Skip to contentSkip to left sidebar Skip to footer

परिच्छेद–४ समन्वय समिति तथा वित्तीय जानकारी इकार्ई सम्बन्धी व्यवस्था

८. राष्ट्रिय समन्वय समितिको गठनः (१) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर निवारण गर्ने सम्बन्धमा अन्तर निकाय बीच समन्वय गर्न र नेपाल सरकारलाई आवश्यक सुझाव दिनको लागि देहाय बमोजिमको एक राष्ट्रिय समन्वय समिति रहनेछः–
(क) सचिव, अर्थ मन्त्रालय – संयोजक
(ख) सचिव, कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय – सदस्य
(ग) सचिव, गृह मन्त्रालय – सदस्य
(घ) सचिव, परराष्ट्र मन्त्रालय – सदस्य
(घ१) सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय – सदस्य
(घ२) नायव महान्यायाधिवक्ता, महान्यायाधिवत्ताको कार्यालय – सदस्य
(घ३) सचिव, अख्तियार दुरुपयोग अनुसन्धान आयोग – सदस्य
(ङ) डेपुटी गर्भनर, राष्ट्र बैंक – सदस्य
(ङ१) प्रहरी महानिरीक्षक, नेपाल प्रहरी – सदस्य
(च) प्रमुख, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग – सदस्य
(२) वित्तीय जानकारी इकार्ईको प्रमुखले उपदफा (१) बमोजिमको राष्ट्रिय समन्वय समितिको सचिवको रुपमा काम गर्नेछ र वित्तीय जानकारी इकाईले राष्ट्रिय समन्वय समितिको सचिवालयको रुपमा काम गर्नेछ ।
(३) उपदफा (१) बमोजिमको राष्ट्रिय समन्वय समितिको बैठक सम्बन्धी कार्यविधि सो समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ ।
८क. राष्ट्रिय समन्वय समितिको काम, कर्तव्य र अधिकारः यस ऐनमा अन्यत्र लेखिएको काम, कर्तव्य र अधिकारका अतिरिक्त राष्ट्रिय समन्वय समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर निवारण गर्ने सम्बन्धमा अपनाउनु पर्ने नीति तयार गरी नेपाल सरकार समक्ष पेश गर्ने,
(क१) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी राष्ट्रिय तथा क्षेत्रगत जोखिम मूल्याङ्कन सम्बन्धी कार्यको सहजीकरण तथा समन्वय गर्ने र जोखिम व्यवस्थापन तथा न्यूनीकरणका लागि आवश्यक नीतिगत तथा अन्य उपयुक्त व्यवस्था गर्ने वा गराउने,
(ख) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर निवारण गर्ने सम्बन्धमा नेपाल सरकारले गरेको निर्णय कार्यान्वयन गर्ने वा गराउने,
(ग) नेपाल सदस्य भएको अन्तर्राष्ट्रिय संघ संस्थाले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर निवारण गर्ने सम्बन्धमा तयार गरेको मापदण्ड वा नीति आवश्यकता अनुसार कार्यान्वयन गर्न नेपाल सरकार समक्ष सिफारिस गर्ने,
(घ) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर निवारण गर्ने सम्बन्धमा सम्बन्धित निकायलाई निर्देशन दिने र सो निर्देशन बमोजिमको कार्य भए नभएको अनुगमन गर्ने,
(ङ)   सम्बद्ध निकाय, नियमनकारी निकाय तथा वित्तीय जानकारी इकाईले आफूले सम्पादन गरेका काम कारबाही सम्बन्धी वार्षिक प्रतिवेदनका सम्बन्धमा छलफल गरी आवश्यक समन्वय गर्ने,
(च) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर निवारण गर्ने सम्बन्धमा सम्बन्धित विषयमा नेपाल सरकारले तोकिदिएको अन्य कार्य गर्ने वा गराउने ।
९. वित्तीय जानकारी इकार्ईः (१) सम्पत्ति शुद्धीकरण, आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी तथा सम्बद्ध कसूर सम्बन्धी शंकास्पद कारोबार सम्बन्धी प्रतिवेदन तथा सो सम्बन्धी अन्य सूचना प्राप्त गर्न, सोको विश्लेषण गर्न तथा विश्लेषणको निष्कर्ष प्रवाह गर्न कार्यात्मक रुपले स्वायत्त तथा स्वतन्त्र इकाईको रुपमा राष्ट्र बैंकमा एक वित्तीय जानकारी इकार्ई रहनेछ ।
(२) वित्तीय जानकारी इकार्ईको प्रमुखको नियुक्ति राष्ट्र बैंकका कम्तीमा प्रथम श्रेणीका अधिकृतहरुमध्येबाट राष्ट्र बैंकको गभर्नरले गर्नेछ ।
(३) वित्तीय जानकारी इकार्ईको कार्यालय राष्ट्र बैंकमा रहनेछ र सो कार्यालयको लागि आवश्यक पर्ने कर्मचारीको व्यवस्था राष्ट्र बैंकले गर्नेछ ।
(४) वित्तीय जानकारी इकाईले अनुरोध गरेमा नेपाल सरकार वा कुनै सार्वजनिक संस्थाले वित्तीय जानकारी इकाईमा काम गर्ने गरी आफ्नो कर्मचारी उपलब्ध गराइदिन सक्नेछ ।
(५) राष्ट्र बैंकले वित्तीय जानकारी इकाईलाई छुट्टै बजेट उपलब्ध   गराउनेछ ।
(६) वित्तीय जानकारी इकाईको प्रमुख तथा कर्मचारीको न्यूनतम योग्यता, संगठन संरचना, दरबन्दी, सरुवा वा पदमुक्त हुने अवस्था तथा अन्य साधन स्रोत उपलब्ध गराउने लगायतका व्यवस्था राष्ट्र बैंकको विनियममा उल्लेख भए बमोजिम हुनेछ ।
१०. वित्तीय जानकारी इकाईको काम, कर्तव्य र अधिकारः (१) यस ऐनमा अन्यत्र लेखिएको काम, कर्तव्य र अधिकारको अतिरिक्त वित्तीय जानकारी इकार्ईको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) यस ऐन बमोजिम निर्धारण गरिएको सीमा वा सो भन्दा  बढीको कारोबारको विवरण प्राप्त गर्ने,
(ख) यस ऐन बमोजिम शंकास्पद कारोबार सम्बन्धी प्रतिवेदन प्राप्त गर्ने,
(ग) यस ऐन बमोजिम मुद्रा तथा धारक विनिमेय अधिकारपत्र सम्बन्धी विवरण प्राप्त गर्ने,
(घ) यस ऐन बमोजिम अन्य सूचना, कागजात तथा विवरण प्राप्त गर्ने,
(ङ) शंकास्पद कारोबार प्रतिवेदन लगायत यस ऐन बमोजिम प्राप्त अन्य प्रतिवेदन तथा जानकारीको विश्लेषण गर्ने,
(च) खण्ड (ङ) बमोजिम विश्लेषण गर्दा सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर वा अन्य कसूर सम्बन्धी शङ्का लागेमा विश्लेषणको निष्कर्ष आफैं वा सम्बन्धित निकायको अनुरोधमा विभाग वा प्रचलित कानून बमोजिम कसूरको अनुसन्धान तहकिकात गर्ने निकायमा प्रवाह गर्ने,
(छ) यस ऐन बमोजिमको सूचना दिने दायित्व भएका सूचक संस्था, सम्बद्ध निकाय, नियमनकारी निकाय तथा आफ्ना कर्मचारीलाई आवश्यकता अनुसार तालीमको व्यवस्था गर्ने,
(ज) शंकास्पद कारोबारको पहिचान, शंकास्पद कारोबार सम्बन्धी प्रतिवेदन तथा जानकारी समेतका सम्बन्धमा सूचक संस्था वा सम्बद्ध निकायलाई आवश्यक पृष्ठपोषण तथा मार्गदर्शन गर्ने,
(झ) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरको प्रकार, कसूर गर्ने प्रविधि, पद्धति तथा प्रवृत्ति समेतका विवरण संलग्न गरी आफ्नो काम कारबाही सम्बन्धी वार्षिक प्रतिवेदन राष्ट्र बैंक मार्फत नेपाल सरकार समक्ष पेश गर्ने,
(ञ) शंकास्पद कारोबार पहिचान, मूल्यांकन, प्रतिवेदन प्रणाली तथा सोको प्रभावकारिताका सम्बन्धमा नियमनकारी निकायलाई आवश्यकता अनुसार सूचक संस्थाको निरीक्षण गर्न सहयोग गर्ने वा निरीक्षण सुपरीवेक्षणको प्रतिवेदन अध्ययन गरी पृष्ठपोषण दिने,
(ट) समान प्रकृतिको काम गर्ने विदेशी निकायसग पारस्पारिकताको आधारमा सहयोग आदान प्रदान सम्बन्धी समझदारी कायम गर्ने, र
(ठ) तोकिए बमोजिमका अन्य कार्यहरु गर्ने ।
(२) वित्तीय जानकारी इकाईले समान प्रकृतिको काम गर्ने कुनै मुलुकको निकायसँग आवश्यक सूचना वा सहयोग माग गर्न वा आफैं वा कुनै मुलुकको समान प्रकृतिको काम गर्ने निकायको अनुरोधमा सूचना दिन वा अन्य सहयोग प्रदान गर्न सक्नेछ ।
(३) वित्तीय जानकारी इकाईले उपदफा (२) बमोजिम आफूलाई प्राप्त सहयोग तथा सूचनाको प्रयोग गर्दा त्यस्तो सूचना वा सहयोग प्रदान गर्ने निकायले तोकिदिए बमोजिमका शर्तहरु पालना गर्नु पर्नेछ ।
(४) वित्तीय जानकारी इकाईले उपदफा (२) बमोजिम कुनै मुलुकको समान प्रकृतिको काम गर्ने निकायलाई सूचना तथा सहयोग प्रदान गर्दा त्यस्तो सूचना वा सहयोगको प्रयोगको सम्बन्धमा तोकिए बमोजिमका शर्तहरु समेत उल्लेख गर्नु पर्नेछ ।
(५) उपदफा (२) बमोजिम समान प्रकृतिको काम गर्ने कुनै मुलुकको निकायबाट प्राप्त सूचनाको सम्बन्धमा समेत दफा १०ख. बमोजिमको गोपनीयता सम्बन्धी व्यवस्था लागू हुनेछ ।
(६) यस दफा बमोजिमको काम, कर्तव्य र अधिकार पूरा गर्ने क्रममा वित्तीय जानकारी इकाईले देहाय बमोजिम गर्न सक्नेछः–
(क) सूचक संस्थाबाट आवश्यक थप कागजात, अभिलेख, विवरण, सूचना तथा जानकारी माग गर्ने तथा प्राप्त गर्ने, वा
(ख) कुनै व्यावसायिक तथ्यांक वा सम्बद्ध निकाय, नियमनकारी निकाय, सार्वजनिक संस्थामा रहेको प्रशासनिक, वित्तीय वा कानून कार्यान्वयन सम्बन्धी सूचना, कागजात वा विवरणमा पहुँच प्राप्त गर्ने र त्यस्तो सूचना, कागजात वा विवरण माग गर्ने तथा प्राप्त गर्ने ।
(७) शंकास्पद कारोबार सम्बन्धी प्रतिवेदन नदिने वा यस ऐन बमोजिम दिएको आदेश तथा तोकिदिएको शर्त पालना नगर्ने वा पेश गर्न आदेश दिएको कागजात वा जानकारी उपलब्ध नगराउने सूचक संस्थालाई वित्तीय जानकारी इकाईले गम्भीरताका आधारमा दशलाख रूपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।
(८) वित्तीय जानकारी इकाईले उपदफा (७) बमोजिम सूचक संस्थालाई जरिवाना गर्दा सम्बन्धित सूचक संस्थालाई आफ्नो सफाई पेश गर्ने मनासिब मौका दिनु पर्नेछ ।
(९) वित्तीय जानकारी इकाईले उपदफा (७) बमोजिम गरेको जरिवानामा चित्त नबुझ्ने सूचक संस्थाले पैंतीस दिनभित्र सम्बन्धित उच्च अदालत समक्ष पुनरावेदन दिन सक्नेछ ।
(१०) वित्तीय जानकारी इकाईले कुनै सूचक संस्थालाई उपदफा (७) बमोजिम जरिवाना गरेमा सात दिनभित्र सोको जानकारी नियमनकारी निकायलाई दिनु पर्नेछ ।
१०क. कारोबार सम्बन्धी प्रतिवेदन दिनु पर्नेः (१) कुनै व्यक्तिले एकमुष्ट वा पटक पटक गरी राष्ट्र बैंकले तोकेको अवधिभित्र सोही बैंकले तोकिदिएको सीमाभन्दा बढी रकमको कारोबार गरेमा सूचक संस्था तथा सरकारी निकायले त्यस्तो कारोबार भएको मितिले पन्ध्र दिनभित्र वित्तीय जानकारी इकाईलाई सो सम्बन्धी जानकारी उपलब्ध गराउनु पर्नेछ ।
स्पष्टीकरणः यस उपदफाको प्रयोजनका लागि “सरकारी निकाय” भन्नाले मालपोत कार्यालय, कम्पनी रजिष्ट्रारको कार्यालय तथा नेपाल सरकारले तोकेको अन्य सरकारी निकाय सम्झनु  पर्छ ।
(२) उपदफा (१) बमोजिमको जानकारी उपलब्ध गराउने प्रतिवेदनको ढाँचा, पद्धति तथा कार्यविधि वित्तीय जानकारी इकाईले तोकिदिए बमोजिम हुनेछ ।
१०ख. सूचनाको गोपनीयता कायम गर्नु पर्नेः (१) वित्तीय जानकारी इकाईमा प्राप्त दफा १०क. बमोजिमको कारोबार सम्बन्धी प्रतिवेदन, शंकास्पद कारोबार सम्बन्धी प्रतिवेदन तथा सूचना, कागजात, विवरण गोप्य रहने छन् र त्यस्तो सूचनाको विश्लेषणबाट प्राप्त निष्कर्ष कसूरको अनुसन्धान गर्दा सूचनाको स्रोत (इन्टेलिजेन्स) वा सो निष्कर्ष प्रवाह गर्दा तोकिदिएको शर्तको अधीनमा रही प्रयोग गर्नु पर्नेछ ।
(२) यस ऐनमा अन्यथा लेखिएकोमा वा अदालतले आदेश दिएकोमा बाहेक वित्तीय जानकारी इकाईमा बहाल रहेको वा बहाल टुटेको कुनै पनि कर्मचारीले आफ्नो कामको सिलसिलामा थाहा पाएको जानकारी आफू वित्तीय जानकारी इकाईमा नरहेको अवस्थामा समेत गोप्य राख्नु पर्नेछ ।
(३) वित्तीय जानकारी इकाईले यस ऐन बमोजिम प्राप्त सूचना, कागजात, विवरण सोको प्रयोग, विश्लेषण, प्रवाह, समान प्रकृतिको कार्य गर्ने विदेशी निकायसँग आदान प्रदान गर्ने, सो उपर पहुँच कायम गर्ने तथा त्यस्ता सूचना, कागजात वा विवरण गोप्य, सुरक्षित र व्यवस्थित राख्ने माध्यम विकास तथा प्रयोग गर्ने सम्बन्धमा आवश्यक कार्यविधि बनाई लागू गर्नु पर्नेछ ।
(४) यस ऐन बमोजिम सूचक संस्था तथा अन्य सम्बद्ध निकायले वित्तीय जानकारी इकाईलाई दिनु पर्ने प्रतिवेदन, सूचना वा जानकारीको ढाँचा, माध्यम, समय तथा कार्यविधि सम्बन्धमा वित्तीय जानकारी इकाईले आवश्यक निर्देशिका जारी गर्न  सक्नेछ ।
(५) उपदफा (४) बमोजिम जारी गरिएको निर्देशिका वित्तीय जानकारी इकाईको वेबसाइटमा समेत प्रकाशन गर्नु पर्नेछ ।

0 Comments

There are no comments yet

Leave a comment