Skip to contentSkip to left sidebar Skip to footer

सामाजिक सुरक्षा ऐन, २०७५

सामाजिक सुरक्षा ऐन, २०७५

प्रमाणीकरण मिति                                                                                                                      – २०७५।६।२

संशोधन गर्ने ऐन 

१. नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५                   -२०७५।११।१९

संवत् २०७५ सालको ऐन नम्बर १९

सामाजिक सुरक्षाको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन

प्रस्तावनाः नेपालको संविधान बमोजिम आर्थिक रूपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका, असहाय एकल महिला, अपाङ्गता भएका, बालबालिका, आफ्नो हेरचाह आफैं गर्न नसक्ने तथा लोपोन्मुख जातिका नागरिकको सामाजिक सुरक्षाको अधिकार सुनिश्चित गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गर्न वाञ्छनीय भएकोले,

सङ्घीय संसदले यो ऐन बनाएको छ।

परिच्छेद-१ प्रारम्भिक

  • संक्षिप्त नाम र प्रारम्भः (१) यस ऐनको नाम “सामाजिक सुरक्षा ऐन, २०७५” रहेको छ।

(२) यो ऐन तुरून्त प्रारम्भ हुनेछ।

  • परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,-

(क)    “अशक्त र असहाय अवस्थामा रहेका” भन्नाले आर्थिक रूपले विपन्न शारीरिक वा मानसिक रूपले श्रम गर्न अशक्त भएको, पालनपोषण तथा हेरचाह गर्ने परिवारको कुनै सदस्य नभएको व्यक्ति सम्झनु पर्छ।

(ख)    “अपाङ्गता भएका” भन्नाले शारीरिक, मानसिक, बौद्धिक वा ईन्द्रीय सम्बन्धी दीर्घकालीन अशक्तता, कार्यगत सीमितता (फङ्सनल ईम्पेरिमेन्ट) वा विद्यमान अवरोधको कारण अन्य सामान्य व्यक्तिसरह समान आधारमा सामाजिक जीवनमा सहभागी हुन बाधा भएका दफा ८ बमोजिमका व्यक्ति सम्झनु पर्छ।

(ग)      “असहाय एकल महिला” भन्नाले जीवनयापन गर्ने कुनै आधार‚ आयस्रोत वा सम्पत्ति नभएको नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरी तोकेको भन्दा न्यून आय भएका अशक्त र असहाय अवस्थामा रहेका दफा ७ बमोजिमका महिला सम्झनु पर्छ।

(घ)   “आर्थिक रूपले विपन्न” भन्नाले जीवनयापन गर्ने कुनै आधार‚ आयश्रोत वा सम्पत्ति नभएको नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको भन्दा न्यून आय भएका व्यक्ति सम्झनु पर्छ।

(ङ)   “आफ्नो हेरचाह आफैं गर्न नसक्ने” भन्नाले अल्जाइमर्स‚ पार्किन्सस‚ स्पाइनल कर्ड इन्जुरी‚ ब्रेन ह्यामरेज‚ सुस्त मनस्थिति‚ पक्षघात‚ सिकल सेल एनिमिया, मानसिक अवस्था ठिक नभएको‚ अटिजम जस्ता रोगबाट ग्रसित भै आफ्नो हेरचाह आफै गर्न नसक्ने अवस्थामा रहेका भनी चिकित्सकबाट प्रमाणित भएका व्यक्ति सम्झनु पर्छ।

(च)   “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ।

(छ)   “लोपोन्मुख जाति” भन्नाले अनुसूची बमोजिमका जाति सम्झनु पर्छ।

(ज)   “सामाजिक सुरक्षा पाउने व्यक्ति” भन्नाले यस ऐन बमोजिम सामाजिक सुरक्षा भत्ता पाउने नेपाली नागरिक सम्झनु पर्छ।

(झ)   “सामाजिक सुरक्षा” भन्नाले यस ऐन बमोजिम सामाजिक सुरक्षा भत्ता पाउने नागरिकलाई दिइने नगद, भत्ता वा सहायता सम्झनु पर्छ।

(ञ)   “स्थानीय तह” भन्नाले गाउँपालिका वा नगरपालिका सम्झनु पर्छ।

परिच्छेद-२ सामाजिक सुरक्षा

  • सामाजिक सुरक्षा भत्ता पाउने: (१) देहाय बमोजिमका नेपाली नागरिकलाई सामाजिक सुरक्षा भत्ता पाउने अधिकार हुनेछ:-

(क)   जेष्ठ नागरिक,

(ख)   आर्थिक रूपले विपन्न,

(ग)   अशक्त र असहाय अवस्थामा रहेका व्यक्ति,

(घ)   असहाय एकल महिला,

(ङ)   अपाङ्गता भएका,

(च)   बालबालिका,

(छ)   आफ्नो हेरचाह आफैं गर्न नसक्ने,

(ज)   लोपोन्मुख जाति।

(२) उपदफा ‌(१) बमोजिम वितरण गरिने भत्ताहरू सामाजिक सुरक्षा भत्ताका नाममा वितरण गरिनेछ।

  • ज्येष्ठ नागरिक भत्ता: (१) दलित र एकल महिला ज्येष्ठ नागरिकले साठी वर्ष उमेर पूरा गरेपछि र अन्य ज्येष्ठ नागरिकले सत्तरी वर्ष उमेर पूरा गरेपछि सामाजिक सुरक्षा भत्ताको रूपमा नेपाल सरकारले तोके बमोजिमको ज्येष्ठ नागरिक भत्ता पाउनेछन्।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारले कुनै निश्चित क्षेत्र तोकी त्यस्तो बसोवास गर्ने उपदफा (१) बमोजिमको उमेर नपुगेका ज्येष्ठ नागरिकलाई समेत त्यस्तो भत्ता उपलब्ध गराउन सक्नेछ।

  • विपन्न नागरिक भत्ता: आर्थिक रूपले विपन्न नागरिकले तोकिए बमोजिम सामाजिक सुरक्षा भत्ताको रूपमा नेपाल सरकारले तोकेको रकम विपन्न नागरिक भत्ता पाउनेछ।
  • अशक्त र असहाय भत्ता: अशक्त र असहाय अवस्थामा रहेको नागरिकले तोकिए बमोजिम सामाजिक सुरक्षा भत्ताको रूपमा नेपाल सरकारले तोकेको रकम अशक्त र असहाय भत्ता पाउनेछ।
  • असहाय एकल महिला भत्ता: (१) देहाय बमोजिमका साठी वर्ष उमेर पुगेका असहाय एकल महिलाले तोकिए बमोजिम सामाजिक सुरक्षा भत्ताको रूपमा नेपाल सरकारले तोकेको असहाय एकल महिला भत्ता पाउनेछ:-

(क)  सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेका,

(ख)   विधवा‚

(ग)   न्यायिक पृथकीकरण गरी बसेका,

(घ)   विवाह नगरेका।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि जीवनयापन गर्ने आयस्रोत नभएको‚ नेपाल सरकारले तोकेको भन्दा न्यून आय भएको र श्रम गर्न नसक्ने साठी वर्ष उमेर नपुगेको उपदफा (१) को खण्ड (क), (ख) र (ग) बमोजिमका असहाय एकल महिलाले समेत यस्तो सुविधा पाउने छन्।

  • अपाङ्गता भत्ता: पूर्ण असक्त अपाङ्गता भएको नागरिकले सामाजिक सुरक्षा भत्ताको रूपमा नेपाल सरकारले तोकेको अपाङ्गता भत्ता पाउनेछन्।
  • बाल पोषण भत्ता: (१) अति विपन्न‚ लोपोन्मुख र नेपाल सरकारले तोकेका पाँच वर्ष उमेर पूरा नगरेका बालबालिकाले सामाजिक सुरक्षा भत्ताको रूपमा नेपाल सरकारले तोकेको बालपोषण भत्ता पाउनेछन्।

(२) उपदफा (१) बमोजिमको बालबालिकालाई बालपोषण भत्ता दिने प्रकृया तोकिए बमोजिम हुनेछ।

  • लोपोन्मुख जाति भत्ता: (१) लोपोन्मुख जातिका नागरिकले नेपाल सरकारले तोकेको सामाजिक सुरक्षा भत्ता पाउनेछन्।

(२) उपदफा (१) बमोजिम लोपोन्मुख जातिलाई भत्ता दिने प्रकृया तोकिए बमोजिम हुनेछ।

  • आफ्नो हेरचाह आफैं गर्न नसक्नेलाई स्याहार भत्ता: (१) आफ्नो हेरचाह आफैं गर्न नसक्ने नागरिकले नेपाल सरकारले तोकेको सामाजिक सुरक्षा भत्ता पाउनेछन्।

(२) उपदफा (१) बमोजिम आफ्नो हेरचाह आफै गर्न नसक्ने नागरिकका लागि भत्ता दिने प्रकृया तोकिए बमोजिम हुनेछ।

  • निवेदन दिनु पर्ने: (१) दफा ३ बमोजिम सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिले यस ऐन बमोजिमको सामाजिक सुरक्षा भत्ता पाउनको लागि सम्बन्धित स्थानीय तहमा निवेदन दिनु पर्नेछ।

तर आफैंले निवेदन दिन नसक्ने व्यक्तिको तर्फबाट निजको संरक्षक, माथवर वा स्याहारसुसार गर्ने व्यक्तिले निवेदन दिन सक्नेछ।

(२) दफा ९ बमोजिम बालबालिकाले पाउने सामाजिक सुरक्षा भत्ताको लागि उपदफा (१) बमोजिम निवेदन दिँदा जन्मदर्ता गरेको अभिलेखको प्रमाण समेत पेश गर्नु पर्नेछ।

(३) उपदफा (१) वा (२) बमोजिम निवेदन प्राप्त भएमा स्थानीय तहले सात दिनभित्र आवश्यक कारबाही गरी निर्णय गर्नु पर्नेछ।

(४) उपदफा (३) बमोजिम कारबाही गर्दा सामाजिक सुरक्षा भत्ता पाउने नदेखिएमा कारण खुलाई सोको लिखित जानकारी निवेदकलाई दिनु पर्नेछ।

(५) उपदफा (१) बमोजिमको निवेदनको ढाँचा तथा संलग्न गर्नुपर्ने कागजात तोकिए बमोजिम हुनेछ।

(६) यस दफा बमोजिम सामाजिक सुरक्षा भत्ता लिन नचाहने व्यक्तिले सामाजिक सुरक्षा भत्ता नलिने स्वेच्छिक घोषणा गरी सम्बन्धित स्थानीय तहमा जानकारी गराउनु पर्नेछ।

(७) उपदफा (६) बमोजिम कुनै नागरिकले सामाजिक सुरक्षा भत्ता लिन नचाहेमा सम्बन्धित स्थानीय तहले सोको अभिलेख राखी त्यस्तो व्यक्तिलाई सम्मान गर्नु पर्नेछ ।

  • दोहोरो सामाजिक सुरक्षा नपाउने: (१) कुनै नागरिकले यस ऐनको दफा ३ बमोजिम एकभन्दा बढी प्रकारको सामाजिक सुरक्षा भत्ता पाउने रहेछ भने निजले रोजेको कुनै एक मात्र सामाजिक सुरक्षा भत्ता पाउनेछ।

(२) कुनै नागरिकले यस ऐन र प्रचलित कानून बमोजिम एकै प्रकारको सुविधा पाउने रहेछ भने निजले रोजे बमोजिम कुनै एक सुविधा मात्र लिन पाउनेछ।

(३) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि अन्य प्रचलित कानून बमोजिम भत्ता पाएको बालबालिकाले दफा ९ बमोजिमको भत्ता समेत प्राप्त गर्न सक्नेछ।

  • प्रचलित कानून बमोजिमको सुविधा पाउने: (१) दफा १३ मा जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐन बमोजिम सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिले प्रचलित कानून बमोजिम पाउने अन्य प्रकारको सामाजिक सुरक्षा पाउन यस ऐनले बाधा पार्ने छैन।

(२) नेपालमा अग्रगामी लोकतान्त्रिक परिवर्तनको लागि भएका जनआन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिको क्रममा जीवन उत्सर्ग गर्ने शहीदका परिवार, बेपत्ता पारिएका व्यक्तिका परिवार, लोकतन्त्रका योद्धा, अपाङ्गता भएका व्यक्ति, घाइते तथा पीडितले प्रचलित कानून बमोजिम सामाजिक सुरक्षा पाएको अवस्थामा बाहेक तोकिए बमोजिमको सुरक्षा वा सम्मान पाउनेछन्।

(३) नेपाल सरकारले यो ऐन बमोजिम प्रदान गर्ने सामाजिक सुरक्षा भत्ता र प्रचलित कानून बमोजिम प्रदान गरिने अन्य सामाजिक सुरक्षा उपलब्ध गराउने सम्बन्धमा एकीकृत प्रणाली अवलम्बन गर्न सक्नेछ।

  • सामाजिक सुरक्षा भत्ता नपाउने: देहाय बमोजिमको व्यक्तिले यस ऐन बमोजिमको सामाजिक सुरक्षा भत्ता पाउने छैन:-

(क) कुनै सरकारी वा सार्वजनिक पदमा नियुक्ति‚ निर्वाचित, मनोनीत भएको व्यक्ति‚

(ख)   सरकारी कोषबाट निवृत्तभरण पाइरहेका व्यक्ति‚

(ग)   अन्य कुनै प्रकारले नियमित रूपले पारिश्रमिक, निवृत्तभरण, अवकाश सुविधा एवं अन्य सुविधा पाइरहेको व्यक्ति।

  • परिचयपत्र: (१) यस ऐन बमोजिम सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिलाई सम्बन्धित स्थानीय तहले तोकिएको ढाँचामा परिचयपत्र दिनु पर्नेछ।

(२) उपदफा (१) बमोजिम दिइने परिचयपत्रमा सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिको संरक्षक, माथवर वा स्याहार गर्ने व्यक्तिको परिचय समेत खुलाउनु पर्नेछ।

(३) अपाङ्गता सम्बन्धी परिचयपत्र प्रत्येक वर्ष स्थानीय तहले पुनरावलोकन गरी अभिलेख अद्यावधिक गर्नु पर्नेछ।

(४) उपदफा (१) बमोजिम प्रदान गरिने परिचयपत्र सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।

(५) उपदफा (१) बमोजिमको परिचयपत्र नलिएको नागरिकले सामाजिक सुरक्षा भत्ता पाउने छैन।

  • सामाजिक सुरक्षा भत्ता वितरण: (१) दफा १६ बमोजिमको परिचय पत्रको आधारमा स्थानीय तहले सामाजिक सुरक्षा भत्ता वितरण गर्नेछ।

(२) उपदफा (१) बमोजिम स्थानीय तहले सामाजिक सुरक्षा वितरण गर्ने प्रकृया तथा माध्यम तोकिए बमोजिम हुनेछ।

(३) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको क्षेत्रमा तोकेको मिति देखि सामाजिक सुरक्षा भत्ताको भुक्तानी बैङ्किङ्ग प्रणालीबाट मात्र गरिनेछ।

  • अभिलेख राख्नु पर्ने: (१) स्थानीय तहले यस ऐन बमोजिम वितरण गरेको सामाजिक सुरक्षाको अभिलेख तोकिएको ढाँचामा राख्नु पर्नेछ।

(२) स्थानीय तहले सामाजिक सुरक्षा वितरण गरेको विवरण तोकिएको ढाँचा र समयावधिभित्र नेपाल सरकारको सम्बन्धित निकायमा पठाउनु पर्नेछ।

(३) उपदफा (१) बमोजिमको अभिलेख व्यवस्थापन सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।

  • सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिको नाम हटाउने: (१) स्थानीय तहले देहायको अवस्थामा सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिको नाम आफ्नो अभिलेखबाट हटाउनेछ:-

(क)   सामाजिक सुरक्षा भत्ता पाउने व्यक्ति बसाइँ सरी अन्यत्र गएमा,

(ख)   असहाय एकल महिलाले विवाह गरेमा,

(ग)   यस ऐन बमोजिम सामाजिक सुरक्षा भत्ता पाउन योग्य नभएमा,

(घ)   मृत्यु भएमा,

(ङ)   तोकिए बमोजिमका अन्य अवस्थामा।

(२) उपदफा (१) को खण्ड (क) बमोजिम सामाजिक सुरक्षा भत्ता पाउने व्यक्ति बसाइँ सरी अन्यत्र जाने भएमा सम्बन्धित स्थानीय तहले परिचयपत्रमा सोही व्यहोरा उल्लेख गर्नु पर्नेछ।

  • नेपाल सरकारले बजेट व्यवस्था गर्ने: (१) यस ऐन बमोजिम सामाजिक सुरक्षा भत्ताको दायित्व नेपाल सरकारको हुनेछ।

(२) नेपाल सरकारबाट वितरण गर्ने सामाजिक सुरक्षा भत्ता दोहोरो पर्ने गरी प्रदेश तथा स्थानीय सरकारबाट तत् तत् शीर्षकमा थप सामाजिक सुरक्षा भत्ता वितरण गरिने छैन।

परिच्छेद-३ कसूर र सजाय

  • कसूर र सजाय: (१) कसैले देहायको कार्य गरेमा यस ऐन बमोजिम कसूर गरेको मानिनेछ:-

(क)   विवरण ढाँटी सामाजिक सुरक्षा भत्ता लिएमा,

(ख)   यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम विपरीत सामाजिक सुरक्षा भत्ता लिएमा,

(ग)   कुनै व्यक्तिले प्राप्त गरेको सामाजिक सुरक्षा भत्ता निजको संरक्षक, माथवर वा स्याहार गर्ने व्यक्ति वा अन्य व्यक्तिले दुरुपयोग गरेमा वा निजको हित विपरीत प्रयोग गरेमा,

(घ)   सामाजिक सुरक्षा भत्ता वितरण गर्ने अधिकारीले सामाजिक सुरक्षा भत्ताको दुरुपयोग गरेमा‚

(ङ)   गलत विवरण पेश गरेमा वा गलत सिफारिस गरेमा।

(२) कसैले उपदफा (१) को खण्ड (क), (ख)‚ (ग) र (ङ) बमोजिमको कसूर गरेमा त्यस्तो कसूर गर्ने व्यक्तिले लिएको रकम असुल गरी निजलाई विगो बराबर जरिबाना हुनेछ।

(३) कसैले उपदफा (१) को खण्ड (घ) बमोजिमको कसूर गरेमा वा खण्ड (ङ) बमोजिम गलत सिफारिस गरेमा सम्बन्धित अधिकारीलाई प्रचलित कानून बमोजिम सजाय हुनेछ।

  • उजूर गर्न सक्ने: यस ऐन अन्तर्गतको कसूरमा जुनसुकै व्यक्तिले सम्बन्धित स्थानीय तहको न्यायिक समितिमा उजूर गर्न सक्नेछ।
  • मुद्दा हेर्ने: (१) यस ऐन अन्तर्गतको दफा २१ को उपदफा (१) को खण्ड (घ) बाहेकको अन्य मुद्दाको कारबाही र किनारा सम्बन्धित स्थानीय तहको न्यायिक समितिले गर्नेछ।

(२) न्यायिक समितिले उपदफा (१) बमोजिमको मुद्दा दर्ता भएको मितिले एक सय बीस दिनभित्र कारबाही र किनारा गर्नु पर्नेछ।

(३) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि दफा २१ को उपदफा (१) को खण्ड (घ) बमोजिमको कसूर सम्बन्धी उजूर परेमा त्यस्तो उजूरी आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा पठाउनु पर्नेछ।

  • पुनरावेदन: दफा २३ बमोजिम न्यायिक समितिले गरेको निर्णय उपर चित्त नबुझ्ने व्यक्तिले त्यस्तो निर्णयको जानकारी पाएको मितिले पैँतीस दिनभित्र जिल्ला अदालतमा पुनरावेदन गर्न सक्नेछ।
  • प्रचलित कानून बमोजिम सजाय हुने: यस ऐन अन्तर्गत कसूर मानिने कुनै कार्य अन्य प्रचलित कानून बमोजिम समेत कसूर हुने रहेछ भने त्यस्तो कसूरमा प्रचलित कानून बमोजिम मुद्दा चलाई कारबाही गर्न यस ऐनमा लेखिएको कुनै कुराले बाधा पुर्‍याएको मानिने छैन।

परिच्छेद-४ विविध

  • अनुगमन सम्बन्धी व्यवस्था: सामाजिक सुरक्षा पाउने व्यक्तिको अभिलेख व्यवस्थापन तथा भत्ता वितरणको अनुगमन सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ।
  • हेरचाह केन्द्र स्थापना गर्न सक्नेः नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले अनाथ बालबालिका, अशक्त तथा असहाय व्यक्ति, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकको हेरचाहको लागि तोकिए बमोजिम हेरचाह केन्द्र स्थापना गरी सञ्चालन गर्न सक्नेछ।
  • प्रतिवेदन दिनु पर्ने: सामाजिक सुरक्षा भत्ता वितरण गरेको विवरण प्रत्येक स्थानीय तहले चौमासिक रूपमा नेपाल सरकार तथा सम्बन्धित प्रदेश सरकारलाई दिनु पर्नेछ।
  • नियम बनाउने अधिकार: यो ऐन कार्यान्वयन गर्न नेपाल सरकारले आवश्यक नियमहरू बनाउन सक्नेछ।

तर यस ऐन अन्तर्गत नियमावली नबनुन्जेलसम्म नेपाल सरकारले साविकमा दिई आएको सामाजिक सुरक्षा भत्ताहरू दिन बाधा पर्ने छैन।

  • निर्देशिका तथा कार्यविधि बनाउने: यो ऐन तथा यस ऐन अन्तर्गत बनेको नियमको अधीनमा रही सामाजिक सुरक्षा भत्ता वितरण गर्ने सम्बन्धमा  नेपाल सरकारको गृह मन्त्रालयले आवश्यक निर्देशिका तथा कार्यविधि बनाउन सक्नेछ।
  • अनुसूची हेरफेर गर्न सक्ने: नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी अनुसूचीमा आवश्यक हेरफेर तथा थपघट गर्न सक्नेछ।
  • यसै ऐन बमोजिम हुने: यस ऐनमा लेखिएको कुराको हकमा यसै ऐन बमोजिम र अन्य कुराका हकमा प्रचलित कानून बमोजिम हुनेछ।

अनुसूची

अनुसूची (दफा २ को खण्ड (छ) सँग सम्बन्धित)

लोपोन्मुख जाति

 

  • कुसुन्डा
  • राउटे
  • हायु
  • किसान
  • मेचे
  • वनकरिया
  • सुरेल
  • राजी
  • लोप्चा
  • कुसवाडिया (पत्थरकट्टा, सिलकट, कुशबधिया र कुचबधिया)