Skip to contentSkip to left sidebar Skip to footer

पेट्रोलियम नियमावली, २०४१

पेट्रोलियम नियमावली, २०४१

नेपाल राजपत्रमा प्रकाशित मिति      -२०४१।१२।४
संशोधन
१. पेट्रोलियम पहिलो संशोधन नियमावली, २०४६              -२०४६।४।११
२. पेट्रोलियम (दोस्रो संशोधन) नियमावली, २०५१             -२०५१।५।१७
३. पेट्रोलियम (तेस्रो संशोधन) नियमावली, २०६२              -२०६२।५।१३
४. पेट्रोलियम (चौथो संशोधन) नियमावली, २०७०               -२०७०।१।३०
५. पेट्रोलियम (पाँचौं संशोधन) नियमावली, २०७४              -२०७४।४।९
नेपाल पेट्रोलियम ऐन, २०४० को दफा २२ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ ।

परिच्छेद – १ प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भ : (१) यी नियमहरूको नाम “पेट्रोलियम नियमावली, २०४१ रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।

२. परिभाषा : विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस नियमावलीमा,
(क) “अन्वेषण अवधि” भन्नाले नियम १६ मा तोकिएबमोजिमको प्राथमिक अन्वेषण अवधि र त्यसमा थप भएको अवधि सम्झनु पर्छ ।
(ख) “अन्वेषण कार्य” भन्नाले पेट्रोलियम सम्झौता बमोजिम पेट्रोलियमको अन्वेषण गर्नको लागि तथा पत्ता लागेको पेट्रोलियमको व्यापारिक विकासको मूल्याङ्कन गर्नको लागि आवश्यक सबै कार्य सम्झनु पर्छ ।
(ग) “अन्वेषण खण्ड” भन्नाले नियम ११ र १३ बमोजिम सीमाङ्कन गरी नियम १४ बमोजिम छुट्याइएको अन्वेषण खण्ड सम्झनु पर्छ ।
(घ) “उत्पादन अनुमति” भन्नाले नियम २० को उपनियम (२) बमोजिम प्रदान गरिने उत्पादन अनुमति सम्झनु पर्छ ।
(ङ) “उत्पादन अवधि” भन्नाले नियम २१ मा तोकिए बमोजिमको उत्पादन अवधि सम्झनु पर्छ ।
(च) “उत्पादन कार्य” भन्नाले पेट्रोलियमको उत्पादन, शुद्धीकरण, ढुवानी, सञ्चय र बिक्री वितरण गर्नको लागि आवश्यक सबै कार्य सम्झनु पर्छ ।
(छ) “उत्पादन क्षेत्र” भन्नाले उत्पादन अनुमतिमा उल्लिखित उत्पादन क्षेत्र सम्झनु पर्छ ।
(ज) “ऐन” भन्नाले नेपाल पेट्रोलियम ऐन, २०४० सम्झनु पर्छ ।
(झ) “कटकेन्दार” भन्नाले पेट्रोलियम कार्यको लागि ठेकेदारले नियुक्त गरेको (हायर्ड) व्यक्ति सम्झनु पर्छ ।
(ञ) “करार वर्ष” भन्नाले लागू मिति वा त्यस्तो मितिको वार्षिक मितिबाट शुरु हुने ग्रेगोरियन पात्रो अनुसारको बाह्र महिनाको अविच्छिन्न अवधि सम्झनु पर्छ ।
(ट) “करार क्षेत्र” भन्नाले नियम १७ बमोजिम पेट्रोलियम सम्झौतामा उल्लेख भए अनुसार परित्याग भई घट्दै जाने क्षेत्र सम्झनु पर्छ ।
(ठ) “डलर” भन्नाले संयुक्त राज्य अमेरिकाको डलर सम्झनु पर्छ ।
(ड) “निरीक्षक” भन्नाले ऐनको दफा ११ बमोजिम नेपाल सरकारले अधिकृत गरेको कुनै व्यक्ति, अधिकारी वा निकाय सम्झनु पर्छ ।
(ढ) “पेट्रोलियम खर्च” भन्नाले ठेकेदारले पेट्रोलियम कार्य सञ्चालन गर्न गरेको सबै खर्च सम्झनु पर्छ । जुन खर्च पेट्रोलियम सम्झौतामा परिभाषित छन् ।
(ण) “बजेट” भन्नाले कार्यक्रममा समावेश गरिएको प्रत्येक कार्यको अनुमानित खर्च सम्झनु पर्छ ।
(त) “वर्ष (क्यालेण्डर यर)” भन्नाले ग्रेगोरियन पात्रो अनुसार जनवरी १ तारेखमा शुरु भई त्यसै वर्षको डिसेम्बर ३१ तारीखमा अन्त्य हुने बाह्र महीनाको अविच्छिन्न अवधि सम्झनु पर्छ ।
(थ) “विकास कार्य” भन्नाले स्थललाई व्यापारिक रूपमा विकास गर्नको निमित्त आवश्यक सबै कार्य सम्झनु पर्छ ।
(द) “बिक्री वितरण (सेल अर डिस्पोजल)” भन्नाले मूल्य लिई वा नलिई पेट्रोलियम बिक्री, साटफेर वा हस्तान्तरण गरेको सम्झनु पर्छ ।
(ध) “व्यापारिक उत्पादन दिन” भन्नाले ठेकेदारले उत्पादन क्षेत्रबाट व्यापारिक परिमाणमा उत्पादित पेट्रोलियम पहिलो पटक बिक्री वितरण गरेको दिन सम्झनु पर्छ ।
(न) “रोयल्टी” भन्नाले ऐनको दफा १३ बमोजिम नेपाल सरकारले राखिने रोयल्टी सम्झनु पर्छ ।
(प) “लागू मिति” भन्नाले नेपाल सरकार र ठेकेदारले पेट्रोलियम सम्झौतामा हस्ताक्षर गरेको मिति सम्झनु पर्छ ।
(फ) “स्थल (फिल्ड)” भन्नाले कुनै एक भौगर्भिक बनावटको अवस्था वा समस्थितिक (स्ट्याटिग्राफिक) अवस्थासँग आबद्ध वा सम्बद्ध भएका र व्यापारिक रूपमा पेट्रोलियम उत्पादन गर्न सकिने एक वा धेरै पेट्रोलियम भण्डार भएको क्षेत्र सम्झनु पर्छ ।
(ब) “समिति” भन्नाले नियम ४३ बमोजिम गठन भएको पेट्रोलियम परामर्श समिति सम्झनु पर्छ ।
(भ) “त्रैमासिक अवधि (क्यालेण्डर क्वाटर)” भन्नाले ग्रेगोरियन पात्रो अनुसार जनवरी १, अप्रिल १, जुलाई १ वा अक्टोबर १ मा शुरु भई मार्च ३१, जून ३०, सेप्टेम्बर ३० वा डिसेम्बर ३१ मा अन्त्य हुने तीन (३) महिनाको अविच्छिन्न अवधि सम्झनु पर्छ ।

परिच्छेद – २ ठेकेदारको छनौट र पेट्रोलियम सम्झौता

३. बोलपत्र आह्वान गर्ने : नेपाल सरकारले ठेकेदार नियुक्त गरी पेट्रोलियम कार्य सञ्चालन गर्न चाहेमा विभागले बोलपत्र पेश गर्नको लागि कम्तीमा साठी (६०) दिनको म्याद दिई बोलपत्र आहृवान गर्नु र त्यसको सूचना राष्ट्रिय एवं अन्तर्राष्ट्रिय पत्रपत्रिकामा प्रकाशित गर्नु पर्नेछ ।
४. बोलपत्र आह्वान गर्दा खुलाउनु पर्ने कुराहरू : बोलपत्र आहृवान गर्दा देहायका कुराहरू खुलाउनु पर्नेछ :

(क) पेट्रोलियम कार्यको लागि खुला गरिएको अन्वेषण खण्ड ।
(ख) अन्वेषण खण्डसम्बन्धी आधारभूत सूचना तथा जानकारी ।
(ग) बोलपत्र दस्तुर ।
(घ) अन्य आवश्यक कुराहरू ।
५. बोलपत्रमा खुलाउनु पर्ने कुरा : पेट्रोलियम कार्य गर्न इच्छुक कम्पनीले नियम ३ बमोजिमको सूचनामा उल्लेखित म्यादभित्र देहायका कुराहरू खुलाइ अनुसूची–१ बमोजिमको ढाँचामा विभागमा सीलबन्दी बोलपत्र दिनु पर्नेछ :
(क) बोलपत्रदाता कम्पनी हो भन्ने प्रमाण ।
(ख) बोलपत्रदाताको तर्फबाट काम कारवाही गर्ने अधिकृत व्यक्तिको नाम र ठेगाना ।
(ग) बोलपत्रदातासँग पेट्रोलियम कार्यको लागि आवश्यक पूँजी, यन्त्र, उपकरण, औजारहरू तथा विशेषज्ञहरूको व्यवस्था गर्न सक्ने क्षमता छ भन्ने प्रमाण ।
(घ) अन्वेषण कार्य गर्ने तरीका तथा समय तालिका ।
(ङ) अन्वेषण अवधि (थपिने दुई अवधि समेत) को न्यूनतम कार्यक्रम र बजेट ।
(च) एकभन्दा बढी व्यक्ति संयुक्त रूपमा ठेकेदार हुने भए तिनीहरूको आपसी
सम्बन्ध, जिम्मेवारी तथा आ–आफ्नो हिस्साको प्रतिशत ।
(छ) पहिलो करार वर्षको वार्षिक कार्यक्रम तथा बजेट ।
६. बोलपत्रको मूल्याङ्कन : (१) नियम ५ बमोजिम प्राप्त हुन आएका बोलपत्रको मूल्याङ्कन गर्दा देहायको आधार वापत देहाय बमोजिम अङ्क दिई बोलपत्रको मूल्याङ्कन गर्नु पर्नेछ :–
(क) बोलपत्रदाताको प्राविधिक क्षमता तथा कार्य अनुभव – बीस अङ्क
(ख) बोलपत्रदाताको आर्थिक क्षमता – बीस अङ्क
(ग) बोलपत्रदाताको पेट्रोलियम बिक्री वितरणसम्बन्धी अनुभव
(घ) अन्वेषण अवधिमा गरिने न्यूनतम कार्यदाियत्वर खर्च – बीस अङ्क
(ङ) खूद पेट्रोलियमको प्रस्तावित बाँडफाँड – बीस अङ्क
(च) बोलपत्रदाताबाट उपलब्ध गराइने शैक्षिक
तथा तालीम सुविधा – पाँच अङ्क
(छ) लगानी र सामाजिक विकासको योजना – पाँच अङ्क
(ज) रोजगार एवं अन्य कुनै प्रासङ्गिक कुरा – पाँच अङ्क
(२) उपनियम (१) मा उल्लिखित आधारमध्ये खण्ड (क), (ख), (घ) र (ङ) बमोजिमको आधार बापत अङ्क दिँदा थप आधार तोकी सोही अनुसार अङ्कभार विभाजन गरी अङ्क दिनु पर्नेछ । त्यसरी निर्धारण गरिएको आधार र अङ्कभार बोलपत्रको मूल्याङ्कन गर्नु अघि महानिर्देशकबाट स्र्वीकृत भएको हुनु पर्नेछ ।
(३) बोलपत्रको मूल्याङ्कन गर्दा न्यूनतम साठी अङ्क प्राप्त गर्ने बोलपत्रदातालाई योग्य बोेलपत्रदाता मानिनेछ ।
(४) बोलपत्रको मूल्याङ्कन गर्न देहाय बमोजमको एक बोलपत्र मूल्याङ्कन समिति रहनेछ :–
(क) महानिर्देशकले तोकेको विभागको राजपत्राङ्कित प्रथम श्रेणीको अधिकृत र त्यस्तो अधिकृत नभएमा महानिर्देशकले तोकेको विभागको राजपत्राङ्कित द्वितीय श्रेणाीको अधिकृत – संयोजक
(ख) विभागको आर्थिक प्रशासन शाखा प्रमुख – सदस्य
(ग) महानिर्देशकले तोकेको विषयसँग सम्बन्धित विज्ञ – सदस्य
(घ) विभागमा कानून अधिकृतको दरबन्दी भएमा कानून अधिकृत – सदस्य
(ङ) विभागको खरिद एकाइ प्रमुख – सदस्य–सचिव
(५) मूल्याङ्कन समितिले बोलपत्र मूल्याङ्कनको लागि आवश्यकता अनुसार सम्बन्धित विषयको विज्ञ वा कुनै निकायको पदाधिकारीलाई समितिको बैठकमा आमन्त्रण गर्न सक्नेछ ।
(६) बोलपत्रको मूल्याङ्कन गर्ने कार्य बोलपत्र खोलेको मितिले नब्बे दिनभित्र सम्पन्न गर्नु पर्नेछ ।
७. वार्ताः बोलपत्रको मूल्याङ्कन गरिसकेपछि विभागले चाहेमा योग्य बोलपत्रतदाताहरूसँग वार्ता गर्न सक्नेछ ।
८. बोलपत्रको स्वीकृति : बोलपत्रको मूल्याङ्कन तथा सम्बन्धित बोलपत्रदातासँग गरेको वार्ताको आधारमा विभागले बोलपत्र आफ्नो सिफारिश सहित स्वीकृतिको लागि नेपाल सरकार समक्ष पेश गर्नेछ र नेपाल सरकारले पेट्रोलियम सम्झौता गर्ने नगर्ने निर्णय गर्नेछ ।
९. पेट्रोलियम सम्झौता गर्ने सूचना : (१) नियम ८ बमोजिम नेपाल सरकारबाट स्वीकृत भएको बोलपत्रदातालाई विभागले पेट्रोलियम सम्झौता गर्नको लागि मिति, समय र स्थान तोकी सूचना दिनेछ ।
(२) उपनियम (१) बमोजिम पठाइएको सूचनामा उल्लिखित समयमा सफल बोलपत्रदाताले मुनासिब माफिकको कारण बिना पेट्रोलियम सम्झौता गर्न नआएमा नेपाल सरकारले वैकल्पिक व्यवस्था गर्न सक्नेछ ।
१०. पेट्रोलियम सम्झौता : (१) पेट्रोलियम कार्यको लागि कुनै पनि बोलपत्रदातालाई सामान्यतया दुई अन्वेषण खण्डभन्दा बढी प्रदान गरिने छैन ।
(२) उपनियम (१) को अधीनमा रही एकभन्दा बढी अन्वेषण खण्डको लागि पनि एउटै पेट्रोलियम सम्झौता गर्न सकिनेछ ।
(३) नेपाल सरकारले स्वीकृत गरेबमोजिम थपघट गरी अनुसूची–२ बमोजिमकै ढाँचामा नेपाली वा अंग्रेजी भाषामा पेट्रोलियम सम्झौता गरिनेछ ।
(४) नेपाल सरकारको तर्फबाट उद्योग मन्त्रालयका सचिवले पेट्रोलियम सम्झौतामा हस्ताक्षर गर्नेछ ।
(५) यस नियम बमोजिम भएको पेट्रोलियम सम्झौता ठेकेदारले उल्लङ्घन गरेमा नेपाल सरकारले उक्त सम्झौता रद्द गर्न सक्नेछ । त्यसरी सम्झौता रद्द गर्नु अघि ठेकेदारलाई सफाई पेश गर्ने मनासिब माफिकको मौका दिनु पर्नेछ ।
१०क.कम्पनी तथा उद्योग दर्ता गराउनु पर्ने : नियम १० बमोजिमको पेट्रोलियम सम्झौता लागू भएको मितिले नब्बे दिनभित्र ठेकेदारले प्रचलित कानून बमोजिम कम्पनी तथा उद्योग दर्ता गराउनु पर्नेछ ।

परिच्छेद–३ क्षेत्रको सीमाङ्कन

११. अन्वेषण खण्ड र करार क्षेत्रको सतहको सीमाना : अन्वेषण खण्ड र करार क्षेत्र अक्षाँश र देशान्तर तथा अन्तर्राष्ट्रिय सीमाना वा उल्लेखनीय प्राकृतिक स्वरूप जस्तै पहाडी खण्ड वा नदी मार्गबाट सीमाङ्कन गरिनेछ ।
१२. उत्पादन क्षेत्रको सतहको सीमाना : उत्पादन क्षेत्र बहुभूजीय आकारको हुनेछ र निश्चित भौगोलिक नियामकहरूबाट सीमाङ्कन गरिनेछ ।
१३. अन्वेषण खण्ड, करार क्षेत्र र उत्पादन क्षेत्रको ठाडो (भर्टिकल) सीमाना : अन्वेषण खण्ड, करार क्षेत्र र उत्पादन क्षेत्रको सतह मुनिको ठाडो सीमाना त्यस्तो खण्ड वा क्षेत्रको सतहको सीमानाबाट ठाडो सीमाङ्कन गरिनेछ ।
१४. अन्वेषण खण्डको क्षेत्रफल : प्रत्येक अन्वेषण खण्डको क्षेत्रफल विभागले सीमाङ्कन गरिदिएबमोजिम हुनेछ र पाँच हजार (५०००) वर्ग किलोमिटरभन्दा बढी हुने छैन ।
१५. नापी गर्ने अधिकार : अन्वेषण खण्ड, करार क्षेत्र र उत्पादन क्षेत्र स्पष्ट रूपले सीमाङ्कन गर्ने प्रयोजनको लागि विभागले आवश्यक देखेमा ठेकेदारको खर्चमा आफैंले नापी गर्न वा ठेकेदारलाई नापी गर्न आदेश दिन सक्नेछ ।

परिच्छेद–४ अन्वेषण

१६. अन्वेषण अवधि : (१) प्राथमिक अन्वेषण अवधि पेट्रोलियम सम्झौता लागू भएको मितिबाट चार (४) करार वर्षको हुनेछ ……….।
(१क) उपनियम (१) बमोजिमको प्राथमिक अन्वेषण अवधि समाप्त भएपछि नेपाल सरकारले आवश्यकता अनुसार पहिलो पटक तीन करार वर्ष र दोस्रो पटक दुई करार वर्ष गरी बढीमा पाँच करार वर्ष थप गर्न सक्नेछ ।
(२) अन्वेषण अवधिको अन्त्यमा कुनै तेलको इनारको सम्बन्धमा चालू भैरहेको खन्ने, लगिङ गर्ने, परीक्षण गर्ने वा थुन्ने काम पूरा गर्न वा कुनै सम्भाव्यता कार्य पूरा गर्न, पत्ता लागेको पेट्रोलियमको मूल्याङ्कन गर्न, विस्तृत विकास कार्यक्रम र वजेट तयार पार्न तथा पेश गर्न वा उत्पादन अनुमतिको लागि निवेदन दिन वा करार क्षेत्रमा पत्ता लागेको स्थलबाट प्राप्त पेट्रोलियमको निर्यात बजार (आवश्यक बन्दोबस्त तथा आवश्यक पूर्वाधारसमेत) निश्चित गर्न चाहिने मनासिब अवधिको लागि विभागले अन्वेषण अवधिको म्याद पुनः बढाई दिन सक्नेछ ।
१७. क्षेत्रको परित्याग : (१) ठेकेदारले देहायबमोजिम क्षेत्र परित्याग गर्नु पर्नेछ :
(क) प्राथमिक अन्वेषण अवधिको अन्त्यसम्ममा उत्पादन क्षेत्रमा पर्ने क्षेत्र  बाहेक शुरु करार क्षेत्रको कम्तीमा पचास (५०) प्रतिशत ।
(ख) पहिलो पटक थप भएको अन्वेषण अवधिको अन्त्य सम्ममा उत्पादन क्षेत्रमा पर्ने क्षेत्र बाहेक शुरु करार क्षेत्रको कम्तीमा पच्चीस (२५) प्रतिशत ।
(ग) नियम १६ को उपनियम (२) को अधीनमा रही अन्वेषण अवधिको अन्त्य सम्ममा उत्पादन क्षेत्रमा पर्ने क्षेत्रबाहेक शुरु करार क्षेत्रको बाँकी सबै क्षेत्र ।
स्पष्टीकरण : उपनियम (१) को प्रयोजनको लागि उत्पादन क्षेत्र भन्नाले उत्पादन अनुमतिको निवेदन विचाराधीन रहेको अवस्थामा त्यस्तो निवेदनमा उल्लिखित क्षेत्रलाई समेत जनाउँछ ।

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि समय समयमा परित्याग गरिने प्रत्येक क्षेत्र शुरु करार क्षेत्रको (१०) प्रतिशतभन्दा कम हुनु हुँदैन र एकै चक्ला परेको हुनु पर्नेछ ।
(३) ठेकेदारले कुनै स्थलमा सम्भाव्यता कार्य पूरा भएपछि पनि उत्पादन अनुमतिको लागि निवेदन नगरेमा नेपाल सरकारलाई पेट्रोलियम सम्झौतामा मञ्जुर गरिएबमोजिम त्यस्तो स्थलसहितको थप क्षेत्र परित्याग गर्न ठेकेदारलाई आदेश दिने अधिकार हुनेछ । त्यस्तो आदेश भएकोमा ठेकेदारले पेट्रोलियम सम्झौतामा लेखिएबमोजिम त्यस्तो क्षेत्र परित्याग गर्नु
पर्नेछ ।
(४) अन्वेषण अवधिभित्र ठेकेदारले कुनैपनि समयमा करार क्षेत्रको कुनै खण्ड परित्याग गर्न सक्नेछ र त्यस्तो सबै स्वेच्छिक परित्याग उपनियम (१) मा तोकिएको अनिवार्य परित्यागमा समावेश गरिनेछ ।

परिच्छेद–५ कार्यक्रम र बजेट तथा पेट्रोलियमको बाँडफाँड

१८. प्रतिवेदन पेश गर्नुपर्ने : (१) ठेकेदारले करार क्षेत्रमा पेट्रोलियम फेला परे वा नपरेको निष्कर्ष सहितको प्रतिवेदन सम्झौता बमोजिम विभागमा पेश गर्नु पर्नेछ ।
(२) करार क्षेत्रमा पेट्रोलियम फेला परेमा ठेकेदारले त्यसको जानकारी तुरुन्त विभागमा दिनु पर्नेछ ।
१९. सम्भाव्यता कार्यक्रम तथा बजेट पेश गर्नु पर्ने : ठेकेदारले नियम १८ बमोजिम पेट्रोलियम फेला परेको प्रतिवेदन दिएमा त्यसको नब्बे दिनभित्र करार क्षेत्रको व्यापारिक विकास मूल्याङ्कन गर्न विस्तृत सम्भाव्यता कार्यक्रम तथा बजेट समेत विभागमा पेश गर्नु पर्नेछ ।

२०. विकास कार्यक्रम तथा वजेट र उत्पादन अनुमति : (१) सम्भाव्यता कार्यबाट स्थललाई व्यापारिक रूपमा विकास गर्न सकिने देखिएमा ठेकेदारले मनासिब अवधिभित्र उत्पादन अनुमतिको लागि विभागमा निवेदन दिनु पर्नेछ । त्यस्तो निवेदनमा स्थलको व्यापारिक विकास गर्नको निमित्त विस्तृत विकास कार्यक्रम र बजेट तथा माग गरिएको उत्पादन क्षेत्रको विस्तृत विवरण समावेश हुनु पर्नेछ ।
(२) ठेकेदारले विभागको स्वीकृति प्राप्त नभएसम्म विकास कार्य गर्नु हुँदैन । विभागले विकास कार्यक्रम र वजेट स्वीकृति गरिसकेपछि उत्पादन अनुमति प्रदान गर्नेछ ।
(३) उत्पादन अनुमति अन्तर्गतको स्थलको फैलावट जुन स्थलको लागि उत्पादन अनुमति प्रदान गरिएको थियो सो भन्दा फरक भएको पाइएमा अनुमति अन्तर्गतको उत्पादन क्षेत्र त्यसै अनुसार मिलाइनेछ । तर त्यस्तो क्षेत्र परित्याग गरी नसकेको करार क्षेत्रभित्र परेको हुनु पर्नेछ ।
(४) ठेकेदारले कच्चा तेलसँग संलग्न रहेको वा नरहेको प्राकृतिक ग्याँस पत्ता लगाएमा त्यस्तो प्राकृतिक ग्याँसको व्यापारिक प्रयोगको विकास गर्ने प्रयोजनको लागि विभाग र ठेकेदारले तुरुन्त आपसमा छलफल गर्नेछन् । त्यस्तो प्राकृतिक ग्याँसको व्यापारिक प्रयोगको विकास भैसकेको रहेनछ भने पेट्रोलियम सम्झौतामा तोकिएबमोजिम व्यापारिक बजारको
विकास गर्न आफूलाई समर्थ बनाउन ठेकेदारलाई उत्पादन अनुमतिको लागि निवेदन दिने अधिकार हुनेछ । त्यस्तो प्राकृतिक ग्याँसको व्यापारिक बजार विकास गर्नलाई ठेकेदारलाई सहयोग गर्न विभाग तथा ठेकेदार दुवैको प्रतिनिधि भएको एउटा समिति स्थापना गरिनेछ । उक्त समितिले फेला पारेको ग्याँसको संयुक्त रूपमा मूल्याङ्कनको पुनरावलोकन, व्यापारिक विकास योजनाको कार्यविधि निर्धारण तथा स्वीकृत कार्यक्रमहरूको कार्यान्वयनको प्रगतिको
अनुगमन गर्नेछ ।
२१. उत्पादन अवधि ः (१) उत्पादन अवधि उत्पादन अनुमति प्राप्त गरेको मितिले तीस बर्षको हुनेछ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि काबू बाहिरको परिस्थितिले गर्दा तीस दिनभन्दा बढी अवधिसम्म पेट्रोलियम कार्य स्थगित भएमा विभागले त्यस्तो स्थगित अवधि उत्पादन अवधिमा थप गर्न सक्नेछ ।

२२. पेट्रोलियमको बाँडफाँड : (१) नेपाल सरकारले करार क्षेत्रबाट उत्पादित सबै पेट्रोलियमको कम्तीमा १२.५ प्रतिशत ऐनको दफा १३ बमोजिम रोयल्टीको रूपमा राख्नेछ ।
(२) करार क्षेत्रबाट उत्पादित पेट्रोलियमबाट नेपाल सरकारले रोयल्टी राखिसकेपछि र ठेकेदारलाई पेट्रोलियम खर्चको भुुक्तानी दिएपछि बाँकी रहन गएको पेट्रोलियम पेट्रोलियम सम्झौताको व्यवस्था अनुसार नेपाल सरकार र ठेकेदारलाई बाँडफाँड गरिनेछ ।
(३) यस नियमको प्रयोजनको लागि करार क्षेत्रबाट उत्पादित पेट्रोलियम भन्नाले करार क्षेत्रभित्र प्रत्येक स्थलबाट उत्पादन गरिएको पेट्रोलियममा देहायबमोजिम प्रयोग भएको पेट्रोलियम कटाइएपछि बाँकी रहेको पेट्रोलियम सम्झनु पर्छ ः
(क) विश्लेषण, परीक्षण वा पेट्रोलियम कार्यमा प्रयोग भएको पेट्रोलियम,
(ख) विभागको पूर्व स्वीकृति लिई पेट्रोलियम सम्पदाको संरक्षणको लागि विना मूल्य अन्य ठेकेदारलाई उपलब्ध गराइएको वा बालिएको प्राकृतिक ग्याँस,
(ग) नेपाल सरकारले आफ्नै जोखिममा उपयोग गरेको प्राकृतिक ग्याँस ।

परिच्छेद–६ पेट्रोलियम कार्य

२३. विवरण पेश गर्नु पर्ने : (१) ठेकेदारले पेट्रोलियम कार्य शुरु गर्नु भन्दा कम्तीमा तीस (३०) दिन अगावै विभागमा प्रस्तावित कार्यको सम्बन्धमा देहाय बमोजिमको विवरण पेश गर्नु पर्नेछ :–
(क) प्रस्तावित कार्यको विस्तृत कार्यक्रम ।
(ख) समय तालीका ।
(ग) त्यस्तो कार्य गरिने क्षेत्रको स्थान अङ्कित नक्शा ।
(घ) कटकेन्दारद्वारा काम गराउने भए त्यसको नाम र ठेगाना ।
(२) उपनियम (१) बमोजिम पेश गरेको विवरणमा कुनै परिवर्तन गर्न परेमा ठेकेदारले त्यस्तो परिवर्तन गर्नुभन्दा पन्ध्र (१५) दिन अगावै विभागलाई परिवर्तन गरिने कुराको विवरण पेश गर्नु पर्नेछ ।
(३) उपनियम (१) वा (२) बमोजिमको विवरण प्राप्त भएपछि विभागले ठेकेदारसँग थप विवरण माग गर्न सक्नेछ र त्यसरी मागिएको विवरण यथाशीघ्र विभागलाई उपलब्ध गराउनु ठेकेदारको कर्तव्य हुनेछ ।

२४. पेट्रोलियम कार्य सञ्चालन गर्ने स्तर तोक्ने : विभागले कुनै खास किसिमको पेट्रोलियम कार्यको सम्बन्धमा कुनै मान्यता प्राप्त प्रतिष्ठित व्यावसायिक संस्थाद्वारा प्रकाशित तेल क्षेत्र सञ्चालन स्तरमा नेपालको स्थिति अनुरूप कुनै हेरफेर गरी वा नगरी ठेकेदारले त्यस्तो स्तर पालन गर्नुपर्ने गरी तोकी दिन सक्नेछ ।
२५. पेट्रोलियम कार्यको सञ्चालन : पेट्रोलियम कार्य सञ्चालन गर्दा ठेकेदारले देहाय बमोजिम व्यवस्था गर्नु पर्नेछ :
(क) सम्पूर्ण यन्त्र, उपकरण र औजारहरूको वरपर सुरक्षित क्षेत्र स्थापना गर्ने ।
(ख) इनार खन्ने रिंग, जेनरेटर र अन्य बनौटहरूको कम्तिमा पचास (५०) मिटर दूरीमा छेकवार लगाउने ।
(ग) पेट्रोलियम कार्यमा प्रयोग गरिने सम्पूर्ण विष्फोटक पदार्थ, डिटोनेटर तथा त्यस्तै किसिमको जोखिमी पदार्थहरूको लागि सुरक्षित सञ्चय क्षेत्रको व्यवस्था गर्ने ।
(घ) जीउज्यान, धनसम्पत्ति वा बालीनालीको हानी नोक्सानी हुन नदिने ।
(ङ) प्रत्येक कार्य क्षेत्रमा काम गर्ने कामदारहरूको अभिलेख राख्ने र त्यसको प्रतिलिपि त्यस्तो क्षेत्रमा कार्य शुरु गरेको मितिले पन्ध्र (१५) दिनभित्र विभागमा पठाउने ।
(च) विभागले तोकिदिए बमोजिमको ढाँचामा कामदारहरूको दर्ता किताब राख्ने र प्रत्येक महीना थप गरिएको वा काम छाडी गएका कामदारहरूको विवरण अर्को महीनाको पहिलो हप्ताभित्र विभागमा पठाउने ।
(छ) पेट्रोलियम कार्यको सिलसिलामा कुनै कामदार आफ्नो कर्तव्य पालना गर्दा सख्त घाइते भएमा बहत्तर (७२) घण्टाभित्र विभागमा प्रतिवेदन दिने ।
(ज) प्रत्येक कार्य क्षेत्रमा प्राथमिक उपचारको लागि आवश्यक औषधि तथा साधन राख्ने र कामदारहरूको लागि स्वास्थ्यकर वातावरण कायम गर्ने ।
(झ) पेट्रोलियम सम्झौतामा व्यवस्था भएबमोजिम आवश्यक बीमाको व्यवस्था गर्ने ।
(ञ) प्रत्येक कार्य क्षेत्रमा सुरक्षा तथा आगो निभाउने उपकरणको व्यवस्था गर्ने ।

२६. इनारको सञ्चालन र सम्भार : (१) ठेकेदारले इनारमा कुनै ड्रिलि· वा वर्क ओभर कार्यहरू गर्नुभन्दा कम्तीमा पन्ध्र (१५) दिन अगावै ड्रिलि· कार्यक्रमको विस्तृत विवरणसहित त्यस्तो कार्यको लिखित सूचना विभागलाई दिनु पर्नेछ । ठेकेदारले लगिङ वा केसि· कार्य गर्नुभन्दा अगावै त्यस्तो कार्यहरूको सम्भव भएसम्मको विवरण विभागलाई दिनु पर्नेछ ।
(२) इनार खन्दा, उत्पादन तथा सम्भार कार्य गर्दा ठेकेदारले देहायबमोजिम गर्नु पर्नेछ :
(क) उत्पादन क्षेत्रको सीमाना नाघ्ने गरी भूमिगत ठाडो सतहलाई छेड्ने इनार खन्न हुँदैन ।
(ख) प्रत्येक इनारमा अकस्मात पेट्रोलियम निष्काशन नियन्त्रण गर्ने उपकरण (ब्लोआउट प्रिभेन्टर) जडान गरी चालू हालतमा राख्नु पर्नेछ र निर्धारित तरिकाबमोजिम त्यस्तो उपकरणको समय समयमा परीक्षण गरी त्यसको अभिलेख राख्नु पर्नेछ ।
(ग) कुनै इनारबाट अकस्मात पेट्रोलियम निष्काशन (ब्लोआउट) हुन नदिन उचित परिमाणमा उपयुक्त गुणको माटो प्रयोग गर्नु पर्नेछ ।
(घ) इनारको सम्पूर्ण गहिराइमा दश (१०) मिटरको दूरीमा वा विभागले निर्देश गरेबमोजिम नबढाई कटान (कटिङ्ग) नमूना लिनु पर्नेछ र त्यस्तो नमूनाहरूमा सम्बन्धित इनारको नम्बर र गहिराई उल्लेख गरी राख्नु पर्नेछ ।
(ङ) कोर नमूना लिइएमा कोरहरूलाई विभाजन गरी स्टाटिग्राफिक क्रमानुसार कोर बाकसमा राख्नु पर्नेछ र प्रत्येक कोर बाकसमा कोर संख्या र कोरहरूको माथिल्लो र तल्लो भागको गहिराइ, कोर प्राप्तिको प्रतिशत र इनारको नामसमेत उल्लेख गरी राख्नु पर्नेछ ।
(च) खण्ड (घ) र (ङ) बमोजिम लिइएको कटान र कोर नमूनाको एक भाग मनासिब समयभित्र विभागलाई उपलब्ध गराउनु पर्नेछ ।
२७. बहावदर नाप्ने उपकरण र विधि  (१) कच्चा तेल वा प्राकृतिक ग्याँस उत्पादन गर्दा ठेकेदारले कच्चा तेल वा प्राकृतिक ग्याँसको वहावदर नाप्नको लागि विभागले तोकिदिए बमोजिमको उपकरण जडान गर्नुपर्नेछ ।
(२) उपनियम (१) बमोजिम उपकरणको जडान गर्ने तरिका वा कच्चा तेल वा प्राकृतिक ग्याँसको बहावदर नाप्ने, हरहिसाब गर्ने तथा क्यालिब्रेसन गर्ने प्रक्रिया विभागले तोकिदिएबमोजिम हुनेछ ।
(३) कच्चा तेलको सापेक्षित भार तथा औसत तापक्रम र कच्चा तेलमा थिग्रेनी (सेडिमेण्ट) र पानीको परिमाण निर्धारण गर्ने आधार र प्रक्रिया विभागले तोकिदिएबमोजिम हुनेछ ।
(४) कच्चा तेल वा प्राकृतिक ग्याँसको वहावदर नाप्ने उपकरण क्षतिग्रस्त भएमा वा अन्य कुनै कारणले प्रयोग गर्न नसकिने भएमा विभागले स्वीकृति गरेबमोजिम प्राप्त सर्वोत्तम तथ्याङ्क प्रयोग गरी ठेकेदारले बहावदर मूल्याङ्कन गर्नु पर्नेछ ।
(५) कच्चा तेल वा प्राकृतिक ग्याँसको बहावदर नाप्ने उपकरणको क्यालिब्रेसन पूरा भएको मितिले सात (७) दिनभित्र विभागले तोकिदिएको ढाँचामा ठेकेदारले क्यालिब्रेसनको प्रतिवेदन विभागमा पेश गर्नु पर्नेछ ।

२८. स्थायी सुविधाहरूको निर्माण, सम्भार तथा प्रयोग : (१) ठेकेदारले उत्पादन क्षेत्रमा पेट्रोलियम कार्यको लागि आवश्यक पर्ने सबै सुविधाहरूको निर्माण, सञ्चालन, मर्मत तथा सम्भार गर्नु पर्नेछ ।

परिच्छेद–७ प्रतिवेदन तथा सूचना

 

३०. प्रतिवेदन तथा सूचना : (१) ठेकेदारले आफूले गरेको पेट्रोलियम कार्यसम्बन्धी देहाय बमोजिमको प्रतिवेदन तथा सूचना विभागमा पेश गर्नु पर्नेछ :
(क) मासिक, त्रैमासिक तथा वार्षिक प्रतिवेदन ।
(ख) चुम्बकीय तथा गुरुत्वाकर्षण सर्भेक्षणको प्रतिवेदन ।
(ग) सतहगत भौगर्भिक सर्भेक्षणको प्रतिवेदन ।
(घ) साइस्मिक तथ्याङ्कको प्रतिवेदन र त्यसको विवेचन ।
(ङ) इनार खन्ने कार्यको प्रतिवेदन ।
(च) पेट्रोलियम भण्डार, स्थलको सीमाको जाँच पड्ताल तथा आर्थिक मूल्याङ्कन प्रतिवेदन ।
(छ) पेट्रोलियम उत्पादनको प्रतिवेदन ।
(ज) सुरक्षासम्बन्धी कार्यक्रम र दुर्घटनाको प्रतिवेदन ।
(झ) सेवा तथा मालसामान खरिद योजना र कटकेन्दारहरूसँग गरिएको सबै करारको प्रतिलिपिहरू ।
(ञ) डिजाइनको आधार, विवरण तथा नक्शा र निर्माणको अभिलेखहरू ।
(ट) पेट्रोलियम कार्यसम्बन्धी प्राविधिक जाँचपडतालको प्रतिवेदन ।
(ठ) पेट्रोलियम खर्चको विवरण ।
(ड) शैक्षिक तथा तालीम कार्यक्रमको प्रतिवेदन ।
(ढ) नेपाल सरकारले तोकिदिए बमोजिमको लेखा प्रणाली अनुसार चाहिने प्रतिवेदन ।
(ण) विभागले मागेको अन्य कुनै प्रतिवेदन ।
(२) ठेकेदारले पेट्रोलियम सम्झौताबमोजिम दिनुपर्ने सबै नमूना, प्रतिवेदन, कागजात, तथ्याङ्क तथा जानकारी विभागमा पेश गर्नु पर्नेछ ।

३१. चुम्बकीय तथा गुरुत्वाकर्षण सर्भेक्षण : (१) चुम्बकीय तथा गुरुत्वाकर्षण सर्भेक्षण सम्बन्धमा ठेकेदारले देहायको कुराहरू विभागमा पेश गर्नु पर्नेछ :
(क) १ः५०,००० र १ः२५०,००० मानको उडान मार्ग नक्शा ।
(ख) हवाई चुम्बकीय अभिलेखण टेप ।
(ग) पृथ्वीको चुम्बकीय क्षेत्र (माग्नेटिक फिल्ड) को दैनिक अभिलेख ।
(घ) चुम्बकीय तथा गुरुत्वाकर्षण सर्भेक्षण कार्यमा प्रयोग भएको उपकरणको विवरण ।
(ङ) पारदर्शी र कागजी प्रिन्टमा ठेकेदारले प्रयोग गरेको मानको साथै मान १ः५०,००० र १ः२५०,००० को भौगर्भिक बनौटको नक्शा तथा तल्लो भाग (वेसमेण्ट) को गहिराइ र चुम्बकीय तथा गुरुत्वाकर्षणको असर (इन्टेनसिटी) देखिने नक्शासहित खण्ड (क), (ख) र (ग) को विवेचनासम्बन्धी प्रतिवेदन ।
(२) खण्ड (क), (ख), (ग) र (घ) सम्बन्धी प्रतिवेदन चुम्बकीय तथा गुरुत्वाकर्षण सर्भेक्षण कार्य पूरा भएको तीस (३०) दिनभित्र र खण्ड (ङ) सम्बन्धी प्रतिवेदन त्यस्तो कार्य पूरा भएको नब्बे (९०) दिनभित्र पेश गर्नु पर्नेछ ।

३२. सतहगत भौगर्भिक सर्भेक्षण : ठेकेदारले सतहगत भौगर्भिक सर्भेक्षणको नतिजा त्यस्तो सर्भेक्षण कार्य समाप्त भएपछि उचित समयमा तर कुनै पनि हालतमा छ (६) महिना ननघाइ देहायका कुराहरू समेत विभागमा पेश गर्नु पर्नेछ :
(क) पारदर्शी तथा कागजी प्रिन्टमा ठेकेदारले प्रयोग गरेको मानको साथै मान १ः५०,००० र १ः२५०,००० को भौगर्भिक नक्शाहरू र मान १ः५०,००० को नमूना सङ्कलनको स्थान अङ्कित नक्शाहरू ।
(ख) चट्टानको किसिम, पेट्रोलोजी, परिमियाविलिटी र पोरोसिटीसमेत उल्लेख गरी पेट्रोलियम भण्डारको विश्लेषण ।
(ग) पेट्रोलियम सृजना हुने स्रोत चट्टान (सोर्सरको) कूल अर्गानिक कार्बोनको किसिम, परिपक्वता र परिमाणको विश्लेषण ।
(घ) पुरातत्व (पेलेन्टोलोजी) विश्लेषण, समस्थिति (स्टेटिग्राफी) तथा बनौटको वातावरण (इनभायरन्मेण्ट अफ डिपोजिसन) ।
३३. साइस्मिक सर्भेक्षण : (१) साइस्मिक सर्भेक्षण सम्बन्धमा ठेकेदारले देहायका कुराहरू विभागमा पेश गर्नु पर्नेछ :
(क) स्रोत तथा सङ्कलन ढाँचाको रेखा चित्रण (प्याटर्न डाइग्राम) ।
(ख) साइस्मिक सर्भेक्षणमा प्रयोग भएको उपकरणका विवरण ।
(ग) सर्भेक्षणमा प्रयोग भएको स्थायी चिन्हहरू अङ्कित मान १ः५०,००० को नक्शाहरू ।
(घ) पारदर्शी र कागजी प्रिन्टमा ठेकेदारले बेग्लै मान प्रयोग गरेको अवस्थामा सो मान तथा मान १ः५०,००० र १ः२५,००० को विष्फोटन स्थान (शट प्वाइन्ट) अङ्कित नक्शाहरू ।
(ङ) स्रोत तरङ्कको विशेषताको विश्लेषण ।
(च) वेदरिङ प्रोफाइल ।
(छ) चुम्बकीय फिल्ड टेपहरू र अन्तिम प्रशोधन टेपहरूको साथै पुनः प्रशोधन गरिएको टेप पुनः विवेचना गर्न वा इनारको स्थान यकीन गर्नको लागि प्रयोग गरिएको अवस्थामा त्यस्तो पुनः प्रशोधित टेपहरू ।
(ज) पारदर्शी र कागजी प्रिन्टमा प्रति सेकेन्ड दश सेन्टिमिटर तथा प्रति सेकेन्ड पाँच सेन्टिमिटर ठाडो मानको प्रशोधित तथा प्रशोधित साइस्मिक सेक्सनहरू ।
(झ) ठेकेदारले विवेचना गरेको र पुनः विवेचना गरेको साइस्मिक सेक्सनका प्रतिहरू ।
(ञ) प्रत्येक विष्फोटन स्थानहरू (शट प्वाइन्टस्) वा ठेकेदारले निश्चित गरेको इन्टरभल भेलोसिटी तथा भेलोसिटी विश्लेषण ।
(ट) ठेकेदारले विबेचना गरेको प्रत्येक सतह (होराइजन) को मोटाई, बनावट फेसिज, वातावरण, भू–रसायनिक परिपक्वता सहितको साइस्मिक विवेचना तथा ठेकेदारले आफ्नो अध्ययनको समयमा तयार पारेको अन्य विवेचित नक्शाहरू ।
(ठ) ठेकेदारले प्रयोग गरेको मानको साथै मान १ः२५,००० मा खण्ड (ञ) तथा (ट) अन्तर्गत तयार पारिएका नक्शाहरू ।
(२) खण्ड (क), (ख), (ग), (घ), (ङ), (च), (छ), (ज) र (झ) अन्तर्गतका प्रतिवेदनहरू साइस्मिक प्रोफाइलहरू प्राप्त भएपछि यथाशक्य छिटो र साइस्मिक प्रोफाइलको विवेचना समाप्त भएपछि त्यसको साठी (६०) दिनभित्र पेश गर्नु पर्नेछ ।
(३) खण्ड (ञ), (ट) र (ठ) अन्तर्गतका प्रतिवेदनहरू विवेचना कार्य पूरा भएको नब्बे (९०) दिनभित्र पेश गर्नु पर्नेछ ।

३४. अन्वेषण तथा उत्पादन इनारको खनन् : अन्वेषण तथा उत्पादन इनारको खनन् सम्बन्धमा ठेकेदारले देहायका समयावधिभित्र देहायका कुराहरू विभागमा पेश गर्नु पर्नेछ :
(क) प्रत्येक दिनको १३ः०० बजेभित्र निम्नलिखित विवरण सहित अघिल्लो दिनको प्रतिवेदन :
(१) इनार र ठेकेदारको नाम ।
(२) कार्य सञ्चालन मिति र समय ।
(३) ड्रिलिङ्गरिंगको नाम ।
(४) सम्बन्धित इनारमा पहिले काम भएका दिनहरू ।
(५) प्रतिवेदन दिंदाको समयमा इनारको गहिराई ।
(६) इनारको ब्यास ।
(७) ड्रिलिंग बिटको प्रकार, र नाप ।
(८ इनारको झुकाव ।
(९) ड्रिलिंग माटोको प्रकार, तौल र विवरण ।
(१०) विगत २४ घण्टाभित्रको काम र समस्या ।
(११) विगत २४ घण्टाभित्रको प्रश्त्तर तत्व (लिथोलोजी) ।
(१२) पेट्रोलियम पत्ता लागेको ।
(१३) केसिङ्गको प्रकार, नाप, तौल र गहिराई ।
(१४) जोडाइ (सिमेन्टिङ्ग) ।
(१५) अकस्मात पेट्रोलियम निष्काशन अवरोधक (ब्लोआउट प्रिभेन्टर), केसिङ्ग र अन्य सम्बन्धित उपकरणको चाप परीक्षण ।
(१६) लगिङ्गको प्रकार र गहिराई सहितको इनारको लगि· ।
(१७) कोर नमूनाको सङ्कलन ।
(१८) वहावको परीक्षण र त्यसको गहिराई ।
(१९) इनारको परित्याग ।
(२०) ड्रिलिङ्ग रिंग फुकुवा गरिएको ।
(२१) मौसमको अवस्था ।
(ख) साधारण लगिङ कार्यको सिलसिलामा विभिन्न मानमा प्राप्त इनारको लगको अतिरिक्त लगिङ कार्य पूरा भएको तीस (३०) दिनभित्र पारदर्शी र कागजी प्रिन्टमा मान १ः१००० को लगातार स्पलाइस्ड गरिएको इनारका पूर्ण लगहरू ।
(ग) इनार पूरा भएको नब्बे (९०) दिनभित्र सोको प्रतिवेदन पेश गर्नु पर्नेछ । उक्त अवधिभित्र प्रतिवेदन पेश गर्न नसक्ने स्पष्ट कारण र आधार भएमा विभागले नब्बे दिनसम्मको थप म्याद दिन सक्नेछ र यस्तो प्रतिवेदनमा इनारको नतीजाको पूर्ण विवरण, परीक्षण नतीजा भूगर्भ तथा लिथोलोजीको विवरण, लग विवेचना नतीजा तथा सुत्रसहित हरहिसाब गर्ने तरीका र पेट्रोलियम, पानी तथा चाप विश्लेषण
समावेश हुनु पर्नेछ र देहायका कुराहरूसमेत समावेश भएको हुनु पर्नेछ :
(१) लग कर्भस
(२) प्रश्तर तत्व (लिथोलोजी) को वर्णन
(३) फर्मेशन टपस
(४) भेलोसिटीको जानकारी
(५) (पेट्रोलियमको) देखावट तथा परीक्षणहरू
(६) केसिङ र प्लगहरू
(७) कोरहरू
(८) पेलेन्टोेलोजिक र पेलिनोलोजिक चिह्नहरू
(९) बनौटको वातावरण (इनभायरोन्मेन्ट अफ डिपोजिसन)
(१०) इनारको नतीजाको विवेचनामा सहयोग हुने गरी ठेकेदारले इनार लगमा आफ्नो तर्फबाट अङ्कित गरेको अन्य जानकारी ।
(घ) विवेचना कार्य पूरा भएको तीस (३०) दिनभित्र सुत्रसहित हरहिसाब गर्ने तरीकासमेत इनारको लगिङ्गको विवेचन ।
(ङ) इनार खन्ने कार्य पूरा भएको तीस(३०) दिनभित्र नमूना विश्लेषणको प्रतिवेदन ।
(च) इनार परीक्षण कार्य पूरा भएको तीस (३०) दिनभित्र देहायको विवरणसहित त्यस्तो परीक्षणको प्रतिवेदन :
(१) परीक्षणको गहिराई ।
(२) हाइड्रोकार्बोन र पानी ।
(३) हाइड्रोकार्बोन र पानीको विश्लेषण ।
(४) चापको विश्लेषण ।
३५. पेट्रोलियम उत्पादन : पेट्रोलियम उत्पादन सम्बन्धमा ठेकेदारले देहायका समयावधिभित्र देहायका कुराहरू विभागमा पेश गर्नु पर्नेछ :
(क) प्रत्येक दिनको १३ः०० बजेभित्र निम्नलिखित विवरणसहित अघिल्लो दिनको प्रतिवेदन :
(१) उत्पादन गरेको पेट्रोलियमको परिमाण ।
(२) सञ्चय, बिक्री वा खर्च गरेको पेट्रोलियमको परिमाण ।
(३) इन्धनको रूपमा प्रयोग गरेको पेट्रोलियमको परिमाण ।
(४) बालिएको पेट्रोलियमको परिमाण ।
(५) गुरुत्वाकर्षण र तरलता (भिस्कोसिटी) ।
(६) वाष्पचाप ।
(७) पोर प्वाइण्ट ।
(८) औषविन्दु (हिउ प्वाइण्ट) तथा प्राकृतिक ग्याँसको संयोजन ।
(९) दूषित तत्वहरू (इमप्योरिटिज) ।
(१०) निस्केको पानी तथा विश्लेषणको परिणाम ।
(११) ट्यूविङ्ग र केसिङ्ग चाप ।
(१२) चोकको नाप ।
(१३) इनारको परीक्षण ।
(१४) विगत २४ घण्टाको कार्य ।
(ख) वर्कओभर कार्य पूरा भएको तीस (३०) दिनभित्र त्यस्तो कार्यको विवरण, अवधि तथा त्यस्तो कार्य गर्नाको कारणसहितको प्रतिवेदन ।
(ग) स्टिमुलेशन कार्य पूरा भएको तीस (३०) दिनभित्र त्यस्तो कार्यको निमित्त प्रयोग गरिएको तरीका तथा मालसामानको विवरणसमेत उल्लेख भएको प्रतिवेदन ।
(घ) पिंधको चाप (वटम होल प्रेसर) परीक्षण कार्य पूरा भएको पन्ध्र (१५) दिनभित्र त्यस्तो परीक्षणको प्रतिवेदन ।
(ङ) उत्पादन परीक्षण कार्य पूरा भएको तीस (३०) दिनभित्र हर हिसाबको विस्तृत विवरणसहित त्यस्तो परीक्षणको प्रतिवेदन ।
(च) पेट्रोलियम भण्डारहरूसम्बन्धी प्रतिवेदन स्थलको सीमा र आर्थिक मूल्याङ्कन (विकास कार्यक्रममा उल्लेख गरिएबमोजिम) ।

परिच्छेद – ८ भू–वहाल, बोनस तथा अन्य दस्तुर

३६. भू–वहाल तथा अन्य दस्तुर : ठेकेदारले अनुसूची –३ मा उल्लिखित दरमा डलरमा नेपाल सरकारलाई भू–वहाल तथा अन्य दस्तुर बुझाउनु पर्नेछ ।

३७. भू–वहालको हर हिसाब : वार्षिक भू–वहालको रकम वर्षभरिमा उपयोग गरिने क्षेत्रको अनुपातमा वर्षको आधारमा निर्धारण गरिनेछ । भू–वहाल बुझाउँदा भू–वहालको रकम निर्धारण गरिएको तरीकासमेत समावेश गर्नु पर्नेछ । कुनैै वर्षमा तिर्नुपर्ने रकममा असर पर्ने गरी करार क्षेत्रको क्षेत्रफलमा परिवर्तन भएमा अर्को वर्षको लागि तिर्ने रकम त्यस्तो क्षेत्र परिवर्तन अनुसार मिलाइनेछ ।

३८. भू–वहाल बुझाउने समय : ठेकेदारले पहिलो वर्षको भू–वहाल लागू मितिले तीस (३०) दिनभित्र र त्यसपछिको प्रत्येक वर्षको भू–वहाल वर्ष शुरु भएको तीस (३०) दिनभित्र बुझाउनु पर्नेछ ।
३९. हस्ताक्षर तथा उत्पादन बोनस : पेट्रोलियम सम्झौतामा हस्ताक्षर बोनस र उत्पादन बोनस बुझाउनु पर्ने व्यवस्था भएमा हस्ताक्षर बोनस लागू मितिले तीस (३०) दिनभित्र र उत्पादन बोनस व्यापारिक उत्पादन दिनको नब्बे (९०) दिनभित्र बुझाउनु पर्नेछ ।

परिच्छेद–९ निरीक्षण तथा जाँचबुझ

४०. निरीक्षण तथा जाँचबुझ : (१) निरीक्षकले जुनसुकै समयमा कुनै करार क्षेत्रमा गई निरीक्षण तथा जाँचबुझ गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम निरीक्षण तथा जाँचबुझ गर्दा निरीक्षकले आवश्यक सरसामान तथा मानिसहरू साथमा लैजान सक्नेछ ।

४१. स्पष्टीकरण माग गर्ने अधिकार : निरीक्षण तथा जाँचबुझ गर्दा ठेकेदारले ऐन, यस नियमावली तथा पेट्रोलियम सम्झौताबमोजिम गर्नु पर्ने काम नगरेको वा कुनै अनियमित काम गरेको देखिएमा सो सम्बन्धमा निरीक्षकले ठेकेदारसँग स्पष्टीकरण माग गर्न सक्नेछ र ठेकेदारले निरीक्षकले तोकिदिएको समयभित्र लिखित स्पष्टीकरण दिनु पर्नेछ ।

४२. निरीक्षण तथा जाँचबुझ प्रतिवेदन : (१) निरीक्षकले निरीक्षण तथा जाँचबुझको प्रतिवेदन विभागले तोकिदिएको समयभित्र विभागमा पेश गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम प्रतिवदेन प्राप्त भएपछि विभागले ठेकेदारलाई आवश्यक निर्देशन दिन सक्नेछ र त्यस्तो निर्देशनको पालना गर्नु ठेकेदारको कर्तव्य हुनेछ ।

परिच्छेद–१० परामर्श समिति

४३. समितिको गठन : (१) ऐनको दफा ७ बमोजिम देहाय बमोजिमको पेट्रोलियम परामर्श समिति गठन हुनेछ :
(क) उद्योग मन्त्री वा राज्यमन्त्री – अध्यक्ष
(ख) गभर्नर, नेपाल राष्ट्र बैंक – सदस्य
(ग) सचिव, उद्योग मन्त्रालय – सदस्य
(घ) सचिव, अर्थ मन्त्रालय – सदस्य
(ङ) सचिव, गृह मन्त्रालय – सदस्य
(च) सचिव, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय – सदस्य
(छ) सचिव, वन तथा भू–संरक्षण मन्त्रालय – सदस्य
(ज) सचिव, खानी तथा भूगर्भ विभाग – सदस्य
(झ) परियोजना प्रमुख, पेट्रोलियम अन्वेषण परियोजना – सदस्य–सचिव
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि उद्योग मन्त्रालयमा मन्त्री र राज्यमन्त्री दुबैलाई जिम्मेवारी सुम्पिएको अवस्थामा उद्योग राज्यमन्त्रीले समितिको उपाध्यक्ष भई कार्य गर्नेछ ।
४४. समितिको काम, कर्तव्य र अधिकार : देहायका विषयमा नेपाल सरकारलाई परामर्श दिनु समितिको कर्तव्य हुनेछ :
(क) पेट्रोलियम कार्य गर्नको लागि ठेकेदारको छनौट ।
(ख) पेट्रोलियम सम्झौतामा संशोधन गर्ने ।
(ग) ………….
(घ) पेट्रोलियम कार्यमा नेपाल सरकार हिस्सेदार बन्ने ।
(ङ) पेट्रोलियमको आन्तरिक मागको आपूर्ति ।
(च) ऐनको दफा १२ बमोजिम पेट्रोलियमको निर्यातमा अस्थायी बन्देज लगाउने ।
(छ) ………….
(ज) ठेकेदारको अधिकार तथा दायित्व सार्ने ।
(झ) संयुक्त हिस्सेदारी (ज्वाइन्ट भेञ्चर) व्यवस्था ।
(ञ) मध्यस्थता सम्बन्धी ।
(ट) पेट्रोलियम सम्झौता रद्द गर्ने ।
(ठ) नेपाल सरकारले तोकेको अन्य जुनसुकै विषय ।
४५. समितिको बैठक र कार्यविधि : (१) समितिको बैठक अध्यक्षले तोकेको समय र स्थानमा बस्नेछ ।
(२) समितिको बैठकको अध्यक्षता अध्यक्षले वा अध्यक्षको अनुपस्थितिमा अध्यक्षले तोकेको व्यक्तिले वा त्यसरी बैठकको अध्यक्षता गर्नको लागि अध्यक्षले कुनै व्यक्तिलाई नतोकेमा समितिका सदस्यहरूले छानेको व्यक्तिले गर्नेछ ।
(३) समितिको बैठकमा बहुमतको राय मान्य हुनेछ । मत बराबर भएमा अध्यक्षता गर्ने व्यक्तिले निर्णयात्मक मत दिन सक्नेछ ।
(४) सदस्य–सचिवले समितिको निर्णयको अभिलेख राख्ने र प्रमाणित गर्नेछ ।
(४क) समितिले आवश्यक देखेमा पेट्रोलियम अन्वेषण वा उत्पादन वा उद्योग सञ्चालनसँग सम्बन्धित विज्ञ वा कुनै निकायको पदाधिकारीलाई बैठकमा आमन्त्रण गर्न सक्नेछ ।
(५) समितिको बैठकसम्बन्धी अन्य कार्यविधि समितिले निर्धारण गरे बमोजिम हुनेछ ।

परिच्छेद – ११ सरकारी हिस्सेदारी

४६. हिस्सेदार बन्ने अधिकार : नेपाल सरकारलाई पेट्रोलियम सम्झौता बमोजिमको पेट्रोलियम कार्यमा पेट्रोलियम सम्झौतामा तोकिएको प्रतिशतसम्मको हिस्सेदार बन्ने अधिकार हुनेछ ।

४७. हिस्सेदार बन्ने विधि : पेट्रोलियम सम्झौता बमोजिमको पेट्रोलियम कार्यमा नेपाल सरकार हिस्सेदार बन्ने विधि पेट्रोलियम सम्झौतामा तोकिएबमोजिम हुनेछ ।

४८. खर्चको शोधभर्ना : नेपाल सरकार पेट्रोलियम कार्यमा हिस्सेदार बनेमा नेपाल सरकारले पेट्रोलियम कार्यमा हिस्सेदार बन्न खोजेको समय सम्ममा ठेकेदारले गरेको पेट्रोलियम खर्चमध्ये आफ्नो हिस्साको पेट्रोलियम खर्च बिना व्याज पेट्रालियम सम्झौतामा तोकिएको शर्त अनुसार ठेकेदारलाई सोधभर्ना गर्नेछ । तर ठेकेदारले तालीम तथा शिक्षाको लागि गरेको खर्च, नेपाल सरकारलाई तिरेको बोनस वा अन्य कुनै रकमको कुनै हिस्सा सोधभर्ना गर्नु पर्ने छैन ।

४९. सञ्चालन सम्झौता : पेट्रोलियम सम्झौता बमोजिमको पेट्रोलियम कार्यमा नेपाल सरकार हिस्सेदार बनेमा अन्तर्राष्ट्रिय तेल उद्योगको प्रचलन अनुसार नेपाल सरकार र ठेकेदारबीच सञ्चालन सम्झौता गरिनेछ ।

परिच्छेद–१२ विविध

५०. तथ्यांक, जानकारी आदि बिक्री गर्ने अधिकार : विभागलाई पेट्रोलियम कार्यको लागि खुल्ला गरिएको अन्वेषण खण्डसम्बन्धी भू–भौतिक एवं भौगर्भिक तथ्यांक, नक्शा, प्रतिवेदन तथा विश्लेषणहरूको साथै अन्य जानकारीहरू बिक्री गर्ने अधिकार हुनेछ ।

५१. मूल तथ्यांक र नमूना नेपालमै राख्नु पर्ने : ठेकेदारले नेपालमा पेट्रोलियम कार्य गर्दा प्राप्त गरेको सम्पूर्ण मूल तथ्यांक तथा नमूना र तत्सम्बन्धी प्रतिवेदनहरू विभागले परीक्षण, विश्लेषण तथा मूल्याङ्कनको लागि नेपाल बाहिर लैजान अनुमति दिएमा बाहेक नेपालमै राख्नु पर्नेछ ।

५२. सुविधा उपलब्ध गराउनु पर्ने : विभागलाई सम्पूर्ण पेट्रोलियम कार्यको सुपरिवेक्षण गर्न तथा ठेकेदारलाई सहयोग गर्नको लागि प्रतिनिधि खटाउने अधिकार हुनेछ र त्यस्तो प्रतिनिधिहरूको मनासिब खर्च ठेकेदारले व्यहोर्नेछ ।

५३. जमानत दिनु पर्ने : ठेकेदारले पेट्रोलियम सम्झौताबमोजिमको आफ्नो कार्य दायित्वको सम्पादन निश्चित गर्न नेपाल सरकारलाई मान्य हुने वित्तीय संस्थाको जमानत उपलब्ध गर्नु पर्नेछ ।
५३क.गोपनीयता : ठेकेदारले पेट्रोलियम कार्यको सिलसिलामा प्राप्त गरेको जानकारी, कागजात, तथ्यांक र वस्तुहरू पेट्रोलियम सम्झौताको अधीनमा रही गोप्य राख्नु पर्नेछ ।

५४. पेट्रोलियमको मूल्य निर्धारण : पेट्रोलियमको मूल्य वस्तुगत स्तरअनुसार निर्धारण गरिनेछ । निर्यात गरेको पेट्रोलियमको मूल्य जिन्सीको रूपमा सट्टापट्टा गर्ने (बारटर) वा विशेष सहुलियत दिने व्यवस्था नगरी नजिकको कारोबार (अम्सिलेय ट्रान्जेक्सन) मा असम्बद्ध तेस्रो पक्षबाट प्राप्त हुने भारित औसत मूल्यमा निर्धारण गरिनेछ ।

५५. एकीकरण : पेट्रोलियमको श्रोत संरक्षण गर्न तथा बढी फाइदाजनक तरीकाले विकास गर्न एक वा एकभन्दा बढी स्थलको संयुक्त विकास तथा सञ्चालन गर्न उपयुक्त भएमा विभागलाई एक वा बढी ठेकेदारहरूलाई विभागले तोकिदिएको संयुक्त सञ्चालन कार्यक्रम अन्तर्गत संयुक्त रूपले क्षेत्रको विकास गर्न आदेश दिने अधिकार हुनेछ ।

५६. संलग्न रहेको प्राकृतिक ग्याँसको उपयोग : कच्चा तेल उत्पादन गर्ने ठेकेदारले कच्चा तेलसित संलग्न रहेको प्राकृतिक ग्याँसको विकास गर्नु व्यापारिक दृष्टिले उपयुक्त नहुने ठहर्याएमा नेपाल सरकारलाई पेट्रोलियम सम्झौतामा उल्लेख भएबमोजिम त्यस्तो ग्याँस लिने र उपयोग गर्ने अधिकार हुनेछ ।

५७. सूचना प्रकाशित गर्ने : देहायका कुराहरूको सूचना नेपाल राजपत्रमा प्रकाशित गरिनेछ :
(क) पेट्रोलियम कार्य गर्न बोलपत्र आह्वान गरेको ।
(ख) पेट्रोलियम सम्झौतामा हस्ताक्षर भएको ।
(ग) ठेकेदारले क्षेत्र परित्याग गरेको ।
(घ) ठेकेदारलाई उत्पादन अनुमति प्रदान गरेको ।
(ङ) पेट्रोलियम सम्झौता रद्द गरेको ।

अनुसूची–१

(नियम ५ सँग सम्बन्धित)
बोलपत्रको ढाँचा
नेपाल सरकार,
खानी तथा भूगर्भ विभाग,
लैनचौर, काठामाडौं, नेपाल ।

मिति :–
……….. ……….. ………… देशको कानुनबमोजिम ……………….. नामले दर्ता भएको र… … … … … … … … … देशमा प्रधान कार्यालय भएको हामी पेट्रोलियम सम्झौताबमोजिम नेपाल पेट्रोलियम ऐन, २०४० र नेपाल पेट्रोलियम नियमावली, २०४१ को अधीनमा रही अन्वेषण खण्ड नं. …………….. मा पेट्रोलियम कार्य गर्न इच्छुक भएकोले देहायका कुराहरू खुलाइ बोलपत्र दस्तुर …………….. डलरको बैंक ड्राफ्ट संलग्न गरी यो बोलपत्र पेश गरेका छौं ।
(१) बोलपत्र दाताको तर्फबाट काम कारवाई गर्ने अधिकृत व्यक्तिको ः
(क) नाम :–
(ख) ठेगाना :–
(२) अन्वेषण अवधिमा गरिने न्यूनतम कार्य दायित्वहरू र खर्च : (अनुसूची २ को दफा १० हेर्नुस्)
(क) प्राथमिक अन्वेषवण अवधिमा कम्तीमा देहायबमोजिमका कार्य दायित्वहरू पूरा गरिनेछ :–कार्य दायित्वहरू रकम
(विवरण उल्लेख गर्ने)
…………………… ………………
…………………. ………………
…….. मिटर गहिराइ वा अमेरिकी डलर (………….) इकोनोमिक वेशमेण्टमध्ये जुन पहिले पुगिन्छ सम्मको …………. इनार खन्ने । त्यस्ता कार्य दायित्वहरू पूरा गर्न ………….. (……………) डलरको पेट्रोलियम खर्चको व्यवस्था गरिनेछ । जुन रकम माथि देखाइए बमोजिमका कार्य दायित्वहरूका लागि विभिन्न खण्डमा बाँडफाँड गरिएको छ ।
(ख) पहिलो पटक थपिने अन्वेषण अवधिमा कम्तीमा देहायबमोजिमका कार्य दायित्वहरू पूरा गरिनेछ ।
कार्य दायित्वहरू रकम
………………. …………………
……………. …………………..
……. मिटर गहिराइ वा अमेरिकी डलर (……….) इकोनोमिक वेशमेण्टमध्ये जुन पहिले पुगिन्छ सम्मको ………… इनार खन्ने । त्यस्ता कार्य दायित्वहरू पूरा गर्न ……… (…………) डलरको पेट्रोलियम खर्चको व्यवस्था गरिनेछ । जुन रकम माथि देखाइएबमोजिमका कार्य दायित्वहरूका लागि विभिन्न खण्डमा बाँडफाँड गरिएको छ ।
(ग) दोस्रो पटक थपिने अन्वेषण अवधिमा कम्तीमा देहायबमोजिमका कार्य दायित्वहरू पूरा गरिनेछ ।

कार्य दायित्वहरू रकम
(विवरण उल्लेख गर्ने)
……………. ……………….
…………….. ……………….
……… मिटर गहिराइ वा अमेरिकी डलर (……….)  इकोनोमिक वेशमेण्टमध्ये जुन पहिले पुगिन्छ सम्मको ………… इनार खन्ने । त्यस्ता कार्य दायित्वहरू पूरा गर्न ……… (…………) डलरको पेट्रोलियम खर्चको व्यवस्था गरिनेछ । जुन रकम माथि देखाइएबमोजिमका कार्य दायित्वहरूका लागि विभिन्न खण्डमा बाँडफाँड गरिएको छ ।
द्रष्टव्य :
(१) बोलपत्रदाताले एउटा पेट्रोलियम सम्झौता अन्तर्गत एक भन्दा बढी अन्वेषण खण्डमा पेट्रोलियम कार्य गर्न चाहेमा प्रत्येक अन्वेषण खण्डको लागि छुट्टाछुट्टै कार्य दायित्व र रकम प्रस्तावित गर्नु पर्नेछ ।
(२) प्राथमिक अन्वेषण अवधिमा इनार खन्ने दायित्व बाध्यात्मक हुने छैन ।
(३) शिक्षा तथा तालीम सुविधा उपलब्ध गराइने ः (अनुसँची २ को दफा ४८ को उपदफा (२) र (३) हेर्नुस् ।
(क) अन्वेषण अवधिको प्रत्येक करार वर्षमा पेट्रोलियम स्रोत विकाससँग सम्बन्धित क्षेत्रमा नेपाली नागरिकहरू (जो ठेकेदारका कर्मचारी होइनन्) लाई शिक्षा र तालीम प्रदान गर्न विभागले निर्देश गरेबमोजिम कम्तीमा ……………….( ……………..) डलर खर्च गरिनेछ । जस्तै : (उपलब्ध गराइने विद्वत्वृत्ति, शैक्षिक अनुदान, अध्ययन कार्यक्रम, पुस्तकालय, प्रयोगशाला, उपकरण आदि उल्लेख गर्ने)
(ख) लागू मितिबाट साठी (६०) दिनभित्र विभागले निर्देश गरेबमोजिम ………….(………..) डलरको अतिरिक्त रकम उपखण्ड (क) बमोजिम उपयोग गर्नको लागि उपलब्ध गराइनेछ ।
(४) रोयल्टी राखि सकेपछि र पेट्रोलियम खर्च उपर गरेपछि पेट्रोलियमको बाँडफाँड :
(क) कच्चा तेल दैनिक औसतको उत्पादनको खूद पेट्रोलियममा नेपाल सरकारको खूद पेट्रोलियममा ठेकेदारको हिस्सा
खण्ड व्यारेल प्रतिदिन हिस्सा १०,००० सम्म प्रतिशत प्रतिशत १०,००० देखि …. सम्म प्रतिशत प्रतिशत ……… देखि …………सम्म प्रतिशत प्रतिशत ……… देखि …………सम्म प्रतिशत प्रतिशत १,००,००० भन्दा माथि प्रतिशत प्रतिशत
(ख) प्राकृतिक ग्याँसःदैनिक औसत उत्पादनको खण्ड खूद पेट्रोलियममा नेपाल सरकारको हिस्सा खूद पेट्रोलियममा ठेकेदारको हिस्सा (एम.एम.सी.एफ.डि.) हिस्सा १०,००० सम्म प्रतिशत प्रतिशत १०,००० देखि ………. सम्म प्रतिशत प्रतिशत …… देखि ……….. सम्म प्रतिशत प्रतिशत ………. भन्दा माथि प्रतिशत प्रतिशत
(५) संलग्न कागजातहरू :
(क) बोलपत्रदाताको कानुनी अस्तित्वको प्रमाण ।
(ख) बोलपत्रमा हस्ताक्षर गर्ने व्यक्तिलाई प्राप्त अख्तियारीको प्रमाण ।
(ग) बोलपत्रदातासँग पेट्रोलियम कार्य गर्न आवश्यक जेथा, यन्त्र, उपकरण, औजार तथा विशेषज्ञहरू छन् भन्ने प्रमाण ।
(घ) अन्वेषण कार्यको तरिका तथा समय तालिका ।
(ङ) पहिलो करार वर्षमा गरिने अन्वेषण कार्यको वार्षिक कार्यक्रम तथा बजेट ।
(च) संयुक्त हिस्सेदार भए त्यसको प्रमाण ।

बोलपत्रदाताको नाम :–
अधिकृत हस्ताक्षर

अनुसूची – २

(नियम १० सँग सम्बन्धित)
पेट्रोलियम सम्झौताको ढाँचा
नेपाल सरकार, नेपाल (यसपछि “नेपाल सरकार” भनिएको) र …………. कानून अन्तर्गत सङ्गठित भई सञ्चालन भैरहेको ………. संस्था (यस पछि “ठेकेदार” भनिएको) बीच भएको सम्झौता ।
प्रस्तावना : नेपालभित्र रहेको पेट्रोलियमको सम्पूर्ण स्वामित्व नेपाल सरकारमा नै निहित रहेको र पेट्रोलियम कार्यसम्बन्धी सम्पूर्ण अधिकार नेपाल सरकारमा मात्र भएको, नेपाल सरकारले सर्वसाधारण जनताको सामाजिक तथा आर्थिक हितको लागि नेपालभित्र रहेको पेट्रोलियम श्रोतलाई विकास गरी त्यसको प्रवद्र्धन गर्ने इच्छा गरेको, ठेकेदारसँग पेट्रोलियम कार्य सञ्चालन गर्न आवश्यक पूँजी, प्राविधिक क्षमता र व्यावसायिक दक्षता भएको र अन्वेषण खण्ड नं. ……………… मा पेट्रोलियम कार्य गर्न ठेकेदार इच्छुक भएको, र नेपाल पेट्रोलियम ऐन, २०४० मा नेपाल सरकार र योग्य ठेकेदारबीच पेट्रोलियम सम्झौता गर्न सक्ने व्यवस्था भएको हुँदा, नेपाल सरकार र ठेकेदारले अन्वेषण खण्ड नं……. मा यस सम्झौतामा उल्लिखित व्यवस्थाको अधीनमा रही पेट्रोलियम कार्य सञ्चालन गर्ने सम्बन्धमा देहायबमोजिम गर्न मञ्जुर गरेका छन् ।

परिच्छेद–१ उद्देश्य र परिभाषा

१. उद्देश्य : (१) यस सम्झौताको उद्देश्य करार क्षेत्रमा पेट्रोलियम अन्वेषण, विकास र उत्पादन गर्नु हो ।
(२) नेपाल सरकारको सुपरिवेक्षणमा रही तथा यस सम्झौताको व्यवस्थाबमोजिम पेट्रोलियम कार्यको कार्यान्वयन गर्नको लागि ठेकेदार नेपाल सरकार प्रति उत्तरदायी हुनेछ ।
(३) यस सम्झौतामा व्यवस्था गरिएबमोजिम नेपाल सरकारको तर्फबाट गर्नु पर्ने पेट्रोलियम कार्यसम्बन्धी कामको निमित्त विभाग उत्तरदायी हुनेछ ।
(४) यस सम्झौतामा अन्यथा व्यवस्था गरिएकोमा बाहेक पेट्रोलियम कार्य सञ्चालन गर्नको लागि आवश्यक सबै पूँजी, प्रविधि र जनशक्ति ठेकेदारले उपलब्ध गराउनेछ ।
(५) यस सम्झौतामा अन्यथा व्यवस्था गरिएकोमा बाहेक पेट्रोलियम कार्य ठेकेदारले आफ्नै जोखिम र खर्चमा सञ्चालन गर्नेछ । त्यस्तो पेट्रोलियम कार्य गर्दा ठेकेदारले गरेको खर्च यस सम्झौताको परिच्छेद ६ बमोजिम ठेकेदारलाई सोधभर्ना गरिनेछ । यदि करार क्षेत्रमा व्यापारिक स्थल पत्ता नलागेमा वा प्राप्त गरेको उत्पादनबाट ठेकेदारको खर्च सोधभर्ना गर्न
अपर्याप्त भएमा त्यस्तो नोक्सानी ठेकेदार आफैले व्यहोर्नेछ ।
(६) यस सम्झौतामा व्यवस्था गरिएबमोजिम पेट्रोलियम कार्य गर्ने र उत्पादित पेट्रोलियमबाट भाग पाउने अधिकार बाहेक ठेकेदारलाई करार क्षेत्रमा रहेको पेट्रोलियममा कुनै अधिकार हुनेछैन ।

२. परिभाषा : नेपाल पेट्रोलियम ऐन, २०४० मा परिभाषा गरिएका शब्दहरूको अर्थ यस सम्झौताको प्रयोजनको लागि पनि त्यसै अनुरूपको हुनेछ । विषय वा प्रस·ले अर्को अर्थ नलागेमा यस सम्झौतामा,–
(क) “अन्वेषण अवधि” भन्नाले परिच्छेद २ मा उल्लेख भएबमोजिमको प्राथमिक अन्वेषण अवधि र त्यसमा थप भएको अवधि सम्झनु पर्छ ।
(ख) “अन्वेषण कार्य” भन्नाले पेट्रोलियम सम्झौता बमोजिम पेट्रोलियमको अन्वेषण गर्नको लागि र पत्ता लागेको पेट्रोलियमको व्यापारिक विकासको मूल्याङ्कन गर्नको लागि दफा १३ देखि १५ बमोजिमको वार्षिक कार्यक्रम वा दफा १७ बमोजिमको सम्भाव्यता कार्यक्रममा उल्लेख गरिएबमोजिमको आवश्यक सबै कार्य सम्झनु पर्छ ।
(ग) “असम्बद्ध पक्ष” भन्नाले पेट्रोलियम सम्झौता अन्तर्गतको कुनै पक्षसँग केही सम्बन्ध नभएको स्वतन्त्र व्यक्ति सम्झनु पर्छ ।
(घ) “उत्पादन अनुमति” भन्नाले दफा २४ बमोजिम प्रदान गरिने उत्पादन अनुमति सम्झनु पर्छ ।
(ङ) “उत्पादन अवधि” भन्नाले दफा २३ मा तोकिएबमोजिमको अवधि सम्झनु पर्छ ।
(च) “उत्पादन कार्य” भन्नाले पेट्रोलियमको उत्पादन शुद्धीकरण, ढुवानी, सञ्चय र बिक्री वितरण गर्ने आवश्यक सबै कार्य सम्झनु पर्छ ।
(छ) “उत्पादन क्षेत्र” भन्नाले उत्पादन अनुमतिमा उल्लिखित क्षेत्र सम्झनुपर्छ र सो शब्दले दफा ५, ६ र ८ को प्रयोजनको लागि उत्पादन अनुमतिको निवेदन विचाराधीन रहेको अवस्थामा त्यस्तो निवेदनमा उल्लिखित क्षेत्रलाई समेत जनाउँछ ।
(ज) “ऐन” भन्नाले नेपाल पेट्रोलियम ऐन २०४० सम्झनु पर्छ ।
(झ) “कटकेन्दार” भन्नाले पेट्रोलियम कार्यको लागि ठेकेदारले नियुक्त गरेको (हायर्ड) व्यक्ति सम्झनु पर्छ ।
(ञ) “करार वर्ष” भन्नाले लागू मिति वा त्यस्तो मितिको वार्षिक मितिबाट शुरु हुने ग्रेगोरियन पात्रो अनुसारको बाह्र (१२) महीनाको अविछिन्न अवधि सम्झनु पर्छ ।
(ट) “करार क्षेत्र” भन्नाले परिशिष्ट मा उल्लेख गरिए बमोजिम परिच्छेद २ र ३ अनुसार परित्याग भई घट्दै जाने क्षेत्र सम्झनु पर्छ ।
(ठ) “कार्यक्रम” भन्नाले दफा १३, १४, १७ र १८ अनुसार शुरु वार्षिक सम्भाव्यता वा विकास कार्यक्रम सम्झनु पर्छ ।
(ड) “ठेकेदारको भाग” भन्नाले दफा ३४ अन्तर्गत निर्धारण गरेबमोजिम करार क्षेत्रमा उत्पादित पेट्रोलियम मध्येबाट ठेकेदारले पाउने पेट्रोलियमको भाग सम्झनु पर्छ ।
(ढ) “डलर” भन्नाले संयुक्त राज्य अमेरिकाको डलर सम्झनु पर्छ ।
(ण) “नियम” भन्नाले पेट्रोलियम नियमावली, २०४१ सम्झनु पर्छ ।
(त) “पेट्रोलियम खर्च” भन्नाले ठेकेदारले यस सम्झौता बमोजिम पेट्रोलियम कार्यको सञ्चालनमा गरेको परिच्छेद ७ मा परिभाषा गरिएबमोजिमको खर्च सम्झनु पर्छ ।
(थ) “बजेट” भन्नाले कार्यक्रममा समावेश गरिएको प्रत्येक कार्यको अनुमानित खर्च सम्झनु पर्छ ।
(द) “वर्ष (क्यालेण्डर यर) ” भन्नाले ग्रेगोरियन पात्रो अनुसार जनवरी १ तारीखमा शुरु भई त्यसै वर्षको डिसेम्बर ३१ तारीखमा अन्त्य हुने बाह्र (१२) महीनाको अविच्छिन्न अवधि सम्झनु पर्छ ।
(ध) “विकास कार्य” भन्नाले स्थललाई व्यापारिक रूपमा विकास गर्नको निमित्त दफा १८ बमोजिमको विकास कार्यक्रममा उल्लेख गरिएबमोजिमको आवश्यक सबै कार्य सम्झनु पर्छ ।
(न) “बिक्री वितरण” भन्नाले मूल्य लिई वा नलिई पेट्रोलियम बिक्री, साटफेर वा हस्तान्तरण गरेको सम्झनु पर्छ ।
(प) “व्यापारिक उत्पादन दिन” भन्नाले ठेकेदारले यस सम्झौताबमोजिम उत्पादन क्षेत्रबाट व्यापारिक परिमाणमा उत्पादित पेट्रोलियम पहिलो पटक बिक्री वितरण गरेको दिन सम्झनु पर्छ ।
(फ) “रोयल्टी” भन्नाले ऐनको दफा १३ बमोजिम नेपाल सरकारले राखिने पेट्रोलियमको परिमाण सम्झनु पर्छ ।
(ब) “लागू मिति” भन्नाले नेपाल सरकार र ठेकेदारले पेट्रोलियम सम्झौतामा हस्ताक्षर गरेको मिति सम्झनु पर्छ ।
(भ) “स्थल (फिल्ड)” भन्नाले कुनै एक भौगर्भिक बनावटको अवस्था वा समस्थितिक अवस्थासँग आवद्ध वा सम्बद्ध भएका र व्यापारिक रूपमा पेट्रोलियम उत्पादन गर्न सकिने एक वा धेरै पेट्रोलियम भण्डार भएको क्षेत्र सम्झनु पर्छ ।
(म) “नेपाल सरकारको भाग” भन्नाले दफा ३४ अन्तर्गत निर्धारण गरेबमोजिम करार क्षेत्रमा उत्पादित पेट्रोलियम मध्ये नेपाल सरकारको पेट्रोलियमको भाग सम्झनु पर्छ ।
(य) “त्रैमासिक अवधि (क्यालेण्डर क्वार्टर)” भन्नाले ग्रेगोरियन पात्रो अनुसार जनवरी १, अप्रिल १, जुलाई १ वा अक्टूवर १ बाट शुरु भई मार्च ३१, जुन ३० सेप्टेम्बर ३० वा डिसेम्बर ३१ मा अन्त्य हुने तीन (३) महीनाको अविच्छिन्न अवधि सम्झनु पर्छ ।

परिच्छेद–२ अन्वेषण अवधि

३. अन्वेषण अवधि : प्राथमिक अन्वेषण अवधि पेट्रोलियम सम्झौता लागू भएको मितिबाट करार वर्षको हुनेछ । प्राथमिक अन्वेषण अवधि समाप्त भएपछि दफा ४ को अधीनमा र अवधिको लागि लगातार दुई पटकसम्म अन्वेषण अवधि थप गर्न सक्नेछ ।

४. अन्वेषण अवधि बढाउने : अन्वेषण अवधि थप गर्न चाहेमा ठेकेदारले चालू अवधि समाप्त हुनुभन्दा कम्तीमा नब्बे (९०) दिन अघि विभागलाई सूचना दिनु पर्नेछ । ठेकेदारले चालू अवधिको लागि यस परिच्छेदमा उल्लिखित कार्य दायित्व पूरा गरिसकेको भएमा र दफा १२ अन्तर्गत नयाँ बैंक प्रत्याभूति उपलब्ध गराएमा मात्र विभागले अन्वेषण अवधिको म्याद बढाई
दिनेछ ।

५. थप म्याद : ठेकेदारले दोस्रो पटक थपिएको अन्वेषण अवधि समाप्त हुनु कम्तीमा नब्बे (९०) दिन अगावै कुनै तेलको इनारको सम्बन्धमा चालू भैरहेको खन्ने, लगिङ गर्ने, परीक्षण गर्ने वा थुन्ने काम पूरा गर्न वा सम्भाव्यता कार्य पूरा गर्न, पत्ता लागेको पेट्रोलियमको मूल्याङ्कन गर्न, विस्तृत विकास कार्यक्रम र बजेट तयार पार्न तथा पेश गर्न वा उत्पादन अनुमतिको लागि निवेदन दिन वा करार क्षेत्रमा पत्ता लागेको स्थलबाट प्राप्त पेट्रोलियमको निर्यात बजार निश्चित गर्न (नेपालको सीमाना र नेपाल बाहिरको खरिदकर्तालाई डेलिभरी दिने एफ.ओ.बी. केन्द्रको बीचमा आवश्यक बन्दोबस्त तथा पूर्वाधारहरूको व्यवस्था गर्न समेत) अन्वेषण अवधिको म्याद बढाउन विभागमा निवेदन दिएमा विभागले (………….. दिनमा नबढाई)
मनासिब अवधिको लागि अन्वेषण अवधिको म्याद पुनः बढाइ दिन सक्नेछ । ठेकेदारले कार्य चालू भैरहेको क्षेत्र निश्चित गर्नेछ र उत्पादन क्षेत्रमा नपरेको बाँकी करार क्षेत्र परित्याग गर्नेछ ।

६. अनिवार्य क्षेत्र परित्याग : (१) ठेकेदारले प्राथमिक अन्वेषण अवधिको अन्त्यसम्ममा उत्पादन क्षेत्रमा पर्ने क्षेत्र बाहेक शुरु करार क्षेत्रको कम्तिमा पचास (५०) प्रतिशत क्षेत्र परित्याग गर्नेछ ।
(२) ठेकेदारले पहिलो पटक थप भएको अन्वेषण अवधिको अन्त्यसम्ममा उत्पादन क्षेत्रमा पर्ने क्षेत्र बाहेक शुरु करार क्षेत्रको कम्तिमा पच्चीस (२५) प्रतिशत क्षेत्र परित्याग गर्नेछ ।
(३) दफा ५ को अधीनमा रही ठेकेदारले अन्वेषण अवधिको अन्त्यसम्ममा उत्पादन क्षेत्रमा नपरेको शुरु करार क्षेत्रको बाँकी सबै क्षेत्र परित्याग गर्नेछ ।

७. स्वेच्छिक परित्याग : अन्वेषण अवधिभित्र ठेकेदारले कुनै पनि समयमा विभागलाई नब्बे (९०) दिनको पूर्व सूचना दिई करार क्षेत्रको जुनसुकै क्षेत्र परित्याग गर्न सक्नेछ र त्यस्तो सबै स्वेच्छिक परित्याग दफा ६ मा तोकिएको अनिवार्य परित्यागमा समावेश (क्रेडिट) गरिनेछ ।

८. न्यूनतम दायित्व : क्षेत्र परित्याग गर्दैमा ठेकेदार दफा १० मा उल्लिखित दायित्वहरूबाट मुक्त हुनेछैन । तर पहिलो वा दोस्रो पटक थपिने अन्वेषण अवधि शुरु हुनुभन्दा अगावै ठेकेदारले करार क्षेत्रको बाँकी सबै क्षेत्र स्वेच्छिक परित्याग गरेमा पहिलो वा दोस्रो पटक थपिने अवधिमा गर्नुपर्ने कामको दायित्वबाट मुक्त हुनेछ ।

९. परित्याग गरिने क्षेत्रसम्बन्धी बन्देजहरू : परित्याग गरिएको प्रत्येक क्षेत्र शुरु करार क्षेत्रको दश (१०) प्रतिशत भन्दा कम हुनु हुँदैन र नियममा उल्लेख भएबमोजिमको आकारमा एकै चक्ला परेको हुनेछ ।
१०. कार्य दायित्वहरू : (१) ठेकेदारले प्राथमिक अन्वेषण अवधिमा कम्तीमा देहायबमोजिमका कार्य दायित्वहरू पूरा गर्नेछ :

कार्य दायित्वहरू रकम
(विवरण उल्लेख गर्ने)
………….. ………………
…………….. ……………..
…. मिटर गहिराई वा इकोनोमिक अमेरिकी डलर (…………..) वेशमेण्टमध्ये जुन पहिले पुगिन्छ सम्मको ………. इनार खन्ने ।
ठेकेदारले त्यस्ता कार्य दायित्वहरू पूरा गर्न ……… (…………) डलरको
पेट्रोलियम खर्चको व्यवस्था गरेको छ । जुन रकम माथि उल्लेखित कार्य
दायित्वहरूको लागि विभिन्न खण्डमा बाँडफाँड गरिएको छ ।
(२) ठेकेदारले पहिलो पटक थपिने अन्वेषण अवधिमा कम्तीमा देहायबमोजिमका कार्य दायित्वहरू पूरा गर्नेछ कार्यदायित्वहरू रकम
(विवरण उल्लेख गर्ने)
…………………… …………….
……………………… …………………
…………. मिटर गहिराइ वा अमेरिकी डलर (……….)
इकोनोमिक वेशमेण्टमध्ये जुन पहिले पुगिन्छ सम्मको ………… इनार खन्ने ।
ठेकेदारले त्यस्ता कार्य दायित्वहरू पूरा गर्न ……… (…………) डलरको
पेट्रोलियम खर्चको व्यवस्था गरेको छ । जुन रकम माथि उल्लेखित कार्य
दायित्वहरूको लागि विभिन्न खण्डमा वाँडफाँड गएिको छ ।
(३) ठेकेदारले दोस्रो पटक थपिने अन्वेषण अवधिमा कम्तीमा देहायबमोजिमका कार्य दायित्वहरू पूरा गर्नेछ :
कार्यदायित्वहरू रकम (विवरण उल्लेख गर्ने)
…………………… ……………. ……………………… ………………… ………… मिटर गहिराइ वा अमेरिकी डलर (……….)
इकोनोमिक वेशमेण्टमध्ये जुन पहिले पुगिन्छ सम्मको ………… इनार खन्ने । ठेकेदारले त्यस्ता कार्य दायित्वहरू पूरा गर्न ……… (…………) डलरको पेट्रोलियम खर्चको व्यवस्था गरेको छ । जुन रकम माथि उल्लेखित कार्य दायित्वहरूको लागि विभिन्न खण्डमा बाँडफाँड गरिएको छ ।

११. दायित्वहरूको निर्वाह : (१) दफा १० अन्तर्गत खर्च गर्नुपर्ने दायित्व पूरा गर्दैमा उक्त दफा अन्तर्गत गर्नुपर्ने कार्य दायित्वबाट ठेकेदार मुक्त हुनेछैन । दफा १० मा उल्लेख गरिएका कार्य दायित्वहरू पूरा गरेमा सो सम्बन्धी खर्चको दायित्वबाट ठेकेदार मूक्त हुनेछ ।
(२) यदि प्राथमिक अन्वेषण अवधिमा वा पहिलो पटक थपिएको अन्वेषण अवधिमा ठेकेदारले गर्नुपर्ने कार्य दायित्वभन्दा बढी कार्य दायित्व पूरा गरेमा त्यस्तो कार्य पछि थपिने अन्वेषण अवधिको कार्य दायित्वमा समावेश (क्रेडिट) गरिनेछ ।

१२. बैंक प्रत्याभूति : (१) प्राथमिक अन्वेषण अवधिको हकमा सम्झौता भएको मितिले तीस दिनभित्र र थप अन्वेषण अवधिहरुको हकमा त्यस्तो अवधि थपका लागि दिएको निवेदनसाथ ठेकेदारले नेपाल सरकारलाई मान्य हुने संस्थाबाट मान्य हुने ढाँचामा सम्बन्धित अन्वेषण अवधिको कार्य दायित्वको लागि तोकिएको जम्मा डलर बराबरको बैंक प्रत्याभूति उपलब्ध गराउनेछ । प्रष्ट छुटिन सकिने प्रत्येक कामको निमित्त लाग्ने खर्च बैंक प्रत्याभूतिमा प्रष्ट रूपले छुट्याइएको हुनु पर्नेछ ।
(२) कार्य दायित्वमध्ये प्रष्टरूपले छुटिन सकिने कार्य सम्पन्न भएपछि त्यस्तो कार्यको निमित्त बैंक प्रत्याभूतिमा छुट्याइएको रकमको अनुपातमा बैंक प्रत्याभूति समय समयमा घटाउँदै लगिनेछ ।
(३) प्राथमिक अन्वेषण अवधिको वा त्यसमा थपिएको अवधिको अन्त्यमा वा यो सम्झौता रद्द भएको मितिसम्म ठेकेदारले पूरा गर्नुपर्ने कार्य दायित्वमध्ये सबै वा केही कार्य पूरा गरेको रहेनछ भने त्यस्तो कार्यको निमित्त चालू बैंक प्रत्याभूतिमा छुट्याइएको सम्पूर्ण रकम ठेकेदार वा प्रत्याभूति दिनेले विभागलाई तुरुन्त भुक्तानी गर्नु पर्नेछ ।

१३. प्राथमिक अन्वेषण अवधिको कार्यक्रम र बजेट : प्राथमिक अन्वेषण अवधिमा गरिने पेट्रोलियम खर्च र उक्त अवधिमा ठेकेदारले गर्न चाहेको अन्वेषण कार्यहरूको संक्षेपीकरण सहितको कार्यक्रम र बजेट लागू मितिले तीस (३०) दिनभित्र ठेकेदारले विभागमा पेश गर्नेछ । त्यस्तो कार्यक्रम र बजेटमा ठेकेदारले पहिलो करार वर्षमा गर्न चाहेको अन्वेषण कार्यहरू र सोही करार वर्षमा गरिने सम्बन्धित पेट्रोलियम खर्चहरू उल्लेख गरिएको हुनेछ ।

१४. वार्षिक कार्यक्रम र बजेट : पहिलो करार वर्ष पछिको प्रत्येक करार वर्ष शुरु हुनुभन्दा कम्तीमा नब्बे (९०) दिन अगावै ठेकेदारले त्यस्तो करार वर्षभरिमा आफूले गर्न चाहेको अन्वेषण कार्यहरू र त्यसको लागि गरिने पेट्रोलियम खर्च उल्लेख गरी वार्षिक कार्यक्रम र बजेट विभागमा पेश गर्नेछ ।
१५. कार्यक्रम र बजेटमा संशोधन : दफा १३ र १४ अनुसार पेश गरिएको कार्यक्रम र बजेट दफा १० र १७ अन्तर्गतको ठेकेदारको दायित्व अनुरूपको हुनेछ । नयाँ भौगर्भिक जानकारी वा आधुनिक अन्वेषण प्रविधिको विकासको कारणले गर्दा दफा १३ र १४ बमोजिम निर्धारित कार्यक्रमहरूको विवरणहरू परिवर्तन गर्न परेमा ठेकेदारले विभागको स्वीकृति लिएर आवश्यक सम्झेका कुराहरू परिवर्तन गर्न सक्नेछ । तर त्यस्तो परिवर्तनले कार्यक्रमको मूख्य उद्देश्यमा फरक पर्ने हुनुहुँदैन र यस सम्झौताको व्यवस्थाबमोजिम बाहेक कुनै हालतमा पनि दफा १० मा उल्लिखित कार्य दायित्वबाट ठेकेदार मुक्त हुनेछैन ।

परिच्छेद–३ सम्भाव्यता र विकास

१६. फेला परेको सूचना : अन्वेषण कार्यबाट करार क्षेत्रभित्र पेट्रोलियम भएको संकेत पाउनासाथ ठेकेदारले त्यसको जानकारी विभागलाई तुरुन्त दिनेछ । त्यस्तो जानकारीमा फेला परेको पेट्रोलियम सम्बन्धमा उपलब्ध भएसम्मको विस्तृत विवरण समावेश हुनु पर्नेछ ।
करार क्षेत्रमा पेट्रोलियम फेला नपरे पनि ठेकेदारले त्यसको जानकारी विभागमा दिनु पर्नेछ ।
१७. सम्भाव्यता कार्यक्रम र बजेट : (१) फेला परेको पेट्रोलियम व्यापारिक महत्वको हुनसक्ने सम्भावना भएमा दफा १६ बमोजिम फेला परेको सूचना दिएको नब्बे (९०) दिनभित्र ठेकेदारले त्यस्तो पेट्रोलियम फेला परेको स्थलको व्यापारिक विकासको मूल्याङ्कन गर्नको लागि सम्भाव्यता कार्यक्रम तथा बजेटको विस्तृत विवरण स्वीकृतिको लागि विभागमा पेश गर्नेछ । ………………
(२) सम्भाव्यता कार्यक्रम वा पूरक सम्भाव्यता कार्यक्रममा एउटा वा धेरै इनार खन्ने वा परीक्षण गर्ने र उचित देखिएमा पेट्रोलियमको प्राप्ति, शुद्धीकरण, ढुवानी, सञ्चय र बजार व्यवस्थाको अध्ययन प्रतिवेदन समेत समावेश हुनु पर्नेछ । त्यस्तो कार्यक्रमको अवधि सम्भाव्यता कार्य पूरा गर्न चाहिने उचित समयावधिको हुनेछ र उचित कारण भएमा बढाउन सकिनेछ ।
१८. विकास कार्यक्रम र बजेट : (१) ठेकेदारले कुनै स्थललाई व्यापारिक रूपले विकास गर्न सकिने देखेमा मनासिव अवधिभित्र उत्पादन अनुमति माग गर्नु पर्नेछ र त्यस्तो स्थलबाट प्राप्त हुने पेट्रोलियमको शुद्धीकरण, ढुवानी र सञ्चयसँग सम्बन्धित सबै सुविधा र सेवाहरूको निर्माण, स्थापना र सञ्चालनको लागि विस्तृत विकास, कार्यक्रम र बजेट विभागमा पेश गर्नेछ ।

(२) विकास कार्यक्रममा डिजाइन र इञ्जिनीयरिंग, आवश्यक पूर्वाधार सम्बन्धी लगानी, नेपाली नागरिकहरूको तालीम र रोजगारी, नेपाली वस्तु र सेवाहरूको प्रयोग वृद्धि गर्ने योजना, वातावरणको संरक्षण सम्बन्धी योजना र लगानी रकम एवं विवरण समावेश भएको हुनु पर्नेछ । त्यस्तो कार्यक्रममा उत्पादन अनुमति माग गरिएको उत्पादन क्षेत्रको वर्णन गरिएको हुनु पर्नेछ ।
१९. कार्यक्रम र बजेटको स्वीकृति ः (१) सम्भाव्यता वा विकास कार्यक्रम र बजेट पेश भएपछि विभागले कार्यक्रम र बजेट मूल्याङ्कन गर्न चाहिने थप जानकारी तीस दिनभित्र ठेकेदारलाई पेश गर्न लगाउन सक्नेछ ।
(२) प्रत्येक सम्भाव्यता वा विकास कार्यक्रम र बजेट वा थप जानकारी पेश भएको साठी (६०) दिनभित्र विभागले सर्वमान्य तेल क्षेत्रको प्रचलन अनुरूप आफूले उचित देखेको संशोधन गर्न ठेकेदारलाई सल्लाह दिन सक्नेछ । ठेकेदारले आपसमा मञ्जुर भएबमोजिम संशोधन गरेपछि विभागले कार्यक्रम र बजेट स्वीकृत गर्नेछ ।
(३) नयाँ भौगर्भिक जानकारी वा बढी उपयुक्त पेट्रोलियम उद्योग प्रविधिको कारणले गर्दा स्वीकृत कार्यक्रम तथा बजेटमा संशोधन गर्न आवश्यक भएमा विभाग र ठेकेदारले संशोधन गर्न आपसमा मञ्जुर गर्नेछन्।
२०. वार्षिक कार्यक्रम र बजेट : सम्भाव्यता वा विकास कार्यक्रम र बजेट विभागबाट स्वीकृति भएपछि प्रत्येक वर्ष शुरु हुनु भन्दा कम्तिमा नब्बे (९०) दिन अगावै ठेकेदारले जुन स्थलको लागि सम्भाव्यता वा विकास कार्यक्रम र बजेट स्वीकृति भएको हो सो स्थलमा आगामी वर्ष ठेकेदारले गर्न चाहेको पेट्रोलियम कार्य एवं पेट्रोलियम खर्च उल्लेख गरी वार्षिक कार्यक्रम र बजेट विभागमा पेश गर्नेछ । त्यस्तो प्रत्येक वार्षिक कार्यक्रम र बजेट विभागले स्वीकृत गरेको सम्भाव्यता वा विकास कार्यक्रम र बजेट अनुरूपको हुनु पर्नेछ ।
२१. सम्भाव्यता अवधिपछि परित्याग ः कुनै स्थलको सम्भाव्यता कार्य पूरा भएको मितिले बाह्र (१२) महीनाभित्र ठेकेदारले त्यस्तो स्थलको उत्पादन अनुमतिको लागि आवेदन नगर्ने निधो गरेमा र त्यस्तो स्थलसहितको क्षेत्र परित्याग नगरेको भएमा र ठेकेदारले उत्पादन अनुमतिको लागि आवेदन नगर्नुको कारण, (१) स्थललाई व्यापारिक बनाउन अर्को स्थलसमेतको विकास संयुक्त रूपमा गर्न आवश्यक पर्न गएमा वा, (२) करार क्षेत्रमा पत्ता लागेको स्थलको पेट्रोलियमको निर्यात बजार निश्चित गर्न (नेपालको सीमाना र नेपाल बाहिरको खरिदकर्तालाई डेलिभरि दिने एफ.ओ.बी. केन्द्रको बीचमा आवश्यक बन्दोबस्त तथा पूर्वाधारहरूको व्यवस्था गर्न समेत) ढिलाई भएकोमा बाहेक त्यस्तो क्षेत्र परित्याग गर्न नेपाल सरकारले ठेकेदारलाई आदेश दिन सक्नेछ । त्यस्तो आदेश प्राप्त भएको तीस (३०) दिनभित्र ठेकेदारले स्थलसहितको क्षेत्र परित्याग गर्नु पर्नेछ । त्यसरी परित्याग गरेको क्षेत्र दफा ९ अनुरूपको हुनु पर्नेछ र दफा ६ मा तोकिए बमोजिमको अनिवार्य परित्यागमा समावेश गरिनेछ ।
२२. संलग्न रहेको प्राकृतिक ग्याँसको उपयोग : कच्चा तेलसित संलग्न रहेको प्राकृतिक ग्याँसको विकास गर्नु व्यापारिक नहुने ठेकेदारले ठहराएमा नेपाल सरकारले कुनै दस्तुर नतिरी उक्त प्राकृतिक ग्याँस आफूले लिई त्यसको उपभोग गर्न सक्नेछ । कच्चा तेलबाट ग्याँस छुटाइने स्थानदेखिको सबै हाण्डलिङ्ग नेपाल सरकारको खर्च र जोखिममा हुनेछ ।

परिच्छेद–४ उत्पादन अवधि

२३. उत्पादन अवधि :उत्पादन अवधि उत्पादन अनुमति प्राप्त गरेको मितिले तीस वर्षको हुनेछ । काबू बाहिरको परिस्थितिले गर्दा पेट्रोलियम कार्य स्थगित भएमा विभागले नियम २१ बमोजिम त्यस्तो स्थगित अवधि उत्पादन अवधिमा थप गर्न सक्नेछ ।

२४. उत्पादन अनुमति : (१) विभागले ठेकेदारको विकास कार्यक्रम र बजेट स्वीकृत गरिसकेपछि उत्पादन क्षेत्रसमेत उल्लेख गरी ठेकेदारलाई उत्पादन अनुमति प्रदान गर्नेछ । त्यस्तो उत्पादन क्षेत्र स्थल समावेश भएको भौगर्भिक नियामकहरू (जियोग्राफिकल कोअर्डिनेटस्) भएको बहुभूजीय (पोलिगोन) आकारको हुनेछ र त्यस्तो उत्पादन क्षेत्रमा करार क्षेत्रभित्रको स्थल र स्थल क्षेत्रमा नबढ्ने गरी मध्यवर्ती क्षेत्र (बफरजोन) समेत समावेश हुनेछ ।
(२) ठेकेदारले करार क्षेत्रमा एकभन्दा बढी व्यापारिक स्थल पत्ता लगाएमा प्रत्येक स्थलको लागि बेग्ला बेग्लै उत्पादन अनुमति प्रदान गरिनेछ ।
(३) ठेकेदारले कच्चा तेलसँग संलग्न नरहेको र व्यापारिक प्रयोगको विकास पनि भैनसकेको प्राकृतिक ग्याँस भएका स्थल पत्ता लगाएमा र ठेकेदारले अन्वेषण अवधि समाप्त हुनु अगावै प्राथमिक विकास कार्यक्रमसहित उत्पादन अनुमतिको लागि आवेदन गरेमा विभागले ठेकेदारलाई व्यापारिक बजारको विकास गर्न समर्थ बनाउन पाँच (५) वर्षको प्राथमिक अवधिको लागि उत्पादन अनुमति प्रदान गरिनेछ । उक्त पाँच (५) वर्ष (र त्यसपछिको प्रत्येक पाँच (५) वर्ष) को अवधि समाप्त हुनु अगावै विभाग र ठेकेदारले प्राकृतिक ग्याँसको व्यापारिक प्रयोगको विकासको पुनरावलोकन गर्नेछन् र दुवै पक्षले चाहेमा दफा २३ को अधीनमा रही प्रत्येक पटक बढीमा पाँच (५) वर्षसम्मका लागि उत्पादन अनुमतिको म्याद नवीकरण गर्न सकिनेछ । ठेकेदारले त्यस्तो प्राकृतिक ग्याँसको व्यापारिक निकास पाउना साथै विभागमा विस्तृत विकास कार्यक्रम पेश गर्नेछ ।

२५. उत्पादन क्षेत्रको हेरफेर : उत्पादन अनुमति प्रदान गरिसकेपछि सम्बन्धित स्थलको फैलावट उत्पादन अनुमतिमा तोकिएको भन्दा फरक पाइएमा अनुमतिमा उल्लेख उत्पादन क्षेत्रमा सोही अनुसार हेरफेर गरी मिलाइनेछ । तर त्यसरी मिलाइएको सम्पूर्ण क्षेत्र परित्याग गरिनसकेको करार क्षेत्रभित्र परेको हुनु पर्नेछ ।

परिच्छेद–५ ठेकेदारको दायित्व

२६. कार्य सञ्चालनका स्तरहरू : (१) करार क्षेत्रबाट दीर्घकालीन दृष्टिकोणबाट अधिकतम मात्रामा पेट्रोलियम उपलब्ध गर्न (टु माक्सिमाइज दि अल्टिमेट इकोनोमिक रिकभरी अफ पेट्रोलियम) तथा सक्षम र सुरक्षित तरिकाले पेट्रोलियमको अन्वेषण तथा उत्पादनको निमित्त तयार भएको प्रचलित पेट्रोलियम उद्योगको सर्वमान्य स्तर तथा ऐन, नियमानुसार ठेकेदारले लगनशीलताका bसाथ पेट्रोलियम कार्य सञ्चालन गर्नेछ ।
(२) पेट्रोलियम कार्यमा प्रयोग गरिने मालसामान, उपकरण र सुविधाहरू सर्वमान्य इञ्जिनीयरिङ्ग स्तर अनुरूपको हुनु पर्नेछ र राम्रो चालू हालतमा राख्नु पर्नेछ ।
(३) ठेकेदारले पेट्रोलियम कार्य सञ्चालन गर्दा,
(क) करार क्षेत्रमा फेला परेको र उत्पादन गरिएको पेट्रोलियम चुहिएर वा अन्य किसिमले खेर नजाने व्यवस्था गर्नेछ ।
(ख) नजिकको पेट्रोलियम, पानीयुक्त भू–रचना र अन्य प्राकृतिक स्रोतलाई हुने नोक्सानीबाट जोगाउनेछ ।
(ग) पेट्रोलियम भएको भू–रचनामा पानीको अवाँचित प्रवेश रोक्नु पर्नेछ ।
(घ) वातावरणमा पर्ने नोक्सानी वा प्रदूषण रोक्न आवश्यक सबै निवारक उपायहरू अपनाउनेछ ।

२७. नापतौल : (१) ठेकेदारले करार क्षेत्रबाट उत्पादन गरेको र बिक्री वा खर्च गरेको पेट्रोलियमको नापतौल लिन आवश्यक उपकरणहरू उपलब्ध गर्ने, जडान गर्ने र नापतौल लिने कार्य गर्नेछ । त्यस्तो उपकरण बदल्न वा मर्मत गर्न आवश्यक वा उपयुक्त देखिएमा ठेकेदारले विभागलाई सूचना दिनेछ ।
(२) नेपाल सरकारले पेट्रोलियमको नापतौल लिने कार्य वा त्यसको निमित्त प्रयोग गरिएको उपकरणहरू आफ्नै खर्च र जोखिममा आफैले वा आफूले छानेको योग्य प्राविधिज्ञबाट कुनै पनि समयमा निरीक्षण गर्न वा गराउन सक्नेछ ।

२८. प्रतिवेदन र सूचना : (१) ठेकेदारले विभागलाई पेट्रोलियमसम्बन्धी सबै कार्यहरूबारे नियमित र पूर्णरूपले सँचित गरी राख्नु पर्नेछ । ठेकेदारले विभागलाई प्रत्येक निर्धारित पेट्रोलियम कार्यको पूर्व सूचना दिनु पर्नेछ । नेपाल सरकारलाई आफ्नै खर्च र जोखिममा सबै पेट्रोलियम कार्यहरू सुपरिवेक्षण गर्ने अधिकार हुनेछ । ठेकेदारले नेपाल सरकारको मनासिब माफिकको संख्याको प्रतिनिधिहरूलाई आपसमा मञ्जुर गरिएबमोजिमको शर्त बन्देजमा स्थानीय यातायात
र बसोवासको व्यवस्था मिलाउनेछ ।
(२) ठेकेदारले प्रत्येक त्रैमासिक अवधि व्यतीत भएको तीस (३०) दिनभित्र सो त्रैमासिक अवधिमा गरेका पेट्रोलियम कार्यहरूको प्रतिवेदन र पेट्रोलियम खर्चको विवरण र प्रत्येक वर्ष व्यतीत भएको नब्बे (९०) दिनभित्र सो वर्षमा गरेको सबै पेट्रोलियम कार्यको प्रतिवेदन र पेट्रोलियम खर्चको विवरण विभागलाई दिनेछ । त्यस्तो त्रैमासिक एवं वार्षिक प्रतिवेदनहरूमा विभागले तोकेबमोजिमका सबै सूचनाहरू समावेश भएको हुनु पर्नेछ ।
(३) ठेकेदारले नियम वा यस सम्झौताबमोजिम करार क्षेत्र र पेट्रोलियम कार्यसम्बन्धी दिनुपर्ने प्रतिवेदनहरू तथ्यांक र सूचना तथा तिनीहरूको विश्लेषण तथा विवेचना निर्धारित समयमा विभागलाई उपलब्ध गर्नेछ ।
२९. गोपनीयता : (१) यस सम्झौताबमोजिम एकले अर्कोलाई उपलब्ध गराएको सबै जानकारी, कागजात, तथ्यांक र वस्तुहरू एकले अर्कोलाई उपलब्ध गराएको मितिले कम्तीमा चौबीस
(२४) महीनासम्म देहायका कुराहरूको अधीनमा रही गोप्य राखिनेछ :
(क) ठेकेदारले परित्याग गरिसकेको क्षेत्र वा करार क्षेत्रबाहेकको क्षेत्रसित सम्बन्धित जानकारी, कागजात, तथ्यांक र वस्तुहरू विभागले अरू कसैलाई जुनसुकै समयमा पनि उपलब्ध गराउन सक्नेछ ।
(ख) ठेकेदारले उपलब्ध गराएको जानकारी, कागजात, तथ्यांक र वस्तुहरूको पुनरावलोकन एवं विश्लेषण गर्नको लागि जुनसुकै वखत विभाग वा ठेकेदारले गोपनियता कायम रहने व्यवस्था गरी अरू कसैलाई अनुरोध
गर्न सक्नेछ ।
(ग) प्राविधिक प्रतिवेदनहरू व्यावसायिक लेख र अन्य जानकारीहरू अर्को पक्षको अग्रीम लिखित सहमति लिएर प्रकाश गर्न सक्नेछ ।
(२) ठेकेदारले त्यस्तो जानकारी, कागजात, तथ्यांक र वस्तुहरू विभागले पूर्वस्वीकृति नदिएसम्म र त्यस्तो जानकारी, कागजात, तथ्यांक र वस्तुहरू प्राप्त गर्ने व्यक्तिले ती कुराहरू विभागलाई मान्य हुने ढाँचा र तरिकामा गोप्य राख्न कबूल नगरेसम्म उपदफा (१) मा तोकिएको अवधिभित्र कुनै पनि व्यक्ति (ठेकेदारसँग सम्बद्ध कम्पनीसमेत) लाई बिक्री गर्न,
कुनै किसिमले दिन वा प्रकट गर्न हुँदैन ।
(३) ठेकेदार (र दफा ६३ अन्तर्गत संयुक्त रूपमा ठेकेदार भएका प्रत्येक व्यक्तिसमेत) को यस दफा अन्तर्गतको दायित्वहरू यो सम्झौता रद्द भएपछि पनि वा संयुक्त रूपमा ठेकेदार भएका व्यक्ति यस सम्झौताबाट अलग भएपछि पनि कायम रहनेछ ।
(४) पहिले जनसाधारणको जानकारीमा आइसकेको वा प्राप्त गर्ने पक्षसँग रहेको जानकारी, कागजात, तथ्यांक र वस्तुहरूको सम्बन्धमा यो दफा लागू हुनेछैन ।
३०. कार्य शुरु गर्ने र चालू राख्ने दायित्व : (१) ठेकेदारले लागू मितिले नब्बे (९०) दिनभित्र अन्वेषण कार्यहरू थाल्नेछ र त्यस्तो कार्यहरू अन्वेषण अवधिभर चालू राख्नेछ ।
(२) ठेकेदारले विभागबाट सम्भाव्यता कार्यक्रम र बजेट स्वीकृत भएपछि कार्यक्रममा उल्लिखित समय तालिकाबमोजिम सम्भाव्यता कार्य शुरु गर्नेछ । ठेकेदारले विभागबाट विकास कार्यक्रम र बजेट स्वीकृत भई उत्पादन अनुमति जारी भएपछि कार्यक्रममा उल्लिखित समय तालिकाबमोजिम विकास कार्य शुरु गर्नेछ ।
(३) ठेकेदारले व्यापारिक उत्पादन शुरु गरेपछि व्यापारिक उत्पादन सम्भव भएसम्म उत्पादन चालू राख्नेछ ।
(४) ठेकेदारले उपयुक्त प्राविधिक कारण र विभागको पूर्व स्वीकृति बिना कुनै पेट्रोलियम कार्य स्थगित गर्ने छैन । शङ्कटकालीन अवस्था वा त्यस्तै अन्य कारण उत्पन्न भई जीउज्यानमा चोटपटक वा गम्भीर क्षति पुग्ने अवस्थामा अस्थायी रूपले स्थगित गर्न त्यस्तो पूर्व स्वीकृति आवश्यक पर्नेछैन ।

३१. प्राकृतिक ग्याँसको संरक्षण : कच्चा तेलसित संलग्न रहेको पेट्रोलियम कार्यमा प्रयोग नगरेको वा यस सम्झौताबमोजिम विकास वा बिक्री नगरेको प्राकृतिक ग्याँसलाई पुनः जमीनमुनि प्रवेश गराइनेछ । तर प्राविधिक परिस्थितिले आवश्यक भएको अवस्थामा उचित अवधिको लागि तेल क्षेत्रको प्रचलनानुसार विभागले प्राकृतिक ग्याँसलाई बाल्न अनुमति दिन सक्नेछ र विभागको स्वीकृति लिएर बालिएको प्राकृतिक ग्याँस पेट्रोलियम कार्यमा प्रयोग भएको मानिनेछ ।
३२. बीमा : ठेकेदारले सम्झौता अवधिभरका लागि अन्तर्राष्ट्रिय पेट्रोलियम उद्योगको प्रचलन अनुकूलको जोखीम र रकमको बीमा गरी राख्नुको साथै विभाग र ठेकेदारले आपसमा मञ्जुर गरेबमोजिमका शर्तमा थप बीमा समेत गर्नेछ । विभाग र ठेकेदारले वर्षैपिच्छे बीमा कार्यक्रमको पुनरावलोकन गर्नेछन् र विभागले तोकिदिएबमोजिम त्यस्तो बीमा कार्यक्रममा हेरफेर गरिनेछ । त्यसरी बीमा गरेको प्रमाण विभागले मागेमा मनासिब समयभित्र ठेकेदारले विभागलाई उपलब्ध गर्नेछ ।

३३. स्थायी सुविधाहरू :(१) ठेकेदारले पेट्रोलियम कार्यको सम्बन्धमा उत्पादन क्षेत्रमा आवश्यक पर्ने सबै सुविधाहरूको निर्माण, सञ्चालन, मर्मत तथा सम्भार गर्नेछ ।
(२) ठेकेदारलाई दफा ५३ अन्तर्गत जग्गा प्राप्त गर्ने र उत्पादन क्षेत्रबाहिर नेपालभित्र पेट्रोलियम कार्यको लागि आवश्यक पर्ने सडक, पाइप लाइन र अन्य यातायात, सञ्चार तथा सञ्चय सुविधाहरूको निर्माण, सञ्चालन, मर्मत तथा सम्भार गर्ने अधिकार हुनेछ । तर विकास कार्यक्रम र बजेट विभागबाट स्वीकृत भएको हुनु पर्नेछ ।
(३) उत्पादन क्षेत्रबाहिर नेपालभित्र पेट्रोलियम कार्यको लागि ठेकेदारलाई चाहिने कुनै त्यस्तो सुविधाहरूको निर्माण, सञ्चालन, मर्मत तथा सम्भार नेपाल सरकारले गरेमा ठेकेदारलाई त्यस्तो सुविधाहरूको सञ्चालन, मर्मत तथा सम्भारमा लागेको खर्च, ह्रास कट्टी, व्याज तथा मनासिब मुनाफा वापत नेपाल सरकारलाई आफूले प्रयोग गरेको अनुपातमा दस्तुर
तिरी त्यस्तो सुविधाहरू उपभोग गर्ने अधिकार हुनेछ ।
(४) भाडामा लिइएका वा अस्थायी प्रयोगको लागि आयात गरिएका सम्पत्तिहरू बाहेक पेट्रोलियमको अन्वेषण, उत्पादन, शुद्धीकरण, ढुवानी वा सञ्चयको निमित्त जडान गरिएका अन्य सबै सम्पत्तिहरू तथा निर्माण गरिएका सबै स्थायी सुविधाहरू जडान वा निर्माण कार्य पूरा भएपछि नेपाल सरकारको सम्पत्ति हुनेछ । नेपाल सरकारले त्यस्तो सुविधाहरू तथा सम्पत्तिहरूको सबै वा केही भाग यस सम्झौताको अन्त्यमा ठेकेदारलाई निजकै खर्चमा हटाउन आदेश दिन सक्नेछ र त्यसरी हटाइएको सुविधाहरू तथा सम्पत्तिहरूको स्वामित्व ठेकेदारमा सर्नेछ ।
(५) नेपालमा उत्पादन क्षेत्रभित्र वा बाहिर ठेकेदारले निर्माण गरेको पूर्वाधारसम्बन्धी सुविधाहरू (सडक, पाइपलाइन र अन्य यातायात, सञ्चार तथा सञ्चय सम्बन्धी सबै सुविधाहरू समेत) नेपाल सरकारले आपतकालीन अवस्थामा वा त्यस्तो सुविधाहरू ठेकेदारले पूर्ण क्षमतामा प्रयोग नगरेको अवस्थामा नेपाल सरकार तथा अन्य व्यक्तिहरूको प्रयोगको निमित्त उपलब्ध गराउन लगाउन सक्नेछ । तर अन्य व्यक्तिहरूले प्रयोग गर्दा ठेकेदारले सञ्चालन गरेको पेट्रोलियम कार्यको सक्षमता तथा आर्थिक हितमा खास तवरले कुनै असर नपर्ने हुनु पर्नेछ । त्यस्तो पूर्वाधारसम्बन्धी सुविधाहरू प्रयोग गर्ने प्राथमिक अधिकार ठेकेदारलाई हुनेछ । नेपाल सरकार वा अन्य कुनै व्यक्तिले त्यस्तो सुविधाहरू प्रयोग गर्दा त्यस्तो सुविधाहरूको सञ्चालन, मर्मत तथा सम्भारमा लागेको खर्चको साथै आपसी मञ्जुरीबमोजिम ह्रास कट्टी, व्याज तथा मुनासिब मुनाफा वापत ठेकेदारलाई आफूले प्रयोग गरेको अनुपातमा दस्तुर तिर्नु पर्नेछ ।

परिच्छेद – ६ उत्पादनको बाँडफाँड तथा बिक्री

३४. उत्पादनको बाँडफाँड : (१) उत्पादन बाँडफाँड गर्ने प्रयोजनको लागि करार क्षेत्रबाट ठेकेदारले उत्पादन गरेको पेट्रोलियम भन्नाले करार क्षेत्रभित्र प्रत्येक स्थलबाट उत्पादन गरेको जम्मा पेट्रोलियममा (पेट्रोलियम कार्यमा प्रयोग गरेको परिमाण कटाई) बाँकी रहेको र प्रत्येक स्थलको मुख्य सङ्कलन केन्द्रमा वा आपसमा मञ्जुर गरेको अन्य केन्द्रमा नाप्ने यन्त्रद्वारा नापिएको पेट्रोलियम सम्झनु पर्छ ।
(२) करार क्षेत्रबाट ठेकेदारले उत्पादन गरेको पेट्रोलियमको बाँडफाँड देहायबमोजिम गरिनेछ :–
(क) ऐनको दफा १३ बमोजिम नेपाल सरकारले रोयल्टी वापत १२।। प्रतिशत राख्नेछ ।
(ख) खण्ड (क) बमोजिमको परिमाणमा पेट्रोलियम राखिसकेपछि ठेकेदारलाई चालू र विगत वर्षहरूको उठाउन बाँकी पेट्रोलियम खर्च बराबरको मूल्यको परिमाणमा पेट्रोलियम लिने अधिकार हुनेछ ।
(ग) खण्ड (क) र (ख) बमोजिम वितरण गरेपछि बाँकी रहन गएको पेट्रोलियम देहायको तालिका बमोजिम बाँडफाँड गरिनेछ :–

 

स्पष्टीकरण : “खूद पेट्रोलियम” भन्नाले रोयल्टी राखिसकेपछि र पेट्रोलियम खर्च उपर गरेपछि नेपाल सरकार र ठेकेदारबीच बाँडफाँड गर्न उपलब्ध पेट्रोलियम सम्झनु पर्दछ ।
३५. बाँडफाँडको प्रक्रिया : (१) व्यापारिक उत्पादन दिन र प्रत्येक वर्ष शुरु हुनु अगावै ठेकेदारले आगामी वर्षको उत्पादनको अनुमान विभागमा पेश गर्नु पर्नेछ । ठेकेदारले वास्तविक कार्य सञ्चालनको आधारमा संशोधनको कारण तथा पुष्टयाँई सहित समय–समयमा त्यस्तो अनुमानमा संशोधन पेश गर्न सक्नेछ ।
(२) नेपाल सरकारले जिन्सीमा लिने पेट्रोलियमको परिमाण र हस्तान्तरण तालिकाबारे विभागले ठेकेदारलाई सूचना गर्नेछ र त्यस्तो पेट्रोलियम स्थलको मुख्य संकलन केन्द्रमा वा आपसमा गरेको अन्य केन्द्रमा नेपाल सरकारलाई हस्तान्तरण गरिनेछ ।
(३) ठेकेदारले करार क्षेत्रमा उत्पादन गरेको पेट्रोलियमबाट आफ्नो भागको पेट्रोलियम स्थलको मुख्य संकलन केन्द्रमा वा आपसमा मञ्जुर गरेको अन्य केन्द्रमा लिनेछ ।
(४) नेपाल सरकार र ठेकेदारले आ–आफ्नो भागको पेट्रोलियम उठाउने सम्बन्धमा उपयुक्त व्यवस्था गर्न मञ्जुर गर्नेछ ।
३६. बिक्री : (१) ठेकेदारलाई दफा ५५ को अधीनमा रही आफ्नो भागको पेट्रोलियम बिक्री, खर्च र निर्यात गर्ने अधिकार हुनेछ ।
(२) ठेकेदारले विभागको पूर्व स्वीकृति विना आफ्नो भागको पेट्रोलियममध्ये कुनै भाग चार त्रैमासिक अवधिभन्दा बढी अवधिको लागि बिक्री गर्ने करार गर्न हुँदैन । विभागले त्यस्तो स्वीकृति दिएमा नेपाल सरकारले ठेकेदारलाई त्यस्तो करार भएको पेट्रोलियमबाट दफा ५५ बमोजिम आन्तरिक माग पूर्ति गर्न लगाउने छैन ।
(३) नेपाल सरकारले चाहेमा कम्तीमा नब्बे (९०) दिनको पूर्व सूचना दिई आफ्नो भागको पेट्रोलियममध्ये सबै वा केही पेट्रोलियम ठेकेदारलाई बिक्री गर्न लगाउन सक्नेछ । ठेकेदारले नेपाल सरकारको भागको पेट्रोलियम किन्ने सम्भावित खरिकदकर्ताको सम्बन्धमा उपलब्ध सबै जानकारी तथा बिक्रीको शर्त बन्देजहरू विभागमा पेश गर्नु पर्नेछ र मञ्जुरी
भएको उठाउने व्यवस्थामा बाधा नपर्ने गर्न नेपाल सरकारले यथा समयमा निर्देशन दिनेछ । ठेकेदारले नेपाल सरकारको भागको पेट्रोलियम बिक्री गर्नको लागि विभागको पूर्व स्वीकृति बिना कुनै करार गर्ने छैन ।

परिच्छेद–७ पेट्रोलियम खर्च

३७. पेट्रोलियम खर्च : (१) ठेकेदारले यस सम्झौताबमोजिम पेट्रोलियम कार्य गर्दा गरेको देहायबमोजिमको खर्च पेट्रोलियम खर्च मानिनेछ :
(क) पूँजीगत अन्वेषण खर्च : यस सम्झौता अन्तर्गत पेट्रोलियम फेला परेको सूचना दिनुभन्दा अगावै पेट्रोलियम कार्यमा गरेको सबै खर्चहरू र फेला परेको पेट्रोलियम व्यापारिक स्तरको नभएको अवस्थामा करार क्षेत्रको कुनै भागमा पेट्रोलियम फेला परेको सूचना दिएपछि गरेका सबै खर्चहरू ।
(ख) चालू सञ्चालन खर्चहरू  व्यापारिक उत्पादन दिन पछि गरेका देहायका खर्चहरू लागत सबै गैह्र पूँजीगत खर्चहरू :
(१) पेट्रोलियमको सर्भेक्षण, विकास, उत्पादन, शुद्धीकरण, ओसार पसार सञ्चय, हृयाण्डलिङ एवं डेलिभरी तथा मर्मत सम्भार र त्यस्तै किसिमको कृयाकलापहरू लगायत दैनिक पेट्रोलियम कार्यमा प्रत्यक्ष रूपले प्रयोग गरेको श्रम, मालसामान र सेवाहरूको लागि गरिएका खर्चहरू,
(२) पेट्रोलियम कार्यमा प्रत्यक्ष रूपले नेपालभित्र र बाहिर गरिएका साधारण र कार्यालय प्रशासन, सेवा र शीर्षस्थ सञ्चालन,
खर्चहरू लगायत प्राविधिक र तत्सम्बन्धी सेवाहरू, सामग्रीहरू, परिवहन, भाडा भरौट र व्यावसायिक कर्मचारीसँग सम्बन्धित खर्चहरू र त्यस्तै किसिमको अन्य खर्चहरू,
(३) बीमा खर्च, शुल्क तथा पेट्रोलियम कार्यसँग सम्बन्धित सबै नोक्सानी, दावी, क्षतिपूर्ति र फैसलाको छिनाफानमा भएका सबै खर्चहरू,
(४) जिन्सी मालसामान अद्यावधिक गर्दा भएको नोक्सानी,
(५) दफा ४८ अन्तर्गत शिक्षा र तालिमका लागि गरिएका खर्चहरू ।
(ग) पूँजीगत खर्चहरू ः सामान्यतयाः एक वर्षभन्दा बढी अवधिको व्यापारिक आयु वा मूल्य भएका वस्तुहरूमा गरिएका सबै खर्चहरू (पूँजीगत अन्वेषण खर्चहरू बाहेक) लगायत देहायका खर्चहरू :–
(१) करार क्षेत्रमा गरिएका अन्वेषण एवं सम्भाव्यता कार्यसम्बन्धी सबै खर्चहरू तथा विकास इनार खन्न, परीक्षण गर्न र पूरा गर्न तथा पेट्रोलियमको उत्पादन, शुद्धीकरण, सञ्चय र ढुवानीको लागि स्थायी सुविधाहरूको निर्माण गर्न गरिएका सबै खर्चहरू ।
(२) साइस्मिक वा अन्य जानकारी र प्रतिवेदनहरूको लागि ठेकेदारले श्री ५ को सरकारलाई तिरेको शुल्क ।
(३) व्यापारिक उत्पादन दिन पछि यस सम्झौताबमोजिम पेट्रोलियम कार्यको सम्बन्धमा ठेकेदारले गरेको सबै अन्य पूँजीगत खर्चहरू ।
(२) विदेशी विनिमयबाट भएका फाइदाहरूबाहेक जिन्सी लगतबाट उपकरण तथा मालसामानहरू हटाइएबाट वा बिक्रीबाट, जानकारीको बिक्रीबाट, यस सम्झौता अन्तर्गतको अधिकारको बिक्रीबाट, बीमाबाट र अन्य यस्तै आयस्रोतबाट उठेका रकम पेट्रोलियम खर्चमा कटाइनेछ ।
३८. पेट्रोलियम खर्चमा बन्देज : पेट्रोलियम खर्च देहायको बन्देजभित्र परेको हुनु पर्नेछ :
(क) ठेकेदारले प्रत्यक्ष रूपले सम्पन्न गरेको कार्यको खर्च वास्तविक खर्च भन्दा बढी हुनेछैन साथै त्यस्तो खर्च त्यस्तै कामको लागि असम्बद्ध पक्षले लिने प्रतिस्पर्धात्मक दरभन्दा बढी हुनेछैन ।
(ख) ठेकेदारले नेपालभित्र गरेको शिर्षस्थ खर्च निजले वास्तविक गरेको खर्चभन्दा बढी हुने छैन ।
(ग) ठेकेदारले (र ठेकेदारसित सम्बद्ध निकायले) नेपालबाहिर गरेको शिर्षस्थ खर्च नेपाल सरकारले अग्रीम स्वीकृत गरेको वार्षिक रकमभन्दा बढी हुने छैन । त्यस्तो रकम कुनै पनि हालतमा देहायको हदभन्दा बढी हुने छैन :
(नेपालबाहिर गरेको शीर्षस्थ खर्चबाहेक) वार्षिक पेट्रोलियम खर्चको खण्ड शीर्षस्थ खर्चको हद १०,००,००० डलरसम्म ५ प्रतिशत
१०,००,००० देखि ५०,००,००० सम्म ३ प्रतिशत
५०,००,००० देखि २,००,००,००० डलरसम्म १ प्रतिशत
२,००,००,००० डलरभन्दा माथि ०.२५ प्रतिशत
(घ) मालसामान र कटकेन्दारहरूको सेवाहरूको लागि ठेकेदारले व्यहोरेको खर्च ठेकेदारले गरेको वास्तविक खर्चभन्दा बढी हुनेछैन साथै त्यस्तो खर्च त्यस्तो मालसमान र सेवाको लागि करार गरेको समयमा असम्बद्ध पक्षले लिने प्रतिस्पर्धात्मक दरभन्दा बढी हुनेछैन ।
(ङ) मालसामान, उपकरण र अन्य सामग्री प्राप्त गर्दा वा बहालमा लिंदा लागेको खर्च र सुविधाहरूको निर्माण खर्च वास्तविक खर्च एवं त्यस्तै किसिमको मालसामान तथा सुविधाहरूको निर्माण खर्च, बहाल र प्रतिस्पर्धात्मक मूल्यभन्दा बढी हुनेछैन र त्यस्तो खर्चमा आवश्यकता अनुसार ओसारपसार, बीमा, जडान खर्चसमेत समावेश हुनेछ ।

तर कुनै मार्कअप वा ठेकेदार वा त्यसको कुनै सम्बद्ध कम्पनीहरूलाई दिइने कुनै कमिशन इत्यादि समावेश हुनेछैन । उत्पादन अनुमति प्रदान गरिसकेपछि उत्पादन क्षेत्रको विकासको लागि प्राप्त गरेको पूंजीगत सामानहरू विभागको पूर्व स्वीकृति बिना बहालमा दिनु हुँदैन ।
३९. पेट्रोलियम खर्चमा समावेश नहुने : देहायका खर्चहरू पेट्रोलियम खर्चमा समावेश गरिने छैन :
(क) यस सम्झौताबमोजिम करार क्षेत्रको पेट्रोलियम कार्यसित प्रत्यक्ष रूपले सम्बन्धित नभएका खर्च ।
(ख) दफा ३८ मा उल्लिखित पेट्रोलियम खर्चको बन्देज नघाई गरिएका खर्च ।
(ग) नेपालमा वा विदेशमा तिरेको आय कर वा दण्ड जरिवाना ।
(घ) नेपालबाहिर पेट्रोलियम बिक्री गर्न गरेको खर्च र नेपालको निर्यात केन्द्रबाहिरको पेट्रोलियमको ढुवानी, सञ्चय, हाण्डलिंग र निर्यात खर्च ।
(ङ) खर्च गरेको तर दफा ४७ अन्तर्गत पेट्रोलियम खर्चको विवरणमा वा त्यसपछिको त्रैमासिक विवरणमा वा सम्बन्धित वर्षको पेट्रोलियम खर्चको वार्षिक विवरणमा उल्लेख नभएको खर्च ।
(च) बीमा वा बचावटसम्बन्धी करारबाट असँल उपर भएको नोक्सानीहरू ।
(छ) व्यक्तिगत खालका खर्च, उपहार वा दान दातव्य ।
(ज) लागू मितिभन्दा पहिले गरेको खर्च ।
(झ) ऋण तथा जमानतको व्याज, शुल्क र कमिशन ।
(ञ) विदेशी मुद्रा विनिमय नोक्सानी ।
(ट) नेपाल सरकारलाई तिरेको बोनस ।
(ठ) …………….. ।

परिच्छेद – ८ आर्थिक दायित्व

४०. आयकर : ठेकेदारले पेट्रोलियम कार्यबाट प्राप्त खूद आयमा आयकर सम्बन्धी प्रचलित कानून बमोजिम आयकर बुझाउनेछ ।
४१. भू–बहाल तथा अन्य दस्तुर : (१) ठेकेदारले पहिलो वर्षको वा त्यस वर्ष कुनै खण्डको लागि लागू मितिबाट तीस (३०) दिनभित्र र त्यसपछिको प्रत्येक वर्षको लागि वर्ष शुरु भएको तीस (३०) दिनभित्र देहायबमोजिमको दरमा नेपाल सरकारलाई वार्षिक भूबहाल बुझाउनेछ ।

दर बार्षिक भू–बहाल (डलरमा)
(क) प्राथमिक अन्वेषण अवधिमा उत्पादन क्षेत्रमा परेको क्षेत्र बाहेक अन्य क्षेत्रको प्रतिवर्ग किलोमिटर – १०
(ख) पहिलो थप अन्वेषण अवधिमा उत्पादन क्षेत्रमा परेको क्षेत्रबाहेक अन्य क्षेत्रको प्रति वर्ग किलोमिटर – २०
(ग) अरू थप अन्वेषण अवधिमा उत्पादन क्षेत्रमा परेको क्षेत्र बाहेक अन्य क्षेत्रको प्रति वर्ग किलोमिटर – ४०
(घ) उत्पादन क्षेत्रको प्रति वर्ग किलोमिटर – ५००
(२) ठेकेदारले नेपाल सरकारलाई लागू मितिमा प्रचलित नियममा उल्लेख भएबमोजिमको अन्य दस्तुर बुझाउनेछ ।
४२. अन्य कर, दस्तुर र शुल्कहरू : (१) ठेकेदारले सबै भूमि कर, रजिष्ट्रेशन दस्तुर वनसम्बन्धी दस्तुर र सर्वसाधारण तवरले लाग्ने अन्य दस्तुर र शुल्क बुझाउनेछ ।
(२) नेपाल सरकारले कुनै सेवा उपलब्ध गराए वापत सर्वसाधारण तवरले लाग्ने दस्तुर ठेकेदारले बुझाउनेछ ।
४३. अन्य कर, महसुल र दस्तुरहरूबाट उन्मुक्ति : दफा ४०, ४१ र ४२ मा व्यवस्था गरिएदेखि बाहेक पेट्रोलियम कार्य वा पेट्रोलियमको बिक्री, वितरण वा निर्यातको सिलसिलामा नेपाल सरकार वा स्थानीय अधिकारीलाई बुझाउनु पर्ने अन्य आयकर, ठेक्का कर, बिक्री कर, भन्सार महसुल, अन्तःशुल्क र अन्य कर तथा दस्तुर बुझाउनबाट ठेकेदार मुक्त हुनेछ ।

परिच्छेद–९ मोल निर्धारण र हिसाब किताब

४४. पेट्रोलियमको मूल्य निर्धारण : (१) यस सम्झौता अन्तर्गतको सबै प्रयोजनको लागि र आयकरको प्रयोजनको लागि पेट्रोलियमको मूल्य यस दफाको व्यवस्था अनुसार निर्धारण गरिनेछ ।
(२) निर्यातको लागि करार क्षेत्रबाट त्रैमासिक अवधिमा बिक्री गरिएको कच्चा तेलको मूल्य देहायको आधारमा निर्धारण गरिनेछ :
(क) विगत त्रैमासिक अवधिमा करार क्षेत्रबाट बिक्री गरिएको कच्चा तेलको लागि नेपाल सरकार वा ठेकेदारले प्राप्त गरेको भारित औसत निर्यात मूल्य वा,
(ख) विगत त्रैमासिक अवधिमा करार क्षेत्रबाट उत्पादित कच्चा तेलको कुल परिमाणको कम्तीमा दश (१०) प्रतिशत निर्यातको लागि खण्ड (क) अन्तर्गत बिक्री नभएको अवस्थामा विभाग र ठेकेदारले,
(१) नेपालको सबै उत्पादन क्षेत्रबाट निर्यात गरिएको समान दाँजोको गुरुत्व र गुणको कच्चा तेलको लागि प्राप्त भारित औसत निर्यात मूल्य र
(२) अरेवियन खाडी क्षेत्रमा उत्पादित समान दाँजोको गुरुत्व र गुणको कच्चा तेलको बजारमा प्रचलित निर्यात मूल्य, दुवैमा सबै सम्बद्ध कुराहरू उपयुक्त तरिकाले थपघट गरी आपसी मञ्जुरीद्वारा निर्धारण गरेको मूल्य ।
(३) उपदफा (२) को प्रयोजनको लागि “निर्यात मूल्य” भन्नाले जिन्सीको रूपमा सट्टापट्टा वा विशेष सहुलियतको व्यवस्था नगरी नजिकको बिक्री कारोवार (आम्सलेंथ सेल्स ट्राञ्जेक्शन) मा असम्बद्ध पक्षबाट मूल्य निर्धारण केन्द्र (भ्यालुएशन प्वाइण्ट) मा परिवत्र्य विदेशी मुद्रामा प्राप्त खूद मूल्य सम्झनु पर्छ । निर्यात मूल्यको हरहिसाब गर्दा मूल्य निर्धारण केन्द्र र नेपाल बाहिरको एफ.ओ.बी. निर्यात केन्द्र बीचको ओसारपसार, सञ्चय, हाण्डलिंग, निर्यात सुविधाहरू, कमिशन, दलाली दस्तुर तथा अन्य कुनै पूर्वाधार, सेवा वा खर्चहरू अन्तर्राष्ट्रिय पेट्रोलियम उद्योगमा स्वतन्त्र पक्षहरूको बीचमा प्रचलित दरभन्दा बढी नहुने गरी थपघट गरिनेछ । त्यस्तो पूर्वाधारहरू यस सम्झौताको कुनै पक्ष वा सम्बद्ध पक्षको पूर्ण वा
आँशिक स्वामित्वको भएमा त्यसको दस्तुर (टारिफ) दफा ३३ वा स्थापित सिद्धान्तमा आधारित हुनेछ ।
स्पष्टीकरण : “मूल्य निर्धारण केन्द्र” भन्नाले नेपालभित्रको त्यस्तो केन्द्र सम्झनु पर्छ जहाँसम्मको सेवा वा सुविधाहरू पेट्रोलियम खर्चमा समावेश भएको छ ।
(४) नेपाली बजारको लागि बिक्री गरिने कच्चा तेलको मूल्य उपदफा (२) बमोजिम सम्बन्धित त्रैमासिक अवधिको लागि निर्धारण गरिएको मूल्य बराबर हुनेछ ।
(५) त्रैमासिक अवधिमा उत्पादन तथा बिक्री गरिएको प्राकृतिक ग्याँसको मूल्य त्यस्तो प्राकृतिक ग्याँस बिक्री गर्ने करार वा करारहरू बमोजिम नेपाल सरकार वा ठेकेदारले प्राप्त गरेको भारित औसत खूद मूल्यमा निर्धारण गरिनेछ । त्यस्तो प्राकृतिक ग्याँस बिक्री गर्नको लागि करार गर्दा ठेकेदारले त्यस्तो ग्याँस प्रयोग गरिने प्रयोजन, त्यसबाट प्रतिस्थापन हुने
इन्धनको मूल्य लगायत सबै सम्बद्ध कुराहरूको विचार गरी करार गरिने समयमा विद्यमान स्थिति अनुसार अनुकुल शर्त बन्देजमा अधिकतम मूल्य प्राप्त गर्ने प्रयत्न गर्नेछ ।
(६) ठेकेदारले उपदफा (२) को खण्ड (ख) बमोजिम आपसी मञ्जुरीद्वारा मूल्य निर्धारण गर्नु पर्ने देखेमा ठेकेदारले चालू त्रैमासिक अवधि समाप्त हुनु अघि यथाशीघ्र विभागलाई सूचना गर्नेछ । मूल्य निर्धारण गर्ने आधारको लागि तथ्यगत जानकारी विकास गर्ने सम्बन्धमा विभाग र ठेकेदार बीच सरसल्लाह भए पछि ठेकेदारले आगामी त्रैमासिक अवधिको कच्चा तेलको लागि लागू हुने मूल्यको लिखित प्रस्ताव विभागमा पेश गर्नेछ । त्यसपछि त्यस्तो मूल्य उपर छलफल एवं मञ्जुरी गर्न यथासम्भव चाँडो त्यस्तो मूल्य लागू हुने त्रैमासिक अवधि शुरु नहुँदै विभाग र ठेकेदार भेट्नेछ । यस्तो आपसी मन्जूरी नभएसम्मको लागि विगत त्रैमासिक अवधिको मूल्य लागू भइरहनेछ । तर सम्बन्धित त्रैमासिकको मूल्य अन्तिम रूपमा मञ्जुर भएपछि सोही अनुसार उपयुक्त थपघट गरी मिलाइनेछ ।
४५. भुक्तानी : (१) नेपाली मुद्रामा तिर्न सकिने दफा ४२, ५३ र ५४ बमोजिमको भुक्तानी बाहेक ठेकेदारले यस सम्झौताबमोजिम नेपाल सरकारलाई बुझाउनु पर्ने रकम डलरमा बुझाउनु पर्नेछ ।
(२) नेपाल सरकारले यस सम्झौता बमोजिम ठेकेदारलाई भुक्तानी दिनुपर्ने सम्पूर्ण
रकम नेपाली मुद्रामा दिनेछ । सो रकम ठेकेदारले ऐनको दफा १५ बमोजिम विदेशी मुद्रामा परिवर्तन गर्न सक्नेछ । विदेशी मुद्रामा उल्लिखित दायित्वको भुक्तानी, भुक्तानी गरिने दिनमा
नेपाल राष्ट्र बैंकको दरमा त्यस्ता दायित्व पूरा गर्न चाहिने विदेशी मुद्रा खरिद गर्न पर्याप्त हुने गरी गरिनेछ ।
(३) विदेशी मुद्राको सटही गर्ने प्रयोजनको लागि नेपाली मुद्राको सन्दर्भमा विदेशी मुद्राहरूको मूल्य भुक्तानी गरेको दिनमा लागू हुने राष्ट्र बैंकको खरिद तथा बिक्री दरमा निर्धारण गरिनेछ ।
४६. लेखा : (१) ठेकेदारले सबै पेट्रोलियम कार्यहरू प्रतिबिम्ब हुने गरी सम्पूर्ण वित्तीय लेखा र अभिलेखहरू अंग्रेजी भाषामा राख्नेछ । त्यस्तो लेखा र अभिलेखहरू डलरमा वा आपसी मञ्जुरी बमोजिम अन्य मुद्रामा ठेकेदारको कार्यालय काठमाडौं, नेपालमा राख्नेछ ।
(२) ठेकेदारले वार्षिक वासलात र नाफा नोक्सानीको विवरण यस सम्झौता तथा नेपालको सम्बन्धित कानून बमोजिम तयार गर्नेछ । ठेकेदारको आम्दानी, खर्च र खूद मुनाफा निर्धारण गर्ने लेखाविधि, नियम र चलन अन्तर्राष्ट्रिय पेट्रोलियम उद्योगमा सामान्यतः लागू हुने लेखाविधि, नियम र चलन अनुरूप नेपाल सरकारले तोकिदिए बमोजिम हुनेछ ।
(३) ठेकेदारको लेखाहरू महालेखा परीक्षकको विभागलाई मान्य हुने स्वतन्त्र लेखा परीक्षकबाट प्रमाणित गरेको हुनु पर्नेछ र लेखा परीक्षकको प्रतिवेदन सहित सम्बन्धित वर्ष समाप्त भएको नब्बे (९०) दिनभित्र विभागमा पेश गर्नेछ ।
(४) नेपाल सरकारलाई यस सम्झौता बमोजिमका शर्तहरू ठेकेदारले पालना गरे नगरेको जाँच्ने प्रयोजनको लागि ठेकेदारको यस सम्झौतसँग सम्बन्धित कुनै पनि वर्षको खाता र लेखा त्यस्तो खाता र लेखासँग सम्बन्धित वर्ष समाप्त भएको दुई वर्ष सम्म कुनै पनि समयमा निरीक्षण र लेखापरीक्षण गर्ने अधिकार हुनेछ । त्यस्तो निरीक्षण वा लेखापरीक्षण पूरा भएको साठी (६०) दिनभित्र कुनै आपत्ति जनक कुरा भए लिखित रूपमा जनाउनु पर्नेछ ।
(५) विभागले ठेकेदारको यस सम्झौतासँग सम्बन्धित खाता र लेखाहरू निरीक्षण र लेखा परीक्षण गर्न अन्तर्राष्ट्रिय पेट्रोलियम उद्योग सम्बन्धी अनुभव भएको स्वतन्त्र लेखापालहरूको फर्मलाई नियुक्त गर्न सक्नेछ । ठेकेदारले त्यस्तो स्वतन्त्र लेखापालहरूको फर्मको शुल्क र खर्चको भुक्तानी गर्नेछ र त्यस्तो भुक्तानी पेट्रोलियम खर्च मानिनेछ ।
४७. पेट्रोलियम खर्चको विवरण : (१) ठेकेदारले प्रत्येक त्रैमासिक अवधि समाप्त भएको तीस (३०) दिनभित्र देहायका कुराहरू खुलाइ विभागमा पेट्रोलियम खर्चको विवरण पेश गर्नेछ :–
(क) विगत त्रैमासिक अवधिबाट अघि सारेको उपर नभएको पेट्रोलियम खर्चको कूल रकम ।
(ख) त्रैमासिक अवधिमा खर्च गरेको र विभागले तोकिदिएबमोजिम खर्चहरूको वर्गीकरणमा छुट्याइएको पेट्रोलियम खर्चको रकम ।
(ग) रकमको हर हिसाब देखाई त्रैमासिक अवधिमा उपर गरेको पेट्रोलियम खर्चको रकम ।
(घ) त्रैमासिक अवधिको अन्त्यसम्ममा उपर नभएको अर्को त्रैमासिक अवधिमा अघि सारिने पेट्रोलियम खर्चको कूल रकम ।
(२) उपर नभएको पेट्रोलियम खर्चको त्रैमासिक विवरणलाई समर्थन गर्न चाहिने सबै कागजातहरू कार्यालयमा काम गर्ने कुनै समयमा विभागीय निरीक्षणको लागि काठमाडौंमा ठेकेदारको कार्यालयमा उपलब्ध हुन पर्नेछ ।
(३) पेट्रोलियम खर्चको विवरणले समेटेको त्रैमासिक अवधि समाप्त भएको एकसय बीस (१२०) दिनभित्र विभागले त्यस्तो विवरणमा आफूले बेठीक सम्झेको कुरा ठेकेदारलाई सुचित गर्न सक्नेछ । त्यस्तो सूचना लिखित रूपमा हुनु पर्नेछ र त्यस्तो सूचनामा उक्त विवरणमा ठीक नदेखिएको कुरा र त्यसको कारण समेत उल्लेख हुनु पर्नेछ । त्यस्तो सूचना
प्राप्त भएपछि ठेकेदारले विभागसँग सम्पर्क राखी सन्तोषपूर्ण समाधान गर्नेछ । उल्लिखित अवधिभित्र विभागले ठेकेदारलाई त्यस्तो सूचना नदिएमा त्यस्तो विवरण स्वीकार गरिएको मानिनेछ ।
(४) पेट्रोलियम खर्च नमान्ने विभागको अधिकार खर्च भएको प्रमाणित गर्न पर्याप्त कागजात पेश नभएको खर्च र परिच्छेद–७ को पेट्रोलियम खर्चको परिभाषाभित्र नपरेको खर्चसम्ममा सीमित हुनेछ ।

परिच्छेद–१० कर्मचारी र तालीम

४८. नेपालीहरूलाई काममा लगाउने र तालीम दिने दायित्व : (१) ठेकेदारले पेट्रोलियम कार्यमा सम्भव भएसम्म अधिकतम हदमा नेपाली नागरिकहरूलाई लगाउनु पर्नेछ र सबै तहको पेट्रोलियम कार्यमा अधिकतम हदमा नेपाली नागरिकहरूको सहभागिता कायम गर्न शिक्षा र तालीम कार्यक्रम सञ्चालन गर्नु पर्नेछ । प्रत्येक कार्यक्रम र बजेटमा सो सम्बन्धमा ठेकेदारले गर्न खोजिएको कामसम्बन्धी व्यवस्थाहरू समावेश भएको हुनु पर्नेछ ।
(२) अन्वेषण अवधिको प्रत्येक करार वर्ष ठेकेदारले पेट्रोलियम श्रोतको विकाससँग सम्बन्धित क्षेत्रमा नेपाली नागरिकहरू (जो ठेकेदारको कर्मचारी होइनन्) लाई शिक्षा र तालीम प्रदान गर्न विभागले निर्देश गरेबमोजिम कम्तीमा ……….(…………….) डलर खर्च गर्नेछ ।
त्यस्तो रकम कर्मचारी तालीम, विद्वत्वृत्ति, गोष्ठी र उपकरण खरिद जस्ता कार्यमा खर्च गरिनेछन् ।
(३) ठेकेदारले लागू मितिबाट साठी (६०) दिनभित्र विभागले निर्देश गरे बमोजिम …….. (…..) डलरको अतिरिक्त रकम उपदफा (२) बमोजिम उपयोग गर्नको लागि उपलब्ध गराउनेछ ।
(४) अन्वेषण अवधिको समाप्तिपछि उत्पादन अवधिको प्रत्येक वर्ष ठेकेदारले उत्पादन क्षेत्रसँग सम्बन्धित बजेटमा शिक्षा र तालीमको निमित्त तोकिएको रकम खर्च गर्नेछ ।
(५) ठेकेदारले विभागबाट काजमा खटिने कर्मचारीलाई नेपालमा भइरहेको पेट्रोलियम कार्य अनुकूलको पेट्रोलियम उद्योग व्यवसायको क्षेत्रमा अनुभव हासिल गर्न सेवाकालीन तालीमको व्यवस्था गर्न मञ्जुर गर्दछ । खटिने कर्मचारीहरूको संख्या र छनौट तथा तिनीहरूको काजको शर्त संयुक्त मञ्जुरी बमोजिम हुनेछ । यस्ता कर्मचारीहरूको योग्यता र कार्य दक्षता नेपाली कामदारहरूको निमित्त ठेकेदारको स्तर अनुरूपको हुनु पर्नेछ । काजमा खटिएका कर्मचारीहरूको पारिश्रमिक आपसमा मञ्जुर गरेबमोजिम हुनेछ र पेट्रोलियम खर्च मानिनेछ ।

४९. विदेशी नागरिकलाई काममा लगाउने अधिकार : (१) ठेकेदार वा निजको कटकेन्दारले आवश्यक पदहरू पूर्ति गर्न योग्य नेपाली नागरिकहरू पाउन नसकेको हदसम्म योग्य विदेशी नागरिकहरूलाई काममा लगाउन सक्नेछ । नेपाल सरकारले विभागको सिफारिशमा विदेशी नागरिकलाई काममा लगाउन चाहिने अनुमति र सम्बन्धित विदेशी नागरिक र निजको परिवारको सदस्यलाई नेपालमा रहन चाहिने प्रवेशाज्ञा (भिसा) प्रदान गर्नेछ ।
(२) पेट्रोलियम कार्यमा संलग्न कुनै विदेशी नागरिक वा निजको परिवारका सदस्यले देशको हितको विरुद्ध कुनै काम गरेमा विभागले त्यस्तो व्यक्तिलाई देश छाड्न लगाउन ठेकेदारलाई आदेश दिन सक्नेछ ।

५०. काममा लगाइएको प्रतिवेदन : ठेकेदारले प्रत्येक त्रैमासिक अवधि समाप्त भएको पन्ध (१५) दिनभित्र आफूले र कुनै समयावधिको लागि यस सम्झौताबमोजिम नेपालमा कार्यरत आफ्नो प्रत्येक कटकेन्दारले काममा लगाएका सबै व्यक्तिहरूको राष्ट्रियता, नियुक्तिकर्ता, पद, पारिश्रमिक तथा अन्य सुविधाबारे विभागलाई सूचना दिनेछ ।

परिच्छेद–११ मालसामान तथा सेवाहरूको खरिद

 

५१. मालसामान र सेवाहरूको खरिद : (१) नेपाली मालसामान र सेवाहरू आयातीत विदेशी मालसामान र सेवाहरूको तुलनामा गुण, परिमाण, मूल्य तथा प्राप्तिमा प्रतिस्पर्धात्मक भएमा ठेकेदारले नेपाली मालसामान र सेवाहरू खरिद गर्नेछ ।
(२) नेपाली मालसामान र सेवाहरू आयातीत विदेशी मालसामान र सेवाहरूको तुलनामा प्रतिस्पर्धात्मक नभएमा ठेकेदारले विभागको स्वीकृति लिई पेट्रोलियम कार्य सञ्चालनको लागि आवश्यक पर्ने सबै मालसामान र सेवाहरू आयात गर्न पाउनेछ ।

५२. कटकेन्दारहरू : (१) ठेकेदारले कटकेन्दार नियुक्त गर्दा प्रत्येक कटकेन्दारमा आवश्यक व्यावसायिक दक्षता र सुम्पिने काम गर्ने अनुभव छ भन्ने कुरा निश्चित गर्नु पर्नेछ ।
(२) ठेकेदारले कटकेन्दार नियुक्त गरेको मितिले तीस (३०) दिनभित्र प्रत्येक कटकेन्दारको नाम र ठेगाना तथा त्यसको अधिकृत प्रतिनिधिको परिचयसम्बन्धी जानकारी र करारको प्रतिलिपि विभागलाई दिनेछ । ठेकेदारले प्रत्येक कटकेन्दारले गरेको कामको विवरण दफा २८ अन्तर्गतको आफ्नो प्रतिवेदनमा समावेश गर्नेछ ।

परिच्छेद–१२ जग्गाको उपयोग र सरकारी सहयोग

५३. जग्गाको उपयोग : (१) ऐनको दफा ९ को उपदफा (१) बमोजिम पेट्रोलियम कार्यको लागि निषेधित क्षेत्रबाहेक पेट्रोलियम कार्यको लागि ठेकेदारलाई चाहिने जति सार्वजनिक जग्गा नेपाल सरकारले निर्धारण गरेको मनासिब भूबहालमा ठेकेदारले प्रयोग गर्न पाउने गरी नेपाल सरकारले उपलब्ध गराउनेछ । त्यस्तो जग्गामा पेट्रोलियम कार्यको लागि नचाहिने भएपछि नेपाल सरकारलाई फिर्ता गरिनेछ ।
(२) पेट्रोलियम कार्यको लागि चाहिने जग्गा व्यक्तिगत जग्गा भए ठेकेदारले उचित मुआब्जा दिई वा जग्गा धनीहरूसँग सोझै बहाल सम्झौता गरी वा विभागले तोकेको शर्त बमोजिम नेपाल सरकारको नाममा खरिद गरी उपयोग गर्न सक्नेछ । त्यस्तो किसिमले जग्गा उपभोग गर्न सम्भव वा व्यावहारिक नभएमा नेपाल सरकारले प्रचलित कानूनबमोजिम त्यस्तो
जग्गा स्थायी वा अस्थायी तवरले ठेकेदारको खर्चमा आफ्नो नाममा प्राप्त गरी यस सम्झौता बमोजिम पेट्रोलियम कार्यमा प्रयोग गर्नको लागि उपलब्ध गराउनेछ ।

५४. सरकारी सहयोग : (१) यस सम्झौताबमोजिम पेट्रोलियम कार्य गर्नलाई आवश्यक सरकारी अनुमति, दर्ता, इजाजत, प्रवेशाज्ञा र अन्य सहमति तथा अधिकार प्राप्त गर्ने काममा विभागले ठेकेदार र निजको कटकेन्दारलाई सहयोग गर्नेछ ।
(२) ठेकेदारलाई सहयोग गर्न विभागले दुईजना (वा ठेकेदारको अनुरोधमा दुईजना भन्दा बढी) प्रतिनिधि स्थायीरूपले खटाउने छ । ती प्रतिनिधिहरूको निमित्त लाग्ने मनासिब खर्च विभाग र ठेकेदारले छलफल गरी निर्धारण गरेबमोजिम ठेकेदारले व्यहोर्नेछ ।

परिच्छेद–१३ आन्तरिक मागको आपूर्ति

५५. आन्तरिक माग आपूर्ति गर्ने दायित्व : दफा ३६(२) को व्यवस्थाको अधीनमा रही र ठेकेदारलाई कम्तीमा दुई (२) त्रैमासिक अवधिको अग्रिम सूचना दिई नेपाल …….. को आन्तरिक माग पूरा गर्न ठेकेदारको भागको पेट्रोलियमको केही खण्ड घरायसी खपतको लागि बिक्री गर्न ठेकेदारलाई आदेश दिने अधिकार विभागलाई हुनेछ ।

५६. आन्तरिक मागमा ठेकेदारको हिस्सा : आन्तरिक माग पूरा गर्नको निमित्त ठेकेदारले नेपाल सरकारलाई बेच्नु पर्ने ठेकेदारको भागको पेट्रोलियमको अधिकतम परिमाण नेपाल सरकारले नेपालमा उत्पादित पेट्रोलियममध्येबाट पाउने आफ्नो भागको पेट्रोलियमबाट पूरा गर्न नसकेको परिमाणलाई ठेकेदारको भागको पेट्रोलियमको परिमाणले गुणन गरी नेपालमा पेट्रोलियम उत्पादन गर्ने सबै ठेकेदारहरूको भागको पेट्रोलियमको परिमाणले भाग गरी आएको परिमाणभन्दा बढी हुने छैन ।

५७. मूल्याङ्कन र भुक्तानी : ठेकेदारले घरायसी खपत पूर्ति गर्न नेपाल सरकारलाई आफ्नो भागको पेट्रोलियमको केही खण्ड बिक्री गरेमा त्यस्तो पेट्रोलियमको मूल्याङ्कन एवं भुक्तानी सम्बन्धमा परिच्छेद ९ को व्यवस्थाहरू लागू हुनेछन् ।

परिच्छेद–१४ एकीकरण (यूनिटाइजेशन)

५८. अनिवार्य एकीकरण : करार क्षेत्रभित्रको स्थल अर्को पेट्रोलियम सम्झौता अन्तर्गतको क्षेत्रसम्म फैलिएको भएमा वा करार क्षेत्रभित्रको स्थलको विकास र उत्पादन करार क्षेत्रभित्रकै अर्को पेट्रोलियम सम्झौता अन्तर्गतको क्षेत्रसम्म फैलिएको स्थलसंग वा अर्को पेट्रोलियम सम्झौता अन्तर्गतको क्षेत्रभित्रको स्थलसँग नजोडेसम्म करार क्षेत्रभित्रको स्थल व्यापारिक नहुने भएमा विभागले त्यस्तो स्थलहरूको विकास र उत्पादन संयुक्त रूपले गर्न आदेश दिन सक्नेछ ।

५९. संयुक्त सञ्चालन कार्यक्रम : विभागले स्थलहरूको एकीकरण गर्न आदेश दिएमा ठेकेदारले स्थलहरूको विकासको लागि संयुक्त सञ्चालन कार्यक्रम तैयार गर्न अन्य ठेकेदारहरूसँग मिल्नेछ र त्यस्तो कार्यक्रम स्वीकृतिको लागि तदारुकताका साथ विभागमा पेश गर्नेछ । त्यस्तो कार्यक्रम तदारुकताका साथ पेश नगरेमा वा विभागलाई मान्य नभएमा स्थलहरूको समक्ष विकास हासिल गर्न विभागले सम्बन्धित ठेकेदारहरूको खर्चमा संयुक्त सञ्चालन कार्यक्रम तैयार गर्ने वा गराउन सक्नेछ ।

६०. संयुक्त सञ्चालन कार्यक्रम अन्तर्गत काम गर्ने दायित्व : विभागले दफा ५९ अन्तर्गत संयुक्त सञ्चालन कार्यक्रम स्वीकार गरेको वा लागू गरेको सूचना ठेकेदारलाई दिएको एक सय असी (१८०) दिनभित्र ठेकेदारले त्यस्तो संयुक्त सञ्चालन कार्यक्रम अन्तर्गत काम गर्नु पर्नेछ । ठेकेदारले कुनै पनि समयमा स्थलसहितको क्षेत्र परित्याग गर्न पाउनेछ र दफा ९ को न्यूनतम क्षेत्र बन्देज लागू हुनेछैन । त्यस्तो सबै परित्याग दफा ६ बमोजिमको अनिवार्य परित्यागमा समावेश गरिनेछ ।

परिच्छेद –१५ संयुक्त पुनरावलोकन समिति

६१. संयुक्त पुनरावलोकन समिति खडा गर्ने : लागू मितिले तीन (३) महिनाभित्र विभागले नियुक्त गरेको तीन (३) जना र ठेकेदारले नियुक्त गरेको तीन (३) जना समेत छ (६) जना सदस्यहरू भएको एउटा संयुक्त पुनरावलोकन समिति खडा गरिनेछ । प्रत्येक पक्षको थप प्रतिनिधिहरूले पर्यवेक्षक वा वैकल्पिक सदस्यको रूपमा संयुक्त पुनरावलोकन समितिको बैठकहरूमा भाग लिन सक्नेछन् ।

६२. संयुक्त पुनरावलोकन समितिको बैठक : (१) संयुक्त पुनरावलोकन समितिको साधारण बैठक पहिलो पटक उक्त समितिको स्थापना भएको एक (१) महिनाभित्र बस्नेछ र त्यसपछि प्रत्येक तीन (३) महिनामा नियमित रूपले आपसमा मञ्जुर गरेको दिनमा वा त्यसरी मञ्जुर नभएकोमा विभागले तोकिदिएको दिनमा काठमाडौंमा बस्नेछ र संयुक्त पुनरावलोकन समितिले देहायका कुराहरूको पुनरावलोकन गर्नेछ :
(क) नेपाल सरकारमा पेश गर्नुपर्ने सबै कार्यक्रम बजेट, त्रैमासिक प्रतिवेदन, वार्षिक प्रतिवेदन र अन्य प्रतिवेदन तथा प्रस्तावहरू ।
(ख) ठेकेदारको कामको प्रगति ।
(ग) दफा ४७ अन्तर्गतको ठेकेदारको पेट्रोलियम खर्चको विवरण ।
(घ) कटकेन्दारसितको करारका शर्तहरू र कटकेन्दारको कामको सम्पादन ।
(ङ) पेट्रोलियम कार्यमा उठेका समस्याहरू ।
(च) कुनै एक पक्षले अनुरोध गरेको अतिरिक्त विषयहरू ।

(२) पेट्रोलियम कार्यमा उत्पन्न कुनै ठूलो कुरा वा समस्याको पुनरावलोकन गर्ने प्रयोजनको लागि र उपयुक्त कदम उठाउने प्रस्ताव गर्नको लागि कुनै एक पक्षले दिएको मनासिब सूचनामा संयुक्त पुनरावलोकन समितिको विशेष बैठक बोलाउन सकिनेछ ।
(३) संयुक्त पुनरावलोकन समितिको सिफारिश एवं रायहरू जानकारी एवं उपयुक्त कारवाइका लागि विभागमा पठाइनेछ ।

परिच्छेद–१६ हिस्सेदारी र हस्तान्तरण

६३. हिस्सेदारी : एकभन्दा बढी व्यक्ति संयुक्त रूपमा ठेकेदार भएमा प्रत्येक व्यक्ति यस सम्झौताको व्यवस्था प्रति व्यक्तिगत र संयुक्तरूपले आवद्ध हुनेछ । संयुक्त रूपमा ठेकेदार भएका व्यक्तिहरूको आपसी सम्बन्ध बारेको वा पेट्रोलियम कार्यको लागि कुनै व्यक्तिलाई सञ्चालनको रूपमा तोकिएको बारेको सम्झौताको प्रतिलिपि तुरुन्त विभागमा पठाउनेछ ।

६४. अधिकार तथा उत्तरदायित्वको हस्तान्तरण : (१) नेपाल सरकारको पूर्व स्वीकृति बिना ठेकेदारले यस पेट्रोलियम सम्झौता अन्तर्गत प्राप्त अधिकार तथा उत्तरदायित्वहरूमध्ये केही वा सबै अरू कसैलाई हस्तान्तरण गर्न हुँदैन ।
(२) ठेकेदारले यस सम्झौता अन्तर्गत आफूलाई प्राप्त केही वा सबै अधिकार तथा उत्तरदायित्व अरू कसैलाई हस्तान्तरण गर्न चाहेमा अधिकार ग्रहण गर्ने व्यक्ति (ट्रान्सफरी) को योग्यताको प्रमाणसहित नेपाल सरकारको स्वीकृतिको लागि विभागमा निवेदन दिनु पर्नेछ । त्यस्तो निवेदन प्राप्त भएको मितिले साठी (६०) दिनभित्र विभागले अधिकार ग्रहण गर्ने
व्यक्तिको योग्यताको पुनरावलोकन गरी स्वीकृति दिनेछ वा अस्वीकृतिको कारण जनाउनेछ ।
(३) नेपाल सरकारले तोकिदिएको ढाँचामा पक्षहरूले सम्झौता नगरेसम्म अधिकार हस्तान्तरण गरेको कुरा लागू हुनेछैन ।

परिच्छेद–१७ स्थगित र रद्द

६५. स्थगित आदेश दिने अधिकार : ठेकेदारले यस सम्झौताको विपरित कुनै काम गरेमा त्यस्तो काम सुधार्न विभागले तीस (३०) दिनको समय दिंदा पनि नसुधारेको अवस्थामा वा मानिस, धन सम्पत्ति वा वातावरणलाई तत्काल गम्भीर खतरा उत्पन्न हुन सक्ने अवस्थामा त्यसरी विपरित गरेको काम नसुधारेसम्म वा त्यस्तो अवस्था विद्यमान रहुञ्जेलसम्म सबै वा केही पेट्रोलियम कार्य अस्थायी रूपले स्थगित गर्न वा अन्य आवश्यक र मनासिब व्यवस्था गर्न विभागले ठेकेदारलाई
आदेश दिन सक्नेछ ।

६६. रद्द गर्ने अधिकार : (१) देहायको अवस्थामा नेपाल सरकारले ठेकेदारलाई लिखित सूचना दिई यो सम्झौता रद्द गर्न सक्नेछ :
(क) ठेकेदारले ऐन, नियम वा यस सम्झौताको कुनै व्यवस्था वा विभागले दिएको आदेश वा निर्देशन पालना नगरेमा र विभागले आदेश दिएको (३०) दिनभित्र वा विभागले तोकिदिएको सो भन्दा बढी समयभित्र दिइएको आदेश बमोजिमको दायित्व पूरा गर्न नसकेमा वा,
(ख) ठेकेदार दामासाहीमा परेमा, टाट पल्टेमा वा लिक्विडेसनमा गएमा ।
(२) उपदफा (१) बमोजिम सूचना प्राप्त गरेको तीस (३०) दिनभित्र ठेकेदारले सम्झौता रद्द गर्ने विषय दफा ६८ अन्तर्गत मध्यस्थताको लागि पठाउन सक्नेछ र तत्सम्बन्धी सूचना विभागलाई दिनेछ । ठेकेदारले उल्लिखित समयभित्र उक्त विषय मध्यस्थ समक्ष लान नसकेमा उक्त (३०) दिन नाघेपछि यो सम्झौता रद्द हुनेछ ।
(२क) उत्पादन अनुमति प्रदान भएपछि विभाग र ठेकेदार दुवैको विचारमा प्राविधिक वा आर्थिक कारणले गर्दा पेट्रोलियम कार्य चालू राख्न उचित नभएमा ठेकेदारले विभागलाई लिखित सूचना दिई सम्झौता रद्द गर्न सक्नेछ । त्यस्तो सूचना सम्झौता रद्द हुने दिनभन्दा कम्तीमा ……… दिन अगावै विभागलाई दिनु पर्नेछ ।
(३) यो सम्झौता रद्द भएको कारणले मात्र रद्द हुनुभन्दा अघि पूरा गर्नु पर्ने आफ्नो दायित्वहरूबाट ठेकेदार मुक्त हुने छैन ।
(४) उत्पादन अनुमति प्रदान गरिएपछि यो सम्झौता रद्द भएमा नेपाल सरकारले पेट्रोलियम कार्य गर्ने अधिकार अन्य व्यक्तिलाई नतोकेसम्म वा पेट्रोलियम कार्यको नियन्त्रण आफैंले नलिएसम्म विभागले सम्झौता रद्द हुने दिनलाई पर सार्न सक्नेछ र नेपाल सरकारको खर्चमा ठेकेदारलाई मनासिब अवधिसम्म नेपाल सरकारको तर्फबाट पेट्रोलियम कार्य चालू
राख्न लगाउन सक्नेछ ।

परिच्छेद–१८ विवादको समाधान

६७. सरसल्लाह : यस सम्झौता अन्तर्गत उत्पन्न भएको कुनै पनि समस्या आपसी समझदारीबाट समाधान गर्नको लागि हरसम्भव प्रयत्न गर्न नेपाल सरकार र ठेकेदार मञ्जुर गर्दछन् ।

६८. मध्यस्थता :(१) यस सम्झौताको सम्बन्धमा वा त्यसको उल्लंघन, व्याख्या वा त्यसलाई रद्द गर्ने सम्बन्धमा नेपाल सरकार र ठेकेदार बीचमा उत्पन्न भएको र आपसी समझदारीबाट समाधान गर्न नसकेको कुनै वादविवाद झै–झगडा वा दावी यस दफाको व्यवस्था अनुसार मध्यस्थताको लागि पेश गर्न पक्षहरू मञ्जुर गर्दछन् ।
(२) मध्यस्थहरूको संख्या तीन हुनेछ । नेपाल सरकार र ठेकेदार प्रत्येकले आफ्नो एक एक जना मध्यस्थ नियुक्त गर्नेछन् र त्यस्तो गर्न अर्को पक्षलाई सल्लाह दिनेछ र यी दुई मध्यस्थहरूले तेस्रो मध्यस्थको नियुक्ति गर्नेछन् । मध्यस्थको नियुक्त गर्नको लागि लिखित सूचना पाएको तीस (३०) दिनभित्र कुनै पक्षले मध्यस्थको नियुक्ति नगरेमा र पक्षहरूले अन्यथा
गर्न मञ्जुर नगरेमा कुनै एक पक्षको अनुरोधमा हेग स्थित अन्तर्राष्ट्रिय अदालतको अध्यक्षले त्यस्तो मध्यस्थको नियुक्ति गर्नेछ । दोस्रो मध्यस्थको नियुक्ति भएको तीस (३०) दिनभित्र उपर्युक्तबमोजिम नियुक्त भएको पहिलो दुई मध्यस्थहरूको बीचमा तेस्रो मध्यस्थ नियुक्ति गर्ने सम्बन्धमा मतैक्य हुन नसकेमा र पक्षहरूले अन्यथा गर्न मञ्जुर नगरेमा कुनै एक पक्षको
अनुरोधमा तेस्रो मध्यस्थको नियुक्ति हेग स्थित अन्तर्राष्ट्रिय अदालतको अध्यक्षबाट हुनेछ । कुनै मध्यस्थले काम नगरेमा वा काम गर्न असमर्थ भएमा सो मध्यस्थ जसरी नियुक्ति गरिएको थियो, त्यही किसिमले त्यसको सट्टामा अर्को मध्यस्थ नियुक्त गरिनेछ ।
(३) आपसमा अन्यथा मञ्जुर गरिएमा बाहेक मध्यस्थताको स्थान काठमाडौं, नेपाल हुनेछ ।
(४) मध्यस्थतासम्बन्धी कारवाहीमा प्रयोग गरिने भाषा अंग्रेजी हुनेछ ।
(५) मध्यस्थताको निर्णय अन्तिम हुनेछ र दुवै पक्षलाई मान्य हुनेछ ।
(६) यस दफामा व्यवस्था गरिएको कुरामा बाहेक अन्य कुरामा अनसिट्रल (युनाईटेड नेशन्स कमिशन अन इन्टरनेशनल ट्रेडल) वा इक्सिड (इन्टरनेशनल सेन्टर फर सेटलमेण्ट अफ इन्भेस्टमेण्ट डिस्पुट) को प्रचलित मध्यस्थतासम्बन्धी नियमहरू बमोजिम मध्यस्थता सञ्चालन गरिनेछ ।
(७) मध्यस्थता भएको अवस्थामा पनि ठेकेदारले यस सम्झौता बमोजिम गर्नुपर्ने काम चालू राख्नेछ र मध्यस्थताको कारणले पेट्रोलियमको बाँडफाँड र कुनै पक्षले तिर्नु पर्ने रकमको भुक्तानी स्थगित गरिनेछैन ।

परिच्छेद–१९ विविध

६९. लागू हुने कानून : यस सम्झौताको सम्बन्धमा नेपालको कानून लागू हुनेछ ।
७० आधारभूत व्यवस्थाको मर्यादा : (१) यस सम्झौताको अवधिभर यस सम्झौता अन्तर्गतको ठेकेदारको अधिकार तथा दायित्वहरूमा एकतर्फी रूपले परिवर्तन नगरिने कुरा नेपाल सरकारले निश्चय गर्नेछ ।
(२) ठेकेदारले यस सम्झौताको प्रावधान, संशोधन वा सो सम्बन्धमा विभागसँग भएको लेखापढी विभागले पूर्वलिखित स्वीकृति नदिएसम्म र त्यस्तो प्रावधान, संशोधन वा लेखापढी प्राप्त गर्ने व्यक्तिले ती कुराहरू विभागलाई मान्य हुने ढाँचा र तरिकामा गोप्य राख्न कबूल नगरेसम्म यो सम्झौता रद्द भएपछि पनि कुनै पनि व्यक्ति (ठेकेदारसँग सम्बद्ध कम्पनीसमेत)
लाई प्रकट गर्न हुँदैन ।
७०क.सहयोग : पेट्रोलियम कार्यको उचित कार्यान्वयन तथा सुपरिवेक्षणको लागि ऐन, नियम र यस सम्झौता बमोजिम सहमति, स्वीकृति तथा सूचना दिनुपर्ने एवं निश्चित उपायहरू तोकिनु पर्ने आवश्यकता पर्छ । त्यस्तो सहमति, स्वीकृति तथा सूचनाहरू दिन एवं त्यस्तो उपाय गर्नमा ढिलाई हुन गएमा पेट्रोलियम कार्यको शीघ्रतर कार्यान्वयन तथा सुपरिवेक्षणमा बाधा पुग्न सक्नेछ । अतः विभाग र ठेकेदारले कुनै पनि माग गरिएको सहमति, स्वीकृति तथा सूचनाहरू शीघ्रतर रूपमा
दिन मञ्जुर गर्नेछन् र त्यस्तो कुरा अत्यावश्यक कारण भएको अवस्थामा मात्र रोकिनेछ र पेट्रोलियम कार्यको उचित कार्यान्वयन एवं सुपरिवेक्षणको लागि विभागले आवश्यक ठानेका उपायहरू मात्र तोक्नेछ ।
७१. काबूबाहिरको परिस्थिति (फोर्स मेजर) : यस सम्झौताको प्रयोजनको लागि काबूबाहिरको परिस्थिति भन्नाले सामान्यतः रोकथाम वा नियन्त्रण गर्न नसकिने कुनै घटना, भूँइचालो, आँधीवेरी, बाढी, चट्याङ वा अन्य प्रतिकूल मौसमीय परिस्थिति, लडाइँ, रोकावट (इमवार्गो), नाकाबन्दी, हुलदङ्गा वा सार्वजनिक अशान्ति, आतङ्कवादी कार्यहरू वा दैवी प्रकोप समेतलाई जनाउँछ, तर ठेकेदार, निजको कट्केन्दार वा कामदारको लापरवाहीले गर्दा वा पेट्रोलियम उद्योगको उचित प्रक्रिया नअपनाउनाले उत्पन्न भएको स्थिति, ठेकेदार वा निजको कट्केन्दारको कामदार वा कर्मचारी बीचको औद्योगिक विवादबाट सिर्जित हडताल, तालाबन्दी वा यस्तै अन्य मनासिब अवस्थालाई जनाउँने छैन ।
७२. काबूबाहिरको परिस्थितिको असर : (१) असर पर्ने पक्षले यस पेट्रोलियम सम्झौताको शर्त बन्देज पालना गर्न पूर्व सतर्कता र होसियारीपूर्वक उपयुक्त बैकल्पिक उपाय अपनाउँदा पनि काबूबाहिरको परिस्थिति सृजना भई कुनै पक्षले यस पेट्रोलियम सम्झौताको कुनै शर्त बन्देज पालना गर्न असफल भएमा यस सम्झौताको उल्लंघन भएको मानिने छैन ।
तर त्यस्तो अवस्थामा पनि प्रत्यक्ष असर नपार्ने खालका पेट्रोेलियम अन्वेषणसँग सम्बन्धित अन्य कार्यहरु सूचारु गरेको हुनु पर्नेछ ।
(२) असर पर्ने पक्षले यस सम्झौताको शर्त बन्देज पूरा गर्नमा पर्न आएको असमर्थता ढिला नगरिकन हटाउन हरसम्भव उचित उपाय अपनाउने छ ।
(३) काबू बाहिरको परिस्थिति परेमा असर पर्ने पक्षले देहायको विवरण खुलाई सात दिनभित्र विभागलाई लिखित जानकारी दिनु पर्नेछ :–
(क) काबू बाहिरको परिस्थितिको विवरण,
(ख) काबू बाहिरको परिस्थितिको कारणले गर्दा असर पर्ने पक्षको अधिकार वा दायित्वमा पुग्न सक्ने असर,
(ग) काबू बाहिरको परिस्थिति कायम रहने अनुमानित अवधि,
(घ) काबू बाहिरको परिस्थितिको असर न्यूनीकरण गर्न अवलम्बन गरेको वा गरिने उपायको विवरण ।
(३क) काबू बाहिरको परिस्थिति समाप्त भएपछि असर पर्ने पक्षले सामान्य परिस्थिति कायम भएको कुराको लिखित जानकारी सात दिनभित्र विभागलाई दिनु पर्नेछ ।
(४) काबूबाहिरको परिस्थितिको असरलाई न्यून गर्न दुवै पक्षले उचित उपाय अपनाउने छन् ।
(५) काबूबाहिरको परिस्थितिले गर्दा पेट्रोलियम कार्य स्थगित वा ढिलाई भएमा त्यसरी स्थगित वा ढिलाई भएको तीस दिनभन्दा बढी अवधि बराबर यस पेट्रोलियम सम्झौताको म्याद बढाइनेछ ।
(६) दफा ७१ बमोजिमको काबू बाहिरको परिस्थितिको कारणबाट लगातार एक वर्षसम्म पेट्रोलियम कार्य स्थगित भएमा कुनै पक्षले अर्को पक्षलाई पन्ध्र्र दिनको लिखित सूचना दिई सम्झौता रद्द गर्न सक्नेछ ।
७३. बचावट (इन्डेमनिटी) : ठेकेदारले आफूले वा अरू कसैबाट सञ्चालन गरिएको पेट्रोलियम कार्य वा त्यसको जरियाबाट उत्पन्न हुन गएको सबै दावी, नोक्सानी तथा क्षतिबाट नेपाल सरकारलाई बचाउ, प्रतिरक्षा तथा नोक्सानी नपर्ने गर्नेछ । तर सरकारी कर्मचारीको लापरवाही वा त्यसको जरियाबाट भएको कुनै नोक्सानी, दावी, क्षति वा चोटपटकको लागि ठेकेदार नेपाल सरकारप्रति जिम्मेवार हुनेछैन ।
७४. सूचनाहरू : यस पेट्रोलियम सम्झौता अन्तर्गत एक पक्षले अर्को पक्षलाई दिनुपर्ने सबै सूचनाहरू लिखित रूपमा हुनु पर्नेछ । त्यस्तो सूचना पूर्व शुल्क व्यहोरिएको हवाई डाँक वा पूर्वशुल्क व्यहोरिएको हवाई डाँकद्वारा समर्थन गरिने टेलेक्सद्वारा वा फेसिमाइलद्वारा वा हातहातै निम्न लिखित ठेगानामा वा कुनै पक्षले अर्को पक्षलाई सँचित गरी फेरेको ठेगानामा पठाउनु पर्नेछ । त्यस्तो सूचनाहरू प्राप्त भएपछि पठाइएको मानिनेछ ।
(क) नेपाल सरकार परियोजना प्रमुख पेट्रोलियम अन्वेषण परियोजना लैनचौर, काठमाडौं नेपाल ।
टेलेक्स २३२०
टेलिफ्याक्स ९७७–१–४११७८३
(ख) ठेकेदार टेलेक्स टेलिफ्याक्स
७५. कार्यालय : लागू मितिले नब्बे (९०) दिनभित्र ठेकेदारले काठमाडौंमा कार्यालय स्थापना गर्नेछ र यस सम्झौताको अवधिभर सो कार्यालय कायम राख्नेछ ।
७६. व्याख्या : यस सम्झौतामा शिर्षकहरू सिर्फ संकेत गर्ने प्रयोजनको लागि मात्र हुन् र तिनले यसको व्याख्यामा कुनै असर पार्ने छैन ।
७७. सम्झौताको सम्पूर्णता : दुवै पक्षको सम्पूर्ण समझदारी यस सम्झौतामा आबद्ध भएका छन् र दुवै पक्षहरूको पूर्वलिखित मञ्जुरी विना कुनै संशोधन वा थपघट गरिने छैन ।

उपरोक्त बमोजिम दुवै पक्षहरूको बीच आज विक्रम सम्वत् …… तदनुसार ……. का दिन काठमाडौं नेपालमा अंग्रेजी भाषाका …..मूल प्रतिमा यो सम्झौता सम्पन्न भयो ।  ठेकेदार नेपाल सरकार सचिव उद्योग मन्त्रालय

       परिशिष्ट
(दफा २ को खण्ड (ट) सँग सम्बन्धित)
करार क्षेत्र
अन्वेषण खण्ड नं. ……… को सीमाना सिधा रेखाहरूद्वारा वा नेपाल र भारतबीचको अन्तर्राष्ट्रिय सीमानाभित्र ……….. र …………. बिन्दुहरू बीच देहायका बिन्दुहरू जोड्ने गरी सिमाङ्कन गरिएको छ ।
बिन्दु अक्षांस उत्तर देशान्तर पूर्व अन्वेषण खण्ड नं. ……………….. को क्षेत्रफल …………. वर्गमाइलको हुनेछ ।
द्रष्टव्य : भौगोलिक नियामकहरू र नक्शा मेल नखाएमा भौगोलिक नियामकहरू लागू हुनेछ ।

अनुसूची– ३

(नियम ३६ सँग सम्बन्धित)
वार्षिक भू–बहाल तथा अन्य दस्तुर
(क) वार्षिक भू–बहाल :                                                                                                  दर (डलरमा)
१. प्राथमिक अन्वेषण अवधिमा उत्पादन क्षेत्रमा परेको क्षेत्रबाहेक अन्य क्षेत्रको प्रति वर्ग किलोमिटर – १०
२. पहिलो थप अन्वेषण अवधिमा उत्पादन क्षेत्रमा परेको क्षेत्रबाहेक अन्य क्षेत्रको प्रति वर्ग किलोमिटर – २०
३. अरू थप अन्वेषण अवधिमा उत्पादन क्षेत्रमा परेको क्षेत्रबाहेक अन्य क्षेत्रको प्रति वर्ग किलोमिटर – ४०
४. उत्पादन क्षेत्रभित्रको प्रति वर्ग किलोमिटर – ५००
(ख) अन्य दस्तुर :
१. प्रत्येक अन्वेषणको अवधि थप वापत – १,०००
२. प्रत्येक उत्पादन अनुमति वापत – १०,०००
३. उत्पादन अनुमतिमा कुनै हेरफेर वापत – १,०००
४. उत्पादन अवधि थप वापत – १०,०००
५. अधिकार तथा दायित्व सारे वा सुम्पे वापत – १५,०००
६. नापी वापत उक्त कार्यमा लागेको वास्तविक खर्च –
७. सीमाङ्कन वापत उक्त कार्यमा लागेको वास्तविक खर्च