Skip to contentSkip to left sidebar Skip to footer

नेपाल मेडिकल काउन्सिल नियमावली, २०२४

नेपाल राजपत्रमा प्रकाशित मिति

नेपाल राजपत्रमा प्रकाशित मिति
२०२४-९-१७
संशोधन

१. नेपाल मेडिकल काउन्सिल (पहिलो संशोधन) नियमावली, २०४७ २०४७-७-१२
२. नेपाल मेडिकल काउन्सिल (दोस्रो संशोधन) नियमावली, २०५५ २०५५-११-१७
३. नेपाल मेडिकल काउन्सिल (तेस्रो संशोधन) नियमावली, २०५७ २०५७-११-१८
४. नेपाल मेडिकल काउन्सिल (चौथो संशोधन) नियमावली, २०७० २०७०-१-३०

नेपाल सरकारले नेपाल मेडिकल काउन्सिल ऐन, २०२० को दफा ३२ ले दिएको अधिकार र त्यस सम्बन्धमा प्राप्त अरु सबै अधिकारको प्रयोग गरी देहायको नियमहरू बनाएको छ ।

परिच्छेद–१ प्रारम्भिक

परिच्छेद–१
प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भ ः

(१) यी नियमहरूको नाम “नेपाल मेडिकल काउन्सिल नियमावली, २०२४” रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।

२. परिभाषा ः

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस नियमावलीमा –
(क) “ऐन” भन्नाले नेपाल मेडिकल काउन्सिल ऐन, २०२० सम्झनु पर्छ ।
(ख) “दर्ता” भन्नाले ऐन बमोजिम चिकित्सकहरूको नाम दर्ता गरिने रजिष्टरमा गरिने दर्तालाई सम्झनु पर्छ ।
(ग) “स्थायी दर्ता” भन्नाले यस नियमावली बमोजिम गरिने स्थायी दर्ता सम्झनु पर्छ ।

(घ) “अस्थायी दर्ता” भन्नाले ऐनको दफा १४ को उपदफा (२) बमोजिम गरिने अस्थायी दर्ता सम्झनु पर्छ ।
(ङ) “परिक्षण दर्ता” भन्नाले एक वर्षको अवधिको लागि गरिने दर्ता सम्झनु पर्छ ।
(च) “विशेषज्ञ दर्ता” भन्नाले आधुनिक चिकित्साशास्त्रमा स्नातकोत्तर डिग्री, डिप्लोमा उपाधि प्राप्त व्यक्तिहरूको दर्ता सम्झनु पर्छ ।

(छ) “योग्यता” भन्नाले नेपाल सरकारले रजिष्टरमा नाम दर्ता गर्न ऐनको अनुसूची बमोजिम मान्यता दिएको डिग्री, डिप्लोमा, सर्टिफिकेट, लाईसेन्स वा उपाधिहरू सम्झनु पर्छ ।
(ज) ……………
(झ) “विश्वविद्यालय” भन्नाले प्रचलित कानून बमोजिम स्थापना तथा सञ्चालन भै मेडिकल फेकल्टी भएको विश्वविद्यालय वा सो सरहको शिक्षण संस्था सम्झनु पर्छ ।
(ञ) “फेकल्टी” भन्नाले चिकित्साशास्त्र विषयको कोर्ष सञ्चालन गर्न प्रस्तावित विषयका सम्पूर्ण विभाग वा त्यस्ता विषयसँग सम्बन्धित विज्ञहरू रहेका शैक्षिक नीति निर्माणका लागि खडा गरिएको निकाय सम्झनु पर्छ

परिच्छेद–२ चिकित्सकहरूको नाम रजिष्टरमा दर्ता गर्ने सम्बन्धी व्यवस्था

३. दरखास्त दिनु पर्नेः

(१) ऐन बमोजिम योग्यता प्राप्त चिकित्सकले आफ्नो नाम दर्ता गराउन चाहेमा काउन्सिल समक्ष अनुसूची १ बमोजिमको दरखास्त दिनु पर्छ ।

(२) उपनियम (१) बमोजिम दरखास्त दिंदा देहायमा लेखिएमध्ये कुन किसिमको दर्ता गराउन चाहेको हो सो समेत लेख्नु पर्दछ–

(क) स्थायी दर्ता,
(ख) अस्थायी दर्ता,
(ग) परीक्षण दर्ता, वा
(घ) विशेषज्ञ दर्ता ।

(३) उपनियम (१) बमोजिम दरखास्त दिंदा देहाय बमोजिमका प्रमाणपत्रहरू समेत नत्थी गरी दरखास्त दस्तुर साथ दाखिल गर्नु पर्छ–

(क) जुन डिग्री डिप्लोमाको आधारमा दर्ता गराउन चाहेको हो त्यसको सक्कल प्रमाणपत्र र काउन्सिलको सदस्य वा दर्तावाला त्यस्तो
चिकित्सकहरूमध्ये काउन्सिलले तोकेको चिकित्सकले प्रमाणित गरिदिएको प्रतिलिपि त्यस्तो सक्कल प्रमाणपत्र नाम दर्ता भएपछि वा दर्ता नहुने निर्णय भएपछि फिर्ता गरिनेछ ।

(ख) दरखास्त दिनु भन्दा ६ महिना अघि सम्ममा लिइएको पासपोर्ट साइजको दरखास्तवालाको फोटो ३ प्रति,
(ग) नागरिकताको प्रमाणपत्र र अन्य प्रमाणपत्रको प्रतिलिपिहरू,
(घ) पेशा प्रति बफादार रहने गरी दरखास्तवालाले हस्ताक्षर गरेको अनुसूची– २ बमोजिमको प्रतिज्ञापत्र

(ङ) एम.बी.बी.एस. वा बी.डी.एस. वा सो सरहको कोर्षमा भर्ना लिंदाको समयमा निजले पास गरेको डिग्रीको सक्कल र काउन्सिलका सदस्य वा दर्तावाला चिकित्सकहरूमध्ये काउन्सिलले तोकेको चिकित्सकले प्रमाणित गरिदिएको एक प्रति प्रतिलिपि ।

(च) काउन्सिलले तोकेका अन्य कागजात ।

४. स्थायी दर्ताः

(१) नेपालभित्र स्थायी रूपले आधुनिक चिकित्साको व्यवसायमा लाग्न चाहने चिकित्सकले स्थायी दर्ता गराउन अनुसूची–९ मा तोकिए बमोजिमको दस्तुर साथ दरखास्त दिनु पर्छ ।

(२) मेडिकल काउन्सिलको गठन हुनु भन्दा पहिले गठन भएको नेपाल काउन्सिल प्रिपरेटरी कमिटीले गरेको दर्तालाई अन्यथा बदर गरिएमा बाहेक यस नियम बमोजिम गरिएको स्थायी दर्ता मानिनेछ ।

५. अस्थायी दर्ताः

(१) आधारभूत शैक्षिक योग्यता र काउन्सिलले तोके बमोजिमको प्रिरजिष्ट्रेशन तालिम वा इन्र्टर्नशीप वा हाउस जब पूरा गरेको नेपाली नागरिकले अस्थायी दर्ता गराउनको लागि काउन्सिल समक्ष निवेदन दिन सक्नेछ ।

(२) अस्थायी दर्ता सम्बन्धी दस्तुर अनुसूची–९ मा तोकिए बमोजिम हुनेछ ।

(३) अस्थायी दर्ता सम्बन्धी अन्य व्यवस्था काउन्सिलले तोके बमोजिम हुनेछ ।

६. परीक्षण दर्ताः

(१) काउन्सिलले तोके बमोजिमको योग्यता प्राप्त गरी काउन्सिलले तोके बमोजिमको प्रिरजिष्ट्रेशन तालिम, इन्र्टर्नशीप वा हाउस जब पूरा गरी नसकेको अवस्थामा पनि काउन्सिलको परीक्षण दर्ता किताबमा आफ्नो नाम दर्ता गराउनु पर्नेछ ।

(२) परीक्षण दर्ता दस्तुर अनुसूची–९ मा तोकिए बमोजिम हुनेछ ।

(३) ………….

(४) परीक्षण दर्तावालाले काउन्सिलले तोके बमोजिमको काम तोकेको स्थानमा मात्र गर्न पाउनेछ ।

७. विशेषज्ञ दर्ताः

(१) यस नियमावली बमोजिम काउन्सिलमा स्थायी दर्ता भएको व्यक्तिले काउन्सिलले तोके बमोजिमको योग्यता हासिल गरेमा मात्र त्यस्तो व्यक्तिको नाम काउन्सिलमा विशेषज्ञको रूपमा दर्ता गरिनेछ ।

(२) विशेषज्ञ दर्ता दस्तुर, वार्षिक शुल्क नवीकरण दस्तुर र विलम्ब दस्तुर अनुसूची–९ मा तोकिए बमोजिम हुनेछ ।

परिच्छेद–३ काउन्सिलको बैठक र त्यस सम्बन्धी अन्य व्यवस्था

८. काउन्सिलको बैठक र त्यसको कार्यविधिः

(१) अध्यक्षले काउन्सिलको बैठक बोलाउने छ ।
(२) काउन्सिलकोे बैठक प्रत्येक वर्ष साधारणतया ६ पटक काठमाडौंमा हुनेछ ।
(३) रजिष्ट्रारको बैठक बस्ने कम्तीमा ७ दिन अगावै कार्यसूची (एजेण्डा) सहितको सूचना पठाउनेछ ।
(४) अध्यक्षको अनुपस्थितिमा उपाध्यक्षले काउन्सिलको बैठकको अध्यक्षता ग्रहण गर्नेछ र अध्यक्ष वा उपाध्यक्ष दुवैको अनुपस्थितिमा उपस्थित सदस्यहरूको बहुमतले छानिएको व्यक्तिले बैठकको अध्यक्षता ग्रहण गर्नेछ ।

(५) काउन्सिलको सम्पूर्ण सदस्य संख्याको पचास प्रतिशत सदस्यहरू उपस्थित भएमा गणपूरक संख्या पुगेको मानिनेछ ।
(६) अध्यक्षले आवश्यक ठानेमा विशेष बैठक बोलाउन सक्नेछ । विशेष बैठक बोलाउन परे कम्तिमा  चौबिस घण्टाको सूचना दिनुपर्नेछ र त्यस्तो बैठकमा जुन कुराको निमित्त बैठक बोलाइएको हो सो विषय बाहेक अरु कुराको छलफल हुन सक्ने छैन ।

(६क) काउन्सिलको कूल सदस्य संख्याको पच्चिस प्रतिशत सदस्यले काउन्सिलको विशेष बैठक बोलाईयोस् भनी छलफलको विषय समेत उल्लेख गरी अध्यक्ष समक्ष हस्ताक्षर सहितको निवेदन दिएमा त्यस्तो निवेदन परेको मितिले सात दिन भित्र अध्यक्षले काउन्सिलको विशेष बैठक बोलाउनु पर्नेछ ।

(६ख) उपनियम (६क) बमोजिमको म्याद भित्र अध्यक्षले काउन्सिलको बैठक नबोलाएमा त्यस्तो म्याद समाप्त भएको मितिले सात दिन भित्र उपाध्यक्षले काउन्सिलको विशेष बैठक बोलाउनु पर्नेछ र उपाध्यक्षले पनि काउन्सिलको विशेष बैठक नबोलाएमा त्यस्तो म्याद समाप्त भएको मितिले सात दिन भित्र रजिष्ट्रारले काउन्सिलको विशेष बैठक बोलाउनु पर्नेछ ।

(७) कार्यसूचीमा समावेश नभएको कुनै विषय माथि विचार विमर्श गराउन चाहने सदस्यले बैठक बस्ने कमसेकम ३ दिन अगाडि रजिष्ट्रार छेउ लिखित सूचना दिनु पर्नेछ ।

(८) रजिष्ट्रारले उपनियम (७) बमोजिम समावेश गरिएको संशोधित कार्यसूची बैठक बस्ने २ दिन अगावै सबै सदस्यहरू समक्ष पठाउनेछ ।
तर काउन्सिलका सबै सदस्यहरूको सर्वसम्मतिले कुनै महत्वपूर्ण विषय माथि विचार विमर्श गराउनका निमित्त बैठकको कार्यसूचीमा समावेश गराउन चाहेमा जतिसुकै ढिलो गरी सूचना प्राप्त भए पनि सो विषयलाई छलफलमा राख्न अध्यक्षले अनुमति दिन सक्नेछ ।

(९) कुनै बैठकको गणपूरक संख्या बैठकको निमित्त तोकिएको समय भन्दा आधा घण्टा पछिसम्ममा पनि पूरा नभएमा सो बैठक स्थगित हुनेछ र सो बैठक फेरि अध्यक्षले तोकिदिएको स्थान र समयमा स्थगित भएको २४ घण्टा पछि जुनसुकै बेला बस्न सक्नेछ र यसरी पुनः बसेको बैठकलाई गणपूरक संख्याको आवश्यकता पर्ने छैन ।

(१०) स्थगित गरी पुनः बोलाइएको बैठकको सूचना रजिष्ट्रारले अनुपस्थित सदस्यहरूलाई पनि दिनेछ ।
(११) कुनै विषयमा एक मत नभएमा मतदान लिइने छ र बहुमतको निर्णय मान्य हुनेछ ।
(१२) मतदान लिंदा हात उठाएर वा मत दिने व्यक्तिहरू पक्ष विपक्षमा बाँडिएर वा गुप्त मतदानद्वारा लिने भन्ने कुराको निर्णय अध्यक्षले गर्नेछ र मतदानको परिणाम अध्यक्षले सुनाउने छ ।

तर काउन्सिलको बैठकमा उपस्थित बहुमत सदस्यले जुन प्रणालीको माग गर्ने छन् त्यही बमोजिमको प्रणाली नै अपनाइने छ ।

(१३) कुनै प्रस्तावलाई स्वीकृति गर्ने, अस्वीकृत गर्ने, संशोधन सहित स्वीकृत गर्ने वा स्थगित गर्ने अधिकार काउन्सिललाई हुनेछ ।
(१४) अध्यक्षले आवश्यकता अनुसार सदस्यहरूलाई बैठकमा बोल्न समय तोकिदिनेछ ।
(१५) बैठकमा छलफल भई निर्णय भएका कुराहरू रजिष्ट्रारले बैठक बसेको अठ्चालीस घण्टा भित्र सबै सदस्यहरूको जानकारीको लागि पठाउनु पर्नेछ ।

(१५क) उपनियम (१५) बमोजिम प्राप्त हुन आएको निर्णयको सम्बन्धमा सदस्यहरूको कुनै प्रतिक्रिया भए सो प्राप्त भएको चौबिस घण्टा भित्र रजिष्ट्रार समक्ष आफ्नो प्रतिक्रिया पठाउनु पर्नेछ ।

(१५ख) उपनियम (१५क) बमोजिमको म्याद भित्र सदस्यहरूबाट कुनै प्रतिक्रिया प्राप्त नभए बैठकमा छलफल भई निर्णय भएका कुराहरू रजिष्ट्रारले निर्णय पुस्तिकामा जनाई अध्यक्षको हस्ताक्षरबाट प्रमाणित गराउनु पर्नेछ ।

(१५ग) उपनियम (१५क) बमोजिमको म्याद भित्र सदस्यहरूबाट कुनै प्रतिक्रिया प्राप्त भए रजिष्ट्रारले त्यस्तो प्रतिक्रियाको सम्बन्धमा अध्यक्षसँग आवश्यक परामर्श गरी अध्यक्षको निर्देशानुसार गर्नु पर्नेछ ।

(१५घ) काउन्सिलले अत्यन्त जरुरी भनि निर्णय गरेका विषयहरूको सम्बन्धमा उपनियम १५, (१५क), (१५ख) र (१५ग) बमोजिमको कार्यविधि अपनाउनु पर्ने छैन ।

(१६) काउन्सिल सम्बन्धी सबै कागजपत्र रजिष्ट्रार जिम्मा गोप्य रहने छ । काउन्सिलका सदस्यले त्यस्तो विवरण हेर्न वा सार्न सक्नेछ ।
(१७) रजिष्ट्रारले काउन्सिलको नीति निर्देशन भन्दा बाहिर गई काम गरेमा वा काउन्सिलको हानी नोक्सानी हुने काम जानाजानी गरेमा वा गर्न प्रयत्न गरेमा वा आफ्नो ओहदाको दुरुपयोग गरी अनुचित लाभ उठाएमा वा सो गर्न प्रयत्न गरेमा वा काउन्सिलको हित विरुद्ध हुने गरी प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कुनै काम गरेमा वा अरु कुनै अनियमित काम गरेमा निजलाई बर्खास्त गर्न वा अरु कुनै सजाय गर्नका लागि काउन्सिलले आफ्नु निष्कर्षको पूर्ण विवरण र आधारहरू खुलाई नेपाल सरकार छेउ प्रतिवेदन पेश गर्न सक्नेछ । नेपाल सरकारले रजिष्ट्रार माथि लागेको कुनै आरोपको जाँचबुझ गराउन निमित्त निजलाई सस्पेण्ड गर्न सक्नेछ ।

९. ………….

१०. समितिको गठन र अधिकार प्रत्यायोजनः

(१) ऐनको दफा ११ बमोजिम काउन्सिलले देहाय बमोजिमको समिति गठन गरी त्यसरी गठन भएको समितिलाई ऐन तथा यस नियमावली बमोजिम काउन्सिले आफूलाई प्राप्त अधिकार आफ्नो रेखदेख र निरीक्षणमा रहने गरी प्रत्यायोजन गर्न सक्नेछ ः–

(क) दर्ता समिति,

(ख) योग्यता निर्धारण समिति,
(ग) व्यावसायिक आचरण तथा स्वास्थ्य समिति,
(घ) शिक्षा समिति ।

(२) उपनियम (१) बमोजिमका समितिका अतिरिक्त काउन्सिलले आवश्यक सम्झेमा अन्य दुईवटा थप समितिको गठन गर्न सक्नेछ ।
(३) उपनियम (१) र (२) बमोजिम गठित समितिको काम, कर्तव्य र अधिकार विनियममा व्यवस्था भए बमोजिम हुनेछ ।

(४) उपनियम (१) बमोजिम गठित समितिमा काउन्सिलले आवश्यकता अनुसार दन्त चिकित्सकको प्रतिनिधित्व हुने गरी कम्तीमा तीनदेखि पाँच जनासम्म सदस्यहरू तोक्न सक्नेछ ।

११. पारिश्रमिकः नेपाल सरकारले काउन्सिलको सिफारिसमा काउन्सिलका अध्यक्ष, उपाध्यक्ष र सदस्यहरुको पारिश्रमिक तोकिदिनेछ ।
१२. …………….
१३. काउन्सिलका कर्मचारीहरूको सेवा शर्तः रजिष्ट्रार र काउन्सिलका अरु कर्मचारीहरूको सेवा शर्त, तलब भत्ता काउन्सिलले विनियम बनाई तोकिदिए बमोजिम हुनेछ ।

१३क. अध्यक्षको काम, कर्तव्य र अधिकारःऐन तथा यस नियमावलीमा लेखिएका व्यवस्थाहरूको अधिनमा रही अध्यक्षको काम, कर्तव्य र अधिकार देहाय बमोजिमको हुनेछः–

(क) काउन्सिलको बैठकमा छलफल गरिने विषयहरूको प्राथमिकता निर्धारण गर्ने,
(ख) काउन्सिलद्वारा सञ्चालित योजना तथा कार्यक्रमहरूको अनुगमन तथा मूल्याङ्कन गर्ने, गराउने र तत्सम्बन्धमा आवश्यक निर्देशन दिने,
(ग) काउन्सिलको काम कारवाही व्यवस्थित, प्रभावकारी र सुचारु रुपबाट सञ्चालन गर्ने,
(घ) काउन्सिलले निर्देशन दिए बमोजिमको अन्य कार्यहरू गर्ने, गराउने ।

१३ख. उपाध्यक्षको काम, कर्तव्य र अधिकारः ऐन तथा यस नियमावलीमा लेखिएका व्यवस्थाहरूको अधीनमा रही अध्यक्षको अनुपस्थितिमा अध्यक्षले प्रयोग गरी आएको काम, कर्तव्य र अधिकारको प्रयोग उपाध्यक्षले गर्नेछ ।

१४. रजिष्ट्रारको काम र कर्तव्यः यस नियमावलीमा अन्यत्र उल्लेख भएको काम, कर्तव्य र अधिकारको अतिरिक्त रजिष्ट्रारको देहाय बमोजिमको काम र कर्तव्य हुनेछः–

(१) दर्ताको निमित्त पेश हुन आउने चिकित्सकहरूको दरखास्त कारवाईका निमित्त यस नियमावली अन्तर्गत गठन हुने दर्ता समितिमा पेश गर्ने,
(२) चिकित्सकहरूको दर्ता सम्बन्धी रजिष्टर आफ्नो जिम्मामा राख्ने,
(३) नामावलीको सूचीमा कसैको नाम छुटेको पत्ता लागेमा वा कसैले सो कुराको सूचना पठाएमा आवश्यकता अनुसार संशोधन गर्ने,
(४) काउन्सिलको कोषाध्यक्षको रूपमा काम गर्ने,
(५) काउन्सिलका कर्मचारीहरूको नियुक्ति वा प्रमोशन र निजहरू माथि विभागीय सजायको लागि काउन्सिल छेउ सिफारिस गर्ने,
(६) काउन्सिल प्रति उत्तरदायी भई काउन्सिलको आन्तरिक दैनिक प्रशासन सञ्चालन गर्ने,

(६क) काउन्सिलको वार्षिक कार्यक्रम तथा योजना तर्जुमा गरी प्रत्येक वर्षको फागुन मसान्त भित्र काउन्सिलमा पेश गर्ने,

(६ख) काउन्सिलबाट स्वीकृत बजेट, योजना तथा कार्यक्रमको कार्यान्वयन गर्ने,
(६ग) काउन्सिल र काउन्सिलमा नाम दर्ता भएका चिकित्सकहरू बीच सम्पर्क अधिकारीको रूपमा काम गर्ने,
(६घ) काउन्सिलबाट आदेश तथा निर्देशन दिए बमोजिमको अन्य कार्यहरू गर्ने गराउने ।
(७) काउन्सिलसँग पूर्व परामर्श लिई नेपाल सरकारले तोकिदिएको अरु कुनै काम गर्ने ।

१५. दर्ता किताबः

(१) काउन्सिलमा स्थायी, अस्थायी, परीक्षण र विशेषज्ञको रूपमा चिकित्सकको नाम दर्ता गर्ने प्रयोजनको लागि अनुसूची–३, ४, ५ र ६ बमोजिमको ढाँचामा क्रमशः स्थायी, अस्थायी, परीक्षण र विशेषज्ञ दर्ताको छुट्टा छुट्टै दर्ता किताब राखिनेछ ।

(२) उपनियम (१) बमोजिमको दर्ता किताब नेपाली तथा अंग्रेजी भाषा दुवैमा राख्न सकिनेछ । नेपाली भाषाको दर्ता किताबमा नामको पहिलो अक्षरको र अंग्रेजी भाषाको दर्ता किताबमा थरको पहिलो अक्षरको वर्णानुक्रमअनुसार दर्ता गरिनेछ ।

१६. दर्ता सूची प्रकाशन गर्नेः

(१) काउन्सिलले प्रत्येक वर्ष काउन्सिलमा नाम दर्ता भएका चिकित्सकहरूको नाम दर्ता सूची प्रकाशन गर्नेछ ।

(२) उपनियम (१) बमोजिम प्रकाशित नाम दर्ता सूची प्रत्येक चार वर्षमा काउन्सिलले अद्यावधिक गरी प्रकाशन गर्नेछ ।
(३) उपनियम (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि परीक्षण दर्तावाला र दर्तावाला विदेशी नागरिक चिकित्सक चिकित्सकको नाम दर्ता सूचीमा प्रकाशन गरिने छैन ।

१७. …………….
१८. रजिष्टरबाट नाम झिक्ने र फेरी दर्ता गर्ने बारेः

(१) कुनै पनि दर्तावाला चिकित्सकले आफ्नो नाम रजिष्टरबाट हटाउन चाहेमा दर्खास्त दिई हटाउन सक्नेछ । तर निजले दर्खास्त दिए पछि पनि निज उपर ऐन नियम बमोजिम कुनै कारवाही चलाई सजायको रूपमा रजिष्टरबाट नाम हटाउन कुनै बाधा हुने छैन ।
(२) यसरी आफूखुशी नाम हटाएको चिकित्सकले पुनः दर्खास्त गरी पूरा दस्तुर तिरेमा फेरी आफ्नो नाम दर्ता गर्न सक्नेछ ।
(३) ऐनको दफा १३ को उपदफा (२) को अवस्था परी नाम हटाइएको अवस्थामा फेरी दर्खास्त दिई नाम दर्ता गर्न चाहने चिकित्सकबाट नियम बमोजिम पूरा दस्तुर लिई निजको नाम दर्ता गरिनेछ ।

(४) ऐनको दफा १७ को उपदफा (१) बमोजिम रजिष्टरबाट नाम हटाइएको चिकित्सकले सो नाम हटाइएको मितिले २ वर्ष पछि चरित्र सुधार्ने प्रतिज्ञा गरी फेरी नाम दर्ता गर्नको निमित्त दरखास्त दिन सक्नेछ । काउन्सिलले पनि उसको अपराध वा आचरणको विचार गरी चरित्रको सुधार भए नभएको र हुन सक्ने नसक्ने कुरा तर्फ विचार गरी दर्ता गर्ने सम्बन्धमा निर्णय गर्नेछ र नाम दर्ता गर्ने निर्णय भएमा नियम बमोजिम पूरा दस्तुर लिई निजको नाउँ दर्ता गरिनेछ ।

(५) उपनियम (४) बमोजिम दिएको दरखास्त स्वीकृत नभएमा १ वर्ष बिते पछि फेरी दरखास्त दिन सक्नेछ ।

१९. काउन्सिलका सदस्यले राजीनामा गरेमा वा खाली भएमा गर्नेः

(१) काउन्सिलको कुनै सदस्यले आफ्नो पदबाट राजीनामा गर्न चाहेमा निर्वाचित सदस्यले अध्यक्ष समक्ष र नेपाल सरकारबाट मनोनित सदस्यले अध्यक्ष मार्फत नेपाल सरकार समक्ष राजीनामा दिन सक्नेछ ।
(२) कुनै सदस्यको स्थान निजले राजिनामा दिएर, निजको मृत्यु भएर वा ऐन बमोजिम सदस्य रहन नसक्ने कारण परी रिक्त हुन गएमा निजले काउन्सिलको सदस्यता अघि जसरी प्राप्त गरेको थियो त्यसै गरी सो रिक्त स्थानको पूर्ति यथाशीघ्र गरिनेछ ।

२०. काउन्सिलको कोष र त्यसको सञ्चालनः

(१) काउन्सिलको कोषमा निम्न लिखित रकमहरू रहने छन्ः–

(क) काउन्सिललाई दरखास्त दस्तुरबाट प्राप्त हुन आउने रकम,
(ख) कुनै संस्था वा व्यक्तिले काउन्सिलको नीति वा उद्देश्यमा बाधा नपर्ने गरी दिएको शर्तरहित रकम (नगद वा जिन्सी),
(ग) काउन्सिलले कुनै पुस्तक पत्रिकाहरू छपाई विक्री गरी उठाएको रकम,
(घ) नेपाल सरकारबाट प्राप्त अनुदान, र

(ङ) अन्य स्रोतबाट प्राप्त गरेको रकम, तर काउन्सिलले गैर नेपाली नागरिक, विदेशी सरकार वा अन्तर्राष्ट्रिय संघ संस्थाबाट आर्थिक सहयोग प्राप्त गर्नु अघि नेपाल सरकारको पूर्व स्वीकृति प्राप्त गर्नु पर्नेछ र त्यसरी प्राप्त गरेको रकम
जुन कामको लागि प्राप्त गरेको हो सोही कार्यमा मात्र खर्च गर्नु पर्नेछ ।

(२) काउन्सिलको कोषको सञ्चालन विनियममा व्यवस्था भए बमोजिम हुनेछ ।
(३) काउन्सिलको आर्थिक वर्ष प्रत्येक वर्षको आषाढ मसान्तमा समाप्त हुनेछ ।
(४) ……………
(५) काउन्सिलले नियुक्त गरेको लेखापरीक्षकद्वारा आर्थिक वर्ष समाप्त गरेको ३ महिना भित्र हिसाब जाँच गराउन पर्नेछ ।
(६) काउन्सिलले लेखापरीक्षण सम्बन्धी प्रतिवेदनको प्रतिलिपि नेपाल सरकार समक्ष पेश गर्नु पर्छ ।

२०क. मेडिकल कलेजलाई काउन्सिलले मान्यता दिने आधारः

(१) ऐनको दफा ७क. को उपदफा (१) को खण्ड (क) को प्रयोजनको लागि मेडिकल कलेजले देहाय बमोजिमको न्यूनतम मापदण्ड तथा पूर्वाधार पूरा गरेको हुनु पर्नेछः–
(क) गैर सरकारी वा निजी क्षेत्रबाट सञ्चालन गरिने मेडिकल कलेज भए प्रचलित कानून बमोजिम स्थापना र दर्ता भएको,
(ख) मेडिकल कलेज र शिक्षण अस्पताल एकै स्थानमा वा एक अर्कालाई पायक पर्ने स्थानमा स्थापना भएको,
(ग) विश्वविद्यालयसँग सम्बन्धन प्राप्त गरेको,

(घ) चिकित्साशास्त्र सम्बन्धी मेडिकल वा डेण्टल विषयको स्नातक स्तरको कोर्ष सञ्चालन गर्न देहाय बमोजिमको शैक्षिक तथा भौतिक पूर्वाधार पूरा गरेकोः–

(१) आधारभूत विज्ञानतर्फको एनाटोमी, फिजियोलजी, प्याथोलजी, फर्माकोलजी, माइक्रोबायोलजी, बायोकेमिष्ट्री र समुदाय
चिकित्सा विभागतर्फ पर्याप्त शिक्षक, शैक्षिक सामग्री, औजार, उपकरणको व्यवस्था भएको,

(२) शैक्षिक, प्रशासनिक र आवासिय भवनहरूको पर्याप्त व्यवस्था भएको,
(३) चिकित्सा विषय सम्बन्धी पुस्तकालय स्थापना गरेको,
(४) स्नातक तहको मेडिकल कोर्ष सञ्चालनको लागि प्रस्तावित मेडिकल कलेजको कम्तीमा पचहत्तर रोपनी आफ्नो स्वामित्व भएको जग्गा र स्नातक तहको डेन्टल कोर्ष सञ्चालन गर्न प्रस्तावित मेडिकल कलेजको कम्तीमा चालिस रोपनी आफ्नो स्वामित्वको जग्गा भएको,

(५) एम.बी.बी.एस. कोर्ष सञ्चालनको लागि कम्तीमा तीन सय शैयाको चालू जनरल अस्पतालको व्यवस्था भएको तथा डेन्टल
कोर्ष सञ्चालनको लागि कम्तीमा एकसय शैयाको चालू जनरल अस्पताल, पच्चिस युनिट डेन्टल चियर सहित दन्त रोग
सम्बन्धी कम्तीमा तीन विषयमा विशेषज्ञ सेवा भएको अस्पतालको व्यवस्था भएको,
(६) शैक्षिक, प्रशासनिक एवं शिक्षण अस्पताल र आवासीय भवन निर्माण र विस्तारको पूर्व योजना तयार भएको ।

(२) चिकित्साशास्त्रका मेडिकल वा डेन्टल विषयको स्नातकोत्तर कोर्ष सञ्चालन गर्नु पूर्व स्नातक तहको मेडिकल वा डेन्टल कोर्षहरू सञ्चालन गरी प्रथम समूहका विद्यार्थीहरूले कोर्ष पूरा गरिसकेको हुनु पर्नेछ ।

(३) काउन्सिलले मेडिकल वा डेन्टल कलेजमा गुणस्तरीय शिक्षाको लागि आवश्यक शिक्षक, शैक्षिक सामग्री, औजार, उपकरण, अस्पताल र अन्य आवश्यक पूर्वाधारहरू सम्बन्धमा विनियम बनाई व्यवस्था गर्न सक्नेछ ।

(४) यस नियममा उल्लिखित पूर्वाधार र मापदण्डहरू मेडिकल वा डेन्टल कलेजले प्रस्तावित कोर्ष शुरु गर्नु अगावै पूरा गरेको हुनु पर्नेछ र मेडिकल कलेज सञ्चालन गर्ने संस्थाले काउन्सिलले तोके बमोजिम क्रमबद्ध रूपमा पूर्वाधार विकास गर्दै जानु पर्नेछ ।

२०ख.निरीक्षणः

(१) काउन्सिलले मेडिकल कलेजको पूर्वाधार विकास गुणस्तरीय चिकित्सा शिक्षाको अनुगमन, मूल्याङ्कन र परीक्षा निरीक्षणको लागि विशेषज्ञ निरीक्षकहरूको छुट्टाछुट्टै निरीक्षण टोलीहरू गठन गर्नेछ ।
(२) उपनियम (१) बमोजिम गठित निरीक्षण टोलीमा काउन्सिलले आवश्यकता अनुसार तीनदेखि सात जनासम्म निरीक्षकहरू तोक्न सक्नेछ ।
(३) निरीक्षण टोलीलाई सहयोग गर्नु र टोलीले माग गरेको सम्पूर्ण विवरण उपलब्ध गराउनु सम्बन्धित मेडिकल कलेजको दायित्व हुनेछ ।
(४) निरीक्षण टोलीले सम्बन्धित मेडिकल कलेज निरीक्षण गरेको पन्ध्र दिन भित्र अनुसूची–७ बमोजिमको ढाँचामा निरीक्षण, अनुगमन तथा मूल्याङ्कन प्रतिवेदन तयार गरी काउन्सिल समक्ष पेश गर्नु पर्नेछ ।

(५) ऐनको दफा २१ख. बमोजिम परीक्षा निरीक्षणको लागि विश्वविद्यालय स्तरीय वार्षिक परीक्षाको मिति तोकिनासाथ काउन्सिललाई सम्बन्धित मेडिकल कलेजले लिखित सूचना पठाउनु पर्नेछ ।

२०ग. कोर्ष सञ्चालन र मान्यताः

(१) नियम २०ख. को उपनियम (४) बमोजिम निरीक्षण टोलीले पेश गरेको निरीक्षण प्रतिवेदनको आधारमा सम्बन्धित मेडिकल कलेजले भर्ना लिन सक्ने अधिकतम विद्यार्थी संख्या समेत निर्धारण गरी एक शैक्षिक वर्षको अवधिको लागि काउन्सिलले परीक्षण मान्यता प्रदान गर्न सक्नेछ ।
(२) परीक्षण मान्यता प्राप्त मेडिकल कलेजले प्रत्येक वर्ष विद्यार्थी भर्ना लिनु पूर्व काउन्सिलद्वारा त्यस्तो कलेजको निरीक्षण गराई परीक्षण मान्यता र विद्यार्थी भर्ना संख्या नवीकरण गर्नु पर्नेछ ।

(३) परीक्षण मान्यता प्राप्त गरी प्रथम समूहका विद्यार्थी उत्पादन गरी सकेका सम्बन्धित मेडिकल कलेजलाई काउन्सिलले कुनै खास अवधिको लागि पूर्ण मान्यता प्रदान गर्न सक्नेछ ।
(४) नियम २०ख. को उपनियम (४) बमोजिम निरीक्षण टोलीले काउन्सिल समक्ष पेश गरेको निरीक्षण प्रतिवेदन र सो प्रतिवेदनको आधारमा काउन्सिलले गरेको निर्णयहरू काउन्सिलले आवधिक रूपमा नेपाल सरकार, सम्बन्धित मेडिकल कलेज र त्यस्तो मेडिकल कलेजले सम्बन्धन प्राप्त गरेको विश्वविद्यालयलाई उपलब्ध गराउनु पर्नेछ ।

२०घ.मेडिकल कलेज सञ्चालन गर्ने स्वीकृति खारेजीको लागि सिफारिसः

(१) काउन्सिलले मान्यता प्रदान गरेका मेडिकल कलेजले काउन्सिलले तोकेको अवधिभित्र मापदण्ड तथा पूर्वाधार पूरा गर्न नसकेमा वा त्यस्तो मेडिकल कलेजको परीक्षण वा पूर्ण मान्यता खारेज भएमा काउन्सिलले नेपाल सरकार समक्ष त्यस्तो मेडिकल कलेज सञ्चालन गर्न नेपाल सरकारले दिएको स्वीकृति खारेजीको लागि सिफारिस गर्नेछ ।

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि मेडिकल कलेजको स्वीकृति खारेजीको लागि सिफारिस गर्नु पूर्व काउन्सिलले सम्बन्धित मेडिकल कलेजलाई उचित म्याद दिई निरीक्षण टोलीले पेश गरेको निरीक्षण प्रतिवेदन बमोजिम नेपाल सरकारबाट त्यस्तो मेडिकल कलेज सञ्चालन गर्न प्राप्त गरेको स्वीकृति खारेजीको लागि नेपाल सरकार समक्ष किन सिफारिस गर्नु नपर्ने हो भन्ने बेहोराको स्पष्टीकरण माग गर्नेछ ।
(३) उपनियम (२) बमोजिम काउन्सिलले माग गरे बमोजिम स्पष्टीकरण पेश हुन नआएमा वा पेश भएको स्पष्टीकरण सन्तोषजनक नदेखिएमा निरीक्षण प्रतिवेदनको आधारमा काउन्सिलले त्यस्तो मेडिकल कलेज सञ्चालन गर्न उपयुक्त छैन भनी नेपाल सरकार समक्ष स्वीकृति खारेजीको लागि आफ्नो निर्णय सहित सिफारिस पेश गर्न सक्नेछ ।

(४) उपनियम (३) बमोजिम पेश गरेको सिफारिस प्राप्त भएपछि नेपाल सरकारले आवश्यक देखेमा उचित म्याद दिई सम्बन्धित मेडिकल कलेजसँग पुनः स्पष्टीकरण माग गर्न सक्नेछ र स्पष्टीकरण प्राप्त भएमा सो उपर विचार गरी र अरु कुनै थप जाँचबुझ गर्नु पर्ने भए
आवश्यक जाँचबुझ गरी सो समेतको आधारमा नेपाल सरकारले त्यस्तो मेडिकल कलेजको सञ्चालनको स्वीकृति खारेजी गर्न सक्नेछ ।

२०ङ. दर्ता प्रमाणपत्र परीक्षाः (१) ऐनको दफा ७क. को उपदफा (१) को खण्ड (घ) को प्रयोजनको लागि काउन्सिलले दर्ता प्रमाणपत्र परीक्षा लिनेछ ।
(२) उपनियम (१) बमोजिमको दर्ता प्रमाणपत्र परीक्षा देहायको कुनै एक वा एकभन्दा बढी तरीकाबाट सञ्चालन गर्न सकिनेछः–

(क) लिखित परीक्षा,
(ख) प्रयोगात्मक परीक्षा, र
(ग) अन्तर्वार्ता ।

(३) दर्ता प्रमाणपत्र परीक्षा दस्तुर अनुसूची–९ मा तोकिए बमोजिम हुनेछ ।
(४) दर्ता प्रमाणपत्र परीक्षा सम्बन्धी अन्य व्यवस्था काउन्सिलले तोके बमोजिम हुनेछ ।

(५) दर्ता प्रमाणपत्र परीक्षा उत्तिर्ण गरेको चिकित्सकको नाम ऐन र यस नियमावलीमा लेखिएका अन्य व्यवस्थाहरूको अधीनमा रही दर्ता गरिनेछ ।

२०च.विशेष परीक्षाः (१) ऐनको दफा २१घ. को प्रयोजनको लागि काउन्सिलले तोकेको पाठ्यक्रमको आधारमा विशेष परीक्षा लिन सक्नेछ ।

(२) विशेष परीक्षामा लिखित परीक्षा अनिवार्य हुनेछ तथा काउन्सिलले आवश्यकता अनुसार प्रयोगात्मक परीक्षा, अन्तर्वार्ता र अन्य किसिमको परीक्षा पनि लिन सक्नेछ ।
(३) विशेष परीक्षा दस्तुर अनुसूची–९ मा तोकिए बमोजिम हुनेछ ।
(४) विशेष परीक्षा सम्बन्धी अन्य व्यवस्था काउन्सिलले तोके बमोजिम हुनेछ ।

२०छ.परीक्षा सञ्चालन समितिः

नियम २०ङ. र २०च. बमोजिम दर्ता प्रमाणपत्र परीक्षा र विशेष परीक्षा सञ्चालनको लागि काउन्सिलले कम्तीमा पाँच सदस्यीय परीक्षा सञ्चालन समिति गठन गर्नेछ ।

२१. मुद्दा चलाउने प्रस्ताव पारित गर्ने सम्बन्धी कार्यविधि ः

(१) ऐनको दफा २८ को खण्ड (क) अनुसार मुद्दा चलाउने प्रस्ताव पारित गरी नेपाल सरकार छेउ पेश गर्नु भन्दा अघि मनासिव
माफिकको मौका दिई सम्बन्धित व्यक्ति वा संस्थाको भनाई वा प्रतिक्रिया माथि बिचार गर्नु काउन्सिलको कर्तव्य हुनेछ ।
(२) नेपाल सरकारले उपनियम (१) अन्तर्गतको प्रस्ताव प्राप्त भएपछि आरोपको पुनः छानविन गराउन सक्नेछ ।

२१क.निर्वाचन सम्बन्धी व्यवस्थाः (१) ऐनको दफा ४ उपदफा (१) को खण्ड (ख) र (च) बमोजिम काउन्सिलमा रहने सदस्यको निर्वाचन सामान्य बहुमतको आधारमा हुनेछ ।

(२) …………..

२१ख.निर्वाचन समितिः

(१) काउन्सिलले एकजना प्रमुख निर्वाचन अधिकृतको अध्यक्षतामा अन्य दुई जना निर्वाचन अधिकृत भएको तीन सदस्यीय निर्वाचन समितिको गठन गर्नेछ ।
(२) उपनियम (१) बमोजिम गठित निर्वाचन समिति निर्वाचनको परिणाम प्रकाशन भएपछि स्वतः विघटन हुनेछ ।
(३) यस नियमावली बमोजिम निर्वाचन सम्पन्न गर्दा लाग्ने सम्पूर्ण खर्च काउन्सिलको कोषबाट बेहोरिनेछ ।

(४) निर्वाचन समिति सम्बन्धी अन्यः कार्यविधि काउन्सिलले तोके बमोजिम हुनेछ ।

२१ग. मतदाताः(१) निर्वाचन समिति गठन हुनुभन्दा अघि काउन्सिलमा नाम दर्ता भएका चिकित्सकहरू काउन्सिलको निर्वाचनको लागि मतदानमा भाग लिन सक्ने छन् ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि परीक्षण दर्तावाला र दर्तावाला विदेशी नागरिक चिकित्सकले काउन्सिलको निर्वाचनमा मतदान गर्न पाउने छैनन् ।

२१घ. निर्वाचित भएको मानिनेः (१) एक पदको लागि निर्वाचन भएको अवस्थामा निर्वाचनमा सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार निर्वाचित भएको मानिनेछ ।

(२) एकभन्दा बढी संख्याको पदमा निर्वाचन भएको अवस्थामा बढी मत प्राप्त गर्ने उम्मेदवारहरू क्रमशः निर्वाचित भएको मानिनेछ ।

(३) निर्वाचन गर्नु पर्ने पद संख्या बराबर वा सो भन्दा कम संख्यामा निर्वाचनको लागि उम्मेदवार खडा भएमा त्यस्तो उम्मेदवार निर्विरोध निर्वाचित भएको मानिनेछ ।

(४) कुनै उम्मेदवारहरूले प्राप्त गरेको सदर मत बराबर भएमा निर्वाचन अधिकृतले बराबर मत प्राप्त गर्ने उम्मेदवार बीच गोला हाली निर्णय गर्नु पर्नेछ । त्यसरी गोलाद्वारा छानिएको उम्मेदवारले एकमत बढी प्राप्त गरेको मानिनेछ ।

२१ङ. निर्वाचन समितिको काम, कर्तव्य र अधिकारः

(१) निर्वाचनको लागि मतदाता नामावली प्रकाशन गर्ने, मतदाता नामावलीमा दावी विरोधको सुनुवाई गर्ने, अन्तिम मतदाता नामावली
प्रकाशन गर्ने, उम्मेदवारको मनोनयन पत्र जाँच्ने, मनोनयन पत्रमा दावी विरोधको सुनुवाई गर्ने, मतदान केन्द्र तोक्ने, मतदान गराउने, मत गणना गर्ने र निर्वाचनको परिणाम घोषणा गर्ने जस्ता निर्वाचन सम्बन्धी सम्पूर्ण काम, कर्तव्य र अधिकारको प्रयोग निर्वाचन समितिले गर्नेछ ।

(२) उपनियम (१) बमोजिम निर्वाचन समितिले आफूलाई प्राप्त अधिकार प्रयोग गर्दा निर्वाचन सम्बन्धी फारामहरूको ढाँचा तोक्न, निर्वाचनको लागि आवश्यक निर्देशिका जारी गर्न र निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने व्यक्तिहरूलाई काममा लगाउन सक्नेछ ।

(३) निर्वाचन सम्बन्धी अन्य कार्यविधि निर्वाचन समितिले तोके बमोजिम हुनेछ ।

परिच्छेद–३क विदेशी नागरिक चिकित्सकको नाम दर्ता सम्बन्धी व्यवस्था

२१च. दर्ता किताब नाम दर्ता गराउनेः

(१) कुनै विदेशी नागरिक चिकित्सकले निश्चित अवधिको लागि नेपालभित्र कुनै अस्पताल वा मेडिकल कलेजमा चिकित्सा व्यवसाय गर्नको लागि काउन्सिलले तोके बमोजिमको ढाँचामा दर्ता किताबमा नाम दर्ता गराउन दरखास्त दिनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम दरखास्त दिंदा विदेशी नागरिक चिकित्सकले राहदानी र प्रवेशाज्ञा तथा राहदानी र प्रवेशाज्ञा आवश्यक नपर्ने मुलुकको विदेशी नागरिक चिकित्सक भए निजको परिचय जनिने गरी सरकारी निकायबाट जारी भएको परिचयपत्रको काउन्सिलको सदस्य वा स्थायी दर्तावाला चिकित्सकमध्ये काउन्सिलले तोकेको चिकित्सकले प्रमाणित गरिदिएको प्रतिलिपि दरखास्तसाथ संलग्न गर्नु पर्नेछ ।

(३) विदेशी नागरिक चिकित्सकले निज कार्यरत रहेको देशको मेडिकल वा डेन्टल काउन्सिल वा सो सरहका व्यवसायिक परिषद्बाट प्राप्त गरेको असल चिकित्सक आचरणको प्रमाणपत्र र निजले जुन अस्पताल वा मेडिकल कलेजमा काम गर्न चाहेको हो सो अस्पताल वा मेडिकल कलेजको प्रमुख र नेपाल सरकारले निजले सो अस्पताल वा मेडिकल कलेजमा काम गर्नु पर्ने कारण, अवधि आदि खुलाई निजको नाम दर्ताको लागि गरिदिएको सिफारिसपत्रको सक्कल र काउन्सिलको सदस्य वा स्थायी दर्तावाला चिकित्सकमध्ये काउन्सिलले तोकेको चिकित्सकले प्रमाणित गरिदिएको सो सिफारिसपत्रको प्रतिलिपि समेत संलग्न गर्नु पर्नेछ ।

तर विदेशी नागरिक चिकित्सकलाई चिकित्सा व्यवसायमा संलग्न गराउन नेपाल सरकारसँग लिखित सम्झौता गरेका वा नेपाल सरकारबाट सहमति प्राप्त गरेका अस्पताल वा मेडिकल कलेजको हकमा त्यस्तो सम्झौता वा त्यस्तो सम्झौताको म्यादसम्म वा सहमति प्राप्त गरेको अवधिका लागि नेपाल सरकारको छुट्टै सिफारिसपत्र पेश गर्नु पर्ने छैन ।

(४) विदेशी नागरिक चिकित्सकको नाम दर्ता बढीमा एक वर्षको लागि मात्र गरिनेछ । तर काउन्सिलले आवश्यक देखेमा एकपटकमा बढीमा एक वर्ष ननाघ्ने गरी दर्ता नवीकरण गरिदिन सक्नेछ ।

(५) विदेशी नागरिक चिकित्सकको नाम दर्ता अनुसूची–८ मा तोकिए बमोजिमको दर्ता किताबमा गरिनेछ ।

(६) उपनियम (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि दर्तावाला विदेशी नागरिक चिकित्सक कार्यरत रहेको अस्पताल वा मेडिकल कलेजमा निजको सेवा अवधि समाप्त भएमा वा निजले उक्त अस्पताल वा मेडिकल कलेजमा काम गर्न छाडेमा निजको नाम दर्ता स्वतः खारेज भएको मानिनेछ ।

(७) विदेशी नागरिक चिकित्सकको नाम दर्ता तथा दर्ता नवीकरण दस्तुर अनुसूची–९ मा तोकिए बमोजिम हुनेछ ।

(८) यो नियमावली प्रारम्भ हुनु अगाडि विदेशी नागरिक चिकित्सकको नाम दर्ता भएको रहेछ भने स्वतः यो नियमावली बमोजिम नाम दर्ता भएको मानिनेछ ।

(९) विदेशी नागरिक चिकित्सकको नाम दर्ता सम्बन्धी अन्य व्यवस्था काउन्सिलले तोके बमोजिम हुनेछ ।

परिच्छेद–४ विविध

परिच्छेद–४
विविध

२२. चिकित्सकको आचार संहिताः

(१) रोगी र रोगीका परिवारका सदस्यहरू प्रति दर्तावाला
चिकित्सकको आचार संहिता देहाय बमोजिम हुनेछः–

(क) आफ्नो बुद्धि र क्षमताले भ्याएसम्म उचित निदान गरी रोगको उपचार गर्ने,
(ख) आफ्नो उचित पारिश्रमिक, औषधि र सामान तथा उपकरणहरूको लाग्दो खर्च बाहेक अनुचित तरिकासँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपले अरु आर्थिक लाभ नउठाउने,

(ग) आफूले आफ्नो शक्ति, ज्ञान, शिप र अनुभवले कुनै रोगको उपचार गर्न नसक्ने जस्तो लागेमा उपलब्ध हुन सकेसम्म कुनै विशेषज्ञसँग सल्लाह लिई गर्ने र अवस्था हेरी रोगीको उपचार हुन सकेसम्म विशेषज्ञबाट गराउनु पर्छ भन्ने कुराको सल्लाह स्पष्ट रूपमा उपचार गराउने रोगी वा रोगीका परिवारका भरपर्दो सदस्यहरूलाई दिने अथवा अस्पताल जस्ता संस्थामा सिफारिस गर्ने,

(घ) रोगीलाई वा निजका परिवारका सदस्यलाई उचित देखिएमा रोगको कडाइको सूचना दिने, तर आर्थिक वा अन्य कुनै किसिमको उद्देश्य राखी मामुली रोगलाई कडा बनाउने छैन ।

(ङ) निम्नलिखित अवस्थामा बाहेक आफूले उपचार गरेको रोगीलाई आफ्नो उपचारबाट वञ्चित नगराउने ः–
(१) पारिश्रमिक दिन अस्वीकार गरेमा,
(२) आफूले भनेको औषधि नगरेमा,

(३) आवश्यक नपरेका औषधिहरू लेख्न चिकित्सकलाई दबाब दिएमा वा लेख्न बाध्य बनाएमा ।
(४) कुनै रूपबाट आफूलाई अनैतिक काम गराउन खोजेमा ।

(च) रोगीलाई कडा रोग लागेको कारणले बराबर हेरविचारको जरुरत छ भन्ने थाहा भए पछि आफ्नो अनुपस्थितिमा पनि पाएसम्म यस किसिमका चिकित्सकलाई देखाउ भनि परिवारका सदस्य वा हेरविचार गर्ने मानिसलाई विस्तृत रूपमा बताई आवश्यक परेमा आफूलाई खबर दिन सक्ने गरी आफू रहने सम्भावित ठाउँहरू समेत बताएर मात्र छाड्ने,

(छ) रोग र रोगीको हेरचाह गर्ने प्रति भद्र व्यवहार गरी आफ्नो ज्ञान, बुद्धि र अनुभवले पुगेसम्म विचार पु¥याई निदान र उपचारमा उपेक्षा वा हेलचक्राई नगर्ने,

(ज) कसैलाई विरामीको वा निरोगिताको झुठ्ठा प्रमाणपत्र नदिने, कसैको पक्षमा वा विपक्षमा झुठ्ठा साक्षी नबक्ने प्रमाण नदिने वा वक्तव्य नदिने,
(झ) अदालतको आदेशले कानून बमोजिम बताउनु पर्ने जति कुरा बाहेक आफ्नो रोगीले विश्वास गरी बताएको निजसँग सम्बन्धित कुनै गुप्त कुराहरूलाई नबताउने,
(ञ) स्वास्थ्यको कारणले बाहेक अरु अवस्थामा गर्भपात नगराउने, स्वास्थ्यको कारण छ भने तापनि अर्को चिकित्सकको समेत राय लिई निजको रायमा पनि गर्भपात नगराएमा गर्भवतीको ज्यान खतरामा छ वा जन्मने बच्चा अपाङ्ग बन्ने सम्भावना छ वा गर्भवती महिलाको मानसिक सन्तुलन खराब हुने सम्भावना छ भन्ने कुरामा एक मत भएमा मात्र गर्भपात गराउने, तर यसबाट कानून विरुद्ध कुनै काम गर्ने अधिकार भएको मानिने छैन ।

(ट) कुनै उपचार गर्दा तत्सम्बन्धी दुर्घटना हुन गएमा आफूले सक्दो मेहनत र बुद्धि लगाई रोगीको प्राण वा अंग बचाउने उपाय गर्ने अरु विशेषज्ञको सेवा प्राप्त हुन सक्ने रहेछ भने निजको सहयोग लिई त्यस अवस्थामा परेको रोगीलाई उत्तरदायित्व लिई यथासम्भव उपचार गर्ने,

(ठ) लागू पदार्थ खाई रोगीको उपचार नगर्ने ।

(२) दर्तावाला चिकित्सकको सहकारी प्रतिको आचार संहिता देहाय बमोजिमको हुनेछ ः–

(क) आफ्ना सहकारीहरूलाई शब्दले अथवा अरु कुनै व्यवहारबाट होच्याउने वा अपमान नगर्ने,
(ख) आफ्नो नाम चलाउने अथवा धन कमाउने उद्देश्यले कुनै परिचय पाटी वा प्याडमा आफ्नो नाम, पाएको डिग्री डिप्लोमा र कुनै पद पाएको छ भने त्यो बाहेक अरु कुनै कुरा नलेख्ने, तर कुनै किताब लेखेको छ र सो किताब सर्वसाधारणलाई नभै चिकित्सक वा तत्सम्बन्धी व्यक्तिको लागि मात्र लेखिएको छ भने सो किताबमा अरु पाएको कुनै उपाधीहरू लेख्न भने कुनै वाधा हुने छैन ।

(ग) बानी बस्ने औषधी आफूले सेवन नगर्ने तथा सहकारी र अरुलाई समेत बानी बस्ने गरी सकेसम्म सेवन नगराउने,
(घ) योग्यता नभएका व्यक्तिलाई उपचार वा त्यस सम्बन्धी काम गर्न र गराउन मद्दत नगर्ने,
(ङ) कसैलाई आफ्नो पारिश्रमिकको हिस्सा कबोली आफू कहाँ विरामी ल्याउने प्रत्यक्ष वा अप्रत्यक्ष रूपले एजेण्ट नबाउने ।

२३. सजाय र अन्य कारवाईः

(१) काउन्सिलले नियम २२ मा उल्लेख गरिएको आचार संहिताको उल्लंघन गर्ने र आफ्नो अपराध ढाँट्ने चिकित्सक माथि कारवाई चलाई निजको नाम रजिष्टरबाट हटाउन रजिष्ट्रारलाई आदेश दिनेछ ।
(२) काउन्सिलले चिकित्सकलाई स्वयं उपस्थित भई वा वकील पठाई आफ्नो सफाइको सबुत दिने मौका दिनेछ । तर आरोप लागेका चिकित्सकले तोकिएको म्यादभित्र आफू नआएमा वा वकील पनि नपठाएमा एकतर्फी निर्णय हुनेछ ।

(३) सजायको निमित्त चलाइने कारवाईमा सम्बन्धित चिकित्सक, निजतर्फको वकील, काउन्सिलका सदस्य तथा कर्मचारी र काउन्सिलका तर्फबाट आएका सल्लाहकार बाहेक अरु उपस्थित हुन पाउने छैनन् ।

(४) रजिष्टरबाट नाम हटाउने गरी भएको निर्णयको सूचना रजिष्ट्रारले सम्बन्धित व्यक्ति, संस्था र कार्यालयलाई दिनेछ ।

(५) काउन्सिल ऐनको दफा १७ (१) र दफा (२०) अनुसार कुनै दर्तावाला चिकित्सकको नाम रजिष्टरबाट हटाउनु भन्दा अघि निजलाई आफ्नो भनाई पेश गर्ने मनासिव माफिकको मौका दिनेछ । तर नैतिक पतन देखिने फौजदारी अभियोगमा अन्तिम अदालतबाट सजाय पाएकोमा
त्यस्तो मौका दिई रहनु पर्ने छैन ।

२४. पुनरावेदनः

(१) रजिष्ट्रारले गरेको निर्णय वा काम कुरामा ऐन बमोजिम काउन्सिलमा पेश भएको पुनरावेदनमा त्यस्तो पुनरावेदक (अपील गर्ने व्यक्ति) काउन्सिलको सदस्य रहेछ भने सो सदस्य र रजिष्ट्रार दुवैलाई उपस्थित गराई काउन्सिलको बैठकमा छलफल गरी निर्णय गरिनेछ ।
तर काउन्सिलका अध्यक्षले त्यस्तो बैठकको सूचना कमसेकम एक महिना अगाडि रजिष्ट्रार र पुनरावेदकलाई दिनु पर्नेछ ।

(२) काउन्सिलले उपनियम (१) अन्तर्गत बस्ने बैठकको सूचनामा तोकिएको दिन रजिष्ट्रार वा पुनरावेदक कोही उपस्थित नभए पनि आफ्नो निर्णय दिन सक्नेछ ।
२५. प्रमाणपत्र दिने सम्बन्धी व्यवस्थाः  (१) दर्तावाला चिकित्सकले ऐनको दफा २९ अन्तर्गत प्रमाणपत्र दिंदा यस्तो प्रत्येक प्रमाणपत्र तत्सम्बन्धमा काउन्सिलले तोकिदिए बमोजिमको रजिष्टरमा दर्ता गर्नु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम दिइएको जन्मको प्रमाणपत्रको आधारमा मात्र कसैको नागरिकता निश्चित भएको मानिने छैन ।

अनुसूची–१ दरखास्त नमूना

अनुसूची–१
(नियम ३ को उपनियम (१) सँग सम्बन्धित)

दरखास्त नमूना

श्री रजिष्ट्रार,
नेपाल मेडिकल काउन्सिल,
काठमाण्डौं, नेपाल ।

महोदय,

मेरो नाम नेपाल मेडिकल काउन्सिलको दर्ता किताबमा नियमानुसार स्थायी/अस्थायी/परीक्षण/विशेषज्ञ दर्ता गराउन यो निवेदन पेश गरेको छु । कृपया मेरो नाम काउन्सिलको दर्ता किताबमा दर्ता गरी त्यसको प्रमाणपत्र दिनु हुन अनुरोध गर्दछु । मैले प्राप्त गरेको सम्पूर्ण शैक्षिक योग्यताको प्रमाणपत्र र लब्धाङ्कपत्र, नागरिकता र अन्य प्रमाणपत्रहरूको सक्कल र सो को प्रमाणित प्रतिलिपिहरू, हालसालै खिचिएको पासपोर्ट साइजको श्याम श्वेत फोटो तीन प्रति तथा निवेदन दस्तुर ………… रुपैयाँको बैङ्क भौचर यसै साथ संलग्न गरेको छु ।

दरखास्तवालाको पूरा नाम ः–
स्थायी ठेगाना ः–                                          दरखास्तवालाको, अस्थायी ठेगाना ः–                           दस्तखत ः–
बाबुको नाम ः–                                                                     मिति ः–
बाजेको नाम ः–
प्रस्तावित काम गर्ने ठाउँ ः–
प्राप्त गरेको शैक्षिक तथा अन्य उपाधिहरू ः–

(१)
(२)
(३)
(४)

शैक्षिक तथा अन्य उपाधिहरू प्रदान गर्ने संस्था ः–
प्राप्त गरेको साल ः–
अरु कुनै व्यावसायिक परिषद्मा नाम दर्ता भएको भए त्यस्तो परिषद्को नाम र ठेगाना ः–
निवेदकले प्रेस्किप्सनमा गर्ने दस्तखतको नमूना ः–

पासपोर्ट साईजको
(हालसालै खिचिएको
श्याम श्वेत फोटो)

मिति ः–
परिचय ः–                                                                 (काउन्सिलको सदस्य । स्थायी दर्तावाला चिकित्सकबाट) ः–

मैले निवेदक डा. ………………. लाई राम्रोसँग चिन्दछु । निजले दिएको विवरण ठीक छ, फरक परेमा कानून बमोजिम सहुँला, बुझाउँला ।
प्रमाणित गर्नेको,
नाम ः–
दस्तखत ः–
दर्ता नं. ः–
ठेगाना ः–
मिति ः

अनुसूची–२ प्रतिज्ञापत्र

अनुसूची–२
(नियम ३ को उपनियम (३) को खण्ड (घ) सँग सम्बन्धित)

प्रतिज्ञापत्र

म श्री ………………………………………………. ले नेपाल मेडिकल काउन्सिल ऐन, नियम तथा विनियम एवं प्रचलित अन्य कानूनको अधीनमा रही चिकित्सकको हैसियतले आफूले पालना गर्नु पर्ने सबै काम र कर्तव्य इमान्दारी साथ पालना गर्ने प्रतिज्ञा गर्दै यो प्रतिज्ञापत्र प्रस्तुत गरेको छु । मैले नेपाल मेडिकल काउन्सिल ऐन, नियम, विनियम तथा पेशागत आचरण र अन्य प्रचलित कानूनले निर्दिष्ट गरेको चिकित्सकको काम, कर्तव्य र आचार संहिता विपरीत काम गरेमा कानून बमोजिम कारवाही हुन मेरो मन्जुरी छ ।

दस्तखत ः–
नाम ः–
ठेगाना ः–
मितिः–

अनुसूची–५ परीक्षण दर्ता किताब

अनुसूची–५

 

विवरण भर्नेको                                सही रुजु गर्नेको सही                      सम्बन्धित चिकित्सकको सही                   रजिष्ट्रारको सही
…………………..                                ………………                             …………………………….                                  ……………….

अनुसूची–६ विशेषज्ञ दर्ता किताब

अनुसूची–६

 

विवरण भर्नेको सही                रुजु गर्नेको सही            सम्बन्धित चिकित्सकको                            सही रजिष्ट्रारको सही
………………….                   ………………..                 …………………………….                                      …………….

अनुसूची–७ निरीक्षण, अनुगमन तथा मूल्याङ्कन प्रतिवेदन

अनुसूची–७

(नियम २०ख. को उपनियम (४) सँग सम्बन्धित)

निरीक्षण, अनुगमन तथा मूल्याङ्कन प्रतिवेदन

मेडिकल कलेजको नाम र ठेगानाः–
सञ्चालक संस्थाको नाम र ठेगानाः–
सञ्चालक संस्था प्रमुखको नाम र ठेगानाः–
मेडिकल कलेज प्रमुखको नाम र ठेगानाः–
मेडिकल कलेजले सम्बन्धन लिएको विश्वविद्यालयको नाम र ठेगानाः–
मेडिकल कलेज निरीक्षणको उद्देश्यः–

भौतिक पूर्वाधारहरूको विवरणः–
(१) जग्गाको क्षेत्रफलः–
(२) शैक्षिक, प्रशासनिक र आवासीय भवनः–
(३) आधारभूत विज्ञानतर्फका प्रयोगशाला, शैक्षिक सामाग्री, औजार र उपकरण आदि–
(४) चिकित्सा विषय सम्बन्धी पुस्तकालयः–
(५) शिक्षण अस्पताल र अस्पतालमा विभिन्न विभाग, औजार, उपकरण र सेवा सम्बन्धी तथ्याङ्कः–
शिक्षक, चिकित्सक, प्रशिक्षक, नर्स, प्रशासनिक र अन्य जनशक्तिको विवरणः–
विद्यार्थी संख्याः–
वार्षिक परीक्षामा उत्तिर्ण प्रतिशतः–
सञ्चालन गरिएका अन्य शैक्षिक कोर्षहरूः–
पूर्वाधार विकास र जनशक्ति विकास योजनाः–
अन्य विवरणः–
निरीक्षण टोलीको निष्कर्षः–
निरीक्षण टोलीका सदस्यहरूको दस्तखतः–
मितिः

अनुसूची–८ विदेशी नागरिक चिकित्सक दर्ता किताब

अनुसूची–८

विवरण भर्नेको सही           रुजु गर्नेको               सही सम्बन्धित              चिकित्सकको सही                    रजिष्ट्रारको सही
………………….              ……………..            …………………………….       ……………….

अनुसूची–९ दस्तुर

अनुसूची–९

(नियम ४ को उपनियम (१), नियम ५ को उपनियम (२), नियम ६ को उपनियम (२), नियम ७ को उपनियम (२), नियम २०ङ. को उपनियम (३), नियम २०च. को उपनियम (३) र नियम २१च. को उपनियम (७) सँग सम्बन्धित)

दस्तुर

१. स्थायी दर्ता दस्तुरः एक हजार रूपैयाँ ।
२. अस्थायी दर्ता दस्तुरः एक हजार रूपैयाँ ।
३. परीक्षण दर्ता दस्तुरः पाँचसय रूपैयाँ ।

४. विशेषज्ञ दर्ता–

(क) नाम दर्ता दस्तुरः एक हजार दुई सय रूपैयाँ ।
(ख) वार्षिक शुल्कः  एक सय रूपैयाँ ।
(ग) नवीकरण दस्तुरः  एक सय रूपैयाँ ।
(घ) विलम्व दस्तुरः पचास रूपैयाँ ।

५. दर्ता प्रमाणपत्र परीक्षा दस्तुरः दुई हजार पाँच सय रूपैयाँ ।
६. विशेष परीक्षा दस्तुरः तीन हजार रूपैयाँ ।

७. विदेशी नागरिक चिकित्सकको लागिः–
(क) नाम दर्ता दस्तुरः तीन हजार रूपैयाँ ।
(ख) दर्ता नवीकरण दस्तुरः तीन हजार रूपैयाँ ।