Skip to contentSkip to left sidebar Skip to footer

फोहरमैला व्यवस्थापन ऐन, २०६८

फोहरमैला व्यवस्थापन ऐन, २०६८

प्रमाणीकरण र प्रकाशन मिति

२०६८।३।१

संशोधन गर्ने ऐन
केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७२                                              २०७२।११।१३

४.केही नेपाल ऐन संशोधन गर्ने ऐन,२०७५                                           २०७५।११।१९

संवत २०६८ को ऐन नं. ५

फोहरमैला व्यवस्थापन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन

प्रस्तावनाः फोहरमैलालाई स्रोतमा न्यूनीकरण, पुनः प्रयोग, प्रशोधन वा विसर्जन गरी फोहरमैलाको व्यवस्थित तथा प्रभावकारी व्यवस्थापन गर्न तथा फोहरमैलाबाट जनस्वास्थ्य तथा वातावरणमा पर्न सक्ने प्रतिकूल प्रभावलाई कम गरी स्वच्छ तथा स्वस्थ वातावरण कायम गर्नका लागि फोहरमैला व्यवस्थापन जस्तो अत्यन्त जरुरी सेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न वाञ्छनीय भएकोले, नेपालको अन्तरिम संविधान, २०६३ को धारा ८३ बमोजिमको व्यवस्थापिका–संसद्को हैसियतमा संविधान सभाले यो ऐन बनाएको छ ।

परिच्छेद–१ प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भः (१) यस ऐनको नाम फोहरमैला व्यवस्थापन ऐन, २०६८रहेको छ ।

(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।

२. परिभाषाः विषय वा प्रस·ले अर्को अर्थ नलागेमा यस ऐनमा,–

(क) औद्योगिक फोहरमैलाभन्नाले औद्योगिक प्रतिष्ठानबाट निष्काशन हुने हानिकारक तथा प्रदूषणयुक्त फोहरमैला सम्झनु पर्छ । 

(ख) औद्योगिक प्रतिष्ठानभन्नाले कुनै उद्योग, व्यवसाय वा सेवा सञ्चालन गर्ने उद्देश्यले प्रचलित कानून बमोजिम स्थापित कुनै कम्पनी, उद्योग, फर्म वा अन्य कुनै निकाय सम्झनु पर्छ ।

(ग) कण्टेनरभन्नाले फोहरमैला सङ्कलन गर्ने प्रयोजनको लागि निश्चित स्थानमा राखिएको फोहरमैला थुपार्ने भाँडो, बाकस, बाल्टीन वा यस्तै प्रकारको अन्य कुनै वस्तु सम्झनु पर्छ र सो शब्दले कम्पोष्ट मल उत्पादन गर्न राखिएको भाँडो समेतलाई जनाउनेछ ।

(घ) …………..

(ङ) ढुवानीभन्नाले सड्ढलित फोहरमैला उत्पादन स्थलबाट सङ्कलन केन्द्र र सङ्कलन केन्द्रबाट स्थानान्तरण केन्द्रसम्म वा स्थानान्तरण केन्द्रबाट फोहरमैला व्यवस्थापन स्थल वा स्थानीय तहले तोकेको स्थानसम्म लैजाने कार्य सम्झनु पर्छ ।

(च) तोकिएकोवा तोकिए बमोजिमभन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।

(छ)  न्यूनीकरणभन्नाले कुनै पनि प्रविधि वा उपायको प्रयोग गरी फोहरमैलाको परिमाण, आकार वा प्रभावमा कम गर्ने कार्य सम्झनु पर्छ । 

(ज) निष्काशनभन्नाले फोहरमैला उत्पादन स्थलबाट स्थानीय तहले तोकेको स्थानमा थुपार्र्ने वा निकाल्ने कार्य सम्झनु पर्छ ।

(झ)  ………………

(ञ) प्रदूषणभन्नाले फोहरमैलाबाट निस्कने ठोस, तरल वा ग्यास वस्तुको संयोजनबाट वातावरणमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपले प्रभाव परी वातावरणमा उल्लेखनीय ह्रास ल्याउने, क्षति पुर्याउने वा वातावरणको लाभदायी वा उपयोगी प्रयोजनमा हानि नोक्सानी पु¥याउने क्रियाकलाप सम्झनु पर्छ ।

 (ट)  प्रभावित क्षेत्रभन्नाले फोहरमैला व्यवस्थापन स्थलको प्रारम्भिक वातावरणीय परीक्षण र वातावरणीय प्रभाव मूल्याड्ढन प्रतिवेदनमा उल्लिखित क्षेत्रलाई सम्झनु पर्छ ।

(ठ) प्रशोधनभन्नाले फोहरमैलाको रुप वा गुणमा परिवर्तन गरी अन्य कुनै उपयोगी वस्तु तयार गर्ने, मल, ग्यास, ऊर्जा वा अन्य वस्तु उत्पादन गरी फोहरमैलाको व्यवस्थापन गर्ने प्रक्रिया सम्झनु पर्छ ।

(ड) प्रशोधन स्थलभन्नाले फोहरमैलालाई प्रशोधन गरी मल, ग्यास, ऊर्जा वा अन्य वस्तु उत्पादनका लागि कार्य सञ्चालन गर्ने स्थान सम्झनु पर्छ ।

(ढ)  पुनः चक्रीय प्रयोगभन्नाले प्रविधिको प्रयोगद्वारा सङ्कलित फोहरमैलालाई कच्चा पदार्थमा रुपान्तरण गरी उपयोगी वस्तुको रुपमा विकास गरी पुनः प्रयोगमा ल्याउने कार्य सम्झनु पर्छ ।

(ण) फोहरमैलाभन्नाले घरेलु फोहरमैला, औद्योगिक फोहरमैला, रासायनिक फोहोरमैला, स्वास्थ्य संस्थाजन्य फोहरमैला वा हानिकारक फोहरमैला सम्झनु पर्छ र सो शब्दले तत्काल प्रयोग हुन नसक्ने अवस्थामा रहेका, फालिएका वा सडेगलेका, वातावरणमा ह्रास आउने गरी निष्काशन गरिएका ठोस, तरल, ग्यास, लेदो, धुवाँ, धुलो, विद्युतीय तथा सूचना प्रविधिका लागि प्रयोग भएका सामग्रीहरु लगायतका पदार्थ वा त्यस्तै प्रकारका अन्य वस्तुहरु वा अनधिकृत रुपमा सार्वजनिक स्थलमा टाँसिएका पोष्टर, पम्पलेट र नेपाल सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी फोहरमैला भनी तोकिदिएको अन्य वस्तु समेतलाई जनाउनेछ ।

(त)  फोहरमैला व्यवस्थापन स्थल (स्यानिटरी ल्याण्डफिल साइट)भन्नाले फोहरमैला विसर्जन वा प्रशोधन गर्नको लागि स्थानीय तहले तोकेको स्थल सम्झनु पर्छ ।

(थ) फोहरमैला सड्ढलनभन्नाले फोहरमैला उत्पादन स्थलबाट उठाउने, घरघरबाट सड्ढलन गर्ने, सार्वजनिक स्थलमा रहेको फोहरमैला बढार्ने, थुपार्ने, झारपात उखेल्ने तथा अनधिकृत रुपमा सार्वजनिक स्थलमा टाँसिएका पोष्टर, पम्पलेट उप्काई सड्ढलन गर्ने कार्य सम्झनु पर्छ । 

(द) फोहरमैला सड्ढलन तथा ढुवानी साधनभन्नाले फोहरमैला सड्ढलन तथा ढुवानी गर्ने प्रयोजनका लागि प्रयोग गरिने साधन, उपकरण वा औजार सम्झनु पर्छ ।

(ध)  बन्द पश्चात् व्यवस्थापन (पोस्ट क्लोजर म्यानेजमेण्ट)भन्नाले फोहरमैला व्यवस्थापन स्थलमा फोहरमैला विसर्जन गर्न बन्द गरे पश्चात् सो क्षेत्रको वातावरणीय सन्तुलन कायम राख्नको लागि गरिने कार्य सम्झनु पर्छ ।

(न) “मन्त्रालय” भन्नाले नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्झनु पर्छ।”

(प) रासायनिक फोहरमैलाभन्नाले यथास्थितिमा प्रयोग हुन नसक्ने जुनसुकै स्रोत तथा प्रक्रियाबाट निस्केका मानव स्वास्थ्य लगायत जीव, जन्तु एवं वातावरणमा प्रतिकूल असर पार्ने सम्पूर्ण रासायनिक पदार्थहरु वा समय समयमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी रासायनिक फोहरमैला भनी तोकेका ठोस, तरल, धुलो, लेदो, ग्यास लगायतका पदार्थ वा वस्तुलाई सम्झनु पर्छ ।

(फ) विसर्जनभन्नाले फोहरमैलाको अन्तिम निष्काशन तथा व्यवस्थापन सम्झनु पर्छ ।

(ब) सड्ढलन केन्द्रभन्नाले घर घरबाट निस्कने फोहरमैला सड्ढलन गरी निर्धारित समयसम्म फाल्न, राख्न वा थुपार्न स्थानीय तहले तोकेको स्थान सम्झनु पर्छ र सो शब्दले घरघरमा फोहरमैला सड्ढलन गर्न आउने स्थानीय तहले तोकेको फोहरमैला सड्ढलक वा फोहरमैला सड्ढलन गर्ने साधन समेतलाई जनाउनेछ ।

(भ) समितिभन्नाले दफा २९ बमोजिम गठित केन्द्रको सञ्चालक समिति सम्झनु पर्छ । 

(म)  सामुदायिक संस्थाभन्नाले नाफा आर्जन नगर्ने उद्देश्यले समुदायको हितका निम्ति प्रचलित कानून बमोजिम स्थापित समुदायमा आधारित सहभागितामूलक उपभोक्ता समूह, सहकारी संस्था वा गैरसरकारी संस्था सम्झनु पर्छ ।

 (य) स्थानान्तरण केन्द्रभन्नाले सड्ढलित फोहरमैला विसर्जन गर्न फोहरमैला व्यवस्थापन स्थल (स्यानिटरी ल्याण्डफिल साइट) मा लैजानु अघि फोहरमैला सड्ढलनको लागि स्थानीय तहले तोकेको स्थान सम्झनु पर्छ । 

(र) स्थानीय तहभन्नाले सम्बन्धित महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका वा गाउँपालिका सम्झनु पर्छ ।

(ल)  स्वास्थ्य संस्थाजन्य फोहरमैलाभन्नाले अस्पताल, क्लिनिक, फार्मेसी, औषधी पसल, ब्लड बैङ्क, प्याथोलोजिकल प्रयोगशाला, पशुस्वास्थ्यजन्य संस्था वा स्वास्थ्य अनुसन्धान केन्द्रबाट उत्पादन तथा निष्काशन हुने हानिकारक फोहरमैला सम्झनु पर्छ ।

(व) हानिकारक फोहरमैलाभन्नाले प्राकृतिक वातावरणमा ह्रास ल्याउने, मानव तथा अन्य प्राणीको स्वास्थ्यमा हानि नोक्सानी पुर्याउने विभिन्न रुपमा निष्काशित वस्तु, पदार्थ तथा रेडियो विकिरण सम्झनु पर्छ ।

परिच्छेद–२ फोहरमैला उत्पादन, सड्ढलन, न्यूनीकरण तथा निष्काशन सम्बन्धी व्यवस्था

३. फोहरमैलाको प्रबन्ध गर्ने जिम्मेवारी स्थानीय तहको हुनेः (१) फोहरमैलाको व्यवस्थापन गर्न स्थानान्तरण केन्द्र (ट्रान्सफर स्टेशन), ल्याण्डफिल साइट, प्रशोधन प्लाण्ट, कम्पोष्ट प्लाण्ट, बायो ग्यास प्लाण्ट लगायत फोहरमैलाको सड्ढलन, अन्तिम विसर्जन तथा प्रशोधनका लागि आवश्यक पर्ने पूर्वाधार तथा संरचनाको निर्माण तथा सञ्चालन गर्ने जिम्मेवारी स्थानीय तहको हुनेछ ।

(२) फोहरमैला सड्ढलन केन्द्र, स्थानान्तरण केन्द्र वा प्रशोधन स्थलमा फालिएको वा राखिएको फोहरमैला वा सरसफाईको सिलसिलामा जम्मा भएको फोहरमैलाको प्रबन्ध गर्ने वा कुनै पनि किसिमबाट प्रयोग गर्ने जिम्मेवारी स्थानीय तहको हुनेछ ।

(३) यस दफाको प्रयोजनको लागि फोहरमैला सड्ढलन केन्द्र, स्थानान्तरण केन्द्र वा प्रशोधन स्थलमा फालिएको वा राखिएको फोहरमैला वा सरसफाईको सिलसिलामा जम्मा भएको कुनै पनि पदार्थ फोहरमैला मानिनेछ । 

४. फोहरमैला व्यवस्थापन गर्ने दायित्वः (१) यस ऐन बमोजिम फोहरमैला व्यवस्थापन गर्ने गराउने दायित्व स्थानीय तहको हुनेछ । 

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि हानिकारक फोहरमैला, स्वास्थ्य संस्थाजन्य फोहरमैला, रासायनिक फोहरमैला वा औद्योगिक फोहरमैला प्रशोधन र व्यवस्थापन गर्ने दायित्व निर्धारित मापदण्डको अधीनमा रही त्यस्तो फोहरमैला उत्पादन गर्ने व्यक्ति वा निकायको हुनेछ ।

(३) कुनै उद्योग वा स्वास्थ्य संस्थाले हानिकारक फोहरमैला, स्वास्थ्य संस्थाजन्य फोहरमैला, रासायनिक फोहरमैला तथा औद्योगिक फोहरमैला प्रशोधन गरी बाँकी रहेको फोहरमैला तथा अन्य फोहरमैलाको व्यवस्थापन गरिदिन स्थानीय तहलाई अनुरोध गरेमा वा स्थानीय तहले निर्माण गरेको फोहरमैला व्यवस्थापन स्थल प्रयोग गर्न माग गरेमा स्थानीय तहले निर्धारण गरे बमोजिमको सेवा शुल्क लिई फोहरमैलाको व्यवस्थापन गरिदिन वा फोहरमैला व्यवस्थापन स्थल प्रयोग गर्न दिन  सक्नेछ ।

५. फोहरमैलाको उत्पादन कम गर्नेः (१) कुनै व्यक्ति, संस्था वा निकायले कुनै काम कारोबार गर्दा उत्पन्न हुने फोहोरमैला यथाशक्य कम गर्नु पर्नेछ । 

(२) आफ्नो क्षेत्रभित्र विसर्जन हुन सक्ने फोहरमैलाको विसर्जन वा पुनः प्रयोगको व्यवस्था मिलाई बाँकी फोहरमैलामात्र निष्काशन गरी फोहरमैलाको परिमाणलाई घटाउनु प्रत्येक व्यक्ति, संस्था वा निकायको कर्तव्य हुनेछ ।

स्पष्टीकरणः आफ्नो क्षेत्रभन्नाले निजी घर कम्पाउण्ड, औद्योगिक क्षेत्रको परिसर, अस्पताल वा स्वास्थ्य संस्थाको परिसर, औद्योगिक प्रतिष्ठानको परिसर लगायत फोहरमैला उत्पादन गर्ने व्यक्ति, संस्था वा निकायको परिसरलाई सम्झनु पर्छ ।

६. फोहरमैलाको पृथकीकरणः (१) स्थानीय तहले फोहरमैलालाई कम्तीमा जैविक र अजैविक लगायत विभिन्न प्रकारमा विभाजन गरी स्रोतमै छुट्याउने गरी तोक्नु पर्नेछ । 

(२) उपदफा (१) बमोजिम स्थानीय तहले तोकिदिए बमोजिम फोहरमैलालाई स्रोतमै छुट्याई सङ्कलन केन्द्रसम्म पुर्याउने दायित्व त्यस्तो फोहरमैला उत्पादन गर्ने व्यक्ति, संस्था वा निकायको हुनेछ र यसको लागि स्थानीय तहले आवश्यक प्रविधि, मालसामान, उपकरण, कण्टेनर आदि उपलब्ध गराउन सक्नेछ ।

७. फोहरमैलाको निष्काशनः (१) फोहरमैला निष्काशनको समय, स्थान र तरिका स्थानीय तहले निर्धारण गरे बमोजिम हुनेछ ।

(२) हानिकारक फोहरमैला वा रासायनिक फोहोरमैला उत्पादन गर्ने व्यक्ति, संस्था वा निकायले त्यस्तो फोहरमैला तोकिए बमोजिम व्यवस्थापन गर्नु पर्नेछ ।

(३) हानिकारक फोहरमैला वा रासायनिक फोहोरमैला सड्ढलन केन्द्र वा स्थानान्तरण केन्द्रमा निष्काशन गर्न पाइने छैन ।

८. फोहरमैला सड्ढलन केन्द्र तोक्नेः (१) स्थानीय तहले फोहरमैलालाई व्यवस्थित रुपमा सड्ढलन गर्न प्रत्येक टोल वा वस्तीमा सड्ढलन केन्द्र तोकी आवश्यक कण्टेनरको व्यवस्था गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम सड्ढलन केन्द्र तोक्दा यथाशक्य टोल वा वस्तीका सबैलाई पायक पर्ने गरी वातावरणीय रुपले उपयुक्त स्थान तोक्नु पर्नेछ ।

(३) उपदफा (१) बमोजिमको सड्ढलन केन्द्रमा फोहरमैला निष्काशन र सड्ढलन गर्ने समय र तरिका स्थानीय तहले निर्धारण गरे बमोजिम हुनेछ ।

९. फोहरमैलाको ढुवानीः (१) सड्ढलन केन्द्रमा जम्मा भएको फोहरमैलालाई स्थानान्तरण केन्द्र वा फोहरमैला व्यवस्थापन स्थलसम्म ढुवानी गर्ने दायित्व स्थानीय तह वा त्यस्तो निकायले व्यवस्था गरेको संस्था वा निकायको हुनेछ ।

(२) फोहरमैला ढुवानी गर्दा तोकिए बमोजिमको ढुवानी साधन प्रयोग गर्नु पर्नेछ । ढुवानीको साधन तोक्दा तौल, क्षमता, तरिका वा विधि, सडकको क्षमता तथा फोहरमैला ढुवानी गर्दा वातावरणमा पर्न सक्ने प्रभाव समेतलाई विचार गरी तोक्नु पर्नेछ ।

(३) फोहरमैला ढुवानी गर्दा स्थानीय तहले दफा ६ बमोजिम स्रोतमा छुट्याई निष्काशन तथा सड्ढलन गरिएको फोहरमैलाको अलग अलग ढुवानी गर्नु पर्नेछ ।

 १०. फोहरमैलाको न्यूनीकरण, पुनः प्रयोग तथा पुनः चक्रीय प्रयोगः (१) स्थानीय तहले फोहरमैला न्यूनीकरण, पुनः प्रयोग तथा पुनः चक्रीय प्रयोगलाई प्रोत्साहन गर्न आवश्यक कार्य गर्नेछ र यसको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक निर्देशिका बनाई लागू गर्न सक्नेछ ।

(२) उद्योगको उत्पादन प्याकिङ्ग गर्न प्रयोग गरेको वस्तुलाई पुनः प्रयोग गरी फोहरमैलाको परिमाणलाई घटाउने काममा प्रोत्साहन गर्न सम्बन्धित उद्योगसँस्थानीय तहले समन्वय गर्न सक्नेछ ।

परिच्छेद–३ स्थानान्तरण केन्द्र तथा फोहरमैला व्यवस्थापन स्थल सम्बन्धी व्यवस्था

११. स्थानान्तरण केन्द्र तोक्नेः (१) स्थानीय तहले प्रारम्भिक चरणमा सङ्कलन भएको फोहरमैलालाई व्यवस्थित गर्न कुनै स्थानलाई स्थानान्तरण केन्द्रको रुपमा तोक्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिमको स्थानान्तरण केन्द्र तोक्दा जनस्वास्थ्य तथा वातावरणमा प्रतिकूल असर नपर्ने गरी तोक्नु पर्नेछ र यसरी तोकिएको स्थललाई दुर्गन्ध नआउने गरी आवश्यक व्यवस्था समेत गर्नु पर्नेछ ।

१२. फोहरमैला व्यवस्थापन स्थलः (१) स्थानीय तहले आफ्नो क्षेत्रभित्र सङ्कलन भएको फोहरमैलालाई व्यवस्थापन तथा स्थायी रुपमा विसर्जन गर्नको लागि वातावरण सम्बन्धी प्रचलित कानूनको अधीनमा रही फोहरमैला व्यवस्थापन स्थल (स्यानिटरी ल्याण्डफिल साइट) तोक्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम फोहरमैला व्यवस्थापन स्थल तोक्नको लागि स्थानीय तहको जग्गा नभएमा वा जग्गा भए तापनि फोहरमैला व्यवस्थापन स्थल तोक्न उपयुक्त नभएमा उपयुक्त जग्गा भाडामा लिई वा खरिद गरी व्यवस्थापन स्थल तोक्न सक्नेछ ।

(३) यस दफा बमोजिम फोहरमैला व्यवस्थापन स्थल तोक्दा दफा १६ को अधीनमा रही निजीक्षेत्रको निजी जग्गामा समेत फोहरमैला व्यवस्थापन स्थलको विकास तथा सञ्चालन गर्न सकिनेछ ।

(४) स्स्थानीय तहले उपदफा (१) वा (२) बमोजिम फोहरमैला व्यवस्थापन स्थल तोक्नको लागि जग्गाको अभाव भएमा उपयुक्त स्थलको छनौट गरी उपलब्ध गराउनको लागि मन्त्रालय समक्ष अनुरोध गर्न सक्नेछ ।

(५) उपदफा (४) बमोजिम फोहरमैला व्यवस्थापन स्थल उपलब्ध गराउनको लागि अनुरोध भई आएमा मन्त्रालयले प्रचलित कानून बमोजिम त्यस्तो जग्गा प्राप्त गरी स्थानीय तहलाई उपलब्ध गराउनेछ ।

(६) दुई वा सोभन्दा बढी स्थानीय तहलाई एउटै फोहरमैला व्यवस्थापन स्थल उपयुक्त हुने भएमा त्यस्ता स्थानीय तहबीच समन्वय गरी त्यस्तो स्थललाई सम्बन्धित स्थानीय तहहरुको लिखित सहमति र शर्तमा मन्त्रालयले फोहरमैला व्यवस्थापन स्थल तोक्न सक्नेछ ।

(७) स्थानीय तहले फोहरमैला व्यवस्थापन स्थलको सञ्चालन तथा बन्द पश्चात् व्यवस्थापन सम्बन्धी कार्य तोकिएको वातावरणीय मापदण्ड अनुरुप गर्नु पर्नेछ ।

(८) उपदफा (७) बमोजिम बन्द पश्चात् व्यवस्थापन सम्बन्धी कार्य गर्दा फोहरमैला व्यवस्थापन स्थलको प्रारम्भिक वातावरणीय परीक्षण तथा वातावरणीय प्रभाव मूल्याड्ढन प्रतिवेदनमा सिफारिस गरिएका सुझावहरु अनुरुप गर्नु पर्नेछ ।

(९) स्थानीय तहले फोहरमैला व्यवस्थापन स्थल क्षेत्रलाई आवश्यक परेमा वातावरणीय रुपले सम्वेदनशील क्षेत्र घोषणा गर्न सक्नेछ ।

(१०) उपदफा (९) बमोजिमको क्षेत्रमा पशुपक्षी, जीवजन्तु तथा मानवको अनधिकृत प्रवेशलाई रोक लगाउने, ढुङ्गा, गिट्टी र बालुवा निकाल्ने कार्यमा रोक लगाउनुको साथै वातावरण संरक्षण र त्यस्तो क्षेत्रको उचित व्यवस्थापनका लागि अन्य आवश्यक निर्देशन तथा निर्देशिका जारी गरी लागू गर्न सक्नेछ ।

परिच्छेद–४ फोहरमैला व्यवस्थापनमा निजी तथा सामुदायिक क्षेत्रको संलग्नता

१३. अनुमति सम्बन्धी व्यवस्थाः (१) यस ऐन बमोजिम स्थानीय तहको अनुमति नलिई कसैले पनि फोहरमैला व्यवस्थापन सम्बन्धी काम गर्न वा गराउन सक्ने छैन ।

(२) फोहरमैला व्यवस्थापन गर्न चाहने स्वदेशी वा विदेशी कम्पनी, संस्था वा निकायले देहायको विवरण खुलाई अनुमतिको लागि सम्बन्धित स्थानीय तहमा निवेदन दिनु पर्नेछः

(क) फोहरमैला व्यवस्थापन सम्बन्धी योजना,

(ख) फोहरमैला व्यवस्थापन सम्बन्धी आवश्यक जनशक्ति तथा प्रविधिको विवरण,

(ग) तोकिए बमोजिमको अन्य विवरण ।

(३) उपदफा (२) बमोजिम पर्न आएको निवेदन उपर सम्बन्धित स्थानीय तहले आवश्यक जाँचबुझ गरी अनुमतिपत्र दिन सक्नेछ ।

(४) फोहरमैलाको व्यवस्थापन, पुनः चक्रीय प्रयोग, प्रशोधन र विसर्जनमा आवश्यक पर्ने प्रविधि स्वदेशमा उपलब्ध हुन नसक्ने देखिएमा त्यस्तो प्रविधि उपलब्ध गराउन सक्ने कुनै विदेशी कम्पनी, संस्था वा निकायलाई सम्झौतामा उल्लिखित अवधिभित्र त्यस्तो प्रविधि हस्तान्तरण गर्ने शर्तमा नेपाल सरकारको स्वीकृति लिई स्थानीय तहले उपदफा (३) बमोजिम अनुमतिपत्र दिन सक्नेछ ।

(५) अनुमतिपत्र सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

१४. निजी क्षेत्रबाट फोहरमैला व्यवस्थापनको काम गराउन सकिनेः (१) स्थानीय तहले आवश्यकता अनुसार दफा १३ बमोजिम अनुमतिप्राप्त निजी क्षेत्रका कम्पनी वा सामुदायिक क्षेत्रबाट दफा १५ बमोजिम प्रतिस्पर्धा गराई वा पूर्वाधार संरचनाको निर्माण तथा सञ्चालनमा निजी लगानी सम्बन्धी कानून बमोजिमको कुनै प्रक्रियाको अवलम्बन गरी आफ्नो क्षेत्रको फोहरमैला व्यवस्थापन गराउन सक्नेछ । 

  (२) उपदफा (१) बमोजिम फोहरमैला व्यवस्थापन गर्दा निजी क्षेत्रका कम्पनीको हकमा देहायका सबै वा कुनै र सामुदायिक एवं गैरसरकारी संघ, संस्थाको हकमा देहायका कुनै काम गराउन सकिनेछः

(क) फोहरमैला न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि,

(ख)  फोहरमैला सड्ढलन,

(ग)  फोहरमैला ढुवानी,

(घ)  फोहरमैलाको प्रयोग, पुनः प्रयोग, पुनः चक्रीय प्रयोग वा प्रशोधन,

(ङ)  फोहरमैला विसर्जन,

(च)  बन्द पश्चात् व्यवस्थापन ।

१५. प्रतिस्पर्धा गराई फोहरमैला व्यवस्थापनको जिम्मा दिनेः (१) स्थानीय तहले दफा १४ बमोजिम निजी क्षेत्र वा सामुदायिक संस्थाबाट फोहरमैला व्यवस्थापन गराउँदा बोलपत्र आह्वान गरी प्रतिस्पर्धा गराई व्यवस्थापकको छनौट गरी व्यवस्थापन गर्ने जिम्मा दिनु पर्नेछ । 

(२) उपदफा (१) बमोजिम फोहरमैला व्यवस्थापकको छनौट गर्दा देहायका आधारमा गर्नु पर्नेछः

(क) स्थानीय तहलाई बुझाउन कबुल गरेको रकम,

(ख) फोहरमैलाबाट ऊर्जा शक्ति उत्पादन गर्ने वा प्राङ्गारिक मल उत्पादन गर्ने क्षमता, ूजी, प्रविधि र जनशक्तिको क्षमता

 (ग)  आर्थिक तथा प्राविधिक क्षमता,

(घ)  फोहरमैला व्यवस्थापनमा अपनाउन प्रस्ताव गरिएको प्रविधिको दिगोपना तथा वातावरणीय प्रभाव न्यूनीकरण

(ङ)  व्यवस्थापन करार गर्ने भए प्रस्ताव गरिएको व्यवस्थापन शुल्क,

(च)  फोहरमैलाको प्रयोग, प्रशोधन वा पुनः प्रयोग गर्ने सम्बन्धमा भए स्थानीय तहलाई बुझाउन मञ्जुर गरिएको रोयल्टी ।

(३) बोलपत्र सम्बन्धी अन्य व्यवस्था प्रचलित कानून बमोजिम हुनेछ । 

(४) उपदफा (१) बमोजिम फोहरमैला व्यवस्थापनको जिम्मा पाएको कम्पनी, संस्था वा निकायले  स्थानीय तहसँग गरेको सम्झौताको अधीनमा रही दफा १८ बमोजिमको शुल्क उठाउन सक्नेछ ।

(५) फोहरमैला व्यवस्थापनमा गैरसरकारी क्षेत्रको संलग्नता सम्बन्धी अन्य कुराहरु तोकिए बमोजिम हुनेछ ।

१६. फोहरमैला व्यवस्थापन स्थल निर्माण तथा सञ्चालन गर्न स्वीकृति दिन सकिनेः (१) निजी क्षेत्रबाट फोहरमैला व्यवस्थापनका लागि फोहरमैला व्यवस्थापन स्थल, प्रशोधन स्थल वा अन्य संयन्त्र निर्माण गरी सञ्चालन गर्न स्वीकृति माग गरेमा वातावरण तथा अन्य प्रचलित कानूनको अधीनमा रही त्यस्तो संयन्त्र निर्माण तथा सञ्चालनका लागि स्थानीय तहले स्वीकृति दिन सक्नेछ । 

(२) उपदफा (१) बमोजिम निजी क्षेत्रबाट फोहरमैला व्यवस्थापन संयन्त्रको निर्माण तथा सञ्चालन गर्दा तोकिएको वातावरणीय मापदण्डको पालना भए वा नभएको अनुगमन स्थानीय तहले गर्नेछ । 

(३) उपदफा (२) बमोजिम अनुगमन गर्दा स्वीकृत मापदण्डको पालना गरेको नपाइएमा त्यस्तो मापदण्ड पालनाको लागि आवश्यक व्यवस्था गर्न समयावधि तोकिदिन सक्नेछ र सो समयावधिमा पनि मापदण्डको पालनाको लागि आवश्यक व्यवस्था नगरेमा त्यस्तो व्यक्ति वा कम्पनीको स्वीकृति स्थानीय तहले तोकिए बमोजिम रद्द गर्न सक्नेछ । 

१७. सार्वजनिक निजी साझेदारीमा फोहरमैला व्यवस्थापन गर्न सकिनेः (१) स्थानीय तहले प्रचलित कानूनको अधीनमा रही निजी क्षेत्र, सामुदायिक एवं गैरसरकारी संघ, संस्थासगको साझेदारीमा फोहरमैला व्यवस्थापन कार्य गर्न सक्नेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सामुदायिक एवं गैरसरकारी संघ, संस्थासँगको साझेदारीमा फोहरमैला न्यूनीकरणको लागि जनचेतना अभिवृद्धि, फोहरमैला सड्ढलन, ढुवानी, फोहरमैला व्यवस्थापन स्थलको बन्द पश्चात् व्यवस्थापन, उद्यान निर्माण र सौन्दर्यीकरण जस्ता कार्य मात्र गर्न वा गराउन सकिनेछ ।

परिच्छेद–५ फोहरमैला व्यवस्थापन सेवा शुल्क सम्बन्धी व्यवस्था

१८. सेवा शुल्क उठाउन सक्नेः (१) स्थानीय तहले फोहरमैला व्यवस्थापन गरे बापत सम्बन्धित व्यक्ति, संस्था वा निकायबाट सेवा शुल्क लगाई उठाउन सक्नेछ ।

(२) उपदफा (१) बमोजिमको शुल्कको निर्धारण फोहरमैलाको परिमाण, तौल तथा प्रकृति र तोकिए बमोजिमका अन्य कुराहरुको आधारमा स्थानीय तहले गर्नेछ ।

(३) उपदफा (१) बमोजिमको शुल्क सम्बन्धित स्थानीय तह आफैंले वा निजले तोकेको संस्था वा निकाय मार्फत समेत उठाउन सक्नेछ ।

(४) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि दफा १५ बमोजिम फोहरमैला व्यवस्थापन गर्न जिम्मेवारी पाएको व्यक्ति, संस्था वा निकायले स्थानीय तहसँग भएको सहमतिको आधारमा फोहरमैला व्यवस्थापन गरे बापत सम्बन्धित व्यक्ति, संस्था वा निकायबाट सेवा शुल्क उठाउन सक्नेछ ।

तर तोकिए बमोजिमका विपन्न वर्गलाई सेवा शुल्कमा तोकिए बमोजिम छूट दिइनेछ ।

(५) यस दफा बमोजिम शुल्कबाट प्राप्त आम्दानी तथा फोहरमैला व्यवस्थापनमा निजी क्षेत्रलाई संलग्न गराउँदा प्राप्त हुने आम्दानी स्थानीय तहले एउटा छुट्टै शीर्षकमा राखी सो रकम तोकिएको मापदण्डको अधीनमा रही फोहरमैलाको व्यवस्थापन, वातावरणीय संरक्षण तथा फोहरमैला व्यवस्थापन स्थल प्रभावित क्षेत्रको विकासमा खर्च गर्नु पर्नेछ ।

१९. सेवा निलम्बन वा अन्त्य गर्न सक्नेः (१) स्थानीय तहले दफा १८ बमोजिमको सेवा शुल्क नबुझाउने सेवाग्राहीको फोहरमैला व्यवस्थापन सम्बन्धी सेवा निलम्बन वा अन्त्य गर्न सक्नेछ । 

  (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि फोहरमैला व्यवस्थापन गर्न दफा १५ बमोजिम जिम्मेवारी पाएको व्यक्ति, संस्था वा निकायले दफा १८ को उपदफा (४) बमोजिमको सेवा शुल्क नबुझाउने सेवाग्राहीको फोहरमैला व्यवस्थापन सम्बन्धी सेवा निलम्बन वा अन्त्य गर्न सक्नेछ र यसरी सेवा निलम्बन वा अन्त्य गरिएमा सोको जानकारी स्थानीय तहलाई दिनु पर्नेछ ।

(३) उपदफा (१) वा (२) बमोजिम सेवाको निलम्बन वा अन्त्य गरिएको अवस्थामा आफ्नो घरबाट उत्पादन हुने फोहरमैलाको व्यवस्थापन सम्बन्धित घरधनी आफैंले गर्नु पर्नेछ । 

(४) सेवाग्राहीले दफा १८ बमोजिम बुझाउनु पर्ने सेवा शुल्क बुझाएमा निजलाई पुनः सेवा प्रदान गरिनेछ । 

परिच्छेद–६ प्रदूषण नियन्त्रण तथा फोहरमैला व्यवस्थापन कार्यको अनुगमन सम्बन्धी व्यवस्था

२०. प्रदूषण नियन्त्रणः (१) आफ्नो क्षेत्रभित्र सङ्कलित फोहरमैलाबाट सो क्षेत्रमा पर्न सक्ने प्रतिकूल वातावरणीय प्रभावलाई यथाशक्य कम गरी प्रदूषणरहित ढङ्गले व्यवस्थापन गर्ने दायित्व स्थानीय तहको हुनेछ ।

(२) ………………

(३) स्थानीय तहले सड्ढलित फोहरमैला निष्काशन तथा व्यवस्थापन गर्दा यस ऐन बमोजिम निर्धारित मापदण्डको पालना गर्नु पर्नेछ ।

२१. फोहरमैला व्यवस्थापनको अनुगमनः (१) स्थानीय तहले फोहरमैला व्यवस्थापन तथा निष्काशन कार्यको नियमित अनुगमन गर्नु वा गराउनु पर्नेछ । 

(२) उपदफा (१) बमोजिम अनुगमन गर्ने वा गराउने प्रयोजनका लागि स्थानीय तहले आवश्यक कार्ययोजना बनाई लागू गर्न सक्नेछ ।

(३) उपदफा (१) बमोजिम अनुगमनमा खटिने व्यक्तिले अनुगमन पश्चात् सोको प्रतिवेदन सम्बन्धित स्थानीय तह समक्ष दिनु पर्नेछ ।

(४) उपदफा (३) बमोजिम प्राप्त प्रतिवेदनमा औंल्याइएका विषयहरुको सुधार तथा कार्यान्वयन गर्ने सम्बन्धमा स्थानीय तहले आवश्यक व्यवस्था गर्नु पर्नेछ । 

(५)……………….

२२.  फोहरमैला व्यवस्थापन स्थल प्रभावित क्षेत्रको आर्थिक, सामाजिक विकास तथा वातावरण संरक्षण सम्बन्धी व्यवस्थाः (१) स्थानीय तहले फोहरमैला व्यवस्थापन स्थल प्रभावित क्षेत्रको आर्थिक, सामाजिक, भौतिक विकास तथा वातावरण संरक्षणको गुरुयोजना बनाई सो योजना कार्यान्वयनको लागि विभिन्न कार्यक्रम बनाई कार्यान्वयन गर्नेछ ।

  (२) उपदफा (१) को प्रयोजनको लागि स्थानीय तहले मूलतः देहायका क्षेत्रमा कार्यक्रम सञ्चालन गर्न सक्नेछः

 (क) सडक निर्माण, विद्युत आपूर्ति, खानेपानी तथा ढल निकास, सरसफाई र वातावरण संरक्षण,

(ख) विद्यालय र स्वास्थ्य संस्थाको स्थापना तथा सञ्चालन,

(ग)  फोहरमैला व्यवस्थापन स्थल प्रभावित क्षेत्रका आर्थिक रुपले विपन्न तथा सामाजिक रुपले पिछडिएका वर्गको उत्थान तथा विकासको लागि आवश्यक कार्यक्रम ।

  (३) स्थानीय तहले सम्बन्धित समुदायसग परामर्श गरी उपदफा (१) बमोजिम योजना तर्जुमा वा उपदफा (२) बमोजिम कार्यक्रमको छनौट गर्नु पर्नेछ । 

(४) यस दफा बमोजिम प्रभावित क्षेत्रको लागि तर्जुमा गरिएको कार्यक्रमको कार्यान्वयन गर्दा स्थानीय समुदायको सहभागिता रहने गरी गर्नु पर्नेछ । 

(५) फोहरमैला व्यवस्थापन स्थलको सञ्चालन गर्दा वा सोको लागि कुनै कार्यक्रम कार्यान्वयन गर्दा वातावरण संरक्षण सम्बन्धी प्रचलित कानूनले तोकेको मापदण्डको अनुकूल हुने गरी गर्नु पर्नेछ । 

(६) फोहरमैलाको व्यवस्थापन स्थलको कारणले गम्भीर प्रभावित क्षेत्र र प्रभावित क्षेत्रको आर्थिक तथा सामाजिक विकास एवं वातावरण संरक्षणमा सुझाव दिन स्थानीय स्तरमा तोकिए बमोजिमको समिति गठन गर्न सकिनेछ ।

स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि गम्भीर प्रभावित क्षेत्रभन्नाले नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको क्षेत्रलाई सम्झनु पर्छ ।

परिच्छेद–७ फोहरमैला व्यवस्थापन परिषद् सम्बन्धी व्यवस्था

२३. परिषद्को गठनः (१) फोहरमैला व्यवस्थापनका सम्बन्धमा अवलम्बन गर्नु पर्ने नीति निर्धारणको लागि एक फोहरमैला व्यवस्थापन परिषद् गठन गरिएको छ ।

(२) उपदफा (१) बमोजिमको परिषद्मा देहायका सदस्यहरु रहनेछन्ः

(क) मन्त्री, स्थानीय विकास मन्त्रालय   अध्यक्ष

(ख) सचिव, भौतिक योजना तथा निर्माण मन्त्रालय  सदस्य

(ग) सचिव, उद्योग मन्त्रालय   सदस्य

(घ) सचिव, वातावरण मन्त्रालय   सदस्य

(ङ) सचिव, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय   सदस्य

(च) सचिव, स्थानीय विकास मन्त्रालय   सदस्य

(छ) सचिव, राष्ट्रिय योजना आयोगको सचिवालय  सदस्य

(ज) प्रमुख, काठमाडौं महानगरपालिका   सदस्य

(झ) नगरपालिका प्रमुखहरुमध्येबाट पाच विकास क्षेत्रको 

 प्रतिनिधित्व हुने गरी परिषद्ले मनोनयन गरेका पाचजना सदस्य

(ञ) स्थानीय तहसग सम्बन्धित संघ वा महासंघका 

  पदाधिकारीहरुमध्येबाट कम्तीमा तीनजना महिला 

 सहित नेपाल सरकारले मनोनयन गरेका पाचजना    सदस्य

(ट) नेपाल सरकारले फोहरमैला अति प्रभावित क्षेत्र भनी 

 तोकेको क्षेत्रबाट परिषद्ले मनोनयन गरेका कम्तीमा 

 एकजना महिला सहित दुईजना   सदस्य

(ठ) प्रतिनिधि, नेपाल उद्योग वाणिज्य महासंघ   सदस्य

(ड) फोहरमैला व्यवस्थापन सम्बन्धी विशेषज्ञ तथा 

 वैज्ञानिकहरुमध्येबाट कम्तीमा एकजना महिला 

सहित परिषद्ले मनोनयन गरेका दुईजना   सदस्य

(ढ) फोहरमैला व्यवस्थापनको क्षेत्रमा कार्यरत सामुदायिक

संस्थाहरुमध्येबाट परिषद्ले मनोनयन गरेको संस्थाको 

प्रतिनिधि एकजना   सदस्य

(ण) मन्त्रालयले तोकेको“ सहसचिव -सदस्य सचिव”

 

(३) उपदफा (२) को खण्ड (ड) बमोजिम परिषद्मा मनोनीत सदस्यको पदावधि चार वर्षको हुनेछ र निजको पुनः मनोनयन हुन सक्नेछ । 

(४) उपदफा (२) को खण्ड (झ), (ट) र (ढ) बमोजिम मनोनीत सदस्यको पदावधी एक वर्षको हुनेछ र पुनः मनोनयन हुन सक्ने छैन ।

(५) ……………..

२४. परिषद्को काम, कर्तव्य र अधिकारः परिषद्को काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः

(क)  फोहरमैला व्यवस्थापन सम्बन्धी राष्ट्रिय नीति तर्जुमा गरी स्वीकृतिको लागि नेपाल सरकार समक्ष पेश गर्ने,

(ख) फोहरमैला व्यवस्थापन कार्यसँग सम्बद्ध निकायहरुबीच समन्वयको लागि नीतिगत व्यवस्था गर्ने,

(ग) फोहरमैला व्यवस्थापनको लागि स्थानीय तहले शुल्क निर्धारण गर्दा एकरुपता कायम गर्नको लागि त्यस्तो सेवा शुल्क निर्धारण गर्ने मापदण्ड स्वीकृत गर्ने

(घ) फोहरमैला एकीकृत रुपमा व्यवस्थापन गर्न स्थानीय तहले कुनै लगानी गर्नु पर्ने अवस्थामा त्यस्तो लगानी गर्नु पर्ने रकमको प्रतिशत निर्धारण गर्ने,

(ङ) तोकिए बमोजिमका अन्य काम गर्ने । 

२५. परिषद्को बैठक र निर्णयः (१) परिषद्को बैठक वर्षमा कम्तीमा एक पटक परिषद्को अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ ।

(२) परिषद्को बैठकको अध्यक्षता परिषद्को अध्यक्षले गर्नेछ र निजको अनुपस्थितिमा उपस्थित सदस्यहरुले आफूहरुमध्येबाट छानेको सदस्यले बैठकको अध्यक्षता गर्नेछ ।

(३) परिषद्को सम्पूर्ण सदस्य संख्याको पचास प्रतिशतभन्दा बढी सदस्यहरु उपस्थित भएमा परिषद्को बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ ।

(४) परिषद्को बैठकको निर्णय सामान्यतया सहमतिको आधारमा हुनेछ । सहमति हुन नसकेमा बहुमतको आधारमा हुनेछ र मत बराबर भएमा बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ ।

(५) परिषद्ले आवश्यक देखेमा फोहरमैला व्यवस्थापन सम्बन्धी कुनै स्वदेशी वा विदेशी विशेषज्ञ वा सम्बन्धित पदाधिकारीलाई परिषद्को बैठकमा पर्यवेक्षकको रुपमा भाग लिन आमन्त्रण गर्न सक्नेछ ।

(६) परिषद्को निर्णय सदस्यसचिवद्वारा प्रमाणित गरिनेछ ।

(७) परिषद्को बैठक सम्बन्धी अन्य कार्यविधि परिषद् आफैले निर्धारण गरे बमोजिम  हुनेछ ।

परिच्छेद–८ फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्र सम्बन्धी व्यवस्था

२६. केन्द्रको स्थापनाः (१) फोहरमैला व्यवस्थापनका लागि स्थानीय तहलाई प्राविधिक सहयोग पुर्याउन तथा तत्सम्बन्धी विषयमा अध्ययन तथा अनुसन्धान गर्न फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रको स्थापना गरिनेछ ।

 (२) केन्द्रको कार्यालय काठमाडौं उपत्यकामा रहनेछ ।

२७. केन्द्र स·ठित संस्था हुनेः (१) केन्द्र अविच्छिन्न उत्तराधिकारवाला एक स्वशासित र सङ्गठित संस्था हुनेछ । 

(२) केन्द्रको काम कारबाहीको निमित्त आफ्नो एउटा छुट्टै छाप हुनेछ ।

(३) केन्द्रले व्यक्ति सरह चल, अचल सम्पत्ति प्राप्त गर्न, उपयोग गर्न, बेचबिखन गर्न वा अन्य किसिमले व्यवस्था गर्न सक्नेछ । 

(४) केन्द्रले व्यक्ति सरह आÇनो नामबाट नालिस, उजुर गर्न र केन्द्र उपर पनि सोही नामबाट नालिस, उजुर लाग्न सक्नेछ ।

(५) केन्द्रले व्यक्ति सरह करार गर्न र करार बमोजिमको अधिकार प्रयोग गर्न र दायित्व निर्वाह गर्न सक्नेछ ।

२८. केन्द्रको काम, कर्तव्य र अधिकारः केन्द्रको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः

(क) फोहरमैला व्यवस्थापनको लागि उपयुक्त प्रविधिको विकास तथा क्षमता अभिवृद्धिमा स्थानीय तहलाई सहयोग गर्ने,

(ख) फोहरमैला व्यवस्थापनको प्राविधिक पक्षको अनुगमन तथा मूल्याङ्कन गरी सोमा गर्नु पर्ने सुधारका सम्बन्धमा सम्बन्धित स्थानीय तहलाई सुझाव दिने,

(ग)  केन्द्रको वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा गरी स्वीकृतिका लागि सञ्चालक समिति समक्ष पेश गर्ने,

(घ) फोहरमैला व्यवस्थापनमा स्थानीय तहहरुलाई सहयोग गर्ने,

(ङ) कुनै स्थान विशेषको फोहरमैलाको प्रकृति र परिमाण, त्यसको सङ्कलन, उपचार, ढुवानी, विसर्जन वा नष्ट गर्ने प्रक्रिया तथा सोको लागि अवलम्बन गर्नु पर्ने न्यूनतम मापदण्ड तयार गरी स्वीकृतिका लागि परिषद् समक्ष पेश गर्ने,

(च)  फोहरमैला व्यवस्थापन सम्बन्धी नयाँ प्रविधिको विकास, विस्तार तथा प्रचार प्रसार गर्ने,

(छ)   फोहरमैला व्यवस्थापन सम्बन्धी संरचना निर्माणको लागि स्थानीय तहलाई प्राविधिक सहयोग उपलब्ध गराउने,

(ज) फोहरमैला व्यवस्थापन सम्बन्धी अध्ययन अनुसन्धान गर्ने वा गराउने तथा तथ्याङ्क सङ्कलन गरी फोहरमैला व्यवस्थापनको अवस्थाको यथार्थ विवरण सार्वजनिक गर्ने,

(झ) फोहरमैला व्यवस्थापन गर्न दक्ष जनशक्ति विकास तथा क्षमता अभिवृद्धि गर्न स्रोत केन्द्र तथा अध्ययन केन्द्रको रुपमा काम गर्ने,

(ञ) हानिकारक, स्वास्थ्य संस्थाजन्य रासायनिक तथा औद्योगिक फोहरमैलाको उचित व्यवस्थापनका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने,

(ट)  फोहरमैलाको प्रकृतिको आधारमा त्यसको उत्पादन न्यूनीकरण गर्ने तरिकाको पहिचान तथा विकास गरी अवलम्बन गर्नको लागि प्रोत्साहन गर्ने,

(ठ) फोहरमैला व्यवस्थापन कार्यमा जनसहभागिता जुटाउनका लागि अवलम्बन गर्नु पर्ने रणनीति तयार गरी स्वीकृतिका लागि परिषद् समक्ष पेश गर्ने,

(ड) फोहरमैला व्यवस्थापन कार्यलाई भरपर्दो तथा आर्थिक रुपमा आत्मनिर्भर बनाउने विषयमा विस्तृत अध्ययन गरी सेवा शुल्क निर्धारण तथा असूल गर्ने सम्बन्धमा स्थानीय तहलाई सुझाव दिने,

(ढ) परिषद्, सञ्चालक समिति तथा समन्वय समितिका निर्णयहरु कार्यान्वयन गर्ने वा गराउने,

(ण) फोहरमैलाको व्यवस्थापन गर्ने निजी क्षेत्रका व्यक्ति, संस्था वा निकायले केन्द्रको प्राविधिक सहयोग वा परामर्श माग गरेमा सेवा शुल्क लिई सहयोग वा परामर्श प्रदान गर्ने,

(त) तोकिए बमोजिमका अन्य कार्यहरु गर्ने, गराउने ।  

२९. समितिको गठनः (१) केन्द्रको सम्पूर्ण काम कारबाहीको सञ्चालन, रेखदेख तथा प्रबन्ध गर्न देहाय बमोजिमको एक सञ्चालक समिति गठन हुनेछः

(क) सचिवस्थानीय विकास मन्त्रालय   अध्यक्ष

(ख) सहसचिव, अर्थ मन्त्रालय   सदस्य

(ग) सहसचिव, वातावरण मन्त्रालय   सदस्य

(घ) सहसचिव, नगरपालिका व्यवस्था महाशाखा,

  स्थानीय विकास मन्त्रालय   सदस्य

(ङ) विशेषज्ञहरुमध्येबाट समितिले मनोनयन गरेको 

 एकजना महिला सहित दुईजना   सदस्य

(च) फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग 

 केन्द्रका कार्यकारी निर्देशक      सदस्यसचिव

(२) उपदफा (१) को खण्ड (ङ) बमोजिम मनोनीत सदस्यको पदावधि चार वर्षको हुनेछ र निजको पुनः मनोनयन हुन सक्नेछ । 

३०. समितिको काम, कर्तव्य र अधिकारः समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः

(क)  केन्द्रको  वार्षिक बजेट, योजना तथा कार्यक्रम स्वीकृत गर्ने,

(ख) केन्द्रको लागि सहयोग लिने वा अचल सम्पत्ति बेचबिखन वा हस्तान्तरण गर्ने सम्बन्धी प्रस्ताव स्वीकृत गर्ने,

(ग) केन्द्रको प्रशासनिक तथा प्राविधिक कार्यहरुको मूल्याड्ढन गरी कार्यकारी निर्देशकलाई आवश्यक निर्देशन दिने,

(घ) केन्द्रको विनियम स्वीकृत गर्ने,

(ङ) परिषद्का निर्णयहरु कार्यान्वयन गर्ने, गराउने,

 (च) केन्द्रको लेखापरीक्षण प्रतिवेदनबाट कायम भएका बेरुजुमाथि छलफल गरी बेरुजु फछ्र्यौटको लागि आवश्यक कारबाही गर्न केन्द्रको कार्यकारी निर्देशकलाई निर्देशन दिने,

(छ) केन्द्रको स·ठन तालिका, कर्मचारीको दरबन्दी, कर्मचारीको सेवाको शर्त, पारिश्रमिक तथा सुविधामा आवश्यकता अनुसार स्वीकृति दिने,

(ज) तोकिए बमोजिमका अन्य कार्यहरु गर्ने ।

३१. समितिको बैठक र निर्णयः (१) समितिको बैठक आवश्यकता अनुसार अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ ।

(२) समितिको बैठकको अध्यक्षता समितिको अध्यक्षले गर्नेछ र निजको अनुपस्थितिमा उपस्थित सदस्यहरुले आफूमध्येबाट छानेको सदस्यले बैठकको अध्यक्षता गर्नेछ ।

(३) समितिको सम्पूर्ण सदस्य संख्याको पचास प्रतिशतभन्दा बढी सदस्य उपस्थित भएमा समितिको बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ ।

(४) समितिको बैठकको निर्णय बहुमतको आधारमा हुनेछ र मत बराबर भएमा बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ ।

(५) समितिले आवश्यक देखेमा फोहरमैला व्यवस्थापन सम्बन्धी कुनै स्वदेशी वा विदेशी विशेषज्ञ वा सम्बन्धित पदाधिकारीलाई समितिको बैठकमा पर्यवेक्षकको रुपमा भाग लिन आमन्त्रण गर्न सक्नेछ ।

(६) समितिको निर्णय सदस्यसचिवद्वारा प्रमाणित गरिनेछ ।

(७) समितिको बैठक सम्बन्धी अन्य कार्यविधि समिति आफैले निर्धारण गरे बमोजिम  हुनेछ ।

३२.   उपसमिति वा कार्यदल गठन गर्न सक्नेः (१) समितिले केन्द्रले गर्नु पर्ने कार्य सुचारु रुपले सम्पादन गर्नको लागि आवश्यकता अनुसार विषयसग सम्बन्धित विशेषज्ञ समेत रहेको उपसमिति वा कार्यदल गठन गर्न सक्नेछ । 

 (२) उपदफा (१) बमोजिम गठित उपसमिति वा कार्यदलको काम, कर्तव्य र अधिकार तथा कार्यावधि सो उपसमिति वा कार्यदल गठन गर्दाका बखत समितिले तोकिदिए बमोजिम हुनेछ । 

३३. कार्यकारी निर्देशक सम्बन्धी व्यवस्थाः (१) केन्द्रको प्रमुख प्रशासकीय अधिकारीको रुपमा काम गर्न कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरी फोहरमैला व्यवस्थापनको क्षेत्रमा कम्तीमा दश वर्षको अनुभव हासिल गरेको व्यक्तिलाई नेपाल सरकारले केन्द्रको कार्यकारी निर्देशक पदमा नियुक्त गर्नेेछ ।

(२) कार्यकारी निर्देशकको पदावधि चार वर्षको हुनेछ र निजको पुनः नियुक्ति हुन सक्नेछ ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह नगरेमा, पद अनुरुपको आचरण नगरेमा वा कार्य सम्पादन क्षमताको कमी वा कार्य प्रभावकारितामा कमी रहेको पाइएमा नेपाल सरकारले निजलाई पदावधि सकिनु अगावै पदबाट हटाउन सक्नेछ ।

तर निजलाई पदबाट हटाउनु अघि आफ्नो सफाई पेश गर्ने मनासिब मौकाबाट वञ्चित गरिने छैन ।

(४) कार्यकारी निर्देशकको पारिश्रमिक, सुविधा तथा सेवाका अन्य शर्तहरु तोकिए बमोजिम हुनेछ ।

३४. केन्द्रका कर्मचारीः (१) केन्द्रको कार्य सम्पादनको लागि आवश्यक संख्यामा कर्मचारीहरु रहनेछन् ।

  (२) केन्द्रका कर्मचारीको नियुक्ति, सेवाको शर्त, पारिश्रमिक तथा सुविधा सम्बन्धी व्यवस्था केन्द्रको विनियममा तोकिए बमोजिम हुनेछ ।

३५. केन्द्रको कोषः (१) केन्द्रको एउटा छुट्टै कोष रहनेछ ।

(२) उपदफा (१) बमोजिमको कोषमा देहायका रकमहरु रहनेछन्ः

(क)  नेपाल सरकारबाट प्राप्त रकम,

(ख)  केन्द्रले अनुसन्धान कार्य वा परामर्श सेवा प्रदान गरे बापत प्राप्त रकम,

(ग)  अन्तर्राष्ट्रिय संघ, संस्था, विदेशी सरकार वा निकायबाट ऋण वा अनुदान सहयोगको रुपमा प्राप्त रकम,

(घ)  अन्य कुनै स्रोतबाट प्राप्त रकम ।

(३) केन्द्रको नामबाट गरिने सबै खर्च उपदफा (१) बमोजिमको कोषबाट व्यहोरिनेछ । 

(४) केन्द्रले उपदफा (२) को खण्ड (ग) बमोजिमको रकम प्राप्त गर्नको लागि नेपाल सरकार, अर्थ मन्त्रालयको पूर्वस्वीकृति लिनु पर्नेछ ।

(५) कोषमा रहने रकम समितिले तोकेको बैड्ढ वा वित्तीय संस्था सम्बन्धी प्रचलित कानून बमोजिम वर्गको इजाजतप्राप्त बैङ्कमा खाता खोली जम्मा गरिनेछ ।

(६) केन्द्रको खाताको सञ्चालन केन्द्रको विनियममा तोकिए बमोजिम हुनेछ ।

३६. लेखा र लेखापरीक्षणः (१) केन्द्रको आयव्ययको लेखा नेपाल सरकारले अपनाएको लेखा प्रणाली बमोजिम राखिनेछ ।

(२) केन्द्रको लेखापरीक्षण महालेखा परीक्षकबाट हुनेछ ।

(३) केन्द्रले तोकिए बमोजिम आन्तरिक नियन्त्रण प्रणाली राख्नु पर्नेछ ।

(४) नेपाल सरकारले चाहेमा केन्द्रको आयव्ययको लेखा, तत्सम्बन्धी कागजात तथा नगदी, जिन्सी समेत जुनसुकै बखत जाँच्न वा जँचाउन सक्नेछ ।

३७. वार्षिक प्रतिवेदनः (१) केन्द्रले प्रत्येक आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र आफूले वर्षभरिमा गरेको काम कारबाहीको वार्षिक प्रतिवेदन नेपाल सरकार समक्ष पेश गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिमको प्रतिवेदनमा अन्य कुराको अतिरिक्त केन्द्रले वर्षभरिमा गरेको कामको संक्षिप्त विवरण, उपलब्धि र त्यसको लागत, भावी रणनीति तथा कार्यक्रम र आर्थिक स्थिति सम्बन्धी विवरण उल्लेख गर्नु पर्नेछ । 

 (३) उपदफा (१) बमोजिमको प्रतिवेदन केन्द्रले सार्वजनिक गर्नु पर्नेछ । 

परिच्छेद–९ कसूूर तथा सजाय

३८. कसूरः कसैले देहायको कुनै काम गरेमा यस ऐन बमोजिम कसूर गरेको मानिनेछः

 (क)  स्थानीय तहले तोकिदिएको समय र स्थान बाहेक अन्यत्र फोहरमैला निष्काशन गर्ने,

(ख)  कण्टेनर वा फोहरमैला सङ्कलन केन्द्रमा राखिएको फोहरमैला अनधिकृत तवरले प्रयोग गर्ने

(ग)  फोहरमैला सड्ढलन केन्द्रमा राखिएको कण्टेनर तोडफोड गर्ने, क्षति पुर्याउने, राखिएको स्थानबाट हटाउने वा सङ्कलन केन्द्रमा कुनै नोक्सानी पुर्याउने,

(घ)  यस ऐन बमोजिम अनुमति नलिई फोहरमैला व्यवस्थापनको कार्य गर्ने,

(ङ) यस ऐन बमोजिम फोहरमैला व्यवस्थापनको लागि प्रदान गरिएको अनुमतिपत्रमा उल्लिखित शर्तहरु उल्लङ्घन गर्ने,

(च)  फोहरमैला सङ्कलन केन्द्र, कण्टेनर वा फोहरमैला थुपार्ने ठाउँमा कुनै पनि किसिमको हानिकारक पदार्थ फाल्ने, राख्ने वा थुपार्ने,

(छ) घर, कम्पाउण्ड तथा परिसरको फोहरमैला सडक वा अन्य सार्वजनिक स्थानमा राख्ने, फाल्ने वा थुपार्ने,

(ज)  फोहरबाट निस्केको दूषित पानी (लिचेट) वा ढल चुहाई अन्य व्यक्तिको घर वा जग्गा प्रदूषित गराउने,

(झ)  सडक वा अन्य सार्वजनिक स्थानमा सरसफाई तथा फोहरमैला सङ्कलन गर्न स्थानीय तहले तोकेको समय वा सफाई गर्दाको समयमा त्यस्तो ठाउँमा कुनै पनि किसिमको सवारी साधन बिसाउने वा बिसाइराखेको सवारी साधन हटाउन इन्कार गर्ने,

(ञ)  स्थानीय तहले तोकेको ठाउँमा बाहेक जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने गरी सडक वा अन्य सार्वजनिक स्थानमा कुनै पनि किसिमको हानिकारक फोहरमैला राख्ने, फाल्ने, थुपार्ने वा निष्काशन गर्ने,

(ट)  रासायनिक फोहरमैला, औद्योगिक फोहरमैला, स्वास्थ्य संस्थाजन्य फोहरमैला वा हानिकारक फोहरमैला जथाभावी फाल्ने, राख्ने वा निष्काशन गर्ने वा गराउने,

 (ठ)  औद्योगिक प्रतिष्ठान वा स्वास्थ्य संस्थाले उद्योग वा स्वास्थ्य संस्थाबाट निस्कने हानिकारक फोहरमैला जथाभावी फाल्ने, राख्ने वा निष्काशन गर्ने वा गराउने

(ड) फोहरमैला सङ्कलन, ढुवानी तथा फोहरमैला व्यवस्थापनमा बाधा अवरोध सिर्जना गर्ने

(ढ)  फोहरमैला सङ्कलन, ढुवानी तथा अन्तिम निष्काशन स्थलमा अवरोध, बन्द, घेराउ गर्ने वा फोहरमैला व्यवस्थापन सम्बन्धी कार्यमा हडताल गर्ने,

(ण)  फोहरमैला अत्यधिक उत्पादन हुने वस्तु भनी नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी प्रतिबन्ध लगाएको कुनै वस्तुको उत्पादन तथा बिक्री वितरण गर्ने,

(त)  दफा ४४ विपरीत रासायनिक विषादीको आयात गर्ने वा म्याद नाघेको (समयावधि सकिएको) औषधि नष्ट गर्ने जिम्मेवारी पूरा नगर्ने

(थ) स्रोत मै फोहरमैलाको पृथकीकरण नगरी दफा ६ को विपरीत फोहरमैला मिसाएर निष्काशन गर्ने,

(द)  मरेको वा मारेको पशुपक्षी र सोको लादी, प्वाँ, हड्डी तथा माछाको कत्ला आदि सार्वजनिक स्थल, सडक, गल्ली, चोकमा राख्ने, फाल्ने वा थुपार्ने ।

३९. सजायः (१) दफा ३८ को खण्ड (क) बमोजिमको कसूर गर्ने व्यक्तिलाई स्थानीय तहले पहिलो पटक भए पाँच हजार रुपैयाँसम्म जरिबाना, दोस्रो पटक सोही कसूर गरेमा पाँच हजार रुपैयाँदेखि दश हजार रुपैयाँसम्म जरिबाना र सोही कसूर तेस्रो वा सोभन्दा बढी पटक गरेमा प्रत्येक पटकको लागि पन्ध्र हजार रुपैयाँका दरले जरिबाना गरी फोहरमैला उठाउँदा लाग्ने खर्च समेत निजबाट असूल उपर गर्न सक्नेछ ।

(२) दफा ३८ को खण्ड (ख) र (झ) बमोजिमको कसूर गर्नेलाई स्थानीय तहले पाँच सय रुपैयाँदेखि पाँच हजार रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।

 (३) दफा ३८ को खण्ड (ग) बमोजिमको कसूर गर्नेलाई स्थानीय तहले पन्ध्र हजार रुपैयाँदेखि पचास हजार रुपैयाँसम्म जरिबाना गरी कण्टेनर वा सङ्कलन केन्द्र व्यवस्थापन गर्न लाग्ने खर्च असूल उपर गर्न सक्नेछ । 

(४) दफा ३८ को खण्ड (घ) र (ङ) बमोजिमको कसूर गर्नेलाई स्थानीय तहले पन्ध्र हजार रुपैयाँदेखि पचास हजार रुपैयासम्म जरिबाना गरी अनुमति नलिएसम्म त्यस्तो कार्य गर्न रोक  लगाउनेछ । 

(५) दफा ३८ को खण्ड (च) बमोजिमको कसूर गर्नेलाई स्थानीय तहले पाँच हजार रुपैयाँदेखि पन्ध्र हजार रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ र त्यस्तो वस्तु वा पदार्थबाट कुनै क्षति भइसकेको भए त्यस्तो क्षति बापतको रकम समेत कसूरदारबाट असूल उपर गर्न सक्नेछ । 

(६) दफा ३८ को खण्ड (छ), (ज) र (द) बमोजिमको कसूर गर्नेलाई स्थानीय तहले पाँच हजार रुपैयाँदेखि पन्ध्र हजार रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।

(७) दफा ३८ को खण्ड (ञ) बमोजिमको कसूर गर्नेलाई स्थानीय तहले तीस हजार रुपैयादेखि पचास हजार रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।

(८) दफा ३८ को खण्ड (ट), (ठ) र (त) बमोजिमको कसूर गर्नेलाई स्थानीय तहले पचास हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ र सोही कसूर पुनः गरेमा पहिलो पटक गरेको जरिबानाको दोब्बर जरिबाना गरी प्रचलित कानून बमोजिम अनुमति रद्द गर्नको लागि सम्बन्धित निकायमा लेखी पठाउन सक्नेछ ।

(९) दफा ३८ को खण्ड (ड) र (ढ) बमोजिमको कसूर गर्नेलाई सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीले दश हजार रुपैयाँदेखि पचास हजार रुपैयाँसम्म जरिबाना वा पन्ध्र दिनदेखि तीन महिनासम्म कैद वा दुवै सजाय गर्न सक्नेछ ।

(१०) दफा ३८ को खण्ड (ण) बमोजिमको कसूर गर्नेलाई सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीले पाँच हजार रुपैयाँदेखि दश हजार रुपैयासम्म जरिबाना वा तीन महिनासम्म कैद वा दुवै सजाय गर्न सक्नेछ ।

 (११) दफा ३८ को खण्ड (थ) बमोजिमको कसूर गर्नेलाई सम्बन्धित स्थानीय तहले प्रत्येक पटक पाँच सय रुपैयाँ जरिबाना गर्न सक्नेछ ।

४०. सेवा सुविधा रोक्का गर्न सकिनेः (१) यस ऐन बमोजिम तोकिएको सेवा शुल्क नबुझाउने वा बुझाउन अटेर गर्ने व्यक्तिको स्थानीय तहले उपलब्ध गराउने कुनै सेवा सुविधाको अतिरिक्त विद्युत तथा टेलिफोन सेवा रोक्का गरिदिन तथा निजको नामको घर जग्गा बिक्री रोक्का गर्नको लागि स्थानीय तहले सम्बन्धित निकायमा लेखी पठाउन सक्नेछ । 

  तर यसरी लेखी पठाउनु अघि सम्बन्धित व्यक्तिलाई सो सम्बन्धमा लिखित रुपमा जानकारी दिनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम लेखी आएमा त्यस्तो सेवा सुविधा रोक्नु सम्बन्धित निकायको कर्तव्य हुनेछ ।

४१. सरकारवादी हुनेः दफा ३८ को खण्ड (ड), (ढ) र (ण) बमोजिमको कसूरमा नेपाल सरकारवादी भई मुद्दा चल्नेछ र सो कसूर सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ को अनुसूची१ मा समावेश भएको मानिनेछ । 

४२. पुनरावेदन दिन सक्नेः दफा ३९ बमोजिम गरेको सजायको आदेश उपर चित्त नबुझ्ने व्यक्तिले त्यस्तो आदेश भएको मितिले पैंतीस दिनभित्र सम्बन्धित जिल्ला अदालतमा पुनरावेदन दिन सक्नेछ ।

परिच्छेद–१० विविध

४३. स्वास्थ्य संस्थाजन्य फोहरमैलाको व्यवस्थापनः (१) स्वास्थ्य संस्था स्थापना गर्नको लागि प्रचलित कानून बमोजिम अनुमति दिने निकायले त्यस्तो स्वास्थ्य संस्था स्थापना तथा सञ्चालनको लागि अनुमति दिनु पूर्व फोहरमैला व्यवस्थापन सम्बन्धी उपयुक्त व्यवस्था गरे वा नगरेको यकिन गरी उपयुक्त व्यवस्था गरेको भएमा मात्र अनुमति दिनु पर्नेछ ।

 (२) उपदफा (१) बमोजिम अनुमति दिंदा स्वास्थ्य संस्थाले फोहरमैला व्यवस्थापन सम्बन्धमा पालन गर्नु पर्ने विशेष शर्त वा कायम गर्नु पर्ने मापदण्ड समेत तोकिदिन सक्नेछ ।

४४.  रासायनिक विषादी सम्बन्धी व्यवस्थाः (१) रासायनिक विषादीको आयात गर्दा तोकिए बमोजिमको मापदण्डको अधीनमा रही गर्नु पर्नेछ ।

(२) समयावधि सकिएको रासायनिक विषादी तोकिएको मापदण्डको अधीनमा रही नष्ट गर्ने जिम्मेवारी सम्बन्धित व्यक्ति वा संस्थाको हुनेछ ।

४५. फोहरमैला व्यवस्थापनमा संलग्न सामुदायिक क्षेत्रका निकायकोे अभिलेख राख्नेः (१) प्रत्येक स्थानीय तहले आफ्नो क्षेत्रभित्रको फोहरमैला व्यवस्थापनमा काम गर्ने सामुदायिक क्षेत्रको अद्यावधिक विवरण राख्न सक्नेछ । 

  (२) उपदफा (१) बमोजिम राखिने विवरणमा त्यस्तो क्षेत्रले काम गरिरहेको क्षेत्र र प्रकृति, जनशक्ति, आर्थिक तथा प्राविधिक स्रोत तथा स्थानीय तहले तोेकेको अन्य विवरण समेत उल्लेख गर्न सकिनेछ ।

४६. जानकारी गराउनु पर्नेः कसैले विदेशी व्यक्ति, संघ, संस्था वा दातृ निकायबाट सहयोग लिई फोहरमैला व्यवस्थापन सम्बन्धी कार्यक्रम सञ्चालन गर्दा सम्बन्धित स्थानीय तह मार्फत मन्त्रालयलाई जानकारी गराउनु पर्नेछ । 

४७. अधिकार प्रत्यायोजनः (१) नीतिगत विषयमा निर्णय गर्नु पर्ने बाहेक परिषद्ले आफूलाई प्राप्त अधिकारहरुमध्ये आवश्यकता अनुसार केही अधिकार परिषद्को अध्यक्ष वा सदस्यलाई प्रत्यायोजन गर्न सक्नेछ । 

(२) …………..

(३) …………….

४८. नेपाल सरकारसँग सम्पर्कः परिषद् वा  नेपाल सरकारसग सम्पर्क राख्दा स्थानीय विकास मन्त्रालय मार्फत राख्नु पर्नेछ ।

४९. पुरस्कार दिन सकिनेः

(१) फोहरमैला व्यवस्थापनका लागि नवीनतम अवधारणाहरुको विकास गर्ने, त्यस्तो कार्यलाई प्रोत्साहित गर्ने तथा फोहरमैला व्यवस्थापन कार्यमा योगदान गर्ने व्यक्ति वा संस्थालाई“मन्त्रालयले”  सम्मान स्वरुप उपयुक्त पुरस्कार दिन सक्नेछ । 

(२) यस ऐनको प्रतिकूल हुने गरी जथाभावी फोहरमैला राख्ने, थुपार्ने वा फाल्ने व्यक्तिको बारेमा प्रमाण सहित उजुरी दिने व्यक्तिलाई सम्बन्धित स्थानीय तहले सम्मान एवं नगद पुरस्कार समेत दिन सक्नेछ । 

५०. नियम तथा विनियम बनाउने अधिकारः (१) यस ऐनको उद्देश्य कार्यान्वयन गर्न नेपाल सरकारले आवश्यक नियम बनाई लागू गर्न सक्नेछ ।

(२) ………….

तर नेपाल सरकारलाई आर्थिक व्ययभार पर्ने विषयमा विनियम बनाउँदा नेपाल सरकार, अर्थ मन्त्रालयको स्वीकृति लिनु पर्नेछ ।

५१. मापदण्ड वा निर्देशिका जारी गर्न सक्नेः

“(१) यो ऐन तथा यस ऐन अन्तर्गत बनेको नियमावलीको अधिनमा रही स्थानीय तहले विभिन्न प्रकृतिका फोहोरमैला व्यवस्थापनको लागि बेग्लाबेग्लै मापदण्ड जारी गर्न सक्नेछ।”

 

(२) सम्बन्धित स्थानीय तहले फोहरमैला व्यवस्थापन सम्बन्धमा आवश्यक निर्देशिका बनाई लागू गर्न सक्नेछ ।

५२. प्रचलित कानून बमोजिम हुनेः फोहरमैला व्यवस्थापन सम्बन्धी विषयमा यस ऐनमा उल्लेख भएका कुराहरुमा यसै बमोजिम र अन्य कुराहरुमा प्रचलित कानून बमोजिम हुनेछ ।

५२क.सम्पत्ति तथा दायित्व नेपाल सरकारमा सर्ने: फोहोरमैला व्यवस्थापन केन्द्र विघटन       भएपछि त्यसको सम्पूर्ण सम्पत्ति तथा दायित्व नेपाल सरकारमा सर्नेछ।”

५३. खारेजी र बचाऊः (१) फोहरमैला (प्रबन्ध तथा स्रोत परिचालन) ऐन, २०४४ खारेज गरिएको छ ।

(२) फोहरमैला (प्रबन्ध तथा स्रोत परिचालन) ऐन, २०४४ बमोजिम भए गरेका काम कारबाही यसै ऐन बमोजिम भए गरेको मानिनेछ ।

(३) उपदफा (१) बमोजिमको ऐन बमोजिम गठित फोहरमैला प्रबन्ध तथा स्रोत परिचालन केन्द्रको सम्पूर्ण चल, अचल सम्पत्ति, कर्मचारी तथा दायित्व यस ऐन अन्तर्गतको केन्द्रमा सर्नेछ ।