२४. समितिको काम, कर्तव्य र अधिकारः ऐनमा लेखिएको काम, कर्तव्य र अधिकारको अतिरिक्त
समितिको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :–
(क) श्रमजीवी पत्रकारले ऐन तथा यस नियमावली बमोजिम पाउने न्यूनतम
पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा नेपाल सरकारलाई आवश्यक सिफारिस गर्ने,
(ख) खण्ड (क) बमोजिमको सिफारिस गर्नु अघि सो विषयमा आवश्यकता
अनुसार सम्बन्धित पक्षसँग परामर्श गर्ने वा सम्बन्धित विशेषज्ञको राय लिने,
(ग) सञ्चार प्रतिष्ठानको कामको प्रकृति अनुसार श्रमजीवी पत्रकारको पदको
तहगत वर्गीकरण गर्ने,
(घ) ऐनको दफा ३४ङ बमोजिम ऐनको कुनै व्यवस्था कुनै सञ्चार प्रतिष्ठानको
हकमा लागू नहुने गरी तोक्ने सम्बन्धमा नेपाल सरकारलाई परामर्श दिने ।
२५. वार्षिक तलब वृद्धि :-श्रमजीवी पत्रकारले सञ्चार प्रतिष्ठानमा एक वर्षको सेवा अवधि पूरा
गरेपछि एक दिनको तलबमा नघटाई मासिक तलबमा थप गरी तलब वृद्धि पाउने छ ।
२६. पारिश्रमिक कट्टी हुने रकमको हद, तरिका र म्याद :- (१) ऐनको दफा १५ को उपदफा (२)
बमोजिम कुनै श्रमजीवी पत्रकारको पारिश्रमिक कट्टी गर्नुपर्दा देहायका कुराहरूको अधीनमा
रही कट्टी गर्नुपर्नेछ :–
(क) लागेको जरिवाना वा गैर हाजिर बापत कट्टी गर्नु पर्दा प्रत्येक पटक पाउने
पारिश्रमिकको तेत्तीस प्रतिशतको दरले नबढाई त्यस्तो जरिवाना वा गैर
हाजिर बापत कट्टी गर्नुपर्ने रकम असुल नभएसम्म,
(ख) जानीजानी वा लापरबाही साथ काम गर्दा सञ्चार प्रतिष्ठानलाई पुग्न गएको
नोक्सानी बापत कट्टी गर्नुपर्दा प्रत्येक पटक पच्चीस प्रतिशतको दरमा
नबढाई त्यस्तो कट्टी गर्नुपर्ने रकम असूल नभएसम्म,
(ग) पारिश्रमिकबाट कट्टी हुने गरी अघि दिएको पेश्की रकम कट्टी गर्नुपर्दा
सञ्चार प्रतिष्ठान र श्रमजीवी पत्रकारबीच कुनै शर्त भएकोमा सोही
आधारमा र त्यसरी कुनै शर्त नगरेको भए प्रत्येक पटक पाउने पारिश्रमिकको
पच्चीस प्रतिशतका दरमा नबढाई त्यस्तो पेश्की रकम असुल उपर
नभएसम्म,
(घ) सरकारी अड्डा वा अदालतको आदेश बमोजिम तिर्नु बुझाउनु पर्ने वा
प्रचलित कानून बमोजिम लाग्ने आयकर वा अन्य कुनै प्रकारको रकम कट्टी
गर्नुपर्दा त्यस्तो आदेशमा म्याद किटान भएको भए सोही म्यादभित्र चुक्ता
गर्न आवश्यक पर्ने जति प्रतिशतको दरले र म्याद किटान नभएकोमा प्रत्येक
पटक पाउने पारिश्रमिकको पचास प्रतिशतको दरमा नबढाई त्यस्तो आदेश
बमोजिम असुल उपर नभएसम्म ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै श्रमजीवी पत्रकारबाट
असुल उपर गर्नुपर्ने कुनै रकम कट्टी नुहँदै निजको मृत्यु भएमा वा कुनै कारणबाट सञ्चार
प्रतिष्ठानको सेवाबाट अवकाश पाएमा निजबाट असूल गर्न बाँकी भएजति रकम सञ्चार
प्रतिष्ठानबाट निजले पाउने रकम भएमा सोही रकमबाट कट्टा गरी असुल उपर गरिनेछ ।
२७. कल्याणकारी कोष खडा गर्नुपर्ने :- (१) सञ्चार प्रतिष्ठानमा काम गर्ने श्रमजीवी
पत्रकारहरूको हक, हित र सुरक्षाको लागि व्यवस्थापकले एउटा कल्याणकारी कोष खडा
गर्नुपर्नेछ ।
(२) उपनियम (१) बमोजिम खडा भएको कोषमा व्यवस्थापकले देहायको रकम
जम्मा गर्नुपर्नेछ :–
(क) श्रमजीवी पत्रकारले खाईपाई आएको मासिक तलबबाट पाँच
प्रतिशतले कट्टा गरी हुन आउने रकम,
(ख) नेपाल सरकारले सञ्चार प्रतिष्ठानलाई लोककल्याणकारी विज्ञापन
बापत उपलव्ध गराएको रकमको दश प्रतिशतले हुन आउने रकम,
(ग) सञ्चार प्रतिष्ठानले प्रत्येक बर्ष विज्ञापन बापत प्राप्त गर्ने
आम्दानीको दश प्रतिशतले हुन आउने रकम,
(घ) सञ्चार प्रतिष्ठानमा प्रत्येक बर्ष नाफा भएको रकममा खण्ड (ख) र
(ग) बमोजिमको रकम घटाई बांकी हुन आउने कुल नाफाको पांच
प्रतिशतले हु्न आउने रकम ।
(३) व्यवस्थापकले कल्याणकारी कोषमा रहने रकम कुनै वाणिज्य बैङ्कमा खाता खोली
जम्मा गर्नुपर्नेछ ।
(४) कल्याणकारी कोषको संचालन व्यवस्थापक र व्यवस्थापकले तोकेको कुनै
श्रमजीवी पत्रकारको संयुक्त दस्तखतबाट हुनेछ ।
(५) प्रत्येक सञ्चार प्रतिष्ठानले यस नियम बमोजिम खडा भएको कोषको प्रत्येक
वर्ष मान्यता प्राप्त लेखा परिक्षकबाट लेखा परिक्षण गराउनु पर्नेछ ।
(६) प्रत्येक सञ्चार प्रतिष्ठानले उपनियम (५) बमोजिमको लेखा परिक्षण प्रतिवेदन
सार्वजनिक गर्नु पर्नेछ ।
२८. कल्याणकारी कोषको प्रयोग :- सञ्चार प्रतिष्ठानले कल्याणकारी कोषको रकम देहायका
काममा खर्च गर्न सक्नेछ :-
(क) श्रमजीवी पत्रकार वा तिनका परिवारका सदस्यहरू विरामी भई वा तत्काल
दुर्घटना घटी आर्थिक सहयोग उपलब्ध गराउनु पर्ने भएमा,
(ख) श्रमजीवी पत्रकारलाई असाधारण परिस्थिति परी आएमा सहुलियत दरमा
सापटी दिन,
(ग) श्रमजीवी पत्रकारहरूको बालबालिकालाई शिक्षाको लागि आवश्यक व्यवस्था
गर्न,
(ग१) नियम २८क बमोजिम असक्त बृत्ति बापतको रकम दिन,
(ग२) नियम ३०ख बमोजिम क्षतिपूर्तिको रकम दिन,
(घ) श्रमजीवी पत्रकारको हकहित र सुरक्षाको सम्बन्धमा सञ्चार प्रतिष्ठानले
उपयुक्त ठह¥याएको अन्य कुनै विषयमा ।
२८क. अशक्त वृत्तिः सञ्चार प्रतिष्ठानको कामको सिलसिलामा कुनै श्रमजीवी पत्रकारको दुर्घटनामा
परी अङ्गभङ्ग भएको वा चोटपटक लागेको कारण निज शारीरिक वा मानसिक रूपमा सेवाको
लागि अशक्त भएको भनी नेपाल सरकारले तोकेको मेडिकल बोर्डले सिफारिश गरेमा
सम्बन्धित सञ्चार प्रतिष्ठानले त्यस्तो श्रमजीवी पत्रकारलाई निजको जीविकाको निमित्त
बाँचुन्जेलसम्मका लागि अशक्त वृत्ति बापत निजले खाईपाई आएको मासिक तलबको आधा
रकम नियम २७ बमोजिमको कोषबाट प्रत्येक महिना उपलव्ध गराउनु पर्नेछ ।
२९. संचय कोषः- स्थायी श्रमजीवी पत्रकारलाई निजले खाईपाई आएको तलबबाट प्रत्येक
महिनामा दश प्रतिशत रकम कट्टा गरी सञ्चार प्रतिष्ठानले सो रकममा शत प्रतिशत थपी
निजको नाममा संचय कोष जम्मा गर्नु पर्नेछ ।
३०. उपचार खर्च :- श्रमजीवी पत्रकारले सञ्चार प्रतिष्ठानमा काम गरे बापत प्रत्येक वर्षको
अन्त्यमा आफूले खाईपाई आएको एक महिनाको पारिश्रमिक बराबरको रकम उपचार खर्च
बापत पाउनेछ ।
३०क.औषधि उपचार तथा दुर्घटना बीमाः (१) व्यवस्थापकले सञ्चार प्रतिष्ठानमा कार्यरत प्रत्येक
श्रमजीवी पत्रकारको लागि न्यूनतम पाँच लाख रुपैयाँको औषधी उपचार तथा दुर्घटना बीमा
गराउनु पर्नेछ ।
(२) कुनै श्रमजीवी पत्रकार सञ्चार प्रतिष्ठानको कामको सिलसिलामा दुर्घटनामा परी
चोटपटक लागेमा वा निजको अङ्ग भङ्ग भएमा वा अन्य कुनै कडा रोग लागेमा उपनियम (१)
बमोजिम बीमा गराएको रकमबाट उपचार गराउनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम वीमा गराउँदा लाग्ने कूल वीमा शुल्क रकम मध्ये पचास
प्रतिशत रकम सम्बन्धित सञ्चार प्रतिष्ठानले र पचास प्रतिशत रकम सम्बन्धित श्रमजीवी
पत्रकारले व्यहोर्नु पर्नेछ ।
(४) सञ्चार प्रतिष्ठानको कामको सिलसिलामा दुर्घटनामा परी कुनै श्रमजीवी
पत्रकारको मृत्यु भएमा उपनियम (१) बमोजिम गरिएको बीमा बापतको रकम ऐनको दफा
१६ मा उल्लेख भए बमोजिमको व्यक्तिले पाउनेछ ।
(५) यस नियम बमोजिम श्रमजीवी पत्रकारले उपचार बापत रकम पाएको कारणले
मात्र नियम ३० बमोजिम उपचार खर्च पाउनमा कुनै बाधा पु¥याएको मानिने छैन ।
(६) सञ्चार प्रतिष्ठानले यो नियम प्रारम्भ हुँदाका बखत आफ्नो प्रतिष्ठानमा कार्यरत
प्रत्येक श्रमजीवी पत्रकारको यो नियम प्रारम्भ भएको मितिले छ महिना भित्र उपनियम (१)
बमोजिम बीमा गरी सोको जानकारी प्रेस रजिष्ट्रारलाई दिनु पर्नेछ ।
३०ख.क्षतिपूर्ति सम्बन्धी व्यवस्थाः (१) कुनै श्रमजीवी पत्रकारलाई सञ्चार प्रतिष्ठानको कामको
सिलसिलामा चोटपटक लाग्न गई सो चोटपटकको कारणबाट निजको कार्यसम्पादन क्षमतामा
असर पर्ने भएमा सञ्चार प्रतिष्ठानले त्यस्तो श्रमजीवी पत्रकारलाई निजले खाईपाई आएको
एक महिनाको तलब बराबरको रकम वा दशहजार रूपैयाँमध्ये जुन बढी हुन्छ सो रकम
क्षतिपूर्तिको रूपमा एकमुष्ट उपलव्ध गराउनु पर्नेछ ।
(२) सञ्चार प्रतिष्ठानको कामको सिलसिलामा कुनै श्रमजीवी पत्रकारको व्यक्तिगत
सम्पत्ति नष्ट भएमा सम्बन्धित सञ्चार प्रतिष्ठानले त्यस्तो श्रमजीवी पत्रकारलाई त्यसरी नष्ट
भएको सम्पत्ति बराबरको रकम क्षतिपूर्ति बापत उपलब्ध गराउनु पर्नेछ ।
(३) यस नियम बमोजिम सम्बन्धित सञ्चार प्रतिष्ठान समक्ष श्रमजीवी पत्रकारले
पाउने क्षतिपूर्तिको रकम सिफारिश गर्न प्रत्येक जिल्लामा देहायका सदस्यहरूको भएको
समिति रहनेछ :-
(क) प्रमुख जिल्ला अधिकारी – अध्यक्ष
(ख) सभापति,नेपाल पत्रकार महासंघ, जिल्ला शाखा – सदस्य
(ग) प्रमुख, जिल्ला प्रहरी कार्यालय – सदस्य
(घ) प्रमुख, सम्बन्धित सञ्चार प्रतिष्ठान – सदस्य
(ङ) प्रमुख, जिल्ला हुलाक कार्यालय – सदस्य सचिव
(४) उपनियम (३) बमोजिम गठन हुने समितिको सचिवालय सम्बन्धित जिल्ला
हुलाक कार्यालयमा रहनेछ ।
३१. उपदान :- पाँच वर्ष वा सो भन्दा बढी समय सञ्चार प्रतिष्ठानमा स्थायी सेवा गर्ने श्रमजीवी
पत्रकारले आफूले काम गरेको अवधि अनुसार देहाय बमोजिम उपदान पाउनेछ :–
(क) पाँच वर्षदेखि दश वर्षसम्म सेवा गरेको श्रमजीवी पत्रकारले आफूले काम
गरेको प्रत्येक वर्षको निमित्त आधा महिनाको तलब,
(ख) दश वर्षदेखि पन्ध्रवर्षसम्म सेवा गरेको श्रमजीवी पत्रकारले आफूले काम
गरेको प्रत्येक वर्षको निमित्त एक महिनाको तलब,
(ग) पन्ध्र वर्षदेखि बढी सेवा गरेको श्रमजीवी पत्रकारले आफूले काम गरेको
प्रत्येक वर्षको निमित्त डेढ महिनाको तलब ।
३२. चाडपर्व खर्चः श्रमजीवी पत्रकारले आफ्नो धर्म, संस्कृति, परम्परा अनुसार मनाइने चाडपर्वको
लागि खाइपाई आएको एक महिनाको तलब बराबरको रकम प्रत्येक वर्ष चाडपर्व खर्चको
रूपमा पाउनेछ । यस्तो रकम एक आर्थिक वर्षमा एक पटक आफ्नो धर्म, संस्कृति, परम्परा
अनुसार मनाइने मुख्य चाडपर्वको अवसरमा भुक्तानी लिन सक्नेछ ।
३३. दैनिक तथा भ्रमण भत्ता बापतको सुविधा :- श्रमजीवी पत्रकारले कार्यालयको कामको
शिलशिलामा कुनै ठाउँमा भ्रमण गर्नु परेमा सो ठाउँमा जाँदा र आउँदाको सवारी खर्च र सो
ठाउँमा बस्दा लाग्ने खाना खर्च वापत व्यवस्थापकले तोके बमोजिमको रकम सञ्चार
प्रतिष्ठानबाट दैनिक तथा भ्रमण भत्ताको रूपमा पाउनेछ ।
३४. बीमाको सुविधा :- व्यवस्थापकले प्रत्येक श्रमजीवी पत्रकारको बीमाको व्यवस्था गर्नुपर्नेछ ।
३५. अवकास पाउने श्रमजीवी पत्रकारले पाउने सुविधा :- ऐनको दफा २२ र २३ बमोजिम
अवकाश पाउने श्रमजीवी पत्रकारलाई निजले सेवा गरेको प्रत्येक वर्षको निमित्त नियम ३१
मा तोकिए बमोजिमको उपदान सरहको सुविधा दिनु पर्नेछ । कुनै श्रमजीवी पत्रकारले
पाँचवर्ष भन्दा कम अवधि सञ्चार प्रतिष्ठानमा सेवा गरेको भए निजले पाँचवर्ष सेवा गरेको
मानी सोही अनुपातमा निजलाई सुविधा दिनुपर्नेछ ।
३६. बढी समय काम गरे बापत पाउने सुविधा :- व्यवस्थापकले श्रमजीवी पत्रकारलाई कार्यालय
समय बाहेक बढी समय सञ्चार प्रतिष्ठानको काममा लगाएमा त्यसरी बढी समय काममा
लगाए बापत निजले पाउने एक दिनको पारिश्रमिकको रकमलाई दामासाहीले हिसाब गरी
जति समय बढी काम लगाइएको छ सोही आधारमा थप सुविधा दिनुपर्नेछ ।