Skip to contentSkip to left sidebar Skip to footer

खानेपानी सेवा महसुल (असुल उपर गर्ने) नियमावली, २०५०

खानेपानी सेवा महसुल (असुल उपर गर्ने) नियमावली, २०५०

नेपाल राजपत्रमा प्रकाशित मिति
२०५०।१२।१
प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०१३ को दफा २ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ

(१) यी नियमहरूको नाम “खानेपानी सेवा महसुल (असुलउपर गर्ने) नियमावली, २०५०” रहेको छ ।
(२) यो नियमावली २०५१ साल वैशाख १ गतेदेखि प्रारम्भ हुनेछ ।

२. परिभाषा

विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा–
(क) “विभाग” भन्नाले नेपाल सरकारको खानेपानी तथा ढल निकास विभाग सम्झनु पर्छ ।
(ख) “कार्यालय” भन्नाले खानेपानीको वितरण र रेखदेख गर्न तथा महसुल बुझ्नको लागि विभागले खडा गरेको स्थानीय कार्यालय सम्झनु पर्छ र सो शब्दले त्यस्तो काम गर्नको निमित्त विभागले तोकेको अन्य कुनै कार्यालय, अधिकारी वा संघ
संस्थालाई समेत जनाउँछ ।
(ग) “धारा” भन्नाले खानेपानीको उपभोग गर्नको निमित्त विभाग वा कार्यालयले कुनै व्यक्ति, संस्था वा निकायका नाममा जडान गरिदिएको धारा सम्झनु पर्छ ।
(घ) “उपभोक्ता” भन्नाले धाराको सुविधा उपभोग गर्ने व्यक्ति, संस्था वा निकाय सम्झनु पर्छ ।
(ङ) “महसुल” भन्नाले धाराको सुविधा उपभोग गरे वापत उपभोक्ताले यस नियमावली बमोजिम बुझाउनु पर्ने खानेपानी सेवा महसुल सम्झनु पर्छ ।
(च) “मिटर” भन्नाले खानेपानीको खपतको परिमाण नाप्ने उद्देश्यले उपभोक्ताको पाइप लाइनमा जडान गरिने मिटर सम्झनु पर्छ ।

३. धारा जडान गर्न निवेदन दिनु पर्ने

(१) आफ्नो घरजग्गामा धारा जडान गर्न चाहने व्यक्ति, संस्था वा निकायले सो घर जग्गामा आफ्नो स्वामित्व भएको प्रमाण संलग्न गरी विभागले तोकेको ढाँचामा कार्यालयमा निवेदन दिनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिमको निवेदन प्राप्त भएपछि कार्यालयले उक्त निवेदनउपर जाँचबुझ गर्दा निवेदकको नाउँमा धारा जडान गरिदिनु पर्ने देखिएमा अनुसूची–१ बमोजिमको धारा जडान शुल्क लिई निवेदकले माग गरेको ठाउँमा धारा जडान गरीदिनेछ ।
तर,
(१) पानीको स्रोतमा कमी भएमा वा प्राविधिक दृष्टिले सो ठाउँमा धारा जडान गर्न नसकिने भएमा धारा जडान गर्न कार्यालय बाध्य हुने छैन ।
(२) पानीको स्रोतमा कमी भएको कारणले धारा जडान गर्न नसकिने भएमा पानीको स्रोतको क्षमतामा वृद्धि हुदै गएमा कार्यालयले आफू कहाँ पर्न आएको निवेदनमध्ये अघिल्लो निवेदनलाई प्राथमिकता दिई धारा जडान गर्नु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम धारा जडान गर्न आवश्यक पर्ने पाइप, मिटर आदि मालसामानको व्यवस्था निवेदकले गर्नु पर्नेछ ।

४. स्वीकृती लिनु पर्ने

(१) धारा जडान गर्दा वा होल परिवर्तनको सिलसिलामा सडक खन्नु पर्ने भएमा निवेदकले सम्बन्धित निकायबाट स्वीकृति लिनु पर्नेछ ।
(२) कसैको निजी स्वामित्वमा रहेको घर जग्गा वा बाटोबाट धारा जडान गर्नुपर्ने भएमा वा त्यस्तो ठाउँमा होल परिवर्तन गर्नु पर्ने भएमा निवेदकले सो कामको लागि सम्बन्धित जग्गाधनीबाट स्वीकृती लिनु पर्नेछ ।

५. मिटर जडान गर्नु पर्ने

(१) नयाँ धारा जडान गर्दा उपभोक्ताले अनिवार्य तवरले मिटर जडान गर्नु पर्नेछ ।(२) कार्यालयको मौज्दातमा मिटर भएसम्म मिटरको मोल र मिटर जडान खर्च सम्बन्धित उपभोक्तासँग लिई कार्यालयले मिटर जडान गरिदिनेछ ।
(३) उपनियम (२) बमोजिम कार्यालयको मौज्दातमा मिटर नभएमा उपभोक्ताले कार्यालयबाट तोकिए अनुसारको गुणस्तरको मिटर आफँै बन्दोवस्त गरी धारामा मिटर जडान गर्नु पर्नेछ ।

(४) उपनियम (३) मा जुनसुकै कुरा लेखिएको भएतापनि कार्यालयको मौज्दातमा मिटर नभएमा वा उपभोक्ताले मिटर उपलब्ध गराउन नसकेकोमा मिटर उपलब्ध हुनासाथ उपभोक्ताले मिटर जडान गर्नु पर्नेछ ।

(५) मिटर जडान नभएका पुराना धारामा समेत कार्यालयले आवश्यकता अनुसार मिटर जडान गर्न सक्नेछ ।

६. मिटरको सुरक्षा

(१) उपभोक्ताले मिटर सुरक्षाको लागि कार्यालयले तोके बमोजिमको च्याम्बर बनाइ मिटरको सुरक्षा गर्नु पर्नेछ ।
(२) कुनै कारणले मिटर हराएमा वा बिग्रिएमा सो को लिखित जानकारी उपभोक्ताले तुरुन्त कार्यालयलाई दिनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम मिटर हराएको वा बिग्रिएको जानकारी हुन आएमा कार्यालयले उपभोक्तसँग लाग्ने खर्च लिई माग बमोजिम मिटर जडान वा मर्मत गरिदिनु पर्नेछ ।

७. निःशुल्क मर्मत गर्ने

(१) मिटरदेखि कार्यालयको स्वामित्वमा रहेको मुख्य पाइप लाइनको मर्मत कार्य कार्यालयले निःशुल्क गर्नेछ । पाइपको मर्मतको लागि आवश्यक पर्ने सामान र अन्य खर्च कार्यालयले तोके बमोजिम उपभोक्ताले व्यहोर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम पाइपको मर्मत गराउनु पर्ने भएमा उपभोक्ताले अघिल्लो महिना सम्मको महसुल बुझाएको रसिद संलग्न गरी कार्यालयमा निवेदन दिनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिमको निवेदन प्राप्त भएमा कार्यालयले धाराको पाइप निःशुल्क मर्मत गरी दिनेछ ।

८. होल परिवर्तन गर्न सकिनेः

(१) कुनै कारणले धाराको होल परिवर्तन गर्नु पर्ने भएमा विभागले तोकेको ढाँचामा कार्यालयमा निवेदन दिन सकिनेछ ।
(२) उपनियम (१) बमोजिमको निवेदन प्राप्त भएपछि जाँचबुझ गर्दा प्राविधिक दृष्टिकोणले होल परिवर्तन गरी दिन मिल्ने देखिएमा कार्यालयले अनुसूची–२ बमोजिमको शुल्क लिई होल परिवर्तन गरिदिनेछ ।

९. धाराको महसुल दर

प्रत्येक महिना उपभोक्ताले अनुसूची–३ बमोजिमको महसुल बुझाउनु पर्नेछ ।

तर देहायको अवस्थामा देहाय बमोजिमका दरले महसुल दिइनेछ ः–
(क) मिटर नचलेमा मिटर चालू नभए सम्मको लागि अघिल्लो तीन महिनाको सरदर खपतको आधारमा,
(ख) कार्यालयको स्वीकृति लिई वा कार्यालयले नै पाइप लाइनबाट मिटर झिकेकोमा मिटर जडान नगरेको धारा सरह ।

१०. शाखा धाराको महसुल दर

मिटर जडान नगरिएको धारामा शाखा धारा (टि) समेत जडान गरिएको भए प्रत्येक शाखा धाराको लागि अनुसूची–३ को खण्ड (ख) बमोजिम थप महसुल लाग्नेछ ।

११. महसुल बुझाउनु पर्ने अवधि

(१) उपभोक्ताले यस नियमावली बमोजिम बुझाउनु पर्ने प्रत्येक महिनाको महसुल अर्को महिनाको मसान्तसम्ममा कार्यालयमा बुझाउनु पर्नेछ ।
(२) मिटर नभएको धारा महिनाको जुनसुकै दिनमा जडान गरिएको भएतापनि उपभोक्ताले सो महिनाको पूरै महसुल बुझाउनु पर्नेछ ।

१२. बक्यौता महसुल असुल गरिने

यो नियमावली प्रारम्भ हुनु अघि प्रचलित नियम बमोजिम बुझाउनु पर्ने महसुल कसैले बाँकी राखेको देखिएमा निजसँग नियम १३बमोजिमको अतिरिक्त शुल्क समेत सो बक्यौता महसुल असुल गरिनेछ ।

१३. अतिरिक्त शुल्क लाग्ने

नियम ११ को उपनियम (१) बमोजिमको म्याद भित्र महसुल नबुझाएमा देहायका दरले अतिरिक्त शुल्क लाग्नेछ ः–
(क) नियम ११ को उपनियम (१) बमोजिमको म्याद समाप्त भएको दुई महिनासम्मको लागि सो महसुलको प्रति महिना पाँच प्रतिशतका दरले,(ख) खण्ड (क) मा उल्लेखित म्याद नाघेको अर्को एक महिनासम्मको लागि सो महसुलको सात प्रतिशतको दरले,
(ग) खण्ड (ख) मा उल्लेखित म्याद नाघेपछि पानीको वितरण बन्द नगरिएको भए सो अवधिको लागि प्रति महिना १० प्रतिशतको दरले ।

१४. पानीको वितरण बन्द गर्न सकिने

(१) देहायको अवस्थामा कार्यालयले उपभोक्ताको धाराबाट पानीको वितरण बन्द गर्न सक्नेछः–
(क) कुनै उपभोक्ताले नियम १३ को खण्ड (ख) बमोजिमको म्याद भित्र बाँकी महसुल र अतिरिक्त शुल्क नबुझाएमा,

(ख) धाराको टुटी जडान नगरी पानीको उपभोग गरेमा वा धारामा पाइप वा मिटर जडान भएकोमा पानी कम खपत देखाउने उद्देश्यले मिटर वा पाइपमा कुनै किसिमको अवान्छित काम गरेमा,
(ग) कार्यालयको स्वामित्वमा रहेको मुख्य लाइनदेखि मिटरसम्मको पाइपको आवश्यक संभार र मर्मत नगरी पानी खेर जान दिएमा,
(घ) उपभोक्ताले पानी टङ्की भन्दा अगाडिको पाइप लाइनबाट कुनै उपकरण प्रयोग गरी पानी पम्प गरेमा,
(ङ) मिटर उपलब्ध हुँदा हुँदै मिटर जडान नगरेमा ।
(२) उपनियम (१) बमोजिम पानीको वितरण बन्द गरिएकोमा बाँकी महसुल तथा अतिरिक्त शुल्क नबुझाइ वा मिटर वा टुटी जडान नगरी वा मिटरमा अवान्छित काम गरे
वापत कार्यालयलाई पर्न गएको घाटा वापतको रकम नबुझाएसम्म पुनः पानीको वितरण गरिने छैन ।

१५. बाँकी महसुल तथा अतिरिक्त शुल्क असुल उपर गरिने

उपभोक्ताले यस नियमावली बमोजिम बुझाउनु पर्ने महसुल र अतिरिक्त शुल्क तोकिएको म्याद भित्र नबुझाइ बाँकी राखेमा त्यस्तो बाँकी महसुल र अतिरिक्त शुल्क सरकारी बाँकी सरह प्रचलित कानून बमोजिम असुल उपर गरिनेछ ।

 

१६. पानी वितरण नभएको अवधिको महसुल छुट हुन सक्ने

(१) कुनै कारणबाट पानीको वितरणमा गडबडी उत्पन्न भई कुनै उपभोक्ताले पूर्ण रूपले पानी उपभोग गर्न पाएको छैन भन्ने कुरा सम्बन्धित उपभोक्ताको निवेदन अनुसार वा कार्यालयबाट जाँचबुझ गर्दा देखिन आएमा कार्यालयले त्यसरी उपभोक्ताले पानी उपभोग गर्न नपाएको अवधि भरको महसुल छुट दिन सक्नेछ ।
(२) कुनै खास इलाका वा क्षेत्रका सम्पूर्ण उपभोक्ताहरूले नै पानी उपभोग गर्न नपाएबाट महसुल छुट दिनु पर्ने भएमा त्यस कुराको सूचना नेपाल राजपत्रमा प्रकाशित
गरी विभागले छुट दिन सक्नेछ

१७. नेपाल सरकारले बक्यौता महसुल माफी दिन सक्ने

(१) कुनै कारणबाट बक्यौता महसुल उठाउन व्यवहारिक छैन भन्ने लागेमा विभागले धारा काट्ने तर्फ तुरुन्त कारबाही चलाई बक्यौता महसुल माफी गर्नको लागि नेपाल सरकारमा सिफारिस गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको सिफारिस अनुसार बक्यौता महसुल माफी गर्न मनासिव देखिएमा नेपाल सरकारले बक्यौता महसुल माफी गर्न सक्नेछ ।

१८. धाराको नामसारी

(१) धारा रहेको घर वा जग्गा कसैले खरिद गरी वा अरू कुनै प्रकारले हक प्राप्त गरेमा सो धारा पनि त्यसरी हक प्राप्त गर्नेको नाउँमा नामसारी हुन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम हक प्राप्त गर्नेले आफ्नो नाममा धारा नामसारी गर्न चाहेमा त्यसको निस्सा सहित धाराको लगत रहेको कार्यालयमा निवेदन दिनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम प्राप्त निवेदन उपर कार्यालयले जाँचबुझ गर्दा व्यहोरा मनासिव देखिन आएमा निवेदकको नाउँमा धाराको नामसारी गरिदिनेछ । त्यसरी
धाराको नामसारी हुँदा नामसारी भएको महिना भन्दा अघिको महसुल बाँकी भएमा त्यस्तो घर वा जग्गा उपर हक प्राप्त गर्नेले त्यस्तो बाँकी महसुल बुझाउनु पर्नेछ ।

१९. धाराको ठाउँसारी हुन नसक्ने

(१) धारा जडान भएको घर कम्पाउण्डभित्र बाहेक साधारणतया अन्यत्र धाराको ठाउँसारी हुन सक्ने छैन ।
(२) उपनियम (१) बमोजिम धाराको ठाउँसारी गर्दा नयाँ धारा जडान गरे सरहको शुल्क र धाराको होल परिवर्तन गर्नु पर्ने भएमा नियम ८ को उपनियम (२) बमोजिम
शुल्क लाग्नेछ ।

२०. धाराको लगत कट्टा गर्न सकिने

(१) धाराको आवश्यकता नपर्ने उपभोक्ताले धाराको लगत कट्टा गर्नको लागि सो महिना सम्मको महसुल बुझाई धाराको लगत रहेको
कार्यालयमा निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको निवेदन प्राप्त भएमा कार्यालयले निवेदकको नाउँबाट धाराको लगत कट्टा गरिदिनु पर्नेछ ।

२१. अनुसूचीमा थपघट वा हेरफेर गर्न सक्ने

नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी अनुसूचीहरूमा आवश्यकतानुसार थपघट वा हेरफेर गर्न सक्नेछ ।

 

अनुसूची – ३

(नियम ९ सँग सम्बन्धित)
(क) मिटर भएको धाराको लाग्ने महसुल

दष्ट्रव्य  – खण्ड (क) र (ख) मा जुनसुकै कुरा लेखिएको भएतापनि –
(१) प्रत्येक आर्थिक वर्षमा उक्त महसुलमा ५% का दरले महसुल वृद्धि हुनेछ ।
(२) नियम १६ बमोजिम महसुल छूट भएकोमा धाराको लगत कायम गरे वापत प्रति महिना दश रुपैयाँ दस्तुर मात्र लिइनेछ ।
(३) कार्यालयको प्राविधिज्ञद्वारा जाँच गर्दा मासिक ३००० लि. भन्दा कम पानी आउने प्रमाणित भएमा सो धारालाई पानी नआउने धारा मानी खण्ड (२) बमोजिमको दस्तुर मात्र लिइनेछ ।