३. संस्थानको स्थापना : (१) “गोरखापत्र संस्थान” नामले एउटा संस्थान स्थापित हुनेछ ।
(२) संस्थान अविच्छिन्न उत्तराधिकारवाला एक स्वशासित र संगठित संस्था हुनेछ । यो संस्थाको सबै कामको निमित्त आफ्नो एउटा छुट्टै छाप हुनेछ । यसले यस ऐन र प्रचलित नेपाल कानूनको अधीनमा रही चल अचल सम्पत्ति प्राप्त गर्न भोग गर्न र नामसारी गर्न सक्नेछ । यसले आफ्नो नामबाट नालेश उजूर गर्न र यस उपर पनि सोही
नामबाट नालेश उजूर लाग्न सक्नेछ ।
(३) संस्थानको प्रधान कार्यालय काठमाडौंमा रहनेछ र नेपाल …………भित्र वा विदेशमा समेत एजेण्ट, समाचारदाता वा बिक्री केन्द्रहरू नियुक्त गर्नु वा खडा गर्नु संस्थानको लागि कानूनी हुनेछ ।
४. पूँजी शेयर र शेयरहोल्डरहरू : (१) संस्थानको अधिकृत पूँजी नेपाल सरकारले निर्धारण गरे बमोजिम हुनेछ ।
(२) संस्थानको कूल पूँजीमा कम्तीमा एकाउन्न प्रतिशत शेयर नेपाल सरकारले लिनेछ र बढीमा पच्चीस प्रतिशत शेयर समितिका कर्मचारीलाई तोकिए बमोजिम बिक्री गरिनेछ । बाँकी रहेको शेयर सर्वसाधारणलाई बिक्री गरिनेछ । कर्मचारीले खरीद गरेको शेयर निजले संस्थानको सेवामा रहुन्जेल सुक्री बिक्री गर्न पाउने छैन ।
(३) प्रत्येक शेयर अविभाज्य हुनेछ ।
(४) साधारणतः संस्थानका कर्मचारीलाई बाहेक कुनै व्यक्ति वा कम्पनीलाई तोकिएको प्रतिशतभन्दा बढी शेयर दिनमा प्रतिबन्ध लगाउन सकिनेछ ।
(५) संस्थानको शेयरहोल्डरको दायित्व सीमित हुनेछ ।
५. शेयरहोल्डर हुन अयोग्यता : नेपालको नागरिक वा नेपाल कानून अन्तर्गत रजिष्टर भएको कम्पनी वा सहकारी संस्था बाहेक अरू कसैले पनि संस्थानको शेयर किन्न वा
शेयर होल्डर हुन पाउने छैन ।
६. अनुदान र ऋण लिने अधिकार : साधारण सभाको व्यवस्था भएपछि सो सभाले पास गरे बमोजिम वा साधारण सभाको व्यवस्था नभएसम्म संस्थानले नेपाल सरकारको स्वीकृति लिई आफ्नो चालू पूँजी (वर्किङ्ग क्यापिटल) बढाउनको लागि आवश्यक नगद वा जिन्सी ऋण लिन वा अनुदान स्वीकार गर्न सक्नेछ ।
तर नेपाल सरकारको स्वीकृति नलिई संस्थानले कुनै विदेशी एजेन्सीबाट ऋण लिन वा अनुदान स्वीकार गर्नु हुँदैन ।
७. व्यवस्था : यस ऐन वा यस ऐन अन्तर्गत बनेको नियम विनियममा अन्यथा लेखिएकोमा बाहेक संस्थानको सबै काम कारवाईको रेखदेख, निर्देशन र व्यवस्था समितिले गर्नेछ ।
तर समितिले यो ऐन वा यस ऐन अन्तर्गतका नियम वा विनियममा उल्लेख गरिएका आफ्नो कर्तव्य र अधिकारहरू मध्ये आफूले आवश्यक एवं उचित देखेका कर्तव्य र अधिकारहरू महाप्रबन्धक वा एक वा एक भन्दा बढी सञ्चालकहरूको उपसमिति वा संस्थानका अरू पदाधिकारीले पालन तथा प्रयोग गर्ने गरी सुम्पन सक्नेछ ।
८. सञ्चालक समितिको गठन र सञ्चालकहरूको कार्य अवधि : (१) सञ्चालक मिति (यसपछि “समिति” भनिएको) मा देहाय बमोजिमका पाँचजना सञ्चालकहरू रहनेछन्:–
(क) संस्थानको महाप्रबन्धक,
(ख) गैर सरकारी शेयर होल्डरहरू मध्येबाट साधारण सभाद्वारा निर्वाचित एकजना,
(ग) सरकारी शेयर वापत नेपाल सरकारले मनोनयन गरेको एकजना,
(घ) पत्रकारिता प्रकाशन वा साहित्य क्षेत्रमा ख्याति प्राप्त व्यक्तिमध्येबाट नेपाल सरकारले मनोनयन गरेको एकजना,
(ङ) संस्थानमा काम गर्ने शेयर होल्डर कर्मचारी मध्येबाट निर्वाचित एकजना ।
(२) साधारण सभाद्वारा निर्वाचित हुने व्यवस्था नभएसम्म वा उपदफा (१) को खण्ड (ङ) अन्तर्गत शेयरवाला कर्मचारी मध्येबाट निर्वाचित हुने व्यवस्था नभएसम्म शेयर
होल्डरबाट निर्वाचित हुने सञ्चालक पनि नेपाल सरकारबाट मनोनीत हुनेछ ।
(३) समितिको अध्यक्ष नेपाल सरकारले तोक्नेछ र त्यसरी अध्यक्ष नतोकेकोमा समितिको अध्यक्षता संस्थानको महाप्रबन्धकले गर्नेछ ।
(३क) खण्ड (ख), (ग), (घ) र (ङ) अन्तर्गत निर्वाचित वा मनोनीत सञ्चालकहरूको कार्यावधि चार वर्षको हुनेछ र कार्यावधि सकिएपछि निजहरू पुनः
निर्वाचित वा मनोनीत हुन सक्नेछन्।
(४) उपदफा (३क) मा जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (१) को खण्ड (ग) र (घ) अन्तर्गत मनोनीत सञ्चालकको कार्यावधि पूरा नहुँदै निजको सट्टा
नेपाल सरकारले अरू कुनै व्यक्तिलाई मनोनयन गर्न सक्नेछ ।
(५) साधारण सभाबाट संस्थानका कर्मचारीहरूबाट सञ्चालकको निर्वाचन भै कार्यभार सम्हालेपछि तिनका हकमा नेपाल सरकारबाट मनोनीत सञ्चालकहरू स्वतःखारेज हुनेछ ।
(६) … … …
९. सञ्चालकको निमित्त अयोग्यता : देहायको कुनै व्यक्ति सञ्चालक हुन वा रहन सक्ने छैन :–
(क) बहुला वा मानसिक सन्तुलन रहित व्यक्ति,
(ख) नैतिक पतन देखिने फौज्दारी अभियोगमा कसुरदार प्रमाणित भै सो वापत ६ महीनाभन्दा बढी कैदको सजाय पाएको र त्यस्तो कैदको सजाय
भोगिसकेका मितिले ५ वर्ष भुक्तान नगरेको व्यक्ति,
(ग) ऋण तिर्न नसकी साहुको दामासाहीमा परेको व्यक्ति, वा
(घ) संस्थानसँगको कुनै ठेक्का पट्टा वा करारमा कुनै प्रकारको निजी स्वार्थ भएको व्यक्ति ।
१०. सञ्चालकलाई हटाउन सकिने अवस्था : देहायको अवस्थामा मनोनीत सञ्चालकहरूलाई नेपाल सरकारले र निर्वाचित सञ्चालकलाई साधारण सभामा उपस्थित शेयर
होल्डरहरूको बहुमतले हटाउन सक्नेछ ।
(क) दफा ९ मा उल्लिखित कुनै अयोग्यता भएमा, वा
(ख) समितिको अनुमति बिना समितिको बैठकमा लगातार ३ पटक भन्दा बढी अनुपस्थित भएमा र सो अनुपस्थितिको कारण मनोनीत सञ्चालक भए नेपाल सरकारको दृष्टिकोणबाट र निर्वाचित सञ्चालक भए साधारण सभाको दृष्टिकोणबाट बेमुनासिब देखिएमा, वा
(ग) दफा १६ उल्लंघन गरी संस्थानसँग भएको कुनै ठेक्का पट्टामा हिस्सेदार भएको प्रमाणित भएमा ।
११. सञ्चालकको राजीनामा र खालि हुने स्थानको पूर्ति : (१)कुनै मनोनीत सञ्चालकले नेपाल सरकार छेउ र निर्वाचित सञ्चालकले समिति छेउ लिखित सूचना दिई आफ्नो
पदबाट राजीनामा दिन सक्नेछ । राजीनामा स्वीकृत भएपछि निजले पद त्याग गरेको मानिने छ ।
(२) मृत्यु, राजीनामा वा अरू कुनै कारणबाट कुनै मनोनीत वा निर्वाचित सञ्चालकको पद खालि हुन आएमा अवस्थानुसार अर्को मनोनयन वा निर्वाचनद्वारा सो खालि स्थानको पूर्ति गरिनेछ र निर्वाचनद्वारा आउने सञ्चालक आफ्नो साविकवालाको बाँकी अवधिसम्म मात्र सो स्थानमा बहाल रहनेछ ।
(३) समितिको गठनमा कुनै त्रुटि भई वा कुनै सञ्चालकको स्थान खालि भै समितिमा काम कारवाही भएको भए पनि सोही कारणले मात्र त्यस्तो काम कारवाई बदर
हुन सक्तैन ।
१२. सञ्चालकहरूको पारिश्रमिक : सञ्चालकहरूको पारिश्रमिक तोकिए बमोजिम हुनेछ ।
१३. समितिको बैठक : (१) तोकिएको समय र स्थानमा समितिको बैठक बस्नेछ र समितिको बैठकको कार्यविधि तोकिएबमोजिम हुनेछ । अध्यक्ष वा निजको अनुपस्थितिमा सो बैठकको निमित्त सञ्चालकहरूले आफूहरूमध्येबाट छानेको सञ्चालकले समितिको बैठकको
अध्यक्षता गर्नेछ ।
(२) समितिमा तत्काल कायम रहेका सदस्यहरूको कूल संख्याको आधिभन्दा बढी सदस्यहरू बैठकमा उपस्थित भएमा समितिको कोरम पुगेको मान्नु पर्दछ र कोरम
नपुगेमा सो बैठक स्थगित गरिनेछ ।
(३) समितिको बैठकमा उपस्थित भै मत दिने सञ्चालकहरूको बहुमतले सबै कुराको निर्णय हुनेछ । अध्यक्षता गर्ने सञ्चालकले साधारणतया मत दिन पाउने छैन तर
बराबर मत भएमा निर्णयात्मक मत दिन पाउनेछ ।
१४. महाप्रबन्धक, सल्लाहकार र अन्य कर्मचारीको नियुक्ति : (१) संस्थानको कार्यहरूको सञ्चालनको निमित्त नेपाल सरकारले एकजना महाप्रबन्धक र आवश्यक भएजति सल्लाहकार तथा समितिले अरू कर्मचारीहरू नियुक्त गर्न सक्नेछ । निजहरूको नियुक्ति, सेवाको शर्त, कार्यविधि र पारिश्रमिक तोकिए बमोजिम हुनेछ ।
… … …
(२) संस्थानको कर्मचारीले प्रत्येक महीनामा पाउने पारिश्रमिकको तोकिए बमोजिमको अंकबाट अनिवार्य रूपले संस्थानको शेयर खरीद गर्न पर्ने गरी नियुक्ति र
सेवाको शर्त राख्न सकिने छ ।
तर अस्थाई नियुक्ति भएको र करार सेवामा नियुक्ति गरिएका कर्मचारीलाई शेयर बिक्री गरिने छैन ।
१५. सञ्चालकले बैठकमा भाग लिन नपाउने : महाप्रबन्धक वा दफा ८ बमोजिम सञ्चालक भइरहेको कर्मचारीलाई करवाही गर्ने सम्बन्धमा बसेको समितिको बैठकमा महाप्रबन्धक वा त्यस्तो कर्मचारीले सञ्चालकको हैसियतले त्यस्तो बैठकमा भाग लिन पाउने छैन ।
१६. संस्थानको सञ्चालक र महाप्रबन्धक उपर प्रतिबन्ध : संस्थानका कुनै सञ्चालकले र महाप्रबन्धकले संस्थानसँग हुने कुनै ठेक्का पट्टामा हिस्सेदार हुन सक्ने छैन ।
तर संस्थानले लिए दिएको वा लिने दिने प्रस्ताव गरेको कुनै ठेक्का पट्टामा वा संस्थानको कुनै सहायक अङ्गले लिई दिई वा लिने दिने प्रस्ताव गरी सञ्चालक समितिको
विचारार्थ पेश हुन आएको कुनै ठेक्का पट्टामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपबाट सरोकार भएको कुरा आफूलाई थाहा हुनासाथ प्रत्येक सञ्चालक वा महाप्रबन्धकले सो कुरा यथाशीघ्र समितिको सभामा पेश गर्नु पर्दछ । सो पेश भएको कुरा माइन्यूट बूकमा जनाइने छ र सरोकारवाला सञ्चालकले सो ठेक्का पट्टा बारे समितिमा हुने कुनै विचार विमर्श वा निर्णयमा भाग लिन पाउने छैन ।
१७. संस्थानको काम र कर्तव्य : (१)… … … राष्ट्रिय दृष्टिकोण तथा व्यापकताले पूर्ण स्वस्थ, उत्तरदायी तथा मनोरञ्जन सामग्रीले युक्त पत्र–पत्रिकाको प्रकाशन एवं वितरणद्वारा देशी विदेशी समाचार एवं अन्य उपयोगी कुराहरूको जानकारी सर्वसाधारणलाई………..नेपालभर सरल, सुलभ, एवं सुपथ किसिमले उपलब्ध गराउनु संस्थानको कर्तव्य हुनेछ ।
(२) उपदफा (१) अन्तर्गतको अधिकार र कर्तव्यको सर्वसामान्यतामा कुनै प्रतिकूल प्रभाव नपारी संस्थानले विशेष गरेर देहायमा लेखिएका कामहरू गर्न अथवा
अधिकारहरू प्रयोग गर्न पाउनेछ :–
(क) गोरखापत्र दैनिकको मुद्रण, प्रकाशन, वितरण, सञ्चालन, आदि सबै काम गर्ने,
(ख) गोरखापत्र दैनिक र राईजिङ्ग नेपालका विभिन्न संस्करण प्रकाशनको स्तरमा सुधार ल्याउने तथा देशी एवं विदेशी समाचारलाई सकभर व्यापक रूपमा समावेश गर्ने,
(ग) राष्ट्रियता र प्रजातान्त्रिक भावनालई विकसित गर्दै लैजाने किसिमका आकर्षक, रोचक, संस्कृतिपरिचायक तथा मनोरञ्जनपूर्ण प्रकाशनहरू प्रकाशित गर्ने ।
(घ) .. … …
(ङ) गोरखापत्र दैनिक, राइजिङ्ग नेपाल र संस्थानका अन्य प्रकाशनका विभिन्न संस्करण, आकार प्रकार र मूल्य अन्य दस्तूर आदि निर्धारण गर्ने र असूल गर्ने ।
(च) आफूले गर्नु पर्ने कामको अतिरिक्त जन–साधारणले प्रकाशन गर्न ल्याएको कुरा आवश्यक दस्तूर लिई छपाई दिने,
(छ) संस्थानभित्र वा बाहिरका व्यक्तिलाई संस्थानको काम कुरामा शिक्षा एवं तालीमको व्यवस्था गर्ने,
(ज) आफूले गर्न पाउने काम गर्नका लागि चल अचल सम्पत्ति प्राप्त गर्ने, भोग गर्ने र नामसारी गर्ने,
(झ) आफ्नो अधिकारको प्रयोग गर्न र कर्तव्यको पालन गर्नमा मद्दत हुने किसिमको सबै ठेक्का पट्टा लिने दिने र कार्यान्वित गर्ने,
(ञ) संस्थानको सम्पत्ति धितो बन्धक राखी अरूसँग सापटी लिने,
(ट) संस्थानको सम्पत्ति भाडामा दिने, बिक्री गर्ने वा अरू प्रकारको बन्दोबस्त गर्ने,
(ठ) डिपोजिटको ब्याज दिने र संस्थानको शेयरको लाभांश बाँड्ने,
(ड) आफ्नो प्रकाशन प्रति जनताको विश्वास बढाउन आवश्यक प्रचार गर्ने,
(ढ) आफ्नो प्रकाशनको बिक्री वितरणको लागि नेपालभित्र र विदेशमा समेत ठाउँ ठाउँमा बिक्री केन्द्र खोल्ने वा एजेन्सी दिने,
(ण) आफ्नो पदाधिकारी वा अरू कर्मचारीलाई निवृत्तभरण वा उपदानको व्यवस्था गर्ने तथा बचत खाता खोल्ने,
(त) आफ्नो रकमलाई नेपाल सरकारले अनुमति दिएका सेक्युरिटीहरूमा लगाउने,
(थ) यो ऐन अन्तर्गतको आफ्नो कर्तव्यहरूको पालन र अधिकारहरूको प्रयोग र यो ऐनको उद्देश्यहरूलाई कार्यान्वित गर्न आवश्यक भएका र त्यसको सिलसिलामा चाहिने अरू सबै काम कुराहरू गर्ने ।
१८. नेपाल सरकारको पूर्व स्वीकृति प्राप्त गर्नु पर्ने : संस्थानले नेपाल सरकारको पूर्व स्वीकृति नलिई देहायको काम कुरा गर्नु हुँदैन :–
(क) एक करोड रुपैयाँभन्दा बढी मूल्य पर्ने कुनै अचल सम्पत्ति खरीद गर्न वा प्राप्त गर्न, वा
(ख) दश वर्षभन्दा बढी समयको लागि कुनै अचल सम्पत्ति धितो लिन दिन, वा
(ग) पाँचलाख रुपैयाँभन्दा बढी मोल पर्ने कुनै सम्पत्ति वा अधिकार वा सुविधा बेचबिखन गर्न वा नामसारी गर्न ।
१९. कार्यक्रम पेश गर्ने : (१) संस्थानको आफ्नो आर्थिक वर्ष शुरु हुनुभन्दा कमसेकम तीन महीना अगावै संस्थान र त्यसका सहायक अङ्गहरूद्वारा आगामि आर्थिक वर्षमा गरिने कार्य सञ्चालन सम्बन्धी कार्यक्रम, विकास कार्य, आय व्ययको विवरण, अरू काम कुराहरूको विवरण, पूँजी लगानी र कर्मचारीहरूको थप मद्दत चाहिने भए त्यसको विवरण सहित समितिले आर्थिक लगत प्रस्तावित गरी साधारण सभामा स्वीकृति निमित्त पेश गर्नु पर्दछ ।
(२) कुनै आर्थिक वर्षमा संस्थानले उपदफा (१) अन्तर्गत पहिले नै पेश भइसकेको कार्यक्रममा उल्लिखित कुराहरूको अतिरिक्त अरू कुनै विशेष कार्य गर्न चाहेमा र त्यसले गर्दा प्रस्तावित आर्थिक लगतमा ठोस अदल बदल ल्याउने सम्भावना भएमा संस्थानले यस्तो काम कुराको पूरक कार्यक्रम र त्यस सम्बन्धमा उक्त आर्थिक सालको बाँकी रहन आएको रकममा व्यहोर्ने खर्च र प्राप्त गर्ने रकमको पूरक लगत साधारण सभामा स्वीकृति निमित्त पेश गर्नेछ ।
(३) साधारण सभाको व्यवस्था नभएसम्म समितिले उपदफा (१) र (२) बमोजिमको लगत नेपाल सरकारमा पेश गर्नु पर्दछ ।