Skip to contentSkip to left sidebar Skip to footer

बालबालिका सम्बन्धी नियमावली, २०५१

बालबालिका सम्बन्धी नियमावली, २०५१

नेपाल राजपत्रमा प्रकाशित मिति                    -२०५१।१०।२
संशोधन
बालबालिका सम्बन्धी (पहिलो संशोधन) नियमावली, २०६९                        -२०६९।९।२३
बालबालिका सम्बन्धी ऐन, २०४८ को दफा ५८ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरु बनाएको छ ।

परिच्छेद-१ प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भ : (१) यी नियमहरुको नाम “बालबालिका सम्बन्धी नियमावली, २०५१” रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषा : विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस नियमावलीमा,
(क) “ऐन” भन्नाले बालबालिका सम्बन्धी ऐन, २०४८ सम्झनु पर्छ ।
(ख) “व्यवस्थापन समिति” भन्नाले बाल कल्याण गृह, बाल सुधार गृह, अनाथालय वा सुस्तमनस्थिति केन्द्रको संचालनको निमित्त नियम १५ बमोजिम गठित व्यवस्थापन समिति सम्झनु पर्छ ।
(ग) “प्रशासक” भन्नाले बाल सुधार गृह, अनाथालय वा सुस्तमनस्थिति केन्द्रको प्रमुखको रुपमा काम गर्ने व्यक्ति सम्झनु पर्छ ।
(घ) “मन्त्रालय” भन्नाले नेपाल सरकार, शिक्षा संस्कृति तथा समाज कल्याण मन्त्रालय सम्झनु पर्छ ।

परिच्छेद-२ केन्द्रीय बाल कल्याण समिति सम्बन्धी व्यवस्था

३. केन्द्रीय बाल कल्याण समितिको काम कर्तव्य र अधिकार : ऐनमा उल्लेखित काम कर्तव्य र अधिकारको अतिरिक्त केन्द्रीय बाल कल्याण समितिको अन्य काम कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ :
(क) नेपाल सरकारबाट गठित बाल कल्याण सम्बन्धी निकायले दिएको मार्ग दर्शनको आधारमा समेत बालकहरुको हक हितको संरक्षण तथा शारीरिक र मानसिक विकास सम्बन्धी दीर्घकालिन राष्ट्रिय नीति र योजना तर्जुमा गरी नेपाल सरकार समक्ष पेश गर्ने र नेपाल सरकारबाट स्वीकृत नीति र योजना सम्बन्धित मन्त्रालय वा निकाय मार्फत कार्यान्वयन गर्ने गराउने ।
(ख) स्वीकृत राष्ट्रिय नीति र योजना अनुरुप वार्षिक कार्यक्रम र बजेट स्वीकृत गरी कार्यान्वयन गर्ने गराउने ।
(ग) बाल हित सम्बन्धी योजना तथा कार्यक्रमको लागि आवश्यक आर्थिक स्रोतपरिचालन गर्न आवश्यक नीति तथा कार्यक्रम तर्जुमा गर्ने ।
(घ) जिल्ला बाल कल्याण समिति तथा व्यवस्थापन समितिहरुलाई मार्गदर्शन गर्ने ।
(ङ) जिल्ला बाल कल्याण समितिहरुको वार्षिक कार्यक्रमको प्रगति समीक्षा एवं मूल्यांकन गर्ने ।
(च) नेपाल ………… भित्र संचालित बाल कल्याण गृह, बाल सुधार गृह, अनाथालय र सुस्तमनस्थिति केन्द्र तथा त्यस्तै अन्य गृह वा केन्द्रहरुको क्षमता र सुविधा आदिको तथ्यांक संकलन गरी गराई अभिलेख राख्ने ।
(छ) आवश्यकता अनुसार जिल्ला बाल कल्याण समितिको सिफारिस समेत लिई विभिन्न जिल्लामा बाल कल्याण गृह अनाथालय तथा सुस्तमनस्थिति केन्द्र स्थापना गर्न कुनै व्यक्ति वा संस्थालाई प्रोत्साहन र सहयोग प्रदान गर्ने ।
(ज) प्रत्येक जिल्लामा कारागारमा रहेका, बेबारिसी अवस्थामा रहेका वा श्रमिकको रुपमा कार्यरत बालक तथा अपांग र सुस्तमनस्थिति भएका बालकहरुको छुट्टाछुट्टै तथ्यांक संकलन गरी प्रत्येक जिल्ला बाल कल्याण समितिमा त्यसको अभिलेख राख्न लगाउने र राष्ट्रिय अभिलेख तयार गरी राख्ने ।
(झ) बाल मजदूर र बाल विवाह तथा देवी देवताको नाउमा बालक चढाउने प्रथाको अन्त्य गर्न आवश्यक उपायहरु पहिल्याउने र ती उपायहरु अवलम्बन गर्ने तर्फ सम्बद्ध सरकारी एवं गैर सरकारी संघ संस्थाहरुलाई प्रोत्साहन तथा सहयोग गर्ने ।
(ञ) प्रचलित कानूनको अधिनमा रही राष्ट्रिय एवं अन्तर्राष्ट्रिय गैर सरकारी संघ संस्थाहरुको सहभागिता जुटाई बालकहरुको संरक्षण तथा विकासको लागि बाल कल्याणकारी कार्य संचालन गर्ने गराउने र त्यस्तो कार्य संचालन गर्न लगाउन नेपाल सरकारको स्वीकृति लिई विदेशी सरकार एवं अन्तर्राष्ट्रिय संघ संस्थाहरुलाई प्रोत्साहन तथा सहयोग गर्ने ।
(ट) नेपाल सरकारद्वारा अनुमोदित बाल अधिकार सम्बन्धी संयुक्त राष्ट्र संघीय महासन्धि, बालकको हक हित एवं अधिकार संरक्षणसंग सम्बन्धित अन्य अन्तर्राष्ट्रिय एवं क्षेत्रीय महासन्धि वा घोषणा पत्र तथा बालकको हक हित सम्बन्धी प्रचलित कानूनका प्रावधानहरुको प्रचार प्रसार गर्ने र त्यस्तो कार्यमा संलग्न सामाजिक कार्यकर्ता तथा संघ संस्थाहरुलाई सहयोग गर्ने ।
(ठ) बालकको हक हितको संरक्षण तथा शारीरिक र मानसिक विकासको निमित्त आवश्यक देखिएका अन्य काम गर्ने ।
४. उपसमिति वा कार्य टोली गठन गर्न सक्ने : (१) केन्द्रीय बाल कल्याण समितिले आफुले गर्नु पर्ने कुनै काम सुचारु रुपले गर्नको निमित्त सम्बन्धित विशेषज्ञ तथा सामाजिक कार्यकर्ताहरु समावेश गरी आवश्यकतानुसार उपसमिति वा कार्यटोली गठन गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम गठन हुने उपसमिति वा कार्य टोलीको काम कर्तव्य र अधिकार तथा कार्यविधि केन्द्रीय बाल कल्याण समितिले तोकिदिए बमोजिम हुनेछ ।
५. बैठक सम्बन्धी कार्यविधि : (१) केन्द्रीय बाल कल्याण समितिको बैठक आवश्यकतानुसार केन्द्रीय बाल कल्याण समितिको अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ ।
(२) केन्द्रीय बाल कल्याण समितिको कूल सदस्य संख्याको पचास प्रतिशत सदस्यहरु उपस्थित भएमा केन्द्रीय बाल कल्याण समितिको बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ ।
(३) केन्द्रीय बाल कल्याण समितिको बैठकको अध्यक्षता केन्द्रीय बाल कल्याण समितिको अध्यक्षले गर्नेछन् र निजको अनुपस्थितिमा उपस्थिति सदस्यहरुले आफु मध्येबाट छानेको सदस्यले बैठकको अध्यक्षता गर्नेछ ।
(४) केन्द्रीय बाल कल्याण समितिको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ ।
(५) केन्द्रीय बाल कल्याण समितिको बैठक सम्बन्धी अन्य कार्यविधि केन्द्रीय बाल कल्याण समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ ।
६. कार्यकारी निर्देशक : (१) केन्द्रीय बाल कल्याण समितिको प्रशासकीय प्रमुखको रुपमा काम गर्न एक कार्यकारी निर्देशक रहनेछ ।
(२) बालकको हक हितको संरक्षण तथा बाल कल्याणकारी कार्यमा अनुभव प्राप्त व्यक्तिलाई नेपाल सरकारले कार्यकारी निर्देशकको पदमा नियुक्त गर्न वा तोक्न सक्नेछ ।
(३) कार्यकारी निर्देशकको पदावधि पाँच वर्षको हुनेछ र केन्द्रीय बाल कल्याण समितिको सिफारिसमा नेपाल सरकारले निजको पदावधि बढीमा तीन वर्षको लागि थप गर्न सक्नेछ ।
(४) कार्यकारी निर्देशकले केन्द्रीय बाल कल्याण समितिको सचिव भई काम गर्नेछ ।
(५) कार्यकारी निर्देशकको पारिश्रमिक, सुविधा तथा सेवाका अन्य शर्तहरु नेपाल सरकारले तोकि दिए बमोजिम हुनेछ ।
७. कार्यकारी निर्देशकको काम, कर्तव्य र अधिकार : कार्यकारी निर्देशकको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :
(क) बालकको हक हितको संरक्षण तथा शारीरिक र मानसिक विकास सम्बन्धी दीर्घकालीन राष्ट्रिय नीति र योजना तर्जुमा गर्न केन्द्रीय बाल कल्याण समितिलाई सहयोग गर्ने ।
(ख) नेपाल सरकारबाट स्वीकृत नीति र योजना अनुरुप वार्षिक कार्यक्रम र बजेट तयार गरी केन्द्रीय बाल कल्याण समितिको बैठकमा पेश गर्ने ।
(ग) केन्द्रीय बाल कल्याण समितिको निर्णय एवं निर्देशनहरु कार्यान्वयन गर्ने गराउने ।
(घ) केन्द्रीय बाल कल्याण समितिको वार्षिक कार्यक्रमको आन्तरिक मूल्यांकन गर्ने गराउने र प्रगति विवरणहरु केन्द्रीय बाल कल्याण समितिको बैठकमा पेश गर्ने ।
(ङ) केन्द्रीय बाल कल्याण समितिको कार्य संचालनको निमित्त आवश्यक स्रोत खोजी गर्ने र प्राप्त स्रोतहरुको परिचालन गर्ने ।
(च) केन्द्रीय बाल कल्याण समितिको वित्तिय कारोवारको लेखा ठीकसंग राख्न लगाउने ।
(छ) केन्द्रीय बाल कल्याण समितिबाट प्रत्यायोजित एवं निर्देशित अन्य काम गर्ने गराउने ।
८. वार्षिक प्रतिवेदन प्रकाशित गर्न सक्ने : केन्द्रीय बाल कल्याण समितिले ऐनको दफा ३२ को उपदफा (५) बमोजिम नेपाल सरकार समक्ष पेश गरेको वार्षिक प्रतिवेदन नेपाल सरकारको स्वीकृति लिई सार्वजनिक रुपमा प्रकाशित गर्न सक्नेछ ।

परिच्छेद-३ जिल्ला बाल कल्याण समिति सम्बन्धी व्यवस्था

९. जिल्ला बाल कल्याण समितिको काम कर्तव्य र अधिकार : ऐनमा उल्लेखित काम कर्तव्य र अधिकारको अतिरिक्त जिल्ला बाल कल्याण समितिको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :
(क) बालकहरुको हक हितको संरक्षण तथा शारीरिक र मानसिक विकास सम्बन्धी जिल्ला स्तरीय दीर्घकालीन नीति र योजना तर्जुमा गरी केन्द्रीय बाल कल्याण समितिमा पठाउने ।
(ख) स्वीकृत नीति र योजना अनुरुप वार्षिक कार्यक्रम र बजेट स्वीकृत गरी बनाई कार्य संचालन गर्ने, गराउने ।
(ग) वार्षिक कार्यक्रम संचालन गर्नको निमित्त आवश्यक स्थानीय स्रोतको खोजी गर्ने र प्राप्त स्रोतको परिचालन गर्ने ।
(घ) जिल्लामा कारागारमा रहेका वेवारिसे अवस्थामा रहेका वा श्रमिकको रुपमा कार्यरत बालक तथा अपांग र सुस्तमनस्थिति भएका बालकको तथ्यांक संकलन गरी त्यसको अद्यावधिक अभिलेख राख्ने र त्यसको एक प्रति केन्द्रीय बाल कल्याण समितिमा पठाउने ।
(ङ) जिल्लामा रहेका बाल मजदूर र बाल विवाह तथा देवी देवताको नाउमा चढाइएका बालक भए सो सम्बन्धी तथ्यांक संकलन गरी त्यसको अद्यावधिक अभिलेख राख्ने र त्यसको एक प्रति केन्द्रीय बाल कल्याण समितिमा पठाउने ।
(च) खण्ड (ङ) मा उल्लिखित कुप्रथा हटाउन जिल्ला स्तरमा सामाजिक कार्यकर्ता तथा प्रतिष्ठित व्यक्तिहरुको सम्मेलन गराई सुझाव संकलन गरी त्यस्तो कुप्रथा हटाउने कार्यमा सामाजिक कार्यकर्ता तथा गैर सरकारी संघ संस्थाहरुलाई प्रोत्साहन तथा सहयोग गर्ने ।
(छ) जिल्लाभित्र संचालित बाल कल्याण गृह, बाल सुधार गृह, अनाथालय तथा सुस्तमनस्थिति केन्द्र वा त्यस्तै अन्य गृह वा केन्द्र भए त्यसको क्षमता सुविधा आदिको तथ्यांक संकलन गरी अद्यावधिक अभिलेख राख्ने र त्यसको एक प्रति केन्द्रीय बाल कल्याण समितिमा पठाउने ।
(ज) जनसहभागीताबाट वा सरकारी एवं गैर सरकारी संघ संस्थाहरुको सहभागिता जुटाई जिल्लाको विभिन्न भागमा बालकको हक हितको संरक्षण तथा शारीरिक र मानसिक विकास सम्बन्धी बाल कल्याणकारी कार्य संचालन गर्ने र त्यस्तो कार्य गर्न सामाजिक कार्यकर्ता तथा सरकारी एवं गैर सरकारी संघ संस्थाहरुलाई सहयोग गर्ने ।
(झ) जिल्लाभित्र संचालित बाल कल्याण गृह, बाल सुधार गृह, अनाथालय तथा सुस्तमनस्थिति केन्द्रको निरीक्षण गर्न गराउन व्यवस्थापन समिति, बाल कल्याण गृह प्रमुख तथा प्रशासकलाई आवश्यक निर्देशन एवं सुझाव दिने ।
१०. उपसमिति वा कार्यटोली गठन गर्न सक्ने : (१) जिल्ला बाल कल्याण समितिले आफुले गर्नु पर्ने कुनै काम सुचारु रुपले गर्नको निमित्त सम्बन्धित विशेषज्ञ तथा सामाजिक कार्यकर्ताहरु समेत समावेश गरी आवश्यकता अनुसार उपसमिति वा कार्यटोली गठन गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम गठन हुने उपसमिति वा कार्यटोलीको काम, कर्तव्य र अधिकार तथा कार्यविधि जिल्ला बाल कल्याण समितिले तोकि दिए बमोजिम हुनेछ ।
११. बैठक सम्बन्धी कार्यविधि : (१) जिल्ला बाल कल्याण समितिको बैठक आवश्यकतानुसार जिल्ला बाल कल्याण समितिको अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ ।
(२) जिल्ला बाल कल्याण समितिको कूल सदस्य संख्याको पचास प्रतिशत सदस्यहरु उपस्थित भएमा जिल्ला बाल कल्याण समितिको बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ ।
(३) जिल्ला बाल कल्याण समितिको बैठकको अध्यक्षता जिल्ला बाल कल्याण समितिको अध्यक्षले गर्नेछ र निजको अनुपस्थितिमा उपस्थित सदस्यहरुले आफु मध्येबाट छानेको सदस्यले बैठकको अध्यक्षता गर्नेछ ।
(४) जिल्ला बाल कल्याण समितिको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ ।
(५) जिल्ला बाल कल्याण समितिको बैठक सम्बन्धी अन्य कार्यविधि जिल्ला बाल कल्याण समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ ।
१२. वार्षिक प्रतिवेदन प्रकाशित गर्न सक्ने : जिल्ला बाल कल्याण समितिले ऐनको दफा ३२ को उपदफा (५) बमोजिम केन्द्रीय बाल कल्याण समिति समक्ष पेश गरेको वार्षिक प्रतिवेदन केन्द्रीय बाल कल्याण समितिको स्वीकृति लिई सार्वजनिक रुपमा प्रकाशित गर्न सक्नेछ

परिच्छेद-४ बाल कल्याण अधिकारीको काम कर्तव्य र अधिकार

१३. बाल कल्याण अधिकारीको काम, कर्तव्य र अधिकार : ऐनमा उल्लेखित काम, कर्तव्य र अधिकारको अतिरिक्त बाल कल्याण अधिकारीको अन्य काम कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :
(क) बालकहरुको हक हितको संरक्षण तथा बाल कल्याण सम्बन्धी जिल्ला स्तरीय योजना तथा कार्यक्रम तर्जुमा गर्न जिल्ला बाल कल्याण समितिलाई सहयोग गर्ने ।
(ख) जिल्ला बाल कल्याण समितिको निर्णय एवं निर्देशनहरु कार्यान्वयन गर्ने गराउने ।
(ग) जिल्ला बाल कल्याण समितिको स्वीकृत कार्यक्रमको आन्तरिक मूल्यांकन गराउने र त्यसको प्रगति विवरणहरु जिल्ला बाल कल्याण समितिको बैठकमा पेश गर्ने ।
(घ) जिल्ला बाल कल्याण समितिको कार्य संचालनको निमित्त आवश्यक स्रोतको खोजी गर्ने र प्राप्त स्रोतहरुको परिचालन गर्ने ।
(ङ) जिल्ला बाल कल्याण समितिको वित्तिय कारोवारको लेखा ठीकसंग राख्न लगाउने ।
(च) जिल्ला बाल कल्याण समितिको सचिव भै काम गर्ने ।
(छ) जिल्ला बाल कल्याण समितिबाट प्रत्यायोजित एवं निर्देशित अन्य काम गर्ने, गराउने ।
१४. बाल कल्याण अधिकारीको सेवाको शर्त तथा सुविधा सम्बन्धी व्यवस्था : बाल कल्याण अधिकारीको सेवाको शर्त तथा सुविधा मन्त्रालयको स्वीकृति लिई केन्द्रीय बाल कल्याण समितिले तोकि दिए बमोजिम हुनेछ ।

परिच्छेद-५ व्यवस्थापन समिति सम्बन्धी व्यवस्था

१५. व्यवस्थापन समितिको गठन : (१) मन्त्रालयले ऐन बमोजिम स्थापित बाल कल्याण गृह, बाल सुधार गृह, अनाथालय वा सुस्तमनस्थिति केन्द्रको संचालन गर्नको निमित्त उपलब्ध भएसम्म स्थानीय सामाजिक कार्यकर्ता, महिला सामाजिक कार्यकर्ता, चिकित्सकहरु, बाल मनोवैज्ञानिक र शिक्षकहरु मध्येबाट समेत सदस्य रहने गरी बढीमा सात जना सदस्यहरु भएको एक व्यवस्थापन समिति गठन गर्नेछ ।
(२) व्यवस्थापन समितिमा रहने अध्यक्ष, सदस्य तथा सचिवको नाम तथा निजहरुको पदावधि मन्त्रालयले उक्त समिति गठन गर्दाको अवस्थामा तोके बमोजिम हुनेछ ।
१६. व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकार : व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :
(क) सम्बन्धित बाल कल्याण गृह, बाल सुधार गृह, अनाथालय वा सुस्तमनस्थिति केन्द्रको दीर्घकालीन नीति र योजना तर्जुमा गरी स्वीकृतिको निमित्त जिल्ला बाल कल्याण समिति मार्फत केन्द्रीय बाल कल्याण समितिमा पठाउने ।
(ख) स्वीकृत नीति र योजना अनुरुप वार्षिक कार्यक्रम र बजेट स्वीकृत गर्ने ।
(ग) वार्षिक कार्यक्रम संचालन गर्नको निमित्त आवश्यक स्थानीय स्रोतको खोजी गर्ने र प्राप्त स्रोतको परिचालन गर्ने ।
(घ) बाल कल्याण गृह, बाल सुधार गृह, अनाथालय तथा सुस्तमनस्थिति केन्द्रमा रहेका बालकलाई प्रदान गरिने शिक्षा तालिम र बस्ने, सुत्ने, खाने, लगाउने लगायतका अन्य सुविधा सम्बन्धमा उपयुक्त व्यवस्था गर्ने गराउने ।
(ङ) बालकको रुचि वा ज्ञानको आधारमा तिनीहरुलाई व्यावसायिक तालिम वा पठन पाठनमा संलग्न गराउने व्यवस्था गर्ने, गराउने ।
(च) बालकको शारीरिक विकासको निमित्त खेलकूद, मनोरन्जन तथा सांस्कृतिक कार्यक्रम लगायत अन्य अतिरिक्त क्रियाकलापको व्यवस्था गर्ने गराउने ।
(छ) बाल कल्याण गृह, बाल सुधार गृह, अनाथालय वा सुस्तमनस्थिति केन्द्रको कार्य प्रगतिको समीक्षा एवं मूल्यांकन गर्ने गराउने ।
(ज) बाल कल्याण गृह, बाल सुधार गृह, अनाथालय वा सुस्तमनस्थिति केन्द्रको संचालन सम्बन्धमा मन्त्रालय, केन्द्रीय बाल कल्याण समिति, जिल्ला बाल कल्याण समिति वा बाल कल्याण अधिकारीले दिएका सुझाव तथा निर्देशनको पालन गर्ने, गराउने ।
१७. बैठक सम्बन्धी कार्यविधि : व्यवस्थापन समितिको बैठक सम्बन्धी कार्यविधि व्यवस्थापन समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ ।

परिच्छेद ६ बाल कल्याण गृह प्रमुख र प्रशासक सम्बन्धी व्यवस्था

१८. बाल कल्याण गृह प्रमुख र प्रशासक : (१) मन्त्रालयले बाल कल्याण गृहको प्रमुख भई काम गर्न कुनै व्यक्तिलाई बाल कल्याण गृह प्रमुख, बाल सुधार गृह, अनाथालय वा सुस्तमनस्थिति केन्द्रको प्रमुख भई काम गर्न कुनै व्यक्तिलाई प्रशासकको पदमा नियुक्त गर्न वा तोक्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम नियुक्त वा तोकिएको बाल कल्याण गृह प्रमुख वा प्रशासकको पारिश्रमिक सुविधा तथा सेवाका अन्य शर्तहरु मन्त्रालयको स्वीकृति लिई केन्द्रीय बाल कल्याण समितिले तोकिदिए बमोजिम हुनेछ ।
१९. बाल कल्याण गृह प्रमुखको काम, कर्तव्य र अधिकार : ऐनमा उल्लेखित काम, कर्तव्य र अधिकारको अतिरिक्त बाल कल्याण गृह प्रमुखको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :
(क) बाल कल्याण गृहको दीर्घकालीन नीति र योजना तर्जुमा गर्न व्यवस्थापन समितिलाई सहयोग गर्ने ।
(ख) स्वीकृत नीति र योजना अनुरुप बाल कल्याण गृहको वार्षिक कार्यक्रम र बजेट तयार गरी व्यवस्थापन समितिको बैठकमा पेश गर्ने ।
(ग) व्यवस्थापन समितिको निर्णय एवं निर्देशनहरु कार्यान्वयन गर्ने गराउने ।
(घ) बाल कल्याण गृहको दैनिक कार्य संचालन गर्ने गराउने र त्यसको सुपरीवेक्षण गर्ने ।
(ङ) बाल कल्याण गृहको कार्यक्रमको अनुगमन तथा मूल्यांकन गर्ने गराउने र प्रगति विवरणहरु व्यवस्थापन समितिको बैठकमा पेश गर्ने ।
(च) बाल कल्याण गृहको आर्थिक कारोवार गर्ने र सोको लेखा ठीकसंग राख्ने, राख्न लगाउने ।
(छ) व्यवस्थापन समितिबाट प्रत्यायोजित एवं निर्देशित अन्य काम गर्ने गराउने ।
२०. प्रशासकको काम, कर्तव्य र अधिकार : प्रशासकको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :
(क) बाल सुधार गृह, अनाथालय वा सुस्तमनस्थिति केन्द्रको कार्य संचालन गर्दा बाल कल्याण गृहको संचालन सम्बन्धमा ऐनमा उल्लेखित बाल कल्याण गृह प्रमुखको काम, कर्तव्य र अधिकार प्रयोग गर्ने ।
(ख) बाल सुधार गृह, अनाथालय वा सुस्तमनस्थिति केन्द्रको दीर्घकालिन नीति र योजना तर्जुमा गर्न व्यवस्थापन समितिलाई सहयोग गर्ने ।
(ग) स्वीकृत नीति र योजना अनुरुप बाल सुधार गृह, अनाथालय वा सुस्तमनस्थिति केन्द्रको वार्षिक कार्यक्रम र बजेट तयार गरी व्यवस्थापन समितिको बैठकमा पेश गर्ने ।
(घ) व्यवस्थापन समितिको निर्णय एवं निर्देशनहरु कार्यान्वयन गर्ने गराउने ।
(ङ) बाल सुधार गृह, अनाथालय वा सुस्तमनस्थिति केन्द्रको दैनिक कार्य संचालन गर्ने गराउने र त्यसको सुपरीवेक्षण गर्ने ।
(च) बाल सुधार गृह, अनाथालय वा सुस्त मनस्थिति केन्द्रको वार्षिक कार्यक्रमको अनुगमन तथा मूल्यांकन गर्ने गराउने र प्रगति विवरणहरु व्यवस्थापन समितिको बैठकमा पेश गर्ने ।
(छ) बाल सुधार गृह, अनाथालय वा सुस्तमनस्थिति केन्द्रको आर्थिक कारोवार गर्ने र सोको लेखा ठीक दुरुस्त राख्न लगाउने ।
(ज) व्यवस्थापन समितिबाट प्रत्यायोजित एवं निर्देशित अन्य काम गर्ने, गराउने ।

परिच्छेद-७ बाल कल्याण सम्बन्धी व्यवस्था

२१. शिक्षा तालीम सुविधा आदिको व्यवस्था : (१) बाल कल्याण गृह, बाल सुधार गृह, अनाथालय तथा सुस्तमनस्थिति केन्द्रमा बस्ने बालकहरुलाई नियमित शिक्षाको अतिरिक्त व्यावसायिक शिक्षा तथा सीपमूलक तालिम समेत प्रदान गर्न सकिनेछ ।
(२) बाल कल्याण गृह, बाल सुधार गृह, अनाथालय तथा सुस्तमनस्थिति केन्द्रमा बस्ने बालकलाई तिनीहरुको शारीरिक अवस्था अनुकूल विभिन्न किसिमका खेलकूद, मनोरन्जन तथा सांस्कृतिक कार्यक्रम एवं अन्य अतिरिक्त क्रियाकलापमा समेत संलग्न गराउन सकिनेछ ।
(३) बाल कल्याण गृह, बाल सुधार गृह, अनाथालय तथा सुस्तमनस्थिति केन्द्रमा बस्ने बालकहरुलाई नियमित स्वास्थ्य परीक्षण र आवश्यकता अनुसार औषधोपचारको सुविधा प्रदान गर्न सकिनेछ ।
(४) बाल कल्याण गृह, बाल सुधार गृह, अनाथालय तथा सुस्तमनस्थिति केन्द्रमा बस्ने बालकहरुलाई जिल्ला बाल कल्याण समितिको सिफारिसमा केन्द्रीय बाल कल्याण समितिले निर्धारण गरे बमोजिमका खाने, लाउने र बस्ने सुविधाहरु प्रदान गर्न सकिनेछ ।
२२. बालकले पालन गर्नु पर्ने कुराहरु : बाल कल्याण गृह, बाल सुधार गृह, अनाथालय तथा सुस्तमनस्थिति केन्द्रमा बस्ने बालकहरुले देहायका कुराहरुको पालन गर्नु पर्नेछ :
(क) बाल कल्याण गृह, बाल सुधार गृह, अनाथालय तथा सुस्तमनस्थिति केन्द्रलाई आफ्नो भविष्य निर्माण गर्ने थलोको रुपमा मान्नु पर्ने ।
(ख) आफुलाई प्रदान गरिएको नियमित शिक्षा तथा तालिम हासिल गर्ने ।
(ग) खेलकूद, मनोरन्जन तथा सांस्कृतिक कार्यक्रम एवं अन्य अतिरिक्त क्रियाकलापमा संलग्न हुने ।
(घ) बालक तथा त्यहाँ कार्यरत सबै कर्मचारीहरुलाई आफ्नो पारिवारिक सदस्य सम्झने, सबैसंग मित्रभावको व्यवहार गर्ने र एक अर्कालाई सहयोग गर्ने ।
(ङ) बाल कल्याण गृह, बाल सुधार गृह, अनाथालय तथा सुस्तमनस्थिति केन्द्रमा हल्ला, हुल हुज्जत आदि गर्ने वा अनुशासनहीन हुने कुनै किसिमको अवाञ्छित कार्य नगर्ने र त्यस्तो कार्य गर्न अरुलाई पनि दुरुत्साहित नगर्ने ।
(च) आफुलाई दैनिक प्रदान गरिने दुध, चिया, खाजा, भोजन आदि बाहेक अन्य कुनै चीज बाहिरबाट ल्याइ नखाने ।
(छ) धुम्रपान, लागू पदार्थ र मादक पदार्थको सेवन नगर्ने ।
(ज) बाल कल्याण गृह प्रमुख वा प्रशासकको अनुमति नलिई आफु रहेको ठाउँबाट बाहिर नजाने ।
(झ) सादा जीवन उच्च विचारको आदर्श पालन गर्ने र स्वाबलम्बनको लागि बाल कल्याण गृह प्रमुख वा प्रशासकले दिएको आदेश तथा निर्देशन पालन गर्ने ।
२३. काममा प्राथमिकता दिनु पर्ने : नेपाल सरकार र नेपाल सरकारको पूर्ण वा अधिकांश स्वामित्वमा रहेको संगठित संस्थाहरुले बाल कल्याण गृह, बाल सुधार गृह, अनाथालय तथा सुस्तमनस्थिति केन्द्रमा बसेका बालकहरुको शिक्षा, तालिम र शारीरिक स्थिति अनुकूलको काममा तिनीहरुलाई प्राथमिकता दिनु पर्नेछ ।
२४. बालकहरुको व्यक्तिगत विवरण राख्नु पर्ने : बाल कल्याण गृह प्रमुखले बाल कल्याण गृहमा बस्ने र प्रशासकले बाल सुधार गृह, अनाथालय तथा सुस्तमनस्थिति केन्द्रमा बस्ने बालकहरुको व्यक्तिगत विवरण अनुसूची – १ बमोजिमको ढाँचामा तयार गरी राख्नु पर्नेछ ।
२५. वार्षिक प्रतिवेदन पठाउनु पर्ने : बाल कल्याण गृह प्रमुखले बाल कल्याण गृहको र प्रशासकले बाल सुधार गृह, अनाथालय तथा सुस्तमनस्थिति केन्द्रको वर्षभरिको सम्पूर्ण क्रियाकलाप देखिने गरी अनुसूची २ बमोजिमको ढाँचामा प्रत्येक वर्ष बैशाख मसान्तभित्र जिल्ला बाल कल्याण समिति र बाल कल्याण अधिकारी समक्ष प्रतिवेदन पठाउनु पर्नेछ ।
२६. बाल कल्याण सम्बन्धी व्यवस्था लागू हुने : यस परिच्छेदमा उल्लेखित बाल कल्याण सम्बन्धी व्यवस्थाहरु कुनै व्यक्ति वा संस्थाद्वारा संचालित बाल कल्याण गृह, बाल सुधार गृह, अनाथालय तथा सुस्तमनस्थिति केन्द्रको हकमा पनि लागू हुनेछ ।

परिच्छेद-८ विविध

२७. श्रमिकको रुपमा काम गर्ने बालकको विवरण दिनु पर्ने : ऐनको दफा १७ को उपदफा (३) बमोजिम श्रमिकको रुपमा काममा लगाउन हुने बालकलाई श्रमिकको रुपमा काममा लगाउने व्यक्ति वा संस्थाले त्यसको विवरण अनुसूची ३ बमोजिमको ढाँचामा तयार गरी जिल्ला बाल
कल्याण समिति समक्ष पठाउनु पर्नेछ । जिल्ला बाल कल्याण समितिले त्यसरी प्राप्त हुन आएको विवरणको एक प्रति सम्बन्धित श्रम कार्यालयमा पठाउनु पर्नेछ ।

२८. निरीक्षण गर्दा विचार गर्नु पर्ने कुराहरु : (१) ऐनको दफा ४४ बमोजिम बाल कल्याण गृह, बाल सुधार गृह, अनाथालय तथा सुस्तमनस्थिति केन्द्रको निरीक्षण गर्ने व्यक्तिले देहायका कुराहरुको समेत जाँचबुझ गर्नु पर्नेछ :
(क) बालकहरुलाई नियमित रुपले शिक्षा तथा तालिम प्रदान गरिएको छ छैन ।
(ख) बालकहरुलाई यस नियमावली बमोजिमको सुविधा प्रदान गरिएको छ छैन ।
(ग) बालकहरुलाई खेलकूद मनोरन्जन तथा सांस्कृतिक कार्यक्रम लगायत अन्य क्रियाकलापमा संलग्न गराइएको छ छैन ।
(घ) बाल कल्याण गृह, बाल सुधार गृह, अनाथालय तथा सुस्तमनस्थिति केन्द्रमा कुनै अवान्छित वा अनुशासनहीन कार्य भए गरेको छ छैन ।
(ङ) व्यवस्थापन पक्ष तथा बालकहरुले ऐन, प्रचलित कानून वा यस नियमावली बमोजिम पालन गर्नु पर्ने कुराहरु पालन गरेको छ छैन ।
(२) उपनियम (१) बमोजिम निरीक्षण गर्ने व्यक्तिले निरीक्षण गर्दा आफुले देखेका कुराहरु समस्या र त्यसको समाधानको कुनै सुझाव भएमा सो समेत उल्लेख गरी निरीक्षण प्रतिवेदन तयार गरी केन्द्रीय बाल कल्याण समिति, जिल्ला बाल कल्याण समिति र सम्बन्धित व्यवस्थापन
समितिमा पठाउनु पर्नेछ ।
२९. बालकको नाम राख्ने र जन्म दर्ता गर्ने : ऐनको दफा ३ बमोजिम बालकको नाम राखिदिने बाबु, आमा, परिवारका अन्य सदस्य वा कुनै व्यक्ति वा संस्थाले प्रचलित कानून बमोजिम पञ्जिकाधिकारीको कार्यालयमा बालकको जन्म दर्ता गराउनु पर्नेछ ।
३०. भेटघाटको सुविधा : (१) ऐनको दफा ८ बमोजिम बालकलाई बाबु, आमासंग भेटघाट गर्न दिने पटक वा साथ बस्न दिने अवधिको सम्बन्धमा बाबु र आमाको बीच मतैक्य हुन नसकेमा वा बाबु वा आमासंग भेटघाट गर्न वा बस्न दिंदा बालकको हितको प्रतिकूल हुने भई त्यस्तो भेटघाट वा साथ बस्नबाट रोक लगाउन चाहने बाबु वा आमाले त्यसको कारण खोली बाल अदालत वा सो अदालत गठन नभएसम्म सम्बन्धित जिल्ला अदालतमा निवेदन दिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम कुनै निवेदन परेमा अदालतले सो सम्बन्धमा जाँचबुझ गरी बालकलाई बाबु आमासंग भेटघाट गर्न दिनु पर्ने पटक वा साथ बस्न दिन पर्ने अवधि तोकिदिन वा बाबु वा आमासंग भेटघाट गर्न वा साथ बस्न दिन नपर्ने वा त्यसको विकल्प स्वरुप अन्य कुनै मनासिव आदेश दिन सक्नेछ ।
(३) उपनियम (२) बमोजिम अदालतबाट भएको आदेश सम्बन्धित बाबु वा आमाले अनिवार्य रुपले पालन गर्नु पर्नेछ ।
३१. कार्यालय र कर्मचारीको व्यवस्था : (१) केन्द्रीय बाल कल्याण समिति र जिल्ला बाल कल्याण समितिको कार्यालय र कर्मचारीको व्यवस्था मन्त्रालयले गर्नेछ ।
(२) उपनियम (१) बमोजिमका कर्मचारीहरुको पारिश्रमिक सेवाको शर्त तथा सुविधा सम्बन्धी व्यवस्था मन्त्रालयको स्वीकृति लिई केन्द्रीय बाल कल्याण समितिले तोकिदिए बमोजिम हुनेछ ।
३२. अनुसूचीमा हेरफेर वा थपघट गर्ने अधिकार : नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी आवश्यकतानुसार अनुसूचीमा हेरफेर वा थपघट गर्न सक्नेछ ।

अनुसूची-१ बालकको व्यक्तिगत विवरण       

(नियम २४ संग सम्बन्धित)
बालकको व्यक्तिगत विवरण

बालकको
फोटो

(क) १. बालकको पूरा नाम :
२. बालकको जन्म मिति :
साल …………………. महिना ……………….. गते ………..
३. बालकको जन्मेको ठाउँ :
जिल्ला ………………………..
गा.वि.स.। न.पा. ………………………..
वडा नं. …………… टोल ……………………
अस्पतालमा जन्मेको भए :
(क) अस्पतालको नाम …………………………………
(ख) ठेगाना …………………………………..
४. बालकको स्थायी ठेगाना : जिल्ला ………………………
गा.वि.स.। न.पा. …………………………….. वडा नं. ………
टोल …………………………
५. धर्म ………………………….
६. बालकको स्वास्थ्य सम्बन्धी स्थिति :
(क) वजन ………. (ख) उचाई ……….
(ग) डाक्टरको साधारण स्वास्थ्य रिपोर्ट ………………………..
७. बालकको शैक्षिक स्थिति : ………………………………
कुनै विद्यालयमा पढेको भए :
(क) विद्यालयको नाम, ठेगाना ……………………………
(ख) कक्षा ……………………
(ख) बालकको बाबु सम्बन्धी विवरण :
१. बालकको बाबुको :
(क) पूरा नाम ………………………………….
(ख) उमेर ………………..

(ग) शारीरिक अवस्था ………………..
(घ) ठेगाना :
जिल्ला …………………..
गा.वि.स.। न.पा. …………… वडा नं. ……… टोल ………………..
२. बालकको बाबु जीवित छन् /छैनन्  : ……………………..
३. बालकको बाबुको व्यवसाय …………………………..
४. बालकको बाबु जीवित नरहेकोमा
(क) मृत्यु भएको साल ……………………
(ख) स्थान ……………… (ग) कारण ………………….
५. बालकलाई मृतक बाबुले छोडी भएको चल अचल सम्पत्तिको विवरण :
(क) चल सम्पत्ति ………………….
(ख) अचल सम्पत्ति ………………..
(ग) बालकको आमा सम्बन्धी विवरण :
१. बालकको आमाको :
(क) पूरा नाम ………………………………….
(ख) उमेर ………………..
(ग) शारीरिक अवस्था ………………..
(घ) ठेगाना :
जिल्ला ………………….. गा.वि.स.। न.पा. ……………
वडा नं. ……… टोल ………………………..
२. बालकको आमा जीवित छन्/छैनन् : ……………………..
३. बालकको आमाको व्यवसाय …………………………..
४. बालकको आमा जीवित नरहेकोमा :
(क) मृत्यु भएको साल ……………………
(ख) स्थान ………………
(ग) कारण ………………….
५. बालकलाई मृतक आमाले छोडी भएको चल अचल सम्पत्तिको विवरण :
(क) चल सम्पत्ति ………………….
(ख) अचल सम्पत्ति ………………..
(घ) दाजुभाई दिदी बहिनी आदि नातेदार सम्बन्धित विवरण :
क्र.सं. नाम थर उमेर नाता व्यवसाय ठेगाना
१.
२.
३.
४.
५.
६. बालकको अन्य पारिवारिक पृष्ठभूमि :
(ङ) बालकलाई भर्ना गर्न ल्याउने व्यक्ति वा संघ संस्थाको विवरण ः
१. (क) पूरा नाम :
(ख) व्यक्ति भए उमेर :
(ग) ठेगाना :
जिल्ला ……………… गा.वि.स./न.पा. …………………………. वडा
नं. …………. टोल …………………………
(घ) व्यवसायको विवरण ………………………….
(ङ) व्यावसायिक ठेगाना ………………………….
(च) भर्ना गर्न ल्याउने व्यक्तिको बालकसंगको सम्बन्ध :
२. बालक आफैं भर्ना हुन आएको भए सोको विवरण :
३. माथि उल्लेखित कुनै व्यहोरा झुठा ठहरिए बालकलाई फिर्ता लैजानेछु भनी सही गर्ने
व्यक्ति वा संस्थाको :
पूरा नाम :
हस्ताक्षर :
(औंठाको छाप वा संघ संस्थाको छाप)
(च) बालकलाई भर्ना गर्न सिफारिस गर्ने व्यक्ति वा संस्थाको विवरण :
१. भर्ना गर्न ल्याउने व्यक्तिको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी :
२. कुनै निकायले सिफारिस गरेको भए :
(क) स्थानीय प्रशासन
(ख) स्थानीय प्रहरी
(ग) संघ संस्था
३. निवेदन दिएकोमा निवेदनको मिति र निवेदन दिने व्यक्ति :
४. अन्य कागजपत्र केही भए :
(छ) बालकलाई भर्ना गरेको मिति :
(ज) बालक भर्ना गर्ने कर्मचारीको :
१. हस्ताक्षर :
२. पूरा नाम :
३. पद :
४. श्रेणी :
(झ) बालकलाई धर्मपुत्र÷धर्मपुत्री गरी लैजाने व्यक्तिको :
१. पूरा नाम :
२. ठेगाना :
३. नागरिकताको प्रमाणपत्र वा पासपोर्ट नम्बर :
४. व्यवसाय :
५. हस्ताक्षर :
(ञ) धर्मपुत्र वा धर्मपुत्री सम्बन्धी विवरण :
१. भर्ना गर्न ल्याइएका बालकलाई कसैले प्रचलित कानून बमोजिम धर्मपुत्र/धर्मपुत्री
बनाउन खोजेमा मेरो स्वीकृति छ । छैन
२. धर्मपुत्र/धर्मपुत्री सम्बन्धमा कुनै किसिमको कानूनी विसंगति भएमा स्वयं जिम्मेवार रहन
राजी खुशीले मन्जुर गर्दछु ।
(क) हस्ताक्षर :
(ख) पूरा नाम :
(ग) औंठाको छाप : दायाँ बायाँ
(घ) ठेगाना :
जिल्ला …………………… गा.वि.स./न.पा. ……………..
वडा नं. ……………. टोल …………………..
(ट) बालकले बाल कल्याण गृह, बाल सुधार गृह, अनाथालय वा सुस्तमनस्थिति केन्द्र छोडेर गएको ः
१. मिति :
२. कारण :
३. छोडेर जाँदा निजको उमेर :
४. छोडेर कहाँ जाने वा कुन व्यवसाय लिने हो सोको विवरण :
हस्ताक्षर :
नाम :
बाल कल्याण गृह प्रमुख/प्रशासक

अनुसूची-२ वार्षिक कृयाकलापको प्रतिवेदन

(नियम २५ संग सम्बन्धित)
वार्षिक कृयाकलापको प्रतिवेदन

१. विगत वर्षमा गरेको कृयाकलाप गतिविधि र कार्यक्रम सम्बन्धी विवरण :
(क) शैक्षिक गतिविधि :
(ख) तालिम :
(ग) खेलकूद :
(घ) सांस्कृतक :
(ङ) अन्य गतिविधि र कार्यक्रम :
२. बालकको संख्यात्मक विवरण :
(क) ५ वर्षसम्मको बालकको संख्या :
(ख) १० वर्षसम्मको बालकको संख्या :
(ग) १० वर्ष भन्दा माथिको बालकको संख्या :
(घ) जम्मा बालकको संख्या :
३. विगत वर्षमा भर्ना भएका बालकको संख्यात्मक विवरण :
(क) ५ वर्षसम्मका बालकको संख्या :
(ख) १० वर्षसम्मका बालकको संख्या :
(ग) १० वर्षभन्दा माथिको बालकको संख्या :
(घ) जम्मा बालकको संख्या :
४. शैक्षिक विवरण
(क) कक्षा ५ सम्म अध्ययन गर्ने बालकको संख्या :
(ख) कक्षा १० सम्म अध्ययन गर्ने बालकको संख्या :
(ग) कक्षा १० भन्दा माथि अध्ययन गर्ने बालकको संख्या :

७. समस्या र सुझावहरु :
हस्ताक्षर :
नाम :
बाल कल्याण गृह प्रमुख प्रशासक

अनुसूची ३ श्रमिकको रुपमा काममा लगाइएका बालकको विवरण

(नियम २७ संग सम्बन्धित)
श्रमिकको रुपमा काममा लगाइएका बालकको विवरण

१. बालकलाई काममा लगाउने व्यक्ति वा संस्थाको नाम :
२. ठेगाना :
३. काममा लगाइएको वा लगाउने भएको मिति :
४. कामको किसिम वा विवरण :
५. दैनिक काम गर्नु पर्ने समय :
६. हप्ताभर काम गर्नु पर्ने समय (हप्ताभर काम गर्नु पर्ने घण्टामा उल्लेख) :
७. हप्तामा पाउने बिदाको बार :
८. पारिश्रमिक अंक :
९. अन्य सुविधाहरु :
१०. बालकको फोटो :
११. बालकको नाम :
१२. ठेगाना :
१३. उमेर :
१४. योग्यता :
१५. बाबु, आमा वा संरक्षकको नाम :
१६. ठेगाना :
विवरण दिने व्यक्तिको :
हस्ताक्षर :
नाम :
मिति :
संस्थाको छाप :