Skip to contentSkip to left sidebar Skip to footer

विवाह दर्ता ऐन, २०२८

विवाह दर्ता ऐन, २०२८

लालमोहर र प्रकाशन मिति
२०२८।६।६
संशोधन गर्ने ऐन
१. न्याय प्रशासन ऐन, २०४८ -२०४८।२।१६
प्रमाणीकरण र प्रकाशन मिति
२. लैङ्गिक समानता कायम गर्न केही नेपाल ऐन
संशोधन गर्ने ऐन,  -२०६३ २०६३।७।१७
३. गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून
संशोधन गर्ने ऐन, २०६६ -२०६६।१०।७
४. केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७२ -२०७२।११।१३

२०२८ सालको ऐन नं. १०
………….
विवाह दर्ताको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन
प्रस्तावना : बदलिंदो समाजको आवश्यकता अनुसार दर्ता गरी विवाह हुन सक्ने र विवाहलाई दर्ता गरी कानूनी निश्चितता प्रदान गर्न सकिने गर्न वाञ्छनीय भएकोले,
श्री ५ महाराजाधिराज महेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले यो ऐन बनाइबक्सेकोछ ।

परिच्छेद–१ प्रारम्भिक

१. संक्षिप्त नाम, विस्तार र प्रारम्भ : (१) यस ऐनको नाम “विवाह दर्ता ऐन, २०२८” रहेको छ ।
(२) यो ऐन नेपाल ………. भर र विदेशमा रहे बसेका नेपाली नागरिकलाई पनि लागू हुनेछ ।
(३) यो ऐन सम्बत् २०२८ साल पौष १ गतेदेखि प्रारम्भ हुनेछ ।
२. परिभाषा : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा–
(क) “विवाह अधिकारी” भन्नाले दफा ३ बमोजिम नियुक्त भएको वा तोकिएको अधिकारी सम्झनु पर्छ ।
(ख) “तोकिएको” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको सम्झनु पर्छ ।
३. विवाह अधिकारी : यस ऐनको प्रयोजनको लागि नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी नेपाल …………. को प्रत्येक जिल्लाको लागि वा विदेशी मुलुक, स्थान वा क्षेत्रको लागि एक वा एक भन्दा बढी विवाह अधिकारी नियुक्त गर्न वा तोक्न सक्नेछ ।

परिच्छेद–२ दर्ताद्वारा विवाह

४. विवाह हुन सक्ने अवस्था : प्रचलित नेपाल कानूनले विवाह हुन नसक्ने अवस्थाका बाहेक देहायका पुरुष र महिलाको बीच यस ऐन बमोजिम विवाह हुन सक्नेछ –
(१) पुरुष वा महिलामध्ये कुनैको पति वा पत्नी नभए,
(२) पुरुष वा महिलामध्ये कुनै बहुलाएको नभए, र
(३) पुरुष र महिला दुवैको उमेर बीस वर्ष पूरा भएको ।
५. विवाह गर्ने दर्खास्त : (१) यो एन बमोजिम विवाह गर्न चाहने पुरुष र महिलाले तोकिएको ढाँचामा दरखास्त लेखी विवाह अधिकारी समक्ष कम्तिमा पन्ध्रदिन अगावै पेश गर्नु पर्छ ।
(२) उपदफा (१) बमोजिम दर्खास्त दिनलाई पुरुष वा महिला दुवै वा सो मध्ये कुनै एक जना त्यस्तो दरखास्त दिनु अघि पन्ध्र दिनदेखि सम्बन्धित विवाह अधिकारीको क्षेत्रमा रही बसिआएको हुनु पर्छ ।
६. विवाह दर्खास्त किताब : (१) विवाह अधिकारीले दफा ५ बमोजिम प्राप्त दर्खास्तको व्यहोरा तोकिएको ढाँचाको विवाह दर्खास्त किताबमा चढाई प्राप्त दर्खास्त आफ्नो कार्यालयको अभिलेख (रेकर्ड) मा राख्नु पर्छ । त्यस्तो दर्खास्त किताब निरीक्षण गर्न चाहने जो सुकैलाई निःशुल्क देखाउनु पर्छ ।
(२) विवाह अधिकारीले दफा ५ बमोजिम दर्खास्त प्राप्त भएको सात दिन भित्र विवाह गराउने वा गराउन इन्कार गर्ने कुराको निर्णय गर्नुपर्छ ।
(३) विवाह अधिकारीले प्रस्तावित विवाह प्रचलित नेपाल कानूनको विपरित हुने देखी विवाह गराउन इन्कार गरेमा प्रस्तावित विवाहका कुनै पक्षले सो इन्कारीको तीस दिन भित्र सम्बन्धित जिल्ला अदालतमा पुनरावेदन गर्न सक्नेछ । यस्तोमा जिल्ला अदालतको निर्णय अन्तिम हुनेछ र विवाह अधिकारीले जिल्ला अदालतको निर्णय बमोजिम गर्नेछ ।
७. विदेशस्थित विवाह अधिकारीलाई शङ्का लागेमा अपनाउने कार्यविधि : यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि विदेशस्थित विवाह अधिकारीलाई प्रस्तावित विवाहका सम्बन्धमा कुनै शङ्का लागेमा त्यस्तो अधिकारीले निर्णयका लागि नेपाल सरकारमा पेश गरी नेपाल सरकारको निर्णय बमोजिम गर्नु पर्नेछ । यस्तोमा नेपाल सरकारको निर्णय प्राप्त नभएसम्म विवाह गराइने छैन ।
८. विवाह गर्दाको कार्यविधि : (१) यो ऐन बमोजिम विवाह हुनु अघि विवाहका पक्षलाई तथा कम्तिमा तीन जना साक्षीहरुले तोकिएको ढाँचाको उद्घोषणपत्रमा सहिछाप गरी विवाह अधिकारीलाई दिनु पर्छ र विवाह अधिकारीले पनि त्यसमा सहिछाप गर्नु पर्छ ।
(२) धर्म, जाति वा कूलको रीतिथिति, परम्परा वा चलन व्यवहार अनुसार विवाहको कुनै विधि अपनाएको वा अपनाउने भए पनि वा नभए पनि यो ऐनबमोजिम विवाह भएको मान्य हुनलाई विवाहका पक्षहरुले विवाह अधिकारी र उद्घाोषणपत्रमा सही गर्ने साक्षीहरुको उपस्थितिमा एक अर्कालाई देहायबमोजिम सम्बोेधन गर्नु पर्नेछ :–
म……तपाई÷तिमी…..लाई मेरो÷मेरा कानून बमोजिम पति÷पत्नीको रुपमा वरण÷ग्रहण गर्दछु ।
९. म्यादभित्र विवाह गर्नु पर्ने : दफा ६ बमोजिम विवाह गराउने निर्णय भएको वा दफा ७ बमोजिम निर्णयको लागि नेपाल सरकारमा पेश गरिएकोमा अन्तिम टुङ्गो लागेको मितिले तीन महीनाभित्र विवाह गरी सक्नु पर्छ र सो म्याद भित्र विवाह सम्पन्न नगरेमा पुन अर्को दर्खास्त दिनु पर्नेछ ।
१०. विवाहको दर्ता : (१) दफा ८ बमोजिम विवाह भएपछि विवाह अधिकारीले तोकिएको ढाँचाको विवाह दर्ता किताबमा व्यहोरा खुलाई दर्ता गर्नु पर्छ र सो दर्ता व्यहोरामा विवाहका पक्षहरु र साक्षीहरु तथा विवाह अधिकारीले सहिछाप गर्नु पर्छ ।
(२) त्यस्तो दर्ता यो ऐन बमोजिम विवाह भएको तथ्यको प्रमाण हुनेछ ।
(३) त्यस्तो दर्ता भएपछि विवाह अधिकारीले तोकिदिएको ढाँचामा विवाहका पक्षहरुलाई विवाहको प्रमाण–पत्र दिनेछ ।

परिच्छेद–३ अरु विवाहको दर्ता

११. अरु विवाहको दर्ता : (१) यो ऐन प्रारम्भ भएपछि धर्म, जाति वा कुलको रीतिथिति परम्परा वा चलन व्यवहार अनुसार भएको विवाह वा वैवाहिक सम्बन्ध यो ऐनको विपरित नहुने भएमा यस ऐन अन्तर्गत दर्ता गर्न सकिनेछ ।
(२) उपदफा (१) बमोजिम विवाह दर्ता गराउन चाहने दम्पतिले तोकिएको ढाँचामा दर्खास्त लेखी सो दर्खास्त दिनु अघि पन्ध्र दिनदेखि रही बसिआएको क्षेत्रको विवाह अधिकारी समक्ष पेश गर्नु पर्छ ।
(३) उपदफा (२) बमोजिम पेश हुन आएको दर्खास्तका सम्बन्धमा दफा ६ र ७ बमोजिमका कुराहरु लागू हुनेछ ।
(४) उपदफा (३) बमोजिम कारवाई भएपछि त्यस्तो विवाह वा वैवाहिक सम्बन्ध दर्ता गर्ने ठहरेमा विवाह अधिकारीले तोकिएको ढाँचाको विवाह दर्ता किताबमा व्यहोरा खुलाई दर्ता गर्नु पर्छ र सो दर्ताको व्यहोरामा दम्पति र साक्षीहरु तथा विवाह अधिकारीले सहिछाप गर्नुपर्छ ।
(५) उपदफा (४) बमोजिम विवाह दर्ता गर्दा विवाह भएको वा वैवाहिक सम्बन्ध कायम भएको मितिको उल्लेख गरिनेछ र सो मितिपछि जाय जन्म भएका सन्तानको नाम, उमेर र लिङ्ग पनि दर्ता किताबमा जनाइनेछ ।
(६) उपदफा (४) बमोजिम भएको दर्ता परस्पर विवाह भएको तथ्यको प्रमाण हुनेछ ।
(७) त्यस्तो दर्ता भएपछि विवाह अधिकारीले तोकिएको ढाँचामा सो दम्पतिलाई विवाह प्रमाणपत्र दिनेछ ।

परिच्छेद–४ विविध

१२. बचाउ : यस ऐनमा लेखिएको कुनै कुराले प्रचलित कानूनको विपरीत नहुने गरी रीतिथिति, परम्परा वा चलन व्यवहार अनुसार भएको वा हुुने कुनै विवाहको वैधतालाई प्रतिकूल असर पारेको मानिने छैन ।
१३. विवाह अधिकारीले गैर कानूनी काम गरेमा सजाय हुने : यो ऐनको विपरीत हुने गरी जानाजानी विवाह गराए वा विवाह दर्ता गरेमा वा यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको कार्यविधि पालन नगरी विवाह गराएमा वा विवाह दर्ता गरेमा विवाह अधिकारीलाई ६ महीनासम्म कैद वा एक हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुनेछ ।
१४. झुठ्ठा व्यहोरा उद्घोषण गर्ने वा लेखी दिनेलाई वा त्यस्तोमा साक्षी बस्नेलाई सजाय : विवाह नभएकोमा विवाह भएको हो भनी वा अन्य कुनै किसिमको झुठ्ठा व्यहोरा जानी जानी उद्घोषन गर्ने वा लेखी दिने व्यक्तिलाई वा त्यस्तोमा सहिछाप गरिदिने साक्षीलाई तीन महीनासम्म कैद वा पाँचसय रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।
१५. भूलसुधार गर्ने : विवाह अधिकारीले यो ऐन बमोजिम विवाह दर्ता किताबमा जनिएको कुराको कुनै किसिमको भूलसुधार गर्न आवश्यक देखेमा सम्बन्धित विवाहका पक्षहरु वा निजहरु जीवित नभएमा वा अनुपस्थित रहे अरु कुनै दुईजना पत्यारलायक साक्षीहरुको सामुन्नेमा मूल दर्तालाई कुनै केरमेट नगरी दर्ताको छेउपट्टी भूलसुधार गरी आफ्नो र सो पक्षहरुको वा साक्षीहरुको पनि सहीछाप गर्नु गराउनु पर्दछ ।
१६. नियम बनाउने अधिकार : (१) यो ऐनको उद्दश्य पूर्तिको लागि नेपाल सरकारले नियम बनाउन सक्नेछ ।
(२) उपदफा (१) ले दिएको अधिकारको सर्वसामान्यतामा कुनै प्रतिकूल प्रभाव नपर्ने गरी खास गरी देहायका विषयहरुमा नियम बनाउन सकिनेछः–
(क) विवाह अधिकारीको नियुक्ति वा अधिकार, काम, कर्र्तव्य र क्षेत्र तोक्ने सम्बन्धमा,
(ख) यस ऐन अन्तर्गत आवश्यक दर्खास्त, दर्ता किताब, प्रमाणपत्रको ढाँचा र सो भर्ने तरीका, र
(ग) दर्खास्त, प्रमाणपत्र तथा अन्य कागजातहरुको नक्कल दिने तथा दस्तुर तोक्ने सम्बन्धमा ।