Skip to contentSkip to left sidebar Skip to footer

मूल्य अभिवृद्धि कर ऐन, २०५२

मूल्य अभिवृद्धि कर ऐन, २०५२

लालमोहर र प्रकाशन मिति
२०५२।१२।७
संशोधन गर्ने ऐन
१. मूल्य अभिवृद्धि कर (पहिलो संशोधन) ऐन, २०५८   २०५८।१०।४
प्रमाणीकरण र प्रकाशन मिति
२. केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३   २०६३।६।२८
३. गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन,२०६६  २०६६।१०।७
४. केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७२   २०७२।११।१३

२०५२ सालको ऐन नं. १४

………………………

मूल्य अभिवृद्धि कर लगाउने र असुल उपर गर्ने व्यवस्था गर्न बनेको ऐन

प्रस्तावनाः देशको आर्थिक विकासको लागि आवश्यक राजश्व सङ्कलन गर्ने प्रक्रियालाई प्रभावकारी बनाई राजश्व परिचालन बढाउन वस्तु वा सेवाको बिक्री, वितरण, हस्तान्तरण, आयात वा निर्यात लगायतका सबै कारोबारमा मूल्य अभिवृद्धि कर लगाउने र असुल उपर गर्ने प्रक्रियालाई व्यवस्थित गरी राजश्व सङ्कलन प्रभावकारी ढङ्गबाट गर्न वाञ्छनीय भएकोले,
श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालको चौबीसौं वर्षमा संसदले यो ऐन बनाएकोछ ।

१. संक्षिप्त नाम र प्रारम्भ

(१) यस ऐनको नाम “मूल्य अभिवृद्धि कर ऐन, २०५२” रहेको छ ।

(२) यो ऐन नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको मितिदेखि प्रारम्भ हुनेछ ।

 

२. परिभाषा

विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,–

(क) “कर” भन्नाले यस ऐन बमोजिम लाग्ने मूल्य अभिवृद्धि कर सम्झनु पर्छ ।

(ख) “कारोबार” भन्नाले कुनै वस्तु वा सेवा आपूर्ति गर्ने कार्य सम्झनु पर्छ ।

(ग) “कर लाग्ने कारोबार” भन्नाले दफा ५ को उपदफा (१) मा उल्लिखित कारोबार सम्झनु पर्छ ।

(घ) “कर लाग्ने मूल्य” भन्नाले कुनै वस्तु वा सेवाको सम्बन्धमा दफा १२ बमोजिम कायम गरिने मूल्य सम्झनु पर्छ ।

(ङ) “वस्तु” भन्नाले चल वा अचल दुबै किसिमको सम्पत्ति सम्झनु पर्छ ।

(च) “सेवा” भन्नाले वस्तु बाहेकको जुनसुकै कुरा सम्झनु पर्छ ।

(छ) “आपूर्ति” भन्नाले प्रतिफल लिई कुनै वस्तु वा सेवा बिक्री, विनिमय, हस्तान्तरण गर्ने कार्य वा तत्सम्बन्धी अनुमति दिने वा ठेक्का पट्टा गर्ने कार्य सम्झनु पर्छ ।

(ज) “प्रतिफल” भन्नाले नगद, वस्तु, सेवा वा मूल्य बापत प्राप्त हुने कुनै पनि कुरा सम्झनु पर्छ ।

(झ) “आयात” भन्नाले प्रचलित कानून बमोजिम वस्तु वा सेवा नेपाल  ……………. भित्र पैठारी गर्ने कार्य सम्झनु पर्छ ।

(ञ) “निर्यात” भन्नाले प्रचलित कानून बमोजिम वस्तु वा सेवा नेपाल ………. बाहिर निकासी गर्ने कार्य सम्झनु पर्छ ।

(ट) “बजार मूल्य” भन्नाले दफा १३ बमोजिम निर्धारित मूल्य सम्झनु पर्छ ।

(ठ) “व्यक्ति” भन्नाले कुनै व्यक्ति, फर्म, कम्पनी, सङ्घ, संस्था, साझेदारी संस्था, सहकारी, संयुक्त व्यवसाय, गुठी वा कोष सम्झनु पर्छ र सो शब्दले नाफाको उद्देश्य लिई वा नलिई कर लाग्ने कारोबारमा संलग्न रहेको सरकारी निकाय, धार्मिक सङ्गठन, परोपकारी संस्था वा त्यस्तै अन्य निकायहरु र तिनका शाखा वा उपशाखाहरुलाई समेत जनाउँछ ।

(ड) “दर्ता भएको व्यक्ति” भन्नाले दफा १० बमोजिम कारोबार गर्न दर्ता भएको व्यक्ति सम्झनु पर्छ ।

(ढ) “दर्ता नम्बर” भन्नाले दर्ता भएको व्यक्तिलाई दफा १० बमोजिम प्रदान गरिएको नम्बर सम्झनु पर्छ ।

(ण) “आपूर्तिकर्ता” भन्नाले कुनै वस्तु वा सेवा आपूर्ति गर्ने व्यक्ति सम्झनु पर्छ ।

(त) “प्रापक” भन्नाले कुनै वस्तु वा सेवा ग्रहण गर्ने व्यक्ति सम्झनु पर्छ ।

(थ) “करदाता” भन्नाले कर लाग्ने कारोबारमा संलग्न व्यक्ति सम्झनु पर्छ ।

(थ१)“कर अवधि” भन्नाले करदाताले दफा १८ बमोजिम कर विवरण पेश गर्नु पर्ने अवधि सम्झनु पर्छ ।

(द) “विभाग” भन्नाले कर प्रशासनको निमित्त उत्तरदायी हुने गरी नेपाल सरकारले तोकेको अर्थ मन्त्रालय अन्तर्गतको कुनै विभाग सम्झनु पर्छ ।

(ध) “महानिर्देशक” भन्नाले विभागको महानिर्देशक सम्झनु पर्छ ।

(न) “कर अधिकृत” भन्नाले यस ऐनको प्रयोजनको निमित्त नेपाल सरकारले नियुक्त गरेको कर अधिकृत, प्रमुख कर अधिकृत, प्रमुख कर प्रशासक, महानिर्देशक वा यो ऐन बमोजिम कर अधिकृतको अधिकार प्रयोग गर्न पाउने गरी नेपाल सरकारले तोकेको अन्य कुनै अधिकृत सम्झनु पर्छ ।

(प) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।

३. कर अधिकृत नियुक्त गर्न वा तोक्न सक्ने

यस ऐनको प्रयोजनको निमित्त नेपाल सरकारले आवश्यक सङ्ख्यामा कर अधिकृतहरु नियुक्त गर्न सक्नेछ र नेपाल सरकारले आवश्यक देखेमा नेपाल सरकारको अन्य कुनै अधिकृतलाई पनि कर अधिकृतको कार्य गर्ने गरी तोक्न सक्नेछ ।

५. मूल्य अभिवृद्धि कर लाग्ने

(१) यस ऐनमा अन्यथा व्यवस्था भएकोमा बाहेक देहायका कारोबारमा मूल्य अभिवृद्धि कर लाग्नेछ:–

(क) नेपाल  ……. भित्र आपूर्ति भएका वस्तु वा सेवामा,

(ख) नेपाल …….. भित्र आयात गरिएको वस्तु वा सेवामा,

(ग) नेपाल …….. बाहिर निर्यात गरिएको वस्तु वा सेवामा,

(२) प्रत्येक कारोबारको कर लाग्ने मूल्यमा कर लाग्नेछ ।

(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि अनुसूची–१ मा उल्लिखित वस्तु वा सेवाहरुको कारोबारमा कर लाग्ने छैन । साथै त्यस्तो वस्तु वा सेवाको खरिदमा पहिले लागेको कर दफा १७ बमोजिम कट्टी गर्न र दफा २४ बमोजिम फिर्ता लिन पाइने छैन ।

५क.कारोबारको स्वामित्वको हस्तान्तरणमा कर नलाग्ने

यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि दर्ता भएको व्यक्तिले आफूले गर्दै आएको कारोबार अन्य कुनै दर्ता भएको व्यक्तिलाई बिक्री गरेमा त्यसरी हुने स्वामित्वको हस्तान्तरणमा कर लाग्ने छैन । त्यसरी कारोबार बिक्री गर्दा दर्ता भएको व्यक्तिले सो कुराको जानकारी तोकिए बमोजिम विभागलाई दिनु पर्नेछ ।

तर त्यस्तो कारोबार खरिद गर्ने दर्ता भएको व्यक्तिले साबिकवालाको कर दायित्व व्यहोर्नु पर्नेछ ।

५ख.दर्ता गर्न आदेश दिन सक्ने

दर्ता हुनु पर्ने व्यक्तिले दर्ता नगरी कुनै कारोबार गरिरहेको छ भन्ने कुरा कर अधिकृतलाई मनासिब लागेमा त्यस्तो व्यक्तिलाई दर्ता गर्न आदेश दिन सक्नेछ ।

तर दफा ९ बमोजिम तोकिएको रकमसम्मको मात्र कारोबार गरेको हुँदा दर्ता हुनु नपर्ने भन्ने जिकिर लिने व्यक्तिले सो कुराको प्रमाण पुर्‍याउनु  पर्नेछ ।

६. आपूर्तिको स्थान र समय

(१) यस ऐन बमोजिम कर निर्धारण र असुल उपर गर्ने प्रयोजनको लागि कुनै वस्तु वा सेवाको आपूर्ति नेपालभित्र वा बाहिर भएको कुराको निर्धारण तोकिए बमोजिम हुनेछ ।

(२) यस ऐन बमोजिम कर निर्धारण र असुल उपर गर्ने प्रयोजनको लागि कुनै वस्तु वा सेवाको आपूर्ति देहायको समयमध्येमा जुन पहिले हुन्छ सोही समयमा त्यस्तो वस्तु वा सेवाको आपूर्ति भएको मानिनेछ:–

(क) आपूर्तिकर्ताले बीजक जारी गरेको बखत,

(ख) वस्तुको आपूर्तिको हकमा प्रापकले आपूर्तिकर्ताको कारोबार स्थलबाट वस्तु उठाएको वा ग्रहण गरेको बखत,

(ग) सेवाको आपूर्तिको हकमा सेवा प्रदान भएको बखत,

(घ) आपूर्तिकर्ताले वस्तु वा सेवाको प्रतिफल प्राप्त गरेको बखत ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भएतापनि देहायका अवस्थाहरुमा देहाय बमोजिमको समयलाई आपूर्ति समय मानिनेछ:–

(क) निरन्तर रुपमा आपूर्ति हुने दूर सञ्चार सेवा वा त्यस्तै अन्य सार्वजनिक सेवाहरुको हकमा बीजक जारी गर्दाको समय,

(ख) करार बमोजिम किस्ताबन्दी रुपमा कुनै वस्तु वा सेवाको मूल्य एकभन्दा बढी दिनमा आंशिक रुपमा भुक्तानी हुने व्यवस्था भएकोमा भुक्तानी भएको वा करारमा भुक्तानी गर्नु पर्ने भनेर उल्लेख गरिएको दिनमध्ये जुन पहिले हुन्छ सो समय,

(ग) यस ऐन अन्तर्गत कर कट्टी सुविधा प्राप्त नहुने गरी प्रयोग भएका वस्तु वा सेवाको

हकमा त्यस्तो वस्तु वा सेवा प्रयोग भएको समय ।

(४) कुनै कारोबारको आपूर्ति समयको सम्बन्धमा उपदफा (२) मा उल्लिखित अवस्थाहरुमध्ये एकैपटक एकभन्दा बढी अवस्थाहरु लागू हुन सक्ने भएमा त्यस्तो कारोबारमा आपूर्तिको समयको निर्धारण महानिर्देशकले वस्तुगत आधारमा तोके बमोजिम हुनेछ ।

७. करको दर

(१) कुनै आर्थिक वर्षको निमित्त लाग्ने करको दर सो आर्थिक वर्षको निमित्त बनेको आर्थिक ऐनमा उल्लेख भए बमोजिमको एकल दर हुनेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि अनुसूची–२ मा उल्लिखित वस्तु वा सेवाको कारोबारमा शून्य दरमा कर लाग्नेछ ।

८. करको निर्धारण र असुल उपर

(१) दर्ता भएको व्यक्तिले यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम बमोजिम कर लाग्ने मूल्यमा कर निर्धारण र असुल उपर गर्नु पर्नेछ ।

(२) नेपाल ………… बाहिरको दर्ता नभएको कुनै व्यक्तिबाट नेपाल ……….. भित्र सेवा प्राप्त गर्ने व्यक्तिले यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम बमोजिम कर लाग्ने मूल्यमा कर निर्धारण र असुल उपर गर्नु पर्नेछ ।

९. सानो कारोबार गर्ने व्यवसायीलाई छुट

यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि तोकिएको रकमसम्मको वार्षिक कर लाग्ने कारोबार गर्ने साना व्यवसायीलाई दर्ता गर्नु नपर्ने र विवरण पेश गर्नु नपर्ने तथा अन्य प्रक्रियाहरु पूरा गर्नु नपर्ने गरी तोकिए बमोजिम छुट दिन सकिनेछ ।

तर कुनै सानो कारोबार गर्ने व्यवसायीले स्वेच्छाले आफ्नो कारोबार दर्ता गराउन चाहेमा दफा १० बमोजिमको प्रक्रिया पूरा गरी कारोबार दर्ता गराउन सक्नेछ ।

१०. दर्ता

(१) यो ऐन प्रारम्भ हुँदाका बखत कुनै कारोबारमा संलग्न रहेका प्रत्येक व्यक्तिले यो ऐन प्रारम्भ भएको मितिले नब्बे दिनभित्र कर अधिकृत समक्ष दर्ताको लागि तोकिएको ढाँचामा दरखास्त दिनु पर्नेछ ।

(२) यो ऐन प्रारम्भ भएपछि कुनै कारोबारमा संलग्न हुन चाहने प्रत्येक व्यक्तिले कारोबार सुरु गर्नुभन्दा अघि कर अधिकृत समक्ष दर्ताको लागि तोकिएको ढाँचामा दरखास्त दिनु पर्नेछ ।

(३) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भएतापनि अनुसूची–१ मा उल्लिखित कर छुट हुने वस्तु वा सेवाको मात्र कारोबार गर्ने व्यक्तिले दर्ता गराउनु पर्ने छैन ।

(४) उपदफा (१) वा (२) बमोजिम रीतपूर्वकको निवेदन दिने प्रत्येक व्यक्तिलाई कर अधिकृतले दर्ता गरी तोकिएको ढाँचामा तोकिएको म्यादभित्र दर्ता नम्बर सहितको दर्ताको प्रमाणपत्र दिनु पर्नेछ ।

(५) दर्ता भएको व्यक्तिले दर्ताको प्रमाणपत्र आफ्नो कारोबार सञ्चालन गर्ने प्रमुख स्थानमा सबैले देख्ने गरी राख्नु पर्नेछ र कारोबारको स्थान एकभन्दा बढी भएमा प्रमुख स्थान बाहेक अन्य स्थानमा समेत कर अधिकृतद्वारा प्रमाणित गरेको दर्ताको प्रमाणपत्र सबैले देखिने गरी राख्नु पर्नेछ ।

(६) दर्ता भएको व्यक्तिले आफ्नो दर्ता नम्बरको प्रयोग मूल्य अभिवृद्धि कर, अन्तःशुल्क र भन्सार सम्बन्धी सबै कारोबार र तोकिए बमोजिमका अन्य कारोबारको सम्बन्धमा समेत गर्नु पर्नेछ ।

(७) उपदफा (१) वा (२) बमोजिम दर्ताको लागि दिएको दरखास्तमा उल्लिखित विवरणमा कुनै परिवर्तन भएमा त्यस्तो परिवर्तन भएको पन्ध्र दिनभित्र दर्ता भएको व्यक्तिले कर अधिकृतलाई सो कुराको जानकारी दिनु पर्नेछ ।

११. दर्ता खारेजी

(१) कर अधिकृतले देहायका कुनै अवस्थामा दर्ता भएको व्यक्तिको दर्ता खारेज गर्न सक्नेछ:–

(क) सङ्गठित संस्था भए त्यस्तो सङ्गठित संस्था बन्द, बिक्री वा हस्तान्तरण भएमा वा अन्य कुनै किसिमबाट त्यस्तो सङ्गठित संस्थाको अस्तित्व कायम नरहेमा,

(ख) व्यक्तिगत स्वामित्व भए त्यस्तो स्वामित्व भएको व्यक्तिको मृत्यु भएमा,

(ग) साझेदारी संस्था भए त्यस्तो साझेदारी संस्था विघटन भएमा,

(घ) दर्ता भएको व्यक्तिले करलाग्ने कारोबार गर्न छाडेमा,

(ङ) भूलवश दर्ता भएकोमा ।

(१क) उपदफा (१) मा उल्लिखित अवस्था बाहेक अन्य अवस्थामा स्वेच्छालेआफ्नो कारोबार दर्ता गराएका सानो कारोबार गर्ने व्यवसायीले कारोबार दर्ता गराएको मितिले एक वर्ष पूरा नभएसम्म स्वेच्छाले आफ्नो कारोबारको दर्ता खारेजी गर्न सक्ने छैन । कारोबार दर्ता गराएको एक वर्ष पूरा भएपछि त्यस्ता कारोबारको दर्ता खारेजी गर्न चाहने सानो कारोबार गर्ने व्यवसायीले सम्बन्धित कर अधिकृत समक्ष दर्ता खारेजीको लागि तोकिए बमोजिम निवेदन दिन सक्नेछ । यसरी निवेदन परेमा सम्बन्धित कर अधिकृतले त्यस्तो कारोबारको दर्ता खारेज गरिदिनु पर्नेछ ।

(२) दर्ता खारेजी सम्बन्धी प्रक्रिया तोकिए बमोजिम हुनेछ ।

(३) पहिले कर कट्टी सुविधा लिइसकिएका वस्तुहरुमध्ये दर्ता खारेज हुँदाका बखत बाँकीरहेको मौज्दात (पुँजीगत सामान समेत) मा तोकिए बमोजिम कर निर्धारण गरी असुल गरिनेछ ।

१२. कर लाग्ने मूल्य

(१) यस ऐनमा अन्यथा व्यवस्था भएकोमा बाहेक नगद मात्र प्रतिफल भएको अवस्थामा आपूर्तिकर्ताले प्रापकसँग लिएको मूल्य मात्र कर लाग्ने मूल्य हुनेछ ।

(२) कर लाग्ने मूल्यमा देहायका रकमहरु समावेश हुनेछन्ः–

(क) कारोबारको सिलसिलामा आपूर्तिकर्ताले व्यहोरेको ढुवानी र वितरण सम्बन्धी खर्चहरु र नाफाको रकम,

(ख) यस ऐन बमोजिमको कर बाहेक अन्तःशुल्क र अन्य कर रकम ।

स्पष्टीकरण: यस खण्डको प्रयोजनको लागि “अन्य कर रकम” भन्नाले साल–बसाली आर्थिक ऐनले तोकिदिए बमोजिम लाग्ने महसुल, दस्तुर र शुल्क सम्झनु पर्छ ।

(३) वस्तु वा सेवा आपूर्ति गर्दा मूल्यमा दिईएको डिस्काउण्ट, कमिसन वा यस्तै अन्य व्यापारिक छुटको रकमलाई कर लाग्ने मूल्यमा समावेश गरिने छैन ।

(४) वस्तु विनिमय अन्तर्गत आदान प्रदान गरिएका वस्तु वा सेवाको कर लाग्ने मूल्य त्यसरी आदान प्रदान गरिएका वस्तु वा सेवाको बजार मूल्य बराबर हुनेछ ।

(५) यस ऐनमा अन्यथा व्यवस्था भएकोमा बाहेक आयात गरेको वस्तुको कर लाग्ने मूल्य कायम गर्दा मूल्य अभिवृद्धि कर बाहेक ढुवानी, बीमा, एजेण्ट र अन्य व्यक्तिहरुको कमिसन आदि समेतको पैठारी मूल्य, पैठारी महसुल, समीकारक महसुल र पैठारीमा लाग्ने अन्य कुनै कर भए सो समेत जोडी कर लाग्ने मूल्य कायम गरिनेछ ।

(६) कुनै वस्तु वा सेवाको मूल्य प्रचलित बजार मूल्यभन्दा ज्यादै कम देखिएमा त्यस्तो वस्तु वा सेवाको कर लाग्ने मूल्य बजार मूल्य बराबर हुनेछ ।

(७) आंशिक प्रतिफल लिई आपूर्ति गरेको वस्तु वा सेवाको कर लाग्ने मूल्य बजार मूल्य बराबर हुनेछ ।

(८) कुनै वस्तु वा सेवा बापत राखिएको धरौटी रकम आपूर्तिकर्ताले त्यस्तो वस्तु वा सेवाको प्रतिफलको रुपमा तोकिए बमोजिम मिलान नगरेसम्म कर लाग्ने मूल्य मानिने छैन ।

१३. बजार मूल्य

(१) कुनै दिनमा आपूर्ति गरिएको वस्तु वा सेवाको बजार मूल्यको निर्धारण असम्बन्धित व्यक्तिहरुका बीच स्वतन्त्र रुपले आपूर्ति भएको त्यस्तै किसिमको वस्तु वा सेवा बापत प्राप्त हुने प्रतिफललाई ध्यानमा राखी निर्धारण गरिनेछ ।

(२) यस दफाको प्रयोजनको लागि बजार मूल्य निर्धारण गर्ने प्रक्रिया तोकिए बमोजिम हुनेछ ।

(३) उपदफा (१) र (२) बमोजिम कुनै वस्तु वा सेवाको बजार मूल्य निर्धारण गर्न नसकिएको अवस्थामा महानिर्देशकले तोकेको प्रक्रिया अनुसार त्यस्तो वस्तु तथा सेवाको बजार मूल्य निर्धारण गरिनेछ ।

१४. बीजक दिनु पर्ने

(१) प्रत्येक दर्ता भएको व्यक्तिले तोकिए बमोजिमको अवस्थामा बाहेक कुनै वस्तु वा सेवा आपूर्ति गर्दा प्रापकलाई बीजक दिनु पर्नेछ ।

(२) बीजकको ढाँचा तोकिएबमोजिम हुनेछ ।

(३) बीजक लिनु प्रापकको कर्तव्य हुनेछ ।

१५. दर्ता नभएको व्यक्तिले कर उठाउन नहुने

(१) दर्ता नभएको व्यक्तिले कर असुल गरेको देखिने कुनै बीजक वा कागजात जारी गर्न र कर उठाउन हुँदैन।

(२) दर्ता नभएको कुनै व्यक्तिले कर उठाएमा त्यसरी उठाएको कर निर्धारण गरी निजबाट असुल उपर गरिनेछ ।

१६. कारोबारको लेखा राख्नु पर्ने

(१) करदाताले दफा १८ बमोजिमको कर अवधिको आफ्नो कारोबारको लेखा अद्यावधिक राख्नु पर्नेछ र त्यस्तो लेखा निरीक्षण गर्न कर अधिकृतले माग गरेमा जहाँसुकै रहेको निजको त्यस्तो लेखा कर अधिकृतलाई उपलब्ध गराउनु पर्नेछ ।

(२) करदाताले राखेको लेखामा देहायका कुराहरु समेत समावेश हुनु पर्नेछः–

(क) कारोबार भएको मिति,

(ख) प्रत्येक कारोबारको मूल्य,

(ग) कारोबारको अर्को पक्ष दर्ता भएको रहेछ भने निजको दर्ता नम्बर र

(घ) कारोबारसँग सम्बद्ध तोकिए बमोजिमका अन्य कुराहरु ।

(३) दर्ता भएको व्यक्तिले सम्बन्धित कर अधिकृतद्वारा प्रमाणित भएको खरिद तथा बिक्री खाता लेखा राख्ने प्रयोजनको निमित्त प्रयोग गर्नु पर्नेछ ।

(४) करदाताले कारोबारको लेखा तोकिएको अवधिसम्म सुरक्षित राख्नु पर्नेछ ।

(५) यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियमले तोकेको प्रक्रिया पूरा गरी करदाताले राखेको लेखालाई अन्यथा प्रमाणित नभएसम्म मान्यता दिईनेछ ।

१६क. कम्प्यूटरबाट प्रशोधित अभिलेख प्रमाणको रुपमा ग्राह्य हुने

प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भएतापनि करको प्रयोजनको निमित्त अन्यथा प्रमाणित भएमा बाहेक विभाग वा सो अन्तर्गतका कार्यालयमा रहेका कम्प्युटरबाट प्रशोधित करदाता सम्बन्धी अभिलेख प्रमाणको रुपमा ग्राह्य हुनेछ ।

१७. कर कट्टी

(१) दर्ता भएको व्यक्तिले आफ्नो कर लाग्ने कारोबारसँग सम्बन्धित वस्तु वा सेवा आयात वा प्राप्त गर्दा तिरेको वा तिर्नुपर्ने करको रकम आफूले उठाएको करको रकमबाट कट्टी गर्न सक्नेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि व्यावसायिक वा व्यक्तिगत दुबै प्रयोजनको लागि प्रयोग हुन सक्ने देहायका वस्तुहरुका हकमा कर कट्टी गर्न नपाउने वा आंशिक रुपमा मात्र कर कट्टी गर्न पाउने व्यवस्था गर्न सकिनेछ:–

(क) हवाइजहाज,

(ख) मोटर,

(ग) …………

(घ) धेरै मूल्य पर्ने तोकिए बमोजिमका अन्य वस्तुहरु ।

(३) कुनै महिनामा कारोबार भएको वस्तु वा सेवाको पूर्ण अंश कर लाग्ने कारोबारमा प्रयोग नभएमा उक्त वस्तु वा सेवामा पहिले तिरेको कर कट्टी सो वस्तु वा सेवाको कर लाग्ने कारोबारमा प्रयोग भएको अंशमा मात्र तोकिए बमोजिम प्रदान गरिनेछ ।

(४) यस दफा बमोजिम कर कट्टी सुविधा प्रदान गरिने वस्तु वा सेवाको तोकिए बमोजिमको उपयोगिताको अवधि समाप्त हुनुभन्दा अगावै कर लाग्ने कारोबारमा प्रयोग हुन छाडेमा तोकिए बमोजिम सो वस्तु वा सेवा तत्काल बजार मूल्यमा बिक्री भएको मानी कर असुल उपर गरिनेछ ।

(५) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि प्रयोग भैसकेका वस्तुहरुको कारोबार गर्ने दर्ता भएको व्यक्तिले पाउने कर कट्टी सुविधा तोकिए बमोजिम हुनेछ ।

(५क) हायर पर्चेज कर्जा वा धितोबन्धकमा बैंक वा वित्तीय संस्थाको नाउँमा पैठारी वा खरिद गरिएको मेशिनरी जस्ता पुँजीगत वस्तुहरु सम्बन्धित उद्योग, कम्पनी आदिले पैठारी वा खरिद गरे सरह मानेर त्यसमा तिरेको कर सम्बन्धित करदातालाई कट्टी गर्न दिईनेछ ।

(६) यस ऐन बमोजिमको कर कट्टी सुविधा तोकिए बमोजिमका कागजातहरुद्वारा दाबी प्रमाणित भएपछि मात्र दिइनेछ ।

(७) दर्ता हुँदाका बखत मौज्दातमा रहेको कर लाग्ने कारोबारमा प्रयोग हुने वस्तुमा तिरेको वा तिर्नु पर्ने कर कट्टी गर्ने व्यवस्था तोकिए बमोजिम हुनेछ ।

१८. कर विवरण पेश गर्नु पर्ने

(१) करदाताले प्रत्येक महिना आफुले बुझाउनु पर्ने कर रकम स्वयं निर्धारण गरी सो महिना समाप्त भएको पच्चीस दिनभित्र कर अधिकृत समक्ष तोकिए बमोजिम कर विवरण पेश गर्नु पर्नेछ । यस्तो विवरण सो महिनामा कर लाग्ने कारोबार गरेको वा नगरेको जेसुकै भएतापनि पेश गर्नु पर्नेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि तोकिए बमोजिमका करदाताले एक महिना भन्दा कम वा बढी अवधिको कर विवरण पेश गर्न सक्नेछ ।

१९. करको भुक्तानी

(१) करदाताले प्रत्येक कर अवधिको कर सो अवधि समाप्त भएको मितिले पच्चीस दिनभित्र बुझाउनु पर्नेछ ।

(२) करदाताले उपदफा (१) मा उल्लिखित म्यादभित्र बुझाउनु पर्ने कर नबुझाएमा त्यस्तो म्याद नाघेको महिना पछिको महिनाको मसान्तसम्म त्यस्तो बाँकीकर रकममा पाँच प्रतिशत थप दस्तुर बुझाउनुपर्नेछ ।

(३) उपदफा (२) बमोजिमको म्यादभित्र पनि करदाताले बुझाउनु पर्ने कर नबुझाएमा निजले त्यस बखतसम्म बुझाउनु पर्ने करको रकमको अतिरिक्त पाँच प्रतिशत थप दस्तुर बुझाउनु पर्नेछ ।

(४) करदाताले आफ्नो काबू बाहिरको परिस्थितिले गर्दा म्यादभित्र करको रकम बुझाउन नसकेको कारण देखाई उपदफा (२) वा (३) बमोजिम लाग्ने थप दस्तुरहरु मिनाहा पाउन निवेदन गरेमा र कारण मनासिब देखेमा महानिर्देशकले त्यस्तो दस्तुर मिनाहा दिन सक्नेछ ।

(५) उपदफा (२) र (३) बमोजिमको थप दस्तुरहरु र दफा २६ बमोजिमको ब्याज हिसाब गर्दा बुझाउनु पर्ने कर रकमको दायित्व जुन महिनाको कारोबारबाट सिर्जना भएको हो सोही महिनाको कर बुझाउनु पर्ने म्याद गुज्रेको मितिदेखि नै गणना गरिनेछ ।

(६) दफा २० बमोजिम करदाताको कर निर्धारण गर्दा सोकर अवधिमा निजसँग असुल गर्नु पर्ने कर भन्दा निजले फिर्ता पाउन सक्ने कर बढी भएको पाईएमा निजको सो कर अवधिमा कर निर्धारण गर्दा थप दस्तुर र ब्याज असुल गरिने छैन ।

(७) उपदफा (१) मा उल्लिखित म्यादभित्र करको भुक्तानी बैंकले प्रत्याभूति दिएको चेक (गुड फर पेमेन्ट चेक) बाट समेत गर्न सकिनेछ । यसरी बैंकले प्रत्याभूति दिएको चेक (गुड फर पेमेन्ट चेक) कार्यालयले बुझेको मितिदेखि नै करको भुक्तानी भएको मानिनेछ ।

(८) ब्याज, थप दस्तुर र जरिबाना माथि ब्याज असुल गरिने छैन ।

२०. कर अधिकृतले कर निर्धारण गर्न सक्ने

(१) देहायका कुनै अवस्थामा कर अधिकृतले कर निर्धारण गर्न सक्नेछ:–

(क) म्यादभित्र कर विवरण पेश नगरेमा,

(ख) अधुरो वा त्रुटीपूर्ण कर विवरण पेश गरेमा,

(ग) झुट्टा कर विवरण पेश गरेमा,

(घ) करको रकम कम देखाएको वा ठीक नभएको भन्ने कर अधिकृतलाई विश्वास गर्नु पर्ने कारण भएमा,

ङ) आपूर्ति मूल्यमा न्यून बीजकीकरण गरेको भन्ने कर अधिकृतलाई विश्वास गर्नु पर्ने कारण भएमा ।

(२) उपदफा (१) बमोजिम कर निर्धारण गर्दा देहायका कुनै वा सबै आधारमा करको निर्धारण गर्न सकिनेछ:–

(क) कारोबारको सबुत,

(ख) कारोबारको सम्बन्धमा सम्बन्धित कर अधिकृतले पेश गरेको कर परीक्षण प्रतिवेदन,

(ग) समान प्रकृतिको कारोबारमा संलग्न अन्य व्यक्तिले बुझाएको कर ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भएतापनि उपरोक्त बमोजिम करको निर्धारण गर्दा प्रमाणको भार पुर्‍याउने अभिभारा सम्बन्धित कर अधिकृतको हुनेछ ।

(४) उपदफा (१) बमोजिम कर निर्धारण गर्दा कर विवरण पेश गर्नु पर्ने वा पेश गरेको मितिमध्ये जुन पहिले हुन्छ सो मितिले चार वर्षभित्र कर निर्धारण गरिसक्नु पर्नेछ । उक्त अवधिभित्र पनि कर निर्धारण हुन नसकेमा पेश भएको विवरण नै स्वतः मान्य भएको मानिनेछ ।

(५) यस दफा बमोजिम कर निर्धारण गर्दा कर अधिकृतले सम्बन्धित व्यक्तिलाई आफ्नो सफाई पेश गर्न पन्ध्र दिनको म्याद दिनु पर्नेछ ।

२१. करको असुली

(१) यस ऐन बमोजिमको म्यादभित्र बुझाउनु पर्ने कर कुनै करदाताले नबुझाएमा महानिर्देशकको पूर्व स्वीकृति लिई सम्बन्धित कर अधिकृतले देहायका कुनै वा सबै तरिका अपनाई कर असुल गर्न सक्नेछ:–

(क) करदातालाई फिर्ता गर्नु पर्ने रकम भए त्यसमा कट्टा गरेर ।

(ख) करदाताको चल तथा अचल सम्पत्ति कब्जा गरेर ।

(ग) करदाताको सम्पूर्ण वा केही सम्पत्ति एकै पटक वा पटक पटक गरी तोकिए बमोजिम लिलाम बिक्री गरेर ।

(घ) बैंक तथा अन्य वित्तीय संस्थामा रहेको करदाताको रकमबाट कट्टा गर्न लगाएर ।

(ङ) नेपाल सरकार वा नेपाल सरकारको स्वामित्वमा भएको कुनै सङ्गठित संस्था वा स्थानीय तहहरुबाट करदाताले पाउने रकमबाट कट्टा गर्न लगाएर ।

(च) कुनै तेस्रो व्यक्तिले करदातालाई तिर्नु पर्ने रकम करदाताको पूर्व सहमति लिई कट्टा गरेर ।

(छ) करदाताको आयात निर्यात र अन्य कारोबार रोक्का गरेर ।

(२) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएता पनि यस ऐन बमोजिम निर्धारण भएको कर त्यसरी निर्धारण भएको मितिले ६ वर्ष पछि असुल गर्न सकिने छैन ।

(३) कर असुली वा फिर्ता गर्दा एक रुपैयाँ भन्दा घटी भएको रकमलाई हिसाबमा गणना गरिने छैन ।

२२. शङ्कास्पद अवस्थामा कर निर्धारण

यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि कुनै करदाताले नेपाल  ………. छोडी जाने वा आफ्नो सम्पत्ति अरु कसैलाई हस्तान्तरण गर्ने, हटाउने वा लुकाउने सम्भावना भई कर असुली हुन नसक्ने अवस्था छ भन्ने विश्वास गर्ने आधार भएमा कर अधिकृतले महानिर्देशकको स्वीकृति लिई लाग्ने तथा लागेको कर तुरुन्त निर्धारण गर्न र असुल गर्न सक्नेछ ।

२३. जाँच तथा परीक्षण सम्बन्धी अधिकार

(१) यस ऐन बमोजिम दर्ता गर्नु पर्ने करदाताले दर्ता नगरी कर लाग्ने कारोबार गरेको छ भन्ने कुरामा विश्वास गर्नु पर्ने मनासिब आधार भएमा कर अधिकृतले जाँचबुझ गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम जाँचबुझ गर्ने, दर्ता भएको व्यक्तिले दफा १८ बमोजिम पेश गरेको  कर विवरण जाँच गर्ने र दफा २० बमोजिम कर निर्धारण गर्ने प्रयोजनका लागि कर अधिकृतलाई देहाय बमोजिमको अधिकार हुनेछ:–

(क) कर दायित्वसँग सम्बन्धित वस्तुहरु, स्थान, कागजात, लेखा तथा अभिलेख जाँच गर्ने,

(ख) करदाताको कारोबार स्थल वा यस ऐन अन्तर्गत कसूर मानिने कार्यसित सम्बन्धित प्रमाणहरु हुन सक्ने सम्भावना भएका अन्य स्थलहरुमा खानतलासी लिने,

(ग) आफ्नो कर्तव्यपालनको सिलसिलामा कुनै अभिलेख, किताब, खाता, कागजातहरु तयार गर्ने वा तिनीहरुमा विवरण भर्ने व्यक्तिसँग जानकारी माग गर्ने,

(घ) करदाताको कारोबारस्थल वा सोसँग सम्बन्धित अन्य स्थलमा रहेको कुनै कागजात, किताब तथा अभिलेखलाई हटाउने वा कब्जा गर्ने वा अन्यत्र लैजाने,

(ङ) करदाताको कारोबार सञ्चालन गर्ने स्थान वा कर कार्यालय वा अन्य कुनै उपयुक्त स्थानमा करको लेखापरीक्षण गर्ने ।

(३) कर अधिकृतले बैंक तथा वित्तीय संस्था लगायत कुनै व्यक्तिसँग कुनै करदाताको कारोबारको सम्बन्धमा कुनै कुराको जानकारी माग गरेमा त्यस्तो सूचना कर अधिकृतलाई दिनु त्यस्तो व्यक्तिको कर्तव्य हुनेछ ।

 

 

२३क.स्थानीय प्रशासन तथा प्रहरीले सहयोग गर्नु पर्ने

यो ऐन कार्यान्वयन गर्ने सिलसिलामा कर अधिकृतले स्थानीय प्रशासन तथा प्रहरीको सहयोग मागेमा त्यस्तो सहयोग गर्नु स्थानीय प्रशासन तथा प्रहरीको कर्तव्य हुनेछ ।

२३ख.कर सम्बन्धी व्यवस्था यसै ऐन बमोजिम हुने

प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भएतापनि सालबसाली लागू हुने आर्थिक ऐनले यस ऐनमा संशोधन गरी कर लगाउने, निर्धारण गर्ने, बढाउने, घटाउने, छुट दिने वा मिनाहा दिने सम्बन्धी व्यवस्था गरेकोमा बाहेक अन्य कुनै पनि ऐनले यस ऐन बमोजिमका करका व्यवस्थाहरुमा कुनै पनि संशोधन, परिवर्तन वा कर सम्बन्धी अन्य व्यवस्थाहरु गर्न सक्ने छैन ।

२४. कट्टी गर्न पाउने रकम बढी भएमा

(१) दर्ता भएको व्यक्तिले कुनै महिनामा दफा १७ बमोजिम कट्टी गर्न पाउने करको रकम सो महिनामा उठाएको करको रकम भन्दा बढी भएमा त्यस्तो बढी रकम यस ऐन बमोजिम सो महिनासम्म बुझाउनु पर्ने कुनै रकम भए त्यसमा मिलान गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम मिलान गरी बाँकीरहेको रकम दर्ता भएको व्यक्तिले अर्काे महिनामा बुझाउनु पर्ने करको रकममा मिलान गर्न सक्नेछ ।

(३) यस दफा बमोजिम लगातार ६ महिनासम्म मिलान गरेर बाँकी रहेको रकम दर्ता भएको व्यक्तिले एकमुष्ट फिर्ता पाउन तोकिए बमोजिम कर अधिकृत समक्ष निवेदन दिन सक्नेछ ।

(४) उपदफा (२) र (३) मा जुनसुकै कुरा लेखिएको भएतापनि महिनाभरीको कुल बिक्रीमध्ये पचास प्रतिशत भन्दा बढी निकासी बिक्री गर्ने दर्ता भएको व्यक्तिले दफा १७ बमोजिम कट्टी गर्न पाउने करको रकम यस अघि यस दफामा तोकिएको कार्यविधि अपनाई फिर्ता पाउन निवेदन दिएमा बुझाउनु पर्ने कुनै रकम बाँकीभए त्यसमा मिलान गरी बाँकीरहेको रकम एकमुष्ट फिर्ता पाउन निवेदन दिन सक्नेछ ।

(५) उपदफा (३) वा (४) बमोजिम कुनै निवेदन परेमा फिर्ता दिनु पर्ने ठहरिएको रकम कर अधिकृतले तुरुन्त फिर्ता दिनेछ र निवेदन परेका मितिले साठी दिनभित्र फिर्ता नगरिएमा त्यस्तो रकममा नेपाल सरकारले तोकिए बमोजिमको ब्याज समेत दिनु पर्नेछ ।

(६) दर्ता भएको व्यक्तिले उपदफा (३) र (४) बमोजिम मिलान गरेर बाँकी रहेको रकम फिर्ता पाउने दाबी गरिसके पछि त्यस्तो रकम अर्का महिनामा उठाएको करमा मिलान गर्न पाउने छैन ।

 

२५. कर फिर्ता हुन सक्ने

(१) देहाय बमोजिमको करको रकम तत्सम्बन्धी कारोबार भएको मितिले तीन वर्षभित्र फिर्ता पाउन दरखास्त परेमा फिर्ता दिइनेछ:–

(क) नेपाल सरकार, परराष्ट्र मन्त्रालयले कुटनैतिक मान्यता प्रदान गरेको नेपालको कुटनीतिज्ञलाई विदेशी राष्ट्रले पारस्परिकताको आधारमा कर छुटको सुविधा प्रदान गरेको छ भने नेपाल……….. स्थित त्यस्तो राष्ट्रको कुटनीतिज्ञले नेपाल  ………… भित्र तिरेको करको रकम,

(ख) नेपाल सरकार, अर्थ मन्त्रालयले कर छुटको सुविधा प्रदान गरेको अन्तर्राष्ट्रिय संस्था वा त्यस्तो संस्थाले तिरेको करको रकम,

(ग) नेपाल सरकार, अर्थ मन्त्रालयबाट कर छुटको सहमति प्राप्त दुई वा बहुपक्षीय सम्झौता बमोजिम नेपाल ……… भित्र आयोजना सञ्चालन गर्ने सिलसिलामा तिरेको करको रकम,

(घ) भूलबाट असुल गरिएको करको रकम ।

(२) उपदफा (१) को खण्ड (घ) बमोजिम करको रकम फिर्ता गर्दा करको वास्तविक भार बहन गर्ने व्यक्तिलाई मात्र फिर्ता गरिनेछ ।

२६. ब्याज

(१) कर लगायत यस ऐन बमोजिम बुझाउनु पर्ने कुनै रकम म्यादभित्र दाखिला नगरेमा त्यस्तो म्याद नाघेको मितिदेखि बुझाउन बाकी रकममा ब्याज लाग्नेछ । त्यस्तो ब्याज दफा ३२ बमोजिम पुनरावेदनको लागि निवेदन दिएको अवस्थामा पनि गणना गरिनेछ ।

(२) उपदफा (१) को प्रयोजनको लागि नेपाल सरकार, अर्थ मन्त्रालयले समय समयमा ब्याज दर तोक्नेछ । त्यस्तो ब्याजको दर बाणिज्य बैंकले लिने सरदर प्रचलित ब्याजको दरको एक सय बीस प्रतिशत भन्दा कम हुने छैन ।

२८. आयात सम्बन्धी व्यवस्था

(१) नेपाल सरकार, अर्थ मन्त्रालयले अन्यथा तोकेकोमा बाहेक आयात हुने वस्तुमा भन्सार अधिकृतले यस ऐन बमोजिमको कर असुल गर्नेछ ।

(२) आयात हुने वस्तुको सम्बन्धमा कर असुल उपर गर्न भन्सार अधिकृतले यस ऐन र प्रचलित भन्सार ऐन बमोजिमको अधिकार प्रयोग गर्न सक्नेछ ।

२९. दण्ड सजाय

(१)कुनै व्यक्तिले देहायका कुनै कसूर गरेमा कर अधिकृतले देहाय बमोजिम जरिबाना गर्न सक्नेछ:–

(क) दफा १० को उपदफा (१) वा (२) उल्लङ्घन गरेमा प्रत्येक कर अवधिको निमित्त लाग्ने कर र दश हजार रुपैयाँ,

(ख) दफा १० को उपदफा (५), (६) वा (७) उल्लङ्घन गरेमा पटकै पिच्छे एक हजार रुपैयाँ,

(ग) दफा १४ उल्लङ्घन गरेमा लाग्ने कर र दुई हजार रुपैयाँ,

(घ) दफा १५ उल्लङ्घन गरेमा उठाएको कर र सोको शत प्रतिशत रकम,

(ङ) दफा १६ को उपदफा (१) बमोजिम कारोबारको लेखा अद्यावधिक नराखेमा दश हजार रुपैयाँ र कारोबारको लेखा निरीक्षण गर्न नदिएमा पटकै पिच्छे पाँच हजार रुपैयाँ,

(च) दफा १६ को उपदफा (२) उल्लङ्घन गरेमा पाँच हजार रुपैयाँसम्म,

(छ) दफा १६ को उपदफा (३) वा (४) उल्लङ्घन गरेमा दश हजार रुपैयाँ,

(ज) दफा १८ को व्यवस्था उल्लङ्घन गरेमा लाग्ने करको प्रति दिन ०.०५ प्रतिशत वा प्रति कर अवधि एक हजार रुपैयाँ मध्ये जुन बढी हुन्छ सो रकम,

(झ) दफा २३ बमोजिमको कार्यमा बाधा विरोध गरेमा पटकै पिच्छे पाँच हजार रुपैयाँ,

(ञ) न्यून बीजकीकरण गरी बीजक काटेको पाइएमा प्रत्येक बीजकको लागि दुई हजार रुपैयाँ वा उपदफा (२) बमोजिम लाग्ने जरिबाना मध्ये जुन बढी हुन्छ सो रकम, तर न्यून बीजकीकरण भएको वस्तु कार्यालयले आवश्यक सम्झेमा तोकिए बमोजिम खरिद गर्न गराउन सक्नेछ ।

(ट) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम उल्लङ्घन गरेमा पटकै पिच्छे एक हजार रुपैयाँ ।

(२) कुनै व्यक्तिले देहाय बमोजिमका कुनै कसूर गरेमा कर अधिकृतले त्यस्तो व्यक्तिलाई कर बिगोको शत प्रतिशत रकमसम्म जरिबाना वा ६ महिनासम्म कैद वा दुबै सजाय गर्न सक्नेछ:–

(क) झुट्टा लेखा वा बीजक वा अन्य कागजात तयार गरेमा,

(ख) जालसाजी गरेमा वा कर छलेमा,

(ग) दर्ता नभएको व्यक्तिले दर्ता भएको व्यक्ति सरह व्यवहार गरेमा,

(घ) दफा ३० को उल्लङ्घन गरी कारोबार गरेमा ।

३०. कारोबारको निलम्बन

दर्ता भएको व्यक्तिले दुई वा दुई भन्दा बढी पटक दफा २९ मा उल्लिखित कुनै कसूर गरेमा पटकै पिच्छे महानिर्देशकले त्यस्तो व्यक्तिको कारोबारस्थललाई बढीमा सात दिनसम्म कारोबार गर्न नपाउने गरी निलम्बन गर्न कर अधिकृतलाई आदेश दिन सक्नेछ ।

३१. अदालतलाई भए सरहको अधिकार हुने

यस ऐनको प्रयोजनको लागि कर अधिकृतलाई सम्बन्धित व्यक्तिलाई झिकाउने, बयान गराउने, प्रमाण बुझ्ने र लिखतहरु पेश गर्न लगाउने सम्बन्धमा अदालतलाई भए सरहको अधिकार हुनेछ ।

३१क. पुनः कारबाही गरी कर निर्धारण गर्ने अधिकार

(१) कर निर्धारण भई नसक्दै सो कर निर्धारण सम्बन्धी कुनै कारबाही अनियमित हुन लागेको छ वा भएको छ भन्ने कुरा महानिर्देशकलाई प्राप्त सूचनाबाट देखिन आएमा स्पष्ट कारण खोली पर्चा खडा गरी महानिर्देशकले पुनः कारबाही गरी कर निर्धारण गर्न सम्बन्धित कर अधिकृतलाई निर्देशन दिन वा अन्य कुनै अधिकृतलाई सो काम गर्ने आदेश दिन सक्नेछ ।

(२) कर निर्धारण गर्दा कर अधिकृतले पालन गर्नु पर्ने कर निर्धारण सम्बन्धी कुनै कुरा पालन नगरी वा अनियमित गरी वा लापरवाही गरी करको दायित्व बढ्न गएको छ भन्ने कुरा खुलाएको करदाताको निवेदन कर निर्धारण आदेश प्राप्त भएको मितिले पैंतीस दिनभित्र परेमा र सो कुरा छानबिन गर्दा सत्य देखिन आएमा कारण खोली पर्चा खडा गरी महानिर्देशकले सो कर निर्धारण आदेश रद्द गरी पुनः कर निर्धारण गर्न आदेश दिन सक्नेछ । यसरी पुनः कर निर्धारण गर्ने आदेश दिएकोमा महानिर्देशकले सो कुराको सूचना तीन दिनभित्र नेपाल सरकार, अर्थ मन्त्रालयलाई दिनु पर्नेछ ।

तर कर निर्धारण आदेश उपर दफा ३२ बमोजिम पुनरावेदन परिसकेको अवस्थामा महानिर्देशकले यस उपदफा बमोजिम आदेश दिन सक्ने छैन ।

(३) उपदफा (२) बमोजिम निवेदन दिने करदाताले निर्धारित कर रकममध्ये विवाद रहित कर रकम बुझाई विवादित कर रकम र जरिबानाको पचास प्रतिशत रकम धरौटी राख्न वा त्यस्तो रकम बापत बैंक प्रत्याभूति दिनु पर्नेछ ।

(४) कर अधिकृतले लापरवाही वा बदनियतसाथ कर निर्धारण गरी करको दायित्व घट्न गएमा महानिर्देशकले त्यस्तो कर निर्धारण आदेशमा संशोधन गर्न सुरु कर निर्धारण भएको मितिबाट चार वर्षभित्र आदेश दिन सक्नेछ ।

३२. पुनरावेदन

यस ऐन बमोजिम कर अधिकृतले गरेको कर निर्धारण वा सजायको आदेश वा दफा ३० बमोजिम महानिर्देशकले गरेको निलम्बनको आदेश उपर पैंतीस दिनभित्र राजश्व न्यायाधिकरणमा पुनरावेदन लाग्नेछ ।

३३. धरौटी राख्नु पर्ने

यस ऐन बमोजिम राजश्व न्यायाधीकरणमा पुनरावेदन दिंदा निर्धारित कर रकममध्ये विवाद रहित कर रकम बुझाई विवादित कर रकम र जरिबानाको पचास प्रतिशत रकम धरौटी राख्न वा त्यस्तो रकम बापत बैंक प्रत्याभूति दिनु पर्नेछ ।

३४. अधिकार प्रत्यायोजन

(१) कर निर्धारण गर्ने र सजाय गर्ने अधिकार बाहेक कर अधिकृतले यो ऐन बमोजिम आफुलाई प्राप्त अधिकारहरुमध्ये कुनै वा सबै अधिकार आफु मातहतका कर्मचारीहरुलाई सुम्पन सक्नेछ ।

(२) यस ऐनमा महानिर्देशकले गर्ने भनी किटान भएको अधिकार प्रत्यायोजन हुन सक्ने छैन ।

३५. कर अधिकृतको परिचयपत्र

प्रत्येक कर अधिकृतले तोकिए बमोजिमको परिचयपत्र आफ्नो साथमा राख्नु पर्नेछ र कर्तव्य पालनाको सिलसिलाम परिचयपत्र सम्बन्धित व्यक्तिलाई देखाउनु पर्नेछ ।

३७. गोपनीयता

कुनै व्यक्तिबाट प्राप्त हुन आएको करसँग सम्बन्धित कागजात वा अन्य सूचनाहरु देहायका अवस्थामा बाहेक अन्य कुनै अवस्थामा प्रकट गर्न वा प्रकाशन गर्न सकिने छैन:–

(क) नेपाल सरकारको राजश्व संरक्षण गर्ने सिलसिलामा राजश्व सङ्कलन गर्ने अधिकारीलाई जानकारी दिन,

(ख) करदाताको दायित्व प्रमाणित गर्ने सिलसिलामा राजश्वसँग सम्बन्धित कानून बमोजिम अदालतमा प्रमाणको रुपमा पेश गर्न,

(ग) राजश्व न्यायाधिकरण वा कुनै अदालतको कारबाहीको सिलसिलामा रहेको सार्वजनिक अभिलेखको अङ्का रुपमा राख्न ।

३८. कर अधिकृतलाई सजाय हुने

करको दायित्व बढ्ने वा घट्ने गरी कुनै कर निर्धारण बदनियत साथ वा लापरवाहीबाट भएको भन्ने महानिर्देशकले ठहर गरेमा त्यसरी कर निर्धारण गर्ने कर अधिकृतलाई महानिर्देशकले निजको सेवा शर्त सम्बन्धी कानून बमोजिम विभागीय कारबाही चलाउनेछ । तर यसरी कारबाही चलाउदा कर अधिकृतलाई आफ्नो सफाई पेश गर्ने उचित अवसर दिनु पर्नेछ ।