Skip to contentSkip to left sidebar Skip to footer

मदिरा ऐन, २०३१

मदिरा ऐन, २०३१

लालमोहर र प्रकाशित मिति

२०३१।६।२०

संशोधन गर्ने ऐन
१. न्याय प्रशासन सुधार (चौथो संशोधन) ऐन, २०४३                                                                                                         २०४३।७।२४
२. न्याय प्रशासन ऐन, २०४८                                                                                                                                             २०४८।२।१६
३. मदिरा (पहिलो संशोधन) ऐन, २०५७                                                                                                                             २०५७।१०।४

प्रमाणीकरण र प्रकाशन मिति

४. गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानुन संशोधन गर्ने ऐन, २०६६                                                                           २०६६।१०।७
५. केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७२                                                                                                                         २०७२।११।१३

२०३१ सालको ऐन नं. १०

……………..

मदिराको नियन्त्रण गर्न बनेको ऐन

प्रस्तावनाः सर्वसाधारण जनताको सदाचार, स्वास्थ्य, सुविधा तथा आर्थिक हित कायम राख्नको लागि मदिराको उत्पादन, बिक्री वितरण र निकासी पैठारी समेतमा नियन्त्रण गर्न वाञ्छनीय भएकोले,
श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले यो ऐन बनाईबक्सेकोछ ।

२. परिभाषा

विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,–

(क) “मदिरा” भन्नाले अन्न, फलफूल वा अन्य कुनै स्टार्चयुक्त वस्तुलाई जीव रासायनिक प्रक्रियाद्वारा कुहाई वा अन्य कुनै तरीकाबाट तयार पारिएको अल्कोहलयुक्त पदार्थ सम्झनु पर्छ र सो शब्दले रक्सी, जाँड, छ्याङ, व्हिस्की, रम, जीन, ब्राण्डी, भोड्का, बियर, वाइन, सेरी, सेम्पेन, साइडर, पेरी, मिड, माल्टन, औद्योगिक अल्कोहल, रेक्टिफाइड स्प्रिट, माल्ट स्प्रिट, साइलेण्ट स्प्रिट, डिनेचर्ड स्प्रिट र हेड्स स्प्रिट समेतलाई जनाउँछ ।

(ख) “उत्पादन” भन्नाले मदिरा तयार गर्नका लागि आवश्यक पदार्थ कुहाउने, तताउने, पकाउने वा त्यस्तो पदार्थमा बास्ना वा स्वाद आउने गरी कुनै कुराको सम्मिश्रण गर्ने वा मदिरा तयार गर्नको लागि अपनाइने सबै वा कुनै विधि वा कार्य सम्झनु पर्छ ।

(ग) “अनुमतिपत्र” भन्नाले दफा ६क. बमोजिम मदिरा उत्पादन, बिक्री वितरण निकासी वा पैठारी गर्न दिइएको अनुमतिपत्र सम्झनु पर्छ ।

(घ) “तोकिएको” वा “तोकिएबमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेका नियममा तोकिएको वा तोकिएबमोजिम सम्झनु पर्छ ।

४. मदिराको बिक्री वितरणमा नियन्त्रण

कुनै व्यक्तिले अनुमतिपत्र बेगर र अनुमतिपत्र पाएकोले पनि अनुमतिपत्रमा तोकिएको शर्तबमोजिम बाहेक मदिरा बिक्री, वितरण गर्न वा मदिरा खुवाउने बार वा रेष्टुरेण्ट वा पसल थाप्न पाउने छैन ।

४क. मदिराको उत्पादन तथा बिक्री वितरणमा बन्देज

(१) कसैले पनि प्लाष्टिकको पोका (पाउच) मा मदिरा राखी मदिराको उत्पादन तथा बिक्री वितरण गर्नु हुँदैन ।

(२) कसैले पनि अठार वर्षको उमेर पूरा नगरेको व्यक्तिलाई मदिरा बिक्री वितरण गर्नु हुँदैन ।

(३) अठार वर्षको उमेर पूरा नगरेको व्यक्तिले मदिराको बिक्री वितरण गर्नु हुँदैन ।

५. मदिराको निकासी पैठारीमा नियन्त्रण

कुनै व्यक्तिले अनुमतिपत्र बेगर र अनुमतिपत्र पाएकोले पनि अनुमतिपत्रमा तोकिएको शर्तबमोजिम बाहेक मदिराको निकासी वा पैठारी गर्न पाउने छैन ।

६. अनुमतिपत्रको लागि निवेदन दिनु पर्ने

मदिराको उत्पादन, बिक्री वितरण, निकासी वा पैठारी गर्न चाहनेले अनुमतिपत्र लिनको लागि तोकिएबमोजिमको ढाँचामा तोकिएको अधिकारी समक्ष निवेदन दिनु पर्नेछ ।

६क. अनुमतिपत्र दिनु पर्ने

दफा ६ बमोजिम अनुमतिपत्रको लागि कुनै निवेदन पर्न आएमा तोकिएको अधिकारीले सो निवेदन उपर आवश्यक जाँचबुझ गर्नेछ र त्यसरी जाँचबुझ गर्दा निवेदकलाई अनुमतिपत्र दिन मनासिब देखेमा तोकिएबमोजिमको शर्तको अधीनमा रही मदिराको उत्पादन, बिक्री वितरण, निकासी वा पैठारी गर्न तोकिएको दस्तुर लिई तोकिएको ढाँचामा अनुमतिपत्र दिनु पर्नेछ ।

तर अठार वर्षको उमेर पूरा नगरेको व्यक्तिलाई अनुमतिपत्र दिइने छैन ।

६ग. अनुमतिपत्र रद्द गर्न सक्ने

तोकिएको अधिकारीले दफा ६क. बमोजिम दिइएको अनुमतिपत्र देहायको अवस्थामा रद्द गर्न सक्नेछः–

(क) अनुमतिपत्र नवीकरण नगरेमा,

(ख) अनुमतिपत्रमा तोकिएका शर्त उल्लङ्घन गरेमा,

(ग) दफा ४क. विपरीत काम गरेमा ।

७. लागू नहुने अवस्था

यस ऐनका अन्य दफाहरुमा जुनसुकै कुरा लेखिएको भए तापनि निजी उपयोगको निमित्त तोकिएको परिमाणमा रक्सी वा जाँड बनाउन यस ऐन अन्तर्गत अनुमतिपत्र लिनु पर्ने छैन ।

८. खानतलासी, कब्जा वा गिरफ्तार गर्न सक्ने

(१) कुनै स्थानमा यस ऐनबमोजिम सजाय हुने कसूर भएकोछ भन्ने मनासिब माफिकको कारण भएमा अन्तःशुल्क अधिकारीले त्यस्तो स्थानको खानतलासी गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम खानतलासी गर्दा अन्तःशुल्क अधिकारीले खानतलासी गर्नु पर्ने कारण खोली खानतलासी गर्ने स्थानको धनी वा तत्काल सो स्थान प्रयोग गरिरहेको व्यक्तिलाई सो स्थानमा प्रवेश गर्नुभन्दा अगावै सूचना दिएर मात्र खानतलासी गर्नु पर्नेछ ।

(३) उपदफा (२) बमोजिम खानतलासी गर्दा यस ऐनबमोजिम सजाय हुने कसूर भएको विश्वसनीय कारण देखिएमा त्यस्तो कसूरसँग सम्बन्धित सामान कब्जामा लिन सकिनेछ ।

(४) कुनै व्यक्तिले यस ऐनबमोजिम सजाय हुने कसूर गरेको वा गर्न लागेको छ र निजलाई गिरफ्तार नगरेमा निज भागी जाने सम्भावना छ भन्ने लागेमा अन्तःशुल्क अधिकारीले निजलाई गिरफ्तार गर्न सक्नेछ ।

(५) यस दफाबमोजिम खानतलासी, कब्जा वा गिरफ्तार गर्दा अन्तःशुल्क अधिकारीलाई प्रचलित कानूनबमोजिम प्रहरीलाई भए सरहको अधिकार हुनेछ ।

(६) अन्तःशुल्क अधिकारीले यस दफाबमोजिम खानतलासी, कब्जा वा गिरफ्तार गर्दा स्थानीय प्रतिनिधिको रोहबरमा गर्नु पर्नेछ ।

(७) अन्तःशुल्क अधिकारीले यस दफाबमोजिम खानतलासी, कब्जा वा गिरफ्तार गर्दा अपनाउनु पर्ने अन्य व्यवस्था तोकिएबमोजिम हुनेछ ।

९. गिरफ्तारी र कब्जाको प्रतिवेदन दिनु पर्ने

यस ऐन अन्तर्गत कसैलाई गिरफ्तार गरेको वा कुनै स्थानमा खानतलासी गरेको वा कुनै सामान कब्जा गरेकोमा अन्तःशुल्क अधिकारीले सो कुराको प्रतिवेदन चौबीस घण्टाभित्र छिटो साधनद्वारा आफूभन्दा एक तह माथिको अधिकारी समक्ष पठाउनु पर्नेछ ।

१०. नेपाल सरकारलाई तिर्न पर्ने रकम सरकारी बाँकी सरह असूल गर्ने

यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम कुनै व्यक्तिले नेपाल सरकारलाई तिर्नु बुझाउनु पर्ने रकम नतिरी नबुझाई बाँकी राखेमा त्यस्तो रकम निजबाट अन्तःशुल्क अधिकारीले सरकारी बाँकी सरह असुल उपर गर्नेछ ।

११. दुःख दिने नियतले खानतलासी, कब्जा वा गिरफ्तार गर्नेलाई सजाय

यस ऐनको विरुद्ध काम भए गरेको भन्ने मनासिब शङ्का नभई अर्कालाई दुःख दिने, हैरानी गर्ने, बेइज्जती गर्ने वा क्षति पुर्याउने नियतले कुनै स्थानमा प्रवेश गर्न वा खानतलासी गर्ने गराउने, कसैलाई गिरफ्तार गर्ने गराउने, कब्जा वा जफत गर्न नहुने सामान कब्जा वा जफत गर्ने गराउने वा कसैलाई अनावश्यक क्षति वा चोट पुर्याउने वा पुर्‍याउन लगाउने व्यक्तिलाई छ महिनासम्म कैद वा एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।

१२. दण्ड सजाय

(१) यस ऐन विपरीत काम गर्ने व्यक्तिलाई छ महिनासम्म कैद वा एक लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।

(२) यस ऐन विपरीतको कुनै काम गर्न उद्योग गर्ने वा त्यस्तो काम गर्न दुरुत्साहन गर्ने वा सो काममा सहयोग गर्ने व्यक्तिलाई तीन महिनासम्म कैद वा पचास हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।

१३. मदिरा तथा अन्य सामानको जफत र बिक्री

(१) कुनै व्यक्तिले यस ऐन विपरीत मदिराको उत्पादन, बिक्री वितरण, निकासी वा पैठारी गरेमा सो कार्यसँग सम्बन्धित मदिरा अन्तःशुल्क अधिकारीले जफत गर्नेछ ।

(२) उपदफा (१) बमोजिम जफत गरिएको मदिरामध्ये गुणस्तरयुक्त मदिरा अन्तःशुल्क अधिकारीले तोकिएबमोजिम लिलाम बिक्री गर्नु पर्नेछ ।

(३) यस ऐन विपरीत मदिराको कारोबार गर्न प्रयोग गरिएका सबै सामानहरु अन्तःशुल्क अधिकारीले जफत गरी तोकिए बमोजिम लिलाम बिक्री गर्नेछ ।

तर सवारी साधनको हकमा सवारी धनीको मञ्जुरी रहेनछ भने त्यस्तो सवारी साधन जफत हुने छैन ।

१३क. सहयोग गर्नु पर्ने

यस ऐन अन्तर्गत सजाय हुने कसूरको तहकिकातको सिलसिलामा अन्तःशुल्क अधिकारी वा निजबाट अधिकार पाएको कर्मचारीले सहयोग मागेमा आवश्यक सहयोग गर्नु सम्बन्धित व्यक्तिको कर्तव्य हुनेछ ।

१४. मुद्दा हेर्ने अधिकारी

(१) दफा ११ अन्तर्गतको मुद्दामा सुरु कारबाही र किनारा गर्ने अधिकार नेपाल सरकार वा नेपाल सरकारले तोकिदिएको अधिकारीलाई र सो बाहेक यस ऐन अन्तर्गतको अरु मुद्दाको सुरु कारबाई र किनारा गर्ने अधिकार अन्तःशुल्क अधिकारीलाई हुनेछ ।

(२) उपदफा (१) बमोजिम सुरु कारबाई र किनारा गर्ने अधिकारीलाई प्रचलित नेपाल कानूनबमोजिम जिल्ला अदालतलाई भए सरहको अधिकार प्राप्त हुनेछ ।

 

१५. पुनरावेदन

यस ऐन बमोजिम अन्तःशुल्क अधिकारीले गरेको निर्णय उपर राजस्व न्यायाधिकरणमा र नेपाल सरकार वा नेपाल सरकारले तोकिदिएको अधिकारीले गरेको निर्णय उपर उच्च अदालतमा पुनरावेदन लाग्नेछ ।

१५क. पुरस्कार

(१) कसैले यस ऐन विपरीत मदिरा उत्पादन, सञ्चय, बिक्री वितरण, ओसार पसार, निकासी वा पैठारी गर्न लागेमा वा गरेमा त्यसको सुराक दिने वा सबुत प्रमाण सहित मानिस पक्री पेश गर्ने व्यक्तिलाई सो कार्य भए गरेको प्रमाणित हुन आएमा देहाय बमोजिमको रकम पुरस्कार स्वरुप दिइनेछ :-

(क) सुराक दिने व्यक्तिलाई बिगोको दश प्रतिशत,

(ख) मदिरा वा मानिस पक्री पेश गर्ने व्यक्तिलाई बिगोको बीस प्रतिशत,

(ग) मदिरा र मानिस दुवै पक्री पेश गर्ने व्यक्तिलाई बिगोको तीस प्रतिशत ।

(२) उपदफा (१) बमोजिम पुरस्कार दिने प्रयोजनको लागि मदिरा र सोसँग सम्बन्धित जफत भएको सामान लिलाम भएको अवस्थामा लिलामबाट प्राप्त रकमलाई बिगो मानिनेछ ।

(३) कुनै कारणले जफत भएको मदिरा वा सामान लिलाम हुन नसकेमा वा लिलाम नहुने भएमा नेपाल सरकारले त्यस्तो सुराक दिने वा सबुत प्रमाण सहित मानिस पक्री पेश गर्ने व्यक्तिलाई उचित ठहर्याएको रकम पुरस्कार स्वरुप दिन सक्नेछ ।

(४) यस दफा बमोजिम पुरस्कार पाउने व्यक्ति एक जनाभन्दा बढी भएमा पुरस्कारको रकम दामासाहीले वितरण गरिनेछ ।

१७. बचाउ

यस ऐनमा जुनसुकै कुरा लेखिएको भए तापनि अन्य प्रचलित नेपाल कानूनबमोजिम भट्टी वा डिष्टीलरीबाट मदिरा उत्पादन गर्ने ठेक्का वा अनुमतिप्राप्त गरेकोलाई यस ऐनले बाधा पुर्‍याएको छैन ।

१८. यसै ऐन बमोजिम हुने

यस ऐनमा लेखिए जति कुरामा यसै ऐन बमोजिम हुनेछ र दफा १७ मा लेखिएदेखि बाहेक यस ऐनसित बाझिने प्रचलित नेपाल कानून बाझिएको हदसम्म यस ऐनको प्रयोजनको निमित्त खारेज भए सरह मानिनेछ ।