Skip to contentSkip to left sidebar Skip to footer

भन्सार ऐन, २०६४

भन्सार ऐन, २०६४

प्रमाणीकरण र प्रकाशन मिति
२०६४।५।१४
संशोधन गर्ने ऐन
१. केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७२    २०७२।११।१३
२. केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४  २०७४।६।३०

व्यवस्थापिका–संसदले बनाएको २०६४ सालको ऐन न. १६

भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन

प्रस्तावनाः भन्सार प्रशासनलाई व्यवस्थित, पारदर्शी एवं उत्तरदायी बनाई अन्तर्राष्ट्रिय व्यापारलाई सुरक्षित एवं सहज बनाउन भन्सार सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न वाञ्छनीय भएकोले, व्यवस्थापिका–संसदले यो ऐन बनाएको छ ।

परिच्छेद–१ प्रारम्भिक

१. संक्षिप्त नाम प्रारम्भ : (१) योऐनको नाम “भन्सार ऐन, २०६४” रहेको छ ।

(२) यो दफा तुरुन्त प्रारम्भ हुनेछ र अन्य दफाहरु नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएकोमितिदेखि प्रारम्भ हुनेछन्।

२. परिभाषा : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,–

(क) “करमुक्त पसल” भन्नाले बैङ्क जमानत सुविधामा पैठारी गरिएका मालवस्तु कूटनीतिक सुविधा वा महसुल सुविधा प्राप्त व्यक्तिलाई बिक्री गर्न वा अन्तर्राष्ट्रिय उडानको क्याटरिङ्ग वा त्यस्तो उडानको करमुक्त पसलमा बिक्रीको लागि सम्बन्धित हवाई कम्पनीलाई बिक्री गर्न नेपाल सरकारले स्वीकृति दिएको पसल सम्झनुपर्छ ।

(ख) “कारोबार मूल्य” भन्नाले पैठारीकर्ताले पैठारी गरेको मालवस्तुको बिक्रेतालाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा वास्तविक रुपमा भुक्तानी गरेको वा भुक्तानी गर्नु पर्ने रकममा त्यस्तो मालवस्तु नेपालको सीमासम्म ल्याउँदा लागेको वा लाग्न सक्ने भाडा, बीमा तथा अन्य सम्बद्ध खर्च जोडी हुन आउने कूल रकम सम्झनुपर्छ ।

(ग) “कूटनीतिक सुविधा” भन्नाले कुनै मालवस्तु जाँच नगरी, महसुल नलिई लगत मात्र राखी निकासी वा पैठारी गर्न दिइने सुविधा वा सहुलियत सम्झनुपर्छ ।

(घ) “घोषणा” भन्नाले निकासीकर्ता वा पैठारीकर्ताले निकासी वा पैठारी गर्ने मालवस्तुको विवरण प्रज्ञापनपत्रमा उल्लेख गर्ने वा विद्युतीय माध्यमबाट तोकिए बमोजिम सम्प्रेषण गर्ने कार्य सम्झनु पर्छ ।

(ङ) “चोरी निकासी” भन्नाले भन्सार महसुल लाग्ने मालवस्तु भन्सार महसुल नतिरी, लुकाई छिपाई वा बाटो छली वा भन्सार महसुल नलाग्ने मालवस्तु भए पनि यस ऐन बमोजिम घोषणा नगरी नेपालबाहिर लैजाने कार्य सम्झनुपर्छ ।

(च) “चोरी पैठारी” भन्नाले भन्सार महसुल लाग्ने मालवस्तु भन्सार महसुल नतिरी, लुकाई छिपाई वा बाटो छली वा भन्सार महसुल नलाग्ने मालवस्तु भए पनि यस ऐन बमोजिम घोषणा नगरी नेपालभित्र ल्याउने कार्य सम्झनुपर्छ ।

(छ) “जाँच” भन्नाले निकासी वा पैठारी गरिने मालवस्तु घोषणा गरिए बमोजिम छ छैन भनी यकिन गर्न भन्सार कार्यालयले त्यस्तो मालवस्तु वा सो मालवस्तु सम्बन्धी कागजात वा दुवैको परीक्षण गर्ने कार्य सम्झनुपर्छ र सो शब्दले विदेशी मुलुकबाट नेपालभित्र प्रवेश गर्ने वा नेपालबाट विदेशी मुलुकमा प्रस्थान गर्ने यात्रुको शरीरको तलासी र एक्स–रे गर्ने कार्य समेतलाई जनाउँछ ।

(ज) “जाँचपास” भन्नाले भन्सार अधिकृतले यस ऐन र यस ऐन अन्तर्गत बनेको नियम बमोजिम भन्सार कार्यालयबाट कुनै मालवस्तु निकासी वा पैठारी गर्न वा उठाई लैजान दिएको अनुमति सम्झनुपर्छ ।

(झ) “जाँचपासपछिको परीक्षण” भन्नाले दफा ३४ बमोजिमको परीक्षण सम्झनुपर्छ ।

(ञ) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।

(ट) “निकासी” भन्नाले नेपालबाट विदेशी मुलुकमा मालवस्तु पठाउने काम सम्झनु पर्छ ।

(ठ) “प्रज्ञापनपत्र” भन्नाले निकासीकर्ता वा पैठारीकर्ताले निकासी वा पैठारी गर्ने मालवस्तुको विवरण घोषणा गर्ने फाराम सम्झनुपर्छ ।

(ड) “पैठारी” भन्नाले विदेशी मुलुकबाट नेपालभित्र मालवस्तु ल्याउने काम सम्झनु पर्छ ।

(ढ) “बण्डेड वेयर हाउस” भन्नाले विदेशमा निकासी गरिने वा स्वदेशमै परिवत्र्य विदेशी मुद्रामा बिक्री गरिने मालवस्तु उत्पादन गर्न आवश्यक पर्ने कच्चा पदार्थ वा सहायक कच्चा पदार्थ वा करमुक्त पसलमा बिक्री गरिने मालवस्तु बैङ्क जमानत सुविधामा पैठारी गरी राख्न विभागबाट इजाजत प्राप्त गोदाम सम्झनु पर्छ ।

(ण) “बैङ्क” भन्नाले प्रचलित कानून बमोजिम बैङ्किङ्ग कारोबार गर्न इजाजतप्राप्त वाणिज्य बैङ्क वा वित्तीय संस्था सम्झनुपर्छ ।

(त) “बैंङ्क जमानत” भन्नाले कुनै निकासीकर्ता वा पैठारीकर्ताले मालवस्तु निकासी वा पैठारी गर्दा बुझाउनु पर्ने महसुल निजले नबुझाएमा आफूले तिरिदिने गरी बैङ्कले भन्सार कार्यालयलाई दिने जमानत सम्झनुपर्छ ।

(थ) “बैंङ्क जमानत सुविधा” भन्नाले कुनै निकासीकर्ता वा पैठारीकर्तालाई बैङ्क जमानतको आधारमा मालवस्तु निकासी वा पैठारी गर्न पाउने गरी प्रदान गरिएको सुविधा सम्झनुपर्छ ।

(द) “भन्सार अधिकृत” भन्नाले प्रमुख भन्सार प्रशासक, प्रमुख भन्सार अधिकृत वा भन्सार अधिकृत सम्झनु पर्छ र सो शब्दले छोटी भन्सार कार्यालयको प्रमुख र दफा ८४ बमोजिम अर्थ मन्त्रालयले तोकेको अधिकारी समेतलाई जनाउँछ ।

(ध) “भन्सार एजेन्ट” भन्नाले दफा ५१ बमोजिम इजाजतप्राप्त व्यक्ति सम्झनुपर्छ ।

(न) “भन्सार कार्यालय” भन्नाले नेपाल सरकारले दफा ४ बमोजिम स्थापना गरेको भन्सार कार्यालय सम्झनु पर्छ र सो शब्दले त्यस्तो भन्सार कार्यालय परिसर र नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको अन्य क्षेत्र समेतलाई जनाउँछ ।

(प) “भन्सार गोदाम” भन्नाले निकासी वा पैठारी गरिने मालवस्तु राख्नको लागि भन्सार कार्यालयमा बनाइएको घर, भवन, छाप्रो वा अन्य यस्तै संरचना वा कुनै स्थान सम्झनुपर्छ ।

(फ) “भन्सार महसुल” भन्नाले निकासी वा पैठारी गरिने मालवस्तुमा कानून बमोजिम लाग्ने भन्सार महसुल सम्झनुपर्छ ।

(ब) “भन्सार मूल्य” भन्नाले भन्सार महसुल निर्धारण गर्ने प्रयोजनको लागि निकासी वा पैठारी गरिने मालवस्तुको दफा १३ वा १६ बमोजिम निर्धारण गरिएको मूल्य सम्झनुपर्छ ।

(भ) “भन्सार क्षेत्र” भन्नाले नेपाल सरकारले दफा ३ बमोजिम तोकिदिएको भन्सार क्षेत्र सम्झनुपर्छ ।

(म) “महसुल” भन्नाले निकासी वा पैठारी गरिने मालवस्तुमा कानून बमोजिम लाग्ने सबै कर, शुल्क र दस्तुर सम्झनु पर्छ र सो शब्दले भन्सार महसुल समेतलाई जनाउँछ ।

(य) “महसुल सुविधा” भन्नाले कुनै मालवस्तु महसुल नलिई, जाँच गरी वा नगरी लगत मात्र राखी निकासी वा पैठारी गर्न दिइने सुविधा सम्झनुपर्छ ।

(र) “महानिर्देशक” भन्नाले भन्सार विभागको महानिर्देशक सम्झनु पर्छ ।

(ल) “मालवस्तु” भन्नाले मुद्रा लगायत जुनसुकै प्रकारको चल वस्तु वा सम्पत्ति सम्झनु पर्छ ।

(व) “व्यक्ति” भन्नाले प्राकृतिक व्यक्ति सम्झनु पर्छ र सो शब्दले कानून बमोजिम दर्ता भएको कुनै कम्पनी, सङ्गठित संस्था र फर्म समेतलाई जनाउँछ ।

(श) “विभाग” भन्नाले भन्सार विभाग सम्झनुपर्छ ।

(ष) “विलम्ब शुल्क (डेमरेज)” भन्नाले निकासीकर्ता वा पैठारीकर्ताले भन्सार कार्यालयले सञ्चालन गरेको भन्सार गोदाममा राखेको मालवस्तु तोकिएको म्यादभित्र नउठाएमा नेपाल सरकारलाई तिर्नु पर्ने शुल्क सम्झनु पर्छ ।

(स) “सवारी साधन” भन्नाले यात्रा गर्न वा मालवस्तु ओसारपसार गर्न प्रयोग हुने वा भएको जुनसुकै साधन सम्झनु पर्छ ।

 

परिच्छेद–२ भन्सार क्षेत्र तथा भन्सार कार्यालय सम्बन्धी व्यवस्था

३. भन्सार क्षेत्र तथा बाटो तोक्न सक्ने : (१) भन्सार सम्बन्धी कानूनको प्रशासन गर्ने तथा यस ऐन बमोजिम भन्सार महसुल सङ्कलन गर्नेप्रयोजनको लागि नेपाल सरकारलेनेपाल राजपत्रमा सूचना प्रकाशन गरी नेपालको कुनै क्षेत्रलाई भन्सार क्षेत्रकोरुपमा तोक्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिमको भन्सार क्षेत्रबाट नेपालभित्र पैठारी हुने वा नेपालबाट निकासी हुने बाटो नेपाल सरकारलेनेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोक्न सक्नेछ ।

(३) नेपालभित्र पैठारी हुने वा नेपालबाट निकासी हुने मालवस्तु उपदफा (२) बमोजिमको बाटोबाट मात्र निकासी वा पैठारी गर्नु पर्नेछ ।

(४) उपदफा (३) को अधीनमा रही कुनै खास प्रकृतिका मालवस्तुहरुलाई कुनै खास भन्सार कार्यालयबाट मात्र निकासी वा पैठारी गर्न सक्ने गरी महानिर्देशकले तोकिदिन सक्नेछ ।

(५) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि तोकिए बमोजिमका मालवस्तु वा तोकिए बमोजिमका मूल्यसम्मका मालवस्तु छोटी भन्सार कार्यालयबाट निकासी वा पैठारी गर्न सक्ने गरी महानिर्देशकलेतोक्न सक्नेछ ।

 

४. भन्सार कार्यालयको स्थापना : नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी कुनै भन्सार क्षेत्रमा भन्सार कार्यालय वा छोटी भन्सार कार्यालय स्थापना गर्न सक्नेछ ।

परिच्छेद–३ भन्सार महसुल सम्बन्धी व्यवस्था

५. भन्सार महसुल लाग्ने : यस ऐन वा प्रचलित कानून बमोजिम भन्सार महसुल छुट भएकोमा बाहेक निकासी वा पैठारी हुने प्रत्येक मालवस्तुमा भन्सार महसुल लाग्नेछ ।

 

६. निकासी भएको मालवस्तु पुनः पैठारी गरेमा महसुल लाग्ने : (१) कसैले नेपालमा उत्पादन वा तयार भई निकासी भएको मालवस्तु पुनः पैठारी गरेमा त्यस्ता मालवस्तुमा विदेशी मुलुकमा उत्पादन वा तयार भएका त्यस्तै प्रकारका वा त्यति नै मूल्य पर्ने मालवस्तु पैठारी गरे सरह महसुल लाग्नेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहाय बमोजिम फिर्ता आएको मालवस्तुमा भन्सार महसुल लाग्नेछैन :–

(क) हुलाक मार्फत पुलिन्दाबाट निकासी भई गएको तर सम्बन्धित व्यक्तिलाई बुझाउन नसकी फिर्ता आएको, वा

(ख) भन्सार कार्यालयबाट जाँचपास भइसकेपछि वा विदेशमा पुगिसकेपछि सम्बन्धित व्यक्तिले लिन अस्वीकार गरी फिर्ता आएको, वा

(ग) दुर्घटना वा प्राकृतिक प्रकोपमा परीे गुणस्तर कायम रहन नसकी फिर्ता आएको ।

(३) उपदफा (१) बमोजिम फिर्ता आएको मालवस्तुको कच्चा पदार्थ र सहायक कच्चा पदार्थ पैठारी गर्दा महसुल नतिरी पैठारी भएको रहेछ भने त्यस्तो मालवस्तुको परिमाणमा लागेको कच्चा पदार्थ र सहायक कच्चा पदार्थको महसुल समेत असूल गरिनेछ ।

 

७. भन्सार कार्यालयमा छाडेका मालवस्तुमा महसुल नलाग्ने : (१) कुनै पैठारीकर्ताले आफूले पैठारी गरेको मालवस्तु भन्सार कार्यालयबाट नछुटाई नेपाल सरकारको हुने गरी भन्सार कार्यालयमै छाड्न निवेदन दिएमा त्यस्तो मालवस्तुमा महसुल लाग्नेछैन ।

(२) उपदफा (१) बमोजिम छाडिएको मालवस्तु नेपाल सरकारले आफै प्रयोग गर्न वा यस ऐन बमोजिम लिलाम बिक्री गर्न सक्नेछ ।

तर त्यस्तो मालवस्तु प्रयोगमा आउन नसक्ने वा लीलाम बिक्री समेत हुन नसक्ने अवस्थाको रहेछ भने त्यस्तो मालवस्तु भन्सार अधिकृतले भन्सार कार्यालयबाट तोकिए बमोजिम हटाउन वा नष्ट गर्न सक्नेछ र त्यसरी हटाउन वा नष्ट गर्न लाग्ने खर्च सम्बन्धित पैठारीकर्ताबाटै असूलउपर गरिनेछ ।

८. महसुल निर्धारणको आधार मिति : (१) निकासी वा पैठारी हुने मालवस्तुको महसुल सो मालवस्तुको प्रज्ञापनपत्र भन्सार कार्यालयमा दर्ता भएको मितिमा कायम रहेको महसुल दर बमोजिम निर्धारण गरिने छ ।

तर, मालवस्तु भन्सार कार्यालयमा आइपुग्नु अगावै प्रज्ञापनपत्र भन्सार कार्यालयमा दर्ता भएको रहेछ भने त्यस्तो मालवस्तु सो कार्यालयमा आइपुगेको मितिमा कायम रहेको महसुल दर बमोजिम महसुल निर्धारण गरिने छ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका मालवस्तुको महसुल देहाय बमोजिमकोआधारमा निर्धारण गरिनेछ :–

(क) कूटनीतिक सुविधा, महसुल सुविधा वा आंशिक वा पूर्ण महसुल छुटमा पैठारी भएका मालवस्तुको हकमा त्यस्तो मालवस्तुको महसुल बुझाउने मितिमा कायम रहेको महसुल दर बमोजिम,

(ख) बैङ्क जमानत सुविधा अन्तर्गत पैठारी भएका मालवस्तुको हकमा त्यस्तो मालवस्तु जाँचपास भएको मितिमा कायम रहेको महसुल दर बमोजिम ।

परिच्छेद–४ भन्सार महसुल सुविधा, छुट तथा अन्य सुविधा सम्बन्धी व्यवस्था

९. कूटनीतिक सुविधा, महसुल सुविधा भन्सार महसुल छुट : (१) नेपाल सरकार पक्ष भएको द्विपक्षीय वा बहुपक्षीय सन्धि वा सम्झौता बमोजिम कूटनीतिक सुविधा वा महसुल सुविधा दिनु पर्ने निकाय, पदाधिकारी वा व्यक्तिलाई नेपाल सरकार, परराष्ट्र मन्त्रालयको सिफारिसको आधारमा तोकिए बमोजिम कूटनीतिक सुविधा वा महसुल सुविधा दिइनेछ ।

(२) नेपाल सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी सोही सूचनामा तोकिएको व्यक्ति वा निकायले पैठारी गर्ने सोही सूचनामा तोकिए बमोजिमका मालवस्तुमा कूटनीतिक सुविधा वा महसुल सुविधा दिन सक्नेछ ।

(३) नेपाल सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी सोही सूचनामा तोकिएका मालवस्तुमा पूर्ण वा आंशिक रुपमा भन्सार महसुल छुट दिन सक्नेछ ।

(४) वैदेशिक ऋृण वा अनुदान सहयोगमा संचालन गरिने आयोजनाको लागि त्यस्ता आयोजना वा त्यस्तो आयोजनाको ठेकेदारका नाममा पैठारी हुनेमालवस्तुमा नेपाल सरकारले पूर्ण वा आंशिक रुपमा भन्सार महसुल छुट दिन सक्नेछ ।

(५) अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडानमा उपयोग गर्ने इन्धन, हवाइजहाजको इन्जिन, पार्टपुर्जा, यन्त्र उपकरण, उडानमा खपत हुने खाद्य सामग्री, मदिरा, बियर एवं हल्का पेय पदार्थमा नेपाल सरकारले पूर्ण वा आंशिक रुपमा भन्सार महसुल छुट दिन सक्नेछ ।

(६) नेपालको कुनै भागबाट विदेशको बाटो गरी पुनः नेपालभित्र ल्याइने मालवस्तुको सम्बन्धमा महसुल सुविधा दिने व्यवस्था तोकिए बमोजिम हुनेछ ।

(७) विदेशबाट नेपालको बाटो गरी पुनः विदेश पठाइने मालवस्तुमा महसुल सुविधा दिने व्यवस्था तोकिए बमोजिम हुनेछ ।

 

१०. बण्डेड वेयरहाउसको सुविधा प्रदान गर्न सक्ने : बण्डेड वेयरहाउसको सुविधा लिन चाहने व्यक्तिलाई नेपाल सरकारले बण्डेड वेयरहाउसकोसुविधा दिन उपयुक्त देखेमा तोकिए बमोजिमको शर्तका अधीनमा रही बण्डेड वेयर हाउस सञ्चालन गर्ने गरी तोकिए बमोजिम सुविधा दिन सक्नेछ ।

 

११. बैङ्क जमानत सुविधा अन्तर्गत पैठारी गर्ने सुविधा प्रदान गर्न सक्ने : (१) नेपाल सरकारले कुनै व्यक्तिलाई कुनै मालवस्तु बैंङ्क जमानत सुविधा अन्तर्गत पैठारी गर्ने सुविधा तोकिए बमोजिम प्रदान गर्न सक्नेछ ।

(२) कुनै उद्योगले मालवस्तु तयार गरी निकासी गर्ने प्रयोजनको लागि पैठारी गर्ने कच्चा पदार्थ वा सहायक कच्चा पदार्थ वा करमुक्त पसल सञ्चालनको लागि पैठारी हुने मालवस्तु तोकिएको शर्त बमोजिम बैङ्क जमानत सुविधा अन्तर्गत पैठारी गर्ने सुविधा नेपाल सरकारले तोकिए बमोजिम प्रदान गर्न सक्नेछ ।

(३) उपदफा (२) बमोजिम पैठारी गर्ने सुविधा प्रदान गर्दा, सम्बन्धित भन्सार कार्यालयले त्यसरी पैठारी गर्दा लाग्ने महसुलको अतिरिक्त उपदफा (२) बमोजिमको शर्त उल्लंघन गरेमा निजलाई लाग्नसक्ने अन्य कुनै महसुल, शुल्क वा हुन सक्ने जरिबाना रकम समेतको बैङ्क जमानत लिनु पर्नेछ ।

 

१२. विशेष आर्थिक क्षेत्रमा अवस्थित उद्योगले पैठारी तथा निकासी गर्ने मालवस्तुमा नेपाल सरकारले

भन्सार महसुल छुट तथा अन्य सुविधा दिनेः (१) विशेष आर्थिक क्षेत्रमा अवस्थित उद्योगले पैठारी तथा निकासी गर्ने देहायका मालवस्तुमा नेपाल सरकारले बैङ्क जमानतमा भन्सार महसुल छुट तथा अन्य सुविधा प्रदान गर्नेछ :–

(क) निकासी गर्ने तयारी मालवस्तु उत्पादन गर्न आवश्यक पर्ने कच्चा पदार्थ, सहायक कच्चा पदार्थ, प्याकिङ्ग सामग्री एवं उत्पादनमा प्रयोग हुने अन्य पदार्थ ,

(ख) उद्योगको लागि आवश्यक पर्ने प्लाण्ट, मेशिनरी, यन्त्र उपकरण, औजारहरु तथा पार्टपुर्जा र उद्योगको आकार र प्रकृतिको आधारमा तीनवटासम्म सवारी साधन ।

स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि “विशेष आर्थिक क्षेत्र” भन्नाले नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी विशेष आर्थिक क्षेत्र भनी तोकिदिएको क्षेत्रलाई जनाउँछ ।

(२) कुनै पैठारीकर्ताले पैठारी गरेको मालवस्तु विशेष आर्थिक क्षेत्रमा अवस्थित उद्योगलाई तोकिए बमोजिम बिक्री गरेमा निजले त्यस्तो मालवस्तुपैठारी गर्दा भन्सार महसुल तिरेको रहेछ भने भन्सार कार्यालयले निजलाई त्यस्तो भन्सार महसुल तोकिए बमोजिम फिर्ता दिनेछ ।

(३) विशेष आर्थिक क्षेत्रबाहिर रहेकोकुनै उद्योगले उत्पादन गरेको तयारी मालवस्तु विशेष आर्थिक क्षेत्रभित्र अवस्थित उद्योगलाई बिक्री गरेमा सोबिक्रीलाई निकासी गरेसरह मानी निकासी गर्दा पाए सरहको भन्सार महसुल तथा अन्य सुविधा प्रदान गरिनेछ ।

(४) विशेष आर्थिक क्षेत्रमा अवस्थित उद्योगले भन्सार महसुल छुटमा पैठारी भएका कच्चा पदार्थबाट तयार भएका मालवस्तु सम्बन्धित उद्योगले नेपालमा खपत गर्ने गरी बिक्री गरेमा त्यस्तोमालवस्तुमा प्रयोग भएको कच्चा पदार्थमा लाग्ने महसुल बुझाएपछि मात्र त्यस्तो मालवस्तु विशेष आर्थिक क्षेत्र बाहिर लैजान दिइने छ ।

(५) विशेष आर्थिक क्षेत्रमा रहेको उद्योगले विशेष आर्थिक क्षेत्रभित्र वा बाहिर कसैलाई महसुल छुटमा आयात गरेको मालवस्तुको स्वामित्व हस्तान्तरण गर्ने सम्बन्धमा प्रक्रिया तोकी नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी आदेश जारी गर्न सक्नेछ । त्यस्तो आदेशको पालना गर्नु सम्बन्धित उद्योगको कर्तव्य हुनेछ ।

परिच्छेद–५ भन्सार मूल्य निर्धारण सम्बन्धी व्यवस्था

१३. पैठारी हुने मालवस्तुको भन्सार मूल्य निर्धारण गर्ने आधार : (१) पैठारी हुने मालवस्तुको भन्सार मूल्य निर्धारण गर्दा विश्व व्यापार सङ्गठनको भन्सार महसुल तथा व्यापार सम्बन्धी सामान्य सम्झौता (जनरल एग्रिमेन्ट अन टेरिफ्स एण्ड ट्रेड) १९९४ को धारा ७ कार्यान्वयन गर्नकोलागि सम्पन्न भएको सम्झौतामा उल्लिखित भन्सार मूल्याङ्कन सम्बन्धी नियमहरु, अनुसूची र व्याख्या अवलम्बन गरिनेछ ।

(२) पैठारी गरिने मालवस्तुको भन्सार मूल्य उपदफा (१) को अधीनमा रही त्यस्तो मालवस्तुको कारोबार मूल्यको आधारमा निर्धारण गरिनेछ ।

(३) पैठारीकर्ताले आफूले पैठारी गरेको मालवस्तुको मूल्य प्रमाणित गर्ने विवरण तथा कागजात संलग्न गरी कारोबार मूल्य घोषणा गर्नु पर्नेछ ।

(४) पैठारीकर्ताले उपदफा (३) बमोजिम घोषणा गरेको कारोबार मूल्य उपदफा (१) अनुरुपकोभएमा भन्सार अधिकृतले त्यस्तो कारोबार मूल्यको आधारमा मालवस्तुको भन्सार मूल्य निर्धारण गर्नेछ । त्यस्तो कारोबार मूल्यमा भाडा, बीमा तथा अन्य सम्वद्ध खर्च समावेश भएको नदेखिएमा भन्सार अधिकृतले सोका लागि लाग्न सक्ने अनुमानित रकम जोडी कारोबार मूल्य निर्धारण गर्नेछ ।

(५) उपदफा (४) बमोजिमको अनुमानित रकम कायम गर्ने आधार महानिर्देशकले तोक्न सक्नेछ ।

(६) पैठारीकर्ताले उपदफा (३) बमोजिम घोषणा गरेको मूल्य शङ्कास्पद छ भन्ने विश्वास गर्नु पर्ने मनासिब कारण भएमा भन्सार अधिकृतलेनिजसँग त्यस्तो मूल्य वास्तविक कारोबार मूल्य हो भनी प्रमाणित गर्ने थप कागजात वा प्रमाण लिखित रुपमा माग गर्न सक्नेछ । त्यसरी माग भएका कागजात उपलब्ध गराउने जिम्मेवारी त्यस्तो पैठारीकर्ताकोहुनेछ ।

(७) पैठारीकर्ताले उपदफा (३) बमोजिम घोषणा गरेको कारोबार मूल्य वा पेश गरेको बील, बीजक र कागजातका आधारमा कुनै मालवस्तुको भन्सार मूल्य निर्धारण हुन नसकेमा त्यसको कारण सहितको सूचना भन्सार अधिकृतले सम्बन्धित पैठारीकर्तालाई दिनु पर्नेछ ।

(८) उपदफा (२) बमोजिम कारोबार मूल्यका आधारमा भन्सार मूल्य निर्धारण गर्न नसकिएमा त्यस्तो मालवस्तुको भन्सार मूल्य त्यस्तो मालवस्तु पैठारी हुनुभन्दा पहिले नेपालमा पैठारी भइसकेको समरुपको मालवस्तु (आइडेण्टिकल गुड्स) को कारोबार मूल्यको आधारमा निर्धारण गरिनेछ ।

स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि “समरुपका मालवस्तु(आइडेण्टिकल गुड्स)” भन्नाले बनौट, गुण, प्रकृति र विशेषता लगायत सम्पूर्ण कुरा एकै किसिमको भएको मालवस्तु सम्झनुपर्छ ।

(९) उपदफा (८) बमोजिम समरुपको मालवस्तुको कारोबार मूल्यको आधारमा भन्सार मूल्य निर्धारण गर्न नसकिएमा त्यस्तो मालवस्तुको भन्सार मूल्य नेपालमा पहिले पैठारी भएको मिल्दोजुल्दो मालवस्तु(सिमिलर गुड्स) को कारोबार मूल्यको आधारमा निर्धारण गरिनेछ ।

स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि “मिल्दोजुल्दो मालवस्तु (सिमिलर गुड्स)” भन्नाले सबै कुरामा उस्तै नभएका तर उस्तै बनौट सामग्रीको अंश र उस्तै उस्तै विशेषता भएको कारणले गर्दा उस्तै काम गर्न सक्ने र व्यापारिक रुपमा साटफेर हुन सक्ने मालवस्तु सम्झनुपर्छ ।

(१०) उपदफा (९) बमोजिम मिल्दोजुल्दो मालवस्तुको कारोबार मूल्यको आधारमा भन्सार मूल्य निर्धारण गर्न नसकिएमा त्यस्तो मालवस्तु अघि नै नेपालमा पैठारी भई बजारमा पैठारीकर्तासँग असम्बन्धित व्यक्तिलाई बिक्री भएको रहेछ भने त्यसरी बिक्री भएको अधिकतम इकाइको प्रति इकाई बिक्री मूल्यमा नेपालमा लागेको कर, महसुल, अन्य सम्वद्ध खर्च र मुनाफा कटाई (डिडक्टिभ भ्यालु मेथड अनुसार) त्यस्तो मालवस्तुको भन्सार मूल्य निर्धारण गरिनेछ ।

(११) उपदफा (१०) बमोजिम भन्सार मूल्य निर्धारण गर्न नसकिएमा त्यस्तो मालवस्तु उत्पादन वा निर्माण गर्न लागेको खर्च र सो मालवस्तु पैठारीकर्तालाई बिक्री गर्दा विक्रेताले लिएको वा लिन सक्ने मुनाफा समेत गणना गरी (कम्प्युटेड भ्यालु मेथड अनुसार) भन्सार मूल्य निर्धारण गरिनेछ ।

(१२) उपदफा (११) बमोजिम भन्सार मूल्य निर्धारण गर्न नसकिएमा भन्सार अधिकृतले उपदफा (२), (८), (९), (१०) र (११) विपरीत नह्ुने गरी मनासिब आधारमा त्यस्तो मालवस्तुको भन्सार मूल्य निर्धारण गर्नेछ ।

(१३) उपदफा (१०) र (११) मा जुनसुकै कुरा लेखिएकोभए तापनि पैठारीकर्ताले उपदफा (१०) भन्दा पहिले उपदफा (११) को प्रक्रिया अवलम्बन गरी भन्सार मूल्य निर्धारण गरिदिनका लागि अनुरोध गरेमा भन्सार अधिकृतले उपदफा (११) बमोजिम भन्सार मूल्य निर्धारण गर्न सक्नेछ ।

(१४) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि व्यक्तिगत प्रयोजनको लागि गुण्टा, झिटी, भारी आदेश अन्तर्गत पैठारी भएको मालवस्तु वा विदेशी मुलुकबाट उपहार वा नमूना स्वरुप प्राप्त गरी पैठारी भएकोमालवस्तुको कारोबार मूल्य खुलाउन नसक्ने कारण जनाई सो मालवस्तुका धनीले मूल्याङ्कन गरिदिन निवेदन दिएमा र सो व्यहोरा भन्सार अधिकृतलाई उपयुक्त लागेमा निजले त्यस्तोमालवस्तुको मनासिब भन्सार मूल्य निर्धारण गर्न सक्नेछ ।

(१५) पैठारीकर्ताले उपदफा (३) बमोजिम घोषणा गरेको मूल्य यस दफा बमोजिम भन्सार अधिकृतले निर्धारण गरेको भन्सार मूल्यभन्दा घटी भएमा भन्सार अधिकृतले त्यस्तो मालवस्तुका सम्बन्धमा देहाय बमोजिम गर्न सक्नेछ :–

(क) त्यसरी घटी भएको जति मूल्यमा पचास प्रतिशत थप भन्सार महसुल असूल गरी त्यस्तो मालवस्तु जाँचपास गर्ने, वा

(ख) महानिर्देशकको पूर्व स्वीकृति लिई, त्यसरी घोषित मूल्यमा पाँच प्रतिशत रकम थप गर्दा हुन आउने रकम पैठारीकर्तालाई भुक्तानी दिने गरी त्यस्तो मालवस्तु खरीद गर्नेगराउने।

(१६) यस दफा बमोजिम मालवस्तुको भन्सार मूल्य कायम गर्दा सामान्यतः विदेशी मुद्रामा गरिने छ । पैठारीको अवस्थामा महसुल बुझाउनु पर्ने मालवस्तुको मूल्याङ्कन विदेशी मुद्रामा भएकोमा सोको नेपाली रुपैयाँमा परिवर्तन गर्दा मालवस्तु जाँचपास हुँदाका दिन नेपाल राष्ट्र बैङ्कबाट तोकिएको विदेशी मुद्राको बिक्रीदरको आधारमा गरिने छ । नेपाल राष्ट्र बैङ्कबाट विनिमय दर नतोकिएको विदेशी मुद्राको हकमा सो विदेशी मुद्रालाई अमेरिकी डलरमा परिवर्तन गर्दा हुने अमेरिकी डलरको बिक्री दरको आधारमा गरिनेछ ।

तर कूटनीतिक सुविधा, महसुल सुविधा वा पूर्ण वा आंशिक महसुल छुटमा पहिले पैठारी भई पछि महसुल बुझाउने मालवस्तुको भन्सार मूल्यलाई नेपाली रुपैयाँमा परिवर्तन गर्दा बाँकी महसुल बुझाउने दिनमा नेपाल राष्ट्र बैङ्कबाट तोकिएको विदेशी मुद्राको बिक्रीदरको आधारमा गरिनेछ ।

 

१४. अस्थायी रुपमा भन्सार मूल्य निर्धारण गर्न सक्ने : (१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि देहायका अवस्थामा भन्सार अधिकृतले पैठारी भएको मालवस्तुको मनासिब अस्थायी भन्सार मूल्य दफा १३ को अधीनमा रही निर्धारण गर्न सक्नेछ :–

(क) पैठारीकर्ताले मनासिब कारण देखाई मालवस्तुको मूल्याङ्कनको लागि आवश्यक पर्ने कागजात तथा अन्य जानकारी तत्काल उपलब्ध गराउन नसक्ने व्यहोराको निवेदन दिएमा,

(ख) मालवस्तुको प्रयोगशाला परीक्षण वा अन्य जाँच गरेपछि मात्र भन्सार मूल्य निर्धारण गर्नु पर्ने वा गर्न सकिने भएमा वा पैठारीकर्ताले उपलब्ध गराएको कागजात र जानकारीका सम्बन्धमा थप जाँचबुझ गर्नु पर्ने देखिएमा ।

(२) उपदफा (१) बमोजिम अस्थायी भन्सार मूल्य निर्धारण भएपछि पैठारीकर्ताले त्यस्तो मालवस्तुमा लाग्ने महसुल धरौटीमा राखी मालवस्तु छुटाउन चाहेमा भन्सार अधिकृतले त्यस्तो मालवस्तु जाँचपास गरिदिनेछ ।

(३) उपदफा (१) बमोजिम अस्थायी मूल्य निर्धारण भएको मितिले तीस दिनभित्र भन्सार अधिकृतले सो मालवस्तुको भन्सार मूल्य दफा १३ बमोजिम निर्धारण गर्नु पर्नेछ ।

(४) उपदफा (३) बमोजिम निर्धारण भएको भन्सार मूल्य उपदफा (१) बमोजिम निर्धारण भएको अस्थायी भन्सार मूल्यभन्दा बढी भएमा भन्सार कार्यालयले त्यसरी बढी भएजति मूल्यमा लाग्ने महसुल त्यस्तो पैठारीकर्ताबाट असूलउपर गर्नु पर्नेछ र घटी भएमा बढी असूल भएको महसुल निजलाई फिर्ता दिनु पर्नेछ ।

 

१५. भाडा, बीमा वा अन्य सम्बद्ध खर्चको अनुमानित रकम कायम गरिदिन सक्ने : (१) कुनै पैठारीकर्ताले मालवस्तु पैठारी गर्दा लागेको भाडा, बीमा वा अन्य सम्बद्ध खर्चको कागजात आफ्नो काबूबाहिरको परिस्थिति परी तत्काल पेश गर्न नसक्ने भएमा सोको कारण खुलाई त्यस्तो भाडा, बीमा वा अन्य सम्बद्ध खर्चको अनुमानित रकम कायम गरिदिनका लागि भन्सार अधिकृत समक्ष निवेदन दिन सक्नेछ ।

(२) उपदफा (१) बमोजिमको निवेदन जाँचबुझ गर्दा व्यहोरा मनासिब देखिएमा भन्सार अधिकृतले त्यस्तो मालवस्तुको कारोबार मूल्यमा समावेश हुन सक्ने भाडा, बीमा वा अन्य सम्बद्ध खर्च बापतकोअनुमानित रकम कायम गरिदिन सक्नेछ ।

(३) उपदफा (२) बमोजिम भाडा, बीमा वा अन्य सम्बद्ध खर्चको अनुमानित रकम कायम भएकोमितिले नब्बेदिनभित्र सम्बन्धित पैठारीकर्ताले सो मालवस्तुको वास्तविक भाडा, बीमा तथा अन्य सम्बद्ध खर्च सम्बन्धी कागजात प्रमाण पेश गर्नु पर्नेछ । त्यसरी पेश गरेको कागजात प्रमाणमा उल्लेख भएको रकम उपदफा (२) बमोजिम कायम भएको अनुमानित रकमभन्दा बढी भएमा त्यस्तो बढी रकममा लाग्ने महसुल निजले बुझाउनु पर्नेछ र घटी भएमा लाग्ने महसुल कटाई बाँकी रकम भन्सार कार्यालयले निजलाई फिर्ता गर्नु पर्नेछ ।

(४) उपदफा (३) बमोजिमको अवधिभित्र सम्बन्धित पैठारीकर्ताले प्रमाण कागजात पेश नगरेमा वा अन्यथा प्रमाणित नभएमा भन्सार अधिकृतबाट उपदफा (२) बमोजिम कायम भएको अनुमानित रकमलाई नै त्यस्तो भाडा, बीमा र अन्य सम्बद्ध खर्चको अन्तिम रकम मानिनेछ ।

 

१६. निकासी गरिने मालवस्तुको भन्सार मूल्य निर्धारण : (१) निकासीकर्ताले घोषणा गरेको बीजक मूल्य नै निकासी गरिने मालवस्तुको भन्सार मूल्य हुनेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारले आवश्यक ठानेमा निकासी हुने कुनै खास प्रकृतिका मालवस्तुको छुट्टै भन्सार मूल्य नेपाल राजपत्रमा सूचना प्रकाशन गरी निर्धारण गर्न सक्नेछ । त्यसरी छुट्टै भन्सार मूल्य निर्धारण भएकोमा निकासीकर्ताले घोषणा गरेको बीजक मूल्य र नेपाल सरकारले त्यसरी निर्धारण गरेको भन्सार मूल्यमध्ये जुन बढी हुन्छ सोही मूल्यलाई त्यस्तोमालवस्तुको भन्सार मूल्य मानिनेछ ।

(३) उपदफा (१) वा (२) बमोजिमको भन्सार मूल्य फ्री अन बोर्ड (एफ.ओ.बी.) मूल्य हुनेछ ।

स्पष्टीकरण : यस उपदफाको प्रयोजनको लागि “एफ.ओ.बी. मूल्य” भन्नाले निकासी गरिने मालवस्तुको कारखाना मूल्य र त्यस्तो मालवस्तु नेपालको सम्बन्धित भन्सार कार्यालयसम्म ल्याउँदा लाग्ने लागत समेत जोडिएको मूल्य सम्झनु पर्छ ।

(४) यस दफा बमोजिम मालवस्तुको मूल्य कायम गर्दा विदेशी मुद्रामा गरिने छ । त्यस्तो विदेशी मुद्रालाई नेपाली रुपैयाँमा परिवर्तन गर्दा मालवस्तु जाँचपास हुने दिनमा नेपाल राष्ट्र बैङ्कबाट तोकिएकोविदेशी मुद्राको खरिद दरको आधारमा गरिने छ ।

 

परिच्छेद–६ प्रज्ञापनपत्र, जाँच तथा जाँचपास सम्बन्धी व्यवस्था

१७. विवरण पेश गर्नु पर्ने : निकासी वा पैठारी हुने मालवस्तु ढुवानी गर्ने सवारी साधनको चालकले त्यस्तो सवारी साधन भन्सार कार्यालयमा प्रवेश गर्नुअघि सो साधनमा रहेको मालवस्तुको तोकिए बमोजिमको विवरण भन्सार कार्यालयमा दिनु पर्नेछ ।

 

१८. प्रज्ञापनपत्र भरी पेश गर्नु पर्ने : (१) मालवस्तु निकासी वा पैठारी गर्नेव्यक्तिले तोकिए बमोजिमको कागजात संलग्न गरी प्रज्ञापनपत्र भरी सम्बन्धित क्षेत्रको भन्सार अधिकृत समक्ष पेश गर्नु पर्नेछ । तर, नेपालबाट बाहिर जाने र विदेशी मुलुकबाट नेपालभित्र आउने यात्रुको साथमा रहेको गुण्टा, झिटी भारीमा रहेका मालवस्तुमध्ये नेपाल सरकारलेनेपाल राजपत्रमा सूचना प्रकाशन गरी भन्सार महसुल नलाग्ने भनी तोकेको मालवस्तुको प्रज्ञापनपत्र भर्न आवश्यक हुने छैन ।

(२) काबूबाहिरको परिस्थिति परी वा अन्य कुनै मनासिब कारणले उपदफा (१) बमोजिमकोकुनै कागजात प्रज्ञापनपत्र साथ पेश गर्न नसकिनेभएमा त्यस्तो परिस्थिति वा कारण खुलाई त्यस्तो कागजात पछि पेश गर्ने अनुमतिको लागि सम्बन्धित व्यक्तिले भन्सार अधिकृत समक्ष निवेदन दिन सक्नेछ ।

(३) उपदफा (२) बमोजिम दिएको निवेदन जाँचबुझ गर्दा त्यस्तो परिस्थिति वा कारण मनासिब देखिएमा सम्बन्धित भन्सार अधिकृतले त्यस्तो कागजात पेश गर्ने अवधि तोकिदिन सक्नेछ ।

(४) उपदफा (३) बमोजिम कागजात पेश गर्ने अवधि तोक्दा भन्सार अधिकृतले कुनै शर्त तोक्न वा सुरक्षण बापत मनासिब धरौटी माग गर्न सक्नेछ ।

 

१९. प्रज्ञापनपत्र जाँच गर्ने : (१) दफा १८ बमोजिम प्रज्ञापनपत्र पेश भएपछि सम्बन्धित भन्सार अधिकृतले सो प्रज्ञापनपत्रमा घोषित मालवस्तु कानून बमोजिम पैठारी वा निकासी गर्न पाइने मालवस्तु हो वा होइन भन्ने सम्बन्धमा जाँच गर्नु पर्नेछ । त्यसरी जाँच गर्दा भन्सार अधिकृतले आवश्यकता अनुसार सम्बन्धित मालवस्तुको भौतिक जाँच गर्न वा गर्न लगाउन सक्नेछ ।

(२) उपदफा (१) बमोजिम जाँच गर्दा त्यस्तो मालवस्तु निकासी वा पैठारी गर्न नपाइने वा प्रतिबन्धित भएको पाइएमा प्रचलित कानून बमोजिम अनुसन्धान वा कारबाहीका लागि सम्बन्धित निकाय वा अधिकारी समक्ष पठाउनु पर्नेछ ।

 

२०. मालवस्तुको जाँच गर्ने : (१) दफा १९ बमोजिमको जाँच गर्दा सम्बन्धित मालवस्तु निकासी वा पैठारी गर्न पाइनेदेखिएमा भन्सार अधिकृतले परिच्छेद–७ बमोजिम त्यस्तोमालवस्तु जाँच गर्नेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि छनौट प्रणाली अनुसार त्यस्तो मालवस्तु जाँच गर्न नपर्ने देखिएमा भन्सार अधिकृतले सम्बद्ध कागजात मात्र जाँच गर्न सक्नेछ ।

स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि “छनौट प्रणाली” भन्नाले राजस्व, व्यापार, मालवस्तु वा अन्य क्रियाकलापको जोखिमलाई विचार गरी कुनै मालवस्तु जाँच गरी वा नगरी वा कागजात मात्र जाँच गरी मालवस्तु जाँचपास गर्न सकिने गरी विभागले निर्धारण गरेको प्रणाली सम्झनु पर्छ ।

 

२१. मूल्याङ्कन गर्नु पर्ने : दफा २० बमोजिम मालवस्तुवा कागजात जाँच गरेपछि भन्सार अधिकृतले पैठारी हुनेमालवस्तुको भन्सार मूल्य दफा १३ बमोजिम र निकासी हुने मालवस्तुको भन्सार मूल्य दफा १६ बमोजिम निर्धारण गर्नेछ ।

 

२२. महसुल निर्धारण गर्ने : दफा २१ बमोजिम भन्सार मूल्य निर्धारण भएपछि भन्सार अधिकृतले सो मालवस्तुमा लाग्ने महसुल निर्धारण गर्नेछ ।

 

२३. मालवस्तु जाँचपास गर्ने : महसुल बुझाउन नपर्ने गरी प्रचलित कानून बमोजिम छुट वा सुविधा दिइएकोमा बाहेक दफा २२ बमोजिम निर्धारण भएको महसुल लिएर मात्र भन्सार अधिकृतले मालवस्तु जाँचपास गर्नेछ ।

 

२४. मालवस्तु भन्सार कार्यालयमा आइपुग्नुअघि महसुल निर्धारण गर्न सकिने : (१) कुनै पैठारीकर्ताले पैठारी गर्ने मालवस्तु सम्बन्धित भन्सार कार्यालयमा आइपुग्नुअघि सो मालवस्तुमा लाग्ने महसुल बुझाउन चाहेमा सोको लागि सो मालवस्तु सम्बन्धी दफा १८बमोजिमको कागजात संलग्न गरी प्रज्ञापनपत्र भरी भन्सार अधिकृत समक्ष निवेदन दिन सक्नेछ ।

(२) उपदफा (१) बमोजिम प्राप्त निवेदनउपर जाँचबुझ गर्दा त्यसरी महसुल लिन मनासिब देखिएमा भन्सार अधिकृतले दफा २२ बमोजिम महसुल निर्धारण गरिदिन सक्नेछ । त्यसरी निर्धारण भएको महसुल पैठारीकर्ताले भन्सार कार्यालयमा बुझाउनु पर्नेछ ।

(३) उपदफा (२) बमोजिम निर्धारण भएको महसुल दर वा परिवत्र्य विदेशी मुद्राको विनिमय दर महसुल बुझाएको दिन र मालवस्तु जाँचपास हुँदाको दिनमा फरक पर्न गएमा मालवस्तु जाँचपास हुँदाको दिन कायम रहेको दर लागू हुनेछ ।

(४) जुन मालवस्तुका सम्बन्धमा उपदफा (२) बमोजिम महसुल बुझाइसकिएको हो सो मालवस्तु भन्सार कार्यालयमा आइपुगेपछि सो कार्यालयले त्यस्तो मालवस्तुको आवश्यक प्रक्रिया प्राथमिकतासाथ पूरा गरी त्यस्तो मालवस्तु जाँचपास गरिदिनु पर्नेछ ।

 

२५. निकासी वा पैठारी गर्न सकिने : (१) निकासी वा पैठारी गरिने मालवस्तुको निकासीकर्ता वा पैठारीकर्ता वा निजको भन्सार एजेन्टले दफा २३ बमोजिम महसुल बुझाएको प्रज्ञापनपत्र वा रसिद प्राप्त गरेपछि र दफा १८ को उपदफा (१) को प्रतिबन्धात्मक वाक्यांशमा उल्लिखित मालवस्तुको हकमा भन्सार अधिकृतले जाँच गरी वा गराई लैजाने अनुमति दिएपछि मात्र त्यस्तो मालवस्तु निकासी वा पैठारी गर्न सक्नेछ ।

(२) कसैले विद्युतीय माध्यमबाट सफ्टवेयर निकासी गरेकोमा निकासी सम्बन्धी सम्झौता, बीजक र सम्बन्धित पैठारीकर्ताबाट भुक्तानी प्राप्त भएको प्रमाण समेतको आधारमा नेपाल राष्ट्र बैङ्कले प्रमाणित गरेपछि मात्र त्यस्तो सफ्टवेयर निकासी भएको मानिनेछ ।

 

२६. निस्सा, प्रमाण वा रसिद माग गर्न सक्नेः (१) कुनै व्यक्तिले कुनै मालवस्तु पैठारी गरी ल्याएको हो वा निकासी गर्न लागेको हो र भन्सार महसुल तिरेको छैन भनी विश्वास गर्नु पर्ने मनासिब कारण भएमा वा भन्सार महसुल नतिरेको थाहा पाएमा भन्सार कार्यालयको कुनै कर्मचारीले त्यस्तो व्यक्तिबाट सो मालवस्तुको भन्सार महसुल तिरेको प्रमाण वा भन्सार महसुल नलाग्ने भए सोही व्यहोराको निस्सा माग गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम माग भएको प्रमाण वा निस्सा त्यस्तो व्यक्तिले त्यस्तो कर्मचारीलाई देखाउनु पर्नेछ । निजले त्यस्तो प्रमाण वा निस्सा पेश गर्न नसकेमा वा पेश गरेको निस्सामा लेखिए बमोजिमको मालवस्तु नभई फरक मालवस्तु देखिन आएमा त्यस्तो कर्मचारीले त्यस्तो मालवस्तु र व्यक्ति भन्सार अधिकृत समक्ष पेश गर्नु पर्नेछ ।

(३) उपदफा (२) बमोजिम पेश भएपछि भन्सार अधिकृतले त्यस्तो मालवस्तु रोक्का गर्न आदेश दिन सक्नेछ र पेश भएको व्यक्तिलाई चोरी निकासी वा पैठारीको कसूरमा कारबाही चलाउनेछ ।

 

२७. प्रज्ञापनपत्रको ढाँचा : प्रज्ञापनपत्रको ढाँचा तोकिएबमोजिम हुनेछ ।

परिच्छेद–७ मालवस्तुको जाँच सम्बन्धी व्यवस्था

२८. भारी वा पोका खोल्न जाँच्न सक्ने : (१) भन्सार अधिकृतले निकासी वा पैठारी हुने जुनसुकै मालवस्तुको भारी वा पोका एक एक गरी वा बीच बीचमा छड्के गरी वा केही प्रतिशत मात्र खोल्न र जाँच्न वा आफू मातहतका कुनै कर्मचारीलाई त्यसरी खोल्न र जाँच्न आदेश दिन सक्नेछ ।

(२) उपदफा (१) बमोजिम जाँच गर्दा जीवित जनावर, छिटो नाश हुन सक्ने वस्तुहरु र भन्सार अधिकृतले आवश्यक ठानेका अन्य मालवस्तु पहिले जाँच गर्नु पर्नेछ ।

(३) भन्सार अधिकृत वा निज मातहतको कर्मचारीले मालवस्तुको भारी वा पोका उपदफा (१) बमोजिम खोले जाँचेकोमा त्यसरी जाँचेको तरिका र अदतको स्पष्ट विवरण प्रज्ञापनपत्रमा उल्लेख गर्नु पर्नेछ ।

(४) यस दफा बमोजिम जाँच भएको वा नभएको भारी वा पोकाका सम्बन्धमा शङ्का लागेमा वा सो सम्बन्धमा कुनै सूचना प्राप्त भएमा भन्सार अधिकृतले त्यस्तो भारी वा पोका जाँच नै नभएको भए जाँचबुझ गराउन वा जाँच भईसकेको भए पुनः जाँचबुझ गर्न आफू मातहतका कर्मचारीलाई आदेश दिन सक्नेछ ।

(५) निकासीकर्ता वा पैठारीकर्ताले आफ्नो उपस्थितिमा मालवस्तु जाँच गराउन चाहेमा सोको जानकारी लिखित रुपमा भन्सार अधिकृतलाई दिनु पर्नेछ । त्यसरी जानकारी दिएकोमा भन्सार अधिकृतले त्यस्तो निकासीकर्ता वा पैठारीकर्ताको उपस्थितिमा मालवस्तुको जाँच गर्न वा गराउन सक्नेछ ।

तर भन्सार अधिकृतले तोकेको समयमा निज उपस्थित नभएमा निजको अनुपस्थितिमा नै मालवस्तुको जाँच गर्न वाधा पर्नेछैन ।

(६) भन्सार अधिकृतले यस दफा बमोजिम मालवस्तु जाँच गर्दा वा गराउँदा पैठारीकर्ताले गरेको घोषणाका आधारमा लाग्ने महसुल असूल गरेर मात्र मालवस्तुको जाँच गर्न वा गराउन सक्नेछ ।

(७) उपदफा (६) बमोजिम जाँच गर्दा निकासीकर्ता वा पैठारीकर्ता वा निजको एजेन्टले गरेको घोषणा वा प्रज्ञापनपत्रसाथ संलग्न गरेको कागजातमा उल्लिखित विवरण बमोजिमको मालवस्तु नभई फरक परेमा त्यस्तो मालवस्तुकोजाँच गर्नुअगाडि नै महसुल असूल भएको रहेछ भने पैठारीकर्ताले त्यस्तो महसुल फिर्ता वा लाग्ने महसुलमा मिलान गर्न पाउने छैन ।

(८) एकपटक जाँचपास भएको मालवस्तु निकासीकर्ता वा पैठारीकर्ताले भन्सार क्षेत्रबाट उठाई लैजानुअघि वा भन्सार क्षेत्रबाहिर लगिसकेपछि महानिर्देशकले खटाएको कुनै अधिकृत कर्मचारी वा सम्बन्धित भन्सार कार्यालयको भन्सार अधिकृतले पुनः पूरा वा आंशिक रुपमा जाँच गर्न वा गराउन सक्नेछ । त्यसरी जाँच गर्दा सोको कारणका बारेमा महानिर्देशक वा भन्सार अधिकृतलेसम्बन्धित पैठारीकर्तालाई जानकारी दिनु पर्नेछ ।

 

२९. जाँच गरे सरह हुने : दफा २८ बमोजिम भारी वा पोका जाँच गर्दा सो भारी वा पोकामा पेश भएको बील बीजक, अन्य कागजात वा विवरण बमोजिम मालवस्तु भएमा जाँच नगरिएका अन्य भारी वा पोकाभित्रका मालवस्तु पनि जाँच गरेको मानिनेछ ।

 

३०. मालवस्तुको विशेष परीक्षण गर्न सकिने : (१) कुनै मालवस्तु स्वास्थ्य वा वातावरणको दृष्टिकोणले विशेष रुपमा परीक्षण गर्नु पर्ने देखिएमा भन्सार अधिकृतले सम्बन्धित निकाय वा प्रयोगशालाबाट त्यस्तो मालवस्तुको परीक्षण गराउन सक्नेछ ।

(२) उपदफा (१) को प्रयोजनको लागि भन्सार अधिकृतले त्यस्तो मालवस्तुकोनमूना भारी वा पोकाबाट झिकी सम्बन्धित निकाय वा प्रयोगशालामा पठाउन सक्नेछ ।

(३) उपदफा (१) बमोजिम परीक्षणको लागि पठाइएको मालवस्तु सम्बन्धित निकाय वा प्रयोगशालाले यथाशीघ्र परीक्षण गरी सोको नतिजा यथाशीघ्र भन्सार कार्यालयमा पठाइदिनु पर्नेछ ।

(४) उपदफा (३) बमोजिम परीक्षण गर्दा सो मालवस्तुले स्वास्थ्य वा वातावरणलाई हानि पुर्याउने वा प्रतिकूल असर पार्ने देखिएमा भन्सार अधिकृतले सम्बन्धित पैठारीकर्तालाई त्यस्तो मालवस्तु विदेशी मुलुकको सम्बन्धित निकासीकर्तालाई तोकिए बमोजिम फिर्ता पठाउने आदेश दिनेछ ।

तर भन्सार अधिकृतले त्यसरी आदेश दिनुअघि निज पैठारीकर्ताबाट त्यस्तो मालवस्तुको लागि भुक्तानी गरेकोविदेशी मुद्रा फिर्ता ल्याएको प्रमाण पेश गर्न लगाउन वा त्यस्तो विदेशी मुद्रा फिर्ता ल्याउने कबुलियतनामा पेश गर्न लगाउन सक्नेछ ।

(५) उपदफा (४) बमोजिम दिइएको आदेश बमोजिम सम्बन्धित पैठारीकर्ताले त्यस्तो मालवस्तु फिर्ता नपठाएमा भन्सार अधिकृतले त्यस्तो मालवस्तु जफत गरी तोकिए बमोजिम सडाउन वा नष्ट गर्न सक्ने छ र त्यसरी सडाउन वा नष्ट गर्न लाग्ने वा लागेको खर्च सम्बन्धित पैठारीकर्ताबाट असूल गर्नेछ ।

 

३१. सम्बन्धित स्थानमा गई मालवस्तु जाँच गर्न सकिनेः (१) कुनै निकासीकर्ताले आफूले निकासी गर्ने मालवस्तु त्यस्तो मालवस्तुको उत्पादनस्थल वा गोदाममा गई जाँच गरिदिन भन्सार अधिकृत समक्ष निवेदन दिन सक्नेछ ।

(२) उपदफा (१) बमोजिम प्राप्त निवेदन अनुसार मालवस्तु जाँच गर्न मनासिब देखिएमा भन्सार अधिकृतले तोकिए बमोजिमको शुल्क लिई त्यस्तो उत्पादनस्थल वा गोदाममा आफै गई वा आफू मातहतका कर्मचारीलाई पठाई मालवस्तु जाँच गर्न वा गराउन सक्नेछ ।

(३) कुनै पैठारीकर्ताले आफूले पैठारी गरी ल्याएको मालवस्तु भन्सार क्षेत्रभन्दा बाहिर जाँच गरिदिन तोकिएको कागजात संलग्न गरी प्रज्ञापनपत्र भरी भन्सार अधिकृत समक्ष निवेदन दिन सक्नेछ ।

(४) उपदफा (३) बमोजिम प्राप्त निवेदन जाँचबुझ गर्दा त्यसरी जाँच गर्न मनासिब देखिएमा महानिर्देशकको पूर्व स्वीकृति लिई भन्सार अधिकृतले तोकिएको शुल्क असूल गरी भन्सार क्षेत्रभन्दा बाहिर आफै गई वा आफू मातहतका कर्मचारीलाई पठाई मालवस्तुको जाँच गर्न वा गराउन सक्नेछ ।

(५) उपदफा (४) बमोजिम मालवस्तु जाँच गर्नुअघि भन्सार अधिकृतले पैठारीकर्ताले घोषणा गरेकोभन्सार मूल्य अनुसार सो मालवस्तुमा लाग्ने महसुलमा पचास प्रतिशत महसुल थप गरी हुन आउने रकम धरौटी लिनु पर्नेछ । भन्सार कार्यालयले त्यस्तो धरौटी रकम सो मालवस्तुमा लाग्ने भन्सार महसुलभन्दा बढी भएमा त्यसरी बढी भएजति रकम पैठारीकर्तालाई फिर्ता दिनु पर्नेछ र कम भएमा त्यस्तो कम रकम पैठारीकर्ताबाट असूल गर्नु पर्नेछ ।

 

३२. ढुवानी गर्ने साधनमा सीलबन्दी गर्न सकिने : भन्सार कार्यालयबाट मालवस्तु जाँचपास भएपछि त्यस्तो मालवस्तु जुन साधनबाट ढुवानी गरिने हो सोही साधनमा राखी त्यस्तोसाधनमा भन्सार कार्यालयले सीलछाप लगाउन सक्नेछ ।

 

३३. स्वीकृति नलिई खोल्न, हेर्न जाँच्न नपाउनेः भन्सार कार्यालयबाट जाँचपास भएका मालवस्तु र त्यस्तो मालवस्तु ढुवानी गरिरहेको साधन राजस्व चुहावट सम्बन्धी प्रचलित कानून बमोजिम अनुसन्धान गर्न अधिकारप्राप्त अधिकारी बाहेक अर्थ मन्त्रालय वा महानिर्देशकको पूर्व स्वीकृति नलिई अन्य निकायले खोल्न हेर्न र जाँच्न पाउने छैन ।

परिच्छेद–८ जाँचपास पछिको परीक्षण, खानतलासी तथा पक्राउ सम्बन्धी व्यवस्था

३४. जाँचपासपछि परीक्षण गर्न सकिने : (१) भन्सार कार्यालयबाट जाँचपास भएको मालवस्तु पैठारीकर्ताले घोषणा गरे बमोजिमको मालवस्तु हो वा होइन वा पैठारीकर्ताले गरेको घोषणा अनुरुप भए वा नभएको यकिन गर्न महानिर्देशक वा भन्सार अधिकृतले कुनै पैठारीकर्ताको मालवस्तु खरिद, पैठारी वा बिक्री सम्बन्धी खाता, स्रेस्ता अभिलेख वा अन्य यस्तै कागजात, बैङ्क अभिलेख, कम्प्यूटर प्रणाली लगायत निजको व्यवसायसँग सम्बन्धित सम्पूर्ण अभिलेख परीक्षण गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम परीक्षण गर्दा पैठारीकर्ताले पैठारी गरेका मालवस्तु निजले घोषणा गरेकोभन्दा भिन्न मालवस्तु पाइएमा वा निजले गरेको घोषणा अनुरुप नभएको देखिएमा वा कारोबार मूल्य वा मालवस्तुको परिमाण घटी घोषणा गरेको देखिएमा र सो कारणले घटी महसुल असूल भएको देखिएमा भन्सार अधिकृतले त्यसरी घटी भएको मूल्य वा परिमाणमा पैठारी हुँदाका बखत लाग्ने महसुल निजबाट तत्काल असूल गरी घटी कारोबार मूल्य वा परिमाण घोषणा गरेबापत निजलाई यस ऐन बमोजिम कारबाही गर्नेछ ।

(३) उपदफा (१) बमोजिम परीक्षण गर्दा मालवस्तुको वर्गीकरणको उपशीर्षक फरक परेको कारणले कम महसुल असूल भएको देखिएमा त्यस्तो कम महसुल रकम सम्बन्धित भन्सार कार्यालयले पैठारीकर्ताबाट तत्काल असूल गर्नेछ ।

(४) यस दफा बमोजिमको परीक्षण मालवस्तु जाँचपास भएको मितिले चार वर्षसम्म गर्न सकिनेछ ।

 

३५. मालवस्तु तथा व्यक्ति भन्सार अधिकृत समक्ष पेश गर्नु पर्ने : कुनै व्यक्तिले दफा ३ बमोजिम तोकिएको बाटोबाट नलगी वा चोरी, छली मालवस्तु निकासी वा पैठारी गरेको वा गर्न लागेको भन्सार कार्यालयको कर्मचारीले वा महानिर्देशकले खटाएको कुनै अधिकारीले फेला पारेमा निजले त्यस्तो मालवस्तु र सो मालवस्तु लिई जाने व्यक्ति तथा सवारी साधन पक्राउ गरी भन्सार अधिकृत समक्ष पेश गर्नु पर्नेछ । त्यसरी पेश हुन आएको मालवस्तु, व्यक्ति र सवारी साधनउपर भन्सार अधिकृतले चोरी निकासी वा चोरी पैठारीको कसूरमा कारबाही चलाउनेछ ।

 

३६. शङ्का लागेमा वा आधार भएमा तलासी गर्ने : कसैले भन्सार महसुल लाग्ने मालवस्तु भन्सार महसुल नतिरी वा चोरी पैठारी गरी ल्याएको छ वा चोरी निकासी गरी लिई जान लागेको छ वा प्रतिबन्धित मालवस्तु निकासी वा पैठारी गरेको छ वा गर्न लागेको छ भनी विश्वास गर्नु पर्ने मनासिब आधार वा कारण भएमा वा शङ्का लागेमा भन्सार कार्यालयको जुनसुकै कर्मचारीले त्यस्तो व्यक्ति वा जुनसुकै साधनलाई रोक्का गर्न र त्यस्तो व्यक्ति वा त्यस्तो सवारी साधनको तलासी लिन सक्नेछ ।

 

३७. तलासी लिइने व्यक्तिले तलासी हुनुभन्दा अगाडि आफूलाई भन्सार अधिकृत छेउ पेश गराउन माग गर्न सक्ने : (१) भन्सार अधिकृत वा सो प्रयोजनको लागि तोकिएको कर्मचारी बाहेक अरु कुनै कर्मचारीले दफा ३६ बमोजिमको तलासी लिन चाहेकोमा सम्बन्धित व्यक्तिलेत्यस्तो तलासी लिनुभन्दा अगाडि आफूलाई भन्सार अधिकृत समक्ष पेश गराउन माग गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम भन्सार अधिकृत समक्ष पेश गराउन माग भएकोमा सम्बन्धित भन्सार कार्यालयका कर्मचारीले कुनै ढिला सुस्ती नगरी निजलाई भन्सार अधिकृत समक्ष पेश गर्नु पर्नेछ ।

(३) उपदफा (२) बमोजिम पेश गरिएको व्यक्तिको तलासी लिनु पर्ने मनासिब आधार  देखेमा भन्सार अधिकृतले निजको तलासी आफै लिन वा आफू मातहतका कर्मचारीलाई लिन लगाउनेछ र त्यस्तो आधार नदेखेमा निजलाई तुरुन्त छोडिदिनेछ ।

 

३८. चोरी पैठारी वा चोरी निकासी गरेको मानिने : दफा ३६ वा ३९ बमोजिम तलासी लिंदा भन्सार महसुल लाग्ने वा यस ऐन बमोजिम घोषणा गरी पैठारी वा निकासी गर्नु पर्ने मालवस्तु बरामद भएकोमा भन्सार अधिकृतले तलासी लिएको व्यक्तिलाई सो मालवस्तुको प्रज्ञापनपत्र र भन्सार महसुल लाग्ने मालवस्तु भए महसुल तिरेको निस्सा पेश गर्न आदेश दिनेछ । निजले त्यस्तो प्रज्ञापनपत्र वा निस्सा पेश गर्न नसकेमा चोरी पैठारी वा चोरी निकासी गरेको मानिनेछ ।

 

३९. घर, भवन, गोदाम वा ठाउँको खानतलासी लिने : (१) कसैले भन्सार महसुल छली वा चोरी पैठारी गरी ल्याएको मालवस्तु कुनै घर, भवन, गोदाम वा अन्य कुनै पनि ठाउँमा लुकाएको वा राखेको छ भन्ने विश्वास वा शङ्का गर्नु पर्ने मनासिब कारण भएमा महानिर्देशकले वा सम्बन्धित भन्सार अधिकृतले कारण सहितको निर्णय गरी त्यस्तो घर, भवन, गोदाम वा ठाउँको खानतलासी लिन वा लिन लगाउन आदेश दिन सक्नेछ ।

(२) उपदफा (१) बमोजिम आदेश पाउने कर्मचारीले त्यस्तो घर, भवन, गोदाम वा ठाउँको खानतलासी लिनुअघि सो घर, भवन, गोदाम वा ठाउँको धनी वा सो घर, भवन, गोदाम वा ठाउँमा तत्काल वसोवास गरिरहेका व्यक्तिलाई त्यसरी खानतलासी लिनु परेको कारण समेत खोली सूचना दिनु पर्नेछ । त्यस्तो धनी वा व्यक्तिले त्यस्तो सूचना बुझ्न नमानेमा सो सूचनाको एक प्रति त्यस्तो घर, भवन, गोदाम वा ठाउँको सबैले देख्ने स्थानमा टाँसी दिनु पर्नेछ र त्यसरी सूचना टाँस भएपछि सम्बन्धित धनी वा व्यक्तिले खानतलासीको सूचना रीतपूर्वक पाएको मानिनेछ ।

(३) उपदफा (२) बमोजिम सम्बन्धित धनी वा व्यक्तिलाई सूचना दिएपछि निजले खानतलासी लिन खटिएका कर्मचारीलाई त्यस्तो घर, भवन, गोदाम वा ठाउँको खानतलासी लिन दिनु पर्नेछ ।

(४) उपदफा (२) र (३) बमोजिम खानतलासी लिन कुनै व्यक्तिले बाधा विरोध गरेमा खानतलासी लिन खटिएका कर्मचारीले खानतलासी लिनु पर्ने घर, भवन, गोदाम वा अन्य कुनै ठाउँमा बसिरहेका व्यक्तिलाई हट्ने सूचना र मौका दिनु पर्नेछ । यसरी हट्ने सूचना र मौका दिंदा दिंदै पनि निजहरु नहटेमा त्यस्तो कर्मचारीले सुरक्षा निकायको सहयोगमा आवश्यक बल समेत प्रयोग गरी खानतलासी लिनु पर्ने घर, भवन, गोदाम वा ठाउँको बाहिरी वा भित्री ढोका झ्याल वा छेस्कीनी खोली वा फोरी सूर्योदयदेखि सूर्यास्तभित्र कुनै पनि समयमा खानतलासी लिन सक्नेछ ।

(५) यस दफा बमोजिम खान तलासी लिंदा खान तलासी लिने कर्मचारीले उपलब्ध भएसम्म सम्बन्धित गाउँपालिका वा नगरपालिकाको वडा अध्यक्ष वा वडा सदस्य वा कुनै कार्यालयको कर्मचारी वा घर धनी वा निजको प्रतिनिधि वा सोह्र वर्ष उमेर पुगेको कुनैव्यक्तिलाई साक्षी राखी तलासी लिनु पर्नेछ । त्यस्तो साक्षी बस्ने मानिस फेला नपरेमा वा निजले साक्षी बस्न इन्कार गरेमा सोही व्यहोराको कैफियत जनाई तलासी लिने कर्मचारीले सहीछाप गर्नु पर्नेछ ।

(६) यस दफा बमोजिम खानतलासी लिंदा भन्सार छली वा चोरी पैठारी गरी ल्याएका मालवस्तु बरामद भएमा त्यसरी खानतलासी लिने कर्मचारीले त्यस्ता मालवस्तु आफ्नो कव्जामा लिई त्यस्ता मालवस्तुको विवरण खोलिएको फेहरिस्त तयार गरी सोको एक प्रति खानतलासी लिएको घर, भवन, गोदाम वा सो ठाउँको सम्बन्धित व्यक्तिलाई तत्काल बुझाइदिनु पर्नेछ । सम्बन्धित व्यक्तिले बुझ्न नमानेमा वा बुझाउन नसकिएमा दुईजना साक्षीको रोहवरमा मुचुल्का गरी टाँस गर्नु पर्नेछ । यसरी टाँस गरिएकोमा सम्बन्धित व्यक्तिलाई बुझाए सरह मानिनेछ ।

(७) उपदफा (६) बमोजिमका मालवस्तु तथा फेहरिस्त त्यस्तो कर्मचारीले सम्बन्धित भन्सार अधिकृत समक्ष दाखिला गर्नु पर्ने छ र त्यसरी दाखिला भएपछि भन्सार अधिकृतले यस ऐन बमोजिम कारबाही गर्नेछ ।

 

४०. पक्राउ गर्न सक्ने : (१) दफा ३६ वा ३९ बमोजिम तलासी लिँदा कुनै व्यक्तिले यस ऐन अन्तर्गतको कसूर गरेको देखिन आएमा त्यस्तो व्यक्तिको पहिचान खुल्ने विवरण सहित मुद्दा हेर्ने अधिकारी समक्ष पक्राउ गर्ने अनुमतिको लागि निवेदन दिनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिमको निवेदनबाट पक्राउ गर्नु पर्ने कारण मनासिब देखिएमा मुद्दा हेर्ने अधिकारीले पक्राउ पूर्जी जारी गर्ने अनुमति दिन सक्नेछ ।

(३) उपदफा (२) बमोजिम पक्राउ पूर्जी जारी गरिएको व्यक्तिलाई गिरफ्तार गरी बाटोको म्याद बाहेक चौबीस घण्टाभित्र मुद्दा हेर्ने अधिकारी समक्ष उपस्थित गराउनु पर्नेछ ।

(४) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कसूर गर्ने व्यक्ति तत्काल पक्राउ नगरिएमा त्यस्तो व्यक्ति भाग्ने उम्कने वा निजले प्रमाण दसी वा सबूत नष्ट गर्ने मनासिब कारण भएमा वा कसूरसँग सम्बन्धित फरार रहेको व्यक्ति फेला परेमा वा कसूर गरिरहेको अवस्थामा फेला परेमा भन्सार अधिकृत वा निजबाट अधिकार प्राप्त भन्सार कार्यालयका अन्य कर्मचारीले त्यस्तो व्यक्तिलाई जुनसुकै ठाउ“मा पक्राउ गर्न वा गर्न लगाउन सक्नेछ ।

 

४१. नगद धरौटीमा छाड्न वा हिरासतमा राख्न सकिनेः (१) दफा ४० को उपदफा (३) बमोजिम पेश भएको व्यक्ति तत्काल प्राप्त प्रमाणबाट कसूरदार देखिएमा भन्सार अधिकृतले निजलाई यस ऐन बमोजिम हुनसक्ने कैद र जरिबाना बापतको रकम र बिगो समेत असूल गर्नु पर्नेमा कायम हुन सक्ने बिगोबराबरको रकम समेतको नगद धरौटी लिई तोकिदिएको समय र स्थानमा हाजिर हुने गरी छाड्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम माग भएको नगद धरौटी पेश गर्न नसक्ने व्यक्तिलाई त्यस्तो नगद धरौटी भन्सार कार्यालयमा दाखिला नगरेसम्म निजलाई हिरासतमा राखिनेछ ।

(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि त्यस्तो व्यक्तिलाई नगद धरौटीमा छाड्दा निजले प्रमाण लोप गर्न सक्ने आधार देखिएमा भन्सार अधिकृतले कारण खोली त्यस्तो व्यक्तिलाई थुनामा राखी कारबाही अगाडि बढाउन सक्नेछ ।

(४) उपदफा (२) वा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि त्यस्तो व्यक्तिलाई हिरासतमा राख्दा निजलाई यस ऐन बमोजिम हुने कैदको अधिकतम अवधिभन्दा बढी हिरासतमा राखिने छैन ।

(५) उपदफा (१) बमोजिम दण्ड बापतको धरौटी लिंदा एक दिन कैद बरावर पचास रुपैयाँका दरले लिनु पर्नेछ ।

 

४२. फरार व्यक्तिलाई पछि पक्रन हुने : यस ऐन अन्तर्गत कसूर मानिने कुनै कार्य गर्ने व्यक्तिलाई कसूर गर्दाकै बखत पक्रन नसकिएमा वा पक्राउ गरिएको भएपनि निज फरार भएमा भन्सार अधिकृतले वा निजले अधिकार दिएको कर्मचारीले वा सो कार्यका लागि खटिएको कर्मचारीले निजलाई जुनसुकै बखत पक्राउ गर्न सक्नेछ । त्यसरी पक्रिएको व्यक्तिउपर कसूर गरेका बखत पक्रिए सरह कारबाही हुनेछ ।

 

४३. अधिकतम बल प्रयोग गर्न सक्नेः (१) कसैले दफा ३ बमोजिम तोकिएको बाटोबाहेक अन्यत्रबाट मालवस्तु निकासी वा पैठारी गर्न लागेमा भन्सार अधिकृत वा निजबाट अधिकारप्राप्त भन्सार कार्यालयका कर्मचारी वा अधिकारप्राप्त सरकारी कर्मचारीले निजलाई रोक्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम रोक्न खोज्दा निजले त्यस्तो अधिकृत वा कर्मचारीलाई हुलहुज्जत वा जोरजुलुम गरेमा भन्सार अधिकृत वा त्यस्तो कर्मचारीले निजलाई त्यसो नगर्न सम्झाउनु बुझाउनु पर्नेछ ।

(३) उपदफा (२) बमोजिम सम्झाउँदा बुझाउँदा पनि निजले हुलहुज्जत वा जोरजुलुम गरेमा भन्सार अधिकृत वा त्यस्तो कर्मचारीले निजलाई पक्राउ गर्न सक्नेछ ।

(४) उपदफा (३) बमोजिम पक्राउ गर्न खोज्दा निजले जोरजुलुम गरेमा वा भाग्न उम्कन खोजेमा र तत्काल पक्राउ गर्न नसकिने अवस्था भएमा आफ्नो रक्षा र कर्तव्यको पालनाको निम्ति त्यस्तो भन्सार अधिकृत वा अधिकारप्राप्त अधिकारीको आदेशले घटनास्थलमा सुरक्षाको लागि खटिएका कर्मचारीले त्यस्तो घटना रोक्न पहिले हवाई फायर गर्ने र त्यसो गर्दा पनि स्थिति नियन्त्रण नभए वा हुलहुज्जत गर्ने व्यक्तिसँग समेत हतियार भएमा कम क्षति हुने गरी गोली समेत चलाउन सक्नेछ ।

(५) दफा ३ अन्तर्गत तोकिएको बाटो गरी सवारी साधनबाट आवत जावत गर्ने कुनै व्यक्तिलाई भन्सार कार्यालयको कर्मचारीले त्यस्तो सवारी साधन समेत रोक्न वा रोक्न लगाउन आदेश दिन सक्नेछ । त्यस्तो आदेश नमानी हुलहुज्जत वा जोरजुलुम गरी त्यस्तो सवारी साधन नजँचाई भगाउने प्रयत्न गरेमा वा भगाएमा त्यस्तो सवारी साधनको पाङ्ग्रामा भन्सार अधिकृतको आदेशले भन्सारमा सुरक्षाको निमित्त खटिएका कर्मचारीले कम क्षति हुने गरी गोली चलाउन सक्नेछ ।

(६) उपदफा (४) र (५) बमोजिम गोली चलाउन परेको अवस्थामा सो कुराको जानकारी भन्सार अधिकृत वा अधिकारप्राप्त अधिकारीले छिटो साधनद्वारा महानिर्देशक तथा सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई दिनु पर्नेछ ।

परिच्छेद–९ मालवस्तु कब्जा, जफत तथा लिलाम बिक्री सम्बन्धी व्यवस्था

४४. जफत हुने मालवस्तु कब्जामा लिन सक्ने : यस ऐन बमोजिम जफत हुने मालवस्तु देखेमा वा पत्ता लागेमा भन्सार अधिकृतले वा निजबाट अधिकारप्राप्त भन्सार कार्यालयका कर्मचारीले वा नेपाल सरकारबाट अधिकारप्राप्त कर्मचारीले जुनसुकै ठाउँमा र जहिलेसुकै पनि त्यस्तो मालवस्तु कब्जामा लिन सक्नेछ ।

 

४५. कब्जामा लिएको निस्सा दिनु पर्ने : दफा ४४ बमोजिम मालवस्तु कब्जामा लिनेले त्यसरी मालवस्तु कब्जामा लिनु परेकोकारण र कब्जामा लिएकोमालवस्तुको विवरण खोलिएको फेहरिस्त सहितको निस्सा मालवस्तु कब्जा गरेको बढीमा तीन दिनभित्र सम्बन्धित मालवस्तु धनीलाई दिनु पर्नेछ ।

 

४६. मालवस्तु बुझाउनु पर्ने : (१) यस ऐन बमोजिम भन्सार कार्यालयको कुनै कर्मचारी वा अन्य निकायले दफा ४४ बमोजिम कब्जामा लिएको मालवस्तु र दफा ४५ बमोजिमको फेहरिस्तको एक प्रति यथाशीघ्र भन्सार अधिकृत समक्ष बुझाउनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम मालवस्तु दाखिला भएपछि भन्सार अधिकृतले त्यस्तो मालवस्तु यस ऐन बमोजिम कब्जा गर्नु पर्ने हो वा होइन भन्ने कुराको जाँचबुझ गर्नु पर्नेछ । त्यसरी जाँचबुझ गर्दा त्यस्तो मालवस्तु विना कारण कब्जामा लिएको वा कब्जामा लिनुनपर्ने देखिएमा निजले तुरुन्त त्यस्तो मालवस्तुको धनीलाई सो मालवस्तु फिर्ता दिनु पर्नेछ ।

(३) उपदफा (२) बमोजिम जाँचबुझ गर्दा मालवस्तु जफत हुने देखिएमा भन्सार अधिकृतले त्यस्तो मालवस्तुका सम्बन्धमा यस ऐन बमोजिमको कारबाही चलाउनु पर्नेछ ।

 

४७. जफत भएको र भन्सारबाट नछुटाएको मालवस्तु नेपाल सरकारको हुने : (१) यस ऐन बमोजिम जफत गरिएकोमालवस्तु नेपाल सरकारको हुनेछ ।

(२) भन्सारमा रहेको मालवस्तु सम्बन्धित मालवस्तुधनीले तोकिएको अवधिभित्र छुटाउनु पर्नेछ ।

(३) उपदफा (२) बमोजिमको अवधिभित्र छुटाई नलगेको मालवस्तु छुटाई लैजान सम्बन्धित भन्सार कार्यालयले सात दिनको सार्वजनिक सूचना प्रकाशन गर्नु पर्नेछ ।

(४) उपदफा (३) बमोजिमको सूचना प्रकाशन भएपछि सम्बन्धित मालवस्तुको धनीले उपदफा (२) को अवधिभित्र मालवस्तु छुटाई लैजान नसकेको मनासिब कारण सहितको निवेदन भन्सार कार्यालयमा दिएमा र त्यस्तो कारण मनासिब देखिएमा भन्सार अधिकृतले लाग्ने महसुल लिई त्यस्तो मालवस्तु छुटाई लैजान निजलाई अनुमति दिन सक्नेछ ।

(५) उपदफा (३) बमोजिमको सूचना प्रकाशन गर्दा पनि भन्सार कार्यालयबाट छुटाई नलगेको मालवस्तु सम्बन्धित भन्सार अधिकृतले जफत गर्नेछ र त्यस्तो मालवस्तु नेपाल सरकारको हुनेछ ।

 

४८. जफत गरेको सूचना दिनु पर्ने : यस ऐन बमोजिम मालवस्तु जफत गरिएकोमा भन्सार अधिकृतले सोको जानकारी सम्बन्धित निकासीकर्ता वा पैठारीकर्तालाई दिनेछ ।

 

४९. जफत गर्नु पर्ने मालवस्तु : यस ऐन बमोजिम कुनै मालवस्तु जफत हुने निर्णय भएमा त्यस्ता मालवस्तुसँग सम्बन्धित देहायका मालवस्तु समेत जफत हुनेछन्ः–

(क) मालवस्तु प्याक गर्न वा ढुवानी गर्न प्रयोग भएका पार्सल, प्याकेट वा आधानपात्रहरु (कन्टेनर्स),

(ख) मालवस्तु ढुवानी गर्न प्रयोग गरिएका रेल, हवाइजहाज बाहेक रिक्सा, टाँगा, जनावर लगायत सबै किसिमका सवारी साधनहरु,

(ग) खण्ड (ख) बमोजिमका सवारी साधनमा राखेका कपडा, फर्निचर, विद्युतीय सामान र अरु सामग्रीहरु ।

 

५०. लिलाम बिक्री गर्न सक्नेः (१) यस ऐन बमोजिम जफत भएका मालवस्तुनेपाल सरकारले आफैले प्रयोग गरेकोमा बाहेक सम्बन्धित भन्सार अधिकृतले तोकिए बमोजिम लिलाम बिक्री गर्न सक्नेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि जफत भई भन्सार कार्यालयबाट छुटाई नलगी नेपाल सरकारको हुन आएको सुन, चाँदी, जवाहरात वा प्रचलित कानून बमोजिम इजाजत लिई मात्र बिक्री गर्न पाइने मालवस्तु वा अमूल्य खनिज पदार्थहरुको लिलाम बिक्री वा अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

(३) यस ऐन बमोजिम कब्जा भएका मालवस्तु सड्ने, गल्ने वा पुरानो भई मूल्य घट्न जाने वा गोदाम वा स्थानको अभावले राख्न बाधा पर्न लागेमा वा जीवजन्तु रहेछ भने भन्सार अधिकृतले त्यस्तो मालवस्तु तोकिए बमोजिम तुरुन्त लिलाम गर्न सक्नेछ ।

(४) उपदफा (३) बमोजिमको लिलाम बिक्रीबाट प्राप्त रकम भन्सार कार्यालयले धरौटी खातामा आम्दानी बाँध्नु पर्नेछ ।

(५) उपदफा (१), (२) वा (३) बमोजिम लिलाम बिक्री भएको मालवस्तु पछि मालधनीलाई फिर्ता दिनु पर्ने ठहरेमा त्यस्तो लिलाम बिक्रीबाट प्राप्त हुन आएको रकम मात्र निजलाई फिर्ता दिइनेछ ।

तर त्यस्तो रकममा कुनै कर, शुल्क वा अन्य दस्तुर वा रकम लाग्ने रहेछ भने त्यस्तो कर, शुल्क, दस्तुर र रकम कटाएर बाँकी रहेको रकम मात्र निजले पाउनेछ ।

(६) भन्सार कार्यालयमा दाखिला हुन आएको चोरी पैठारी वा चोरी निकासी गरेको मालवस्तु ढुवानी गर्न प्रयोग भएको सवारी साधन स्थानाभाव वा संरक्षण गर्न नसकिने कारणले सो कार्यालयमा राखिराख्न उपयुक्त नदेखिएमा सम्बन्धित भन्सार अधिकृतले तोकिएको समितिबाट त्यस्तो साधनको मूल्य कायम गराई सो मूल्यमा तोकिए बमोजिम लिलाम बिक्री गर्न गराउन सक्नेछ ।

(७) उपदफा (६) मा जुनसुकै कुरा लेखिएको भए तापनि त्यस्तो सवारी साधनको धनीले उपदफा (६) बमोजिम कायम भएको मूल्य तथा सो मूल्यमा प्रचलित कानून बमोजिम लाग्ने कर, शुल्क समेत थप गरी हुन आउने रकम नगद रुपैयाँ धरौटी राखी सो सवारी साधन छुटाई लान निवेदन दिन सक्नेछ ।

(८) उपदफा (७) बमोजिम निवेदन परेकोमा भन्सार अधिकृतले त्यस्तो धरौटी रकम लिई सो सवारी साधन निजलाई नैफिर्ता दिन सक्नेछ र त्यसउपर कारबाही र किनारा हुँदा सो सवारी साधन जफत हुने ठहरेमा भन्सार कार्यालयले सवारी साधनको धनीले त्यसरी राखेको धरौटी रकम सदरस्याहा गरी सो सवारी साधन सवारी साधनको धनीलाई नै दिन सक्नेछ । त्यस्तो सवारी साधन जफत नहुने भई सवारी साधनको धनीले फिर्ता पाउने निर्णय भएमा निजले राखेको धरौटी रकम तोकिए बमोजिम फिर्ता दिइनेछ ।

(९) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐन बमोजिम लिलाम बिक्री हुन नसकेको वा कुनै किसिमले प्रयोगमा ल्याउन नसकिने मालवस्तु भन्सार अधिकृतले तोकिए बमोजिम सडाउन, गलाउन वा नष्ट गर्न सक्नेछ ।

परिच्छेद–१० भन्सार एजेन्ट सम्बन्धी व्यवस्था

५१. भन्सार एजेन्टको इजाजतपत्र सम्बन्धी व्यवस्था : (१) निकासी वा पैठारी हुने मालवस्तु भन्सार कार्यालयबाट छुटाउन वा भन्सार कार्यालयसँग सम्बन्धित कामको लागि निकासी वा पैठारीकर्ताको भन्सार एजेन्ट वा प्रतिनिधिको रुपमा काम गर्न चाहने व्यक्तिले विभाग वा भन्सार कार्यालयबाट भन्सार एजेन्टको इजाजतपत्र लिनुपर्नेछ ।

(२) भन्सार एजेन्टको इजाजतपत्र सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।

 

५२. भन्सार एजेन्ट नियुक्त गर्न सक्ने : कुनै निकासीकर्ता वा पैठारीकर्ताले निकासी वा पैठारी गर्ने मालवस्तु आफैले नछुटाई भन्सार एजेन्ट मार्फत छुटाउन चाहेमा वा भन्सार कार्यालयसँग सम्बन्धित कुनै कार्य आफैले नगरी भन्सार एजेन्ट मार्फत गराउन चाहेमा निजले तोकिए बमोजिम भन्सार एजेन्ट नियुक्त गर्न सक्नेछ ।

 

५३. भन्सार एजेन्ट मालवस्तुको धनी मानिने : कुनै मालवस्तुको धनीले सो मालवस्तु भन्सार कार्यालयबाट छुटाउनको लागि वा यस ऐन र यस ऐन अन्तर्गत बनेको नियम बमोजिमको अन्य कार्य गर्नको लागि कुनै व्यक्तिलाई आफ्नो भन्सार एजेन्ट नियुक्ति गरेमा त्यस्तो भन्सार एजेन्ट सो प्रयोजनको लागि सो मालवस्तुको धनी सरह मानिनेछ ।

 

५४. भन्सार एजेन्ट जिम्मेवार हुने : दफा ५२ बमोजिम नियुक्त भएको भन्सार एजेन्टले यस ऐन वा यस ऐन अन्तर्गत बनेको नियम विपरीत कुनै काम गरी मालवस्तुको धनीलाई हानि नोक्सानी पुर्याएमा निजले सो नोक्सानी बरावरको रकम त्यस्तो मालवस्तुको धनीलाई तोकिए बमोजिम तिर्नु पर्नेछ ।

 

५५. इजाजतपत्र निलम्बन रद्द हुन सक्नेः (१) दफा ५९ बमोजिम जरिबाना भएको वा यस ऐन वा यस ऐन अन्तर्गत बनेको नियम विपरीतको कुनै काम गर्ने भन्सार एजेन्टलाई भन्सार अधिकृतले एक महिनादेखि छ महिनासम्म निलम्बन गर्न सक्नेछ ।

(२) भन्सार एजेन्टले उपदफा (१) बमोजिमको काम तेस्रो पटक पनि गरेमा भन्सार अधिकृतले निजको इजाजत्रपत्र रद्द गर्न सक्नेछ ।

(३) उपदफा (१) बमोजिम निलम्बन गर्नु वा उपदफा (२) बमोजिम इजाजतपत्र रद्द गर्नुअघि सम्बन्धित भन्सार अधिकृतले त्यस्तो भन्सार एजेन्टलाई सफाइ पेश गर्ने मौका दिनु पर्नेछ ।

(४) उपदफा (१) बमोजिम निलम्बन भएकोमा त्यस्तो निलम्बन अवधिभर निजले भन्सार सम्बन्धी कुनै काम गर्न र उपदफा (२) बमोजिम इजाजतपत्र रद्द गरिएको भन्सार एजेन्टले पुनः भन्सार एजेन्टको इजाजतपत्र प्राप्त गर्न सक्ने छैन ।

 

५६. निवेदन दिन सक्नेः भन्सार अधिकृतले दफा ५५ बमोजिम भन्सार एजेन्टको इजाजतपत्र निलम्बन वा रद्द गर्ने वा निजलाई जरिबाना गर्ने गरी निर्णय गरेकोमा सोनिर्णयउपर चित्त नबुझ्ने भन्सार एजेन्टले त्यस्तो निर्णय भएको मितिले पैंतीस दिनभित्र महानिर्देशक समक्ष निवेदन दिन सक्नेछ ।

त्यस्तो निवेदनउपर महानिर्देशकले सामान्यतया तीस दिनभित्र निर्णय दिनु पर्नेछ र त्यस्तो निर्णय अन्तिम हुनेछ ।

परिच्छेद–११ दण्ड सजाय

५७. दण्ड सजाय : (१) कसैले कुनै मालवस्तु चोरी निकासी वा चोरी पैठारी गरेमा वा गर्ने प्रयत्न गरेमा वा खास बाटोबाट मात्र निकासी वा पैठारी गर्न पाउने गरी दफा ३ बमोजिम बाटो तोकिएकोमा सो बाटो बाहेक अन्यत्रबाट निकासी वा पैठारी गरेमा वा गर्ने प्रयत्न गरेमा भन्सार अधिकृतले त्यस्तो मालवस्तु जफत गरी देहायको खण्ड (क), (ख), (ग) र (घ) बमोजिमको विगो भए भन्सार अधिकृतले खण्ड (ङ) र (च) बमोजिमको विगो भए जिल्ला अदालतले सो मालवस्तुको बिगोबमोजिमको जरिबाना वा देहाय बमोजिमको कैद गर्न सक्नेछ :–

(क) दुई लाख रुपैयाँभन्दा बढी दश लाख रुपैयाँसम्मको बिगोमा एक महिनासम्म,

(ख) दश लाख रुपैयाँदेखि बढी पच्चीस लाख रुपैयाँसम्मको बिगोमा एक महिनादेखि तीन महिनासम्म,

(ग) पच्चीस लाख रुपैयाँभन्दा बढी पचास लाख रुपैयाँसम्मको बिगोमा तीन महिनादेखि छ महिनासम्म,

(घ) पचास लाख रुपैयाँभन्दा बढी एक करोड रुपैयाँसम्मको बिगोमा छ महिनादेखि एक वर्षसम्म,

(ङ) एक करोड रुपैयाँभन्दा बढी पाँच करोड रुपैयाँसम्मको बिगोमा एक वर्षदेखि तीन वर्षसम्म,

(च) पाँच करोड रुपैयाँभन्दा बढी बिगोमा तीन वर्षदेखि पाँच वर्षसम्म ।

(२) उपदफा (१) बमोजिम जफत हुने मालवस्तु ढुवानी गर्न प्रयोग भएको सवारी साधन सो साधनको धनीको सहमति वा जानकारीमा प्रयोग भएको रहेछ भने सम्बन्धित भन्सार अधिकृत वा जिल्ला अदालतले त्यस्तो सवारी साधन जफत गरी निजलाई एक वर्षसम्म कैद गर्न सक्नेछ । सवारी साधनको धनीको सहमति वा जानकारीबिना सवारी चालकलेजानाजानी त्यस्तो मालवस्तु ढुवानी गर्न सो सवारी साधन प्रयोग गरेको रहेछ भने त्यस्तो चालकलाई सम्बन्धित भन्सार अधिकृत वा जिल्ला अदालतले पाँच हजार रुपैयाँसम्म जरिबाना वा एक वर्षसम्म कैद वा दुवै सजाय गर्न सक्नेछ ।

(३) उपदफा (१) बमोजिमको कसूर गर्न मद्दत गर्ने वा दुरुत्साहन दिने व्यक्तिलाई भन्सार अधिकृत वा जिल्ला अदालतलेकसूरदारलाई सरह सजाय गर्न सक्नेछ ।

(४) कसैले चोरी निकासी वा चोरी पैठारीको मालवस्तु लुकाएमा वा जानाजानी राखेमा भन्सार अधिकृतले त्यस्तो मालवस्तु जफत गरी निजलाई दश हजार रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।

(५) कुनै निकासीकर्ता, पैठारीकर्ता वा भन्सार एजेन्टले मालवस्तुको नाम, प्रकृति, भौतिक विशेषता, चारित्रिक गुण, नाप, आकार तथा गुणस्तर सही भए पनि परिमाण घटी गरी घोषणा गरेमा भन्सार अधिकृतले त्यस्तो मालवस्तुको धनीलाई त्यसरी परिमाण घटी घोषणा गरिएजति मालवस्तुको मूल्यको शतप्रतिशत जरिबाना र लाग्ने महसुल लिई त्यस्तो मालवस्तु जाँचपास गर्न सक्नेछ ।

(६) कुनै निकासीकर्ता, पैठारीकर्ता वा भन्सार एजेन्टले मालवस्तुको नाम, प्रकृति, भौतिक विशेषता, चारित्रिक गुण, नाप, आकार र गुणस्तर एवं परिमाण सही भएपनि उत्पत्तिको मुलुक फरक पारी घोषणा गरेमा भन्सार अधिकृतले त्यस्तो मालवस्तुको धनीलाई त्यस्तो मालवस्तुमा लाग्ने महसुल बराबरको रकम जरिबाना र लाग्ने महसुल लिई त्यस्तो मालवस्तु जाँचपास गर्न सक्नेछ ।

(७) कुनै निकासीकर्ता वा भन्सार एजेन्टले निकासी हुने मालवस्तुको वास्तविक परिमाणभन्दा बढी परिमाण घोषणा गरेमा भन्सार अधिकृतले त्यस्तो मालवस्तुको धनीलाई त्यसरी बढी घोषणा गरिएजति मालवस्तुको मूल्यको दुई सय प्रतिशत जरिबाना गरी सो व्यहोरा प्रज्ञापनपत्रमा उल्लेख गरी जाँचपास गर्न सक्नेछ ।

(८) कुनै निकासीकर्ता वा भन्सार एजेन्टले मालवस्तुको नाम, प्रकृति, भौतिक विशेषता, चारित्रिक गुण, नाप, आकार र गुणस्तरमध्ये सबै वा कुनै विवरण फरक पारी घोषणा गरेमा भन्सार अधिकृतले त्यस्तो मालवस्तु जफत गरी त्यस्तो मालवस्तुको धनीलाई बिगो बमोजिम जरिबाना गर्न सक्नेछ ।

(९) पैठारीकर्ता वा भन्सार एजेन्टले एउटा मालवस्तुलाई अर्कै मालवस्तु भनी वा एक प्रकारको पदार्थबाट निर्मित मालवस्तुलाई अर्कै प्रकारको पदार्थबाट निर्मित मालवस्तु भनी वा मालवस्तुको प्रकृति, भौतिक विशेषता, चारित्रिक गुण, नाप, आकार र गुणस्तरमध्ये सबै वा कुनै कुरा फरक पारी घोषणा गरेमा वा कुनै मालवस्तु घोषणा नै नगरेमा भन्सार अधिकृतले त्यस्तो मालवस्तुको धनीलाई त्यस्तोमालवस्तुको मूल्य बरावर जरिबाना गरी सो मालवस्तु जफत गर्न वा निजबाट सो मालवस्तुको मूल्यको दुई सय प्रतिशत जरिबाना र लाग्ने महसुल असूल गरी त्यस्तो मालवस्तु जाँचपास गर्न सक्नेछ ।

(१०) कसैले भन्सार कार्यालयमा जालसाजी, किर्ते वा नक्कली कागजात पेश गरी महसुल वा राजस्वमा हानि नोक्सानी पुर्याएमा वा पुर्याउन प्रयत्न गरेमा त्यसरी हानि नोक्सानी पुर्याएको वा पुर्याउने प्रयत्न गरेको महसुल वा राजस्व रकमको दुई सय प्रतिशत जरिबाना वा छ महिनादेखि एक वर्षसम्म कैद वा दुवै सजाय भन्सार अधिकृतले गर्न सक्नेछ र सरकारी कागजात किर्ते गरेकोमा प्रचलित कानून बमोजिम कारबाही गर्नका लागि सम्बन्धित निकाय वा अधिकारी समक्ष पठाउनु पर्नेछ ।

(११) कुनै मालवस्तु धनीले वा निजको एजेन्टले मालवस्तु चोरी गर्ने वा सो मालवस्तुमा नोक्सानी पुर्याउने मनसायले कुनै भन्सार गोदाम वा सो गोदाममा रहेको मालवस्तु कुनै प्रकारले खोलेमा भन्सार अधिकृतले निजलाई पाँच हजार रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।

(१२) कसैले भन्सार गोदाममा रहेको मालवस्तु भन्सार कार्यालयको स्वीकृतिवेगर गोदामबाट हटाएमा वा लगेमा भन्सार अधिकृतले निजलाई बिगो बमोजिम जरिबाना र छ महिनासम्म कैद वा दुवै सजाय गर्न सक्नेछ ।

(१३) कसैले भन्सार कार्यालयको कार्यसम्पादनमा प्रयोग गरिएको प्रज्ञापनपत्र वा लिखतको खास कुरो झुट्ठो हो भनी जानाजानी लेखेमा, सहीछाप गरेमा वा प्रयोग गरेमा वा भन्सार कार्यालयको कार्यसम्पादनमा भन्सार अधिकृतले सही गरेको वा छाप लगाएको लिखत, लाहा वा सीलछाप, दस्तखत वा अरु कुनै चिन्ह वा संकेतलाई किर्ते गरेमा वा बदलेमा वा नष्ट गरेमा भन्सार अधिकृतले निजलाई पाँच हजार रुपैयाँसम्म जरिबाना र एक वर्षसम्म कैद वा दुवै सजाय गर्न सक्नेछ र सरकारी कागजात किर्ते गरेकोमा प्रचलित कानून बमोजिम कारबाही गर्नका लागि सम्बन्धित निकाय वा अधिकारी समक्ष पठाउनु पर्नेछ ।

(१४) भन्सार गोदाममा रहेका मालवस्तु जिम्मा रहेको कर्मचारी वा व्यक्तिले त्यस्तो मालवस्तु लापरवाहीपूर्वक हराएमा वा जानाजानी नोक्सानी गरेमा भन्सार अधिकृतले निजबाट सो मालवस्तुको मूल्य र लाग्ने महसुल असूल गरी निजलाई पाँच हजार रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।

(१५) अनधिकृत कर्मचारीले भन्सार गोदाममा रहेको मालवस्तु हटाएमा वा हटाउने आदेश दिएमा भन्सार अधिकृतले निजलाई पाँच हजार रुपैयाँसम्म जरिबाना वा एक वर्षसम्म कैद वा दुवै सजाय गर्न सक्नेछ ।

(१६) दफा ७० बमोजिम पुनरावलोकन गर्दा मालवस्तुको धनीले नक्कली बील बीजक वा कागजात पेश गरेको कारणले भन्सार महसुलमा फरक पर्न गएको देखिएमा भन्सार अधिकृतले निजलाई भन्सार कार्यालयबाट छुटाई लगेको मालवस्तुको बिगोको दुई सय प्रतिशत जरिबाना वा एक वर्षसम्म कैद वा दुवै सजाय गर्न सक्नेछ ।

(१७) कसैले यस दफामा लेखिएकोदेखि बाहेक यस ऐन वा यस ऐन अन्तर्गत बनेका नियम विपरीत कार्य गरेमा भन्सार अधिकृतले निजलाई पाँच हजार रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।

 

५८. बाधा बिरोध गर्नेलाई सजाय हुने: कुनै व्यक्तिले भन्सार अधिकृत वा भन्सार कार्यालयको कर्मचारीलाई यस ऐन र यस ऐन अन्तर्गत बनेको नियमले दिएको अधिकार प्रयोग गर्न जानाजानी बाधा अवरोध पुर्याएमा भन्सार अधिकृतले त्यस्तो व्यक्ति सरकारी कर्मचारी भएमा पाँच हजार रुपैयाँसम्म जरिबाना वा एक वर्षसम्म कैद वा दुवै सजाय र अन्य व्यक्ति भए छ महिनासम्म कैद वा एक हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय गर्न सक्नेछ ।

 

५९. भन्सार एजेन्टलाई सजाय हुनेः (१) दफा ५७ को उपदफा (५), (६), (७), (८) र (९) बमोजिमको कार्य गर्ने भन्सार एजेन्टलाई भन्सार अधिकृतले तीन हजार रुपैयाँदेखि दश हजार रुपैयाँसम्म जरिबाना वा एक महिनादेखि छ महिनासम्म कैद वा दुवै सजाय गर्न सक्नेछ ।

(२) भन्सार एजेन्टलाई उपदफा (१) बमोजिम सजाय गरिएको कारणले मात्र यस दफा बमोजिम मालवस्तुको धनीलाई हुने दण्ड सजाय वा जरिबानाबाट उन्मुक्ति भएको मानिनेछैन ।

 

६०. प्रचलित कानून बमोजिम सजाय हुनेः यस ऐन अन्तर्गतको कुनै कसूर वा कार्य प्रचलित कानून बमोजिम दण्डनीय हुने रहेछ भने त्यस्तो कानून बमोजिम समेत कारबाही र सजाय गर्न यस ऐनले बाधा पुर्याएको मानिनेछैन ।

 

६०क. नेपाल सरकार वादी हुने : यस ऐन अन्तर्गतको मुद्दा नेपाल सरकार वादी हुनेछ ।

 

६०ख. मुद्दाको तहकिकात दायरी : (१) दफा ५७ को उपदफा (१) को खण्ड (ङ) र (च) बमोजिम सजाय हुने मुद्दाको तहकिकात भन्सार अधिकृत वा निजले तोकिदिएको अधिकृतले गर्नेछ ।

(२) उपदफा (१) बमोजिम तहकिकात गर्ने अधिकृतले मुद्दाको तहकिकातको काम शुरु भएको पच्चीस दिनभित्र सम्बन्धित जिल्ला अदालत समक्ष मुद्दा दायर गर्नु पर्नेछ ।

(३) उपदफा (२) बमोजिम मुद्दा दायर गर्नु अघि सरकारी वकिलको राय सल्लाह लिनु पर्नेछ ।

परिच्छेद–१२ पुनरावलोकन तथा पुनरावेदन सम्बन्धी व्यवस्था

६१. मूल्याङ्कन पुनरावलोकन समिति सम्बन्धी व्यवस्था : (१) भन्सार अधिकृतले दफा १३ बमोजिम गरेको निर्णय वा आदेशउपर चित्त नबुझ्ने व्यक्तिले पुनरावलोकनको लागि त्यस्तो निर्णय वा आदेश भएको मितिले पन्ध्र दिनभित्र उपदफा (२) बमोजिम गठित मूल्याङ्कन पुनरावलोकन समिति समक्ष तोकिए बमोजिम निवेदन दिन सक्नेछ ।

(२) उपदफा (१) को प्रयोजनको लागि नेपाल सरकारले देहाय बमोजिमकोमूल्याङ्कन पुनरावलोकन समिति गठन गर्नेछ :–

(क) राजस्व प्रशासन सम्बन्धी ज्ञान र अनुभव भएको निजामती सेवाको कम्तीमा राजपत्राङ्कित प्रथम श्रेणीको अधिकृत – अध्यक्ष

(ख) भन्सार प्रशासन सम्बन्धमा राजपत्राङ्कित पदमा कम्तीमा तीन वर्षको अनुभव प्राप्त कम्तीमा रा.प. द्धितीय श्रेणीको बहालवाला व्यक्ति वा सोही अनुभव प्राप्त गरी सोही श्रेणीको पदबाट अवकाशप्राप्त व्यक्ति एकजना – सदस्य

(ग) अन्तर्राष्ट्रिय व्यापार सम्बन्धमा राजपत्रांङ्कित पदमा कम्तीमा तीन वर्षको अनुभव प्राप्त कम्तीमा राजपत्राङ्कित द्वितीय श्रेणीको बहालवाला व्यक्ति एकजना – सदस्य

(३) उपदफा (२) बमोजिमको मूल्याङ्कन पुनरावलोकन समितिको अध्यक्ष र सदस्यको पदावधि तीन वर्षको हुनेछ ।

(४) उपदफा (३) मा जुनसुकै कुरा उल्लेख भएको भए तापनि मूल्याङ्कन पुनरावलोकन समितिका अध्यक्ष वा सदस्यको कार्य क्षमताको अभाव भएमा वा निजले आफ्नो पद अनुकूलको आचरण नगरेमा वा इमान्दारीपूर्वक काम नगरेमा नेपाल सरकारले सफाई पेश गर्ने मौका दिई जुनसुकै बखत निजलाई सो पदबाट हटाउन सक्नेछ ।

(५) मूल्याङ्कन पुनरावलोकन समितिले यस दफाबमोजिम पुनरावलोकन गर्दा भन्सार अधिकृतले दफा १३ बमोजिम गरेको भन्सार मूल्याङ्कन ठीक भए नभएको सम्बन्धमा जाँचबुझ गरी भन्सार अधिकृतले गरेको मूल्याङ्कनलाई नै कायम गर्न, बदर गर्न वा त्यस्ता मालवस्तुको यस ऐन बमोजिम मूल्याङ्कन गरिदिन सक्नेछ । मूल्याङ्कन पुनरावलोकन समितिले त्यसरी मूल्याङ्कन कायम गर्दा, बदर गर्दा वा मूल्याङ्कन गर्दा स्पष्ट कारण र आधार समेत खुलाउनु पर्नेछ ।

(६) उपदफा (२) बमोजिम गठित मूल्याङ्कन पुनरावलोकन समितिको अन्य काम, कर्तव्य, अधिकार, कार्यविधि र सो समितिका अध्यक्ष तथा सदस्यको पारिश्रमिक एवं सेवाका शर्त तोकिए बमोजिम हुनेछन्।

(७) उपदफा (१) बमोजिम निवेदन दिने व्यक्तिले त्यस्तो निवेदन दिनुअघि भन्सार अधिकृतले दफा १३ बमोजिम गरेको मूल्याङ्कन अनुसार लाग्ने महसुल रकम भन्सार कार्यालयमा धरौटी राख्नु पर्नेछ ।

 

६२. पुनरावेदन : (१) दफा १३ बमोजिमकोनिर्णय वा आदेश बाहेक यस ऐन बमोजिम भन्सार अधिकृत वा अन्य कर्मचारीले निर्धारण गरेको भन्सार महसुल वा भन्सार अधिकृतले दिएको दण्ड सजायको आदेश वा गरेको निर्णय वा दफा ६१ बमोजिम गठित मूल्याङ्कन पुनरावलोकन समितिले गरेको निर्णयउपर चित्त नबुझ्ने व्यक्तिले त्यसरी भन्सार महसुल निर्धारण भएको वा दण्ड सजाय दिएको वा निर्णय भएको मितिले पैंतीस दिनभित्र राजस्व न्यायाधिकरणमा पुनरावेदन दिन सक्नेछ ।

(२) उपदफा (१) बमोजिम पुनरावेदन दिने व्यक्तिले जुन निर्णय वा आदेशका विरुद्ध पुनरावेदन गर्ने हो सो निर्णय वा आदेश बमोजिम लाग्ने महसुल र दण्ड जरिबानाको रकम सम्बन्धित भन्सार कार्यालयमा बुझाई वा धरौटी राखी पुनरावेदन गर्न सक्नेछ ।

(३) उपदफा (१) बमोजिम पुनरावेदन दिने व्यक्तिले पुनरावेदन दिएको सात दिनभित्र त्यस्तो पुनरावेदनको प्रतिलिपि सम्बन्धित भन्सार कार्यालयलाई दिनुपर्नेछ ।

(४) दफा ६१ बमोजिम गठित मूल्याङ्कन पुनरावलोकन समितिले गरेको निर्णयमा चित्त नबुझेमा भन्सार अधिकृतले त्यस्तो निर्णय भएको पैँतीस दिनभित्र राजस्व न्यायाधिकरणमा पुनरावेदन दिन सक्नेछ ।

परिच्छेद–१३ कर्मचारीलाई हुने सजाय सम्बन्धी व्यवस्था

६३. उजुरी दिन सकिनेः (१) भन्सार अधिकृत वा भन्सार कार्यालयको कर्मचारीले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम विपरीत कुनै काम  गरेको वा राजस्वमा हानि पुर्याएकोवा निकासीकर्ता वा पैठारीकर्तालाई बदनियतपूर्वक दुःख दिने नियतलेमात्र कुनै काम गरेको छ भन्ने कुरामा विश्वास गर्नु पर्ने मनासिब कारण भएमा भन्सार अधिकृतको हकमा महानिर्देशक समक्ष र भन्सार कार्यालयको कर्मचारीको हकमा भन्सार अधिकृत समक्ष उजुरी दिन सकिनेछ ।

(२) उपदफा (१) बमोजिम परेको उजुरीउपर महानिर्देशक वा भन्सार अधिकृतले छानबिन गरी सोको जानकारी निवेदकलाई दिनु पर्नेछ ।

(३) उपदफा (२) बमोजिमको छानबिनबाट भन्सार अधिकृत वा भन्सार कार्यालयको कर्मचारीले योऐन वा यस ऐन अन्तर्गतको नियमावली विपरीतको कुनै काम गरेको वा राजस्वमा हानि नोक्सानी पुर्याएको वा निकासीकर्ता वा पैठारीकर्तालाई बदनियतपूर्वक दुःख दिने नियतले काम गरेको पाइएमा त्यस्तो भन्सार अधिकृतलाई महानिर्देशकले र भन्सार कार्यालयका कर्मचारीलाई भन्सार अधिकृतले विभागीय कारबाही प्रारम्भ गरी प्रचलित कानून बमोजिम भ्रष्टाचार मानिने कार्य भएको पाइएमा सम्बन्धित अधिकारी समक्ष बुझाउनु पर्नेछ ।

 

६४. कारबाहीको सूचना हद म्याद : यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम अनुसार भन्ने सम्झी गरेका र कुनै कामको सम्बन्धमा भन्सार अधिकृत वा अरु कर्मचारीउपर मुद्दा चलाउने कारण र वादी हुनेको र निजको वारेस भए वारेसको नाम र ठेगाना खोली लिखित सूचना त्यस्तो भन्सार अधिकृत वा कर्मचारीलाई बुझाएको वा हुलाकद्वारा रजिष्टर गरी पठाएको र त्यसको एकप्रति नक्कल महानिर्देशकमा पेश गरेको दुई महिना ननाघी मुद्दा चल्न सक्ने छैन ।

 

६५. कर्मचारीलाई सजाय : (१) भन्सार सम्बन्धी काम गर्ने कुनै निजामती कर्मचारीलाई प्रचलित निजामती सेवा ऐन तथा नियमावली बमोजिम विभागीय कारबाही चलाइएकोमा सो ऐन तथा नियमावलीमा तोकिएको सजाय मात्र अपर्याप्त भयो भन्ने अख्तियारवालालाई लागेमा सो सजायमाथि सो ऐन तथा नियमावलीमा तोकिएको अख्तियारवालाले देहायका कामबाट कसैलाई भएको नोक्सानी सबै वा केही निज कर्मचारीको जायजातबाट असूलउपर गरी भराउने आदेश दिन समेत सक्नेछ :–

(क) यस ऐनकोव्यवस्था जानाजानी उल्लङ्घन गरेको, वा

(ख) नेपाल सरकारलाई हानि नोक्सानी हुने गरी कुनै काम जानाजानी वा बदनीयत पूर्वक गरेको, वा

(ग) कुनै मालवस्तुको सम्बन्धमा असल नियतले यस ऐन बमोजिम आफ्नो ओहदाको कर्तव्य पालन गरेकोमा बाहेक ओहदाको हैसियतले आफूले जानेबुझेको कुनै विवरण आफ्नो वा अन्य कसैको फाइदाको लागि वा कसैलाई नोक्सान पार्ने नियतले प्रकाश गरेमा वा आफूलाई सुम्पेको गोप्य राख्नु पर्ने कामकुरा कसैलाई देखाएमा वा कसैलाई दिएमा ।

(२) यस ऐन बमोजिम अख्तियारवालाले दिएको आदेशउपर सम्बन्धित कर्मचारीले प्रचलित निजामती सेवा ऐन तथा नियमावली अनुसारको अख्तियारवाला समक्ष पुनरावेदन दिन सक्नेछ र त्यस्तो अख्तियारवालालेसोही ऐन तथा नियमावली बमोजिम पुनरावेदनको किनारा गर्नेछ ।

(३) यस दफा बमोजिम भएको जरिबाना असूल गर्दा अख्तियारवालाले अदालती दण्ड जरिबाना असूल गर्ने सम्बन्धी प्रचलित कानूनको प्रयोग गरी सोही बमोजिम असूलउपर गर्न सक्नेछ ।

(४) यस दफामा लेखिएको कुनै कुराले पनि कसूर गर्ने कर्मचारीउपर अदालती कारबाही चलाउन सकिने प्रचलित कानूनको व्यवस्थामा कुनै बाधा पारेको मानिने छैन ।

तर अदालती कारबाही चलिसकेपछि यस दफा बमोजिम कारबाही चलाइने छैन ।

 

६६. असल नियतले गरेको काम कारबाहीप्रति जवाफदेही नहुने : यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै भन्सार कर्मचारीले आफ्नो कर्तव्यपालनको सिलसिलामा असल नियतले गरेको काम कारबाहीप्रति निज व्यक्तिगत रुपमा जवाफदेही हुने छैन ।

६७. निरीक्षण गर्नु पर्ने : (१) महानिर्देशकले गरेको काम कारबाहीका सम्बन्धमा अर्थ मन्त्रालयले र भन्सार अधिकृतले गरेको काम कारबाहीका सम्बन्धमा विभागले वर्षमा एकपटक निरीक्षण गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम निरीक्षण गर्दा अन्य कुराका अतिरिक्त निकासी वा पैठारी भएको मालवस्तुको महसुल वास्तविक रुपमा असूलउपर भए नभएको, दफा ३४ बमोजिम जाँचपास पछिको परीक्षण गरे नगरेको, दफा ७० बमोजिम प्रज्ञापनपत्र पुनरावलोकन गरे नगरेको, लिलाम बिक्री गर्नु पर्ने मालवस्तु समयमा लिलाम बिक्री गरे नगरेको, छुट भएको राजस्व रकम यथाशीघ्र असूल गरे नगरेको समेत निरीक्षण गरी सोको प्रतिवेदन मन्त्रालयले निरीक्षण गरेको भए मन्त्रिपरिषद्र विभागले निरीक्षण गरेको भए अर्थ मन्त्रालय समक्ष पेश गर्नु पर्नेछ ।

(३) उपदफा (२) बमोजिम प्रतिवेदन प्राप्त भएपछि मन्त्रिपरिषद्ले अर्थ मन्त्रालयलाई र अर्थ मन्त्रालयले विभागलाई आवश्यक निर्देशन दिन सक्नेछ ।

(४) उपदफा (३) बमोजिमको निर्देशन पालना भयो भएन भन्ने सम्बन्धमा अर्थ मन्त्रालयले अनुगमन गर्नेछ र उपदफा (२) बमोजिम मन्त्रिपरिषद्मा पेश गर्ने प्रतिवेदनमा सो सम्बन्धी कुरा समेत उल्लेख गर्नेछ ।

परिच्छेद–१४ विविध

६८. बौद्धिक सम्पत्तिउपरको अधिकार उल्लङ्घन गरी निकासी वा पैठारी हुन लागेको मालवस्तु रोक्का गर्न निवेदन दिन सक्ने : (१) प्रचलित कानून बमोजिम कुनै व्यक्तिले प्राप्त गरेको पेटेण्ट, डिजाइन, ट्रेडमार्क, प्रतिलिपि अधिकार जस्ता बौद्धिक सम्पत्तिउपरको अधिकार उल्लङ्घन गरी कसैले कुनै मालवस्तु पैठारी वा निकासी गर्न लागेमा सराकोरवाला व्यक्तिले त्यस्तो निकासी वा पैठारी रोक्का गर्न प्रमाण सहित सम्बन्धित भन्सार अधिकृत समक्ष निवेदन दिन सक्नेछ ।

(२) उपदफा (१) बमोजिम निवेदन परेमा सम्बन्धित भन्सार अधिकृतले त्यस्तो मालवस्तु भन्सार कार्यालयमा रोक्का राखी सो सम्बन्धमा आवश्यक कारबाहीको लागि सम्बन्धित निकाय वा अधिकारी समक्ष लेखी पठाउनु पर्नेछ ।

(३) उपदफा (२) बमोजिम लेखिआएमा त्यस्तो निकाय वा अधिकारीले सो सम्बन्धमा प्रचलित कानून बमोजिम कारबाही टुङ्गोलगाई भन्सार कार्यालयलाई जानकारी दिनु पर्नेछ ।

(४) उपदफा (३) बमोजिमको निकाय वा अधिकारीले प्रचलित कानून बमोजिम कारबाही गर्दा त्यस्ता मालवस्तु जफत हुने ठहर गरेमा भन्सार अधिकृतले सो मालवस्तु त्यस्तो निकाय वा अधिकारी समक्ष बुझाइदिनु पर्नेछ ।

 

६९. भन्सार कार्यालय वा गोदाममा रोक्का रहेका मालवस्तुको क्षतिपूर्ति : (१) भन्सार कार्यालय वा गोदाममा रहेका मालवस्तु भन्सार कार्यालय वा गोदामले क्षति नहुने गरी सुरक्षित रुपमा राख्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिमका मालवस्तु चोरिएमा, हराएमा वा प्राकृतिक प्रकोप वा दुर्घटनाको कारणले वा मालवस्तु राख्ने वा उठाउने क्रममा स्वाभाविक रुपमा हुन सक्ने टुटफुट बाहेक अन्य कुनै कारणबाट नष्ट भएमा, क्षति भएमा वा क्षति गरिएमा भन्सार कार्यालय वा सो गोदाम सञ्चालन गर्ने निकायबाट सो मालवस्तुको धनीले त्यस्तो मालवस्तुको क्षतिपूर्ति तोकिए बमोजिम भराई लिन पाउनेछ ।

तर, त्यस्तो मालवस्तुमा निजको हक स्थापित नभई निजले क्षतिपूर्तिको दाबी गर्नसक्ने छैन ।

 

७०. पुनरावलोकन गर्न सक्ने : (१) भन्सार कार्यालयबाट जाँचपास भएको मालवस्तुको प्रज्ञापनपत्र मालवस्तु जाँचपास भएको मितिले चार वर्षभित्र सम्बन्धित भन्सार अधिकृत वा निजले खटाएको कर्मचारीले पुनरावलोकन गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम पुनरावलोकन गर्दा असूल गर्नु पर्ने महसुल असूल गर्न छुट भएको देखिएमा त्यस्तो मालवस्तुको धनीबाट त्यसरी छुट भएको महसुल सरकारी बाँकी सरह असूलउपर गरिनेछ ।

 

७१. चोरी निकासी वा पैठारी पक्राउ गर्ने वा सुराक दिने व्यक्तिलाई पुरस्कार दिनेः (१) कसैले कुनै मालवस्तु चोरी निकासी वा पैठारी गर्न लागेको वा गरेको कुराको सुराक दिने वा त्यस्तो मालवस्तु पक्राउ गरी भन्सार कार्यालयमा दाखिला गर्ने कर्मचारी वा व्यक्तिलाई त्यस्तो कार्य प्रमाणित हुन आएमा तोकिए बमोजिम पुरस्कार दिइनेछ ।

(२) उपदफा (१) बमोजिमको पुरस्कार सम्बन्धित भन्सार कार्यालयले त्यस्तो चोरी निकासी वा पैठारी भएको मालवस्तु लिलाम बिक्री गरी प्राप्त हुन आएको रकमबाट दिनेछ ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारले त्यस्तो मालवस्तु कुनै सरकारी निकायलाई प्रयोग गर्न दिने निर्णय गरेमा सो निकायले तोकिएको समितिबाट सो मालवस्तुको मूल्य निर्धारण गराई सो मूल्यको आधारमा उपदफा (१) बमोजिमको पुरस्कारको रकम सम्बन्धित भन्सार कार्यालयलाई उपलब्ध गराउनु पर्नेछ र भन्सार कार्यालयले सो रकम सुराकी र पक्राउ गर्ने सम्बन्धित व्यक्तिलाई उपलब्ध गराउनेछ ।

(४) भन्सार कार्यालयले उपदफा (१) बमोजिम चोरी निकासी वा पैठारीको सुराक दिने सुराकीको नाम, थर र विवरण गोप्य राख्नु पर्नेछ ।

(५) प्रचलित नेपाल कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐन बमोजिमको सुराकीको नाम, थर र विवरण कानूनबमोजिम अनुसन्धान गर्ने निकायले अनुसन्धानको सिलसिलामा वा अदालतबाट माग भएकोमा बाहेक कुनै व्यक्ति वा निकायलाई उपलब्ध गराउन भन्सार अधिकृत बाध्य हुने छैन र सुराकी दिएको कारणलेमात्र निजलाई कुनै अदालत, निकाय वा कार्यालयमा उपस्थित हुन बाध्य गरिने छैन ।

(६) सुराकी प्रतिवेदन लिने तथा पुरस्कार वितरण गर्ने सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

 

७२. विलम्ब शुल्क (डेमरेज) लाग्नेः (१) भन्सार कार्यालयले सञ्चालन गरेको भन्सार गोदाममा रहेका मालवस्तुहरु त्यस्तो मालवस्तुको धनीले तोकिएको म्यादभित्र जाँचपास गराई नलगेमा तोकिए बमोजिमकोविलम्ब शुल्क (डेमरेज) लाग्नेछ ।

तर, मालवस्तुको मूल्याङ्कन गर्न, वर्गीकरण गर्न वा अन्य कुनै कारणले भन्सार अधिकृतलाई द्विविधा भई जाँचपास हुन नसकेका मालवस्तुको विलम्ब शुल्क (डेमरेज) लाग्ने छैन ।

(२) उपदफा (१) मा जुनसकै कुरा लेखिएको भए तापनि कुनै मालवस्तुमा लागेको विलम्ब शुल्क (डेमरेज) कुनै खास परिस्थिति वा अवस्था सिर्जना भएका कारणले मिनाहा दिनु पर्ने मनासिब कारण भएमा तोकिएको अधिकारीले तोकिए बमोजिम आंशिक वा पूर्णरुपले मिनाहा दिन सक्नेछ ।

 

७३. जरिबाना नतिरेसम्म मालवस्तु उठाउन नपाउने : कुनै मालवस्तुको सम्बन्धमा सो मालवस्तुको धनीलाई यस ऐन बमोजिम जरिबाना वा बढी महसुल लागेमा सो जरिबाना वा बढी महसुल नतिरेसम्म निजले त्यस्तो मालवस्तुभन्सार कार्यालयबाट उठाउन पाउने छैन ।

 

७४. छुट रकम वा जरिबाना तिर्नुपर्ने : (१) यस ऐन वा प्रचलित कानून बमोजिम कुनै व्यक्तिले भन्सार कार्यालयमा बुझाउनु पर्ने महसुल, जरिबाना वा अन्य कुनै रकम कुनै मालवस्तुको मूल्याङ्कन वा वर्गीकरण गर्दा वा गणितीय भूल वा अन्य कुनै कारणले छुट भएको कुरा पछिबाट देखिन आएमा त्यसरी छुट भएको रकम त्यस्तो भन्सार कार्यालयलेनिजबाट तुरुन्त असूलउपर गर्नेछ ।

(२) सम्बन्धित व्यक्तिले उपदफा (१) बमोजिमको रकम नबुझाएमा सो कार्यालयले निजको कारोबार रोक्का राखी सोही कार्यालय वा अन्य भन्सार कार्यालयमा रहेको निजको जुनसुकै मालवस्तु तोकिए बमोजिम लिलाम गरी वा गर्न लगाई सो रकम असूलउपर गर्नेछ ।

(३) उपदफा (२) बमोजिम लिलाम गर्दा वा गर्न लगाउँदा प्राप्त भएको रकमबाट समेत उपदफा (१) बमोजिमको महसुल रकम वा जरिबाना असूलउपर हुन नसकेमा सो महसुल वा जरिबाना वा रकम निजबाट सरकारी बाँकी सरह असूलउपर गरिने छ ।

 

७५. भन्सार महसुल वा जरिबाना फिर्ता दिने : (१) कुनै निकासीकर्ता वा पैठारीकर्ताले निकासी वा पैठारी गर्दा कानून बमोजिम लाग्नेभन्दा बढी भन्सार महसुल बुझाएको रहेछ भने सम्बन्धित भन्सार कार्यालयले निजलाई त्यस्तो बढी भन्सार महसुल तोकिए बमोजिम फिर्ता दिनु पर्नेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा भन्सार महसुल फिर्ता हुने छैन :–

(क) मालवस्तु छुटाएको साठी दिनभित्र त्यस्तो महसुल फिर्ता लिन सम्बन्धित भन्सार कार्यालयमा निवेदन नदिएमा, वा

(ख) फिर्ताको लागि दाबी गरिएको अङ्क पाँच सय रुपैयाँभन्दा कम भएमा ।

(३) भन्सार अधिकृतले असूल गरेको महसुल वा जरिबानाउपर यस ऐन बमोजिम परेको पुनरावेदनउपर निर्णय हुँदा त्यसरी असूल भएको सबै वा केही महसुल वा जरिबाना नलाग्ने गरी निर्णय भएमा प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि सो निर्णयउपर थप पुनरावेदन नलाग्ने अवस्थामा वा अनुमति प्राप्त नहुने भनी सम्बन्धित अदालतबाट निर्णय भएपछि मात्र भन्सार अधिकृतले सम्बन्धित व्यक्तिलाई त्यस्तो भन्सार महसुल वा जरिबाना फिर्ता दिनेछ ।

 

७६. मालवस्तुको धनी वा एजेन्टमा जिम्मेवारी रहने : (१) भन्सार कार्यालयबाट दफा २८ वा २९ बमोजिम जाँच गरी दफा २३ बमोजिम जाँचपास गरिएको मालवस्तु पछि अधिकारप्राप्त अधिकारीले भन्सार क्षेत्रभित्र वा बाहिर खोली जाँच गर्दा पैठारीकर्ताले पेश गरेको बील, बीजक अन्य कागजात वा विवरणसँग भारी वा पोकाभित्रको मालवस्तु वा अदत फरक देखिएमा सोको जिम्मेवारी मालवस्तुको धनी वा निजको एजेन्टमा रहनेछ ।

(२) कुनै मालवस्तु कानून बमोजिम पैठारी गरी ल्याएको हो वा सो मालवस्तुमा कानून बमोजिम लाग्ने महसुल तिरेको छ भन्ने कुराको भन्सार अधिकृतलाई चित्त बुझ्ने गरी प्रमाण दाखिल गर्ने उत्तरदायित्व सो मालवस्तु साथमा राख्ने व्यक्तिको हुनेछ ।

 

७७. मालधनीले खर्च व्यहोर्नु पर्ने : मालवस्तुहरु बोक्ने, जाँच्न र खोल्नको लागि उचित ठाउँमा पुर्याउने, यन्त्रमा राख्ने र झिक्ने, खोल्ने, छुट्याउने र मालवस्तुको वा सो मालवस्तु रहेको कन्टेनर, बाकस, झोला, प्याकेट, बोरा वा यस्तै अन्य प्याकिङ्ग सामग्रीमा चिन्ह लगाउने आदि काम मालवस्तुधनीले आफ्नै खर्चमा गर्नु पर्नेछ ।

 

७८. प्रतिलिपि दिन सकिने : (१) भन्सार कार्यालयमा रहेको कुनै प्रमाणपत्र, बील वा अन्य कागजातको प्रतिलिपि लिन चाहने सरोकारवाला व्यक्तिले तोकिए बमोजिमको दस्तुर संलग्न गरी निवेदन दिन सक्नेछ ।

(२) उपदफा (१) बमोजिम परेको निवेदन जाँचबुझ गरी निवेदकलाई त्यस्तो बील वा कागजातकोप्रतिलिपि सम्बन्धित भन्सार अधिकृतले दिन सक्नेछ ।

 

७९. पैठारी भएको मालवस्तुको प्रमाणपत्र दिनेः विदेशमा बिक्री कर वा अन्य कुनै कर लाग्ने मालवस्तु पैठारी गर्ने व्यक्तिले त्यस सम्बन्धी प्रमाणपत्र लिनको लागि सम्बन्धित भन्सार कार्यालयमा दरखास्त दिएमा भन्सार अधिकृतले निवेदकबाट तोकिए बमोजिम दस्तुर लिई निवेदकलाई तोकिए बमोजिमको ढाँचामा प्रमाणपत्र दिन सक्नेछ ।

 

८०. जानकारी माग गर्न सक्ने : (१) पैठारीकर्ताले आफूले पैठारी गरेको मालवस्तुको भन्सार मूल्य निर्धारण गर्न भन्सार कार्यालयले अवलम्बन गरेको आधारका सम्बन्धमा सम्बन्धित भन्सार कार्यालयमा निवेदन दिई जानकारी माग गर्न सक्नेछ । (२) उपदफा (१) बमोजिम निवेदन परेकोमा  कार्यालयले निजलाई त्यस्तो जानकारी सात दिनभित्र दिनु पर्नेछ ।

 

८१. म्याद जारी तथा कारबाही किनारा : (१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएतापनि यस ऐन अन्तर्गतको कसूरको सिलसिलामा भन्सार अधिकृत वा निजले अधिकार प्रदान गरेको भन्सार कार्यालयको अन्य अधिकृत कर्मचारीले सम्बन्धित व्यक्तिका नाममा शुरु म्याद जारी गर्दा तोकिए बमोजिम जारी गर्नेछ ।

(२) उपदफा (१) बमोजिम जारी भएको म्याद थमाउन पाइनेछैन ।

(३) यस ऐन बमोजिम दर्ता भएको मुद्दा भन्सार अधिकृतले सामान्यतया तीन महिनाभित्र किनारा गर्नु पर्नेछ ।

(४) उपदफा (३) बमोजिमको म्यादभित्र किनारा गर्न नसकेमा सोको कारण खुलाई महानिर्देशकलाई जानकारी दिनु पर्नेछ ।

 

८२. सूचना जारी गर्ने तरीका : यस ऐन र यस अन्तर्गत बनेको नियममा छुट्टै व्यवस्था भएकोमाबाहेक भन्सार कार्यालयको काम कारबाहीसँग सरोकार भएको वा हुनसक्ने व्यक्तिको नाममा सो कार्यालयले व्यक्तिगत वा सार्वजनिक सूचना जारी गर्दा सात दिनको अवधि दिई तोकिए बमोजिम सूचना जारी गर्नु पर्नेछ ।

 

८३. अधिकार प्रत्यायोजन गर्न सक्ने : (१) नेपाल सरकारले यस ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम आफूले पाएको सबै वा केही अधिकार नेपाल राजपत्रमा सूचना प्रकाशन गरी महानिर्देशक वा सो सूचनामा तोकिएको अरु कुनै अधिकारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।

(२) यस ऐन बमोजिम महानिर्देशकले आफूलाई प्राप्त भएको अधिकारमध्ये आवश्यकतानुसार केही अधिकार आफ्नो मातहतका अधिकृत कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।

 

८४. अर्थ मन्त्रालयले अधिकारी तोकी अधिकार सुम्पन सक्ने : यस ऐन अन्तर्गत भन्सार अधिकृतलाई भएको सबै वा केही अधिकार अर्थ मन्त्रालयले कुनै अधिकारीलाई सुम्पन सक्नेछ ।

 

८५. अर्थ मन्त्रालयले कुनै अधिकारीलाई तोक्न सक्ने : (१) भन्सार अधिकृत वा अन्य कर्मचारी समेत मिली यस ऐन वा यस ऐन अन्तर्गत बनेको नियम विपरीत कुनै कार्य गर्न लागेको वा गरिरहेको वा गरेको छ भन्ने उजूरी परेमा अर्थ मन्त्रालयले सो काम सम्बन्धी कारबाही गर्न अर्को भन्सार अधिकृत वा अन्य अधिकारीलाई तोक्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम तोकिएको अधिकारीले त्यस्तो कारबाही यस ऐन बमोजिम गर्नु पर्नेछ ।

 

८६. अदालतलाई भए सरहको अधिकार हुने : यस ऐनको प्रयोजनका लागि भन्सार अधिकृतलाई सम्बन्धित व्यक्तिलाई झिकाउने, बयान गराउने, प्रमाण बुझ्ने र लिखतहरु पेश गर्न लगाउने र मुद्दाको पुर्पक्ष गर्ने सम्बन्धमा प्रचलित कानून बमोजिम शुरु अदालतलाई भए सरहको अधिकार हुनेछ ।

 

८७. सहयोग मद्दत दिने कर्तव्य : भन्सार अधिकृत वा अरु कर्मचारीले यस ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम आफ्नो कर्तव्य पालन र अधिकार प्रयोग गर्दा प्रहरी तथा अन्य सरकारी कर्मचारीसँग कुनै प्रकारको सहयोग वा मद्दत माग गरेमा त्यस्तो सहयोग वा मद्दत दिनु त्यस्तो प्रहरी वा कर्मचारीको कर्तव्य हुनेछ ।

 

८८. अन्य निकायले हस्तक्षेप गर्न नहुने : निकासी वा पैठारीको लागि भन्सार कार्यालयभित्र रहेको मालवस्तु सो कार्यालयबाट जाँचपास भई भन्सार क्षेत्रबाट नहटाइएसम्म सो मालवस्तुका सम्बन्धमा कुनै अधिकारी वा निकायले कुनै प्रकारको हस्तक्षेप गर्न हुँदैन ।

 

८९. मालवस्तुको शीर्षक वा उपशीर्षक तोक्ने अधिकार : (१) भन्सार महसुल निर्धारण गर्दा कुनै मालवस्तु हार्मोनाइज्ड् पद्धतिको कुन शीर्षक वा उपशीर्षकमा पर्छ भन्ने कुरामा द्विविधा उत्पन्न भएमा भन्सार अधिकृतले सो मालवस्तुलाई महानिर्देशकले तोकिदिए बमोजिमको शीर्षक वा उपशीर्षकमा वर्गीकरण गर्नु पर्नेछ ।

(२) कुनै निकासीकर्ता वा पैठारीकर्ताले मालवस्तु निकासी वा पैठारी हुनुपूर्व नै त्यस्तो मालवस्तुको वस्तु बर्गीकरणको शीर्षक वा उपशीर्षक तोकिदिनको लागि सम्बन्धित विषयको विशेषज्ञ समेत रहेको तोकिएको समिति समक्ष निवेदन दिएमा सो समितिले मालवस्तुको नमूना समेत जाँची त्यस्तो मालवस्तुको शीर्षक वा उपशीर्षक तोकिदिन सक्नेछ ।

(३) उपदफा (१) बमोजिम महानिर्देशकले र उपदफा (२) बमोजिम समितिले शीर्षक वा उपशीर्षक तोक्दा विश्व भन्सार सङ्घठनको हार्मोनाइज्ड् सिष्टमको आधिकारिक प्रतिलाई आधार लिई तोक्नेछ ।

(४) उपदफा (१) र (२) बमोजिम मालवस्तुको शीर्षक वा उपशीर्षक तोक्ने प्रयोजनको लागि सम्बन्धित विशेषज्ञ वा राष्ट्रिय वा अन्तर्राष्ट्रिय निकायको राय लिन सकिनेछ । (५) उपदफा (२) बमोजिमको समितिको अन्य काम तथा बैठक सम्बन्धी कार्यविधि तोकिए बमोजिम हुनेछ ।

 

९०. आदेश जारी गर्न सक्नेः यस ऐन कार्यान्वयन गर्दा कुनै बाधा अड्काउ परेमा सो बाधा अड्काउ हटाउनको लागि अर्थ मन्त्रालयले यस ऐनको प्रतिकूल नहुने गरी नेपाल राजपत्रमा सूचना प्रकाशन गर्न सक्नेछ ।

 

९१. कारबाही गर्ने अधिकार : भन्सार क्षेत्र बाहेक अन्यत्रबाट भन्सार महसुल छली मालवस्तु ल्याउन लागेका बखत कसैले पक्राउ गरी यस ऐन अनुसार कारबाहीका लागि पेश गरेमा सोउपर कारबाही गर्ने अधिकार महानिर्देशक वा निजले खटाएको अधिकारीलाई हुनेछ ।

 

९२. नियम बनाउने अधिकार : (१) यस ऐनको उद्देश्य कार्यान्वयन गर्न नेपाल सरकारले नियमहरु बनाउन सक्नेछ ।

(२) उपदफा (१) को सर्वसामान्यतामा प्रतिकूल असर नपर्ने गरी नेपाल सरकारले निकासी वा पैठारी हुने मालवस्तुका सम्बन्धमा उत्पत्तिको नियम बनाउन सक्नेछ ।

९३. निर्देशिका बनाउन सक्ने अधिकार:  विभागले यस ऐन वा यस अन्तर्गत बनेको नियमको अधीनमा रही भन्सार कार्यालयबाट मालवस्तुको मूल्याङ्कन गर्ने प्रक्रिया, मालवस्तुको जाँचपास गर्ने प्रक्रिया तथा मालवस्तु लिलाम गर्ने सम्बन्धमा निर्देशिका बनाउन सक्नेछ ।

 

९४. खारेजी तथा बचाउ : (१) भन्सार ऐन, २०१९ खारेज गरिएको छ ।

(२) भन्सार ऐन, २०१९ बमोजिम स्थापना भएको भन्सार विभाग तथा भन्सार कार्यालयहरु यसै ऐन बमोजिम स्थापना भएको मानिनेछन्।

(३) भन्सार ऐन, २०१९ अन्तर्गत भएका काम कारबाहीहरु यसै ऐन बमोजिम भए गरेका मानिनेछन्।