Skip to contentSkip to left sidebar Skip to footer

राष्ट्रिय बीमा संस्थान ऐन, २०२५

राष्ट्रिय बीमा संस्थान ऐन, २०२५

लालमोहर र प्रकाशन मिति
२०२५।७।९
संशोधन गर्ने ऐन                                            प्रमाणीकरण र प्रकाशन मिति
१. केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०६४              २०६४।५।९
१. गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानुन (संशोधन) गर्ने ऐन, २०६६        २०६६।१०।७
२०२५ सालको ऐन नं २०
…………..
राष्ट्रिय बीमा संस्थानको स्थापना र व्यवस्था गर्न बनेको ऐन
प्रस्तावना : देशको आर्थिक विकासको लागि आन्तरिक साधन र पूँजीको परिचालन गर्न तथा विदेशी मुद्राको व्ययभार रोक्नको लागि एक राष्ट्रिय बीमा संस्थानको स्थापना र व्यवस्था गर्न वाञ्छनीय भएकोले,
श्री ५ महाराजाधिराज महेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले यो ऐन बनाइबक्सेकोछ ।

परिच्छेद–१ प्रारम्भिक

१. संक्षिप्त नाम, विस्तार र प्रारम्भः (१) यस ऐनको नाम “राष्ट्रिय बीमा संस्थान ऐेन २०२५” रहेकोछ ।
(२) यो ऐन नेपालभर लागू हुनेछ ।
(३) यो ऐन नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको मितिदेखि प्रारम्भ हुनेछ ।
२. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमाः–
(क) “संस्थान” भन्नाले दफा ३ बमोजिम स्थापना भएको राष्ट्रिय बीमा संस्थान सम्झनु पर्छ ।
(ख) “समिति” भन्नाले दफा ६ अन्तर्गत गठन गरिएको सञ्चालक समिति सम्झनु पर्छ ।
(ग) “सञ्चालक” भन्नाले यो ऐनबमोजिम नियुक्त भएको संस्थानको सञ्चालक सम्झनु पर्छ । यो शब्दले प्रशासक र सहायक प्रशासकलाई समेत जनाउँछ ।
(घ) “जीवन बीमा व्यवसाय” भन्नाले बीमा ऐन, २०४९ को दफा २ को खण्ड (च) मा उल्लिखित जीवन बीमा व्यवसाय सम्झनु पर्छ ।
(ङ) …………

परिच्छेद–२ स्थापना, अधिकृत पूँजी र व्यवस्था

३. संस्थानको स्थापनाः (१) राष्ट्रिय बीमा संस्थान नामको एक संस्थानको स्थापना हुनेछ ।
(२) यो संस्थान अविछिन्न उत्तराधिकार भएको एक संगठित संस्था हुनेछ र यसले आफ्नो नामबाट नालिस उजुर गर्न र यस उपर पनि सोही नामबाट नालेस उजुर लाग्न सक्नेछ ।
(३) यो ऐन र यस ऐन अन्तर्गत बनेको नियमहरूको अधीनमा रही यस संस्थानले चल र अचल सम्पत्ति प्राप्त गर्न, भोग गर्न र बेच बिखन गर्न सक्नेछ ।
(४) यस संस्थानको सबै कामको लागि आफ्नो एउटा छुट्टै छाप हुनेछ ।
४. संस्थानको अधिकृत पूँजीः (१) संस्थानको अधिकृत पूँजी पचास करोड रुपैयाँको  हुनेछ । सो रकमलाई सय सय रुपैयाँको पचास लाख शेयरमा विभाजित गरिनेछ । संस्थानको चुक्ता पूँजी नेपाल सरकारको पूर्व स्वीकृत लिई समितिले जारी गरी उठाए बमोजम  हुनेछ ।
(२) नेपाल सरकारको स्वीकृत लिई संस्थानले आफ्नो अधिकृत पूँजी नेपाल राजपत्रमा सूचना प्रकाशित गरी घटाउन बढाउन सक्नेछ ।
५. संस्थानको केन्द्रीय कार्यालय र शाखाः (१) संस्थानको कन्द्रीय कार्यालय काठमाडौंमा रहनेछ ।
(२) संस्थानले नेपाल ………. भित्र वा बाहिर जहाँसुकै पनि आफ्नो शाखा वा प्रशाखा स्थापित गर्न सक्नेछ ।
६. सञ्चालक समितिको गठन र सञ्चालकको पदावधिः (१) संस्थानको सात जनासम्म सदस्य भएको एउटा सञ्चालक समिति हुनेछ र सो समितिमा बहुमत रहने गरी अध्यक्ष लगायत सञ्चालकहरूको नियुक्ति नेपाल सरकारले गर्नेछ र बाँकी सञ्चालकहरू साधारण सभामा शेयरवालाहरूद्वारा नियुक्त हुनेछन् ।
(२) अध्यक्ष लगायत सञ्चालकहरूको नियुक्ति तीन बर्षको लागि हुनेछ र कार्यावधि सकिए पछि पुनः नियुक्त हुन सक्ने छन् ।
(३) उपदफा (२) मा जेसुकै लेखिएको भए तापनि शेयरवालाहरूद्वारा पहिलो पटक नियुक्त भएका सञ्चालकहरू मध्ये एक सञ्चालकले प्रत्येक वर्ष गोला प्रथाद्वारा अवकाश पाउनेछ ।
(४) सञ्चालकहरूले समितिको बैठकमा उपस्थित भएको प्रत्येक दिनको निमित्त नेपाल सरकारले तोकिदिए बमोेजिम पारिश्रमिक पाउने छन् ।
७. सञ्चालकको अयोग्यताः देहायका अवस्थामा कुनै व्यक्ति सञ्चालकको पदमा नियुक्त हुन वा बहाल रहन पाउने छैनः–
(क) एक्काइस वर्ष उमेर नपुगेको, वा
(ख) बौलाएको वा मगज बिग्रेको, वा
(ग) ऋण तिर्न नसकी साहूको दामासाहीमा परेको, वा
(घ) सरकारी नोकरीको निमित्त भविष्यमा सामान्यतः अयोग्य ठहरिने गरी बरखास्त गरिएको,वा
(ङ) कुनै नैतिक पतन देखिने फौजदारी अपराधमा अदालतबाट सजाय पाएको, वा
(च) संस्थानको कुनै ठेक्का पट्टा वा करारमा कुनै प्रकारको निजी स्वार्थ भएको, वा
(छ) संस्थानको कर्मचारीको रूपमा बहाल रहेको ।
८. सञ्चालकको पद रिक्त हुने व्यवस्थाः (१) देहायको अवस्थामा सञ्चालकको पद रिक्त भएको मानिनेछ ः–
(क) दफा ७ बमोजिम सञ्चालकमा रहन अयोग्य भएमा, वा
(ख) सञ्चालकको पदबाट दिएको राजीनामा नेपाल सरकारद्वारा स्वीकृत भएमा, वा
(ग) कुनै मनासिब माफिकको कारणले उपस्थित हुन नसकेको सूचना नदिई लागातार तीन पटकभन्दा बढी समितिको बैठकमा अनुपस्थित भएमा, वा
(घ) साधारण सभाको दुई तिहाई बहुमतले सञ्चालकलाई सो पदबाट हटाउने निर्णय गरेमा ।
(२) कुनै सञ्चालकलाई सो पदमा कायम राख्नु संस्थानको हितको निमित्त उचित छैन भन्ने लागेमा नेपाल सरकारले निजलाई जुनसुकै बखत हटाउन सक्नेछ ।
९. रिक्त स्थानको पूर्तिः नेपाल सरकारद्वारा नियुक्त अध्यक्ष वा सञ्चालकको पद रिक्त हुन आएमा सो पदमा नेपाल सरकारले र शेयरवालाहरूद्वारा नियुक्त सञ्चालकको पद रिक्त हुन आएमा सो पदमा शेयरवालाहरूले नियुक्ति गर्ने छन् र त्यसरी नियुक्त भएको व्यक्ति आफ्नो साविकवालाको बाँकी अवधिसम्मको लागि बहाल रहनेछ ।
१०. समितिको बैठकः (१) अध्यक्षले आवश्यकता अनुसार समितिको बैठक बोलाउनेछ ।
तर, कुनै दुई बैठकको बीचको अवधि ३ महीना भन्दा बढी नहुने गरी कम्तीमा वर्षमा ६ पटक त्यस्तो बैठक बोलाउनु अनिवार्य हुनेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि छलफल गर्न खोजेको विषय सूची सहित कम्तीमा २ जना सञ्चालकले लिखित अनुरोध गरेमा अध्यक्षले सो अनुरोध बमोजिम बैठक बोलाउनु पर्छ ।
(३) समितिको बैठकको अध्यक्षता अध्यक्षको अनुपस्थितिमा सञ्चालकहरूले आफू मध्येबाट छानेको सञ्चालकले गर्नेछ ।
(४) बहु संख्यक सञ्चालककोे उपस्थिति नभै समितिको बैठक हुने छैन ।
(५) समितिको निर्णय बैठकको बहुमतद्वारा हुनेछ र अध्यक्षता गर्ने व्यक्तिले निर्णयात्मक मत समेत दिन सक्नेछ ।
(६) कुनै पनि सञ्चालकले आफ्नो निजी स्वार्थ भएको कुनै प्रस्ताव उपरको छलफलमा भाग लिन वा मत दिन पाउने छैन ।
११. व्यवस्थाः नेपाल सरकारको सामान्य निर्देशनका अधीनमा रही संस्थानको सबै काम कारवाईको रेखदेख र व्यवस्था समितिले गर्नेछ ।
१२. साधारण सभाः (१) प्रत्येक आर्थिक बर्ष समाप्त भएको ३ महीनाभित्र समितिले शेयरवालाहरूको वार्षिक साधारण सभा वोलाउनु पर्छ र त्यसपछि पनि आवश्यकतानुसार सभा वोलाउन सकिनेछ ।
(२) ५१ प्रतिशत शेयरवालाहरू आफै वा प्रतिनिधिद्वारा उपस्थित नभई साधारण सभा हुन सक्ने छैन ।
(३) कुनै वार्षिक वा अन्य साधारण सभा बोलाइएकोमा उपदफा (२) बमोजिमको उपस्थिति नभई सभा हुन नसकेमा समितिले त्यस्को सात दिन भित्र अर्को सभा बोेलाई सक्नु पर्छ । त्यसरी बोलाइएको सभामा उपस्थित भएको शेयरवाला वा प्रतिनिधिहरूले गरेको निर्णय मान्य हुनेछ ।
(४) कुनै पनि संस्थानको सभामा निर्णय बहुमतबाट हुनेछ ।
(५) वार्षिक साधारण सभामा उपस्थित शेयरवालाहरूले संस्थानको गत वर्षको लाभ हानीको हिसाब, वासलात लेखा परीक्षकको प्रतिवेदन र संस्थानको काम सम्बन्धी समितिको प्रतिवेदन उपर विचार गर्नेछन् ।
(६) संस्थानको शेयरवालाले प्रत्येक शेयरको एउटा मतको हिसाबले मत दिन सक्नेछ ।
………………..
(७) कुनै पनि शेयरवालाले वार्षिक साधारण सभाको बैठकमा आफै उपस्थित नभै वा प्रतिनिधि नपठाई मत दिन पाउने छैन ।

परिच्छेद–३ संस्थानको काम, कर्तव्य

१३. संस्थानको काम, कर्तव्यः (१) यो ऐन र यस अन्तर्गत बनेका नियमहरूको अधीनमा रही बीमाको व्यवसाय गर्नु संस्थानको कर्तव्य हनेछ ।
(२) उपदफा (१) को सर्वसामान्यतामा प्रतिकूल प्रभाव नपर्ने गरी संस्थानको काम र कर्तव्य देहाय बमोजिमको हुनेछः–
(क) जीवन बीमा व्यवसाय गर्ने,
(ख) पुनर्विमा गर्ने गराउने,
(ग) संस्थानले नेपालभित्र ठीक ठहराएको क्षेत्रमा लगानी गर्ने र सो लगानीको असूल उपर र सुरक्षाको लागि आवश्यक कदम लिने,
(घ) संस्थानले मनासिब सम्झेमा संस्थानसित धितो राखेको कुनै सम्पत्ति आफ्नो नियन्त्रणमा राख्न र त्यस्तो सम्पत्तिको सञ्चालन आवश्यक समयसम्म आफै गर्ने,
(ङ) चल–अचल सम्पत्तिको जमानतमा ऋण प्रदान गर्ने,
(च) संस्थानले ठीक ठहराएको संस्थानको सम्पत्ति धितो बन्धक राखी ऋण लिने,
(छ) संस्थानको कुनै सम्पत्ति भाडामा दिने, बिक्री गर्ने वा अन्य प्रकारबाट बरबन्दोबस्त गर्ने,
(ज) अन्य संस्थानको शेयर र ऋण पत्रको निष्काशनमा सहायता गर्ने, ग्यारेण्टी र अण्डरराइट गर्ने तथा एजेन्सी व्यवसाय गर्ने,
(झ) संस्थानले मनासिब सम्झेमा विदेशमा लगानी गर्ने,
(ञ) अन्य संगठित संस्थानको शेयर पूँजीमा लगानी गर्ने,
(ट) एजेन्टहरू नियुक्त गर्ने र निजहरूलाई कमिशन दिने,
(ठ) ग्यारेण्टी प्रदान गर्ने,
(ड) शेयर, वण्ड, डिवेञ्चर, प्रतित–पत्र, चल अचल सम्पत्ति आदि खरीद बिक्री गर्ने, डिष्काउण्ट कमिशन लिने दिने तथा दलाली गर्ने,
(ढ) संस्थानलाई हित हुने जुनसुकै प्रकारको सम्बन्धित व्यवसाय गर्ने,
(ण) कुनै पनि राष्ट्रिय दातव्य, जनकल्याण संस्थान वा संस्थानको प्रत्यक्ष वा अप्रत्यक्ष रूपले भलो हुने काम गर्ने र त्यसको लागि ग्यारेण्टी प्रदान गर्ने,
(त) संस्थानका स्थायी कर्मचारीहरूको निमित्त सञ्चयकोेष, निवृतभरण, उपदान तथा अन्य सुविधा प्रदान गर्नको लागि कोषको व्यवस्था गर्ने, र
(थ) ऋण पत्र र प्रिफरेन्स शेयर जारी गर्ने,

परिच्छेद–४ कोष, हिसाब र लेखा परीक्षण

१४. संस्थानको कोषः जीवन बीमा व्यवसायबाट भएको आम्दानी जम्मा गर्नको लागि संस्थानमा एक जीवन बीमा कोष रहनेछ ।
१५. हिसाबः संस्थानको आम्दानी खर्चको हर–हिसाब नेपाल सरकारबाट स्वीकृत ढाँचा र तरीकाअनुसार राखिनेछ ।
१६. लेखापरीक्षणः (१) लेखा परीक्षकको नियुक्ति वार्षिक साधारण सभाले गर्नेछ र निजको पारिश्रमिक सोही सभाले तोकिदिए बमोजिम हुनेछ । त्यस्तो लेखा परीक्षकले नेपाल कानुनबमोजिम लेखापरीक्षण गर्न इजाजत प्राप्त गरेको हुनु पर्छ ।
तर, पहिलो वार्षिक साधारण सभा नभएसम्मको लेखा परीक्षण नेपाल सरकारबाट खटाएको लेखा परीक्षकले गर्नेछ ।
(२) लेखा परीक्षकले संस्थानको जुनसुकै हिसाब र कागजात हेर्न जाँच्न सक्नेछ र सो काममा सहयोग गर्नु संस्थानका सम्बन्धित सबै कर्मचारीको कर्तव्य हुनेछ ।
(३) लेखा परीक्षकले आफूले गरेको लेखा परीक्षणको प्रतिवेदनको एक प्रतिलिपि नेपाल सरकारमा र अर्को प्रतिलिपि संस्थानको साधारण सभामा पेश गर्नेछ र त्यस्तो प्रतिवेदनमा देहायका कुराहरू स्पष्ट उल्लेख भएकोे हुनु पर्र्छः–
(क) संस्थानको वास्तविक आर्थिक स्थिति देखिने गरी सबै आवश्यक कुराहरू स्पष्ट खुलाई ठीक तथा रीतपूर्वक वार्षिक हिसाब तथा लाभ हानीको खाता तयार गरिएको छ छैन ।
(ख) मागिएको कुनै स्पष्टीकरण वा सूचना संस्थानले दिएको छ छैन र दिएको भए सो सन्तोषजनक छ छैन ।
(४) उपदफा (३) बमोजिम प्राप्त प्रतिवेदनको आधारमा साधारण सभाको राय लिई आवश्यक सुधार वा व्यवस्थाको लागि नेपाल सरकारले संस्थानलाई निर्देशन दिन सक्नेछ ।
१७. वासलात र लाभ हानीः (१) संस्थानले प्रत्येक आर्थिक वर्षको वासलात र लाभ हानीको हिसाब वार्षिक साधारण सभामा पेश गर्नु पर्छ ।
(२) हरेक आर्थिक वर्षको अन्तमा सो वर्षमा हुन आएको मुनाफाबाट रिजर्भ, ह्रास, वोनस र यस्तै आवश्यक अरू रकम सारिसकेपछि समितिले तोकेको लाभांश वितरण गरिनेछ ।
१८. विघटनः कुनै कारणवश संस्थानलाई विघटन गर्नु पर्छ भन्ने साधारण सभामा दुई तिहाई बहुमतले निर्णय भई त्यसको कारण समेत खुलाई समितिले नेपाल सरकारमा प्रतिवेदन पेश गरेमा नेपाल सरकारले तोके बमोजिमको तरिकाले विघटन गर्न सक्नेछ ।

परिच्छेद–५ विविध

१९. काम कारबाही बदर नहुनेः सञ्चालकको नियुक्ति वा समितिको गठनमा कुनै अनियमितता भएको वा कुनै सञ्चालकको पद रिक्त रहेको कारणले मात्र सञ्चालक वा समितिको कुनै काम कारबाही बदर हुने छैन ।
२०. कर्मचारीहरूको नियुक्तिः (१) संस्थानले आफ्नो काम कारोबार सुचारु रूपले संचालन गर्न प्रचलित कानुनको अधीनमा रही आवश्यकतानुसार कर्मचारी र सल्लाहकार नियुक्त गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम नियुक्त भएका व्यक्तिहरूको सेवाका शर्तहरू यो ऐन अन्तरगत बनेको नियमहरूद्वारा व्यवस्थित गरिनेछ ।
२१. शेयरवालाको दायित्वः शेयरवालाको दायित्व सीमित हुनेछ ।
२२. संस्थानको खाता बही र अन्य श्रेस्ता निरीक्षणः कुनै मुद्दा मामिला वा अन्य कुनै कानुनी कारवाईको सिलसिलामा कुनै अदालत वा अधिकारीले संस्थानको काम नरोकिने गरी संस्थानको खाता बही वा अन्य कुनै श्रेस्ताको निरीक्षण गर्न सक्नेछ र त्यस्तो खाता बही वा श्रेस्ता त्यस्ता अदालत वा अधिकारी छेउ प्रस्तुत गर्नु संस्थान तथा संस्थानका सम्बन्धित कर्मचारीको कर्तव्य हुनेछ ।
२३. संस्थानलाई निर्देशन दिने अधिकारः राष्ट्र हित वा संस्थानको हितको लागि नेपाल सरकारले संस्थानलाई आवश्यक निर्देशन दिन सक्नेछ र त्यस्तो निर्देशन पालन गर्नु संस्थानको कर्तव्य हुनेछ ।
२४. हानी नोक्सानी बारे अधिकारीहरूको बचाउः सञ्चालक वा संस्थानको अरू कुनै कर्मचारीले यो ऐन र यस अन्तर्गत बनेको नियमहरू बमोजिम आफ्नो कर्तव्यको पालनको सिलसिलामा असल नियतले गरेको वा गर्न खोजेको कुनै काम कुराले हुन आएको वा हुने कुनै हानी नोक्सानीको निमित्त निज व्यक्तिगत रूपले जबाफदेही हुने छैन र यस सम्बन्धमा निजको विरुद्ध कुनै अदालतमा कुनै किसिमको नालिश वा उजूर लाग्ने छैन ।
२५. अधिकार प्रत्यायोजनः समितिले आफ्नो कर्तव्य र अधिकारहरूमध्ये केही कर्तव्य र अधिकार कुनै सञ्चालक वा सञ्चालकहरूको उप–समिति वा संस्थानका अरू पदाधिकारीले पालन तथा प्रयोग गर्न पाउने गरी प्रत्यायोजन गर्न सक्नेछ ।
२६. दण्ड सजायः (१) कसैले जानाजानी वा बदनियतसाथ यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमहरू बमोजिम आफूले गर्नु पर्ने कुनै काम कारवाही नगरी वा गर्न नहुने कुनै काम कारवाई गरी संस्थानलाई क्षति पुयाएमा वा पुयाउन उद्योग गरेमा नोक्सानी बिगो भए बिगो असूल गरी निजलाई तीन वर्षसम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।
(२) कसैले संस्थानको लिखित स्वीकृति नलिई कुनै विवरण पत्र वा विज्ञापनमा संस्थानको नाम प्रयोग गरेमा निजलाई बढीमा छ महीनासम्म कैद वा एक हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।
(३) कसैले दफा १६ अन्तर्गत खटिएको लेखा परीक्षकलाई निजको कामकाजमा बाधा पु¥याएमा वा त्यस्तो लेखा परीक्षकले कानुनबमोजिम मागेको कागजपत्र वा सूचना कुनै मनासिब कारण बिना नदिएमा निजलाई बढीमा एक हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।
(४) उपदफा (१), (२) र (३) मा लेखिएदेखि बाहेक कसैले जानीजानी वा बदनियत साथ यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमहरूको अरू कुनै कुरा उल्लंघन गरेमा निजलाई एक हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।
२७. राष्ट्रिय बीमा संस्थानको दायित्व र कामः यो ऐन प्रारम्भ हुनु अगावै प्रचलित कानुन बमोजिम स्थापित राष्ट्रिय बीमा संस्थान प्राइभेट लिमिटेडले गरेको कारोबार तथा दायित्व जति सबै यस ऐन अन्तर्गत गठन भएको संस्थानमा सर्नेछ र राष्ट्रिय बीमा संस्थानले गरेको काम कारवाई यसै ऐनबमोजिम भए गरेको मानिनेछ ।
२७क. संस्थानको दायित्व तथा सम्पत्ति सुम्पन सक्नेः यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यो दफा प्रारम्भ हुनुअघि निर्जीवन बीमा व्यवसायबाट संस्थानलाई प्राप्त भएको आम्दानी, सो व्यवसाय वापत संस्थानमा रहेको दायित्व तथा निर्जीवन बीमा व्यवसायको लागि संस्थानले छुट्याएको सम्पत्ति नेपाल सरकारले नेपाल राजपत्रमा प्रकाशन गरी तोकिएदिएको निर्जीवन बीमा व्यवसाय गर्ने कुनै संस्थालाई सुम्पन सक्नेछ ।
२८. संस्थान र नेपाल सरकारको सम्बन्धः यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम संस्थानले नेपाल सरकारसँग वा नेपाल सरकारले संस्थानसँग सम्बन्ध राख्नु पर्दा नेपाल सरकार अर्थ मन्त्रालय मार्फत राख्नु पर्छ ।
२९. नियमहरू बनाउने अधिकारः (१) यो ऐनको उद्देश्य पूरा गर्न समितिले नियमहरू बनाउन सक्नेछ । तर नेपाल सरकारबाट स्वीकृत नभई ती नियमहरू लागू हुने छैनन् ।
(२) उपदफा (१) ले दिएको अधिकारको सर्वसामान्यतामा कुनै प्रतिकूल प्रभाव नपर्ने गरी संस्थानले खासगरी देहायका विषयहरूमा नियमहरू बनाउन सक्नेछः–
(क) समितिको बैठक बस्ने समय, स्थान र तत्सम्बन्धी कार्यविधि बारे,
(ख) समितिले संस्थानको अध्यक्ष वा सञ्चालक वा अन्य प्रशासकीय अधिकृतलाई अधिकार प्रत्यायोजन गर्ने बारे,
(ग) संस्थानका कर्मचारी  र सल्लाहकारको नियुक्ति, प्रमोशन, सरुवा, बर्खासी, पारिश्रमिक, निवृत्तभरण, उपदान, बोनस, आचरण, अनुशासन र सेवा सम्बन्धी शर्तहरू बारे,
(घ) संस्थानको तर्फबाट गरिने ठेक्का–पट्टा कबुलियत सम्बन्धी शर्तहरू बारे,
(ङ) संस्थानको छाप चलाउने कार्यविधि बारे,
(च) समितिले गर्ने कामको तरीका बारे,
(छ) संस्थानले यो ऐन अन्तर्गत गर्नुपर्ने सबै कामकाजको व्यवस्था गर्ने बारे ।
३०. बचाउः यो ऐन र यस ऐन अन्तर्गत बनेको नियमहरू तथा बीमा ऐन, २०२५ र सो ऐन अन्तर्गत बनेका नियमहरूमा लेखिए जति कुरामा सोही बमोजिम र अरूमा प्रचलित नेपाल कानुनबमोजिम हुनेछ ।