६. प्रज्ञा प्रतिष्ठानको सङ्गठन : प्रज्ञा प्रतिष्ठानको सङ्गठन देहाय बमोजिम हुनेछ र यिनीहरूको सामूहिक रूप नै प्रज्ञा प्रतिष्ठानको स्वरूप हुनेछ :–
(क) सभा,
(ख) परिषद्, र
(ग) सेवा आयोग ।
७. सभा : (१) प्रज्ञा प्रतिष्ठानको सर्वाेच्च निकायको रूपमा एक प्राज्ञसभा रहनेछ ।
(२) सभाको गठन देहाय बमोजिम हुनेछ :–
(क) कुलपति – अध्यक्ष
(ख) उपकुलपति – उपाध्यक्ष
(ग) सचिव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय – सदस्य
(घ) ललितकलाको क्षेत्रसँग सम्बन्धित विशिष्ट व्यक्तिहरुमध्येबाट समावेशीतालाई ध्यानमा राखी महिलाहरु समेतको उपयुक्त प्रतिनिधित्व हुने गरी प्रधानमन्त्रीले मनोनीत गरेको चौबीसजना – सदस्य
(ङ) सचिव – सदस्य–सचिव
(३) उपदफा (२) बमोजिमको मनोनीत सदस्यको पदावधि चार वर्षको हुनेछ ।
(४) कुनै कारणले सभाका मनोनीत सदस्यको पद रिक्त हुन गएमा बाँकी अवधिको लागि त्यस्तो सदस्य जुन विधा वा क्षेत्रबाट मनोनयन भएको हो सोही विधा वा क्षेत्रबाट अर्को व्यक्तिलाई मनोनयन गरिनेछ ।
(५) सभाका सदस्यहरुको सुविधा तोकिए बमोजिम हुनेछ ।
८. सिफारिस समिति : (१) पदाधिकारी तथा सभामा मनोनयन हुने सदस्यको नियुक्ति वा मनोनयनको लागि प्रधानमन्त्री समक्ष नाम सिफारिस गर्न देहाय बमोजिमको एक सिफारिस समिति रहनेछ :–
(क) संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री – अध्यक्ष
(ख) ललितकलाको क्षेत्रमा ख्यातिप्राप्त व्यक्तिहरुमध्येबाट प्रधानमन्त्रीले तोकेकोे दुईजना – सदस्य
(२) उपदफा (१) बमोजिमको समितिले सभाको सदस्यमा मनोनयनको लागि नाम सिफारिस गर्दा ललितकलाको क्षेत्रमा अध्ययन तथा अनुसन्धान गरेका वा सो विधामा ख्यातिप्राप्त व्यक्तिहरुमध्येबाट सम्भव भएसम्म ललितकलाको विभिन्न विधा र क्षेत्रको प्रतिनिधित्व हुने र सबै जाति, लिङ्ग, भाषाभाषी समेतलाई समेट्ने गरी नाम सिफारिस गर्नु पर्नेछ ।
(३) उपदफा (१) बमोजिमको समितिले पदाधिकारीको नियुक्तिको लागि नाम सिफारिस गर्दा सभाका मनोनीत सदस्यहरुमध्येबाट गर्नेछ ।
(४) उपदफा (१) बमोजिमको समितिले सिफारिस गर्ने सम्बन्धमा अवलम्बन गर्ने कार्यविधि सो समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ ।
९. सभाको काम, कर्तव्य र अधिकार : सभाको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :–
(क) प्रज्ञा प्रतिष्ठानको नीति निर्धारण गर्ने,
(ख) प्रज्ञा प्रतिष्ठानको वार्षिक योजना तथा कार्यक्रम स्वीकृत गर्ने,
(ग) प्रज्ञा प्रतिष्ठानको वार्षिक बजेट पारित गर्ने,
(घ) विद्वत्वृत्ति, सम्मान तथा पुरस्कार अनुमोदन गर्ने,
(ङ) परिषद्लाइ आवश्यक निर्देशन दिने र मार्गदर्शन गर्ने,
(च) परिषद्काे कामको अनुगमन तथा मूल्याङ्कन गर्ने,
(छ) प्रज्ञा प्रतिष्ठानको नियम स्वीकृत गर्ने,
(ज) तोकिए बमोजिमका काम गर्ने ।
१०. सभाको बैठक : (१) सभाको बैठक वर्षको कम्तीमा दुईपटक बस्नेछ ।
(२) सभाको बैठक सभाको अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ ।
(३) सभाको बैठक हुनुभन्दा कम्तीमा पन्ध्र दिन अगावै बैठकमा छलफल हुने विषयको कार्यसूची सहितको सूचना सभाको सदस्य–सचिवले सबै सदस्यहरुलाई दिनु पर्नेछ ।
(४) सभामा तत्काल कायम रहेका सदस्य संख्याको पचास प्रतिशतभन्दा बढी सदस्यहरु उपस्थित भएमा सभाको बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ ।
(५) सभाको बैठकको अध्यक्षता सभाको अध्यक्षले र निजको अनुपस्थितिमा उपाध्यक्षले गर्नेछ ।
(६) सभाको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकमा अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ ।
(७) सभाको बैठकको निर्णय सभाको सदस्य–सचिवले प्रमाणित गरी राख्नेछ ।
(८) सभाले प्रज्ञा प्रतिष्ठानको मानार्थ प्राज्ञ तथा आजीवन सदस्यलाई सभाको बैठकमा पर्यवेक्षकको रुपमा भाग लिन आमन्त्रण गर्न सक्नेछ ।
(९) सभाको बैठक सम्बन्धी अन्य कार्यविधि सभा आफैले निर्धारण गरे बमोजिम हुनेछ ।
११. परिषद््को गठन : (१) प्रज्ञा प्रतिष्ठानको कार्यकारी निकायको रूपमा काम गर्न एक प्राज्ञ परिषद् रहनेछ ।
(२) परिषद्को गठन देहाय बमोजिम हुनेछ :–
(क) कुलपति – अध्यक्ष
(ख) उपकुलपति – उपाध्यक्ष
(ग) सभाका मनोनीत सदस्यहरुमध्येबाट कम्तीमा दुईजना महिला सहित सम्भव भएसम्म विभिन्न जात, जाति,
भाषाभाषीको प्रतिनिधित्व हुने गरी प्रधानमन्त्रीबाट मनोनीत छजना – सदस्य
(घ) सचिव – सदस्य–सचिव
(३) कुनै कारणले उपदफा (२) को खण्ड (ग) बमोजिमका सदस्यको पद रिक्त हुन गएमा बाँकी अवधिको लागि त्यस्तो सदस्य जुन विधा वा क्षेत्रबाट मनोनयन भएको हो सोही विधा वा क्षेत्रबाट अर्को व्यक्तिलाई मनोनयन गरिनेछ ।
१२. परिषद्काे काम, कर्तव्य र अधिकार : परिषद्काे काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :–
(क) सभाले गरेको निर्णय कार्यान्वयन गर्ने,
(ख) सभाले दिएको निर्देशन पालना गर्ने,
(ग) लेखापरीक्षणको प्रतिवेदन सभा समक्ष पेश गर्ने,
(घ) सचिवले पेश गरेको वार्षिक कार्यक्रम, बजेट, प्रगति प्रतिवेदन तथा अन्य प्रतिवेदन सम्बन्धमा छलफल तथा आवश्यकता अनुसार संशोधन गरी अनुमोदनका लागि सभा समक्ष पेश गर्ने,
(ङ) प्रज्ञा प्रतिष्ठानको चल अचल सम्पत्तिको व्यवस्थापन, सञ्चालन, सरक्षण र रेखदेख गर्ने, गराउने,
(च) प्रज्ञा प्रतिष्ठानको कोषको व्यवस्था र सञ्चालन गर्ने,
(छ) प्रज्ञा प्रतिष्ठानको लागि प्राप्त आर्थिक तथा अन्य सहयोग ग्रहण गर्ने,
(ज) विद्वत्वृत्ति, सम्मान, कदर तथा पुरस्कार अनुमोदनको लागि सभामा पेश गर्ने,
(झ) परिषद्को काम कारबाहीको सम्बन्धमा आवश्यकता अनुसार समिति, उपसमिति वा कार्यटोली गठन गर्ने र त्यस्तो समिति, उपसमिति वा कार्यटोलीको काम, कर्तव्य तथा अधिकार तोक्ने,
(ञ) तोकिए बमोजिमका अन्य काम गर्ने ।
१३. परिषद्को बैठक : (१) परिषद्को बैठक दुई महिनामा कम्तीमा एकपटक बस्नेछ ।
(२) परिषद्को बैठक परिषद्को अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ ।
(३) परिषद्को बैठक हुनुभन्दा कम्तीमा चौबीस घण्टा अगावै बैठकमा छलफल हुने विषयको कार्यसूची सहितको सूचना परिषद्को सदस्य–सचिवले सबै सदस्यहरुलाई दिनु पर्नेछ ।
(४) परिषद्मा तत्काल कायम रहेका सदस्य संख्याको पचास प्रतिशतभन्दा बढी सदस्यहरु उपस्थित भएमा परिषद्को बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ ।
(५) परिषद्को बैठकको अध्यक्षता परिषद्को अध्यक्षले र निजको अनुपस्थितिमा उपाध्यक्षले गर्नेछ ।
(६) परिषद्कोे बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकमा अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ ।
(७) परिषद्कोे बैठकको निर्णय परिषद्कोे सदस्य–सचिवले प्रमाणित गरी राख्नेछ ।
(८) परिषद्कोे बैठक सम्बन्धी अन्य कार्यविधि परिषद् आफैले निर्धारण गरे बमोजिम हुनेछ ।