Skip to contentSkip to left sidebar Skip to footer

नेपाल नर्सिङ्ग परिषद् ऐन, २०५२

नेपाल नर्सिङ्ग परिषद् ऐन, २०५२

लालमोहर र प्रकाशन मिति

२०५२।१२।७

संशोधन गर्ने ऐन

१. नेपाल नर्सिङ्ग परिषद्(पहिलो संशोधन) ऐन, २०५८                              २०५८।१०।४
प्रमाणीकरण र प्रकाशन मिति
२. गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६                           २०६६।१०।७

३. केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७२                                                                        २०७२।११।१३

४. केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४            २०७४।६।३०

५. नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५            २०७५।११।१९

२०५२ सालको ऐन नं. १५

………..

नेपाल नर्सिङ्ग परिषद्को व्यवस्था गर्न बनेको ऐन

प्रस्तावना – नेपाल ……….. को नर्सिङ्ग सेवालाई प्रभावकारी बनाई व्यवस्थित एवं वैज्ञानिक ढंगले परिचालन गर्न तथा नर्सहरुको योग्यता अनुसार नामदर्ता गर्ने समेत व्यवस्था गर्न एक नर्सिङ्ग परिषद्को स्थापना गर्न वाञ्छनीय भएकोले,

श्री ५ महाराजधिराज वीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालको चौबीसौं वर्षमा संसदले यो ऐन बनाएकोछ ।

१. संक्षिप्त नाम र प्रारम्भ

(१) यस ऐनको नाम “नेपाल नर्सिङ्ग परिषद्ऐन, २०५२” रहेकोछ ।

(२) यो ऐन नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मितिदेखि तोकेको क्षेत्रमा लागू हुनेछ ।

२. परिभाषा

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा,–

(क) “परिषद्” भन्नाले दफा ३ बमोजिम स्थापना भएको नेपाल नर्सिङ्ग परिषद्सम्झनु पर्छ ।

(ख) “अध्यक्ष” भन्नाले परिषद्को अध्यक्ष सम्झनु पर्छ ।

(ख१) “उपाध्यक्ष” भन्नाले परिषद्को उपाध्यक्ष सम्झनु पर्छ ।

(ग) “सदस्य” भन्नाले परिषद्को सदस्य सम्झनु पर्छ र सो शब्दले अध्यक्ष  तथा उपाध्यक्ष समेतलाई जनाउँछ ।

(घ) “नर्स” भन्नाले यो ऐन बमोजिम मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ्ग विषयमाडिग्री, डिप्लोमा वा प्रमाणपत्र प्राप्त व्यक्ति सम्झनु पर्छ ।

(घ१) “मिडवाइफ” भन्नाले यो ऐन बमोजिम मान्यता प्राप्त शिक्षण संस्थाबाट मिडवाइफरी विषयमा डिग्री, डिप्लोमा वा प्रमाणपत्र प्राप्त व्यक्ति सम्झनु पर्छ ।

(ङ) “अ.न.मि. (सहायक स्वास्थ्य परिचारिका)” भन्नाले यो ऐन बमोजिम मान्यता
प्राप्त शिक्षण संस्थाबाट अ.न.मि. (सहायक स्वास्थ्य परिचारिका) को प्रमाणपत्र
प्राप्त व्यक्ति सम्झनु पर्छ ।

(ङ१) “नर्सिङ्ग व्यवसायी” भन्नाले नर्स, मिडवाइफ तथा अ.न.मी.सम्झनु पर्छ ।

(च) “दर्तावाला नर्सिङ्ग व्यवसायी” भन्नाले दर्ता किताबमा नाम दर्ता भएका नर्स,मिडवाइफ तथा अ.न.मी.सम्झनु पर्छ ।

(छ) “दर्ता किताब” भन्नाले यो ऐन अन्तर्गत  नर्सिङ्ग व्यवसायीको नामदर्ता गर्न खडा गरिएको दर्ता किताब सम्झनु पर्छ ।

(ज) “रजिष्ट्रार” भन्नाले दफा १३ बमोजिम नियुक्त गरिएको वा तोकिएको व्यक्ति सम्झनु पर्छ ।

(ज१) “शिक्षण संस्था” भन्नाले नर्सिङ्ग, मिडवाइफरी तथा अ.न.मी.सम्बन्धी विषय अध्ययन, अध्यापन गराउने, तालीम दिने वा दिलाउने सरकारी, गैर सरकारी वा निजी शिक्षण संस्था सम्झनु पर्छ ।

(झ) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।

४. परिषद् स्वशासित संस्था हुने

(१) परिषद् अविच्छिन्न उत्तराधिकारवाला स्वशासित र संगठित संस्था हुनेछ ।

(२) परिषद्को सबै कामको निमित्त आफनो एउटा छट्टै छाप हुनेछ ।

(३) परिषद्ले व्यक्ति सरह चल अचल सम्पत्ति प्राप्त गर्न, उपभोग गर्न, बेचबिखन गर्न वा अन्य कुनै किसिमले बन्दोबस्त गर्न सक्नेछ ।

(४) परिषद्ले व्यक्ति सरह आफनो नामबाट नालिस उजुर गर्न र परिषद्उपर पनि सोही नामबाट नालिस उजुर लाग्न सक्नेछ ।

५. परिषद्को गठन

(१) दफा ३ बमोजिम स्थापना भएको परिषद्मा देहाय बमोजिमका सदस्यहरु रहनेछन्ः–

(क) नर्सिङ्ग विषयमा कम्तीमा स्नातक उपाधि प्राप्त गरी नर्सिङ्ग व्यवसायमा कम्तीमा पन्ध्र वर्ष अनुभव प्राप्त गरेका व्यक्तिहरुमध्ये नेपाल सरकारबाट मनोनीत व्यक्ति –अध्यक्ष

(ख) नर्सिङ्ग विषयमा कम्तीमा स्नातक उपाधि प्राप्त गरी नर्सिङ्ग व्यवसायमा कम्तीमा बाह्र वर्ष अनुभव प्राप्त गरेका व्यक्तिहरुमध्ये नेपाल सरकारबाट मनोनीत व्यक्ति –उपाध्यक्ष

(ग) नर्सिङ्ग क्याम्पसका क्याम्पस प्रमुखहरुमध्ये नेपाल सरकारबाट मनोनीत दुईजना –सदस्य

(घ) अध्यक्ष, नेपाल नर्सिङ्ग संघ –सदस्य

(ङ) स्वास्थ्य सेवा विभागका महानिर्देशकले तोकेको अधिकृत स्तरको नर्स –सदस्य

(च) त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थानको डीनले तोकेको अधिकृत स्तरको नर्स –सदस्य

(छ) नेपाल नर्सिङ्ग संघका साधारण सदस्यहरुमध्येबाट निर्वाचित तीनजना –सदस्य

(ज) नर्सिङ्ग व्यवसायमा ख्यातिप्राप्त नर्सहरुमध्येबाट नेपाल  सरकारबाट मनोनीत एकजना –सदस्य

(झ) नर्सिङ्ग क्षेत्रमा दश वर्ष सेवा गरिसकेका दर्तावाला नर्सिङ्ग व्यवसायी भई प्रदेश सरकारको स्वास्थ्य निर्देशनालय, क्षेत्रीय अस्पताल वा अञ्चल अस्पतालमा कार्यरत नर्सिङ्ग प्रमुखहरुमध्येबाट परिषद्को सिफारिसमा नेपाल सरकारबाट मनोनीत एकजना –सदस्य

(ञ) मेट्रोनहरुमध्ये नेपाल सरकारबाट मनोनीत एकजना –सदस्य

(ट) राष्ट्रिय जीवनमा ख्यातिप्राप्त उपभोक्ताका तर्फबाट नेपाल सरकारबाट मनोनीत एकजना –सदस्य

(ठ) प्रतिनिधि, प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् –सदस्य

(२) उपदफा (१) को खण्ड (छ) बमोजिमका सदस्यहरु निर्वाचित भई नआएसम्म नेपाल नर्सिङ्ग संघका साधारण सदस्यहरु मध्येबाट नेपाल सरकारबाट मनोनीत दुई जना सदस्यहरु परिषद्को सदस्यको रुपमा रहनेछन्।

(३) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी परिषद्का सदस्यहरुमा थपघट वा हेरफेर गर्न सक्नेछ ।

(४) परिषद्ले आवश्यक देखेमा नर्सिङ्ग क्षेत्रको कुनै स्वदेशी वा विदेशी विशेषज्ञलाई पर्यवेक्षकको रुपमा बैठकमा भाग लिन आमन्त्रण गर्न सक्नेछ ।

(५) उपदफा (१) को खण्ड (छ) बमोजिमको सदस्यको निर्वाचन प्रकृया तोकिए बमोजिम हुनेछ ।

६. सदस्यको पदावधि

(१) परिषद्मा मनोनीत वा निर्वाचित सदस्यहरुको पदावधि चार वर्षको हुनेछ । पदावधि समाप्त भएपछि निजहरु पुनः मनोनीत वा निर्वाचित हुन सक्नेछन्।

तर, नेपाल सरकारबाट मनोनीत सदस्यहरुलाई नेपाल सरकारले पदावधि समाप्त हुनुभन्दा अगाडि हटाउन सक्नेछ ।

(२) पदावधि समाप्त नहुँदै कुनै सदस्यको पद रिक्त हुन आएमा बाँकी अवधिको लागि अर्को सदस्य मनोनीत वा निर्वाचित हुनेछ ।

तर,–

(१) पद रिक्त भएको मितिले साधारणतया तीन महीनाभित्र निर्वाचन वा मनोनयन गरिसक्नु पर्नेछ ।

(२) छ महीनाभन्दा कम अवधिका लागि निर्वाचन वा मनोनयन गरिनेछैन ।

७. सदस्यको निमित्त अयोग्यता

देहायको कुनै व्यक्ति परिषद्को सदस्यमा मनोनीत वा निर्वाचित हुन वा सदस्यमा बहाल रहन अयोग्य मानिनेछ :–

(क) गैर नेपाली नागरिक,

(ख)  नाम दर्ता नगराएको वा दर्ता किताबबाट नाम हटाइएको, स्तर, दफा ५ को उपदफा (१) को खण्ड (ट) र (ठ) बमोजिमका सदस्यको हकमा यो खण्ड लागू हुनेछैन ।

(ग) साहुको ऋण तिर्न नसकी दामसाहीमा परेको,

(घ) नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसूरदार ठहरी सजाय पाएको, वा

(ङ) मगज बिग्रेको ।

८. सदस्यता समाप्त हुने अवस्था

देहायको अवस्थामा परिषद्को सदस्यता समाप्त भएको मानिनेछ :–

(क) दफा ७ बमोजिम सदस्य रहन अयोग्य भएमा,

(ख) सदस्यको पदबाट दिएको राजिनामा स्वीकृत भएमा,

(ग) मृत्यु भएमा, वा

(घ) परिषद्लाई कारण सहितको सूचना नदिई लगातार तीन पटक भन्दा बढी परिषद्को बैठकमा अनुपस्थित भएमा ।

तर, परिषद्ले कुनै सदस्यलाई बढीमा छ महीनासम्म मात्र परिषद्को बैठकमा अनुपस्थित रहन सक्ने गरी अनुमति दिन सक्नेछ ।

९. परिषद्को काम, कर्तव्य र अधिकार

(१) परिषद्को काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :–

(क) नर्सिङ्ग व्यवसायलाई सुचारु रुपले सञ्चालन गर्न आवश्यक नीति निर्धारण गर्ने,

(ख) शिक्षण संस्थालाई मान्यता दिने,

(ग) खण्ड (ख) बमोजिम मान्यता दिएका शिक्षण संस्थाको पाठ्यक्रम, भर्नाका शर्त, परीक्षा प्रणाली तथा अन्य आवश्यक शर्त तथा पूर्वाधारको मूल्याङ्कन तथा पुनरावलोकन गर्ने,

(घ) खण्ड (ग) बमोजिम मूल्याङ्कन तथा पुनरावलोकन गर्दा परिषद्ले निर्धारण गरेको मापदण्ड पूरा गरेको नपाइएमा त्यस्ता शिक्षण संस्था सञ्चालन गर्ने स्वीकृतिखारेजीको लागि सिफारिश गर्ने,

(ङ) नर्सिङ्ग व्यवसायीको योग्यता निर्धारण गरी योग्यता पुगेका नर्सिङ्ग व्यवसायीको दर्ता किताबमा नाम दर्ता गरी दर्ता प्रमाणपत्र दिने,

(च) नर्सिङ्ग व्यवसायीको कार्यसीमा निर्धारण गर्ने,

(छ) नर्सिङ्ग व्यवसायीको व्यावसायिक आचारसंहिता निर्धारण गर्ने र त्यस्तो आचारसंहिता उल्लंघन गर्ने नर्सिङ्ग व्यवसायीउपर कारबाही गर्ने ।

(२) कुनै शिक्षण संस्था स्थापना र सञ्चालन गर्न स्वीकृति दिनुपूर्व सम्बन्धित निकायले परिषद्संग परामर्श माग गर्नेछ । त्यस्तो शिक्षण संस्थाले आवश्यक मापदण्ड तथा पूर्वाधार पूरा गरे वा नगरेको जाँचबुझ गरी परिषद्ले सो सम्बन्धमा आवश्यक परामर्श दिनेछ । परिषद्को त्यस्तो परामर्शको आधारमा सम्बन्धित निकायले शिक्षण संस्था स्थापना र सञ्चालन गर्ने स्वीकृति दिने वा नदिने सम्बन्धमा आवश्यक निर्णय गर्नेछ । शिक्षण संस्था स्थापना र सञ्चालनको स्वीकृति दिइएको अवस्थामा सो कुराको सूचना नेपाल राजपत्रमा प्रकाशन गरिनेछ ।

१०. परिषद्को बैठक र निर्णय

(१) परिषद्को बैठक साधारणतया वर्षको चार पटक बस्नेछ र अध्यक्षले आवश्यक देखेमा सो भन्दा बढी पटक पनि बैठक बोलाउन सक्नेछ ।

(२) परिषद्को बैठक अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ ।

(३) परिषद्को बैठकको अध्यक्षता अध्यक्षले गर्नेछ । निजको अनुपस्थितिमा उपाध्यक्षले र उपाध्यक्षको पनि अनुपस्थितिमा बैठकमा उपस्थित सदस्यहरुले आफूमध्येबाट छानेको व्यक्तिले बैठकको अध्यक्षता गर्नेछ ।

(४) परिषद्को कुल सदस्य संख्याको पचास प्रतिशत सदस्यहरु उपस्थित भएमा मात्र परिषद्को बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ ।

(५) परिषद्को बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्णयात्मक मत दिन सक्नेछ ।

(६) परिषद्को निर्णय रजिष्ट्रारद्वारा प्रमाणित गरिनेछ ।

(७) सदस्यहरुले बैठकमा भाग लिंदा पाउने भत्ता तथा अन्य सुविधाहरु तोकिए बमोजिम हुनेछ ।

(८) परिषद्को बैठक सम्बन्धी अन्य कार्यविधि परिषद् आफैले निर्धारण गरे बमोजिम हुनेछ ।

११. अधिकार प्रत्यायोजन

परिषद्ले यस ऐन बमोजिम आफूलाई प्राप्त अधिकारमध्ये केही अधिकार आवश्यकतानुसार अध्यक्ष, उपाध्यक्ष सदस्य वा दफा १२ बमोजिम गठन भएका समितिलाई वा
समितिको सदस्यहरुलाई प्रत्यायोजन गर्न सक्नेछ ।

१२. समिति गठन गर्न सक्ने

(१) परिषद्को निणर्यहरु कार्यान्वयन गर्न परिषद्ले आवश्यकतानुसार संयोजक र सदस्यहरु तोकी विभिन्न विषय सम्बन्धी समितिहरुको गठन गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिमको समितिको बैठक तथा अन्य कार्यविधि परिषद्ले तोके बमोजिम हुनेछ ।

१२क. अध्यक्षको काम, कर्तव्य र अधिकार

अध्यक्षकोकाम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :–

(क) परिषद्को बैठकमा छलफल गरिने विषयको प्राथमिकता निर्धारण गर्ने,

(ख) परिषद्द्वारा सञ्चालित योजना तथा कार्यक्रमको अनुगमन तथा मूल्याङ्कन गर्ने वा गराउने र तत्सम्बन्धमा आवश्यक निर्देशन दिने,

(ग) परिषद्को काम, कारबाही व्यवस्थित, प्रभावकारी र सुचारु रुपले सञ्चालन गर्ने वा गराउने,

(घ) परिषद्ले निर्देशन दिए बमोजिमका अन्य कार्य गर्ने वा गराउने ।

१२ख. उपाध्यक्षको काम, कर्तव्य र अधिकार

अध्यक्षको अनुपस्थितिमा यस ऐन बमोजिम अध्यक्षले गर्नु पर्ने काम, कर्तव्य र अधिकारको प्रयोग गर्नु उपाध्यक्षको कर्तव्य हुनेछ ।

१३. रजिष्ट्रार

(१) परिषद्को दैनिक प्रशासकीय काम, कारबाही गर्न नेपाल सरकारले नर्सिङ्ग विषयमा कम्तीमा स्नातक उपाधि प्राप्त गरी कम्तीमा पाँच वर्ष नर्सिङ्ग व्यवसायमा संलग्न रहेको कुनै व्यक्तिलाई रजिष्ट्रारमा नियुक्ति गर्न वा तोक्न सक्नेछ ।

(२) रजिष्ट्रारले परिषद्कोसचिव भई काम गर्नेछ ।

(३) रजिष्ट्रारको सेवा, शर्त र सुविधा तोकिए बमोजिम हुनेछ ।

(४) रजिष्ट्रारको अनुपस्थितिमा निजले गर्नुपर्ने सबै काम कारबाही गर्न नेपाल सरकारले परिषद्को अन्य कुनै अधिकृत स्तरको कर्मचारीलाई तोक्नेछ ।

१४. रजिष्ट्रारको काम, कर्तव्य र अधिकार

यस ऐनमा लेखिएदेखि बाहेक रजिष्ट्रारको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :–

(क) परिषद्को निर्णय कार्यान्वयन गर्ने गराउने,

(ख) परिषद्को बैठकमा पेश गर्नुपर्ने छलफलको विषय सूची तयार गर्ने,

(ग) तोकिए बमोजिम अन्य काम, कर्तव्य र अधिकार ।

१५. परिषद्का कर्मचारी

(१) परिषद्ले आवश्यकतानुसार कर्मचारीहरु नियुक्त गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम नियुक्त कर्मचारीहरु रजिष्ट्रारको रेखदेख र नियन्त्रणमा रहनेछन्।

(३) परिषद्का कर्मचारीहरुको सेवा, शर्त र सुविधा तोकिए बमोजिम हुनेछ ।

१६. दर्ता किताबमा नाम दर्ता गराउन दरखास्त दिने

(१) नर्सिङ्ग व्यवसाय गर्न चाहने तोकिएबमोजिमको न्यूनतम योग्यता प्राप्त गरेका  नर्सिङ्ग व्यवसायीले यो ऐन र यस ऐन अन्तर्गत बनेका नियमको अधीनमा रही दर्ता किताबमा नामदर्ता गराउन परिषद्मा तोकिए बमोजिम दरखास्त दिनु पर्नेछ ।

(२) यो ऐन प्रारम्भ भएका बखत नर्सिङ्ग व्यवसाय गरिरहेका  नर्सिङ्ग व्यवसायीहरुले दर्ता किताबमा नामदर्ता गराउन यो ऐन प्रारम्भ भएको मितिले ६ महीनाभित्र उपदफा (१) बमोजिम दरखास्त दिनु पर्नेछ ।

(३) उपदफा (१) वा (२) बमोजिम नामदर्ता गराउन दरखास्त दिने  नर्सिङ्ग व्यवसायीले दरखास्तसाथ आफनो योग्यता सम्बन्धी प्रमाणपत्र,  र तोकिए बमोजिमको अन्य कागजात तथा दस्तुर संलग्न गर्नु पर्नेछ ।

१७. दरखास्त उपर कारबाही र दर्ताको प्रमाणपत्र

(१) दफा १६ बमोजिम पर्न आएको दरखास्त उपर रजिष्ट्रारले आवश्यक जाँचबुझ गरी दर्ता किताबमा नामदर्ता गर्न सम्बन्धित विषय समितिमा पेश गर्नेछ ।

(२) उपदफा (१) बमोजिम पेश हुन आएको दरखास्त उपर सम्बन्धित विषय समितिले योग्यता सम्बन्धी उपाधि मान्यता प्राप्त हो होइन र दरखास्त रीतपूर्वक छ छैन भन्ने कुराको समेत जाँचबुझ गरी पन्ध्र दिनभित्र परिषद्समक्ष प्रतिवेदन पेश गर्नु पर्नेछ ।

(३) उपदफा (२) बमोजिम समितिले पेश गरेको प्रतिवेदनको आधारमा परिषद्ले दरखास्तवालाको नाम दर्ता किताबमा दर्ता गर्ने नगर्ने कुराको निर्णय गर्नेछ ।

(४) उपदफा (३) बमोजिम परिषद्ले दरखास्तवालाको नामदर्ता हुने निर्णय गरेकोमा रजिष्ट्रारले त्यस्तो दरखास्तवालाको नाम दर्ता किताबमा दर्ता गरी निजलाई तोकिएको ढाँचामा दर्ताको प्रमाणपत्र दिनु पर्नेछ । परिषद्ले दरखास्तवालाको नाम दर्ता नगर्ने निर्णय गरेकोमा रजिष्ट्रारले त्यसको जानकारी दरखास्तवालालाई दिनेछ ।

(५) उपदफा (४) बमोजिम दिइएको दर्ता प्रमाणपत्र नाम दर्ता भएको मितिले छ वर्षको लागि मान्य हुनेछ ।

(६) परिषद्मा गैर नेपाली नागरिकलाई नर्सिङ्ग व्यवसायीको रुपमा नाम दर्ता गर्ने सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।

१८. दर्ता किताबबाट नाम हटाउने र पुनः नामदर्ता गर्ने

(१)देहायको कुनै अवस्थामा परिषद्ले कुनै दर्तावाला  नर्सिङ्ग व्यवसायीकोनाम दर्ता किताबबाट हटाउन आदेश दिन सक्नेछ :–

(क) मगज बिग्रेको,

(ख) नैतिक पतन देखिने फौज्दारी अभियोगमा अदालतबाट सजाय पाएको,

(ग) साहुको ऋण तिर्न नसकी दामासाहीमा परेको, वा

(घ) पेशा सम्बन्धी तोकिएको  व्यवसायिक आचार संहिता पालन नगरेको भनी परिषद्को दुई तिहाई बहुमतले ठहराएको ।

(२) उपदफा (१) को खण्ड (क), (ग) र (घ) बमोजिम दर्ता किताबबाट नाम हटाइएको नर्सिङ्ग व्यवसायीले मनासिब माफिकको कारण देखाई पुनः नाम दर्ता गराउन दरखास्त दिएमा परिषद्ले निजको नाम पुनः दर्ता गर्नु मनासिब देखेमा नामदर्ता गर्ने आदेश दिन सक्नेछ ।

(३) उपदफा (२) बमोजिम आदेश प्राप्त भएमा रजिष्ट्रारले तोकिए बमोजिम दस्तुर लिई त्यस्तो  नर्सिङ्ग व्यवसायीकोनामदर्ता किताबमा पुनः दर्ता गरी प्रमाणपत्र दिनु पर्नेछ ।

१८क. नाम दर्ता नवीकरण

(१) दर्तावाला नर्सिङ्ग व्यवसायीको नाम दर्ता नवीकरणका लागि म्याद समाप्त भएको मितिले पैंतीस दिनभित्र तोकिए बमोजिमको दस्तुर सहित परिषद् समक्ष तोकिएबमोजिम दरखास्त दिनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम तोकिएको म्यादभित्र नवीकरण नगराएमा नवीकरण गराउन नसकेको कारण खुलाई म्याद समाप्त भएको मितिले साठी दिनभित्र तोकिएको दस्तुर तिरी परिषद् समक्ष तोकिए बमोजिम दरखास्त दिन सकिनेछ ।

(३) उपदफा (१) र (२) बमोजिमको म्यादभित्र नवीकरण नगराउने नर्सिङ्ग व्यवसायीको नाम दर्ता किताबबाट हटाइनेछ ।

१९. प्रमाणपत्र रद्द गर्ने

धोखा वा गल्तीले कुनै व्यक्तिको नामदर्ता किताबमा दर्ता हुन गएको रहेछ भन्ने कुराको जानकारी हुन आई सो कुरा जाँचबुझ गर्दा साँचो ठहरिन आएमा परिषद्ले त्यस्तो
व्यक्तिको दर्ताको प्रमाणपत्र फिर्ता लिई दर्ता रद्द गर्न सक्नेछ ।

२१. मान्यता दिने

(१) परिषद्ले नर्सिङ्ग विषयमा अध्ययन, अध्यापन गराउने तथा तालीम दिने वा दिलाउने शिक्षण संस्था र नर्सिङ्ग विषय सम्बन्धी डिग्री, डिप्लोमा प्रमाणपत्र वा अन्य उपाधिलाई
मान्यता प्रदान गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम मान्यता प्रदान गरिएका शिक्षण संस्था र डिग्री, डिप्लोमा, प्रमाणपत्र वा उपाधि नेपाल राजपत्रमा प्रकाशन गरिनेछ ।

(३) नर्सिङ्ग विषय सम्बन्धी विदेशी शिक्षण संस्थाबाट डिग्री, डिप्लोमा, प्रमाणपत्र वा अन्य उपाधि प्राप्त गर्ने व्यक्तिले त्यस्तो उपाधिको मान्यताको लागि तोकिए बमोजिम परिषद् समक्ष दरखास्त दिनु पर्नेछ ।

(४) उपदफा (३) बमोजिम परेको दरखास्तउपर परिषद्ले आवश्यक जाँचबुझ गरी निर्णय गर्नेछ ।

२२. विवरण पेश गर्नु पर्ने

(१) दफा २१ को उपदफा (१) बमोजिम मान्यता प्रदान गरिएको शिक्षण संस्थाले सम्बन्धित शैक्षिक योग्यताको प्रमाणपत्र वा उपाधिको निमित्त निर्धारण गरेको पाठ्यक्रम, भर्नाका शर्त, परीक्षा प्रणाली तथा अन्य आवश्यक पूर्वाधार र मापदण्ड सम्बन्धी विवरण उल्लेख भएको प्रतिवेदन प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले तीन महीनाभित्र परिषद् समक्ष पेश गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम विवरण पेश नगर्ने शिक्षण संस्थालाई आवश्यक कारबाही गर्नको लागि परिषद्ले नेपाल सरकार समक्ष सिफारिस गर्नेछ ।

२३. परीक्षाको निरीक्षण

दफा २१ बमोजिम मान्यता प्रदान गरिएको शैक्षिक योग्यताको प्रमाणपत्र वा अन्य उपाधिहरुको लागि सम्बन्धित  शिक्षण संस्थाबाट लिइने परीक्षाहरु निरीक्षण गर्न परिषद्ले निरीक्षक नियुक्त गरी पठाउन सक्नेछ । त्यसरी नियुक्ति गरिएका निरीक्षकले आफूले निरीक्षण गरेको परीक्षाको सम्बन्धमा परिषद्ले तोकेको विवरण खुलाई परिषद्समक्ष प्रतिवेदन पेश गर्नेछ । तर निरीक्षकले त्यस्तो कुनै परीक्षामा कुनै किसिमको हस्तक्षेप गर्न पाउने छैन ।

२४. मान्यता हटाउने

(१) दफा २१ बमोजिम मान्यता प्रदान गरिएको शिक्षण संस्थाले निर्धारण गरेको पाठ्यक्रम, भर्नाका शर्त तथा अन्य आवश्यक पूर्वाधार र मापदण्ड सम्बन्धी कुराको मूल्याङ्कन र पुनरावलोकन गर्दा उपयुक्त नभएको ठहरिएमा परिषद्ले त्यस्तो शिक्षण संस्था सञ्चालनको स्वीकृति खारेजीका लागि सिफारिस सहितको प्रतिवेदन नेपाल सरकार र सम्बन्धित शिक्षण संस्थाले सम्बन्धन प्राप्त गरेको विश्वविद्यालय वा संस्था समक्ष पेश गर्नेछ ।

(२) उपदफा (१) बमोजिम परिषद्बाट पेश हुन आएको सिफारिस सहितको प्रतिवेदनउपर सम्बन्धित सम्बन्धन प्रदान गर्ने विश्वविद्यालय वा संस्थाले आवश्यक जाँचबुझ गरी आफनो राय नेपाल सरकार समक्ष पेश गर्नु पर्नेछ ।

(३) उपदफा (१) बमोजिम परिषद्ले पेश गरेको प्रतिवेदन र उपदफा (२) बमोजिम सम्बन्धित विश्वविद्यालय वा संस्थाले पेश गरेको राय बमोजिम नेपाल सरकारले परिषद्संग
परामर्श लिई त्यस्तो शिक्षण संस्था सञ्चालनको स्वीकृति खारेज गर्न सक्नेछ । यसरी शिक्षण संस्था सञ्चालनको स्वीकृति खारेज गरेको सूचना नेपाल राजपत्रमा प्रकाशन गरिनेछ ।

(४) दफा २१ बमोजम मान्यता प्रदान गरिएको शिक्षण संस्थाले सञ्चालन गरेको कुनै परीक्षामा अनियमितता भएको पाइएमा त्यस्तो परीक्षाको आधारमा प्रदान गरिएको नर्सिङ्ग विषय सम्बन्धी डिग्री, डिप्लोमा, प्रमाणपत्र वा अन्य उपाधि रद्द गर्नको लागि परिषद्ले नेपाल सरकार समक्ष सिफारिस गर्नेछ ।

(५) उपदफा (४) बमोजिम सिफारिस प्राप्त हुन आएमा नेपाल सरकारले तत्सम्बन्धमा आवश्यक जाँचबुझ गरी त्यस्तो शिक्षण संस्थाले कुनै खास मितिपछि प्रदान गरेको नर्सिङ्ग विषय सम्बन्धी डिग्री, डिप्लोमा, प्रमाणपत्र वा अन्य उपाधि रद्द गर्न सक्नेछ । यसरी रद्द गरिएको सूचना नेपाल राजपत्रमा प्रकाशन गरिनेछ ।

२४क. परीक्षा सञ्चालन गर्न सकिने

(१) नर्सिङ्ग विषयमा आवश्यक गुणस्तर कायम राख्नको लागि आवश्यक भएमा परिषद्ले तोकिए बमोजिम परीक्षा लिन सक्नेछ ।

(२) उपदफा (१) बमोजिम लिइएको परीक्षामा सफल हुन नसक्ने नर्सिङ्ग व्यवसायीहरुको नाम परिषद्को दर्ता किताबमा दर्ता तथा नवीकरण गरिनेछैन ।

२६. परिषद्को कोष

(१) परिषद्को एउटा छुट्टै कोष रहनेछ ।

(२) परिषद्को कोषमा देहायबमोजिमका रकमहरु रहनेछन्ः–

(क) नेपाल सरकारबाट प्राप्त रकम,

(ख) नर्सिङ्ग व्यवसायीहरुको नाम दर्ता गर्दा प्राप्त दस्तुर बापतको रकम, र

(ग) अन्य श्रोतबाट प्राप्त रकम ।

(३) परिषद्को कोषको सञ्चालन परिषद्ले तोके बमोजिम हुनेछ ।

२७. लेखा र लेखा परीक्षण

(१) परिषद्ले आय व्ययको लेखा तोकिए बमोजिम राख्नेछ ।

(२) परिषद्को लेखापरीक्षण तोकिए बमोजिम हुनेछ ।

(३) नेपाल सरकारले चाहेमा कोषको हिसाब किताब सम्बन्धी कागजात जुनसुकै बखत जाँच्न वा जँचाउन सक्नेछ ।

२८. परिषदको विघटन

(१) परिषद्ले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम आफूलाई प्राप्त अधिकार प्रयोग गर्न नसकेको वा अधिकारको दुरुपयोग गरेको वा प्राप्त अधिकार भन्दा बढी अधिकार प्रयोग गरेको वा यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम बमोजिम परिषद्ले पालन गर्नुपर्ने कर्तव्य पालन गर्न नसकेको भन्ने नेपाल सरकारलाई लागेमा सो कुरा सुधार्न वा सच्याउन नेपाल सरकारले परिषद्लाई आवश्यक निर्देशन दिनेछ ।

(२) उपदफा (१) अन्तर्गत दिइएको निर्देशन बमोजिम परिषद्ले आफनो काम कारबाही सुधार्न वा सच्याउन नसकेमा नेपाल सरकारले परिषद्विघटन गरी यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम बमोजिम परिषद्ले गर्ने सम्पूर्ण कार्य गर्न अन्तरिम कार्यकारी परिषद् गठन गर्न सक्नेछ ।

(३) उपदफा (२) बमोजम परिषद् विघटन भएपछि सो परिषद्को कोष र अरु सम्पत्ति उपदफा (२) बमोजिम गठित अन्तरिम कार्यकारी परिषद्ले आफ्नै जिम्मामा राखी नयाँ परिषद् गठन भएपछि सो कोष र सम्पत्ति नवगठित परिषद्लाई बुझाई दिनु पर्नेछ ।

(४) उपदफा (२) बमोजिम परिषद्विघटन भएको मितिले साधारणतया तीन महीनाभित्र दफा ५ बमोजिम नयाँ परिषद्गठन गर्नु पर्नेछ ।

२९. दण्ड सजाय

(१) दफा २० को बर्खिलाप नर्सिङ्ग व्यवसाय गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना सजाय हुनेछ ।

(२) उपदफा (१) मा उल्लेख गरिएदेखि बाहेक यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको बर्खिलाप हुने गरी कुनै काम गर्ने व्यक्तिलाई दुई हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।

३०. अनुसन्धान तहकिकात गर्ने तथा मुद्दा चलाउने अधिकारी

दफा २० बमोजिमको कसूरको अनुसन्धान तहकिकात गर्ने तथा मुद्दा चलाउने अधिकारी वा निकाय र तत्सम्बन्धी कार्यविधि नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिए बमोजिमको हुनेछ ।

३१. नियम बनाउने अधिकार

यो ऐनको उद्देश्य कार्यान्वयन गर्न परिषद्ले आवश्यक नियमहरु बनाउन सक्नेछ र त्यस्तो नियम नेपाल सरकारबाट स्वीकृत भएपछि मात्र लागू हुनेछ ।