८. स्वशासित र संगठित संस्था हुने : (१) ट्रेड यूनियन अविछिन्न उत्तराधिकारवाला स्वशासित र संगठित संस्था हुनेछ ।
(२) ट्रेड यूनियनको काम कारवाहीको निमित्त आफनो एउटा छुट्टै छाप हुनेछ ।
(३) ट्रेड यूनियनले व्यक्ति सरह चल, अचल सम्पत्ति प्राप्त गर्न, उपभोग गर्न बेचबिखन गर्न वा अन्य किसिमले व्यवस्था गर्न सक्नेछ ।
(४) ट्रेड यूनियनले व्यक्ति सरह आफनो नामबाट नालिस उजूर गर्न र ट्रेड यूनियन उपर पनि सोही नामबाट नालिस उजूर लाग्न सक्नेछ ।
९. उद्देश्य : (१) ट्रेड यूनियनको उद्देश्य देहाय बमोजिम हुनेछ :–
(क) कामदारहरुको कामको अवस्थामा सुधार गरी तिनीहरुको आर्थिक र सामाजिक समुन्नतिको लागि कार्यरत रहने,
(ख) कामदार र व्यवस्थापक बीच राम्रो सम्बन्ध राख्न प्रयत्न गर्ने,
(ग) प्रतिष्ठानको उत्पादकत्वमा वृद्धि गरी प्रतिष्ठानको विकास गर्नमा सघाउ पुर्याउने,
(घ) कामदारहरुलाई कर्तव्यनिष्ठ र अनुशासित बनाउन प्रयत्नशील रहने।
(२) उपदफा (१) मा लेखिएका उद्देश्यहरुका अतिरिक्त ट्रेड यूनियन संघ र ट्रेड यूनियन महासंघको उद्देश्य देहाय बमोजिम हुनेछ :–
(क) कामदारहरुलाई शिक्षा दिने सम्बन्धमा कार्यक्रमहरु सञ्चालन गर्ने,
(ख) कामदारहरुको हितको निमित्त अन्तर्राष्ट्रिय संघ संस्थाहरुसंग सम्पर्क कायम राख्ने,
(ग) श्रम नीति तर्जुमा गर्ने सम्बन्धमा नेपाल सरकारलाई आवश्यक परामर्श प्रदान गर्ने,
(घ) कामदारहरुको सामाजिक एवं आर्थिक स्तरको विकास गर्न आवश्यक कार्यशाला, गोष्ठी, सेमिनार आदि सञ्चालन गरी कामदारहरुलाई उपयोगी हुने तथ्यहरु प्रकाशन गर्ने,
(ङ) कामदारहरुको हक हितको संरक्षण र सम्वद्र्धन गर्ने सम्बन्धमा नेपाल सरकारसंग वार्ता गर्ने र प्रचलित कानूनको अधीनमा रही अन्य आवश्यक उपायहरु अपनाउने।
९क. ट्रेड यूनियनको काम, कर्तव्य र अधिकार : ट्रेड यूनियनको आफनो विधानमा उल्लेखित काम, कर्तव्य र अधिकारको अतिरिक्त ट्रेड यूनियनको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुने छन्ः–
(क) दफा ९ को उपदफा (१) बमोजिमको ट्रेड यूनियनको उद्देश्य प्राप्तिको लागि आवश्यक काम कारबाही तथा कार्यक्रमहरुको संचालन गर्ने गराउने,
(ख) प्रतिष्ठान स्तरको आधिकारिक ट्रेड यूनियनको निर्वाचनमा आफना सदस्यहरुलाई भाग लिन लगाउने,
(ग) प्रतिस्ठान स्तरको आधिकारिक ट्रेड यूनियनको निर्णयहरु प्रतिस्ठानको कामदारहरुलाई पालना गर्न लगाउने।
९ख. ट्रेड यूनियन संघ र ट्रेड यूनियन महासंघको काम, कर्तव्य र अधिकार : ट्रेड यूनियन संघ र ट्रेड यूनियन महासंघको आफनो विधानमा उल्लेखित काम, कर्तव्य र अधिकारको अतिरिक्त ट्रेड यूनियन संघ र ट्रेड यूनियन महासंघको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :–
(क) दफा ९ को उपदफा (२) बमोजिमको ट्रेड यूनियन संघ र ट्रेड यूनियन महासंघको उद्देश्य प्राप्तिको लागि आवश्यक काम, कारबाही तथा कार्यक्रमहरुको संचालन गर्ने गराउने,
(ख) ट्रेड यूनियन संघ तथा ट्रेड यूनियन महासंघको निर्वाचनमा आफना सदस्यहरुलाई भाग लिन लगाउने,
(ग) ट्रेड यूनियन संघ र ट्रेड यूनियन महासंघको निर्णयहरु आफना सदस्यहरुलाई पालना गर्न लगाउने,
(घ) महत्वपूर्ण र राष्ट्रिय स्तरका श्रम विवाद सम्बन्धी नीतिगत विषयहरुमा सम्पूर्ण कामदारहरुको प्रतिनिधित्व गर्दै नेपाल सरकार, विभिन्न प्रकारका व्यवसायिक संघ तथा महासंघ तथा प्रतिष्ठानहरुसंग वार्ता गरी श्रम विवाद सुल्झाउन आवश्यक उपायको अवलम्बन गर्ने,
(ङ) प्रतिष्ठान स्तरको ट्रेड यूनियनको तर्फबाट सम्बन्धित प्रतिष्ठान तथा व्यवस्थापकहरुसंग वार्ता गर्ने,
(च) कामदारहरुको हित तथा कल्याणको लागि विभिन्न प्रकारका कोषको स्थापना तथा संचालन गर्ने,
(छ) कामदार तथा ट्रेड यूनियन प्रति गरिएको उत्पीडनका तथ्यहरु सार्वजनिक गराउने र त्यसको लागि सम्बन्धित प्रतिष्ठानलाई आवश्यकतानुसार सचेत गराउने।
१०. विधान : (१) ट्रेड यूनियनको विधानमा देहायका विवरणहरु समावेश गरिएको हुनु पर्नेछ :–
(क) ट्रेड यूनियनको नाम र ठेगाना,
(ख) ट्रेड यूनियन स्थापना गर्नुको उद्देश्य,
(ग) कार्य समितिको गठन विधि र कार्य अवधि बढीमा चार वर्ष हुने,
(घ) साधारण सदस्यता, पदाधिकारीहरुको संख्या र तिनीहरुको निर्वाचन प्रकृया,
(ङ) एक वर्ष अविच्छिन्न सेवा गरेको र नेपाली नागरिक कामदार मात्र पदाधिकारीमा निर्वाचित हुन सक्ने व्यवस्था,
(च) ट्रेड यूनियनको कोष र त्यसको लेखा परीक्षण सम्बन्धी व्यवस्था,
(छ) ट्रेड यूनियनको हिसाब किताबको जाँचबुझ तथा निरीक्षण सम्बन्धी व्यवस्था,
(ज) पदाधिकारीहरुको विरुद्धमा अविश्वासको प्रस्ताव ल्याउन सक्ने व्यवस्था,
(झ) ट्रेड यूनियनको साधारण सभा र कार्य समितिको काम, कर्तव्य, अधिकार र बैठक सम्बन्धी व्यवस्था,
(ञ) ट्रेड यूनियनको विधान संशोधन प्रकृया,
(ट) ट्रेड यूनियन विघटन सम्बन्धी व्यवस्था,
(ठ) ट्रेड यूनियन विघटन भएपछि ट्रेड यूनियनको सम्पत्ति र दायित्व सम्बन्धी व्यवस्था ।
(२) ट्रेड यूनियनको विधानमा कुनै किसिमको संशोधन गरिएमा त्यसरी संशोधन गरिएको पैंतीस दिनभित्र सम्बन्धित ट्रेड यूनियनहरुले त्यस्तो संशोधनको प्रति संलग्न राखी सो कुराको जानकारी पञ्जिकाधिकारीलाई दिनु पर्नेछ र निज पञ्जिकाधिकारीबाट सो को स्वीकृति समेत लिनु पर्नेछ ।
११. आधिकारिक ट्रेड यूनियनको मान्यता : (१) आधिकारिक ट्रेड यूनियनको निर्वाचनमा सम्बन्धित प्रतिष्ठानको कामदारहरुको बहुमत प्राप्त गर्ने प्रतिष्ठानस्तरको ट्रेड यूनियन कामदारहरुको तर्फबाट व्यवस्थापकसंग सामूहिक सौदावाजी गर्न मान्यता प्राप्त आधिकारिक ट्रेड यूनियन
मानिनेछ ।
(१क) कुनै प्रतिष्ठानमा एउटा मात्र ट्रेड युनियन दर्ता भएकोमा सो भएको मितिले तीन महिनाभित्र अर्को ट्रेड यूनियन दर्ता नभएमा पहिले दर्ता भएको ट्रेड यूनियनलाई नै आधिकारिक ट्रेड यूनियनको रुपमा मान्यता दिइनेछ ।
(१ख) उपदफा (१क) बमोजिमको तीन महिनाको समायावधि गणना गर्दा यो ऐन प्रारम्भ भएको मितिदेखि गणना गरिनेछ ।
(२) उपदफा (१) बमोजिम मान्यता प्राप्त आधिकारिक ट्रेड यूनियनले त्यसरी मान्यता प्राप्त गरेको मितिले पैंतीस दिनभित्र सो कुराको लिखित सूचना पञ्जिकाधिकारी र व्यवस्थापकलाई दिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम सूचना प्राप्त भएको मितिले पन्ध्र दिनभित्र पञ्जिकाधिकारीले तोकिए बमोजिम आधिकारिक ट्रेड यूनियनको प्रमाणपत्र दिनु पर्नेछ ।
(४) अधिकारिक ट्रेड युनियनको निर्वाचन सम्बन्धी कार्यविधि तोकिए बमोजिम हुनेछ ।
१२. माग दाबी प्रस्तुत गर्ने : (१) श्रम ऐन, २०४८ को दफा ७४ को उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि आधिकारिक ट्रेड यूनियनको कार्य समितिले कामदारहरुको तर्फबाट सामूहिक सौदावाजी गर्न तोकिएको संख्यामा आफना प्रतिनिधिहरुको नाम खुलाई लिखित रुपमा व्यवस्थापक समक्ष माग दाबी प्रस्तुत गर्न सक्नेछ ।
(२) श्रम ऐन, २०४८ को दफा ७६ मा लेखिएको प्रकृया पूरा नगरी आधिकारीक ट्रेड यूनियनले प्रतिष्ठानमा हडताल गर्ने वा त्यसलाई सघाउ पुर्याउने किसिमका कुनै पनि काम गर्न हुँदैन ।
१३. आधिकारिक ट्रेड यूनियनको मान्यतावधि : दफा ११ बमोजिम मान्यता प्राप्त गरेको आधिकारिक ट्रेड यूनियनले कामदारहरुको तर्फबाट व्यवस्थापकसंग सामूहिक सौदावाजी गर्न पाउने अवधि सोही दफाको उपदफा (३) बमोजिम पञ्जिकाधिकारीले प्रमाणपत्र दिएको मितिबाट दुई
वर्षसम्मको लागि कायम रहनेछ ।
तर त्यस्तो अधिकारिक ट्रेड यूनियनको दर्ता खारेज भएमा वा त्यस्तो ट्रेड यूनियन विघटन भएमा त्यसरी विघटन भएको मितिले तीन महिनाभित्र अर्को अधिकारिक ट्रेड यूनियनको निर्वाचन गराई सक्नु पर्नेछ