Skip to contentSkip to left sidebar Skip to footer

वैयक्तिक गोपनीयता सम्बन्धी ऐन, २०७५

वैयक्तिक गोपनीयता सम्बन्धी ऐन, २०७५

प्रमाणीकरण मिति

२०७५।६।२

संवत् २०७५ सालको ऐन नम्बर १४

वैयक्तिक गोपनीयताका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन

प्रस्तावनाः प्रत्येक व्यक्तिको जीउ, आवास, सम्पत्ति, लिखत, तथ्याङ्क, पत्राचार तथा चरित्र सम्बन्धी विषयको गोपनीयताको हकलाई सुनिश्चित गर्ने, सार्वजनिक निकाय वा संस्थामा रहेका वैयक्तिक सूचनाको संरक्षण र सुरक्षित उपयोगको व्यवस्था गर्ने तथा व्यक्तिको गोपनीयता अतिक्रमण हुन नदिने व्यवस्था गरी मर्यादित जीवनस्तर प्रवर्द्धन गर्ने सम्बन्धमा कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले,

सङ्घीय संसदले यो ऐन बनाएको छ।

 परिच्छेद-१ प्रारम्भिक

१.    संक्षिप्त नाम र प्रारम्भः (१) यस ऐनको नाम “वैयक्तिक गोपनीयता सम्बन्धी ऐन, २०७५” रहेको छ।

(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ।

२.    परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,–

(क)   “आवास” भन्नाले कुनै पनि व्यक्तिले बसोवास गर्ने घर, डेरा, अपार्टमेन्ट, कोठा वा बासस्थान सम्झनु पर्छ र सो शब्दले निजले रात बिताउने गरी बसेको होटल, रिसोर्ट, लज, पाहुना घर वा शिविरको कोठा वा त्यस्तै प्रकृतिको अन्य कुनै ठाउँलाई समेत जनाउँछ।

(ख)   “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ।

(ग)   “वैयक्तिक सूचना” भन्नाले कुनै पनि व्यक्तिसँग सम्बन्धित देहायको सूचना सम्झनु पर्छ:-

(१)   निजको जात, जाति, जन्म, उत्पत्ति, धर्म, वर्ण वा वैवाहिक स्थिति,

(२)   निजको शिक्षा वा शैक्षिक उपाधि,

(३)   निजको ठेगाना, टेलिफोन वा विद्युतीयपत्र (इमेल) को ठेगाना,

(४)   निजको राहदानी, नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र नम्बर, सवारी चालक अनुमतिपत्र, मतदाता परिचयपत्र वा सार्वजनिक निकायबाट जारी भएका परिचयपत्रको विवरण,

(५)   वैयक्तिक सूचना उल्लेख गरी निजले कसैलाई पठाएको वा निजले प्राप्त गरेको पत्र,

(६)   निजको औँलाको छाप, हस्तरेखा, आँखाको रेटिना, रगत समूह वा निजको अन्य वायोमेट्रिक सूचना,

(७)   निजको आपराधिक पृष्ठभूमि वा निजले फौजदारी कसूरमा सजाय पाएको वा कसूर भुक्तान गरेको विवरण,

(८)   कुनै निर्णय प्रक्रियामा पेशागत वा विशेषज्ञ राय दिने व्यक्तिले त्यस्तो प्रकृयामा के, कस्तो राय वा धारणा व्यक्त गरेको थियो भन्ने विषय।

(घ)   “सम्पत्ति” भन्नाले चल वा अचल, भौतिक वा अभौतिक, मूर्त वा अमूर्त सम्पत्ति सम्झनु पर्छ र सो शब्दले बौद्धिक सम्पत्तिलाई समेत जनाउँछ।

(ङ)   “सार्वजनिक निकाय” भन्नाले देहायका निकाय सम्झनु पर्छ:–

(१)   नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तह वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तह अन्तर्गतका सरकारी कार्यालय,

(२)   अदालत, अन्य न्यायिक निकाय, संवैधानिक निकाय वा मातहतका कार्यालय,

(३)   नियमनकारी निकाय वा त्यस अन्तर्गतका कार्यालय,

(४)   नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण वा आंशिक स्वामित्व वा नियन्त्रण भएको कम्पनी, बैङ्क, समिति वा कानून बमोजिम नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहद्वारा स्थापित आयोग, संस्थान, प्राधिकरण, निगम, प्रतिष्ठान, बोर्ड, केन्द्र, परिषद् र यस्तै प्रकृतिका अन्य सङ्गठित संस्था,

(५)   प्रचलित कानून बमोजिम दर्ता भएका राजनीतिक दल तथा सङ्गठन,

(६)   नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहद्वारा स्थापित वा सञ्चालित वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण वा आंशिक अनुदान प्राप्त विश्वविद्यालय, महाविद्यालय, विद्यालय, अनुसन्धान केन्द्र र अन्य त्यस्तै प्राज्ञिक वा शैक्षिक संस्था,

(७)   नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको ऋण, अनुदान वा जमानतमा सञ्चालित संस्था,

(८)   उपखण्ड (१), (२), (३) वा (४) मा उल्लिखित संस्थाको पूर्ण वा आंशिक स्वामित्व भएको वा नियन्त्रण रहेको संस्था,

(९)   नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी सार्वजनिक निकाय भनी तोकेको अन्य कुनै संस्था।

(च)    “सार्वजनिक पद धारण गरेको व्यक्ति” भन्नाले सार्वजनिक निकायको कुनै पदमा निर्वाचित, मनोनीत वा नियुक्ति भई बहाल रहेको व्यक्ति सम्झनु पर्छ।

(छ)   “सङ्गठित संस्था” भन्नाले प्रचलित कानून बमोजिम स्थापना भएका संस्था, कम्पनी, बैङ्क, समिति, सहकारी संघ, महासंघ वा यस्तै प्रकृतिका अन्य सङ्गठित संस्था सम्झनु पर्छ।

परिच्छेद-२ व्यक्तिको जीउ तथा पारिवारिक गोपनीयता

३.    व्यक्तिको शारीरिक तथा निजी जीवनको गोपनीयता: (१) प्रत्येक व्यक्तिको शारीरिक र मानसिक अवस्था सम्बन्धी विषयको गोपनीयता अनतिक्रम्य हुनेछ।

(२) कुनै पनि व्यक्तिको शारीरिक गोपनीयताको विषय निजको शरीर वा स्वास्थ्य परीक्षण गर्दा, उपचार गर्दा वा आपतकालीन उद्धार कार्य गर्दाको अवस्थामा बाहेक सम्बन्धित व्यक्तिको मञ्जुरीविना अनतिक्रम्य रहनेछ।

(३) कुनै पनि व्यक्तिलाई निजको निजी जीवनसँग सम्बन्धित जैविक वा आनुवंशिक पहिचान, लैङ्गिक पहिचान, यौनिकता, यौन सम्बन्ध, गर्भाधान वा गर्भपतन, कुमारीत्व, पुरुषत्व, नपुंशकत्व वा शारीरिक रोग जस्ता विषयको गोपनीयता कायम राख्ने अधिकार हुनेछ।

(४) कसैले कुनै पनि व्यक्तिको निजी जीवनमा असर पर्ने, आघात पुग्ने वा बेइज्जत हुने गरी त्यस्तो व्यक्तिसँग सम्बन्धित उपदफा (३) बमोजिमका कुनै पनि विषय लेखेर, बोलेर, प्रकाशन गरेर वा विद्युतीय माध्यम प्रयोग गरेर वा अन्य कुनै पनि प्रकारले सार्वजनिक गर्नु वा गराउनु हुँदैन   ।

(५) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा व्यक्तिको शारीरिक वा मानसिक अवस्था वा निजी जीवनको गोपनीयता खुलासा गर्न सकिनेछ:–

(क)   सम्बन्धित व्यक्तिको मञ्जुरी भएको विषय भएमा,

(ख)   सम्बन्धित व्यक्तिले नै आफूखुशीले सार्वजनिक गरिसकेको विषय भएमा,

(ग)   अनुसन्धान वा अभियोजन गर्ने अधिकारीले कुनै कसूरको सिलसिलामा अनुसन्धान गरेको विषय भएमा,

(घ)   कुनै सुविधा वा सहुलियत प्राप्त गर्न उपदफा (३) सँग सम्बन्धित विषय वा व्यक्तिको शारीरिक अवस्था वा निजी जीवन खुलासा गर्नु पर्ने अवस्थामा निजले त्यस्तो सुविधा वा सहुलियत प्राप्त गरेमा वा प्राप्त गर्न इच्छा गरेमा।

४.    पारिवारिक गोपनीयता हुनेः (१) प्रत्येक व्यक्तिलाई पारिवारिक जीवन कायम राख्न वा पारिवारिक अखण्डता कायम राख्नको लागि पारिवारिक गोपनीयता कायम राख्न पाउने अधिकार हुनेछ।

(२) दाम्पत्य जीवनको क्रममा पति र पत्नीबीच मात्र जानकारी हुने एक अर्काको गोपनीयतासँग सम्बन्धित विषय पति र पत्नीबीच चलेको मुद्दाका सन्दर्भमा आवश्यक भएको अवस्थामा बाहेक अनतिक्रम्य हुनेछ।

५.    शरीरको तलासी लिन नहुने: (१) कुनै पनि व्यक्तिको मञ्जुरी नलिई निजको जीऊ वा निजको साथमा रहेको वा निजले प्रयोग गर्ने कुनै वस्तुको तलासी लिन हुँदैन।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रचलित कानून बमोजिम कुनै सुरक्षा जाँच वा फौजदारी कसूरको अनुसन्धानको सिलसिलामा कुनै व्यक्तिको तलासी लिनु पर्ने अवस्था भएमा कानून बमोजिम अधिकार प्राप्त अधिकारी वा निजको आदेश बमोजिम सुरक्षाको प्रयोजनको लागि खटिएका कुनै व्यक्ति वा सुरक्षाकर्मीले तलासी लिन सक्नेछ।

(३) उपदफा (२) बमोजिम सुरक्षा जाँच गर्नको लागि खटिएका अधिकारीले आफूले सुरक्षा जाँचको लागि प्राप्त गरेको अख्तियारी आफ्नो साथमा राख्नु पर्नेछ र सम्बन्धित व्यक्तिले त्यसरी तलासी लिनुभन्दा अघि हेर्न चाहेमा देखाउनु पर्नेछ।

(४) कुनै सार्वजनिक स्थानमा नियमित वा आकस्मिक सुरक्षा जाँचको लागि आफ्नो ओहदा अनुसारको चिन्ह र पोशाक लगाई कर्तव्य पालना गर्न खटिएको सुरक्षाकर्मीलाई यस दफाको प्रयोजनको लागि सुरक्षा जाँचको अख्तियारी भएको मानिनेछ।

६.    प्रजनन स्वास्थ्य र गर्भावस्था सम्बन्धी गोपनीयता: प्रत्येक महिलाको प्रजनन स्वास्थ्य र गर्भावस्था सम्बन्धी विषय अनतिक्रम्य हुनेछ र निजको मञ्जुरीविना त्यस्तो विषयको जानकारी अरु कसैलाई दिन वा सार्वजनिक गर्न हुँदैन।

तर स्वास्थ्य उपचारको क्रममा सम्बन्धित विशेषज्ञहरूबीच त्यस विषयमा छलफल गर्न वा निजको एकासगोलका परिवारका सदस्य र अठार वर्ष उमेर पूरा नभएको वा होस ठेगानमा नरहेको व्यक्ति भए निजको संरक्षकलाई जानकारी गराउन बाधा पर्ने छैन।

परिच्छेद-३ आवास सम्बन्धी गोपनीयता

७.    आवासको गोपनीयता हुने: (१) प्रत्येक व्यक्तिलाई निजको आवासको गोपनीयताको अधिकार हुनेछ।

(२) कानून बमोजिम खानतलासी लिन अधिकार प्राप्त अधिकारी वा निजको आदेश बमोजिम बाहेक कुनै पनि व्यक्तिको आवासमा प्रवेश गर्न वा गराउन वा खानतलासी लिन वा लिन लगाउन हुँदैन।

(३) उपदफा (२) बमोजिम प्रवेश गर्दा सम्बन्धित व्यक्ति वा निजको परिवारका सदस्यको निजी जीवनको गोपनीयता भङ्ग हुने गरी प्रवेश गर्न वा गराउन वा खानतलासी लिन वा लिन लगाउन हुँदैन।

(४) कानून बमोजिम अधिकार प्राप्त अधिकारी वा त्यस्तो अधिकारीको आदेश बमोजिम कुनै व्यक्तिलाई निजको आवास बाहिर पक्राउ गरिएकोमा निज पक्राउ परेको कारणले मात्र निजको आवास खानतलासी गर्न वा गराउन हुँदैन।

(५) उपदफा (४) बमोजिम कुनै व्यक्तिलाई पक्राउ गरिएकोमा निजको आवासको समेत खानतलासी लिनुपर्ने मनासिब कारण भएमा त्यस प्रयोजनका लागि कानून बमोजिम अधिकार प्राप्त अधिकारीको छुट्टै आदेश लिई निजको आवासको खानतलासी लिन सकिनेछ।

(६) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि विपद् व्यवस्थापन वा आपतकालीन उद्धार गर्ने प्रयोजनको लागि कुनै पनि व्यक्तिको आवासमा प्रवेश गर्न सकिनेछ।

(७) आवासको गोपनीयता कायम राख्ने तथा खानतलासी वा अनुसन्धान सम्बन्धी अन्य व्यवस्था प्रचलित कानून बमोजिम हुनेछ।

८.    आवासमा प्रवेश गर्दा सूचना दिनु पर्ने: (१) कुनै फौजदारी कसूरको सिलसिलामा दफा ७ बमोजिम कसैको आवासमा खानतलासी गर्नु पर्ने भएमा त्यसरी आवासमा प्रवेश गर्नु पर्ने प्रयोजन खुल्ने गरी निजलाई लिखित सूचना दिनु पर्नेछ।

(२) उपदफा (१) बमोजिम कुनै व्यक्तिको आवासमा प्रवेश गर्दा प्रचलित कानून बमोजिमका शर्त तथा कार्यविधि पूरा गर्नु पर्नेछ।

तर तत्काल खानतलासी नगरेमा आरोपित व्यक्ति भाग्ने वा उम्कने वा प्रमाण नष्ट हुने भएमा सो कुराको अभिलेख राखी प्रवेश गर्न सकिनेछ।

९.    आवासमा सिसिटिभि क्यामेरा जडान गर्न नहुने: कसैले कुनै पनि व्यक्तिको मञ्जुरीविना निजको आवासमा वा त्यस्तो आवास प्रयोगकर्तासँग सम्बन्धित व्यक्तिगत सूचना सङ्कलन हुने गरी सिसिटिभि क्यामेरा जडान गर्न वा गराउन हुँदैन।

परिच्छेद-४ सम्पत्ति सम्बन्धी गोपनीयता

१०. सम्पत्तिको गोपनीयता हुने: (१) प्रत्येक व्यक्तिलाई निजको सम्पत्ति तथा त्यस्तो सम्पत्ति सम्बन्धी विवरण गोप्य राख्न पाउने अधिकार हुनेछ।
(२) कसैले पनि अर्काको घर, जग्गा, सवारी साधन वा अन्य सम्पत्तिमा त्यस्तो सम्पत्तिधनीको अनुमति वा मञ्जुरीविना अनधिकृत तवरले प्रवेश गर्न हुँदैन।
(३) व्यक्तिको सम्पत्ति सम्बन्धी विवरण राख्ने वा त्यसको जानकारी हुन सक्ने सार्वजनिक निकाय वा सङ्गठित संस्था वा त्यस्तो संस्थामा काम गर्ने कुनै कर्मचारीले कुनै पनि व्यक्तिको सम्पत्तिको विवरण सम्बन्धित व्यक्तिको मञ्जुरीविना कुनै पनि तरिकाले अरु कसैलाई जानकारी दिन वा सार्वजनिक गर्न वा गराउन हुँदैन।
(४) उपदफा (१) वा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै कसूरको अनुसन्धानको सिलसिलामा अधिकार प्राप्त अधिकारीको आदेश बमोजिम सम्पत्ति विवरण माग भएको वा कुनै व्यक्तिका विरुद्धमा सोही विषयमा परेको मुद्दाका सन्दर्भमा अदालतबाट माग भएको अवस्थामा सम्पत्ति विवरणको अभिलेख राख्ने सम्बन्धित निकाय, सङ्गठित संस्था वा अधिकारीले त्यस्तो अभिलेख उपलब्ध गराउनु पर्नेछ।

परिच्छेद-५ लिखत सम्बन्धी गोपनीयता

११. लिखतको गोपनीयता हुने: (१) प्रत्येक व्यक्तिलाई निजसँग सम्बन्धित वैयक्तिक लिखतको गोपनीयताको अधिकार हुनेछ।
(२) उपदफा (१) को प्रयोजनको लागि देहायको लिखत सम्बन्धित व्यक्तिको वैयक्तिक लिखत मानिनेछ:-
(क) शैक्षिक योग्यता सम्बन्धी प्रमाणपत्र,
(ख) चिकित्सकीय इतिहास, प्रमाणपत्र वा स्वास्थ्य परीक्षण प्रतिवेदन,
(ग) नागरिकताको प्रमाणपत्र, राहदानी, मतदाता परिचयपत्र, सवारी चालक अनुमतिपत्र वा यस्तै प्रकृतिका परिचय खुल्ने अन्य कागजात,
(घ) बैङ्कमा रहेको खाता वा त्यस्तो खातामा रहेको रकमको विवरण,
(ङ) बैंङ्किङ्ग तथा वित्तीय कारोबारसँग सम्बन्धित चेक, ड्राफ्ट, डेभिट कार्ड, क्रेडिट कार्ड वा बैङ्क हिसाव विवरण (स्टेटमेण्ट) वा अन्य विनिमेय अधिकारपत्र,
(च) जैविक वा आनुवंशिक विवरण (वायोमेट्रिक डाटा) र ल्याप्चे सहिछाप,
(छ) अचल सम्पत्तिसँग सम्बन्धित जग्गाधनी प्रमाण पुर्जा वा जग्गाको स्वामित्व सम्बन्धी अन्य कागजात,
(ज) सवारी धनीपुर्जा (ब्लु बुक) वा अन्य सम्पत्तिको स्वामित्व सम्बन्धी कागजात,
(झ) धितोपत्र वा त्यससँग सम्बन्धित विवरण,
(ञ) कर्मचारी सञ्चय कोषको परिचयपत्र, निवृत्तभरणपत्र वा यस्तै प्रकृतिका अन्य कागजात,
(ट) तोकिए बमोजिमका अन्य कागजात।
(३) कुनै पनि व्यक्तिको सार्वजनिक निकायमा रहेको उपदफा (२) बमोजिमको वैयक्तिक लिखत कसैले सार्वजनिक गर्न वा गराउन हुँदैन।
(४) उपदफा (१) वा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा कुनै पनि व्यक्तिको वैयक्तिक लिखत वा त्यसको कुनै विवरण सार्वजनिक गर्न वा गराउन वा त्यसको कुनै विवरण अध्ययन, अनुसन्धान वा परीक्षण गर्न वा गराउन सकिनेछ:–
(क) सम्बन्धित व्यक्तिको मञ्जुरी भएमा,
(ख) सार्वजनिक सेवा उपभोग गर्ने प्रयोजनको लागि कुनै व्यक्तिको पहिचान खुल्ने परिचयपत्र आवश्यक पर्ने भएमा,
(ग) कुनै मुद्दाको सिलसिलामा अदालत वा कानून बमोजिम अधिकार प्राप्त अधिकारीको आदेश भएमा,
(घ) फौजदारी कसूरको अनुसन्धान वा अभियोजनको सिलसिलामा अधिकार प्राप्त अधिकारीले आदेश दिएमा।

परिच्छेद-६ तथ्याङ्क सम्बन्धी गोपनीयता

१२. तथ्याङ्कको गोपनीयता हुनेः (१) प्रत्येक व्यक्तिलाई निजसँग सम्बन्धित वैयक्तिक तथ्याङ्क वा विवरण गोप्य राख्न पाउने अधिकार हुनेछ।
(२) कुनै पनि व्यक्तिको वैयक्तिक वा पारिवारिक तथ्याङ्क सङ्कलन गर्दा निजको मञ्जुरी लिनु पर्नेछ।
(३) उपदफा (२) बमोजिम सार्वजनिक निकाय वा सङ्गठित संस्थाले सम्बन्धित व्यक्तिको मञ्जुरी लिई सङ्कलन गरेको तथ्याङ्क जुन प्रयोजनको लागि सङ्कलन गरिएको हो सोही प्रयोजनको लागि मात्र प्रयोग गर्नु पर्नेछ।
तर राष्ट्रिय सुरक्षा वा शान्ति सुव्यवस्थाको प्रयोजनको लागि कुनै तथ्याङ्क माग भएमा प्रचलित कानून बमोजिम त्यस्तो तथ्याङ्क उपलब्ध गराउन बाधा परेको मानिने छैन।
(४) कुनै पनि व्यक्तिको मञ्जुरी नलिई कसैले पनि निजसँग सम्बन्धित देहायका तथ्याङ्क अरु कसैलाई दिन वा सार्वजनिक गर्न वा गराउन हुँदैन:–
(क) स्वास्थ्य परीक्षण सम्बन्धी विवरण,
(ख) सम्पत्ति तथा आय आर्जन सम्बन्धी विवरण,
(ग) रोजगारी सम्बन्धी विवरण,
(घ) पारिवारिक विषय सम्बन्धी विवरण,
(ङ) जैविक विवरण र ल्याप्चे सहिछाप,
(च) हस्ताक्षर वा विद्युतीय हस्ताक्षर,
(छ) राजनीतिक सम्बद्धता र निर्वाचन सम्बन्धी विवरण,
(ज) व्यवसाय वा कारोबार सम्बन्धी विवरण।
(५) उपदफा (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै फौजदारी कसूरको अनुसन्धानको सिलसिलामा अदालत वा कानून बमोजिम अधिकार प्राप्त निकाय वा अधिकारीलाई कुनै वैयक्तिक तथ्याङ्क वा विवरण उपलब्ध गराउनु पर्ने अवस्था भएमा त्यस्तो तथ्याङ्क वा विवरण उपलब्ध गराउनु पर्नेछ।
(६) उपदफा (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिको उमेर, योग्यता, चरित्र, यौनिकता, अपाङ्गता जस्ता विषयमा प्रश्न उठी अधिकार प्राप्त अधिकारीले माग गरेमा सम्बन्धित व्यक्तिले त्यस्तो विवरण वा कागजात उपलब्ध गराउनु पर्नेछ।

परिच्छेद-७ पत्राचार सम्बन्धी गोपनीयता

१३.  पत्राचारको गोपनीयता हुने: (१) प्रत्येक व्यक्तिलाई निजको चिठ्ठीपत्र, पत्राचार वा विद्युतीय पत्र (इमेल) वा विद्युतीय माध्यमबाट प्रवाह हुने संवाद वा त्यस्तै प्रकृतिका अन्य पत्राचारको गोपनीयता कायम राख्न पाउने अधिकार हुनेछ।

(२) कसैले कुनै पनि व्यक्तिको उपदफा (१) बमोजिमका चिठ्ठीपत्र, पत्राचार वा विद्युतीयपत्र (इमेल) वा विद्युतीय माध्यमबाट प्रवाह हुने संवाद वा त्यस्तै प्रकृतिका अन्य पत्राचार अनधिकृत रूपमा पढ्न, हेर्न, अरु कसैलाई उपलब्ध गराउन, प्रकाशन गर्न, प्रसारण गर्न वा अन्य कुनै किसिमले सार्वजनिक गर्न हुँदैन।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि सम्बन्धित व्यक्तिको मञ्जुरीमा वा कुनै फौजदारी कसूरको अनुसन्धानको सिलसिलामा प्रचलित कानून बमोजिम अधिकार प्राप्त अधिकारीको आदेशले कुनै पनि व्यक्तिको चिठ्ठीपत्र, पत्राचार वा विद्युतीय पत्र (इमेल) वा विद्युतीय माध्यमबाट प्रवाह हुने संवाद वा त्यस्तै प्रकृतिका अन्य पत्राचार उपलब्ध गर्न वा गराउन सकिनेछ।

१४.  चिठ्ठीपत्र खोल्न नहुनेः (१) सम्बन्धित व्यक्तिको मञ्जुरीमा वा कुनै फौजदारी कसूरको अनुसन्धानको सिलसिलामा प्रचलित कानून बमोजिम अधिकार प्राप्त अधिकारीको आदेश भएकोमा बाहेक कसैले पनि कसैको वैयक्तिक चिठ्ठीपत्र अनधिकृत रूपमा खोल्न वा खोल्न लगाउन हुँदैन।

(२) कुनै पनि व्यक्तिले अन्य व्यक्तिको विद्युतीय पत्र (इमेल) खोल्न, हेर्न वा अन्य कसैलाई पठाउन (फरवार्ड गर्न) हुँदैन।

परिच्छेद-८ चरित्र सम्बन्धी गोपनीयता

१५.  चरित्रको गोपनीयता हुने: (१) प्रत्येक व्यक्तिलाई निजको चरित्र, वैयक्तिक आचरण र व्यवहारको गोपनीयता राख्न पाउने अधिकार हुनेछ।

(२) कुनै व्यक्तिको चरित्र, आचरण वा व्यवहारको सम्बन्धमा कुनै प्रश्न उठेमा त्यस सम्बन्धमा छानबिन गरी कानून बमोजिम कारबाही गर्ने क्रममा बाहेक निजको चरित्रको सम्बन्धमा कसैले कुनै टिप्पणी गर्न हुँदैन।

(३) कसैले कुनै पनि व्यक्तिको चरित्रमा आघात पार्ने, निजको बेइज्जती वा अपमान हुने, आत्मसम्मानमा ठेस पुग्ने वा पारिवारिक जीवनमा आँच आउने गरी कुनै पनि प्रकारको काम, कारबाही गर्न वा निजको आचरण वा व्यवहार सम्बन्धी कुनै पनि कुरा सार्वजनिक गर्न वा गराउन हुँदैन।

१६.  तस्विर खिच्न वा बिक्री गर्न नहुनेः (१) कसैले कुनै पनि व्यक्तिको चरित्र वा सामाजिक प्रतिष्ठामा क्षति पुग्ने गरी निजको मञ्जुरीविना निजको तस्विर खिच्न वा निजलाई बदनाम गर्ने नियतले निजको तस्विरसँग अरु कसैको तस्विर राखी जुनसुकै तरिकाले अर्को तस्विर बनाउन वा एक व्यक्तिको तस्विरको केही अंश अर्को व्यक्तिको तस्विरको अर्को अंशसँग मिलाई अर्कै तस्विर बनाउन, प्रकाशन गर्न वा सार्वजनिक गर्न वा गराउन हुँदैन।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कसैले कुनै सार्वजनिक ठाउँ वा कुनै व्यक्तिको तस्वीर खिच्दा त्यस्तो ठाउँमा रहेको अन्य कुनै व्यक्ति समेतको तस्वीर खिचिन गएकोमा त्यसलाई कसूर मानिने छैन।

तर त्यसरी खिचिन गएको तस्वीर समेत उपदफा (१) विपरीत प्रयोग गर्न पाइने छैन।

(३) कसैले कुनै पनि व्यक्तिलाई सताउने, हैरान पार्ने वा निजबाट कुनै अनुचित फाइदा लिने वा तस्विरको व्यापारिक प्रयोग गरी फाइदा लिने नियतले निजको मञ्जुरी नलिई निजको तस्विर प्रकाशन, प्रचार प्रसार, खरिद बिक्री वा सार्वजनिक गर्न वा गराउन हुँदैन।

१७.  अनुसन्धानको सिलसिलामा रहेको व्यक्तिलाई सार्वजनिक गर्न नहुनेः कानून बमोजिम अनुसन्धानको सिलसिलामा रहेको कुनै पनि व्यक्तिलाई लागेको कसूरको सम्बन्धमा सम्बन्धित निकायमा अभियोग पत्र दायर नभएसम्म निजलाई अधिकार प्राप्त अधिकारीले कुनै पनि तरिकाले सार्वजनिक गर्न वा गराउन हुँदैन।

तर त्यस्तो अभियोग लागेको व्यक्तिको नाम र निजलाई लागेको अभियोगको विवरण वा सूचना सार्वजनिक गर्न बाधा पर्ने छैन।

१८.  गोप्य कुरा प्रकट गर्न नहुनेः कसैले आफ्नो व्यावसायिक कामको सिलसिलामा कुनै व्यक्तिबाट कसैको आचरण सम्बन्धी कुनै कुरा जानकारी पाएको भए सम्बन्धित व्यक्तिले मञ्जुरी दिएको वा अधिकार प्राप्त अधिकारीको आदेश भएको अवस्थामा बाहेक निजले त्यस्तो कुरा कसैलाई प्रकट गर्नु हुँदैन।

परिच्छेद-९ विद्युतीय माध्यम र गोपनीयता

१९.  विद्युतीय माध्यमको गोपनीयता हुनेः (१) प्रत्येक व्यक्तिलाई विद्युतीय माध्यममा रहेको निजको कुनै पनि वैयक्तिक सूचना, लिखत, पत्राचार, तथ्याङ्क वा चरित्र सम्बन्धी कुराको गोपनीयता राख्न पाउने अधिकार हुनेछ।

(२) कसैले कुनै पनि व्यक्तिको विद्युतीय माध्यममा रहेको सूचना, जानकारी, पत्राचार अनधिकृत रूपमा प्राप्त गर्न, त्यसको गोपनीयता भङ्ग गर्न वा अनधिकृत रूपमा कसैलाई उपलब्ध गराउन हुँदैन।

(३) कसैले पनि कुनै दुई वा दुईभन्दा बढी व्यक्तिहरूबीचमा विद्युतीय माध्यमबाट भएका कुनै संवाद वा कुराकानी सम्बन्धित व्यक्तिहरूले मञ्जुरी दिएको वा कानून बमोजिम अधिकार प्राप्त अधिकारीले आदेश दिएकोमा बाहेक कुनै यान्त्रिक उपकरणको प्रयोग गरी सुन्न वा त्यस्तो कुराको ध्वनि अङ्कन वा रेकर्ड गर्न वा गराउन हुँदैन।

तर सार्वजनिक रूपमा गरिएको भाषण वा वक्तव्यको हकमा यस उपदफाको व्यवस्था लागू हुने छैन।

(४) उपदफा (२) वा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि सम्बन्धित व्यक्तिको मञ्जुरी वा अधिकार प्राप्त अधिकारीको आदेशले कुनै पनि सूचना, जानकारी वा पत्राचार सुन्न, ध्वनि अङ्कन वा रेकर्ड गर्न वा गराउन सकिनेछ।

(५) विद्युतीय सूचना र तथ्याङ्कको गोपनीयता सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।

२०.  सार्वजनिक स्थलमा सिसिटिभि क्यामेरा जडान गर्ने सम्बन्धमाः (१) कुनै पनि सार्वजनिक स्थलमा सिसिटिभि क्यामेरा जडान गर्न आवश्यक भएमा शौचालय, स्नान गृह वा कपडा फेर्ने कक्ष (चेञ्जिङ रुम) बाहेकका ठाउँमा त्यस्तो क्यामेरा जडान गर्न वा गराउन सकिनेछ।

(२) उपदफा (१) बमोजिम सिसिटिभि क्यामेरा जडान गरेको ठाउँमा सबैले देख्ने र जानकारी पाउने गरी त्यस्तो क्यामेरा जडान गरिएको सूचना दिने व्यवस्था गर्नु पर्नेछ।

(३) कुनै स्थानमा सिसिटिभि क्यामेरा जडान गर्ने सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ।

२१.  निगरानी वा जासुसी गर्न नहुने: कुनै व्यक्तिको आवास वा कुनै कार्यालयको निगरानी वा  जासुसी गर्न वा यस ऐन बमोजिम गोप्य हुने कुनै कुरा प्राप्त गर्ने उद्देश्यले कुनै विद्युतीय माध्यम, फोटोग्राफी वा कुनै तरिका प्रयोग गर्न हुदैन।

२२.  ड्रोन प्रयोग गर्न नहुने: मुलुकको सीमा क्षेत्र वा सार्वजनिक स्थान बाहेक कुनै सार्वजनिक निकाय, पुरातात्विक महत्वको क्षेत्र, सुरक्षा निकायको भवन, संरक्षित क्षेत्र वा खानी तथा खनिजजन्य पदार्थ रहेको क्षेत्र वा कुनै व्यक्तिको आवासमा अधिकार प्राप्त अधिकारी वा त्यस्तो व्यक्तिको अनुमतिविना कुनै किसिमको ड्रोन वा त्यस्तै प्रकृतिको यन्त्र प्रयोग गर्न वा कुनै गोप्य सूचना प्राप्त गर्ने उद्देश्यले कुनै कार्य गर्न हुँदैन।

परिच्छेद-१० वैयक्तिक सूचना सङ्कलन तथा संरक्षण

२३. कानून बमोजिम बाहेक वैयक्तिक सूचना सङ्कलन गर्न नहुने: (१) कानून बमोजिम अधिकार प्राप्त अधिकारी वा त्यस्तो अधिकारीबाट अनुमति प्राप्त व्यक्ति बाहेक अन्य कसैले कुनै पनि व्यक्तिको वैयक्तिक सूचना सङ्कलन, भण्डारण, संरक्षण, विश्लेषण, प्रशोधन वा प्रकाशन गर्न हुँदैन।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै खास विषयमा अध्ययन वा अनुसन्धान गर्ने वा जनमत सङ्कलन गर्ने प्रयोजनका लागि सम्बन्धित व्यक्तिको मञ्जुरी लिई निजले दिएको सूचना सङ्कलन गर्न सकिनेछ।
(३) उपदफा (२) बमोजिम सूचना सङ्कलन गर्दा कुन प्रयोजनको लागि सूचना सङ्कलन गरेको हो सो सम्बन्धमा निजलाई पूर्ण जानकारी नदिई सङ्कलन गर्नु हुँदैन।
स्पष्टीकरण: सर्वसाधारणलाई सम्बोधन गरी आम सञ्चारका माध्यमबाट तथ्याङ्क सङ्कलन गर्ने विषयको सूचना प्रसारण वा सार्वजनिक भएकोमा त्यस्तो सूचनालाई यस दफाको प्रयोजनको लागि जानकारी दिएको मानिनेछ।
(४) उपदफा (२) बमोजिम सूचना सङ्कलन गर्दा देहायका विषय स्पष्ट रूपमा खुलाउनु पर्नेछ:-
(क) सूचना सङ्कलन गर्ने समय,
(ख) सूचनाको विषय वस्तु,
(ग) सूचनाको प्रकृति,
(घ) सूचना सङ्कलनको उद्देश्य,
(ङ) सूचना परीक्षणको विधि र प्रक्रिया,
(च) सङ्कलित सूचनाको गोपनीयता राख्ने विषयको सुनिश्चितता,
(छ) सङ्कलित सूचनाको सुरक्षा लगायतका विषय।
(५) कानून बमोजिम सूचना सङ्कलन गर्न अधिकार प्राप्त अधिकारीले कुनै व्यक्तिको सूचना सङ्कलन गर्दा सम्बन्धित व्यक्तिबाट नै जानकारी लिई सङ्कलन गर्नु पर्नेछ।
(६) उपदफा (५) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको व्यक्तिको तर्फबाट देहायका व्यक्तिले सूचना दिन सक्नेछ:–
(क) अठार वर्ष उमेर नपुगेको वा होस ठेगानमा नरहेको व्यक्तिको हकमा त्यस्तो सूचना दिँदा निजको अहित नहुने भएमा निजको संरक्षक वा माथवर व्यक्ति,
(ख) अन्य व्यक्ति भए निजले अख्तियारी दिएको वारिस वा प्रतिनिधि।
(७) देहायको अवस्थामा बाहेक उपदफा (१) बमोजिम अधिकार प्राप्त अधिकारीले वैयक्तिक सूचना सङ्कलन गर्नु हुँदैन:–
(क) जुन कानून बमोजिमको अख्तियारी प्रयोग गरी त्यस्तो अधिकारीले वैयक्तिक सूचना सङ्कलन गरेको हो सोही कानून बमोजिम निजले सङ्कलन गरेको भएमा,
(ख) प्रचलित कानून बमोजिम त्यस्तो अधिकारीले त्यस्तो सूचना सङ्कलन गर्ने व्यवस्था भएकोमा,
(ग) फौजदारी कसूरको अनुसन्धान, अभियोजन वा अदालती कारबाही वा कानून कार्यान्वयनको सिलसिलामा सङ्कलन गरेको भएमा,
(घ) कुनै सङ्गठित संस्था वा सार्वजनिक निकायले जुन व्यक्तिको सम्बन्धमा सूचना सङ्कलन गरेको हो त्यस्तो व्यक्ति त्यस्तो संस्थाको कुनै पदमा बहाल रहेको वा बहाल रहन लागेको वा त्यस्तो सूचना त्यस्तो संस्था वा निकायको स्वीकृत कार्यक्रम अन्तर्गत रहेकोमा।
(८) वैयक्तिक तथ्याङ्कको सङ्कलन, प्रशोधन, विश्लेषण र उपयोग सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।

२४. वैयक्तिक सूचना नमानिने: प्रचलित कानूनमा अन्यथा व्यवस्था भएकोमा बाहेक सार्वजनिक पद धारण गरेको व्यक्तिको सम्बन्धमा देहायको सूचना निजको वैयक्तिक सूचना मानिने छैन:–
(क) निज कुन सार्वजनिक निकायमा बहाल रहेको पदाधिकारी हो भन्ने विषय,
(ख) निजको पद र सो हैसियतमा सम्पर्क गर्न सकिने कार्यालयको ठेगाना, टेलिफोन नम्बर वा विद्युतीय पत्र (ईमेल) को ठेगाना,
(ग) सार्वजनिक निकायले जारी गरेको वा लेखेको कुनै पत्र वा लिखतमा हस्ताक्षर गर्ने व्यक्तिको नाम र निजको पद,
(घ) निजले सम्पादन गर्ने कामको कार्य विवरण र त्यसको प्रकृति,
(ङ) निजको सेवा शर्त सम्बन्धी विषय।

२५. सङ्कलित सूचनाको संरक्षण: (१) कुनै सार्वजनिक निकायले सङ्कलन गरेको वा त्यस्तो निकायको जिम्मा वा नियन्त्रणमा रहेको वैयक्तिक सूचना त्यस्तो निकायले संरक्षण गर्नु पर्नेछ।
(२) उपदफा (१) को प्रयोजनको लागि सार्वजनिक निकायले वैयक्तिक सूचनामा हुन सक्ने अनधिकृत पहुँच वा त्यस्तो सूचनाको अनधिकृत उपयोग, हेरफेर, खुलासा, प्रकाशन वा प्रसारण विरुद्ध हुन सक्ने जोखिमका विरुद्ध सुरक्षाको उपयुक्त प्रबन्ध गर्नु पर्नेछ।
(३) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि सार्वजनिक निकायले प्रचलित कानून बमोजिम कुनै वैयक्तिक सूचना खुलासा गर्न वा गराउन सक्नेछ।

२६. सहमतिविना वैयक्तिक सूचनाको उपयोग गर्न नहुने: (१) सार्वजनिक निकाय वा सङ्गठित संस्थाले सङ्कलन गरेको वा त्यस्तो निकाय वा संस्थाको जिम्मा वा नियन्त्रणमा रहेको वैयक्तिक सूचना देहायको अवस्थामा बाहेक सम्बन्धित व्यक्तिको सहमतिविना उपयोग गर्न वा कसैलाई दिन हुँदैनः–
(क) जुन प्रयोजनका लागि वैयक्तिक सूचना सङ्कलन गरेको हो सोही प्रयोजनको लागि सार्वजनिक वा वितरण भएकोमा,
(ख) फौजदारी मुद्दाको अनुसन्धान वा अभियोजनको सिलसिलामा त्यस्तो अनुसन्धान वा अभियोजन गर्ने अधिकार प्राप्त अधिकारीबाट लिखित रूपमा माग भएकोमा,
(ग) अदालतमा विचाराधीन रहेको मुद्दाको कारबाहीको सिलसिलामा अदालतबाट आदेश भएकोमा,
(घ) प्रचलित कानून बमोजिम सार्वजनिक पद धारण गरेको व्यक्तिको योग्यता वा अन्य कुनै विषयमा प्रश्न उत्पन्न भई त्यसको निवारण गर्नु परेमा,
(ङ) कुनै खास विषयको प्रश्न उत्पन्न भई सोको निवारण गर्न कुनै खास किसिमको सूचना अधिकार प्राप्त अधिकारीद्वारा लिखित रूपमा माग भएकोमा।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि वैयक्तिक सूचना सङ्कलन वा संरक्षण गर्ने जिम्मेवारी भएको निकायको अधिकार प्राप्त अधिकारीले देहायको अवस्थामा सार्वजनिक प्रयोजनका लागि गरिएको अध्ययन वा अनुसन्धानको प्रयोजनको लागि कुनै वैयक्तिक सूचना सार्वजनिक गर्न वा गराउन सक्नेछ:–
(क) जुन विषयको अनुसन्धान गरिएको हो त्यस्तो विषय वैयक्तिक पहिचानविना पूरा नहुने भएमा,
(ख) जुन विषयको वैयक्तिक सूचना अनुसन्धानको प्रयोजनका लागि दिइएको हो त्यस्तो सूचना दिँदा सम्बन्धित व्यक्तिलाई हानि, नोक्सानी नहुने भएमा,
(ग) सम्बन्धित व्यक्तिले सार्वजनिक प्रयोजनका लागि वैयक्तिक सूचना प्राप्त गर्दाकै बखत वा त्यसपछि जुनसुकै बखत मञ्जुरी दिएको भएमा।
(३) यस दफामा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकार वा प्रदेश सरकारले आधिकारीक रूपमा स्थापना गरेको अभिलेखालयको प्रयोजनको लागि देहायको अवस्थामा वैयक्तिक सूचना प्रदान गर्न सकिनेछ:–
(क) सम्बन्धित व्यक्तिको वैयक्तिक हैसियत, पेशागत वा वैयक्तिक गोपनीयतालाई प्रतिकूल प्रभाव नपार्ने कुनै सूचना भएमा,
(ख) ऐतिहासिक अनुसन्धान वा ऐतिहासिक तथ्य वा सूचना सङ्कलन वा सङ्ग्रहका लागि त्यस्तो सूचना प्रदान भएमा,
(ग) कुनै व्यक्तिको वैयक्तिक सूचना भए त्यस्तो व्यक्तिको मृत्यु भएको तीस वर्ष वा सोभन्दा बढी अवधि व्यतित भइसकेको भएमा,
तर त्यस्तो व्यक्तिको वैयक्तिक सूचना सार्वजनिक गरेको कारणले निजको अपमान हुने वा निजका हकदार वा सन्तानलाई कुनै किसिमले हानि, नोक्सानी वा अपमान हुने भएमा त्यस्तो सूचना प्रदान गर्न सकिने छैन।
(घ) एक सय वर्ष वा सोभन्दा बढी अवधिदेखि त्यस्तो सूचना अभिलेखित हुँदै आएको भएमा।

२७. संवेदनशील सूचना प्रशोधन गर्न नहुने: (१) सार्वजनिक निकायले आफ्नो जिम्मा वा नियन्त्रणमा रहेको कुनै पनि संवेदनशील वैयक्तिक सूचनाको प्रशोधन गर्न वा गराउन हुँदैन।
(२) उपदफा (१) को प्रयोजनका लागि देहायको सूचनालाई सम्बन्धित व्यक्तिको संवेदनशील वैयक्तिक सूचना मानिनेछ:–
(क) निजको जात, जाति वा उत्पत्ति,
(ख) राजनीतिक आवद्धता,
(ग) धार्मिक आस्था वा विश्वास,
(घ) शारीरिक वा मानसिक स्वस्थता वा अवस्था,
(ङ) यौनिक अभिमुखीकरण वा यौन जीवन सम्बन्धी घटना,
(च) सम्पत्ति सम्बन्धी विवरण।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा त्यस्तो सूचनाको प्रशोधन गर्न सकिनेछ:–
(क) सम्बन्धित विषयको इजाजत प्राप्त चिकित्सक वा निजको निर्देशनमा सम्बन्धित व्यक्तिलाई अपमान वा हिनताबोध नहुने गरी स्वास्थ्यकर्मीले सम्बन्धित विषयको रोग निवारण, सार्वजनिक स्वास्थ्य संरक्षण, रोग पहिचान, स्वास्थ्य उपचार, स्वास्थ्य संस्थाको व्यवस्थापन तथा स्वास्थ्य सेवा प्रदान गर्ने सिलसिलामा,
(ख) सम्बन्धित व्यक्तिले नै सूचना सार्वजनिक गरिसकेको भएमा।

२८. सूचना सच्याउन निवेदन दिन सकिने: (१) कुनै सार्वजनिक निकायको जिम्मा, संरक्षण वा नियन्त्रणमा रहेको आफूसँग सम्बन्धित कुनै सूचना गलत भएको वा तथ्यमा आधारित नभएको कुनै व्यक्तिलाई लागेमा निजले जुनसुकै बखत त्यस्तो सूचना सुधार गरी सच्याउन सम्बन्धित सार्वजनिक निकायमा तोकिएको ढाँचामा निवेदन दिन सक्नेछ।
तर त्यस्तो सूचनाको आधारमा निजले कुनै लाभ, फाइदा वा सुविधा लिइसकेको भए त्यसलाई सच्याउन निवेदन दिन सक्ने छैन।
(२) उपदफा (१) बमोजिम निवेदन दिँदा निजले के कस्तो कारणबाट त्यस्तो सूचना गलत भएको वा तथ्यमा आधारित नभएको हो त्यसको विवरण तथा निजले दाबी गरेको तथ्य वा विवरणलाई पुष्टि वा प्रमाणित गर्ने प्रमाण समेत दाखिला गर्नु पर्नेछ।
(३) उपदफा (१) बमोजिम निवेदन परेमा सार्वजनिक निकायले तोकिए बमोजिम छानबिन गरी त्यस्तो सूचनामा सुधार गरी सच्याउनु पर्ने देखिएमा आवश्यक सुधार गरी सच्याउन सक्नेछ।

परिच्छेद-११ कसूर तथा सजाय

२९. कसूर तथा सजाय: (१) कसैले देहायको कुनै काम गरे वा गराएमा यस ऐन अन्तर्गत कसूर गरेको मानिनेछ:–
(क) दफा ३ को उपदफा (१), (२) र (४) विपरीत हुने काम,
(ख) दफा ४ को उपदफा (२) विपरीत हुने काम,
(ग) दफा ५ को उपदफा (१) विपरीत हुने काम,
(घ) दफा ६ विपरीत हुने काम,
(ङ) दफा ७ को उपदफा (२), (३) र (४) विपरीत हुने काम,
(च) दफा ९ विपरीत हुने काम,
(छ) दफा १० को उपदफा (२) र (३) विपरीत हुने काम,
(ज) दफा ११ को उपदफा (३) विपरीत हुने काम,
(झ) दफा १२ को उपदफा (४) विपरीत हुने काम,
(ञ) दफा १३ को उपदफा (२) विपरीत हुने काम,
(ट) दफा १४ विपरीत हुने काम,
(ठ) दफा १५ को उपदफा (२) र (३) विपरीत हुने काम,
(ड) दफा १६ विपरीत हुने काम,
(ढ) दफा १८ विपरीत हुने काम,
(ण) दफा १९ को उपदफा (२) र (३) विपरीत हुने काम,
(त) दफा २१ विपरीत हुने काम,
(थ) दफा २२ विपरीत हुने काम,
(द) दफा २३ को उपदफा (१), (३) र (७) विपरीत हुने काम,
(ध) दफा २६ को उपदफा (१) विपरीत हुने काम,
(न) दफा २७ को उपदफा (१) विपरीत हुने काम।
(२) उपदफा (१) बमोजिमको कसूर बापत तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिबाना वा दुबै सजाय हुनेछ।
(३) उपदफा (१) को खण्ड (ग), (ड), (त), (थ), (द), (ध) वा (न) बमोजिमको कसूर नेपाल सरकारवादी हुनेछ र त्यस्तो कसूर मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ को अनुसूची-१ मा समावेश भएको मानिनेछ।

३०. उजूर गर्न सक्ने: (१) दफा २९ को उपदफा (३) मा उल्लेख भएकोमा बाहेक यस ऐन अन्तर्गतका अन्य कुनै कसूर गरेकोमा सरोकारवाला व्यक्तिले सम्बन्धित जिल्ला अदालतमा उजूर गर्न सक्नेछ।
(२) उपदफा (१) बमोजिम उजूर गर्दा त्यस्तो काम भएको मितिले तीन महिनाभित्र गरिसक्नु पर्नेछ।

३१. क्षतिपूर्तिः (१) यस ऐन अन्तर्गत कुनै कसूर मानिने वा अन्य कुनै काम गरेको कारणबाट कसैलाई कुनै प्रकारको हानि, नोक्सानी हुन गएमा वा क्षति पुग्न गएमा सरोकारवाला वा पीडित व्यक्तिले त्यस्तो हानि, नोक्सानी वा पीडा बापत क्षतिपूर्ति समेत भराई पाउन सम्बन्धित जिल्ला अदालतमा उजूर गर्न सक्नेछ।
(२) उपदफा (१) बमोजिमको उजूरी परेमा सम्बन्धित जिल्ला अदालतले क्षतिपूर्ति भराई दिनु पर्ने देखेमा कसूरदारबाट पीडितलाई मनासिब क्षतिपूर्ति भराइदिनु पर्नेछ।

३२. विभागीय सजाय हुने: सार्वजनिक पद धारण गरेको व्यक्तिले यस ऐन बमोजिम गर्नु पर्ने कार्य नगरेमा वा गर्नु नहुने कार्य गरेमा यस ऐन बमोजिम हुने सजायको अतिरिक्त निजको सेवा शर्त सम्बन्धी प्रचलित कानून बमोजिम विभागीय वा अन्य सजाय हुनेछ।

परिच्छेद-१२ विविध

३३. संरक्षक वा माथवर व्यक्तिको मञ्जुरी लिनु पर्ने: यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐनमा सम्बन्धित व्यक्तिको मञ्जुरीमा सार्वजनिक गर्न वा गोपनीयता खुलासा गर्न सकिने भनी उल्लेख भएका विषयहरू अठार वर्ष उमेर नपुगेको वा मानसिक अवस्था ठीक नभएको वा बौद्धिक अपाङ्गता भएको व्यक्तिसँग सम्बन्धित भएमा त्यस्तो विषय सार्वजनिक गर्दा वा सोसँग सम्बन्धित गोपनीयता खुलासा गर्दा निजको हित हुने भई निजको संरक्षक वा माथवर व्यक्तिले मञ्जुरी दिएको अवस्थामा मात्र सार्वजनिक गर्न वा गोपनीयता खुलासा गर्न सकिनेछ।
३४. बाधा पुर्‍याएको नमानिनेः (१) यस ऐनमा लेखिएको कुनै कुराले उपदफा (२) मा उल्लिखित व्यक्तिका सम्बन्धमा देहाय बमोजिम गर्न बाधा पुर्‍याएको मानिने छैनः-
(क) अदालती कारबाहीको सिलसिलामा कुनै सूचना वा जानकारी प्राप्त गर्न,
(ख) कानून बमोजिम कुनै कसूरको अनुसन्धान वा अभियोजन गर्ने सम्बन्धमा कुनै व्यक्तिगत सूचना वा विवरण प्राप्त गर्न,
(ग) निजको सम्पत्ति सम्बन्धी विवरण प्रचलित कानून बमोजिम सार्वजनिक गर्न,
(घ) निजको शैक्षिक योग्यता, नागरिकता, राहदानी, सवारी चालक अनुमतिपत्र लगायतका पहिचान खुल्ने विवरण सम्बन्धित निकायले सार्वजनिक गर्न,
(ङ) छापाखाना तथा पत्रपत्रिका र राष्ट्रिय प्रसारण सम्बन्धी प्रचलित कानूनले निषेध गरेको कुरा बाहेक सार्वजनिक हित तथा पारदर्शिता कायम गर्ने वा अनुसन्धानमूलक पत्रकारिता गर्ने सिलसिलामा प्राप्त गरेको वा सङ्कलन गरेको कुनै सूचना, जानकारी, तथ्याङ्क, समाचार, तस्वीर व्यक्तिको गोपनियताको आधारभूत मान्यता प्रतिकूल नहुने गरी प्रकाशन वा प्रसारण गर्न वा कुनै किसिमले सार्वजनिक गर्न,
(च) निजले सार्वजनिक रुपमा व्यक्त गरेको मन्तव्य, विचार वा सार्वजनिक रुपमा आयोजित कार्यक्रममा खिचिएको श्रव्यदृश्य तथा तस्वीर प्रकाशन वा प्रसारण गर्न,
(छ) निजको सम्पत्ति तथा खण्ड (घ) बमोजिमको विवरण वा निजले सार्वजनिक रुपमा व्यक्त गरेको मन्तव्य, विचार वा निजको सार्वजनिक कार्यसँग सम्बन्धित विवरणका सम्बन्धमा आधार, कारण वा प्रमाण सहित स्वस्थ टिकाटिप्पणी गर्न।
(२) उपदफा (१) को प्रयोजनको लागि “व्यक्ति” भन्नाले देहायका व्यक्ति सम्झनु पर्छः-
(क) सार्वजनिक पद धारण गरेको व्यक्ति,
(ख) सार्वजनिक पदमा नियुक्ति, मनोनयन वा निर्वाचित हुने औपचारिक प्रकृयामा सामेल भएको वा सो पदमा सिफारिस भएको व्यक्ति,
(ग) सार्वजनिक पदबाट सेवा निवृत्त वा पद मुक्त भएको व्यक्ति,
(घ) सार्वजनिक रुपमा चिनिएको वा सार्वजनिक चासो वा सरोकारमा पर्ने व्यक्ति,
(ङ) सार्वजनिक हित, सदाचार वा नैतिकताको कारणले वा कानून विपरीत भएको वा हुन लागेको कार्यको बारेमा सर्वसाधारण समक्ष सूचना वा जानकारी प्रवाह गराउनु पर्ने देखिएको व्यक्ति।
३५. यस ऐन प्रतिकूल गर्न नहुने: कुनै पनि सार्वजनिक सूचना प्रवाह गर्ने निकायले यस ऐनको प्रतिकूल नहुने गरी सूचना प्रवाह गर्नु पर्नेछ।
३६. नियम बनाउने अधिकार: यो ऐन कार्यान्वयन गर्न नेपाल सरकारले आवश्यक नियमहरू बनाउन सक्नेछ।