Skip to contentSkip to left sidebar Skip to footer

नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३

नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३

लालमोहर र प्रकाशित मिति

२०५३।८।५

संशोधन गर्ने ऐन                                                                                                            प्रमाणीकरण र प्रकाशन मिति
१. गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६                          २०६६।१०।०७

२. नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५          २०७५।११।१९

२०५३ सालको ऐन नं. ७

………….

नेपाल नागरिक उड्डयन प्राधिकरणको स्थापना गर्न बनेको ऐन

प्रस्तावनाः नेपाल नागरिक उड्डयन (सिभिल एभिएशन) को विकास तथा विस्तार गर्न र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई सम्पर्कको लागि हवाई उडान, हवाई सञ्चार, हवाई पथ प्रदर्शन (एयर नेभिगेशन) र हवाई परिवहन (एयर ट्रान्स्पोर्टेशन) सेवाको सञ्चालन सुरक्षित, नियमित, स्तरीय र प्रभावकारी बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरणको स्थापना र सन्चालनको लागि व्यवस्था गर्न वाञ्छनीय भएकोले,
श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालको पच्चीसौं वर्षमा संसदले यो ऐन बनाएको छ ।

१. संक्षिप्त नाम विस्तार र प्रारम्भ

(१) यस ऐनको नाम “नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३” रहेको छ ।
(२) यो ऐन नेपाल  भर र अन्यत्र जहाँसुकै रहेको वा बसेको भए तापनि देहायका वायुयान र व्यक्तिहरूका सम्बन्धमा समेत लागू हुनेछ ।
(क) नेपाल नागरिक,
(ख) नेपाल  मा दर्ता भएको वायुयान तथा त्यसमा रहेको व्यक्ति ।
(३) यो ऐन नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मितिदेखि प्रारम्भ हुनेछ ।

२. परिभाषा

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “प्राधिकरण” भन्नाले दफा ३ बमोजिम स्थापना भएको नेपाल नागरिक उड्डयन प्राधिकरण सम्झनु पर्छ ।
(ख) “विमानस्थल” भन्नाले वायुयान प्रस्थान वा अवतरण गर्ने कामको निमित्त पूरा वा आंशिक रूपमा प्रयोग हुने कुनै निश्चित वा सीमित जल वा स्थल क्षेत्र सम्झनु पर्छ र सो शब्दले त्यस क्षेत्रमा रहेका वा त्यस क्षेत्रसंग सम्बन्धित सबै भवन, टहरा, जहाज, डुङ्गा र घाटलाई समेत जनाउँछ ।
(ग) “विमानस्थल क्षेत्र” भन्नाले विमानस्थल वा हवाई उडानको सुरक्षित सन्चालन तथा नियन्त्रण गर्ने वा तत्सम्बन्धी आवश्यक सूचना तथा जानकार िआदान प्रदान गर्ने कामको निमित्त प्रयोग हुने कुनै यन्त्र तथा सन्चार वा उड्डयन सहाय (नेभिगेशनल एड) उपकरणहरू जडान भएका वा नभएका सबै स्थान, भवन, टहरा, टावर, जहाज, डुङ्गा र घाट सम्झनु पर्छ ।
(घ) “वायुयान” भन्नाले हावाको प्रक्रियाद्वारा वायुमण्डलमा आधारित हुन सक्ने जुनसुकै यन्त्र सम्झनु पर्छ र सो शब्दले जमिनसित गाँसिएको वा नगाँसिएको बेलुन, हवाई जहाज, हेलिकप्टोर, चङ्गा, ग्लाइडर, ह्यांग ग्लाइडर, माइक्रोलाइट, बेलुन र उड्ने अन्य जुनसुकै यन्त्रलाई समेत जनाउँछ ।
(ङ) “हवाई उडान अनुमति” भन्नाले नियमित (सेडुल्ड), नन्सेडुल्ड, चार्टर, निजी, आकस्मिक र कूटनीतिक हवाई उडानको निमित्त प्रदान गरिएको अनुमति सम्झनु पर्छ ।
(च) “योजना” भन्नाले दफा ६ बमोजिमको हवाई यातायात सेवा तथा सुविधा विकास योजना सम्झनु पर्छ ।
(छ) “याुत्र सेवा सुविधा” भन्नाले विमानस्थल क्षेत्रभित्र उपलब्ध गराइने हुलाक, बैंक मुद्रा सटही काउण्टर समेत), बिमा, टेलिफोन, कर मुक्त पसल (ड्युटी फ्री शप), क्यूरियो पसल, पुस्तक पसल, सूचना केन्द्र, चमेना गृह, शौचालय, यात्रु कक्ष, प्रतिक्षा कक्ष, विश्राम कक्ष, टिकट जाँच कक्ष, अध्यागमन तथा भन्सार जाँच कक्ष, यात्रु तथा यात्रुहरूको मालसामानको सुरक्षा तथा ओसार पसार गर्ने व्यक्ति (पोर्टर), मालसामान (ब्यागेज), मालसामानको सुरक्षा (लकर), सवारी साधन लगायत उपलब्ध गराइएका अन्य सुविधाहरू सम्झनु पर्छ ।
(ज) “वायुसेवा सञ्चालन संस्था” भन्नाले वायुयानद्वारा यात्रु डाँक तथा मालसामान ओसार पसार गर्ने जिम्मा लिई हवाई यातायात सेवा सञ्चालन गर्ने उद्देश्यले स्थापित संस्थान, कम्पनी, एजेण्ट, फर्म वा व्यक्ति सम्झनु पर्छ ।
(झ) “हवाई उडान सम्बन्धी प्रशिक्षण संस्था (फ्लाइङ्ग स्कूल)” भन्नाले हवाई उडान सञ्चालनसंग सम्बन्धित प्राविधिकहरूलाई हवाई उडान सम्बन्धी विषयमा तालीम प्रशिक्षण तथा यस्तै अन्य प्रकारको प्राविधिक ज्ञान दिने दिलाउने संस्था सम्झनु पर्छ र सो शब्दले यस्तै उद्देश्यले स्थापना भएका फ्लाइङ्ग क्लवलाई समेत जनाउँछ ।
(ञ) “वायुयान धनी” भन्नाले कुनै वायुयान माथि स्वामित्व भएको व्यक्ति, कम्पनी वा संघ संस्था सम्झनु पर्छ र सो शब्दले त्यस्तो कम्पनी वा संघ संस्थाका प्रबन्धक वा प्रबन्ध प्रतिनिधि (मेनेजिंग एजेण्ट) नियुक्त भएकोमा निजलाई समेत जनाउँछ ।
(ट) “समिति” भन्नाले दफा १३ बमोजिम गठित सञ्चालक समिति सम्झनु पर्छ ।
(ठ) “अध्यक्ष” भन्नाले समितिको अध्यक्ष सम्झनु पर्छ ।
(ड) “सदस्य” भन्नाले समितिको सदस्य सम्झनु पर्छ र सो शब्दले समितिको सदस्य–सचिवलाई समेत जनाउँछ ।
(ढ) “महानिर्देशक” भन्नाले दफा १९ बमोजिम नियुक्त महानिर्देशक सम्झनु पर्छ ।
(ण) “तोकिएको वा तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।

३. प्राधिकरणको स्थापना

(१) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उडान, हवाई सञ्चार, हवाई पथ प्रदर्शन एयर नेभिगेशन) र हवाई परिवहन (एयर ट्रान्स्पोर्टेशन) सेवाको सञ्चालन सुरक्षित, नियमित, स्तरीय र प्रभावकारी बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरण स्थापना गरिएको छ ।
(२) प्राधिकरणलाई अंग्रेजी भाषामा “सिभिल एभिएशन अथोरिटी अफ नेपाल” र छोटकरीमा “सि.ए.ए.एन.” भनिनेछ ।
(३) प्राधिकरणको प्रधान कार्यालय काठमाडौंमा रहनेछ ।

४. प्राधिकरण स्वशासित संस्था हुने

(१) प्राधिकरण अविच्छिन्न उत्तराधिकारवाला एक स्वशासित र संगठित संस्था हुनेछ ।
(२) प्राधिकरणको आफ्नोे एउटा छुट्टै छाप हुनेछ ।
(३) प्राधिकरणले व्यक्ति सरह चल अचल सम्पत्ति प्राप्त गर्न, उपभोग गर्न, बेच विखन गर्न वा अन्य किसिमले बन्दोबस्त गर्न सक्नेछ ।
(४) प्राधिकरणले व्यक्ति सरह आफ्नोे नामबाट नालिस उजूर गर्न र सो उपर पनि सोही नामबाट नालिस उजूर लाग्न सक्नेछ ।

५. प्राधिकरणको काम, कर्तव्य र अधिकार

यस ऐनमा अन्यत्र लेखिएको काम, कर्तव्य र अधिकारको अतिरिक्त प्राधिकरणको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :
(क) प्रचलित कानून बमोजिम इजाजत प्राप्त वायुसेवा सञ्चालन संस्थाहरूलाई वायुसेवा सञ्चालन गर्न तोकिए बमोजिम अनुमति तथा प्रमाणपत्र प्रदान गर्ने, निलम्बन गर्ने वा रद्द गर्ने ।
(ख) प्रचलित कानून बमोजिम इजाजत प्राप्त हवाई उडान सम्बन्धी प्रशिक्षण संस्थाको सञ्चालन गर्न तोकिए बमोजिम अनुमति तथा प्रमाणपत्र प्रदान गर्ने, निलम्बन गर्ने वा रद्द गर्ने ।
(ग) प्रचलित कानून बमोजिम इजाजत प्राप्त वायुयान तथा वायुयानको पार्टपूर्जाहरूको उत्पादन, मर्मत तथा परीक्षण सहितको विस्तृत मर्मत (ओभरहल) गर्ने संस्थाहरूलाई तोकिए बमोजिम अनुमति दिने तथा त्यस्तो संस्थामा काम गर्ने प्राविधिज्ञलाई तोकिए बमोजिम इजाजत, कार्य क्षमताको स्तरीकरण (रेटिङ्ग) तथा प्रमाणपत्र दिने, नवीकरण गर्ने, रद्द गर्ने, स्थगित गर्ने, फिर्ता गर्ने तथा त्यस्तो इजाजत कार्य क्षमताको स्तरीकरण (रेटिङ्ग) र प्रमाणपत्र दिने सम्बन्धमा आवश्यक योग्यता तोक्ने तथा परीक्षा लिने ।
(घ) वायुसेवा सञ्चालनसंग सम्बद्ध तोकिए बमोजिमको योग्यता प्राप्त व्यक्तिहरूलाई तोकिए बमोजिम इजाजत, कार्य क्षमताको स्तरीकरण (रेटिङ्ग) तथा प्रमाणपत्र दिने, नवीकरण गर्ने, रद्द गर्ने, स्थगित गर्ने, फिर्ता गर्ने तथा त्यस्तो इजाजत कार्य क्षमताका स्तरीकरण (रेटिङ्ग) र प्रमाणपत्र दिने सम्बन्धमा आवश्यक योग्यता तोक्ने र परीक्षा लिने ।
(ङ) अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको सदस्य राष्ट्र वा त्यस्तो राष्ट्रबाट अधिकार प्राप्त संघ संस्थाबाट वायु सेवा सञ्चालनसंग सम्बन्धित विषयहरूमा प्रदान गरेको इजाजत, कार्य क्षमताको स्तरीकरण (रेटिङ्ग) तथा प्रमाणपत्रहरू र वायुयान मर्मत तथा परीक्षण सहितको विस्तृत मर्मत (ओभरहल) गर्ने संस्थालाई नेपाली वायुयानको मर्मत तथा परीक्षण सहितको विस्तृत मर्मत (ओभरहल) गर्न मान्यता दिने ।
(च) वायुयानको तोकिए बमोजिम दर्ता (रजिष्ट्रेशन) गर्ने र चिन्ह अंकित (मार्किङ्ग) गर्ने ।
(छ) वायुयानको तोकिए बमोजिम उडान योग्यताको प्रमाणपत्र (सर्टिफिकेट अफ एयरवर्दिनेश) दिने, नवीकरण गर्ने र खारेज गर्ने ।
(ज) वायुयानको उडान, वायुयानबाट यात्रु, डाँक तथा मालसामान ओसार्ने र अन्य औद्योगिक व्यवसाय सम्बन्धी कामको निमित्त वायुयानको प्रयोग गर्न पाउने अवस्थाहरू तोक्ने ।
(झ) वायुयान, वायुयान राख्ने स्थान, वायुयान उडान तथा वायुयान सेवा सञ्चालन सम्बन्धी व्यवस्था र वायुयान मर्मत तथा परीक्षण सहितको विस्तृत मर्मत ओभरहल) गर्ने स्थानको निरीक्षण गर्ने ।
(ञ) प्रचलित कानून बमोजिम नेपाल सरकारले निषेध गरेको क्षेत्र तथा स्थान बाहेक नेपाल भित्र वायुयान प्रवेश गर्ने, नेपाल बाट वायुयान प्रस्थान गर्ने, नेपाल माथि उडान गर्न पाउने अवस्था, हवाई मार्ग र वायुयान अवतरण गर्ने स्थानहरू तोक्ने ।
(ट) विमानस्थल तथा विमानस्थल क्षेत्रभित्र अग्नि निवारण तथा जीवनोद्धार सेवा उपलब्ध गराउने र खोज तथा उद्धार कार्यमा समन्वय गर्ने ।
(ठ) विमानस्थलमा भूमिस्थ सेवा (ग्राउण्ड ह्याण्डिलिंग) सेवा सञ्चालन गर्ने, गराउने ।
(ड) दृष्टिगत र यान्त्रिक उडान (भिजुयल एण्ड इन्टुस्मेण्ट फ्लाइट) गर्ने तथा हवाई मानचित्र (एरोनटिकल चार्टस्) को आवश्यकता तोक्ने, त्यस्तो मानचित्र तयारगर्ने तथा प्रचलन गर्ने र उडानको लागि मौसम सम्बन्धी सूचना आदान प्रदान गर्ने ।
(ढ) हवाई यातायात सेवा तथा सो सम्बन्धी विषयको प्राविधिक जाँचबुझ गर्न प्राधिकरणले आफ्नोे वायुयान राख्ने र प्रयोग गर्ने ।
(ण) हवाई उडान सेवा (एयर ट्राफिक सर्भिस), हवाई उडान सूचना सेवा (फ्लाइट इन्फर्मेशन सर्भिस), सचेत गर्ने सेवा (एलर्टिङ्ग सर्भिस), हवाई उडान सल्लाह सेवा एयर ट्राफिक एडभाइजरी सर्भिस), हवाई उडान नियन्त्रण सेवा (एयर ट्राफिक कन्ट्रोल सर्भिस) र हवाई पथ प्रदर्शन सेवा तथा सुविधा (एयर नेभिगेशन सर्भिस तथा फेसिलिटिज), क्षेत्र नियन्त्रण सेवा (एरिया कन्ट्रोल सर्भिस), पहुँच क्षेत्र नियन्त्रण सेवा (एप्रोच कन्ट्रोल सर्भिस) तथा विमानस्थल नियन्त्रण सेवा (एरोड्रम कन्ट्रोल सर्भिस) उपलब्ध गराउने ।
(त) हवाई सञ्चार सम्बन्धमा प्रयोग गरिने नापको इकाई तोक्ने, वायुयानद्वारा वा वायुयानमा सन्चारको निमित्त प्रयोग गरिने संकेत र त्यस्तो संकेत दिंदा प्रयोग हुने यन्त्र तोक्ने ।
(थ) वायुयानको आवाज नियन्त्रण गर्ने र वायुयान सन्चालनबाट वायुमण्डल तथा वातावरणमा हुने प्रदूषणमा रोक लगाउने ।
(द) खतराजन्य वस्तु तथा पदार्थहरूको वायुयानद्वारा ओसार पसार गर्न निषेध तथा नियन्त्रण गर्ने र परिमाण तोक्ने ।
(ध) हवाई उडान अनुमति प्रदान गर्ने र वायुयानका चालकहरूको काम, कर्तव्य, उडान तथा विश्राम समय तोक्ने ।
(न) हवाई यातायात सेवा सञ्चालनमा लाग्ने यात्रु तथा मालसामानको ढुवानीको भाडा दस्तूर निर्धारण गर्ने सम्बन्धमा नेपाल सरकारलाई सुझाव दिने ।
(प) विमानस्थल, विमानस्थल क्षेत्र र त्यहाँ उपलब्ध सेवा सुविधाहरूलाई अधिकतम आर्थिक लाभ र सदुपयोग हुने गरी तोकिए बमोजिम प्रयोग गर्ने वा गर्ने दिने ।
(फ) अन्तर्राष्ट्रिय नागरिक उड्डयन सम्बन्धी महासन्धि (कन्भेन्सन) बाट पारित भई नेपाल सरकारबाट अनुमोदन भएको र सो महासन्धि अन्तर्गत बनेको तथा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आई.सि.ए.ओ.) बाट निर्धारित मापदण्ड स्ट्याण्डर्डस्) र सिफारिशहरू (परिशिष्ट तथा दस्तावेज) आदि आवश्यकतानुसार लागू गर्ने, गराउने ।
(ब) प्राधिकरणको स्वामित्वमा रहेको भवन, वायुयान, यन्त्र, उपकरण आदि सम्पत्तिको आवश्यकतानुसार विमा गर्ने ।
(भ) नेपाल सरकारले तोकेका अन्य कार्यहरू गर्ने, गराउने ।

६. हवाई यातायात सेवा तथा सुविधा विकास योजना तर्जुमा र कार्यान्वयन

नेपाल  मा हवाई उडान, हवाई सञ्चार, हवाई पथ प्रदर्शन (एयर नेभिगेशन) र हवाई परिवहन (एयर ट्रान्स्पोर्टेशन) सेवाको सञ्चालन सुरक्षित, नियमित, स्तरीय र प्रभावकारी बनाउन प्राधिकरणले देहायका विषयहरूमा हवाई यातायात सेवा तथा सुविधा विकास योजनाको तर्जुमा गरी कार्यान्वयन गर्न सक्नेछ ः–
(क) विमानस्थलको निर्माण, पुनः निर्माण, विकास, विस्तार तथा मर्मत सम्भार गर्ने । यसरी नयाँ विमानस्थल निर्माण गर्दा नेपाल सरकारको पूर्व स्वीकृति लिनु पर्नेछ । विमानस्थलको निर्माण, पुनः निर्माण, विकास तथा विस्तार गर्दा वातावरणीय प्रभावको मूल्याङ्कन गराई सम्बन्धित निकायको पूर्व स्वीकृति समेत लिनु पर्नेछ ।
(ख) हवाई यातायात सेवा सञ्चालन गराउने ।
(ग) विमानस्थल, विमानस्थल क्षेत्र तथा हवाई मार्ग र सो सम्बन्धी स्थानहरूमा आवश्यक सञ्चार तथा उड्डयन सहाय उपकरण र अन्य यन्त्र तथा उपकरण आदिको व्यवस्था गर्ने ।
(घ) हवाई यातायात सेवा सञ्चालन सम्बन्धी विकसित तथा अत्याधुनिक प्रविधिहरूलाई प्रयोगमा ल्याउने र ल्याउन लगाउने ।
(ङ) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई मार्गहरूको विकास तथा विस्तार गर्ने ।
(च) हवाई यात्रुहरूको लागि आवश्यक स्तरीय यात्रु सेवा सुविधा उपलब्ध गराउने ।
(छ) हवाई यातायात सेवा तथा सुविधा विकास योजनासंग सम्बन्धित विषयहरूमा दक्ष जनशक्ति तयार गर्न उच्चस्तरीय तालीम तथा अध्ययनको प्रबन्ध गर्ने, गराउने ।
(ज) पर्यटन उद्योगलाई टेवा पु¥याउन हवाई यातायात, नागरिक उड्डयन तथा विमानस्थल र विमानस्थल क्षेत्रसंग सम्बद्ध कार्यहरू गर्ने ।
(झ) उपर्युक्त कार्यसंग सम्बन्धित अन्य कार्यहरू गर्ने, गराउने ।

७. निषेध गर्ने, नियमित गर्ने वा निर्देशन दिन सक्ने

(१) योजना कार्यान्वयन गर्ने प्रयोजनको लागि प्राधिकरणले देहायका विषयहरूमा आवश्यकता अनुसार निषेध गर्ने, नियमित गर्ने वा निर्देशन दिन सक्नेछ ः–
(क) विमानस्थल तथा विमानस्थल क्षेत्र र हवाई मार्गमा वा त्यसको आसपासमा प्रकाशको व्यवस्था गर्ने ।
(ख) विमानस्थल, विमानस्थल क्षेत्र र हवाई मार्गमा रहेको कुनै व्यक्तिको निजी घरजग्गा निजद्वारा वा सो घरजग्गा भोग चलन गर्ने व्यक्तिद्वारा प्रकाशको प्रबन्ध गर्न लगाउने र त्यसको लागि प्राधिकरणले खर्च व्यहोर्ने ।
(ग) विमानस्थल, विमानस्थल क्षेत्र र हवाई मार्गमा पर्ने जग्गामा कसैले कुनै भवन, टावर, लट्ठा इत्यादि बनाउँदा वा खडा गर्दा वा प्रकाशको व्यवस्था गर्दा पालन गर्नु पर्ने शर्त वा बन्देज तोक्ने ।
(घ) खण्ड (ग) बमोजिम तोकिएको शर्त बन्देजमा उल्लिखित उचाई भन्दा बढीको भवन, घर, टहरा, टावर, लट्ठा, रूख वा अन्य कुनै कुराको निर्माण गर्न वा खडा गर्न, उचाई बढाउन प्रतिबन्ध लगाउने वा भैरहेको त्यस्तो भवन, घर, टहरा, लट्ठा, रूख आदि पूरै वा केही भत्काउन, उखेल्न वा काट्न लगाउने ।
(ङ) विमानस्थल वा विमानस्थल क्षेत्रभित्र रहेका वायुयानलगायत अन्य कुनै सम्पत्ति वा यन्त्र वा उपकरणको सुरक्षाको निमित्त आवश्यक प्रबन्ध गर्ने ।
(२) उपदफा (१) बमोजिम प्राधिकरणले हवाई सुरक्षालाई ध्यानमा राखी विमानस्थल वा विमानस्थल क्षेत्रभित्रको कसैको चल, अचाल सम्पत्तिको भोग चलनमा शर्तयुक्त बन्देज लगाउन सक्नेछ र त्यस्तो बन्देज सम्बन्धी निर्णय गर्दा वा तत्सम्बन्धित सूचना वा आदेश जारी गर्दा बन्देज लगाउन परेको कारण समेत स्पष्ट खुलाउनु पर्नेछ ।

८. अरूको घर जग्गामा प्रवेश गर्ने अधिकार

(१) प्राधिकरणले तोकेको अधिकृतले प्राधिकरणको कामको सिलसिलामा विमानस्थल क्षेत्रको आसपास वा हवाई मार्गमा रहेको कुनै व्यक्तिको घर जग्गामा प्रवेश गर्न आवश्यक परेमा तत्काल त्यस्तो घर जग्गा प्रयोग गरिरहेको व्यक्तिलाई पूर्व सूचना दिएर प्रवेश गर्न सक्नेछ ।
तर कुनै दुर्घटना हुनबाट बचाउन वा त्यस्तो घर जग्गामा जडान भएको कुनै उपकरणको जरुरी मर्मत कार्य गर्नु परेमा वा त्यस्तै अन्य कुनै मनासिव कारण भएमा पूर्व सूचना नदिएर पनि जुनसुकै समयमा पनि प्राधिकरणको कुनै कर्मचारीले त्यस्तो घर जग्गामा प्रवेश गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम कुनै काम गर्नको निमित्त कसैको घर जग्गामा प्रवेश गर्ने प्राधिकरणको अधिकृत वा कर्मचारीले आफूले त्यस्तो घर जग्गामा गरेको काम सम्बन्धी प्रतिवेदन यथाशीघ्र प्राधिकरण समक्ष दिनु पर्नेछ ।

९. जग्गा प्राप्त गर्ने

(१) योजना कार्यान्वयन गर्न आवश्यक पर्ने जग्गा कसैको निजी भोगचलनमा रहेको भए त्यस वापतको क्षतिपूर्ति प्राधिकरणबाट दिलाउने गरी नेपाल सरकारले प्राप्त गरी प्राधिकरणलाई उपलब्ध गराईदिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम जग्गा प्राप्त गर्दा सो सम्बन्धी प्रचलित कानूनको कार्यविधि अपनाइनेछ ।

१०. आर्थिक स्रोत जुटाउन सक्ने

(१) प्राधिकरणले देहायका अधिकार प्रयोग गरी आफ्नोे कार्य सञ्चालन गर्न आवश्यक पर्ने आर्थिक स्रोत जुटाउन सक्नेछ ः–
(क) स्वदेशी संघ, संस्था, बैंक वा व्यक्तिबाट ऋण तथा अनुदान लिने,
(ख) नेपाल सरकारको स्वीकृति लिई विदेशी सरकार र विदेशी वा अन्तर्राष्ट्रिय संघ, संस्थाबाट ऋण तथा अनुदान लिने,
(ग) प्राधिकरणको कोषमा रहेको रकम लगानी गर्ने,
(घ) प्राधिकरणको स्वामित्वमा रहेको वायुयानलाई आय आर्जन गर्ने गरी सीमित मात्रामा उडान गर्ने,
(ङ) प्राधिकरणको स्वामित्वमा रहेका विमानस्थल तथा विमानस्थल क्षेत्रमा वायुयान अवतरण (लैण्डिङ्ग), गृह आश्रय (हाउसिङ्ग), भूमिस्थ प्रबन्ध सुविधा (ग्राउण्ड हायड्लिङ्ग), विसान (पार्किङ्ग) गरेमा वा अन्य सवारी साधन विसान (पार्किङ्ग), गरेमा तोकिए बमोजिमको शुल्क असुल गर्ने,
(च) नेपालको भू–भागमाथि कुनै वायुयानले उडान (ओभर फ्लाई) गरेमा तोकिए बमोजिमको शुल्क असुल गर्ने,
(छ) नेपालको हवाई सीमा क्षेत्रभित्र उडान गर्ने वायुयानले सञ्चार तथा उड्डयन सहाय उपकरण सुविधा उपभोग गरे वापत तोकिए बमोजिमको शुल्क असुल गर्ने,
(ज) विदेशबाट वायुयानद्वारा नेपाल  मा आयात हुने मालसामान ढुवानीमा तोकिए बमोजिमको मालसामान (कार्गो) शुल्क असुल गर्ने,
(झ) हवाई यात्रुहरूलाई आवश्यक स्तरीय यात्रु सेवा सुविधा उपलब्ध गराए वापत तोकिए बमोजिमको यात्रु सेवा सुविधा शुल्क असुल गर्ने,
(ञ) वायुयान सेवा सञ्चालनसंग सम्बन्धित विषयहरूमा अनुमति, कार्य क्षमताको स्तरीकरण (रेटिङ्ग), तथा प्रमाणपत्र प्रदान गर्दा, नवीकरण गर्दा र सो को लागि परीक्षा सञ्चालन गर्दा तोकिए बमोजिम शुल्क असुल गर्ने,
(ट) प्राधिकरणको स्वामित्वमा रहेका विमानस्थलको टर्मिनल भवनभित्र प्रवेश गर्ने आगन्तुकहरूसंग तोकिए बमोजिमको प्रवेश शुल्क असुल गर्ने,
(ठ) वायुयान, हवाई यात्रु र निजहरूका सम्पत्ति, मालसामानहरूको उद्धार तथा सुरक्षाको लागि अग्नि निवारण तथा जीवनोद्धार सेवा उपलब्ध गराए वापत तोकिए बमोजिमको शुल्क असुल गर्ने,
(ड) विमानस्थल तथा विमानस्थल क्षेत्रभित्र हवाई इन्धन विक्री, कर मुक्त पसल, उडानमा रहेका यात्रुहरूलाई खाना उपलब्ध गराउने सेवा (फ्लाइट क्याटरिङ्ग), मालसामान प्रबन्ध (कार्गो हैण्डलिङ्ग) सेवा, यात्रु परिवहन (लिमोजिन) सेवा, भूमिस्थ प्रबन्ध (ग्राउण्ड ह्याण्डलिङ्ग) सेवा लगायत तोकिए बमोजिमका अन्य व्यापार व्यवसाय सञ्चालन गर्नेहरूसंग तोकिए बमोजिम भाडा तथा शुल्क असुल गर्ने,
(ढ) विमानस्थल तथा विमानस्थल क्षेत्रभित्र व्यापार व्यवसाय सञ्चालन गर्ने तथा विज्ञापन प्रचार प्रसार गर्नेहरूसंग तोकिए बमोजिम भाडा तथा शुल्क असुल उपर गर्ने,
(ण) विमानस्थल तथा विमानस्थल क्षेत्रभित्र विजुली, खानेपानी, टेलिफोन, टेलेक्स, फ्याक्स आदि सुविधा उपलब्ध गराए वापत तोकिए बमोजिम शुल्क असुल गर्ने,
(त) निर्धारित समय भन्दा बढी समय विमानस्थल तथा विमानस्थल क्षेत्र खुला राखे वापत तोकिए बमोजिम अतिरिक्त शुल्क असुल गर्ने,
(थ) तोकिए बमोजिमका अन्य सेवाहरू उपलब्ध गराए वापत भाडा तथा शुल्क असुल गर्ने ।
(२) उपदफा (१) बमोजिम बुझाउनु पर्ने भाडा तथा शुल्क तोकिएको म्यादभित्र नबुझाउनेको हकमा तोकिए बमोजिम थप भाडा शुल्क असुल गर्न सकिनेछ ।

११. सेवा सुविधा उपभोग गर्न रोक लगाउन सकिने

दफा १० बमोजिम सेवा सुविधा उपभोग गरे वापत प्राधिकरणलाई तिर्नु बुझाउनु पर्ने भाडा तथा शुल्क नतिरे, नबुझाएमा प्राधिकरणले त्यस्तो सेवा सुविधा उपभोग गर्न रोक लगाउन सक्नेछ ।

१२. संयुक्त लगानी

प्राधिकरणले नेपाल सरकारको पूर्व स्वीकृति लिई स्वदेशी वा विदेशी लगानीकर्ताहरूसंग संयुक्त लगानीमा योजना तथा कार्यक्रम सञ्चालन गर्न सक्नेछ ।

१३. सञ्चालक समितिको गठन

(१) प्राधिकरणको सम्पूर्ण काम कारवाहीको सञ्चालन, रेखदेख र व्यवस्थापनको लागि देहायका अध्यक्ष तथा सदस्यहरू भएको सञ्चालक समितिको गठन हुनेछः–
(क) संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्री वा राज्यमन्त्री वा नेपाल सरकारले तोकेको व्यक्ति – अध्यक्ष
(ख) प्रतिनिधि, संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालय – सदस्य
(ग) प्रतिनिधि, अर्थ मन्त्रालय – सदस्य
(घ) पर्यटन उद्योग व्यवसायमा विशेष दखल तथा अनुभव भएका निजी क्षेत्र वा संघ, संस्थाका व्यक्तिहरूमध्ये नेपाल सरकारबाट मनोनित एक जना – सदस्य
(ङ) नागरिक उड्डयन सम्बन्धमा विशेष योग्यता हासिल गरेका व्यक्तिहरू मध्येबाट नेपाल सरकारबाट मनोनीत एक जना – सदस्य
(च) निजी क्षेत्रका समेत गरी वायुसेवा सञ्चालन गर्ने संस्थाका सञ्चालकहरू मध्येबाट नेपाल सरकारबाट मनोनीत २ जना –सदस्य
(छ) महानिर्देशक – सदस्य–सचिव
(२) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी समितिको अध्यक्ष तथा सदस्यहरूमा थपघट वा हेरफेर गर्न सक्नेछ ।
(३) समितिले आवश्यक देखेमा कुनै विशेषज्ञ वा सल्लाहकारलाई अवधि तोकी समितिको पर्यवेक्षक सदस्य मनोनयन गर्न सक्नेछ ।
(४) उपदफा (१) को खण्ड (क), (घ), (ङ) र (च) बमोजिम मनोनीत अध्यक्ष तथा सदस्यको पदावधि चार वर्षको हुनेछ ।
तर नेपाल सरकारले चाहेमा पदावधि समाप्त भएका अध्यक्ष तथा सदस्यहरूलाई पुनः मनोनयन गर्न सक्नेछ ।
(५) उपदफा (१) बमोजिम गठित सञ्चालक समितिले यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम बमोजिम प्राधिकरणलाई भएका सबै अधिकारको प्रयोग र कर्तव्यको पालन गर्नेछ ।

१४. सदस्यता कायम नरहने अवस्था

(१) दफा १३ बमोजिम गठित सञ्चालक समितिको अध्यक्ष तथा सदस्य देहायको कुनै अवस्थामा आफ्नोे पदमा कायम रहने छैनन् ।
(क) नेपाल सरकारले हटाएमा,
(ख) पदावधि समाप्त भएमा,
(ग) नेपाल सरकार समक्ष दिएको लिखित राजीनामा स्वीकृत भएमा,
(घ) मृत्यु भएमा ।
(२) उपदफा (१) बमोजिमको कारण परी अध्यक्ष वा कुनै सदस्यको पद रिक्त भएमा बाँकी पदावधिको निमित्त अर्को व्यक्ति मनोनित हुन सक्नेछ ।

१५. समितिको बैठक

(१) समितिको बैठक सामान्यतया दुई महिनामा एक पटक बस्नेछ ।
(२) समितिको बैठक अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ ।
(३) समितिको कूल सदस्य संख्याको पचास प्रतिशत भन्दा बढी सदस्यहरू उपस्थित भएमा समितिको बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ ।
(४) समितिको बैठकको अध्यक्षता अध्यक्षले गर्नेछ र निजको अनुपस्थितिमा निजले तोकेको सदस्यले बैठकको अध्यक्षता गर्नेछ ।
(५) समितिको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा अध्यक्षले निर्णयात्मक मत दिनेछ ।
(६) समितिको बैठकमा छलफल भएका विषय र सो सम्बन्धमा भएको निर्णय सदस्य–सचिवले निर्णय पुस्तिका (माइन्यूट) मा जनाई बैठकमा उपस्थित सदस्यहरूको दस्तखत गराउनु पर्नेछ ।
(७) समितिको बैठक सम्बन्धी अन्य कार्यविधी समिति आफैले निर्धारण गर्न सक्नेछ ।

१६. अध्यक्षको काम, कर्तव्य, अधिकार र सुविधा

(१) अध्यक्षको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः–
(क) समितिको बैठकमा छलफल गरिने विषयहरूको प्राथमिकता क्रम निर्धारण गर्ने,
(ख) प्राधिकरणद्वारा सञ्चालित योजना तथा कार्यक्रमहरूको अनुगमन तथा मूल्याङ्कन गर्ने, गराउने र तत्सम्बन्धमा आवश्यक निर्देशन दिने,
(ग) यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियममा उल्लेख भएकोमा बाहेक तथा विशेष परिस्थितिमा प्राधिकरणको उद्देश्य पूरा गर्नको निमित्त जुनसुकै काम कारवाही गर्न वा गराउन आवश्यक निर्देशन दिने,
(घ) प्राधिकरणको काम कारवाही व्यवस्थित, प्रभावकारी, लाभप्रद र सुचारु रूपबाट सञ्चालन गर्ने, गराउने ।
(२) अध्यक्षले पाउने सुविधा नेपाल सरकारले तोकिदिए बमोजिम हुनेछ ।

१७. काम कारवाही बदर नहुने

समितिको गठनमा कुनै त्रुटी भई वा कुनै सदस्यको स्थान रिक्त भई समितिमा कुनै काम कारवाही भएको भए तापनि सोही कारणले मात्र त्यस्तो काम कारवाही बदर हुने छैन ।

१८. व्यापारिक सिद्धान्त अनुशरण गर्ने

समितिले प्राधिकरणको कार्य सम्पादन गर्दा वायुसेवा सञ्चालन व्यवसाय तथा हवाई यात्रु समेतको सुरक्षा र हितलाई ध्यानमा राखी व्यापारिक सिद्धान्त अनुशरण गर्नेछ ।

१९. महानिर्देशक, सल्लाहकार तथा अन्य कर्मचारी

(१) प्राधिकरणको कार्य सन्चालनको निमित्त कार्यकारी प्रमुखको रूपमा नेपाल सरकारले सामान्यतया नेपाल सरकारको सेवामा वा प्राधिकरणको सेवामा बहाल रहेका कुनै कर्मचारीलाई महानिर्देशकको पदमा नियुक्त गर्नेछ ।
(२) महानिर्देशकको पदावधि चार वर्षको हुनेछ र नेपाल सरकारले चाहेमा निज पुनः नियुक्तिको लागि ग्राह्य हुनेछ ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारले चाहेमा पदावधि पूरा नहुँदै पनि महानिर्देशकलाई निजको पदबाट हटाउन सक्नेछ ।
(४) प्राधिकरणले आवश्यकतानुसार अन्य सल्लाहकार र कर्मचारीहरू नियुक्त गर्न सक्नेछ ।
(५) प्राधिकरणको महानिर्देशक, सल्लाहकार तथा अन्य कर्मचारीहरूको सेवाको शर्त तथा सुविधा तोकिए बमोजिम हुनेछ ।

२०. महानिर्देशकको काम, कर्तव्य र अधिकार

महानिर्देशकको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः–
(क) प्राधिकरणको सामान्य प्रशासन र व्यवस्थापनको कार्य सञ्चालन गर्ने,
(ख) प्राधिकरणको कोषको रेखदेख, नियन्त्रण, सम्पत्तिको व्यवस्था र स्याहार सम्भारको व्यवस्था गर्ने, गराउने,
(ग) प्राधिकरणको वार्षिक कार्यक्रम तथा योजना तर्जुमा गरी समितिमा पेश गर्ने,
(घ) प्राधिकरणको वार्षिक आय व्यय तथा पुरक आय व्यय विवरण तयार गर्ने,
(ङ) समितिबाट स्वीकृत वजेट, योजना तथा कार्यक्रम कार्यान्वयन गर्ने,
(च) प्राधिकरणको आन्तरिक र अन्तिम लेखापरीक्षण गराउने व्यवस्था गर्ने,
(छ) प्राधिकरण र नेपाल सरकार तथा अन्य निकाय बीच सम्पर्क अधिकारीको रूपमा काम गर्ने,
(ज) प्राधिकरणका कर्मचारीहरूको सेवाको शर्त सम्बन्धी नियमको मस्यौदा तयार गरी स्वीकृतिको लागि समितिमा पेश गर्ने,
(झ) प्राधिकरणको आर्थिक प्रशासन सम्बन्धी नियमको मस्यौदा तयार गरी स्वीकृतिको लागि समितिमा पेश गर्ने,
(ञ) प्राधिकरण अन्तर्गतका विभिन्न कार्यालयहरू बीच आपसमा सम्पर्क तथा समन्वय कायम गर्ने, गराउने,
(ट) समितिबाट प्रत्यायोजन गरिएका अधिकार तथा दिइएका निर्देशन बमोजिमका कार्यहरू गर्ने ।

२१. हवाई सुरक्षाकर्मी

(१) विमानस्थल तथा विमानस्थल क्षेत्रको सुरक्षाको लागि प्राधिकरणले आवश्यकतानुसार हवाई सुरक्षाकर्मीहरूको व्यवस्था गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम हवाई सुरक्षाकर्मीहरूको व्यवस्था नभएसम्म त्यस्तो सुरक्षा व्यवस्था नेपाल सरकारबाट हुनेछ ।

२२. अध्यक्ष, सदस्य, महानिर्देशक तथा प्राधिकरणको सल्लाहकार र कर्मचारी उपर प्रतिबन्ध

अध्यक्ष, सदस्य, महानिर्देशक तथा प्राधिकरणको सल्लाहकार र कर्मचारीले प्राधिकरणसंगको कुनै पनि कारोबार वा ठेक्का पट्टामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपले हिस्सेदार हुन पाउने छैनन् ।

२३. प्राधिकरणको कोष

(१) प्राधिकरणको आफ्नोे एउटा छुट्टै कोष हुनेछ । प्राधिकरणको पूँजी, ऋण तथा अनुदान वापत र दफा १० र १२ बमोजिम प्राप्त रकम पनि सो कोषमा जम्मा गरिनेछ ।
(२) प्राधिकरणको सम्पूर्ण खर्च उपदफा (१) बमोजिमको कोषबाट व्यहोरिनेछ ।
(३) प्राधिकरणको कोषको सञ्चालन तोकिए बमोजिम हुनेछ । कोष सञ्चालन गर्ने सम्बन्धी नियम नबनेसम्म कोषको सञ्चालन समितिले तोके बमोजिम हुनेछ ।

२४. लेखा र लेखापरीक्षण

(१) प्राधिकरणको लेखा समितिबाट स्वीकृत ढाँचा र तरिका बमोजिम राखिनेछ ।
(२) प्राधिकरणको लेखाको लेखापरीक्षण महालेखा परीक्षक वा निजले तोकेको लेखा परीक्षकद्वारा हुनेछ ।

२५. सजाय

(१) कसैले दफा ७ बमोजिम प्राधिकरणले नियमित वा निषेध गरेको काम कुराहरू प्राधिकरणको पूर्व स्वीकृति विना गरेमा वा प्राधिकरणले स्वीकृति दिंदा कुनै शर्त तोकिदिएकोमा त्यस्तो शर्त विपरित हुने गरी कुनै काम गरेमा त्यस्तो व्यक्तिलाई प्राधिकरणले पचास हजार रूपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।
(२) कसैले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम प्राधिकरणले गरेको वा गर्न लागेको काममा बाधा पु¥याएमा त्यस्तो व्यक्तिलाई प्राधिकरणले दश हजार रूपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।
(३) कसैले यो ऐन बमोजिम प्राधिकरणले दिएको आदेश वा निर्देशन विपरीत कुनै काम कारवाही गरेमा त्यस्तो व्यक्तिलाई प्राधिकरणले पच्चीस हजार रूपैयाँ सम्म जरिवाना गर्न सक्नेछ ।
(४) कसैले माथि लेखिएदेखि बाहेक यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको विपरित कुनै काम गरेमा त्यस्तो व्यक्तिलाई प्राधिकरणले दश हजार रूपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।

२६. असल नियतले गरेको कामको बचाउ

अध्यक्ष, सदस्य, महानिर्देशक तथा प्राधिकरणको अन्य कर्मचारीहरूले यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियम बमोजिम आफ्नोे कर्तव्य पालनको सिलसिलामा असल नियतले गरेको वा गर्न खोजेको कुनै कुराबाट भएको हानी नोक्सानीको निमित्त निजहरू व्यक्तिगत रूपले जवाफदेही हुने छैनन् ।

२७. सरकारी बाँकी सरह असुल उपर गर्न सकिने

प्राधिकरणले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम कुनै व्यक्ति वा संस्थासंग लिनु पर्ने शुल्क, भाडा तथा क्षतिपूर्ति सरकारी बाँकी सरह असुल उपर गर्न सक्नेछ ।

२८. अधिकार प्रत्यायोजन

समितिले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम आफूलाई प्राप्त अधिकार आवश्यकतानुसार समितिको कुनै सदस्य, प्राधिकरणको महानिर्देशक वा कुनै अधिकृत कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।

२९. नेपाल सरकारको अधिकारः

(१) प्राधिकरणले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम विपरीत कुनै काम गरेमा वा गर्न लागेमा नेपाल सरकारले त्यस्तो काम रोक्ने आदेश दिन सक्नेछ ।
(२) नेपाल सरकारले सार्वजनिक हितलाई ध्यानमा राखी आवश्यक देखेमा यस ऐन बमोजिम प्राधिकरणले दिएको कुनै आदेश पूर्ण वा आंशिक रूपमा बदर गर्न सक्नेछ ।
(३) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी दफा १० बमोजिम वायुयान तथा हवाई यात्रुहरूले प्राधिकरणलाई तिर्नु बुझाउनु पर्ने शुल्क वा भाडामध्ये कुनै वा सबै तोकिए बमोजिमको अवस्थामा कुनै खास वायुयान तथा व्यक्ति वा वर्गले तिर्नु बुझाउनु नपर्ने गरी छुट दिन सक्नेछ ।
(४) यस ऐन बमोजिम प्राधिकरणले गर्नु पर्ने काम नगरेमा, कर्तव्य पालन नगरेमा वा नेपाल सरकारले दिएको आदेशको पालन नगरेमा, प्राधिकरणको सम्पत्ति हिनामिना भै नोक्सानी हुने अवस्थामा पुगेमा वा अन्य कुनै कारणले प्राधिकरण कायम राख्न आवश्यक छैन भन्ने लागेमा नेपाल सरकारले प्राधिकरणलाई विघटन गर्न सक्नेछ ।
(५) उपदफा (४) बमोजिम प्राधिकरण विघटन भएमा प्राधिकरणको हक, दायित्व तथा सम्पत्ति नेपाल सरकारमा सर्नेछ ।

३०. सम्पत्ति र दायित्व हस्तान्तरण

(१) यो ऐन प्रारम्भ हुनु अघि नेपाल सरकारबाट सञ्चालन गरिएका हवाई यातायात सेवा तथा सुविधा विकास योजनाको सम्पत्ति यो ऐन प्रारम्भ भएपछि नेपाल सरकारले मूल्याङ्कन गरी नेपाल सरकारको पूँजी लगानीको रूपमा प्राधिकरणलाई हस्तान्तरण गरिनेछ ।
तर त्यस्तो कुनै योजना पूरा नहुँदै हस्तान्तरण गरिने भए सो योजना पूरा भएपछि मात्र त्यस्तो योजनाको सम्पत्तिको मूल्याङ्कन गरिनेछ ।
(२) विदेशी सरकार, विदेशी वा अन्तर्राष्ट्रिय संघ, संस्थाबाट ऋण प्राप्त गरी सञ्चालन गरिएको योजना उपदफा (१) बमोजिम प्राधिकरणलाई हस्तान्तरण गर्दा त्यस्तो ऋण वापत नेपाल सरकारले तिर्नु पर्ने साँवा र व्याजको निमित्त नेपाल सरकारले तोकेको शर्तमा प्राधिकरणले नेपाल सरकारलाई आवश्यक रकम तिर्नु पर्ने गरी हस्तान्तरण गरिनेछ ।
(३) विदेशी सरकार, विदेशी वा अन्तर्राष्ट्रिय संघ, संस्थाबाट सहायता वा अनुदान प्राप्त गरी सञ्चालन गरिएका वा नेपाल सरकारले आफ्नै खर्चमा सञ्चालन गरेका योजनाहरू उपदफा (१) बमोजिम प्राधिकरणलाई हस्तान्तरण गर्दा त्यस्तो योजनाको सम्पत्ति नेपाल सरकारको पूँजी लागनीको रूपमा रहनेछ ।

३१. प्राधिकरणले आदेश तथा निर्देशन दिन सक्ने

हवाई यात्रुहरूको सेवा, सुविधा तथा सुरक्षा, विमानस्थल तथा विमानस्थल क्षेत्रको सुरक्षा, वायुयानको सुरक्षा, हवाई उडान तथा त्यस्तो कार्यसंग सम्बन्धित व्यक्ति तथा उपकरणहरूका सुरक्षाको व्यवस्थापनको लागि प्राधिकरण वा प्राधिकरणबाट अधिकार प्राप्त व्यक्तिले विमानस्थल क्षेत्रभित्र कार्यरत सरकारी तथा गैरसरकारी व्यक्तिहरूलाई आवश्यक आदेश तथा निर्देशन दिन सक्नेछ । त्यसरी दिएको आदेश तथा निर्देशन पालन गर्नु सम्बन्धित सबैको कर्तव्य हुनेछ ।

३२. नेपाल सरकारका कर्मचारीहरू प्राधिकरणको सेवामा स्वेच्छाले परिणत हुन सक्ने

(१) प्राधिकरणको कर्मचारीहरूको सेवा, शर्त र सुविधा सम्बन्धी नियमावली नेपाल सरकारबाट स्वीकृति भएको मितिले तीन महिनाभित्र नेपाल सरकारको (हवाई विभाग तथा अन्तर्गत कार्यरत) सबै कर्मचारीले नेपाल सरकारको सेवामा रहने वा प्राधिकरणको सेवामा परिणत हुने हो सो सम्बन्धमा आफ्नोे इच्छा लिखित रूपमा व्यक्त गरी नेपाल सरकारलाई दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम प्राप्त हुन आएको जानकारीको आधारमा नेपाल सरकारले नेपाल सरकारको सेवामा रहेका कर्मचारीहरूलाई प्राधिकरण सेवामा परिणत गर्नेछ ।
(३) उपदफा (२) बमोजिम प्राधिकरणको सेवामा परिणत नभएसम्मका लागि नेपाल सरकारको सेवामा रहेका कर्मचारीहरूलाई प्राधिकरणमा काजमा काम लगाउन सक्नेछ ।

३३. निर्देशन दिन सक्ने

नेपाल सरकारले यो ऐन कार्यान्वयन गर्ने सम्बन्धमा आवश्यक देखेका कुराहरूमा प्राधिकरणलाई निर्देशन दिन सक्नेछ र त्यस्तो निर्देशनको पालन गर्नु प्राधिकरणको कर्तव्य हुनेछ ।

३४. नियम बनाउने अधिकार

यस ऐनको उद्देश्य कार्यान्वयन गर्न प्राधिकरणले आवश्यक नियमहरू बनाउन सक्नेछ र त्यस्तो नियम नेपाल सरकारबाट स्वीकृत भएपछि मात्र लागू हुनेछ ।

३५. निर्देशिका बनाउन सक्ने

प्राधिकरणले यो ऐन र यस ऐन अन्तर्गत बनेका नियमहरूको प्रतिकूल नहुने गरी अन्तर्राष्ट्रिय संस्थाहरूबाट निर्धारित नियम तथा मापदण्डहरूको स्ट्याण्डर्डहरू) कार्यान्वयनको लागि आवश्यक पर्ने निर्देशिका बनाई लागू गर्न सक्नेछ र त्यस्तो निर्देशिकाको पालन गर्नु सम्बन्धित सबैको कर्तव्य हुनेछ ।

३८. खारेजी र बचाउ

(१) हवाई उडान कर ऐन, २०१८ खारेज गरिएको छ ।
(२) यो ऐन लागू हुन अगावै हवाई यातायात सेवा सम्बन्धमा प्रचलित कानून बमोजिम नेपाल सरकारबाट भए गरेका कार्यहरू यसै ऐन बमोजिम भएको मानिनेछ ।