४६. कर्मचारीको सबै समय नेपाल सरकारको अधीन हुने :- यस नियमावलीमा अन्यथा
लेखिएकोमा बाहेक कर्मचारीको सबै समय नेपाल सरकारको अधीनमा हुनेछ र जुनसुकै
समयमा पनि निजलाई सरकारी काममा लगाउन सकिनेछ ।
४७. कार्यालय समय, समय पालन र हाजिरी :-(१) ऐनको दफा ५२ को अधीनमा रही
कर्मचारीले नेपाल सरकारद्वारा सरकारी कामकाजको निमित्त निर्धारित कार्यालय समयमा
नियमित रूपले आफ्नो कार्यालयमा हाजिर हुनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम निर्धारित समयमा नआउने कर्मचारीलाई सम्बन्धित
कार्यालयको प्रमुखले गयल गर्न सक्नेछ ।
तर महिनाको तीन पटकसम्म निर्धारित समय भन्दा पन्ध्र मिनेटसम्म ढिला गरी
आउने कर्मचारीलाई कार्यालयको प्रमुखले कैफियत जनाई हाजिर गर्न दिन सक्नेछ ।
(३) मुनासिब माफिकको कारण परेमा बाहेक बिदाको निकासा नलिई कुनै पनि
कर्मचारी आफ्नो कार्यालयमा अनुपस्थित हुनु हुंदैन । यसरी अनुपस्थित हुने कर्मचारीले
सात दिनभित्र बिदाको निवेदन दिनु पर्नेछ ।
४८. भैपरी आउने र पर्व बिदा :- (१) कर्मचारीले प्रत्येक वर्ष भैपरी आउने बिदा छ दिन र पर्व बिदा छ दिन गरी जम्मा बाह्र दिन लिन पाउनेछ ।
(२) भैपरी आउने र पर्व बिदामा बस्ने कर्मचारीले पूरा तलब पाउनेछ ।
(३) भैपरी आउने र पर्व बिदा आधा दिन पनि लिन सकिनेछ ।
स्पष्टीकरण :– यस उप नियमको प्रयोजनको लागि “आधादिन” भन्नाले दैनिक
कार्यालय समयको आधा समय सम्झनु पर्छ ।
(४) एक वर्षको भैपरी आउने र पर्व बिदा सञ्चित गरी अर्को वर्षमा लिन पाइने
छैन ।
(५) मौखिक अनुरोधको आधारमा पनि बिदा दिने अधिकारीले भैपरी आउने र पर्व
बिदाको स्वीकृति दिन सक्नेछ ।
तर यसरी भैपरी आउने र पर्व बिदाको स्वीकृति दिएकोमा बिदा दिने अधिकारीले
सोको अभिलेख राख्न लगाउनु पर्नेछ ।
४९. घर बिदा :- (१) कर्मचारीले काम गरेको अवधिको बाह्र दिनको एक दिनका दरले घर
बिदा पाउनेछ ।
तर हिउँदे वा वर्षे बिदा लिन पाउने कर्मचारीले यस नियम बमोजिमको घर बिदा
पाउने छैन ।
(२) यो नियमको प्रयोजनको निमित्त “काम गरेको अवधि” भन्नाले सो अवधिभित्र
लिएको भैपरी आउने र पर्व बिदा, बिरामी बिदा, प्रसूति बिदा, प्रसुति स्याहार बिदा,
किरिया बिदा, सट्टा बिदा अतिरिक्त सेवा बिदा र सार्वजनिक बिदा समेतलाई जनाउनेछ ।
(३) घर बिदामा बस्दा कर्मचारीले पूरा तलब पाउनेछ ।
(४) कर्मचारीले आफूले पकाएको घर बिदा १८० दिन सम्म सञ्चित गरी
राख्न पाउनेछ ।
(५) कुनै कारणले कर्मचारी सेवाबाट अलग भएमा निजको सञ्चित रहेको घर
बिदा वापत निजको पदाधिकार रहेको पदबाट खाईपाई आएको तलबको दरले हुन आउने
रकम निजले एकमुष्ट लिन पाउनेछ ।
(६) सञ्चित रहेको घर बिदाको रकम लिन नपाउंदै कुनै कर्मचारीको मृत्यु भएमा
त्यस्तो सञ्चित …………… घर बिदा वापतको रकम ऐनको दफा ५० को उपदफा (५) बमोजिमको व्यक्तिले एकमुष्ट लिन पाउनेछ ।
(७) हिउँदे वा वर्षे बिदा लिन पाउने कर्मचारीलाई उक्त बिदा नपाउने गरी काममा
खटाइएमा त्यस्तो काममा खटाउने कार्यालयले त्यस्तो कर्मचारीलाई उक्त बिदा वापत
निजको पदाधिकार रहेको पदबाट खाईपाई आएको दरले हुन आउने रकम दिनु पर्नेछ ।
(८) घर बिदा, अध्ययन बिदा वा असाधारण बिदामा बसेका कर्मचारीले सो
अवधिभरको घर बिदा पाउने छैन ।
(९) कर्मचारीले वर्षको एक पटक कम्तीमा सात दिन घर बिदा लिई घर जाँदा र
घर बिदा भुक्तान गरी घरबाट आफ्नो कार्यालयमा आउँदा पैदल बाटोलाई आठ कोशको
निमित्त एक दिनको दरले हुने दिन तथा मोटर, रेल हवाईजहाजको बाटोलाई जति दिन
लाग्ने हो त्यति दिन बाटोको म्याद पाउनेछ ।
५०. बिरामी बिदा:- (१) कर्मचारीले प्रत्येक वर्ष बाह्र दिन बिरामी बिदा पाउनेछ ।
(२) बिरामी बिदामा बस्दा कर्मचारीले पूरा तलब पाउनेछ ।
(३) कर्मचारी अशक्त बिरामी भई सञ्चित बिरामी बिदाले नपुग्ने भएमा निजलाई
बढीमा बाह्र दिनसम्मको पेश्की बिरामी बिदा दिन सकिनेछ ।
(४) कर्मचारीले असाधारण बिदा लिई बसेको अवधिभर बिरामी बिदा पाउने छैन ।
(५) सात दिनभन्दा बढी अवधिको बिरामी बिदाको माग गर्ने कर्मचारीले स्वीकृत
चिकित्सकको प्रमाणपत्र पेश गर्नु पर्नेछ ।
तर त्यस्तो प्रमाणपत्र पेश गर्न साधारणतया सम्भव थिएन भन्ने बिदा दिने
अधिकारीलाई विश्वास भएमा निजले सो व्यहोरा जनाई प्रमाणपत्र बिना नै उक्त बिदा
स्वीकृत गर्न सक्नेछ ।
(६) कर्मचारीले आफूले पकाएको बिरामी बिदा सञ्चित गरी राख्न पाउनेछ ।
(७) कुनै कारणले कर्मचारी सेवाबाट अलग भएमा निजको सञ्चित रहेको बिरामी
बिदा वापत निजको पदाधिकार रहेको पदबाट खाइपाई आएको तलबको दरले हुन आउने
रकम निजले एकमुष्ट लिन पाउनेछ ।
(८) सञ्चित रहेको बिरामी बिदाको रकम लिन नपाउदै कुनै कर्मचारीको मृत्यु
भएमा त्यस्तो सञ्चित बिरामी बिदाको रकम ऐनको दफा ५० को उपदफा (५)
बमोजिमको व्यक्तिले एकमुष्ट लिन पाउनेछ ।
(९) कुनै ठूलो वा कडा रोग लागि उपचार गर्न बिरामी बिदा र घर बिदाबाट
नपुग हुने भएमा स्वीकृत चिकित्सकको प्रमाणपत्र पेश गरी कर्मचारीले पछि पाउने
बिरामी बिदा र घर बिदाबाट कट्टा हुने गरी पैंतालीस दिनसम्म थप बिरामी बिदा
पेश्कीको रूपमा लिन सक्नेछ । त्यसरी पेश्की बिरामी बिदा लिई बसेको कर्मचारीले पूरा
तलब पाउनेछ ।
(१०) उपनियम (९) बमोजिम लिएको बिदाले नपुग भई थप बिदा लिनु परेमा
नेपाल सरकारले तोकेको मेडिकल बोर्डको सिफारिसमा कर्मचारीले पाउने असाधारण
बिदाबाट कट्टा हुने गरी सेवा अवधिभरमा बढीमा एक वर्ष असाधारण बिदा लिन सक्नेछ ।
(११) उपनियम (९) बमोजिम पेश्की बिरामी बिदा लिने कर्मचारीको मृत्यु भएमा
त्यसरी पेश्की लिएको बिरामी बिदा स्वतः मिनाहा हुनेछ ।
५१. प्रसूती बिदा :- (१) महिला कर्मचारी सुत्केरी हुने भएमा सुत्केरी हुनु अघि वा पछि गरी
साठी दिन प्रसूती बिदा पाउनेछ ।
(२) उपनियम (१) बमोजिम प्रसूती बिदा लिएको महिला कर्मचारीले चाहेमा कुनै
पनि बिदाबाट कट्टा नहुने गरी थप छ महिनासम्म बेतलबी प्रसूति विदा लिन सक्नेछ ।
तर उपनियम (२) बमोजिमको बिदा लगातार रुपमा लिनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम वेतलबी बिदामा बसेको अवधि नोकरी अवधिमा
जोडिनेछ ।
(४) प्रसूति विदामा बस्दा महिला कर्मचारीले पूरा तलब पाउनेछ ।
(५) प्रसूति बिदा तथा प्रसूति स्याहार बिदा पाएका कर्मचारीलाई शिशुको
स्याहारको निमित्त ऐनको दफा ४२ को उपदफा (३) बमोजिम जनही एकमुष्ट पाँच हजार
रुपैयाँ शिशु स्याहार भत्ता दिइनेछ ।
(६) प्रसूति बिदा लिएको अभिलेख सम्बन्धित कार्यालयले अद्यावधिक बनाई राख्नु
पर्नेछ ।
५१क.प्रसूति स्याहार बिदा :- (१) कुनै पुरुष कर्मचारीको पत्नी सुत्केरी हुने भएमा त्यस्तो
कर्मचारीले सुत्केरीको अघि वा पछि गरी पन्ध्र दिन प्रसूति स्याहार बिदा लिन पाउनेछ ।
(२) प्रसूति स्याहार बिदामा बस्ने कर्मचारीले पूरा तलब पाउनेछ ।
(३) प्रसूति स्याार बिदा लिएको कर्मचारीले त्यस्तो बिदा लिएको मितिले पैंतीस
दिनभित्रमा बच्चाको जन्म सम्बन्धी कागजात आफू कार्यरत कार्यालयमा पेश गर्नु पर्नेछ ।
(४) उपनियम (३) बमोजिमको अवधिभित्र त्यस्तो प्रमाणपत्र पेश नगर्ने
कर्मचारीको त्यस्तो बिदाको अवधि निजले पाउने अन्य बिदाबाट कट्टा गरिनेछ ।
(५) प्रसूति स्याहार बिदाको अभिलेख सम्बन्धित कार्यालयले अद्यावधिक गरी राख्नु
पर्नेछ ।
५२. किरिया बिदा :- (१) कुनै कर्मचारीले कूल धर्म अनुसार आफै किरिया बस्नु परेमा पन्ध्र
दिन किरिया बिदा पाउनेछ । महिला कर्मचारीको पतिले किरिया बस्नु परेमा निजलाई
पनि त्यत्तिनै दिन किरिया बिदा दिइनेछ ।
(२) यस नियमावलीमा जुनसुकै कुरा लेखिएको भए तापनि आफ्नो घरमा गई
किरिया बिदा बस्ने कर्मचारीलाई घर जाँदा र आउँदा नियम ४९ को उपनियम (९)
बमोजिमको थप बाटोको म्याद दिईनेछ ।
(३) किरिया बिदामा बस्दा कर्मचारीले पूरा तलब पाउनेछ ।
५३. अध्ययन बिदा :- (१) सेवालाई उपयोगी र आवश्यक पर्ने विषयमा मन्त्रालयको वा
मन्त्रालायलाई प्राप्त स्वदेशी वा बैदेशिक छात्रवृत्तिमा मनोनयन वा छानिई अध्ययन गर्न
जाने कर्मचारीले अध्ययन अवधिभर अध्ययन बिदा पाउन सक्नेछ ।
(२) कर्मचारीले सेवा अवधिभरमा एकै पटक वा पटक पटक गरी बढीमा छ
वर्षसम्म अध्ययन बिदा पाउनेछ ।
तर एउटा अध्ययन पूरा गरी फर्कि सेवामा हाजिर भएको तीन वर्ष पूरा नभई
सोही कर्मचारीलाई पुनः अर्को पटक अध्ययन बिदा दिइनेछैन ।
(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै अध्ययनको
निमित्त मनोनयन भई अध्ययन बिदा लिई गएको कर्मचारीलाई थप विषयमा अध्ययन गर्न
वा थप उपाधि हासिल गर्नको निमित्त अध्ययन बिदा थपिने छैन तथा असाधारण बिदा
पनि दिइने छैन ।
(४) अध्ययन बिदामा बस्दा कर्मचारीले पूरा तलब पाउनेछ ।
(५) सम्बन्धित समूह उपसमूहलाई उपयोगी र आवश्यक पर्ने विषयमा नेपाल
सरकारको पूर्व स्वीकृति लिई निजी प्रयासमा अध्ययन गर्न जाने कर्मचारीलाई उपनियम
(२) बमोजिम अध्ययन बिदा दिन सकिनेछ । उपनियम (४) मा जुनसुकै कुरा लेखिएको
भए तापनि त्यस्तो अध्ययन बिदामा बस्ने कर्मचारीहरूले तलब पाउने छैन ।
(६) कर्मचारीले आफू बहाल रहेको पदमा अति दुर्गम क्षेत्रमा कम्तीमा एक
वर्ष र दुर्गम क्षेत्रमा दुई वर्ष रुजु हाजिर रही तीन वर्षसम्म सेवा नगरी अध्ययन बिदा पाउने
छैन ।
तर पद वा दरबन्दी वा कार्यालय नभएका कारण अति दुर्गम वा दुर्गम क्षेत्रमा
सेवा गर्न नपाएको अवस्थामा त्यस्ता कर्मचारीलाई उल्लिखित क्षेत्रमा सेवा नगरेको भए
तापनि अध्ययन बिदा दिन बाधा पर्ने छैन ।
स्पष्टीकरण :- यस नियमावली बमोजिम कुनै कर्मचारीले गरेको अस्थायी सेवा अवधि
स्थायी सेवा अवधिमा गणना भएको रहेछ भने यस उपनियमको प्रयोजनको लागि सो
अस्थायी सेवा अवधि समेत गणना गरिनेछ ।
(६क) उपनियम (६) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारले
तोकेको नेपाल …… भित्रका विश्वबिद्यालय वा शिक्षण संस्थाद्वारा सञ्चालन गरिने
स्नातकोत्तर तहमा अध्ययनका लागि छानिएका कर्मचारीले कम्तीमा एक वर्ष अति
दुर्गमक्षेत्र वा दुई वर्ष दुर्गम क्षेत्रमा सेवा गरी न्यूनतम दुई वर्ष अवधि पूरा गरेको भए त्यस्तो कर्मचारीलाई अध्ययन बिदा प्रदान गर्न बाधा पर्ने छैन ।
(७) कुनै योजना वा कार्यक्रमलाई कार्यान्वयन गर्नको निमित्त अत्यावश्यक भएको
तालिम प्राप्त गर्नको लागि नेपाल सरकारले कुनै कर्मचारीलाई मनोनयन गरी खटाएमा
यस नियमको प्रयोजनको लागि नेपाल सरकारले मिति २०६०।२।१ को नेपाल राजपत्रमा सूचना प्रकाशन गरी देहायको विश्व विद्यालय वा शिक्षण संस्थालाई तोकेको:-
(क) चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल, काठमाडौं ।
(ख) त्रि.वि. शिक्षण अस्पताल महाराजगंज, काठमाडौं ।
(ग) वी.पीं कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान ।
त्यस्तो तालिम अवधिभर निजलाई काजको रूपमा पठाइनेछ र सो अवधिभर निजलाई
पूरा तलब दिइनेछ ।
तर यस प्रकारको काज तालिमको निमित्त मात्र हुनु पर्नेछ र कुनै पनि
कर्मचारीलाई शैक्षिक उपाधि हासिल गर्न पठाउँदा तालिम काज दिइने छैन ।
५४. असाधारण बिदा :- (१) कर्मचारीले असाधारण बिदा लिनु पर्ने कारण सहित निवेदन दिनु
पर्नेछ र कारण मनासिव देखिएमा नेपाल सरकारले एक पटकमा एक वर्षमा नवढाई र
सेवा अवधिभरमा तीन वर्षमा नवढाई असाधारण बिदा दिन सक्नेछ ।
(२) असाधारण बिदामा बस्ने कर्मचारीले सो अवधिभर तलब पाउने छैन ।
तर नियम ५० को उपनियम (१०) बमोजिम असाधारण बिदामा बस्ने कर्मचारीले
त्यस्तो बिदामा बसेको अवधिको पूरा तलब पाउनेछ ।
(३) पाँच वर्ष सरकारी सेवा अवधि नपुगी कुनै कर्मचारीले असाधारण बिदा पाउने
छैन ।
तर,
(क) नियम ५० को उपनियम (१०) बमोजिम थप बिरामी बिदा वापत असाधारण बिदामा बस्न यस उपनियमले वाधा पुर्याएको छैन ।
(ख) नेपाल सरकरको पूर्व स्वीकृति लिई निजी प्रयासमा अध्ययन गर्न चाहने कर्मचारीले दुई वर्षको सेवा अवधि पूरा गरेपछि उपनियम १) बमोजिम पाउने असाधारण बिदाबाट कट्टा हुने गरी एकै पटक वा पटक पटक गरी बढीमा चार वर्षसम्म असाधारण बिदा पाउन सक्नेछ ।
तर तीन वर्षसम्मको असाधारण बिदा उपनियम (१) बमोजिमको असाधारण बिदाबाट कट्टा हुनेछ ।
(३क) उपनियम (३) को खण्ड (ख) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै पनि विषयमा अध्ययन गर्नको लागि चार वर्ष भन्दा बढी अवधि लाग्ने भएमा त्यस्तो गर्ने कर्मचारीलाई असाधारण विदा दिइने छैन ।
(३ख) अध्ययनको लागि असाधारण बिदा लएको कर्मचारीले अध्ययन नगरी सेवा गर्न पाउने छैन ।
(४) …………….. कुनै कर्मचारीले लिएको असाधारण बिदाको अवधि कुनै पनि
प्रयोजनको लागि निजको सेवा अवधिमा गणना गरिने छैन ।
५५. सट्टा बिदा :- (१) स्वास्थ्य संस्था, अस्पताल, हेल्थपोष्ट जस्ता सार्वजनिक बिदाको दिनमा
काम गर्नु पर्ने कार्यालयहरूमा कार्यरत कर्मचारीहरूले सार्वजनिक बिदाको दिन काम गरे
वापत सट्टा बिदा पाउन सक्नेछन् र त्यस्तो बिदा अर्को तीन महिनाभित्रमा पालो मिलाई
बस्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम पालो मिलाई सट्टा बिदा लिन नसकेको जति
अवधिको तलब बराबरको भुक्तानी दिइनेछ ।
(३) सट्टा बिदाको अभिलेख सम्बन्धित कार्यालय प्रमुखले अद्यावधिक गरी राख्नु
पर्नेछ ।
५६. अतिरिक्त सेवा बिदा :- (१) स्वास्थ्य संस्था, अस्पताल, हेल्थपोष्टमा हप्तामा चालीस घण्टा
भन्दा बढी काम गर्नु पर्ने कर्माचारीहरूले बढी समय काम गरे वापत अतिरिक्त सेवा बिदा
पाउनेछन् र त्यस्तो बिदा अर्को तीन महिनाभित्रमा पालो मिलाई लिन सक्नेछन् ।
(२) उपनियम (१) बमोजिम पालो मिलाई अतिरिक्त सेवा बिदा लिन नपाए जति
अवधिको तलब बराबरको भुक्तानी दिइनेछ ।
(३) अतिरिक्त सेवा बिदाको अभिलेख सम्बन्धित कार्यालय प्रमुखले अद्यावधिक
गरी राख्नु पर्नेछ ।
५७. अन्तर्राष्ट्रिय संघ, संस्थामा सेवा गर्न बिदा दिन सकिने :- कुनै कर्मचारीले बिदा लिई
अन्तर्राष्ट्रिय संघ, संस्थामा सेवा गर्न जान निवेदन दिएमा र यसरी सेवा गर्न पठाउँदा
नेपाल सरकारलाई समेत उपयोगी हुने पर्याप्त आधार रहेमा नेपाल सरकारले नियम ५४
को उपनियम (१) बमोजिम निजले पाउन सक्ने असाधारण बिदाबाट कट्टा हुने गरी पछि
सेवा गर्न फर्की आउने कवुलियत गराई निजलाई त्यस्तो सेवा गर्न जानको लागि नोकरी
अवधिमा एक पटकमा एक वर्षमा नबढाई बढीमा तीन वर्षसम्मको लागि अनुमति दिन
सक्नेछ ।
तर यस नियम बमोजिम अन्तर्राष्ट्रिय संघ, संस्थामा सेवा गर्न जाने कर्मचारीलाई
काजको रूपमा खटाइने छैन ।
५८. बिदा माग गर्ने विधि :- (१) बिदाको निकासाको निमित्त कर्मचारीले आफूलाई चाहिएको
बिदाको अवधि, कारण र विदेश जानु पर्ने भए सो समेत खोली अनुसूची–१५ बमोजिमको
ढाँचामा आफ्नो कार्यालय मार्फत बिदा दिने अधिकारी समक्ष निवेदन पेश गर्नु पर्नेछ र
बिदा दिने अधिकारीले पनि बिदा स्वीकृत वा अस्वीकृत भएको सूचना सो कर्मचारीलाई
दिनु पर्नेछ ।
(२) देहायका कुरामा बिदा दिने अधिकारीलाई चित्त बुझेमा निजले निवेदनको
मिति भन्दा अगाडी देखिको मितिबाट बिदा स्वीकृत गर्न सक्नेछ :–
(क) बिदा दिने अधिकारीको पूर्व स्वीकृति लिन सम्भव थिएन भन्ने,
(ख) पूर्व स्वीकृति प्राप्तिको लागि निवेदकले सकभर प्रयास गरेको
थियो भन्ने ।
(३) अध्ययन बिदाको लागि निवेदन दिंदा अरू कुराको अतिरिक्त मुख्यत देहायका
कुराहरू उल्लेख गर्नु पर्नेछ :–
(क) आफूले अध्ययन गर्न खोजेको विषयको विवरण,
(ख) अध्ययन गरिने विश्वबिद्यालय, संस्था वा प्रशिक्षण केन्द्रमा प्रवेश
गर्ने स्वीकृति प्राप्त भएको विवरण,
(ग) नेपाल सरकारलाई त्यस्तो बिदाको सम्बन्धमा विचार गर्न
सहायक हुने अन्य आवश्यक विवरण ।
५९. बिदा दिने अधिकारी :- (१) देहायको बिदा देहायको अधिकारीले स्वीकृत गर्न सक्नेछ :–
बिदाको किसिम बिदा स्वीकृत गर्ने अधिकारी
(क) भैपरी आउने र पर्व बिदा सम्बन्धित कार्यालयको प्रमुख
(ख) घर बिदा सम्बन्धित कार्यालयको प्रमुख
(ग) बिरामी बिदा सम्बन्धित कार्यालयको प्रमुख
(घ) प्रसूति बिदा सम्बन्धित कार्यालयको प्रमुख
(घ१) प्रसूति स्याहार बिदा सम्बन्धित कार्यालयको प्रमुख
(ङ) किरिया बिदा सम्बन्धित कार्यालयको प्रमुख
(च) अध्ययन बिदा नेपाल सरकार
(छ) असाधारण बिदा नेपाल सरकार
(ज) सट्टा बिदा सम्बन्धित कार्यालयको प्रमुख
(झ) अतिरिक्त सेवा बिदा सम्बन्धित कार्यालयको प्रमुख
(२) अधिकृत बाह्रौ तहको कर्मचारीको उपनियम (१) को खण्ड (क) मा
उल्लिखित बिदा बाहेक अन्य बिदाहरू मन्त्रालयले स्वीकृत गर्नेछ ।
(३) उपनियम (१) को खण्ड (क) मा जुनसुकै कुरा लेखिएको भए तापनि भैपरी
आउने र पर्व बिदा विभागीय प्रमुख र कार्यालय प्रमुख आफैले लिन सक्नेछ ।
तर कार्यालय प्रमुखको खण्ड (च) र (छ) बाहेकका अन्य बिदाहरू बिभागीय
प्रमुखले स्वीकृत गर्नेछ ।
६०. बिदा परिणत नहुने :- यस परिच्छेद बमोजिम कर्मचारीले जुन बिदा लिई बसेको हो सोही
बिदा नै उपभोग गर्नु पर्नेछ । पहिले कुनै एक किसिमको बिदा स्वीकृत भएकोमा त्यस्तो
बिदा पछि किरिया बिदा वा प्रसूति बिदा बाहेक अर्को किसिमको बिदामा परिणत गराउन
पाइने छैन ।
६१. सार्वजनिक बिदा गाभिने :- भैपरी आउने र पर्व बिदा बाहेक अरू कुनै प्रकारको बिदा
लिई बसेको कर्मचारीले सो बिदा भुक्तान हुँदा सार्वजनिक बिदा पर्न गएमा र सार्वजनिक
बिदा पछि पनि कार्यालयमा हाजिर नभएमा सो सार्वजनिक बिदाको अवधि पनि निज
कर्मचारीले लिएको बिदा वा सो बिदा बाँकी नभएमा लिन पाउने अरू बिदामा बसेको
मानिनेछ ।
६२. कार्यालयमा अनुपस्थित हुने उपर कारबाही :- बिदा नलिई आफ्नो कार्यालयमा
अनुपस्थित हुने कर्मचारीलाई गयल र तलब कट्टी गरी विभागीय सजाय समेत गर्न सकिने
छ । यसरी गयल भएको अवधिको तलब र भत्ता समेत दिइने छैन र त्यसरी गयल भएको
अवधि सेवा अवधिमा गणना हुने छैन ।
६३. बिदाको अभिलेख :-(१) बिदा दिने अधिकारीले आफ्नो मातहतमा काम गर्ने कर्मचारीको
बिदाको अभिलेख राख्न लगाउनु पर्नेछ । कुनै कर्मचारीलाई प्रसूति बिदा, प्रसूति स्याहार
बिदा, असाधारण बिदा वा अध्ययन बिदा दिएकोमा त्यसको सूचना निजामती किताबखाना
र तलब खर्च लेख्ने कार्यालयलाई समेत पठाउनु पर्नेछ ।
(२) कुनै कर्मचारी एक कार्यालयबाट अर्को कार्यालयमा सरुवा वा बढुवा भएमा
सरुवा वा बढुवाको जनाउको साथै बिदाको अभिलेखको उतार पनि हालको कार्यालयमा
पठाउनु पर्नेछ । यस्तो बिदाको अभिलेख अनुसूची–१६ बमोजिम राख्नु पर्नेछ ।
(३) उपनियम (२) बमोजिमको बिदाको अभिलेखको एक प्रति उतार सम्बन्धित
कर्मचारीलाई समेत दिनु पर्नेछ । बढुवाको लागि कारबाही हुँदा यस्तो बिदाको अभिलेख
पेश गर्ने जिम्मेवारी कर्मचारीको सम्बन्धित विभाग वा मन्त्रालयको हुनेछ ।
64. बिदा अधिकारको कुरा होइन :- बिदा अधिकारको कुरा होइन, सहुलियत मात्र हो ।