Skip to contentSkip to left sidebar Skip to footer

जन्म, मृत्यु तथा अन्य व्यक्तिगत घटना (दर्ता गर्ने) ऐन, २०३३

जन्म, मृत्यु तथा अन्य व्यक्तिगत घटना (दर्ता गर्ने) ऐन, २०३३

लालमोहर र प्रकाशन मिति

२०३३।७।४
संशोधन गर्ने ऐन
१. जन्म, मृत्यु तथा अन्य व्यक्तिगत घटना दर्ता गर्ने (पहिलो संशोधन) ऐन, २०३७                        २०३७।५।२६
२. जन्म, मृत्यु तथा अन्य व्यक्तिगत घटना दर्ता गर्ने (दोस्रो संशोधन) ऐन, २०४८                           २०४८।७।१४

                                                                                                                 प्रमाणीकरण र प्रकाशन मिति

 ३. लैङ्गिक समानता कायम गर्न केही नेपाल  ऐन संशोधन गर्ने ऐन, २०६३                        २०६३।७।१७

 ४. गणतन्त्र सुदृढीकरण तथा केही नेपाल   कानुन संशोधन गर्ने ऐन, २०६६                        २०६६।१०।७

५. केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७२      –                                                       २०७२।११।१३

.केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७५                                                                                       २०७५।११।१९

 

                                                                 २०३३ सालको ऐन नं. ४४

……….

जन्म, मृत्यु, विवाह सम्बन्ध विच्छेद तथा बसाइ सराइ दर्ता गर्न बनेको ऐन

प्रस्तावना : नेपाल ………….. मा बसोबास गर्ने व्यक्तिहरूको जन्म, मृत्यु, विवाह सम्बन्ध विच्छेद तथा बसाइ सराइ जस्ता घटना दर्ता गरी प्रमाणपत्र वितरण गर्ने सम्बन्धमा कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले, श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले यो ऐन बनाइबक्सेकोछ ।

१. संक्षिप्त नाम, विस्तार र प्रारम्भ

(१) यस ऐनको नाम “जन्म, मृत्यु तथा अन्य व्यक्तिगत घटना (दर्ता गर्ने) ऐन, २०३३” रहेको छ ।

(२) यो ऐनको विस्तार नेपाल ………. भर हुनेछ । (३) दफा १ तुरुन्त प्रारम्भ हुनेछ र अरू दफाहरू नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकेको मितिदेखि तोकेको क्षेत्रमा प्रारम्भ हुनेछन् ।

२. परिभाषा

 विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,– (क) व्यक्तिगत घटनाभन्नाले कुनै व्यक्तिको जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद् तथा बसाइ सराइ सम्झनुपर्छ । (ख) बसाइ सराइभन्नाले ६ महिनाभन्दा बढी अवधिको लागि नेपाल ……… भित्र एक गाउँपालिका वा नगरपालिकाबाट अर्को गाउँपालिका वा नगरपालिका क्षेत्रमा वा विदेशमा बसाइ सरी जाने वा विदेशबाट बसाइ सरी आउने कार्यलाई सम्झनुपर्छ । (ग) पंजिकाधिकारीभन्नाले दफा ३ बमोजिम नियुक्त भएको वा तोकिएको पंजिकाधिकारी  (रजिष्ट्रार) वा स्थानीय पंजिकाधिकारी सम्झनु पर्छ । (घ) परिवारको मुख्य व्यक्तिभन्नाले परिवारको चाँजोपाँजो मिलाउने वरिष्ठ व्यक्ति वा परिवारको पालनपोषण गर्ने व्यक्ति सम्झनु पर्छ । (ङ) तोकिएकोवा तोकिए बमोजिमभन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनुपर्छ ।

३. पंजिकाधिकारी तथा स्थानीय पंजिकाधिकारी

३.   पंजिकाधिकारी तथा स्थानीय पंजिकाधिकारीः (१) यस ऐनको प्रयोजनको लागि नेपाल सरकारको राष्ट्रिय परिचयपत्र व्यवस्थापन तथा पञ्जिकरण विभागको प्रमुखले पंजिकाधिकारी (रजिष्ट्रार) को रूपमा काम गर्नेछ।

(२) उपदफा (१) बमोजिमको पंजिकाधिकारीले तोकेको मापदण्डको आधारमा सम्बन्धित गाउँ कार्यपालिका वा नगर कार्यपालिकाले गाउँपालिका वा नगरपालिकामा कार्यरत कर्मचारीमध्येबाट तोकेको कर्मचारीले स्थानीय पंजिकाधिकारी (रजिष्ट्रार) को रूपमा काम गर्नेछ।

(३) उपदफा (२) बमोजिम स्थानीय पंजिकाधिकारी तोक्दा गाउँपालिका वा नगरपालिकाका प्रत्येक वडामा रहने गरी तोक्नु पर्नेछ।

४. व्यक्तिगत घटनाको सूचना

(१) देहायको अवस्थामा देहायका व्यक्तिले व्यक्तिगत घटना दर्ता गराउनको लागि त्यस्तो घटना घटेको पैंतीस दिनभित्र तोकिए बमोजिमको फाराम भरी स्थानीय पंजिकाधिकारीको कार्यालयमा सूचना गर्नु पर्नेछ ः

 

(क) जन्म तथा मृत्युको सूचना परिवारको मुख्य व्यक्तिले र निजको अनुपस्थितिमा परिवारको उमेर पुगेको ……….. व्यक्तिले, (ख) विवाहको सूचना पति पत्नीले दुबैले, (ग) सम्बन्ध विच्छेदको सूचना पति वा पत्नीले, (घ) बसाई सराईको सूचना बसाई सर्ने परिवार भए परिवारको मुख्य व्यक्तिले र परिवार नभए बसाई सराई गर्ने व्यक्तिले । (२) व्यक्तिगत घटना नेपाल ………. बाहिर घटेको भए उपदफा (१) बमोजिम सो घटनाको सूचना दिनु पर्ने कर्तव्य भएको व्यक्ति नेपाल ……….. मा आएपछि निजले साठी दिनभित्र सूचना दिनुपर्नेछ । (३) उपदफा (१) बमोजिम व्यक्तिगत घटनाको सूचना दिनु पर्ने कर्तव्य भएको व्यक्तिले त्यस्तो सूचना दर्ता गराउनको लागि कुनै व्यक्तिलाई अधिकृत गर्न सक्नेछ ।  (४) उपदफा (१) को खण्ड (क) बमोजिम जन्म तथा मृत्युको सूचना दिनुपर्ने कर्तव्य भएको व्यक्ति नभएको अवस्थामा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकेको व्यक्तिले त्यस्तो सूचना दिनुपर्नेछ ।

५. व्यक्तिगत घटना दर्ता गर्ने

(१) दफा ४ बमोजिमको सूचना प्राप्त हुनासाथ स्थानीय पंजिकाधिकारीले देहायबमोजिम गरी त्यस्तो घटना सम्बन्धित दर्ता किताबमा दर्ता गर्नेछ :- (क) सूचना दिन आउने व्यक्तिले भरेको फाराम ठीक छ छैन जाची ठीक नभए ठीक गर्न लगाई, र (ख) सूचना गर्न आउने व्यक्ति लेखपढ गर्न नजान्ने भए निजले भने बमोजिम आफैले फाराम भरी वा भर्न लगाई निजको ल्याप्चे सहीछाप गराई ।

(२) सम्बन्ध विच्छेदको सूचना दर्ता गर्दा सो सम्बन्धमा अदालतबाट भएको निर्णय समेत हेरी दर्ता गर्नु पर्नेछ ।

“(३) दफा ४ को उपदफा (१) वा (२) मा तोकिएको अवधि नाघेपछि व्यक्तिगत घटना दर्ता गराउन आएमा स्थानीय पञ्जिकाधिकारीले पचास रुपैंया दस्तुर लिई दर्ता गर्नेछ।”

(ख)   उपदफा (४) झिकिएको छ।

६. प्रमाणपत्र दिने

दफा ५ बमोजिम व्यक्तिगत घटनाको सूचना दर्ता गर्नासाथ स्थानीय पंजिकाधिकारीले दफा ४ को उपदफा (१) मा तोकिएका व्यक्तिलाई निःशुल्क दर्ताको प्रमाणपत्र दिनेछ । 

६क.  दर्ता गर्न तथा प्रमाणपत्र दिन नहुनेः (१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि प्रचलित कानून बमोजिम स्वतः बदर हुने विवाह लगायतका व्यक्तिगत घटनाको दर्ता गर्न तथा सोको प्रमाणपत्र दिनु हुँदैन।

(२) उपदफा (१) बमोजिम व्यक्तिगत घटना दर्ता गर्न ल्याएमा सो घटनाको बेग्लै अभिलेख राखी सो सम्बन्धमा प्रचलित कानून बमोजिमको कारबाही गर्न सम्बन्धित निकाय वा अधिकारी समक्ष पेश गर्नु पर्नेछ।

(३) यस दफामा लेखिएको कुनै कुराले स्वतः बदर हुने विवाहको परिणामबाट जन्मिएका शिशुको जन्म दर्ता गर्नु पर्ने विषयलाई प्रतिकूल असर पार्ने छैन।”

७. दर्ताको प्रमाणपत्रको नक्कल दिन सकिने

(१) दफा ६ बमोजिम प्रदान गरिएको दर्ताको प्रमाणपत्र हराएमा वा कुनै प्रकारले नष्ट भएमा सरोकारवाला व्यक्तिले सम्बन्धित स्थानीय पंजिकाधिकारीको कार्यालयमा निवेदन दिनुपर्नेछ । (२) उपदफा (१) बमोजिम परेको निवेदनको व्यहोरा मनासिब देखेमा सम्बन्धित स्थानीय पंजिकाधिकारीले तोकिएको दस्तुर लिई दर्ताको प्रमाणपत्रको नक्कल दिनेछ ।

८. परिवारको लगत तयार गर्न कर्मचारी खटाउन सकिने

(१) व्यक्तिगत घटना दर्ता गर्ने प्रयोजनको लागि परिवारको लगत तयार पार्न आवश्यक देखिएमा नेपाल सरकारले सो कामको लागि कर्मचारी खटाउन सक्नेछ । (२) उपदफा (१) बमोजिम खटिएको कर्मचारीले मागेको विवरण वा सोधिएको प्रश्नावलीको जवाफ दिनु सम्बन्धित व्यक्तिको कर्तब्य हुनेछ । 

९. दर्ताको मान्यता

दफा ६ बमोजिम प्रदान गरिएको दर्ताको प्रमाणपत्र व्यक्तिगत घटना भएको छ भन्ने कुराको प्रमाण हुनेछ र त्यस्तो प्रमाण कुनै पनि कार्यालय र अदालतमा पेश गर्न तथा वैयक्तिक कारोवारमा प्रयोग गर्न सकिनेछ । तर कुनै व्यक्तिले झुट्टा विवरण दाखिल गरी दर्ताको प्रमाणपत्र लिएको रहेछ भन्ने कुरो प्रमाणित हुन आएमा, त्यस्तो दर्ताको प्रमाणपत्र रद्द हुनेछ ।

९क. दर्ता भएको उमेर, नाम र जात निःशुल्क सच्याउन सक्ने ः (१) यो ऐन लागू भएपछि जन्मेको बच्चाको उमेर, नाम वा जात यस ऐनबमोजिम एक पटक दर्ता भई दर्ताको प्रमाणपत्र प्रदान गरिए पछि सच्याउन परेमा त्यस्को लागि सम्बन्धित व्यक्तिले त्यसरी दर्ताको प्रमाणपत्र प्रदान गरिएको मितिले ६ महिनाभित्र स्थानीय पंजिकाधिकारीको कार्यालयमा तोकिएको ढाँचामा दरखास्त दिन सक्नेछ । (२) उपदफा (१) बमोजिम दिएको दरखास्त प्राप्त हुन आएपछि स्थानीय पंजिकाधिकारीले सो सम्बन्धमा छानवीन गरी दर्ता किताबमा र दर्ताको प्रमाणपत्रमा रहेको उमेर, नाम वा जात निःशुल्क सच्याई दिन सक्नेछ । (३) यस ऐनबमोजिमको दर्ता किताबमा र प्रदान गरिएको दर्ताको प्रमाणपत्रमा रहेको कुनै व्यक्तिको उमेर, नाम वा जात यस दफा बमोजिम बाहेक प्रचलित अन्य कुनै पनि कानून बमोजिम सच्याउन सकिने छैन ।

१०. व्यक्तिगत घटना दर्ता किताब निरीक्षण गर्न सकिने

कुनै व्यक्तिले …………… स्थानीय पंजिकाधिकारीको कार्यालयमा रहेको व्यक्तिगत घटना दर्ता किताब निरीक्षण गर्न चाहेमा तोकिएको दस्तूर लिई सम्बन्धित पंजिकाधिकारीले दर्ता किताब निरीक्षण गर्न दिन सक्नेछ ।

११. अभिलेख राख्नु पर्ने

सबै स्थानीय पंजिकाधिकारीको कार्यालयले महिनैपिच्छे दर्ता भएको व्यक्तिगत घटनाको विवरण पंजिकाधिकारी कहाँ यथाशीघ्र पठाउनु पर्नेछ र पंजिकाधिकारीले पनि त्यसरी प्राप्त हुन आएको विवरण संकलन एवं विश्लेषण गरी व्यक्तिगत घटना दर्ताको अभिलेख अध्यावधिक गरी वार्षिक नतीजा समेत प्रकाशित गर्नुपर्नेछ ।

“११क. एकीकृत विद्युतीय प्रणालीको निर्माणः (१) नेपाल सरकारले व्यक्तिगत घटना दर्ताको लागि एकीकृत विद्युतीय प्रणालीको निर्माण गरी संचालनमा ल्याउने छ।

(२) उपदफा (१) बमोजिम संचालनमा ल्याइएको विद्युतीय प्रणालीमा गाउँपालिका वा नगरपालिकालाई पहुँच दिइनेछ र गाउँपालिका वा नगरपालिकाले व्यक्तिगत घटना दर्तामा त्यस्तो प्रणालीको अवलम्वन गर्नु पर्नेछ।”

१२. गाउँपालिका वा नगरपालिकाको कर्तव्य

(१) यो ऐन बमोजिम दर्ता गराउनु पर्ने व्यक्तिगत घटना भएको थाहा पाएमा सम्बन्धित गाउँपालिका वा नगरपालिकाले सम्बन्धित व्यक्तिलाई सम्झाई बुझाई त्यस्तो घटनाको सूचना दर्ता गर्ने सम्बन्धमा आवश्यक सहयोग गर्नुपर्नेछ ।

(२) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम गर्नुपर्ने कामको सिलसिलामा खटिएका कर्मचारी वा स्थानीय पंजिकाधिकारीलाई आवश्यक सहयोग गर्नु गाउँपालिका वा नगरपालिकाको कर्तव्य हुनेछ ।

१३. दण्ड सजाय

(१) दफा ८ को उपदफा (२) बमोजिम मागिएको विवरण वा सोधिएको प्रश्नावलीको जवाफ नदिनेलाई बढीमा“दुईसय रूपैयाँसम्म” जरिवाना हुनेछ ।
(२) कसैले अरुलाई दुःख दिने वा व्यक्तिगत लाभ गर्ने नियतले झुठ्ठो व्यक्तिगत घटनाको सूचना दिएको प्रमाणित भएमा त्यस्तो झुठ्ठो सूचना दिने व्यक्तिलाई बढीमा एक सय रुपैयाँसम्म जरिवाना वा एक महिनासम्म कैद वा दुवै हुनेछ र त्यस्तो घटना दर्ता भइसकेको रहेछ भने सो दर्ता रद्द हुनेछ ।
(३) कसैले आफनो जिम्मामा रहेको व्यक्तिगत घटना सम्बन्धी सूचना फाराम वा दर्ता किताब वा परिवार लगत जानी–जानी नष्ट गरेमा वा व्यक्तिगत लाभ वा अनधिकृत कामको लागि प्रयोग गरेमा निजलाई तीन महिनासम्म कैद वा तीन सय रूपैयाँदेखि छ सय रुपैयाँसम्म जरिवाना वा दुवै सजाय गर्न सकिनेछ ।
(४) कसैले व्यक्तिगत घटना दर्ता गराउन आउने व्यक्तिलाई दर्ता गराउन रोकेको वा छेकथुन गरेको वा भड्काएको ठहरेमा निजलाई बढीमा दुई सय रुपैयाँसम्म जरिवाना हुनेछ ।

१५. मुद्दा हेर्ने अधिकारी र कार्यविधि

(१) दफा १३ अन्तर्गत सजाय हुने मुद्दाको कारवाई र किनारा गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई हुनेछ । (२) उपदफा (१) बमोजिम मुद्दाको कारवाई गर्दा प्रमुख जिल्ला अधिकारीले विशेष अदालत ऐन, २०५९ बमोजिमको कार्यविधि अपनाउनेछ । (३) उपदफा (१) बमोजिम प्रमुख जिल्ला अधिकारीले गरेको निर्णय उपर उच्च अदालतमा पुनरावेदन लाग्नेछ ।

१६. बाधा अडकाउ फुकाउने अधिकार

यो ऐनमा लेखिएको कुनै कुरा कार्यान्वित गर्न बाधा अड्काउ परेमा नेपाल सरकारले त्यस्तो बाधा अडकाउ फुकाउन नेपाल राजपत्रमा सूचना प्रकाशित गरी आवश्यक आदेश जारी गर्न सक्नेछ । धा अडकाउ फुकाउने अधिकार ः यो ऐनमा लेखिएको कुनै कुरा कार्यान्वित गर्न बाधा अड्काउ परेमा नेपाल सरकारले त्यस्तो बाधा अडकाउ फुकाउन नेपाल राजपत्रमा सूचना प्रकाशित गरी आवश्यक आदेश जारी गर्न सक्नेछ ।

१७. नियम बनाउने अधिकार

(१) यस ऐनको उद्देश्य कार्यान्वित गर्नको लागि नेपाल सरकारले नियमहरू बनाउन सक्नेछ ।

(२) उपदफा (१) ले दिएको अधिकारको सर्वसामान्यतामा प्रतिकूल प्रभाव नपर्ने गरी खासगरी देहायका विषयहरूमा नियमहरू बनाउन सकिनेछ ः

(क) यस ऐन बमोजिम भर्नुपर्ने व्यक्तिगत घटनाको सूचना फाराम तथा स्थानीय पंजिकाधिकारीको कार्यालयमा रहने दर्ता किताब सम्बन्धमा,

(ख) व्यक्तिगत घटनाको दर्ताको प्रमाणपत्र सम्बन्धमा,

(ग) व्यक्तिगत घटनाको दर्ताको प्रमाणपत्रको नक्कल तथा दर्ता किताबको निरीक्षण दस्तुर सम्बन्धमा,

(घ) परिवारको लगत तयार गर्ने आवश्यक विवरण वा प्रश्नावलीको ढाँचा तोक्ने सम्बन्धमा,

(ङ) विवरण सच्याउने सम्बन्धमा

(च) बच्चाको नाम दर्ता गर्ने र दर्ता भइसकेको नाम फेर्ने सम्बन्धमा ।