Skip to contentSkip to left sidebar Skip to footer

सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरि·) निवारण ऐन, २०६४

सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४

प्रमाणीकरण र प्रकाशन मिति
संशोधन गर्ने ऐन २०६४।१०।१४
१. सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण(पहिलो संशोधन) ऐन, २०६८                                                                                                      २०६८।२।१८
२. सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण(दोस्रो संशोधन) ऐन, २०७०                                                                                                             २०७०।१२।१२
३. केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७२                                २०७२।११।१३
४.  केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७५                               २०७५।११।१९
व्यवस्थापिका–संसदले बनाएको २०६४ सालको ऐन नं. २४
सम्पत्ति शुद्धीकरण गर्ने कार्यलाई निवारण गर्न बनेको ऐन
प्रस्तावनाः अपराधजन्य कार्यबाट प्राप्त सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कृयाकलापमा वित्तीय लगानी गर्ने कार्यलाई निवारण गर्ने सम्बन्धमा कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले,
व्यवस्थापिका–संसदले यो ऐन बनाएकोछ ।

परिच्छेद–१ प्रारम्भिक

१. संक्षिप्त नाम, विस्तार र प्रारम्भः (१) यस ऐनको नाम “सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४” रहेकोछ ।
(२) यो ऐन नेपालभर लागू हुनेछ र सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर गर्ने नेपालभित्र वा नेपाल बाहिर जहाँसुकै रहे बसेको व्यक्ति समेतलाई लागू हुनेछ ।
(३) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषाः विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “अनुसन्धान अधिकृत” भन्नाले दफा १५ बमोजिम नियुक्त भएको वा तोकिएको अनुसन्धान अधिकृत सम्झनु पर्छ ।
(ख) “अन्तर्राष्ट्रिय संस्थाको उच्चपदस्थ व्यक्ति” भन्नाले अन्तर्राष्ट्रिय संस्थाको व्यवस्थापनको उच्च जिम्मेवारी पाएका सञ्चालक सदस्य, व्यवस्थापक, निर्देशक, उपनिर्देशक वा सो सरहको जिम्मेवारी भएको वा पाएको व्यक्ति सम्झनु पर्छ ।
(ग) “आतंककारी कार्य” भन्नाले देहायका कृयाकलाप सम्झनु पर्छः–
(१) सन् १९९९ मा सम्पन्न भएको आतंकवादमा वित्तीय लगानीको दमन सम्बन्धी महासन्धि (इन्टरनेशनल कन्भेन्सन फर द सप्रेसन अफ द फाइनान्सिड्ड अफ टेरोरिज्म्) को धारा २ को उपधारा (१) को खण्ड (क) द्वारा कसूरको रुपमा परिभाषित कुनै कार्य,
(२) सन्दर्भ तथा प्रकृतिले सर्वसाधारणलाई त्रसित पार्ने वा कुनै सरकार वा अन्तर्राष्ट्रिय संगठनलाई कुनै कार्य गर्न वा नगर्न बाध्य तुल्याउने उद्देश्यले कुनै गैरसैनिक व्यक्ति (सिभिलियन) वा सशस्त्र द्वन्द्वका बखत शत्रुतापूर्ण कार्यमा संलग्न नभएको व्यक्तिको ज्यान लिने वा अङ्ग भङ्ग गर्ने अन्य कुनै कार्य,
(३) नेपाल पक्ष भएका देहायका महासन्धि अन्तर्गत कसूर मानिने कार्यः–
(क) सन् १९६३ मा सम्पन्न भएको वायुयानभित्र भएका कसूर तथा अन्य केही कार्य सम्बन्धी टोकियो महासन्धि (टोकियो कन्भेन्सन अन अफेन्सेज एण्ड सर्टेन अदर एक्ट्स कमिटेड अन बोर्ड एअरक्राफ्ट),
(ख) सन् १९८७ मा सम्पन्न भएको आतंकवादको दमन सम्बन्धी सार्क क्षेत्रीय महासन्धि (सार्क रिजनल कन्भेन्सन अन सप्रेसन अफ टेरोरिज्म),
(ग) यो दफा प्रारम्भ भए पछि आतङ्कवादि काम कारबाहीको विरुद्धमा नेपाल पक्ष भएको अन्य कुनै महासन्धि ।
(घ) “आतंककारी व्यक्ति” भन्नाले देहायको कुनै कार्य गर्ने प्राकृतिक व्यक्ति सम्झनु पर्छः–
(१) गैरकानूनी रुपले तथा जानी जानी प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जुनसुकै माध्यमबाट आतंककारी कार्य गर्ने वा गर्न उद्योग गर्ने,
(२) आतंककारी कार्य गर्न मतियारको रुपमा सहभागी हुने,
(३) आतंककारी कार्य गर्न अरुलाई संगठित पार्ने वा निर्देशन दिने, वा
(४) आतंककारी कार्य गर्ने सामूहिक उद्देश्य राख्ने समूहले आतंककारी कार्य गर्छ वा गर्ने मनसाय राखेको  छ भन्ने जानकारी हुंदा हुंदै वा आफूले गर्ने सहयोग वा योगदानले आतंककारी कार्यलाई बढावा दिन्छ भन्ने जानकारी हु‌ंदा हुंदै त्यस्तो समूहलाई आतंककारी कार्य गर्न सहयोग गर्ने वा योगदान पुप्याउने ।
(ङ) “आतंककारी संगठन” भन्नाले आतंककारीहरुको देहायको कुनै संगठित वा असंगठित समूह वा संगठन सम्झनु पर्छः–
(१) गैरकानूनी तथा जानीजानी प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जुनसुकै माध्यमबाट आतंककारी कार्य गर्ने वा गर्न उद्योग गर्ने,
(२) आतंककारी कार्य गर्न मतियारको रुपमा सहभागी हुने,
(३) आतंककारी कार्य गर्न अरुलाई संगठित पार्ने वा निर्देशन दिने, वा
(४) आतंककारी कार्य गर्ने सामूहिक उद्देश्य राख्ने समूहले आतंककारी कार्य गर्छ वा गर्ने मनसाय राखेको छ भन्ने जानकारी हुदा हुदै वा आफूले गर्ने सहयोग वा योगदानले आतङ्कवादी कार्यलाई बढावा दिन्छ भन्ने जानकारी हुंदा हुंदै यस्तो समूहलाई आतंककारी कार्य गर्नलाई सहयोग गर्ने वा योगदान पुप्याउने ।
(च) “उच्चपदस्थ व्यक्ति” भन्नाले स्वदेशी उच्चपदस्थ व्यक्ति, विदेशी उच्चपदस्थ व्यक्ति वा अन्तर्राष्ट्रिय संस्थाको उच्चपदस्थ व्यक्ति सम्झनु पर्छ र सो शब्दले नेपाल सरकारले राष्ट्रिय समन्वय समितिको सिफारिसमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको वर्गको व्यक्ति समेतलाई जनाउ“छ ।
(छ) “करेस्पोडिङ्ग बैंकिङ” भन्नाले कुनै एक वित्तीय संस्थाले आफ्नो ग्राहकलाई अर्को वित्तीय संस्था मार्फत बैंकिङ सेवा उपलब्ध गराउने व्यवस्था सम्झनु पर्छ ।
(ज) “कसूरबाट प्राप्त सम्पत्ति” भन्नाले सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूर वा सम्बद्ध कसूरबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्राप्त गरेको वा हासिल गरेको जुनसुकै प्रकारको सम्पत्ति सम्झनु पर्छ र सो शब्दले त्यस्तो सम्पत्तिबाट बढे बढाएको अन्य सम्पत्ति वा आर्थिक लाभ वा कुनै पनि तरिकाले आंशिक वा पूर्ण रुपमा हस्तान्तरण वा रुपान्तरण भएको सम्पत्ति वा लाभ समेतलाई जनाउछ ।
(झ) “कसूरसँग सम्बन्धित साधन” भन्नाले आंशिक वा पूर्ण रुपमा सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूर वा सम्बद्ध कसूर गर्न जुनसुकै प्रकारले प्रयोग भएको वा प्रयोग गर्न खोजिएको साधन, सम्पत्ति वा अन्य कुनै उपकरण सम्झनु पर्छ ।
(ञ) “कारोबार” भन्नाले सम्पत्तिको खरिद, बिक्री, वितरण, हस्तान्तरण, लगानी, भोगचलन वा अन्य कुनै आर्थिक वा व्यावसायिक काम कारबाही गर्नको लागि गरिने सम्झौता वा देहायका कुनै कार्य सम्झनु पर्छः–
(१) व्यावसायिक सम्बन्ध स्थापना गर्ने,
(२) खाता खोल्ने,
(३) विद्युतीय वा जुनसुकै माध्यमबाट जुनसुकै प्रकारको मुद्रा वा उपकरण मार्फत गरिने निक्षेप वा रकम संकलन, भुक्तानी, भुक्तानी आदेश, विनिमय वा कोषको स्थानान्तरण गर्ने,
(४) जुनसुकै प्रकारको सेफ डिपोजिट (लकर) को प्रयोग गर्ने,
(५) हितकारी (फिडूसियरी) सम्बन्ध स्थापना गर्ने,
(६) कुनै कानूनी वा करारीय दायित्वका आधारमा पूर्ण वा आंशिक रुपमा भुक्तानी दिने वा लिने,
(७) चिठ्ठा, बाजी वा संयोगका आधारमा हारजित हुने गरी खेलिएको खेलको आधारमा गरिने भुक्तानी दिने वा लिने,
(८) कानूनी व्यक्ति वा कानूनी प्रबन्धको संस्थापना वा दर्ता गर्ने,
(९) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको अन्य कुनै कार्य गर्ने ।
(ट) “कानूनी प्रबन्ध” भन्नाले गुठी (एक्स्प्रेस ट्रष्ट) वा यस्तै प्रकृतिका अन्य कानूनी प्रबन्ध सम्झनु पर्छ ।
(ठ) “कानूनी व्यक्ति” भन्नाले कम्पनी, संस्थान, सहकारी संस्था वा अन्य कुनै संगठित संस्था सम्झनु पर्छ र सो शब्दले प्राइभेट फर्म, साझेदारी वा गैरसरकारी संस्था समेतलाई जनाउ“छ ।
(ड) “कोष” भन्नाले जुनसुकै तरिकाले प्राप्त भएको वा सोबाट बढे बढाएको वित्तीय सम्पत्ति, आर्थिक साधन स्रोत वा मूर्त वा अमूर्त, चल वा अचल, भौतिक वा अभौतिक कुनै पनि प्रकारको सम्पत्ति, देहायको उपकरण वा साधन स्रोत सम्झनु पर्छ र सो शब्दले त्यस्तो सम्पत्ति वा उपकरण वा साधन स्रोत उपर विद्युतीय वा जुनसुकै प्रकारले हक भएको वा हित रहेको कानूनी कागजात, निस्सा, प्रमाणपूर्जा वा कुनै उपकरण समेतलाई जनाउछः–
(१) बैंक कर्जा,
(२) यात्रु चेक,
(३) बैंक चेक,
(४) धनादेश,
(५) शेयर,
(६) धितोपत्र,
(७) ऋणपत्र (बण्ड),
(८) ड्राफ्ट,
(९) प्रतीतपत्र,
(१०) अन्य कुनै आर्थिक वा वित्तीय साधन स्रोत ।
(ढ) “गैरवित्तीय पेशाकर्मी वा व्यवसायी” भन्नाले देहायको कुनै व्यावसायिक कार्य गर्ने पेशाकर्मी वा व्यवसायी सम्झनु पर्छः–
(१) क्यासिनो वा इन्टरनेट क्यासिनो व्यवसायी,
(२) घरजग्गा खरिद वा बिक्री व्यवसायी,
(३) तोकिएको बहुमूल्य धातु वा वस्तुको कारोबार गर्ने व्यवसायी,
(४) आफ्नो ग्राहक वा पक्षको तर्फबाट देहायको कार्य गर्दा, सोको तयारी गर्दा वा सोमा संलग्न हुँदाका बखतको नोटरी पब्लिक, लेखापरीक्षक, लेखा व्यवसायी वा त्यस्तै प्रकृतिको कार्य गर्ने अन्य व्यवसायीः–
(क) घरजग्गा खरीद बिक्री,
(ख) ग्राहकको रकम, धितोपत्र वा अन्य सम्पत्तिको व्यवस्थापन,
(ग) बैंक, बचत तथा धितोपत्र सम्बन्धी कार्यको व्यवस्थापन,
(घ) कानूनी व्यक्तिको संस्थापना गर्दा वा सञ्चालन गर्दाका बखत गरिएको योगदान तथा लगानीको व्यवस्थापन,
(ङ) कानूनी व्यक्ति वा कानूनी प्रबन्धको सृजना, संस्थापना, दर्ता, सञ्चालन वा व्यवस्थापन, वा
(च) कुनै व्यावसायिक संस्थाको खरीद वा बिक्री ।
(५) आफ्नो ग्राहक वा पक्षको तर्फबाट देहायको कार्य गर्दा वा सोको तयारी गर्दा वा सोमा संलग्न हु“दाका बखत व्यावसायिक रुपमा देहायको सेवा प्रदान गर्ने कम्पनी वा ट्रष्ट सेवा प्रदायकः–
(क) कानूनी व्यक्ति वा कानूनी प्रबन्धको संस्थापना, दर्ता वा व्यवस्थापनको लागि एजेण्ट भई काम गर्ने,
(ख) कानूनी व्यक्तिको साझेदार, सञ्चालक, सचिव वा त्यस्तै पदाधिकारी भई काम गर्ने वा अन्य व्यक्ति मार्फत गराउने,
(ग) कानूनी व्यक्ति वा कानूनी प्रबन्धलाई व्यावसायिक रुपमा रजिष्टर्ड कार्यालय, ठेगाना वा ठाउँ उपलब्ध गराउने वा सोको लागि पत्र व्यवहारको जिम्मा लिने,
(घ) कानूनी प्रबन्ध वा यस्तै प्रकृतिका अन्य कानूनी प्रबन्धको ट्रष्टि भई काम गर्ने वा ट्रष्टिको मनोनयन गर्ने वा अन्य व्यक्ति मार्फत गराउने, वा
(ङ) प्रचलित कानून बमोजिम कुनै व्यक्तिको तर्फबाट शेयर धनी नियुक्त भई वा अन्य कुनै व्यक्ति मार्फत कार्य गर्ने वा गराउने ।
(६) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको अन्य पेशाकर्मी वा व्यवसायी ।
(ण) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।
(त) “धारक विनिमेय अधिकारपत्र” भन्नाले पूर्ण वा अपूर्ण रुपमा रहेको बेनामी, काल्पनिक नाम रहेको वा धारकले कसैको अख्तियारी विना उपयोग गर्न सक्ने वा जसले प्राप्त गर्छ उसैले भुक्तानी लिन सक्ने यात्रुचेक, चेक, प्रमिशरी नोट वा धनादेश समेतका विनिमेय अधिकारपत्र लगायतका मौद्रिक उपकरण सम्झनु पर्छ ।
(थ) “नियमनकारी निकाय” भन्नाले सूचक संस्थाको नियमन वा सुपरीवेक्षण गर्न प्रचलित कानून बमोजिम स्थापित संस्था सम्झनु पर्छ र सो शब्दले दफा ७न. को उपदफा (२) बमोजिम नेपाल सरकारले तोकेको नियमनकारी निकाय समेतलाई जनाउछ ।
(द) “मुद्रा” भन्नाले नेपाली मुद्रा वा विदेशी मुद्रा सम्झनु पर्छ ।
(ध) “राष्ट्र बैंक” भन्नाले प्रचलित कानून बमोजिम स्थापना भएको नेपाल राष्ट्र बैंक सम्झनु पर्छ ।
(न) “राष्ट्रसेवक” भन्नाले प्रचलित कानून बमोजिम राष्ट्रसेवक मानिने व्यक्ति सम्झनु पर्छ ।
(प) “वास्तविक धनी” भन्नाले ग्राहक, कारोबार, सम्पत्ति, कानूनी व्यक्ति वा कानूनी प्रबन्ध उपर प्रत्यक्ष वा  अप्रत्यक्ष रुपमा स्वामित्व हुने, नियन्त्रण राख्ने, निर्देशन दिन वा प्रभाव पार्न सक्ने अन्तिम हिताधिकारी वा धनीको रुपमा रहेको प्राकृतिक व्यक्ति सम्झनु पर्छ ।
(फ) “वित्तीय जानकारी इकार्ई” भन्नाले दफा ९ बमोजिमको वित्तीय जानकारी इकार्ई सम्झनु पर्छ ।
(ब) “वित्तीय संस्था” भन्नाले व्यावसायिक रुपमा आफ्नो ग्राहकको लागि वा निजको तर्फबाट देहायको कार्य गर्ने व्यक्ति सम्झनु पर्छः–
(१) निक्षेप स्वीकार गर्ने वा सर्वसाधारणबाट भुक्तानी गर्नु पर्ने गरी अन्य रकम लिने,
(२) प्राइभेट बैकिङ सम्बन्धी कार्य गर्ने,
(३) जुनसुकै किसिमको कर्जा दिने,
(४) उपभोग्य वस्तु बाहेकको वित्तीय लिजिङ सम्बन्धी कार्य गर्ने,
(५) भुक्तानी श्रृङ्खलामा माध्यम वा अन्य सहायक सेवा प्रदायकको रुपमा रही कार्य गर्ने बाहेक मुद्रा वा मूल्य स्थानान्तरण (भ्याल्यू ट्रान्सफर) गर्ने,
(६) चेक, ड्राफ्ट, धनादेश, डेबिट कार्ड, क्रेडिट कार्ड लगायतका विद्युतीय वा अन्य जुनसुकै प्रकारका भुक्तानी उपकरण जारी वा व्यवस्थापन गर्ने,
(७) वित्तीय जमानत वा प्रतिबद्धता (कमिटमेण्ट) दिने,
(८) देहायका उपकरणको व्यवसाय गर्नेः–
(क) चेक, बिल्स, निक्षेप प्रमाणपत्र, डेरिभेटिभ्स लगायतका मुद्रा बजार उपकरण,
(ख) विदेशी मुद्रा विनिमय,
(ग) सटही, व्याजदर वा अन्य त्यस्तै मूल्य वा रकम भएको उपकरण,
(घ) हस्तान्तरणयोग्य धितोपत्र, वा
(ङ) वस्तु विनिमय बजार (कमोडिटिज मार्केट) सम्बन्धी उपकरण ।
(९) धितोपत्र निष्कासन वा सो सम्बन्धी वित्तीय सेवा दिने,
(१०) एकल वा सामूहिक पोर्टफोलियो व्यवस्थापन गर्ने,
(११) अन्य व्यक्तिको तर्फबाट नगद वा तरल सम्पत्ति व्यवस्थापन वा सेफ डिपोजिट      (लकर) को व्यवस्थापन गर्ने,
(१२) जीवन बिमा र बिमासग सम्बन्धित अन्य लगानीको प्रत्याभूति (अण्डरराइटिङ) तथा प्लेसमेण्ट गर्ने,
(१३) रकम वा मुद्रा सटही गर्ने,
(१४) उपखण्ड (१) देखि (१३) मा उल्लिखित कार्य बाहेक अन्य व्यक्तिको तर्फबाट रकम (फण्ड) लगानी गर्ने, सोको प्रशासन तथा व्यवस्थापन गर्ने, वा
(१५) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको कार्य गर्ने ।
(भ) “विदेशी उच्चपदस्थ व्यक्ति” भन्नाले विदेशी राष्ट्र प्रमुख, सरकार प्रमुख, उच्च राजनीतिज्ञ, राष्ट्रियस्तरको राजनीतिक दलको केन्द्रीय पदाधिकारी, उच्च प्रशासक, उच्च न्यायिक अधिकारी, उच्च सुरक्षा अधिकारी तथा राज्य नियन्त्रित संस्थाको उच्च पदाधिकारी वा त्यस्तो जिम्मेवारी भएको वा पाएको व्यक्ति समेत सम्झनु पर्छ ।
(म) “विभाग” भन्नाले दफा ११ बमोजिमको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग सम्झनु पर्छ ।
(य) “व्यक्ति” भन्नाले प्राकृतिक व्यक्ति वा कानूनी व्यक्ति सम्झनु पर्छ ।
(र) “शंकास्पद कारोबार सम्बन्धी प्रतिवेदन” भन्नाले दफा ७ध. बमोजिमको प्रतिवेदन सम्झनु पर्छ ।
(ल) “शेल बैंक” भन्नाले संस्थापना भएको वा अनुमति प्राप्त गरेको मुलुकमा भौतिक रुपमा उपस्थिति नरहेको वा प्रभावकारी नियमन तथा सुपरीवेक्षणको कुनै पनि दायरामा नरहेको वित्तीय संस्था वा वित्तीय संस्थाको समूह सम्झनु पर्छ ।
स्पष्टीकरणः यस खण्डको प्रयोजनका लागि स्थानीय प्रतिनिधि वा तल्लो तहको कर्मचारीको उपस्थिति भएको अवस्थालाई भौतिक रुपमा उपस्थिति नरहेको मानिनेछ ।
(व) “सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर” भन्नाले परिच्छेद– २ अन्तर्गतको कसूर सम्झनु पर्छ ।
(श) “सम्बद्ध कसूर (प्रेडिकेट अफेन्स)” भन्नाले अनुसूचीमा उल्लिखित कसूर सम्झनु पर्छ ।
(ष) “सम्पत्ति” भन्नाले भौतिक वा अभौतिक, चल वा अचल, मूर्त वा अमूर्त जुनसुकै प्रकारको सम्पत्ति, कोष वा कुनै मूल्य भएको वस्तु वा उपकरण सम्झनु पर्छ र सो शब्दले सो उपर हक, हित, दाबी वा अधिकार स्थापित गर्ने कुनै पनि प्रकारको कागजात, निस्सा, प्रमाणपूर्जा वा विद्युतीय वा अन्य उपकरण समेतलाई जनाउ“छ ।
(स) “सूचक संस्था” भन्नाले वित्तीय संस्था वा गैरवित्तीय पेशाकर्मी वा व्यवसायी सम्झनु पर्छ ।
“(ह) “स्वदेशी उच्चपदस्थ व्यक्ति” भन्नाले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री,प्रधानन्यायाधीश, प्रतिनिधि सभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, प्रदेशप्रमुख, नेपाल सरकारका मन्त्री, प्रदेश सरकारका मुख्य मन्त्री, संघीय संसदकासदस्य, संवैधानिक निकायको पदाधिकारी, प्रदेश सभाका सभामुख, प्रदेश
सरकारका मन्त्री, नेपाल सरकारका विशिष्ट श्रेणी वा सो सरह वा सोभन्दामाथिका पदाधिकारी, उच्च अदालतको न्यायाधीश वा सोभन्दा माथिल्लो तहकोन्यायाधीश, प्रदेश सभाका उपसभामुख, प्रदेश सभाका सदस्य, राष्ट्रियस्तरकोराजनीतिक दलको केन्द्रीय पदाधिकारी, जिल्ला समन्वय समितिका प्रमुख तथाउपप्रमुख, नगरपालिकाका प्रमुख तथा उपप्रमुख, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष, नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएका संस्थाको उच्च पदाधिकारी वा त्यस्तो जिम्मेवारी भएको वा पाएको व्यक्ति सम्झनु पर्छ।”

परिच्छेद – २ सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर 

३. सम्पत्ति शुद्धीकरण गर्न नहुनेः (१) कुनै व्यक्तिले देहायको कुनै कार्य गर्न वा गराउन हुदैनः–
(क) सम्पत्तिको गैरकानूनी स्रोत (इलिसिट अरिजिन) लुकाउने वा छल्ने वा कसूरमा संलग्न व्यक्तिलाई कानूनी कारबाहीबाट बचाउन सहयोग गर्ने उद्देश्यले कसूरबाट प्राप्त सम्पत्ति हो भन्ने थाहा पाउदा पाउदै वा विश्वास गर्नु पर्ने मनासिब आधार हुदा हुदै त्यस्तो सम्पत्ति कुनै पनि प्रकारले रूपान्तरण वा हस्तान्तरण गर्ने,
(ख) कसूरबाट प्राप्त सम्पत्ति हो भन्ने थाहा पाउदा पाउदै वा विश्वास गर्नु पर्ने मनासिब आधार हुदा हुदै त्यस्तो सम्पत्तिको सही प्रकृति, स्रोत, स्थान, निःसर्ग (डिस्पोजिसन), कारोबार    (मुभमेण्ट), स्वामित्व वा सो सम्पत्ति उपरको अधिकार लुकाउने, छल्ने वा बदल्ने, वा
(ग) कसूरबाट प्राप्त सम्पत्ति हो भन्ने जानी जानी वा विश्वास गर्नु पर्ने मनासिब आधार हुदा हुदै त्यस्तो सम्पत्ति प्राप्त गर्ने, प्रयोग गर्ने वा धारण गर्ने ।
(२) कुनै व्यक्तिले उपदफा (१) बमोजिमको कुनै कार्यको षडयन्त्र, मद्दत, दुरुत्साहन, सहजीकरण, मतसल्लाह वा उद्योग गर्न वा सम्बद्धता वा सहभागिता जनाउन वा मतियार हुन हुदैन ।
(३) कसैले उपदफा (१) वा (२) मा उल्लिखित कुनै कार्य गरेमा त्यस्तो कार्य सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूर हुनेछ ।
४. आतंकवादी कृयाकलापमा वित्तीय लगानी गर्न नहुनेः (१) कुनै व्यक्तिले आतंककारी कार्यमा वा आतंककारी व्यक्ति वा आतंककारी संगठनले पूर्ण वा आंशिक रुपमा प्रयोग गर्ने वा गर्न सक्ने कुरा थाहा पाउदा पाउदै गैरकानूनी मनसायले स्वेच्छापूर्वक कुनै पनि माध्यमबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सम्पत्ति वा कोष उपलब्ध गराउन वा सड्ढलन गर्न हुदैन ।
(२) कुनै व्यक्तिले उपदफा (१) मा उल्लिखित कुनै कार्यको उद्योग गर्न  हुदैन ।
(३) कुनै व्यक्तिले आतंककारी कार्य गर्नको लागि वा आतंककारी व्यक्ति वा आतंककारी संगठनलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा कुनै पनि माध्यमबाट भौतिक सहयोग वा साधन स्रोत उपलब्ध गराउन वा सोको षड्यन्त्र गर्न हुदैन ।
(४) कुनै व्यक्तिले उपदफा (१), (२) वा (३) मा उल्लिखित कुनै कार्यको सम्बन्धमा देहायको कुनै कार्य गर्न हुदैनः–
(क) त्यस्तो कार्य गर्न मतियारको रुपमा काम गर्ने,
(ख) त्यस्तो कार्य गर्न अन्य व्यक्तिलाई संगठित गर्ने वा निर्देशन दिने, वा
(ग) त्यस्तो कार्य गर्ने वा त्यस्तो कार्य गर्ने सामूहिक उद्देश्य राख्ने व्यक्तिहरुको समूहलाई अपराधिक कार्यमा बढावा दिन वा त्यस्तो उद्देश्य हासिल गर्न जानी जानी योगदान दिने ।
(५) यस दफामा उल्लिखित कार्यका सम्बन्धमा देहायको अवस्था विद्यमान भएमा समेत आतड्ढवादी कृयाकलापमा वित्तीय लगानी हुनेछः–
(क) आतंककारी कार्य नभएमा वा सोको उद्योग नभएमा,
(ख) सम्पत्ति वा कोष कुनै आतंककारीरी कार्य वा सोको उद्योगमा वास्तविक रुपमा प्रयोग नभएमा,
(ग) सम्पत्ति वा कोष कुनै खास आतंककारी कार्यसँग सम्बन्धित भए वा नभएमा,
(घ) आतंककारी कार्य वा आतंककारी कार्य गर्न खोजिएको कार्य सो कार्य भएको वा गर्न खोजिएको मुलुक वा भूभाग वा अन्यत्र जहाँसुकै भएमा वा हुने भएमा,
(ङ) आतंककारी व्यक्ति वा आतंककारी संगठन त्यस्तो कार्य गर्ने व्यक्ति  रहेको मुलुक वा भूभागमा रहे वा नरहेमा वा अन्यत्र रहेमा, वा
(च) सम्पत्ति वा कोष वैधानिक वा अवैधानिक जुनसुकै स्रोत वा माध्यमबाट सड्ढलन गरिएको वा उपलब्ध गराइएको भएमा ।
(६) कुनै व्यक्तिले उपदफा (१), (२), (३), (४) वा (५) मा उल्लिखित कार्य गरेमा त्यस्तो कार्य आतंकवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर हुनेछ ।
५. विदेशमा गरेको कार्य कसूर हुनेः दफा ३ वा ४ मा उल्लिखित कुनै कार्य विदेशी मुलुक वा भूभागमा भएको र त्यस्तो कार्य सो मुलुकको कानून बमोजिम पनि कसूर हुने रहेछ भने त्यस्तो कार्य नेपालमा भएको सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर सरह हुनेछ ।

परिच्छेद – ३ ग्राहकको पहिचान तथा कारोबार सम्बन्धी व्यवस्था 

६. बेनामी वा काल्पनिक नाममा कारोबार गर्न नहुनेः सूचक संस्थाले बेनामी वा काल्पनिक नाममा खाता खोल्न वा कुनै प्रकारको कारोबार गर्न वा गराउन हुदैन ।
७. शेल बैंक स्थापना वा सञ्चालन गर्न नहुनेः (१) कसैले नेपालमा वा नेपालको भूभाग मार्फत शेल बैंक स्थापना तथा सञ्चालन गर्न हुदैन ।
(२) नेपालको कुनै वित्तीय संस्थाले शेल बैंक वा शेल बैंकलाई कारोबार गर्न दिने कुनै पनि वित्तीय वा अन्य संस्थासग व्यावसायिक सम्बन्ध स्थापना गर्न वा त्यस्तो व्यावसायिक सम्बन्धलाई निरन्तरता दिन हुदैन ।
७क. ग्राहकको पहिचान गर्नु पर्नेः (१) सूचक संस्थाले देहाय बमोजिमको कार्य गर्दा ग्राहकको सही रुपमा पहिचान तथा सोको सम्पुष्टि भरपर्दो स्रोतबाट प्राप्त कागजात, तथ्यांक वा जानकारीका आधारमा उपदफा (३) र (४) को अधीनमा रही गर्नु   पर्नेछः–
(क) व्यावसायिक सम्बन्ध स्थापना गर्दा,
(ख) खाता खोल्दा,
(ग) तोकिएको रकमभन्दा बढीको आकस्मिक कारोबार गर्दा,
(घ) विद्युतीय माध्यमबाट कोष स्थानान्तरण (वायर ट्रान्सफर) गर्दा,
(ङ) ग्राहकको पहिचानको लागि पहिले लिएको जानकारीको सत्यता वा पर्याप्ततामा शंका लागि थप सम्पुष्टि गर्नु पर्दा,
(च) सम्पत्ति शुद्धीकरण वा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी भएको शंका लागि थप सम्पुष्टि गर्नु पर्दा,
(छ) उच्च जोखिमयुक्त ग्राहक वा उच्चपदस्थ व्यक्तिले प्रत्येक कारोबार गर्दा, वा
(ज) नियमनकारी निकायले तोकिदिएको अन्य कुनै कार्य गर्दा ।
(२) सूचक संस्थाले ग्राहकको पहिचान गर्दा ग्राहकसग लिनु पर्ने न्यूनतम् कागजात तोकिए बमाजिम हुनेछ ।
(३) सूचक संस्थाले यस परिच्छेद बमोजिम ग्राहकको पहिचान गर्दा तथा पहिचानको सम्पुष्टि गर्दा स्वतन्त्र तथा भरपर्दो स्रोत सहितको कागजात, तथ्यांक वा जानकारी प्रयोग गर्नु पर्नेछ ।
(४) सूचक संस्थाले आफ्ना ग्राहकको सही रुपमा पहिचान तथा सोको सम्पुष्टि गर्न देहाय बमोजिमका उपाय अपनाउनु पर्नेछः–
(क) कारोबार वा व्यावसायिक सम्बन्ध तथा सोको उद्देश्य वा लक्षित प्रकृतिको बारेमा उपयुक्त सूचना तथा जानकारी लिने,
(ख) ग्राहक प्राकृतिक व्यक्ति भएमा उपदफा (२) बमोजिम तोकिएका कागजात समेतका आधारमा निजको नाम, ठेगाना र जन्ममिति लगायतका विवरण प्राप्त गर्ने,
(ग) ग्राहक कानूनी व्यक्ति वा कानूनी प्रबन्ध भएमा उपदफा (२) बमोजिम तोकिएका कागजात समेतका आधारमा सोको स्वामित्व तथा नियन्त्रण पद्धतिको बारेमा सूचना तथा जानकारी लिने तथा सम्पुष्टि गर्ने,
(घ) अन्य व्यक्तिको तर्फबाट व्यावसायिक सम्बन्ध स्थापना वा कारोबार गर्ने भए जसका तर्फबाट त्यस्तो सम्बन्ध वा कारोबार गर्न खोजिएको हो निज तथा निजको तर्फबाट काम गर्ने व्यक्तिको पहिचान तथा सम्पुष्टि गर्ने र अख्तियारनामा सहितको कागजात लिने,
(ङ) यस परिच्छेद बमोजिमको दायित्व पूरा गर्न ग्राहक, कारोबार वा व्यवसायको प्रकार तथा प्रकृतिका सम्बन्धमा आवश्यक अन्य सूचना तथा जानकारी लिने,
(च) नियमनकारी निकायले तोकिदिएका अन्य उपाय अवलम्बन गर्ने ।
(५) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि गैरवित्तीय पेशाकर्मी वा व्यवसायीको रुपमा रहेका देहायका सूचक संस्थाले देहायका ग्राहकको पहिचान तथा सम्पुष्टि गर्नु अनिवार्य हुने छैनः–
(क) क्यासिनोले एक दिनमा दुईलाख रुपैया वा सोभन्दा कमको कारोबारमा संलग्न हुने ग्राहकको,
(ख) बहुमूल्य धातु तथा वस्तुको कारोबार गर्ने व्यवसायीले एक दिनमा दशलाख रुपैया वा सोभन्दा कम रकमको कारोबार गर्ने ग्राहकको ।
(६) यस परिच्छेद बमोजिम आफ्नो ग्राहकको सही पहिचान तथा पहिचानको सम्पुष्टि गर्ने सम्पूर्ण जिम्मेवारी सम्बन्धित सूचक संस्थाको हुनेछ ।
७ख. उच्चपदस्थ व्यक्तिको पहिचान सम्बन्धी विशेष व्यवस्थाः (१) सूचक संस्थाले आफ्नो ग्राहक वा वास्तविक धनी वा ग्राहक बन्न खोज्ने व्यक्ति उच्चपदस्थ व्यक्ति भए वा नभएको यकिन गर्न जोखिम व्यवस्थापन प्रणालीको व्यवस्था गर्नु पर्नेछ ।
(२) सूचक संस्थाले ग्राहक वा वास्तविक धनीको रुपमा रहेको विदेशी उच्चपदस्थ व्यक्ति र व्यावसायिक कारणले उच्च जोखिमयुक्त देखिएको अन्तर्राष्ट्रिय संस्थाको उच्चपदस्थ व्यक्ति वा स्वदेशी उच्चपदस्थ व्यक्तिसग व्यावसायिक सम्बन्ध स्थापना गर्दा वा कारोबार गर्दा देहायको अतिरिक्त उपाय अपनाउनु पर्नेछः–
(क) व्यावसायिक सम्बन्ध स्थापना गर्नु अघि सूचक संस्थाको व्यवस्थापन हेर्ने उच्च अधिकारीको स्वीकृति लिने,
(ख) विद्यमान ग्राहक उच्चपदस्थ व्यक्ति भएको थाहा हुन आएमा तत्काल खण्ड (क) बमोजिमको स्वीकृति लिने,
(ग) ग्राहक वा वास्तविक धनीको सम्पत्ति तथा कोषको स्रोत पहिचान गर्न पर्याप्त उपाय अवलम्बन गर्ने,
(घ) ग्राहक तथा निजसगको व्यावसायिक सम्बन्ध वा कारोबारको सम्बन्धमा निरन्तर रुपमा अनुगमन गर्ने,
(ङ) दफा ७ङ. बमोजिम बृहत् ग्राहक पहिचान सम्बन्धी उपाय अवलम्बन  गर्ने ।
(३) उपदफा (१) र (२) बमोजिमको व्यवस्था उच्चपदस्थ व्यक्तिको परिवारको सदस्य तथा सम्बद्ध व्यक्तिको हकमा समेत लागू हुनेछ ।
७ग. वास्तविक धनीको पहिचान गर्नु पर्नेः (१) सूचक संस्थाले व्यावसायिक सम्बन्ध स्थापना गर्दा वा कारोबार गर्दा वास्तविक धनीको पहिचान तथा सम्पुष्टि गर्नको लागि आवश्यक मनासिव उपायहरु अपनाउनु पर्नेछ ।
(२) सूचक संस्थाले कुनै व्यक्तिले अन्य कुनै व्यक्तिको तर्फबाट व्यावसायिक सम्बन्ध स्थापना वा कारोबार सम्बन्धी काम कारबाही गरे वा नगरेको सम्बन्धमा यकिन गर्नु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम यकिन गर्दा कुनै व्यक्तिले अर्को व्यक्तिको तर्फबाट व्यावसायिक सम्बन्ध स्थापना वा कारोबार गरेको देखिएमा सूचक संस्थाले त्यस्तो व्यक्तिको पहिचान तथा सोको सम्पुष्टि सम्बन्धमा दफा ७क. को उपदफा (४) को खण्ड (घ) बमोजिम उपाय अपनाउनु पर्नेछ ।
७घ. जोखिमको पहिचान, मूल्यांकन तथा व्यवस्थापन गर्नु पर्नेः (१) सूचक संस्थाले आफ्नो देश, भौगोलिक क्षेत्र, व्यवसाय वा पेशा, कार्यक्षेत्र, ग्राहक, सेवा वा उत्पादन, कारोबार तथा वितरण माध्यम समेतका आधारमा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी जोखिमको पहिचान तथा मूल्यांकन गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम जोखिमको पहिचान तथा मूल्यांकन गर्दा सूचक संस्थाले राष्ट्रिय जोखिम मूल्यांकन वा नियमनकारी निकायले गरेको जोखिम मूल्यांकन समेतलाई आधार बनाउनु पर्नेछ ।
(३) सूचक संस्थाले उपदफा (१) बमोजिम जोखिम मूल्यांकन गर्दा जोखिमसग सम्बन्धित सबै पक्षहरुको विश्लेषण गरी जोखिमको स्तर निर्धारण गर्नु पर्नेछ ।
(४) सूचक संस्थाले यस दफा बमोजिम गरेको जोखिमको मूल्यांकन सम्बन्धी सम्पूर्ण विवरण, सूचना तथा प्राप्त निष्कर्ष सम्बन्धी अभिलेख लिखित रुपमा राख्नु पर्नेछ ।
(५) सूचक संस्थाले उपदफा (१) बमोजिम गर्ने जोखिमको मूल्यांकन आवधिक रुपमा गरी त्यसलाई आवश्यकता अनुसार अद्यावधिक गर्नु पर्नेछ ।
(६) सूचक संस्थाले उपदफा (४) बमोजिमको अभिलेख सम्बन्धित नियमनकारी निकायलाई उपलब्ध गराउनु पर्नेछ र त्यस्तो अभिलेख अन्य सम्बद्ध निकायले माग गरेमा त्यस्तो निकायलाई समेत उपलब्ध गराउनु पर्नेछ ।
(७) सूचक संस्थाले यस दफा बमोजिम पहिचान भएको जोखिमको स्तर अनुरुप ग्राहक पहिचान, व्यवस्थापन तथा जोखिमको न्यूनिकरण गर्नको लागि आवश्यक पर्ने नीतिगत, कार्यविधिगत तथा नियन्त्रणात्मक व्यवस्था मिलाई त्यस्तो व्यवस्थालाई समय समयमा अद्यावधिक गर्नु पर्नेछ ।
(८) सूचक संस्थाले उपदफा (७) बमोजिमको नीतिगत, कार्यविधिगत तथा जोखिम व्यवस्थापन सम्बन्धी व्यवस्था कार्यान्वयन भए नभएको सम्बन्धमा नियमित रुपमा अनुगमन गर्नु पर्नेछ ।
७ङ. बृहत् ग्राहक पहिचान सम्बन्धी व्यवस्थाः (१) सूचक संस्थाले देहायका ग्राहकसग व्यावसायिक सम्बन्ध स्थापना गर्दा वा कारोबार गर्दा बृहत् ग्राहक पहिचान सम्बन्धी उपयुक्त उपायहरु अपनाउनु पर्नेछः–
(क) दफा ७घ., ७प. र ३५ बमोजिम गरिएको जोखिम मूल्यांकनबाट उच्च जोखिमयुक्त देखिएको ग्राहक,
(ख) आर्थिक वा कानूनी उद्देश्य स्पष्ट नदेखिने जटिल, ठूलो वा अस्वभाविक प्रवृत्तिको कारोबार गर्ने ग्राहक,
(ग) सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कृयाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड पालना नगर्ने वा आंशिक रुपमा मात्र पालना गर्ने भनी अन्तर्राष्ट्रिय रुपमा पहिचान भएको मुलुकको ग्राहक,
(घ) उच्चपदस्थ व्यक्ति र त्यस्तो व्यक्तिको परिवारको सदस्य तथा निजसँग सम्बद्ध व्यक्ति वा ग्राहक,
(ङ) दफा ७ढ. को उपदफा (१) बमोजिमको कारोबार गर्ने ग्राहक,
(च)   उच्च जोखिमयुक्त नयाँ उपकरण (प्रोडक्ट) वा सेवा प्रयोग गर्ने ग्राहक,
(छ) सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर वा अन्य कुनै कसूरमा शंका लागेको ग्राहक, वा
(ज) नियमनकारी निकायले तोकिदिएको अन्य ग्राहक ।
(२) सूचक संस्थाले उपदफा (१) बमोजिमका ग्राहकको बृहत् ग्राहक पहिचान गर्दा नियमनकारी निकायले निर्धारण गरेका थप उपायहरु समेत अपनाउनु पर्नेछ ।
(३) बृहत् ग्राहक पहिचान सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।
७च. सरलीकृत ग्राहक पहिचान सम्बन्धी व्यवस्थाः (१) सूचक संस्थाले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी जोखिम कम देखिएको ग्राहक वा कारोबारका सम्बन्धमा सरलीकृत ग्राहक पहिचान तथा सम्पुष्टि सम्बन्धी व्यवस्था अपनाउन सक्नेछ ।
(२) उच्च जोखिमयुक्त ग्राहक, कारोबार वा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कृयाकलापमा वित्तीय लगानीको आंशका देखिएको कारोबारको हकमा उपदफा (१) बमोजिमको सरलीकृत ग्राहक पहिचान तथा सम्पुष्टि सम्बन्धी व्यवस्था अपनाउन पाइने  छैन ।
(३) सरलीकृत ग्राहक पहिचान तथा सम्पुष्टि सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।
७छ. विद्यमान ग्राहकको पहिचान सम्बन्धी व्यवस्थाः (१) सूचक संस्थाले यो दफा प्रारम्भ हुदाका बखत खाता सञ्चालन गरिरहेका वा व्यावसायिक सम्बन्ध कायम रहेका विद्यमान ग्राहक तथा वास्तविक धनीको सम्बन्धमा भएको ग्राहकको पहिचान तथा सम्पुष्टि र सोको पर्याप्तताको पुनरावलोकन गरी त्यस्ता ग्राहक तथा वास्तविक धनीको प्रकार र प्रकृति, व्यावसायिक सम्बन्ध, कारोबार, उत्पादन वा सेवा, देश वा भौगोलिक क्षेत्र वा वितरण प्रणालीको जोखिमका आधारमा यस परिच्छेद बमोजिम ग्राहकको पहिचान तथा सम्पुष्टि गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको ग्राहकको पहिचान तथा सम्पुष्टि गर्ने अवधि नियमनकारी निकायले तोकिदिए बमोजिम हुनेछ ।
७ज. ग्राहकको पहिचान गर्नु पर्ने समयः (१) सूचक संस्थाले खाता खोल्नु वा व्यावसायिक सम्बन्ध कायम गर्नु अगावै, व्यावसायिक सम्बन्ध कायम रहेको अवस्थामा तथा आकस्मिक कारोबार (अकेजनल ट्रान्जेक्सन) गर्दा ग्राहक तथा वास्तविक धनीको पहिचान तथा सोको सम्पुष्टि गर्नु पर्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि  देहायको अवस्था विद्यमान भएमा सूचक संस्थाले ग्राहकको पहिचानको सम्पुष्टि व्यावसायिक सम्बन्ध स्थापना वा कारोबार गरेपछ्रि पनि गर्न सक्नेछः–
(क) व्यावहारिक रुपमा कुनै पनि बखत पहिचानको सम्पुष्टि हुन सक्ने कुरामा सूचक संस्था विश्वस्त भएमा,
(ख) व्यावहारिक कारणले तत्काल ग्राहक पहिचानको सम्पुष्टि गर्न सम्भव नभएको तथा पहिचानको सम्पुष्टि गर्दा व्यवसायको नियमित सञ्चालनमा अवरोध सिर्जना हुन सक्ने र त्यस्तो अवरोध गर्नु आवश्यक नदेखिएमा, र
(ग) सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी जोखिमलाई प्रभावकारी रुपमा व्यवस्थित गर्न सकिने अवस्था विद्यमान भएमा ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि सूचक संस्थाले देहायका ग्राहक तथा कारोबारका सम्बन्धमा उपदफा (१) बमोजिम ग्राहक तथा वास्तविक धनीको पहिचानको सम्पुष्टि गर्नु पर्नेछः–
(क)   ग्राहक जोखिमयुक्त वा उच्चपदस्थ व्यक्ति वा त्यस्तो व्यक्तिको परिवारको सदस्य तथा सम्बद्ध व्यक्ति भएको देखिएमा, वा
(ख) ग्राहकको काम कारबाही शंकास्पद देखिएमा ।
७झ. निरन्तर अनुगमन गर्नेः सूचक सस्थाले देहायको कार्य गरी ग्राहक, वास्तविक धनी वा कारोबारका सम्बन्धमा निरन्तर अनुगमन (अनगोइङ ड्यू डिलिजेन्स) गर्नु पर्नेछः–
(क) ग्राहकका सम्बन्धमा आफूसग प्राप्त जानकारी, निजको व्यवसाय वा जोखिम सम्बन्धी विवरण अनुरुप कारोबार भए वा नभएको सुनिश्चित गर्न निजसग व्यावसायिक सम्बन्ध कायम रहेसम्म सुक्ष्म परीक्षण गर्ने,
(ख)   खण्ड (क) बमोजिम सुक्ष्म परीक्षण गर्न आवश्यक भए निजसग सम्पत्तिको स्रोत समेत माग गर्ने वा परीक्षण गर्ने,
(ग) उच्चपदस्थ व्यक्ति वा उच्च जोखिमयुक्त लगायतका ग्राहक तथा निजसगको व्यावसायिक सम्बन्ध, कारोबार तथा वास्तविक धनीसग सम्बन्धित कागजात तथा विवरण अद्यावधिक भएको सुनिश्चित गर्न मौजुदा कागजात तथा विवरणको पुनरावलोकन गरी अद्यावधिक गर्ने,
(घ) सीमापार करेस्पोण्डिड्ड बैकिङ तथा वायर स्थानान्तरण सम्बन्धी कारोबार तथा ग्राहकका सम्बन्धमा नियमित रुपमा अनुगमन गर्ने,
(ङ) नियमनकारी निकायले तोकिदिए बमोजिमको अन्य कार्य गर्ने, र
(च) सूचक संस्था आफैले उपयुक्त ठानेका अन्य कार्य गर्ने ।
७ञ. तेस्रो पक्षबाट ग्राहक पहिचान तथा सम्पुष्टि गराउन सकिनेः (१) देहायको अवस्थामा सूचक संस्थाले ग्राहक पहिचान तथा सम्पुष्टि सम्बन्धी केही कार्य तेस्रो पक्षबाट गराउन सक्नेछः–
(क)   ग्राहकको पहिचान तथा सम्पुष्टि यस परिच्छेद बमोजिम हुने कुरामा सूचक संस्था विश्वस्त भएमा,
(ख) यस परिच्छेद बमोजिम आवश्यक ग्राहकको पहिचान तथा सम्पुष्टि गर्न प्रयोग गरिएका सम्पूर्ण कागजात तथा विवरण सम्बन्धी जानकारी सूचक संस्थालाई तत्काल प्राप्त हुने भएमा, र
(ग) ग्राहक पहिचान तथा सम्पुष्टि गर्न प्रयोग गरिएका सम्पूर्ण कागजात, विवरण तथा जानकारी सूचक संस्थाले मागेका बखत विना कुनै विलम्व प्राप्त हुने सुनिश्चित भएमा ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको तेस्रो पक्षको रुपमा रहेको संस्थाबाट भएको ग्राहकको पहिचान तथा सम्पुष्टिलाई सूचक संस्थाले स्वीकार गर्न पाउने छैनः–
(क) त्यस्तो संस्था सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कृयाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड पालना नगर्ने वा आंशिक रुपमा मात्र पालना गर्ने भनी पहिचान भएको मुलुकको भएमा,
(ख) त्यस्तो संस्थामा ग्राहकको पहिचान तथा सम्प्ुष्टि सम्बन्धी यस परिच्छेद बमोजिमको व्यवस्था विद्यमान नभएमा, वा
(ग) त्यस्तो संस्था सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कृयाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी नियमन, निरीक्षण, सुपरीवेक्षणको दायरा अन्तर्गतको नभएमा ।
(३) उपदफा (१) बमोजिम तेस्रो पक्षबाट ग्राहकको पहिचान तथा सम्पुष्टि गरिएको भए तापनि यस परिच्छेद बमोजिम ग्राहक पहिचान तथा सम्पुष्टि सम्बन्धी अन्तिम दायित्व सूचक संस्थाको हुनेछ ।
७ट. नयाँ प्रविधि वा आफैं उपस्थित नहुने ग्राहक वा कारोबार सम्बन्धी व्यवस्थाः (१) सूचक संस्थाले प्रचलनमा आइसकेका वा नयाँ उपकरण तथा व्यापारिक अभ्यास, आफैं उपस्थित नहुने ग्राहक वा कारोबार, वितरण प्रणाली वा नवीन वा विकासको क्रममा रहेको प्रविधिबाट सिर्जना हुन सक्ने सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी जोखिमको पहिचान तथा सोको मूल्यांकन गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम जोखिमको पहिचान तथा मूल्यांकन त्यस्तो उपकरण, व्यापारिक अभ्यास, वितरण प्रणाली वा प्रविधि प्रयोगमा ल्याउनु अगावै गर्नु पर्नेछ ।
(३) सूचक संस्थाले उपदफा (१) बमोजिम पहिचान तथा मूल्यांकन गरिएको जोखिमको व्यवस्थापन गर्न पर्याप्त उपाय अपनाउनु पर्नेछ ।
(४) आफैं उपस्थित नहुने ग्राहकसग व्यावसायिक सम्बन्ध स्थापना गर्दा वा कारोबार गर्दा हुन सक्ने सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी विशेष जोखिमलाई सम्बोधन गर्न सूचक संस्थाले ग्राहकको पहिचान तथा सम्पुष्टि सम्बन्धी नीति तथा कार्यविधि बनाई लागू गर्नु पर्नेछ ।
७ठ. वायर स्थानान्तरण (ट्रान्सफर) सम्बन्धी दायित्वः (१) वित्तीय सस्ंथाले  प्रचलित कानून बमोजिम जुनसुकै मुद्रा वा जतिसुकै रकमको वायर स्थानान्तरण गर्नु अगावै देहाय बमोजिमको विवरण तथा जानकारी लिई ग्राहकको सही पहिचान तथा सम्पुष्टि गर्नु पर्नेछः–
(क) उत्पत्तिकर्ताको नाम,
(ख) उत्पत्तिकर्ताको खाता नम्बर र खाता नभएको अवस्थामा कारोबार पहिचान हुन सक्ने छुट्टै स्रोत नम्बर,
(ग) उत्पत्तिकर्ताको ठेगाना वा सो नभएको अवस्थामा निजको जन्ममिति र जन्मस्थान वा नागरिकता नम्बर वा राष्ट्रिय परिचयपत्र नम्बर वा ग्राहक पहिचान नम्बर,
(घ) हिताधिकारीको नाम तथा खाता नम्बर र खाता नभएको अवस्थामा कारोबार पहिचान हुन सक्ने छुट्टै स्रोत नम्बर,
(ङ) नियमनकारी निकायले तोकिदिएको अन्य विवरण वा जानकारी ।
स्पष्टीकरणः यस दफाको प्रयोजनका लागि “उत्पत्तिकर्ता” भन्नाले वायर ट्रान्सफर मार्फत रकम पठाउने वास्तविक धनी समेतलाई सम्झनु पर्छ ।
(२) उपदफा (१) बमोजिमको व्यवस्था व्याच फायलमा जम्मा हुने वायर स्थानान्तरणको हकमा समेत लागू हुनेछ ।
(३) कारोबार भएको व्यहोरा कार्डमा देखिने गरी डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड मार्फत वस्तु वा सेवा खरीदको परिणाम स्वरुप भएको वायर स्थानान्तरणमा उपदफा (१) बमोजिमको व्यवस्था तथा वित्तीय संस्थाहरुबीच आफैंले आफ्नो खातामा वायर स्थानान्तरण गर्दा उपदफा (१) वा  (२) को व्यवस्था लागू हुने छैन ।
(४) उत्पत्तिकर्ता वा हिताधिकारी आफ्नो विद्यमान ग्राहक भएमा, निजले गर्ने कारोबारबाट कसूरको जोखिम नहुने देखिएमा र निजको सही पहिचान तथा सम्पुष्टि भएकोमा वित्तीय संस्था सन्तुष्ट रहेमा वित्तीय संस्थाले उपदफा (१) बमोजिम ग्राहक पहिचान तथा सम्पुष्टि नगर्न समेत सक्नेछ ।
(५) वित्तीय संस्थाले ग्राहकको पचहत्तर हजार रुपैयाँ वा सोभन्दा कम मूल्यको वायर स्थानान्तरण गर्दा उपदफा (१) को खण्ड (ग) बमोजिमको विवरण वा जानकारी नलिन सक्नेछ ।
(६) वित्तीय संस्थाले उपदफा (१) बमोजिमका विवरणहरु भुक्तानी श्रृङ्खला अन्तर्गतका वा भुक्तानी दिने वित्तीय संस्थालाई वायर स्थानान्तरणको भुक्तानी सन्देश (पेमेण्ट म्यासेज) का साथ संलग्न गर्नु पर्नेछ ।
(७) वायर स्थानान्तरण सम्बन्धी माध्यम (इन्टरमिडियरी) को रुपमा काम गर्ने वा भुक्तानी दिने नेपालको कुनै वित्तीय संस्थाले उपदफा (६) बमोजिमको विवरण प्राप्त भएको सुनिश्चित गर्नु पर्नेछ ।
(८) उपदफा (७) बमोजिमको आवश्यक कागजात वा विवरण नभएको पाइएमा वित्तीय संस्थाले रकम पठाउने वा भुक्तानी श्रृङ्खला अन्तर्गतको वित्तीय संस्थासँग माग गर्नु पर्नेछ ।
(९) उपदफा (८) बमोजिम माग गरेको विवरण प्राप्त हुन नसकेमा भुक्तानी दिने वा माध्यमको रुपमा काम गर्ने नेपालको वित्तीय सस्थाले त्यस्तो वायर स्थानान्तरण उपदफा (१०) बमोजिमको नीति तथा कार्यविधिका आधारमा निलम्वन, अस्वीकार वा भुक्तानी गर्न सक्नेछ ।
(१०) प्रचलित कानून बमोजिम वायर स्थानान्तरण सम्बन्धी कारोबार गर्ने नेपालको वित्तीय संस्थाले वायर स्थानान्तरणको अनुगमन, सोधखोज, निलम्वन, अस्वीकार, वास्तविक धनी तथा हिताधिकारीको पहिचान, भुक्तानी लगायतका विषयमा जोखिममा आधारित नीति तथा कार्यविधि बनाई लागू गर्नु पर्नेछ ।
(११) वित्तीय संस्थाले वायर स्थानान्तरण सम्बन्धी कारोबार गर्दा उत्पत्तिकर्ता वा हिताधिकारीको यस दफा बमोजिमको विवरण भए नभएको यकिन गर्न आवश्यक अनुगमन गर्नु पर्नेछ ।
(१२) पचहत्तर हजार रुपैया वा सोभन्दा बढी रकमको वायर स्थानान्तरण सम्बन्धी कार्य गर्ने वित्तीय संस्थाले उक्त रकमको भुक्तानी दिदा हिताधिकारीको सही पहिचान गर्नु   पर्नेछ ।
(१३) वायर स्थानान्तरण मार्फत रकम वा मूल्य पठाउने, माध्यमको रुपमा काम गर्ने तथा भुक्तानी दिने वित्तीय संस्थाले वायर स्थानान्तरण सम्बन्धी सम्पूर्ण अभिलेख तथा विवरण कारोबार भएको मितिले कम्तीमा पाँच वर्षसम्म सुरक्षित राख्नु पर्नेछ ।
(१४) वायर स्थानान्तरण मार्फत रकम वा मूल्य पठाउने, माध्यमको रुपमा काम गर्ने वा भुक्तानी दिने वित्तीय संस्थाले परिच्छेद ६ख. बमोजिमको व्यक्ति, समूह वा संगठनको रकम तत्काल रोक्का राख्नु पर्नेछ र कसैले कारोबार गर्न नपाउने व्यवस्था गर्नु पर्नेछ ।
(१५) वायर स्थानान्तरण सम्बन्धी कारोबार गर्ने वित्तीय संस्थाले आफ्नो एजेण्टको सम्बन्धमा देहायको व्यवस्था गर्नु पर्नेछः–
(क) सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कृयाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी कार्यक्रम लागू गराउने र सोको पालना भए वा नभएको सम्बन्धमा अनुगमन गर्ने,
(ख) एजेण्टको अद्यावधिक विवरण तयार गरी सार्वजनिक रुपमा वेबसाइटमा प्रकाशन गर्ने ।
(१६) वायर स्थानान्तरण सम्बन्धमा राष्ट्र बैंकले थप आवश्यक र उपयुक्त व्यवस्था गर्न सक्नेछ ।
७ड. सीमापार करेस्पोण्डिड्ड बैंकिङ सम्बन्ध सम्बन्धी व्यवस्थाः (१) वित्तीय संस्थाले प्रचलित कानून बमोजिम सीमापार करेस्पोण्डिड्ड बैंकिङ सम्बन्ध कायम गर्दा तथा कारोबार गर्दा देहाय बमोजिमको उपाय अपनाउनु पर्नेछः–
(क) रेस्पोण्डेण्ट वित्तीय संस्थाको पहिचान तथा सम्पुष्टि गर्ने,
(ख) रेस्पोण्डेण्ट वित्तीय संस्थाले गर्ने काम कारबाहीको सम्बन्धमा पर्याप्त जानकारी हासिल गर्ने,
(ग) खण्ड (ख) बमोजिम प्राप्त जानकारी समेतका आधारमा रेस्पोण्डेण्ट वित्तीय संस्थाले गर्ने व्यवसायको प्रकृति पूर्ण रुपमा थाहा पाउने,
(घ) सार्वजनिक रुपमा उपलब्ध सूचनाका आधारमा रेस्पोण्डेण्ट वित्तीय संस्थाको प्रतिष्ठा, सो उपर हुने सुपरीवेक्षणको गुणस्तर तथा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी अनुसन्धान वा नियमन सम्बन्धी कारबाहीमा परे नपरेको समेतका सम्बन्धमा मूल्यांकन गर्ने,
(ङ) रेस्पोण्डेण्ट वित्तीय संस्थाको सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कृयाकलापमा वित्तीय लगानी नियन्त्रण प्रणाली तथा सोको पर्याप्तताको मूल्यांकन गर्ने,
(च) करेस्पोण्डिड्ड बैंकिङ सम्बन्ध कायम गर्नु पूर्व आफ्नो व्यवस्थापन हेर्ने उच्च अधिकारीको स्वीकृति लिने,
(छ) सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कृयाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा आ–आफ्नो जिम्मेवारी स्पष्ट रुपमा थाहा  पाउने,
(ज) भुक्तानी दिने खाता (पेएबल थ्रु एकाउण्ट) को प्रयोग गर्ने ग्राहकको सम्बन्धमा रेस्पोण्डेण्ट वित्तीय संस्थाले यस परिच्छेद बमोजिमको ग्राहक पहिचान तथा सोको सम्पुष्टि सम्बन्धी व्यवस्था पालना गरे वा नगरेको, त्यस्तो ग्राहक उपर नियमित अनुगमन पद्धतिको कार्यान्वयन गरे वा नगरेको तथा माग गरेको बखत आफूलाई आवश्यक विवरण उपलब्ध गराउन सक्षम रहे वा नरहेको सुनिश्चित गर्ने,
(झ) शेल बैंकसँग व्यावसायिक सम्बन्ध स्थापना वा कारोबार नगर्ने तथा गरिरहेको भए निरन्तरता नदिने कुराको सुनिश्चित गर्ने, र
(ञ) रेस्पोण्डेण्ट वित्तीय संस्थाले कुनै शेल बैंकलाई आफ्नो खाता प्रयोग गर्न अनुमति नदिने कुराको सुनिश्चित गर्ने ।
(२) वित्तीय संस्थाले आफैं वा ग्राहकको तर्फबाट गरिदिएको सीमापार करेस्पोण्डिड्ड बैंकिङ सम्बन्धी व्यावसायिक सम्बन्ध वा कारोबार गर्दा उपदफा (१) बमोजिमको व्यवस्था पालना गर्नु पर्नेछ ।
७ढ. खास कारोबारमा विशेष ध्यान दिनु पर्नेः (१) सूचक संस्थाले देहायका कारोबारका सम्बन्धमा विशेष ध्यान दिनु पर्नेछः–
(क) आर्थिक वा कानूनी उद्देश्य स्पष्ट नदेखिने जटिल, ठूलो वा अस्वभाविक प्रवृत्तिको सबै कारोबार,
(ख) सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कृयाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डको पालना नगर्ने वा आंशिक रुपमा मात्र पालना गर्ने भनी पहिचान भएको मुलुकको व्यक्ति, संस्था वा कानूनी प्रबन्धसगको व्यावसायिक सम्बन्ध वा कारोबार, वा
(ग) नियमनकारी निकायले तोकिदिएको अन्य कारोबार ।
(२) सूचक संस्थाले उपदफा (१) मा उल्लिखित कारोबारको पृष्ठभूमि तथा उद्देश्यको सम्बन्धमा सकेसम्म बढी परीक्षण गर्ने र सोबाट प्राप्त निष्कर्षको लिखित रुपमा अभिलेख राख्नु पर्नेछ ।
(३) सूचक संस्थाले उपदफा (२) बमोजिमको अभिलेख कम्तीमा पाँच वर्षसम्म सुरक्षित राख्नु पर्नेछ र वित्तीय जानकारी इकाई, नियमनकारी निकाय वा अधिकारप्राप्त अधिकारीले माग गरेका बखत तत्काल उपलब्ध गराउनु पर्नेछ ।
७ण. कारोबार गर्न नहुनेः (१) सूचक संस्थाले देहायको ग्राहकको खाता खोल्न वा त्यस्तो ग्राहकसँग व्यावसायिक सम्बन्ध कायम गर्न वा कारोबार गर्न हुदैनः–
(क)   यस परिच्छेद बमोजिम ग्राहक पहिचान तथा सम्पुष्टि गर्न आवश्यक कागजात, विवरण तथा जानकारी उपलब्ध नगराउने, वा
(ख) यस परिच्छेद बमोजिम उपलब्ध गराएको कागजात, विवरण तथा जानकारीका आधारमा ग्राहकको पहिचान तथा सम्पुष्टि हुन  नसक्ने ।
(२) सूचक संस्थाले विद्यमान ग्राहकका सम्बन्धमा उपदफा (१) बमोजिमको अवस्था विद्यमान भएमा त्यस्तो ग्राहकसगको व्यावसायिक सम्बन्ध अन्त्य गर्नु पर्नेछ र आवश्यक भएमा सोको जानकारी वित्तीय जानकारी इकाईलाई समेत दिनु पर्नेछ ।
७त. सूचक संस्थाको दायित्वः (१) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा जारी भएको निर्देशिका वा दिएको निर्देशनको कार्यान्वयनको लागि सूचक संस्थाले आफ्नो देश, भौगोलिक क्षेत्र, कार्यक्षेत्र, व्यवसायको आकार, ग्राहक, कारोबार तथा जोखिमका आधारमा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कृयाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी नीति तथा कार्यविधि बनाई लागू  गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको नीति तथा कार्यविधिमा देहायका विषयहरु समावेश गर्नु पर्नेछः–
(क) ग्राहकको पहिचान, व्यावसायिक सम्बन्ध, अनुगमन, कारोबारको सूचना, अभिलेख लगायतका अन्य दायित्वका सम्बन्धमा आन्तरिक नीति, प्रकृया तथा नियन्त्रण सम्बन्धी व्यवस्था,
(ख) निरन्तर अनुगमन सम्बन्धी व्यवस्था,
(ग) यो ऐन वा यस ऐन अन्र्तगत बनेको नियम वा जारी भएको निर्देशिका वा निर्देशनको पालना गर्ने वा गराउने व्यवस्था,
(घ) उच्च मर्यादा भएका कर्मचारी कायम गर्न कर्मचारी भर्ना लगायतका विषयमा कार्यविधिको पर्याप्त व्यवस्था,
(ङ) कर्मचारीलाई नियमित रुपमा तालीम तथा पुनर्ताजगी सम्बन्धी व्यवस्था,
(च) काम कारबाहीको स्वतन्त्र रुपमा अनुगमन, निरीक्षण, लेखापरीक्षण गरी अभिलेख अद्यावधिक गर्ने प्रभावकारी व्यवस्था,
(छ) शंकास्पद कारोबारको पहिचान तथा जानकारी सम्बन्धी व्यवस्था,
(ज) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा जारी गरिएको निर्देशिका वा दिएको निर्देशन बमोजिमको दायित्व पूरा गर्न र सोको प्रभावकारिता मूल्यांकन गर्न आवश्यक हुने अन्य व्यवस्था, र
(झ) नियमनकारी निकायले तोकिदिएका अन्य व्यवस्था ।
(३) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा जारी गरिएको निर्देशिका वा दिएको निर्देशन बमोजिमको दायित्व निरन्तर रुपमा पूरा गर्न सूचक संस्थाले व्यवस्थापन स्तरको कार्यान्वयन अधिकारी (कम्प्लायन्स अफिसर) नियुक्त गर्नु पर्नेछ ।
(४) सूचक संस्थाले उपदफा (३) बमोजिमको कार्यान्वयन अधिकारीलाई देहायको काम, कर्तव्य र अधिकार तथा सोका लागि आवश्यक साधन स्रोत उपलब्ध हुने सुनिश्चित गर्नु पर्नेछः–
(क) आफ्नो कार्य सम्पादनको सिलसिलामा आवश्यक कुनै पनि अभिलेख, हिसाब किताब र लेखा सम्बन्धी कागजातहरु उपर पहुच प्राप्त गर्ने,
(ख) सूचक संस्थाको सम्बन्धित कर्मचारीसग कुनै सूचना, जानकारी, विवरण वा कागजात माग गर्ने र प्राप्त गर्ने,
(ग) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमावली वा जारी गरिएको निर्देशिका वा निर्देशनको कार्यान्वयन गर्न आवश्यक अन्य कार्य गर्ने, र
(घ) नियमनकारी निकायले तोकेको अन्य कार्य गर्ने ।
७थ. शाखा कार्यालय वा सहायक कम्पनीको दायित्वः (१) एकै समूह अन्तर्गत नेपाल वा विदेशमा सञ्चालित सूचक संस्था वा विदेशमा शाखा कार्यालय वा अधिकांश स्वामित्व रहने गरी संस्था स्थापना गर्ने सूचक संस्थाले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा जारी भएको निर्देशिका वा दिएको निर्देशन बमोजिम सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कृयाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी व्यवस्थाको पालना समूहगत रुपमा गर्नु पर्नेछ ।
स्पष्टीकरणः यस दफाको प्रयोजनका लागि “अधिकांश स्वामित्व” भन्नाले पचास प्रतिशत वा सोभन्दा बढीको स्वामित्व सम्झनु पर्छ ।
(२) उपदफा (१) बमोजिमको सूचक संस्थाले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कृयाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा देहायका विषयहरु समेत समावेश गरी समूहगत नीति तथा कार्यविधि बनाई लागू गर्नु पर्नेछः–
(क) ग्राहकको पहिचान तथा सम्पुष्टि र सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी जोखिम व्यवस्थापन सम्बन्धी सूचना आदान प्रदान गर्ने,
(ख) नियमनकारी निकायले तोकिदिए बमोजिम ग्राहक, कारोबार, खाता, लेखा परीक्षण, समूहगत परिपालना र सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कृयाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी कार्यक्रम समेतको जानकारी समूहगत रुपमा आदान प्रदान गर्ने, र
(ग) खण्ड (क) वा (ख) बमोजिम आदान प्रदान गरिएका सूचनाको प्रयोग तथा गोपनीयताको सुरक्षा गर्ने पर्याप्त व्यवस्था ।
(३) उपदफा (१) र (२) बमोजिमको व्यवस्था पालना गर्न सम्बन्धित मुलुकको कानूनको कारणले कठिनाई हुने भएमा एकै समूह अन्तर्गत सञ्चालित सूचक संस्था वा विदेशमा शाखा कार्यालय वा अधिकांश स्वामित्व रहने गरी संस्था स्थापना गर्ने सूचक संस्थाले नियमनकारी निकायलाई जानकारी दिनु पर्नेछ र त्यस्ता संस्थाले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी जोखिम व्यवस्थापन गर्न अतिरिक्त उपाय अपनाउनु पर्नेछ ।
(४) उपदफा (३) बमोजिम अवलम्वन गरिएको अतिरिक्त उपायहरु सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी जोखिम व्यवस्थापन गर्न पर्याप्त नहुने देखेमा विदेशमा  खोलेको शाखा कार्यालय वा अधिकांश स्वामित्व रहने गरी स्थापना गरेको संस्थालाई नियमनकारी निकायले दफा ७फ. बमोजिमको कारबाही गर्न वा त्यस्तो शाखा वा संस्था बन्द गराउन सक्नेछ ।
७द. अभिलेख सुरक्षित राख्नु पर्नेः (१) सूचक संस्थाले देहाय बमोजिमका कागजात, विवरण तथा अभिलेख व्यावसायिक सम्बन्ध समाप्त भएको वा कारोबार भएको वा आकस्मिक कारोबार भएको मितिले कम्तीमा पाँच वर्षसम्म दुरुस्त रुपले व्यवस्थित तथा सुरक्षित राख्नु पर्नेछः–
(क) ग्राहक तथा वास्तविक धनीको पहिचान तथा सम्पुष्टि सम्बन्धी अभिलेख,
(ख) ग्राहक, वास्तविक धनी र कारोबारका सम्बन्धमा गरिएको विश्लेषणको निष्कर्ष तथा प्रतिवेदन सम्बन्धी सबै कागजात, विवरण तथा अभिलेख,
(ग) सूचक संस्थाको लेखा तथा व्यावसायिक कागजात, विवरण तथा अभिलेख,
(घ) स्वदेशी वा वैदेशिक रुपमा गरिएका कारोबारसँग सम्बन्धित आवश्यक सबै कागजात, विवरण तथा अभिलेख,
(ङ) कारोबार गर्न गरेको प्रयासको कागजात, विवरण तथा अभिलेख, र
(च) नियमनकारी निकायले तोकिदिए बमोजिमका अन्य कागजात, विवरण तथा अभिलेख ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सूचक संस्थाले तोकिएका कागजात, विवरण तथा अभिलेख पाँच वर्षभन्दा घटी नहुने गरी तोकिएको थप अवधिसम्म सुरक्षित राख्नु पर्नेछ ।
(३) सूचक संस्थाले उपदफा (१) वा (२)  बमोजिम कागजात, विवरण तथा अभिलेख राख्दा प्रत्येक कारोबार स्पष्ट देखिने र कानूनी कारबाहीको सिलसिलामा प्रमाणको रुपमा प्रयोग गर्न सकिने गरी राख्नु पर्नेछ ।
(४) यस दफा बमोजिम राखिएका कागजात, विवरण तथा अभिलेख अधिकार प्राप्त अधिकारीले माग गरेका बखत तत्कालै उपलब्ध हुन सक्ने गरी राख्नु पर्नेछ ।
(५) सूचक संस्थाले शंकास्पद कारोबार सम्बन्धी प्रतिवेदन पाँच वर्षसम्म सुरक्षित राख्नु पर्नेछ ।
(६) सूचक संस्थाले कागजात, विवरण तथा अभिलेख सुरक्षित राख्ने सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।
७ध. शंकास्पद कारोबार सम्बन्धी प्रतिवेदन दिनु पर्नेः (१) सूचक संस्थाले ग्राहक, कारोबार वा सम्पत्तिको सम्बन्धमा देहायको अवस्था विद्यमान भएमा तीन दिनभित्र यथासक्य चाडो वित्तीय जानकारी इकाईलाई शंकास्पद कारोबार सम्बन्धी प्रतिवेदन दिनु पर्नेछः–
(क) कुनै सम्पत्ति सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर वा अन्य कसूरसँग सम्बन्धित भएको शंका लागेमा वा शंका गर्नु पर्ने मनासिब आधार भएमा, वा
(ख) कुनै सम्पत्ति आतंकवादी कार्य, आतड्ढकारी व्यक्ति वा आतंकवादी संगठन वा आतड्ढवादी कृयाकलापमा वित्तीय लगानीसग सम्बन्धित वा जोडिएको वा त्यस्तो कार्यमा वा त्यस्तो व्यक्ति वा संगठनबाट प्रयोग हुन सक्ने शड्ढा लागेमा वा शड्ढा गर्नु पर्ने मनासिब आधार भएमा ।
(२) सूचक संस्थाले उपदफा (१) बमोजिमको शंकास्पद कारोबार सम्बन्धी प्रतिवेदन ग्राहकले कुनै कारोबार गर्ने प्रयास मात्र गरेमा समेत दिनु पर्नेछ ।
(३) शंकास्पद कारोबार पहिचान गर्ने थप आधार, शंकास्पद कारोबार सम्बन्धी प्रतिवेदनको ढाँचा, पद्धति तथा कार्यविधि वित्तीय जानकारी इकाईले तोकिदिए बमोजिम हुनेछ ।

परिच्छेद – ३क. सूचक संस्थाको नियमन तथा सुपरीवेक्षण सम्बन्धी व्यवस्था

७न. सूचक संस्थाको नियमन तथा सुपरीवेक्षणः (१) यस ऐन बमोजिम सूचक संस्थाले काम कारबाही गरे वा नगरेको सम्बन्धमा प्रचलित कानून बमोजिम स्थापित नियमनकारी निकायबाट नियमन तथा सुपरीवेक्षण हुनेछ ।
(२) कुनै सूचक संस्थाको नियमनकारी निकायको सम्बन्धमा प्रचलित कानूनमा कुनै व्यवस्था रहेनछ भने त्यस्तो सूचक संस्थाको नियमनकारी निकायको रुपमा कार्य गर्न नेपाल सरकारले राष्ट्रिय समन्वय समितिको परामर्शमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी कुनै निकाय वा नियमनकारी निकायको रुपमा रहेको कुनै संस्थालाई तोक्न सक्नेछ ।
(३) सूचक संस्थाको नियमन तथा सुपरीवेक्षण गर्ने सम्बन्धमा नियमनकारी निकायले प्रचलित कानूनमा उल्लिखित काम, कर्तव्य र अधिकारका अतिरिक्त यस ऐन बमोजिमको काम, कर्तव्य र अधिकारको समेत पालना र प्रयोग गर्नु पर्नेछ ।
७प. नियमनकारी निकायको काम, कर्तव्य र अधिकारः (१) यस ऐनको प्रयोजनको लागि नियमनकारी निकायको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) आवधिक रुपमा वा आवश्यकता अनुसार आफ्नो कार्यक्षेत्र तथा आफूले नियमन सुपरीवेक्षण गर्नु पर्ने सूचक संस्थाको जोखिमको पहिचान, मूल्याङ्कन तथा अनुमगमन गर्ने तथा जोखिम व्यवस्थापन गर्न पर्याप्त तथा प्रभावकारी उपाय अवलम्वन गर्ने,
(ख) आफूले सुपरीवेक्षण गर्नु पर्ने सूचक संस्थालाई आवधिक रुपमा वा आवश्यकता अनुसार जोखिमको पहिचान, मूल्याङ्कन, अनुगमन तथा जोखिम व्यवस्थापन गर्न पर्याप्त तथा प्रभावकारी उपाय अवलम्बन गराउने,
(ग) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा जारी गरिएको निर्देशिका वा दिइएको निर्देशनको पालना गर्र्ने वा गराउने,
(घ) सूचक संस्थाले गर्ने कुनै व्यवसाय वा पेशा दर्ता गर्दा वा व्यवसायको लागि अनुमतिपत्र वा इजाजतपत्र दिदा पेशा वा व्यवसाय सञ्चालन गर्ने व्यक्तिले यस ऐन बमोजिमको काम कारबाही तथा दायित्व पूरा गर्नु पर्ने शर्त तोक्ने,
(ङ) सूचक संस्था दर्ता गर्दा वा व्यवसायको लागि अनुमतिपत्र वा इजाजतपत्र दिदा र त्यस्तो संस्थाको संस्थापना, स्थापना, सञ्चालन, व्यवस्थापन वा काम कारबाहीमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा स्वामित्व हुने, नियन्त्रण गर्ने वा सहभागी हुने वा सोको वास्तविक धनी वा हिताधिकारी व्यक्तिको  वित्तीय लगायत अन्य योग्यताको उपयुक्तता मापन सम्बन्धी मापदण्ड बनाई लागू गर्ने वा गराउने,
(च) सूचक संस्थाको व्यवसायगत सुपरीवेक्षण (प्रुडेन्सियल सुपरभिजन) सम्बन्धी आधारभूत मान्यतामा अन्तरनिहित सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी व्यवस्थाको परिपालना गराउने,
(छ) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा जारी गरिएको निर्देशिका वा दिइएको निर्देशन वा आदेशको व्यवस्था पालना भए नभएको सम्बन्धमा सूचक संस्थाको आवश्यकता अनुसार स्थलगत निरीक्षण (अनसाइट इन्स्पेक्सन), गैरस्थलगत सुपरीवेक्षण (अफसाइट सुपरभिजन) वा अनुगमन गर्ने,
(ज) सूचक संस्थालाई परिच्छेद –३ बमोजिमको दायित्व निर्वाह गर्न उपदफा (२) बमोजिम निर्देशन जारी गरी आवश्यक थप उपाय निर्धारण गर्ने वा गर्न लगाउने,
(झ) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड पालना नगर्ने वा आंशिक रुपमा मात्र पालना गर्ने भनी अन्तर्राष्ट्रिय रुपमा पहिचान भएको मुलुकको ग्राहक वा निजसँगको कारोबारका  सम्बन्धमा सूचक संस्थाले गरेको जोखिम मूल्याङ्कन र बृहत् ग्राहक पहिचानको विस्तृत अनुगमन गर्ने,
(ञ) सूचक संस्थाले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा जारी गरिएको निर्देशिका वा दिइएको निर्देशन बमोजिमको दायित्व परिपालना गराउन सूचक संस्थामा रहेको जुनसुकै प्रकारको सूचना, जानकारी तथा कागजात उपलब्ध गराउन आदेश दिने,
(ट) कसूरको अनुसन्धान सम्बन्धी कार्यमा आवश्यक सहयोग पुञ्याउने,
(ठ) सम्पत्ति शुद्धीकरण, आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर वा अन्य कुनै कसूरको शड्ढा लागेको वा शंका गर्नु पर्ने मनासिब आधार भएमा सूचक संस्थाले दफा ७ध. बमोजिम शंकास्पद कारोबार पहिचान, मूल्याङ्कन, प्रतिवेदन दिने व्यवस्था गरी सोको प्रभावकारी कार्यान्वयन गरे नगरेको विशेष मूल्याङ्कन गर्ने,
(ड) शंकास्पद कारोबार सम्बन्धी प्रतिवेदन पेश नगरेको देखिएमा सोको जानकारी वित्तीय जानकारी इकाईलाई दिने,
(ढ) सूचक संस्थालाई सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा तालीमको व्यवस्था गर्ने वा गराउने, र
(ण) तोकिए बमोजिमका अन्य कार्य गर्ने ।
(२) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलाप निवारण गर्न र सोसँग सम्बन्धित अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम कार्य गर्न वा गराउन नियमनकारी निकायले आवश्यकता अनुसार सूचक संस्थालाई आदेश वा निर्देशन जारी गर्न वा मापदण्ड बनाई लागू गराउन सक्नेछ ।
(३) वित्तीय संस्थाको नियमन तथा सुपरीवेक्षण गर्ने नियमनकारी निकायले एकै समूह अन्तर्गत रही एकै वा फरक फरक प्रकृतिको व्यवसाय गर्ने सूचक संस्थाको स्वदेशी वा विदेशी नियमनकारी निकायसँग मिलेर संयुक्त रुपमा नियमन तथा सुपरीवेक्षण गर्न वा त्यस्ता सूचक संस्थाको नियमन तथा सुपरीवेक्षण सम्बन्धी सूचना तथा जानकारी आदान प्रदान गर्न सक्नेछ ।
(४) नियमनकारी निकायले अन्य मुलुकको समान प्रकृतिको काम गर्ने निकायसँग सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी निवारण गर्ने सम्बन्धमा नियमन तथा सुपरीवेक्षण सम्बन्धी व्यवस्था, सूचना वा जानकारी लगायतका अन्य विषयमा आपसी सहयोग आदान प्रदान गर्न आवश्यक व्यवस्था गर्न सक्नेछ ।
(५) नियमनकारी निकायले सहयोग आदान प्रदान गर्ने सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।
७फ. सूचक संस्थालाई कारबाही गर्न सक्नेः (१) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा जारी गरिएको निर्देशिका वा दफा ७प. को उपदफा (२) बमोजिम दिएको आदेश वा निर्देशन वा जारी गरेको मापदण्ड पालना नगर्ने सूचक संस्थालाई नियमनकारी निकायले देहाय बमोजिमको कुनै वा सबै कारबाही तथा सजाय गर्न सक्नेछः–
(क) लिखित रुपमा सचेत गराउने,
(ख) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा जारी गरेको निर्देशिका वा दिएको आदेश वा निर्देशनको उल्लङ्घन गरेमा सोको गाम्भीर्यका आधारमा क्यासिनो व्यवसायी तथा वित्तीय संस्थालाई  दश लाखदेखि पाच करोड रुपैयासम्म र अन्य सूचक संस्थालाई एक लाखदेखि एक करोड रुपैयासम्म जरिवाना गर्ने,
(ग) कारोबार, पेशा वा व्यवसाय गर्न आंशिक वा पूर्ण रुपमा रोक लगाउने,
(घ) अनुमतिपत्र, इजाजतपत्र वा दर्ता निलम्बन गर्ने, वा
(ङ) अनुमतिपत्र, इजाजतपत्र वा दर्ता खारेज गर्ने ।
(२) सूचक संस्थालाई यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा जारी गरिएको निर्देशिका वा दिएको निर्देशन वा आदेशको उल्लङ्घनका सम्बन्धमा सजाय गर्न उपदफा (१) मा उल्लिखित सजाय पर्याप्त नहुने देखिएमा नियमनकारी निकायले प्रचलित कानून बमोजिमको उपयुक्त सजाय गर्न सक्नेछ ।
(३) नियमनकारी निकायले सूचक संस्थालाई उपदफा (१) वा (२) बमोजिम सजाय गर्दा त्यस्तो सजाय प्रभावकारी, अनुपातिक तथा निरोधात्मक हुने गरी गर्नु पर्नेछ ।
(४) नियमनकारी निकायले सूचक संस्थालाई यस दफा बमोजिम कारबाही वा सजाय गरेमा र त्यस्तो सजाय सूचक संस्थाको कुनै पदाधिकारी वा कर्मचारीको काम कारबाहीको कारणले भएको देखिएमा त्यस्तो पदाधिकारी वा कर्मचारीलाई सूचक संस्थाले प्रचलित कानून तथा त्यस्तो सूचक संस्थाको कानून बमोजिम आवश्यक कारबाही गर्नु  पर्नेछ ।
(५) नियमनकारी निकायले यस दफा बमोजिम सूचक संस्थालाई कारबाही तथा सजाय गर्दा सम्बन्धित सूचक संस्थालाई आफ्नो सफाई पेश गर्ने मनासिब मौका दिनु  पर्नेछ ।
 (६) नियमनकारी निकायले यस दफा बमोजिम गरेको कारबाही वा सजायमा चित्त नबुझ्ने सूचक संस्थाले पैंतीस दिनभित्र सम्बन्धित उच्च अदालत समक्ष पुनरावेदन दिन सक्नेछ ।

परिच्छेद–४ समन्वय समिति तथा वित्तीय जानकारी इकार्ई सम्बन्धी व्यवस्था

८. राष्ट्रिय समन्वय समितिको गठनः (१) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर निवारण गर्ने सम्बन्धमा अन्तर निकाय बीच समन्वय गर्न र नेपाल सरकारलाई आवश्यक सुझाव दिनको लागि देहाय बमोजिमको एक राष्ट्रिय समन्वय समिति रहनेछः–
(क) सचिव, अर्थ मन्त्रालय – संयोजक
(ख) सचिव, कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय – सदस्य
(ग) सचिव, गृह मन्त्रालय – सदस्य
(घ) सचिव, परराष्ट्र मन्त्रालय – सदस्य
(घ१) सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय – सदस्य
(घ२) नायव महान्यायाधिवक्ता, महान्यायाधिवत्ताको कार्यालय – सदस्य
(घ३) सचिव, अख्तियार दुरुपयोग अनुसन्धान आयोग – सदस्य
(ङ) डेपुटी गर्भनर, राष्ट्र बैंक – सदस्य
(ङ१) प्रहरी महानिरीक्षक, नेपाल प्रहरी – सदस्य
(च) प्रमुख, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग – सदस्य
(२) वित्तीय जानकारी इकार्ईको प्रमुखले उपदफा (१) बमोजिमको राष्ट्रिय समन्वय समितिको सचिवको रुपमा काम गर्नेछ र वित्तीय जानकारी इकाईले राष्ट्रिय समन्वय समितिको सचिवालयको रुपमा काम गर्नेछ ।
(३) उपदफा (१) बमोजिमको राष्ट्रिय समन्वय समितिको बैठक सम्बन्धी कार्यविधि सो समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ ।
८क. राष्ट्रिय समन्वय समितिको काम, कर्तव्य र अधिकारः यस ऐनमा अन्यत्र लेखिएको काम, कर्तव्य र अधिकारका अतिरिक्त राष्ट्रिय समन्वय समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर निवारण गर्ने सम्बन्धमा अपनाउनु पर्ने नीति तयार गरी नेपाल सरकार समक्ष पेश गर्ने,
(क१) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी राष्ट्रिय तथा क्षेत्रगत जोखिम मूल्याङ्कन सम्बन्धी कार्यको सहजीकरण तथा समन्वय गर्ने र जोखिम व्यवस्थापन तथा न्यूनीकरणका लागि आवश्यक नीतिगत तथा अन्य उपयुक्त व्यवस्था गर्ने वा गराउने,
(ख) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर निवारण गर्ने सम्बन्धमा नेपाल सरकारले गरेको निर्णय कार्यान्वयन गर्ने वा गराउने,
(ग) नेपाल सदस्य भएको अन्तर्राष्ट्रिय संघ संस्थाले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर निवारण गर्ने सम्बन्धमा तयार गरेको मापदण्ड वा नीति आवश्यकता अनुसार कार्यान्वयन गर्न नेपाल सरकार समक्ष सिफारिस गर्ने,
(घ) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर निवारण गर्ने सम्बन्धमा सम्बन्धित निकायलाई निर्देशन दिने र सो निर्देशन बमोजिमको कार्य भए नभएको अनुगमन गर्ने,
(ङ)   सम्बद्ध निकाय, नियमनकारी निकाय तथा वित्तीय जानकारी इकाईले आफूले सम्पादन गरेका काम कारबाही सम्बन्धी वार्षिक प्रतिवेदनका सम्बन्धमा छलफल गरी आवश्यक समन्वय गर्ने,
(च) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर निवारण गर्ने सम्बन्धमा सम्बन्धित विषयमा नेपाल सरकारले तोकिदिएको अन्य कार्य गर्ने वा गराउने ।
९. वित्तीय जानकारी इकार्ईः (१) सम्पत्ति शुद्धीकरण, आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी तथा सम्बद्ध कसूर सम्बन्धी शंकास्पद कारोबार सम्बन्धी प्रतिवेदन तथा सो सम्बन्धी अन्य सूचना प्राप्त गर्न, सोको विश्लेषण गर्न तथा विश्लेषणको निष्कर्ष प्रवाह गर्न कार्यात्मक रुपले स्वायत्त तथा स्वतन्त्र इकाईको रुपमा राष्ट्र बैंकमा एक वित्तीय जानकारी इकार्ई रहनेछ ।
(२) वित्तीय जानकारी इकार्ईको प्रमुखको नियुक्ति राष्ट्र बैंकका कम्तीमा प्रथम श्रेणीका अधिकृतहरुमध्येबाट राष्ट्र बैंकको गभर्नरले गर्नेछ ।
(३) वित्तीय जानकारी इकार्ईको कार्यालय राष्ट्र बैंकमा रहनेछ र सो कार्यालयको लागि आवश्यक पर्ने कर्मचारीको व्यवस्था राष्ट्र बैंकले गर्नेछ ।
(४) वित्तीय जानकारी इकाईले अनुरोध गरेमा नेपाल सरकार वा कुनै सार्वजनिक संस्थाले वित्तीय जानकारी इकाईमा काम गर्ने गरी आफ्नो कर्मचारी उपलब्ध गराइदिन सक्नेछ ।
(५) राष्ट्र बैंकले वित्तीय जानकारी इकाईलाई छुट्टै बजेट उपलब्ध   गराउनेछ ।
(६) वित्तीय जानकारी इकाईको प्रमुख तथा कर्मचारीको न्यूनतम योग्यता, संगठन संरचना, दरबन्दी, सरुवा वा पदमुक्त हुने अवस्था तथा अन्य साधन स्रोत उपलब्ध गराउने लगायतका व्यवस्था राष्ट्र बैंकको विनियममा उल्लेख भए बमोजिम हुनेछ ।
१०. वित्तीय जानकारी इकाईको काम, कर्तव्य र अधिकारः (१) यस ऐनमा अन्यत्र लेखिएको काम, कर्तव्य र अधिकारको अतिरिक्त वित्तीय जानकारी इकार्ईको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) यस ऐन बमोजिम निर्धारण गरिएको सीमा वा सो भन्दा  बढीको कारोबारको विवरण प्राप्त गर्ने,
(ख) यस ऐन बमोजिम शंकास्पद कारोबार सम्बन्धी प्रतिवेदन प्राप्त गर्ने,
(ग) यस ऐन बमोजिम मुद्रा तथा धारक विनिमेय अधिकारपत्र सम्बन्धी विवरण प्राप्त गर्ने,
(घ) यस ऐन बमोजिम अन्य सूचना, कागजात तथा विवरण प्राप्त गर्ने,
(ङ) शंकास्पद कारोबार प्रतिवेदन लगायत यस ऐन बमोजिम प्राप्त अन्य प्रतिवेदन तथा जानकारीको विश्लेषण गर्ने,
(च) खण्ड (ङ) बमोजिम विश्लेषण गर्दा सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर वा अन्य कसूर सम्बन्धी शङ्का लागेमा विश्लेषणको निष्कर्ष आफैं वा सम्बन्धित निकायको अनुरोधमा विभाग वा प्रचलित कानून बमोजिम कसूरको अनुसन्धान तहकिकात गर्ने निकायमा प्रवाह गर्ने,
(छ) यस ऐन बमोजिमको सूचना दिने दायित्व भएका सूचक संस्था, सम्बद्ध निकाय, नियमनकारी निकाय तथा आफ्ना कर्मचारीलाई आवश्यकता अनुसार तालीमको व्यवस्था गर्ने,
(ज) शंकास्पद कारोबारको पहिचान, शंकास्पद कारोबार सम्बन्धी प्रतिवेदन तथा जानकारी समेतका सम्बन्धमा सूचक संस्था वा सम्बद्ध निकायलाई आवश्यक पृष्ठपोषण तथा मार्गदर्शन गर्ने,
(झ) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरको प्रकार, कसूर गर्ने प्रविधि, पद्धति तथा प्रवृत्ति समेतका विवरण संलग्न गरी आफ्नो काम कारबाही सम्बन्धी वार्षिक प्रतिवेदन राष्ट्र बैंक मार्फत नेपाल सरकार समक्ष पेश गर्ने,
(ञ) शंकास्पद कारोबार पहिचान, मूल्यांकन, प्रतिवेदन प्रणाली तथा सोको प्रभावकारिताका सम्बन्धमा नियमनकारी निकायलाई आवश्यकता अनुसार सूचक संस्थाको निरीक्षण गर्न सहयोग गर्ने वा निरीक्षण सुपरीवेक्षणको प्रतिवेदन अध्ययन गरी पृष्ठपोषण दिने,
(ट) समान प्रकृतिको काम गर्ने विदेशी निकायसग पारस्पारिकताको आधारमा सहयोग आदान प्रदान सम्बन्धी समझदारी कायम गर्ने, र
(ठ) तोकिए बमोजिमका अन्य कार्यहरु गर्ने ।
(२) वित्तीय जानकारी इकाईले समान प्रकृतिको काम गर्ने कुनै मुलुकको निकायसँग आवश्यक सूचना वा सहयोग माग गर्न वा आफैं वा कुनै मुलुकको समान प्रकृतिको काम गर्ने निकायको अनुरोधमा सूचना दिन वा अन्य सहयोग प्रदान गर्न सक्नेछ ।
(३) वित्तीय जानकारी इकाईले उपदफा (२) बमोजिम आफूलाई प्राप्त सहयोग तथा सूचनाको प्रयोग गर्दा त्यस्तो सूचना वा सहयोग प्रदान गर्ने निकायले तोकिदिए बमोजिमका शर्तहरु पालना गर्नु पर्नेछ ।
(४) वित्तीय जानकारी इकाईले उपदफा (२) बमोजिम कुनै मुलुकको समान प्रकृतिको काम गर्ने निकायलाई सूचना तथा सहयोग प्रदान गर्दा त्यस्तो सूचना वा सहयोगको प्रयोगको सम्बन्धमा तोकिए बमोजिमका शर्तहरु समेत उल्लेख गर्नु पर्नेछ ।
(५) उपदफा (२) बमोजिम समान प्रकृतिको काम गर्ने कुनै मुलुकको निकायबाट प्राप्त सूचनाको सम्बन्धमा समेत दफा १०ख. बमोजिमको गोपनीयता सम्बन्धी व्यवस्था लागू हुनेछ ।
(६) यस दफा बमोजिमको काम, कर्तव्य र अधिकार पूरा गर्ने क्रममा वित्तीय जानकारी इकाईले देहाय बमोजिम गर्न सक्नेछः–
(क) सूचक संस्थाबाट आवश्यक थप कागजात, अभिलेख, विवरण, सूचना तथा जानकारी माग गर्ने तथा प्राप्त गर्ने, वा
(ख) कुनै व्यावसायिक तथ्यांक वा सम्बद्ध निकाय, नियमनकारी निकाय, सार्वजनिक संस्थामा रहेको प्रशासनिक, वित्तीय वा कानून कार्यान्वयन सम्बन्धी सूचना, कागजात वा विवरणमा पहुँच प्राप्त गर्ने र त्यस्तो सूचना, कागजात वा विवरण माग गर्ने तथा प्राप्त गर्ने ।
(७) शंकास्पद कारोबार सम्बन्धी प्रतिवेदन नदिने वा यस ऐन बमोजिम दिएको आदेश तथा तोकिदिएको शर्त पालना नगर्ने वा पेश गर्न आदेश दिएको कागजात वा जानकारी उपलब्ध नगराउने सूचक संस्थालाई वित्तीय जानकारी इकाईले गम्भीरताका आधारमा दशलाख रूपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।
(८) वित्तीय जानकारी इकाईले उपदफा (७) बमोजिम सूचक संस्थालाई जरिवाना गर्दा सम्बन्धित सूचक संस्थालाई आफ्नो सफाई पेश गर्ने मनासिब मौका दिनु पर्नेछ ।
(९) वित्तीय जानकारी इकाईले उपदफा (७) बमोजिम गरेको जरिवानामा चित्त नबुझ्ने सूचक संस्थाले पैंतीस दिनभित्र सम्बन्धित उच्च अदालत समक्ष पुनरावेदन दिन सक्नेछ ।
(१०) वित्तीय जानकारी इकाईले कुनै सूचक संस्थालाई उपदफा (७) बमोजिम जरिवाना गरेमा सात दिनभित्र सोको जानकारी नियमनकारी निकायलाई दिनु पर्नेछ ।
१०क. कारोबार सम्बन्धी प्रतिवेदन दिनु पर्नेः (१) कुनै व्यक्तिले एकमुष्ट वा पटक पटक गरी राष्ट्र बैंकले तोकेको अवधिभित्र सोही बैंकले तोकिदिएको सीमाभन्दा बढी रकमको कारोबार गरेमा सूचक संस्था तथा सरकारी निकायले त्यस्तो कारोबार भएको मितिले पन्ध्र दिनभित्र वित्तीय जानकारी इकाईलाई सो सम्बन्धी जानकारी उपलब्ध गराउनु पर्नेछ ।
स्पष्टीकरणः यस उपदफाको प्रयोजनका लागि “सरकारी निकाय” भन्नाले मालपोत कार्यालय, कम्पनी रजिष्ट्रारको कार्यालय तथा नेपाल सरकारले तोकेको अन्य सरकारी निकाय सम्झनु  पर्छ ।
(२) उपदफा (१) बमोजिमको जानकारी उपलब्ध गराउने प्रतिवेदनको ढाँचा, पद्धति तथा कार्यविधि वित्तीय जानकारी इकाईले तोकिदिए बमोजिम हुनेछ ।
१०ख. सूचनाको गोपनीयता कायम गर्नु पर्नेः (१) वित्तीय जानकारी इकाईमा प्राप्त दफा १०क. बमोजिमको कारोबार सम्बन्धी प्रतिवेदन, शंकास्पद कारोबार सम्बन्धी प्रतिवेदन तथा सूचना, कागजात, विवरण गोप्य रहने छन् र त्यस्तो सूचनाको विश्लेषणबाट प्राप्त निष्कर्ष कसूरको अनुसन्धान गर्दा सूचनाको स्रोत (इन्टेलिजेन्स) वा सो निष्कर्ष प्रवाह गर्दा तोकिदिएको शर्तको अधीनमा रही प्रयोग गर्नु पर्नेछ ।
(२) यस ऐनमा अन्यथा लेखिएकोमा वा अदालतले आदेश दिएकोमा बाहेक वित्तीय जानकारी इकाईमा बहाल रहेको वा बहाल टुटेको कुनै पनि कर्मचारीले आफ्नो कामको सिलसिलामा थाहा पाएको जानकारी आफू वित्तीय जानकारी इकाईमा नरहेको अवस्थामा समेत गोप्य राख्नु पर्नेछ ।
(३) वित्तीय जानकारी इकाईले यस ऐन बमोजिम प्राप्त सूचना, कागजात, विवरण सोको प्रयोग, विश्लेषण, प्रवाह, समान प्रकृतिको कार्य गर्ने विदेशी निकायसँग आदान प्रदान गर्ने, सो उपर पहुँच कायम गर्ने तथा त्यस्ता सूचना, कागजात वा विवरण गोप्य, सुरक्षित र व्यवस्थित राख्ने माध्यम विकास तथा प्रयोग गर्ने सम्बन्धमा आवश्यक कार्यविधि बनाई लागू गर्नु पर्नेछ ।
(४) यस ऐन बमोजिम सूचक संस्था तथा अन्य सम्बद्ध निकायले वित्तीय जानकारी इकाईलाई दिनु पर्ने प्रतिवेदन, सूचना वा जानकारीको ढाँचा, माध्यम, समय तथा कार्यविधि सम्बन्धमा वित्तीय जानकारी इकाईले आवश्यक निर्देशिका जारी गर्न  सक्नेछ ।
(५) उपदफा (४) बमोजिम जारी गरिएको निर्देशिका वित्तीय जानकारी इकाईको वेबसाइटमा समेत प्रकाशन गर्नु पर्नेछ ।

परिच्छेद–५ विभागको गठन तथा काम, कर्तव्य र अधिकार सम्बन्धी व्यवस्था

११. विभागको स्थापनाः (१) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरको अनुसन्धान गर्न नेपाल सरकारले एक सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको स्थापना गर्नेछ ।
(२) विभागको प्रमुखको रुपमा निजामती सेवाको कम्तीमा प्रथम श्रेणीको अधिकृत रहनेछ ।
(३) विभागको संगठनात्मक स्वरुप र विभागलाई आवश्यक पर्ने कर्मचारीको दरबन्दी नेपाल सरकारले तोके बमोजिम हुनेछ ।
(४) नेपाल सरकारले विभागलाई आवश्यक पर्ने विशेषज्ञ कर्मचारी सम्बन्धित निकाय तथा सार्वजनिक संस्थाबाट माग गरी उपलब्ध गराइ दिन सक्नेछ ।
१२. अनुसन्धान सम्बन्धी सहयोग आदान प्रदान गर्न सक्नेः (१) कुनै मुलुकको समान प्रकृतिको काम गर्ने निकायले माग गरेमा वा विभाग आफैंले आवश्यक ठानेमा पारस्पारिकताका आधारमा विभागले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरको सम्बन्धमा गरेको अनुसन्धान सम्बन्धी सूचना आदान प्रदान गर्न सक्नेछ ।
(२) विभागले आवश्यक ठानेमा कुनै मुलुकको समान प्रकृतिको काम गर्ने निकायसँग मिलेर सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरको संयुक्त रुपमा अनुसन्धान गर्न वा गराउन सक्नेछ ।
(३) विभागले उपदफा (१) वा (२) बमोजिमको सहयोग आदान प्रदान गर्ने विधि, शर्त तथा प्रकृया निर्धारण गर्न समान प्रकृतिका काम गर्ने विदेशी निकायसँग आवश्यकता अनुसार आपसी समझदारी कायम गर्न सक्नेछ ।
(४) उपदफा (१) बमोजिम समान प्रकृतिको काम गर्ने कुनै मुलुकको निकायबाट प्राप्त सूचनाको सम्बन्धमा समेत दफा २६ बमोजिमको गोप्यताभंग गर्न नहुने सम्बन्धी व्यवस्था समान रुपले लागू हुनेछ ।
(५) अनुसन्धान सम्बन्धी सहयोग आदान प्रदान सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

परिच्छेद–६ अनुसन्धान सम्बन्धी व्यवस्था

१३. उजूरी गर्न सकिनेः (१) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर कसैले गरेको, गर्न लागेको वा गरिरहेको कुरा थाहा पाउने कुनै पनि व्यक्तिले विभाग समक्ष लिखित वा मौखिक रुपमा उजूरी, निवेदन, जानकारी वा सूचना दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिमको उजूरी, निवेदन, जानकारी वा सूचना लिखित रुपमा प्राप्त भएमा विभागले त्यस्तो सूचना दर्ता गर्नु पर्नेछ र मौखिक रुपमा प्राप्त भएकोमा त्यस्तो उजूरी, सूचना वा जानकारीलाई लिखित रुप दिई दर्ता गर्नु पर्नेछ ।
तर आफ्नो नाम, ठेगाना गोप्य राख्ने गरी कसैले उजूरी दिएकोमा उजूरी दर्ता गर्दा उजूरीकर्ताको नाम ठेगानाको सट्टा विभागको प्रमुखले तोकिदिए बमोजिमको संकेत राखी त्यस्तो उजूरी दर्ता गर्नु पर्नेछ ।
(३) उपदफा (१) वा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कसैले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर गरेको, गर्न लागेको वा गरिरहेको कुरा विभाग वा विभागको कुनै कर्मचारीलाई कुनै व्यहोराले थाहा हुन आएमा त्यस्तो व्यहोरालाई उजूरीको रुपमा दर्ता गर्नु पर्नेछ ।
(४) उपदफा (१) वा (२) बमोजिम प्राप्त भएको उजुरीको औचित्यता हेरी उजुरी सनाखत गराउनु पर्ने देखिएमा सम्बन्धित उजुरीकर्तालाई झिकाई सनाखत गराउन सकिनेछ ।
(५) उपदफा (४) बमोजिम सनाखत गर्ने व्यक्तिले आफ्नो नाम, ठेगाना गोप्य राख्न चाहेमा निजको नाम, ठेगाना गोप्य राख्नु पर्नेछ ।
१४. प्रारम्भिक जाँचबुझ गर्नेः (१) दफा १३ बमोजिम उजूरी वा दफा १० बमोजिम वित्तीय जानकारी इकाईबाट विश्लेषणको निष्कर्ष सहितको जानकारी प्राप्त भएमा विभागको प्रमुखले त्यस्तो उजूरी वा सूचनाका सम्बन्धमा प्रारम्भिक जाँचबुझ गर्नु वा गराउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम प्रारम्भिक जाँचबुझ गराउन विभागको प्रमुखले त्यस्तो उजूरी वा जानकारीको प्रकृति हेरी उपयुक्त समय दिई मातहतको कुनै अधिकृतलाई खटाउन सक्नेछ ।
(३) प्रारम्भिक जाँचबुझ गर्दा जाँचबुझ अधिकृतले यस ऐन अन्तर्गत अनुसन्धान अधिकृतलाई भए सरहको अधिकार प्रयोग गर्न सक्नेछ ।
१५. अनुसन्धान अधिकृत नियुक्त गर्ने वा तोक्नेः(१) दफा १४ बमोजिम गरिएको प्रारम्भिक जाँचबुझबाट सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर भएको वा हुन सक्ने मनासिब आधार भई अनुसन्धान कार्य अगाडि बढाउनु पर्ने देखेमा विभागको प्रमुख आफैंले अनुसन्धान गर्न वा आवश्यकता अनुसार विभागको कुनै अधिकृत कर्मचारी, अन्य सरकारी अधिकृत कर्मचारी वा सार्वजनिक संस्थाको कुनै अधिकृत कर्मचारीलाई अनुसन्धान अधिकृत नियुक्त गर्न वा तोक्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम अन्य सरकारी निकाय वा सार्वजनिक संस्थाको अधिकृत कर्मचारीलाई अनुसन्धान अधिकृत नियुक्त गर्नु वा तोक्नु अघि विभागको प्रमुखले सम्बन्धित निकाय वा संस्थाको प्रमुखसँग परामर्श गर्नु पर्नेछ ।
(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि विभागको प्रमुखले कुनै कसूरको अनुसन्धान गर्न कुनै अनुसन्धान गर्ने निकाय उपयुक्त हुने देखेमा उक्त निकायसँग समन्वय गरी त्यस्तो निकायलाई नै अनुसन्धानको कार्य सुम्पन सक्नेछ ।
(४) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कसूरको प्रकृतिका आधारमा दुई वा दुई भन्दा बढी निकाय वा सार्वजनिक संस्था समेतको सहभागितामा कसूरको अनुसन्धान गर्नु पर्ने देखेमा विभागको प्रमुखले सम्बन्धित निकाय वा सार्वजनिक संस्थाको प्रमुखसँग परामर्श गरी संयुक्त अनुसन्धान टोली गठन गर्न  सक्नेछ ।
(५) उपदफा (३) बमोजिम अनुसन्धान गर्ने निकाय वा उपदफा (४) बमोजिम गठित संयुक्त अनुसन्धान टोलीले अनुुसन्धान गर्दा यस ऐन बमोजिम अनुसन्धान अधिकृतलाई प्राप्त सम्पूर्ण अधिकार प्रयोग गर्न सक्नेछ ।
(६) अनुसन्धान अधिकृतले अनुसन्धान सम्बन्धी काम प्रारम्भ गर्नु अगावै तोकिए बमोजिमको ढाँचामा शपथ ग्रहण गर्नु पर्नेछ ।
(७) संयुक्त अनुसन्धान टोली सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम  हुनेछ ।
१६. अनुसन्धान अधिकृतको काम, कर्तव्य र अधिकारः (१) विभागको प्रमुखको सामान्य निर्देशन र नियन्त्रणमा रही यस ऐनको प्रयोजनका लागि अनुसन्धान अधिकृतको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) कुनै सरकारी निकाय, नियमनकारी निकाय, सूचक संस्था वा सम्बन्धित व्यक्तिसँग रहेको सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरसँग सम्बन्धित कागजात, अभिलेख, विवरण, सूचना वा जानकारी पेश गर्न आदेश दिने,
(ख) सम्पत्ति शुद्धीकरण तथा आतड्ढवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरसँग सम्बन्धित कुनै कागजात, लिखत, दशी, प्रमाण वा कसूरसँग सम्बन्धित साधन रहे भएको देखिएमा वा विश्वास गर्नु पर्ने मनासिब आधार भएमा तोकिए बमोजिमको सूचना दिई कुनै सरकारी निकाय, नियमनकारी निकाय, सूचक संस्था, व्यक्ति वा अन्य जुनसुकै स्थानको खानतलासी लिने तथा सम्बन्धित व्यक्ति वा पदाधिकारीलाई भरपाइ दिई त्यस्तो कागजात, लिखत, दशी, प्रमाण वा कसूरसँग सम्बन्धित साधन वा कसूरबाट प्राप्त सम्पत्ति बरामद गरी नियन्त्रणमा लिने,
(ग) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर गरेको आरोप लागेको वा कसूरमा संलग्न भएको वा सोको शंका गर्नु पर्ने मनासिब आधार भएको व्यक्ति फरार हुने वा कुनै प्रमाण लोप वा नाश गर्न सक्ने वा अनुसन्धानको कारबाहीमा बाधा अवरोध गर्ने वा प्रतिकूल प्रभाव पार्न सक्ने मनासिब आधार भएमा निजलाई पक्राउ गरी प्रचलित कानून बमोजिम थुनामा राख्ने,
(घ) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरका सम्बन्धमा जानकारी भएको वा हुन सक्ने मनासिब आधार भएको व्यक्तिसँग जानकारी, बयान वा ततिम्बा बयान लिने,
(ङ) खण्ड (घ) बमोजिम जानकारी, बयान वा ततिम्बा बयान लिदा त्यस्तो व्यक्तिसँग थप जानकारी लिनु पर्ने देखिएमा खोजेका बखत हाजिर हुने गरी कागज गराई छाड्ने वा जमानत माग गर्ने र जमानत नदिएमा मुद्दा हेर्ने अधिकारीको अनुमति लिई थुनामा राख्ने,
(च) दफा १८ बमोजिम कसूरबाट प्राप्त सम्पत्ति वा कसूरसँग सम्बन्धित साधन रोक्का राख्न वा नियन्त्रणमा लिन त्यस्तो सम्पत्ति वा साधनको पूर्ण तथा प्रभावकारी पहिचान गर्ने, पत्ता लगाउने तथा मूल्याङ्कन गर्ने,
(छ) विदेशी वित्तीय जानकारी इकाईसँग कुनै सूचना हुन सक्ने लागेमा वित्तीय जानकारी इकाईमा लेखी पठाउने, र
(ज) तोकिएको अन्य कार्य गर्ने ।
(२) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरको अनुसन्धानको क्रममा दिएको आदेश पालना नगर्ने व्यक्तिलाई अनुसन्धान अधिकृतको प्रतिवेदनका आधारमा विभागको प्रमुखले पाँच लाख रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कसैले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर गर्न मद्दत गर्ने उद्देश्यले सम्पत्ति वा साधन रोक्का राख्न दफा १८ बमोजिम जारी गरेको आदेश पालना नगरेको देखिएमा त्यस्तो व्यक्ति विरुद्ध सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरमा अनुसन्धान गर्न तथा मुद्दा चलाउन बाधा पर्ने छैन ।
१७. अनुसन्धानका लागि थुनामा राख्नेः (१) सम्पत्ति शुद्धीकरण तथा आतड्ढवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरको आरोप लागेको वा कसूरमा संलग्न भएको वा सोको शंका गर्नु पर्ने मनासिब आधार भएको व्यक्तिलाई थुनामा राख्दा प्रचलित कानून बमोजिम थुनुवा पुर्जी दिनु पर्नेछ ।
(२) कुनै व्यक्तिलाई सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरको अनुसन्धानको लागि थुनामा राख्दा बाटोको म्याद बाहेक चौबीस घण्टाभित्र अनुसन्धान अधिकृतले मुद्दा हेर्ने अधिकारी समक्ष उपस्थित गराई त्यस्तो अधिकारीको अनुमति लिई थुनामा राख्नु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम थुनामा राख्ने अनुमतिको लागि पेश गर्दा अनुसन्धान अधिकृतले मुद्दा हेर्ने अधिकारी समक्ष पक्राउ वा थुनामा परेको व्यक्तिलाई लागेको अभियोग, त्यसको कारण तथा आधार, निजको बयान भएको भए बयानको व्यहोरा तथा निजलाई थुनामै राखी अनुसन्धान गर्नु पर्ने कारण स्पष्टरुपमा उल्लेख गर्नु पर्नेछ ।
(४) उपदफा (३) बमोजिम थुनामै राखी अनुसन्धान गर्न माग गरिएकोमा मुद्दा हेर्ने अधिकारीले सम्बन्धित कागजात हेरी अनुसन्धान सन्तोषजनक रुपमा भए वा नभएको विचार गरी अनुसन्धान सन्तोषजनक रुपमा भइरहेको देखिएमा एकैपटक वा पटक पटक गरी तीस दिनमा नबढ्ने गरी नब्बे दिनसम्म थुनामा राख्न अनुमति दिन सक्नेछ ।
(५) उपदफा (२) बमोजिम थुनामा राख्न अनुमति माग गरिएकोमा थुनामा रहेको व्यक्तिले थुनामा रहन नपर्ने कारण र आधार खुलाई मुद्दा हेर्ने अधिकारी समक्ष निवेदन दिन सक्नेछ ।
(६) यस दफा बमोजिम अनुसन्धान अधिकृतले कसैलाई पक्राउ गर्नु पर्दा, थुनामा राख्नु पर्दा वा म्याद थप गर्न मुद्दा हेर्ने अधिकारी समक्ष उपस्थित गराउदा सो गर्नु अगावै सोको जानकारी विभागको प्रमुखलाई दिनु पर्नेछ ।
तर कुनै व्यक्तिलाई तत्काल पक्राउ गर्नु पर्ने भएमा अनुसन्धान अधिकृतले त्यस्तो व्यक्तिलाई तत्काल पक्राउ गरी सोको जानकारी यथाशीघ्र विभागको प्रमुखलाई दिनु पर्नेछ ।
१८. रोक्का राख्ने वा नियन्त्रणमा लिनेः(१) अनुसन्धान अधिकृतले अनुसन्धानको सिलसिलामा देहायको सम्पत्ति वा साधन र सोसँग सम्बन्धित भएको शंका गर्नु पर्ने मनासिब आधार भएको सम्पत्ति वा साधन जो सुकैको नाम, भोग, स्वामित्व वा कुनै पनि प्रकारको हित रहे भएको भए तापनि रोक्का राख्न वा नियन्त्रणमा लिन  सक्नेछः–
(क) शुद्धीकरण गरिएको सम्पत्ति,
(ख) सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूर गर्न प्रयोग गरिएको वा प्रयोग गर्न खोजिएको कसूरसँग सम्बन्धित साधन,
(ग) आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी  कसूरबाट प्राप्त सम्पत्ति,
(घ) आतड्ढवादी कृयाकलापमा वित्तीय लगानीको लागि वा आतड्ढकारी कार्य वा आतड्ढकारी व्यक्ति, आतड्ढकारी संगठनले प्रयोग गरेको वा प्रयोग गर्न छुट्याइएको वा प्रयोग गर्न खोजिएको सम्पत्ति वा कोष, वा
(ङ) आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर गर्न प्रयोग गरिएको वा प्रयोग गर्न खोजिएको कसूरसग सम्बन्धित साधन ।
(२) उपदफा (१) मा उल्लिखित सम्पत्ति वा साधन लुकाएको, उपभोग गरेको, निःसर्ग गरेको वा अन्य कुनै कारणले रोक्का राख्न वा नियन्त्रणमा लिन नसकिने भएमा अनुसन्धान अधिकृतले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरको शंका लागेको व्यक्तिको सोही मूल्य बराबर हुन सक्ने अन्य सम्पत्ति रोक्का राख्नु वा नियन्त्रणमा लिनु पर्नेछ ।
(३) उपदफा (१) वा (२) बमोजिम सम्पत्ति वा साधन रोक्का राख्ने वा नियन्त्रणमा लिने सम्बन्धमा अनुसन्धान अधिकृतले देहाय बमोजिम गर्न सक्नेछः–
(क) त्यस्तो सम्पत्ति वा साधन आफैले नियन्त्रणमा लिने वा सम्बन्धित सरकारी निकाय मार्फत नियन्त्रणमा लिन आदेश जारी गर्ने, वा
(ख) त्यस्तो सम्पत्ति वा साधन सम्बन्धित व्यक्तिलाई कुनै सूचना नदिई एकतर्फी रुपमा रोक्का राख्न आदेश जारी गरी सम्बन्धित निकायलाई लेखि पठाउने ।
(४) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि अनुसन्धान अधिकृतले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरको अनुसन्धानको क्रममा उपस्थित हुन दिएको सूचना बमोजिमको म्यादभित्र वा दफा ४० बमोजिम तामेल भएको म्यादभित्र उपस्थित नहुने व्यक्तिको सम्पत्ति निज अनुसन्धान अधिकृत समक्ष उपस्थित नभएसम्मको लागि रोक्का राख्न आदेश दिन सक्नेछ ।
(५) उपदफा (३) को खण्ड (ख) वा उपदफा (४) बमोजिम कुनै सम्पत्ति वा साधन रोक्का राख्न लेखी पठाएकोमा त्यस्तो सम्पत्ति वा साधन जिम्मा लिने वा नियन्त्रणमा राख्ने व्यक्ति, निकाय वा संस्थाले सो सम्पत्ति वा साधन कसैले हस्तान्तरण गर्न, धितो वा बन्धक दिन, बिक्री वा वितरण गर्न वा अन्य कुनै कारोबार गर्न वा अन्य लाभ लिन नपाउने व्यवस्था गर्नु पर्नेछ ।
(६) अनुसन्धान अधिकृतले उपदफा (३) वा (४) बमोजिम सम्पत्ति वा साधन रोक्का राख्नु वा नियन्त्रणमा लिनु अगावै विभागको प्रमुखलाई जानकारी दिनु   पर्नेछ ।
तर अनुसन्धानको सिलसिलामा कुनै सम्पत्ति वा साधन तत्काल रोक्का राख्नु वा नियन्त्रणमा लिनु पर्ने भएमा त्यस्तो सम्पत्ति वा साधन तत्काल रोक्का राख्ने आदेश जारी गरी वा नियन्त्रणमा लिई यथाशीघ्र सोको जानकारी विभागको प्रमुखलाई दिनु पर्नेछ ।
(७) यस दफा बमोजिम सम्पत्ति वा साधन रोक्का राखेमा वा नियन्त्रणमा लिएमा अनुसन्धान अधिकृतले तीन दिनभित्र सोको लिखित जानकारी सम्बन्धित व्यक्तिलाई दिनु पर्नेछ ।
(८) यस दफा बमोजिम सम्पत्ति वा साधन रोक्का राखेको वा नियन्त्रणमा लिएको विषयमा चित्त नबुझेमा सम्बन्धित व्यक्तिले दफा २२ को उपदफा (२) बमोजिम तोकिएको अदालत समक्ष रोक्का भएको सम्पत्ति वा साधन फुकुवा गर्न निवेदन गर्न सक्नेछ ।
(९) उपदफा (८) बमोजिम निवेदन परेमा र उपदफा (१) वा (४) बमोजिम नियन्त्रण वा रोक्का रहेको सम्पत्ति वा साधन निवेदकको सम्पत्ति भएको देखिएमा तथा देहायको अवस्था विद्यमान भएमा अदालतले रोक्का राखेको वा नियन्त्रणमा लिइएको सम्पत्ति वा साधन फुकुवा गरिदिन सक्नेछः–
(क) निवेदक सम्पत्ति शुद्धीकरण वा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कुनै कसूरमा संलग्न भएको नदेखिएमा,
(ख) त्यस्तो सम्पत्ति वा साधन सम्पत्ति शुद्धीकरण वा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कुनै कसूरबाट प्राप्त सम्पत्ति वा साधन भएको वा त्यस्तो शंका गर्नु पर्ने मनासिब आधार नभएमा, र
(ग) त्यस्तो सम्पत्ति वा साधन निवेदकले गरेको अन्य कुनै कसूरसँग सम्बन्धित भएको नदेखिएमा ।
(१०) कसैले दफा ३४ बमोजिम जफत हुन सक्ने सम्पत्ति वा साधनको जफतमा प्रतिकूल असर पर्ने गरी कुनै करारीय वा अन्य दायित्व सिर्जना गर्न खोजेको देखिएमा त्यस्तो कार्य रोक्न वा गरिसकेको भए त्यस्तो कार्य बदर गराउन अनुसन्धान अधिकृतलाई आवश्यक कारबाही चलाउने अधिकार हुनेछ ।
(११) अनुसन्धान अधिकृतले यस दफा बमोजिम सम्पत्ति वा साधन नियन्त्रणमा लिएमा वा रोक्का राखेमा सो गरेको मितिले सातदिन भित्र सो कुराको प्रतिवेदन मुद्दा हेर्ने अधिकारी समक्ष दिनु पर्नेछ ।
(१२) उपदफा (११) बमोजिम प्रतिवेदन प्राप्त भएमा मुद्दा हेर्ने अधिकारीले सो सम्बन्धमा आवश्यक र उपयुक्त आदेश दिन सक्नेछ ।
(१३) यस दफा बमोजिम सम्पत्ति वा साधन रोक्का राख्ने वा नियन्त्रणमा लिने सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।
१९. सम्बन्धित मुलुकलाई अनुरोध गर्नेः(१) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरको अनुसन्धान गर्दा दफा १८ बमोजिम रोक्का राख्नु वा नियन्त्रणमा लिनु पर्ने देखिएको कसूरबाट प्राप्त सम्पत्ति वा कसूरसँग सम्बन्धित साधन विदेशमा रहे भएको देखिएमा विभागले त्यस्तो व्यक्तिको सम्पत्ति रोक्का राख्न वा नियन्त्रणमा लिन सम्बन्धित मुलुकमा प्रचलित कानून बमोजिम तत्काल लेखी पठाउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम लेखी पठाउँदा विभागले त्यस्तो व्यक्ति र निजको सम्पत्ति वा साधन रहे भएको स्थान वा बैंक वा वित्तीय संस्थाको जानकारी उपलब्ध भएमा सो समेत खुलाउनु पर्नेछ ।
१९क. कारोबारको नियमित अनुगमन गर्न सक्नेः (१) अनुसन्धान अधिकृतले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरको अनुसन्धान भैरहेको कुनै व्यक्तिको कारोबारको नियमित रुपमा अनुगमन गरी प्रतिवेदन पेश गर्न सूचक संस्थालाई निरन्तर अनुगमन आदेश (कन्टिन्यू मोनिटरिङ अर्डर) दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिमको आदेश दिदा सामान्यतया तीन महिनाभन्दा बढी नहुने गरी दिनु पर्नेछ ।
(३) यस दफा बमोजिम आदेश भएमा सूचक संस्थाले सम्बन्धित व्यक्तिको कारोबारको नियमित रुपमा अनुगमन गरी त्यस्तो व्यक्तिको कारोबार सम्बन्धी प्रतिवेदन विभागले तोके बमोजिम पठाउनु पर्नेछ ।
१९ख. राहदानी वा ट्राभल डकुमेण्ट रोक्का राख्न सक्नेः (१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि अनुसन्धान अधिकृतले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरमा अनुसन्धान भैरहेको कुनै व्यक्तिको नाममा राहदानी वा ट्राभलर डकुमेण्ट जारी नगर्न वा जारी भइसकेको भए रोक्का राख्न सम्बन्धित निकायलाई लेखी पठाउन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम लेखी आएमा सम्बन्धित निकायले त्यस्तो व्यक्तिलाई जारी नभइसकेको भए निजको नाममा राहदानी वा ट्राभलर डकुमेण्ट जारी गर्न हुदैन र जारी भइसकेको भए त्यस्तो व्यक्तिको राहदानी वा ट्राभलर डकुमेण्ट रोक्का राख्नु पर्नेछ ।
१९ग. विशेष अनुसन्धान प्रविधि अवलम्बन गर्न सक्नेः (१) अनुसन्धान अधिकृतले विभागको प्रमुखको प्रत्यक्ष निगरानीमा सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरको अनुसन्धान गर्न प्रत्यक्ष भुक्तानी प्रविधि (कन्ट्रोल डेलिभरी) तथा सुराकी परिचालन (अण्डरकभर अपरेशन) गर्न सक्नेछ ।
(२) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरको अनुसन्धानको सिलसिलामा कसूरमा संलग्न रहेको वा सोको शंका गर्नु पर्ने मनासिब आधार भएको व्यक्तिलाई तत्काल पक्राउ गर्नु भन्दा पक्राउ नगर्दा कसूर तथा कसूरदारका सम्बन्धमा थप प्रमाण तथा सूचना हासिल हुन सक्ने देखिएमा र सो गर्दा कसूरमा संलग्न रहेको वा सोको शंका गर्नु पर्ने मनासिब आधार भएको व्यक्ति भागी जाने सम्भावना न्यून रहेको कुराको प्रतिवेदन अनुसन्धान अधिकृतबाट प्राप्त भई सो कुरामा विभागको प्रमुख सन्तुष्ट भएमा निजले त्यस्तो व्यक्तिलाई तत्काल पक्राउ नगरी निजको गोप्य निगरानी मात्र गर्न सक्ने गरी आदेश दिन सक्नेछ ।
(३) यस दफा बमोजिम अवलम्वन गरिने विशेष अनुसन्धान प्रविधि सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।
२०. सुरक्षित राख्नु पर्नेः सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरको अनुसन्धानको क्रममा अनुसन्धान अधिकृतले यस परिच्छेद बमोजिम नियन्त्रणमा लिएको सम्पत्ति, साधन तथा सोसँग सम्बन्धित लिखत विभागमा सुरक्षित राख्नु पर्नेछ ।
२१. सम्बन्धित निकायको सहयोग लिन सकिनेः (१) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरको अनुसन्धानको सिलसिलामा विभागले आवश्यकता अनुसार कुनै निकाय वा सार्वजनिक संस्थाको सहयोग माग गर्न सक्नेछ र विभागले यसरी सहयोग मागेका बखत सहयोग गर्नु त्यस्तो निकाय वा संस्थाको कर्तव्य हुनेछ ।
(२) विभागले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरमा अनुसन्धान गर्ने सिलसिलामा नेपाल प्रहरीको समेत सहयोग माग्न सक्छ । विभागले यसरी सहयोग मागेमा सहयोग गर्नु सम्बन्धित प्रहरी अधिकृत वा कर्मचारीको कर्तव्य हुनेछ ।
(३) विभागले अनुसन्धान गर्न लागेको कसूरको प्रकृतिबाट कुनै निकायमा कार्यरत कुनै विशेषज्ञसँग परामर्श गर्नु पर्ने वा त्यस्तो विशेषज्ञलाई समेत अनुसन्धानमा संलग्न गराउनु पर्ने देखेमा निजलाई केही अवधिको लागि काजमा पठाइदिन सम्बन्धित निकायसँग अनुरोध गर्न सक्नेछ र यसरी अनुरोध भई आएमा प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि त्यस्तो निकायले विभागलाई सम्बन्धित विशेषज्ञ उपलब्ध गराई दिनु पर्नेछ ।
२२. मुद्दा दायर गर्नु पर्नेः (१) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरका सम्बन्धमा अनुसन्धान समाप्त भए पछि विभागको प्रमुखले आफ्नो राय सहित मुद्दा चल्ने वा नचल्ने निर्णयका लागि सम्बन्धित सरकारी वकील समक्ष मिसिल एवं प्रमाण पेश गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम लेखी पठाएकोमा मुद्दा चलाउने गरी सम्बन्धित सरकारी वकीलबाट निर्णय भई आएमा विभागले नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको अदालत समक्ष मुद्दा दायर गर्नेछ ।
२३. हदम्यादः सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर सम्बन्धी मुद्दा दायर गर्न हदम्याद लाग्ने छैन ।
२४. सरकारवादी हुनेः सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर सम्बन्धी मुद्दा नेपाल सरकारवादी हुनेछ ।
२५. प्रचलित कानून बमोजिम मुद्दा चलाउन बाधा नपर्नेः (१) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर मानिने कार्य प्रचलित अन्य कानून बमोजिम समेत दण्डनीय हुने रहेछ भने त्यस्तो कानून बमोजिम समेत मुद्दा दायर गर्न सकिनेछ ।
(२) प्रचलित कुनै कानून अन्तर्गतको कसूरमा संलग्न व्यक्तिले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर मानिने कार्य गरेको देखिएमा त्यस्तो कसूर अनुसन्धान गर्ने निकाय वा अधिकारीले विभागलाई सोको जानकारी दिनु पर्नेछ ।
(३) अनुसन्धानको क्रममा सो कसूरका सम्बन्धमा प्रचलित कानून बमोजिम समेत मुद्दा चल्ने र सजाय हुने देखिएमा विभागले सोको जानकारी सो मुद्दाको प्रचलित कानून बमोजिम अनुसन्धान तहकिकात गर्ने अधिकारीलाई समेत दिनु पर्नेछ ।
२५क. लेखी पठाउनु पर्नेःसम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर बाहेकको अनुसूचीमा उल्लिखित सम्बद्ध कसूर वा प्रचलित कानून बमोजिमको अन्य कसूर सम्बन्धी सूचना वा उजूरी विभागमा प्राप्त भएमा वा परिच्छेद–२ बमोजिमको कसूरको अनुसन्धान गर्र्दै जाँदा अन्य कसूर भए गरेको देखिएमा विभागले सो सम्बन्धी सूचना, उजूरी तथा अनुसन्धानबाट प्राप्त निष्कर्ष र सङ्कलन गरिएका प्रमाण कागजात सहितको मिसिल आवश्यक कारबाहीको लागि प्रचलित कानून बमोजिमको अनुसन्धान गर्ने निकाय वा अधिकारीलाई लेखी पठाउनु पर्नेछ ।
२६. गोप्यता भङ्ग गर्न नहुनेः अनुसन्धान अधिकृत वा अनुसन्धानको काममा संलग्न कर्मचारी वा व्यक्तिले यस ऐन बमोजिम अनुसन्धानको सिलसिलामा वा आफ्नो कर्तव्य पालन गर्दा निजलाई ज्ञात हुन आएको कुनै कुरा वा दाखिला भएको कुनै लिखतको गोप्यता प्रचलित कानूनले बाध्य गरेको अवस्थामा बाहेक अन्य अवस्थामा भङ्ग गर्नु हुँदैन ।
२७. स्वतः निलम्बन हुनेः प्रचलित कानून बमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्र सेवक यस ऐन बमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवक स्वतः निलम्बन भएको मानिनेछ ।
२८. सम्पत्तिको स्रोत प्रमाणित गर्नु पर्नेः (१) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरमा मुद्दा चलाइएको व्यक्तिको आयस्रोत वा आर्थिक अवस्थाको तुलनामा निजको सम्पत्ति अस्वाभाविक देखिन आएमा वा निजले अस्वाभाविक उच्च जीवनस्तर यापन गरेमा वा आफ्नो हैसियत भन्दा बढी कसैलाई दान, दातव्य, उपहार, सापटी, चन्दा वा बकस दिएको प्रमाणित भएमा निजले त्यस्तो सम्पत्ति के कस्तो स्रोतबाट आर्जन गरेको हो भन्ने कुरा प्रमाणित गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम सम्पत्तिको स्रोत प्रमाणित गर्न नसकेमा स्रोत प्रमाणित गर्न नसकेको जति त्यस्तो सम्पत्ति जफत हुनेछ ।
२९. मुद्दा चलाउन र सजाय गर्न बाधा नपर्नेः प्रचलित कानून बमोजिम सम्बद्ध कसूरमा मुद्दा नचलेको वा चलेकोमा पनि नठहरेको कारणले मात्र कुनै सम्पत्ति कसूरबाट प्राप्त सम्पत्ति भएको देखिएमा सोको सम्बन्धमा सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरमा मुद्दा चलाउन र सजाय गर्न बाधा पर्ने छैन ।

परिच्छेद – ६क मुद्रा तथा धारक विनिमेय अधिकारपत्रको उद्घोषण सम्बन्धी व्यवस्था

२९क. उद्घोषण गर्नु पर्नेः (१) आफ्नो साथमा वा कार्गो, कुरीयर,  हुलाक वा अन्य माध्यम मार्फत राष्ट्र बैंकले तोकेको भन्दा बढी मूल्यको नेपाली वा सो बराबरको विदेशी मुद्रा वा धारक विनिमेय अधिकारपत्र नेपालबाट विदेश लैजाने वा विदेशबाट नेपालमा ल्याउने व्यक्तिले तोकिए बमोजिम लिखित रुपमा त्यस्तो मुद्रा वा धारक विनिमेय अधिकारपत्रको सही रुपमा उद्घोषण गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम उद्घोषण गर्दा त्यस्तो मुद्रा वा धारक विनिमेय अधिकारपत्र आफ्नो साथमा ल्याउने वा लैजाने भए सम्बन्धित भन्सार अधिकृत समक्ष र कार्गो, कुरीयर, हुलाक वा अन्य माध्यम मार्फत ल्याउने वा लैजाने भए सम्बन्धित कार्गो, कुरीयर वा हुलाक समक्ष सो कुराको उद्घोषण गर्नु पर्नेछ ।
(३) कार्गो, कुरीयर, हुलाक वा अन्य त्यस्तै सेवा सञ्चालकले उपदफा  (२) बमोजिम उद्घोषण गरेको मुद्रा तथा धारक विनिमेय अधिकारपत्र सम्बन्धी विवरण तोकिएको ढा“चामा सम्बन्धित भन्सार अधिकृत समक्ष पेश गर्नु पर्नेछ ।
(४) उपदफा (१) वा (२) बमोजिम उद्घोषण गरेको वा उपदफा (३) बमोजिम पेश गरेको विवरण झूटो वा गलत भएको शड्ढा लागेमा भन्सार अधिकृतले त्यस्तो व्यक्तिलाई आफूसँग रहेको मुद्रा वा धारक विनिमेय अधिकारपत्र देखाउन लगाउने वा शङ्का
लागेको कार्गो, पार्सल वा पुलिन्दा खोल्न सक्नेछ ।
(५) मुद्रा तथा धारक विनिमेय अधिकारपत्रको उद्घोषण सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।
२९ख. सोधपुछ, जफत तथा सजाय गर्न सक्नेः (१) भन्सार अधिकृतले देहायको अवस्थामा नेपालबाट विदेश लैजान वा विदेशबाट नेपालमा ल्याउन खोजेको मुद्रा वा धारक विनिमेय अधिकारपत्रको स्रोत तथा प्रयोग गर्न खोजेको उद्देश्यका सम्बन्धमा सोधपुछ गर्न सक्नेछः–
(क) मुद्रा वा धारक विनिमेय अधिकारपत्रको गलत उद्घोषण गरेको वा उद्घोषण नगरेको शंका लागेमा, वा
(ख) कुनै सम्बद्ध कसूरसँग सम्बन्धित भएको शंका गर्ने मनासिब आधार भएमा ।
(२) उपदफा (१) बमोजिम सोधपुछ गर्दा त्यस्तो मुद्रा वा धारक विनिमेय अधिकारपत्र उद्घोषण नगरेको वा झूठ्ठो वा गलत उद्घोषण गरेको वा कुनै कसूरसग सम्बन्धित भएको प्रमाणित भएमा भन्सार अधिकृतले सबै मुद्रा वा धारक विनिमेय अधिकारपत्र जफत गरी बिगो बमोजिम जरिवाना गर्नेछ ।
(३) भन्सार अधिकृतले उपदफा (२) बमोेजिम जफत गर्दा सोको कारण सहितको जानकारी सम्बन्धित व्यक्तिलाई दिनु पर्नेछ ।
२९ग. सूचना दिनु पर्नेः (१) भन्सार अधिकृतले दफा २९ख. बमोजिम शंका लागेको मुद्रा वा धारक विनिमेय अधिकारपत्रको विवरणको जानकारी वित्तीय जानकारी इकाई तथा कसूरको अनुसन्धान तहकिकात गर्ने सम्बन्धित निकाय वा अधिकारीलाई तत्काल दिनु पर्नेछ ।
(२) भन्सार विभागले दफा २९क. बमोजिम उद्घोषण गरेको मुद्रा तथा धारक विनिमेय अधिकारपत्र सम्बन्धी विवरण प्रत्येक महिना वित्तीय जानकारी इकाईलाई पठाउनु पर्नेछ ।
२९घ. भन्सार ऐन बमोजिमको मालवस्तु मानिनेः (१) यस परिच्छेदको प्रयोजनका लागि मुद्रा तथा  धारक विनिमेय अधिकारपत्रलाई भन्सार सम्बन्धी प्रचलित कानून बमोजिमको मालवस्तु मानिनेछ ।
(२) यस परिच्छेद बमोजिम उद्घोषण गर्नु पर्ने मुद्रा तथा धारक विनिमेय अधिकारपत्रको जाँचबुझ, खानतलासी, रोक्का, जफत, पुनरावेदन तथा कारबाही सम्बन्धी अन्य व्यवस्था भन्सार सम्बन्धी प्रचलित कानून बमोजिम हुनेछ ।

परिच्छेद – ६ख. सम्पत्ति तथा कोष रोक्का सम्बन्धी विशेष व्यवस्था  

२९ङ. आतङ्ककारी व्यक्ति, समूह वा संगठन सम्बन्धी सूचनाको प्रवाहः (१) आतङ्कवादी कृयाकलापमा संलग्न व्यक्ति, समूह वा संगठन वा आमविनासका हातहतियारको निर्माण तथा विस्तार वा त्यसमा लगानी गर्ने व्यक्ति, समूह वा संगठनको सम्पत्ति वा कोष रोक्का राख्ने सम्बन्धमा संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्बाट पारित निर्णय बमोजिम सूचीकृत भएका व्यक्ति, समूह वा संगठनको अद्यावधिक सूची परराष्ट्र मन्त्रालयले अविलम्व आफ्नो वेबसाईटमा राखी सोको जानकारी विद्युतीय माध्यम मार्फत गृह मन्त्रालयमा पठाउनु पर्नेछ ।
(२) गृह मन्त्रालयले उपदफा (१) बमोजिमको सूचीमा रहेको आतङ्ककारी व्यक्ति, समूह वा संगठनको सम्पत्ति वा कोष यस परिच्छेद बमोजिम तत्काल रोक्का राख्ने आदेश जारी गर्नु पर्नेछ ।
(३) गृह मन्त्रालयले उपदफा (२) र दफा २९च. बमोजिम जारी गरेको आदेश सहितको सूची अविलम्व आफ्नो वेबसाइटमा प्रकाशन गर्नु पर्नेछ ।
(४) अर्थ मन्त्रालय, नियमनकारी निकाय, सम्बन्धित निकाय, वित्तीय जानकारी इकाई, सूचक संस्था, कानूनी व्यक्ति तथा प्राकृतिक व्यक्तिले यस परिच्छेदको प्रयोजनको लागि उपदफा (१) र (३) बमोजिम प्रकाशित सूची नियमित रुपमा वेबसाइट हेरी त्यस्तो सूचीमा उल्लिखित व्यक्ति, समूह वा संगठनको बारेमा अद्यावधिक जानकारी हासिल गर्नु गराउनु पर्नेछ ।
२९च. आतङ्ककारी व्यक्ति, समूह वा संगठनको रुपमा सूचीकृत गर्नेः (१) आतङ्कवादी कृयाकलापसँग सम्बन्धित भएको वा सोको शंका गर्नु पर्ने मनासिब आधार भएको भनी कुनै व्यक्ति, समूह वा संगठनको सम्पत्ति रोक्का राखिदिन कुनै मुलुकबाट नेपाल सरकारलाई अनुरोध भई आएमा परराष्ट्र मन्त्रालयले सोको जानकारी अविलम्व गृह मन्त्रालयलाई दिनु पर्नेछ ।
(२) नेपाली वा विदेशी नागरिक वा अन्य कुनै व्यक्ति, समूह वा संगठनले नेपाल वा नेपाल बाहिर कुनै मुलुकमा आतङ्कवादी कार्य वा सोमा वित्तीय लगानी गर्ने कार्यमा संलग्न भएको वा संलग्न हुन सक्ने मनासिब आधार भएमा आफैंले वा उपदफा (१) बमोजिम कुनै मुलुकबाट अनुरोध भई आएमा त्यस्तो व्यक्ति, समूह वा संगठनको सम्बन्धमा गृह मन्त्रालयले आवश्यक जाचबुझ गर्नु पर्नेछ ।
(३) कुनै व्यक्ति, समूह वा संगठन नेपाल वा नेपाल बाहिर कुनै मुलुकमा उपदफा (२) वा दफा ४ बमोजिमको कार्यमा संलग्न भएको देखिएमा वा प्रचलित कानून बमोजिम आतङ्कवादी कृयाकलाप मानिने कुनै कार्यसग सम्बन्धित व्यक्ति, समूह वा संगठन भएको देखिएमा नेपाल सरकारले त्यस्तो व्यक्ति, समूह वा संगठनलाई आतङ्कवादी कृयाकलापसँग सम्बन्धित व्यक्ति, समूह वा संगठनको सूचीमा सूचीकृत गरी त्यस्ता व्यक्ति, समूह वा संगठनको सम्पत्ति वा कोष रोक्का राख्ने आदेश जारी गर्न सक्नेछ ।
(४) उपदफा (३) बमोजिमको सूचीमा सूचीकृत व्यक्ति, समूह वा संगठनलाई सूचीकृत गरिराख्ने आधार नभएमा नेपाल सरकारले त्यस्तो व्यक्ति, समूह वा संगठनको नाम त्यस्तो सूचीबाट हटाउन सक्नेछ ।
(५) उपदफा (४) बमोजिम सूचीकृत व्यक्ति, समूह वा संगठनको नाम त्यस्तो सूचीबाट हटाइएमा सोको जानकारी गृह मन्त्रालयले अविलम्व आफ्नो वेबसाइटमा प्रकाशन गर्नु पर्नेछ ।
२९छ. सम्पत्ति तथा कोष अविलम्व रोक्का राख्नु पर्नेः (१) प्राकृतिक व्यक्ति, कानूनी व्यक्ति, सम्बन्धित निकाय वा सूचक संस्थाले दफा २९ङ. र २९च. बमोजिमको सूचीमा उल्लिखित आतङ्कवादी कृयाकलापमा संलग्न व्यक्ति, समूह वा संगठनको सम्पत्ति वा कोष विना पूर्व सूचना तत्काल रोक्का राख्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम रोक्का राख्दा आफूसग रहेको देहाय बमोजिमको सम्पत्ति तथा कोष अविलम्व रोक्का राख्नु पर्नेछः–
(क) त्यस्तो व्यक्ति, समूह वा संगठनको प्रत्यक्ष वा अप्रत्यक्ष रुपले एकल वा संयुक्त स्वामित्व, भोग वा नियन्त्रणमा रहेको सबै सम्पत्ति वा कोष,
(ख) खण्ड (क) बमोजिमको सम्पत्ति वा कोषबाट बढे वा बढाएको सम्पत्ति वा कोष,
(ग) त्यस्तो व्यक्ति, समूह वा संगठनको तर्फबाट वा निर्देशनमा रही काम गर्ने जुनसुकै व्यक्ति, समूह वा संगठनको सम्पत्ति वा कोष ।
(३) यस दफा बमोजिम सम्पत्ति वा कोष रोक्का राख्दा त्यस्तो सम्पत्ति वा कोष यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियममा उल्लिखित प्रकृया र अवस्थामा बाहेक कसैलाई हस्तान्तरण गर्न, धितो वा बन्धक लिन वा दिन, बिक्री वितरण गर्न वा कारोबार गर्न नहुने गरी रोक्का राख्नु पर्नेछ ।
(४) प्राकृतिक व्यक्ति, कानूनी व्यक्ति, सम्बन्धित निकाय तथा सूचक संस्थाले उपदफा (१) र (२) बमोजिम रोक्का राखेको सम्पत्ति तथा कोष, आर्थिक साधन स्रोत, वित्तीय वा अन्य सम्बद्ध सुविधा दफा २९ङ. र २९च. मा उल्लिखित व्यक्ति, समूह वा संगठनलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा एकल वा संयुक्त रुपमा प्रयोग गर्न वा लाभ प्राप्त गर्न नपाउने व्यवस्था गर्नु पर्नेछ ।
(५) उपदफा  (१) र (२) बमोजिम सम्पत्ति वा कोष रोक्का राखेको विवरण सो कार्य गरेको मितिले तीन दिनभित्र प्राकृतिक व्यक्ति, कानूनी व्यक्ति र सम्बन्धित निकायले अर्थ मन्त्रालयमा र सूचक संस्थाले आफ्नो नियमनकारी निकायमा पठाउनु पर्नेछ ।
(६) नियमनकारी निकायले उपदफा (५) बमोजिम सूचक संस्थाबाट प्राप्त विवरण तीन दिनभित्र अर्थ मन्त्रालयमा पठाउनु पर्नेछ ।
(७) यस परिच्छेद बमोजिमको सम्पत्ति वा कोष रोक्का सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।
२९ज. नाम हटाउने वा सम्पत्ति तथा कोष फुकुवा गर्नेः (१) दफा २९ङ. वा २९च. बमोजिमको सूचीमा नाम समावेश भएको व्यक्ति, समूह वा संगठनले दफा २९ङ. बमोजिमको सूचीको हकमा परराष्ट्र मन्त्रालयमा र दफा २९च. बमोजिमको सूचीको हकमा गृह मन्त्रालयमा निवेदन दिन सक्नेछ ।
(२) दफा २९छ. बमोजिम सम्पत्ति वा कोष रोक्का राखेकोमा त्यस्तो सम्पत्ति वा कोष फुकुवा गर्न वा आफूलाई परेको अन्य असरका सम्बन्धमा दफा २९ङ. बमोजिमको सूचीसँग सम्बन्धित व्यक्ति, समूह वा संगठनले परराष्ट्र मन्त्रालयमा र दफा २९च. बमोजिमको सूचीसँग सम्बन्धित व्यक्ति, समूह वा संगठनले गृह मन्त्रालयमा निवेदन दिन सक्नेछ ।
(३) उपदफा (१) वा (२) बमोजिम निवेदन प्राप्त भएमा सम्बन्धित मन्त्रालयले आवश्यक छानवीन गरी वा गराई सो निवेदन दफा २९ङ. बमोजिम प्रकाशित सूचीमा उल्लिखित व्यक्ति, समूह वा संगठनसँग सम्बन्धित देखिएमा परराष्ट्र मन्त्रालयले संयुक्त राष्ट्र संघमा र दफा २९च. बमोजिम प्रकाशित व्यक्ति, समूह वा संगठनसग सम्बन्धित देखिएमा गृह मन्त्रालयले परराष्ट्र मन्त्रालय मार्फत सम्बन्धित मुलुकमा पठाउनु पर्नेछ ।
(४) उपदफा (१) वा (२) बमोजिमको निवेदन दफा २९च. बमोजिम नेपाल सरकार आफैंले प्रकाशित गरेको आतङ्कवादी व्यक्ति, समूह वा संगठनको सूचीसग सम्बन्धित देखिएमा गृह मन्त्रालयले आवश्यक छानवीन गरी गराई त्यस्तो व्यक्ति, समूह वा संगठन दफा २९च. को उपदफा (४) मा उल्लिखित अवस्थाको नदेखिएमा वा निवेदक दफा २९च. बमोजिमको सूचीमा समावेश हुनु पर्ने नदेखिएमा त्यस्तो व्यक्ति, समूह वा संगठनको नाम त्यस्तो सूचीबाट हटाउन वा निजको रोक्का रहेको सम्पत्ति वा कोष फुकुवा गर्नेछ ।
(५) संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को निर्णय प्रभावकारी रुपमा कार्यान्वयनको लागि आतङ्कवादी व्यक्ति, समूह वा संगठनको नाम सूचीमा समावेश गर्ने, दफा २९च. बमोजिम सूचीकृत आतङ्कवादी व्यक्ति, समूह वा संगठनको नाम सूचीमा समावेश गर्ने वा सूचीबाट हटाउने, दफा २९छ. बमोजिम रोक्का राखेको सम्पत्ति वा कोष फुकुवा गर्ने, सूचीकरण वा सम्पत्ति वा कोष रोक्का विरुद्ध उजूरी गर्ने, निर्दोष व्यक्ति (बोनाफाइड थर्ड पार्टी) को कानूनी अधिकारको समुचित संरक्षण गर्ने, सम्पत्ति तथा कोष रोक्का राखेको व्यक्तिको भरणपोषणका लागि आवश्यक न्यूनतम खर्च फुकुवा गर्ने लगायत त्यस्तो निर्णय कार्यान्वयन गर्न वा गराउन आवश्यक अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।
२९झ. सम्बन्धित मुलुकमा लेखी पठाउनेः (१) दफा २९च. बमोजिम प्रकाशित सूचीमा नाम उल्लेख भएको व्यक्ति, समूह वा संगठनको कुनै सम्पत्ति वा कोष विदेशमा रहे भएको देखिएमा त्यस्तो सम्पत्ति वा कोष रोक्का राख्न गृह मन्त्रालयले परराष्ट्र मन्त्रालय मार्फत सम्बन्धित मुलुकमा अविलम्व लेखी पठाउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम लेखी पठाएको सूचीकृत व्यक्ति, समूह वा संगठनको नाम त्यस्तो सूचीबाट हटाइएमा निजको रोक्का राखेको सम्पत्ति वा कोष फुकुवा गर्न समेत गृह मन्त्रालयले परराष्ट्र मन्त्रालय मार्फत सम्बन्धित मुलुकमा लेखी पठाउनु पर्नेछ ।
२९ञ. अनुगमन सम्बन्धी व्यवस्थाः (१) यस परिच्छेद बमोजिमको काम कारबाही प्रभावकारी रुपमा भए नभएको सम्बन्धमा समग्र अनुगमन तथा मूल्याङ्कन राष्ट्रिय समन्वय समितिले गर्नेछ ।
(२) सम्बन्धित निकायले यस परिच्छेद बमोजिमको कार्य प्रभावकारी रुपमा गरे वा नगरेको सम्बन्धमा सम्बन्धित मन्त्रालयले नियमित रुपमा अनुगमन गर्नु पर्नेछ ।
(३) सूचक संस्थाले यस परिच्छेद बमोजिमको कार्य प्रभावकारी रुपमा गरे वा नगरेको सम्बन्धमा सम्बन्धित नियमनकारी निकायले नियमित रुपमा अनुगमन गर्नु पर्नेछ ।
(४) यस दफा बमोजिमको अनुगमन सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।
२९ट. उल्लंघन गर्नेलाई सजायः (१) दफा २९छ. को उल्लंघन गर्ने सूचक संस्थालाई नियमनकारी निकायले दफा ७फ. बमोजिम सजाय गर्न सक्नेछ ।
(२) दफा २९छ. को उल्लंघन गर्ने सम्बन्धित निकायको जिम्मेवार पदाधिकारीलाई अख्तियारवालाले प्रचलित कानून बमोजिम विभागीय सजाय गर्नेछ ।
(३) दफा २९छ. को उल्लंघन गर्ने प्राकृतिक व्यक्ति वा कानूनी व्यक्तिलाई गृह मन्त्रालयले दशलाख रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।
(४) उपदफा (१), (२) वा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै प्राकृतिक वा कानूनी व्यक्ति, सूचक संस्था वा सोका जिम्मेवार पदाधिकारीले आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर गर्न मद्दत गर्ने वा आतङ्ककारी व्यक्ति, आतङ्ककारी समूह वा संगठनलाई वा आतङ्ककारी कार्यमा सहयोग गर्ने उद्देश्यले सम्पत्ति वा कोष रोक्का नराखेको देखिएमा निजलाई आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरमा अनुसन्धान गर्न तथा मुद्दा चलाउन बाधा पर्ने छैन ।
(५) यस परिच्छेद बमोजिमका आतङ्ककारी व्यक्ति, समूह वा संगठनको सम्पत्ति तथा कोषको पहिचान, रोक्का, नियन्त्रण, अनुसन्धान, जफत सम्बन्धमा यसै ऐन बमोजिमको व्यवस्था लागू हुनेछ ।

परिच्छेद–७ दण्ड सजाय

३०. सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी गर्नेलाई सजायः(१) दफा ३ को उपदफा (१) मा उल्लिखित सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूर गर्ने व्यक्तिलाई बिगोको दोब्बर जरिवाना र कसूरको गाम्भीर्य हेरी दुई वर्षदेखि दश वर्षसम्म कैद हुनेछ ।
(२) दफा ३ को उपदफा (२) मा उल्लिखित सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूर मध्ये षडयन्त्र गर्ने व्यक्तिलाई उपदफा (१) बमोजिम र अन्य कसूर गर्ने व्यक्तिलाई उपदफा (१) मा उल्लिखित सजायको आधा सजाय  हुनेछ ।
(३) दफा ४ को उपदफा (१) मा उल्लिखित आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर गर्ने व्यक्तिलाई विगो खुलेकोमा विगोको पाँच गुणा र विगो नखुलेकोमा एक करोड रूपैयाँसम्म जरिवाना र कसूरको गाम्भीर्य हेरी तीन वर्षदेखि बीस वर्षसम्म कैद हुनेछ ।
(४) दफा ४ को उपदफा (२), (३) वा (४) मा उल्लिखित आतड्ढवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर गर्ने व्यक्तिलाई उपदफा (३) मा उल्लिखित सजायको आधा सजाय हुनेछ ।
(५) कानूनी व्यक्ति वा सोको प्रयोग गरी कुनै व्यक्तिले सम्पत्ति शुद्धीकरण वा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कुनै कसूर गरेमा त्यस्तो कसूर गर्ने व्यक्ति, पदाधिकारी वा कर्मचारीलाई उपदफा (१), (२),  (३) वा (४) बमोजिम सजाय हुनेछ ।
(६) उपदफा (५) बमोजिमको व्यक्ति, पदाधिकारी वा कर्मचारी पहिचान हुन नसकेमा त्यस्तो कसूर हुँदाको बखत प्रमुख भई कामकाज गर्ने पदाधिकारीलाई प्रचलित कानून बमोजिम कारबाही हुनेछ ।
(७) कुनै राष्ट्रसेवक वा सूचक संस्थाको पदाधिकारी वा कर्मचारीले सम्पत्ति शुद्धीकरण वा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कुनै कसूर गरेमा त्यस्तो व्यक्तिलाई उपदफा (१), (२), (३) वा (४) मा उल्लिखित सजायमा थप दश प्रतिशत सजाय हुनेछ ।
(८) कुनै कानूनी व्यक्तिले सम्पत्ति शुद्धीकरण वा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कुनै कसूर गरेमा त्यस्तो कानूनी व्यक्तिलाई प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कसूरको गाम्भीर्यका आधारमा देहायका कुनै वा सबै सजाय हुनेछः–
(क) उपदफा (१), (२), (३) वा (४) बमोजिम हुन सक्ने जरिवानाको पाँच गुणासम्म जरिवाना गर्ने,
(ख) अवधी तोकी सार्वजनिक खरीदमा निषेध गर्ने,
(ग) अवधी तोकी उत्पादन वा सेवाको खरीद गर्न रोक लगाउने,
(घ) हानि नोक्सानीको क्षतिपूर्ति भराउने,
(ङ) इजाजतपत्र वा अनुमतिपत्र खारेज गर्ने, वा
(च) त्यस्तो कानूनी व्यक्तिलाई खारेज गर्ने ।
(९) उपदफा (१) देखि (८) सम्म लेखिए बाहेक कसैले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम उल्लङ्घन गरेमा बिगो खुलेकोमा बिगो जफत गरी विगो बमोजिमको जरिबाना र विगो नखुलेकोमा दशलाख रुपैयाँसम्म जरिबाना हुनेछ ।
३१. गोपनीयता भंग गर्नेलाई सजायः दफा १०ख. को उपदफा (२) बमोजिम गोपनीयता कायम नगर्ने वा दफा २६ विपरीत गोप्यता भंग गर्ने व्यक्तिलाई एक महिनादेखि तीन महिनासम्म कैद वा एकलाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।
३२. प्रमाण लुकाउने वा नष्ट गर्नेलाई हुने सजायः सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर मानिने काम कारबाहीसँग सम्बन्धित प्रमाण लुकाउने वा नष्ट गर्ने व्यक्तिलाई कसूरको मात्रा अनुसार एक महिना देखि तीन महिनासम्म कैद वा पचास हजारदेखि एक लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ र त्यस्तो कार्य गर्न सहयोग गर्नेलाई सो सजायको आधा सजाय हुनेछ ।
३३. बाधा विरोध गर्नेलाई सजायः अनुसन्धान सम्बन्धी काम कारबाहीमा कसैले बाधा विरोध गरेमा निजलाई अनुसन्धान अधिकृतको प्रतिवेदनको आधारमा मुद्दा हेर्ने अधिकारीले छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय गर्न सक्नेछ ।
३३क. हैरानी वा झण्झट दिनेलाई सजायः कसैले उजूरी दिनु पर्ने मनासिब कारण नभई कसैलाई कुनै किसिमको हानि नोक्सानी पुर्याउने वा दुःख, हैरानी वा झण्झट दिने नियतले झूट्टो उजूरी दिएको प्रमाणित भएमा अनुसन्धान अधिकृतको प्रतिवेदनका आधारमा मुद्दा हेर्ने अधिकारीले त्यस्तो व्यक्तिलाई दशहजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।
३४. सम्पत्ति वा साधन जफत हुनेः (१) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर प्रमाणित भएमा कसूरसँग सम्बन्धित जो सुकैको नाम, भोग, स्वामित्व वा कुनै पनि प्रकारको स्वार्थ रहे भएको  देहायको सम्पत्ति वा साधन जफत हुनेछः–
(क) शुद्धीकरण गरिएको सम्पत्ति,
(ख) सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूर गर्न प्रयोग गरिएको वा प्रयोग गर्न खोजिएको कसूरसँग सम्बन्धित साधन,
(ग) आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरबाट प्राप्त सम्पत्ति,
(घ) आतङ्कवादी कृयाकलापमा वित्तीय लगानीको लागि वा आतङ्ककारी कार्य वा आतङ्ककारी व्यक्ति, आतङ्ककारी संगठनले प्रयोग गरेको वा प्रयोग गर्न छुट्याइएको वा प्रयोग गर्न खोजिएको सम्पत्ति, र
(ङ) आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर गर्न प्रयोग गरिएको वा प्रयोग गर्न खोजिएको साधन ।
(२) उपदफा (१) मा उल्लिखित सम्पत्ति वा साधन लुकाएको, उपभोग गरेको, निःसर्ग गरेको, निर्दोष व्यक्तिको सम्पत्ति वा साधन भएको वा अन्य कुनै कारणले जफत गर्न नसकिने भएमा कसूरदारको सो मूल्य बराबरको अन्य सम्पत्ति जफत  हुनेछ ।
(३) उपदफा (१) वा (२) बमोजिम सम्पत्ति वा साधन जफत गर्दा कसूरमा संलग्न नभएको निर्दोष व्यक्तिको कानूनी अधिकारको समुचित रुपमा संरक्षण गर्नु पर्नेछ ।
(४) उपदफा (३) को प्रयोजनका लागि उपदफा (१) वा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कसूरमा संलग्न नभएको निर्दोष व्यक्तिको सम्पत्ति वा साधन र सोबाट बढे बढाएको सम्पत्ति देहायको अवस्था विद्यमान भएमा अदालतले जफत गर्ने छैनः–
(क) त्यस्तो व्यक्ति सम्पत्ति शुद्धीकरण वा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कुनै कसूरमा संलग्न भएको नदेखिएमा,
(ख) त्यस्तो सम्पत्ति वा साधन कसूरबाट प्राप्त सम्पत्ति वा कसूरसँग सम्बन्धित साधन भएको नदेखिएमा,
(ग) त्यस्तो सम्पत्ति वा साधन सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर हुनुभन्दा अगावै प्राप्त गरेको र त्यस्तो सम्पत्ति वा साधन सम्बन्धित व्यक्तिले कसूरमा प्रयोग गर्न सक्छ भन्ने निजलाई थाहा नभएको देखिएमा ।

परिच्छेद–८ विविध

३५. राष्ट्रिय जोखिम मूल्याङ्कन गरिनेः (१) आवधिक रुपमा तथा आवश्यकता अनुसार सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर तथा सम्बद्ध कसूर सम्बन्धमा राष्ट्रिय जोखिम मूल्याङ्कन गरिनेछ ।
(२) उपदफा (१) बमोजिमको राष्ट्रिय जोखिम मूल्याङ्कन गर्ने प्रमुख दायित्व कार्यान्वयन समितिको हुनेछ ।
(३) उपदफा (२) बमोजिमको कार्यान्वयन समितिको गठन, काम, कर्तव्य अधिकार तथा राष्ट्रिय जोखिम मूल्याङ्कन सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।
३६. सम्पत्ति फुकुवा गर्नु पर्नेः दफा १८ बमोजिम रोक्का राखिएको सम्पत्ति वा साधन सम्पत्ति शुद्धीकरण तथा आतङ्ककवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरबाट प्राप्त भएको नदेखिएमा कसूर सम्बन्धमा मुद्दा दायर भइनसकेको भए अनुसन्धान अधिकृतको प्रतिवेदनको आधारमा विभागको प्रमुखले र मुद्दा दायर भएको भए मुद्दाको सुनुवाई गर्ने अदालतले त्यस्तो सम्पत्ति वा साधनरोक्का राख्ने निकायलाई त्यस्तो सम्पत्तिवा साधन फुकुवा गर्ने आदेश दिनेछ र त्यसरी आदेश भएकोमा त्यस्तो निकायले त्यस्तो रोक्का सम्पत्तिवा साधन फुकुवा गरिदिनु पर्नेछ ।
३७. जानकारी दिए बापत सजाय नहुनेः (१) सूचक संस्था वा सोको पदाधिकारी वा कर्मचारीले यस ऐन बमोजिमको दायित्व निर्वाह गर्ने क्रममा गर्ने कुनै कार्य प्रचलित कानून बमोजिमको वित्तीय वा पेशागत गोपनीयता विपरीत हुने देखिएमा समेत यस ऐन बमोजिमको दायित्व निर्वाह गर्ने हदसम्मको लागि निजले प्रचलित कानून उल्लंघन गरेको मानिने छैन ।
(२) सरकारी निकाय, सूचक संस्था वा सोको कुनै पदाधिकारी वा कर्मचारीले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा जारी गरिएको निर्देशिका वा दिइएको निर्देशन पालना गर्ने सन्दर्भमा असल नियतले कुनै प्रतिवेदन, कागजात, अभिलेख, सूचना वा जानकारी उपलब्ध गराएकोमा निजले प्रचलित कानून बमोजिमको गोपनीयता, प्रशासनिक वा नियमनकारी दायित्व वा करारीय दायित्व भंग गरेको मानी त्यस्तो पदाधिकारी वा कर्मचारीलाई देवानी, फौजदारी, प्रशासकीय वा अनुशासन सम्बन्धी कुनै कारबाही तथा सजाय हुने छैन ।
३८. लिलाम बिक्री गर्न सकिनेः (१) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरका सम्बन्धमा नियन्त्रणमा लिइएको कुनै सम्पत्ति वा साधन लामो समयसम्म राखिरहँदा खिया लागी वा अरु कुनै परिबन्दबाट टूटफूट वा नोक्सान हुन सक्ने देखिएमा, सडी गली जाने भएमा, पुरानो भई मूल्य घट्न जाने भएमा वा स्थानाभावको कारणले सम्भार गर्न वा राख्न नसकिने भएमा प्रचलित कानूनबमोजिमको प्रक्रिया पूरा गरी त्यस्तो सम्पत्ति वा साधन लिलाम बिक्री गर्न सकिनेछ ।
(२) उपदफा (१) बमोजिम गरिएको लिलामबाट प्राप्त आम्दानी धरौटी खातामा जम्मा गरिनेछ र त्यस्तो सम्पत्ति वा साधन पछि सम्बन्धित व्यक्तिलाई फिर्ता दिने ठहर भएमा लिलाम बिक्रीबाट प्राप्त रकम मात्र निजलाई फिर्ता दिइनेछ ।
३९. अनुसन्धानमा संलग्न कर्मचारीलाई विभागीय सजाय हुनेः सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरको अनुसन्धान वा अन्य कार्य गर्दा अनुसन्धान अधिकारीले वा विभागको कुनै कर्मचारीले जानी जानी कसैलाई दुःख हैरानी वा झण्झट दिने नियतले कुनै काम कारबाही गरेमा प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि त्यस्तो कर्मचारी विभागको प्रमुख भए सम्बन्धित मन्त्रालयको सचिवले र अन्य कर्मचारी भए विभागको प्रमुखले विभागीय सजाय गर्नु पर्नेछ ।
४०. म्याद तामेल सम्बन्धी व्यवस्थाः (१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरमा विदेशी व्यक्तिको नाममा म्याद तामेल गर्नु पर्दा त्यस्तो व्यक्तिको नेपालभित्र कुनै किसिमको कार्यालय वा प्रतिनिधि भए त्यस्तो कार्यालय वा प्रतिनिधिको नाममा म्याद तामेल गरिनेछ र त्यसरी तामेल भएको म्याद रीतपूर्वक तामेल भएको मानिनेछ ।
(२) उपदफा (१) बमोजिमको कार्यालय वा प्रतिनिधि नभएमा त्यस्तो व्यक्तिको कारोबार हुने मुख्य स्थान वा निजले स्थायी बसोबास गर्ने ठेगाना वा कारोबार गर्दाको बखत पत्राचारको लागि निजले दिएको कुनै ठेगाना रहेछ भने त्यस्तो ठेगानामा टेलेक्स, टेलिफ्याक्स वा अभिलेख हुन सक्ने दूरसञ्चारका अन्य माध्यम मार्फत वा रजिष्टरी गरी हुलाक मार्फत म्याद तामेल गरिनेछ र त्यसरी तामेल भएको म्याद रीतपूर्वक तामेल भएको मानिनेछ ।
(३) उपदफा (१) वा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि विदेशमा रहे बसेको व्यक्तिको नाममा म्याद तामेल गर्न नेपाल सरकार वा नेपाल पक्ष भएको कुनै सन्धिमा छुट्टै व्यवस्था भएको रहेछ भने सोही बमोजिम म्याद तामेल गर्न यस दफाले बाधा पु¥याएको मानिने छैन ।
४१. सूचना प्रकाशन गर्नेः यस ऐन वा अन्य प्रचलित कानून बमोजिम कुनै व्यक्तिको नाममा सूचना पठाउँदा वा म्याद तामेल गर्दा त्यस्तो व्यक्तिको ठेगाना पत्ता नलागी वा अन्य कुनै कारणले त्यस्तो सूचना बुझाउन नसकिएको वा म्याद तामेल हुन नसकेको कुराको प्रतिवेदन पर्न आएमा प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि त्यस्तो व्यक्तिलाई तीस दिनसम्मको म्याद दिई अनुसन्धान भएको वा मुद्दा हेर्ने अधिकारी समक्ष मुद्दा दायर भइसकेको भए सो विषयको संक्षिप्त विवरण उल्लेख गरी उपस्थित हुन राष्ट्रियस्तरको समाचारपत्रमा (विदेशीको हकमा अंग्रेजी दैनिकमा) कम्तीमा दुईपटक सार्वजनिक सूचना प्रकाशन गरिनेछ र त्यसरी सूचना प्रकाशन भएकोमा यस ऐन वा अन्य प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि त्यस्तो व्यक्तिलाई रीतपूर्वक सूचना दिइएको वा म्याद तामेल भएको मानिनेछ ।
४२. मनसायको व्याख्याःसम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरको सम्बन्धमा आरोपित व्यक्तिको मनसाय, जानकारी वा उद्देश्यको व्याख्या गर्दा वस्तुगत रुपमा तथ्यपरक परिस्थितिको आधारमा गरिनेछ ।
४३. मुद्दाको कारबाही र किनारा गर्न बाधा नपर्नेः प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भएतापनि यस ऐन अन्तर्गतको मुद्दा दायर हुनु अगावै वा दायर भएपछि अभियुक्त वा प्रतिवादीको मृत्यु भएमा पनि मुद्दाको कारबाही र किनारा गर्न बाधा पर्ने छैन ।
४४. सजायको मागदाबिमा छुट हुन सक्नेः यस ऐन बमाजिमको अनुसन्धानको काम कारबाहीमा सहयोग गर्ने अभियुक्तलाई अनुसन्धान अधिकृतले आफ्नो साक्षीको रुपमा प्रस्तुत गरी निजलाई सजायको माग दाबीमा पूर्ण वा आंशिक छुट दिन सक्नेछ ।
तर निजले गरेको सहयोग अन्य सबुत वा प्रमाणबाट प्रमाणित नभएमा वा निजले मुद्दा हेर्ने अधिकारी समक्ष अनुसन्धान अधिकृतलाई गरेको सहयोग प्रतिकूल हुने गरी बयान दिएमा यस ऐन वा प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि निज उपर पुनः मुद्दा दायर गर्न सकिनेछ ।
४४क. सूचना वा जानकारी प्रकट गर्न नहुनेः (१) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर वा सम्बद्ध कसूरको सम्बन्धमा सूचक संस्था वा सोको पदाधिकारी वा कर्मचारीले देहायको प्रतिवेदन, कागजात, अभिलेख, सूचना वा जानकारी दिने, दिएको वा दिन लागेको व्यहोरा ग्राहक वा अन्य कुनै व्यक्तिलाई जानकारी दिनु हुँदैनः–
(क) शंकास्पद कारोबार सम्बन्धी प्रतिवेदन वा यस ऐन बमोजिम निर्धारण गरिएको सीमा वा सो भन्दा बढीको कारोबार सम्बन्धी प्रतिवेदन,
(ख) दफा १९क. बमोजिम कारोबारको निरन्तर अनुगमन आदेश सम्बन्धी प्रतिवेदन,
(ग) वित्तीय जानकारी इकाई, अनुसन्धान अधिकारी, प्रचलित कानून बमोजिम कसूरको अनुसन्धान गर्ने सम्बन्धित अधिकारी वा नियमनकारी निकाय समक्ष उपलब्ध गराएको कागजात, अभिलेख वा सूचना,
(घ) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा जारी भएको निर्देशिका वा दिएको निर्देशन बमोजिम सूचक संस्थाले उपलब्ध गराउने अन्य कुनै विवरण वा जानकारी, वा
(ङ) खण्ड (क) देखि (घ) सम्मका प्रतिवेदन, कागजात, अभिलेख, सूचना वा जानकारी दिने पदाधिकारी वा कर्मचारीको परिचयात्मक विवरण ।
(२) विभाग, अनुसन्धान अधिकृत वा विभागको कुनै कर्मचारी वा प्रचलित कानून बमोजिम कसूरको अनुसन्धान गर्ने कुनै निकाय वा अधिकारीले सम्पत्ति शुद्धीकरण तथा आतड्ढवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर वा सम्बद्ध कसूरका सम्बन्धमा वित्तीय जानकारी इकाई वा सूचक संस्थाबाट प्राप्त भएको सूचना वा प्रतिवेदन, कागजात, अभिलेख वा जानकारी दिने वित्तीय जानकारी इकाई, सूचक संस्था वा त्यसको पदाधिकारी वा कर्मचारीको परिचय खुल्ने वा खुल्न सक्ने जानकारी कसैलाई दिनु हुदैन ।
(३) यस दफा बमोजिम जानकारी दिन नहुने विवरण वा व्यहोरा न्यायिक कारबाहीमा समेत उल्लेख गरिने छैन ।
(४) यस दफा विपरीत कार्य गर्नेलाई देहायका अधिकारीले देहाय बमोजिम सजाय गर्नु पर्नेछः–
(क) नियमनकारी निकायले बैंक तथा वित्तीय संस्था वा क्यासिनोलाई दशलाख रुपैयाँसम्म जरिवाना,
(ख) नियमनकारी निकायले गैरवित्तीय पेशाकर्मी वा व्यवसायीलाई दुईलाख रुपैयाँसम्म जरिवाना,
(ग) सूचक संस्था संगठित संस्था भए त्यस्तो संस्थाले आफ्नो पदाधिकारी वा कर्मचारीलाई त्यस्तो संस्थाको कानून बमोजिम विभागीय सजाय,
(घ) सेवाको गठन तथा सञ्चालन सम्बन्धी प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि विभागको प्रमुख, अनुसन्धान अधिकृत वा विभागको कर्मचारी वा प्रचलित कानून बमोजिम कसूरको अनुसन्धान गर्ने अधिकारीलाई सम्बन्धित अख्तियारवालाले विभागीय सजाय,
(ङ) सेवाको गठन तथा सञ्चालन सम्बन्धी प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि वित्तीय जानकारी इकाईको प्रमुख वा कर्मचारीलाई सम्बन्धित अख्तियारवालाले विभागीय सजाय ।
४४ख. गोपनीयता सम्बन्धी विशेष व्यवस्थाः (१) प्रचलित कानून बमोजिम गोप्य रहनु पर्ने कागजात, अभिलेख, विवरण, सूचना वा जानकारी सो सम्बन्धी प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि अनुसन्धान अधिकृत वा वित्तीय जानकारी इकाईलाई यस ऐन बमोजिम आफ्नो कार्य सम्पादनको प्रयोजनका लागि गोप्य रहेको मानिने छैन ।
(२) उपदफा (१) को प्रयोजनको लागि अनुसन्धान अधिकृत वा वित्तीय जानकारी इकाईले प्रयोजन खुलाई माग गरेमा सम्बन्धित निकाय, पदाधिकारी वा व्यक्तिले त्यस्तो कागजात, अभिलेख, विवरण, सूचना तथा जानकारी उपलब्ध गराउनु पर्नेछ ।
(३) प्रचलित कानून बमोजिम गोप्य रहनु पर्ने कागजात, अभिलेख, विवरण, सूचना वा जानकारी अनुसन्धान अधिकृत वा वित्तीय जानकारी इकाईले माग गर्ने तथा त्यस्ता कागजात, अभिलेख, विवरण, सूचना वा जानकारी उपलब्ध गराउने अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।
४४ग. वित्तीय संस्था वा बैकिङ उपकरण मार्फत कारोबार गर्नु पर्नेः (१) नेपाल सरकारले राष्ट्र बैंकको परामर्शमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको मूल्य वा सो भन्दा बढीको कुनै सेवा वा वस्तुको खरीद बिक्री तथा अन्य कारोबार वित्तीय संस्था वा बैकिङ उपकरण मार्फत मात्र गर्नु पर्ने व्यवस्था गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिमको सूचनामा उल्लिखित वस्तु वा सेवाको खरीद बिक्री तथा अन्य कारोबार नगदमा नगरी वित्तीय संस्था वा बैंकिङ उपकरण मार्फत गर्नु गराउनु सम्बन्धित सबैको कर्तव्य हुनेछ ।
४४घ.न्यूनतम खर्च दिन सकिनेः (१) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरको अनुसन्धान गर्दा वा मुद्दाको कारबाही गर्दा कुनै व्यक्तिको सम्पूर्ण सम्पत्ति यस ऐन बमोजिम रोक्का भएको रहेछ र निज र निजसग आश्रित अन्य व्यक्तिको जीवनयापनको लागि अर्को कुनै उपाय वा स्रोत रहेनछ भने त्यसरी रोक्का रहेको सम्पत्तिमध्येबाट त्यस्ता व्यक्तिलाई न्यूनतम रुपमा जीवनयापन  गर्नको लागि आवश्यक पर्ने सम्पत्ति उपलब्ध गराउन अदालतले विभागलाई आदेश दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिमको आदेश भएकोमा विभागले त्यस्तो सम्पत्ति त्यस्तो व्यक्तिलाई उपलब्ध गराउनु पर्नेछ ।
४४ङ. कम्प्युटरबाट प्रशोधित अभिलेख प्रमाणको रुपमा लिन सक्नेः (१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐनको प्रयोजनका लागि अन्यथा प्रमाणित भएकोमा बाहेक विद्युतीय माध्यमबाट प्रशोधित र विकास गरिएका अभिलेखलाई प्रमाणको रुपमा लिन सकिनेछ ।
(२) अभिलेख विवरण तथा तथ्याङ्क प्राप्त गर्ने, विश्लेषण गर्ने वा प्रशोधन गर्ने सम्बन्धमा आवश्यक व्यवस्था तोकिए बमोजिम गर्न सकिनेछ ।
४४च. परराष्ट्र मन्त्रालयलाई जानकारी दिनु पर्ने यस ऐन बमोजिम विभाग, नियमनकारी निकाय वा वित्तीय जानकारी इकाईले समान प्रकृतिको काम गर्ने विदेशी मुलुकको कुनै निकायसँग अन्तर्राष्ट्रिय सहयोग आदान प्रदान गर्ने सम्बन्धमा समझदारी कायम गरेमा सोको जानकारी यथाशीघ्र परराष्ट्र मन्त्रालयलाई दिनु पर्नेछ ।
४५. पुरस्कार दिनेः (१) सम्पत्ति शुद्धीकरण तथा आतड्ढवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर गरेको सुराक लगाई उजूरी गरी तत्सम्बन्धी अनुसन्धान वा अन्य सबुत प्रमाण सड्ढलनमा सहयोग पु¥याउने कुनै पनि व्यक्तिलाई कसूर प्रमाणित भई कायम भएको बिगो रकमको दश प्रतिशत वा दश लाखमध्ये जुन घटी हुन्छ सो बराबरको रकम पुरस्कार स्वरुप दिइनेछ ।
(२) उपदफा (१) बमोजिमको व्यक्ति एक भन्दा बढी भएमा दामासाहीका दरले त्यस्तो रकम दिइनेछ ।
४६. नियम बनाउन सक्नेा यस ऐनको उद्देश्य कार्यान्वयन गर्न नेपाल सरकारले आवश्यक नियमहरु बनाउन सक्नेछ ।
४७. निर्देशिका जारी गर्न सक्नेः यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको प्रभावकारी रुपले कार्यान्वयन गर्न वा सम्पत्ति शुद्धीकरण तथा आतड्ढवादी कृयाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड पालना गराउन नेपाल सरकारले आवश्यक निर्देशिका बनाई जारी गर्न सक्नेछ ।

अनुसूची- सम्बद्ध कसूर

 

(दफा २ को खण्ड (श) सग सम्बन्धित)
१. प्रचलित कानून अन्तर्गतको देहायको कुनै कसूरः–
(क) संगठित अपराधिक समूह र गैरकानूनी वा धुत्र्याइपूर्वकको असूली (¥याकेटरि·) मा सहभागी हुने
सम्बन्धी,
(ख) विध्वंसात्मक कार्य लगायत आतड्ढवाद सम्बन्धी,
(ग) जुनसुकै प्रकारको मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी,
(घ) बाल यौन शोषण लगायत जुनसुकै प्रकारको यौन शोषण सम्बन्धी,
(ङ) लागू औषध तथा मनोद्विपक पदार्थको गैरकानूनी ओसारपसार सम्बन्धी,
(च) हातहतियार खरखजानाको गैरकानूनी ओसारपसार सम्बन्धी,
(छ) चोरी गरिएको वा अन्य वस्तुको गैरकानूनी ओसारपसार सम्बन्धी,
(ज) भ्रष्टाचार तथा घुस सम्बन्धी,
(झ) ठगी सम्बन्धी,
(ञ) कीर्ते सम्बन्धी,
(ट) खोटा सिक्का वा मुद्रा सम्बन्धी,
(ठ) नक्कली वस्तुको उत्पादन तथा उत्पादनको गैरकानूनी प्रतिलिपि वा चोरी (पाइरेसी अफ प्रोडक्टस्)
सम्बन्धी,
(ड) वातावरण सम्बन्धी,
(ढ) ज्यान लिने तथा अंगभंग सम्बन्धी,
(ण) अपहरण, गैरकानूनी थुना वा शरीर बन्धक सम्बन्धी,
(त) चोरी वा डकैती सम्बन्धी,
(थ) तस्करी (भन्सार, अन्तशुल्क तथा कर सहित) सम्बन्धी,
(द) कर (प्रत्यक्ष वा अप्रत्यक्ष समेत) सम्बन्धी,
(ध) आपराधिक लाभ (एक्स्टर्सन) सम्बन्धी,
(न) सामुद्रिक डकैती (पाइरेसी) सम्बन्धी,
(प) धितोपत्र वा कमोडिटिज बजारलाई प्रतिकूल प्रभाव पार्ने (मार्केट म्यानिपुलेसन) वा भित्री कारोबार (
इन्साइडर ट्रेडिङ) सम्बन्धी,
(फ) प्राचीन स्मारक संरक्षण सम्बन्धी,
(ब) वन, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण सम्बन्धी,
(भ) मुद्रा, बैंकिङ, वित्तीय, विदेशी विनिमेय, विनिमेय अधिकारपत्र, बीमा वा सहकारीस“ग सम्बन्धी,
(म) कालोबजार, उपभोक्ता संरक्षण, प्रतिष्पर्धा वा आपूर्ति सम्बन्धी,
(य) निर्वाचन सम्बन्धी,
(र) सञ्चार, प्रशारण, विज्ञापन सम्बन्धी,
(ल) यातायात व्यवसाय, शिक्षा, स्वास्थ्य, औषधी वा वैदेशिक रोजगार ठगी सम्बन्धी,
(व) फर्म, साझेदारी, कम्पनी वा संघ संस्था सम्बन्धी,
(श) घर, जग्गा र सम्पत्ति सम्बन्धी,
(ष) चिठ्ठा, जुवा वा चन्दा सम्बन्धी,
(स) नागरिकता, अध्यागमन वा राहदानी सम्बन्धी ।

२. दफा ४ बमोजिमको आतड्ढवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर,

३. नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको अन्य कुनै कसूर, वा

४. प्रकरण (१), (२) वा (३) बमोजिम कसूर मानिने कुनै कार्य विदेशमा भए गरेको र त्यस्तो कार्य सम्बन्धित
मुलुकको कानून बमोजिम समेत अपराध मानिने रहेछ भने त्यस्तो कसूर ।