Skip to contentSkip to left sidebar Skip to footer

मालसामानको बहुविधिक ढुवानी ऐन, २०६३

प्रस्तावना

 बहुविधिक ढुवानी सेवाको विकास तथा सञ्चालन गरी मुलुकको व्यापारिक क्षमतालाई अभिवृद्धि गर्न तथा अन्तर्राष्ट्रिय व्यापारको विविधिकरण गरी मुलुकको अर्थतन्त्रलाई सुदृढ पार्न मालसामानको बहुविधिक ढुवानीका सम्बन्धमा कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले,
प्रतिनिधि सभाको घोषणा, २०६३ जारी भएको पहिलो वर्षमा प्रतिनिधि सभाले यो ऐन बनाएको छ ।

परिच्छेद–१ प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भ :(१) यस ऐनको नाम “मालसामानको बहुविधिक ढुवानी ऐन, २०६३” रहेको छ ।
(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।

२. परिभाषा :विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “बहुविधिक ढुवानी (मल्टी मोडल ट्रान्सपोर्टेशन)” भन्नाले बहुविधिक ढुवानी करारको आधारमा मालसामान ढुवानी गर्ने कार्य सम्झनु पर्छ
(ख) “बहुविधिक ढुवानी करार” भन्नाले बहुविधिक ढुवानी सञ्चालनकर्ताले नेपाल राज्यको कुनै एक स्थानमा रहेको पे्रषकबाट मालसामान बुझिलिई नेपाल राज्य बाहिरको तोकिएको कुनै स्थानसम्म दुई वा दुईभन्दा बढी फरक यातायातको साधन प्रयोग
गरी मालसामान हस्तान्तरण गर्न प्रेषक र बहुविधिक ढुवानी सञ्चालनकर्ता बीच भएको करार सम्झनु पर्छ ।
(ग) “बहुविधिक ढुवानी सञ्चालनकर्ता” भन्नाले बहुविधिक ढुवानी सेवा सञ्चालन गर्न दफा ४ बमोजिम इजाजतपत्र प्राप्त कम्पनी सम्झनु पर्छ ।
(घ) “विभाग” भन्नाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य विभाग सम्झनु पर्छ ।
(ङ) “प्रेषक (कन्साईनर)” भन्नाले मालसामान हस्तान्तरण गर्ने सम्बन्धमा बहुविधिक ढुवानी सञ्चालनकर्तासँग बहुविधिक ढुवानी करार गर्ने व्यक्ति सम्झनु पर्छ ।

(च) “प्रापक (कन्साईनी)” भन्नाले बहुविधिक ढुवानी करार बमोजिम बहुविधिक ढुवानी सञ्चालनकर्ता वा निजको आधिकारिक एजेण्ट वा प्रतिनिधिबाट मालसामान बुझिलिने हक प्राप्त भएको व्यक्ति सम्झनु पर्छ ।
(छ) “बहुविधिक ढुवानीपत्र” भन्नाले बहुविधिक ढुवानी करार बमोजिम बहुविधिक ढुवानी सञ्चालनकर्ताले पे्रषकबाट मालसामान बुझिलिई त्यस्ता मालसामान ढुवानी गरी हस्तान्तरण गर्ने दायित्व स्वीकार गरेको बहुविधिक ढुवानी करारलाई प्रमाणित गर्ने लिखत सम्झनु पर्छ ।
(ज) “विनिमेय अधिकारयुक्त बहुविधिक ढुवानीपत्र (नेगोशियवल मल्टिमोडल ट्रन्सपोर्ट डकुमेण्ट)” भन्नाले निर्देशित व्यक्ति वा वाहकको नाममा जारी भएको वा निर्देशित व्यक्ति वा वाहकले अर्को व्यक्तिलाई दरपीठ गरी वा नगरी हस्तान्तरण गर्न मिल्ने गरी जारी भएको बहुविधिक ढुवानीपत्र सम्झनु पर्छ ।
(झ) “विनिमेय अधिकारविहीन बहुविधिक ढुवानीपत्र (नन्नेगोशियवल मल्टिमोडल ट्रन्सपोर्ट डकुमेण्ट)” भन्नाले प्रापकको नाम उल्लेख भई जारी भएको बहुविधिक ढुवानीपत्र सम्झनु पर्छ ।
(ञ) “हस्तान्तरण” भन्नाले बहुविधिक ढुवानी करार बमोजिम प्रापक वा पे्रषकको लिखित अनुमति बमोजिम तोकिएको कुनै व्यक्तिलाई मालसामान बुझाउने कार्य सम्झनु पर्छ ।
(ट) “जिम्मा लिएको” भन्नाले बहुविधिक ढुवानी करार बमोजिम ढुवानी भएको मालसामान प्रापकलाई हस्तान्तरण गर्नका लागि बहुविधिक ढुवानी सञ्चालनकर्ताले प्रेषकबाट मालसामान बुझिलिने काम सम्झनु पर्छ ।
(ठ) “मालसामान” भन्नाले कन्टेनर वा प्याक भएको वा नभएको डिब्बा, प्यालेट वा त्यस्तै प्रकृतिका ढुवानीका मालसामान र जीवित जीवजन्तु समेत सम्झनु पर्छ ।
(ड) “एस.डी.आर.(स्पेशल ड्रईङ्ग राइट्स)” भन्नाले अन्तर्राष्ट्रिय मुद्रा कोषले समय समयमा परिभाषा गरे बमोजिमको एस.डी.आर.सम्झनु पर्छ ।
(ढ) “दरपीठ” भन्नाले बहुविधिक ढुवानीपत्रमा उल्लिखित मालसामानको स्वामित्व बहुविधिक ढुवानी करार बमोजिम तोकिएको व्यक्तिलाई हस्तान्तरण गर्नका लागि बहुविधिक ढुवानीपत्रको अग्रभाग वा पछाडिपट्टि देखिने गरी कैफियत उल्लेख गरी प्रापकले दस्तखत गर्ने काम सम्झनु पर्छ ।
(ण) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।

परिच्छेद–२ इजाजतपत्र सम्बन्धी व्यवस्था

३. इजाजतपत्र नलिई बहुविधिक ढुवानी सेवा सञ्चालन गर्न नहुने : कसैले पनि यस ऐन बमोजिम इाजतपत्र नलिई बहुविधिक ढुवानी सेवा सञ्चालन गर्न हुँदैन ।

४. इजाजतपत्र सम्बन्धी व्यवस्था : (१) बहुविधिक ढुवानी सेवा सञ्चालन गर्न चाहने देहाय बमोजिमको योग्यता भएको कम्पनीले तोकिएको निवेदन दस्तुर सहित विभागमा निवेदन दिनु पर्नेछ :–
(क) कम्पनीको नाउँमा कम्तीमा एककरोड रुपैयाँ चुक्ता पूँजी भएको,
(ख) नेपाल राज्य बाहिर कम्तीमा दुईवटा मुलुकमा आफ्नो कम्पनीको शाखा, आधिकारिक एजेण्ट वा प्रतिनिधि रहेको,
(ग) तोकिए बमोजिमको जनशक्ति, भौतिक सम्पत्ति तथा अन्य व्यवस्थापकीय क्षमता भएको ।
(२) उपदफा (१) बमोजिम परेको निवेदन छानबिन गर्दा निवेदकलाई बहुविधिक ढुवानी सेवा सञ्चालन गर्ने इजाजतपत्र दिन मनासिब देखिएमा विभागले इजाजतपत्र बापत पच्चीस हजार रुपैयाँ दस्तुर लिई निवेदन परेको साठी दिनभित्र इजाजतपत्र दिनेछ ।
(३) उपदफा (२) बमोजिम छानबिन गर्दा निवेदकको माग बमोजिम इजाजतपत्र दिन नमिल्ने देखिएमा सोको कारण खुलाई विभागले निवेदकलाई निवेदन परेको साठी दिनभित्र जानकारी गराउनु पर्नेछ ।
(४) उपदफा (२) बमोजिम प्रदान गरिएको इजाजतपत्रको अवधि पाँच वर्षको हुनेछ । सो अवधि समाप्त भएपछि इजाजतपत्रवालाले इजाजतपत्र नवीकरण गर्न चाहेमा तोकिएको दस्तुर विभागमा बुझाई इजाजतपत्र नवीकरण गर्न सक्नेछ ।

५. इजाजतपत्र रद्द हुन सक्ने : (१) देहायका अवस्थामा दफा ४ बमोजिम दिइएको इजाजतपत्र रद्द हुनेछ :–
(क) इजाजतपत्रप्राप्त कम्पनीको चुक्ता पूँजी एक करोड रुपैयाँ नभएको कुरा प्रमाणित भएमा,
(ख) इजाजतपत्रप्राप्त कम्पनीको नेपाल बाहिर कम्तीमा दुईवटा मुलुकमा शाखा, आधिकारिक एजेण्ट वा प्रतिनिधि नरहेको पाइएमा,

(ग) इजाजतपत्रवालाले दफा (४) बमोजिम इजाजतपत्र नवीकरण नगराएमा ।
(२) उपदफा (१) मा लेखिएदेखि बाहेक कुनै इजाजतपत्रवालाले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम विपरीत अन्य कुनै काम गरेमा विभागले त्यस्तो इजाजतपत्रवालालाई मनासिब माफिकको समय दिई सो काम सुधार गर्न मौका दिनेछ । त्यसरी मौका दिँदा पनि इजाजतपत्रवालाले आफ्नो काममा सुधार नगरेमा विभागले निजलाई दिएको इजाजतपत्र रद्द गर्नेछ ।
तर त्यसरी इजाजतपत्र रद्द गर्नुअघि निजलाई सफाई पेश गर्ने मौकाबाट वञ्चित गरिने छैन ।

६. पुनरावेदन गर्न सक्ने : (१) दफा ५ को उपदफा (२) बमोजिम इजाजतपत्र रद्द भएमा सम्बन्धित कम्पनीले त्यसरी इजाजतपत्र रद्द भएको सूचना पाएको मितिले पैंतीस दिनभित्र उद्योग, वाणिज्य तथा अपूर्ति मन्त्रालयको सचिव समक्ष पुनरावेदन गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम पुनरावेदन परेकोमा सम्बन्धित सचिवले पुनरावेदन परेको मितिले तीन महिनाभित्र पुनरावेदन सम्बन्धमा निर्णय गरिसक्नु पर्नेछ र त्यस्तो निर्णय अन्तिम हुनेछ ।

परिच्छेद–३ बहुविधिक ढुवानीपत्र र मालसामानको हस्तान्तरण

७. बहुविधिक ढुवानीपत्र जारी गर्ने : (१) बहुविधिक ढुवानी सञ्चालनकर्ताले पे्रषकबाट ढुवानीका लागि मालसामान बुझिलिंदा बहुविधिक ढुवानीपत्र जारी गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम जारी गरिने बहुविधिक ढुवानीपत्र पे्रषकले चाहे अनुसार विनिमेय अधिकारयुक्त वा विनिमेय अधिकारविहीन हुन सक्नेछ ।
(३) बहुविधिक ढुवानीपत्रमा प्रापकको नाम उल्लेख भएकोमा त्यस्तो व्यक्ति वा विनिमेय अधिकारयुक्त बहुविधिक ढुवानीपत्र जारी भएकोमा त्यस्तो ढुवानीपत्र दरपीठबाट अन्य व्यक्तिलाई हस्तान्तरण भएकोमा त्यस्तो व्यक्ति वा त्यस्तो ढुवानीपत्रको वाहकलाई त्यस्तो ढुवानीपत्रमा उल्लिखित मालसामान उपर स्वामित्व रहेको मानिनेछ ।

८. बहुविधिक ढुवानीपत्रमा दस्तखत गर्नु पर्ने : (१) बहुविधिक ढुवानी सञ्चालनकर्ताले बहुविधिक ढुवानीपत्रमा दस्तखत गरेको हुनु पर्नेछ ।
(२) बहुविधिक ढुवानीपत्रमा गरिने दस्तखत हस्तलिखित वा प्रचलित कानूनले मान्यता दिएको अन्य जुनसुकै माध्यमबाट हुन सक्नेछ ।

९. बहुविधिक ढुवानीपत्रमा उल्लेख हुनु पर्ने कुराहरु : बहुविधिक ढुवानीपत्रमा देहायका कुराहरु उल्लेख भएको हुनु पर्नेछ :-
(क) मालसामानको प्रकृति, पहिचानको चिन्ह, खतरापूर्ण प्रकृतिको मालसामान भए सोको विवरण, प्याकेज (पोका) वा सङ्ख्याको विवरण, मालसामानको कुल तौल वा परिमाण तथा प्रेषकले दाखिला गरे बमोजिमको अन्य विवरण,
(ख) मालसामानको बाह्य स्थिति,
(ग) बहुविधिक ढुवानी सञ्चालनकर्ताको नाम तथा कारोबारको मुख्य स्थान,
(घ) प्रेषकको नाम र ठेगाना,
(ङ) प्रेषकले प्रापकको नाम उल्लेख गरेको भए सोको विवरण,
(च) बहुविधिक ढुवानी सञ्चालनकर्ताले मालसामान बुझेको स्थान र मिति,
(छ) बहुविधिक ढुवानी करारका पक्षहरुबीच मञ्जूरी भए बमोजिम मालसामान हस्तान्तरण गर्नु पर्ने ठाउँ, मिति र समयावधि,
(ज) बहुविधिक ढुवानीपत्र विनिमेय अधिकारयुक्त वा विनिमेय अधिकारविहीन के हो सोको विवरण,
(झ) बहुविधिक ढुवानीपत्र जारी भएको मिति र स्थान,
(ञ) बहुविधिक ढुवानी सञ्चालनकर्ता वा निजको आधिकारिक प्रतिनिधिको सहीछाप,
(ट) प्रापक वा पे्रषकले बुझाउनु पर्ने ढुवानी शुल्क वा ढुवानी शुल्क बुझाइसकेको भए सोको विवरण,
(ठ) बहुविधिक ढुवानी करारका पक्षहरुबीच सहमति भए बमोजिमको मालसामान ढुवानी गर्ने मार्ग र माध्यम,
(ड) बहुविधिक ढुवानी करारका पक्षहरुले बहुविधिक ढुवानीपत्रमा समावेश गर्न मञ्जूर गरेका अन्य कुराहरु ।

१०. विनिमेय अधिकारयुक्त बहुविधिक ढुवानीपत्र जारी गर्ने – विनिमेय अधिकारयुक्त बहुविधिक ढुवानीपत्र जारी गर्दा देहाय बमोजिम जारी गर्नु पर्नेछ :-
(क) निर्देशित व्यक्ति वा वाहकका नाममा जारी भएको हुनु पर्ने,
(ख) निर्देशित व्यक्तिका नाममा जारी भएको बहुविधिक ढुवानीपत्र दरपीठबाट अन्य व्यक्तिको नाममा हस्तान्तरण हुन सक्ने,
(ग) वाहकका नाममा जारी भएको बहुविधिक ढुवानीपत्र दरपीठ विना नै अन्य व्यक्तिलाई हस्तान्तरण हुन सक्ने,
(घ) एकभन्दा बढी बहुविधिक ढुवानीपत्र जारी भएकोमा त्यस्तो ढुवानीपत्रमा सो व्यहोरा उल्लेख भएको हुनु पर्ने ।

११. विनिमेय अधिकारयुक्त बहुविधिक ढुवानीपत्रबाट मालसामान हस्तान्तरण गर्न सकिने : (१) दफा १० बमोजिम जारी भएको विनिमेय अधिकारयुक्त बहुविधिक ढुवानीपत्र बमोजिम बहुविधिक ढुवानी सञ्चालनकर्ता वा निजको एजेण्ट वा प्रतिनिधिले प्रापक वा निजको एजेण्ट तथा प्रतिनिधिलाई मालसामान हस्तान्तरण गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम मालसामान हस्तान्तरण भएकोमा रीतपूर्वक मालसामान हस्तान्तरण भएको मानिनेछ ।
तर विनिमेय अधिकारविहीन बहुविधिक ढुवानीपत्र जारी भएको अवस्थामा प्रेषकको लिखित अनुमति लिई त्यस्तो अनुमतिपत्रमा तोकिएको अन्य कुनै व्यक्तिलाई मालसामान हस्तान्तरण गर्न बाधा पर्ने छैन ।

१२. बहुविधिक ढुवानीपत्रमा कैफियत जनाउन सकिने -(१) बहुविधिक ढुवानीपत्र जारी गर्दा सो ढुवानीपत्रमा उल्लेख गरिएको मालसामानको सामान्य प्रकृति, प्रमुख चिन्ह, पोका वा थानको सङ्ख्या, तौल वा परिमाण बुझिलिएको मालसामानसँग दुरुस्त मेल नखाने कुरा बहुविधिक ढुवानी सञ्चालनकर्ता वा निजकोतर्फबाट काम गर्ने व्यक्तिलाई थाहा हुन आएमा वा त्यसरी बुझिलिएका मालसामान दुरुस्त नभएको शङ्का गर्नु पर्ने मनासिब कारण भएमा वा त्यस्ता विवरणहरु जाँच गर्न आवश्यक पर्ने साधनहरु निजसँग नभएमा बहुविधिक ढुवानी सञ्चालनकर्ता वा निजको तर्फबाट काम गर्ने व्यक्तिले बहुविधिक ढुवानीपत्रमा दुरुस्त नभएका त्यस्ता विवरणहरु, शङ्का गर्नु पर्ने आधारहरु वा जाँच गर्न आवश्यक पर्ने साधनहरु नभएको कुरा उल्लेख गरी कैफियत जनाउन सक्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपदफामा लेखिएका कुनै एक वा एकभन्दा बढी विवरण उल्लेख नभएको कारणले मात्र बहुविधिक ढुवानीपत्रको कानूनी मान्यता उपर कुनै किसिमले प्रतिकूल प्रभाव पारेको मानिने छैन ।

१३. कैफियत जनाई मालसामान बुझिलिन सक्ने : (१) दफा १२ मा जुनसुकै कुरा लेखिएको भए तापनि बहुविधिक ढुवानी सञ्चालनकर्ता वा निजको आधिकारिक प्रतिनिधिले पे्रषक वा निजको आधिकारिक एजेण्ट वा प्रतिनिधिबाट ढुवानीको लागि मालसामान बुझिलिंदा ढुवानीपत्रमा उल्लिखित व्यहोरासँग दुरुस्त मेल नखाने कुराको सम्बन्धमा कुनै शङ्का लागेमा सोही व्यहोरा कैफियत जनाई मालसामान बुझिलिन सक्नेछ ।

(२) बहुविधिक ढुवानी सञ्चालनकर्ता वा निजको आधिकारिक प्रतिनिधिले उपदफा (१) बमोजिम कुनै कैफियत नजनाई पे्रषक वा निजको आधिकारिक एजेण्ट वा प्रतिनिधिबाट ढुवानीको लागि मालसामान बुझिलिएमा ढुवानीपत्रमा उल्लिखित मालसामान दुरुस्त भएको मानिनेछ ।

१४. बहुविधिक ढुवानीपत्र आधारभूत प्रमाण हुने – बहुविधिक ढुवानी सञ्चालनकर्ताले प्रेषकबाट बहुविधिक ढुवानीपत्रमा उल्लेख भए बमोजिम मालसामान बुझिलिएकोमा त्यस्तो ढुवानीपत्र त्यसरी मालसामान बुझिलिएको कुराको आधारभूत प्रमाण हुनेछ ।

१५. ढुवानीपत्रमा उल्लिखित मालसामानको विवरणको प्रत्याभूति : प्रेषक, निजको आधिकारिक एजेण्ट वा प्रतिनिधिले बहुविधिक ढुवानी सञ्चालनकर्तालाई मालसामान ढुवानीको लागि बुझाउँदा बहुविधिक ढुवानीपत्रमा उल्लिखित विवरण त्यसरी बुझाइएका मालसामानको विवरणको सम्बन्धमा सामान्य प्रत्याभूति दिएको मानिनेछ ।

१६. मालसामान हस्तान्तरण विधि : बहुविधिक ढुवानी सञ्चालनकर्ताले बहुविधिक ढुवानी करार बमोजिम प्रापकलाई मालसामान हस्तान्तरण गर्दा देहाय बमोजिम हस्तान्तरण गर्नु पर्नेछ :-
(क) वाहक अङ्कित विनिमेय अधिकारयुक्त बहुविधिक ढुवानीपत्र जारी भएको अवस्थामा सोको सक्कल प्रति दाखिला गर्ने व्यक्तिलाई हस्तान्तरण गरेर,
(ख) निर्देशित व्यक्ति अङ्कित विनिमेय अधिकारयुक्त बहुविधिक ढुवानीपत्र जारी भएको अवस्थामा रीतपूर्वक दरपीठ भएको बहुविधिक ढुवानीपत्र दाखिला गर्ने व्यक्तिलाई हस्तान्तरण गरेर,
(ग) प्रापकको नाम अङ्कित विनिमेय अधिकारविहीन बहुविधिक ढुवानीपत्र जारी भएको अवस्थामा पे्रषकको लिखित अनुमति पत्रमा उल्लिखित प्रापक हो भन्ने मनासिब प्रमाण पेश गर्ने व्यक्तिलाई हस्तान्तरण गरेर ।

परिच्छेद–४ बहुविधिक ढुवानी सञ्चालनकर्ताको दायित्व

१७. बहुविधिक ढुवानी सञ्चालनकर्ताको दायित्व : (१) बहुविधिक ढुवानी सञ्चालनकर्ताले प्रेषकबाट बहुविधिक ढुवानी करार बमोजिम मालसामान बुझिलिएपछि दफा १६ बमोजिम मालसामान हस्तान्तरण नगरेसम्म मालसामान उपरको सम्पूर्ण दायित्व निजको हुनेछ ।
(२) बहुविधिक ढुवानी करारको परिपालनाको सिलसिलामा बहुविधिक ढुवानी सञ्चालनकर्ता, निजको कर्मचारी वा निजको प्रतिनिधिबाट हुन गएको कुनै पनि कार्यप्रति बहुविधिक ढुवानी सञ्चालनकर्ता स्वयं जवाफदेही हुनेछ ।
(३) उपदफा (१) वा (२) को सर्वमान्यतामा प्रतिकूल नहुने गरी बहुविधिक ढुवानी सञ्चालनकर्ता, निजको कर्मचारी, निजको अधिकारप्राप्त प्रतिनिधि वा करार बमोजिम निजसँग सेवालिने अन्य कुनै व्यक्तिले बहुविधिक ढुवानी करार बमोजिम ढुवानीका लागि जिम्मा लिएको
मालसामान हराएमा, हानि नोक्सानी वा क्षति भएमा वा बहुविधिक ढुवानी करार बमोजिम निर्धारित अवधिभित्र प्रापकलाई हस्तान्तरण नगरेको कारणबाट प्रेषक वा प्रापकलाई हुन गएको मनासिब हानि, नोक्सानी वा क्षतिको लागि बहुविधिक ढुवानी सञ्चालनकर्ता स्वयं जवाफदेही हुनेछ र सो बापत निजले क्षतिपूर्ति दिनु पर्नेछ ।
तर बहुविधिक ढुवानी सञ्चालनकर्ता, निजको कर्मचारी, निजको प्रतिनिधि वा करार बमोजिम निजसँग सेवा लिने अन्य कुनै व्यक्तिको दोष वा हेलचेक्राइबाट त्यस्तो हानि नोक्सानी वा क्षति नभएको कुरा प्रमाणित गरेमा बहुविधिक ढुवानी सञ्चालनकर्ता क्षतिपूर्ति दिन बाध्य हुने छैन ।

१८. बहुविधिक ढुवानी सञ्चालनकर्ताले करार गर्न सक्ने : (१) बहुविधिक ढुवानी सञ्चालनकर्ताले यस ऐन बमोजिम पे्रषकसँग बहुविधिक ढुवानी करार गरी मालसामान ढुवानी गर्न जिम्मा लिएपछि सो करारको शर्तको प्रतिकूल नहुने गरी अन्य कुनै व्यक्तिसँग मालसामान ढुवानीका सम्बन्धमा करार गर्न सक्नेछ ।
(२) बहुविधिक ढुवानी सञ्चालनकर्ताले उपदफा (१) बमोजिम अन्य कुनै व्यक्तिसँग करार गरी सो बमोजिम मालसामान ढुवानी गरेकोमा दफा १७ बमोजिमको दायित्वबाट निजले छूट पाउने छैन।

१९. मालसामान हस्तान्तरण गर्न ढिलाई भएको मानिने : बहुविधिक ढुवानी करारमा मालसामान ढुवानी गरिसक्नु पर्ने समयावधि किटान गरिएकोमा सो अवधिभित्र र त्यसरी किटान नगरिएको अवस्थामा ढुवानी गर्नु पर्ने मालसामानको प्रकृति, बहुविधिक ढुवानी सञ्चालनकर्ताको अवस्था तथा मालसामान ढुवानी गर्दाको समग्र परिस्थिति समेतको आधारमा मनासिब माफिकको समयावधिभित्र बहुविधिक ढुवानी सञ्चालनकर्ताले मालसामान हस्तान्तरण नगरेमा मालसामान हस्तान्तरण गर्न ढिलाई भएको मानिनेछ ।

२०. मालसामान हराएको मानिने : बहुविधिक ढुवानी करारमा मालसामान हस्तान्तरण गर्ने समयावधि किटान भएकोमा त्यस्तो अवधि भुक्तानी भएको मितिले नब्बे दिनभित्र पनि बहुविधिक ढुवानी सञ्चालनकर्ताले बहुविधिक ढुवानी करार बमोजिम मालसामान हस्तान्तरण नगरेमा मालसामान हराएको मानिनेछ ।

२१. दायित्वको सीमा : (१) बहुविधिक ढुवानी सञ्चालनकर्ताले ढुवानीका लागि मालसामान बुझिलिनु अघि नै त्यसरी ढुवानी गरिने मालसामानको मूल्य घोषणा गरी बहुविधिक ढुवानीपत्रमा उल्लेख गरेको अवस्थामा बाहेक बहुविधिक ढुवानी सञ्चालनकर्ताले ढुवानीका लागि बुझिलिएका मालसामान कुनै किसिमबाट हराए वा हानि नोक्सानी भएको कारणबाट हुन गएको नोक्सानी बापत त्यसरी हराए वा हानि नोक्सानी भएको प्रत्येक प्याकेज वा एकाइको छसय छैंसठ्ठी दशमलव छ सात (६६६.६७) एस.डी.आर. वा प्रति किलोग्राम दुई एस.डी. आर. बराबरको रकममध्ये जुन बढी हुन्छ सो रकमसम्म बहुविधिक ढुवानी सञ्चालनकर्ताको दायित्व सीमित हुनेछ ।
(२) उपदफा (१) को प्रयोजनको लागि प्याकेज वा एकाइ कायम गर्दा बहुविधिक ढुवानीपत्रमा उल्लेख गरिए बमोजिमका प्याकेज वा एकाइलाई नै आधार मानिनेछ ।
(३) मालसामान हस्तान्तरण गर्न ढिलाई भएको कारणबाट सृजना भएको दायित्वको हकमा बहुविधिक ढुवानी करारमा सो सम्बन्धमा गरिएको व्यवस्थाका अधीनमा रही बहुविधिक ढुवानी सञ्चालनकर्ताको दायित्व सीमित हुनेछ ।
(४) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि बहुविधिक ढुवानी सञ्चालनकर्ताको दायित्व निजले बहुविधिक ढुवानी करार बमोजिम ढुवानी गर्नु पर्ने सम्पूर्ण मालसामानको कुल मूल्यभन्दा बढी हुने छैन ।

२२. क्षतिको मूल्याङ्कन : (१) बहुविधिक ढुवानी सञ्चालनकर्ताले बहुविधिक ढुवानी करार बमोजिम मालसामान ढुवानी गर्न बुझिलिएपछि त्यस्तो मालसामान बहुविधिक ढुवानी करार बमोजिम हस्तान्तरण हुनु अगावै हराएमा, हानि नोक्सानी भएमा वा अन्य कुनै कारणबाट भएको क्षति बापत क्षतिपूर्ति बुझाउनु पर्ने अवस्था सृजना भएमा त्यसरी हराएको, हानि नोक्सानी भएको वा क्षति भएको मालसामान प्रापकलाई हस्तान्तरण गरिने स्थान र हस्तान्तरण गरिनु पर्ने समयमा कायम हुनसक्ने मनासिब माफिकको मूल्यको आधारमा मूल्याङ्कन गरिनेछ ।
(२) उपदफा (१) बमोजिम मूल्य निर्धारण गर्दा तत्काल कायम रहेको प्रचलित बजार मूल्य वा त्यस्तो मूल्य कायम हुन नसकेमा त्यस्तै प्रकारका अन्य मालसामानको मनासिब माफिकको मूल्यको आधारमा मूल्य निर्धारण गर्नु पर्नेछ ।
(३) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि बहुविधिक ढुवानी करार बमोजिम ढुवानी गर्नु पर्ने मालसामान सामुद्रिक वा आन्तरिक जलमार्गबाट ढुवानी नभएको अवस्थामा मालसामान हराएमा, हानि नोक्सानी वा क्षति भएमा सो बापत तिर्नुपर्ने क्षतिपूर्तिको रकम प्रति किलोग्राम आठ दशमलव तीन तीन (८.३३) एस.डी.आर. का दरले हुन आउने रकमभन्दा बढी हुने छैन ।

२३. प्रचलित कानून बमोजिमको दायित्व : यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि बहुविधिक ढुवानी करार गरी ढुवानी गरिने मालसामानको सम्बन्धमा नेपाल राज्य पक्ष रहेको कुनै अन्तर्राष्ट्रिय सन्धि बमोजिम थप दायित्व सृजना हुने भएमा वा कुनै राष्ट्रिय कानूनको समेत परिपालना गर्नु पर्ने भएमा त्यस्तो सन्धि वा राष्ट्रिय कानून बमोजिम निर्धारण भएको दायित्वबाट समेत बहुविधिक ढुवानी सञ्चालनकर्ता मुक्त हुने छैन ।

२४. दायित्वको सीमाको सुविधा नपाउने : बहुविधिक ढुवानी करार बमोजिम ढुवानी गर्नु पर्ने मालसामान बहुविधिक ढुवानी सञ्चालनकर्ता, निजको कर्मचारी वा निजको प्रतिनिधिले जानी जानी वा बदनीयतपूर्ण हेलचेक्र्याइँ गरेको कारणले हराएको, हानि नोक्सानी वा क्षति भएको वा हस्तान्तरण गर्न ढिलाई हुन गएको कुरा प्रमाणित भएमा यस ऐन बमोजिम बहुविधिक ढुवानी सञ्चालनकर्ताले पाउने दायित्वको सीमा सम्बन्धी कुनै पनि सुविधा पाउने छैन ।

परिच्छेद–५ विविध

२५. खतरापूर्ण मालसामानका सम्बन्धमा विशेष व्यवस्था : (१) पे्रषकले ढुवानीको लागि तोकिएका खतरापूर्ण मालसामान जिम्मा दिंदा निजले त्यस्ता मालसामानको प्रकृति र त्यस्ता मालसामान ढुवानी गर्दा अपनाउनु पर्ने पूर्व सावधानीका बारेमा बहुविधिक ढुवानी सञ्चालनकर्ता वा निजको प्रतिनिधि वा निजको तर्फबाट काम गर्ने अन्य कुनै व्यक्तिलाई जानकारी गराउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमका मालसामान जिम्मा दिंदा सम्भव भएसम्म त्यस्ता मालसामान रहेको प्रत्येक प्याकिङ्गको बाहिरी भागमा सो सम्बन्धमा स्पष्ट विवरण उल्लेख गर्नु पर्नेछ ।
(३) उपदफा (१) बमोजिमको प्रक्रिया पूरा नगरेको वा प्रेषक, निजको कर्मचारी वा निजको प्रतिनिधिको त्रुटि वा लापरवाहीका कारणले बहुविधिक ढुवानी सञ्चालनकर्तालाई बहुविधिक ढुवानी करार बमोजिमका मालसामान ढुवानी गर्ने सम्बन्धमा हुन गएको हानि नोक्सानीको लागि प्रेषक स्वयं जिम्मेवार हुनेछ ।
(४) उपदफा (१) वा (२) बमोजिमको शर्त पूरा नगरेका अवस्थामा बहुविधिक ढुवानी सञ्चालनकर्ता त्यस्ता मालसामान ढुवानी गर्न बाध्य हुने छैन र त्यस्तो मालसामान कुनै पनि बखत कुनै पनि स्थानमा अनलोड गर्न, नष्ट गर्न वा कसैलाई दिन सक्नेछ ।
(५) उपदफा (१) बमोजिमको अवस्था थाहा पाउँदा पाउँदै बहुविधिक ढुवानी सञ्चालनकर्ताले त्यस्ता मालसामान ढुवानी गरेमा त्यसबाट हुनसक्ने हानि नोक्सानीको सम्बन्धमा बहुविधिक ढुवानी सञ्चालनकर्ता स्वयं जवाफदेही हुनेछ ।

२६. मालसामान सही रुपमा हस्तान्तरण गरेको मानिने : (१) बहुविधिक ढुवानी सञ्चालनकर्ता, निजको कर्मचारी वा निजको अधिकार प्राप्त प्रतिनिधिबाट प्रापकले मालसामान बुझिलिएपछि प्रत्यक्ष रुपमा देखिने हानि नोक्सानीको सम्बन्धमा मालसामान बुझिलिएको मितिले दुई दिनभित्र बहुविधिक ढुवानी सञ्चालनकर्ता, निजको कर्मचारी वा निजको प्रतिनिधिलाई लिखित सूचना नदिएमा बहुविधिक ढुवानीपत्र बमोजिमका मालसामान सही रुपमा हस्तान्तरण गरेको मानिनेछ ।
(२) बहुविधिक ढुवानी सञ्चालनकर्ता, निजको कर्मचारी वा प्रतिनिधिबाट प्रापकले बुझिलिएका मालसामान तत्काल जाँचबुझ गर्न नसकिने मनासिब माफिकको आधार भएमा त्यस्ता मालसामानको हकमा त्यस्ता मालसामान बुझिलिएको मितिले तीनदिनभित्र बहुविधिक ढुवानी
सञ्चालनकर्ता, निजको कर्मचारी वा निजको प्रतिनिधिलाई उपदफा (१) बमोजिम सूचना नगरेमा बहुविधिक ढुवानीपत्र बमोजिमका मालसामान सही रुपमा हस्तान्तरण भएको मानिनेछ ।

२७. सामान्य औसत कायम गर्न सक्ने : यस ऐन वा प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि बहुविधिक ढुवानी करार गर्दा सम्बन्धित पक्षहरुले सामान्य औसत (जनरल एभरेज) को शर्त राख्न चाहेमा त्यस्तो शर्त को अधीनमा रही यस ऐन बमोजिमको दायित्व निर्धारण हुन सक्नेछ ।

२८. जरिबाना हुने : दफा ३ को प्रतिकूल हुने गरी कसैले बहुविधिक ढुवानी सेवा सञ्चालन गरेमा निजलाई तोकिएको विभागले दश हजार रुपैंयाँ देखि एक लाख रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।

२९. हदम्याद : यस ऐन बमोजिम भए गरेको कामको सम्बन्धमा उजुर गर्न चाहने व्यक्तिले देहायको मितिबाट छ महिनाभित्र उजुरी दिनु पर्नेछ :–
(क) मालसामान हस्तान्तरण गरेको मिति,
(ख) बहुविधिक ढुवानीपत्र बमोजिम मालसामान बुझाउनु पर्ने मिति,
(ग) मालसामान हराएकोमा दफा २० बमोजिम हराएको मानिने मिति ।

३०. मुद्दा दायर गर्ने क्षेत्राधिकार : यस ऐन बमोजिम कुनै पक्षले मुद्दा चलाउन चाहेमा सम्बन्धित मुलुकको प्रचलित कानून बमोजिम क्षेत्राधिकार भएको देहायको कुनै अदालतमा मुद्दा दायर गर्न सक्नेछ :-
(क) प्रतिवादीको बसोबास भएको वा निजको मुख्य कारोबार भएको स्थानको अदालत,
(ख) बहुविधिक ढुवानी करार सम्पन्न भएको स्थानको अदालत,
तर यस खण्ड बमोजिमको स्थानमा क्षेत्राधिकार कायम हुनका लागि सो स्थानमा प्रतिवादीको व्यापारिक केन्द्र, शाखा वा आधिकारिक प्रतिनिधि रहेको र सो मार्फत बहुविधिक ढुवानी करार सम्पन्न भएको हुनु पर्नेछ ।
(ग) बहुविधिक ढुवानी करार बमोजिम मालसामान बुझिलिएको वा हस्तान्तरण गर्ने स्थानको अदालत, वा

(घ) बहुविधिक ढुवानी करार बमोजिम मुद्दा दायर गर्ने सम्बन्धमा पक्षहरुले छुट्टै स्थान उल्लेख गरेको भए त्यस्तो स्थानको अदालत ।

३१. नियम बनाउने अधिकार : यस ऐनको उद्देश्य पूरा गर्न नेपाल सरकारले आवश्यक नियमहरु बनाउन सक्नेछ ।