Skip to contentSkip to left sidebar Skip to footer

निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३

निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३

लालमोहर सदर मिति नेपाल राजपत्रमा प्रकाशित मिति
२०१३।१०।१२ २०१३।१०।२२
संशोधन गर्ने ऐन लालमोहर र प्रकाशन मिति
१. केहि नेपाल कानून (संशोधन र पुनः व्वस्थापन) ऐन, २०२० २०२०।११।१६
२. निकासी पैठारी (नियन्त्रण) (पहिलो संशोधन) ऐन, २०२९ २०२९।६।५।५
३. निकासी पैठारी (नियन्त्रण) (दोश्रो संशोधन) ऐन, २०४६ २०४६।६।११
४. निकासी पैठारी तथा बौद्घिक सम्पत्ति सम्बन्धी केही नेपाल ऐन
संशोधन गर्ने ऐन, २०६३ २०६३।८।८
५. गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ २०६६।१०।७

निकासी पैठारी मनाही वा नियन्त्रण गर्ने अधिकार व्यवस्थित गरी शान्ति र व्यवस्था कायम राख्न आवश्यक
देखिएकोले श्री ५ महाराजधिराजबाट मन्त्रिमण्डलका सल्लाह अनुसार यो ऐन बनाई जारी गरिबक्सेकोछ ।

२. परिभाषा

विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,—
(क) “निकासी” भन्नाले नेपाल राज्यबाहिर मालसामानहरु निकासी गर्ने काम सम्झनु पर्छ ।
(ख) “पैठारी” भन्नाले नेपाल राज्यभित्र मालसामानहरु पैठारी गर्ने काम सम्झनु पर्छ ।
(ग) “सूचित आदेश” भन्नाले नेपाल राजपत्रमा प्रकाशित आदेश सम्झनु पर्छ ।
(घ) “प्रकाशित” भन्नाले नेपाल राजपत्रमा प्रकाशित सम्झनु पर्छ ।

३. निकासी पैठारी मनाही वा नियन्त्रण गर्ने नेपाल सरकारको अधिकार

(१) देहायको उद्देश्य प्राप्तिको लागि कुनै वस्तुको निकासी वा पैठारीमा मनाही वा नियन्त्रण गर्न आवश्यक छ भन्ने लागेमा नेपाल
सरकारले सूचित आदेशद्वारा त्यस्तो वस्तुको निकासी वा पैठारीमा शर्त वा निश्चित अवधि तोकी वा नतोकी मनाही गर्न वा पूर्ण वा परिमाणात्मक बन्देज लगाउन सक्नेछ –
(क) सुरक्षा सम्बन्धी राष्ट्रिय हितको संरक्षण गर्न,
(ख) सार्वजनिक सदाचार, शिष्टाचार वा नैतिकता कायम राख्न,
(ग) सुन, चाँदी वा त्यस्तै अन्य धातु वा बहुमुल्य जवाहरातको व्यापारलाई व्यवस्थित गर्न,
(घ) मानव, पशु, पंछी वा वनस्पति जीवनको स्वास्थ्यमा प्रतिकूल हुने कार्यबाट संरक्षण गर्न,
(ङ) कारागारका थुनुवा वा कैदीहरुको श्रमबाट उत्पादित वस्तुहरुको पैठारी सम्बन्धमा उचित व्यवस्था गर्न,
(च) कलात्मक, ऐतिहासिक वा पुरातात्विक महत्वका राष्ट्रिय सम्पदाको संरक्षण गर्न,
(छ) लोप हुन सक्ने प्राकृतिक स्रोतको (घरेलु उत्पादन वा उपयोग समेतमा बन्देज गरी) संरक्षणको उचित व्यवस्था गर्न,
(ज) प्रतिस्पर्धात्मक क्षमता हुन सक्ने राष्ट्रिय प्रशोधन उद्योगको लागि आवश्यक पर्ने घरेलु कच्चा पदार्थको उपलब्धतालाई सुनिश्चित गर्न,
(झ) स्थानीयस्तरमा न्यून आपूर्ति भएका वस्तुको प्राप्ति तथा वितरणको लागि उचित व्यवस्था गर्न,
(ञ) विदेशी मुद्राको मौज्दातमा हुन सक्ने गम्भीर ह्रासको अवस्थालाई हटाउने वा रोक्ने वा अत्यन्त न्यून अवस्थामा रहेको विदेशी मुद्राको सञ्चितिमा वृद्धि गर्ने गरी मुलुकको बाह्य वित्तीय स्थिति र भुक्तानी सन्तुलनको सुरक्षा गर्न,
(ट) अत्यावश्यक खाद्य सामग्री वा त्यस्तै प्रकारका अन्य उत्पादनको गम्भीर अभाव हुनबाट रोक्न,
(ठ) अन्तर्राष्ट्रिय व्यापारमा उपभोग्य सामग्रीको वर्गीकरण, स्तर निर्धारण वा बजारीकरणका मापदण्ड कायम गर्न,

(ड) अतिकम विकसित मुलुकको लागि वैदेशिक व्यापारमा प्रदान गरिएका छूट वा सहुलियतको उपभोग गर्न,
(ढ) अप्रत्याशित रुपमा ठूलो मात्रामा पैठारी भएका वस्तुबाट त्यस्तै प्रकृतिका वस्तु उत्पादन गर्ने राष्ट्रिय उद्योगलाई पर्न सक्ने गम्भीर प्रतिकूल असरबाट संरक्षण गर्न,
(ण) पेटेण्ट, ट्रेडमार्क, प्रतिलिपि अधिकार, औद्योगिक डिजायन, भौगोलिक पहिचान (जिओग्राफिकल इण्डिकेशन), गोप्य सूचनाको संरक्षण जस्ता बौद्धिक सम्पत्तिको संरक्षण गर्न,
(त) देशको प्रतिस्पर्धात्मक क्षमता वृद्धि हुने खालका नयाँ सीप वा प्रविधियुक्त उद्योगको प्रवद्र्धन वा संरक्षण गर्न,
(थ) अस्वस्थ वा अनधिकृत व्यापारिक क्रियाकलापलाई रोक लगाउन वा अस्वस्थ प्रतिस्पर्धा नियन्त्रण गर्न,
(द) संयुक्त राष्ट्र संघको बडापत्र तथा नेपाल पक्ष भएको बहुपक्षीय अन्तर्राष्ट्रिय महासन्धि वा द्विपक्षीय सम्झौता कार्यान्वयन गर्न तथा सोबाट सृजित दायित्व पूरा गर्न ।
(२) उपदफा (१) बमोजिम कुनै वस्तुको निकासी वा पैठारीमा लगाएको बन्देज कायम राखिराख्न आवश्यक छैन भन्ने लागेमा नेपाल सरकारले सोको आधार र कारण खुलाई सूचित आदेशद्वारा त्यस्तो बन्देज जुनसुकै बखत हेरफेर गर्न, परिवर्तन गर्न वा हटाउन सक्नेछ ।

४. नियम बनाउने नेपाल सरकारको अधिकार

(१) यस ऐनको उद्देश्य कार्यान्वित गर्नको निमित्त नेपाल सरकारले नियम बनाउन सक्तछ ।
(२) उपदफा (१) ले दिएको अधिकारको सर्वमान्यतामा प्रतिकूल प्रभाव नपारी नेपाल सरकारले देहायका विषयहरुमा नियम बनाउन सक्तछ  –
(क) निकासी पैठारीको इजाजत पत्र जारी गर्न र इजाजत पत्रको ढाँचा,
(ख) सो इजाजतपत्र प्राप्त गर्न पेश गर्नु पर्ने दरखास्त र प्रमाणहरु,
(ग) इजाजतपत्र दस्तुर,
(घ) इजाजतपत्र प्रदान गर्ने अधिकारीहरु मुकरर गर्ने,
(ङ) इजाजतपत्र पाउनेहरु र इजाजतपत्रको परिमाण निर्धारित गर्ने,
(च) बिना इजाजतपत्र निकासी पैठारी गर्न पाउने सहुलियत प्रदान गर्ने,
(छ) निकासी पैठारी गर्दा इजाजतपत्र देखाउने,
(ज) इजाजतपत्र बहाल रहने अवधि तोक्ने र अबधि समाप्त भएको इजाजतपत्रको म्याद बढाउने,
(झ) इजाजतपत्र खारेज गर्न वा स्थगित हुन सक्ने अवस्था,
(ञ) इजाजतपत्र बमोजिम निकासी पैठारी भएको वस्तुहरुको तोकिएबमोजिमको तथ्याङ्क वा विवरण दाखिला गराउने ।

५. दण्ड सजाय

(१) यो ऐन वा यस ऐन अन्तरगतको सूचित आदेश बमोजिम नियन्त्रण वा मनाही गरिएको वस्तु वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम निकासी वा पैठारी गर्न जारी गरिएको इजाजतपत्रमा तोकिएको वस्तु वा त्यसको मुल्य वा परिमाणमा मनासिब कारण बिना फरक पारी कसैले कुनै वस्तु निकासी वा पैठारी गरेमा त्यसरी निकासी वा पैठारी गरेको वस्तु जफत गरी निजलाई सो वस्तुको मुल्य बराबर जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।
(२) उपदफा (१) बमोजिम सजाय हुने कार्यमा सहयोग पुर्याउने ब्यक्तिलाई सोही उपदफामा उल्लेखित सजायको आधा सजाय हुनेछ ।
(३) उपदफा (१) र (२) मा लेखिएदेखि बाहेक इजाजतपत्र प्राप्त गर्नको लागि कसैले जानीजानी झुट्टा वा किर्ते प्रमाण वा विवरण पेश गरेमा वा जारी भएको इजाजतपत्रमा अनाधिकृत तवरले थपघट वा केरमेट गरेमा वा इजाजतपत्र जारी गर्ने कार्यालयको काम कारवाहीमा बाधा पुर्याएमा त्यस्तो ब्याक्तिलाई इजाजतपत्र जारी गर्ने अधिकार प्राप्त अधिकारीले दुई हजार रुपैयाँ सम्म जरिवाना गर्न सक्नेछ ।
(४) उपदफा (१), (२) र (३) मा लेखिएदेखि बाहेक यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियमहरु बर्खिलाप अन्य कुनै काम कुरा गर्नेलाई इजाजतपत्र जारी गर्ने अधिकार प्राप्त अधिकारीले एक हजार रुपैयाँ सम्म जरिवाना गर्न सक्नेछ ।

(५) इजाजतपत्र जारी गर्ने अधिकार प्राप्त अधिकारीले यस दफा बमोजिम सजाय पाउने ब्यक्तिलाई एक वर्षदेखि तीन वर्षसम्मको लागि निकासी पैठारी गर्ने इजाजतपत्र जारी नगर्न वा जारी गरिएको इजाजतपत्र रद्द गर्न सक्नेछ ।

६. मुद्दा हेर्ने अधिकार र पुनरावेदन

दफा ५ को उपदफा (१) र (२) बमोजिमको कसूर सम्बन्धी मुद्दाको शुरु कारवाही र किनारा गर्ने अधिकार सम्बन्धित भन्सार अधिकृतलाई हुनेछ र निजको निर्णय उपर चित्त नबुझ्ने ब्याक्तिले पैतिस दिनभित्र राजश्व न्यायाधिकरणमा पुनरावेदन दिन सक्नेछ ।

६क. जाहेरवालालाई पुरस्कार दिनेः

यो ऐन वा यस ऐन अन्तर्गत जारी गरिएको सूचित आदेशकोबर्खिलाप कसैले कुनै वस्तुको निकासी वा पैठारी गरेको कुरामा कसैले जाहेर गरी कारवाही चल्दा त्यस्तो काम कुरा गरेको प्रमाणित भएमा सम्बन्धित वस्तुको मोलको सयकडा तीस प्रतिशतले हुने रकम पुरस्कार
स्वरुप त्यस्तो जाहेरवालालाई दिइनेछ ।
तर, जाहेर गर्नुपर्ने मुनासिव कारण वा आधार भई कारवाही चलेकोमा बाहेक दुःख दिने वारिस इवी साध्ने नियतले मात्र झुठ्ठा कुराको जाहेर गरेको ठहरेमा त्यस्तो झुठ्ठा कुरा जाहेर गर्ने ब्याक्तिलाई दुई सय रुपैयादेखि पाँच सय रुपैयासम्म जरिवाना हुनेछ ।

७. असर नपार्ने

यो ऐन जारी हुनुभन्दा अगावै नेपाल सरकारले कुनै वस्तु वा वस्तुहरुमा लगाइरखेको प्रतिबन्धको खारेजी वा संशोधनको सूचना नभएसम्म कायम रहनेछ ।

८. खारेजी

यो ऐन र यस ऐन अन्तर्गत बनेका नियमहरुमा लेखिएका कुराहरुसंग बाझिने जति सवै ऐन सवाल सनद खारेज भएको वा यस ऐनसँग मिल्ने गरी संशोधित भएको मानिनेछ ।