Skip to contentSkip to left sidebar Skip to footer

सैनिक अदालत नियमावली, २०६४

सैनिक अदालत नियमावली, २०६४

नेपाल राजपत्रमा प्रकाशित मिति
२०६४।१२।२०
सैनिक ऐन, २०६३ को दफा १४३ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले
देहायका नियमहरू बनाएको छ ।

परिच्छेद–१ प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भः (१) यी नियमहरूको नाम “सैनिक अदालत नियमावली, २०६४” रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।

२. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “ऐन” भन्नाले सैनिक ऐन, २०६३ सम्झनु पर्छ ।
(ख) “कोर्ट अफ इन्क्वायरी” भन्नाले नियम ४ बमोजिम गठित कोर्ट अफ इन्क्वायरी सम्झनु पर्छ ।
(ग) “प्राड विवाकको कार्यालय” भन्नाले प्राड विवाकको प्रमुख रहने जङ्गी अड्डाको कार्यालय सम्झनु पर्छ र सो शब्दले पृतना प्राड विवाक शाखा तथा बाहिनी प्राड विवाक शाखा कार्यालय समेतलाई जनाउँछ ।
(घ) “समिति” भन्नाले ऐनको दफा ६२ को उपदफा (२) बमोजिमको समिति सम्झनु पर्छ ।
(ङ) “रजिष्ट्रार” भन्नाले नियम ३७ बमोजिम सैनिक विशेष अदालतमा काम गर्न तोकिएको प्राड अधिकृत सम्झनु पर्छ ।

परिच्छेद–२ कोर्ट अफ इन्क्वायरीको गठन, अनुसन्धान तथा तहकिकात र मुद्दा दायरी

 

३. कसूरको सूचना दिनु पर्नेः (१) कुनै कसूर भएको वा भइरहेको वा हुन लागेको छ भन्ने कुरा थाहा पाउने व्यक्तिले तत्सम्बन्धी कसूरको बारेमा आफूसँग भएको वा आफूले देखे जानेसम्मको सवुद प्रमाण र सकेसम्म देहायका कुराहरू समेत खुलाइ यथाशीघ्र सो कुराको
लिखित दरखास्त वा मौखिक सूचना नेपाली सेनाको नजिकको युनिट वा सम्बन्धित युनिटलाई दिनु पर्नेछः–
(क) कसूर भएको वा भई रहेको वा हुने सम्भावना भएको मिति, समय र ठाउँ,
(ख) कसूर गर्ने व्यक्तिको नाम, ठेगाना, युनिट, कम्प्युटर नं. र हुलिया,
(ग) कसूरसँग सम्बन्धित सवुद प्रमाण,
(घ) कसूरसँग सम्बन्धित अन्य विवरण ।
(२) कसूरको सूचना मौखिक रूपमा दिइएकोमा सम्बन्धित युनिटले सूचना दिने व्यक्तिले भनेका सवै कुराहरू र उपनियम (१) बमोजिमका कुराहरू समेत लिखित रूपमा खुलाई निजलाई पढी बाँची सुनाई निजको सहिछाप समेत गराइ राख्नु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम प्राप्त लिखित दरखास्त वा उपनियम (२) बमोजिमको सूचना आफ्नो युनिटको दर्ता किताबमा दर्ता गरी जाहेरवाला वा सूचना दिने व्यक्तिलाई सोको भरपाई दिनु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम प्राप्त कसूरको सूचना सम्बन्धित युनिटले नजिकको प्राड विवाकको कार्यालयलाई दिनु पर्नेछ ।
(५) कुनै कसूरको सम्बन्धमा कुनै युनिटमा प्राप्त हुन आएको सूचनाको व्यहोराबाट सो कसूर वा कसूरमा संलग्न व्यक्ति अन्य कुनै युनिटको क्षेत्रभित्र पर्ने देखिन आएमा सूचना प्राप्त गर्ने युनिटले सो सूचना यथाशीघ्र सम्बन्धित युनिटमा पठाउनु पर्नेछ ।
(६) यस नियम बमोजिम सूचना प्राप्त भएपछि सम्बन्धित युनिटपतिले त्यस्तो कसूरका सम्बन्धमा प्रारम्भिक रूपमा अनुसन्धान तथा तहकिकात गर्नु पर्नेछ । युनिटपतिका सम्बन्धमा अनुसन्धान तथा तहकिकात गर्नु पर्ने भए त्यस्तो अनुसन्धान तथा तहकिकात एक तह माथिल्लो तहबाट गर्नु पर्नेछ ।
(६) उपनियम (५) र (६) मा जुनसुकै कुरा लेखिएको भएतापनि कुनै युनिटमा प्राप्त हुन आएको सूचनाको व्यहोराबाट सो कसूर ऐनको दफा ६२ सँग सम्बन्धित देखिन आएमा सूचना प्राप्त गर्ने युनिटले सो सूचना प्राड विवाकको कार्यालयमा पठाउनु पर्नेछ ।

४. कोर्ट अफ इन्क्वायरीको गठनः(१) नियम ३ बमोजिम कसूर सम्बन्धी सूचना प्राड विवाकको कार्यालयमा प्राप्त भएमा वा अन्य कुनै माध्यमबाट ऐनको क्षेत्राधिकारभित्र पर्ने व्यक्तिले कुनै कसूर गरेको भनी जानकारी हुन आएमा त्यस्तो कार्यालयले प्रधान सेनापति समक्ष कोर्ट अफ इन्क्वायरी गठनको लागि सिफारिस गर्नेछ ।
(२) उपनियम (१) बमोजिम सिफारिस प्राप्त भएपछि प्रधान सेनापतिले आफैँले कोर्र्ट अफ इन्क्वायरी गठन गर्न वा आवश्यकता अनुसार पृतनापति, बाहिनीपति वा युनिटपतिलाई अधिकार प्रत्यायोजन गरी कोर्ट अफ इन्क्वायरी गठन गर्न लगाउन सक्नेछ ।
(३) उपनियम (२) बमोजिम कोर्र्ट अफ इन्क्वायरी गठन गर्दा सोको अध्यक्ष वा सदस्य सामान्यतया आरोपित व्यक्ति भन्दा तल्लो दर्जाको हुने गरी गठन गरिने छैन ।

५. कोर्ट अफ इन्क्वायरीको कार्यविधिः (१) कोर्ट अफ इन्क्वायरी गठन भएपछि प्राड विवाकको कार्यालयले नियम ३ को उपनियम (४) बमोजिम आफूलाई प्राप्त कसूरको सूचना तथा युनिट पतिले सोही नियमको उपनियम (६) बमोजिम भएको अनुसन्धान तथा तहकिकातको प्रतिवेदन कोर्ट अफ इन्क्वायरीलाई उपलव्ध गराउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम कसूरको सूचना प्राप्त भएपछि कोर्ट अफ इन्क्वायरीले सो कसूर हुनबाट रोक्ने, कसूरसँग सम्बन्धित कुनै प्रमाण लोप वा नाश हुन नदिने र आरोपित व्यक्ति भाग्न, उम्कन नपाउने व्यवस्था गर्नु पर्नेछ ।
(३) कोर्ट अफ इन्क्वायरीले कुनै कसूर भएको वा भैरहेको जानकारी पाई अनुसन्धान तथा तहकिकात गर्न गएका बखत वा आफ्नो उपस्थितिमा कुनै कसूर भएको देखेमा तुरुन्त आरोपित व्यक्तिलाई पक्रनु पर्नेछ । त्यसरी पक्रेको आरोपित व्यक्तिलाई अनुसूची–१ बमोजिमको ढाँचामा पक्राउ पूर्जि दिनु पर्नेछ ।
(४) कोर्ट अफ इन्क्वायरीले उपनियम (३) बमोजिम पक्राउ परेको आरोपित व्यक्तिको बयान लिनु पर्नेछ । त्यसरी बयान गराउँदा इमान धर्म सम्झी साँचो बयान गरुँला भन्ने व्यहोराको शपथ लिन लगाई बयान गराउनु पर्नेछ ।
(५) कोर्ट अफ इन्क्वायरीले कुनै कसूरको सम्बन्धमा शंकास्पद देखिएको तथा तत्सम्बन्धमा कुनै महत्वपूर्ण कुरा थाहा छ भन्ने विश्वास गर्नु पर्ने कुनै मनासिव कारण भएको व्यक्तिलाई सोधपुछ गरी आवश्यक देखेमा निजको कुरा बयानको रूपमा लेखवद्ध गरी राख्नु पर्नेछ ।
(६) कुनै कसूर भएको वा भइरहेको वा हुन लागेको जानकारी प्राप्त भएमा कोर्ट अफ इन्क्वायरीले यथाशीघ्र त्यसको अनुसन्धान तथा तहकिकात गरी सबूत प्रमाण संकलन गर्नु पर्नेछ । कोर्ट अफ इन्क्वायरीले अनुसन्धान तथा तहकिकातको सिलसिलामा कसूरसँग सम्बन्धित कागजात वा वस्तु फेला पारेमा त्यसलाई कव्जामा लिनु पर्नेछ ।
(७) कुनै कसूरको सम्बन्धमा अनुसन्धान तथा तहकिकात गर्दा कोर्ट अफ इन्क्वायरीलाई सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ को अनुसूची–१ बमोजिमको मुद्दामा अनुसन्धान तथा तहकिकात गर्ने प्रहरी कर्मचारीलाई भए सरहको अधिकार हुनेछ ।
(८) कोर्ट अफ इन्क्वायरीले यस नियम बमोजिम अनुसन्धान तथा तहकिकातको सिलसिलामा बुझेको साक्षीको बकपत्र, संकलन गरेको प्रमाण, चीजवस्तु र मिसिलको दुरुस्त अभिलेख राख्नु पर्नेछ ।

६. हिरासतमा राख्ने कार्यविधिः(१) कसूरको अनुसन्धान तथा तहकिकातको सिलसिलामा कुनै व्यक्तिलाई चौबीस घण्टाभन्दा बढी अवधि हिरासतमा राख्नु पर्ने भई ऐनको दफा ७५ को उपदफा (३) बमोजिम कमाण्डिङ्ग अधिकृतले प्रतिवेदन पठाउँदा हिरासतमा रहेको व्यक्ति उपरको अभियोग, त्यसको आधार, निजलाई हिरासतमै राखी अनुसन्धान तथा तहकिकात गर्नु पर्ने कारण र निजको बयान कागज भई सकेको भए बयानको व्यहोरा समेत स्पष्ट रूपमा उल्लेख गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम प्रतिवेदन पर्न आएमा प्रधान सेनापतिले सम्बन्धित कागजात हेरी अनुसन्धान तथा तहकिकात सन्तोषजनक रूपमा भए वा नभएको र हिरासतमा राखी अनुसन्धान तथा तहकिकात गर्नु पर्ने अवस्था विद्यमान रहे वा नरहेको सम्बन्धमा विचार गरी अनुसन्धान तथा तहकिकात सन्तोषजनक रूपमा भई रहेको र हिरासतमै राखी अनुसन्धान तथा तहकिकात गर्नु पर्ने अवस्था विद्यमान रहेको देखेमा हिरासतमा राख्न अनुमति दिन सक्नेछ ।

७. प्रतिवेदन पेश गर्नु पर्नेः (१) कोर्र्ट अफ इन्क्वायरीले अनुसन्धान तथा तहकिकात पूरा गरी सकेपछि देहायका कुराहरू खुलाइ आफ्नो राय सहितको प्रतिवेदन प्राड विवाकको कार्यालयमा पेश गर्नु पर्नेछः–
(क) आरोपितको पूरा नाम, थर, वतन, कम्प्युटर नं., दर्जा, युनिट,
(ख) कसूर सम्बन्धी विवरण,
(ग) आरोपित व्यक्तिको बयानको व्यहोरा,
(घ) जाहेरवाला वा पीडितको बयानको व्यहोरा,
(ङ) आरोपित व्यक्ति उपर लगाइएको अभियोग र तत्सम्बन्धी प्रमाण,
(च) सम्बन्धित कानून,
(छ) हिरासतमा राखी कारबाही गर्नु पर्ने वा नपर्ने कारण,
(ज) कसूरबाट क्षति पुगी क्षतिपूर्ति भराउनु पर्ने भए क्षतिपूर्तिको रकम,
(झ) मुद्दा दायर गर्नु पर्ने भए सोकोे राय,
(ञ) आरोपित व्यक्तिले पहिले पनि कुनै कसूरमा सजाय पाइसकेको कारणले बढी सजाय हुनु पर्ने अवस्था रहेछ भने निजले पहिले सजाय पाएको मिति र सजाय गर्ने निकायको नाम,
(ट) मुद्दासँग सम्बन्धित अन्य आवश्यक कुराहरू ।
(२) उपनियम (१) बमोजिम कोर्र्ट अफ इन्क्वायरीबाट राय सहितको प्रतिवेदन प्राप्त भएपछि प्राड विवाकको कार्यालयले सो राय सहितको प्रतिवेदन अध्ययन गरीे आरोपित व्यक्ति उपर मुद्दा चलाउने वा नचलाउने सम्बन्धमा निर्णयको लागि आफ्नो राय सहित प्रधान सेनापति समक्ष मिसिल पठाउनु पर्नेछ । त्यसरी मिसिल प्राप्त भएपछि प्रधान सेनापतिले आरोपित व्यक्ति उपर मुद्दा चलाउने वा नचलाउने विषयमा अन्तिम निर्णय गर्नेछ ।
(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भएतापनि ऐनको दफा ६८ को खण्ड (ग) बमोजिम समरी सैनिक अदालतले पुर्पक्ष, सुनुवाई, कारवाही र किनारा गर्ने
मुद्दा भए प्राड विवाकको कार्यालयले मुद्दा चल्ने वा नचल्ने सम्बन्धमा अन्तिम निर्णय
गर्नेछ ।
(४) प्राड विवाकले आवश्यकता अनुसार उपनियम (३) बमोजिमको अधिकार
कोर्र्ट अफ इन्क्वायरीलाई प्रत्यायोजन गर्न सक्नेछ ।

८. थप प्रमाण बुझ्न निर्देशन दिन सक्नेः (१) मुद्दा चल्ने वा नचल्ने निर्णय गर्ने सिलसिलामा मिसिल अध्ययन गर्दा प्राड विवाकले थप सबुद प्रमाण संकलन गर्न वा कुनै व्यक्तिसँग सोधपुछ गर्न आवश्यक देखेमा त्यस्तो सबुद प्रमाण संकलन गरी पठाउन वा त्यस्तो व्यक्तिसँग सोधपुछ गरी पठाउन कोर्र्ट अफ इन्क्वायरीलाई निर्देशन दिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम निर्देशन भएमा त्यस्तो निर्देशनको पालना गर्नु कोर्ट अफ इन्क्वायरीको कर्तव्य हुनेछ ।

९. जाहेरवालालाई सूचना दिनु पर्नेः कुनै कसूरको सम्बन्धमा मुद्दा चलाउने वा नचलाउने निर्णय भएपछि प्राड विवाकको कार्यालयले त्यसको सूचना जाहेरवालालाई दिनु पर्नेछ ।

१०. सैनिक अदालत गठनका लागि सिफारिस गर्नेः (१) कुनै अभियुक्त उपर यस नियमावली बमोजिम मुद्दा चलाउने निर्णय भएमा त्यस्तो निर्णय भएको मितिले सात दिनभित्र प्राड विवाकको कार्यालयले सैनिक अदालत गठनको लागि प्रधान सेनापति समक्ष सिफारिस गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम सिफारिस गर्दा आरोपित व्यक्ति विरुद्ध दायर हुने अभियोगपत्र समेत संलग्न गर्नु पर्नेछ ।

११. मुद्दा दायर गर्नेः कुनै अभियुक्त उपर नियम ७ को उपनियम (२) वा (३) बमोजिम मुद्दा चल्ने निर्णय भएमा अनुसन्धान तथा अभियोक्ता शाखा वा सो शाखाबाट तोकिएका प्राड अधिकृतले देहायका कुराहरू उल्लेख गरी अनुसूची–२ बमोजिमको ढाँचामा अभियोगपत्र
तयार गरी दसी प्रमाण तथा कसूरसँग सम्बन्धित चीज वा वस्तु र थुनुवा भए थुनुवा सहित सम्बन्धित सैनिक अदालतमा मुद्दा दायर गर्नु पर्नेछः–
(क) अभियुक्तको पूरा नाम, थर, वतन, कम्प्युटर नं., दर्जा, युनिट
(ख) कसूर सम्बन्धी विवरण,
(ग) अभियुक्तको बयानको व्यहोरा,
(घ) जाहेरवाला वा पीडितको बयानको व्यहोरा,
(ङ) अभियुक्त उपर लगाइएको अभियोग र तत्सम्बन्धी प्रमाण,
(च) सम्बन्धित कानून,
(छ) अभियुक्तलाई हुनु पर्ने सजाय,
(ज) कसूरबाट क्षति पुगी क्षतिपूर्ति भराउनु पर्ने भए सो क्षतिपूर्तिको रकम,
(झ) अभियुक्तले पहिले पनि कुनै कसूरमा सजाय पाइसकेको कारणले बढी सजाय हुनु
पर्ने अवस्था रहेछ भने निजले पहिले सजाय पाएको मिति र सजाय गर्ने
निकायको नाम,
(ञ) मुद्दासँग सम्बन्धित अन्य आवश्यक कुराहरू ।

१२. फेला परेको सबुद प्रमाण पेश गर्नेः (१) सैनिक अदालतबाट कारबाही चलिरहेको मुद्दासँग सम्बन्धित कुनै माल वस्तु, लिखत वा अन्य कुनै प्रमाण सैनिक व्यक्ति वा अरू कसैले फेला पारेमा प्राड विवाकको कार्यालयमा दाखिल गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम दाखिला हुन आएको माल, वस्तु, लिखत वा अन्य कुनै प्रमाण प्राड विवाकको कार्यालयले तुरुन्त सम्बन्धित सैनिक अदालतमा पेश गर्नु पर्नेछ ।

१३. थप अभियोगपत्र दायर गर्न बाधा नपर्नेः(१) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै कसूरका सम्बन्धमा कुनै अभियुक्त उपर यस नियमावली बमोजिम अभियोगपत्र दायर भई सैनिक अदालतबाट मुद्दा पुर्पक्ष भइरहेकोमा पछि थप सवुद प्रमाणहरू प्राप्त हुन आई त्यस्तो अभियुक्त उपर थप अभियोग माग दावी लिनु पर्ने भएमा वा अन्य व्यतिmहरू उपर समेत मुद्दा दायर गर्नु पर्ने देखिन आएमा सैनिक अदालतको अनुमति लिई अभियुक्त उपर थप अभियोग माग दावी लिन वा अन्य व्यक्ति उपर पुरक अभियोगपत्र दायर गरी मुद्दा चलाउन सकिनेछ ।
(२) उपनियम (१) बमोजिम पुरक अभियोगपत्र दायर गरिएकोमा त्यस्तो पुरक अभियोगपत्र शुरुमा पेश गरेको अभियोगपत्रको अभिन्न अङ्ग मानिनेछ ।
(३) उपनियम (१) बमोजिम कुनै अभियुक्त उपर थप अभियोगको माग दावी लिएकोमा त्यसरी थप अभियोग लगाइएको विषयमा चित्त नबुझेमा अभियुक्तले सो अभियोग बदर गराउन पुनरावेदन सुन्ने अदालतमा निवेदन दिन सक्नेछ ।
(४) यस नियम बमोजिम थप अभियोग लगाउँदा हेलचक्राईं वा बदनियत चिताइ थप अभियोग लगाएको देखिन आएमा सैनिक अदालतले त्यसरी हेलचक्राईं वा बदनियत चिताइ थप अभियोग लगाउने व्यक्ति उपर विभागीय कारबाही गर्न आदेश दिन सक्नेछ ।
१४. अभियुक्त बुझाउनु पर्नेःसैनिक व्यक्तिले ऐनको दफा ६६ बमोजिम अन्य अदालतको अधिकार क्षेत्रभित्र पर्ने कसूर गरेमा त्यस्तो सैनिक व्यक्तिलाई कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउनु पर्नेछ ।

परिच्छेद–३ सैनिक अदालतको कार्यविधि

 

१५. सैनिक अदालतको अध्यक्ष, सदस्य र प्राड अधिकृत खटाउनेः (१) प्रधानसेनापति वा निजबाट अधिकार प्राप्त गरेका अधिकृतले सैनिक अदालतको अध्यक्ष वा सदस्यको रूपमा कार्य गर्न ऐनको दफा ६७ को उपदफा (१) बमोजिमका अधिकृत तथा दफा ८१ को उपदफा (१) बमोजिम प्राड विवाक वा प्राड अधिकृतलाई खटाइ दिन सैनिक सचिव विभाग समक्ष अनुरोध गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम अनुरोध भई आएमा सैनिक सचिव विभागले प्राड विवाक वा प्राड अधिकृतलाई निर्धारित मिति, समय र मुकाममा खटाइ दिनु पर्नेछ ।
(३) सैनिक अदालतका अध्यक्ष, सदस्य तथा प्राड विवाक वा प्राड अधिकृत उपस्थित भई शपथ ग्रहण गरेपछि सैनिक अदालत गठन भएको मानिनेछ ।

१६. प्राड विवाक वा प्राड अधिकृतको काम, कर्तव्य र अधिकारः (१) नियम १५ बमोजिम खटिएको प्राड विवाक वा प्राड अधिकृतले कानून र न्यायको विषयमा सैनिक अदालतको अध्यक्ष एवं सदस्यहरूलाई जानकारी गराउनेछ ।
(२) नियम १५ बमोजिम खटिएको प्राड विवाक वा प्राड अधिकृतले सैनिक अदालतको प्रशासकीय अधिकृतको रूपमा समेत काम गर्नेछ ।

१७. विरोध भए वा नभएको सोध्नु पर्नेः (१) सैनिक अदालतको अध्यक्ष, सदस्य र प्राड विवाक वा प्राड अधिकृत सैनिक अदालतको मुकाममा उपस्थित भइसकेपछि प्राड विवाक वा प्राड अधिकृतले अध्यक्ष र सदस्यहरू उपर अभियुक्तको कुनै किसिमको विरोध छ वा
छैन भनी सोध्नु पर्ने र निजको विरोध नभएमा अनुसूची–३ बमोजिमको ढाँचाको कागजमा अभियुक्तको दस्तखत गराइ मिसिल सामेल राख्नु पर्नेछ ।
(२) सैनिक अदालतको अध्यक्ष वा कुनै सदस्य उपर अभियुक्तको कुनै विरोध भएमा ऐनको दफा ८२ को प्रक्रिया अपनाई सैनिक अदालतको काम कारबाही अगाडि बढाउनु पर्नेछ ।

१८. शपथ ग्रहणः(१) सैनिक अदालतका अध्यक्ष तथा सदस्यहरूले अभियुक्तको रोहबरमा अनुसूची–४ बमोजिमको ढाँचामा शपथ ग्रहण गर्नु पर्नेछ ।
(२) सैनिक अदालतमा प्राड विवाक वा प्राड अधिकृतले अभियुक्तको रोहबरमा अनुसूची–५ मा तोकिएको ढाँचामा शपथ ग्रहण गर्नु पर्नेछ ।
(३) सैनिक अदालतमा साक्षीको रूपमा उपस्थित हुने प्रत्येक व्यक्तिलाई बकपत्र गराउनु अघि अनुसूची– ६ बमोजिमको ढाँचामा शपथ गराउनु पर्नेछ ।

१९. पोशाक सम्बन्धी व्यवस्थाःसैनिक अदालतका अध्यक्ष, सदस्यहरू र प्राड विवाक वा प्राड अधिकृतले ट्युनिक, फरेज क्याप, अफिसर बुट, कालोपेटी, अलङ्कार पदकहरू भएमा सो समेत लगाइ खड्ग सहित सैनिक अदालतमा उपस्थित हुनु पर्नेछ ।

२०. सैनिक अदालतको इजलासःसैनिक अदालतको इजलास सम्बन्धित सैनिक अदालतको अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ ।

२१. प्रतिरक्षा सम्बन्धी व्यवस्थाः(१) ऐनको दफा ८१ को उपदफा (२) बमोजिम कुनै कसूरको अभियोगमा मुद्दा चलाईएको अभियुक्तले आफ्नो प्रतिरक्षाको लागि प्राड अधिकृत खटाई पाउँ भनी प्राड विवाकको प्रतिरक्षा शाखामा निवेदन दिन सक्नेछ । त्यस्तो निवेदन
प्राप्त भएमा प्राड विवाकले अभियुक्तको प्रतिरक्षाको लागि प्राड अधिकृतको व्यवस्था गरिदिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम खटिएको प्राड अधिकृतले सैनिक अदालतमा उपस्थित भई अभियुक्तको तर्फबाट बहस पैरवी लगायत निजको प्रतिरक्षा सम्बन्धी कार्य गर्नेछ ।
(३) अभियुक्तको तर्फबाट प्रतिरक्षा गर्ने प्राड अधिकृतले अभियुक्तको विरुद्धमा वा निजको प्रतिकूल हुने गरी कुनै प्रमाण लगायतका कुराहरू सैनिक अदालत समक्ष पेश गर्न सक्ने छैन । अभियुक्त र निजको प्रतिरक्षा गर्ने प्राड अधिकृतबीच भएका कुराहरूको बारेमा
सैनिक अदालतमा प्रश्न उठाउन र त्यस्ता कुराहरू सैनिक अदालत समक्ष प्रकट गर्न बाध्य पारिने छैन ।
(४) सैनिक अदालतका अध्यक्ष एवं सदस्यहरूले अभियुक्तको प्रतिरक्षा गर्ने प्राड अधिकृत उपर कुनै पनि किसिमले नकारात्मक असर पर्ने गरी प्रभाव पार्नु हुँदैन र निजले प्रतिरक्षाको सिलसिलामा उठाएका कुनै पनि कुरालाई लिएर निज उपर कुनै नकारात्मक
टीकाटिप्पणी गर्नु हुँदैन ।

२२. अभियुक्तको बयानःसैनिक अदालतले अभियुक्त तथा निजको तर्फबाट उपस्थित प्राड अधिकृतलाई मिसिल कागजात तथा अभियोगपत्र पढी बाँची सुनाएपछि इजलासमा अभियुक्तसँग लिखित बयान लिई अभियुक्तको दस्तखत गराइ राख्नु पर्नेछ । अभियुक्तको बयान कागजकोे शीर पुछारमा सैनिक अदालतका अध्यक्ष तथा सदस्यहरूले दस्तखत गर्नु पर्नेछ ।

२३. प्रारम्भिक सुनुवाई सम्बन्धी व्यवस्थाः(१) अभियोगपत्र दायर भई अभियुक्तको वयान भई सकेपछि सैनिक अदालतले मुद्दाको प्रारम्भिक सुनुवाई गर्नेछ र प्रारम्भिक सुनुवाईको सिलसिलामा सैनिक अदालतले कसूरको मात्रा र कसूर गर्दाको अवस्था समेत विचार गरी
अनुसूची–७ बमोजिमको ढाँचामा देहायकोमध्ये कुनै एक आदेश गर्न सक्नेछः–
(क) अभियुक्तलाई तारेखमा राखी पुर्पक्ष गर्ने,
(ख) अभियुक्तलाई आवश्यक परेका बखत झिकाउने वा खास समयमा हाजिर हुन आउने गरी तारेखमा नराखी पुर्पक्ष गर्ने,
(ग) अभियुक्तसँग धरौटी वा जमानत माग्ने,
(घ) अभियुक्त भागी जाने वा प्रमाण नष्ट गर्ने सम्भावना भएमा वा पटके कसूरदार भएमा थुनामा राखी पुर्पक्ष गर्ने ।
(२) सैनिक अदालतले उपनियम (१) बमोजिम गरेको आदेशको व्यहोरा अभियुक्तलाई पढी बाँची सुनाइ आदेश सुनी पाएको कागज गराइ राख्नु पर्नेछ ।

२४. पीडितको बयानः सैनिक अदालतले अभियुक्तको रोहबरमा पीडितको बयान गराइ निजको दस्तखत गराइ राख्नु पर्नेछ । पीडितले गरेको बयानको शीर पुछारमा सैनिक अदालतका अध्यक्ष तथा सदस्यहरूले दस्तखत गर्नु पर्नेछ ।

२५. अभिलेख राख्नेः प्राड विवाक कार्यालयले सैनिक अदालतबाट भएको फैसलाको अभिलेख बनाइ सुरक्षित राख्नु पर्नेछ ।

२६. बन्द इजलास सम्बन्धी व्यवस्थाः (१) ऐनको दफा ७९ को उपदफा (२) बमोजिम राष्ट्रिय सुरक्षा, सार्वजनिक सुव्यवस्था र पीडितको अधिकारको संरक्षण गर्नु पर्ने अवस्थामा बन्द इजलासमा मुद्दाको सुनुवाई गर्दा अभियुक्तको प्रतिरक्षा गर्न उपस्थित भएको प्राड अधिकृत, अभियुक्त, पीडित व्यक्ति एवं निजको संरक्षक तथा सैनिक अदालतले अनुमति दिएका व्यक्तिहरू वाहेक अन्य व्यक्तिहरू उपस्थित हुन सक्ने छैनन् ।
(२) उपनियम (१) बमोजिम बन्द इजलासमा सुनुवाई भएको विषयलाई फैसला हुनु भन्दा अगाडि कुनै किसिमले सार्वजनिक गर्नु हुँदैन ।

परिच्छेद–४ भ्रष्टाचार, चोरी, यातना र वेपत्ताको कसूर सम्बन्धी मुद्दाको दायरी सम्बन्धी विशेष व्यवस्था

 

२७. सूचना दिनु पर्नेः (१) नियम ३ को उपनियम (६) बमोजिम कसूरको सूचना प्राप्त भएपछि प्राड विवाकको कार्यालयले सो कसूरको अनुसन्धान तथा तहकिकातको लागि रक्षा मन्त्रालयमा लेखी पठाउनु पर्नेछ र सो कुराको जानकारी प्रधान सेनापतिलाई दिनु
पर्नेछ ।
(२) उपनियम (१) बमोजिम कसूरको अनुसन्धान र तहकिकातको लागि रक्षा मन्त्रालयमा लेखी आएपछि रक्षा मन्त्रालयले सो कुरा समितिमा लेखी पठाउनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम लेखी आएपछि समितिले आवश्यक देखेको ठाउँमा मुकाम खडा गरी अनुसन्धान तथा तहकिकातको कार्य प्रारम्भ गर्नेछ ।

२८. मुद्दा दायर गर्नेः (१) समितिले अनुसन्धान तथा तहकिकातको कार्य पूरा गरेपछि अभियुक्त उपर मुद्दा चलाउन प्रमाण पुग्ने देखिएमा अनुसूची–२ बमोजिमको ढाँचामा नियम ११ मा लेखिएका कुराहरू खुलाइ अभियोगपत्र तयार गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम तयार भएको अभियोगपत्र, सक्कल मिसिल र अभियुक्त भए निजलाई समेत प्राड विवाक मार्फत सैनिक विशेष अदालतमा पेश गर्नु पर्नेछ ।

परिच्छेद–५ सैनिक विशेष अदालतको कार्यविधि सम्बन्धी व्यवस्था

 

२९. सैनिक विशेष अदालतको गठन प्रक्रियाः (१) रक्षा मन्त्रालयले ऐनको दफा ११९ मा व्यवस्था भए बमोजिम सैनिक विशेष अदालतको अध्यक्ष तोक्नको लागि आवश्यक कारबाही गर्नु पर्नेछ ।
(२) सैनिक विशेष अदालतको अध्यक्ष तोकिएको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्नु पर्नेछ ।

३०. अधिकार क्षेत्रको प्रयोग सामूहिक रूपमा गर्नेः (१) सैनिक विशेष अदालतको अधिकार क्षेत्रको प्रयोग तीनै जना सदस्यले सामूहिक रूपमा गर्नेछन् र बहुमतको राय अदालतको निर्णय मानिने छ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि अध्यक्ष र अर्को एकजना सदस्यको उपस्थिति भएमा मुद्दाको कारबाही र किनारा गर्न सकिनेछ । अध्यक्ष वाहेक अन्य दुईजना सदस्यको उपस्थितिमा मुद्दाको फैसला गर्न वा अन्तिम आदेश दिन वाहेक अरू कारबाही गर्न सकिनेछ ।
(३) उपनियम (२) बमोजिम दुईजना सदस्यको उपस्थितिमा मुद्दाको कारवाही वा किनारा गर्दा दुईजनाको मतैक्य हुन नसकेमा कारबाहीको हकमा अध्यक्षको राय बमोजिम र फैसला र अन्तिम आदेशको हकमा पहिले अनुपस्थित रहेको सदस्य समक्ष पेश गरी निजले समर्थन गरेको राय सैनिक विशेष अदालतको निर्णय मानिनेछ ।
(४) उपनियम (३) बमोजिम पहिला अनुपस्थित सदस्य समक्ष पेश गर्दा पनि बहुमत कायम हुन नसकेमा निर्णयको लागि सर्वोच्च अदालत समक्ष पेश गर्नु पर्नेछ ।

३१. मिसिल झिकाउन सक्नेः सैनिक विशेष अदालतले अन्य कुनै सैनिक अदालतमा विचाराधीन रहेको जुनसुकै मुद्दाको मिसिल वा कागज झिकाउन सक्नेछ ।

३२. प्रतिरक्षाका लागि कानून व्यवसायी राख्न पाउनेः यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि सैनिक विशेष अदालतमा मुद्दाको सुनुवाई हुदा प्रतिवादीले चाहेमा आफ्नो प्रतिरक्षाका लागि छुट्टै कानून व्यवसायी राख्न पाउनेछ ।

३३. सैनिक विशेष अदालतको अधिकार र कार्यविधिः(१) सैनिक विशेष अदालतलाई देहाय बमोजिमको अधिकार हुनेछः–
(क) वादी प्रतिवादीका साक्षीका अतिरिक्त मुद्दासँग सम्बन्धित आवश्यक देखिएका अन्य व्यक्ति वा प्रमाण बुझ्ने,
(ख) म्यादमा हाजिर नहुने प्रतिवादीलाई वा साक्षीलाई पक्री बयान गराउने वा वकपत्र गराउने,
(ग) मुद्दाको कुनै पक्षलाई तारेखमा राखी पुर्पक्ष गर्ने वा आवश्यक परेका बखत झिकाउने वा खास समयमा हाजिर हुन आउने
गरी तारेखमा राखी पुर्पक्ष गर्ने,
(घ) तत्काल प्राप्त प्रमाणबाट कुनै अभियुक्तलाई थुनामा राखी पुर्पक्ष गर्नु पर्ने नदेखिएमा निजसँग निजले हानी नोक्सानी गरेको विगो
वा गैरकानूनी रूपमा लिएको रकम र निजलाई हुन सक्ने कैद वा जरिवाना समेतलाई दृष्टिगत गरी धरौटी वा जमानत माग्ने,
(ङ) तत्काल प्राप्त प्रमाणका आधारमा अभियुक्तलाई थुनामा राखी पुर्पक्ष गर्नुपर्ने पर्याप्त र मनासिव कारण भएमा निजलाई थुनामा
राखी पुर्पक्ष गर्ने,

(च) कुनै अभियुक्त उपर लागेको अभियोगको गाम्भीर्यता, अभियुक्तको स्थिति, कसूरको मात्रा तथा प्रकृतिका आधारमा त्यस्तो अभियुक्तको कुनै सम्पति रोक्का राख्ने, त्यस्तो अभियुक्तलाई राहदानी जारी नगर्ने वा जारी भैसकेको भए सो राहदानी रोक्का गर्न सम्बन्धित निकायलाई आदेश दिने ।
(२) मुद्दाको शुरु कारबाही र किनारा गर्दा यस परिच्छेदमा लेखिए जतिमा यसै परिच्छेद बमोजिम र सो वाहेकका अन्य कुरामा सैनिक विशेष अदालतले प्रचलित कानून बमोजिम जिल्ला अदालतलाई भए सरहको अधिकार र कार्यविधि प्रयोग गर्न सक्नेछ ।
(३) ऐनको दफा ६८ को खण्ड (क) अन्तर्गत जनरल सैनिक अदालत र समरी जनरल सैनिक अदालतबाट भएको फैसला वा अन्तिम आदेश उपर परेको पुनरावेदनको कारबाही र किनारा गर्दा सैनिक विशेष अदालतले देहाय बमोजिमको अधिकार र कार्यविधि प्रयोग गर्नेछः–
(क) जनरल सैनिक अदालत र समरी जनरल सैनिक अदालतको निर्णय सदर, वदर र केही वदर गर्ने,
(ख) जनरल सैनिक अदालत र समरी जनरल सैनिक अदालतले गर्न पाउने फैसला वा अन्तिम आदेश गर्ने,
(ग) मुद्दामा इन्साफ गर्नु पर्ने प्रश्नहरूसँग सम्बद्ध प्रमाणहरू जनरल सैनिक अदालत र समरी जनरल सैनिक अदालतले बुझ्न
छुटाएको रहेछ भने आफैँले बुझ्ने वा मुद्दाको लगत कायमै राखी ती प्रमाणहरू बुझ्नको लागि मिसिल सो अदालतमा पठाउने,
(घ) जनरल सैनिक अदालत र समरी जनरल सैनिक अदालतले मुद्दामा निर्णय गर्नु पर्ने प्रश्नहरू मध्ये केहीमा निर्णय गरी र
केहीमा निर्णय नगरी फैसला गरेको रहेछ भने मनासिव माफिकको समय तोकी बाँकी प्रश्नहरूको समेत निर्णय गरी मुद्दा किनारा गर्नु भनी मिसिल सो अदालतमा पठाउने,
(ङ) पक्ष र साक्षी झिकाउने, बयान वा वकपत्र गराउने, प्रमाण बुझ्ने, कागजपत्र दाखिला गराउने र दण्ड सजाय गर्ने समेत
प्रचलित कानून बमोजिम अदालतलाई भए सरहको अधिकार प्रयोग गर्ने ।(४) सैनिक विशेष अदालतले आफू समक्ष परेको उजुरी वा पुनरावेदन कारबाही र किनारा गर्दा ऐन वा यस नियमावलीमा लेखिएकोमा बाहेक अन्य कुरामा आफ्नो कार्यविधि आफै निर्धारण गर्न सक्नेछ ।

३४. पुनरावेदन समितिले अपनाउने कार्यविधिः (१) ऐनको दफा ६८ को खण्ड (ख) र (ग) अन्तर्गतको क्षेत्राधिकार भित्रका कसूरहरूको सम्बन्धमा सैनिक अदालतबाट भएको फैसला वा अन्तिम आदेश उपर परेको पुनरावेदनको कारबाही र किनारा गर्दा ऐनको दफा ११९
को उपदफा (७) बमोजिमको पुनरावेदन समितिले समेत नियम ३३ को उपनियम (३) बमोजिमको अधिकार र कार्यविधि प्रयोग गर्नेछ ।
(२) ऐनको दफा ११९ को उपदफा (७) बमोजिमको पुनरावेदन समितिले अन्य कार्यविधि आफैँ निर्धारण गर्न सक्नेछ ।

३५. पुनरावेदन पत्रमा खुलाउनु पर्ने कुराहरूः (१) ऐनको दफा ११९ को उपदफा (२) वा उपदफा (६) बमोजिम पुनरावेदन गर्दा देहायका कुराहरू खुलाउनु पर्नेछः–
(क) जुन फैसलामा आफ्नो चित्त बुझेको छैन सो फैसला गर्ने सैनिक अदालतको नाम,
(ख) शुरु मुद्दामा वादी वा प्रतिवादी भएको कुरा,
(ग) मुद्दाको नाम,
(घ) फैसला भएको मिति,
(ङ) शुरु मुद्दामा दावी गरेको दण्ड सजाय, विगो, जरिवाना र कायम भएको दण्ड सजाय तथा विगो, जरिवाना,
(च) फैसला गर्दा लिएका आधार,
(छ) फैसलामा चित्त नबुझेका कुराहरू, त्यसको कानूनी आधार र कारण तथा पुनरावेदन पत्रमा माग गरेको कुरा,
(ज) पुनरावेदक कैद वा थुनामा परेको भए कैद वा थुनामा परेको मिति,
(झ) दण्ड जरिवाना बिगो बुझाएको भए कहिले, कहाँ बुझाएको हो सोको प्रमाण,
(ञ) म्याद सम्बन्धी कुरा ।
(२) उपनियम (१) बमोजिम गरिएको पुनरावेदन पत्र देहाय बमोजिम भएको देखिन आएमा दर्ता गरी सम्बन्धित व्यक्तिलाई सोको निस्सा दिनु पर्नेछः–
(क) दण्ड जरिवाना वा धरौट लाग्नेमा सो बुझाएको,
(ख) जमानी दिएकोमा सो कानून अनुरूप भएको,
(ग) म्याद नगुज्रिएको,
(घ) शुरु फैसलाको स्पष्ट बुझिने र रीतपुर्वकको नक्कल पेश भएको ।
(३) जङ्गी अड्डा बाहिर गठित जनरल सैनिक अदालत र समरी जनरल सैनिक अदालतबाट भएको शुरु फैसला उपरको पुनरावेदन पत्र सम्बन्धित पृतना प्राड विवाक शाखा वा बाहिनी प्राड विवाक शाखा मार्फत सैनिक विशेष अदालतमा पेश गर्न सकिनेछ ।
(४) उपनियम (३) बमोजिम पृतना प्राड विवाक शाखा वा बाहिनी प्राड विवाक शाखामा पुनरावेदन पत्र पेश भएमा सो शाखाले त्यस्तो पुनरावेदन पत्र बुझी लिई सोकोे निस्सा सम्बन्धित व्यक्तिलाई दिई यथाशीघ्र उक्त पुनरावेदन पत्र सैनिक विशेष अदालतमा
पठाउनु पर्नेछ ।
(५) उपनियम (४) बमोजिम पृतना प्राड विवाक शाखा वा बाहिनी प्राड विवाक शाखामा पुनरावेदन पत्र पेश भएकोमा सोही मितिलाई नै पुनरावेदन परेको मिति कायम गरिनेछ ।
(६) पुनरावेदन पत्रको ढाँचा अनुसूची–८ बमोजिम हुनेछ ।

३६. पुनरावेदन दस्तुरः नियम ३५ को उपनियम (१) बमोजिम पुनरावेदन पेश गर्दा पुनरावेदन वापत एकसय रुपैयाँ दस्तुर बुझाउनु पर्नेछ ।

३७. रजिष्ट्रार सम्बन्धी व्यवस्थाः प्रधान सेनापतिले सैनिक विशेष अदालतको रजिष्ट्रारको रूपमा काम गर्नको निमित्त प्रथम श्रेणीको प्राड अधिकृतलाई तोक्नेछ ।

३८. रजिष्ट्रारको काम, कर्तव्य र अधिकारःरजिष्ट्रारको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) कानून बमोजिम दर्ता गर्नु पर्ने अभियोगपत्र, पुनरावेदन पत्र र मुद्दासँग सम्बन्धित निवेदनपत्र जाँची दर्ता गर्ने र दर्ता गर्न नमिल्ने भए कारण खुलाई दरपीठ गर्ने,
(ख) मुद्दाको पेशी तोक्ने,
(ग) मुद्दामा पेश भएका प्रमाणका लिखतहरू जाँच्ने,
(घ) मुद्दाका पक्ष र साक्षीहरूलाई समाह्वान, म्याद वा सूचना जारी गर्ने र तामेल भई आएको म्याद वा सूचना रीतपुर्वकको भए नभएको जाँची बेरीतको देखिए बदर गरी पुनः रीतपूर्वक तामेल गराउने,
(ङ) सैनिक विशेष अदालतको कार्यवोझको विचार गरी मुद्दाको तारेख तोक्न लगाउने
(च) तारेख किताव खडा गरी त्यसमा जनाउनु पर्ने कुराहरू उल्लेख गर्न लगाउने,
(छ) शुरु सैनिक अदालतबाट प्रमाण लगाइएका मिसिल कागजातहरू मिसिलमा संलग्न छन् छैनन् हेरी संलग्न नभए सम्बन्धित सैनिक अदालतबाट झिकाइ संलग्न गराउने,
(ज) कानून बमोजिम लिन पाउने धरौटी, जमानत वा अन्य दस्तूर लिने वा लिन लगाउने,
(झ) सर्वोच्च अदालतमा पुनरावेदन परेको मुद्दाको मिसिल र प्रमाण कागजातहरू सर्वोच्च अदालतमा पठाउने,
(ञ) शाखामा भएको कुनै मिसिल वा लिखतको निरीक्षण गर्ने,
(ट) लिखतको नक्कल दिने,
(ठ) सैनिक विशेष अदालतबाट भएको आदेशको चाँडो कार्यान्वयन गर्ने र गर्न लगाउने,
(ड) आवश्यक परेमा इजलास अधिकृतको कार्य गर्न प्राड अधिकृत खटाउने,
(ढ) सैनिक विशेष अदालतका अभिलेखहरू दुरुस्त राख्न लगाउने,
(ण) सर्वोच्च अदालतमा पुनरावेदन नपरेमा वा पुनरावेदन दिन पाउने म्याद सकिएपछि सैनिक विशेष अदालतले गरेको फैसला कार्यान्वयन गर्न सम्बन्धित निकायमा लेखापढी गर्ने ।

परिच्छेद–६ फैसला सम्बन्धी व्यवस्था

 

३९. फैसला गर्ने कार्यविधिः (१) मुद्दामा प्रमाण बुझि सकेपछि सैनिक अदालत वा सैनिक विशेष अदालतले मुद्दामाथि छलफल गर्नको लागि तोकिएको दिन हाजिर भएका पक्षलाई राखी छलफल गरी ठहर गर्नु पर्ने विषय उपर ठहर गरी सो ठहरको राय सोही दिन राय
किताबमा लेखी अध्यक्ष र सदस्यले सहिछाप गर्नु पर्नेछ ।
(२) यस नियम बमोजिमको फैसलामा देहायका कुराहरू उल्लेख गर्नु पर्नेछः–
(क) मुद्दाको संक्षिप्त व्यहोरा,
(ख) मुद्दामा मुख नमिलेको कुरा र ठहर गर्ने पर्ने कुरा,
(ग) प्रतिवादीको जिकिर तथा प्रतिरक्षाको विवरण,
(घ) पक्षले पेश गरेको प्रमाण,
(ङ) अदालतको क्षेत्राधिकार सम्बन्धी प्रश्न,
(च) निर्णयका आधार र कारण,
(छ) दाबी पुष्टी हुने भएकोमा प्रतिवादीलाई हुने सजाय,
(ज) पुनरावेदन लाग्ने वा नलाग्ने र पुनरावेदन लाग्ने भए पुनरावेदन
गर्नु पर्ने अदालत,
(झ) अन्य आवश्यक कुराहरू ।
(३) फैसलाको ढाँचा अनुसूची–९ बमोजिम हुनेछ ।

४०. फैसला सुनाउनु पर्नेःनियम ३९ बमोजिम फैसला भएपछि सो फैसला प्रतिवादीलाई सुनाई सुनी पाएको कागज गराइ राख्नु पर्नेछ ।

४१. फैसला पठाउनु पर्नेःसैनिक अदालत वा सैनिक विशेष अदालतको फैसला सहितको सक्कलै मिसिल आवश्यक कारबाहीको निमित्त प्राड विवाकको कार्यालयमा पठाउनु पर्नेछ ।

४२. फैसला कार्यान्वयन गर्नेःऐनको परिच्छेद–१२ बमोजिम मुद्दा सदर भई सो मुद्दामा पुनरावेदन परे सोको टुङ्गो लागेपछि र पुनरावेदन नपरे पुनरावेदन गर्ने म्याद नाघेको पन्ध्र दिनभित्र प्राड विवाकको कार्यालयले फैसला कार्यान्वयनको लागि आवश्यक कारवाही
गर्नेछ ।

परिच्छेद–७ विविध

 

४३. सुविधा सम्बन्धी व्यवस्थाः सैनिक विशेष अदालतका अध्यक्ष, सदस्य, समितिका अध्यक्ष, सदस्य र अन्य कर्मचारीहरूको सुविधा नेपाल सरकारले तोके बमोजिम हुनेछ ।

४४. नक्कल माग गर्न सक्नेः सैनिक अदालतमा दायर भएका मुद्दासँग सम्बन्धित कागजातहरूमध्ये बन्द इजलासबाट सुनुवाई भएका कागजको नक्कल प्रतिवादी वा निजको हकवालाले लिन पाउनेछ र सो बाहेकका अन्य कागजात सम्बन्धित प्रतिवादी वा मुद्दाको सरोकारवाला व्यक्तिले लिन पाउनेछ ।

४५. नक्कलको लागि निवेदन दिनु पर्नेः (१) नियम ४४ को अधीनमा रही मिसिलमा रहेको कुनै कागजपत्रको नक्कल सार्न चाहने सरोकारवाला व्यक्तिले प्राड विवाकको कार्यालयमा अनुसूची–१० बमोजिमको ढाँचामा निवेदन दिन सक्नेछ ।
(२) प्राड विवाकको कार्यालयले उपनियम (१) बमोजिम प्राप्त निवेदन रीतपुर्वकको छ छैन र नक्कल लिन चाहने व्यक्ति सरोकारवाला हो होइन जाँच गरी नक्कल प्रमाणित गरी नक्कल दिनु पर्नेछ ।

४६. नक्कल दस्तूरः नक्कलको प्रत्येक पृष्ठको पाँच रुपैयाँ दस्तुर लाग्नेछ ।

अनुसूची–१ पक्राउ पूर्जीको ढाँचा

(नियम ५ को उपनियम (३) सँग सम्बन्धित)
पक्राउ पूर्जीको ढाँचा
पक्राउ पूर्जी

श्री ….(युनिट)……….का कम्प्युटर नं. …… दर्जा…. नाम थर …. …………..

…………………. कसूरको अनुसन्धानको सिलसिलामा तपाईँलाई सैनिक हिरासतमा राखी अनुसन्धान तथा तहकिकात गर्नु पर्ने भएकोले यो पक्राउ पूर्जी दिइएको छ ।

……………………..
दस्तखत
मितिः–

अनुसूची– २ अभियोगपत्रको ढाँचा

(नियम ११ र नियम २८ को उपनियम (१) सँग सम्बन्धित)
अभियोगपत्रको ढाँचा
अभियोगपत्र
मुद्दाः
१. अभियुक्तको नाम थर बतन ः जिल्लाः ……., न.पा.÷गा.वि.स. ……….., वडा नं….
……………..बस्ने ……………को नाति, ………… …..को छोरा …….युनिट मा कार्यरत
वर्षः ….. नं….. दर्जा  ….. हुलिया ……….. को श्री …. …..
२. यसभन्दा अगाडि कही कतैबाट सरुवा भई आएको भए युनिटको नाम र समयावधि ः
(क) …..
(ख) …..
(ग) …..
३. नोकरी अवधिः
४. घटनाको संक्षिप्त विवरणः
५. अभियोगः
६. सवुद प्रमाणः
दसी प्रमाण तथा कसूरसँग सम्बन्धित चीजवस्तुः
गवाहः
देख्नेः
(क)
(ख)
सुन्नेः
(क)
(ख)
दसीको सामान वा कसूरसँग प्रमाण लाग्ने अरू चीजवस्तुः
(क)
(ख)
प्रस्तुत कागज पत्रहरूः
(क)
(ख)
७. पहिले कुनै कसूर गरेको भए सो को विवरणः
यो अभियोगपत्रबाट कारबाही शुरु गर्न सैनिक अदालतसँग सादर अनुरोध गरिन्छ ।
कार्यालयको छापः अभियोगपत्र दायर गर्ने अधिकृतको,–
दस्तखतः
दर्जाः
नाम थरः
युनिटः
कम्प्युटर. नं.ः
मितिः

अनुसूची–३ अभियुक्तले सैनिक अदालत समक्ष गर्ने कागजको ढाँचा

(नियम १७ को उपनियम (१) सँग सम्बन्धित)

अभियुक्तले सैनिक अदालत समक्ष गर्ने कागजको ढाँचा

लिखितम ………………… आगे, म उपर लागेको अभियोगका सम्बन्धमा आफैँ वहस गर्नु हुन्छ वा प्रतिरक्षाको लागि प्राड अधिकृतको माग गर्नु हुन्छ भनी यस सैनिक अदालतबाट सोधनी भएकोमा म उपर लागेको अभियोगको सम्बन्धमा मेरा तर्फबाट प्रतिरक्षाको लागि प्राड अधिकृत …………… (प्राड अधिकृतको नाम खुलाउनु पर्ने) ……….. लाई मुकरर गर्दछु।म आफै वहस गर्दछु । साथै म उपर मुद्दा पुर्पक्ष गर्न गठित यस सैनिक अदालतका अध्यक्ष तथा सदस्यहरू कसैसँग मेरो रिसइवी, वाधा विरोध नभएको र नाता सम्बन्ध समेत पर्दैन भनी यो कागजमा दस्तखत गरी………सैनिक अदालतमा चढाँए । इति संवत् २०….साल………महिना…….गते
रोज……….शुभम्

अनुसूची–४ सैनिक अदालतका अध्यक्ष एवं सदस्यहरूले लिने शपथको ढाँचा

(निमम १८ को उपनियम (१) सँग सम्बन्धित)

म. …. …. …. …. …. …. …. ले ईश्वरलाई साक्षी राखी।सत्य निष्ठा पूर्वक यो शपथ लिन्छु कि प्रस्तुत मुद्दाका सम्बन्धमा निष्पक्ष रूपमा सबुद प्रमाणहरू बुझी मुद्दा पुर्पक्ष गरी निर्णय गर्नेछु । कसैप्रति पूर्वाग्रह नराखी कसूरको प्रकृति, अवस्था र परिवेश अनुसार प्रचलित कानून बमोजिम न्याय सम्पादन गर्नेछु । यस मुद्दाको सबुद प्रमाण दिन पर्ने अवस्थामा बाहेक अन्य अवस्थामा यस सैनिक अदालतको अध्यक्ष र कुनै पनि सदस्यले निर्णयका सम्बन्धमा व्यक्त गरेको राय वा मतदानको कुरा अन्यत्र प्रकट गर्ने छैन ।
शपथ गर्नेकोे,–
दस्तखतः
दर्जाः
नाम थरः
मितिः

अनुसूची–५ प्राड विवाक वा प्राड अधिकृतले लिने शपथको ढाँचा

(नियम १८ को उपनियम (२) सँग सम्बन्धित)

म. …. …. …. …. …. …. ले ईश्वरलाई साक्षी राखी।सत्य निष्ठापूर्वक यो शपथ लिन्छु कि प्रस्तुत मुद्दाको सम्बन्धमा मैले निष्पक्ष रूपमा प्राड विवाकको काम कर्तव्यहरू सम्पादन गर्नेछु । प्रस्तुत मुद्दाको सबुद प्रमाण दिन पर्ने अवस्थामा बाहेक अन्य अवस्थामा यस सैनिक अदालतको अध्यक्ष र कुनै पनि सदस्यले निर्णयका सम्बन्धमा व्यक्त गरेको राय वा मतदानको कुरा अन्यत्र प्रकट गर्ने छैन ।
शपथ गर्नेकोे,–
दस्तखतः
दर्जाः
नाम थरः
मितिः

अनुसूची–६ साक्षीले लिने शपथको ढाँचा

(नियम १८ को उपनियम (३) सँग सम्बन्धित)

म. …. …. …. …. …. …. ले ईश्वरलाई साक्षी राखी।सत्य निष्ठापूर्वक यो शपथ लिन्छु कि प्रस्तुत मुद्दाको सम्बन्धमा आफूलाई जानकारी भएको कुरा कसैप्रति आग्रह पूर्वाग्रह नराखी ठीक साँचो रूपमा बकपत्र गर्नेछु । कुनै पूर्वाग्रह राखी झुट्टा वकपत्र गरेको ठहरे कानून बमोजिम सहुला बुझाउँला ।

शपथ गर्नेकोे,–
दस्तखतः
दर्जाः
नाम थरः
मितिः

अनुसूची–७ आदेशको ढाँचा

(नियम २३ उपनियम (१) सँग सम्बन्धित)

………………..सैनिक अदालत
इजलास
अध्यक्षः
सदस्यः
सदस्यः
आदेश–पत्र
संवत्……….. सालको फौजदारी मुद्दा नंः
…. …. …. …. …. …. …. – वादी/पुनरावेदक विरुद्ध
……………………………………………. – प्रतिवादी।वादी
मुद्दाः ………………………………………………..

अनुसूची–८ पुनरावेदन पत्रको ढाँचा

(नियम ३५ को उपनियम (६) सँग सम्बन्धित)

………….मा चढाएको
पुनरावेदन पत्र
.. ….सालको पुनरावेदन नं….
मुद्दाः… …. …. ..
…. …. …. …. … … …. … …. … …. वादी/प्रतिवादी
पुनरावेदक
विरुद्ध
… …. …. …. …. …. … … …. … …. वादी/प्रतिवादी
प्रत्यर्थी
…. …. अदालतबाट संवत् . …. … को ….. … मुद्दामा मिति …. …. मा म/हामीहरूलाई … ….. …. गर्ने गरी फैसला भएकोमा सो फैसला चित्त नबुझेको हुनाले मुद्दाको दण्ड जरिवाना बुझाएको निस्सा सामेल राखी÷कैद वापत थुनामा रही पुनरावेदन गरेको छु/गरेका छौ । मेरो/हाम्रो जिकिर र प्रचलित कानून बमोजिम सवुत प्रमाणको मूल्याङ्कन गरी न्याय पाउँ । यसमा म/हामी पुनरावेदकको निम्न लिखित पुनरावेदन जिकिर रहेको छः–
१. …………………..
२. ………………….
पुनरावेदक

इति संवत् २० ..साल महिना गते रोज……. शुभम्ः……………………………….

अनुसूची–९ फैसलाको ढाँचा

(नियम ३९ को उपनियम (३) सँग सम्बन्धित)

…………………………….. अदालत
इजलास
अध्यक्षः
सदस्यः
सदस्यः
सदस्यः
सदस्यः
प्राड विवाकः
फैसला
संवत् २० .. सालको … मुद्दा नं. ……………….
मुद्दाः ……………
नेपाल सरकार (नेपाली सेना)…………………………… – बादी
विरुद्ध
वतन……………(युनिट)…………………………… का
कम्प्युटर. नं……दर्जा……नाम थर…………………………………. – प्रतिवादी
सैनिक ऐन, २०६३ को दफा…….तथा …….. बमोजिम यस सैनिक अदालतको
क्षेत्राधिकारभित्र पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यसप्रकार रहेको छः−
……………………………………………………………………………………………………….
……………………………………………………………………………………………………….
…………………………………………………………….
अदालतको ठहर
………………………………………………………………………………………………………
………………………………………………………………………………………………………
……………………………………………
तपसिल
१. ……………………………………………………………………………….
२. ……………………………………………………………………………….
…………… ……… ……… ……… ……… ……….
प्राड प्रतिनिधि सदस्य सदस्य सदस्य सदस्य अध्यक्ष
इति संवत् २०…. साल…… महिना…… गते रोज…… शुभम्ः………………………..

अनुसूची–१० नक्कलको निवेदनपत्रको ढाँचा

(नियम ४५ को उपनियम (१) सँग सम्बन्धित)

… …. … अदालतमा चढाएको
नक्कलको निवेदनपत्र
.. ….सालको मुद्दा नं. …
मुद्दाः… …. …. ..
.. …. …. …. …. … … …. … …. … …. निवेदक
वादी/प्रतिवादी
विरुद्ध
… …. …. …. …. …. … … …. … …. वादी/प्रतिवादी
म निवेदक निम्न बमोजिमको लिखत।लिखतहरूको नक्कल सैनिक अदालतको।आफ्नै तर्फबाट सारी लिन पाउँ भनी नियम बमोजिमको दस्तूर साथै राखी निवेदन गर्दछु ।
नक्कल माग गरेको लिखत/लिखतहरूः
…. …. …. ….. …. …. ….. ….
…. …. …. …. …. …. …. ……
यसमा लेखिएको व्यहोरा ठीक छ झुट्ठा ठहरे कानून बमोजिम सहुला बुझाउँला ।
दस्तखत ……
निवेदकः
इति संवत् २०.. ….साल……….महिना………..रोज………… शुभमः
निवेदन दर्ता नं. निवेदन दस्तूर (साधारण/जरुरी) रु. …
दर्ता मितिः– नक्कल दस्तूर प्रति पाना……….को
रसिद नं. दरले पाना ….. को जम्मा रु……
जम्मा दस्तूर रु…..
……………… दस्तखत …………….
फाँटवालाको दस्तखत प्रमाणित गर्ने अधिकृतको नामः–