Skip to contentSkip to left sidebar Skip to footer

लागू औषध (नियन्त्रण) ऐन, २०३३

प्रस्तावना :

सर्वसाधारण जनताको सदाचार, स्वास्थ्य, सुविधा र आर्थिक हित कायम राख्नको लागि लागू औषधको खेती, उत्पादन, निर्माण, खरीद–बिक्री, सञ्चय, ओसारपसार, सेवन तथा निकासी पैठारी समेतमा नियन्त्रण गर्न वाञ्छनीय भएकोले,
श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले यो ऐन बनाइबक्सेकोछ ।

परिच्छेद–१ प्रारम्भिक

१. संक्षिप्त नाम, विस्तार र प्रारम्भ : (१) यस ऐनको नाम “लागू औषधि (नियन्त्रण) ऐन, २०३३” रहेकोछ ।
(२) यस ऐनको विस्तार नेपाल …………….. भर हुनेछ ।
(३) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।
२. ऐनको बहिक्र्षेत्रीय प्रयोग :(१) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा आदेशको विरुद्ध हुने गरी नेपाल ………….. बाट वा नेपाल ………… भित्र कुनै लागू औषध निकासी वा पैठारी गरी विदेशमा बसी व्यापार गर्ने नेपाली नागरिक वा विदेशीलाई समेत यो ऐन लागू हुनेछ ।
(२) उपदफा (१) बमोजिम काम कारवाई गर्ने व्यक्तिलाई निजले सो काम कारवाई नेपाल ……….. भित्र गरेको सरह मानी यस ऐन बमोजिम कारवाई र सजाय गरिनेछ ।

३. परिभाषा : विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा–
(क) “लागू औषध” भन्नाले–
(१) गाँजा,
(२) औषधोपयोगी गाँजा,
(३) अफीम,
(४) तैयारीको अफीम,
(५) औषधोपयोगी अफीम,
(६) कोकाको झार र पात, र

(६क) अफिम तथा कोकाको सारतत्व, मिश्रण वा लवण समेत मिसाई तयार गरिने कुनै पदार्थ ।
(७) नेपाल सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएका प्राकृतिक वा कृत्रिम लागू औषध तथा मनोदीपक पदार्थ (साइकोट्रपिक्स सब्स्टान्स) र तिनको लवणहरु तथा अन्य पदार्थ समेत सम्झनु पर्छ ।
(ख) “गाँजा” भन्नाले निम्नलिखित पदार्थहरु सम्झनु पर्छ ।
(१) भाँग र सिद्ध समेत गाँजा मूलको जुनसुकै बोटको पात र फूल,
(२) चरेस तथा गाँजाको बोटबाट प्राप्त गरिएको प्राकृतिक खोटो, लिस्सा र चोब,
(३) माथि उल्लेख गरिएकोमध्ये कुनै पदार्थ भएको सार, निस्सार, निष्कर्ष, मिश्रण तथा पेय ।
(ग) “औषधोपयागी गाँजा” भन्नाले गाँजाको निस्सासार वा निष्कर्ष सम्झनु पर्छ ।
(घ) “अफीम” भन्नाले अफीमको फूलको जमेको रस सम्झनु पर्छ ।
(ङ) “तयारी अफीम” भन्नाले सेवन गर्नको लागि तयार गरिएको अफीम र धुम्रपान गरिसकेपछिको अफीमको खार समेत सम्झनु पर्छ ।
(च) “औषधोपयोगी अफीम” भन्नाले औषधिको प्रयोजनको लागि कुनै विधि पुर्या ई तयार गरिएको कुनै रुपको अफीम सम्झनु पर्छ ।
(छ) “कोकाको झार र पात” भन्नाले सिंगल कन्भेन्शन अन नार्कोटिक ड्रग्स, १९६१ मा परिभाषा गरिएबमोजिम एरिथ«क्सिलोन मूलको जुनसुकै जातको झार र पात सम्झनु पर्छ ।
(ज) “तयारी” भन्नाले एक वा एकभन्दा बढी लागू औषधको मात्राको रुपमा तयार गरिने ठोस वा तरल मिश्रण सम्झनु पर्छ ।
(झ) “उत्पादन” भन्नाले गाँजाको बोटबाट गाँजा, भाँग, सिद्ध वा चरेस झिक्ने र कोकाको झारबाट पात झिक्ने काम सम्झनु पर्छ ।
(ञ) “निर्माण” भन्नाले उत्पादन गर्ने कार्य बाहेक लागू औषध निकाल्ने सबै किसिमको विधि सम्झनु पर्छ र यस शब्दले लागू औषध प्रशोधन गर्ने एक लागू औषधलाईअर्को लागू औषधमा परिणत गर्ने वा औषधको निमित्त बाहेक लागू औषध तयार गर्ने विधि समेत जनाउँछ ।

(ञ१) “कट्रोल डेलिभरी (नियन्त्रित भुक्तानी प्रविधि)” भन्नाले कुनै व्यक्तिले नेपाल …………….. बाट वा नेपाल …………… भई अन्य देशमा लागू औषधपठाएकोमा त्यस्तो लागू औषध जाने अन्तिम स्थान र लागू औषध प्राप्त गर्ने व्यक्ति पत्ता लगाउन औषध अनुसन्धान अधिकारीको प्रत्यक्ष निगरानीमा सो लागूऔषध सोही अवस्थामा वा सो लागू औषधको सट्टामा त्यस्तै अन्य कुनै सामान त्यस्तो लागू औषधको प्याकेट भित्र राखी पठाउने प्रविधि सम्झनु पर्छ ।

(ञ२) “अनुसन्धान अधिकारी” भन्नाले लागू औषध नियन्त्रणको अनुसन्धानको सिलसिलामा लागू औषध नियन्त्रण कानून कार्यान्वयन निकायको प्रमुखले तोकेको प्रहरी सहायक निरीक्षक वा खरिदार दर्जा सम्मको कर्मचारी सम्झनु पर्छ ।
(ञ३) “चिकित्सा केन्द्र” भन्नाले लागू औषध दुव्र्यसनीको उपचार तथा पुनस्थापन गर्न नेपाल सरकारले स्वीकृति दिएको चिकित्सा केन्द्र सम्झनु पर्छ ।

(ञ४) “दुव्र्यसन” भन्नाले स्वीकृति प्राप्त चिकित्सकको सिफारिश अनुसारको मात्रा र परिमाण भन्दा बढी वा बिना सिफारिश लागू औषध सेवन गर्ने कार्यलाई सम्झनु पर्छ ।
(ट) “औषध नियन्त्रण अधिकारी” भन्नाले दफा २१ बमोजिम नेपाल सरकारले नियुक्ति गरेको वा तोकेकोअधिकारी सम्झनु पर्छ ।
(ठ) “तोकिएको” वा “तोकिएबमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियम वा जारी गरिएको आदेशमा तोकिएको वा तोकिएबमोजिम सम्झनु पर्छ ।

परिच्छेद–२ निषेध र नियन्त्रण

४. निषेध गरिएका कार्यहरु : कुनै पनि व्यक्तिले देहायका कार्यहरु गर्न हुँदैन :

(क) गाँजाको खेती गर्न, उत्पादन गर्न, तैयारी गर्न, खरीद गर्न, बिक्री वितरण गर्न, निकासी वा पैठारी गर्न, ओसार पसार गर्न, संचय गर्न वा सेवन गर्न,

(ख) अफीम वा कोकाको खेती गर्न वा अफीम वा कोकाको पात वा अन्य लागू औषधीको उत्पादन गर्न,
(ग) लागू औषधको निर्माण वा तैयारी गर्न,
(घ) लागू औषधको बिक्री वितरण गर्न,
(ङ) लागू औषधको निकासी वा पैठारी गर्न, र

(च) लागू औषध खरीद गर्ने, संचय गर्ने, राख्ने वा ओसार पसार गर्ने, र
(छ) गाँजा बाहेक अन्य लागू औषध सेवन गर्ने,
तर–
(१) नेपाल …….. को पश्चिमी पहाडी भेगमा प्राकृतिक रुपमा आफै उम्रने जङ्गली गाँजाको बोटबाट तोकिएको समयसम्मको लागि चरेस उत्पादन
गर्न, त्यस्तो चरेस संग्रह गर्न, राख्ने र खरीद बिक्री गर्ने सम्बन्धमा नेपाल सरकारले नियम बनाई व्यवस्था गर्न सक्नेछ र सो अनुसार अनुमतिपत्र प्राप्त गरी कसैलेकुनै काम गर्दा यस दफा अन्तर्गत अपराध गरेको मानिने छैन ।

(१क) सिङ्गल कन्भेन्शन अन नार्कोटिक ड्रग्स, १९६१ मा परिभाषा गरिए बमोजिमका औषधि मध्ये लागू औषध तयार गर्न प्रयोग गरिने रासायनिक पदार्थ मुख्य औषध नियन्त्रण अधिकारीको अनुमतिले मात्र तोकिएको अनुपातमा आयात–निर्यात, ओसार–पसार, सञ्चय, बिक्री–वितरण र प्रयोग गर्न पाइनेछ ।

(२) प्रतिबन्धात्मक वाक्यांश (१) बमोजिम दिइने अनुमतिपत्रको तरीका, त्यस्तो अनुमतिपत्रको ढाँचा र शर्त अनुमतिपत्र दिने अधिकारी, त्यसमा लाग्ने दस्तूर, अनुमतिपत्र बमोजिम गरिने काम उपरको अरु नियन्त्रण र व्यवस्था तोकिएबमोजिम हुनेछ ।

स्पष्टीकरण : यस खण्ड (ख), (ग), (घ), (ङ) र (च) को प्रयोजनका लागि “लागू औषध” भन्नाले गाँजालाई जनाउने छैन ।
५. निषेध लागू नहुने : यस ऐनका अन्य दफाहरुमा जुनसुकै कुरा लेखिएको भए तापनि: देहायका व्यक्तिहरुले देहायका अवस्थामा लागू औषधको सेवन गर्न निषेध भएको मानिने छैन
(क) औषधोपचाकरो निमित्त स्वीकृत चिकित्सकको सिफारिशमा कुनै व्यक्तिले अनुमतिपत्र प्राप्त पसलबाट सिफारिश बमोजिमको मात्रााम लागू औषध खरीदगरी सेवन गर्न
(ख) तोकिएको वर्गका व्यक्तिले तोकिएको मात्रामा लागू औषध सेवन गर्न ।

५क. चिकित्सकको सिफारिशमा जनाउनु पर्ने :कुनै व्यक्तिले स्वीकृति चिकित्सकको सिफारिश लिई लागू औषध खरीद गर्न आएमा अनुमतिपत्र प्राप्त पसलले त्यस्तो व्यक्तिलाई चिकित्सकको सिफारिश बमोजिम लागू औषध बिक्री गरिसकेपछि बिक्री भएको कुरा चिकित्सकको सिफारिशमा जनाई दिनु पर्नेछ ।
५ख. चिकित्सकको दायित्व : चिकित्सकले कुनै व्यक्तिको निमित्त लागू औषध सिफारिश गर्नुपर्दा लागू औषध आवश्यक नपर्ने व्यक्तिलाई लागू औषध सिफारिश गर्न वा लागू औषध आवश्यक पर्ने व्यक्तिलाई पनि आवश्यकता भन्दा बढी मात्रामा लागू औषध सिफारिश गर्नु हुँदैन ।

६. नेपाल सरकार बाध्य नहुने: नेपाल सरकारले वा नेपाल सरकारबाट विशेष अनुमतिपत्र प्राप्त गरी नेपाल सरकारको पूर्ण निर्देशन र नियन्त्रणमा रही नेपाल सरकारको तर्फबाट कुनै संस्थाले औषधि वा वैज्ञानिक अनुसन्धानको प्रयोजनको लागि कुनै लागू औषधको खेती गर्न, तयार गर्न, उत्पादन गर्न निर्माण गर्न वा निकासी–पैठारी गर्न वा स्वीकृत चिकित्सकको सिफारिश बमोजिम कसैलाई लागू औषध बिक्री गर्न यस ऐनमा लेखिएका कुनै कुराले बाधा पुर्याएको मानिने छैन ।

७. वारेण्ट जारी गर्ने अधिकारी : यस ऐन अन्तर्गत सजाय हुने अपराध कसैले गरेको छ वा गर्न लागेको छ भन्ने विश्वास पर्ने कारण भएमा त्यस्तो व्यक्तिको गिरफ्तारी र खानतलासीको निमित्त औषध नियन्त्रण अधिकारीले वारेण्ट जारी गर्न सक्नेछ । औषध नियन्त्रण अधिकारीले कुनै घर, जग्गा, सवारी वा अन्य कुनै ठाउँमा त्यस्तो अपराधसित सम्बन्धित कुनै व्यक्ति लुकेको छ वा कुनै लागू औषध राखिएकोछ भन्ने आफूलाई विश्वास भएमा त्यस्तो घर, जग्गा, सवारी वा ठाउँको खानतलासी गर्नको निमित्त आदेश जारी गर्न सक्नेछ ।

८. बिना वारेन्ट प्रवेश खानतलासी, कब्जा र गिरफ्तार गर्ने अधिकार : (१) यस ऐन अन्तर्गतकोvकुनै अपराध कुनै घर, जग्गा, सवारी वा ठाउँमा भइराखेकोछ र तुरुन्तै केही कारवाही नगरेमा अपराधी भागी जाने वा अपराधको प्रमाण गायब हुने सम्भावना देखेमा औषध नियन्त्रण अधिकारी वा कम्तीमा प्रहरी सहायक निरीक्षक दर्जा सम्मको प्रहरी कर्मचारीले सो कुराको पर्चा खडा गरी जुनसुकै बखत देहायका कामहरु गर्न सक्नेछ :
(क) त्यस्तो घर, जग्गा, सवारी वा अन्य कुनै ठाउँमा प्रवेश गर्न

(ख) त्यसरी प्रवेश गर्दा कुनै बाधा विरोध भएमा ढोका फोरी प्रवेश गर्न वा त्यस्तो बाधा विरोध हटाउन आवश्यक कारवाई गर्ने,
(ग) अपराधसित सम्बन्धित लागू औषध र अन्य सामानहरु तथा प्रमाणको लागि काम लाग्ने जुनसुकै कागजपत्र कब्जा गर्ने, र
(घ) अपराध गरेको भनी शंका लागेको जुनसुकै व्यक्तिलाई रोक्न, खानतलासी लिन र आवश्यक देखेमा निजलाई गिरफ्तार समेत गर्ने ।
(२) उपदफा (१) बमोजिम कुनै घर, जग्गा, सवारी वा अन्य कुनै ठाउँमा प्रवेश गर्दा वा खानतलासी गर्दा समयले भ्याएसम्म सम्बन्धित नगरपालिका वा गाउँपालिकाको सदस्य वा त्यस ठाउँको एक जना भलादमी वा कुनै अर्को सरकारी कार्यालयका एक जना कर्मचारीलाई साक्रखी गर्नु पर्नेछ ।

तर नगरपालिका वा गाउँपालिका वा वडा समितिका सदस्य वा त्यस ठाउँका भलादमी वा कुनै अर्को सरकारी कार्यालयका कर्मचारीको रोहबरमा मुचुल्का तयार गर्ने प्रयास गर्दा पनि
त्यस्ता व्यक्तिहरु उपलब्ध नभएको उचित आधार भएमा कम्तीमा दुईजना औषध अनुसन्धान अधिकारी वा कम्तीमा दुईजना प्रहरी सहायक निरीक्षक दर्जासम्मको कर्मचारीको रोहबरमा मुचुल्का तयार गर्न सकिनेछ ।

८क. आर्थिक कारोबारको विवरण माग गर्न सक्नेः(१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भएतापनि कुनै व्यक्ति, संघ–संस्था, फर्म, कम्पनी वा अन्तर्राष्ट्रिय संगठनले लागू औषधको अवैध कारोबार गरेकोछ भन्ने विश्वसनीय आधार भएमा औषध नियन्त्रण अधिकारीले त्यस्तो व्यक्ति, फर्म, संघ–संस्था, कम्पनी वा अन्तर्राष्ट्रिय संगठनको नाममा कुनै बैंक वा वित्तीय संस्थामा रहेको खाताको विवरण माग गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम प्राप्त विवरणको रकम लागू औषधको अवैध कारोबारमा प्रयोग हुने देखिएमा मुद्दा हेर्ने अधिकारीले सम्बन्धित बैंक वा वित्तीय संस्थालाई त्यस्तो रकम रोक्का राख्न आदेश दिन सक्नेछ ।

९. गिरफ्तारी र कब्जाको प्रतिवेदन दिनु पर्ने : यस ऐन अन्तर्गत कसैलाई गिरफ्तार गरेको वा कुनैव्यक्ति, घर, जग्गा, सवारी वा अन्य कुनै ठाउँको खानतलासी गरेको वा लागू औषध वा अन्य सामान कब्जा गरेकोमा औषध नियन्त्रण अधिकारीले त्यस्तो प्रतिवेदन आफूभन्दा एक तह माथिको अधिकारी समक्ष सो गिरफ्तारी, खानतलासी, वा सामान कब्जा गरेको चौबीस घण्टाभित्र पठाउनु पर्नेछ ।

९क. गोप्यता कायम राखिदिनु पर्ने : लागू औषध सम्बन्धी मुद्दामा संलग्न कुनै कागजपत्र वा व्यक्तिको नाम गोप्य राख्न मुद्दा पेश गर्ने पक्षले माग गरेमा माग बमोजिमको अवधिभरका लागि मुद्दा हेर्ने अधिकारीले त्यस्तो कागजपत्र वा व्यक्तिको नाम गोप्य राखिदिनु पर्नेछ ।

१०. गिरफ्तार गरिएको व्यक्ति र कब्जा गरिएको सामान मुद्दा हेर्ने अधिकारी समक्ष पेश गर्नु पर्ने  यस ऐन अन्तर्गत औषध नियन्त्रण अधिकारीले गिरफ्तार गरिएको व्यक्ति र कब्जा गरेको सामानहरु बाटाको म्याद बाहेक गिरफ्तार वा कब्जा गरिएको चौबीस घण्टा भित्र मुद्दा हेर्ने अधिकारीकहाँ उपस्थित र दाखिल गर्नु पर्नेछ ।

१०क. कुनै कुरा टेप गर्न वा सेन्सर गर्न सक्ने : लागू औषधको अनुसन्धानको सिलसिलामा औषध नियन्त्रण अधिकारीले मुद्दा अनुसन्धान गर्ने वा हेर्ने अधिकारीबाट आदेश भएमा लागू औषधसंग सम्बन्धित कुनै व्यक्तिको टेलिफोन, टेलेक्स, फ्याक्स, जस्ता इलेक्ट्रोनिक प्रविधिहरुको टेप गर्न, प्रतिलिपि लिन वा फोटो खिच्न र कुनै चिठ्ठी–पत्र, पार्सल, डकुमेण्ट जस्ता हुलाकबाट प्राप्त हुने कुनै पनि कागज–पत्रको सेन्सर गर्न सक्नेछ ।

११. औषध नियन्त्रण अधिकारीले लागू औषध नष्ट गर्ने आदेश दिन सक्ने : औषध नियन्त्रण अधिकारीले देहायका लागू औषध नष्ट गर्न आदेश दिन सक्नेछ :
(क) यस ऐन विपरीत कुनै जग्गामा खेती भइरहेको गाँजा, अफिम र कोका,
(ख) दफा ४ बमोजिम छुट भएका क्षेत्रमा बाहेक अन्यत्र आफै उम्रिराखेको गाँजा, अफीम र कोका,
(ग) बेवारिसी अवस्थामा फेला परेका कुनै लागू औषध, र
(घ) यस ऐन अन्तर्गतका कसूरसम्बन्धी मुद्दा अदालतमा दायर हुन नसक्ने अवस्था परेमा सो कसूरसित सम्बन्धित लागू औषध ।

११क.लागू औषध सम्बन्धी मुद्दामा अदालतबाट म्याद थप भएपछि लागू औषध नष्ट गर्नु पर्ने – कुनै व्यक्तिबाट लागू औषध बरामद भएप्छि औषध नियन्त्रण अधिकारीले लागू औषधको प्रत्येक पोकाबाट प्रहरी सहायक निरीक्षक र मुद्दा हेर्ने अधिकारीले खटाएको एकजना कर्मचारीको रोहबरमा बढीमा तीन ग्राम सम्म लागू औषध प्रत्येक पोकाबाट स्याम्पल लिई परीक्षणको लागि पठाउने, लागू औषधको प्रकृति छुटयाउन लागू औषध मुद्दाको अनुसन्धान अधिकारीले त्यस्तो nलागू औषधको स्याम्पल नमूनाका लागि राख्ने र अदालतमा त्यस्तो मुद्दा म्याद थपका लागि पेश भएपछि अदालतले प्रत्येक पोकाबाट बढीमा तीन ग्राम लागू औषधको नमूना राखी बाँकी लागू औषध सम्बन्धित जिल्ला अदालतको प्रतिनिधि, स्थानीय जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि र स्थानीय नगरपालिका वा गाउँपालिकाको प्रतिनिधि समेतको रोहबरमा मुद्दा म्याद
थपका लागि अदालतमा पेश भएको पन्ध्रदिन भित्र नष्ट गर्नु पर्नेछ ।

११ख.लागू औषध नष्ट गरेको लगत राख्नु पर्ने – दफा ११ र ११क. बमोजिम लागू औषध नष्ट गर्दा सम्बन्धित अधिकारीले लागू औषधको किसिम र परिमाण सम्बन्धी लगत राख्नु पर्नेछ ।

११ग. औषधी बनाउनको लागि नेपाल सरकारले लागू औषध उपलब्ध गराउन सक्ने ः यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐन बमोजिम जफत वा कब्जा गरिएको लागू औषधमध्ये गाँजा र अफिम नेपाल सरकारले उपयुक्त देखेमा औषधी बनाउने प्रयोजनको लागि कुनै औषधी बनाउने निकायलाई आवश्यक परिमाणमा उपलब्ध गराउन सक्नेछ ।

११घ. प्रमाणको रुपमा पेश गर्न सकिने : (१) लागू औषध अनुसन्धानको सिलसिलामा विदेशमा सङ्कलन गरेको कुनै पनि किसिमका कागजातहरु प्रमाणको रुपमा मुद्दा हेर्ने अधिकारी समक्ष पेश गर्न सकिनेछ ।
(२) लागू औषधको अनुसन्धानको सिलसिलामा अनुसन्धान अधिकारीले भिडियो टेप, क्यासेट टेप र अन्य कुनै पनि किसिमका फोटोहरु प्रमाणको रुपमा मुद्दा हेर्ने अधिकारी समक्ष पेश गर्न सक्नेछ ।

१२. प्रमाणको भार : कुनै व्यक्तिका साथमा कुनै लागू औषध भएको फेला परेमा वा निजले खेती गरेको जग्गामा गाँजा, अफीम वा कोकाको खेती भइरहेको वा सो भएको कुराको प्रमाण फेला परेमा वा कुनै लागू औषधको निर्माण वा उत्पादनको निमित्त चाहिने केही विधि पुगिसकेको कुनै पदार्थ फेला परेमा वा कुनै पदार्थबाट लागू औषध उत्पादन गरिएपछि सो पदार्थको बाँकी रहेको केही कसर निजको साथमा राखिएको फेला परेमा त्यस्तो पदार्थ निजले यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम वा जारी गरिएको आदेश बमोजिम प्राप्त गरेका वा राखेको हो भन्ने कुराको प्रमाण निजले पेश गर्नु पर्नेछ । त्यस्तो प्रमाण पेश गर्न नसकमो र अन्यथा प्रमाणित भएमा बाहेक निजले यस ऐन अन्तर्गत सजाय हुने अपराध गरेको मानिनेछ ।
१३.
………………………

परिच्छेद–३ दण्ड सजाय

१४. दण्ड सजाय : (१): दफा ४ अन्तर्गत निषेध गरिएका कार्य गर्ने व्यक्तिलाई अपराधको मात्रा अनुसार देहाय बमोजिम सजाय हुनेछ :
(क) गाँजा सेवन गर्ने व्यक्तिलाई एक महीनासम्म कैद वा दुईहजार रुपैयाँसम्म जरिवाना ।
तर चिकित्सा केन्द्रमा एक महीनासम्म उपचार गराउने गरी जिम्मा लिने व्यक्ति वा संस्थाले कागज गरी दिएमा त्यस्तो व्यक्तिको सम्बन्धमा पन्ध्र, पन्ध्र दिनमा उक्त चिकित्सा केन्द्रबाट उपचार गराई रहेको प्रतिवेदन पेश गर्ने गरी मुद्दा हेर्ने अधिकारीले त्यस्तो व्यक्तिलाई सजाय नगर्न सक्नेछ ।
(ख) पच्चीसवटा बोटसम्म गाँजाको खेती गर्ने व्यक्तिलाई तीन महीनासम्म कैद वा तीनहजार रुपैयाँसम्म जरिवाना ।
(ग) पच्चीसवटा बोट भन्दा बढी गाँजाको खेती गर्ने व्यक्तिलाई तीनवर्षसम्म कैद वा पाँचहजार रुपैयाँदेखि पच्चीसहजार रुपैयाँसम्म जरिवाना ।
(घ) गाँजा उत्पादन, तयार, खरिद, बिक्री वितरण, निकासी वा पैठारी, ओसार पसार तथा संचय गर्ने व्यक्तिलाई :
(१) पचास ग्रामसम्मको भए तीन महीनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना ।
(२) पचास ग्रामदेखि पाँचसय ग्रामसम्मको भए एक महीना देखि एक बर्षसम्म कैद र एक हजार रुपैयाँदेखि पाँच हजार रुपैयाँसम्म जरिवाना ।
(३) पाँचसय ग्रामदेखि दुई किलो ग्रामसम्मको भए छ महीनादेखि दुईवर्षसम्म कैद र दुई हजार रुपैयाँदेखि दश हजार रुपैयाँसम्म जरिवाना ।
(४) दुई किलोग्रामदेखि दश किलो–ग्रामसम्मको भए एकवर्षदेखि तीन वर्षसम्म कैद र पाँच हजार रुपैयाँदेखि पच्चीस हजार रुपैयाँसम्म जरिवाना ।
(५) दश किलो ग्रामदेखि माथि जति सुकै भएपनि दुई वर्ष देखि दश वर्षसम्म कैद र पन्ध्र हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना ।
(ङ) अफिम, कोका वा सो बाट बनेको लागू औषधको सेवन गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना ।
तर चिकित्सा केन्द्रमा तीन महीनासम्म उपचार गराउने गरी जिम्मा लिने व्यक्ति वा संस्थाले कागज गरी दिएमा पन्ध्र, पन्ध्र दिनमा चिकित्सा केन्द्रबाट उपचार गराई राखेको जानकारी पेश गर्ने गरी मुद्दा हेर्ने अधिकारीले त्यस्तो व्यक्तिलाई सजाय नगर्न सक्नेछ ।
(च) अफिम वा कोकाको खेती गर्ने व्यक्तिलाई :
(१) पच्चीस बोटसम्म भए एक वर्षदेखि तीन वर्षसम्म कैद र पाँच हजार रुपैयाँदेखि पच्चीस हजार रुपैयाँसमम जरिवाना ।
(२) पच्चीस बोटभन्दा माथि जतिसुकै भएपनि तीन वर्षदेखि दश वर्षसम्म कैद र पच्चीस हजार रुपैयाँदेखि दुईलाख रुपैयाँसम्म जरिवाना ।
(छ) अफिम, कोका वा सोबाट बनेको लागू औषधको सेवन र खेती गर्ने कार्य बोहक अन्य निषेधित कार्य गर्ने व्यक्तिलाई –
(१) पच्चीस ग्रामसम्मको कारोबार गर्नेलाई पाँचवर्षदेखि दश वर्षसम्म कैद र पाँचहजार रुपैयाँदेखि पच्चीस हजार रुपैयाँसम्म जरिवाना ।
(२) पच्चीस ग्रामदेखि एकसय ग्राम सम्मको कारोबार गर्नेलाई दश वर्षदेखि पन्ध्र वर्षसम्म कैद र पचहत्तर हजार रुपैयाँदेखि दुईलाख रुपैयाँसम्म जरिवाना ।
(३) एकसय ग्रामदेखि माथि जतिसुकै परिमाणको कारोबार गर्नेलाई पन्ध्र वर्षदेखि जन्म कैद र पाँचलाख रुपैयाँदेखि पच्चीसलाख रुपैयाँसम्म जरिवाना ।
(ज) नेपाल सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएका प्राकृतिक वा कृत्रिम लागू औषध वा मनोद्वीपक पदार्थ (साइकोट्रपिक सब्स्ट्रान्स) र
तिनको लवण र अन्य पदार्थ समेतको दुव्र्यसन गर्ने व्यक्तिलाई दुई महीनासम्म कैद वा दुईहजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय ।
तर चिकित्सा केन्द्रमा तीन महीनासम्म उपचार गराउने गरी त्यस्तो दुव्र्यसनीलाई जिम्मा लिने कुनै व्यक्ति वा संस्थाले कागज गरी दिएमा त्यस्तो चिकित्सा केन्द्रबाट उपचार गराई राखेको जानकारी पन्ध्र, पन्ध्र दिनमा पेश गर्ने गरी मुद्दा हेर्ने अधिकारीले त्यस्तो व्यक्तिलाई सजाय नगर्न सक्नेछ ।
(झ) माथि खण्ड (ज) मा लेखिएदेखि बाहेक अन्य निषेधित कार्य गर्ने व्यक्तिलाई दुई वर्षदेखि दश वर्षसम्म कैद र एकलाख रुपैयाँदेखि बीसलाख रुपैयाँसम्म जरिवाना ।

स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि “अपराधको मात्रा” भन्नाले लागू औषधको प्रकृति, परिमाण, सञ्चय, खरिद–विक्री, ओसार–पसार वा निकासी–पैठारीको उद्देश्य, अभियुक्तको गिरोह वा संगठन, अभियुक्तहरुले प्रयोग गर्ने हातहतियार वा बलको प्रयोग तथा नाबालकलाई आपराधिक कार्यमा गराइएको संलग्नता, शैक्षिक, सामाजिक र सांस्कृतिक संगठन जस्ता संस्थालाई माध्यम बनाई गरिएको कारोबार, सार्वजनिक पद धारण गरेको व्यक्तिले आफ्नो पदको दुरुपयोग गरी गरिएको कारोबारको आधारमा निर्धारण गरिने अपराधको मात्रा सम्झनु पर्छ ।

(२) दफा ५क र ५ख को बर्खिलाप काम गर्ने ब्यक्तिलाई एक महिनासम्म वा एक हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।

१५. आफ्नो घर, जग्गा वा सवारीमा निषेध गरिएको काम गर्न अनुमति दिनेलाई सजाय : कुनै घर,जग्गा वा सवारीको धनीले वा त्यसको भोग चलन गर्ने व्यक्तिलाई जानी जानी त्यस्तो घर, जग्गा वा सवारीमा दफा ४ अन्तर्गत निषेध गरिएको कुनै कार्य गर्न अनुमति दिएमा निजलाई छ महीनादेखि पाँच वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना हुनेछ । घर, जग्गा वा सवारी धनीले नै अपराध गरेकोमा वा अपराध गर्न अनुमति दिएकोमा त्यस्तो घर, जग्गा वा
सवारी समेत जफत हुन सक्नेछ ।

१६. बारम्बार अपराध गर्नेलाई थप सजाय : यस ऐन अन्तर्गत एक पटक सजाय पाइसकेको व्यक्तिले पुनः यसै ऐन अन्तर्गत अपराध गरेमा निजलाई त्यस्तो पछिल्लो प्रत्येक पटकको निमित्त तोकिएको सजायमा थप पाँच वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुनेछ ।

१७. अपराध गर्न षडयन्त्र गर्ने, उद्योग गर्ने, दुरुत्साहन गर्ने र मतियार हुनेलाई सजाय : यस ऐन
अन्तर्गत सजाय हुने, अपराध गर्ने, षडयन्त्र वा उद्योग गर्ने, त्यस्तो अपराध गर्न अरुलाई दुरुत्साहन गर्ने वा त्यस्तो अपराध गर्नमा मतियार हुने व्यक्तिलाई सोही अपराध गरे बापत हुने सजायको आधी सजाय हुनेछ ।

१७क. लागू औषधको विश्वास पारी अन्य पदार्थको कारोबार गर्नेलाई सजाय : लागू औषध बाहेकको अन्य कुनै पदार्थलाई लागू औषध भन्ने विश्वासमा पारी त्यस्तो कारोबार, बेच–बिखन, निकासी–पैठारी, सञ्चय, उत्पादन समेतको कार्य गर्ने व्यक्ति वा गिरोहलाई सो अपराध गरे बापत हुने सजायको आधा सजाय हुनेछ ।

१७ख. लागू औषधसंग सम्बन्धित विवरण वा लिखत नदिनेलाई सजाय ः लागू औषधको विवरण लिने सिलसिलामा औषध नियन्त्रण अधिकारी वा अनुसन्धान अधिकारीले कुनै व्यक्ति, संघ–संस्था वा संगठनसंग माग गरेको कुनै विवरण वा लिखत नदिएमा त्यस्तो व्यक्ति, संघ–संस्था वा संगठनलाई सोही अपराध गरे बापत हुने सजायको आधा सजाय हुनेछ ।

१८. अपराधसित सम्बन्धित मालसामान जफत हुने : यस ऐन अन्तर्गत सजाय हुने अपराधसित सम्बन्धित सबै लागू औषध तथा त्यस्तो लागू औषध निर्माण वा उत्पादन गर्न प्रयोग गरिएका सबै मालसामान तथा यन्त्रहरु जफत हुनेछन्र त्यस्तो लागू औषध राखी ओसार पसार गर्न प्रयोग गरिएका रेल तथा हवाईजहाज बाहेक जुनसुकै सवारी समेत जफत हुनेछ ।
तर सो सवारी त्यस्तो अपराध गर्न प्रयोग गरिने वा गरिएको कुरा सवारी धनीलाई थाहा थिएन भन्ने कुराको प्रमाण निजले पेश गर्न सकेमा भने त्यस्तो सवारी जफत गरिनेछ छैन ।

१८क. सम्पत्ति जफत हुने : (१) दफा ४ को खण्ड (ख), (ग), (घ), (ङ) र (च) अन्तर्गत निषेध गरिएको कुनै कार्य गरी आर्जन गरेको सबै चल तथा अचल सम्पत्ति जफत हुनेछ ।
(२)दफा ४ को खण्ड (ख), (ग), (घ), (ङ) र (च) अन्तर्गतको कसूरसम्बन्धी मुद्दामा कसूरदार ठहरिएको व्यक्तिको आफ्नो वा आफ्नो परिवारको थाहा भएसम्मको आम्दानीको श्रोतको अनुपातमा नमिल्दो आर्थिक साधन वा सम्पत्ति भएमा निजले अन्यथा प्रमाणित गर्न सकेमा बाहेक नजको त्यस्तो सम्पत्ति यस ऐन विपरीतको कार्य गरी आर्जन गरेको मानी त्यस्तो सम्पत्ति निजको परिवार वा अन्य कसैको नाममा राखिएको भएतापनि सो सम्पत्ति समेत जफत हुनेछ ।
(३) उपदफा (१) र (२) बमोजिम कसैले सम्पत्ति जफत हुन सक्ने अपराध गरेकोछ भन्ने मनासिब कारण भएमा औषध नियन्त्रण अधिकारीबाट त्यस्तो व्यक्तिको सम्पत्ति रोक्का गर्न लेखी आएमा मुद्दा हेर्ने अधिकारीले त्यस्तो सम्पत्ति रोक्का राखिदिन सक्नेछ ।

१८ख. सूचना दिने व्यक्तिलाई पुरस्कार दिइने : लागू औषधको कारोबार वा प्रयोगका सम्बन्धमा औषध नियन्त्रण अधिकारीलाई जानकारी दिने व्यक्तिलाई त्यसरी जानकारी दिएको कुराबाट कसूर प्रमाणित भई अभियुक्तलाई सजाय भएमा त्यस्तो सजाय बापत कुनै जरिवाना भएको भए त्यस्तो जरिवानाको बीस प्रतिशत रकम पुरस्कार स्वरुप दिइनेछ । त्यसरी पुरस्कार पाउने व्यक्तिको नाम गोप्य राख्नु पर्नेछ ।

१८ग. सजायमा छुट हुने : प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐन अन्तर्गतसजाय हुने कुनै लागू औषधको कारोबारमा स्वयं संलग्न रहेको गिरोह वा अन्य कुनै गिरोहकोबारेमा जानकारी र सुराक दिई सो सम्बन्धमा मुख्य अपराधी पत्ता लगाई दिई पक्राउ गर्न सहयोग गर्ने व्यक्तिलाई निज अपराधमा संलग्न भएपनि यस ऐन अन्तर्गत हुने सजायमा पूर्ण वा आंशिक रुपमा सजायमा छुट हुने गरी अभियोगपत्रमा मागदावी भएमा मुद्दा हेर्ने अधिकारीले पनि सोही अनुसार सजायमा छुट दिन सक्नेछ ।

१८घ. कर्मचारीलाई पुरस्कार दिने : कुनै व्यक्तिलाई लागू औषधको कारोबारमा मुद्दा हेर्ने अधिकारीबाट दण्ड र जरिवाना भएपछि त्यस्तो जरिवानाको बीस प्रतिशत रकम लागू औषध नियन्त्रण रअनुसन्धान कार्यमा संलग्न कर्मचारीलाई नेपाल सरकारले पुरस्कार स्वरुप दिन सक्नेछ।

१८ङ. चिकित्सा केन्द्रलाई जरिवानाको केही रकम उपलब्ध गराउने : कुनै व्यक्तिलाई लागू औषधकोकारोबारमा दण्ड र जरिवाना भएमा त्यस्तो जरिवानाको बीस प्रतिशत रकम उपचार केन्द्रलाई प्रदान गरिनेछ । त्यस्तो चिकित्सा केन्द्र एकभन्दा बढी भएमा त्यस्तो जरिवानाको रकमको बाँडफाँड मुख्य औषध नियन्त्रण अधिकारीले गर्नेछ ।

१९. मुद्दा नचलाउने वा सजाय छुट दिने अधिकार : कसैले व्यापारिक उद्देश्य वा ठूलो परिमाणमा बाहेक निजी उपयोगको लागि अल्प मात्रामा मात्र
गाँजा र औषधोपयोगी अफिम खरीद गरेको, राखेको वा सेवन गरेको फेला परेमा पहिला पटक भए औषध नियन्त्रण अधिकारीलेत्यस्तो व्यक्तिको लगत राखी त्यस्तो अपराध पुनः नगर्ने कागज गराई मुद्दा नचलाउने पर्चा खडा गरी छाड्न सक्नेछ र मुद्दा चलेकोमा पनि अदालतले यस दफा बमोजिम सानो अपराध ठहराएमा त्यस्तो व्यक्तिको लगत राखी निजलाई सो अपराध पुनः नगर्ने कागज गराई पहिला पटक कुनै सजाय नगरी रिहाई दिन सक्नेछ ।

१९क. उपचारको अवस्थामा रहेकोमा कारवाही नहुने : (१) दफा १४ को उपदफा (१) को खण्ड (क) र (घ) मा जुनसुकै कुरा लेखिएको भएतापनि लागू औषधको दुव्र्यसनको उपचार तथा पुनस्र्थापनको लागि नेपाल सरकारबाट स्थापना भएको वा नेपाल सरकारबाट मान्यता प्राप्त कुनै उपचार तथा पुनस्र्थापन केन्द्रमा उपचारको अवस्थामा रहेको लागू औषध सेवन गर्ने व्यक्ति यस ऐन बमोजिम सजायको भागी हुने छैन ।
(२) उपदफा (१) मा उल्लेख भएका केन्द्रहरुमा उपचार गराई रहेका व्यक्तिहरुको सम्बन्धमा सम्बन्धित अधिकारीले नेपाल सरकारले तोकेको ढाँचामा उपचार सम्बन्धी विवरणहरु सम्बन्धित उपचार तथा पुनस्र्थापन केन्द्रबाट प्राप्त गरी साप्ताहिक तथा मासिक रुपमा प्रतिवेदन तयार गरी राख्नु पर्नेछ ।

२०. पूर्व इजाजतपत्र बमोजिम बाँकी रहेको लागू औषधको स्टकसम्बन्धी विशेष व्यवस्था : मादक पदार्थ ऐन, २०१७ र मादक पदार्थ नियमहरु, २०१९ अनुसार प्राप्त इजाजतपत्र बमोजिम यो ऐन लागू हुँदा कसैसँग बाँकी रहेको लागू औषधको स्टक तोकिएको म्यादभित्र औषध नियन्त्रण अधिकारी छेउ दाखिल गर्नु पर्नेछ ।

२१. लागू औषध नियन्त्रण अधिकारी र औषध नियन्त्रण प्रशासनको व्यवस्था :(१) यस ऐनको उद्देश्य कार्यान्वयन गर्नको लागि नेपाल सरकारले गृह मन्त्रालय अन्तर्गत औषध नियन्त्रण प्रशासनको स्थापना गर्नेछ र आवश्यकतानुसार मुख्य औषध नियन्त्रण अधिकारी, एक वा बढी औषध नियन्त्रण अधिकारी, नायब औषध नियन्त्रण अधिकारी तथाअन्य अधिकारीहरु  नियुक्त गर्न वा तोक्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम स्थापित भएको औषध नियन्त्रण प्रशासनको प्रमुखको रुपमा मुख्य औषध नियन्त्रण अधिकारी रहनेछ र यस ऐन अन्तरगत मुख्य औषध नियन्त्रण अधिकारीले लागू औषध नियन्त्रण सम्बन्धी काम कारवाहीको रेखदेख, नियन्त्रण, निर्देशन र समन्वय गर्नेछ ।
(३) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि लागूऔषध कारोबार वा प्रयोग गर्ने व्यक्तिलाई त्यस्तो कारोबार वा प्रयोगमा सहयोग पु¥याउने उद्देश्यले कुनै सरकारी कर्मचारीले घूस लिए खाएको ठहरेमा त्यस्तो कर्मचारीलाई प्रचलित कानूनले हुने सजायको अतिरिक्त लागू औषध कारोबार वा प्रयोगमा संलग्न हुने व्यक्तिलाई हुने सजायको आधा सजायसमेत हुनेछ ।

२१क. मुद्दा हेर्ने अधिकारी र पुनरावेदन : (१) दफा ४ को खण्ड (क) सम्बन्धी कसूर बाहेक यस ऐनअन्तर्गतको अन्य कसूर सम्बन्धी मुद्दा हेर्ने अधिकार नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी गठन गरेको वा तोकेको अदालतलाई हुनेछ ।
(२) उपदफा (१) बमोजिमको अदालतले यस ऐन अन्तर्गतको मुद्दामा कारवाई र किनारा गर्दा विशेष अदालत ऐन, २०३१ बमोजिमको कार्यविधि तथा अधिकार प्रयोग गर्नेछ ।
(३) उपदफा (१) अन्तर्गतको अदालतले गरेको फैसला वा अन्तिम आदेश उपर चित्त नबुझ्ने व्यक्तिले उच्च अदालतमा पुनरावेदन गर्न सक्नेछ ।

२१ख. अनुसन्धान अधिकारीको काम, कर्तव्य र अधिकार : (१) लागू औषध नियन्त्रण कार्यमा खटिने अनुसन्धान अधिकारीलाई लागू औषधको सिलसिलामा अनुसन्धान गर्नु पर्दा प्रचलित कानून अनुसार प्रहरीलाई भए सरहको अधिकार प्राप्त हुनेछ ।
(२) लागू औषधको कारोबारको सिलसिलामा अनुसन्धान गर्दा त्यस्तो लागू औषधको कारोबारमा सन्दिग्ध देखिएको कुनै व्यक्तिको मालसामान खानतलासी गर्न प्रचलित भन्सार ऐन अनुसार भन्सार अधिकृतलाई भए सरहको अधिकार अनुसन्धान अधिकारीलाई प्राप्त हुनेछ ।
तर खानतलासी गर्नु अघि अनुसन्धान अधिकारीले सम्बन्धित व्यक्तिलाई खानतलासीको पूर्जी दिनु पर्नेछ ।
(३) लागू औषध अनुसन्धानको सिलसिलामा सन्दिग्ध देखिएको हुलाकबाट प्राप्त हुने कुनै वस्तुको सेन्सर गर्न प्रचलित हुलाक ऐन अनुसार हुलाक अधिकृतलाई भएसरहको अधिकार अनुसन्धान अधिकारीलाई प्राप्त हुनेछ ।

२१ग. वैज्ञानिक उपकरण तथा हात हतियार साथमा लिई हिंड्न सक्ने : लागू औषध अनुसन्धान कार्यमा संलग्न रहने अधिकारी तथा लागू औषध नियन्त्रणसंग सम्बद्ध कर्मचारीहरुलाई अनुसन्धान एवं नियन्त्रणको सिलसिलामा आवश्यक पर्ने वैज्ञानिक उपकरण, सञ्चार साधन तथा हातहतियार र सो हातहतियारमा प्रयोग हुने खरखजाना आफ्नो साथमा लिई हिंड्न रप्रयोग गर्न पाउने अधिकार हुनेछ ।

२२. सरकार वादी हुने : यस ऐन अन्तर्गतको मुद्दा नेपाल सरकार वादी हुनेछ र सो मुद्दा सरकारी मुद्दा सम्बन्धी ऐन, २०१७ को अनुसूची १ मा समावेश भएको मानिनेछ ।

२२क…. … …

२२ख. असल नियतले गरेको काममा सजाय नहुने :यो ऐन बमोजिम असल नियतले गरेको वा गर्न खोजेको कुनै कामको सम्बन्धमा कुनै सरकारी कर्मचारी उपर मुद्दा चलाईने वा अन्य कुनै कानूनी कारवाही हुने छैन ।

२२ग. म्याद थप सम्बन्धी व्यवस्था : लागू औषध अनुसन्धानको सिलसिलामा पक्राउ परेका व्यक्तिलाई मुद्दा हेर्ने अधिकारीले एक पटकमा एक महीनामा नबढाई बढीमा तीन महीनासम्म प्रहरी हिरासतमा राख्न म्याद थप गर्न सक्नेछ ।

२३. यो ऐन प्रारम्भ हुनुभन्दा अघिको मुद्दा सम्बन्धी व्यवस्था : यो ऐन प्रारम्भ हुनुभन्दा अघि तत्काल लागू रहेको नेपाल कानून बमोजिम चलेको वा चल्ने लागू औषध सम्बन्धी मुद्दाहरुमा सोही कानून अन्तर्गतका मुद्दा हेर्ने अधिकार प्राप्त अधिकारीले कारवाई र किनारा गर्नेछ ।

२३क. प्रचलित कानून बमोजिम हुने : यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि दफा ३ को खण्ड (क) को उपखण्ड (७) बमोजिम तोकिदिएका प्राकृतिक वा कृत्रिम लागू औषध तथा मनोद्दीपक पदार्थ र तिनका लवणहरुका सम्बन्धमा औषधीसम्बन्धी ग्रन्थ (फर्माकोपिया) अरुमा तोकिएको नाम र परिमाणका टेवलेट, क्याप्सुल, इन्जेक्शन जस्ता फर्मास्यूटिकल बनोटकाऔषधीको उत्पादन, बिक्री वितरण, निकासी पैठारी, संचय र सेवन औषधी ऐन, २०३५
बमोजिम हुनेछ ।
तर त्यस्तो लागू औषध र मनोद्दीपक पदार्थहरुका कच्चा पदार्थ (कोरा रसायन) हरुको उत्पादन, बिक्री वितरण, निकासी–पैठारी, संचय र सेवनको सम्बन्धमा यसै ऐन बमोजिम हुनेछ ।

२४. नियम बनाउने वा आदेश जारी गर्ने अधिकार : यस ऐनको उद्देश्य कार्यान्वित गर्न नेपालसरकारले नियमहरु बनाउन वा आदेश जारी गर्न सक्नेछ ।

२५. खारेजी : मादक पदार्थ ऐन, २०१७ र मादक पदार्थ नियमहरु, २०१९ खारेज गरिएको छन्।