Skip to contentSkip to left sidebar Skip to footer

पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५

पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५

लालमोहर र प्रकाशन मिति                     – २०५५।४।६
संशोधन गर्ने ऐन
१. गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६                   २०६६।१०।७
२. केही नेपाल ऐन संशोधन गर्ने ऐन २०७२                                                                 २०७२।११।१३

३. नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५            २०७५।११।१९

२०५५ सालको ऐन नं. ७

………..

पशु स्वास्थ्य तथा पशु सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन
प्रस्तावना : मुलुकको अर्थतन्त्रको महत्वपूर्ण स्थान ओगटेको पशुपालन व्यवसायलाई व्यवस्थित र विकसित तुल्याउन र मानव समुदायको पौष्टिक भोजन तथा स्वास्थ्यका दृष्टिकोणबाट समेत पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्रीको स्वस्थ रुपमा उत्पादन, बिक्री वितरण, निकासी तथा पैठारी गर्ने सम्बन्धमा व्यवस्था गर्न बान्छनीय भएकोले,
श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालको सत्ताइसौं वर्षमा संसदले यो ऐन बनाएकोछ ।

परिच्छेद–१ प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भ : (१) यस ऐनको नाम “पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५” रहेको छ ।
(२) यो ऐन नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको क्षेत्रमा तोकेको मितिदेखि प्रारम्भ हुनेछ ।
२. परिभाषा: विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा,–

(क) “पशु” भन्नाले जुनसुकै प्रकारका पाल्तु वा जंगली जनावर सम्झनु पर्छ र सो शब्दले पंक्षी र माछालाई समेत जनाउँछ ।
(ख) “पशुजन्य पदार्थ” भन्नाले पशुको मासु, रगत, बोसो, पित्त, दूध, फूल, हाड, छाला, सि·, खुर, प्वाँख, ऊन, भुत्ला, रौं, भ्रृ‍‌ण, वीर्य, ग्रन्थी, मल, मुत्र वा सोबाट बनाइएको अप्रशोधित वस्तु सम्झनु पर्छ ।
(ग) “पशु उत्पादन सामग्री” भन्नाले पशु स्वास्थ्यमा, कृत्रिम गर्भाधानमा वा जैविक पदार्थ उत्पादनमा उपयोग हुने प्रशोधित वा अप्रशोधित सामग्री सम्झनु पर्छ ।
(घ) “जैविक पदार्थ (वायोलोजिकल्स)” भन्नाले पशु विकास वा पशु स्वास्थ्यको लागि प्रयोग गरिने जीवाणु वा विषाणुयुक्त औषधी, खोप वा जैविक रसायन सम्झनु पर्छ ।
(ङ) “क्वारेन्टाइन चेकपोष्ट” भन्नाले नेपाल सरकारले दफा ३ बमोजिम स्थापना गरेको पशु क्वारेन्टाइन चेकपोष्ट सम्झनु पर्छ ।
(च) “क्वारेन्टाइन” भन्नाले कुनै पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्रीमा कुनै रोग लागेको छ छैन भन्ने कुरा यकिन गर्न पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्रीलाई कुनै खास ठाउँमा तोकिएको अवधिभर परीक्षणको लागि एकैसाथ वा छुट्टा छुट्टै राख्ने काम सम्झनु पर्छ ।
(छ) “क्वारेन्टाइन अधिकृत” भन्नाले दफा ५ बमोजिम नियुक्ति गरिएको क्वारेन्टाइन अधिकृत सम्झनु पर्छ ।
(ज) “क्वारेन्टाइन स्थल” भन्नाले पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्रीलाई परीक्षणको लागि क्वारेन्टाइनमा राखिने ठाउँ सम्झनु पर्छ ।
(झ) “संक्रामक रोग” भन्नाले अनुसूचीमा उल्लिखित रोगहरु र नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेका अन्य रोगहरुलाई समेत जनाउँछ ।
(ञ) “विभाग” भन्नाले नेपाल सरकार, पशु सेवा विभाग सम्झनु पर्छ ।
(ट) “कार्यालय प्रमुख” भन्नाले ……………. पशु सेवा कार्यालय वा तोकिएको अन्य कार्यालयको प्रमुख भई काम गर्ने व्यक्ति सम्झनु पर्छ ।
(ठ) “भेटेनरी निरीक्षक” भन्नाले दफा २५ बमोजिम नियुक्ति गरिएको वा तोकिएको अधिकृत सम्झनु पर्छ ।
(ड) “पैठारीकर्ता” भन्नाले नेपाल बाहिरबाट पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री पैठारी गर्ने व्यक्ति सम्झनु पर्छ ।
(ढ) “निकासीकर्ता” भन्नाले नेपाल अधिराज्यबाट पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री निकासी गर्ने व्यक्ति सम्झनु पर्छ ।
(ण) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।

परिच्छेद–२ पशु क्वारेन्टाइन सम्बन्धी व्यवस्था

३. क्वारेन्टाइन चेकपोष्टको स्थापना : नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी नेपाल……….. को कुनै पनि क्षेत्रमा स्थायी वा अस्थायी प्रकृतिको क्वारेन्टाइन चेकपोष्ट स्थापना गर्नेछ ।
४. क्वारेन्टाइन स्थल निर्माण गर्न सक्ने : (१) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी दफा ३ बमोजिम क्वारेन्टाइन चेकपोष्ट स्थापना भएको क्षेत्रमा क्वारेन्टाइन स्थल निर्माण गर्न सक्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि निजी क्षेत्रलाई समेत क्वारेन्टाइन स्थल निर्माण गर्न नेपाल सरकारले अनुमति दिन सक्नेछ ।
(३) उपदफा (२) बमोजिम गैर सरकारी क्षेत्रमा क्वारेन्टाइन स्थल निर्माण गर्न चाहनेले विभागबाट सिफारिश पत्र लिनु पर्नेछ ।
(४) उपदफा (१) वा (२) बमोजिम क्वारेन्टाइन स्थल निर्माण गर्दा पालन गर्नु पर्ने शर्त तथा अपनाउनु पर्ने मापदण्ड तोकिए बमोजिम हुनेछ ।
५. क्वारेन्टाइन अधिकृतको नियुक्ति : नेपाल सरकारले दफा ३ बमोजिम स्थापना भएको क्वारेन्टाइन चेकपोष्टको प्रमुखको रुपमा काम गर्ने गरी पशु चिकित्सा विषयमा कम्तीमा स्नातकोपाधि हासिल गरेको व्यक्तिलाई क्वारेन्टाइन अधिकृतको पदमा नियुक्ति गर्नेछ ।
६. क्वारेन्टाइनमा राख्नु पर्ने : (१) पैठारीकर्ताले पैठारी गरेका पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्रीलाई परीक्षणको लागि तोकिएको अवधिसम्म क्वारेन्टाइनमा राख्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम क्वारेन्टाइनमा राखिएका पशुको लागि आवश्यक पर्ने दाना, पानी र सुरक्षाको व्यवस्था सम्बन्धित पैठारीकर्ताले गर्नु पर्नेछ ।

(३) क्वारेन्टाइनमा राखिएको पशु परीक्षण अवधिभित्रै मरेमा क्वारेन्टाइन अधिकृतले त्यस्तो मरेको पशु परीक्षण गरी नष्ट गर्न पैठारीकर्तालाई आदेश दिनेछ ।
(४) उपदफा (१) बमोजिम क्वारेन्टाइनमा राखिएको पशु मरेमा पैठारीकर्ताले कुनै प्रकारको क्षतिपूर्ति दाबी गर्न पाउने छैन ।
(५) क्वारेन्टाइनमा राखिएको पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री परीक्षण गर्ने कार्यविधि तोकिए बमोजिम हुनेछ ।
७. प्रमाणपत्र दिनु पर्ने : क्वारेन्टाइन अधिकृतले पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्रीलाई क्वारेन्टाइनमा राखी जाँच गरेपछि तोकिए बमोजिमको ढाँचामा क्वारेन्टाइन प्रमाणपत्र उपलब्ध गराउनु पर्नेछ ।
८. निकासी वा पैठारी गर्दा पालन गर्नु पर्ने शर्त : निकासीकर्ता वा पैठारीकर्ताले पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री निकासी वा पैठारी गर्दा पालन गर्नु पर्ने शर्त तोकिए बमोजिम हुनेछ ।
९. क्वारेन्टाइन चेकपोष्टको बाटो भएर मात्र पैठारी गर्नु पर्ने : पैठारीकर्ताले पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री पैठारी गर्दा क्वारेन्टाइन चेकपोष्टको बाटो भएर गर्नु पर्नेछ ।
१०. पैठारी गर्न प्रतिबन्ध लगाउन सक्ने : नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको रोगहरु भएको पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री पैठारी गर्न प्रतिबन्ध लगाउन सक्नेछ ।
११. प्रवेश गर्न रोक लगाउन सक्ने : देहायका अवस्थामा क्वारेन्टाइन अधिकृतले पैठारी गरिएका पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्रीको प्रवेशमा रोक लगाउन सक्नेछ :–
(क) पैठारी गरिएका पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री जुन ठाउँबाट ल्याएको हो सो ठाउँमा संक्रामक रोगको प्रकोप भएको सूचना प्राप्त भएमा,
(ख) पैठारीकर्ताले पैठारी गर्ने पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्रीमा तोकिए बमोजिम संक्रामक रोग नभएको प्रमाणपत्र र स्वस्थता सम्बन्धी प्रमाणपत्र उपलब्ध नगराएमा,
(ग) खण्ड (ख) बमोजिमको प्रमाणपत्र उपलब्ध गराएको भए तापनि केही पशुहरु संक्रामक रोग लागि मरेको पाइएमा,
(घ) पैठारी गरिएको पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री ल्याउनको निमित्त प्रयोग गरिएको सवारी साधनमा संक्रामक रोगको लसपस भएको पाइएमा ।
१२. आदेश दिन सक्नेः (१) क्वारेन्टाइन अधिकृतले दफा ११ बमोजिम प्रवेश गर्न रोक लगाइएको पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री जुन मुलुकबाट ल्याइएको हो सो मुलुकमा फिर्ता लैजान आदेश दिन सक्नेछ ।
(२) पैठारी गरिएका पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री त्यसै राखी छोड्दा वा सम्बन्धित मुलुकमा फिर्ता पठाउँदा संक्रामक रोग फैलन सक्ने संभावना देखिएमा क्वारेन्टाइन अधिकृतले पैठारीकर्तालाई त्यस्तो पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्रीलाई हटाउने वा नष्ट गर्ने आदेश दिन सक्नेछ ।
१३. लिलाम गर्न सकिने : (१) क्वारेन्टाइन स्थलमा राखिएको पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री तोकिएको अवधि भित्र सम्बन्धित पैठारीकर्ताले फिर्ता नलगेमा क्वारेन्टाइन अधिकृतले त्यस्तो पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामाग्री जफत गरी लिलाम गर्न सक्नेछ । लिलाम गर्ने अवस्था र कार्यविधि तोकिए बमोजिम हुनेछ ।
(२) उपदफा (१) बमोजिम जफत गरिएको पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री लिलाम गर्न उपयुक्त नदेखिएमा वा लिलाम गर्दा कसैले नसकारेमा क्वारेन्टाइन अधिकृतले त्यस्तो पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री हटाउन वा नष्ट गर्न आदेश दिन सक्नेछ ।
१४. हटाउने वा नष्ट गर्ने : (१) दफा ६, १२ वा १३ बमोजिम हटाउने वा नष्ट गर्ने आदेश पाएपछि सम्बन्धित पैठारीकर्ताले त्यस्तो पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री हटाउन वा नष्ट गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम सम्बन्धित पैठारीकर्ताले पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री नहटाइएमा वा नष्ट नगरेमा क्वारेन्टाइन अधिकृत आफैले त्यस्तो पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री हटाउन वा नष्ट गर्न सक्नेछ ।
(३) उपदफा (२) बमोजिम पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री हटाउँदा वा नष्ट गर्दा लाग्ने सम्पूर्ण खर्च पैठारीकर्ताबाट सरकारी बाँकी सरह असूल उपर गरिनेछ ।
१५. पशुहरुको वसार पसार सम्बन्धी व्यवस्था : नेपाल ……….. को कुनै एक ठाउँको पशुहरुमा स‌ंक्रामक रोग लागेको कुरा पत्ता लागेमा कार्यालय प्रमुख वा क्वारेन्टाइन अधिकृतले त्यस्ता पशुहरु नेपाल …………. को कुनै अर्को ठाउँमा वसार पसार गर्न प्रतिबन्ध लगाउन सक्नेछ ।

परिच्छेद – ३ पशु नसल सुधार सम्बन्धी व्यवस्था

१६. सूचना जारी गर्न सक्ने : (१) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी नेपालमा रहेका कुनै जातका पशुको वंश लोप हुनबाट बचाउन वा तिनीहरुको नसल सुधार गर्ने दृष्टिले नेपाल ……….. को कुनै क्षेत्रमा सोही सूचनामा तोकेको जातको भाले जातको पशु बाहेक अन्य भाले जातको पशु खसी पारी राख्नु पर्ने गरी सूचना जारी गर्न सक्नेछ ।
तर परम्परादेखि चलिआएको पूजा आजा वा धार्मिक अनुष्ठानका लागि नभई नहुने खसी नपारेको भाले पशु पाल्नु पर्ने भएमा त्यस्तो पशुलाई गर्भाधान गराउन नसक्ने गरी अलग्गै राख्न उपदफा (१) मा लेखिएको कुनै कुराले बाधा पुर्‍याएकाे मानिने छैन ।
(२) उपदफा (१) बमोजिम तोकिएको जात बाहेक अन्य भाले जातको पशु पालेको पाइएमा कार्यालय प्रमुखले सम्बन्धित व्यक्तिलाई त्यस्तो भाले पशुलाई तत्कालै खसी पार्ने आदेश दिन सक्नेछ ।

परिच्छेद–४ उद्योग स्थापना तथा निकासी पैठारी सम्बन्धी व्यवस्था

१७. उद्योग स्थापना गर्न सिफारिश पत्र लिनु पर्ने : जैविक पदार्थ, चल्ला, माछाका पूरा उत्पादन गर्ने (ह्याचरी) वा पशु दाना वा मासु प्रशोधन सम्बन्धी उद्योग स्थापना गर्न चाहने व्यक्तिले तोकिएको निकायबाट सिफारिश पत्र लिनु पर्नेछ ।
१८. निकासी वा पैठारी गर्न सिफारिश लिनु पर्ने ः जैविक पदार्थ, चल्ला वा माछाका भूरा वा पशु दाना निकासी वा पैठारी गर्न चाहने व्यक्तिले तोकिएको दस्तुर तिरी तोकिएको निकायबाट सिफारिश पत्र लिनु पर्नेछ ।
१९. अनुमतिपत्र लिनु पर्ने : (१) जैविक पदार्थ, चल्ला, माछाका भूरा बिक्री वितरण वा मासु प्रशोधन गर्न चाहने व्यक्तिले तोकिएको निकायबाट तोकिएको दस्तुर तिरी अनुमतिपत्र लिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम बिक्री वितरण गरिने जैविक पदार्थ, चल्ला, माछाका भूरा वा मासुप्रशोधनको गुणस्तर तथा मापदण्ड तोकिए बमोजिम हुनेछ ।

परिच्छेद–५ दण्ड सजाय र पुनरावेदन

२०. दण्ड सजाय : (१) दफा ९ को उल्लघंन गरी पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री पैठारी गर्ने व्यक्तिलाई पच्चीस हजार रुपैयाँसम्म जरिबाना हुनेछ र त्यसरी पैठारी गरिएका पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्रीमा संक्रामक रोग भएको पाइएमा दोब्बर जरिबाना हुनेछ ।
(२) दफा १० को उल्लघंन गर्ने व्यक्तिलाई दश हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।
(३) दफा १२ को उपदफा (१) बमोजिम दिइएको आदेश पालन नगर्ने व्यक्तिलाई पच्चीस हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।
(४) उपदफा (१), (२) र (३) मा लेखिएदेखि बाहेक यो ऐन वा यस ऐन अन्तरगत बनेको नियमावलीको उल्लघंन गर्ने व्यक्तिलाई कसूरको मात्रा हेरी पाँच हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।
२१. मुद्दाको तहकिकात र दायरी : (१) यस ऐन अन्तर्गतको कसूरको तहकिकात क्वारेन्टाइन चेकपोष्टको कम्तीमा राजपत्र अनंकित प्रथम श्रेणीको प्राविधिक सहायकले गर्नेछ र त्यस्तो तहकिकातको काम पूरा भएपछि मुद्दा हेर्ने अधिकारी समक्ष मुद्दा दायर गर्नेछ ।
(२) उपदफा (१) बमोजिम मुद्दा हेर्ने अधिकारी समक्ष मुद्दा दायर गर्दा मुद्दाको तहकिकात गर्ने कर्मचारीले सरकारी वकीलसित राय सल्लाह लिन सक्नेछ ।
२२. मुद्दा हेर्ने अधिकारी : (१) दफा ९ अन्तर्गतको मुद्दा हेर्ने अधिकार सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई हुनेछ ।
(२) उपदफा (१) मा लेखिएदेखि बाहेक यस ऐन अन्तरगतको मुद्दा हेर्ने अधिकार कार्यालय प्रमुखलाई हुनेछ ।
२३. नेपाल सरकार वादी हुनेः यस ऐन अन्तर्गतको मुद्दा नेपाल सरकार वादी हुनेछ ।
२४. पुनरावेदन: दफा २२ बमोजिमको अधिकारीले गरेको निर्णय उपर चित्त नबुझ्ने व्यक्तिले पैंतीस दिनभित्र जिल्ला अदालत समक्ष पुनरावेदन गर्न सक्नेछ ।

परिच्छेद – ६ विविध

२५. भेटेनरी निरीक्षकको नियुक्ति : (१) नेपाल सरकारले पशु औषधी वा जैविक पदार्थको गुणस्तर निर्धारित मापदण्ड अनुसार भए नभएको जाँच गर्न आवश्यक स्थान र संस्थामा भेटेनरी निरीक्षकहरु नियुक्ति गर्न वा तोक्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम नियुक्ति हुने भेटेनरी निरीक्षकहरुको काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।

२५क. प्रदेश तथा स्थानीय तहले पशु स्वास्थ्य तथा पशु सेवा सम्बन्धी कार्य गर्न सक्ने: (१) प्रदेश तथा स्थानीय तहले पशुपालन व्यवसायलाई व्यवस्थित र विकसित गर्न किसानलाई पशु स्वास्थ्य तथा पशु सेवा उपलब्ध गराउन सक्नेछ।

(२) उपदफा (१) बमोजिम प्रदेश र स्थानीय तहले पशु स्वास्थ्य तथा पशु सेवा उपलब्ध गराउँदा यस ऐन बमोजिमको मापदण्डको अधीनमा रही उपलब्ध गराउनु पर्नेछ।”

२६. अधिकार प्रत्यायोजन : यस ऐन बमोजिम, कार्यालय प्रमुख, पशु चिकित्सक, क्वारेन्टाइन अधिकृत वा भेटेनरी निरीक्षकलाई प्राप्त अधिकार मध्ये मुद्दा हेर्ने अधिकार बाहेक अन्य अधिकार आवश्यकता अनुसार निजले आफू मातहतका कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।
२७. पशु प्रति निर्दयी व्यवहार गर्न रोक लगाउन सक्ने : नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी पशु प्रति हुने निर्दयी व्यवहार रोक्नको लागि एउटा समिति गठन गर्न सक्नेछ र त्यस्तो समितिको काम, कर्तव्य र अधिकार सोही सूचनामा तोकिदिए बमोजिम हुनेछ ।
२८. जाँचबुझ गर्न सक्ने : (१) कार्यालय प्रमुखलाई कुनै पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्रीमा संक्रामक रोक लागेको छ भन्ने शंका लागेमा त्यस्तो पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री रहेको जुनसुकै स्थानमा प्रवेश गरी जाँचबुझ गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्रीको जाँचबुझ गर्दा दफा १० बमोजिम नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेका रोगहरु लागेको पाइएमा कार्यालय प्रमुखले त्यस्तो पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्रीलाई हटाउन वा नष्ट गर्न आदेश दिनेछ ।
(३) उपदफा (२) बमोजिम सम्बन्धित धनीले पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन
सामग्री नहटाएमा वा नष्ट नगरेमा कार्यालय प्रमुख आफैंले त्यस्तो पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री हटाउन वा नष्ट गर्न सक्नेछ ।
(४) उपदफा (३) बमोजिम पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री हटाउँदा वा नष्ट गर्दा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित धनीबाट सरकारी बाँकी सरह असूल उपर गरिनेछ ।
२९. नष्ट गर्ने कार्यविधि : यस ऐन बमोजिम मृत पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री नष्ट गर्ने कार्यविधि तोकिए बमोजिम हुनेछ ।
३०. बाधा नहुने : यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै प्रशोधित पशुजन्य पदार्थमा संक्रामक रोग लागेको आशंका भएमा त्यस्तो प्रशोधित पशुजन्य पदार्थलाई क्वारेन्टाइनमा राखी परीक्षण गर्न बाधा पुर्‍याएकाे मानिने छैन ।
३१. अनुसूचीमा हेरफेर तथा थपघट गर्ने अधिकार : नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी अनुसूचीमा आवश्यकतानुसार हेरफेर तथा थपघट गर्न सक्नेछ ।
३२. प्रचलित कानून बमोजिम हुने : यस ऐनमा लेखिएजति कुरामा यसै ऐन बमोजिम र अरुमा प्रचलित कानून बमोजिम हुनेछ ।
३३. नियम बनाउने अधिकार : यस ऐनको उद्देश्य कार्यान्वयन गर्नको लागि नेपाल सरकारले आवश्यक नियमहरु बनाउन सक्नेछ ।
३४. संशोधन : संक्रामक रोग ऐन, २०२० मा ठाउँ ठाउँमा प्रयोग भएका “पशु, पंक्षी वा” भन्ने शब्दहरु झिकिएका छन्।