Skip to contentSkip to left sidebar Skip to footer

हवाई सुरक्षा (व्यवस्था) नियमावली, २०४६

नेपाल राजपत्रमा प्रकाशित मिति

नेपाल राजपत्रमा प्रकाशित मिति
संशोधन २०४६।३।५
१. हवाई सुरक्षा (व्यवस्था) (पहिलो संशोधन) नियमावली, २०५२ २०५२।१०।१
२. हवाई सुरक्षा (व्यवस्था) (दोस्रो संशोधन) नियमावली, २०५७ २०५७।६।५
३. हवाई सुरक्षा (व्यवस्था) (तेस्रो संशोधन) नियमावली, २०६१ २०६१।११।१०
४. हवाई सुरक्षा (व्यवस्था) (चौथो संशोधन) नियमावली, २०७० २०७०।१।३०
गैर सैनिक हवाई उडान (सिभिल एभिएशन) ऐन, २०१५ को दफा ३ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ ।

परिच्छेद–१ प्रारम्भिक

 

१.१ संक्षिप्त नाम र प्रारम्भ :
१.१.१ यी नियमहरूको नाम “हवाई सुरक्षा (व्यवस्था) नियमावली, २०४६” रहेको छ ।
१.१.२ यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।
१.२ परिभाषा :
१.२.१ विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस नियमावलीमा –
१.२.१.१ “समिति” भन्नाले नियम २.१ बमोजिम गठित राष्ट्रिय नागरिक उड्डयन सुरक्षा समिति सम्झनु पर्छ ।
१.२.१.२ “विमानस्थल सुरक्षा समिति” भन्नाले नियम ३.१ बमोजिम गठन हुने विमानस्थल हवाई सुरक्षा समिति सम्झनु पर्छ ।
१.२.१.३ “प्राधिकरण” भन्नाले नेपाल नागरिकक उड्डयन प्राधिकरण ऐन, २०५३ बमोजिम स्थापना भएको नेपाल नागरिक उड्डयन प्राधिकरण सम्झनु पर्छ ।
१.२.१.४ “महानिर्देशक” भन्नाले प्राधिकरणको महानिर्देशक सम्झनु पर्छ ।

परिच्छेद–२ राष्ट्रिय नागरिक उड्डयन सुरक्षा समितिको गठन र काम, कर्तव्य तथा अधिकार

२.१ राष्ट्रिय नागरिक उड्डयन सुरक्षा समितिको गठन ः

२.१.१ नागरिक उड्डयनलाई पूर्ण रुपमा सुरक्षित गराउनको लागि देहायका सदस्यहरू रहेको एक राष्ट्रिय नागरिक उड्डयन सुरक्षा समिति गठन गरिएको छः–

२.१.१.१ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री वा राज्य मन्त्री – अध्यक्ष
२.१.१.२ महान्यायाधिवक्ता वा निजले तोकेको नायव महान्यायाधिवक्ता – सदस्य
२.१.१.३ सचिव, अर्थ मन्त्रालय वा निजले तोकेको सह–सचिव स्तरको प्रतिनिधि– सदस्य
२.१.१.४ सचिव, कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय – सदस्य
२.१.१.५ सचिव, गृह मन्त्रालय – सदस्य
२.१.१.६ सचिव, रक्षा मन्त्रालय – सदस्य
२.१.१.७ सचिव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय – सदस्य
२.१.१.८ प्रहरी महानिरीक्षक, प्रहरी प्रधान कार्यालय – सदस्य
२.१.१.९ बलाधिकृत, …………. नेपाली जंगी अड्डा – सदस्य
२.१.१.१० सशस्त्र प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी बल – सदस्य
२.१.१.११ प्रमुख अधिकृत, राष्ट्रिय अनुसन्धान विभाग – सदस्य
२.१.१.१२ महानिर्देशक – सदस्य–सचिव

२.१.२ नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी आवश्यकता अनुसार समितिको सदस्यहरूमा आवश्यक थपघट वा हेरफेर गर्न सक्नेछ ।
२.१.३ समितिले आवश्यक देखेमा कुनै स्वदेशी वा विदेशी विशेषज्ञ वा सल्लाहकारलाई समितिको बैठकमा पर्यवेक्षकको रूपमा भाग लिन आमन्त्रण गर्न सक्नेछ ।

२.१.४समितिको सचिवालय प्राधिकरणको प्रधान कार्यालयमा रहनेछ ।
२.२ समितिको बैठक र निर्णय ः
२.२.१ समितिको बैठक सामान्यतया वर्षको दुई पटक बस्नेछ ।
२.२.२ समितिको अध्यक्षले तोकेको मिति, समय र स्थानमा अध्यक्षको निर्देशन बमोजिम समितिको सदस्य–सचिवले समितिको बैठक बोलाउनेछ ।
२.२.३ समितिको कूल सदस्य संख्याको पचास प्रतिशत सदस्यहरू उपस्थित भएमा बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ ।
२.२.४ समितिको बैठकको अध्यक्षता समितिको अध्यक्षले गर्नेछ र निजको अनुपस्थितिमा बैठकमा उपस्थित सदस्यहरूले आफूमध्येबाट छानेको सदस्यले गर्नेछ ।
२.२.५ समितिको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा अध्यक्षले निर्णायक मत दिनेछ ।
२.२.६ समितिको निर्णय समितिको सदस्य–सचिवद्वारा प्रमाणित गरिनेछ ।
२.२.७ समितिको बैठक सम्बन्धी अन्य कार्यविधि समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ ।
२.३ समितिको काम, कर्तव्य र अधिकार ः
२.३.१ समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः–
२.३.१.१ हवाई सुरक्षा सम्बन्धी राष्ट्रिय नीति निर्धारण गर्ने,

२.३.१.२ हवाई सुरक्षा सम्बन्धी राष्ट्रिय नीति अनुरूप उपयुक्त योजना तर्जुमा गरी कार्यान्वयन गराउने,
२.३.१.३ विमानस्थलहरूमा हवाई सुरक्षाका लागि अपनाउनु पर्ने विभिन्न प्रक्रियाहरू निर्धारण गर्न हवाई सुरक्षा सम्बन्धी दिग्दर्शन तयार गरी लागू गराउने,

२.३.१.४ विमानस्थलहरूमा वायुयानद्वारा आवागमन गर्ने यात्रु तथा ओसार पसार हुने मालसामान जाँच गर्ने प्रक्रिया निश्चित गरी लागू गराउने,
२.३.१.५ वायुयान चालक तथा क्रू सदस्यहरूलाई जाँच गर्ने प्रक्रिया निश्चित गरी लागू गराउने,
२.३.१.६ विमानस्थल वरिपरि तथा आसपासमा सुरक्षाको दृष्टिकोणले सार्वजनिक आवागमनलाई रोक्न निषेधित क्षेत्र तोक्ने,
२.३.१.७ हवाई सुरक्षा सम्बन्धी राष्ट्रिय नीति, योजना तथा कार्यक्रमको समसामयिक मूल्याङ्कन गरी यसलाई अझ बढी प्रभावकारी बनाउने,
२.३.१.८ हवाई सुरक्षा सम्बन्धी दिग्दर्शनमा व्यवस्थित विमानस्थल सुरक्षाका लागि आवश्यक विभिन्न मापदण्ड बमोजिम नयाँ निर्माण हुने विमानस्थलहरू निर्माण भए नभएको र भैरहेका विमानस्थलहरूमा सो बमोजिम थप सेवा सुविधाहरूको विस्तार भए नभएको जाँचबुझ गरी आवश्यक थप सेवा सुविधाहरूको व्यवस्था गर्न लगाउने,

२.३.१.९ प्राधिकरणका कर्मचारीहरूको अतिरिक्त हवाई सुरक्षासंग नियमित तथा आकस्मिक रूपमा सम्बन्धित हुने विभिन्न इकाई वा कर्मचारीहरूको लागि हवाई सुरक्षा सम्बन्धी गोष्ठी, सम्मेलन, तालीम, सुरक्षा अभ्यास (सिमुलेशन) आदिको समुचित व्यवस्था गर्न लगाउने,

२.३.१.१० विमानस्थल हवाई सुरक्षा समितिहरूले हवाई सुरक्षा सम्बन्धी दिग्दर्शन बमोजिम कार्य गरे नगरेको कुराको नियमित रूपमा निरीक्षण गर्न लगाई प्रतिवेदन पेश गर्न लगाउने,

२.३.१.११ हवाई सुरक्षा सम्बन्धी कार्यसंग सम्बन्धित प्रत्येक इकाईको जिम्मेवारीलाई समन्वयात्मक ढंगबाट पूरा गर्न लगाउने,
२.३.१.१२ हवाई सुरक्षा सम्बन्धमा नेपाल सरकारबाट भएका निर्देशनहरूको पालना गर्ने तथा त्यस्ता निर्देशनहरू कार्यान्वयन गर्न लगाउने,
२.३.१.१३ अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनबाट पारित तथा आव्हान भए अनुसारको सुरक्षाका उपाय तथा विधिहरूको पालना गर्ने गराउने,
२.३.१.१४ नागरिक उड्डयन क्षेत्रमा घटेका घटनाहरू सम्बन्धी प्रतिवेदन तयार पार्न लगाई सो को सूचना आवश्यकता अनुसार अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनलाई उपलब्ध गराउन उचित व्यवस्था मिलाउने,
२.३.१.१५ नागरिक उड्डयन सुरक्षा सम्बन्धी अन्य आवश्यक कुराहरूको व्यवस्था गराउने ।

२.४ समितिको अध्यक्षको अधिकार ः हवाई सुरक्षा सम्बन्धमा अप्रत्यासित कुनै समस्या आइपरेमा र तत्काल समितिको बैठक बोलाउन सम्भव नभएमा अध्यक्षले प्रचलित कानूनको अधिनमा रही आवश्यक निर्णय गर्न वा सम्बन्धित निकायलाई निर्देशन दिन सक्नेछ । त्यसरी गरेको निर्णय वा दिएको निर्देशन सम्बन्धी व्यहोरा अध्यक्षले समितिको पहिलो बैठकमा पेश गर्नु पर्नेछ ।

परिच्छेद–३ विमानस्थल सुरक्षा समितिको गठन र काम, कर्तव्य तथा अधिकार

३.१ विमानस्थल सुरक्षा समितिको गठन :

३.१.१ नागरिक उड्डयनलाई पूर्ण सुरक्षित गराउने प्रयोजनको निमित्त समितिको सिफारिसमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी आवश्यकता अनुसार विमानस्थलहरूमा सुरक्षा समिति गठन गर्न सक्नेछ ।

३.१.२ समितिको सिफारिसमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी उपनियम ३.१.१ बमोजिम गठन भएका सुरक्षा समितिका सदस्यहरूमा आवश्यक थपघट वा हेरफेर गर्न सक्नेछ ।

३.१.३ विमानस्थल सुरक्षा समितिको बैठकको कार्यविधि उक्त समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ ।

३.१.४ विमानस्थल सुरक्षा समितिको सचिवालय सम्बन्धित विमानस्थलको नागरिक उड्डयन कार्यालयमा रहनेछ ।
३.२ विमानस्थल सुरक्षा समितिका काम, कर्तव्य र अधिकार ः

३.२.१ विमानस्थल सुरक्षा समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः–
३.२.१.१ समितिद्वारा लागू गरिएका हवाई सुरक्षा सम्बन्धी दिग्दर्शनको प्रभावकारी रूपमा कार्यान्वयन गर्ने गराउने,

३.२.१.२ विमानस्थलमा वायुयानद्वारा आवागमन गर्ने यात्रु, विमान चालक, क्रू सदस्य तथा ओसार पसार हुने मालसामान जाँच गर्ने सम्बन्धमा समितिद्वारा लागू गरिएका प्रक्रियाहरू अपनाउने,

३.२.१.३ विमानस्थलको संवेदनशील विन्दुहरू, सुरक्षा सम्बन्धी विभिन्न उपकरणहरू र अन्य सुविधाहरूको विवरण एवं स्थिति बारेको सूचीहरू तयार पार्न लगाई अध्यावधिक राख्ने र हवाई सुरक्षा सम्बन्धी व्यवस्थालाई ठीक स्थितिमा राख्न आवश्यक व्यवस्था गर्ने,
३.२.१.४ विमानस्थलमा हवाई सुरक्षा सम्बन्धी कार्यमा संलग्न सम्पूर्ण कर्मचारीलाई सदैव सतर्क रूपमा राख्न लगाउने,

३.२.१.५ हवाई सुरक्षासंग सम्बन्धित कर्मचारीलाई विमानस्थल हवाई सुरक्षा कार्यमा लगाउनु भन्दाअघि एवं सो काममा कार्यरत कर्मचारीलाई हवाई सुरक्षा सम्बन्धी निर्धारित प्रक्रियाको आधारभूत ज्ञान दिन आवश्यक तालीम दिने व्यवस्था गर्ने,

३.२.१.६ विमानस्थल विस्तार कार्य अन्तर्गत निर्माण हुने विभिन्न भवनहरू र सुरक्षाका साधन, यन्त्र एवं उपकरण रहेका स्थानमा आवश्यकता अनुसार समुचित सुरक्षाको व्यवस्था गर्ने,

३.२.१.७ विमानस्थलको गतिविधि अनुसार सो विमानस्थलमा विद्यमान सुरक्षाका साधन, यन्त्र एवं उपकरण तथा विधिहरूलाई आपतकालीन स्थितिका लागि समेत उपयुक्त हुने गरी दुरुस्त हालतमा राख्न लगाउने,

.२.१.८ हवाई सुरक्षा कायम राख्नको लागि अन्य राष्ट्रहरूमा प्रचलित नयाँ नयाँ गतिविधि, यन्त्र तथा उपकरणहरूको जानकारी प्राप्त गरी अध्यावधिक रूपमा राख्ने र सोही अनुरूप हवाई सुरक्षा व्यवस्थालाई आधुनिकीकरण गर्ने प्रयास गर्ने,

३.२.१.९ विमानस्थलमा अपनाइएका हवाई सुरक्षा सम्बन्धी व्यवस्थाहरू र त्यसमा गरिने सुधार एवं हेरफेरका सम्बन्धमा समिति तथा प्राधिकरणलाई यथाशीघ्र जानकारी दिने,

३.२.१.१० विमानस्थलमा कार्यरत हवाई सुरक्षा सम्बन्धी कार्यसंग सम्बन्धित विभिन्न निकायका कर्मचारीहरू बीच समन्वय कायम गर्ने,
३.२.१.११ विमानस्थलमा आकस्मिक रूपमा कुनै घटना घट्न गएमा त्यसको जानकारी तुरुन्त समिति तथा प्राधिकरणलाई दिने ।
३.२.१.१२ विमानस्थलको हवाई सुरक्षा सम्बन्धी गतिविधिको वार्षिक प्रतिवेदन समिति तथा प्राधिकरण समक्ष पेश गर्ने,
३.२.१.१३ विमानस्थलमा हवाई सुरक्षा कायम राख्न आवश्यक अन्य कामहरू गर्ने ।

परिच्छेद–४ विविध

४.१ …………………..

४.२ सहयोग पुयाउनु पर्ने : हवाई सुरक्षा कायम राख्न यस नियम अन्तर्गत गरिने काम कारवाहीको सिलसिलामा समिति तथा विमानस्थल सुरक्षा समितिलाई आवश्यक सहयोग पु¥याउनु सम्बन्धित सबैको कर्तव्य हुनेछ ।

४.२क महानिर्देशकले सम्पर्क अधिकारीको रूपमा काम गर्ने : महानिर्देशकले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन र यसका सदस्य राष्ट्र तथा अन्य राष्ट्रसंग हवाई सुरक्षा सम्बन्धमा सूचना आदान प्रदान गर्न सम्पर्क अधिकारीको रूपमा काम गर्नेछ ।

४.२ख सुरक्षा सम्बन्धी कार्यक्रम बनाउनु पर्ने : (१) विमानस्थल क्षेत्रभित्र व्यवसाय सञ्चालन गर्ने व्यक्ति वा इजाजतपत्र प्राप्त वायुसेवा सञ्चालन संस्थाले हवाई सुरक्षामा प्रतिकूल असर नपर्ने गरी आफ्नोे काम गर्न सुरक्षा सम्बन्धी कार्यक्रम बनाउनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम बनाईको सुरक्षा सम्बन्धी कार्यक्रम विमानस्थल सुरक्षा समितिले स्वीकृत गरेपछि लागू हुनेछ ।

४.३ अधिकार र प्रत्यायोजन :

४.३.१ समितिले यस नियमावली बमोजिम आफूलाई प्राप्त अधिकारमध्ये आवश्यकता अनुसार सबै वा केही अधिकार समितिको अध्यक्ष, सदस्य वा सदस्य–सचिवलाई प्रत्यायोजन गर्न सक्नेछ ।

४.३.२ विमानस्थल सुरक्षा समितिले यस नियमावली बमोजिम आफूलाई प्राप्त अधिकारमध्ये आवश्यकता अनुसार सबै वा केही अधिकार विमानस्थल सुरक्षा समितिको सदस्य वा अधिकृतलाई प्रत्यायोजन गर्न सक्नेछ ।

४.४ निर्देशन दिन सक्ने : नेपाल सरकारले आवश्यक देखेमा समय समयमा समिति र विमानस्थल सुरक्षा समितिलाई निर्देशन दिन सक्नेछ । त्यस्तो निर्देशनलाई पालन गर्ने कर्तव्य समिति र विमानस्थल सुरक्षा समितिको हुनेछ ।