परिच्छेद–३
ऋणपत्रको दोस्रो बजार कारोबार
१२. धितोपत्र बजार मार्फत ऋणपत्रको दोस्रो बजार कारोबार गर्न सकिनेः (१) नियम ३ बमोजिम निष्काशन गरिएको ऋणपत्रको धितोपत्र बजार मार्फत दोस्रो बजार कारोबार गर्न सकिनेछ ।
(२) उपनियम (१) बमोजिम दोस्रो बजार कारोबार गर्ने प्रयोजनको लागि बैङ्कले कारोबार गरिने ऋणपत्रको किसिम, रकम, व्याजदर, साँवा व्याज भुक्तानी अवधि लगायतका विवरण खोली धितोपत्र बजारमा सूचिकृत गराउनेछ ।
(३) उपनियम (२) बमोजिम बैङ्कले सूचिकृत गराएको ऋणपत्र दलाल वा बजार निर्माता मार्फत दोस्रो बजार कारोबार गर्न सकिनेछ ।
१३. दलाल वा बजार निर्माताले पूरा गर्नु पर्ने शर्तहरुः ऋणपत्रको दोस्रो बजार कारोबार गर्न चाहने दलाल वा बजार निर्माताले देहायका शर्तहरु पूरा गर्नु पर्नेछः–
(क) धितोपत्र बोर्डले तोके बमोजिमको न्यूनतम चुक्ता पूँजी, भौतिक पूर्वाधार र जनशक्ति हुनु पर्ने,
(ख) बैङ्कले तोकेको ढाँचामा बैङ्कमा छुट्टै ऋणपत्र खाता खोल्नु पर्ने,
(ग) धितोपत्र बोर्डले तोके बमोजिम रकम धरौटी वा बैङ्क ग्यारेण्टीको रुपमा राख्नु पर्ने ।
१४. दलाल मार्फत ऋणपत्रको दोस्रो बजार कारोबारः
(१) नियम १२ बमोजिम सूचीकृत भएको ऋणपत्र दलाल मार्फत दोस्रो बजार कारोबार गर्न चाहने ग्राहकले धितोपत्र बोर्डले तोकेको ढाँचामा दोस्रो बजार कारोबार गर्न दलाललाई आदेश दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम दिइएको आदेशमा ग्राहकले आफूले दोस्रो बजार कारोबार गर्न चाहेको ऋणपत्रको नाम, किसिम, संख्या, रकम, मूल्य र त्यस्तो आदेश वहाल रहने अवधि समेत खलाउनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम मूल्य खुलाउँदा ग्राहकले देहाय बमोजिम ऋणपत्रको मूल्य खुलाउन सक्नेछः–
(क) निश्चित मूल्य,
(ख) न्यूनतम वा अधिकतम मूल्य, वा
(ग) धितोपत्र बजारको स्थिति हेरी दलालले तोक्ने सक्ने मूल्य ।
(४) उपनियम (२) बमोजिम ग्राहकले दिएको आदेशमा निजले तोकेको समयसम्म वहाल रहने छ र अवधि नतोकिएकोमा आदेश दिएको मितिले तीन दिनसम्म वहाल रहनेछ ।
(५) उपनियम (१) बमोजिम आदेश दिंदा ग्राहकले जति मूल्यको ऋणपत्र बिक्री गर्न चाहेको हो त्यति नै मूल्यको ऋणपत्रको प्रमाणपत्र दलाललाई बुझाउनु पर्नेछ ।
(६) उपनियम (५) बमोजिम दलालले ग्राहकबाट ऋणपत्रको प्रमाणपत्र बुझी लिए पछि सोको निस्सा ग्राहकलाई दिनु पर्नेछ ।
(७) दलालले ऋणपत्रको दोस्रो बजार कारोबार गर्दा नियम २१ को उपनियम ( १) बमोजिम राखिएको अभिलेखमा उल्लिखित समयको प्राथमिकताको आधारमा कारोबार गर्नु पर्नेछ ।
(८) दलालले ऋणपत्र कारोबार गर्दा एकसय रुपैयाँ अङ्कित मूल्यको आधारमा मूल्य तोकी कारोबार गर्नु पर्नेछ ।
(९) दलालले ऋणपत्रको दोस्रो बजार कारोबार गर्दा मौखिक रुपमा लिएँ वा दिएँ भनी आफ्नो मौखिक स्वीकृति जनाई सकेपछि धितोपत्र बोर्डले तोकेको ढाँचामा फाराम भरी दस्तखत गरी खरिदकर्ता दलाल र बिक्रेता दलालले एक आपसमा लिने दिने गर्नु पर्नेछ र सोको एक एक प्रति धितोपत्र बजारमा तुरुन्त बुझाउनु पर्नेछ ।
(१०) उपनियम (९) बमोजिम ऋणपत्रको दोस्रो बजार कारोबार गर्न स्वीकृति जनाई दस्तखत गरे पछि दलालले त्यस्तो ऋणपत्रको दोस्रो बजार कारोबार गर्न अस्वीकार गर्न पाउने छैन ।
(११) उपनियम (९) बमोजिम ऋणपत्रको कारोबार सम्पन्न गरिसकेपछि दलालले ग्राहकलाई धितोपत्र बोर्डले तोके बमोजिमको ढाँचामा फाराम भरी सोको जानकारी दिनु पर्नेछ । ग्राहकले ऋणपत्र खरिद गरेको भए दलालले धितोपत्र बोर्डले तोके बमोजिमको ढाँचामा खरिद निस्सा समेत ग्राहकलाई दिनु पर्नेछ ।
(१२) उपनियम (११) बमोजिमको खरिद निस्सा ऋणपत्रकै रुपमा कारोबार योग्य हुनेछ ।
(१३) उपनियम (१२) मा जुनसुकै कुरा लेखिएको भए तापनि उपनियम (११) बमोजिमको खरिद निस्सा सम्बन्धित दलाल र धितोपत्र बजारमा अभिलेख गराए पछि मात्र कारोबार गर्न सकिनेछ ।
(१४) ग्राहकको आदेश नभएको अवस्थामा दलालले धितोपत्र बोर्डले तोकेको सीमामा ननाघ्ने गरी आफ्नो स्वामित्वको ऋणपत्र दोस्रो बजार कारोबार गर्न सक्नेछ ।
१५. बजार निर्माता मार्फत ऋणपत्रको दोस्रो बजार कारोबारः
(१) कुनै ग्राहकले नियम १४ बमोजिम दलाल मार्फत ऋणपत्रको दोस्रो बजार कारोबार गर्न चाहेमा र दलालसँग पर्याप्त मात्रामा ऋणपत्रको दोस्रो बजार कारोबारको आदेश नभएको कारण ऋणपत्रको कारोबार हुन नसकेमा त्यस्तो ग्राहकले सिधैं वा दलाल मार्फत धितोपत्र
बोर्डले तोकेको ढाँचामा बजार निर्मातालाई ऋणपत्रको दोस्रो बजार कारोबार गर्न आदेश दिन सक्नेछ ।
(२) बजार निर्माताले धितोपत्र बजारको ऋणपत्र कारोबार गर्ने कक्षमा राखेको सूचना पाटीमा खरिद मूल्य र बिक्री मूल्य तोकी ऋणपत्रको दोस्रो बजार कारोबार गर्न सक्नेछ ।
(३) उपनियम (२) बमोजिम तोकिने ऋणपत्रको खरिद वा बिक्री मूल्यको भिन्नता धितोपत्र बोर्डले तोकेको सीमा भन्दा बढी हुने छैन ।
(४) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि बजार निर्माताले आफूसंग ऋणपत्र मौज्दात नभएको अवस्थामा ऋणपत्रको खरिद मूल्य मात्र र धितोपत्र बोर्डले तोकेको अधिकतम मौज्दात पुगिसकेको अवस्थामा ऋणपत्रको बिक्री मूल्य मात्र तोक्नु पर्नेछ ।
(५) बजार निर्माताले धितोपत्र बजारमा अड्ढित गराएको मूल्यमा धितोपत्र बोर्डको स्वीकृति लिई नेपाल ………… को आफ्नो अन्य शाखाबाट समेत ऋणपत्रको दोस्रो बजार कारोबार गर्न सक्नेछ ।
(६) उपनियम (५) बमोजिम ऋणपत्रको कारोबार गर्दा वा गराउँदा धितोपत्र बजारमा कारोबारको लागि अङ्कि त गराएको मूल्यमा कुनै किसिमको परिवर्तन भएमा सोही अनुसार तुरुन्त एकै समयमा अन्य शाखामा समेत परिवर्तन हुने व्यवस्था मिलाउनु पर्नेछ ।
(७) धितोपत्र बजारले तोकेको कारोबार समय समाप्त भइसकेपछि पनि सो दिन बजार निर्माताले ऋणपत्र कारोबार गर्ने कक्षमा राखेको सूचना पाटीमा अङ्कित गरेको अन्तिम मूल्यमा ऋणपत्रको दोस्रो बजार कारोबार गर्न सक्नेछ ।
(८) उपनियम (७) बमोजिम ऋणपत्र कारोबार गरिएको जानकारी बजार निर्माताले कारोबार भएकै दिन वा सोको भोलिपल्ट कारोबार समय हुन अगावै धितोपत्र बोर्ड तथा धितोपत्र बजारलाई दिनु पर्नेछ ।
(९) बजार निर्माताले धितोपत्र बोर्डले तोके बमोजिम आफ्नो स्वामित्वमा राख्नु पर्ने ऋणपत्रको न्यूनतम सीमा नघट्ने र अधिकतम सीमा नबढ्ने गरी ऋणपत्रको दोस्रो बजार कारोबार गर्नु पर्नेछ ।
१६. रोक्का भएको ऋणपत्रको कारोबार गर्न नपाउनेः यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि दलाल वा बजार निर्माताले प्रचलित कानून बमोजिम रोक्का भएको ऋणपत्रको दोस्रो बजार कारोबार गर्न पाउने छैन ।
१७. स्वामित्व उल्लेख गर्नु पर्नेः (१) दलाल वा बजार निर्माताले ऋणपत्रको प्रकृतिको आधारमा धितोपत्र बोर्डले तोके बमोजिम व्यक्तिगत वा संस्थागत स्वामित्वमा रहने गरी ऋणपत्रको दोस्रो बजार कारोबार गर्नु पर्नेछ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि दलाल वा बजार निर्माताले आफ्नो स्वामित्वमा रहने गरी खरिद गरेको ऋणपत्रको हकमा व्यक्तिगत वा संस्थागत दुवै किसिमको स्वामित्व रहने गरी ऋणपत्र खरिद गर्न सक्नेछ ।
१८. दोस्रो बजार कारोबारको सीमाः (१) दलाल वा बजार निर्माताले ऋणपत्रको शुरु कारोबार मूल्य र त्यसपछिका कारोबार मूल्य धितोपत्र बोर्डले तोकेको सीमाभित्र रही तोक्नु पर्नेछ
(२) दलालले धितोपत्र बजारमा अङ्कित गरेको मूल्यमा एकपटकमा कम्तिमा पच्चीस हजार रुपैंया बराबरको ऋणपत्रको दोस्रो बजार कारोबार गर्नु पर्नेछ ।
१९. ऋणपत्रको प्रमाणपत्रमा अङ्कित मूल्यमा कारोबार गर्नु पर्नेः (१) दलाल वा बजार निर्माताले ऋणपत्रको प्रमाणपत्रमा अङ्कित मूल्यको आधारमा मात्र कारोबार गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम ऋणपत्रको कारोबार गर्दा खण्डित अवधिको ब्याज र त्यस्तो ब्याजमा लाग्ने करको समेत छुट्टै हिसाब देखिने गरी कारोबार दुरुस्त राख्नु पर्नेछ ।
२०. कारोबार फछ्र्यौट गर्नु पर्नेः (१) कुनै दलाल वा बजार निर्माताले आफूले गरेको ऋणपत्रको दोस्रो बजार कारोबारको रकम, ऋणपत्रको प्रमाणपत्र, दाखिल खारेज पत्र, बिक्रेताको लिखत तथा अन्य आवश्यक कागजात कारोबार भएकै दिन धितोपत्र बोर्डले तोकेको समयभित्र धितोपत्र बजारमा पेश गरी कारोबार फछर्यौट गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम दलाल वा बजार निर्माताले कारोबार भएकै दिन कारोबार फछ्र्यौट गर्न नसकेमा सोको कारण खोली निवेदन दिएमा धितोपत्र बजारले ऋणपत्रमा निर्धारित व्याजदर अनुसारको विलम्ब अवधिको व्याज रकम र दैनिक कारोबार मूल्यमा धितोपत्र बोर्डले तोकेको प्रतिशतका दरले विलम्ब शुल्क लिई कारोबार भएको तेस्रो दिनसम्ममा त्यस्तो कारोबार फछ्र्यौट गर्न धितोपत्र बजारले म्याद थप गरिदिन सक्नेछ ।
(३) उपनियम (२) बमोजिम लिइएको ब्याज तथा विलम्ब शुल्क धितोपत्र बजारले दलाल वा बजार निर्माता मार्फत सम्बन्धित ग्राहकलाई उपलब्ध गराउनु पर्नेछ ।
(४) उपनियम (२) बमोजिम थपिएको म्यादभित्र समेत कारोबार फछ्र्यौट नगरेमा त्यस्तो दलाल वा बजार निर्माताले राखेको धरौटी रकमबाट खामेसम्म ऋणपत्र खरिद गरी वा नगद भुक्तानी गरी धितोपत्र बजारले हिसाब फछ्र्याैट गरिदिनु पर्नेछ ।
(५) दलाल वा बजार निर्माताले नियम १३ को खण्ड (ख) बमोजिम खोलेको खातामा दैनिक कारोबारबाट भएको हेरफेरको हिसाब मिलान गर्नु पर्नेछ ।
(६) उपनियम (५) बमोजिम हिसाब मिलान गर्दा ग्राहकको नाममा ऋणपत्रको नयां प्रमाणपत्र जारी गर्नु परेमा बैङ्कले नयाँ प्रमाणपत्र जारी गर्नु पर्नेछ ।
(७) उपनियम (६) बमोजिम नयाँ प्रमाणपत्र जारी गर्दा बैङ्कले तोके बमोजिमको दस्तुर ग्राहकले दलाल वा बजार निर्माता मार्फत बैङ्कलाई बुझाउनु पर्नेछ ।
२१. ऋणपत्रको कारोबार सम्बन्धी अभिलेख (१) दलालले ग्राहकबाट ऋणपत्रको दोस्रो बजार कारोबार गर्न आदेश प्राप्त भएपछि सोको मिति र समय समेत जनाई धितोपत्र बोर्डले तोके बमोजिमको ढाँचामा दर्ता अभिलेख राख्नु पर्नेछ ।
(२) दलाल वा बजार निर्माताले धितोपत्र बोर्डले तोकेको ढाँचामा ग्राहक र आफ्नो स्वामित्वको ऋणपत्र विवरण छुट्टाछुट्टै देखिने गरी स्रेस्ता खडा गरी राख्नु पर्नेछ ।
२२. कारोबारको विवरण पेश गर्नु पर्नेः (१) दलाल वा बजार निर्माताले प्रत्येक दिन आफूले गरेको ऋणपत्रको दोस्रो बजार कारोबारको विवरण धितोपत्र बोर्डले तोकेको ढाँचामा सोही दिन बैङ्क, धितोपत्र बोर्ड र धितोपत्र बजार समक्ष पेश गर्नु पर्नेछ ।
(२) दलाल तथा बजार निर्माताले आफूले गरेको ऋणपत्रको दोस्रो बजार कारोबारको विवरण अर्ध वार्षिक वा वार्षिक रुपमा धितोपत्र बोर्डले तोकेको ढाँचामा बैङ्क तथा धितोपत्र बोर्ड समक्ष पेश गर्नु पर्नेछ ।
२३. ऋणपत्रको कारोबार स्थगन गर्न सक्नेः (१) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि ऋणपत्रको दोस्रो बजार कारोबार मूल्यमा अस्वाभाविक रुपमा उतार चढाव आएमा धितोपत्र बोर्डले त्यस्तो कारोबार स्थगन गर्न धितोपत्र बजारलाई निर्देशन दिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम ऋणपत्रको मूल्यमा अस्वाभाविक रुपमा उतार चढाव आएको कारण त्यसमा तत्काल नियन्त्रण गर्नु पर्ने अवस्था देखेमा धितोपत्र बजारले त्यस्तो कारोबार स्थगन गरी सोको कारण सहितको जानकारी धितोपत्र बोर्डलाई तुरुन्त दिनु पर्नेछ ।