Skip to contentSkip to left sidebar Skip to footer

खानी तथा खनिज पदार्थ ऐन, २०४२

खानी तथा खनिज पदार्थ ऐन, २०४२

लालमोहर र प्रकाशन मिति
२०४२।७।१४।४

संशोधन गर्ने ऐन
१. खानी तथा खनिज पदार्थ (पहिलो संशोधन) ऐन, २०५० -२०५१।२।५

प्रमाणीकरण र प्रकाशन मिति
२. गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून
संशोधन गर्ने ऐन, २०६६- २०६६।१०।७
३. केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७२- २०७२।११।१३

२०४२ सालको ऐन नं. २८

खानी तथा खनिज पदार्थसम्बन्धी व्यवस्था गर्न बनेको ऐन

प्रस्तावनाः सर्वसाधारण जनताको सुविधा र आर्थिक हित कायम राख्न र देशको द्रुततर आर्थिक
विकासको लागि देशमा भइरहेको खानी तथा खनिज स्रोतहरुको विकास गर्न वाञ्छनीय भएकोले,
श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले
यो ऐन बनाइबक्सेको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ

(१) यस ऐनको नाम “खानी तथा खनिज पदार्थ ऐन, २०४२”रहेको छ ।
(२) यो ऐन नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकेको मितिमा प्रारम्भ हुनेछ ।

२. परिभाषा

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “खनिज पदार्थ” भन्नाले जमीनको सतह वा भूगर्भभित्र पाइने पेट्रोलियम र ग्याँस पदार्थबाहेक कुनै निश्चित भौतिक गुण तथा तत्वको रासायनिक सम्मिश्रणयुक्त अप्राङ्गणिक (इनअर्गानिक) पदार्थ सम्झनुपर्छ ।

(ख) “खोज तलास कार्य” भन्नाले खानी वा खनिज पदार्थ पत्ता लगाउन वा खनिज पदार्थको प्रकार, गुणस्तर, परिमाण आदि निर्धारण गर्न गरिने सबै प्रकारको जाँचपड्ताल एवं संभाव्यता अध्ययन कार्य सम्झनुपर्छ ।
(ग) “उत्खनन्कार्य” भन्नाले खनिज पदार्थको उत्खनन्, उत्पादन, शुद्धिकरण, प्रशोधन, ढुवानी, संचय वा बिक्री वितरण गर्ने कार्य सम्झनुपर्छ ।
(घ) “खनिज कार्य” भन्नाले खोज तलास कार्य र उत्खनन्कार्य सम्झनुपर्छ ।
(ङ) “अनुमति प्राप्त व्यक्ति” भन्नाले दफा ५ बमोजिम खनिज कार्य गर्ने अनुमति प्राप्त व्यक्ति सम्झनुपर्छ ।
(च) “खनिज क्षेत्र” भन्नाले खनिज कार्य गर्ने अनुमति पत्रमा उल्लेखित क्षेत्र सम्झनुपर्छ ।
(छ) “विभाग” भन्नाले नेपाल सरकारको खानी तथा भूगर्भ विभाग सम्झनुपर्छ ।
(ज) “तोकिएको” वा “तोकिएबमोजिम” भन्नाले यस ऐनअन्तर्गत बनेको नियममा तोकिएको वा तोकिएबमोजिम सम्झनुपर्छ ।

३. नेपाल सरकारको सम्पत्ति

नेपाल….. भित्र निजी वा सरकारी स्वामित्वमा रहेको जुनसुकै जमीनको सतह वा भूगर्भभित्र रहेको वा पाइएको सम्पूर्ण खनिज पदार्थ नेपाल सरकारको सम्पत्ति हुनेछ ।

३क. खनिज पदार्थको वर्गीकरण

(१) यस ऐनको प्रयोजनको लागि खनिज पदार्थको प्रकृति एवं महत्वको आधारमा खनिज पदार्थलाई देहाय बमोजिम वर्गीकरण गरिएकोछ:–
(क) खनिज पदार्थको प्रकृतिको आधारमा वर्गीकरण :
(१) धातु खनिज, र
(२) अधातु खनिज ।
(ख) खनिज पदार्थको महत्वको आधारमा वर्गीकरण :
(१) अति महत्वपूर्ण खनिज,
(२) महत्वपूर्ण तथा बहुमूल्य खनिज, र
(३) सामान्य खनिज ।

(२) उपदफा (१) मा उल्लिखित वर्गहरु भित्र तोकिए बमोजिमका खनिज पदार्थ रहनेछन्।

४. खनिज कार्य गर्ने अधिकार

(१) खनिज कार्य गर्ने एकाधिकार नेपाल सरकारलाई हुनेछ ।

(२) यस ऐनको अधीनमा रही विभागले खनिज कार्य आफैले गर्ने वा अरु कुनै व्यक्तिलाई अनुमति प्रदान गरी गराउन सक्नेछ ।
(३) नेपाल सरकारलाई खनिज कार्यमा पूंजी लगानी गरी वा अन्य कुनै प्रकारले हिस्सेदार बन्ने अधिकार हुनेछ ।

५. खनिज कार्यगर्ने अनुमति

(१) यो ऐन र यस ऐनअन्तर्गत बनेको नियमहरुको अधीनमा रही खनिज कार्य गर्न चाहने व्यक्तिले गुणस्तर तथा परिमाण यकीन भई नसकेको खनिज पदार्थको हकमा सर्वप्रथम खोजतलास कार्य गर्ने अनुमतिको लागि र गुणस्तर तथा परिमाण यकीन भई सकेको खनिज पदार्थको हकमा उत्खनन् कार्यको प्रस्तावित योजनासमेत संलग्न गरी उत्खनन् कार्य गर्ने अनुमतिको लागि तोकिएको ढाँचामा विभागमा निवेदन दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको निवेदन प्राप्त भएपछि विभागले आवश्यक जाँचबुझ गरी निवेदन दिने व्यक्ति आर्थिक एवं प्राविधिक क्षमता भएको र खनिज कार्य गर्न आवश्यक योग्यता भएको देखिएमा निजलाई तोकिएको ढाँचामा तोकिएको दस्तुर लिई खनिज कार्य गर्ने अनुमति दिन सक्नेछ ।
(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै खास खनिज पदार्थको सम्बन्धमा विभागले उपयुक्त देखेमा खनिज कार्यको लागि आवश्यक आर्थिक एवं प्राविधिक क्षमता तथा योग्यता भएको व्यक्तिसंग खनिज सम्झौता गरी निजलाई तोकिएको ढाँचामा तोकिए को दस्तुर लिई खनिज कार्य गर्ने अनुमति दिन सक्नेछ ।
(४) यस दफाबमोजिम खोजतलास कार्य गर्ने अनुमति प्राप्त व्यक्तिले उत्खनन्कार्य गर्ने अनुमति लिन चाहेमा खोजतलास अवधि समाप्त हुनु अगावै खोजतलास कार्यको विस्तृत प्रतिवेदन तथा उत्खनन्कार्यको योजना समेत संलग्न गरी तोकिएको ढाँचामा विभागमा निवेदन
दिनुपर्नेछ ।
(५) उपदफा (४) बमोजिमको निवेदन प्राप्त भएपछि विभागले आवश्यक जाँचबुझ गर्दा उत्खनन्कार्यको योजना उपयुक्त देखेमा तोकिएको ढाँचामा तोकिएको दस्तुर लिई उत्खनन्कार्य गर्ने अनुमति दिनेछ ।
(६) विभागले खोजतलास कार्य गरी पत्ता लगाएको गुण र परिमाणसमेत यकीन भई सकेको खनिज पदार्थको उत्खनन् कार्य गर्ने अनुमति लिन चाहने व्यक्तिसंग नेपाल सरकारले चाहेमा त्यस्तो खोजतलास कार्यमा लागेको प्रत्यक्ष खर्च बराबरको रकम वा शेयर लिन सक्नेछ ।

(७) यस दफाबमोजिम खनिज कार्य गर्ने अनुमति दिंदा विभागले खनिज कार्यको क्षेत्र अवधि र त्यस्तो खनिज कार्यमा नेपाल सरकार हिस्सेदार बन्ने भएमा तत्सम्बन्धी कुराहरुसमेत उल्लेख गर्नुपर्नेछ ।

६. उत्खनन् कार्य गर्ने अधिकार

(१) कुनै क्षेत्रमा कुनै खनिज पदार्थको खोज तलास कार्य गर्ने अनुमति प्राप्त व्यक्तिलाई सो क्षेत्रमा सोही खनिज पदार्थको उत्खनन् कार्य गर्न अनुमति पाउने अधिकार हुनेछ ।
(२) खोजतलास कार्य गर्ने अनुमति प्राप्त व्यक्तिले खोजतलास कार्य गर्दा अनुमतिपत्रमा उल्लिखित खनिज पदार्थबाहेक अन्य खनिज पदार्थ पत्ता लागेमा त्यसको जानकारी तीस दिनभित्र विभागलाई दिनु पर्नेछ र निजलाई त्यस्तो खनिज पदार्थको खनिज कार्य गर्न प्राथमिकता दिइनेछ ।
तर त्यस्तो व्यक्तिलाई दफा १२ को उपदफा (३) बमोजिम तोकिएको खनिज पदार्थको खनिज कार्य गर्न अनुमति पाउने अधिकार हुनेछैन ।

१०. उत्खनन् अवधि

उत्खनन् अवधि खनिज पदार्थको प्रकृति, परिमाण र उत्खनन् कार्यको लागि चाहिने प्रविधि, पूँजी र लगानीको प्रक्षेपित प्रतिफलको आधारमा तोकिए बमोजिम हुनेछ ।

११. खनिज कार्यको संचालन

(१) अनुमति प्राप्त व्यक्तिले खनिज कार्यको संचालन खनिज कार्य गर्ने अनुमति प्राप्त गरेको मितिले तोकिएको अवधिभित्र गर्नुपर्नेछ ।
(२) अनुमति प्राप्त व्यक्तिले खनिज कार्य गर्दा अपनाउनु पर्ने कार्यविधि र प्रक्रिया तथा पालन गर्नुपर्ने शर्तहरु तोकिएबमोजिम हुनेछ ।

११क. खनिज कार्य गर्दा वातावरणमा प्रतिकूल असर पार्न नहुने

(१) खनिज कार्य गर्ने व्यक्तिले खनिज कार्य गर्दा वातावरणमा उल्लेखनीय (सिग्निफिकेन्ट) प्रतिकूल असर नपर्ने गरी गर्नु पर्नेछ । साथै त्यस्तो खनिज कार्य गर्ने व्यक्तिले वातावरण संरक्षणका सम्बन्धमा तोकिए बमोजिमका बचाउका उपायहरु अपनाउनु पर्नेछ ।
(२) खनिज कार्य गर्ने व्यक्तिले वातावरणमा उल्लेखनीय (सिग्निफिकेन्ट) प्रतिकूल असर पार्ने कार्य गरेको देखिएमा त्यस्तो कार्यमा सुधार ल्याउन विभागले सम्बन्धित व्यक्तिलाई आवश्यक निर्देशन दिनेछ ।
(३) उपदफा (२) बमोजिम दिएको निर्देशनको पालना गर्नु सम्बन्धित व्यक्तिको कर्तव्य हुनेछ ।
स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि “वातावरणमा उल्लेखनीय (सिग्निफिकेन्ट) प्रतिकूल असर” भन्नाले कुनै खनिज कार्य गर्दा वातावरणमा पर्न सक्ने तोकिए बमोजिमको असर सम्झनु पर्छ ।

१२. विशेष व्यवस्था

(१) विभागले राष्ट्रिय सुरक्षा, सार्वजनिक हित वा ऐतिहासिक महत्वको दृष्टिकोणबाट कुनै क्षेत्रलाई खनिज कार्यको लागि निषेधित क्षेत्र घोषित गर्न वा कुनै क्षेत्रको सम्बन्धमा विशेष शर्तहरु तोकी खनिज कार्य गर्ने अनुमति दिन सक्नेछ ।
(२) विभागले खनिज कार्य गर्ने अनुमति दिइसकेको क्षेत्रमा अनुमति प्राप्त ब्यक्तिको खनिज कार्यमा कुनै बाधा अड्चन नपर्ने गरी खनिज कार्यको लागि अनुमति दिइसकेको खनिज पदार्थ बाहेक अन्य खनिज पदार्थको खनिज कार्य आफैले गर्न वा अरु कुनै व्यक्तिलाई अनुमति
प्रदान गरी गराउन सक्नेछ ।
(३) नेपाल सरकारले कुनै खास खनिज पदार्थको खनिज कार्य विभाग वा विभागले तोकेको अन्य सरकारी निकायले मात्र गर्न पाउने गरी तोक्न सक्नेछ ।
(४) सर्वसाधारणले निजी प्रयोगको निमित्त उपयोग गरी आएको प्रचलनमा प्रतिकूल असर नपर्ने गरी नेपाल सरकारले निर्माण कार्यको प्रयोगमा आउने साधारण माटो, ढुंगा र बालुवा जस्ता खनिज पदार्थका सम्बन्धमा तोकिएबमोजिम छुट्टै व्यवस्था गर्न सक्नेछ ।

१३. आदेश दिन सक्ने

विभागले खनिज कार्यबाट खानी वा खनिज पदार्थको भण्डारलाई हुनसक्ने क्षति, कसैको जिउ वा सम्पत्तिमा पर्न सक्ने चोटपटक वा नेक्सानी रोकथाम गर्न, कुनै प्रतिष्ठान (इन्सटलेशन) मा हानी नोक्सानी हुन नदिन र भू–क्षय  हुन नदिन आवश्यक आदेश दिन सक्नेछ ।

१४. खनिज पदार्थको निर्यात

(१) नेपाल सरकारले राष्ट्रिय सुरक्षा वा आन्तरिक माँग आपूर्ति गर्नको लागि कुनै खनिज पदार्थ विदेशमा निर्यात गर्न नपाउने गरी आदेश जारी गरी आवश्यक बन्देज लगाउन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम आवश्यक बन्देज लगाएको अवस्थामा बाहेक अन्य अवस्थामा अनुमति प्राप्त व्यक्तिले आफूले उत्खनन्गरेको खनिज पदार्थ तोकिएबमोजिम विदेशमा निर्यात गर्न पाउनेछ ।

१५. सुरक्षाको लागि हातहतियार राख्न सक्ने

अनुमति प्राप्त व्यक्तिले खनिज कार्यको सिलसिलामा जिउज्यान तथा धन सम्पत्तिको सुरक्षाको लागि नेपाल सरकारले निर्णय गरेबमोजिम प्रचलित कानूनको अधीनमा रही आवश्यक हातहतियार राख्न सक्नेछ ।

१६. सञ्चार उपकरण राख्न सक्ने

अनुमति प्राप्त व्यक्तिले नेपाल सरकारले निर्णय गरेबमोजिम प्रचलित कानूनको अधीनमा रही खनिज कार्यको लागि आवश्यक सञ्चार उपकरणहरु राख्न सक्नेछ ।

१८. रोयल्टी तथा अन्य दस्तुर

अनुमति प्राप्त व्यक्तिले विभागलाई खनिज पदार्थको प्रकार, गुणस्तर र परिमाणको आधारमा तोकिएको दरमा रोयल्टी तथा अन्य दस्तुर बुझाउन पर्नेछ ।

२१. जग्गा प्राप्त गर्ने वा जग्गामा प्रवेश गर्ने

(१) दफा १२ को उपदफा (१) बमोजिम निषेध गरिएको क्षेत्रमा बाहेक अन्य क्षेत्रमा रहेको कुनै जग्गा खनिज कार्यको लागि अस्थायी वा स्थायी तवरले आवश्यक पर्ने भएमा देहायको कुराको अधीनमा रही उपयोग गर्न वा प्राप्त गर्न सकिनेछ :–
(क) त्यस्तो जग्गा नेपाल सरकारको भए अनुमति प्राप्त व्यक्तिले नेपाल सरकारलाई तोकिएबमोजिमको भू–बहाल बुझाई उपयोग गर्न सक्नेछ ।
(ख) त्यस्तो जग्गा निजी स्वामित्वको भए नेपाल सरकारले अनुमति प्राप्त व्यक्तिलाई निजकै खर्चमा प्रचलित कानूनबमोजिम प्राप्त गराई दिन वा भू–वहालमा दिलाई दिन सक्नेछ ।

(२) खनिज कार्यको लागि कुनै जग्गामा केही समयको लागि कुनै यन्त्र, उपकरण, औजार जडान गर्न वा नाप नक्शा वा खनिज कार्यसम्बन्धी अन्य कुनै काम गर्न आवश्यक भएमा उपदफा (३) को अधीनमा रही त्यस्तो जग्गामा प्रवेश गरी त्यस्तो काम गर्न सक्नेछ ।

(३) विभाग वा अनुमति प्राप्त व्यक्तिले खनिजकार्य गर्दा कुनै जग्गावालाले आफ्नो जग्गा उपभोग गर्न नपाएमा वा त्यस्तो जग्गामा रहेको बाली, रुख, घर, वस्तु वा अन्य सम्पत्ति नोक्शानी भएमा गाउँपालिका वा नगरपालिकाको परामर्श लिई प्रचलित दरभाउलाई समेत ध्यान राखी सम्बन्धित जग्गावालालाई क्षतिपूर्ति दिइनेछ ।

२२. विष्फोटक पदार्थको प्रयोग

खनिज कार्यको लागि चाहिने विष्फोटक पदार्थहरु अनुमति प्राप्त व्यक्तिले नेपाल सरकारले समय समयमा निर्णय गरेबमोजिमको शर्त तथा प्रचलित कानूनको अधीनमा रही पैठारी, संचय, वसार–पसार र प्रयोग गर्न सक्नेछ ।

२३. निरीक्षण तथा जाँचबुझ

(१) यो ऐन र यस ऐन अन्तर्गत बनेको नियमबमोजिम खनिज कार्य भए नभएको निरीक्षण तथा जाँचबुझ गर्न विभागले कुनै विशेषज्ञ, अधिकारी वा निकायलाई अधिकृत गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम अधिकृत गरिएको विशेषज्ञ, अधिकारी वा निकायलाई निरीक्षण तथा जाँचबुझको सिलसिलामा खनिज कार्य भइरहेको वा हुने जुनसुकै ठाउँमा प्रवेश गर्न दिनु र निजले मागेको कागजात तथा विवरण उपलब्ध गराउनु अनुमति प्राप्त व्यक्तिको कर्तव्य हुनेछ ।

२४. खनिज पदार्थ विकास केन्द्र

(१) खानी तथा खनिज स्रोतहरुको विकास गर्न एवं खनिज कार्यमा सहयोग पुर्याउन नेपाल सरकारले खनिज पदार्थ प्रबद्र्धन कार्यक्रम संचालन गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिमको कार्यक्रम संचालन गर्नको लागि नेपाल सरकारले खनिज पदार्थ विकास केन्द्र स्थापना गर्न सक्नेछ ।
(३) उपदफा (२) बमोजिम स्थापित खनिज पदार्थ विकास केन्द्रको काम, कर्तव्य र अधिकार एवं कार्यविधि तोकिएबमोजिम हुनेछ ।

२५. दण्ड सजाय

(१) कसैले यस ऐनबमोजिम खनिज कार्य गर्ने अनुमति नलिई खनिज कार्य गरेमा नेपाल सरकारले त्यस्तो खनिज कार्य बन्द गरी खनिज कार्यमा प्रयोग गरिएको यन्त्र, उपकरण, औजार र मालसामान तथा अनधिकृत तवरले उत्खनन् गरेको खनिज पदार्थसमेत जफत गर्नुको साथै त्यस्तो व्यक्तिलाई एकलाख रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ र त्यस्तो कार्यबाट नोक्सान भएको धनसम्पत्तिको क्षति पनि भराउन सक्नेछ ।
(२) अनुमति प्राप्त व्यक्तिले दफा ११क. बमोजिम दिइएको निर्देशन वा दफा १३ बमोजिमको आदेश पालन नगरेमा त्यस्तो निर्देशन वा आदेश पालन नगरेसम्म विभागले खनिज कार्य स्थगित गर्न वा खनिज कार्य गर्ने अनुमति नै रद्द गर्न सक्नेछ र त्यस्तो निर्देशन वा आदेश
पालन नगरेको कारणबाट खानी वा खनिज पदार्थको भण्डारमा क्षति पुग्न गएमा, भूक्षय भएमा वा कसैको जिउ वा धन सम्पत्तिमा चोटपटक वा नोक्सानी पर्न गएमा एकलाख रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ र नोक्सानीको आधारमा मुनासिब क्षतिपूर्ति समेत अनुमति प्राप्त व्यक्तिबाट भराउनु पर्नेछ ।
(३) अनुमति प्राप्त व्यक्तिले दफा २० बमोजिम विभागमा दिनुपर्ने सूचना वा प्रतिवेदन नदिएमा त्यसरी सूचना वा प्रतिवेदन नदिएसम्म विभागले खनिज कार्य स्थगित गर्न सक्नेछ ।
(४) अनुमति प्राप्त व्यक्तिले यस दफामा लेखिएदेखि बाहेक यो ऐन र यस ऐनअन्तर्गत बनेको नियम बर्खिलाप कुनै काम गरेमा विभागले निजलाई एकलाख रुपैयाँसम्म जरिवाना गर्न वा खनिज कार्य गर्न दिइएको अनुमति रद्द गर्न सक्नेछ ।
(५) उपदफा (१), (२), (३) वा (४) बमोजिम कारवाही गर्नुभन्दा अगाडि विभागले सम्बन्धित व्यक्तिलाई स्पष्टीकरण पेश गर्ने मनासिव मौका दिनु पर्नेछ ।
(६) विभाग वा अनुमति प्राप्त व्यक्तिले यस ऐनबमोजिम खनिज कार्य गर्दा कसैले बाधा विरोध वा रोकटोक गरेमा निजलाई नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकेको अधिकारीको आदेशले ६ महीनासम्म कैद वा दशहजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्नेछ ।
(७) उपदफा (१), (२), (३), (४) वा (६) बमोजिम भएको सजायको आदेशमा चित्त नबुझ्ने व्यक्तिले पैंतीस दिनभित्र उच्च अदालतमा पुनरावेदन दिन सक्नेछ ।

२६. मध्यस्थता

नेपाल सरकार र अनुमति प्राप्त व्यक्तिबीच खनिज कार्यसँग सम्बन्धित कुनै कुराको सम्बन्धमा उठेको कुनै विवाद दुवै पक्षले आपसी सरसल्लाहबाट सुल्झाउन नसकेमा दुवै पक्षबीचमा भएको सम्झौतामा तोकिएकोमा सोहीबमोजिम र सम्झौतामा नतोकिएकोमा तोकिएबमोजिम मध्यस्थताद्वारा समाधान गरिनेछ ।

२७. विशेष अधिकार

(१) नेपाल सरकारले राष्ट्रिय सुरक्षा वा सार्वजनिक हितको लागि आवश्यक देखेमा तुरुन्त खनिज कार्य रोक्का गरी खनिज कार्य गर्ने अनुमति रद्द गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम नेपाल सरकारले खनिज कार्य गर्ने अनुमति रद्द गर्दा अनुमति प्राप्त व्यक्तिलाई पर्न गएको प्रत्यक्ष हानी नोक्सानीको निमित्त मुनासिव माफिकको क्षतिपूर्ति दिनेछ ।

२८. नियम बनाउने अधिकार

(१) यस ऐनको उद्देश्य कार्यान्वयन गर्न नेपाल सरकारले नियमहरु बनाउन सक्नेछ ।
(२) उपदफा (१) ले दिएको अधिकारको सर्वसामान्यतामा प्रतिकूल प्रभाव नपर्ने गरी खासगरी देहायका विषयहरुमा नियमहरु बनाउन सक्नेछ :–
(क) खनिज कार्य गर्न अनुमति लिन चाहने व्यक्तिको योग्यता,
(ख) खनिज सम्झौता तथा अनुमतिपत्रमा रहने कुराहरु,
(ग) खनिज क्षेत्रको सर्भेक्षण, नाप, नक्शा तथा क्षेत्र परित्याग,
(घ) खनिज कार्य गर्दा अपनाउनु पर्ने कार्यविधि तथा पालन गर्नुपर्ने शर्तहरु,
(ङ) खनिज कार्य गर्दा धन–जनको सुरक्षा गर्ने र भू–क्षय तथा वातावरणमा उल्लेखनीय (सिग्निफिकेन्ट) प्रतिकूल असर हुन नदिन गर्नुपर्ने सुरक्षात्मक व्यवस्था,
(च) अनुमति प्राप्त व्यक्तिले बुझाउनु पर्ने रोयल्टी, दस्तुर तथा स्थानीय विकास शुल्क,
(छ) अनुमति प्राप्त व्यक्तिले राख्नुपर्ने खनिज कार्यको हिसाब किताब,
(ज) अनुमति प्राप्त व्यक्तिले दिनुपर्ने सूचना, प्रतिवेदन तथा अन्य विवरणहरु,
(झ) निरीक्षण तथा जाँचबुझसम्बन्धी कार्यविधि, र
(ञ) मध्यस्थतासम्बन्धी प्रक्रिया ।

२९. खारेजी र बचाउ

(१) नेपाल खानी ऐन, २०२३ खारेज गरिएको छ ।
(२) नेपाल खानी ऐन, २०२३ अन्तर्गत दिइएको खनिज पदार्थसम्बन्धी अनुमति तथा तत्सम्बन्धी भएको काम कारवाहीलाई यसै ऐन अन्तर्गत दिइएको वा भएको मानिनेछ ।