३. समितिको स्थापना- (१) बिरुवा तथा बिरुवाजन्य उपजको क्वारेन्टाइन नीतिका सम्बन्धमा नेपाल सरकारलाई राय, सुझाब दिन एक प्लाण्ट क्वारेन्टाइन समिति रहनेछ ।
(२) उपदफा (१) बमोजिमको समितिमा देहाय बमोजिमका अध्यक्ष तथा सदस्य रहनेछन् ः–
(क) सचिव, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय -अध्यक्ष
(ख) सहसचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय (विश्व व्यापार सङ्गठन हेर्ने) – सदस्य
(ग) सहसचिव, वन तथा वातावरण मन्त्रालय -सदस्य
(घ) महानिर्देशक, भन्सार विभाग – सदस्य
(ङ) कार्यकारी निर्देशक, नेपाल कृषि अनुसन्धान परिषद् – सदस्य
(च) प्रतिनिधि, नेपाल उद्योग वाणिज्य महासङ्घ – सदस्य
(छ) नेपाल सरकारले मनोनीत गरेका एकजना महिला सहित
दुईजना विषेशज्ञ – सदस्य
(ज) विषयगत अनुभव भएका कृषक मध्ये नेपाल सरकारले मनोनयन
गरेका कम्तीमा एकजना महिला सहित तीनजना व्यक्ति – सदस्य
(झ) प्रमुख, राष्ट्रिय बिरुवा संरक्षण सङ्गठन – सदस्य
(ञ) प्रमुख, राष्ट्रिय प्लाण्ट क्वारेन्टाइन कार्यक्रम – सदस्य–सचिव
(३) उपदफा २ को खण्ड (छ) र (ज) बमोजिमका सदस्यको पदावधि तीन वर्षको हुनेछ ।
४. समितिको बैठक – (१) समितिको बैठक अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ ।
(२) समितिको बैठकको अध्यक्षता अध्यक्षले गर्नेछ र निजको अनुपस्थितिमा बैठकमा उपस्थित समितिका सदस्यहरुले आपूmमध्येबाट छानेको सदस्यले बैठकको अध्यक्षता गर्नेछ ।
(३) समितिको बैठकमा कुल सदस्य संख्याको एकाउन्न प्रतिशत सदस्य उपस्थित भएमा गणपूरक संख्या पूरा भएको मानिनेछ ।
(४) समितिको बैठकमा बहुमतको राय समितिको निर्णय मानिनेछ र मत बराबर भएमा अध्यक्षले निर्णायक मत दिनेछ ।
(५) समितिको निर्णय सदस्य–सचिवद्वारा प्रमाणित गरिनेछ ।
(६) समितिको बैठक सम्बन्धी अन्य कार्यविधि समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ ।
५. समितिको काम, कर्तव्य र अधिकार – समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ
(क) प्लाण्ट क्वारेन्टाइन सम्बन्धी राष्ट्रिय नीति तर्जुमा गर्न नेपाल सरकारलाई परामर्श प्रदान गर्ने,
(ख) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमावली बमोजिम बिरुवा, बिरुवाजन्य उपज वा अन्य नियन्त्रित वस्तुहरुको पैठारी, निकासी, निरीक्षण तथा परीक्षण गर्दा लाग्ने शुल्कको पुनरावलोकन गर्ने,
(ग) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमावली बमोजिम बिरुवा, बिरुवाजन्य उपज वा अन्य नियन्त्रित वस्तुहरु पैठारी, निकासी गर्ने कार्यमा संलग्न निजी क्षेत्र तथा सरकारी निकायहरु बीच समन्वय कायम गर्ने,
(घ) नियमित शत्रुजीवहरुको सूची तयार गर्ने र आवश्यकता अनुसार त्यसमा हेरफेर गर्ने,
(ङ) देशमा विद्यमान प्लाण्ट क्वारेन्टाइनसँग सम्बन्धित विशेषज्ञहरुको नाम सहितको सूची राख्ने,
(च) पैठारी वा निकासी गरिने बिरुवा वा बिरुवाजन्य उपजको स्वस्थता सम्बन्धी मापदण्ड स्वीकृत गर्ने,
(छ) तोकिए बमोजिमका अन्य कार्य गर्ने ।
६. राष्ट्रिय बिरुवा संरक्षण सङ्गठन तोक्न सक्ने – (१) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी बिरुवा संरक्षणसँग सम्बन्धित केन्द्रीय स्तरको कुनै कार्यालयलार्ई राष्ट्रिय बिरुवा संरक्षण सङ्गठनको रुपमा तोक्न सक्नेछ ।
(२) यस ऐनमा अन्यत्र उल्लिखित काम, कर्तव्य र अधिकारका अतिरिक्त सङ्गठनको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः–
(क) पैठारी वा निकासी गरिने बिरुवा वा बिरुवाजन्य उपजको स्वस्थता सम्बन्धी मापदण्ड तयार गरी स्वीकृतिको लागि समिति समक्ष पेश गर्ने,
(ख) बिरुवा, बिरुवाजन्य उपज, बायोलोजिकल कण्ट्रोल एजेण्ट, लाभदायक कीरा र अन्य वस्तुको परीक्षण, जाँच, निरीक्षण र उपचार सम्बन्धी निर्देशिका तयार गरी लागू गर्ने,
(ग) संकटोत्पन्न क्षेत्रको पहिचान गरी क्वारेन्टाइन प्रक्रियाबाट सो क्षेत्रमा बिरुवा तथा बिरुवाजन्य उपजको संरक्षण गर्ने गराउने,
(घ) शत्रुजीव मुक्त क्षेत्र एवं कम शत्रुजीव सङ्क्रमित क्षेत्र पहिचान गरी त्यस्ता क्षेत्रको घोषणा तथा निगरानी गर्ने,
(ङ) बिरुवा तथा बिरुवाजन्य उपज, बायोलोजिकल कण्ट्रोल एजेण्ट, लाभदायक कीराको ओसार पसार र प्रयोग सम्बन्धी शर्त तथा बन्देज तोक्ने,
(च) बिरुवा तथा बिरुवाजन्य उपज, लाभदायक कीरा, बायोलोजिकल कण्ट्रोल एजेण्ट वा अन्य वस्तु सम्बन्धी कामको राष्ट्रिय समन्वयकर्ताको रुपमा काम गर्ने,
(छ) पैठारी वा निकासी गरिने बिरुवा वा बिरुवाजन्य उपजको स्वस्थता सम्बन्धी स्वीकृत मापदण्ड लागू गर्ने, गराउने,
(ज) अन्य राष्ट्रहरुको बिरुवा स्वस्थता सम्बन्धी निकायसँग समन्वय गरी एक अर्काको प्रवेश अनुमतिपत्र तथा स्वस्थता प्रमाणपत्रलाई मान्यता दिने सम्बन्धमा समझदारी गर्ने,
(झ) तोकिए बमोजिमको अन्य काम गर्ने ।