८. विभागले अनुसन्धान तथा तहकिकात गर्नु पर्ने: राजस्व चुहावट……..को सम्बन्धमा दफा ७ बमोजिम विभाग समक्ष प्राप्त हुन आएको सूचना वा अन्य कुनै श्रोतबाट प्राप्त भएको जानकारीको आधारमा विभागले तीस दिनभित्र यस ऐन बमोजिम अनुसन्धान तथा तहकिकात गरी कारबाही चलाउनु पर्नेछ ।
९. अनुसन्धान तथा तहकिकात सम्बन्धी विभागको अधिकार: (१) यस ऐन बमोजिम विभागले राजस्व चुहावट……….को सम्बन्धमा अनुसन्धान तथा तहकिकात गर्दा देहायको अधिकार प्रयोग गर्न सक्नेछ :-
(क) सम्बन्धित कार्यालय वा कुनै व्यक्तिको साथमा रहेको सम्बद्ध कागजात वा प्रमाणको लिखत वा अन्य कुनै कुरा विभागमा पठाउन वा निश्चित समयभित्र विभाग समक्ष पेश गर्न आदेश दिने, वा
(ख) राजस्व चुहावट को कसूरको आरोप लागेको व्यक्ति वा सम्बद्ध तथ्यहरुको जानकारी भएको भन्ने विभागले सम्झेको व्यक्तिलाई उपस्थित गराई निजलाई सोधपुछ गर्ने र निजको बयान लिने।
(२) राजस्व चुहावट ……..को कसूरको आरोप लागेको व्यक्तिसित विभागले बयान लिई सकेपछि त्यस्तो व्यक्तिलाई आवश्यकतानुसार थुनामा राख्न वा खोजेको बखत हाजिर हुने कागज गराई छाड्न वा तारिखमा राख्न सक्नेछ ।
(३) भ्रष्टाचारको कसूरको आरोपमा कारबाही चलाइएको कर्मचारी पदमा रही रहँदा आफ्नो विरुद्धको प्रमाण लोप वा नष्ट गर्न सक्ने वा अनुसन्धान तथा तहकिकातमा बाधा व्यवधान पुर्याउन सक्ने मनासिव कारण भएमा त्यस्तो कर्मचारीलाई पदबाट निलम्बन गर्न विभागले अर्थ मन्त्रालयलाई लेखी पठाउनु पर्नेछ । यसरी लेखी आएमा अर्थ मन्त्रालयले तत्काल निलम्बन गर्ने कारबाही गर्नु पर्नेछ ।
(४) राजस्व चुहावट……..को कसूरको आरोपमा कारवाही चलाइएको व्यक्ति ………. फरार भै बेपत्ता हुन सक्तछ भनी सम्झनु पर्ने कुनै मनासिव कारण भएमा वा बिगो हानी नोक्सानी भएको देखिएमा विभागले निजसँग बिगो र निजलाई हुन सक्ने जरिवानाको रकम बराबर धरौटी वा जमानत मागी तारेखमा छोड्न सक्नेछ र त्यस्तो धरौटी वा जमानत नदिएमा निजलाई थुनामा राख्न सक्नेछ ।
(५) विभागले समय तोकी कुनै लिखत वा अन्य कुनै वस्तु पेश गर्न वा कुनै कुराको जानकारी दिन सम्बन्धित कार्यालय वा सम्बन्धित कर्मचारीलाई लेखी पठाएको वा कुनै व्यक्तिलाई विभाग समक्ष उपस्थित हुन आदेश दिएकोमा,–
(क) सो बमोजिम तोकिएको समयभित्र सो कार्यालयले त्यस्तो लिखत वा वस्तु पेश नगरेमा वा जानकारी नदिएमा विभागले सम्बन्धित कार्यालय प्रमुख उपर विभागीय कारवाही चलाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लेखी पठाउनु पर्नेछ र यसरी लेखी आएमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तत्काल कारबाही चलाउनु पर्ने ।
(ख) सो बमोजिम तोकिएको समयभित्र त्यस्तो कर्मचारीले लिखत वा वस्तु पेश नगरेमा वा जानकारी नदिएमा वा त्यस्तो व्यक्ति विभागमा उपस्थित नभएमा निजलाई विभागले एक हजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।
(६) उपदफा (५) बमोजिम विभागीय कारबाही वा जरिवाना भएपछि पनि कुनै कार्यालय, कर्मचारी वा व्यक्तिले विभागको आदेशको पालना नगरेमा सो कार्यालयको प्रमुख, कर्मचारी वा त्यस्तो व्यक्तिलाई पक्राउ गरी उपस्थित गराउन विभागले तोकिए बमोजिम पक्राउ पूर्जी जारी गरी निजबाट त्यस्तो लिखत वा वस्तु पेश गर्न, गराउन वा निजबाट आवश्यक जानकारी लिन सक्नेछ । त्यसरी पक्राउ भएको कार्यालय प्रमुख, कर्मचारी वा व्यक्तिले विभाग समक्ष त्यस्तो लिखत वा वस्तु पेश नगरेमा वा तत्सम्बन्धी जानकारी नदिएमा निजलाई विभागले बढीमा सात दिनसम्म थुनामा राख्ने आदेश दिन सक्नेछ ।
(७) आवश्यकता अनुसार प्रचलित कानून बमोजिम कुनै ठाउँको तलासी लिने वा लिन लगाउने र त्यसरी तलासी लिँदा आवश्यक देखिएको कुनै वस्तु वा कागजपत्र विभागले आफ्नो कब्जामा लिन वा त्यस्तो कागजपत्रको प्रतिलिपि उतार्न सक्नेछ । विभागले यसरी कब्जामा लिएको वस्तु वा कागजपत्रको भरपाई दिनु पर्नेछ ।
१०. अनुसन्धान अधिकृत तोक्न सक्नेः (१) यस ऐन बमोजिम राजस्व चुहावट ………… सम्बन्धी कसुरको अनुसन्धान तथा तहकिकात महानिर्देशकले आवश्यकतानुसार आफै गर्न वा विभागको कुनै कर्मचारीलाई अनुसन्धान अधिकृत भई काम गर्न तोक्न सक्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारले आवश्यकतानुसार अन्य सरकारी निकाय वा सरकारी कर्मचारीलाई यस ऐन बमोजिम राजस्व चुहावट ………….. सम्बन्धी कसूरको सम्बन्धमा अनुसन्धान तथा तहकिकात गर्ने काम तोक्न सक्नेछ ।
११. अनुसन्धान अधिकृतको काम, कर्तव्य र अधिकार: (१) यस ऐन बमोजिम गरिने अनुसन्धान तथा तहकिकातको सम्बन्धमा अनुसन्धान अधिकृतको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:–
(क) राजस्व चुहावट ………. को कसूर अनुसन्धान अधिकृतको उपस्थितिमा भएमा कसूरदारलाई पक्राउ गरी कारवाही चलाउने ।
(ख) राजस्व चुहावट ………… को कसूरको सम्बन्धमा अनुसन्धान तथा तहकिकात गर्दा वा सबूद प्रमाण संकलन गर्दा कसूरमा मुछिएका व्यक्तिलाई पक्राउ गर्ने, कुनै सरकारी, अर्ध सरकारी वा गैर सरकारी कार्यालय, गोदाम वा आवश्यकता अनुसार अन्य कुनै स्थानको खानतलासी लिने, त्यस्तो गोदाम वा स्थानलाई सील गर्ने, सम्बन्धित कागजपत्र वा मालवस्तु आफ्नो कब्जामा लिने, अभियुक्तको बयान लिने, सरजमीन मुचुल्का तयार गर्ने समेत प्रचलित कानून बमोजिम प्रहरीले पाएको सबै अधिकार निजले प्रयोग गर्न सक्ने ।
(ग) अनुसन्धान तथा तहकिकात गर्दा अभियुक्तलाई तारेखमा राख्ने, धरौटी वा जमानी लिई छाड्ने र धरौटी राख्न वा जमानी दिन नसकेमा थुनामा राख्ने बारे प्रचलित कानून बमोजिम मुद्दा हेर्ने अधिकारीलाई भए सरहको अधिकार पनि अनुसन्धान अधिकृतले प्रयोग गर्न सक्ने ।
(घ) यस ऐन अन्तर्गतको काम कारवाही गर्दा आफ्नो ओहदाको हैसियतले ज्ञात हुन आएको कुनै कुरा वा दाखिल भएको कागजपत्रको गोप्यता प्रचलित कानूनले बाध्य गरेको अवस्थामा बाहेक अन्य अवस्थामा भंग नगर्ने ।
तर त्यस्तो कुरा वा कागजपत्र अन्य मुद्दा मामिलाको निमित्त आवश्यक प्रमाण लाग्ने किसिमको छ भन्ने कुरा मुद्दा हेर्ने अधिकारीलाई लागेमा निजको आदेशबाट कानूनद्वारा अधिकृत व्यक्तिका समक्ष त्यस्तो कुरा वा कागजपत्रको गोप्यता सम्बन्धी कुरा व्यक्त गरेमा गोप्यता भंग गरेको मानिने छैन ।
(ङ) यस ऐन बमोजिम अनुसन्धान अधिकृतले अनुसन्धान तथा तहकिकातको सिलसिलामा कुनै मालवस्तु वा कागजपत्र कब्जा गर्नु पर्दा सोको निस्सा सम्बन्धित कार्यालय वा व्यक्तिलाई दिई त्यस्तो मालवस्तु वा कागजपत्र सुरक्षित रुपमा राख्ने ।
(च) यस ऐन बमोजिम अनुसन्धान तथा तहकिकातको सिलसिलामा अनुसन्धान अधिकृतले गरेको प्रत्येक काम कारबाहीको प्रतिवेदन महानिर्देशकलाई दिनु पर्ने ।
(२) महानिर्देशक आफैले यस ऐन बमोजिमको कसूरको अनुसन्धान तथा तहकिकात गरेमा उपदफा (१) बमोजिम अनुसन्धान अधिकृतलाई प्राप्त कुनै वा सबै अधिकार निजले समेत प्रयोग गर्न सक्नेछ ।
१२. पक्राउ गर्नेः (१) यस ऐन बमोजिमको कुनै कसूरको अनुसन्धानको सिलसिलामा कुनै व्यक्तिलाई पक्राउ गर्नु पर्ने भएमा अनुसन्धान गर्ने अधिकारीले सोको कारण र त्यस्तो व्यक्तिको पहिचान खुल्ने विवरण सहित मुद्दा हेर्ने अधिकारी समक्ष पक्राउ गर्ने अनुमतिको लागि निवेदन दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको निवेदनबाट पक्राउ गर्नु पर्ने कारण मनासिब देखिएमा मुद्दा हेर्ने अधिकारीले पक्राउ पूर्जी जारी गर्ने अनुमति दिन सक्नेछ ।
(३) उपदफा (२) बमोजिम पक्राउ पूर्जी जारी गरिएको व्यक्तिलाई प्रहरीले गिरफ्तार गरी बाटोको म्याद बाहेक चौबीस घण्टाभित्र मुद्दा हेर्ने अधिकारी समक्ष उपस्थित गराउनु पर्नेछ ।
(४) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कसूर गर्ने व्यक्ति तत्काल पक्राउ नगरिएमा त्यस्तो व्यक्ति भाग्ने उम्कने वा निजले प्रमाण दसी वा सबूद नष्ट गर्ने मनासिब कारण भएमा वा कसूरसँग सम्बन्धित फरार रहेको व्यक्ति फेला परेमा वा कसूर गरिरहेको अवस्थामा फेला परेमा अनुसन्धान अधिकारीले त्यस्तो व्यक्तिलाई तत्कालै जरुरी पक्राउ पूर्जी जारी गरी त्यस्तो व्यक्तिलाई जुनसुकै ठाउँमा पक्राउ गरी मुद्दा हेर्ने अधिकारी समक्ष स्वीकृतिको लागि पक्राउ परेकोव्यक्ति सहित उपस्थित गराउनु पर्नेछ ।
१३. थुनामा राख्न सकिने: यस ऐन अन्तर्गत पक्राउ परेको व्यक्तिलाई अनुसन्धानको सिलसिलामा मुद्दा हेर्ने अधिकारीको स्वीकृति लिई एकपटकमा पन्ध्र दिनमा नबढाई बढीमा पैंतालीस दिनसम्म थुनामा राख्न सकिनेछ ।