Skip to contentSkip to left sidebar Skip to footer

विमा ऐन, २०४९

विमा ऐन, २०४९

लालमोहर र प्रकाशन मिति
२०४९।९।२
संशोधन गर्ने ऐन
१. विमा (पहिलो संशोधन) ऐन,२०५२               २०५२।९।२०
२. विमा (दोस्रो संशोधन) ऐन,२०५८                 २०५८।१०।१०
प्रमाणीकरण र प्रकाशन मिति
३. लैङ्गिक समानता कायम गर्न केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०६३              २०६३।७।१७
४. गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानुन संशोधन गर्ने ऐन, २०६६               २०६६।१०।७
५. लैङ्गिक समानता कायम गर्न तथा लैङ्गिक हिंसा अन्त्य गर्न केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७२       २०७२।६।१४
६. केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७२               २०७२।११।१३
२०४९ सालको ऐन नं. ४२
…………
विमा व्यवसायलाई व्यवस्थित तथा नियमित गर्न बनेको ऐन
प्रस्तावना : विमा व्यवसायलाई व्यवस्थित, नियमित, विकसित तथा नियन्त्रित गर्नको लागि विमा समितिकोस्थापना गर्न वान्छनीय भएकोले,
श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालको एक्काइसौं वर्षमा संसदले यो ऐन बनाएको छ ।

परिच्छेद – १ प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भः (१) यस ऐनको नाम “विमा ऐन, २०४९” रहेको छ ।
(२) यो ऐन नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकेको मितिदेखि प्रारम्भ हुनेछ ।
२. परिभाषाः विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमाः–
(क) ‘‘समिति’’ भन्नाले दफा ३ बमोजिम गठन भएको विमा समिति सम्झनु पर्छ ।
(ख) ‘‘अध्यक्ष’’ भन्नाले समितिको अध्यक्ष सम्झनु पर्छ ।
(ग) ‘‘सदस्य’’ भन्नाले समितिको सदस्य सम्झनु पर्छ र सो शव्दले समितिको अध्यक्षलाई समेत जनाउंछ ।
(घ) ‘‘बीमक’’ भन्नाले दफा १० बमोजिम दर्ता भएको संगठित संस्था सम्झनु पर्छ र सो शव्दले पुनर्बीमकलाई समेत जनाउँछ ।
(ङ) ‘‘विमा व्यवसाय’’ भन्नाले जीवन विमा व्यवसाय वा निर्जीवन विमा व्यवसाय संझनु पर्छ र सो शव्दले पुनर्बीमालाई समेत जनाउँछ ।
(च) जीवन विमा व्यवसाय भन्नाले कुनै व्यक्तिको जीवन संबन्धमा निजको आयुको आधारमा किस्ताबन्दी बुझाउने गरी कुनै खास रकम तिरेमा निजले वा निजको मृत्यु भएको अवस्थामा निजको हकवालाले कुनै खास रकम पाउने गरी गरिने करार संबन्धी व्यवसाय संझनु पर्छ ।
(छ) ‘‘निर्जीवन विमा व्यवसाय’’ भन्नाले जीवन विमा व्यवसाय बाहेक अन्य विमा व्यवसाय सम्झनु पर्छ ।
(ज) ‘‘पुनर्बीमा व्यवसाय’’ भन्नाले बीमकले जोखिम धारण गर्ने अंश भन्दा बढी अंशको पुनः विमा गर्ने व्यवसाय सम्झनु पर्छ ।
(झ) ‘‘विमा लेख’’ भन्नाले विमाको करारनामा संबन्धी अधिकार तथा दायित्व उल्लेख भएको लिखत सम्झनु पर्छ ।
(ञ)     ‘‘विमांङ्की’’ भन्नाले विमा व्यवसायमा भएको दायित्वको निर्धारण तथा गणना गर्नको लागि बीमकद्वारा नियुक्त गरिएको तोकिए बमोजिमको योग्यता भएको व्यक्ति सम्झनु पर्छ ।
(ट) ‘‘बीमित’’ भन्नाले जीवन विमा तथा निर्जीवन विमा गराउने व्यक्ति वा संस्था सम्झनु पर्छ ।
(ठ) ‘‘विमा अभिकर्ता’’ भन्नाले बीमकको तलबी कर्मचारी नभई कमिशनको आधारमा बीमकको तर्पबाट काम गर्ने दफा ३० बमोजिम इजाजतपत्र प्राप्त व्यक्ति सम्झनु पर्छ ।
(ड) ‘‘सर्भेयर’’ भन्नाले क्षतिग्रस्त संपत्तिको आर्थिक मूल्यांकन गर्ने दफा ३०क बमोजिम इजाजत प्राप्त व्यक्ति सम्झनु पर्छ र सो शव्दले एडजस्टर र नोक्सानी मूल्यांकन गर्नेलाई समेत जनाउंछ ।
(ड१) ‘‘दलाल’’ भन्नाले विमा व्यवसाय संबन्धमा बीमक बीमक बीच माध्यमको रुपमा काम गर्न दफा ३०ख बमोजिम इजाजतपत्र प्राप्त व्यक्ति सम्झनु पर्छ ।
(ढ) ‘‘लेखा परिक्षक’’ भन्नाले प्रचलित कानून बमोजिम लेखा परीक्षण गर्न प्रमाणपत्र प्राप्त लेखा परिक्षक सम्झनु पर्छ ।
(ण) ‘‘आर्थिक वर्ष’’ भन्नाले प्रत्येक वर्षको श्रावण महिनाको १ गतेदेखि आषाढ महिनाको मसान्तसम्मको अवधि सम्झनु पर्छ ।
(त) ‘‘तोकिएको’’ वा ‘‘तोकिए बमोजिम’’ भन्नाले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा विनियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।

परिच्छेद – २ समितिको गठन र व्यवस्था

३. समितिको गठनः (१) विमा व्यवसायलाई व्यवस्थित, नियमित, विकसित तथा नियन्त्रित गर्नको लागि विमा समितिको गठन
गरिनेछ ।
(२) उपदफा (१) बमोजिमको समितिमा देहायका सदस्यहरु रहने छन्ः–
(क) नेपाल सरकारले नियुक्त गरेको वा तोकेको व्यक्ति –अध्यक्ष
(ख) प्रतिनिधि, कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय –सदस्य
(ग) प्रतिनिधि, अर्थ मन्त्रालय–सदस्य
(घ) विमा व्यवसायमा विशेष ज्ञान भएका व्यक्तिहरु मध्येबाट  नेपाल सरकारले मनोनित गरेको एक जना व्यक्ति–सदस्य
(ङ) बीमितहरु मध्येबाट नेपाल सरकारले मनोनीत गरेको एकजना व्यक्ति – सदस्य
(३) समितिले तोकेको कुनै कर्मचारीले समितिको सचिवको काम गर्नेछ ।
(४) नेपाल सरकारले आवश्यक ठानेमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी समितिको सदस्यहरु हेरफेर गर्न सक्नेछ ।
(५) समितिले आवश्यक देखेमा कुनै स्वदेशी वा विदेशी विशेषज्ञलाई पर्यवेक्षकको रुपमा समितिको बैठकमा उपस्थित हुन आमन्त्रित गर्न सक्नेछ ।
(६) समितिका मनोनित सदस्यहरुको पदावधि चार वर्षको हुनेछ । पदावधि समाप्त भएपछि निजहरु दुई पटकसम्म पुनः मनोनित हुन सक्नेछन् ।
(७) समितिको प्रधान कार्यालय काठमाण्डौ उपत्यकामा रहनेछ ।
४. समिति स्वशासित संस्था हुनेः
(१) समिति अविच्छिन्न उत्तराधिकारवाला एक स्वशासित र संगठित संस्था हुनेछ ।
(२) समितिको काम कारवाहीको निमित्त आफ्नो एउटा छुटै छाप हुनेछ ।
(३) समितिले व्यक्ति सरह चल–अचल संपत्ति प्राप्त गर्न, बेचबिखन गर्न वा अन्य किसिमले व्यवस्था गर्न सक्नेछ ।
(४) समितिले व्यक्ति सरह आफ्नो नामबाट नालिस उजूर गर्न र समिति उपर पनि सोहीनामबाट नालिस उजूर लाग्न सक्नेछ ।
५. समितिको बैठक र निर्णयः (१) समितिको बैठक अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ ।
(२) समितिको बैठक तीन महिनामा दुई पटकमा नघटाई वर्षको कम्तीमा आठ पटक बस्नेछ ।
(३) समितिको बैठकको अध्यक्षता अध्यक्षले गर्नेछ र निजको अनुपस्थितिमा सदस्यहरुले आपूमध्येबाट छानेको व्यक्तिले बैठकको अध्यक्षता गर्नेछ ।
(४) समितिको कुल सदस्य संख्याको पचास प्रतिशत सदस्यहरु उपस्थित भएमा समितिको बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ ।
(५) समितिको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकमा अध्यक्षता गर्ने व्यक्तिले निर्णयक मत दिन सक्नेछ ।
(६) समितिको निर्णय सचिवद्वारा प्रमाणित गरिनेछ ।
(७) समितिको बैठक सम्बन्धी अन्य कार्यविधि समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ ।
६. अध्यक्षको सेवा, शर्त तथा सुविधा संबन्धी व्यवस्थाः
(१) विमा व्यवसायमा विशेष ज्ञान भएको कुनै व्यक्तिलाई नेपाल सरकारले अध्यक्षको पदमा नियुक्त गर्न वा तोक्न सक्नेछ ।
(२) अध्यक्ष समितिको मुख्य प्रशासकीय अधिकारी हुनेछ र समितिका निर्णयहरु कार्यान्वयन गर्ने तथा समितिको काम कारवाहीको रेखदेख तथा नियन्त्रण गर्ने सम्पूर्ण अधिकार तथा कर्तव्य अध्यक्षको हुनेछ ।
(३) अध्यक्षको पदावधि चार वर्षको हुनेछ र निजलाई पुनः नियुक्त गर्न वा तोक्न  सकिनेछ ।
(४) अध्यक्षको सेवा, शर्त तथा सुविधा सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।
७. समितिका कर्मचारीः
(१) समितिको कार्य संचालनको निमित्त समितिले आवश्यक कर्मचारी तोकिए बमोजिम नियुक्त गर्न सक्नेछ ।
(२) समितिका कर्मचारीहरुको पारिश्रमिक, सेवाको शर्त तथा सुविधा सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।

परिच्छेद – ३ समितिको काम, कत्र्तव्य र अधिकार

८. समितिको काम, कत्र्तव्य र अधिकारः समितिको काम, कत्र्तव्य र अधिकार देहाय  बमोजिम हुनेछः–
(क) विमा व्यवसायलाई व्यवस्थित, नियमित, विकसित तथा नियन्त्रित गर्नको लागि नीति निर्धारण गर्न नेपाल सरकारलाई आवश्यक सुझाव दिने,
(ख) विमाबाट प्राप्त हुन आएको रकम लगानी गर्नको लागि नीति निर्धारण गरी प्राथमिकता क्षेत्र तोक्ने,
(ग) बीमक, विमा अभिकर्ता, सर्भेयर वा दलालको दर्ता र नविकरण गर्ने तथा दर्ता खारेज गर्ने, गराउने,
(घ) बीमक तथा बीमित बीचको वाद विवादमा मध्यस्थता गर्ने,
(घ१) विमा दायित्व निर्धारणका सम्बन्धमा बीमक विरुद्ध बीमितले दिएको उजूरी उपर निर्णय गर्ने ।
(घ२) विमा व्यवसायका सम्बन्धमा बीमकलाई समय–समयमा आवश्यक निर्देशन दिने।
(ङ) बीमितको हित रक्षाको निम्ति आवश्यक आधार तर्जुमा गर्ने, र
(च) विमा व्यवसायसंग सम्बन्धित अन्य आवश्यक कार्य गर्ने, गराउने ।
९. उपसमिति गठन गर्न सक्नेः
(१) समितिले आफ्नो कार्य सुचारु रुपले संचालन गर्नको लागि आवश्यकतानुसार उपसमिति गठन गर्न सक्नेछ ।
(२) उपसमितिको काम, कत्र्तव्य, अधिकार तथा बैठक सम्बन्धी कार्यविधी समितिले तोकिदिए  बमोजिम हुनेछ ।

परिच्छेद – ४ बीमकको दर्ता, दर्ता खारेज तथा दायित्व

१०. बीमकको दर्ताः
(१) यस ऐन बमोजिम प्रमाणपत्र नलिई कसैले पनि विमा व्यवसाय गर्नु   गराउनु हुँदैन ।
(२) विमा व्यवसाय गर्न चाहने स्वदेशी तथा विदेशी संगठित संस्थाले समितिको  कार्यालयमा बीमकको रुपमा आफ्नो नाम दर्ता गर्न तोकिएको ढांचामा देहायका कागजात संलग्न राखी तोकिएको दस्तूर सहित निवेदन दिनु पर्नेछ ।
(क) आफ्नो संगठित संस्थाको प्रबन्धपत्र तथा नियमावली,
(ख) आपूले गर्न लागेको विमा व्यवसाय, त्यसका नीति र शर्तहरु,
(ग) जीवन विमा व्यवसाय गर्ने भए सो व्यवसाय गर्दा लिइने रकम र दायित्वको हिसाब देखाइएको लिखत,
(घ) विमा बापत प्राप्त हुन आएको रकम उपभोग गर्ने तरिका बारेको लिखत, र
(ङ) समितिले तोकिदिएका अन्य आवश्यक कागजातहरु ।
(३) उपदफा (२) बमोजिमको निवेदन प्राप्त भएपछि समितिले उक्त निवेदन उपर आवश्यक जाँचबुझ गरी निवेदकसंग कुनै कुरा बुझ्नु पर्ने भए सो कुरा समेत बुझी निवेदकको नाउँ तोकिएको दर्ता किताबमा दर्ता गरी निवेदकले गर्न पाउने विमा व्यवसायका किसिम समेत उल्लेख गरी निवेदकलाई तोकिए बमोजिमको ढाँचामा बीमकको प्रमाणपत्र दिनु पर्नेछ र दर्ता गर्न नहुने मनासिब कारण भएमा त्यसको जानकारी समितिले सम्बन्धित निवेदकलाई दिनु पर्नेछ ।
(४) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिए भए तापनि जीवन विमाको हकमा समितिले समय–समयमा विमा व्यवसाय संचालन गर्ने सम्बन्धमा निर्धारण गरेका मापदण्डहरु पुरा गरेको आधारमा नेपाल सरकारको स्वीकृति लिएर व्यवसाय संचालन गर्नको लागि प्रमाणपत्र दिनेछ ।
११. बीमकको दर्ताको नवीकरणः
(१) बीमकले आफ्नो दर्ताको प्रमाणपत्रको नवीकरणको लागि प्रत्येक वर्ष चैत्र मसान्तसम्ममा तोकिएको दस्तूर सहित तोकिएको ढांचामा समितिको कार्यालयमा निवेदन दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको निवेदन प्राप्त भएपछि समितिले दर्ताको प्रमाणपत्र नवीकरण गरी दिनु पर्नेछ ।
(३) उपदफा (१) बमोजिमको म्याद भित्र कुनै बीमकले आफ्नो दर्ताको प्रमाण पत्र नवीकरणको लागि निवेदन दिन नसकेको कारण खुलाई म्याद समाप्त भएको मितिले तीस दिन भित्र समिति समक्ष निवेदन दिएमा र समितिले सो कारण मनासिब देखेमा त्यस्तो बीमकको दर्ताको प्रमाण पत्र नवीकरण गरी दिन सक्नेछ ।
११क बीमकको दर्ताको प्रमाण पत्र नवीकरण हुन नसक्ने अवस्थाः
(१) दफा ११ मा जुनसुकै कुरा लेखिएको भएता पनि देहायको कुनै अवस्थामा समितिले बीमकको दर्ताको प्रमाण पत्र नवीकरण गर्ने छैनः–
(क) दफा २३ बमोजिम वासलात पेश नगरेमा,
(ख) दफा २४ बमोजिम आम्दानीको हिसाब पेश नगरेमा,
(ग) दफा २५ बमोजिम लेखा परीक्षणको प्रतिवेदन पेश नगरेमा,
(घ) दफा २६ बमोजिम विमाङ्कीको प्रतिवेदन पेश नगरेमा,
(ङ) दफा ४० बमोजिम विमा सेवा शुल्क नबुझाएमा,
(च) दफा १२क बमोजिम विमा व्यवसाय गर्न रोक लगाइएकोमा
(२) उपदफा (१) बमोजिमको कुनै अवस्था परी बीमकको दर्ताको प्रमाण पत्र नवीकरण हुन नसक्ने स्थिति सृजना भएमा समितिले बीमकलाई सो कुराको सूचना त्यस्तो स्थिति सृजना भएको पन्ध्र दिन भित्र दिनु पर्नेछ ।
(३) बीमकले दफा २३, २४, २५, २६ र ४० बमोजिम आपूmले पुरा गर्नु पर्ने दायित्व समयमा पुरा गर्न नसकेको मनासिब माफिकको कारण खुलाई उपदफा (२) बमोजिमको सूचना प्राप्त भएको मितिले पन्ध्र दिन भित्र समिति समक्ष निवेदन दिएमा समितिले कारण मनासिब देखेमा त्यस्तो दायित्व पूरा गर्न बढीमा एक महिनासम्मको म्याद थप दिन सक्नेछ ।
१२. दर्ता हुन नसक्नेः दफा १० मा जुनसुकै कुरा लेखिएको भएतापनि कुनै स्वदेशी तथा विदेशी संगठित संस्था देहायको अवस्थामा बीमकको रुपमा दर्ता हुन सक्ने छैनः–
(क) समितिको कार्यालयमा दर्ता भइसकेको बीमकको नामसंग मिल्ने–गरी अर्को  बीमकको नाम दर्ता गर्न आएमा, र
(क१) जीवन विमा तथा निर्जीवन विमा व्यवसाय संचालन गर्ने गरी दर्ता गर्न आएमा,
तर यस अघि दर्ता भई जीवन विमा तथा निर्जीवन विमा व्यवसाय संचालन गर्दै आएका बीमकले समितिले तोकेको मितिदेखि तोकिए बमोजिम जीवन विमा तथा निर्जीवन विमा व्यवसाय गर्ने अलग–अलग संस्थाको रुपमा कार्य गर्नु पर्नेछ ।
(ख) जीवन विमा व्यवसायका लागि कम्तीमा पच्चीस करोड रुपैंया र निर्जीवन विमा व्यवसायका लागि कम्तीमा दश करोड रुपैंया चुक्ता पूँजी नभएमा ।
(ग) विमा व्यवसायको बजार संबन्धी अध्ययन, अनुसन्धान तथा मूल्यांकन प्रतिवेदनको आधारमा समितिले विमा व्यवसाय संचालन गर्न थप संगठित संस्थालाई बीमकको रुपमा दर्ता गर्न रोक लगाउने निर्णय गरेको अवस्थामा ।
१२क. विमा व्यवसायमा रोक लगाउन सकिनेः–
(१) देहायका कुनै अवस्थामा समितिले बीमकले गर्दै आएका विमा व्यवसाय अन्तर्गतको कुनैपनि किसिमको व्यवसायलाई पुर्ण वा आंशिक रुपमा रोक लगाउन वा रद्द गर्न सक्नेछः–
(क) विमा व्यवसाय संचालन गर्दा बीमकले अपनाउनु पर्ने प्रकृया संबन्धमा समितिले समय समयमा दिएको निर्देशन उल्लंघन गरेमा,
(ख) बीमकले दफा १४ को विपरित हुने गरी आपनो संचालक वा निजको परिवार वा निज मेनेजिङ्ग एजेण्ट भएको वा हिस्सेदार भएको कुनै पनि संगठित संस्थालाई ऋण दिएमा वा कसैले ऋण दिंदा कुनै किसिमको जमानत वा सुरक्षण दिएमा,
(ग) बीमकले दफा १५ बमोजिम समितिलाई दिनु पर्ने सूचना नदिएमा ।
(घ) बीमकले दफा १९ बमोजिम राख्नु पर्ने हिसाब किताबको श्रेस्ता रीतपूर्वक नराखेमा,
(ङ) बीमकले दफा २० बमोजिम बेग्लै राख्नु पर्ने हिसाब किताब बेग्लै नराखेमा,
(च) बीमकले दफा २१ बमोजिम राख्नु पर्ने कोष नराखेमा वा एउटा व्यवसायको निमित्त राखिएको कोषबाट अर्को विमा व्यवसाय संबन्धी दायित्व व्यहोरेमा,
(छ) बीमकले दफा २२ बमोजिम राख्नु पर्ने अनिवार्य जगेडा कोष नराखेमा,
(ज) बीमकले दफा २७ बमोजिम विमा शुल्क रकम प्राप्त नगरी विमा जोखिम स्वीकार गरेमा ।
(झ) बीमकले दफा २८ बमोजिम पुनर्बीमा नगराएमा ।
(२) उपदफा (१) बमोजिम समितिले बीमकको विमा व्यवसायमा रोक लगाउनु अघि संबन्धित बीमकलाई विमा व्यवसायमा रोक लगाउनु परेको कारण खोली स्पष्टीकरण पेश गर्ने मनासिब समय दिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिमको समयभित्र संबन्धित बीमकले स्पष्टीकरण पेश नगरेमा वा गरे पनि निजले पेश गरेको स्पष्टीकरण सन्तोषजनक नदेखिएमा समितिले उपदफा  (१) बमोजिम त्यस्तो बीमकको विमा व्यवसायमा रोक लगाई सोको सूचना नेपाल बाट प्रकाशित हुने दुई मुख्य पत्र पत्रिकामा सर्वसाधारणको जानकारीको लागि प्रकाशित गर्नु पर्नेछ ।
(४) उपदफा (३) बमोजिम कुनै बीमकको विमा व्यवसायमा रोक लगाइएको समयावधिमा सो बीमकले आपू उपर पर्न आएको क्षतिपूर्तिको दाबीको भुक्तानी तोकिए बमोजिम गर्नु पर्नेछ ।
(५) यस दफा बमोजिम कुनै बीमकको विमा व्यवसायमा रोक लगाइएकोमा त्यस्तो विमा व्यवसायमा रोक लगाई रहनु पर्ने अवस्था विद्यमान नरहेको भनी तोकिएको समय भित्र बीमकले पेश गरेको प्रमाण सन्तोषजनक देखिएमा समितिले तोकिए बमोजिम जरिवाना गरी विमा व्यवसायमा लगाइएको रोक फुकुवा गर्न सक्नेछ ।
१३. बीमकको दर्ता खारेज गर्न सकिनेः
(१) समितिले देहायको अवस्थामा बीमकलाई लिखित सूचना दिई सोही सूचनामा तोकिएको मितिदेखि लागु हुने गरी बीमकको दर्ता खारेज गर्न सक्नेछः–
(क) प्रमाणपत्र पाएको मितिले ६ महिनाभित्र विमा व्यवसाय शुरु नगरेमा,
(ख) बीमकको दायित्व निजको नेपाल ………… भित्र रहेको सम्पत्ति भन्दा बढी छ भन्ने लागेमा ।
(ग) नेपाल ……….. भित्र जारी गरिएको विमालेख अन्तरगत मुद्दा परी अदालतबाट अन्तिम किनारा भएको तीन महिनासम्म पनि बीमकले फैसला बमोजिमको दायित्व पूरा नगरेमा,
(घ) विमा व्यवसायको प्रधान कार्यालय नेपाल बाहिर हुने विदेशी बीमकले सो मुलुकको प्रचलित कानून बमोजिम निजले पाए सरहको सुविधा नेपाली बीमकले सो मुलुकमा पाएको छैन भन्ने लागेमा,
(ङ) नेपाल भित्र बीमकले आफ्नो कार्यालय नखोलेमा,
(च) बीमकले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम गर्नु पर्ने कुनेै काम नगरेमा वा नगर्नु पर्ने कुनै काम गरेमा ।
(२) उपदफा (१) बमोजिम बीमकको दर्ता खारेज गर्नु अघि समितिले संबन्धित बीमकलाई दर्ता खारेज गर्नु परेको कारण खोली स्पष्टीकरण पेश गर्न मनासिब समय दिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिमको समय भित्र संबन्धित बीमकले स्पष्टीकरण पेश नगरेमा वा गरेपनि निजले पेश गरेको स्पष्टीकरण सन्तोषजनक नदेखिएमा समितिले उपदफा (१) बमोजिम त्यस्तो बीमकको दर्ता खारेज गरी सोको सूचना नेपाल ………. बाट प्रकाशित हुने दुई मुख्य पत्रपत्रिकामा सर्वसाधारणको जानकारीको लागि प्रकाशित गर्नु पर्नेछ ।
(४) यस दफा बमोजिम कुनै बीमकको दर्ता खारेज भएको कारणले मात्र त्यस्तो दर्ता खारेज हुनु पूर्व भए गरेको कुनै काम कारवाईको संबन्धमा निजको हक र दायित्वमा कुनै असर पर्ने छैन ।
१४. संचालकलाई ऋण, जमानत तथा सुरक्षण दिन नहुनेः  कुनै पनि बीमकले आफ्नो  संचालक वा निजका परिवार वा निज मेनेजिङ्ग एजेण्ट भएको वा हिस्सेदार भएको कुनै पनि संगठित संस्थालाई ऋण दिन वा कसैले ऋण दिंदा कुनै किसिमको जमानत वा सुरक्षण दिन हुँदैन ।
तर बीमकले जारी गरेको विमालेखको सरेण्डर भ्यालुसम्म दिएको ऋण बारे यो दफा लागू हुने छैन ।
१५. सूचना दिनु पर्नेः बीमकले आफ्नो संचालक वा निजको परिवार वा निज मेनेजिङ्ग एजेण्ट भएको वा हिस्सेदार भएको कुनै पनि संगठित संस्थासंग विमा व्यवसायको कुनै कारोबार गरेमा निजले त्यसको सूचना पैंतिस दिनभित्र समितिलाई दिनु पर्नेछ ।
१६. बीमकको खारेजी पश्चात विमाको दावी भुक्तानीः दफा १३ बमोजिम दर्ता खारेजीको कारणले विघटन भएका बीमकले विमा बापत प्राप्त गरेको रकम समितिले तोकेको अवधि भित्र र तरिका बमोजिम जीवन विमाको सम्बन्धमा समितिले तोकिदिए बमोजिमको बोनस सहित साँवा र निर्जीवन विमाको सम्बन्धमा दामासाहीले समितिले तोकेको साँवा रकम विमा लिने व्यक्ति संस्था वा समितिलाई फिर्ता गर्नु पर्नेछ ।
१७. बीमक जवाफदेही हुनेः (१) बीमक, बीमकको कर्मचारी, विमा अभिकर्ता वा सर्भेयरले विमालेख लिनेहरुको हकहित विरुद्ध कुनै काम गरी नोक्सान पुयाएमा त्यसको क्षतिपूर्ति बीमकले बुझाउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम बीमकले क्षतिपूर्ति नबुझाएमा  वा विमा दावी क्षतिपूर्ति सम्बन्धमा तोकिएको अवधि भित्र दायित्व निर्धारण नगरेमा वा मर्का पर्ने गरी दायित्व निर्धारण गरेमा बीमितले समितिमा तोकिए बमोजिम उजूरी गर्न सक्नेछ ।
(३) उपदफा (२) बमोजिम उजूरी परेमा समितिले उक्त उजूरी उपर आवश्यक छानबीन गरी संबन्धित बीमकलाई सो उजूरी उपर सफाई पेश गर्न मनासिब मौका दिनेछ ।
(४) उपदफा (३) बमोजिम बीमकले पेश गरेको सफाई मनासिब देखिएमा समितिले त्यस्तो उजूरी कारण खोली खारेज गर्न सक्नेछ र सफाई मनासिब नदेखिएमा समितिले मनासिब क्षतिपूर्ति उजूरवालालाई दिने निर्णय गर्नेछ ।
(५) उपदफा (४) बमोजिम उजूरवालाले क्षतिपूर्ति पाउने गरी समितिबाट निर्णय भएमा बीमकले त्यस्तो क्षतिपूर्तिको रकम सम्बन्धित बीमितलाई ……….. दिनु पर्नेछ ।
(६) उपदफा (४) बमोजिम निवेदकले क्षतिपूर्ति पाउने गरी समितिबाट भएको निर्णय विरुद्ध पुनरावेदन परी समितिको निर्णय सदर भएमा शुरु निर्णय भएको मितिदेखि मुद्दाको अन्तिम किनारा भएको मितिसम्मको क्षतिपूर्ति रकममा तोकिए बमोजिमको दरले हुन आउने व्याज रकम समेत थप गरी सम्बन्धित बीमकले बीमितलाई अविलम्ब भुक्तानी दिनु पर्नेछ ।
१८. लिक्विडेटरको नियुक्तिः कुनै बीमक दफा १३ बमोजिम दर्ता खारेजीको कारणले विघटन भएमा नेपाल सरकारले लिक्विडेटरको नियुक्ति गर्न सक्नेछ । त्यसरी नियुक्त भएको लिक्विडेटरको  काम, कत्र्तव्य र अधिकार कम्पनी ऐन, २०६३ अन्तर्गतको सरकारी लिक्विडेटर सरह हुनेछ ।
१९. बीमकको हिसाब किताब र लेखाः
(१) बीमकले आफ्नो हिसाब किताबको श्रेस्ता रीतपूर्वक राख्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम राखिएको श्रेस्तामा बीमकको काम कारवाहीको वास्तविक स्थिति यथार्थ थाहा हुने गरी बीमकको प्रत्येक आम्दानी खर्चको विवरण तथा बीमकको जायज्यथा र दायित्वको विस्तृत विवरण स्पष्ट रुपमा उल्लेख गरिएको हुनु पर्नेछ ।
२०. बेग्लै हिसाब राख्नु पर्नेः
(१) कुनै बीमकले विमा व्यवसायको साथसाथै अन्य कुनै व्यवसाय गरेमा त्यस्तो बीमकले विमा व्यवसाय संबन्धी हिसाब किताब बेग्लै राख्नु पर्नेछ ।
(२) एकभन्दा बढी विमा व्यवसाय गर्ने बीमकले प्रत्येक विमा व्यवसायको हिसाब किताब छुटृाछुटृ रुपमा स्पष्ट पारी राख्नु पर्नेछ ।
२१. विमा कोष :
(१) बीमकले प्रत्येक विमा व्यवसायको छुटृाछुटृ कोष राख्नु पर्नेछ र विमा व्यवसायबाट प्राप्त रकम सम्बन्धित कोषमा जम्मा
गर्नु पर्नेछ ।
(२) एउटा विमा व्यवसायको निमित्त राखिएको कोषबाट अर्को विमा व्यवसाय सम्बन्धी दायित्व व्यहोर्न पाइने छैन ।
२२. अनिवार्य जगेडा कोषः प्रत्येक बीमकले नेपाल ………… भित्रको आफ्नो विमा व्यवसाय संबन्धी दायित्वको निमित्त समितिले तोके बमोजिमको जगेडा कोष राख्नु पर्नेछ ।
२३. वासलात पेश गर्नु पर्नेः
(१) बीमकले प्रत्येक आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र विमा व्यवसाय सम्बन्धी आफ्नो सम्पूर्ण कारोबारको वासलात तथा नाफा नोक्सानीको हिसाब प्रकाशित गरी सोको एक प्रति समितिमा पेश गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको म्याद भित्र कुनै बीमकले पेश गर्नु पर्ने वासलात र नाफा  नोक्सानीको हिसाब समितिमा पेश गर्न नसकेको मनासिब कारण देखाई म्याद थपको लागि निवेदन दिएमा समितिले एक महिनासम्मको म्याद थप गरिदिन सक्नेछ ।
२४. आम्दानीको हिसाब पेश गर्नु पर्नेः
(१) बीमकले प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले छ महिनाभित्र समितिले तोकेको ढांचामा नेपाल ………… भित्र विमा व्यवसायबाट भएको आम्दानीको हिसाब छुटृा छुटृ रुपमा तयार गरी समितिमा पेश गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको म्याद भित्र कुनै बीमकले आम्दानीको हिसाब पेश गर्न नसकेको मनासिब कारण देखाई म्याद थपको लागि निवेदन दिएमा समितिले एक महीनासम्मको म्याद थप गरिदिन सक्नेछ ।
२५. लेखा परिक्षणः (१) बीमकले आपूले गरेका विमा व्यवसायको हिसाब किताबको लेखा परिक्षण प्रचलित कानून बमोजिम मान्यता प्राप्त लेखा परिक्षकद्वारा गराई सो को प्रतिवेदन प्रत्येक आर्थिक बर्ष समाप्त भएको मितिले दश महिनाभित्र समिति समक्ष पेश गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको प्रतिवेदनमा लेखा परिक्षण गर्दा कैफियत तलब गरिएका  (बेरुजू तथा अनियमितता) कुरा र सो बारेको व्यवस्थापन तर्पmको स्पष्टीकरण समेत उल्लेख भएको हुनु  पर्नेछ ।
२६. विमाङ्कीद्वारा मूल्यांकन गराउनेः जीवन विमा व्यवसाय गर्ने बीमकले प्रत्येक तीनवर्षमा एक पटक आफ्नो आर्थिक स्थितिको लेखा जोखा र दायित्वको मूल्यांकन विमाङ्कीद्वारा गराउनु पर्नेछ । सो संबन्धमा विमाङ्कीले पेश गरेको प्रतिवेदनको एक प्रति बीमकले समितिमा पेश गर्नु पर्नेछ ।
२७. विमा शुल्क जोखिम ग्रहण गर्नु भन्दा अगाडी भुक्तानी हुनु पर्नेः कुनै पनि बीमकले कुनै पनि किसिमको विमा व्यवसाय गर्दा लिइने विमा बापतको शुल्क रकम प्राप्त नभएसम्म विमा जोखिम स्वीकार गर्नु हुदैन । बीमकले जोखिम ग्रहण गरे बापत विमा शुल्क रकम प्राप्त गरेपछि मात्र विमा गरेको मानिनेछ ।
  तर कुनै कारणवश एकमुष्ट रकम बुझाउन व्यवहारिक कठिनाई परी बाँकी रकम भुक्तानी गर्ने संबन्धमा अवधि किटान गरी बैंक वा नेपाल सरकारको जमानतमा विमा लेख जारी गर्न यस दफाले कुनै बन्देज लगाएको मानिने छैन ।
२८. पुनर्बीमा गराउनु पर्नेः बीमकले आफूले धारण गर्ने जोखिम धारण गरी बांकी रहेको जोखिमको पुनर्बीमा समितिले तोके बमोजिम गराउनु पर्नेछ ।
२९. कानूनी प्रतिनिधी राख्नु पर्नेः बीमकले नेपाल ………… भित्रको आफ्नो मुख्य कार्यालयमा एकजना कानूनी प्रतिनिधि राख्नु पर्नेछ ।

परिच्छेद – ५ विमा अभिकर्ता, सर्भेयर र दलाल संबन्धी व्यवस्था

३०. विमा अभिकर्ताको दर्ताः (१) विमा अभिकर्ताको रुपमा काम गर्न चाहने तोकिए बमोजिमको योग्यता पुगेको व्यक्तिले संबन्धित बीमकको सिफारिस सहित समितिमा निवेदन दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको निवेदन प्राप्त भएपछि समितिले उक्त निवेदन उपर आवश्यक जाँचबुझ गर्दा इजाजत पत्र दिन हुने देखिएमा निवेदकलाई तोकिएको दस्तूर लिई तोकिए बमोजिमको ढाँचामा विमा अभिकर्ताको इजाजत पत्र दिनु पर्नेछ र इजाजत पत्र दिनु नपर्ने कुनै कारण भएमा त्यसको जानकारी समितिले संबन्धित निवेदकलाई दिनु पर्नेछ ।
३०क. सर्भेयरको दर्ताः (१) सर्भेयरको रुपमा काम गर्न चाहने तोकिए बमोजिमको योग्यता पुगेको व्यक्तिले तोकिए बमोजिम समितिमा निवेदन दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिमको निवेदन प्राप्त भएपछि समितिले उक्त निवेदन उपर आवश्यक जाँचबुझ गर्दा इजाजतपत्र दिन हुने देखिएमा तोकिए बमोजिम दस्तूर लिई तोकिए बमोजिमको ढांचामा निवेदकलाई सर्भेयरको इजाजतपत्र दिनु पर्नेछ र इजाजतपत्र दिनु नपर्ने कुनै कारण भएमा त्यस्को जानकारी निवेदकलाई दिनु पर्नेछ ।
३०ख. दलालको दर्ताः (१) दलालको रुपमा काम गर्न चाहने तोकिए बमोजिमको योग्यता पुगेको व्यक्तिले तोकिए बमोजिम समितिमा निवेदन दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको निवेदन प्राप्त भएपछि समितिले उक्त निवेदन उपर जाँचबुझ गर्दा इजाजत पत्र दिन हुने देखिएमा तोकिए बमोजिम दस्तूर लिई तोकिए बमोजिमको ढांचामा निवेदकलाई दलालको इजाजत पत्र दिनु पर्नेछ र इजाजत पत्र दिनु नपर्ने कुनै कारण भएमा त्यसको जानकारी समितिले निवेदकलाई दिनु पर्नेछ ।
३१. इजाजत पत्रको अवधि र नवीकरणः (१) विमा अभिकर्ता, सर्भेयर वा दलालले आफ«नो इजाजत पत्र नवीकरणको लागि प्रत्येक वर्ष चैत्र मसान्तसम्ममा तोकिएको दस्तूर सहित तोकिएको ढांचामा समितिको कार्यालयमा निवेदन दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको निवेदन प्राप्त भएपछि समितिले विमा अभिकर्ता, सर्भेयर वा दलालको इजाजत पत्रको नवीकरण गरिदिनु पर्नेछ ।
(३) उपदफा (१) बमोजिमको म्याद भित्र कुनै विमा अभिकर्ता सर्भेयर वा दलालले आफनो इजाजत पत्र नवीकरणको लागि निवेदन दिन नसकेको कारण खुलाई निवेदन दिएमा र सो कारण मनासिब देखेमा समितिले तोकिए बमोजिम थप दस्तूर लिई बढीमा छ महिनाको म्याद थप गरिदिन सक्नेछ ।
३२. विमा अभिकर्ता, सर्भेयर र दलालको अयोग्यताः देहायका अवस्थामा कुनैपनि व्यक्ति विमा अभिकर्ता, सर्भेयर वा दलाल हुन सक्ने छैनः
(क) सोह्र वर्ष उमेर नपुगेको,
(ख) मानसिक स्थिति ठिक नभएको,
(ग) साहुको ऋण तिर्न नसकी दामासाहीमा परेको,
(घ) कुनै प्रकारको चोरी गरेको, ठगी गरेको वा आफ्नो जिम्मामा रहेको धनमाल अनधिकृत तवरले मासेको वा दुरुपयोग गरेको अभियोगमा अदालतबाट कसूरदार ठहरी सजाय पाएको, वा
(ङ) विमा व्यवसाय संबन्धी काम गर्दा बीमक वा विमा लेख लिनेको विरुद्ध हानि नोक्सानी हुने कुनै काम गरेको ।
३३. इजाजत पत्र खारेज हुनेः (१) कुनै विमा अभिकर्ता, सर्भेयर वा दलाल ले दफा ३१ बमोजिम आफनो इजाजत पत्र नवीकरण नगराएमा, विमालेख लिनेको हक हित विरुद्ध वा यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम विपरित कुनै काम गरेको छ भन्ने कुरामा समिति विश्वस्त भएमा समितिले त्यस्ता विमा अभिकर्ता, सर्भेयर वा दलालको इजाजत पत्र खारेज गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम इजाजत पत्र खारेज गर्नु पूर्व समितिले निजलाई लगाइएको आरोप उपर स्पष्टीकरण पेश गर्न मनासिब समय दिनु पर्नेछ ।

परिच्छेद – ६ कोष र लेखा परिक्षण

३४. समितिको कोषः– समितिको एउटा छुटै कोष हुनेछ र सो कोषमा देहायका रकमहरु रहनेछन्ः
(क) नेपाल सरकारबाट प्राप्त रकम
(ख) कुनै विदेशी सरकार वा अन्तर्राष्ट्रिय संघ संस्थाबाट प्राप्त रकम,
(ग) बीमक, विमा अभिकर्ता वा सर्भेयरको नाम दर्ता नवीकरण दस्तूर आदिबाट प्राप्तरकम,
(घ) सेवा शुल्कबाट प्राप्त रकम,
(ङ) अन्य कुनै श्रोतबाट प्राप्त रकम ।
३४क. समितिको खर्च कोषबाट व्यहोरिनेः समितिको तर्पmबाट गरिने संपूर्ण खर्चहरु दफा  ३४ बमोजिमको समितिको कोषमा जम्मा रहेको रकमबाट व्यहोरिनेछ ।
३५. लेखा र लेखा परिक्षणः
(१) समितिले आफ्नो आर्थिक कारोबारको हिसाब, किताबको लेखा दुरुस्त राख्नु पर्नेछ । त्यस्तो लेखामा अन्य कुराको अतिरिक्त समितिको काम कारवाहीको बास्तविक स्थिति स्पष्ट हुने गरी आर्थिक कारोबार, प्रत्येक आम्दानी खर्चको विवरण, मालसामानहरुको खरिद, बिक्री र समितिको जायजेथा तथा दायित्वको बिस्तृत विवरण खोलिएको हुनु पर्नेछ ।
(२) समितिको लेखा परिक्षण महालेखा परिक्षकको विभागबाट हुनेछ ।
(३) नेपाल सरकारले चाहेमा समितिको हिसाब किताब संबन्धी कागजात र अरु नगदी जिन्सी समेत जुनसुकै बखत जाँच्न, जँचाउन सक्नेछ ।

परिच्छेद – ७   विविध

३६. दण्ड सजायः
(१) कुनै बीमक वा बीमकको संचालक, कर्मचारी वा सर्भेयर, दलाल वा विमा अभिकर्ताले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा आदेश वा निर्देशनको जानीजानी उल्लङघन गरेमा वा आफूले गर्नु पर्ने कुनै काम कारवाही नगरेमा वा गर्न नहुने काम कारवाही गरेमा त्यस्तो बीमक वा संचालक, कर्मचारी वा सर्भेयर, दलाल वा विमा अभिकर्तालाई समितिले तीन हजारदेखि दश हजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ र त्यस्तो कसूर पटक पटक गरेमा प्रत्येक पटकको लागि निजलाई पाँचसय रुपियाँका दरले थप जरिवाना हुनेछ ।
(२) कुनै बीमक वा विमा अभिकर्ता वा दलालले यस ऐन बमोजिम पुयाउनु पर्ने रित नपुयाई विमा व्यवसाय गरेमा समितिले दश हजार रुपैयाँसम्म जरिवाना गर्न  सक्नेछ ।
(३) कसैले जानीजानी वा बदनियत साथ यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम राख्नु, बनाउनु, तयार गर्नु वा पेश गर्नु पर्ने हिसाब, किताब, खाता, विवरण सूचना वा अन्य कुनै कागजात सो राख्नु, बनाउनु, तयार गर्नु वा पेश गर्नु पर्ने समयमा नराखेमा, नबनाएमा, तयार नगरेमा, पेश नगरेमा वा झुठा विवरण वा कागजात बनाएमा वा पेश गरेमा निजलाई तीसहजार रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म केद वा दुवै सजाय हुन सक्नेछ ।
३७. पुनरावेदनः यस ऐन बमोजिम समितिले गरेको निर्णय उपर चित्त नबुझ्ने व्यक्ति वा संगठित संस्थाले सो निर्णय भएको पंैतीस दिन भित्र सम्बन्धित उच्च अदालतमा पुनरावेदन दिन सक्नेछ ।
३८. इच्छाइएको व्यक्तिले पाउनेः–
(१) कुनै जीवन बीमा लेखको अवधि समाप्त हुनु अगावै सो बीमा लेख लिने व्यक्तिको मृत्यु भएमा बीमा लेख अनुसारको रमक निजले विमा लेखमा इच्छाइएको व्यक्तिले पाउनेछ । निजले कसैलाई इच्छाएको नभएमा वा इच्छाएको व्यक्तिको पनि इच्छाउने व्यक्तिको मृत्यु हुनु भन्दा पहिले नै मृत्यु भैसकेको रहेछ भने सो रकम अपुताली सम्बन्धी प्रचलित कानून बमोजिमको हकवालाले पाउनेछ ।
(२) उपदफा (१) बमोजिम इच्छाइएको व्यक्तिको मृत्यृ भएमा वा इच्छाएको व्यक्ति बदल्न चाहेमा विमा लेख लिनेले अर्को व्यक्तिलाई इच्छाउन संबन्धित बीमक कहाँ लेखिपठाउनु पर्नेछ । बीमकले पनि विमा लेख लिनेको अनुरोध बमोजिम इच्छाएको व्यक्ति राखि त्यसको लिखित सूचना संबन्धित विमा लेख लिनेलाई दिनु पर्नेछ ।
३९. सोधपुछ तथा जाँचबुझ गर्न सकिनेः (१) समितिले विमा लेख लिनेको हितको लागि वा अन्य कुनै मनासिब कारणले आवश्यकता अनुसार कुनै बीमक वा विमा अभिकर्ता वा सर्भेयर वा दलाल वा बीमित लगायत अन्य सबै सम्बन्धित व्यक्ति वा संस्थासंग विमा व्यवसायका संबन्धमा र बीमकले अन्य कुनै व्यवसाय पनि गरेको भए सो संबन्धमा समेत सोधपुछ वा जाँचबुझ गर्न वा गराउन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम सोधपुछ वा जाँचबुझ हुँदा मागिएको हिसाब किताब स्याहा श्रेस्ता र अन्य कागजपत्र, सूचना र सोधेको कुराको जवाफ दिई सहयोग गर्नु बीमक, बीमकको बहाल रहेको वा नरहेको सबै कर्मचारी र विमा अभिकर्ता, सर्भेयर, दलाल, बिमित तथा अन्य सबै संबन्धित व्यक्ति वा संस्थाको कत्र्तव्य हुनेछ ।
(३) उपदफा (१) बमोजिम सोधपुछ वा जाँचबुझ गराउंदा लागेको खर्च संबन्धित बीमकले व्यहोर्नु पर्नेछ ।
३९क. बीमकको लेखापरीक्षण सम्बन्धी विशेष व्यवस्थाः
(१) बीमकले ऐनको दफा २५ को समयावधिभित्र लेखापरीक्षणको प्रतिवेदन समिति समक्ष पेश नगरेमा वा त्यस्तो प्रतिवेदनबाट विमा व्यवसायमा अनियमितता भएको पुष्टि हुने मनासिब आधार भएमा वा बीमकले गरेको विमा व्यवसायको हिसाब किताबमा अनियमितता भएको छ भनी समिति समक्ष उजूरी परेमा समितिले बीमकको विमा व्यवसायको लेखापरीक्षण वा पुनः लेखा परीक्षण गर्न वा गराउन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम लेखापरीक्षण वा पुनः लेखापरीक्षण गर्दा गराउँदा लागेको सम्पूर्ण खर्च बीमक स्वयंले व्यहोर्नु पर्नेछ ।
४०. विमा सेवा शुल्कः
(१) समितिले बीमक तथा विमा अभिकर्ताहरुलाई आवश्यक एवं उपयुक्त सेवा उपलव्ध गराउनेछ ।
(२) उपदफा (१) बमोजिम समितिले उपलव्ध गराएको सेवा प्राप्त गर्न प्रत्येक बीमकले प्रत्येक आर्थिक वर्षमा नेपाल ………… भित्र आफुले विमा व्यवसायबाट आम्दानी गरेको कुल विमा शुल्कको एक प्रतिशतका दरले हुन आउने रकम समितिले तोकिदिए बमोजिम समितिलाई बुझाउनु पर्नेछ ।
४१. विमा दर सल्लाहकार समितिः
(१) नेपाल सरकारले विमा व्यवसायको विमा दर कायम गर्ने संबन्धमा समितिलाई आवश्यक सल्लाह तथा सुझाव प्रदान गर्नका लागि देहायका सदस्यहरु रहेको एक विमा दर सल्लाहकार समिति गठन गर्नेछः–
(क) अध्यक्ष, विमा समिति –अध्यक्ष
 (ख) बीमकका प्रमुखहरु मध्येबाट नेपाल सरकारले मनोनीत गरेको तीनजना –सदस्य
(ग) सचिव, विमा समिति –सदस्य–सचिव
(२) सल्लाहकार समितिको बैठक संबन्धी कार्यविधि समिति आफैंले निर्धारण गरे बमोजिम हुनेछ ।
(३) सल्लाहकार समितिको काम, कत्र्तव्य तथा अधिकार तोकिए बमोजिम हुनेछ ।
४१क. बीमक बाहेक अन्य कसैसंग विमा व्यवसाय संबन्धी कारोबार गर्न नहुनेः– यस ऐन बमोजिम दर्ताको प्रमाणपत्र प्राप्त बीमक बाहेक अन्य कुनै व्यक्ति वा संस्थासंग नेपाल ………… भित्र रहेका कुनै पनि व्यक्ति वा संस्थाले विमा व्यवसाय सम्बन्धी कारोवार गर्नु हुदैन ।
४१ख. दायित्व भुक्तानी गर्ने प्राथमिकता क्रमः– कुनै बीमक दफा १३ बमोजिमको दर्ता खारेजीको कारणले बिघटन भएमा निम्नलिखित प्राथमिकताको आधारमा दायित्वको भुक्तानी गर्नु पर्नेछः–
(क) विघटन गर्दा लागेको खर्च,
(ख) दफा १६ बमोजिम बीमितलाई दिनु पर्ने विमाको दावी भुक्तानी रकम,
(ग) बीमकका कर्मचारीले पाउनु पर्ने पारिश्रमिक तथा अन्य बाँकी रकम,
(घ) ऋण रकम,
(ङ) समितिलाई तिर्नु पर्ने रकम,
(च) नेपाल सरकारलाई तिर्नुपर्ने रकम ।
४२. वार्षिक प्रतिवेदनः (१) समितिले आफुले गरेको काम कारवाहीको वार्षिक प्रतिवेदन नेपाल सरकार,अर्थ मन्त्रालय समक्ष पेश
गर्नु पर्नेछ ।
(२) उपदफा (१) वमोजिम पेश गरिएको प्रतिवेदनको सारांश समितिले स्थानीय पत्रपत्रिकामा समेत प्रकाशित गर्नुपर्नेछ ।
४३. अधिकार प्रत्यायोजनः समितिले आफ्नो अधिकार आवश्यकतानुसार अध्यक्ष, सदस्य, उपसमिति वा समितिको कुनै कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।
४४. नेपाल सरकारले निर्देशन दिन सक्नेः नेपाल सरकारले विमा व्यवसायको हित  र सम्बद्र्धनको निमित्त समितिलाई आवश्यक निर्देशन दिन सक्नेछ र त्यस्तो निर्देशनको पालना गर्नु समितिको कत्र्तव्य हुनेछ ।
४५. नेपाल सरकारसँग सम्पर्कः समितिले नेपाल सरकारसंग सम्पर्क राख्दा अर्थ मन्त्रालय मार्फत राख्नु पर्नेछ ।
४६. प्रचलित कानून बमोजिम हुनेः यस ऐनमा लेखिएको जतिमा यसै ऐन बमोजिम र अन्यमा प्रचलित कानून बमोजिम हुनेछ ।
४७. नियम तथा विनियम बनाउने अधिकारः  (१) यस ऐनको उदेश्य कार्यान्वयन गर्न नेपाल सरकारले आवश्यक नियमहरु बनाउन सक्नेछ ।
(२) यस ऐनको अधिनमा रही समितिले नेपाल सरकारको स्वीकृति लिई आवश्यक विनियम बनाउन सक्नेछ ।
४८. खारेजी र बचाउः (१) विमा ऐन, २०२५ खारेज गरिएको छ ।
(२) यो ऐन लागु हुनु अघि भए गरेका काम कारवाहीहरु यसै ऐन बमोजिम भए गरेका मानिने छन् ।