Skip to contentSkip to left sidebar Skip to footer

फोहरमैला व्यवस्थापन नियमावली, २०७०

फोहरमैला व्यवस्थापन नियमावली, २०७०

 नेपाल राजपत्रमा प्रकाशित मिति

              २०७०/३/१०

 

फोहरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ५० ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरु बनाएकोछ ।

२.   परिभाषा

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–

(क) “उत्पादन स्रोत” भन्नाले फोहरमैला निस्कने, उब्जने वा फोहरमैला निस्कन शुरु हुने ठाउँ सम्झनु पर्छ ।

(ख) “ऐन” भन्नाले फोहरमैला व्यवस्थापन ऐन, २०६८ सम्झनु पर्छ ।

(ग) “जैविक” भन्नाले छिट्टै कुहिने वा सड्ने गल्ने पदार्थ सम्झनु पर्छ र सो शब्दले जैविक चिजबस्तु प्रयोग गरी बनाइएका कागज, काठ समेतलाई जनाउँनेछ ।

(घ) “अजैविक” भन्नाले छिट्टै सडीगली नजाने वा छिट्टै नकुहिने पदार्थ सम्झनु पर्छ ।

३.  फोहरमैला पृथकीकरण तथा व्यवस्थापन

(१) स्थानीय निकायले ऐनको दफा ६ बमोजिम कम्तीमा जैविक र अजैविक लगायतका फोहरमैलालाई स्रोतमै छुट्याउने गरी तोक्दा हानिकारक वा रासायनिक फोहरमैलालाई छुट्टाछुट्टै पृथकीकरण तथा व्यवस्थापन गर्ने गरी तोक्नु पर्नेछ । यसरी तोकिएकोमा फोहरमैला उत्पादन गर्ने व्यक्ति, संस्था वा निकायले सोही बमोजिम पृथकीकरण गर्नु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम पृथकीकरण गरिएको रासायनिक वा हानिकारक फोहरमैला व्यवस्थापन गर्ने दायित्व सम्बन्धित उत्पादकको हुनेछ ।

(३) स्थानीय निकायले उपनियम (१) बमोजिम फोहरमैला स्रोतमै छुट्याउने, फोहरमैलाको उत्पादन स्रोतमै कम गर्ने र व्यवस्थापनको उपयुक्त प्रविधि अवलम्बन गर्ने सम्बन्धमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नेछ ।

५.   हानिकारक वा रासायनिक फोहरमैला निष्काशन तथा व्यवस्थापन

(१) हानिकारक, रासायनिक, जैविक वा अजैविक फोहरमैला अन्य फोहरमैलासँग मिसाई निष्काशन गर्न हुँदैन ।

(२) हानिकारक, रासायनिक, जैविक वा अजैविक फोहरमैला प्रशोधन गरी सामान्य फोहरमैला सरह भएपछि मात्र त्यसको अन्तिम निष्काशनको व्यवस्था गर्नु पर्नेछ ।

(३) हानिकारक, रासायनिक, जैविक वा अजैविक फोहरमैला व्यवस्थापन गर्ने दायित्व भएका व्यक्ति, संस्था वा निकायले त्यस्तो फोहरमैला उत्पादन, प्रशोधन, निष्काशन तथा व्यवस्थापन गर्न स्थानीय निकायबाट स्वीकृति लिनु पर्नेछ । यसरी स्वीकृति लिएपछि फोहरमैला व्यवस्थापन गर्दा अपनाइने तरिका, मापदण्ड, विधि, प्रविधि र व्यवस्थापन स्थलको सम्बन्धमा स्थानीय निकायलाई जानकारी गराई सोको अभिलेख राख्नु पर्नेछ ।

(४) स्थानीय निकायले उपनियम (३) बमोजिमको स्वीकृति दिंदा स्वीकृतिको लागि पेश गरिएको विधि र प्रविधि नेपाल सरकारले तोकेको मापदण्ड अनुकूल भए नभएको एकिन गरी स्वीकृति दिनु पर्नेछ ।

(५) स्थानीय निकायले उपनियम (३) बमोजिम स्वीकृति लिने व्यक्ति, संस्था वा निकायले हानिकारक, रासायनिक, जैविक वा अजैविक फोहरमैला व्यवस्थापन गर्न लिएको स्वीकृति बमोजिमको तरिका, मापदण्ड, विधि, प्रविधि र व्यवस्थापन स्थल अनुसार व्यवस्थापन गरे नगरेको अनुगमन गर्नेछ ।

(६) प्रशोधन पश्चातको हानिकारक, रासायनिक, जैविक वा अजैविक फोहरमैला स्थानीय निकाय मार्फत व्यवस्थापन गर्नु पर्ने भएमा फोहरमैला व्यवस्थापनको दायित्व भएको व्यक्ति, संस्था वा निकायले स्थानीय निकायलाई अनुरोध गर्न सक्नेछ र त्यसरी अनुरोध भै आएमा स्थानीय निकायले सेवा शुल्क लिई उक्त फोहरमैला व्यवस्थापन गर्न सक्नेछ ।

(७) हानिकारक, रासायनिक, जैविक वा अजैविक फोहरमैलाको संकलन, भण्डारण तथा स्थानान्तरण गर्दा सुरक्षित विधि अवलम्बन गर्नु पर्नेछ ।

(८) हानिकारक, रासायनिक, जैविक वा अजैविक फोहरमैला प्रशोधन गर्दा त्यस्तो फोहरमा रहेका हानिकारक तत्व नष्ट हुने गरी गर्नु पर्नेछ र सामान्य फोहरमैला सरह भएपछि मात्र त्यसको अन्तिम निष्काशन तथा विसर्जनको व्यवस्था गर्नु पर्नेछ ।

(९) हानिकारक, रासायनिक, जैविक वा अजैविक फोहरमैला उत्पादन गर्ने व्यक्ति, संस्था वा निकायले त्यस्तो फोहरमैला व्यवस्थापन सम्बन्धमा नेपाल सरकारले निर्धारण गरेको मापदण्ड र प्रचलित वातावरणीय कानूनको पूर्णरुपमा पालना गर्नु पर्नेछ ।

६.  स्वास्थ्य संस्थाजन्य फोहरमैलाको निष्काशन तथा व्यवस्थापन

(१) स्वास्थ्य संस्थाले आफूले उत्पादन तथा निष्काशन गरेको स्वास्थ्य संस्थाजन्य फोहरमैलालाई स्रोतमै पृथकीकरण गरी प्रशोधन तथा व्यवस्थापन गर्नु पर्नेछ ।

(२) स्वास्थ्य संस्थाजन्य हानिकारक फोहरमैलाको निर्मलीकरण, प्रशोधन र व्यवस्थापन गर्दा अपनाइने विधि, प्रविधि र व्यवस्थापन स्थलको सम्बन्धमा स्थानीय निकायबाट स्वीकृति लिनु पर्नेछ । स्थानीय निकायले यसरी स्वीकृति दिंदा स्वीकृतिको लागि पेश गरिएको विधि, प्रविधि र व्यवस्थापन स्थल नेपाल सरकारले तोकेको मापदण्ड अनुकूल भए नभएको एकिन गरी स्वीकृति दिनु पर्नेछ ।

(३) उपनियम (२) बमोजिम स्वीकृति प्राप्त स्वास्थ्य संस्थाले स्वास्थ्य संस्थाजन्य फोहरमैलाको प्रशोधन, निर्मलीकरण एवं व्यवस्थापन सम्बन्धी कार्य आफैंले गर्नु पर्नेछ ।

(४) उपनियम (३) बमोजिम प्रशोधन, निर्मलीकरण एवं व्यवस्थापन सम्बन्धी कार्य आफैंले गर्न नसक्ने भएमा स्वास्थ्य संस्थाले प्रशोधन, निर्मलीकरण एवं व्यवस्थापन गर्नको लागि सम्बन्धित स्थानीय निकायलाई अनुरोध गर्न सक्नेछ । यसरी अनुरोध गरेमा सोको प्रशोधन, निर्मलीकरण एवं व्यवस्थापन स्थानीय निकायले आफैंले वा आफ्नो समन्वयमा गर्न सक्नेछ ।

(५) स्वास्थ्य संस्थाबाट उत्पादन तथा निष्काशन हुने सामान्य प्रकृतिका फोहरमैला तथा स्वास्थ्य संस्थाजन्य हानिकारक फोहरमैलालाई प्रशोधन तथा निर्मलीकरण गरे पश्चात् उक्त फोहरमैला समेतलाई स्थानीय निकायले सम्बन्धित स्वास्थ्य संस्थासँग सेवा शुल्क लिई विसर्जन गर्ने व्यवस्था मिलाउन सक्नेछ ।

(६) स्वास्थ्य संस्थाजन्य संक्रमित फोहर पूर्णरुपमा निर्मलीकरण भए नभएको सम्बन्धमा मान्यता प्राप्त प्रयोगशालाबाट जाँच गराई प्रमाणित गराउनु पर्नेछ ।

(७) स्वास्थ्य संस्थाजन्य हानिकारक फोहरमैला उत्पादन गर्ने स्वास्थ्य संस्थाले त्यस्तो फोहरमैला व्यवस्थापन सम्बन्धमा प्रचलित वातावरणीय कानून र मापदण्डको पूर्णरुपमा पालना गर्नु पर्नेछ ।

(८) उपनियम (३) बमोजिम स्वीकृति लिई स्वास्थ्य संस्थाजन्य फोहरमैला व्यवस्थापन गर्ने स्वास्थ्य संस्थाले स्वीकृत विधि, प्रविधि र स्थलको प्रयोग गरी व्यवस्थापन गरे नगरेको अनुगमन स्थानीय निकायले गर्नेछ ।

७.   फोहरमैला ढुवानी सम्बन्धमा

स्थानीय निकायले फोहरमैला ढुवानी गर्दा देहाय बमोजिमका व्यवस्था भएका ढुवानी साधन प्रयोग गर्ने गरी व्यवस्था गर्नु पर्नेछः–

(क) फोहर नदेखिने, नझर्ने तथा झोल पदार्थ नचुहिने,

(ख) फोहरमैलाबाट गन्ध र लिचेट बाहिर ननिस्कने,

(ग) फोहरमैला सजिलैसँग राख्न र निकाल्न सकिने,

(घ) सडकको क्षमता तथा अवस्थाको अनुकूल हुने ।

८.   फोहरमैला व्यवस्थापन स्थलको सञ्चालन

(१) स्थानीय निकायले फोहरमैला व्यवस्थापन स्थलको सञ्चालन गर्दा देहायका कुराहरु अवलम्बन गर्ने गरी गर्नु पर्नेछः–

(क) फोहरमैला व्यवस्थापन स्थलको सञ्चालन गर्दा निस्कने लिचेट, ग्यास र दुर्गन्ध लगायतका कारणबाट त्यस क्षेत्रको वातावरणमा पर्न सक्ने नकारात्मक प्रभाव  न्यूनिकरणका उपायहरु,

(ख) फोहरमैला व्यवस्थापन स्थलको भौगोलिक अवस्थामा आउन सक्ने परिवर्तन र त्यसको व्यवस्थापनका उपायहरु,

(ग) फोहरमैला व्यवस्थापन स्थल वरिपरिको जनजीवनमा पर्न सक्ने आर्थिक, सामाजिक, भौतिक तथा जैविक प्रभाव र त्यसको व्यवस्थापनका उपायहरु,

(घ) फोहरमैला व्यवस्थापन स्थल सञ्चालनबाट उत्पन्न हुने अवसर त्यसको सदुपयोग सम्बन्धी व्यवस्था,

(ङ) फोहरमैला व्यवस्थापन स्थल सञ्चालनका समयमा सो स्थानमा आवतजावत बन्द गर्नु पर्ने र सो सम्बन्धमा अपनाउनु पर्ने सचेतना सम्बन्धी विषय ।

  (२) फोहरमैला व्यवस्थापन स्थलको सञ्चालन सम्बन्धी अन्य व्यवस्था स्थानीय निकायले सोको सम्बन्धमा तोकेको मापदण्ड तथा निर्देशिकामा उल्लेख गरिए बमोजिम हुनेछ ।

९.  फोहरमैला व्यवस्थापन स्थल बन्द पश्चातको व्यवस्थापन

(१) फोहरमैला व्यवस्थापन स्थल बन्द गरे पश्चातको व्यवस्थापन देहाय बमोजिम गर्नु पर्नेछः–

(क)   फोहरमैला व्यवस्थापन स्थलमा फोहर विसर्जन गर्ने कार्य बन्द भए पश्चात् सो स्थलबाट निस्कने लिचेट, ग्यास, दुर्गन्ध लगायतले उक्त क्षेत्रको वातावरणमा पर्न सक्ने नकारात्मक प्रभाव र त्यसको न्यूनीकरणका उपायहरु अवलम्बन गर्ने,

(ख)   फोहरमैला व्यवस्थापन स्थल बन्द पश्चात् निस्कने ग्यासको उपयोग तथा व्यवस्थापन सम्बन्धी उपायहरु अवलम्बन गर्ने,

(ग) फोहरमैला व्यवस्थापन स्थल बन्द पश्चात् सो क्षेत्रको पुनःप्रयोगको सम्भावना, पुनःप्रयोग गर्दा अवलम्बन गर्नु पर्ने विधि तथा उपायहरु अवलम्बन गर्ने,

(घ) फोहरमैला व्यवस्थापन स्थल बन्द पश्चात् सो स्थल वरिपरिको प्रभावित क्षेत्रको व्यवस्थापनका उपायहरु अवलम्बन गर्ने,

(ङ) फोहरमैला व्यवस्थापन स्थल बन्द पश्चात् निश्चित समयसम्म सो स्थलमा आवतजावत बन्द गर्नु पर्ने र अपनाउनु पर्ने सचेतना सम्बन्धी विषयहरु अवलम्बन गर्ने,

(च)    प्रारम्भिक वातावरणीय परीक्षण तथा वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनका सुझावहरुको अवलम्बन गर्ने ।

  (२) फोहरमैला व्यवस्थापन स्थलको बन्द पश्चातको व्यवस्थापन सम्बन्धी अन्य व्यवस्था स्थानीय निकायले सोको सम्बन्धमा तोकेको मापदण्ड तथा निर्देशिकामा उल्लेख गरिए बमोजिम हुनेछ ।

१०. अनुमतिपत्रका लागि निवेदन दिने

(१) फोहरमैला व्यवस्थापन गर्न चाहने कम्पनी, संस्था वा निकायले अनुसूची–१ बमोजिमको ढाँचामा आवश्यक कागजात तथा स्थानीय निकायले तोकेको दस्तुर संलग्न गरी ऐनको दफा १३ को उपदफा (२) मा उल्लिखित विवरणका अतिरिक्त देहायका विवरण खुलाई सम्बन्धित स्थानीय निकायमा अनुमतिपत्रका लागि निवेदन दिनु पर्नेछः–

(क)   फोहरमैला व्यवस्थापन गर्न आवश्यक पर्ने आर्थिक स्रोत, जनशक्ति, फोहरमैला संकलन तथा ढुवानी साधन, कार्य अनुभवको विवरण,

(ख)   फोहरमैला व्यवस्थापन गर्न चाहेको कार्यक्षेत्र,

(ग) फोहरमैला संकलन, स्थानान्तरण, प्रशोधन र अन्तिम विसर्जन गर्न आवश्यक पर्ने जग्गाको व्यवस्था,

(घ) फोहरमैला व्यवस्थापन गर्ने विधि र तरिका,

(ङ) सामाजिक दायित्व पूरा गर्ने सम्बन्धमा प्रस्तावित व्यवस्था,

(च)    फोहरमैला व्यवस्थापन गर्न चाहेको समय र अवधि,

(छ)   फोहरमैला व्यवस्थापनबाट वातावरणमा पर्न सक्ने प्रभाव न्यूनिकरणका उपायहरु,

(ज)   फोहरमैला उत्पादकले बहन गर्नु पर्ने दायित्व र तिर्नु पर्ने शुल्क,

(झ)   निवेदकले स्थानीय निकायलाई बुझाउन प्रस्ताव गरेको रकम ।

  (२) उपनियम (१) बमोजिम निवेदन दिंदा फोहरमैला व्यवस्थापन व्यावसायिक रुपमा गर्ने हो वा नाफा कमाउने उद्देश्य नराखी सामुदायिक वा सामाजिक रुपमा गर्ने हो सो कुरा स्पष्ट खुलाउनु पर्नेछ ।

११. अनुमति पत्र दिन सक्ने

(१) नियम १० बमोजिमको निवेदनसाथ प्राप्त हुन आएको कागजात तथा विवरण उपर स्थानीय निकायले आवश्यक छानविन गर्नेछ ।

(२) उपनियम (१) बमोजिम प्राप्त कागजात तथा विवरण उपर छानविन गर्दा आवश्यक कागजात तथा विवरण पेश नगरेको पाइएमा त्यस्तो कागजात तथा विवरण  पेश गर्न सम्बन्धित निवेदकलाई पन्ध्र दिनको म्याद तोकी निवेदन परेको मितिले सात दिनभित्र सूचना दिनु पर्नेछ ।

(३) उपनियम (२) बमोजिम कुनै कागजात तथा विवरण पेश गर्न स्थानीय निकायले म्याद तोकी सूचना दिएकोमा त्यस्तो कागजात प्राप्त भएपछि स्थानीय निकायले आवश्यक छानविन गरी स्वीकृति प्रदान गर्न उपयुक्त देखिएमा स्थानीय निकायले निर्धारण गरेको शुल्क लिई अनुसूची–२ बमोजिमको ढाँचामा तीस दिनभित्र निवेदकलाई अनुमतिपत्र दिनु पर्नेछ ।

(४) निवेदकलाई अनुमतिपत्र दिन उपयुक्त नहुने देखिएमा कारणसहित सात दिनभित्र सो को जानकारी दिनु पर्नेछ ।

(५) स्थानीय निकायले अनुमतिपत्र दिँदा व्यावसायिक र गैर व्यावसायिक रुपमा फोहरमैला व्यवस्थापन गर्न छुट्टाछुट्टै अनुमतिपत्रको व्यवस्था गर्न सक्नेछ ।

(६) अनुमतिपत्रको अवधि पाँच वर्षको हुनेछ ।

१२. अनुमतिपत्र रद्द गर्न सक्ने

स्थानीय निकायले नियम ११ बमोजिम दिएको अनुमतिपत्र देहायको अवस्थामा रद्द गर्न सक्नेछः–

(क) अनुमतिपत्रमा उल्लिखित शर्त उल्लंघन गरेमा,

(ख) तोकिएको मापदण्ड बमोजिम फोहरमैला व्यवस्थापन नगरेमा,

(ग) प्रचलित वातावरणीय कानूनको उल्लंघन गरेमा,

(घ) नविकरण नगरेमा ।

१३. अनुमतिपत्रको नविकरण सम्बन्धी व्यवस्था

(१) नियम ११ बमोजिम अनुमतिपत्र प्राप्त कम्पनी, संस्था वा निकायले अनुमतिपत्रको अवधि समाप्त हुनु भन्दा छ महिना अगावै स्थानीय निकायले तोके बमोजिमको दस्तुर संलग्न गरी अनुसूची–३ बमोजिमको ढाँचामा अनुमतिपत्र नविकरणका लागि सम्बन्धित स्थानीय निकायमा निवेदन दिनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम पेश हुन आएको निवेदन सम्बन्धमा स्थानीय निकायले म्याद सकिनु भन्दा तीन महिना अगावै निर्णय गरिसक्नु पर्नेछ ।

(३) उपनियम (१) बमोजिम पर्न आएको निवेदन उपर छानविन गरी स्थानीय निकायले अनुमतिपत्रको नविकरण गर्न सक्नेछ ।

(४) उपनियम (१) बमोजिमको अवधिभित्र अनुमतिपत्र नविकरण नगराएमा वा अनुमतिपत्र नविकरण नहुने भएमा सो अनुमतिपत्र म्याद सकिएको मितिबाट रद्द भएको मानिनेछ । अनुमतिपत्र नविकरण नहुने अवस्थामा स्थानीय निकायले म्याद सकिनुभन्दा तीन महिना अगावै फोहरमैला व्यवस्थापनको लागि अनुमतिपत्र सम्बन्धी आवश्यक कारवाही अगाडि बढाउनु पर्नेछ ।

१४. फोहरमैला व्यवस्थापन कार्यमा गैर सरकारी संस्थाको संलग्नता

(१) ऐनको दफा १५ को उपदफा (५) को प्रयोजनको लागि स्थानीय निकायले फोहरमैला स्रोतमै छुट्याउने, स्रोतमै न्यूनिकरण गर्ने, फोहरमैलाको पुनःप्रयोग तथा पुनःचक्रीय प्रयोग सम्बन्धमा फोहरमैला उत्पादन गर्ने कम्पनी, संस्था तथा निकायलाई सशक्तिकरण गर्न र फोहरमैला व्यवस्थापन सम्बन्धी जनचेतना अभिबृद्धि गराउने कार्यमा सामुदायिक एवं गैर सरकारी संस्थालाई परिचालन गर्न सक्नेछ ।

(२) उपनियम (१) बमोजिमको कार्यका लागि स्थानीय निकायले फोहरमैला व्यवस्थापनको क्षेत्रमा कार्य गर्ने सामुदायिक एवं गैर सरकारी संस्थाको सूची तयार गर्नु पर्नेछ ।

(३) उपनियम (१) बमोजिमको कार्यका लागि सामुदायिक एवं गैर सरकारी संस्थाको सूची तयार गरी परिचालन गर्ने सम्बन्धी प्रकृया प्रचलित कानून बमोजिम हुनेछ ।

१५. मापदण्डको पालना

(१) फोहरमैला व्यवस्थापन स्थल वा प्रशोधन स्थल सञ्चालन गर्न स्थानीय निकायबाट स्वीकृति प्राप्त गरेको निजी क्षेत्रले स्थानीय निकायले तोकेको मापदण्ड तथा स्वीकृति दिंदाका शर्तहरुको अधिनमा रही कार्य गर्नु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम स्वीकृति प्राप्त निजी क्षेत्रले स्थानीय निकायले तोकेको मापदण्ड तथा निर्देशिकाको पालना नगरेमा स्थानीय निकायले देहाय बमोजिमको प्रकृया पुरा गरी स्वीकृति रद्द गर्न सक्नेछः–

(क)   स्थानीय निकायले स्वीकृति प्राप्त निजी क्षेत्रको फोहरमैला व्यवस्थापन सम्बन्धी कार्यको अनुगमन गर्दा स्थानीय निकायले तोकेको मापदण्ड र निर्देशिकाको पालना नगरेको पाइएमा त्यस्तो निजी क्षेत्रलाई पहिलो पटकको लागि नब्बे दिनसम्मको म्याद दिई सुधार गर्न निर्देशन दिने,

(ख)   निजी क्षेत्रले खण्ड (क) बमोजिमको निर्देशन बमोजिम आंशिक सुधार गरी समय नपुग भएको भनी स्थानीय निकायसंग समय थप्न माग गरेमा स्थानीय निकायले बढीमा साठी दिनसम्मको समय थप गर्न सक्ने,

(ग) खण्ड (क) बमोजिमको अवधिभित्र स्थानीय निकायले दिएको निर्देशन बमोजिम सम्बन्धित निजी क्षेत्रले सुधार नगरेमा त्यस्तो निजी क्षेत्रले पाएको स्वीकृति रद्द गर्न सक्ने,

(घ) स्थानीय निकायले खण्ड (ग) बमोजिम स्वीकृति रद्द गरेको जानकारी सम्बन्धित निजी क्षेत्र र सरोकारवाला समेतलाई दिने ।

  (३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि फोहरमैला व्यवस्थापन स्थल, प्रशोधन स्थल वा अन्य संयन्त्र सञ्चालन सम्बन्धी स्वीकृति रद्द भएको कारणले स्वीकृति प्राप्त निजी क्षेत्रले सो स्वीकृति बमोजिम काम नगरेको कारणले कसैलाई हानी नोक्सानी भएको पाइएमा त्यस्तो हानी नोक्सानी स्वीकृति प्राप्त निजी क्षेत्रले व्यहोर्नु पर्नेछ र त्यस्तो निजी क्षेत्रले स्थानीय निकायलाई बुझाउनु पर्ने कुनै रकम बाँकी रहेको भए सो समेत स्थानीय निकायले असूल उपर गर्नेछ ।

१६.  सेवा शुल्क निर्धारण

(१) स्थानीय निकायले फोहरमैला व्यवस्थापन सम्बन्धी सेवा शुल्क निर्धारण गर्दा ऐनको दफा १८ को उपदफा (२) मा उल्लिखित कुराहरुको अतिरिक्त देहायको आधारमा गर्नु पर्नेछः–

(क) फोहरमैला उत्पादकले उत्पादन स्रोतमा नै फोहरमैला व्यवस्थापन गर्न अवलम्बन गरेका प्रविधि, विधि र प्रक्रिया,

(ख) फोहरमैला उत्पादकले निष्काशन गर्ने फोहरको आकार, प्रकार र किसिम,

(ग) निष्काशित फोहरबाट वातावरणमा पर्ने प्रभाव,

(घ) फोहरमैला व्यवस्थापनमा लाग्ने अनुमानित खर्च ।

(२) स्थानीय निकायले निजी क्षेत्र, सामुदायिक एवं गैर सरकारी संघ, संस्थासँगको साझेदारीमा फोहरमैला व्यवस्थापन सम्बन्धी कार्य गरेकोमा त्यस्तो निजी क्षेत्र, सामुदायिक एवं गैर सरकारी संघ, संस्थाले उठाउन पाउने सेवा शुल्क उपनियम (१) बमोजिमका आधारमा निर्धारण गर्नु पर्नेछ ।

१७.  सेवा शुल्क छुट दिन सकिने

(१) स्थानीय निकायले निर्धारण गरेको सेवा शुल्क तिर्न बुझाउन नसक्ने विपन्न वर्गको हकमा फोहर उत्पादकको आर्थिक अवस्थालाई विचार गरी पचास प्रतिशतसम्म छुट दिन सक्नेछ ।

(२) स्थानीय निकायले प्रत्येक वर्ष विपन्न वर्गको पहिचान गरी सो वर्गको सूची सार्वजनिक गर्नु पर्नेछ । निजी क्षेत्र, सामुदायिक एवं गैर सरकारी संघ, संस्था मार्फत फोहरमैला व्यवस्थापन गर्दा सम्झौता गर्नु पूर्व नै विपन्न वर्ग तोक्नु पर्नेछ ।

(३) फोहरमैला व्यवस्थापन गर्ने सम्बन्धमा स्रोतमा नै न्यूनिकरण गर्ने कार्यमा संलग्न घरधुरीलाई सम्बन्धित स्थानीय निकायले निर्धारण गरेको सेवा शुल्क छुट दिन सक्नेछ ।

स्पष्टीकरणः यस नियमको प्रयोजनको लागि “विपन्न वर्ग”  भन्नाले स्थानीय निकायबाट निर्धारित सेवा शुल्क पूर्ण रुपमा तिर्न नसक्ने भनी नगरपालिकाको हकमा सम्बन्धित वडा कार्यालय र अन्य क्षेत्रको हकमा सम्बन्धित गाउँ विकास समितिले सिफारिश गरेको व्यक्ति सम्झनु पर्छ ।

१८.  फोहरमैला व्यवस्थापन स्थल प्रभावित क्षेत्रमा समिति गठन गर्न सक्ने

(१) ऐनको दफा २२ को उपदफा (६) को प्रयोजनका लागि स्थानीय निकायले देहाय बमोजिमका सदस्यहरु रहेको फोहरमैला व्यवस्थापनका सम्बन्धमा सुझाव दिन देहाय बमोजिमको समिति गठन गर्न सक्नेछः–

(क)   फोहरमैला व्यवस्थापनस्थल रहेको सम्बन्धित

गाउँ विकास समितिको अध्यक्ष                     – संयोजक

(ख)   फोहरमैला व्यवस्थापन स्थलमा पर्ने

वडाका  वडाध्यक्षहरु                                 – सदस्य

(ग)    फोहरमैला व्यवस्थापन स्थल तथा सो स्थलको

प्रभावित क्षेत्रका गाउँ विकास समितिका

प्रतिनिधिहरु तीन जना                             – सदस्य

(घ)    फोहरमैला व्यवस्थापन स्थल प्रभावित क्षेत्रमा

रहेको स्वास्थ्य संस्थाको प्रमुख                     – सदस्य

(ङ)    प्रभावित क्षेत्रमा रहेको सामाजिक संघ संस्थाहरु

मध्येबाट स्थानीय निकायले मनोनित गरेको

कम्तीमा एक जना महिला सहित दुई जना            – सदस्य

(च)     फोहरमैला व्यवस्थापन तथा वातावरणको क्षेत्रमा

अनुभव प्राप्त व्यक्ति                                           – सदस्य

(छ)   स्थानीय निकायले तोकेको स्थानीय

निकायको कर्मचारी                                  – सदस्य–सचिव

(२) फोहरमैला व्यवस्थापन स्थल एकभन्दा बढी गाउँ विकास समितिमा पर्ने भएमा त्यस्ता सबै गाउँ विकास समितिका अध्यक्षहरु सदस्य हुनेछन् र निजहरु गाँउ विकास समितिको वर्णानुक्रम अनुसार प्रत्येक दुई वर्षमा पालैपालो संयोजक हुनेछन् ।

(३) उपनियम (१) बमोजिमको समितिले आफ्नो काम कारवाही सम्बन्धी कार्यविधि आफैं निर्धारण गर्नेछ ।

१९. परिषद्को काम, कर्तव्य र अधिकार

ऐनको दफा २४ मा उल्लेख भएका काम कर्तव्य र अधिकारको अतिरिक्त परिषद्को काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–

(क) फोहरमैला व्यवस्थापन गर्ने सम्बन्धी नीतिगत विषयमा निर्णय गर्ने,

(ख) फोहरमैला व्यवस्थापनसंग सम्बन्धित निकायहरु बीच समन्वय गर्न आवश्यक संयन्त्र तथा संरचना निर्माण गर्ने,

(ग)    फोहरमैला

२०. केन्द्रको काम, कर्तव्य र अधिकार

ऐनको दफा २८ मा उल्लेख भएका काम, कर्तव्य र अधिकारको अतिरिक्त केन्द्रको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–

(क)   फोहरमैला व्यवस्थापन सम्बन्धी प्रविधिको उपयुक्तता सम्बन्धमा अध्ययन गरी स्थानीय निकायलाई सिफारिश गर्ने,

(ख) फोहरमैला व्यवस्थापनमा निजी क्षेत्रलाई सहभागी गराउने,

(ग) फोहरमैला व्यवस्थापनमा निजी क्षेत्रले आयात गर्ने प्रविधि र उपकरणको उपयुक्तताको सम्बन्धमा स्थानीय निकायलाई सिफारिश गर्ने,

(घ)   फोहरमैला व्यवस्थापन सम्बन्धी कार्य गर्न स्थानीय निकायसँग परामर्श गरी आवश्यक निर्देशिका तथा मापदण्ड तयार गर्ने,

(ङ) फोहरमैला व्यवस्थापन सम्बन्धमा स्थानीय निकायलाई प्राविधिक सहयोग उपलब्ध गराउने,

(च) फोहरमैला अत्यधिक उत्पादन हुने बस्तुको आयातमा कमी गर्न तथा त्यस्तो बस्तुको आयातमा रोक लगाउन नेपाल सरकार र स्थानीय निकायलाई सिफारिश गर्ने,

(छ) फोहरमैला व्यवस्थापनमा प्रभावकारिता ल्याउन स्थानीय निकायलाई सुझाव दिने,

(ज)   फोहरमैला व्यवस्थापन कार्यमा स्थानीय निकाय र निजी क्षेत्रलाई परिचालन गरी चेतनामूलक कार्यक्रम तथा तालिम सञ्चालन गर्ने, गराउने,

(झ)   स्थानीय निकायहरुका बीच उत्पन्न हुने फोहरमैला व्यवस्थापन सम्बन्धी विवादमा  मध्यस्थता गरी समाधान गर्ने,

(ञ)   स्थानीय निकायहरु बीच फोहरमैला प्रशोधन तथा व्यवस्थापन स्थलको निर्माण, सञ्चालन र व्यवस्थापन सम्बन्धी कार्य गर्ने सम्बन्धमा समिति गठन गर्दा समन्वय गर्ने,

(ट) फोहरमैला व्यवस्थापन सम्बन्धी सम्पर्क निकायको रुपमा कार्य गर्ने,

(ठ) स्थानीय निकायहरुको फोहरमैला व्यवस्थापनको अवस्थाको अनुगमन गर्ने,

(ड) फोहरमैला व्यवस्थापनका सम्बन्धमा सुधारका उपायहरु अवलम्बन गर्ने ।

२१. समितिको काम, कर्तव्य र अधिकार

ऐनको दफा ३० मा उल्लेख भएका काम, कर्तव्य र अधिकारको अतिरिक्त समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–

(क) केन्द्रले पेश गरेको बार्षिक प्रतिवेदन स्वीकृत गर्ने,

(ख) केन्द्रलाई फोहरमैला व्यवस्थापन प्रविधिको आयात सम्बन्धमा आवश्यक निर्देशन दिने,

(ग) केन्द्रबाट तयार गरिएका निर्देशिका तथा मापदण्ड स्वीकृत गर्ने,

(घ) आवश्यकतानुसार अन्य कार्यहरु गर्ने ।

२२.   कार्यकारी निर्देशकको पारिश्रमिक, सुविधा र सेवा शर्त सम्बन्धी व्यवस्था

कार्यकारी निर्देशकको पारिश्रमिक, सुविधा तथा सेवाका शर्तहरु अनुसूची–४ मा उल्लेख भएबमोजिम हुनेछ ।

२३. आन्तरिक लेखापरीक्षण

(१) केन्द्रले आफ्नो आम्दानी खर्चको हिसाब किताब नियमित रुपमा मान्यता प्राप्त लेखा परीक्षकबाट आन्तरिक लेखापरीक्षण गराई अद्यावधिक गराई राख्नु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम आन्तरिक लेखापरीक्षण गर्दा देहायका कुराहरुमा विशेष ध्यान दिनु पर्नेछः–

(क) केन्द्रले स्वीकृत गरेको योजना तथा कार्यक्रममा खर्च गरे नगरेको,

(ख)  आर्थिक विनियमावलीको पालना गरे नगरेको,

(ग)  सम्पत्तिको संरक्षण गरे नगरेको,

(घ)  स्वीकृत बजेट अनुसार कार्य सम्पादन गरे नगरेको,

(ङ)  केन्द्र समक्ष मासिक प्रतिवेदन पेश गरे नगरेको ।

  (३) मन्त्रालयले चाहेमा समितिको आय–व्ययको लेखा, नगदी, जिन्सी वा अन्य कागजात जुनसुकै बखत जाँच्न वा जाँच्न लगाउन सक्नेछ ।

(४) आन्तरिक लेखापरीक्षण गर्दा अपनाइने कार्यविधि समितिले निर्धारण गरे बमोजिम हुनेछ ।

२४. निर्देशन दिन सक्ने

(१) नेपाल सरकारले स्थानीय निकायलाई फोहरमैला व्यवस्थापन गर्ने सम्बन्धमा आवश्यक निर्देशन दिन सक्नेछ ।

(२) स्थानीय निकायले फोहरमैला व्यवस्थापन गर्ने सम्बन्धमा फोहरमैला उत्पादन गर्ने व्यक्ति, संस्था वा निकायलाई देहायको विषयमा निर्देशन दिन सक्नेछः–

 (क)   फोहरमैला स्रोतमै घटाउने उपायहरु तथा प्रविधिको अवलम्बन गर्न,

(ख) फोहरमैलाको न्यूनिकरणका लागि फोहरको पुनःप्रयोग तथा पुनःचक्रीय प्रयोग सम्बन्धी स्थानीय निकायले तोकेको विधि तथा प्रक्रिया अवलम्बन गर्न,

(ग) फोहरमैलालाई स्रोतमै छुट्याउन, छुट्याइएको फोहरमैला तोकिएको स्थान, समय र  तरिका बमोजिम निष्काशन गर्न,

(घ) तोकिएको सेवा शुल्क तोकिएको समयमा बुझाउन,

(ङ) फोहरमैला व्यवस्थापनसँग सम्बन्धित अन्य आवश्यक कार्य गर्न ।

 (३) उपनियम (१) बमोजिम नेपाल सरकारले दिएको निर्देशनको पालना गर्नु सम्बन्धित स्थानीय निकाय र फोहरमैला उत्पादन गर्ने व्यक्ति, संस्था वा निकायको कर्तव्य हुनेछ ।

२५.  अनुगमन सम्बन्धी व्यवस्था

(१) फोहरमैलाको पृथकीकरण, प्रशोधन, निष्काशन तथा अन्तिम विसर्जनको सम्बन्धमा अनुगमन गर्न केन्द्रयस्तरमा देहाय बमोजिमको समिति रहनेछः–

(क) सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको

सम्बन्धित विषय हेर्ने महाशाखा प्रमुख                               –  संयोजक

(ख) वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालयको

कम्तीमा उपसचिवस्तरको अधिकृत प्रतिनिधि                         – सदस्य

(ग) शहरी विकास मन्त्रालयको कम्तीमा उपसचिवस्तरको

अधिकृत प्रतिनिधि                                                               – सदस्य

(घ) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको उपसचिवस्तरको

अधिकृत प्रतिनिधि                                                              – सदस्य

(ङ) फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रको

अधिकृत प्रतिनिधि                                                           – सदस्य

(च)  सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको

सम्बन्धित विषय हेर्ने शाखा प्रमुख                               – सदस्य–सचिव

(२) समितिले अनुगमनका सिलसिलामा आवश्यकतानुसार विशेषज्ञलाई अनुगमनमा संलग्न गराउन सक्नेछ ।

(३) समितिले आफ्नो कार्यविधि आफैं व्यवस्थित गर्नेछ ।

(४) स्थानीय निकायले फोहरमैला व्यवस्थापन गर्ने सम्बन्धमा देहायका विषयमा अनुगमन गर्न सक्नेछः–

(क)  फोहरमैला स्रोतमै घटाउने उपायहरु तथा प्रविधिको अवलम्बन गरे नगरेको,

(ख) फोहरमैलाको न्यूनिकरणका लागि फोहरको पुनःप्रयोग तथा पुनःचक्रीय प्रयोग सम्बन्धी स्थानीय निकायले तोकेको विधि अवलम्बन भए नभएको,

(ग)   फोहरमैलालाई स्रोतमै छुट्याए, नछुट्याको र छुट्याइएको फोहरमैला तोकिएको स्थान, समय र तरिका बमोजिम निस्काशन गरे नगरेको,

(घ) फोहरमैला व्यवस्थापन सम्बन्धमा स्थानीय निकायबाट तोकिएका कुराहरुको पालना भए नभएको ।

२७. खारेजी तथा बचाउ

(१) फोहरमैला प्रबन्ध तथा स्रोत परिचालन नियमावली, २०४६ खारेज गरिएकोछ ।

(२) उपनियम (१) बमोजिमको नियमावली बमोजिम भए गरेका काम कारवाही यसै नियमावली बमोजिम भए गरेको मानिनेछ ।

अनुसूची–१ (नियम १० को उपनियम (१) सँग सम्बन्धित)

अनुसूची

(नियम १० को उपनियम (१) सँग सम्बन्धित)

 

श्रीमान् …………………………….. ज्यू,

………………………. महानगरपालिका/उपमहानगरपालिका/नगरपालिका/गाउँ विकास समिति ।

 

विषयःफोहरमैला व्यवस्थापन गर्न अनुमती पाऊँ ।

 

       ……………………………………………………. स्थायी/अस्थायी ठेगाना भएको म/हामी …………………………………. यस महानगरपालिका/उपमहानगरपालिका/नगरपालिका /गाउँ विकास समितिको …………….. क्षेत्रमा फोहरमैला व्यवस्थापन गर्न चाहेकोले देहायको विवरण खोली उक्त क्षेत्रमा फोहरमैला व्यवस्थापन गर्न फोहरमैला व्यवस्थापन ऐन, २०६८ को दफा १३ को उपदफा (३) र फोहरमैला व्यवस्थापन नियमावली, २०७० को नियम १० को उपनियम (१) बमोजिम अनुमतिपत्र पाउन यो निवेदन पेश गरेको छु ।

 

विवरणः

१.   फोहरमैला व्यवस्थापन गर्न आवश्यक पर्ने आर्थिक स्रोत, जनशक्ति, संकलन तथा ढुवानी साधन र कार्य अनुभवको विवरण,

२.   फोहरमैला व्यवस्थापन गर्न चाहेको क्षेत्र,

३.   फोहरमैला व्यवस्थापन गर्न आवश्यक पर्ने जग्गाको व्यवस्था,

४.   फोहरमैला व्यवस्थापन गर्ने तरिका एवं विधि,

५.   फोहरमैला व्यवस्थापन सम्बन्धी योजना,

६.   फोहरमैला व्यवस्थापनमा प्रयोग गर्ने प्रविधि,

७.   कर चुक्ता गरेको प्रमाणपत्र,

८.   संस्था÷फर्म÷कम्पनी नविकरण ।

 

निवेदक

हस्ताक्षरः

नामथरः

ठेगानाः

मितिः

अनुसूची–२ (नियम ११ को उपनियम (३) सँग सम्बन्धित)

अनुसूची

(नियम ११ को उपनियम (३) सँग सम्बन्धित)

 

श्री …………..

 …………………….

 

विषयःअनुमतिपत्र ।

 

        तपाई ……………………… स्थायी/अस्थायी ……………ठेगाना भएको श्री ……………..ले जिल्ला ……….. महानगरपालिका/उपमहानगरपालिका/नगरपालिका/गाउँ विकास समितिको क्षेत्रमा फोहरमैला व्यवस्थापन गर्न चाहेकोले मिति ………….. मा यस कार्यालयमा निवेदन दिनु भएकोमा देहायका शर्तहरुको अधिनमा रही फोहरमैला व्यवस्थापन गर्न फोहरमैला व्यवस्थापन ऐन, २०६८ को दफा १३ को उपदफा (३) र फोहरमैला व्यवस्थापन नियमावली, २०७० को नियम ११ को उपनियम (३) बमोजिम यो अनुमतिपत्र प्रदान गरिएको छ ।

 

शर्तहरुः

१. ……………………………..

२. ………………………………

३. ………………………………

 

                                                        अनुमति पत्र प्रदान गर्ने अधिकारी

                                        दस्तखतः

                                        नामः

मितिः

अनुसूची–३ (नियम १३ को उपनियम(१) संग सम्बन्धित)

अनुसूची

(नियम १३ को उपनियम(१) संग सम्बन्धित)

 

श्रीमान् …………………….ज्यू,

……….. महानगरपालिका/उपमहानगरपालिका/नगरपालिका/गाउँ विकास समिति ।

 

विषयःअनुमतिपत्र नविकरण गरी पाऊँ ।

 

……….. महानगरपालिका÷उपमहानगरपालिका÷नगरपालिका÷गाउँ विकास समितिको …………………. क्षेत्रमा फोहरमैला व्यवस्थापन गर्न त्यस कार्यालयवाट मिति २०..÷….÷……मा अनुमतिपत्र प्राप्त गरेकोमा उक्त अनुमतिपत्रको म्याद मिति……………..सम्म रहेको छ । फोहरमैला व्यवस्थापन नियमावली, २०७० को नियम १३ बमोजिम उक्त अनुमतिपत्र नविकरण दस्तुर रु………………………. संलग्न गरी अनुमतिपत्र नविकरणका लागि यो निवेदन पेश गरेको छु ।

 

निवेदक

हस्ताक्षरः

नाम, थरः

ठेगानाः

मितिः

अनुसूची–४ कार्यकारी निर्देशकको पारिश्रमिक, सुविधा तथा सेवा शर्त सम्बन्धी

अनुसूची

(नियम २२ सँग सम्बन्धित)

कार्यकारी निर्देशकको पारिश्रमिक, सुविधा तथा सेवा शर्त सम्बन्धी

(क) मासिक पारिश्रमिकनेपाल सरकारको निजामती सेवाको राजपत्राङ्कित प्रथम श्रेणी सरहको पारिश्रमिक
(ख) सवारी साधनचालक सहितको एक उपयुक्त सवारी साधन
(ग) इन्धनपेट्रोल/डिजेलः मासिक असी लिटर

मोविल/ब्रेक आयलः हरेक तीन महिनामा पाँच लिटर

(घ) टेलिफोननेपाल सरकारको निजामती सेवाको राजपत्राङ्कित प्रथम श्रेणीको निजामती कर्मचारीले पाए सरह
(ङ) चाडपर्व खर्चप्रत्येक वर्ष खाइपाई आएको एक महिनाको पारिश्रमिक बराबरको रकम
(च) बिदाघर बिदा, बिरामी विदा, पर्व बिदा र भैपरी आउने बिदा निजामती सेवाका कर्मचारी सरह
(छ) सञ्चय कोषमासिक पारिश्रमिकको दश प्रतिशत रकम कट्टा गरी कट्टा भएको बराबर थप रकम (यो व्यवस्था वि.सं. २०७० साल श्रावण १ गतेदेखि लागु हुनेछ ।)
 (ज)  दैनिक भ्रमण भत्तानेपाल सरकारको निजामती सेवाको राजपत्राङ्कित प्रथम श्रेणीको निजामती कर्मचारीले पाए सरह