Skip to contentSkip to left sidebar Skip to footer

मतदाता नामावली ऐन, २०७३

मतदाता नामावली ऐन, २०७३

प्रमाणीकरण तथा प्रकाशन मिति

२०७३।१०।२०

सम्वत् २०७३ सालको ऐन नं. २३

मतदाता नामावली सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन

प्रस्तावनाः संविधान तथा सङ्घीय कानून बमोजिम हुने निर्वाचनको लागि मतदाताको नामावली सङ्कलन तथा अद्यावधिक गर्ने प्रयोजनका लागि मतदाता नामावली सम्बन्धी कानूनलाई समयानुकूल संशोधन र एकीकरण गर्न वाञ्छनीय भएकोले,
नेपालको संविधानको धारा २९६ को उपधारा (१) बमोजिमको व्यवस्थापिका–संसदले यो ऐन बनाएको छ ।

परिच्छेद–१ प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भः (१) यस ऐनको नाम “मतदाता नामावली ऐन, २०७३” रहेको छ ।

(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।

२. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,–

(क) “अस्थायी मतदाता नामावली” भन्नाले दफा ३० बमोजिमको अस्थायी मतदाता नामावली सम्झनु पर्छ ।

(ख) “आयोग” भन्नाले संविधानको धारा २४५ बमोजिमको निर्वाचन आयोग सम्झनु पर्छ ।

(ग) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनुपर्छ ।

(घ) “नाम दर्ता अधिकारी” भन्नाले दफा ५ बमोजिमको प्रमुख नाम दर्ता अधिकारी, नाम दर्ता अधिकारी वा सहायक नाम दर्ता अधिकारी सम्झनु पर्छ ।

(ङ) “निर्वाचन” भन्नाले संविधान तथा सङ्घीय कानून बमोजिम हुने राष्ट्रपति, उपराष्ट्रपति, सङ्घीय संसदका सदस्य, प्रदेश सभाका सदस्य तथा स्थानीय तहका सदस्यको निर्वाचन सम्झनु पर्छ र सो शब्दले उपनिर्वाचनलाई समेत जनाउँछ ।

(च) “निर्वाचन अधिकारी” भन्नाले तोकिए बमोजिमको निर्वाचन अधिकारी सम्झनु पर्छ ।

(छ) “निर्वाचन क्षेत्र” भन्नाले प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि संविधानको धारा २८६ को उपधारा (१) बमोजिमको निर्वाचन क्षेत्र निर्धारण आयोगले निर्धारण गरेको निर्वाचन क्षेत्र सम्झनु पर्छ ।

(ज) “प्रदेश सभा” भन्नाले संविधानको धारा १७६ बमोजिम गठन हुने प्रदेश सभा सम्झनु पर्छ ।

(झ) “मतदाता” भन्नालेमतदाता नामावलीमा नाम दर्ता भएको दफा ३ बमोजिमको व्यक्ति सम्झनु पर्छ ।

(ञ) “मतदाता परिचयपत्र” भन्नाले दफा २७ बमोजिमको मतदाता परिचयपत्र सम्झनु पर्छ ।

(ट) “सङ्घीय संसद” भन्नाले संविधानको धारा ८४ बमोजिम गठन हुने प्रतिनिधि सभा र धारा ८६ बमोजिम गठन हुने राष्ट्रिय सभा सम्झनु पर्छ ।

(ठ) “संविधान” भन्नाले नेपालको संविधान सम्झनु पर्छ ।

(ड) “स्थानीय तह” भन्नाले गाउँपालिका, नगरपालिका वा जिल्ला सभा सम्झनुपर्छ ।

परिच्छेद–२ मतदाता तथा मतदाता नामावली

३. मतदाताः देहायको निर्वाचनमा मतदान गर्ने प्रयोजनका लागि आयोगले अन्तिम मतदाता नामावलीमा नाम समावेश गरेको देहायको व्यक्ति त्यस्तो निर्वाचनको लागि मतदाता हुनेछः

(क) राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि सङ्घीय संसदका सदस्य र प्रदेश सभाका सदस्य,

(ख) प्रतिनिधि सभाको सदस्य र प्रदेश सभाको सदस्यको निर्वाचनका लागि सम्बन्धित निर्वाचन क्षेत्रभित्रको गाउँपालिका वा नगरपालिकाको वडामा स्थायी बसोबास भएको व्यक्ति,

(ग) राष्ट्रिय सभाको सदस्यको निर्वाचनको लागि प्रत्येक प्रदेश सभाका सदस्य, नगर कार्यपालिका प्रमुख र उपप्रमुख तथा गाउँ कार्यपालिका अध्यक्ष र उपाध्यक्ष,

(घ) नगर कार्यपालिका प्रमुख र उपप्रमुखको निर्वाचनका लागि सम्बन्धित नगरपालिका भित्रको वडामा स्थायी बसोबास भएको व्यक्ति,

(ङ) गाउँ कार्यपालिका अध्यक्ष तथा उपाध्यक्षको निर्वाचनका लागि सम्बन्धित गाउँपालिका भित्रको वडामा स्थायी बसोबास भएको व्यक्ति,

(च) नगरपालिका तथा गाउँपालिकाका वडा अध्यक्ष तथा वडा सदस्यको लागि सम्बन्धित वडामा स्थायी बसोबास भएको व्यक्ति,

(छ) नगरपालिकाको सदस्यको निर्वाचनका लागि नगर सभाका सदस्य,

(ज) गाउँपालिकाको सदस्यको निर्वाचनका लागि गाउँसभाका सदस्य ।

४. मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्नेः (१) आयोगले आफ्नो प्रत्यक्ष रेखदेख, नियन्त्रण, सुपरीवेक्षण र निर्देशनमा प्रत्येक निर्वाचन क्षेत्रभित्रका गाउँपालिका र नगरपालिकाको वडाको मतदाता नामावली सङ्कलन गर्ने तथा त्यसको अद्यावधिक गर्ने कार्य गर्नेछ ।

(२) आयोगले उपदफा (१) बमोजिम मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्दा आयोगबाट निर्धारित स्थान र समयमा एकै पटक वा पटक पटक हुने गरी तोक्न सक्नेछ ।
तर,
(१) कुनै एक गाउँपालिका वा नगरपालिकाको कुनै एक वडाको मतदाता नामावली सङ्कलन वा अद्यावधिक गर्दा एकै पटक गर्नु पर्नेछ ।

(२) निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचनको प्रयोजनको लागि मतदाता नामावलीमा नाम दर्ता गरिने छैन ।

(३) मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्दा सर्वसाधारणलाई सूचना दिने लगायत अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

५. नाम दर्ता अधिकारीः (१) आयोगले यस ऐनको अधीनमा रही निर्वाचनका लागि मतदाताको नाम तथा अन्य आवश्यक विवरण सङ्कलन गर्न, मतदाता नामावली तयार वा अद्यावधिक गर्न र तत् सम्बन्धमा आवश्यक अन्य सबै काम गर्नका लागि प्रत्येक जिल्लामा एकजना प्रमुख नाम दर्ता अधिकारी र आवश्यकता अनुसार नाम दर्ता अधिकारी तथा सहायक नाम दर्ता अधिकारी तोक्न सक्नेछ ।

(२) आयोगले उपदफा (१) बमोजिमको कार्य सम्पादन गर्नका लागि नाम दर्ता अधिकारीलाई सहयोग पुर्याउन नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहका कर्मचारी वा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकारको अनुदानमा सञ्चालित संस्थाका कर्मचारी वा सामुदायिक विद्यालयका शिक्षकलाई खटाउन वा काममा लगाउन सक्नेछ।

(३) नाम दर्ता अधिकारीको कार्यालय आयोगले तोकेको स्थानमा रहनेछ ।

६. मतदाताको रुपमा नाम दर्ताः देहायको व्यक्तिको नाम मतदाता नामावलीमा दर्ता गरिनेछः

(क) नेपाली नागरिक,

(ख) आयोगले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको मितिमा अठार वर्ष उमेर पूरा भएको, र

(ग) कुनै निर्वाचन क्षेत्रभित्रको कुनै गाउँपालिका वा नगरपालिकाको सम्बन्धित वडामा स्थायी बसोबास भएको।

७. स्थायी बसोबास गरेको मानिनेः (१) दफा ६ को खण्ड (ग) को प्रयोजनको लागि कुनै गाउँपालिका वा नगरपालिकाको सम्बन्धित वडामा बसोबास गर्दै आएको व्यक्तिलाई स्थायी रुपमा बसोबास गरेको मानिनेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थाको बसोबासलाई समेत स्थायी रुपमा बसोबास गरेको मानिनेछः–

(क) कुनै निर्वाचन क्षेत्रको कुनै गाउँपालिका वा नगरपालिकाको वडाको मतदाता नामावलीमा नाम दर्ता भएको व्यक्ति जनप्रतिनिधि निर्वाचित भई आफ्नो पदावधिको समयमा त्यस्तो निर्वाचन क्षेत्रमा अनुपस्थित रहेको अवस्था,

(ख) कुनै व्यक्ति व्यापार, व्यवसाय, रोजगार, अध्ययन, अध्यापन, सरकारी वा गैरसरकारी सेवा, औषधि उपचार वा अन्य कुनै काम विशेष वा कारणले वा कानून बमोजिम थुना वा कैदमा रहेको कारणले आफ्नो नाम दर्ता भएको निर्वाचन क्षेत्रको गाउँपालिका वा नगरपालिकाको सम्बन्धित वडामा अनुपस्थित रहेको अवस्था ।

८. स्थायी बसोबास गरेको नमानिनेः दफा ६ को खण्ड (ग) को प्रयोजनको लागि देहाय बमोजिमका व्यक्तिलाई कुनै गाउँपालिका वा नगरपालिकाको सम्बन्धित वडामा स्थायी बसोबास गरेको मानिने छैनः–

(क) कसैको घर कुनै उद्योग, व्यापार वा पेशा सञ्चालन गर्ने वा कार्यालय राख्ने प्रयोजनको लागि भाडामा लिइएको रहेछ भने सोही आधारमा मात्र घर भाडामा लिने व्यक्ति र निजका परिवार,

(ख) सरकारी, अर्धसरकारी तथा गैर सरकारी संस्थाको कार्यालयमा कार्यरत कर्मचारी र त्यस्तो कार्यालयमा काम गर्ने कर्मचारीका लागि बनाइएको आवास गृह, सैनिक, प्रहरी वा सशस्त्र प्रहरी ब्यारेक, अस्थायी शिविर तथा आवास गृह, औद्योगिक प्रतिष्ठान तथा त्यस्तो प्रतिष्ठानमा काम गर्ने कर्मचारी तथा कामदार बस्नको लागि बनाइएको बासस्थान, अस्पताल, चिकित्सालय, नर्सिङ्ग होम, विद्यालय, क्याम्पस तथा छात्रावास, अनाथालय, वृद्धाश्रम, कारागार तथा यस्तै अन्य स्थानमा बस्ने व्यक्ति ।

९. अन्य स्थानको मतदाताको नाम दर्ता गर्न सकिनेः (१) कुनै गाउँपालिका वा नगरपालिका को वडाको मतदाता नामावलीमा नाम दर्ता भएको व्यक्ति वैवाहिक वा अन्य कारणले बसाई सरी सोही वा अर्को गाउँपालिका वा नगरपालिकाको वडामा बसोबास गरेमा त्यस्ता व्यक्तिको नाम निज बसी आएको गाउँपालिका वा नगरपालिकाको सम्बन्धित वडामा दर्ता गर्न सकिनेछ ।

(२) उपदफा (१) बमोजिम नाम दर्ता गराउँदा त्यस्तो व्यक्तिले नाम दर्ता अधिकारी समक्ष विवाह भएको वा बसाई सरी आएको पुष्टि हुने प्रमाण पेश गर्नु पर्नेछ ।

(३) उपदफा (१) बमोजिम नाम दर्ता गर्न चाहने व्यक्तिले साविकमा गरेको नाम दर्ता सम्बन्धी प्रमाण पेश गर्नु पर्नेछ ।

१०. दोहोरो नाम दर्ता गर्न नहुनेः परिच्छेद–३ मा उल्लिखित अवस्थामा बाहेक कुनै पनि व्यक्तिको नाम एक भन्दा बढी गाउँपालिका वा नगरपालिका तथा कुनै गाउँपालिका वा नगरपालिकाको एक भन्दा बढी वडाको मतदाता नामावलीमा दर्ता गर्नु वा गराउनु हुँदैन ।

११. नाम दर्ता गर्न थप प्रमाण माग गर्न सक्नेः (१) यस ऐन बमोजिम कुनै व्यक्तिको नाम मतदाता नामावलीमा दर्ता गर्दा निजको जन्म वा उमेर वा बासस्थान नागरिकताको प्रमाणपत्रबाट मात्र खुल्न नसकेमा नाम दर्ता अधिकारीले थप प्रमाणको रुपमा जग्गाधनी प्रमाणपूर्जा वा शैक्षिक योग्यताको प्रमाणपत्र वा राहदानी वा सवारी चालक अनुमतिपत्र माग गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम माग गरिएको प्रमाण पेश गर्न नसकेमा नाम दर्ता अधिकारीले त्यस्तो व्यक्तिसँग सम्बन्धित गाउँपालिका वा नगरपालिकाको सम्बन्धित वडाको सिफारिस माग गर्न सक्नेछ ।

(३) उपदफा (१) वा (२) बमोजिमका कागजातहरु पेश गर्न नसक्ने व्यक्तिको नाम मतदाता नामावलीमा दर्ता गरिने छैन ।

१२. नाम दर्ता गर्ने र विवरण उपलब्ध गराउने कर्तव्यः मतदाता नामावली तयार गर्नको लागि आवश्यक पर्ने विवरण सहित आफ्नो स्थायी बसोबास रहेको गाउँपालिका वा नगरपालिकाको सम्बन्धित वडाको मतदाता नामावलीमा आफ्नो नाम तोकिए बमोजिम दर्ता गराउनु यस ऐन बमोजिम मतदाता हुन योग्यता पुगेका प्रत्येक नेपाली नागरिकको कर्तव्य हुनेछ ।

१३. मतदाता नामावली प्रकाशनः यस ऐन बमोजिम तयार गरिएको वा अद्यावधिक गरिएको मतदाता नामावली प्रकाशन गर्ने प्रकृया, स्थान र समय आयोगले निर्धारण गरे बमोजिम हुनेछ ।

१४. सच्याउन दरखास्त दिनेः (१) दफा १३ बमोजिम प्रकाशित नामावलीमा कुनै मतदाताको नाम वा विवरणमा कुनै त्रुटी भएमा सच्याउनको लागि सम्बन्धित मतदाता वा निजको परिवारको कुनै सदस्यलेसम्बन्धित नाम दर्ता अधिकारी समक्ष निवेदन दिन सक्नेछ ।

(२) उपदफा (१) बमोजिम पर्न आएका निवेदन सम्बन्धमा नाम दर्ता अधिकारीले आवश्यक जाँचबुझ गरी सम्बन्धित प्रमुख नाम दर्ता अधिकारी समक्ष पेश गर्नु पर्नेछ ।

१५. उजुरी दिन सक्नेः (१) कसैले झुट्टा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भए प्रमाण सहित कुनै पनि व्यक्तिलेतोकिएको अधिकारी समक्ष उजुरी दिन सक्नेछ ।

(२) उपदफा (१) बमोजिम परेको उजुरीको कारबाही सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।

१६. दोहोरो नाम हटाउन निवेदन दिनु पर्नेः कुनै मतदाताको नाम एक वा एक भन्दा बढी गाउँपालिका वा नगरपालिकाको वडाको मतदाता नामावलीमा समावेश भएकोमा एउटै गाउँपालिका वा नगरपालिकाको वडाभित्र भए सहायक नाम दर्ता अधिकारी समक्ष, एउटै जिल्लाभित्रको फरक फरक गाउँपालिका वा नगरपालिकामा भए जिल्लाको प्रमुख नाम दर्ता अधिकारी समक्ष र फरक फरक जिल्लाको गाउँपालिका वा नगरपालिकामा भए निज आफैले वा नाम दर्ता अधिकारी मार्फत आयोग समक्ष आफुले रोजेको स्थानको मतदाता नामावलीमा मात्र नाम राखी अन्य स्थानको मतदाता नामावलीबाट नाम हटाउन तोकिए बमोजिम निवेदन दिनु पर्नेछ ।

१७. दोहोरो नाम हटाउनेः (१) दफा १६ बमोजिम मतदाता नामावलीबाट नाम हटाउन निवेदन दिएकोमा आयोगले तोकेको अधिकारीले त्यस्तो नाम हटाउनु पर्नेछ ।

(२) दफा १६ बमोजिम निवेदन नदिए तापनि आयोगलाई कुनै मतदाताको नाम दोहोरो परेको जानकारी प्राप्त हुन आएमा त्यस्तो मतदाताको नाम निज स्थायी बसोबास गर्दै आएको गाउँपालिका वा नगरपालिकाको सम्बन्धित वडाको मतदाता नामावलीमा कायम गरी अन्य गाउँपालिका वा नगरपालिकाको वडाको मतदाता नामावलीबाट हटाउन आयोगले सम्बन्धित नाम दर्ता अधिकारीलाई आदेश दिन सक्नेछ ।

(३) नाम दर्ता अधिकारी स्वयंलाई कुनै मतदाताको नाम दोहोरो परेको जानकारी प्राप्त भएमा एउटै गाउँपालिका वा नगरपालिकाको वडाभित्र दोहोरो परेकोमा सहायक नाम दर्ता अधिकारीले र एउटै जिल्ला भित्रका कुनै गाउँपालिका वा नगरपालिकामा दोहोरो परेकोमा सम्बन्धित प्रमुख नाम दर्ता अधिकारीले तथा फरक फरक जिल्लाको गाउँपालिका वा नगरपालिकामा दोहोरो परेकोमा आयोगले तोकेको अधिकारीले त्यस्तो मतदाताको नाम निज स्थायी बसोबास गर्दै आएको गाउँपालिका वा नगरपालिकाको सम्बन्धित वडाको मतदाता नामावलीमा कायम गरी अन्य गाउँपालिका वा नगरपालिकाको वडाको मतदाता नामावलीबाट हटाउनु पर्नेछ ।

१८. मतदाता नामावलीबाट नाम हटाउनेः (१) मतदाता नामावलीमा नाम समावेश भएको कुनै व्यक्तिको मृत्यु भएको वा नागरिकता त्याग गरेकोमा निजको एकाघर परिवारका सदस्य वा अन्य कुनै व्यक्तिले प्रमाण सहित नाम दर्ता अधिकारी समक्ष सूचना दिन पर्नेछ ।

(२) उपदफा (१) बमोजिमको सूचना प्राप्त भएपछि नाम दर्ता अधिकारीले तोकिए बमोजिम जाँचबुझ गर्दा त्यस्तो व्यहोरा मनासिब देखिएमा त्यस्तो मतदाताको नाम मतदाता नामावलीबाट तोकिए बमोजिम हटाउनु पर्नेछ ।
तर उपदफा (१) बमोजिम सूचना प्राप्त नभए तापनि कुनै मतदाताको विवाह भई अर्को ठाउँमा बसाई सरी दफा ९ बमोजिम त्यस्तो ठाउँको मतदाता नामावलीमा नामदर्ता भएको वा अन्य कारणले बसाई सरी अन्यत्र गएको वा मृत्यु भएको वा नागरिकता त्याग गरेको वा नागरिकता रद्द भएको व्यहोरा प्रमाणित हुन आएमा नाम दर्ता अधिकारीले त्यस्तो मतदाताको नाम मतदाता नामावलीबाट हटाउनुपर्नेछ ।

(३) यस दफा बमोजिम मतदाता नामावलीबाट नाम हटाइएकोमा त्यसको सूचना नाम दर्ता अधिकारीले सम्बन्धित गाउँपालिका वा नगरपालिकाको सम्बन्धित वडा कार्यालयमा टाँस गर्नु पर्नेछ ।

१९. मतदाता नामावली पेश गर्नेः यस परिच्छेद बमोजिम प्रक्रिया पूरा गरिसकेपछि नाम दर्ता अधिकारीले सम्बन्धित गाउँपालिका वा नगरपालिकाको वडाबाट प्राप्त फाराम तथा निवेदनका आधारमा मतदाता नामावली सम्बन्धी विवरण जिल्ला निर्वाचन कार्यालयको अभिलेखमा अद्यावधिक गरी त्यस्तो मतदाता नामावली आयोगमा पठाउनु पर्नेछ ।

२०. अन्तिम नामावलीे प्रकाशनः (१) आयोगले दफा १९ बमोजिम अद्यावधिक मतदाता नामावली प्राप्त भएको मितिले पैंतीस दिन भित्र केन्द्रीय डाटा बेसमा दोहोरिएको यकिन (डुप्लिकेशन भेरिफिकेशन) समेत गरी पुनरावलोकन गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम पुनरावलोकन गरी तयार गरिएको अन्तिम मतदाता नामावली आयोगले स्वीकृत गरी तोकिएको कार्यविधि पूरा गरी प्रकाशन गर्नु पर्नेछ ।

२१. अन्तिम नामावलीमा हेरफेर वा थपघट गर्न नहुनेः दफा २० को उपदफा (२) बमोजिम प्रकाशित अन्तिम मतदाता नामावलीमा कुनै प्रकारबाट हेरफेर, थपघट गर्न वा सच्याउन सकिने छैन ।

२२. विवरण उपलब्ध गराउन सक्नेः (१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि मतदाता नामावलीको प्रयोजनको लागि सङ्कलन गरेको मतदाताको नाम, थर, ठेगाना र फोटो नेपाल सरकारबाट प्रयोजन खुलाई माग भई आएमा त्यस्तो विवरण आयोगले नेपाल सरकारलाई उपलब्ध गराउन सक्नेछ ।

(२) उपदफा (१) बमोजिम नेपाल सरकारले जुन प्रयोजनको लागि विवरण प्राप्त गरेको हो त्यस बाहेक अन्य प्रयोजनको लागि त्यस्तो विवरण प्रयोग गर्ने छैन ।

२३. मतदाताले मतदान गर्न सक्नेः (१) अन्तिम मतदाता नामावलीमा नाम दर्ता भएको मतदाता परिचयपत्र प्राप्त प्रत्येक मतदाताले निर्वाचनमा मतदान गर्न पाउनेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका मतदाताले मतदान गर्न पाउने छैनन्ः–

(क) मानसिक सन्तुलन ठीक नभएको,

(ख) निर्वाचन कसुर तथा सजाय सम्बन्धी सङ्घीय कानून बमोजिम कैदको सजाय पाई त्यस्तो सजाय भोगिरहेको वा त्यस्तो कानून बमोजिम एक वर्ष वा सोभन्दा बढी कैदको सजाय पाएको अवस्थामा त्यस्तो कैदको सजाय भोगिसकेको मितिले एक वर्षको अवधि भुक्तान नभएको ।

२४. मतदाता नामावली वेबसाईटमा राख्नेः आयोगले यस ऐन बमोजिम प्रकाशन गरेको अन्तिम मतदाता नामावली सर्वसाधारणको जानकारी तथा मतदाताको पहुँचको लागि आफ्नो वेबसाईटमा समेत राख्नेछ ।

२५. विवरण उपलब्ध गराउनु पर्नेः मतदाता नामावली अद्यावधिक गर्ने प्रयोजनका लागि देहायका निकाय वा अधिकारीले देहायका विवरण आयोगलाई उपलब्ध गराउनु पर्नेछः–

(क) बसाई सराई, विवाह दर्ता तथा मृत्यु दर्ताको विवरण स्थानीय पञ्जिकाधिकारीले,

(ख) नागरिकता त्याग गरेको विवरण जिल्ला प्रशासन कार्यालयले,

(ग) नागरिकता रद्द गरेको विवरण गृह मन्त्रालयले ।

२६. मतदाता नामावली रद्द हुनेः यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि झुट्टा विवरणका आधारमा मतदाता नामावली तयार भई अन्तिम मतदाता नामावली प्रकाशन भएको कुरा प्रमाणबाट स्पष्ट देखिन आएमा आयोगले त्यस्तो मतदाता नामावली रद्द गर्नेछ ।

२७. मतदाता परिचयपत्र उपलब्ध गराउनेः (१) आयोगले फोटोसहितको मतदाता नामावलीमा नाम समावेश भएको मतदातालाई मतदाता परिचय पत्र उपलब्ध गराउनेछ ।

(२) मतदाता परिचय पत्र सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

२८. छुट्टै प्रकृया निर्धारण गर्न सक्नेः यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि आयोगले राष्ट्रपति, उपराष्ट्रपति र राष्ट्रिय सभाका सदस्यको निर्वाचनका लागि संविधानको धारा ६२ र ८६ को व्यवस्थाको अधीनमा रही मतदाता नामावली तयार गर्नेछ । त्यस्तो मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्नका लागि आयोगले छुट्टै प्रक्रिया निर्धारण गर्न सक्नेछ ।

२९. अदालतमा प्रश्न उठाउन नसकिनेः देहायका विषयमा कुनै पनि अदालतमा प्रश्न उठाउन सकिने छैनः–

(क) मतदाता नामावलीमा कुनै व्यक्तिको नाम दर्ता भएको वा नभएको वा दर्ता गर्न हुने वा नहुने भन्ने विषयमा, र

(ख) नाम दर्ता अधिकारी वा निजले खटाएको अधिकार प्राप्त व्यक्तिले मतदाता नामावली तयार गरेको वा यस परिच्छेद बमोजिम सम्बन्धित अधिकारीले मतदाता नामावलीमा थपघट गरेको विषयमा ।

परिच्छेद–३ अस्थायी मतदाता नामावली सम्बन्धी व्यवस्था

३०. अस्थायी मतदाता नामावली तयार गर्नेः (१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको प्रयोजनको लागि आयोगले छुट्टै अस्थायी मतदाता नामावली तयार गराउन सक्नेछ।

(२) उपदफा (१) बमोजिमको अस्थायी मतदाता नामावलीमा दफा २० बमोजिमको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका देहायका व्यक्तिको नाम समावेश गरिनेछः–

(क) नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थामा कार्यरत कर्मचारी,

(ख) ब्यारेकमा रहेका नेपाली सेना, नेपाल प्रहरी वा सशस्त्र प्रहरी,

(ग) कारागारमा रहेका थुनुवा र कैदी
तर निर्वाचन कसूरमा सजाय भोगिरहेको व्यक्तिको नाम अस्थायी मतदाता नामावलीमा समावेश गरिने छैन ।

(घ) निर्वाचन कार्यमा खटिएका कर्मचारी र सुरक्षाकर्मी,

(ङ) नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले सञ्चालन गरेको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वीकृति लिई सञ्चालन भएको वृद्धाश्रममा बसेको व्यक्ति,

(च) आयोगले तोकेको अन्य व्यक्ति ।

(३) अस्थायी मतदाता नामावली सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

परिच्छेद–४ कसूर र सजाय

३१. कसूरः देहायका कार्य गरेमा यो ऐन बमोजिमको कसूर गरेको मानिनेछः–

(क) कसैले आफ्नो नाम, थर, वतन, उमेर वा अन्य विवरण ढाँटी नाम दर्ता गराएमा वा दर्ता गराउनको लागि दरखास्त दिएमा वा त्यसरी ढाँटी विरोधपत्र दिएमा,

(ख) मतदाता नामावलीमा जानी बुझी कसैले कुनै व्यहोरा थपेमा, केरमेट गरेमा, सच्याएमा वा त्यस्तो मतदाता नामावली कुनै किसिमले बिगारेमा, नोक्सान पारेमा वा नष्ट गरेमा,

(ग) मतदाता नामावली तयार गर्ने कार्यमा खटिएका कर्मचारीलाई कुनै किसिमको डर, धम्की वा प्रलोभन दिएमा वा बल प्रयोग गरी आफ्नो कर्तव्य पालन गर्न वा गराउनबाट विचलित गराएमा,

(घ) गोप्य राख्नु पर्ने कागजात वा विवरणको गोप्यता भङ्ग गरेमा,

(ङ) मतदाता नामावली दर्ता गर्ने प्रयोजनको लागि आयोगले सङ्कलन गरेको मतदाताको नाम, थर, वतन, फोटो र अन्य विवरण अनधिकृत रुपमा प्रकाशन गरेमा वा वितरण गरेमा वा जानिजानि दुरुपयोग गरेमा,

(च) दफा २२ को उपदफा (२) विपरित मतदाता नामावली प्रयोग गरेमा।

३२. सजायः (१) देहायको कसूर गर्ने व्यक्तिलाई देहाय बमोजिम सजाय हुनेछः–

(क) दफा ३१ को खण्ड (क) बमोजिमको कसूर गर्ने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिबाना वा छ महिनासम्म कैद वा दुवै सजाय,

(ख) दफा ३१ को खण्ड (ख), (ग), (घ), (ङ) र (च) बमोजिमको कसूर गर्ने व्यक्तिलाई पच्चीस हजार रुपैयाँसम्म जरिबाना वा एक महिनासम्म कैद वा दुवै सजाय ।

(२) यस ऐन बमोजिमको कसूर गर्न उद्योग गर्ने, मद्दत गर्ने वा दुरुत्साहन गर्ने व्यक्तिलाई कसूर गर्ने व्यक्तिलाई हुने सजायको आधा सजाय हुनेछ ।

३३. अनुसन्धान अधिकृतः यस ऐन बमोजिमको कसूरसँग सम्बन्धित मुद्दाको अनुसन्धान तोकिए बमोजिमको निर्वाचन अधिकारीले गर्नेछ ।

३४. सरकार वादी हुनेः यस ऐन बमोजिम दायर गरिने मुद्दा नेपाल सरकार वादी भई दायर गरिनेछ ।

३५. मुद्दाको दायरीः यस ऐन अन्तर्गतको कसूरको अनुसन्धान सम्पन्न भएपछि अनुसन्धान अधिकृतले मुद्दा चल्ने वा नचल्ने निर्णयको लागि सम्बन्धित सरकारी वकील समक्ष पठाउनु पर्नेछ र सरकारी वकीलबाट मुद्दा चल्ने निर्णय भएमा अनुसन्धान अधिकृतले मुद्दा दायर गर्नु पर्नेछ ।

३६. अन्य प्रचलित कानून बमोजिम सजाय गर्न बाधा नपर्नेः यस ऐन बमोजिम कसूर ठहरिने कुनै काम कारबाही अन्य प्रचलित कानून अन्तर्गत पनि कसूर ठहरिने रहेछ भने त्यस्तो कसूर बापत कानून बमोजिम सजाय गर्न यस ऐनले बाधा पुर्याएको मानिने छैन ।

परिच्छेद–५ विविध

३७. अन्य प्रयोजनका लागि प्रमाणमा नलाग्नेः यस ऐन बमोजिम तयार गरिएको मतदाता नामावली वा अस्थायी मतदाता नामावली मतदानको प्रयोजनको लागि र प्रचलित कानूनमा विशेष व्यवस्था भए बाहेक अन्य प्रयोजनको लागि प्रमाणमा लाग्ने छैन ।

३८. क्षतिपूर्ति दाबी गर्न सक्नेः (१) यस ऐन बमोजिम आयोगले सङ्कलन गरेको मतदाता सम्बन्धी विवरण वा आयोगले दफा २२ बमोजिम उपलब्ध गराएको विवरण दुरुपयोग भएको वा अनधिकृत रुपमा प्रकाशन भएको वा वितरण भएको कारणबाट कुनै व्यक्तिलाई शारीरिक वा मानसिक हानि नोक्सानी भएमा त्यस्तो हानि नोक्सानी पुगेको व्यक्तिले त्यसरी हानि नोक्सानी गर्ने व्यक्तिबाट क्षतिपूर्ति दाबी गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम क्षतिपूर्तिको दाबी त्यसरी हानि नोक्सानी पुगेको छ महिनाभित्र सम्बन्धित जिल्ला अदालतमा गर्नु पर्नेछ ।

(३) उपदफा (२) बमोजिमको दाबी सही ठहरेमा जिल्ला अदालतले त्यस्तो व्यक्तिलाई मनासिब क्षतिपूर्ति भराइदिनु पर्नेछ ।

(४) यस दफा बमोजिमको क्षतिपूर्ति सम्बन्धी अन्य कार्यविधि प्रचलित कानून बमोजिम हुनेछ ।

३९. मतदाता प्रमाणित गरिदिनेः कुनै निर्वाचन क्षेत्रको मतदाता नामावलीमा नाम दर्ता भएको कुनै मतदाताले त्यस्तो व्यहोरा प्रमाणित गरी पाउँ भनी तोकिए बमोजिम दरखास्त दिएमा आयोगले त्यस्तो व्यहोरा तोकिए बमोजिम प्रमाणित गरिदिनु पर्नेछ ।

४०. सहयोग समितिः यस ऐन बमोजिम मतदाता नामावली वा अस्थायी मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने कार्यमा सहयोग पुर्याउन आयोगले स्थानीयस्तरमा राजनीतिक दलका प्रतिनिधि लगायतका सरोकारवाला रहने गरी सहयोग समिति गठन गर्न सक्नेछ ।

४१. सहयोग लिन सक्नेः (१) मतदाता नामावली तयार गर्ने सिलसिलामा आयोग तथा नाम दर्ता अधिकारीले आवश्यकता अनुसार नेपाल सरकार वा प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकार वा प्रदेश सरकार वा स्थानीय तहको अनुदानमा सञ्चालित संस्था, निकाय वा राजनीतिक दल वा सामाजिक संघ, संस्था तथा अन्य निकाय र कुनै पनि व्यक्तिकोसहयोग लिन सक्नेछ ।

(२) मतदाता नामावली तयार गर्दा उपदफा (१) बमोजिमको आवश्यक सहयोग उपलब्ध गराउनु सम्बन्धित सबैको कर्तव्य हुनेछ ।

४२. अधिकार प्रत्यायोजनः आयोगले यस ऐन बमोजिम आपूmलाई प्राप्त कुनै अधिकार शर्त तोकी प्रमुख निर्वाचन आयुक्त, निर्वाचन आयुक्त वा कुनै सरकारी कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।

४३. नियम बनाउने अधिकारः आयोगले यो ऐन कार्यान्वयनको लागि आवश्यक नियम बनाउन सक्नेछ ।

४४. निर्देशिका तथा कार्यविधि बनाउन सक्नेः आयोगले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको अधीनमा रही आवश्यकता अनुसार निर्देशिका तथा कार्यविधि बनाई लागू गर्न सक्नेछ।

४५. आदेश जारी गर्न सक्नेः (१) आयोगले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम, निर्देशिका तथा कार्यविधिको कार्यान्वयनको लागि आवश्यकता अनुसार आदेश जारी गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम जारी गरेको आदेशको पालना गर्नु सम्बन्धित सबैको कर्तव्य हुनेछ ।

४६. खारेजी र बचाउः (१) मतदाता नामावली सम्बन्धी ऐन, २०६३ खारेज गरिएकोछ ।

(२) मतदाता नामावली सम्बन्धी ऐन, २०६३ बमोजिम भए गरेका काम कारबाही यसै ऐन बमोजिम भए गरेको मानिनेछ ।