Skip to contentSkip to left sidebar Skip to footer

राष्ट्र ऋण ऐन, २०५९

राष्ट्र ऋण ऐन, २०५९

लालमोहर र प्रकाशन मिति
२०५९।३।२४
संशोधन गर्ने ऐन         प्रमाणिकरण र प्रकाशन मिति
१. गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ २०६६।१०।७
२. लैङ्गिक समानता कायम गर्न तथा लैङ्गिक हिंसा अन्त्य गर्न केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७२ २०७२।६।१४

२०५९ सालको ऐन नं. ४

……………..

ऋणपत्र निष्कासन गरी राष्ट्र ऋण उठाउने व्यवस्था गर्न बनेको ऐन

प्रस्तावनाः देशको आर्थिक विकासको लागि सरकारी वित्तको समुचित व्यवस्थापनमा सघाउ पुर्‍याउन तथा वित्तीय र मौद्रिक नीतिबीच सामञ्जस्यता कायम गर्दै आन्तरिक बचत परिचालनलाई प्रोत्साहन गर्न ऋणपत्र निष्कासन गरी राष्ट्र ऋण उठाउने व्यवस्था गर्न वाञ्छनीय भएकोले,
श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवको शासनकालको पहिलो वर्षमा संसदले यो ऐन बनाएको छ ।

२. परिभाषा

विषय वा प्रसङ्गगले अर्को अर्थ नलागेमा यस ऐनमा,—

(क) “बैङ्क” भन्नाले नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ बमोजिम स्थापना भएको नेपाल राष्ट्र बैङ्क सम्झनु पर्छ ।

(ख) “राष्ट्र ऋण” भन्नाले दफा ३ बमोजिम नेपाल सरकारले उठाएको ऋण सम्झनु पर्छ ।

(ग) “ऋणपत्र” भन्नाले दफा ३ बमोजिम निष्कासन भएका देहायका ऋणपत्र सम्झनुपर्छ र सो शब्दले ब्याज भुक्तानी पुर्जालाई समेत जनाउँछ :-

(१) स्टक,

(२) प्रमिशरी नोट,

(३) बियरर बण्ड,

(४) प्राईज बण्ड, र

(५) बैङ्कले नेपाल सरकारको स्वीकृति लिई ऋणपत्र भनी तोकिदिएको अन्य कुनै ऋणपत्र ।

(घ) “स्टक” भन्नाले बैङ्कको खातामा दर्ता रहने र दर्ता गराई नामसारी गर्नु पर्ने ऋणपत्र सम्झनु पर्छ ।

(ङ) “प्रमिशरी नोट” भन्नाले दरपीठ गरी नामसारी गर्न सकिने ऋणपत्र सम्झनु पर्छ र सो शब्दले ट्रेजरी बिल समेतलाई जनाउँछ ।

(च) “बियरर बण्ड” भन्नाले ऋणपत्रको प्रमाणपत्र लिई आउनेलाई भुक्तानी दिनु पर्ने ऋणपत्र सम्झनु पर्छ ।

(छ) “प्राईज बण्ड” भन्नाले धनीले ब्याजको रकममध्ये सबै वा केही चिठ्ठाद्वारा तोकिएबमोजिम पाउने ऋणपत्र सम्झनु पर्छ ।

(ज) “धनी” भन्नाले ऋणपत्र खरिद गरी ऋणपत्रमा हक प्राप्त गर्ने वा अन्य कुनै प्रकारले ऋणपत्रमा हक प्राप्त गर्ने स्वदेशी वा विदेशी व्यक्ति सम्झनु पर्छ ।

(झ) “तोकिएको ” वा “तोकिएबमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिएबमोजिम सम्झनु पर्छ ।

३. ऋणपत्र निष्कासन गरी राष्ट्र ऋण उठाउने अधिकार

(१) नेपाल सरकारले सरकारी वित्तको समुचित परिचालन गर्नको लागि प्रचलित कानूनको अधीनमा रही आवश्यक सम्झेको परिमाणमा एकै पटक वा पटक पटक गरी कुनै एक वा बढी प्रकारको ऋणपत्र निष्कासन गरी राष्ट्र ऋण उठाउन सक्नेछ ।

(२) उपदफा (१) बमोजिम निष्कासन गरिने ऋणपत्रको साँवा तथा ब्याजको भुक्तानी अवधि र ब्याजको दर नेपाल सरकारले तोकेबमोजिम हुनेछ ।

(३) ऋणपत्रको साँवा तथा ब्याज भुक्तानी अवधि र ब्याजदर सम्बन्धमा बैङ्कले समय समयमा नेपाल सरकारलाई आवश्यक राय तथा सुझाव दिनेछ ।

(४) ऋणपत्रको सम्बन्धमा जारी गरिने ब्याज भुक्तानी पूर्जा तोकिए बमोजिम हुनेछ ।

४. ऋणपत्रको साँवा र ब्याज भुक्तानी

(१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका ऋणपत्रको साँवा ब्याज भुक्तानी देहायबमोजिम हुनेछ :-

(क) स्टकको साँवा ब्याज भुक्तानी बैङ्कको खातामा सो स्टक जसको नाममा दर्ता छ निज धनीलाई,

(ख) प्रमिशरी नोटको साँवा ब्याज भुक्तानी सो प्रमिशरी नोटको धनी वा त्यस्तो धनीबाट त्यस्तो प्रमिशरी नोट दरपीठद्वारा नामसारी भएको अन्तिम व्यक्तिलाई,

(ग) बियरर बण्डको साँवा ब्याज भुक्तानी सो बियरर बण्डको प्रमाणपत्र लिई आउने व्यक्तिलाई, र

(घ) प्राईज बण्डको साँवा भुक्तानी सो प्राइज बण्डको प्रमाणपत्र लिई आउने व्यक्तिलाई ।

(२) उपदफा (१) को खण्ड (घ) बमोजिम प्राईज बण्डको प्रमाणपत्र लिई आउने व्यक्तिलाई दिइने ब्याज भुक्तानी तोकिएबमोजिम हुनेछ ।

(३) कुनै पनि ऋणपत्रको साँवा र ब्याजको भुक्तानी नेपाली रूपैयाँमा गरिनेछ ।

५. राष्ट्र ऋणको व्यवस्थापन

(१) राष्ट्र ऋणको व्यवस्थापन सम्बन्धी सम्पूर्ण काम नेपाल सरकारको तर्फबाट बैङ्कले गर्नेछ ।

(२) उपदफा (१) बमोजिम राष्ट्र ऋण व्यवस्थापन सम्बन्धी काम गर्दा बैङ्कले आवश्यक खाताहरू राख्ने, राष्ट्र ऋणको स्थिति बारेको प्रतिवेदन नेपाल सरकारमा पेश गर्ने र तत्सम्बन्धमा समय समयमा बैङ्कले आवश्यक सम्झेको राय तथा सुझाव नेपाल सरकारमा पेश गर्नेछ ।

(३) उपदफा (१) बमोजिम राष्ट्र ऋण व्यवस्थापन सम्बन्धी काम गर्दा बैङ्कले आवश्यक पर्ने प्राथमिक तथा दोस्रो बजारको व्यवस्था गर्नेछ । यसरी व्यवस्था गरिने प्राथमिक तथा दोस्रो बजारको सञ्चालन तोकिए बमोजिम हुनेछ ।

६. राष्ट्र ऋण व्यवस्थापन सम्झौता

राष्ट्र ऋण व्यवस्थापनको काम सुचारू रूपले सञ्चालन गर्न नेपाल सरकार र बैङ्कबीच समय समयमा आवश्यक सम्झौता गरिनेछ र त्यस्तो व्यवस्थापनसम्बन्धी सम्पूर्ण काम सोही सम्झौताको अधीनमा रही गर्नु पर्नेछ ।

७. ऋणपत्रको नामसारी

(१) स्टकको धनीले स्टकको नामसारीको लागि बैङ्क समक्ष लिखित निवेदन दिएमा बैङ्कले तोकिएबमोजिम स्टकको नामसारी गरिदिनु पर्नेछ ।

(२) प्रमिशरी नोटको धनीले प्रमिशरी नोट जसका नाममा दरपीठ गरिदिएको हो बैङ्कले त्यस्तो व्यक्तिको नाममा सो प्रमिशरी नोट नामसारी भएको मानी सो व्यक्तिलाई सो प्रमिशरी नोटको धनी मान्नेछ ।

(३) स्टकको धनीको मृत्यु पश्चात्ऋणपत्रमा हक पुग्ने गरी धनीले कसैलाई इच्छाएको भएमा त्यस्तो ऋणपत्रको सम्बन्धमा धनीको मृत्युपछि सो इच्छाइएको व्यक्ति मृतक धनीको हकवाला हुनेछ । त्यसरी धनीले कुनै इच्छाइएको व्यक्ति नभएमा वा इच्छाइएको व्यक्तिको पनि इच्छाउने व्यक्तिको भन्दा पहिले नै मृत्यु भैसकेको रहेछ भने सो ऋणपत्रमा अपुताली सम्वन्धी प्रचलित कानून बमोजिमको हकवालाको हुनेछ ।

(४) कुनै ऋणपत्र दुई वा दुईभन्दा बढी व्यक्तिहरूले संयुक्त रूपमा खरिद गरी राखेको भएमा तिनीहरूमध्ये कसैको वा सबैको मृत्यु भएमा मृतकको हिस्सामा आउने सो ऋणपत्रको साँवा ब्याजको अधिकार मृतक व्यक्तिले इच्छाएको कुनै व्यक्ति भए सो व्यक्ति र कुनै व्यक्ति इच्छाएको नभए अपुताली सम्बन्धी प्रचलित कानून बमोजिमको हकवालाको हुनेछ ।

८. इच्छापत्रसम्बन्धी व्यवस्था

धनीले आफ्नो शेषपछि ऋणपत्रको सम्बन्धमा कसैलाई इच्छाउन चाहेमा बैङ्कले तोकिए बमोजिमको इच्छापत्र बनाई दिनेछ र सोही इच्छापत्र बमोजिम बैङ्कले ऋणपत्रको साँवा ब्याजको भुक्तानी दिनेछ ।

९. सरकारी कार्यालय वा सङ्गठित संस्थाले खरिद गरेको ऋणपत्र

(१) कुनै सरकारी कार्यालयले नेपाल सरकारको अनुमति लिई ऋणपत्र खरिद गर्न सक्नेछ । यसरी खरिद गरेको ऋणपत्र सो कार्यालयको नाममा रहनेछ ।

(२) प्रचलित कानून बमोजिम स्थापना भएको संगठित संस्थाले ऋणपत्र खरिद गर्न सक्नेछ । यसरी खरिद गरेको ऋणपत्र सो संस्थाको नाममा रहनेछ ।

(३) कानून बमोजिम दर्ता नभएका कुनै गुठीले कुनै ऋणपत्र खरिद गर्न चाहेमा सो गुठीका सदस्यहरूले बैङ्कको स्वीकृति लिई आफ्नोे आपसका शर्त बैङ्कमा दर्ता गराई कुनै एक व्यक्तिको नामबाट स्टकको रूपमा ऋणपत्र खरिद गर्न सक्नेछ । त्यसरी आपसको शर्त दर्ता गराएको रहेछ भने यस ऐनको अरू दफामा जुनसुकै कुरा लेखिएको भए तापनि बैङ्कले सोही शर्त बमोजिम कारबाही गर्नेछ ।

(४) उपदफा (१), (२) वा (३) बमोजिम कुनै सरकारी कार्यालय, संगठित संस्था वा गुठीको नाममा कुनै ऋणपत्र रहेकोमा सो कार्यालय वा संस्था वा गुठी अरू कुनै कार्यालय वा लैङ्गिक समानता कायम गर्न तथा लैङ्गिक हिंसा अन्त्य गर्न केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७२ द्वारा संशोधित ।

संस्था वा गुठीसँग गाभिएमा वा खारेज वा विघटन भएमा सो हुनु पूर्व त्यस्तो ऋणपत्रको साँवा वा ब्याज लिने अवधि अगावै ऋणपत्रको हकवालाले आफ्नो हकको प्रमाण सहित नामसारीको लागि बैङ्कमा निवेदन दिएमा बैङ्कले सम्बन्धित हकवालाको नाउँमा नामसारी गरी दिनेछ ।

१०. ऋणपत्रको धनीको सम्बन्धमा शङ्का उत्पन्न भएमा वा भुक्तानी नलिएमा

(१) ऋणपत्रको धनी बारे शङ्का वा विवाद उत्पन्न भएमा साँवा भुक्तानी मिति गुज्रेको एक सय असी दिन बितेर पनि ऋणपत्रको साँवा ब्याजको भुक्तानी नलिएमा बैङ्कले आफ्नो कुनै अधिकृतद्वारा आवश्यक जाँचबुझ गर्न तथा आवश्यक व्यक्तिको बयान लिन समेत लगाई धनी मनोनीत गर्नेछ ।

(२) उपदफा (१) बमोजिम बैङ्कले धनी मनोनीत गर्नको निमित्त जाँचबुझ गर्नु पर्दा राष्ट्रिय स्तरको दैनिक पत्रिकामा सूचना प्रकाशन गर्नेछ तथा दर्तावाला व्यक्तिको ठेगानामा लिखित सूचना पठाउने छ । यसरी राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशित भएको वा सूचना पठाएको जुन पछिल्लो मिति हुन्छ सो मितिले एक सय असी दिन बितेपछि सबै हकवालाले सूचना पाएको मानिनेछ ।

(३) यस दफा अन्तर्गत बैङ्कले मनोनीत गरेको धनीको नाम राष्ट्रिय स्तरको दैनिक पत्रिकामा समेत प्रकाशन गर्नु पर्नेछ ।

११. ऋणपत्रको धनी नाबालक वा बहुलाएको भएमा

(१) कुनै ऋणपत्रको धनी नाबालक वा बहुलाएको रहेछ भने नाबालक ऋणपत्र धनीको हकमा निजको आमा वा बाबु र बहुलाएको ऋणपत्र धनीको हकमा निजको पति वा पत्नी वा आमा वा बाबु संरक्षक धनी रहन सक्नेछ ।

आमा वा बाबु वा पति वा पत्नी संरक्षक धनी नभई अन्य व्यक्ति संरक्षक हुन चाहेमा तोकिएबमोजिमको अवस्था पूरा भएको हुनु पर्नेछ ।

(२) धनीले ऋणपत्र बापत पाउनु पर्ने रकममध्ये बैङ्कले मनासिब ठहर्याएको रकम एकै पटक वा पटक पटक गरी उपदफा (१) बमोजिमको संरक्षक धनीलाई दिन सक्नेछ ।

१२. नेपाल सरकार वा बैङ्कको दायित्व नरहने

(१) यस ऐन बमोजिम बैङ्कले धनीको मनोनयन गरिसकेपछि सो मनोनयन बारे कुनै अदालतमा नेपाल सरकार वा बैङ्कको विरूद्ध मुद्दा दायर गर्न पाइने छैन ।

(२) यस ऐन बमोजिम बैङ्कले ऋणपत्रको भुक्तानी दिएकोमा कुनै अदालतमा नेपाल सरकार वा बैङ्कको विरूद्ध मुद्दा दायर गर्न पाइने छैन ।

१३. उजुर लाग्ने

यस ऐनको अन्य दफाहरूमा जुनसुकै कुरा लेखिएको भए तापनि ऋणपत्रमा हक भएको कुनै व्यक्तिले सो ऋणपत्रको भुक्तानी लिएको वा लिने भएको वा धनी मनोनयन भएको कुनै व्यक्ति उपर आफ्नोे हक कायम गराउनका लागि प्रचलित कानून बमोजिम अदालतमा नालिस उजुर गर्न सक्नेछ ।

१४. दण्ड सजाय

(१) कुनै व्यक्तिले कुनै ऋणपत्रमा आफ्नोे वा अरू कसैको नभएको हक कायम गराउने नियतले यस ऐनबमोजिम बैङ्कका अधिकृत समक्ष जानी जानी झुट्टा विवरण पेश गरेमा निजलाई बढीमा सो ऋणपत्रमा तोकिएको साँवा ब्याज बमोजिमसम्म जरिबाना वा छ महिनासम्म कैद वा दुवै सजाय हुन सक्नेछ ।

(२) उपदफा (१) बमोजिम सजाय हुने कसूरको सम्बन्धमा बैङ्कले आवश्यक छानबिन गर्न एकजना अधिकृत तोक्नेछ र निजले आवश्यक छानबिन गरी बैङ्कको तर्फबाट जिल्ला अदालतमा मुद्दा दायर गर्नेछ ।

 

१५. ऋणपत्रसम्बन्धी लिखतहरूको गोप्यता

बैङ्कमा रहेको ऋणपत्रसम्बन्धी व्यक्तिगत खाता तथा कागजातहरू गोप्य रहनेछन् । नेपाल सरकार वा अदालतको आदेश वा फौजदारी अपराधको सिलसिलामा प्रचलित कानून बमोजिम जाँचबुझ वा अनुसन्धान गर्न अख्तियार प्राप्त अधिकारीको लिखित अनुरोध बिना यस्ता कागजात कसैलाई देखाउन वा पेश गर्न बैङ्क बाध्य हुने छैन ।

१६. ऋणपत्र र ब्याज भुक्तानी पूर्जाको प्रतिलिपि दिने

ऋणपत्र धनीले सो ऋणपत्र वा सो को ब्याज भुक्तानी पूर्जा वा दुवै हराएको, चोरिएको वा नष्ट भएको वा अक्षर मेटिई अस्पष्ट भएको वा च्यातिएको भनी प्रमाण सहित बैङ्कमा लिखित निवेदन गर्न आएमा र उक्त प्रमाणबाट बैङ्कलाई चित्त बुझेमा बैङ्कले तोकेको दस्तुर लिई, तोकेका शर्तहरू पूरा गर्न लगाई उक्त निवेदकलाई सो ऋणपत्र वा ब्याज भुक्तानी पूर्जा वा दुवैको प्रतिलिपि दिन सक्नेछ ।

१७. ऋणपत्र परिवर्तन, खण्डीकरण, एकीकरण र नवीकरण गर्ने

स्टक वा प्रमिशरी नोटको धनीले आफ्नोे साबिकको सो ऋणपत्रलाई एक आपसमा परिणत गर्न वा खण्डीकरण गर्न वा एकीकरण गर्न वा नवीकरण गर्नको निमित्त बैङ्कमा निवेदन गरेमा बैङ्कले तोकेको दस्तुर लिई तोकिएबमोजिम त्यस ऋणपत्रको बदलामा निवेदकलाई नयाँऋणपत्र दिन सक्नेछ ।

१८. असल नियतले गरेको काममा जवाफदेही हुनु नपर्ने

यो ऐन र यस ऐन अन्तर्गत बनेको नियमबमोजिम असल नियतले गरेको कुनै काम कारबाहीको सम्बन्धमा नेपाल सरकारका पदाधिकारीहरू, बैङ्कका गभर्नर, डेपुटी गभर्नर, सञ्चालक वा बैङ्कका कुनै अधिकृत वा कर्मचारी व्यक्तिगत वा सामुहिक रूपले जवाफदेही हुने छैनन्।

१९. ऋणपत्रका सम्बन्धमा यसै ऐनबमोजिम हुने

(१) ऋणपत्रका सम्बन्धमा अन्य प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐनमा लेखिए जतिका कुरामा यसै ऐनबमोजिम हुनेछ |

(२) धितोपत्रसँग सम्बन्धित प्रचलित कानूनमा उल्लिखित व्यवस्थाहरू ऋणपत्रका सम्बन्धमा लागू हुने छैनन्।

२०. नियम बनाउने

(१) यस ऐनको उद्देश्य कार्यान्वयन गर्न नेपाल सरकारले बैङ्कको राय लिई आवश्यक नियमहरू बनाउन सक्नेछ ।

(२) उपदफा (१) ले दिएको अधिकारको सर्वसामान्यतामा प्रतिकूल प्रभाव नपर्ने गरी खास गरेर देहायका सबै वा कुनै विषयमा नियम बनाउन सकिनेछ :-

(क) ऋणपत्र निष्कासन गर्ने तरिका बारे,

(ख) ऋणपत्रको भुक्तानी अवधि, शर्त र सुविधा बारे,

(ग) नेपाल सरकारले निष्कासन गर्ने विभिन्न ढाँचा र तरिकाका ऋणपत्रहरूको नामसारी गर्ने तरिका बारे,

(घ) ऋणपत्रको ब्याजको भुक्तानी दिने तरिका र ढाँचा बारे,

(ङ) ऋणपत्रको प्रतिलिपि दिने शर्त तथा दस्तुर बारे,

(च) दफा १७ बमोजिम गर्ने कामको तरिका, शर्त तथा दस्तुर बारे,

(छ) ऋणपत्रसम्बन्धी कागजातहरू सनाखत गराउने बारे,

(ज) लेख्न, पढ्न नजान्ने ऋणपत्रका धनीको निमित्त ऋणपत्र खाता सञ्चालन गर्ने बारे,

(झ) ऋणपत्रसम्बन्धी खाता, कागजात हेर्न दिने अवस्था, तरिका र शर्त बारे,

(ञ) ऋणपत्रको धनी मनोनीत गर्ने तरिका बारे,

(ट) संरक्षक धनी मनोनीत गर्ने बारे,

(ठ) ऋणपत्रको प्राथमिक तथा दोस्रो बजार व्यवस्थापन बारे, र

(ड) यस ऐनबमोजिम गर्नु पर्ने काम सुचारूरूपले चलाउनको निमित्त गर्नु पर्ने अन्य कुनैकाम बारे ।