७. सभाको गठनः (१) विश्वविद्यालयमा सर्वोच्च निकायको रूपमा एक सभा रहनेछ ।
(२) सभाको गठन देहाय बमोजिम हुनेछः–
(क) कुलपति – अध्यक्ष
(ख) सह–कुलपति – उपाध्यक्ष
(ग) उप–कुलपति – सदस्य
(घ) सदस्य, राष्ट्रिय योजना आयोग (शिक्षा, कृषि र वन हेर्ने) – सदस्य
(ङ) अध्यक्ष, विश्वविद्यालय अनुदान आयोग – सदस्य
(च) उप–कुलपति, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान – सदस्य
(छ) अन्य विश्वविद्यालयका उप–कुलपतिहरूमध्येबाट एकजना – सदस्य
(ज) सचिव, शिक्षा मन्त्रालय – सदस्य
(झ) सचिव, कृषि तथा सहकारी मन्त्रालय – सदस्य
(ञ) सचिव, वन तथा भू–संरक्षण मन्त्रालय – सदस्य
(ट) सचिव, अर्थ मन्त्रालय – सदस्य
(ठ) सचिव, विज्ञान तथा प्रविधि मन्त्रालय – सदस्य
(ड) डीन – सदस्य
(ढ) निर्देशक – सदस्य
(ण) कार्यकारी निर्देशक, नेपाल कृषि अनुसन्धान परिषद् – सदस्य
(त) नेपाल प्राध्यापक संघको केन्द्रीय अध्यक्ष – सदस्य
(थ) ……………………….
(द) विश्वविद्यालय रहेको नगर कार्यपालिकाको प्रमुख – सदस्य
(ध) निर्देशक, पाठ्यक्रम विकास केन्द्र – सदस्य
(न) कृषि, वन तथा पशु विज्ञानको क्षेत्रमा विशिष्ट योगदान पुर्याएका व्यक्तिहरूमध्येबाट कम्तीमा एकजना महिला सहित तीनजना – सदस्य
(प) प्रत्येक संकायबाट एक÷एकजनाको प्रतिनिधित्व हुने गरी शिक्षक प्रतिनिधिहरू – सदस्य
(फ) विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको सभापति – सदस्य
(ब) शिक्षाप्रेमी, उद्योगपति तथा चन्दादाताहरूमध्येबाट तीनजना – सदस्य
(भ) कर्मचारी प्रतिनिधिमध्येबाट एकजना – सदस्य
(म) रजिष्ट्रार – सदस्य–सचिव
(३) उपदफा (२) बमोजिमका पदेन सदस्यहरू बाहेक अन्य सदस्यहरूको मनोनयन कार्यकारी परिषद्को सिफारिसमा कुलपतिबाट हुनेछ ।
(४) उपदफा (२) बमोजिमका मनोनीत सदस्यहरूको पदावधि तीन वर्षको हुनेछ ।
(५) कुनै कारणले मनोनीत सदस्यहरूको पद रिक्त हुन गएमा बाँकी अवधिको लागि उपदफा (३) बमोजिमको प्रक्रिया पूरा गरी अर्को व्यक्तिलाई मनोनयन गरिनेछ ।
८. सभाको बैठकः (१) सभाको बैठक वर्षको कम्तीमा दुई पटक अनिवार्य रूपमा बस्नेछ ।
(२) सभाको बैठक सभाको अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ ।
(३) सभाको बैठक हुनुभन्दा कम्तीमा पन्ध्र दिन अगावै बैठकमा छलफल हुने विषयको कार्यसूची सहितको सूचना सभाको सदस्य–सचिवले सभाका सबै सदस्यहरूलाई दिनेछ ।
(४) सभामा तत्काल कायम रहेका कूल सदस्य संख्याको पचास प्रतिशतभन्दा बढी सदस्यहरू उपस्थित भएमा बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ ।
(५) सभाको बैठकको अध्यक्षता सभाको अध्यक्षले, निजको अनुपस्थितिमा सभाको उपाध्यक्षले र अध्यक्ष तथा उपाध्यक्ष दुवैको अनुपस्थितिमा उप–कुलपतिले गर्नेछ ।
(६) सभाको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकमा अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ ।
(७) सभाको बैठकको निर्णय सभाको सदस्य–सचिवले उप–कुलपतिबाट प्रमाणित गराई राख्नेछ ।
(८) सभाको बैठक सम्बन्धी अन्य कार्यविधि सभा आफैले निर्धारण गरे बमोजिम हुनेछ ।
९. सभाको काम, कर्तव्य र अधिकारः सभाको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) विश्वविद्यालयको नीति निर्धारण गर्ने,
(ख) विश्वविद्यालय र सो अन्तर्गतका निकायलाई मार्गदर्शन गर्ने,
(ग) विश्वविद्यालयबाट प्रदान गरिने उपाधि निर्धारण गर्ने र त्यस्तो उपाधि प्रदान गर्ने,
(घ) विश्वविद्यालयको दीर्घकालीन योजना, वार्षिक बजेट र कार्यक्रम स्वीकृत गर्ने,
(ङ) विश्वविद्यालय सम्बन्धी नियम पारित गर्ने,
(च) विश्वविद्यालय अन्तर्गतका निकायको वार्षिक प्रतिवेदनमाथि छलफल गर्ने र त्यस्ता निकायको कार्यक्रमको मूल्याङ्कन गर्ने,
(छ) विश्वविद्यालयको लेखापरीक्षण प्रतिवेदनमाथि छलफल गर्ने र स्वीकृति दिने,
(ज) आवश्यकता अनुसार विभिन्न समिति, उप–समिति वा कार्य टोलीको गठन गर्ने,
(झ) तोकिए बमोजिम अन्य कामहरू गर्ने ।