Skip to contentSkip to left sidebar Skip to footer

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी नियमावली, २०७४

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी नियमावली, २०७४

नेपाल राजपत्रमा प्रकाशित मिति
२०७४।११।०९
संशोधन
१. राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी
(पहिलो संशोधन) नियमावली, २०७४                                   २०७४।११।२८
२. राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी
(दोस्रो संशोधन) नियमावली, २०७४                                    २०७४।१२।०२
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ को दफा ६८ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आयोगले देहायका नियमहरू बनाएको छ ।

परिच्छेद–१ प्रारम्भिक

1.  संक्षिप्त नाम र प्रारम्भ :- (१) यी नियमहरूको नाम “राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी नियमावली, २०७४” रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।
2.  परिभाषा :- विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “ऐन” भन्नाले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ सम्झनु  पर्छ ।
(ख)   “निर्वाचन कार्यक्रम” भन्नाले नियम ३ बमोजिमको निर्वाचन कार्यक्रम सम्झनु पर्छ ।
(ग) “मतगणना प्रतिनिधि” भन्नाले उम्मेदवार वा निर्वाचन प्रतिनिधिले मतगणनाको काममा प्रतिनिधित्व गर्नको लागि नियम २२ बमोजिम नियुक्त गरेको व्यक्ति सम्झनु पर्छ ।
(घ) “मतदाता नामावली” भन्नाले ऐनको दफा ३ बमोजिमको निर्वाचक मण्डलमा रहेका सङ्घीय संसदका सदस्य र प्रदेश सभाका सदस्यको नाम समावेश गरी तयार गरिएको मतदाता नामावली सम्झनु पर्छ ।
(ङ) “मतदान केन्द्र” भन्नाले निर्वाचनमा मतदान गर्ने प्रयोजनको लागि नियम २३ बमोजिम आयोगले तोकेको मतदान केन्द्र सम्झनु पर्छ ।
(च) “मतदान प्रतिनिधि” भन्नाले उम्मेदवार वा निर्वाचन प्रतिनिधिले मतदान केन्द्रमा प्रतिनिधित्व गर्नको लागि नियम २१ बमोजिम नियुक्त गरेको व्यक्ति सम्झनु पर्छ ।
(छ) “मनोनयनपत्र” भन्नाले निर्वाचनमा उम्मेदवारीको लागि निर्वाचन अधिकृत समक्ष पेश भएको मनोनयनपत्र सम्झनु पर्छ ।

परिच्छेद–२ निर्वाचन कार्यक्रमको सूचना

3. निर्वाचन कार्यक्रम :- (१) ऐनको दफा ४ वा ५ बमोजिम निर्वाचनको मिति तोकिएको सूचना प्रकाशन भएपछि आयोगले मतदाता नामावली प्रकाशन गर्ने, मतदाता नामावलीमा छुट नाम समावेश गर्न तथा विवरण सच्याउन दरखास्त दिने, मतदाता नामावली उपर दाबी विरोधको उजूरी दिने, उजूरी उपर छानबिन गरी अन्तिम नामावली प्रकाशन गर्ने, उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने, मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, उम्मेदवारको दाबी विरोधमा उजूरी दिने, मनोनयनपत्र र उजूरी उपर जाँचबुझ गर्ने, मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, उम्मेदवारले नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र मतदान गर्ने मिति, समय र स्थान समेत उल्लेख भएको निर्वाचन कार्यक्रम तयार गरी प्रकाशन गर्नु पर्नेछ ।
(२) ‍‍‍……………………….
4.  निर्वाचन कार्यक्रमको सूचना प्रकाशन गर्ने:- निर्वाचन अधिकृतले नियम ३ बमोजिम प्रकाशित निर्वाचन कार्यक्रमको सूचना आफ्नो कार्यालयमा प्रकाशन गर्नु पर्नेछ ।

परिच्छेद–३ मतदाता नामावली

5. मतदाता नामावली तयार गरी प्रकाशन गर्ने :- (१) आयोगले निर्वाचनको प्रयोजनको लागि सङ्घीय संसदको सदस्य पदमा बहाल रहेका व्यक्तिको विवरण सङ्घीय संसद सचिवालयबाट र प्रदेश सभाको सदस्य पदमा बहाल रहेका व्यक्तिको विवरण सम्बन्धित प्रदेश सभा सचिवालयबाट माग गरी मतदाता नामावली तयार गर्नु पर्नेछ ।
(२) आयोगले उपनियम (१) बमोजिम तयार गरेको मतदाता नामावली निर्वाचन अधिकृतलाई उपलब्ध गराउनु पर्नेछ र निर्वाचन अधिकृतले निर्वाचन कार्यक्रममा तोकिएको मिति र समयमा सो मतदाता नामावली आफ्नो कार्यालयमा प्रकाशन गर्नु पर्नेछ ।
(३) यस नियम बमोजिमको मतदाता नामावली आयोगको वेबसाइटमा प्रकाशन गरिनेछ ।
6.  मतदाता नामावलीमा छुट नाम समावेश गर्न दरखास्त दिने :- (१) नियम ५ बमोजिम प्रकाशित मतदाता नामावलीमा नाम छुट भएमा सम्बन्धित व्यक्तिले आफ्नो नाम समावेश गर्नका लागि निर्वाचन कार्यक्रममा तोकिएको समयावधि भित्र निर्वाचन अधिकृतको कार्यालयमा दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम मतदाता नामावलीमा नाम समावेश गराउन दरखास्त दिने व्यक्तिले आपूm सङ्घीय संसदको सदस्य वा प्रदेश सभाको सदस्य पदमा निर्वाचित वा मनोनीत भई बहाल रहेको प्रमाण समेत पेश गर्नु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम पर्न आएको दरखास्त जाँचबुझ गर्दा व्यहोरा मनासिब देखिएमा निर्वाचन अधिकृतले निजको नाम मतदाता नामावलीमा समावेश गर्नु पर्नेछ ।
7.  नाम, थर, उमेर, पद आदि सच्याउन दरखास्त दिने :- (१) नियम ५ बमोजिम प्रकाशित मतदाता नामावलीमा नाम समावेश भएको कुनै मतदाताको नाम, थर, उमेर, पद वा अन्य व्यहोरामा लेखाई वा छपाईको त्रुटि भएमा सम्बन्धित मतदाताले विवरण सच्याउनका लागि निर्वाचन कार्यक्रममा तोकिएको समयावधि भित्र सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम पर्न आएको दरखास्त जाँचबुझ गर्दा व्यहोरा मनासिब देखिएमा निर्वाचन अधिकृतले निजको विवरण सच्याउनु पर्नेछ ।
8.  मतदाताको विरोधमा उजूरी दिने :- (१) नियम ५ बमोजिम प्रकाशित मतदाता नामावलीमा नाम समावेश भएको मतदाताको विरोध गरी अर्को कुनै मतदाताले उजूर गर्न चाहेमा निर्वाचन कार्यक्रममा तोकिएको मिति, समय र स्थानमा निर्वाचन अधिकृतको कार्यालयमा उजूरी दिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम उजूरी दिने समय समाप्त भएपछि निर्वाचन अधिकृतले त्यसरी दर्ता भएका उजूरीको सूची तयार गरी आफ्नो कार्यालयमा सूचना प्रकाशन गर्नु पर्नेछ । यसरी सूचना प्रकाशन गर्दा जसको विरुद्ध उजूरी परेको हो सो व्यक्तिले सो सूचनामा तोकिएको समयावधिभित्र उजूरी खण्डन गर्ने आवश्यक सबुद वा सफाई प्रस्तुत गर्नुपर्ने व्यहोरा समेत उल्लेख गर्नु पर्नेछ ।
9.  उजूरीको जाँचबुझ गर्ने :- (१) निर्वाचन अधिकृतले नियम ८ बमोजिमको उजूरी सम्बन्धमा आवश्यक जाँचबुझ गरी निर्णय गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम जाँचबुझ गर्दा निर्वाचन अधिकृतले नियम ८ को उपनियम  (२) बमोजिम सम्बन्धित व्यक्तिले सबुद वा सफाई पेश गरेको भए सो सम्बन्धमा समेत जाँचबुझ गर्नु पर्नेछ ।
(३) निर्वाचन अधिकृतले कुनै सबुद प्रमाण संलग्न नभएको उजूरी उपर कुनै कारबाही गर्ने छैन ।
10.  अन्तिम मतदाता नामावली प्रकाशन गर्ने :- (१) निर्वाचन अधिकृतले नियम ८ बमोजिम उजूरी परेकोमा त्यस्तो उजूरीका सम्बन्धमा नियम ९ बमोजिम जाँचबुझ गरी र उजूरी नपरेकोमा उजूरी गर्ने म्याद समाप्त भए पछि अन्तिम मतदाता नामावली तयार गरी आफ्नो कार्यालयमा प्रकाशन गर्नु पर्नेछ ।
(२) निर्वाचन अधिकृतले उपनियम (१) बमोजिमको अन्तिम मतदाता नामावली आयोग समक्ष पठाउनु पर्नेछ र सो नामावली आयोगले आफ्नो वेबसाइटमा प्रकाशन गर्नेछ ।
11.  अन्तिम मतदाता नामावलीमा थपघट तथा हेरफेर गर्न नहुने :- नियम १० बमोजिम प्रकाशन गरिएको अन्तिम मतदाता नामावली सो निर्वाचनको प्रयोजनको लागि थपघट वा हेरफेर गर्नु हुँदैन ।
12.  मतदाता नामावलीको प्रतिलिपि उपलब्ध गराउनु पर्ने :- कुनै उम्मेदवारले नियम १० बमोजिम प्रकाशन भएको अन्तिम मतदाता नामावलीको प्रतिलिपि माग गरेमा निर्वाचन अधिकृतले प्रतिपृष्ठ तीन रुपैयाँको दरले हुन आउने रकम लिई सो नामावलीको प्रतिलिपि उपलब्ध गराउनु पर्नेछ ।

परिच्छेद–४ निर्वाचन अधिकृत तथा मतदान अधिकृतको काम, कर्तव्य र अधिकार

13.  निर्वाचन अधिकृतको काम, कर्तव्य र अधिकार :- (१) ऐन तथा यस नियमावलीमा अन्यत्र उल्लिखित काम, कर्तव्य र अधिकारका अतिरिक्त निर्वाचन अधिकृतको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :–
(क) निर्वाचन अधिकृतको कार्यालयलाई आवश्यक पर्ने सहायक निर्वाचन अधिकृत तथा अन्य कर्मचारी नियुक्त गर्ने,
(ख) मतदान केन्द्र रहेको जिल्लामा कार्यरत नेपाल सरकारका कर्मचारी मध्येबाट मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य सहायक कर्मचारी नियुक्त गरी मतदान केन्द्रमा खटाउने,
(ग) सहायक निर्वाचन अधिकृत, मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचन तथा मतदान सम्बन्धी प्रक्रियाको विषयमा अभिमूखिकरण गर्ने, गराउने,
(घ) आयोगले उपलब्ध गराएका मतपत्र लगायतका निर्वाचन सामग्री रुजु गरी बुझी लिने,
(ङ) आयोगबाट प्राप्त मतपत्र लगायतका निर्वाचन सामग्री मतदान अधिकृतलाई उपलब्ध गराउने,
(च) मतदान केन्द्र तथा मतगणना गर्ने स्थान र सो कार्यमा खटिने कर्मचारीको आवश्यक सुरक्षा प्रबन्धको लागि स्थानीय प्रशासनसँग समन्वय गर्ने,
(छ) मतदानको दिन मतदान केन्द्रमा मतदान कार्यको अनुगमन, निरीक्षण तथा रेखदेख गर्ने, गराउने,
(ज) मतदान कार्य समाप्त भएपछि मतदान केन्द्रबाट मतगणना गर्न तोकिएको स्थानमा प्राप्त भएका मतपेटिका बुझी सुरक्षित साथ राख्ने,
(झ) सम्बन्धित मतदान केन्द्रबाट मतपेटिका सङ्कलन भएपछि मतगणना गर्ने,
(ञ)   मतगणना कार्य समाप्त भएपछि निर्वाचन परिणामको घोषणा गरी सोको विवरण आयोगमा पठाउने,
(ट) मतदान अधिकृतबाट प्राप्त भएका तथा निर्वाचन सम्पन्न भएपछि निर्वाचन अधिकृतको कार्यालयमा रहेका बाँकी निर्वाचन सामग्रीहरु निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्लाको क्षेत्रीय वा जिल्ला निर्वाचन कार्यालयमा बुझाउने,
(ठ) आयोगबाट स्वीकृत आर्थिक निर्देशिकामा उल्लेख भए बमोजिम खर्च लेख्ने र लेखा राख्ने,
(ड) निर्वाचन सम्बन्धी सम्पूर्ण खर्चको सम्बन्धमा सम्बन्धित कोष तथा लेखा नियन्त्रण कार्यालयबाट आन्तरिक लेखा परीक्षण गराई सोको प्रमाणित आय–व्यय विवरण सहितको सम्पूर्ण स्रेस्ता अन्तिम लेखा परीक्षणको लागि आयोगले तोकेको समयावधि भित्र आयोगमा बुझाउने,
(ढ) निर्वाचन पर्यवेक्षणलाई व्यवस्थित र मर्यादित बनाउन आवश्यक व्यवस्था गर्ने,
(ण) निर्वाचन आचार संहिता पालना गर्ने, गराउने सम्बन्धमा आवश्यक व्यवस्था गरी सोको जानकारी आयोगलाई गराउने,
(त) प्रचलित कानूनी व्यवस्था र निर्वाचन आयोगले समय–समयमा दिएका आदेश वा निर्देशनको अधीनमा रही निर्वाचन कार्यक्रम अनुसारका सबै कार्य सम्पन्न गर्ने ।
(२) निर्वाचन अधिकृतको प्रत्यक्ष निर्देशनमा रही ऐन तथा यस नियमावली बमोजिम निर्वाचन सम्बन्धी काममा निर्वाचन अधिकृतलाई सहयोग गर्नु सहायक निर्वाचन अधिकृतको कर्तव्य हुनेछ ।
14.  मतदान अधिकृतको काम, कर्तव्य र अधिकार :- (१) ऐन तथा यस नियमावलीमा अन्यत्र उल्लिखित काम, कर्तव्य र अधिकारका अतिरिक्त मतदान अधिकृतको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः–
(क) निर्वाचन सम्बन्धी आवश्यक तालीम तथा अभिमूखिकरण कार्यक्रममा भाग लिने,
(ख) निर्वाचन अधिकृतको कार्यालयबाट उपलब्ध गराइएका मतपत्र लगायतका निर्वाचन सामग्री रुजु गरी बुझी लिने,
(ग) मतदान केन्द्रमा खटाईएका सहायक मतदान अधिकृत, अन्य कर्मचारी तथा सुरक्षाकर्मीसँग समन्वय गर्ने,
(घ) समयमा मतदान केन्द्रमा पुगी आयोगद्वारा निर्धारित तरिकाले मतदान केन्द्र निर्माण गर्ने,
(ङ) मतदान कार्यलाई सहज तरिकाले सम्पन्न गर्न उम्मेदवारका प्रतिनिधिसँग समन्वय गर्ने,
(च) मतदान कार्यलाई सुचारु रुपले अघि बढाउन चनाखो भई मतदान कार्यको निरन्तर अनुगमन गर्ने,
(छ) मतदानको दिन मतदानको गतिविधि सम्बन्धमा समय–समयमा निर्वाचन अधिकृतलाई जानकारी गराउने,
(ज) मतदानको दिन मतदान केन्द्रमा आउने पर्यवेक्षक, पत्रकार, अनुगमनकर्ता र सुरक्षाकर्मीलाई मतदान कार्यको अवस्थाबारे जानकारी दिने,
(झ) मतदान केन्द्रमा स्वच्छ, निष्पक्ष र स्वतन्त्र रुपमा मतदान कार्य सम्पन्न गराउने,
(ञ) निर्वाचन पर्यवेक्षणलाई व्यवस्थित र मर्यादित बनाउन आवश्यक व्यवस्था गर्ने,
(ट) निर्वाचन आचार संहिता पालना गर्ने, गराउने सम्बन्धमा आवश्यक व्यवस्था गरी सोको जानकारी आयोगलाई गराउने,
(ठ) मतदान कार्य समाप्त भएपछि मतपेटिका तथा अन्य निर्वाचन सामग्री आवश्यकता अनुसार सिल गरी सुरक्षित तरिकाले निर्वाचन अधिकृतलाई बुझाउने,
(ड) निर्वाचन अधिकृतले अधिकार प्रत्यायोजन गरे बमोजिमका अन्य काम गर्ने,
(ढ) प्रचलित कानूनी व्यवस्था र आयोगले समय–समयमा दिएका आदेश वा निर्देशनको अधीनमा रही मतदान कार्य सम्पन्न गर्ने, गराउने ।
(२) मतदान अधिकृतको प्रत्यक्ष निर्देशनमा रही मतदान कार्य सम्पन्न गर्न, गराउन मतदान अधिकृतलाई सहयोग गर्नु सहायक मतदान अधिकृतको कर्तव्य हुनेछ ।
(३) काबु बाहिरको परिस्थिति पर्न गई मतदान अधिकृतले मतदान कार्य गराउन नसक्ने भएमा सहायक मतदान अधिकृतले ऐन तथा यस नियमावली बमोजिम मतदान अधिकृतले गर्नुपर्ने भनी तोकिएका सम्पूर्ण काम कारबाही सम्पन्न गर्नु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम मतदान अधिकृतले कार्य सम्पादन गर्न नसकेमा सोको जानकारी मतदान अधिकृत वा सहायक मतदान अधिकृतले तत्काल निर्वाचन अधिकृतलाई दिनु पर्नेछ ।

परिच्छेद–५ उम्मेदवारको मनोनयन 

15. मनोनयनपत्र दर्ता गराउन सक्ने :- (१) निर्वाचनमा उम्मेदवार हुन चाहने संविधान तथा ऐन बमोजिम योग्यता पुगेको व्यक्ति आफंैले वा निजको प्रतिनिधि, प्रस्तावक वा समर्थक मार्फत निर्वाचन कार्यक्रममा उल्लिखित मिति र समयमा निर्वाचन अधिकृतको कार्यालयमा मनोनयनपत्र दर्ता गर्न वा गराउन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम मनोनयनपत्र दर्ता गर्दा वा गराउँदा नियम १० बमोजिमको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका पाँच जना प्रस्तावक र पाँच जना समर्थकले सहीछाप गरेको हुनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम कुनै व्यक्तिको मनोनयनपत्र दर्ता गर्दा वा गराउँदा फरक–फरक व्यक्ति प्रस्तावक र समर्थक रहेका बढीमा दुईवटा मनोनयनपत्र दर्ता गर्न वा गराउन सकिनेछ ।
16.  मनोनयनपत्र साथ संलग्न गर्नुपर्ने कागजात :- ऐनको दफा १७ बमोजिम मनोनयनपत्र पेश गर्दा उम्मेदवारले मनोनयनपत्र साथ देहायका कागजात संलग्न गर्नु पर्नेछ :–
(क) उम्मेदवारले वंशजको आधारमा प्राप्त गरेको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
(ख) मतदाता नामावली ऐन, २०७३ बमोजिम कुनै गाउँपालिका वा नगरपालिकाको तत्काल कायम रहेको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा ।
17.  उम्मेदवारको सूची प्रकाशन गर्ने :- निर्वाचन अधिकृतले मनोनयनपत्र दर्ता गर्ने समय समाप्त भएपछि नियम १५ बमोजिम मनोनयनपत्र दर्ता गराएका उम्मेदवारको नामावली आफ्नो कार्यालयमा प्रकाशन गर्नु पर्नेछ र त्यसको एकप्रति आयोगमा पठाउनु पर्नेछ ।
18.  मनोनयनपत्रको जाँच गर्ने :- (१) निर्वाचन अधिकृतले ऐनको दफा १९ बमोजिम मनोनयनपत्रको जाँच गर्दा ऐनको दफा १८ बमोजिम कुनै उम्मेदवारको योग्यताको सम्बन्धमा कुनै दाबी विरोधमा उजूरी परेको रहेछ भने सो सम्बन्धमा समेत आवश्यक जाँचबुझ गरी निर्णय गर्नु पर्नेछ ।
(२) निर्वाचन अधिकृतले मनोनयनपत्र जाँच गर्दा एकै व्यक्तिको दुईवटा मनोनयनपत्र दर्ता भएकोेमा एउटा मात्र मनोनयनपत्र रीतपूर्वकको रहेछ भने रीतपूर्वकको मनोनयनपत्र कायम गर्नु पर्नेछ र दुवै मनोनयनपत्र रीतपूर्वकका रहेछन् भने सम्बन्धित उम्मेदवार वा निजको प्रतिनिधि, प्रस्तावक वा समर्थकको इच्छा अनुसार कुनै एउटा मनोनयनपत्र कायम गर्नु पर्नेछ ।
तर त्यस्तो उम्मेदवार वा निजको प्रतिनिधि, प्रस्तावक वा समर्थक उपस्थित नभएको अवस्थामा निर्वाचन अधिकृतले पहिले दर्ता भएको मनोनयनपत्र कायम गर्नु पर्नेछ ।
(३) यस नियम बमोजिम मनोनयनपत्रको जाँच गर्दा उम्मेदवार वा निजको प्रतिनिधि, प्रस्तावक वा समर्थकको उपस्थितिमा गर्नु पर्नेछ ।
(४) उपनियम (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि मनोनयनपत्र जाँच गर्नको लागि निर्धारित समयमा उम्मेदवार वा निजको प्रतिनिधि, प्रस्तावक वा समर्थक उपस्थित नभएमा मनोनयनपत्र जाँच गर्न कुनै बाधा पर्ने छैन ।
(५) मनोनयनपत्रको जाँच गर्दा सो मनोनयनपत्रमा रहेको सानोतिनो भूलचुकको कारणले मात्र सो मनोनयनपत्र बदर हुने छैन ।
स्पष्टीकरण : यस उपनियम र नियम ३० को उपनियम (२) को प्रयोजनको लागि “सानोतिनो भूलचुक” भन्नाले मतदाता नामावलीमा वा मनोनयनपत्रमा उम्मेदवार, प्रस्तावक, समर्थक, निजसँग सम्बन्धित व्यक्ति वा मतदाताको नाम, थर, उमेर, वतन वा क्रमसङ्ख्याको लेखाई वा छपाई सम्बन्धी प्राविधिक वा अक्षर, मात्रा वा अङ्कको सामान्य त्रुटि सम्झनु पर्छ ।
19.  निर्विरोध निर्वाचित भएको घोषणा :- ऐनको दफा २३ बमोजिम उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दा एकजना मात्र उम्मेदवार कायम हुन आएमा निर्वाचन अधिकृतले त्यस्तो उम्मेदवारलाई ऐनको दफा २४ बमोजिम राष्ट्रपति वा उपराष्ट्रपति पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरी सोको जानकारी आयोगलाई तुरुन्त दिनु पर्नेछ ।

परिच्छेद–६ उम्मेदवारको प्रतिनिधि

20. निर्वाचन प्रतिनिधि :- (१) उम्मेदवारले निर्वाचन सम्बन्धमा आफ्नो तर्फबाट गर्नुपर्ने काम गर्न एकजना निर्वाचन प्रतिनिधि नियुक्त गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम कुनै व्यक्ति निर्वाचन प्रतिनिधि हुन देहायको योग्यता भएको हुनु पर्नेछ :–
(क) नेपालको नागरिक,
(ख) पच्चीस वर्ष उमेर पूरा भएको,
(ग) मतदाता नामावली ऐन, २०७३ बमोजिम कुनै गाउँपालिका वा नगरपालिकाको तत्काल कायम रहेको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको,
(घ) लेखपढ गर्न जानेको,
(ङ) ऐनको दफा १२ को खण्ड (ख), (ग), (घ), (ङ), (च), (छ), (ज), (झ) र (ञ) बमोजिमको अयोग्यता नभएको,
(च) अन्य प्रचलित कानूनले अयोग्य नभएको ।
(३) निर्वाचन प्रतिनिधिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :–
(क) मतदान, मतगणना वा निर्वाचन सम्बन्धी अन्य कार्यमा उम्मेदवारको प्रतिनिधित्व गर्ने,
(ख) मतदान, मतगणना वा निर्वाचन सम्बन्धी अन्य कार्य गर्दा तयार गर्नुपर्ने विभिन्न मुचुल्कामा उम्मेदवारको प्रतिनिधिको रुपमा सहीछाप गर्ने,
(ग) निर्वाचन स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र शान्तिपूर्ण ढङ्गबाट सम्पन्न गर्न सहयोग पुर्याउने ।
(४) उपनियम (१) बमोजिम उम्मेदवारले निर्वाचन प्रतिनिधि नियुक्त गरेको लिखित सूचना निर्वाचन अधिकृतलाई दिनु पर्नेछ ।
(५) उपनियम (४) बमोजिम लिखित सूचना प्राप्त गरेपछि निर्वाचन अधिकृतले त्यस्तो निर्वाचन प्रतिनिधिलाई परिचयपत्र दिनु पर्नेछ ।
21.  मतदान प्रतिनिधि :- (१) निर्वाचनमा मतदान सम्बन्धी कामको लागि उम्मेदवार वा निर्वाचन प्रतिनिधिले एकजना मतदान प्रतिनिधि नियुक्त गर्न सक्नेछ ।
(२) नियम १० बमोजिम अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको र लेखपढ गर्न जान्ने व्यक्तिलाई मतदान प्रतिनिधि नियुक्त गर्न सकिनेछ ।
(३) उपनियम (२) बमोजिम मतदान प्रतिनिधि नियुक्त गरेको जानकारी सम्बन्धित मतदान अधिकृतलाई दिनु पर्नेछ ।
(४) मतदान प्रतिनिधिलाई मतदान अधिकृतले परिचयपत्र दिनु पर्नेछ ।
(५) शान्तिपूर्ण ढङ्गबाट मतदान कार्य सम्पन्न गर्न सहयोग गर्नु तथा मतदान सम्बन्धी तयार गर्नुपर्ने मुचुल्कामा सहीछाप गर्नु मतदान प्रतिनिधिको कर्तव्य हुनेछ ।
22.  मतगणना प्रतिनिधि :- (१) मतगणना सम्बन्धी कामको लागि उम्मेदवार वा निर्वाचन प्रतिनिधिले निर्वाचन अधिकृतले तोकिदिएको सङ्ख्यामा मतगणना प्रतिनिधि नियुक्त गर्न सक्नेछ ।
(२) नियम १० बमोजिमको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको र लेखपढ गर्न जान्ने व्यक्तिलाई मतगणना प्रतिनिधि नियुक्त गर्न सकिनेछ ।
(३) मतगणना प्रतिनिधिको कार्यावधि उम्मेदवार वा निर्वाचन प्रतिनिधिले अगावै खारेज गरेमा बाहेक निर्वाचन परिणाम घोषणा नभएसम्म कायम रहनेछ ।
(४) मतगणना प्रतिनिधिलाई निर्वाचन अधिकृतले परिचयपत्र दिनु पर्नेछ ।
(५) शान्तिपूर्ण ढङ्गबाट मतगणना कार्य सम्पन्न गर्न सहयोग गर्नु तथा मतगणना गर्दा तयार गर्नुपर्ने मुचुल्कामा सहीछाप गर्नु मतगणना प्रतिनिधिको कर्तव्य हुनेछ ।

परिच्छेद–७ मतदान केन्द्र, मतपत्र र मतपेटिका

23. मतदान केन्द्र तोक्ने :- (१) आयोगले ऐनको दफा ३० को उपदफा (१) बमोजिम मतदान केन्द्र तोक्दा निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्लाभित्र मतदाताको सुविधा तथा सुरक्षाको दृष्टिकोणबाट उपयुक्त स्थानमा मतदान केन्द्र रहने गरी तोक्नु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम मतदान केन्द्र तोक्दा सङ्घीय संसदका सदस्य र प्रदेश सभाका सदस्यले मतदान गर्नको लागि अलग अलग मतदान केन्द्र तोक्नु पर्नेछ । यसरी मतदान केन्द्र तोक्दा एउटै स्थान वा अलग अलग स्थानमा तोक्न सकिनेछ ।
(३) उपनियम (१) बमोजिम मतदान केन्द्र तोकिएको सूचना निर्वाचन अधिकृतले आफ्नो कार्यालयमा प्रकाशन गर्नु पर्नेछ ।
(४) मतदान केन्द्र तोक्दा अपनाउनु पर्ने अन्य आधारहरू आयोगले निर्धारण गरे बमोजिम हुनेछ ।
24. मतदान केन्द्रको क्षेत्र तोक्ने :- मतदान अधिकृतले मतदान केन्द्र रहेको ठाउँको चारैतिर साधारणतया तीनसय मिटरसम्मको क्षेत्रलाई चारकिल्ला तोकी मतदान केन्द्रको क्षेत्र घोषणा गरी  त्यसको सूचना सर्वसाधारणले देख्ने गरी मतदान केन्द्रमा प्रकाशन गर्नु पर्नेछ ।
 25. मतदान केन्द्रमा प्रवेश व्यवस्थापन :- (१) मतदान अधिकृतले मतदान केन्द्रमा भीड हुन, अनावश्यक जमघट हुन वा कुनै गडबडी हुन नपाउने गरी मतदातालाई प्रवेश गर्ने व्यवस्था व्यवस्था मिलाउनु पर्नेछ ।
(२) मतदान अधिकृतले ऐनको दफा ३८ को उपदफा (१) को खण्ड (घ) बमोजिम कुनै व्यक्तिलाई मतदान केन्द्रमा प्रवेश गर्ने अनुमति दिँदा त्यस्तो व्यक्ति मतदानसँग सम्बद्ध व्यक्ति हो होइन भन्ने कुरा यकिन गरेर मात्र अनुमति दिनु पर्नेछ ।
26.  मतपत्र :- (१) निर्वाचनको लागि उम्मेदवारको अन्तिम नामावलीमा नाम समावेश भएका उम्मेदवारको नाम रहेको आयोगले निर्धारण गरे बमोजिमको मतपत्र रहनेछ ।
(२) मतपत्रमा नेपाली वर्णानुक्रम अनुसार उम्मेदवारको नाम उल्लेख गरिनेछ ।
(३) यस नियम बमोजिम मतपत्र तयार गर्दा सङ्घीय संसदका सदस्यले मतदान गर्ने मतपत्रमा रहने विवरण र प्रदेश सभाका सदस्यले मतदान गर्ने मतपत्रमा रहने विवरण अलग–अलग रङ्गको मसीले छापिनेछ ।
(४) प्रत्येक मतपत्रको अधकट्टीमा आयोगले निर्धारण गरे बमोजिमको सिलसिलेवार रुपमा क्रमसङ्ख्या छापिनेछ ।
(५) मतपत्रको ढाँचा, प्रकार, रङ र किसिम आयोगले निर्धारण गरे बमोजिम हुनेछ ।
27.  मतपत्र रुजु गर्ने :- (१) निर्वाचन अधिकृतले आयोगले उपलब्ध गराएका मतपत्र रुजु गर्नु पर्नेछ । यसरी मतपत्र रुजु गर्दा आयोगले तोकेको ढाँचामा मतपत्र छापिएको छन्, छैनन् र प्रत्येक मतपत्रमा सबै उम्मेदवारको नाम तथा मतपत्रको अधकट्टीमा क्रमसङ्ख्या स्पष्ट रुपमा उल्लेख गरिएको छ, छैन यकिन गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम मतपत्र रुजु गर्दा कुनै मतपत्र आयोगले तोकेको ढाँचामा नभएको, मतपत्रमा कुनै उम्मेदवारको नाम छुट भएको, दोहोरिएको, मतपत्रको अधकट्टीमा क्रमसङ्ख्या उल्लेख नभएको वा अन्य कुनै किसिमको प्राविधिक त्रुटि भएको पाइएमा निर्वाचन अधिकृतले त्यस्ता मतपत्र छुट्याई सोको मुचुल्का गराई राख्नु पर्नेछ । यसरी छुट्याइएका मतपत्रको विवरण सम्बन्धी जानकारी निर्वाचन अधिकृतले आयोगलाई तुरुन्त दिनु पर्नेछ ।
28.  मतपेटिका :- (१) आयोगले प्रत्येक मतदान केन्द्रमा आवश्यक सङ्ख्यामा मतपेटिकाको व्यवस्था गर्नेछ ।
(२) मतदान अधिकृतले मतपेटिका बुझी लिँदा त्यस्तो मतपेटिका दुरुस्त छ, छैन हेरी बुझी लिनु पर्नेछ ।
(३) मतदान अधिकृतले मतदान कार्य शुरु हुनुअघि उपस्थित उम्मेदवार, निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधिको रोहबरमा मतपेटिका खोलेर दुरुस्त तथा रित्तो भए, नभएको देखाई जाँच गर्नु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम मतपेटिका जाँच गरी सकेपछि मतदान अधिकृतले रित्तो मतपेटिकाको मतपत्र खसाल्ने प्वाल बाँकी राखी मतपेटिकाको बिर्को बन्द गरी सुरक्षण सिल लगाई मतदान केन्द्रमा उपस्थित उम्मेदवार, निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधिको सहीछाप गराई मुचुल्का तयार गर्नु पर्नेछ ।
(५) उपनियम (४) बमोजिम मतपेटिकाको बिर्को बन्द गरेपछि मतदान कार्य शुरु गर्दा मतदान अधिकृतले आपूmले सहीछाप गरी मतदान केन्द्रमा उपस्थित उम्मेदवार, निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधिको सहीछाप गराई मुचुल्का तयार गर्नु पर्नेछ र कुनै उम्मेदवार, निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधिले सहीछाप नगरेमा मुचुल्कामा सोही व्यहोरा जनाई मतदान केन्द्रमा उपस्थित अन्य दुईजना व्यक्तिको सहीछाप गराउनु पर्नेछ ।
29.  मतपेटिका बिग्रिएमा वा नासिएमा :- (१) मतदान केन्द्रमा पठाइएको मतपेटिका बिग्रिएमा वा नासिएमा मतदान अधिकृतले उपस्थित उम्मेदवार, निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधिको समेत सहीछाप गराई मुचुल्का तयार गर्नु पर्नेछ । निजहरूले सहीछाप नगरेमा मुचुल्कामा सोही व्यहोरा जनाई मतदान केन्द्रमा उपस्थित अन्य दुईजना व्यक्तिको सहीछाप गराउनु पर्नेछ र सोको जानकारी निर्वाचन अधिकृतलाई दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम मतपेटिका नासिएको वा बिग्रिएको जानकारी प्राप्त भएमा निर्वाचन अधिकृतले तत्काल त्यस्तो मतदान केन्द्रमा आवश्यक मतपेटिका उपलब्ध गराउनु  पर्नेछ ।

परिच्छेद–८ मतदान

30.  मतपत्र दिने :-  (१) मतदान केन्द्रमा मतदाता प्रवेश गरेपछि मतदान अधिकृत वा निजले खटाएको कर्मचारीले त्यस्तो मतदाता सङ्घीय संसदको सदस्य वा प्रदेश सभाको सदस्यमा निर्वाचित भएको प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र वा मतदाता परिचयपत्र हेरी निजको नाम मतदाता नामावलीमा भिडाई मतदाता नामावलीमा नाम समावेश भएको व्यक्ति निज नै हो भन्ने कुरामा विश्वस्त भएमा निजलाई मतदान गर्न मतपत्र दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम जाँच गर्दा कुनै मतदाताको विवरणमा लेखाई वा छपाईको सानोतिनो भूलचूक देखिए तापनि मतदाता नामावलीमा नाम समावेश भएको व्यक्ति निज नै हो भन्ने कुरामा मतदान अधिकृत विश्वस्त भएमा त्यस्तो मतदातालाई मतदान गर्न मतपत्र दिनु पर्नेछ ।
(३) उपनियम (१) वा (२) बमोजिम मतदातालाई मतदान गर्न मतपत्र दिनु अघि मतदान अधिकृतले त्यस्तो मतपत्रमा दस्तखत गर्नु पर्नेछ ।
(४) उपनियम (१) वा (२) बमोजिम मतदातालाई मतपत्र दिएपछि मतदाता नामावलीमा निजले मतदान गरेको व्यहोरा जनिने सङ्केत गर्नु पर्नेछ ।
(५) उपनियम (४) बमोजिम मतदाता नामावलीमा सङ्केत जनाई सकेपछि मतपत्रको अधकट्टीमा मतदाताको सहीछाप गराई मतदातालाई मतपत्र दिनु पर्नेछ ।
(६) यस नियम बमोजिम मतदातालाई मतपत्र दिनु अघि आयोगले तोके बमोजिम निजको औंलामा नमिटिने मसी लगाई दिनु पर्नेछ ।
31.  मतदान गर्ने तरीका :- (१) मतदाताले मतपत्र लिएपछि मतसङ्केत गर्ने गोप्य स्थानमा गई आफूले रोजेको कुनै एक उम्मेदवारको नाम रहेको कोठामा स्वस्तिक ( ) चिन्ह लगाई मतसङ्केत गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम मतसङ्केत गरेपछि सो मतसङ्केत गरेको चिन्ह नदेखिने गरी मतपत्र पट्याई आयोगले तोकेबमोजिमको मतपेटिका भित्र खसाल्नु पर्नेछ ।
(३) मतसङ्केत गर्ने गोप्य स्थानमा एक पटकमा एकजना मतदातालाई मात्र प्रवेश गर्न दिइनेछ ।
(४) कुनै मतदाता मतसङ्केत गर्ने गोप्य स्थानमा मतपत्रमा मतसङ्केत गर्ने र मतपत्र पट्याउन लाग्ने समयभन्दा बढी समयसम्म बसेको छ भन्ने मतदान अधिकृतलाई लागेमा निजले सो गोप्य स्थानको निरीक्षण गर्न र त्यहाँ रहेको मतदातालाई बाहिर पठाउन सक्नेछ ।
(५) कुनै मतदाताले मतपत्र बुझी लिएपछि मतदान नगर्ने निश्चय गरेमा सो मतपत्र मतदान अधिकृतलाई फिर्ता दिनु पर्नेछ ।
(६) उपनियम (५) बमोजिम कसैले मतदान नगरी मतपत्र फिर्ता गरेमा मतदान अधिकृतले सोको अभिलेख राखी त्यस्तो मतपत्र छुट्टै खामबन्दी गरी राख्नु पर्नेछ ।
32.  विद्युतीय उपकरणको प्रयोग :-(१) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि मतदान गर्ने प्रयोजनको लागि आयोगले विद्युतीय उपकरणको प्रयोग गर्ने व्यवस्था गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम आयोगले विद्युतीय उपकरण प्रयोग गर्ने व्यवस्था गरेकोमा मतदाताले मतदान गर्दा विद्युतीय उपकरणको प्रयोग गर्नु पर्नेछ ।
(३) विद्युतीय उपकरण प्रयोग गर्ने कार्यविधि आयोगले निर्धारण गरे बमोजिम हुनेछ ।
33.  मतपेटिका बन्द गर्ने :- (१) मतदान अधिकृतले मतदानको काम समाप्त भएपछि मतपेटिकाको मतपत्र खसाल्ने प्वाल बन्द गरी सुरक्षण सिल लगाई मतदान केन्द्रमा उपस्थित उम्मेदवार, निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधिको सहीछाप गराई मुचुल्का तयार गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम तयार गरिएको मुचुल्कामा उम्मेदवार, निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधिले सहीछाप नगरेमा सोही व्यहोरा जनाई मतदान केन्द्रमा उपस्थित अन्य दुईजना व्यक्तिको सहीछाप गराउनु पर्नेछ ।
34. मतपत्रको फाँटबारी राख्ने :- मतदान अधिकृतले मतदान कार्य सम्पन्न भएपछि प्रयोग भएका र प्रयोग नभएका मतपत्रको फाँटबारी तयार गरी राख्नु पर्नेछ ।
35.  बाँकी मतपत्र र कागजात सिलबन्दी गर्ने :- मतदान कार्य सम्पन्न भएपछि मतदान अधिकृतले देहायका मतपत्र र अन्य कागजात छुट्टाछुट्टै खाममा सिलबन्दी गरी खामको बाहिर सोको विवरण उल्लेख गर्नु पर्नेछ र सो खाममा आफुले सहीछाप गरी मतदान केन्द्रमा उपस्थित उम्मेदवार, निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधिको समेत सहीछाप गराई मुचुल्का तयार गर्नु पर्नेछ र निजहरूले सहीछाप गर्न नचाहेमा मतदान केन्द्रमा उपस्थित अन्य दुईजना व्यक्तिको सहीछाप गराउनु पर्नेछ :–
(क) प्रयोग नभएका मतपत्र,
(ख) रद्द गरिएका मतपत्र,
(ग) मतपेटिका बाहिर रहेका मतपत्र,
(घ) मत नदिने निश्चय गरी मतदाताले मतदान अधिकृतलाई फिर्ता दिएका मतपत्र,
(ङ) निविदा मतपत्र,
(च) प्रयोग भएका मतपत्रका अधकट्टी,
(छ) आयोग वा निर्वाचन अधिकृतको निर्देशन अनुसार सिलबन्दी गरी राख्नु पर्ने अन्य कुनै कागजात ।
36.  मतपेटिका र निर्वाचन सामग्री बुझाउने :- (१) मतदान अधिकृतले मतदान कार्य सम्पन्न भएपछि नियम ३३ बमोजिम सुरक्षण सिल लगाईएका मतपेटिका, नियम ३५ बमोजिमका मतपत्र तथा निर्वाचन सम्बन्धी कागजात राखेका बन्दीखाम र अन्य निर्वाचन सामग्री तथा कागजात जतिसक्दो चाँडो सुरक्षित रुपमा निर्वाचन अधिकृतलाई बुझाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम मतपेटिका, निर्वाचन सम्बन्धी सामग्री तथा कागजात बुझेपछि निर्वाचन अधिकृतले मतदान अधिकृतलाई सोको भरपाई दिनु पर्नेछ ।

परिच्छेद–९ मतगणना र निर्वाचन परिणाम

37.  निर्धारित समयमा मतगणना प्रारम्भ गर्ने :- (१) निर्वाचन अधिकृतले ऐनको दफा ४६ बमोजिम प्रकाशित सूचनामा तोकिएको स्थान, मिति र समयमा उपस्थित उम्मेदवार, निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधिको रोहबरमा मतगणना प्रारम्भ गर्नु पर्नेछ ।
तर उम्मेदवार, निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधि उपस्थित नभएको कारणबाट मतगणना प्रारम्भ गर्न बाधा पुगेको मानिने छैन ।
(२) निर्वाचन अधिकृतले मतगणना प्रारम्भ गरेको मुचुल्का गराई राख्नु पर्नेछ ।
(३) मतगणना प्रारम्भ भएको जानकारी निर्वाचन अधिकृतले आयोगलाई तुरुन्त दिनु पर्नेछ ।
38. मतपेटिका जाँच गर्ने :- (१) मतगणना प्रारम्भ भएको मुचुल्का गरी सकेपछि निर्वाचन अधिकृतले उपस्थित उम्मेदवार, निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधिको रोहबरमा मतपत्र रहेको मतपेटिकाको देहाय बमोजिम जाँच गर्नु पर्नेछ :–
(क) मतपत्र रहेको मतपेटिका खोलिएको वा फोरिएको छ, छैन,
(ख) मतपेटिकामा मतदान केन्द्रको नाम, सङ्केत सङ्ख्या र मतपेटिकाको सङ्ख्या उल्लेख गरिएको छ, छैन,
(ग) मतपेटिका बन्द गरेको ठाउँमा लगाएको सुरक्षण सिल दुरुस्त छ, छैन ।
(२) निर्वाचन अधिकृतले उपनियम (१) बमोजिम मतपेटिका जाँच गरेको मुचुल्का गराई राख्नु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम मतपेटिका जाँच गर्दा कुनै कैफियत देखिएमा सोही व्यहोरा खुलाई मुचुल्का गराई उपस्थित उम्मेदवार, निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधिको सहीछाप गराई राख्नु पर्नेछ । यसरी मुचुल्का तयार भएपछि त्यस्ता मतपेटिका सुरक्षित स्थानमा राख्नु  पर्नेछ ।
39. मतगणना :- (१) नियम ३८ बमोजिम मतपेटिका जाँच गरेको मुचुल्का गरी सकेपछि मतपेटिकामा लगाएको सुरक्षण सिल तोडी मतपेटिकामा रहेका सबै मतपत्र गणना गर्ने स्थानमा खन्याउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम खन्याइएका मतपत्र मध्ये सदर मतपत्र र बदर मतपत्र   अलग–अलग छुट्याई खसेको मतपत्रको कुल सङ्ख्या उल्लेख गरी मुचुल्का बनाउनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम छुट्याइएका मतपत्रमध्ये सबैभन्दा पहिले बदर मतपत्र र त्यसपछि सदर मतपत्रको गणना गर्नु पर्नेछ ।
(४) निर्वाचन अधिकृत वा निजले खटाएको कर्मचारीले मतगणना गर्दा सदर वा बदर मतपत्र उम्मेदवार, निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधिलाई देखाउनु पर्नेछ ।
तर सो मतपत्र निजहरुलाई छुन वा समाउन दिनु हुँदैन ।
(५) मतगणनाको कार्य सम्पन्न भई सकेपछि निर्वाचन अधिकृतले सङ्घीय संसदका सदस्यले मतदान गरेको मतपत्र र प्रदेश सभाका सदस्यले मतदान गरेको मतपत्रको सङ्ख्या छुट्टिने गरी मतगणना तालिका तयार गर्नु पर्नेछ । यसरी तालिका तयार गरेपछि सङ्घीय संसदका सदस्यले दिएको मत र प्रदेश सभाका सदस्यले दिएको मतलाई ऐनको दफा ५४ बमोजिमको मतभारले गुणन गरी सम्बन्धित उम्मेदवारले पाएको कुल मत कायम गरी सोको मुचुल्का गराई राख्नु  पर्नेछ ।
(६) उपनियम (५) बमोजिम कायम भएको कुल मतमध्ये कुनै उम्मेदवारले प्राप्त गरेको मत ऐनको दफा ५५ को उपदफा (२) बमोजिम  निर्वाचक मण्डलको तत्काल कायम रहेको कुल मतको बहुमत भएमा निर्वाचन अधिकृतले त्यस्तो उम्मेदवारलाई निर्वाचित भएको घोषणा गर्नु पर्नेछ ।
(७) मतगणनाको कार्य सम्पन्न भए पछि निर्वाचन अधिकृतले गणना गरी सकेका मतपत्रमध्ये सदर र बदर मतपत्र छुट्टाछुट्टै खाममा बन्द गरी लाहाछाप लगाई सिलबन्दी गरी राख्नु पर्नेछ । यसरी सिलबन्दी गर्दा उम्मेदवार, निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधिले सहीछाप गर्न चाहेमा निजहरूलाई समेत सहीछाप गर्न दिनु पर्नेछ ।
(८) मतगणनाको कार्य सम्पन्न भएपछि निर्वाचन अधिकृतले सोको मुचुल्का तयार गराई सो मुचुल्कामा आफुले सहीछाप गरी मतगणना स्थलमा उपस्थित उम्मेदवार, निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधिको समेत सहीछाप गराउनु पर्नेछ ।
(९) यस नियम बमोजिम तयार गरिएको मुचुल्का वा मतगणना तालिकामा उम्मेदवार, निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधिले सहीछाप नगरेमा सोही व्यहोरा जनाई मतगणना स्थलमा उपस्थित अन्य दुईजना व्यक्तिको सहीछाप गराउनु पर्नेछ ।
40.  पुनः मतदान गराउने :-  (१) नियम ३९ बमोजिम मतगणना गर्दा कुनै पनि उम्मेदवारले ऐनको दफा ५५ को उपदफा (२) बमोजिम निर्वाचक मण्डलको तत्काल कायम रहेको कुल मतको बहुमत प्राप्त गर्न नसकेमा निर्वाचन अधिकृतले ऐनको दफा ५६ बमोजिम सबैभन्दा बढी मत प्राप्त गर्ने दुई जना उम्मेदवारहरुबीच मतदान हुने गरी अर्को मिति तोकी सोको सूचना आफ्नो कार्यालयमा तुरुन्त प्रकाशन गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम मतदान भई नियम ३९ बमोजिम मतगणना गर्दा कुनै उम्मेदवारले ऐनको दफा ५६ को उपदफा (२) बमोजिम कुल मतको पचास प्रतिशतभन्दा बढी मत प्राप्त गरेमा निर्वाचन अधिकृतले त्यस्तो उम्मेदवारलाई निर्वाचित भएको घोषणा गर्नु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम मतगणना गर्दा कुनै पनि उम्मेदवारले कुल मतको पचास प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेमा निर्वाचन अधिकृतले उपनियम (१) बमोजिमका दुई जना उम्मेदवारहरुबीच पुनः मतदान हुने गरी अर्को मिति तोकी सोको सूचना आफ्नो कार्यालयमा तुरुन्त प्रकाशन गर्नु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम भएको मतदानको मतगणना गर्दा ऐनको दफा ५६ को उपदफा (४) बमोजिम खसेको कुल सदर मतको बढी मत प्राप्त गर्ने उम्मेदवारलाई निर्वाचन अधिकृतले निर्वाचित भएको घोषणा गर्नु पर्नेछ ।
(५) उपनियम (१) वा (३) बमोजिम निर्वाचन अधिकृतले पुनः मतदान हुने गरी अर्को मिति तोक्दा आयोगले सो सम्बन्धमा कुनै निर्देशन दिएको भएमा सो समेतलाई विचार गरी यथाशीघ्र मतदान हुने गरी तोक्नु पर्नेछ ।
41. प्रमाणपत्र दिनु पर्ने :-  आयोगले नियम १९ बमोजिम राष्ट्रपति वा उपराष्ट्रपति पदमा निर्विरोध निर्वाचित भएको जानकारी प्राप्त भएमा अनुसूची–१ बमोजिमको र नियम ३९ वा ४० बमोजिम राष्ट्रपति वा उपराष्ट्रपति पदमा निर्वाचित भएको जानकारी प्राप्त भएमा अनुसूची–२ बमोजिमको प्रमाणपत्र तयार गरी निर्वाचित उम्मेदवारलाई त्यस्तो प्रमाणपत्र दिनेछ ।

परिच्छेद–१० विविध

42. निविदा मतपत्र दिने कार्यविधि :- (१) कुनै मतदाताले आफ्नो नामबाट अरु कसैले मतपत्र लिई सकेको वा मतदान गरी सकेको तर आफू नै वास्तविक मतदाता हो भनी दाबी गर्न चाहेमा निजले मतदान अधिकृत समक्ष आफू सङ्घीय संसद वा प्रदेश सभाको सदस्य पदमा निर्वाचित भएको प्रमाणपत्र संलग्न राखी दाबी गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम दाबी गरिएको अवस्थामा मतदान अधिकृतले दाबीकर्ताको दाबी बमोजिम निज वास्तविक मतदाता हो, होइन भन्ने कुरा यकिन गर्नु पर्नेछ । दाबीकर्ताले आफू सङ्घीय संसदको सदस्य वा प्रदेश सभाको सदस्य पदमा निर्वाचित भएको प्रमाणपत्र प्रस्तुत गरेमा सोको प्रतिलिपि मतदान अधिकृतले लिनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम प्रस्तुत प्रमाणबाट दाबीकर्ता वास्तविक मतदाता हो भन्ने कुरामा मतदान अधिकृत विश्वस्त भएमा मतदान अधिकृतले सो कुरा जनाई अभिलेख राखी निर्णय गर्नु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम निर्णय गरेपछि मतदान अधिकृतले निविदा मतपत्रको लगत तयार गरी सो लगतमा दाबीकर्ताको सहीछाप समेत गराई मतपत्रमा मतदान अधिकृतले सही गर्ने ठाउँको बायाँतिरको खाली ठाउँमा “निविदा मतपत्र” लेखी सो मतपत्र दाबीकर्ता मतदातालाई मतसङ्केत गर्न दिनु पर्नेछ ।
(५) उपनियम (४) बमोजिम दिइएको मतपत्रमा दाबीकर्ता मतदाताले नियम ३१ को उपनियम (१) बमोजिम मतसङ्केत गरी सो मतपत्र मतदान अधिकृतलाई दिनु पर्नेछ ।
(६) उपनियम (५) बमोजिमको मतपत्र मतपेटिका भित्र नखसाली “निविदा मतपत्र” राख्ने छुट्टै खाममा राख्नु पर्नेछ र त्यस्तो खाम मतदान अधिकृतले आफ्नो जिम्मामा राख्नु पर्नेछ ।
(७) मतदान अधिकृतले दाबीकर्ताको विवरण, दाबीकर्ताको प्रमाणको विवरण र निर्णय समेतको छुट्टै अभिलेख राख्नु पर्नेछ ।
43.  प्रतिवेदन पेश गर्नु पर्ने :- (१) निर्वाचन अधिकृतले निर्वाचनको परिणाम प्रकाशन गरी सकेपछि देहाय बमोजिमको विवरण समावेश भएको प्रतिवेदन तयार गरी आयोगसमक्ष पेश गर्नु पर्नेछ :–
(क) मतदाताको सङ्ख्या,
(ख) उम्मेदवारको विवरण,
(ग) खसेको कुल मत,
(घ) सदर र बदर मत,
(ङ) प्रत्येक उम्मेदवारले प्राप्त गरेको मत,
(च) निर्वाचित उम्मेदवारको विवरण,
(छ) निर्वाचनमा खटिएका कर्मचारीको विवरण,
(ज) निर्वाचनमा भएको खर्चको विवरण,
(झ) आयोगले तोकेको अन्य विवरण ।
(२) निर्वाचन अधिकृतले उपनियम (१) बमोजिम प्रतिवेदन तयार गर्दा ऐनको दफा ५६ बमोजिम पुनः मतदान भएकोमा उपनियम (१) को खण्ड (ङ) बमोजिम उम्मेदवारले प्राप्त गरेको मत उल्लेख गर्दा सबै चरणको मतदानको मतगणनामा उम्मेदवारले प्राप्त गरेको मत अलग अलग उल्लेख गर्नु पर्नेछ ।
(३) निर्वाचन अधिकृतले उपनियम (१) बमोजिम प्रतिवेदन तयार गर्दा सङ्घीय संसदका सदस्य र प्रदेश सभाका सदस्य तथा निजहरुले दिएको मतको खण्ड (क), (ग) र (घ) बमोजिमको विवरण अलग–अलग उल्लेख गर्नु पर्नेछ ।
44.  अयोग्यता सम्बन्धी उजूरी :- ऐन तथा यस नियमावली बमोजिम राष्ट्रपति वा उपराष्ट्रपति पदमा निर्वाचित कुनै व्यक्ति सो पदको लागि अयोग्य रहेको भनी त्यस्तो पदमा उम्मेदवारी दिएको कुनै व्यक्तिले निर्वाचन परिणाम घोषणा भएको पैंतीस दिनभित्र आफैले वा वारिस मार्फत अदालतमा उजूरी दिन सक्नेछ ।
45.  निर्वाचन खर्चको विवरण :- निर्वाचनको अवधिमा उम्मेदवारले विभिन्न शीर्षकमा गरेको खर्चको विवरण नेपाल सरकारले स्वीकृत गरेको लेखा प्रणाली बमोजिम राख्नु पर्नेछ ।
46.  निर्वाचन सम्बन्धी कागजात सुरक्षित राख्नु पर्ने :-  यस नियमावली बमोजिम निर्वाचनमा प्रयोग भएका मतपत्र, नियम ३५ र ३६ बमोजिमका कागजात, नियम ४२ बमोजिम खामबन्दी निविदा मतपत्र, मतगणना सम्बन्धी कागजात वा निर्वाचनमा मतदानको लागि प्रयोग भएको विद्युतीय उपकरण आयोगले तोकेको आयोगको अधिकृत कर्मचारीले जिम्मा लिई सुरक्षित राख्नु पर्नेछ ।
47.  मुचुल्काको ढाँचा :- यस नियमावली बमोजिम निर्वाचनको क्रममा तयार गर्नुपर्ने मुचुल्काको ढाँचा आयोगद्वारा स्वीकृत निर्देशिकामा निर्धारण गरिए बमोजिम हुनेछ ।
48.  अनुसुचिमा हेरफर : आयोगले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी अनुसुचीमा आवश्यक हेरफेर गर्न सक्नेछ ।

अनुसुचि १ (नियम ४१ सँग सम्बन्धित) निर्वाचित प्रमाण पत्र

अनुसूची –१
(नियम ४१ सँग सम्बन्धित)

निर्वाचन आयोग
कान्तिपथ, काठमाण्डौं

निर्वाचित प्रमाण–पत्र

मिति …………………… मा निर्वाचित अधिकृतको कार्यालयमा प्रकाशन गरिएको राष्ट्रपति/उपराष्ट्रपति पदको उम्मेदवारको अन्तिम नामावलीमा तपाईँ श्री/श्रीमती/सुश्री ………………………………. को नाम मात्र कायम हुन आई राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ को दफा २४ बमोजिम राष्ट्रपति/उपराष्ट्रपति पदमा ……………… निर्वाचित हुनु भएकोले यो प्रमाणपत्र प्रदान गरिएको छ ।

(……………..)       (……………..)       (……………..)      (……………..)       (……………..)
……………….       ……………….         ………………        ………………..         ……………..
निर्वाचन आयुक्त   निर्वाचन आयुक्त   निर्वाचन आयुक्त    निर्वाचन आयुक्त    प्रमुख निर्वाचन आयुक्त

इति सम्वत् …………. साल ……….. महिना ………… गते रोज …….. शुभम् ………. ।

अनुसूचि २ ( नियम ४१ संग सम्बन्धित ) निर्वाचित प्रमाण पत्र

अनुसूची –२
(नियम ४१ सँग सम्बन्धित)

निर्वाचन आयोग
कान्तिपथ, काठमाण्डौं

निर्वाचित प्रमाण–पत्र

मिति …………………… मा भएको राष्ट्रपति/उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ को दफा ५५ को उपदफा (२)/दफा ५६ को उपदफा (२)/दफा ५६ को उपदफा (४) बमोजिमको मत प्राप्त गरी तपाईँ श्री/श्रीमती/सुश्री ………………………………. राष्ट्रपति/उपराष्ट्रपति पदमा निर्वाचित हुनु भएकोले यो प्रमाणपत्र प्रदान गरिएको छ ।

(……………..)    (……………..)       (……………..)     (……………..)      (……………..)
……………….     ……………….       ………………       ………………..       ……………..
निर्वाचन आयुक्त   निर्वाचन आयुक्त निर्वाचन आयुक्त  निर्वाचन आयुक्त   प्रमुख निर्वाचन आयुक्त

इति सम्वत् …………. साल ……….. महिना ………… गते रोज …….. शुभम् ………. ।