Skip to contentSkip to left sidebar Skip to footer

नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५

नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५

लालमोहर र प्रकाशन मिति

२०५५।११।२७

संशोधन गर्ने ऐन                                                                                       प्रमाणीकरण र प्रकाशन मिति
१. गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६                 २०६६।१०।७

२. नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५          २०७५।११।१९

२०५५ सालको ऐन नं. २३

……………..

नेपाल इन्जिनियरिङ परिषद्को व्यवस्था गर्न बनेको ऐन

प्रस्तावना : नेपालमा …………… इन्जिनियरिङ व्यवसायलाई प्रभावकारी बनाई व्यवस्थित तथा वैज्ञानिक ढङ्गले परिचालन गर्न तथा इन्जिनियरहरूको योग्यता अनुसार नाम दर्ता गर्ने समेतको व्यवस्था गर्नको लागि नेपाल इन्जिनियरिङ परिषद्को व्यवस्था गर्न वाञ्छनीय भएकोले,
श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालको सत्ताइसौं वर्षमा संसदले यो ऐन बनाएकोछ ।

परिच्छेद – १ प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भ ः (१) यस ऐनको नाम “नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५” रहेको छ ।
(२) यो ऐन नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मितिदेखि प्रारम्भ हुनेछ ।
२. परिभाषा ः विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “परिषद्” भन्नाले दफा ३ बमोजिम स्थापना भएको नेपाल इन्जिनियरिङ परिषद् सम्झनु पर्छ ।
(ख) “अध्यक्ष” भन्नाले परिषद्को अध्यक्ष सम्झनु पर्छ ।
(ग) “सदस्य” भन्नाले परिषद्को सदस्य सम्झनु पर्छ र सो शब्दले परिषद्को अध्यक्ष, उपाध्यक्ष र सदस्य–सचिव समेतलाई जनाउँछ ।
(घ) “इन्जिनियर” भन्नाले परिषद्बाट मान्यता प्राप्त शिक्षण संस्थाबाट इन्जिनियरिङ विषयमा कम्तीमा स्नातकोपाधि प्राप्त गरेको व्यक्ति सम्झनु पर्छ ।
(ङ) “इन्जिनियरिङ व्यवसाय” भन्नाले अनुसूचीमा उल्लिखित विषयमा प्राविधिक ज्ञान तथा दक्षता हासिल गरेका इन्जिनियरहरूले अपनाउने व्यवसाय सम्झनु पर्छ ।
(च) “दर्ता किताब” भन्नाले दफा १५ बमोजिम तयार गरिएको दर्ता किताब सम्झनु पर्छ ।
(छ) “दर्तावाला इन्जिनियर” भन्नाले दर्ता किताबमा नाम दर्ता भएको इन्जिनियर सम्झनु पर्छ ।
(ज) “रजिष्ट्रार” भन्नाले दफा २७ बमोजिम नियुक्त गरिएको व्यक्ति सम्झनु पर्छ ।
(झ) “विषय समिति” भन्नाले दफा ३२ बमोजिम गठन भएको विषय समिति सम्झनु पर्छ ।
(ञ) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।

परिच्छेद – २ परिषद्को स्थापना, गठन, काम, कर्तव्य र अधिकार

३. नेपाल इन्जिनियरिङ परिषद्को स्थापना ः इन्जिनियरिङ व्यवसायलाई प्रभावकारी वनाई व्यवस्थित तथा वैज्ञानिक ढंगले परिचालन गर्न तथा इन्जिनियरहरूको योग्यता अनुसार नाम दर्ता गर्ने समेतको व्यवस्था गर्नको लागि नेपाल इन्जिनियरिङ परिषद्को स्थापना गरिएकोछ ।
४. परिषद् स्वशासित संस्था हुने ः (१) परिषद् अविच्छिन्न उत्तराधिकारवाला एक स्वशासित र संगठित संस्था हुनेछ ।
(२) परिषद्को सबै काम कारबाहीको लागि आफ्नोे छुट्टै छाप हुनेछ ।
(३) परिषद्ले व्यक्ति सरह चल अचल सम्पति प्राप्त गर्न, उपभोग गर्न, बेचबिखन गर्न वा अन्य कुनै किसिमले व्यवस्था गर्न सक्नेछ ।
(४) परिषद्ले व्यक्ति सरह आफनोे नामबाट नालिस उजुर गर्न र परिषद् उपर पनि सोही नामबाट नालिस उजुर लाग्न सक्नेछ ।
५. परिषद्को गठन ः (१) दफा ३ बमाजिम स्थापना भएको परिषद्मा देहाय बमोजिमका सदस्यहरु रहने छन् ः–
(क) इन्जिनियरिङ बिषयमा स्नातकोपाधि प्राप्त गरी कम्तीमा
पन्ध्र्र वर्ष इन्जिनियरिङ व्यवसायमा अनुभव प्राप्त इन्जिनियरहरु
मध्येबाट नेपाल सरकारबाट मनोनीत इन्जिनियर – अध्यक्ष
(ख) इन्जिनियरिङ विषयमा स्नातकोपाधि प्राप्त गरी कम्तीमा
दश वर्ष इन्जिनियरिङ्ग व्यवसायमा अनुभव प्राप्त इन्जिनियरहरु
मध्येबाट नेपाल सरकारबाट मनोनीत इन्जिनियर – उपाध्यक्ष
(ग) इन्जिनियरिङ व्यवसायमा संलग्न इन्जिनियरहरु
मध्येबाट नेपाल सरकारबाट मनोनीत पाँचजना इन्जिनियरहरु – सदस्य
(घ) अध्यक्ष, नेपाल इन्जिनियर्स एशोसिएसन – सदस्य
(ङ) नेपाल इन्जिनियर्स एशोसिएसनले निर्वाचन गरी
पठाएका पाँचजना इन्जिनियरहरु – सदस्य
(च) इन्जिनियरिङ क्याम्पसका क्याम्पस प्रमुखहरु मध्ये
नेपाल सरकारबाट मनोनीत क्याम्पस प्रमुख एकजना – सदस्य
(छ) प्रतिनिधि, इन्जिनियरिङ, अध्ययन संस्थान, त्रिभुवन
विश्वविद्यालय – सदस्य
(ज) परिषद्बाट मनोनीत दुईजना इन्जिनियर – सदस्य
(झ) रजिष्ट्रार – सदस्य–सचिव
(२) उपदफा (१) को खण्ड (ग) र (ङ) बमोजिम सदस्यहरुको मनोनयन तथा निर्वाचन गर्दा इन्जिनियरिङ व्यवसायका विषयगत आधारमा छुट्टा छुट्टै विषयबाट गर्नु पर्नेछ ।
(३) उपदफा (१) को खण्ड (ङ) बमोजिमका सदस्यहरुको निर्वाचन नभएसम्मको लागि नेपाल इन्जिनियर्स एशोसियसनले मनोनयन गरी पठाएका इन्जिनियरहरु परिषद्का सदस्य हुने छन् ।
(४) उपदफा (१) को खण्ड (छ) बमोजिम प्रतिनिधि मनोनयन गर्दा इन्जिनियरहरुमध्येबाट गर्नु पर्नेछ ।
(५) परिषद्ले आवश्यक देखेमा कुनै विशेषज्ञलाई परिषद्को बैठकमा भाग लिन आमन्त्रण गर्न सक्नेछ ।
६. सदस्यको पदावधि ः (१) परिषद्मा मनोनीत वा निर्वाचित सदस्यको पदावधि चार वर्षको हुनेछ । पदावधि समाप्त भएका सदस्यहरु यस ऐनमा लेखिएका अन्य व्यवस्थाहरुको अधीनमा रही पुनः मनोनयन हुन वा निर्वाचित हुन सक्ने छन् ।
(२) पदावधि समाप्त नहुँदै कुनै सदस्यको पद रिक्त हुन आएमा त्यस्तो रिक्त हुन आएको सदस्यको पद बाँकी अवधिको लागि अर्को सदस्यको मनोनयन वा निर्वाचनद्वारा पूर्ति गर्न सकिनेछ ।
७. सदस्यको निमित्त अयोग्यता ः देहायका कुनै व्यक्ति परिषद्को सदस्य पदमा मनोनीत वा निर्वाचित हुन सक्ने छैनः–
(क) गैर नेपाल नागरिक,
(ख) दर्ता किताबबाट नाम हटाइएको,
(ग) साहूको ऋण तिर्न नसकी दामासाहीमा परेको,
(घ) नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसूरदार ठहरी सजाय पाएको, र
(ङ) मगज बिग्रेको ।
८. सदस्यता समाप्त हुने अवस्था ः देहायको अवस्थामा परिषद्को सदस्यता समाप्त भएको
मानिनेछ ः–
(क) दफा ७ बमोजिम अयोग्य भएमा,
(ख) सदस्यको पदबाट दिएको राजीनामा स्वीकृत भएमा,
(ग) परिषदलाई कारण सहितको पूर्व सूचना नदिई लगातार तीन पटकसम्म परिषद्को बैठकमा अनुपस्थित भएमा,
(घ) मृत्यु भएमा ।
९. परिषद्को काम, कर्तव्य र अधिकार ः यस ऐनमा अन्यत्र लेखिएको काम, कर्तव्य र अधिकारको अतिरिक्त परिषद्को काम, कर्तव्य र अधिकार देहाय बमोेजिम हुनेछ ः–
(क) इन्जिनियरिङ व्यवसाय सूचारु रुपबाट संचालन गर्नको लागि आवश्यक नीति, योजना तथा कार्यक्रमहरु तयार गरी त्यसको कार्यान्वयन गर्ने,
(ख) इन्जिनियरिङ शिक्षा दिने शिक्षण संस्था र त्यस्ता संस्थाहरुले प्रदान गरेका प्रमाणपत्र तथा उपाधिहरुलाई तोकिए बमोजिम मान्यता दिने,
(ग) इन्जिनियरिङ व्यवसाय गर्नको लागि आवश्यक योग्यता निर्धारण गर्ने र निर्धारित योग्यता पूरा गरेका व्यक्तिको नाम तोकिए बमोजिम परिषद्मा दर्ता गर्ने,
(घ) दर्तावाला इन्जिनियरले तोकिए बमोजिमको व्यवसायिक आचार संहिताको उल्लंघन गरेमा वा पालना नगरेमा तोकिए बमोजिमको कार्यविधि पूरा गरी त्यस्तो इन्जिनियरको नाम परिषद्बाट हटाउने ।
१०. परिषद्को बैठक र निर्णय ः (१) परिषद्को बैठक साधारणतया वर्षमा चार पटक बस्नेछ । तर अध्यक्षले चाहेमा सो भन्दा बढी पटक पनि बैठक बोलाउन सक्नेछ ।
(२) परिषद्को बैठक अध्यक्षले तोकेको समय र स्थानमा बस्नेछ ।
(३) परिषद्को कुल सदस्य संख्याको पचास प्रतिशत भन्दा बढी सदस्यहरु उपस्थित भएमा परिषद्को बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ ।
(४) परिषद्को बैठकको अध्यक्षता अध्यक्षले गर्नेछ र निजको अनुपस्थितिमा उपाध्यक्षले गर्नेछ । अध्यक्ष तथा उपाध्यक्ष दुवैको अनुपस्थितिमा बैठकमा उपस्थित सदस्यहरुले आफू मध्येबाट छानेको व्यक्तिले बैठकको अध्यक्षता गर्नेछ ।
(५) परिषद्को बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्णयात्मक मतदिन सक्नेछ ।
(६) परिषद्को निर्णय सदस्य–सचिवद्वारा प्रमाणित गरिनेछ ।
(७) परिषद्को बैठक सम्बन्धी अन्य कार्यविधि परिषद् आफैले निर्धारण गरे बमोजिम हुनेछ ।

परिच्छेद–३ नाम दर्ता सम्बन्धी व्यवस्था

११. नाम दर्ता नगराई इन्जिनियरिङ व्यवसाय गर्न नहुने : यो ऐन प्रारम्भ भएको मितिले एक वर्ष पछि परिषद्मा नाम दर्ता नगराई कुनै पनि व्यक्तिले इन्जिनियरिङ व्यवसाय गर्न हुँदैन ।
१२. नाम दर्ताको लागि दरखास्त दिने : (१) परिषद्मा नाम दर्ता गराउन चाहने व्यक्तिले तोकिए बमोजिमको ढाँचामा परिषद् समक्ष दरखास्त दिनु पर्नेछ ।
(२) यो ऐन प्रारम्भ हुँदाका बखत इन्जिनियरिङ व्यवसाय गरिरहेको व्यक्तिले यो ऐन प्रारम्भ भएको मितिले छ महिना भित्र परिषद्मा नाम दर्ता गराउनको लागि उपदफा (१) बमोजिम दरखास्त दिनु पर्नेछ ।
(३) उपदफा (१) वा (२) बमोजिम नाम दर्ता गराउन दरखास्त दिने व्यक्तिले दरखास्त साथ शिक्षण संस्थाबाट प्राप्त गरेको प्रमाणपत्र, उपाधि तथा तत्सम्बन्धी अन्य कागजात तथा तोकिए बमोजिमको दस्तुर संलग्न गर्नु पर्नेछ ।
१३. दरखास्त उपर जाँचबुझ : दफा १२ बमोजिम दर्ता हुन आएको दरखास्त उपर रजिष्ट्रारले आवश्यक जाँचबुझ गरी सम्बन्धित विषय समितिमा पेश गर्नेछ ।
१४. दरखास्त उपर छानबिन तथा सिफारिस : (१) दफा १३ बमोजिम रजिष्ट्रारले पेश गरेको दरखास्त उपर विषय समितिले आवश्यक छानबिन गर्नेछ ।
(२) उपदफा (१) बमोजिम छानबिन गर्दा कुनै कुरा अस्पष्ट हुन आएमा तत्सम्बन्धी कुराहरु स्पष्ट पार्नको लागि सम्बन्धित दरखास्तवालासंग विषय समितिले आवश्यक प्रमाण तथा कागजात माग गर्न सक्नेछ ।
(३) उपदफा (२) बमोजिम माग भएका प्रमाण तथा कागजात विषय समिति समक्ष पेश गर्नु सम्बन्धित दरखास्तवालाको कर्तव्य हुनेछ ।
(४) उपदफा (१), (२) र (३) बमोजिम छानबिन गर्दा दरखास्तवालाको नाम परिषद्मा दर्ता गर्न योग्य देखेमा विषय समितिले परिषद् समक्ष सिफारिस गर्नेछ ।
१५. नाम दर्ता गर्ने : दफा १४ बमोजिम विषय समितिले आवश्यक छानबिन गरी नाम दर्ताको लागि सिफारिस गरेको दरखास्तवालाको नाम परिषद्मा दर्ता गर्न उपयुक्त देखेमा परिषद्ले त्यस्तो दरखास्तवालाको नाम तोकिए बमोजिमको ढाँचामा तयार गरिएको परिषद्को दर्ता किताबमा दर्ता गर्ने निर्णय गर्नेछ ।
१६. नाम दर्ता प्रमाणपत्र दिने : दफा १५ बमोजिम परिषद्बाट नाम दर्ता गर्ने निर्णय भएका दरखास्तवालाको नाम रजिष्ट्रारले दर्ता किताबमा दर्ता गरी दरखास्तवालालाई तोकिए बमोजिमको ढाँचामा नाम दर्ता प्रमाणपत्र दिनेछ ।
१७. नाम दर्ता नगर्ने निर्णय भएकोमा जानकारी दिने : परिषद्मा नाम दर्ताको लागि दरखास्त दिने कुनै दरखास्तवालाको नाम दर्ता गर्न नमिल्ने कुनै कारण देखी परिषद्ले नाम दर्ता नगर्ने निर्णय गरेकोमा रजिष्ट्रारले सम्बन्धित दरखास्तवालालाई सो कुराको लिखित जानकारी दिनु पर्नेछ ।
१८. दर्ता किताबबाट नाम हटाउने : (१) देहाय बमोजिमको अवस्थामा बाहेक दर्तावाला इन्जिनियरको नाम दर्ता किताबबाट हटाइने छैन :–
(क) मगज बिग्रेमा,
(ख) साहूको ऋण तिर्न नसकी दामासाहीमा परेमा,
(ग) तोकिए बमोजिमको व्यवसायिक आचर संहिताको उल्लघंन गरेको अभियोगमा दर्ता किताबबाट नाम हटाउने भनी परिषद्को बैठकमा पेश भएको प्रस्ताव दुई तिहाई बहुमतबाट पारित भएमा,
(घ) नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट दोषी प्रमाणित भएमा,
(ङ) धोखा वा गल्तीले योग्यता नपुगेको कुनै व्यक्तिको नाम दर्ता हुन गएमा ।
(२) उपदफा (१) को खण्ड (ग) र (ङ) बमोजिमको आरोपमा कुनै दर्तावाला इन्जिनियरको नाम दर्ता किताबबाट हटाउने प्रस्ताव परिषद्को बैठकमा पेश गर्नु अघि त्यस्तो व्यक्तिलाई लागेको अभियोगको सम्बन्धमा जाँचबुझ गरी प्रतिवेदन पेश गर्न परिषद्ले एक जाँचबुझ समिति गठन गर्नेछ ।
(३) उपदफा (२) बमोजिम गठन भएको जाँचबुझ समितिले जाँचबुझ गर्दा अपनाउनु पर्ने कार्यविधि तोकिए बमोजिम हुनेछ ।
१९. प्रमाणपत्र रद्द गर्ने :दफा १८ बमोजिम परिषद्ले दर्ता किताबबाट नाम हटाउने निर्णय गरेकोमा रजिष्ट्रारले त्यस्तो व्यक्तिको नाम दर्ता किताबबाट हटाई दफा १६ बमोजिम दिइएको नाम दर्ता प्रमाणपत्र रद्द गरी सम्बन्धित व्यक्तिलाई सो कुराको जानकारी दिनु पर्नेछ ।
२०. पुनः नाम दर्ता गर्ने : (१) दफा १८ को उपदफा (१) को खण्ड (क), (ख) र (ग) बमोजिमको अवस्थामा दर्ता किताबबाट नाम हटाउने निर्णय गरेकोमा त्यस्तो निर्णय भएको मितिले कम्तीमा एक वर्ष पछि सम्बन्धित व्यक्तिले मनासिब माफिकको कारण खोली पुनः नाम दर्ताको लागि दफा १२ बमोजिम परिषद्मा दरखास्त दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम पुनः नाम दर्ताको लागि दरखास्त दिएमा परिषद्ले त्यस्तो दरखास्तवालाको नाम पुनः दर्ता गर्न मनासिब देखेमा पुनः नाम दर्ता गर्ने निर्णय गर्न सक्नेछ ।
(३) उपदफा (२) बमोजिम परिषद्ले दरखास्तवालाको नाम पुनः दर्ता गर्ने निर्णय गरेकोमा रजिष्ट्रारले त्यस्तो दरखास्तवालाको नाम दर्ता किताबमा पुनः दर्ता गरी दरखास्तवालालाई तोकिए बमोजिमको ढाँचामा पुनः नाम दर्ता भएको प्रमाणपत्र दिनु पर्नेछ ।

परिच्छेद–४ शैक्षिक योग्यताको प्रमाणपत्र वा उपाधिको मान्यता

२१. शैक्षिक योग्यताको प्रमाणपत्र वा उपाधिको मान्यता : (१) कुनै शिक्षण संस्थाले प्रदान गरेको इन्जिनियरिङ विषयको शैक्षिक योग्यताको प्रमाणपत्र वा उपाधिलाई परिषद्ले मान्यता दिनेछ ।
(२) उपदफा (१) बमोजिम परिषद्ले मान्यता दिएको शैक्षिक योग्यताको प्रमाणपत्र वा उपाधि र त्यस्तो प्रमाणपत्र वा उपाधि प्रदान गर्ने शिक्षण संस्थाको नाम नेपाल राजपत्रमा प्रकाशन गरिनेछ ।
२२. विवरण माग गर्न सक्ने :(१) दफा २१ बमोजिम कुनै शैक्षिक योग्यताको प्रमाणपत्र वा उपाधिको मान्यता दिने क्रममा परिषद्ले सम्बन्धित शिक्षण संस्थासंग त्यस्तो शैक्षिक योग्यताको प्रमाणपत्र वा उपाधिको लागि निर्धारित पाठ्यक्रम तथा भर्नाको लागि निर्धारित शर्त तथा तत्सम्बन्धी अन्य विवरणहरु माग गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम परिषद्बाट माग भए बमोजिमको आवश्यक विवरण उपलब्ध गराउनु सम्बन्धित शिक्षण संस्थाको कर्तव्य हुनेछ ।
२३. परीक्षाको निरीक्षण : (१) दफा २१ बमोजिम कुनै शैक्षिक योग्यताको प्रमाणपत्र वा उपाधीको मान्यता दिने क्रममा वा मान्यता दिई सकेपछि उक्त शैक्षिक योग्यताको प्रमाणपत्र वा उपाधी प्रदान गर्ने सम्बन्धित शिक्ष्षमा संस्थाबाट लिईने परीक्षा प्रणालीको बारेमा निरीक्षण गर्न परिषद्ले निरीक्षक नियुक्त गरी पठाउन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम पठाइएको निरीक्षकले निरीक्षण गर्ने क्रममा परीक्षामा कुनै किसिमको हस्तक्षेप गर्न पाउने छैन ।
(३) उपदफा (२) बमोजिम परीक्षाको निरीक्षण गर्ने निरीक्षकले परीक्षा निरीक्षणको क्रममा देखेका कुराहरुको बारेमा प्रतिवेदन तयार गरी परिषद्मा पेश गर्नु पर्नेछ ।
२४. मान्यता हटाउने : (१) दफा २१ बमोजिम मान्यता प्रदान गरिएको कुनै शैक्षिक योग्यताको प्रमाणपत्र वा उपाधिको सम्बन्धमा सम्बन्धित शिक्षण संस्थाबाट दफा २२ बमोजिम प्राप्त विवरण वा दफा २३ को उपदफा (३) बमोजिम प्राप्त प्रतिवेदन उपर विचार गर्दा त्यस्तो शिक्षण संस्थाले निर्धारण गरेको पाठ्यक्रम, भर्नाका शर्त तथा परीक्षा प्रणाली उपयुक्त तथा पर्याप्त छैन भन्ने लागेमा परिषद्ले सो सम्बन्धमा आफनो प्रतिवेदन नेपाल सरकार समक्ष पेश गर्नेछ ।
(२) उपदफा (१) बमोजिम परिषद्को प्रतिवेदन प्राप्त भएपछि सो सम्बन्धमा नेपाल सरकारले सम्बन्धित संस्थासंग स्पष्टीकरण माग गर्न सक्नेछ ।
(३) उपदफा (२) बमोजिम सम्बन्धित शिक्षण संस्थासंग माग गरिए बमोजिम प्राप्त हुन आएको स्पष्टीकरणको सम्बन्धमा नेपाल सरकारले विचार गरी सो सम्बन्धमा अन्य कुनै कुरा जाँचबुझ गर्नु पर्ने भए आवश्यक जाँचबुझ गरी सो समेतको आधारमा नेपाल सरकारले त्यस्तो शिक्षण संस्थाले कुनै खास मितिपछि प्रदान गरेको कुनै शैक्षिक योग्यताको प्रमाणपत्र वा उपाधिको मान्यता हटाउन सक्नेछ ।
(४) उपदफा (३) बमोजिम कुनै शैक्षिक योग्यताको प्रमाणपत्र वा उपाधिको मान्यता हटाइएको सूचना नेपाल राजपत्रमा प्रकाशन गरिनेछ ।

परिच्छेद –५ अध्यक्ष, उपाध्यक्ष तथा रजिष्ट्रारको काम, कर्तव्य र अधिकार

२५. अध्यक्षको काम, कर्तव्य र अधिकार : यस ऐनमा अन्यत्र लेखिएका काम, कर्तव्य तथा अधिकारको अतिरिक्त अध्यक्षको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :
(क) परिषद्को बैठकमा छलफल गरिने विषयहरुको प्राथमिकता निर्धारण गर्ने,
(ख) परिषद्द्वारा संचालित योजना तथा कार्यक्रमहरुको अनुगमन तथा मूल्यांकन गर्ने, गराउने र तत्सम्बन्धमा आवश्यक निर्देशन दिने,
(ग) परिषद्को काम कारबाही व्यवस्थित, प्रभावकारी र सुचारु रुपबाट संचालन गर्ने, गराउने ।
(घ) तोकिए बमोजिमको अन्य कार्य गर्ने ।
२६. उपाध्यक्षको काम, कर्तव्य र अधिकार : अध्यक्षको अनुपस्थितिमा यस ऐन बमोजिम अध्यक्षले गर्नु पर्ने काम, कर्तव्य र अधिकारको प्रयोग गर्नु उपाध्यक्षको कर्तव्य हुनेछ ।
२७. रजिष्ट्रारको नियुक्ति तथा काम, कर्तव्य र अधिकार : (१) परिषद्मा नाम दर्ताको लागि योग्यता पुगेका व्यक्तिहरु मध्येबाट नेपाल सरकारले परिषद्को रजिष्ट्रार नियुक्त गर्न सक्नेछ ।
(२) यस ऐनमा अन्यत्र लेखिएको काम, कर्तव्य तथा अधिकारको अतिरिक्त रजिष्ट्रारको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ –
(क) परिषद्को सामान्य प्रशासन र व्यवस्थापनको कार्य गर्ने,
(ख) परिषद्को कोषको रेखदेख नियन्त्रण, सम्पत्तिको व्यवस्था र स्याहार संभारको व्यवस्था गर्ने, गराउने,
(ग) परिषद्को वार्षिक कार्यक्रम तथा योजना तर्जुमा गरी परिषद्मा पेश गर्ने,
(घ) परिषद्को वार्षिक आय व्यय तथा पुरक आय व्यय विवरण तयार गर्ने,
(ङ) परिषद्बाट स्वीकृत बजेट, योजना तथा कार्यक्रम कार्यान्वयन गर्ने,
(च) परिषद्को आन्तरिक र अन्तीम लेखा परीक्षण गर्ने व्यवस्था गराउने,
(छ) परिषद् र इन्जिनियरहरू बीच सम्पर्क अधिकारीको रुपमा काम गर्ने,
(ज) परिषद्बाट निर्देशन दिए बमोजिमको अन्य कार्यहरू गर्ने, गराउने,
(झ) तोकिए बमोजिमको अन्य कार्य गर्ने ।

परिच्छेद – ६ परिषद्को कोष

२८. परिषद्को कोष : (१) परिषद्को आफ्नोे एउटा छुट्टै कोष हुनेछ ।
(२) उपदफा (१) बमोजिमको कोषमा देहाय बमोजिमका रकम रहने छन् :
(क) नेपाल सरकारबाट प्राप्त रकम,
(ख) स्वदेशी वा विदेशी व्यक्ति, संस्था, सरकार वा अन्तर्राष्ट्रिय संघ, संस्थाबाट ऋण, चन्दा, सहायता, अनुदान वा दान दातव्यको रुपमा प्राप्त रकम,
(ग) परिषद्को तर्फबाट उपलब्ध गराइएको सेवा बापत प्राप्त रकम,
(घ) अन्य कुनै स्रोतबाट प्राप्त रकम ।
(३) उपदफा (२) को खण्ड (ख) बमोजिम कुनै विदेशी व्यक्ति, संस्था, सरकार वा अन्तर्राष्ट्रिय संघ, संस्थाबाट ऋण, चन्दा सहायता, अनुदान वा दान दातव्य प्राप्त गर्नु अघि परिषद्ले नेपाल सरकारको पूर्व स्वीकृति लिनु पर्नेछ ।
(४) परिषद्को कोषमा प्राप्त हुन आएको रकम कुनै वाणिज्य बैंकमा खाता खोली जम्मा गरिनेछ ।
(५) परिषद्को कोष र खाताको संचालन तोकिए बमोजिम हुनेछ ।
२९. लेखा तथा लेखा परीक्षण : (१) परिषद्को आय व्ययको लेखा तोकिए बमोजिम राखिनेछ ।
(२) परिषद्को लेखा परीक्षण तोकिए बमोजिम हुनेछ ।
(३) नेपाल सरकारले चाहेमा परिषद्को हिसाब किताब जुनसुकै बखत जाँच्न वा जँचाउन सक्नेछ ।

परिच्छेद – ७ विविध

३०. कसूर तथा दण्ड सजाय : (१) दफा ११ बमोजिम परिषद्मा नाम दर्ता नगराई इन्जिनियरिङ व्यवसाय गरेमा यस ऐन बमोजिमको कसूर गरेको मानिनेछ ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई तीन हजार रुपैयाँसम्म जरिवाना वा तीन महिनासम्म कैद वा दुवै सजाय हुन सक्नेछ ।
(३) उपदफा (२) मा उल्लेख गरेदेखि बाहेक यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको बर्खिलाप हुने गरी कुनै काम गर्ने व्यक्तिलाई दुई हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।
३१. परिषद्को विघटन : (१) परिषद्ले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम आफूलाई प्राप्त अधिकारको प्रयोग गर्न नसकेको वा अधिकारको दुरुपयोग गरेको वा प्राप्त अधिकार भन्दा बढी अधिकार प्रयोग गरेको वा यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम परिषद्ले पालन गर्नु पर्ने कर्तव्य पालन गर्न नसकेको भन्ने नेपाल सरकारलाई लागेमा नेपाल सरकारले परिषद् विघटन गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम परिषद्को विघटन भएपछि परिषद्को कोष तथा सम्पत्ति नेपाल सरकारले आफनोे जिम्मामा राखी अर्को परिषद् गठन नभएसम्म यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम बमोजिम परिषद्ले गर्नु पर्ने सबै काम कारबाही आफैंले गर्न वा एक समिति गठन गरी सो समितिबाट गराउन सक्नेछ ।
(३) उपदफा (१) बमोजिम परिषद् विघटन भएको साधारणतया तीन महिनाभित्र नेपाल सरकारले दफा ५ बमोजिम अर्को परिषद् गठन गर्नेछ ।
(४) उपदफा (३) बमोजिम अर्को परिषद् गठन भएपछि उपदफा (२) बमोजिम नेपाल सरकारले आफनोे जिम्मामा राखेको कोष तथा सम्पत्ति उक्त परिषद्लाई हस्तान्तरण गर्नेछ ।
३२. विषय समिति तथा अन्य समिति गठन गर्न सक्ने : (१) परिषद्ले आवश्यकता अनुसार विषय समिति तथा अन्य समिति गठन गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम गठन भएका विषय समिति तथा समितिको काम, कर्तव्य तथा अधिकार परिषद्ले तोकिदिए बमोजिम हुनेछ ।
३३. सदस्यको बैठक भत्ता तथा अन्य सुविधा : सदस्य तथा दफा ३२ बमोजिम गठन भएका विषय समिति तथा अन्य समितिका सदस्यको बैठक भत्ता तथा अन्य सुविधा तोकिए बमोजिम हुनेछ ।
३४. परिषद्को कर्मचारी : (१) परिषद्ले आवश्यकता अनुसार कर्मचारीको नियुक्ति गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम नियुक्त कर्मचारीको सेवा, शर्त तथा सुविधा विनियममा तोकिए बमोजिम हुनेछ ।
३५. अनुसन्धान तहकिकात तथा मुद्दा चलाउने अधिकारी : दफा ३० बमोजिमको कसूरको अनुसन्धान तहकिकात गर्ने, मुद्दा चलाउने अधिकारी वा निकाय र तत्सम्बन्धी कार्यविधि नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिए बमोजिम हुनेछ ।
३६. नेपाल सरकारसंग सम्पर्क : परिषद्ले नेपाल सरकारसंग सम्पर्क राख्दा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मार्फत राख्नु पर्नेछ ।
३७. नियम तथा विनियम बनाउने अधिकार : (१) यो ऐनको उद्देश्य कार्यान्वयन गर्न परिषद्ले आवश्यक नियमहरु बनाउन सक्नेछ र त्यसरी बनाएको नियम नेपाल सरकारबाट स्वीकृत भएपछि मात्र लागू हुनेछ ।
(२) यो ऐन र उपदफा (१) बमोजिम बनेको नियम विपरीत नहुने गरी परिषद्ले आवश्यक विनियमहरु बनाउन सक्नेछ ।
३८. अनुसूचीमा थप गर्न सक्नेः नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी अनुसूचीमा आवश्यकता अनुसार इन्जिनियरिङ विषय थप गर्न सक्नेछ ।

अनुसूची (दफा २ को खण्ड (ङ) संग सम्बन्धित) इन्जिनियरिङ व्यवसाय

१. सिभिल इन्जिनियरिङ
(क) जनरल
(ख) हाईवे
(ग) स्यानीटरी
(घ) विल्डिङ एण्ड आर्किटेक्ट
(ङ) इरिगेशन
(च) हाइड्रोलोजी
(छ) हाइड्रोपावर
(ज) एअरपोर्ट

२. इलेक्ट्रिकल
(क) जनरल इलेक्ट्रिकल
(ख) एभिएशन इलेक्ट्रिकल

३. इलेक्ट्रोनिक एण्ड कम्युनिकेशन

४. मेकानिकल

(क) जनरल मेकानिकल
(ख) एभिएशन मेकानिकल
(ग) निर्माण उपकरण संभार
(घ) प्रोडक्सन इन्जिनियरिङ

५. एरोनटिकल
६. माइनिङ
७. केमिकल
८. मेटालर्जिकल
९. मेट्रोलोजी
१०. मेटिरियोलोजी
११. जियोलोजी
(क) जनरल
(ख) हाइड्रोजियोलोजी
(ग) इन्जिनियरिङ जियोलोजी
१२. सिभिल एभिएशन अपरेशन एण्ड इन्जिनियरिङ
(क) सिभिल एभिएशन अपरेशन
(ख) फ्लाइट अपरेशन
(ग) एभिएशन फायर सर्भिसेज
१३. सर्भे
१४. केमेष्ट्री
१५. एग्री इरिगेशन इन्जिनियरिङ
१६. टेक्सटाईल इन्जिनियरिङ
– इलेक्ट्रोनिक्स एण्ड कम्प्यूटर साइन्स
१७. कम्प्यूटर इन्जिनियरिङ
१८. इन्भाइरोमेन्टल इन्जिनियरिङ
१९. अटोमोवाइल इन्जिनियरिङ
२०. ईण्डष्ट्रियल इन्जिनियरिङ
– ईष्टस्ट्रियल एण्ड प्रोडक्सन इन्जिनियरिङ
२१. रेडियो इन्जिनियरिङ
२२. सिष्टम इन्जिनियरिङ
२३. अटोमेशन इन्जिनियरिङ
२४. बेचलर अफ अर्बान एण्ड फिजिकल प्लानिङ
२५. जियोटेक्निकल इन्जिनियरिङ
२६. फरेष्ट्री इन्जिनियरिङ
२७. एग्रिकल्चर इन्जिनियरिङ
२८. इनर्जी इन्जिनियरिङ
२९. इन्फरमेशन टेक्लोलोजी एण्ड टेलिकम्युनिकेशन इन्जिनियरिङ
३०. अर्थक्वेक इन्जिनियरिङ
३१. आर्किटेक्ट इन्जिनियरिङ
३२. इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ
– इलेक्ट्रोनिक्स एण्ड पावर
३३. इलेक्ट्रोनिक इन्जिनियरिङ
– इलेक्ट्रोनिक्स एण्ड इन्स्टमेन्टेशस
३४. एभियोनिक्स इन्जिनियरिङ
३५. म्यानुफ्याक्चरिङ्ग साइन्स एण्ड इन्जिनियरिङ
३६. इलेक्ट्रोनिक्स एण्ड टेलिकम्यूनिकेशन इन्जिनियरिङ
३७. साउण्ड एण्ड भिडियो इन्जिनियरिङ
– साउण्ड इन्जिनियरिङ
३८. इण्डष्ट्रियल इलेक्ट्रोनिक्स इन्जिनियरिङ
३९. सफ्टवयर इन्जिनियरिङ
४०. इन्स्टुमेन्टेशन इन्जिनियरिङ
४१. इन्फरमेसन टेक्नोलोजी
– इन्फरमेसन साइन्स एण्ड इन्जिनियरिङ
४२. बायोमेडिकल इन्जिनियरिङ