर्नु, गराउनु पर्नेछ ।

५०. मतगणनाको सूचना: कुनै निर्वाचन क्षेत्रको निर्वाचनको लागि मतदान गर्न निर्धारित सबै मतदान केन्द्रमा मतदानको कार्य सम्पन्न भई सकेपछि निर्वाचन अधिकृतले मतगणना गर्ने स्थान, मिति र समय तोकी सूचना प्रकाशन गर्नु पर्नेछ ।

५१. मतगणना: (१) निर्वाचन अधिकृतले दफा ५० बमोजिमको सूचनामा उल्लेख गरिएको स्थान, मिति र समयमा तोकिए बमोजिम मतगणना गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिमको मतगणना गर्ने स्थान, मिति र समयमा उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा तोकिए बमोजिमका मतगणना प्रतिनिधि उपस्थित रहन सक्नेछन् ।

(३) यस ऐन बमोजिम कुनै निर्वाचन क्षेत्रको कुनै मतदान केन्द्रमा पुनः मतदान गर्नु पर्ने भएमा त्यस्तो मतदान केन्द्रको मतदानको कार्य समाप्त नभएसम्म सो निर्वाचन क्षेत्रको अन्य मतदान केन्द्रको मतगणना प्रारम्भ गरिने छैन ।

५२. मतगणना गर्ने स्थानमा प्रवेश: (१) निर्वाचन अधिकृतले मतगणना गर्ने स्थानमा देहायका व्यक्ति बाहेक अरु कसैलाई प्रवेश गर्न दिने छैन:–

(क) पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फका उम्मेदवार वा निजको एक जना निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधि,

(ख) समानुपातिक निर्वाचन प्रणाली तर्फ दलको एक जना निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधि,

(ग) मतगणनाको काममा खटिएका कर्मचारी,

(घ) आयोगबाट अनुगमन वा अन्य प्रयोजनको लागि खटिएका पदाधिकारी वा कर्मचारी,

(ङ) आयोगबाट अनुमति प्राप्त पर्यवेक्षक,

(च) सुरक्षाको लागि खटिएका कर्मचारी,

(छ) आयोग वा निर्वाचन अधिकृतबाट अनुमति पाएका व्यक्ति ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि मतगणना स्थलको सुरक्षार्थ खटिएको सुरक्षाकर्मी बाहेक कुनै प्रकारको हतियार साथ लिएको व्यक्ति वा मादक पदार्थ सेवन गरेको व्यक्तिलाई निर्वाचन अधिकृतले मतगणना गर्ने स्थानमा प्रवेश गर्न दिने छैन ।

(३) मतगणना गर्ने काममा बाधा पुर्याउने जुनसुकै व्यक्तिलाई निर्वाचन अधिकृतले मतगणना गर्ने स्थानबाट बाहिर जान आदेश दिन सक्नेछ र त्यस्तो आदेश पाएको व्यक्तिले मतगणना गर्ने स्थानबाट बाहिर जानु पर्नेछ । त्यस्तो आदेश पालना नगरी अटेर गर्ने व्यक्तिलाई निर्वाचन अधिकृतको आदेश बमोजिम सुरक्षाकर्मीले त्यस्तो स्थानबाट बाहिर पठाउनेछ ।

५३. मतगणना लगातार गर्ने: (१) निर्वाचन अधिकृतले मतगणना प्रारम्भ गरेपछि मतगणना समाप्त नभएसम्म त्यस्तो मतगणनाको काम लगातार गर्नु पर्नेछ ।

(२) काबू बाहिरको परिस्थिति परी मतगणनाको काम बीचैमा रोक्नु परेमा निर्वाचन अधिकृतले गणना गरिसकेका मतपत्रहरु, मतगणना अभिलेख, मतगणना गर्न बाँकी रहेका मतपत्रहरु र मतगणना गर्न बाँकी मतपेटिकाहरुको लगत समेत अलग–अलग खाम, थैलो वा
बोरामा बन्द गरी आफ्नो लाहाछाप लगाउनु पर्नेछ । त्यस्तो खाम, थैलो वा बोरामा उम्मेदवार, निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधिले समेत आफ्नो लाहाछाप लगाउन सक्नेछ ।

(३) निर्वाचन अधिकृतले उपदफा (२) बमोजिम रोकिएको मतगणनाको काम यथाशक्य छिटो पुनः प्रारम्भ गर्नु पर्नेछ । निर्वाचन अधिकृतले यसरी मतगणना पुनः प्रारम्भ हुने सूचना त्यस्तो स्थानमा उपस्थित उम्मेदवार, निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधिलाई दिई मतगणना गर्ने स्थानमा समेत प्रकाशन गर्नु पर्नेछ ।
तर कुनै उम्मेदवार, उम्मेदवारको प्रतिनिधि वा दलको प्रतिनिधि उपस्थित हुन नआएको कारणले मतगणना गर्ने काममा बाधा पुगेको मानिने छैन ।

५४. मतगणना पूरा हुनुअघि मतपत्र नोक्सान भएमा: (१) मतगणना पूरा हुनुभन्दा पहिले कुनै मतदान केन्द्रमा प्रयोग गरिएको मतपत्र वा मतपत्र रहेको मतपेटिका निर्वाचन अधिकृतको नियन्त्रणबाट गैरकानूनी तवरले अन्यत्र लगिएमा, खोलिएमा, नोक्सान गरिएमा, तोडफोड गरिएमा, हराएमा वा दुर्घटनावश नोक्सान भएमा निर्वाचन अधिकृतले मतगणनाको काम स्थगित गरी त्यसको प्रतिवेदन आयोगलाई तुरुन्त दिनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिमको प्रतिवेदन प्राप्त भएमा आयोगले त्यस्तो घटनाको सम्बन्धमा कुनै जाँचबुझ गर्नु पर्ने ठहर्याएमा आयोगको आयुक्त वा अनुगमन टोली खटाई जाँचबुझ गराउन सक्नेछ ।

(३) आयोगले उपदफा (१) बमोजिमको प्रतिवेदन वा उपदफा (२) बमोजिम जाँचबुझ गर्न खटाइएको आयुक्त वा अनुगमन टोलीको प्रतिवेदनको आधारमा त्यस्तो मतपत्र वा मतपेटिका निर्वाचन अधिकृतको नियन्त्रणबाट गैर कानूनी रुपमा अन्यत्र लगिएको, खोलिएको, नोक्सान गरिएको, तोडफोड गरिएको, हराएको वा दुर्घटनावश नोक्सान भएको र सोको कारण मतगणना सुचारु गर्न नसकिने ठहर्याएमा त्यस्तो कार्यबाट असर परेका मतदान केन्द्रको सम्पूर्ण मतपत्रहरु अवैध घोषित गरी मतदान रद्द गर्नेछ ।

(४) आयोगबाट उपदफा (३) बमोजिम मतदान रद्द गरिएको मतदान केन्द्रमा निर्वाचन अधिकृतले पुनः मतदान हुने स्थान, मिति र समय तोकी सोको सूचना मतदान केन्द्रमा तुरुन्त प्रकाशन गर्नु पर्नेछ ।

५५. मतगणना स्थलको अनधिकृत कब्जा: (१) देहायका अवस्थामा मतगणना स्थलको अनधिकृत कब्जा भएको मानिनेछ:–

(क) कसैले बल प्रयोग गरी वा डर त्रास देखाई वा धम्की दिई मतगणना स्थललाई आफ्नो कब्जामा लिई मतगणनाको कार्यमा प्रभाव पारेमा,

(ख) कसैले बल प्रयोग गरी वा नगरी मतगणना कार्यमा खटिएको निर्वाचन अधिकृत वा कर्मचारीलाई आफ्नो कर्तव्य पालना गर्न नदिएमा वा निजको जिम्मामा रहेको मतपत्र, मतपेटिका, मतदानको लागि प्रयोग भएको विधुतीय उपकरण वा मतगणना सम्बन्धी अन्य सामग्री खोसेमा वा अन्य त्यस्तै कार्य गरी मतगणनाको कार्य निष्पक्ष तथा स्वतन्त्र रुपमा सामान्य ढङ्गले सञ्चालन नहुने वा हुन नसक्ने गरी प्रभावित गरेमा, वा

(ग) मतगणनाको कार्यमा संलग्न रहेको कुनै व्यक्तिले खण्ड (क) वा (ख) बमोजिमको कार्य गरेमा वा त्यस्तो कार्य गर्न सहयोग पुर्याएमा वा अनुमति दिएमा ।

(२) उपदफा (१) बमोजिम मतगणना स्थलको अनधिकृत कब्जा भएमा निर्वाचन अधिकृतले मतगणनाको कार्य तत्काल स्थगित गरी त्यसको प्रतिवेदन आयोगलाई तुरुन्त दिनु पर्नेछ ।

(३) उपदफा (२) बमोजिमको प्रतिवेदन प्राप्त भएमा आयोगले त्यस्तो घटनाको सम्बन्धमा कुनै जाँचबुझ गर्नु पर्ने ठहर्याएमा आयोगको आयुक्त वा अनुगमन टोली खटाई जाँचबुझ गराउन सक्नेछ ।

(४) आयोगले उपदफा (२) बमोजिमको प्रतिवेदनको आधारमा वा उपदफा (३) बमोजिम जाँचबुझ गर्न खटाइएको आयुक्त वा अनुगमन टोलीको प्रतिवेदनको आधारमा त्यस्तो मतगणना स्थल उपदफा (१) बमोजिम अनधिकृत तवरले कब्जा भएको ठहर्याएमा त्यसरी कब्जाबाट असर परेको मतदान केन्द्रको सम्पूर्ण मतपत्रहरु अवैध घोषित गरी मतदान रद्द गर्नेछ ।

(५) आयोगबाट उपदफा (४) बमोजिम मतदान रद्द गरिएको मतदान केन्द्रमा निर्वाचन अधिकृतले पुनः मतदान हुने स्थान, मिति र समय तोकी सोको सूचना तुरुन्त मतदान केन्द्रमा प्रकाशन गर्नु पर्नेछ ।

५६. मतपत्र बदर हुने अवस्था ः देहायका अवस्थामा मतपत्र बदर हुनेछ:–

(क) सम्बन्धित मतदान अधिकृतको दस्तखत नभएको,

(ख) औँठाछाप लगाई वा दफा ३९ को उपदफा (३) बमोजिमको चिह्न वा छाप बाहेक अन्य चिह्न वा छाप लगाई मत सङ्केत गरिएको,

(ग) मत सङ्केत चिह्न नबुझिने गरी लतपतिएको वा च्यातिएको,

(घ) उम्मेदवारको निर्वाचन चिह्न रहेको कोठामा वा दलको निर्वाचन चिह्न भएको कोठामा मत सङ्केत नगरी अन्यत्र मत सङ्केत गरिएको,

(ङ) एकभन्दा बढी उम्मेदवार वा दलको निर्वाचन चिह्न भएको कोठामा छुट्टा–छुट्टै मत सङ्केत गरिएको,

(च) एकभन्दा बढी उम्मेदवार वा दलको निर्वाचन चिह्न भएको कोठामा मत सङ्केतको चिह्न पर्ने गरी मत सङ्केत गरिएको,

(छ) मत सङ्केत नगरी मतदान अधिकृतलाई फिर्ता दिइएको,

(ज) कुनै पनि उम्मेदवार वा दलको निर्वाचन चिह्नमा मत सङ्केत नगरिएको,

(झ) आयोगद्वारा निर्धारित मतपत्र बाहेक अन्य मतपत्रद्वारा मतदान गरिएको,

(ञ) मतपेटिकाभन्दा बाहिर राखिएको,

(ट) जाली मतपत्र, वा

(ठ) आयोगले बदर हुने भनी तोकेको मतपत्र ।

५७. दोहोर्याई मतगणना: (१) कुनै मतदान केन्द्रको मतगणना समाप्त नहुँदै वा गणना गरिएको मतपत्र सिलबन्दी हुनुभन्दा पहिले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत भएको निर्वाचनको मतगणनाको सम्बन्धमा कुनै दलको निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधि र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत भएको निर्वाचनको मतगणनाको सम्बन्धमा सम्बन्धित निर्वाचन क्षेत्रको कुनै उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधिले केही वा सबै मतपत्र दोहोर्याई गन्ती गराई पाउँ भनी तत्काल निर्वाचन अधिकृत समक्ष कारण सहित लिखित निवेदन दिन सक्नेछ ।

(२) उपदफा (१) बमोजिम निवेदन पर्न आएमा निर्वाचन अधिकृतले सो निवेदन तत्कालै दर्ता गरी दोहोर्याई मतगणना गर्नु पर्ने देखिएमा दोहोर्याई मतगणना गर्न सक्नेछ ।

(३) उपदफा (२) बमोजिम दोहो¥याई मतगणना गर्नु नपर्ने भएमा निर्वाचन अधिकृतले सोही व्यहोराको निर्णय गरी त्यस्तो स्थानमा उपस्थित रहेका सम्बन्धित उम्मेदवार, निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधिलाई निर्वाचन परिणामको घोषणा गर्नुभन्दा पहिले त्यस्तो निर्णयको सूचना दिनु पर्नेछ ।

५८. पहिलो हुने निर्वाचित हुने निर्वाचन परिणामको प्रकाशन: (१) पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गतको कुनै निर्वाचन क्षेत्रमा मतदान भएको सबै मतदान केन्द्रहरुको मतगणनाको कार्य पूरा भइसकेपछि निर्वाचन अधिकृतले मतगणनाको तालिका तयार गरी तोकिए बमोजिम निर्वाचन परिणाम प्रकाशन गर्नेछ र सो परिणाम तालिकाको एक प्रति तुरुन्त आयोगमा पठाउनु पर्नेछ ।

(२) निर्वाचन अधिकृतले उपदफा (१) बमोजिम निर्वाचनको परिणाम प्रकाशित गर्दा सबैभन्दा बढी सदर मत पाउने उम्मेदवार निर्वाचित भएको घोषणा गरी त्यस्तो उम्मेवारलाई आयोगले तोके बमोजिमको प्रमाणपत्र दिनु पर्नेछ ।

(३) उपदफा (१) बमोजिम निर्वाचन अधिकृतले निर्वाचनको परिणाम प्रकाशन गरिसकेपछि निर्वाचन सम्बन्धी तोकिए बमोजिमका विवरणहरु भएकोे प्रतिवेदन तयार गरी मुख्य निर्वाचन अधिकृत समक्ष र मुख्य निर्वाचन अधिकृतले आयोगमा यथाशीघ्र पठाउनु पर्नेछ।

५९. मत बराबर भएमा गोला हाली निर्णय गर्ने: पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत भएको निर्वाचनमा कुनै निर्वाचन क्षेत्रमा मतदान भएको सबै मतपत्रको मतगणनाको काम पूरा भइसकेपछि दुई वा दुईभन्दा बढी उम्मेदवारले प्राप्त गरेको सदर मत बराबर भई निर्वाचित उम्मेदवार छुट्याउन नसकिने भएमा निर्वाचन अधिकृतले बराबर मत प्राप्त गर्ने उम्मेदवारको बीच गोला हाली निर्णय गर्नु पर्नेछ । त्यसरी गोलाद्वारा छानिएको उम्मेदवारले एक मत बढी प्राप्त गरेको मानिनेछ ।

६०. समानुपातिक निर्वाचनको परिणामको घोषणा: (१) निर्वाचन अधिकृतले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचनको लागि खसेको मतपत्रको गणना गरी प्रत्येक दलले प्राप्त गरेको कूल सदर मत सङ्ख्याको विवरण आयोगले तोके बमोजिमको तालिकामा खुलाई तुरुन्त आयोगमा पठाउनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम सबै निर्वाचन क्षेत्रबाट आयोगले विवरण प्राप्त गरिसकेपछि आयोगले दलले प्राप्त गरेको कूल सदर मत सङ्ख्याको अनुपातमा अनुसूची–२ मा उल्लेख भए बमोजिमको मत परिणाम विभाजक सूत्रको आधारमा निर्वाचित हुने सङ्ख्या निर्धारण गर्नेछ ।

(३) उपदफा (२) बमोजिम दलहरुले प्राप्त गरेको कूल सदर मतलाई भाग गरी दलले प्राप्त गर्ने सीट सङ्ख्या बाँडफाँट गर्दा कुनै सीटका सम्बन्धमा एकभन्दा बढी दलको बराबर भागफल हुन आएमा आयोगले गोला हाली सो सीट कुन दलले प्राप्त गर्ने हो सो कुराको निर्धारण
गर्नेछ ।

(४) उपदफा (२) र (३) बमोजिम दलले प्राप्त गर्ने सीट सङ्ख्या निर्धारण गरेपछि आयोगले त्यस्तो दलको तर्पmबाट सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने कूल सदस्य सङ्ख्याको तेत्तीस प्रतिशत महिलाको प्रतिनिधित्व हुने गरी समानुपातिक निर्वाचन प्रणाली तर्फबाट निर्वाचित गर्नुपर्ने महिलाको सङ्ख्या समेत यकिन गरी सम्बन्धित दललाई जानकारी गराउनु पर्नेछ ।
स्पष्टीकरण: यस उपदफाको प्रयोजनको लागि “सङ्घीय संसद” भन्नाले संविधानको धारा ८४ बमोजिम गठन हुने प्रतिनिधि सभा र धारा ८६ बमोजिम गठन हुने राष्ट्रिय सभा सम्झनु पर्छ ।

(५) उपदफा (४) बमोजिमको जानकारी प्राप्त गरेपछि दलले सो दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिको निर्णयबाट निर्वाचित हुने उम्मेदवारको छनौट गरी त्यसरी छनौट भएका उम्मेदवारको सूची आयोगले तोकेको समयभित्र आयोग समक्ष पेश गर्नु पर्नेछ।

(६) उपदफा (५) बमोजिम दलले सूची पेश गर्दा जनसङ्ख्या र सो दलले प्राप्त गरेको सिट सङ्ख्याको आधारमा अनुसूची–१ मा तोकिएको प्रतिशत अनुरुप दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, थारु तथा मुस्लिमको प्रतिनिधित्व हुने गरी यथासम्भव बन्दसूचीमा नाम
समावेश भएको क्रम अनुसार सूची पेश गर्नु पर्नेछ । त्यस्तो सूचीमा यथासम्भव पिछडिएको क्षेत्र तथा अपाङ्गता भएको व्यक्तिको समेत प्रतिनिधित्व गराउनु पर्नेछ ।

(७) उपदफा (६) बमोजिम दलले पेश गर्ने निर्वाचित उम्मेदवारको नामावलीमा सम्बन्धित समूहको सङ्ख्या पूर्णाङ्क नभई घताङ्क रहेको अवस्थामा सम्बन्धित दलले आफूले प्राप्त गरेको सीट सङ्ख्यामा नबढ्ने गरी त्यस्तो घताङ्क सङ्ख्याभन्दा ठीक मुनिको पूर्णाङ्क वा ठीक माथिको पूर्णाङ्क सङ्ख्यामा नाम राखी पठाउनु पर्नेछ ।

(८) उपदफा (६) मा जुनसुकै कुरा लेखिएको भए तापनि समानुपातिक निर्वाचन प्रणाली तर्फ निर्धारण गरिएको कूल सदस्य सङ्ख्याको दश प्रतिशतभन्दा कम सीट प्राप्त गर्ने दलले कम्तीमा एक तिहाई महिला निर्वाचित हुने गरी यथासम्भव अन्य समावेशी आधार समेत मिलाई
निर्वाचित हुने उम्मेदवारको सूची पठाउनु पर्नेछ ।

(९) उपदफा (६) बमोजिम सम्बन्धित दलले पेश गरेको उम्मेदवारको नामावलीको सूची प्राप्त भएपछि आयोगले सो सूचीमा नाम समावेश भएका उम्मेदवारहरु निर्वाचित भएको घोषणा गर्नेछ ।

(१०) उपदफा (९) बमोजिम निर्वाचित भएको उम्मेदवारको नाम आयोगले राष्ट्रपति समक्ष पठाई सो नामावली नेपाल राजपत्रमा प्रकाशन गर्नु पर्नेछ ।

(११) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि समानुपातिक निर्वाचन प्रणालीतर्फको कूल सदर मतको तीन प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उम्मेदवार निर्वाचित हुनेछ ।

(१२) उपदफा (२) बमोजिम दलहरुले प्राप्त गरेको कूल सदर मत गणना गर्दा तीन प्रतिशतभन्दा कम मत प्राप्त गर्ने दलले प्राप्त गरेको मत दलले प्राप्त गरेको कूल मतमा गणना गरिने छैन ।

६१. निर्वाचित मिति: (१) पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत भएको निर्वाचनको सम्बन्धमा निर्वाचन अधिकृतले दफा ५८ बमोजिम निर्वाचनको परिणाम प्रकाशन गरेको मितिलाई सम्बन्धित उम्मेदवार निर्वाचित भएको मिति मानिनेछ ।

(२) समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत भएको निर्वाचनको सम्बन्धमा आयोगले दफा ६० बमोजिम उम्मेदवारको बन्दसूचीमा नाम रहेका राजनीतिक दलको उम्मेदवार निर्वाचित भएको घोषणा गरेको मितिलाई त्यस्ता उम्मेदवार निर्वाचित भएको मिति मानिनेछ ।

६२. निर्वाचन परिणाम पेश गर्ने: आयोगले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचन परिणाम सहितको प्रतिवेदन निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र राष्ट्रपति समक्ष पठाउनु पर्नेछ ।

परिच्छेद–९ उम्मेदवार तथा दलको प्रतिनिधि

६३. निर्वाचन प्रतिनिधि: (१) पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फको कुनै उम्मेदवारले कुनै मतदातालाई निर्वाचनको लागि आफ्नो निर्वाचन प्रतिनिधि नियुक्त गरेमा सोको लिखित सूचना निर्वाचन अधिकृतलाई दिनु पर्नेछ ।

(२) समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचनका सम्बन्धमा दलको तर्फबाट गर्नु पर्ने सम्पूर्ण काम कारबाही गर्न दलले तोकिए बमोजिम आफ्नो निर्वाचन प्रतिनिधि नियुक्त गर्न सक्नेछ ।

(३) उपदफा (१) र (२) बमोजिम नियुक्त भएको निर्वाचन प्रतिनिधिलाई उम्मेदवार वा दलले जुनसुकै बखत बदर गरी अर्को निर्वाचन प्रतिनिधि नियुक्त गर्न सक्नेछ र त्यसरी अर्को निर्वाचन प्रतिनिधि नियुक्त गरेको लिखित सूचना सम्बन्धित निर्वाचन अधिकृतलाई तुरुन्त दिनु पर्नेछ ।

(४) निर्वाचन प्रतिनिधिको योग्यता तोकिए बमोजिम हुनेछ ।

६४. निर्वाचन प्रतिनिधिको कर्तव्य: यो ऐन र यस ऐन अन्तर्गत बनेको नियममा निर्वाचन प्रतिनिधिले गर्नुपर्ने भनी उल्लेख गरे बमोजिमको काम गर्नु दफा ६३ बमोजिम नियुक्त निर्वाचन प्रतिनिधिको कर्तव्य हुनेछ ।

६५. मतदान प्रतिनिधि र मतगणना प्रतिनिधि: (१) उम्मेदवार वा निर्वाचन प्रतिनिधिले प्रत्येक मतदान केन्द्रको लागि तोकिए बमोजिम मतदान प्रतिनिधि नियुक्त गर्न सक्नेछ र त्यसरी मतदान प्रतिनिधि नियुक्त गरेको लिखित सूचना मतदान अधिकृत र निर्वाचन अधिकृतलाई दिनु पर्नेछ ।

(२) उम्मेदवार वा निर्वाचन प्रतिनिधिले मतगणना स्थलमा उपस्थित रहन तोकिए बमोजिम मतगणना प्रतिनिधि नियुक्त गर्न सक्नेछ र त्यसरी मतगणना प्रतिनिधि नियुक्त गरेको लिखित सूचना निर्वाचन अधिकृतलाई दिनु पर्नेछ ।

(३) उपदफा (१) वा (२) बमोजिम नियुक्त भएको मतदान प्रतिनिधिलाई उम्मेदवार वा निर्वाचन प्रतिनिधिले जुनसुकै बखत बदर गरी अर्को मतदान प्रतिनिधि वा मतगणना प्रतिनिधि नियुक्त गर्न सक्नेछ ।

(४) उपदफा (३) बमोजिम अर्को मतदान प्रतिनिधि नियुक्त गरिएकोमा मतदान अधिकृतलाई र अर्को मतगणना प्रतिनिधि नियुक्त गरिएकोमा निर्वाचन अधिकृतलाई तुरुन्त जानकारी दिनु पर्नेछ ।

(५) मतदान प्रतिनिधि र मतगणना प्रतिनिधिको सङ्ख्या र योग्यता तोकिए बमोजिम हुनेछ ।

६६. मतदान प्रतिनिधि र मतगणना प्रतिनिधिको कर्तव्य: यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम बमोजिम मतदान प्रतिनिधि र मतगणना प्रतिनिधिले गर्नु पर्ने भनी उल्लेख भएका काम गर्नु दफा ६५ बमोजिम नियुक्त मतदान प्रतिनिधि र मतगणना प्रतिनिधिको कर्तव्य हुनेछ ।

६७. उम्मेदवार वा कुनै प्रतिनिधि अनुपस्थित रहेमा: यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम बमोजिम निर्वाचन प्रतिनिधि, मतदान प्रतिनिधि वा मतगणना प्रतिनिधि नियुक्त नभएमा वा उम्मेदवार, निजको कुनै प्रतिनिधि वा दलको प्रतिनिधि उपस्थित रहनु पर्ने अवस्थामा उपस्थित नरहेमा वा निजहरुमध्ये कसैले गर्नु पर्ने काम नगरेमा सोही कारणले मात्र मतदान वा मतगणनाको काम रोकिने छैन र त्यस्तो काम कानून बमोजिम भएको मानिनेछ ।

परिच्छेद–१० विविध

६८. उपनिर्वाचन: दफा ६ मा जुनसुकै कुरा लेखिएको भए तापनि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत निर्वाचित कुनै सदस्यको पद प्रतिनिधि सभाको अवधि छ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले रिक्त भएमा आयोगले तोकेको मितिमा त्यस्तो रिक्त सदस्यको पद उपनिर्वाचनद्वारा पूर्ति गरिनेछ ।

६९. निविदा मतपत्र सम्बन्धी व्यवस्था: (१) कसैले अर्को मतदाताको नामबाट मतपत्र लिइसकेको वा मतदान गरिसकेको र पछिबाट मतदान गर्न आउने व्यक्ति नै वास्तविक मतदाता हो भन्ने कुरा निजले पेश गरेको प्रमाणबाट यकिन भएमा मतदान अधिकृतले त्यस्तो मतदातालाई निविदा मतपत्र दिनेछ । त्यस्तो निविदा मतपत्र दिएकोमा सो मतपत्रमा मतदाताले आफ्नो मत सङ्केत  गरिसकेपछि त्यस्तो मतपत्र मतपेटिकामा नहाली सो प्रयोजनको लागि राखिएको छुट्टै खाममा राख्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम निविदा मतपत्र दिने, राख्ने र तत्सम्बन्धी अन्य कार्यविधि तोकिए बमोजिम हुनेछ ।

(३) यस ऐन बमोजिम मतगणना गर्दा उपदफा (१) बमोजिम छुट्टै खाममा राखिएका निविदा मतपत्रहरु सो समयमा गणना गरिने छैन । निर्वाचन सम्बन्धी उजुरी पर्न आई सो उजुरीको निर्णय गर्नको लागि आवश्यक पर्ने भनी अदालतले ठहर गरेमा त्यस्तो निविदा मतपत्रहरु समेत गणना गर्न सक्नेछ ।

७०. धरौटी राख्नु पर्ने: (१) उम्मेदवारले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचनमा उम्मेदवार हुनको लागि दश हजार रुपैयाँ सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा र समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचनमा उम्मेदवारको बन्दसूची पेश गर्ने दलले पचास हजार रुपैयाँ आयोग समक्ष धरौटी राख्नु पर्नेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फ महिला र दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रुपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा पचास प्रतिशत छुट हुनेछ ।
स्पष्टीकरण: यस उपदफाको प्रयोजनका लागि “आर्थिक रुपले विपन्न व्यक्ति” भन्नाले वार्षिक पारिवारिक आय पचास हजार रुपैयाँभन्दा कम भएको भनी सम्बन्धित स्थानीय तहले सिफारिस गरेको व्यक्ति सम्झनु पर्छ ।

(३) पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचनमा एउटै उम्मेदवारको निमित्त एकभन्दा बढी मनोनयनपत्र दाखिला भएको अवस्थामा एउटा मनोनयनको लागि मात्र धरौटी राखे पुग्नेछ ।

(४) उपदफा (१) बमोजिम धरौटी राख्दा उम्मेवार वा दलले नगदै रुपमा दाखिला गर्न वा बैङ्कमा नगद धरौटी राखेको रसिद पेश गर्न सक्नेछ ।

७१. धरौटी जफत हुने: (१) पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुनेछ ।
तर निर्वाचित उम्मेदवारको हकमा यो कुरा लागू हुने छैन ।

(२) समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको निर्वाचनमा कुनै दलले कम्तीमा एक सीट प्राप्त नगरेमा त्यस्तो दलले राखेको धरौटी जफत हुनेछ ।

(३) उपदफा (१) वा (२) बमोजिम धरौटी जफत हुने अवस्थामा बाहेक अन्य उम्मेदवार र मनोनयनपत्र स्वीकृत नभएको वा नाम फिर्ता लिएका व्यक्तिले राखेको धरौटी सो निर्वाचन परिणाम घोषणा भएको मितिले तीन महिना भित्र सम्बन्धित व्यक्ति वा दलले फिर्ता लिनु पर्नेछ ।

(४) उपदफा (३) बमोजिमको म्यादभित्र धरौटी फिर्ता नलिएमा सो धरौटीको रकम सङ्घीय सञ्चित कोषमा दाखिला हुनेछ ।

७२. निर्वाचन प्रचार प्रसार खर्च: (१) पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचनमा उम्मेदवारले र समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचनमा दलले खर्च गर्न पाउने रकमको हद आयोगले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिए बमोजिम हुनेछ 

(२) दल, उम्मेदवार वा तिनको निर्वाचन प्रतिनिधिले निर्वाचनको अवधिमा निर्वाचनमा भएको सम्पूर्ण खर्चको विवरण आयोगले तोकेको ढाँचामा तोकिए बमोजिम राख्नु पर्नेछ ।
स्पष्टीकरण: यस उपदफाको प्रयोजनको लागि “निर्वाचनको अवधि” भन्नाले कुनै निर्वाचन क्षेत्रमा उम्मेदवारको मनोनयनपत्र वा समानुपातिक निर्वाचनका लागि उम्मेदवारको बन्दसूची दर्ता भएको मितिदेखि त्यस्तो निर्वाचनको परिणाम घोषणा भएको मितिसम्मको अवधि सम्झनु पर्छ ।

(३) कुनै दल वा उम्मेदवारले निर्वाचनमा गरेको जम्मा खर्च उपदफा (१) बमोजिम तोकिएको खर्चको रकमको हदभन्दा बढी हुनु हुँदैन ।

(४) उपदफा (२) बमोजिमको निर्वाचन खर्चको विवरण दल, उम्मेदवार वा तिनका प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले पैँतीस दिनभित्र आयोग वा आयोगले तोकेको कार्यालय समक्ष पेश गर्नु पर्नेछ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फको खर्चको विवरण त्यस्तो कार्यालयमा पेश गरेमा प्राप्त भएको खर्चको विवरण सम्बन्धित कार्यालयले आयोगमा पठाउनु पर्नेछ ।

(५) यस दफा बमोजिम निर्वाचन प्रचार प्रसार खर्चको विवरण तोकिएको समयभित्र नबुझाउने दल वा उम्मेदवारलाई आयोगले निर्वाचन आयोग सम्बन्धी सङ्घीय कानून बमोजिम जरिबाना गर्न सक्नेछ ।

७३. निर्वाचन सम्बन्धी कागजातको गोप्यता: (१) निर्वाचनमा प्रयोग भएको कागजात वा विधुतीय उपकरणबाट मतदान भएकोमा त्यस्तो अभिलेखमध्ये मतगणनाको प्रयोजनको लागि आवश्यकता अनुसार खोली हेरी मतगणनाको काम समाप्त भएपछि सिलबन्दी गरी तोकिएको अधिकारीको जिम्मामा राखिनेछ ।

(२) उपदफा (१) बमोजिमको सिलबन्दी मतपत्रको अधकट्टी, मतदानमा प्रयोग गरिएको मतदाता नामावली र सिलबन्दी गरिएको सदर तथा बदर भएको मतपत्रहरु प्रचलित कानून बमोजिम परेको उजुरीको सिलसिलामा अदालतले मात्र खोल्न र हेर्न सक्नेछ । अदालत बाहेक
अन्य कुनै अधिकारी वा निकायलाई त्यस्तो सिलबन्दी खाम, थैलो वा बोरा खोली हेर्ने अधिकार हुने छैन ।

(३) उपदफा (२) बमोजिम अदालतले खोली हेरिसकेपछि अदालतले ती कागजात वा अभिलेख यथारुपमा सिलबन्दी गरी राख्नु पर्नेछ ।

(४) यस दफामा उल्लिखित कागजात वा अभिलेख मुद्दा परेकोमा मुद्दाको अन्तिम टुङ्गो लागेको मितिले र मुद्दा नपरेकोमा उजुरी गर्ने म्याद भुक्तान भएको मितिले तीन महिनासम्म सुरक्षित राख्नु पर्नेछ ।

७४. गोप्यता भङ्ग गर्न नहुने: (१) कानून बमोजिम अधिकार पाएकोमा बाहेक निर्वाचन सम्बन्धी काम गर्न खटिएको कुनै पनि कर्मचारी, उम्मेदवार, निर्वाचन प्रतिनिधि, मतदान प्रतिनिधि, मतगणना प्रतिनिधि वा अन्य कुनै व्यक्तिले मतपत्रमा मतदाताले सङ्केत गरेको मत वा तत्सम्बन्धमा आफूलाई जानकारी रहेको वा हुन आएको अन्य कुनै कुरा कसैलाई भन्न, लेख्न, प्रकट गर्न वा प्रकाश गर्न हुँदैन ।

(२) यो ऐन वा अन्य प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐन अन्तर्गत चलेको कानूनी कारबाहीमा कुनै पनि साक्षी वा कुनै व्यक्तिलाई निर्वाचनमा निजले कसलाई मत दिएको हो भनी वा कसले कसलाई मत दिएको हो भनी प्रश्न गरिने छैन ।

७५. सदस्यको शपथ: (१) सदस्यले प्रतिनिधि सभा वा त्यसको कुनै समितिको बैठकमा भाग लिनुअघि प्रतिनिधि सभाको अध्यक्षता गर्ने व्यक्ति समक्ष अनुसूची–३ बमोजिमको ढाँचामा शपथ लिनु पर्नेछ ।
तर संविधानको धारा ९१ को उपधारा (५) बमोजिमको सदस्यले राष्ट्रपति समक्ष शपथ लिनु पर्नेछ ।

(२) कुनै सदस्यले आफ्नो मातृभाषामा शपथ लिन चाहेमा त्यस्तो सदस्यले उपदफा (१) बमोजिमको शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सो अनुवादको प्रति प्रतिनिधि सभा वा त्यसको कुनै समितिको पहिलो बैठकमा भाग लिनु तीन दिन अगावै सङ्घीय संसद सचिवालयलाई उपलब्ध गराउनु पर्नेछ ।

(३) यस दफा बमोजिम सदस्यले शपथ लिए पछि आफूले लिएको शपथको प्रतिमा हस्ताक्षर गरी प्रतिनिधिसभाको अध्यक्षता गर्ने व्यक्ति समक्ष पेश गर्नु पर्नेछ ।

(४) कुनै सदस्यले आफ्नो मातृभाषामा शपथ लिएकोमा सरकारी कामकाजको नेपाली भाषा र अन्य नेपाली मातृभाषाको शपथको प्रतिहरुमा हस्ताक्षर गरी प्रतिनिधि सभाको अध्यक्षता गर्ने व्यक्ति समक्ष पेश गर्नु पर्नेछ ।

(५) यस दफा बमोजिम सदस्यले लिएको शपथको अभिलेख सङ्घीय संसद सचिवालयले राख्नेछ ।

७६. आदेश जारी गर्ने र निर्देशन दिने: (१) यो ऐन र यस ऐन अन्तर्गत बनेको नियमको अधीनमा रही आयोगले आवश्यक आदेश जारी गर्न सक्नेछ र त्यस्तो आदेश नेपाल राजपत्रमा प्रकाशन गर्नु पर्नेछ ।

(२) आयोगले निर्वाचन सञ्चालनको लागि निर्वाचनको काममा खटिएका कर्मचारीलाई आवश्यक निर्देशन दिन सक्नेछ ।

(३) यस दफा बमोजिम आयोगले जारी गरेको आदेश र निर्देशन पालना गर्नु नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सरकारी कार्यालय तथा निकाय, सरकारी, अर्धसरकारी तथा गैरसरकारी संस्था तथा निकाय, दल, उम्मेदवार, निजको प्रतिनिधि, निर्वाचन सम्बन्धी काम
कारबाहीको प्रचार प्रसार गर्ने व्यक्ति तथा निर्वाचनको काममा खटिएका कर्मचारी समेतको कर्तव्य हुनेछ ।

७७. मद्दत लिन सकिने: (१) निर्वाचन अधिकृत, मतदान अधिकृत वा आयोगले निर्वाचनको काममा खटाएको अनुगमन टोली, पर्यवेक्षक वा अन्य कुनै अधिकृतले निर्वाचनको कामको सिलसिलामा कुनै पनि सरकारी वा सुरक्षा निकायको मद्दत लिन सक्नेछ ।

(२) उपदफा (१) बमोजिम मद्दत मागिएमा आवश्यक मद्दत पु¥याउनु सम्बन्धित सबैको कर्तव्य हुनेछ ।

७८. कारबाही गर्न सक्ने: कुनै निर्वाचन अधिकृतले संविधान, निर्वाचन सम्बन्धी कानून तथा आयोगले दिएको निर्देशन विपरीत कार्य गरेमा आयोगले त्यस्तो निर्वाचन अधिकृतको नियुक्ति बदर गरी अर्को निर्वाचन अधिकृत नियुक्त गर्न वा विभागीय कारबाहीको लागि सम्बन्धित निकायमा लेखी पठाउन सक्नेछ ।

७९. नियम बनाउने अधिकार: आयोगले यो ऐन कार्यान्वयनको लागि आवश्यक नियम बनाउन सक्नेछ ।

८०. निर्देशिका वा कार्यविधि बनाई लागू गर्न सक्ने: आयोगले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको अधीनमा रही आवश्यक निर्देशिका वा कार्यविधि बनाई लागू गर्न सक्नेछ ।

८१. खारेजी: देहायका ऐनहरु खारेज गरिएका छन्:–

(क) संविधान सभा अदालत ऐन, २०६४,

(ख) संविधान सभा सदस्य निर्वाचन ऐन, २०७० ।

अनुसूची–१ उम्मेदवारको बन्दसूचीको लागि समावेशी आधार

अनुसूची–१
(दफा २८ को उपदफा (५) र दफा ६० को उपदफा (६) सँग सम्बन्धित)
उम्मेदवारको बन्दसूचीको लागि समावेशी आधार

क्र.सं.प्रतिनिधित्व हुने समूहप्रतिशत
१.दलित१३.८
२.आदिवासी जनजाति२८.७
३.खस आर्य३१.२
४.मधेशी१५.३
५.थारु६.६
६.मुस्लिम४.४

 

अनुसूची–२ मत परिणाम विभाजक शुत्र

अनुसूची–२
(दफा ६० को उपदफा (२) सँग सम्बन्धित)
मत परिणाम विभाजक शुत्र

मत परिणाम विभाजक सूत्र अनुसार प्रत्येक दलको लागि खसेको मतलाई भाग गर्ने पद्दतिले श्रृङ्खलावद्ध रुपमा भाग गरिनेछ । यस अनुसार प्रत्येक दलले प्राप्त गरेको मत परिणामलाई धेरै भाजकहरुले भाग गरिन्छ (उदाहरण: १, ३, ५, ७, ९ आदि) त्यसरी भाग प्राप्त हुने नतिजालाई दलको भागफल (क्योसेन्ट) भनिन्छ । भागफल प्राप्त भएपछि सीट सङ्ख्याहरु ठूलो भागफलबाट सानोलाई बाँडफाँट गर्दै सीट नसकिँदासम्म बाँडफाँट गरिनेछ । यसरी बाँडफाँट गर्दा कुनै दलले जतिसुकै मत प्राप्त गरेको भए तापनि त्यस्तो दलले सूचीमा सूचीकृत गरेको उम्मेदवार सङ्ख्यामा सीमित रही त्यस्तो दलले प्राप्त गर्ने सीटको बाँडफाँट गरिनेछ ।

अनुसूची–३ (दफा ७५ को उपदफा (१) सँग सम्बन्धित) शपथको ढाँचा

म (सम्बन्धित सदस्यको पूरा नाम) ……………………………. मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्छु/ईश्वरको नाममा शपथ लिन्छु कि नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा रहेको नेपालको संविधानप्रति पूर्ण वफादार रहँदै प्रतिनिधि सभाको सदस्य पदको कामकाज प्रचलित कानूनको अधीनमा रही मुलुक र जनताको सोझो चिताई, कसैको डर नमानी, पक्षपात नगरी, पूर्वाग्रह वा खराब भावना नलिई पदीय गोपनीयता कायम राखी ईमान्दारीका साथ गर्नेछु ।

मिति:–                                                                      दस्तखत:–
नाम, थर:–