Skip to contentSkip to left sidebar Skip to footer

अवैतनिक वाणिज्यदूत सम्बन्धी नियमावली, २०३९

नेपाल राजपत्रमा प्रकाशित मिति

                                                                                   नेपाल राजपत्रमा प्रकाशित मिति

                                                                                           २०३९।९।१२

संशोधन
१. अवैतनिक वाणिज्यदूत सम्बन्धी (पहिलो संशोधन) नियमावली, २०६१                                   २०६१।११।१७

२. अवैतनिक वाणिज्यदूत सम्बन्धी (दोस्रो संशोधन) नियमावली, २०६९                                    २०६९।९।२३

३. अवैतनिक वाणिज्यदूत सम्बन्धी (तेस्रो संशोधन) नियमावली, २०७१                                     २०७१।५।३०

४. अवैतनिक वाणिज्यदूत सम्बन्धी (चौथो संशोधन) नियमावली, २०७४                                    २०७४।१।१८

प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०१३ को दफा २ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ ।

 

परिच्छेद – १ प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भः (१) यी नियमहरूको नाम “अवैतनिक वाणिज्यदूत सम्बन्धी नियमावली, २०३९” रहेको छ ।

(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।

२. परिभाषाः विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यो नियमावलीमा,–

(क) “मन्त्रालय” भन्नाले नेपाल सरकारको परराष्ट्र मन्त्रालय सम्झनु पर्छ ।

(ख) “मन्त्री” भन्नाले परराष्ट्र मन्त्री सम्झनु पर्छ ।

(ग) “राजदूत” भन्नाले विदेशस्थित नेपाली राजदूतावासको प्रमुखका रुपमा काम गर्ने राजदुत वा राजदुतावसा नरहेको मुलुकको लागि सहप्रमाणीकृत गैरआवासीय राजदूत सम्झनु पर्छ र सो शव्दले राजदूतको पद रिक्त भएमा कार्यवाहक राजदूतको रुपमा काम गर्ने कुटनीतिक अधिकृतलाई समेत जनाउँछ ।

(घ) “कन्सुलर क्षेत्र” भन्नाले कन्सुलर सम्बन्धी काम गर्नको लागि अवैतनिक वाणिज्यदूतलाई तोकेको क्षेत्र सम्झनु पर्छ ।

(ङ) “अवैतनिक वाणिज्यदूत” भन्नाले कुनै किसिमको पारिश्रमिक नपाउने गरी नियुक्ति हुने वाणिज्यदूत तथा महावाणिज्यदूत सम्झनु पर्छ र सो शब्दले उपवाणिज्यदूतलाई समेत जनाउनेछ ।

(च) “नियुक्तिपत्र” भन्नाले कुनै राष्ट्रका सम्बन्धित पदाधिकारीले कुनै व्यक्तिलाई अवैतनिक वाणिज्यदूत भई काम गर्न दिएको पत्र (लेटर अफ कमिशन) लाई सम्झनु पर्छ ।

(छ) “स्वीकृतिपत्र” भन्नाले अवैतनिक वाणिज्यदूतलाई स्वीकार गर्ने राज्यको सम्बन्धित पदाधिकारीबाट अवैतनिक वाणिज्यदूतका रुपमा मान्यता दिएको पत्र (एक्जिक्वेटर) सम्झनु पर्छ ।

(ज) “महासन्धि” भन्नाले १९६३ मा भियनामा बसेको संयुक्त राष्ट्रसंघको कन्सुलर सम्बन्धी सम्मेलनले पारित गरेको महासन्धि (भियना कन्भेन्सन अफ कन्सुलर रिलेशन्स, १९६३) सम्झनु पर्छ ।

(झ) “स्वीकार गर्ने राज्य (रिसीभिङ्ग स्टेट)” भन्नाले यस नियमावली बमोजिम नियुक्ति भएको अवैतनिक वाणिज्यदूत रहने मुलुक सम्झनु पर्छ ।

परिच्छेद–२ नियुक्ति

३. अवैतनिक वाणिज्यदूतको नियुक्तिः  (१) नेपाल सरकारले नियम ३क. को उपनियम (१) बमोजिमको योग्यता पुगेको व्यक्तिलाई राजदूतको सिफारिसमा अवैतनिक वाणिज्यदूत नियुक्ति गर्न सक्नेछ ।

(२) उपनियम (१) बमोजिम अवैतनिक वाणिज्यदूत नियुक्त गर्दा अवैतनिक महावाणिज्यदूत, अवैतनिक वाणिज्यदूत वा अवैतनिक उपवाणिज्यदूतको दर्जा दिई नियुक्ति गर्नु पर्नेछ ।

३क. अवैतनिक वाणिज्यदूतको योग्यताः (१) नियम ३ बमोजिम अवैतनिक वाणिज्यदूतमा नियुक्ति हुने व्यक्तिको योग्यता देहाय बमोजिम हुनु पर्नेछः–

(क) पच्चीस वर्ष उमेर पूरा भएको,

(ख) कुनै व्यापार, व्यवसाय वा पेशामा संलग्न रही स्वीकार गर्ने राज्यमा ख्याति प्राप्त व्यक्तिको हैसियत भएको,

(ग) नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको,

(घ) नेपालप्रति सद्भावना भएको,

(ङ) मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह उत्तीर्ण गरेको,

(च) नेपालको विदेश नीति, राजनीतिक व्यवस्था, आर्थिक तथा सांस्कृतिक पक्षहरुबारे यथेष्ट जानकारी भएको र नेपाल सरकारको आर्थिक कूटनीतिको कार्यान्वयनमा योगदान दिन सक्ने,

(छ) द्विपक्षीय सम्बन्ध लगायत नेपालको राष्ट्रिय हित प्रबद्र्धनमा योगदान पु¥याउन सक्ने,

(ज) स्वीकार गर्ने राज्यको सरकार, स्थानीय निकायहरु तथा स्थानीय व्यापारिक समुदायसँग राम्रो सम्पर्क स्थापित भएको तथा नेपालको पक्षमा समर्थन जुटाउन सक्ने क्षमता भएको,

(झ) तोकिएको कन्सुलर कार्यक्षेत्रमा वर्षमा कम्तीमा ६ महिना बसोबास गर्न सक्ने,

(ञ) आफ्नै खर्चमा कार्यालय स्थापना र सञ्चालन गर्ने इच्छा र क्षमता भएको,

(ट) नेपाली समुदायसँग राम्रो सम्बन्ध भएको,

(ठ) नेपाल सरकारको दृष्टिमा उपयुक्त ठहरिएको ।

(२) यस नियमावली बमोजिम मित्रराष्ट्रहरुमा नेपालको लागि अवैतनिक वाणिज्यदूत नियुक्ति गर्नका लागि सिफारिस भएको व्यक्तिको सम्बन्धमा मन्त्रालयले नेपाल सरकारका सम्बन्धित निकायबाट सुरक्षा पास (सेक्युरिटी क्लियरेन्स) लिनु पर्नेछ ।

(३) उपनियम (२) बमोजिम सुरक्षा पास (सेक्युरिटी क्लियरेन्स) माग गर्नु पूर्व मन्त्रालयले सिफारिस भएको व्यक्तिबाट कन्सुलर उन्मुक्ति तथा सुविधाको दुरुपयोग हुने सम्भावना छ, छैन सो सम्बन्धमा समेत विचार गर्नु पर्नेछ ।

(४) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यस नियमावली बमोजिम अवैतनिक वाणिज्यदूतमा नियुक्तिको लागि सिफारिस गर्दा व्यापार, व्यवसाय, पर्यटन, लगानी तथा प्रविधि हस्तान्तरणका क्षेत्रमा सहयोग पु¥याउन सक्ने, उच्चस्तरीय भ्रमण गराउन प्रयास गर्न सक्ने तथा नेपाल एवं सम्बन्धित मित्रराष्ट्र बीचको सम्बन्धलाई सुदृढ बनाउन आफ्नो क्षेत्रबाट योगदान पु¥याउन सक्ने व्यक्तिहरुलाई प्राथमिकता दिनु पर्नेछ ।

४. अयोग्यताः साधारणतया नियुक्त हुने कन्सुलर क्षेत्रस्थित राष्ट्रको नागरिक बाहेक अन्य राष्ट्रको नागरिकलाई अवैतनिक वाणिज्यदूत नियुक्त गरिने छैन ।

तर कुनै राष्ट्रले अवैतनिक वाणिज्यदूत नियुक्त गरिसकेको अन्य राष्ट्रको नागरिक वा यस नियमावली बमोजिमको योग्यता पुगेको र कुनै पनि राजनीतिक दल वा संगठनको सदस्य नरहेको सम्बन्धित देशमा बसोबास गर्ने गैर आवासीय नेपालीलाई अवैतनिक वाणिज्यदूत नियुक्ति गर्न सकिनेछ ।

५. कार्यविधिः अवैतनिक वाणिज्यदूतहरूको नियुक्ति महासन्धिको प्रथम अध्यायको प्रथम खण्डको धारा ९, १०, ११, १२, १३ र १४ मा उल्लेखित कार्यविधि अनुसार गर्नु पर्नेछ ।

६‍‍. नियुक्तिपत्र  (१) नियम ३ बमोजिम नियुक्त भएको अवैतनिक वाणिज्यदूतलाई मन्त्री वा निजले तोकेको मन्त्रालयको अधिकृतस्तरको कर्मचारीले नियुक्तिपत्र (लेटर अफ कमिशन) दिनेछ ।

(२) उपनियम (१) बमोजिम नियुक्तिपत्र प्राप्त नगरी कसैले पनि अवैतनिक बाणिज्यदूतको रुपमा काम गर्न पाउने छैन ।

७. कार्यावधिः (१) अवैतनिक वाणिज्यदूतको कार्यावधि ४ वर्षको हुनेछ । तर अवैतनिक वाणिज्यदूतले सन्तोषप्रद काम गरेको छैन भनी सम्बन्धित राजदूतले सिफारिस गरेमा त्यस्तो वाणिज्यदूतलाई चार वर्षको अवधि पूरा नहुँदै पनि जुनसुकै बखत नेपाल सरकारले हटाउन  सक्नेछ ।

(२) कुनै अवैतनिक वाणिज्यदूतले प्रशंसनीय काम गरेको छ भनी राजदूतको सिफारिस प्राप्त भएमा र त्यस्तो सिफारिसमा मन्त्रीको सहमति भएमा नेपाल सरकारले त्यस्ता अवैतनिक वाणिज्यदूतको चार वर्षको अर्को एक अवधि थप गर्न सक्नेछ ।

(३) …………

८. ……….

९. सेवाका शर्तहरूः (१) अवैतनिक वाणिज्यदूत नियुक्त भएपछि राजदूतले नवनियुक्त वाणिज्यदूतलाई निजको कर्तव्य र उत्तरदायित्वबारे पूर्णरूपले बोध गराईदिनु पर्नेछ ।

(२) नवनियुक्त अवैतनिक वाणिज्यदूतबाट आफ्नो पद नसुहाउँदो र नेपालको अहित हुने कुनै काम गर्ने छैन भन्ने व्यहोराको लिखत गराइ सो लिखत राजदूतले मन्त्रालयमा पठाउनु पर्नेछ ।

(३) उपनियम (२) बमोजिम लिखत गराइसकेपछि मात्र राजदूतले नवनियुक्त अवैतनिक वाणिज्यदूतलाई नियुक्तिपत्र, राष्ट्रिय झण्डा र कार्यालयको छाप प्रदान गर्नेछ ।

(३क) अवैतनिक वाणिज्यदूतले आफू नियुक्ति भएको कन्सुलर क्षेत्रको उपयुक्त स्थानमा स्वीकार गर्ने राज्यको स्वीकृति लिई नेपालको अवैतनिक वाणिज्यदूतको कार्यालय खडा गरी सोको जानकारी राजदूत तथा मन्त्रालयलाई दिनु पर्नेछ र त्यस्तो कार्यालय भवनमा निजले नेपालको झण्डा प्रयोग गर्न सक्नेछ ।

(४) अवैतनिक वाणिज्यदूतको कार्यावधि समाप्त भएपछि निजले राष्ट्रिय झण्डा र कार्यालयको छाप राजदूतलाई फिर्ता गर्नु पर्नेछ ।

(५) अवैतनिक वाणिज्यदूतको सुविधा, सहुलियत वा उन्मुक्ति नेपाल सरकारले निर्धारण गरे बमोजिम हुनेछ ।

परिच्छेद – ३ काम, कर्तव्य, जिम्मेवारी र मूल्याङ्कन

१०. अवैतनिक वाणिज्यदूतको काम, कर्तव्य र जिम्मेवारीः (१) अवैतनिक वाणिज्यदूतको काम, कर्तव्य र जिम्मेवारी महासन्धिको प्रथम अध्यायको प्रथम खण्डको धारा ५ मा उल्लेख भए बमोजिम हुनेछ।

(१क) उपनियम (१) को सर्वसामान्यतामा प्रतिकूल असर नपर्ने गरी अवैतनिक वाणिज्यदूतले स्वीकार गर्ने राज्यको कानूनको अधीनमा रही देहायका काम गर्नु पर्नेछः–

(क) नेपाल  र स्वीकार गर्ने राज्यबीच द्विपक्षीय व्यापार प्रवद्र्धन गर्न वस्तु व्यापारका नयाँ क्षेत्रको पहिचान गरी मन्त्रालय र सरकारी तथा गैर सरकारी क्षेत्रका सम्बद्ध निकायलाई जानकारी गराउने,

(ख) नेपाल भित्र प्रत्यक्ष वैदेशिक लगानी गराउन वा बढाउन आवश्यक काम गर्ने,

(ग) स्वीकार गर्ने राज्यभित्र वैदेशिक रोजगारका अबसर भए सोको पहिचान गरी मन्त्रालयलाई जानकारी गराउने र नेपाल को
जनशक्तिलाई स्वीकार गर्ने राज्यमा रोजगारी उपलब्ध गराउन आवश्यक पहल गर्ने,

(घ) स्वीकार गर्ने राज्य वा अन्य मुलुकका नागरिकलाई नेपाल भ्रमण गर्न प्रोत्साहन गरी नेपालको पर्यटन विकासलाई प्रवद्र्धन गर्ने,

(ङ) स्वीकार गर्ने राज्यमा अति कम विकसित वा विकासोन्मुख मुलुकको सम्बन्धमा कुनै वस्तुको सहुलियतपूर्ण प्रवेशको व्यवस्था भए त्यस्तो प्रवेश नेपाली वस्तुको हकमा लागू गर्न वा सोको परिमाण बढाउन स्वीकार गर्ने राज्यसँग पहल गर्न राजदूतलाई अद्यावधिक रूपमा परामर्श दिने,

(च) नेपाल  र स्वीकार गर्ने राज्यबीच आर्थिक, व्यापारिक, सांस्कृतिक तथा वैज्ञानिक सम्बन्ध तथा सहयोगको अभिवृद्धिका लागि
गर्नुपर्ने कारवाहीको बारेमा राजदूतलाई जानकारी गराइ सो सम्बन्धमा आवश्यक परामर्श दिने,

(छ) स्वीकार गर्ने राज्यमा रहेका गैर आवासीय नेपाली तथा तिनीहरुको कुनै प्रतिनिधि संस्था भए त्यस्तो संस्थासँग नियमित सम्पर्कमा रही नेपालको सामाजिक तथा आर्थिक विकासमा निजहरुलाई संलग्न गराउन आवश्यक पहल गर्ने,

(ज) नेपालमा रहेका निजी क्षेत्रका उद्योग, वाणिज्य वा पर्यटन क्षेत्रका प्रतिनिधि संस्था र स्वीकार गर्ने राज्यका त्यस्ता संस्था बीच सम्पर्क बिन्दूको रूपमा काम गर्ने,

(झ) स्वीकार गर्ने राज्यमा उपलब्ध कुनै क्षेत्रको अत्याधुनिक प्रविधि नेपाल भित्र्याउन आवश्यक भएमा सो सम्बन्धमा राजदूतसंग परामर्श गरी आवश्यक पहल गर्ने,

(ञ) नेपाल  र स्वीकार गर्ने राज्यबीच आर्थिक, वाणिज्य, सांस्कृतिक वा विज्ञान तथा प्रविधिको क्षेत्रमा आपसी सहयोग बढाउन
नेपाल सरकारले तोकेको अन्य कुनै काम गर्ने ।

(२) अवैतनिक वाणिज्यदूतले नेपालको परराष्ट्र, आर्थिक, वाणिज्य, औद्योगिक, पर्यटन, वैदेशिक रोजगार तथा वैदेशिक लगानी सम्बन्धी नीतिको अध्ययन गरी सोको जानकारी स्वीकार गर्ने राज्यमा सरोकार राख्ने व्यक्ति वा संस्थालाई गराउनु पर्नेछ ।

(२क) अवैतनिक वाणिज्यदूतले उपनियम (२) को प्रयोजनका लागि स्वीकार गर्ने राज्यका व्यापार, वैदेशिक रोजगारदाता तथा गैर आवासीय नेपाली तथा सम्बन्धित क्षेत्रका प्रतिनिधिहरुसंग आवश्यकता अनुसार छलफल, भेटघाट र परामर्श बैठक गर्न सक्नेछ ।

(३) आफू नियुक्त भएको कन्सुलर क्षेत्र वा त्यसक्षेत्र रहेको जिल्ला वा त्यस क्षेत्र रहेको प्रदेश वा त्यस क्षेत्र रहेको राष्ट्र र नेपालबीच व्यापार प्रवद्धन गर्न राजदूतसँग सरसल्लाह गरी आवश्यक कार्य गर्नु अवैतनिक वाणिज्यदूतको विशेष कर्तव्य हुनेछ । तर राजदूतको पूर्व स्वीकृति नलिईकन आफू नियुक्त भएको राष्ट्रको सम्बन्धित पक्षसँग व्यापार प्रबद्धन विषयमा कुराकानी शुरु गर्न पाउने छैन ।

(४) उपनियम (३) बमोजिमको विषयमा भएको प्रगति प्रतिवेदन अवैतनिक वाणिज्यदूतले प्रत्येक तीन महिनामा राजदूतलाई पठाउनु पर्नेछ र राजदूतले पनि आफूले प्राप्त गरेको प्रतिवेदन मन्त्रालयमा पठाउनु पर्नेछ ।

(५) अवैतनिक वाणिज्यदूतले नेपाल  भ्रमण गर्न चाहने विदेशीलाई नेपाल सरकारले समय समयमा तोकेको भिसा दस्तुर लिई पर्यटक भिसा प्रदान गर्न सक्नेछ । तर कन्सुलर क्षेत्र रहेका मुलुकका पूर्व राष्ट्राध्यक्ष, पूर्व सरकार प्रमुख, पूर्व परराष्ट्र मन्त्री, ख्याति प्राप्त तथा प्रतिष्ठित व्यक्ति वा पूर्व अवैतनिक वाणिज्यदूतलाई मन्त्रालय वा राजदूतको पूर्व स्वीकृति लिई निःशुल्क (ग्य्राटिस) भिसा प्रदान गर्न सक्नेछ ।

(६) अवैतनिक वाणिज्यदूतले भिसा प्रदान गर्दा प्राप्त भएको राजश्वको फाँटवारी प्रत्येक महिनाको अन्त्यमा राजदूतलाई पठाउनु पर्नेछ ।

(७) अवैतनिक वाणिज्यदूतले उपनियम (६) बमोजिम प्राप्त हुन आउने रकममा सेवा शुल्क बापत बीस प्रतिशत थप रकम लिन सक्नेछ र त्यसरी प्राप्त गरेको थप रकम निजले कार्यालय सञ्चालन, व्यापार तथा पर्यटन प्रवर्धनात्मक कार्यमा समेत खर्च गर्न सक्नेछ ।

(७क) अवैतनिक वाणिज्यदूतले उपनियम (६) बमोजिम प्राप्त हुने रकम प्रत्येक तीन महिनामा राजदूतलाई बुझाउनु पर्नेछ र राजदूतले त्यसरी प्राप्त भएको रकम आफू वहाल रहेको राजदूतावासको राजश्व खातामा आम्दानी बाँधी सोको जानकारी मन्त्रालयलाई दिनु पर्नेछ ।

(८) नेपालबाट भ्रमणमा आएका विशिष्ट व्यक्तिहरूलाई राजदूतको निर्देशानुसार अवैतनिक वाणिज्यदूतले हरसम्भव सबै किसिमको मद्दत, सुहाउँदो सम्मान र आवश्यक सहयोग दिनु पर्नेछ ।

(९) अवैतनिक वाणिज्यदूतको हैसियतले विभिन्न व्यक्तिहरूसँग औपचारिक भेटघाट वा शिष्टाचार भेटको बखतमा भएको कुराकानीको प्रतिवेदन तयार पारी निजले राजदूतलाई पठाउनु पर्नेछ र राजदूतले यस्तो प्रतिवेदन मन्त्रालयमा पठाउनेछ ।

११. अवैतनिक वाणिज्यदूतको कार्य सम्पादन मूल्याङ्कनः (१) राजदूतले प्रत्येक आर्थिक वर्षको पहिलो तीन महिनाभित्र अवैतनिक वाणिज्यदूतको कार्य सम्पादनको स्तर मूल्यांकन गरी नेपाल सरकारमा पठाउनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम कार्य सम्पादनको स्तर मूल्याङ्कन गर्दा देहायका कुरालाई आधार लिइनेछः–

(क) निजले एक वर्षमा सम्पादन गरेको कामको समग्र विवरण,

(ख) भिसा जारी गर्दा प्राप्त गरेको दस्तुरको रकम र नेपाल सरकारलाई सो बापत प्राप्त भएको राजश्वको परिमाण,

(ग) यस नियमावली बमोजिम निजले पठाउनु पर्ने प्रतिवेदन,

(घ) नेपालमा भ्रमण गर्ने पर्यटक प्रति निजले गरेको व्यवहार, र

(ङ) कन्सुलर क्षेत्रमा भ्रमण गर्ने नेपाली नागरिक प्रति निजले देखाएको व्यवहार ।

(३) उपनियम (१) बमोजिम कार्य सम्पादनको स्तर मूल्याङ्कन गर्दा उत्कृष्ट देखिएको अवैतनिक वाणिज्यदूतलाई नेपाल सरकारले उपयुक्त ठहराए बमोजिम सम्मान गर्न सक्नेछ र कार्य सम्पादनको स्तर सन्तोषजनक नदेखिएको अवैतनिक वाणिज्यदूतलाई नेपाल सरकारले पुनर्नियुक्ति नगर्न सक्नेछ ।

परिच्छेद – ४ नेपालमा मित्रराष्ट्रद्वारा अवैतनिक वाणिज्यदूतमा नियुक्ति

१२. मित्रराष्ट्रद्वारा अवैतनिक वाणिज्यदूत नियुक्तिः (१) कुनै मित्रराष्ट्रले चाहेमा नेपालको कन्सुलर क्षेत्रमा अवैतनिक वाणिज्यदूत नियुक्त गर्न सक्नेछ ।

(२) देहायको योग्यता भएको कुनै नेपाली नागरिकलाई कुनै मित्रराष्ट्रले उपपनियम (१) बमोजिम नेपालमा अवैतनिक वाणिज्यदूत नियुक्त गर्न चाहेमा स्वीकृतिको लागि मन्त्रालय समक्ष प्रस्ताव गर्न सक्नेछः

(क) पच्चीस वर्ष उमेर पूरा भएको,

(ख) सार्वजनिक जीवनमा ख्याति कमाएको,

(ग) नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको,

(ङ) बैंक तथा वित्तीय संस्थाहरुको ऋण नतिरे बापत कालो सूचीमा नपरेको,

(च) साहूको दामासाहीमा नपरेको,

(छ) ………….

(३) उपनियम (२) बमोजिम प्रस्तावित व्यक्तिका सम्बन्धमा मन्त्रालयको नेपाल सरकारका सम्बन्धित निकायबाट सुरक्षा पास (सेक्युरिटी क्लियरेन्स) तथा बैंक तथा वित्तीय संस्थाहरुको ऋण नतिरे बापत कालो सूचीमा परे नपरेको सम्बन्धमा लिखित जानकारी माग गर्नेछ र त्यसरी माग गरिए बमोजिम सुरक्षा पास प्राप्त भएमा र कालो सूचीमा नपरेको पाइएमा मात्र मन्त्रालयले अवैतनिक वाणिज्यदूतमा नियुक्तिका लागि स्वीकृति दिनेछ ।

(४) उपनियम (२) बमोजिम प्रस्तावित व्यक्तिको हकमा सुरक्षा पास (सेक्युरिटी क्लियरेन्स) प्राप्त नभएको वा कालो सूचीमा परेको जानकारी आएमा मन्त्रालयले अर्को कुनै योग्यता प्राप्त व्यक्तिलाई नियुक्तिको लागि प्रस्ताव गर्न सम्बन्धित मुलुकलाई अनुरोध गर्नेछ ।

(५) उपनियम (३) बमोजिम सुरक्षा पास (सेक्युरिटी क्लियरेन्स) माग गर्नु पूर्व मन्त्रालयले प्रस्तावित व्यक्तिबाट कन्सुलर उन्मुक्ति तथा सुविधाको दुरुपयोग गर्ने सम्भावना छ, छ्रैन सो सम्बन्धमा समेत विचार गर्नु पर्नेछ ।

(६) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै मित्रराष्ट्रले कुनै नेपाली नागरिकलाई अवैतनिक वाणिज्यदूतमा नियुक्तिको लागि प्रस्ताव गर्दा व्यापार, व्यवसाय, पर्यटन लगानी तथा प्रविधि हस्तान्तरणका क्षेत्रमा सहयोग पु¥याउन सक्ने उच्चस्तरीय भ्रमण गराउन प्रयास गर्न सक्ने, नेपाली नागरिकहरुलाई आवश्यकता अनुसार सम्बन्धित देशको भिसा प्राप्त गर्न सहजीकरण गर्न सक्ने र नेपाल तथा सम्बन्धित मित्रराष्ट्र बीचको सम्बन्धलाई सुदृढ बनाउन आफ्नो क्षेत्रबाट योगदान पु¥याउन सक्ने व्यक्तिलाई प्राथमिकता दिनु पर्नेछ ।

१३. सुविधा, सहुलियत र उन्मुक्तिमा बन्देजः (१) कुनै मितराष्ट्रले कुनै व्यक्तिलाई नेपालको कुनै कन्सुलर क्षेत्रका लागि अवैतनिक वाणिज्यदूत नियुक्त गरेमा त्यस्ता अवैतनिक वाणिज्यदूतलाई प्रदान गरिने सुविधा, सहुलियत र उन्मुक्ति महासन्धिको अधीनमा रही पारस्पारिकताका आधारमा मन्त्रालयले निर्धारण गरे बमोजिम हुनेछ ।

(२) उपनियम (१) बमोजिम दिएको सुविधा, सहुलियत वा उन्मुक्ति कुनै अवैतनिक वाणिज्यदूतले दुरुपयोग गरेको पाइएमा मन्त्रालयले त्यस्तो सुविधा, सहुलियत वा उन्मुक्ति जुनसुकै बखत रद्द गर्न सक्नेछ ।

(३) नियम १४ बमोजिमको पदावधि समाप्त भएपछि अवैतनिक वाणिज्यदूतको पुनर्नियुक्ति वा पदावधि थप नभएमा निजले पाएको सुविधा, सहुलियत र उन्मुक्ति स्वतः समाप्त हुनेछ ।

१४. स्वीकृतिपत्रः (१) कुनै मित्रराष्ट्रले नेपालको कुनै क्षेत्रभित्र कन्सुलरको काम गर्ने गरी कुनै व्यक्तिलाई अवैतनिक वाणिज्यदूतको नियुक्तिपत्र जारी गरी स्वीकृतिका लागि लेखी पठाएमा मन्त्री वा निजले तोकेको मन्त्रालयको अधिकृतस्तरको कर्मचारीले नियुक्तिपत्रमा अवधि तोकिएको भए सोही अवधिसम्म र नतोकिएकोमा स्वीकृतिपत्र जारी गरेको मितिबाट तीन वर्षसम्म काम गर्न पाउने गरी त्यस्तो व्यक्तिलाई स्वीकृतिपत्र प्रदान गर्नेछ ।

(२) उपनियम (१) बमोजिमको अवधि समाप्त भएको अवैतनिक वाणिज्यदूतको पदावधि थप गर्न वा पुनर्नियुक्तिको लागि सम्बन्धित मित्रराष्ट्रबाट औपचारिक पत्र प्राप्त भएमा मन्त्रालयले बढीमा तीन वर्षको लागि पदावधि थन पर्न वा पुनर्नियुक्तिको लागि स्वीकृतिपत्र प्रदान गर्न सक्नेछ

परिच्छेद – ५ विविध

१५. महासन्धि बमोजिम हुनेः अवैतनिक वाणिज्यदूतका सम्बन्धमा महासन्धि सम्पूर्ण रूपले अनुशरण गरिनेछ ।

तर नेपाली नागरिक नेपालको वाणिज्यक्षेत्रमा कुनै मित्रराष्ट्रद्वारा अवैतनिक वाणिज्यदूत नियुक्त भएमा त्यस्तो अवैतनिक वाणिज्यदूतको सुविधा र उन्मुक्तिको हकमा नियम १३ बमोजिम हुनेछ ।

१५क.परामर्श बैठक बोलाउन सक्नेः (१) राजदूतले आफू नियुक्ति भएको मुलुक वा मुलुकहरुमा नियुक्त अवैतनिक वाणिज्यदूतहरुको परामर्श बैठक समय समयमा बोलाउन सक्नेछ ।

(२) उपनियम (१) बमोजिम बोलाइएको बैठकमा नेपाल  र अवैतनिक वाणिज्यदूत नियुक्ति भएको कन्सुलर क्षेत्रबीच आर्थिक, व्यापारिक, वाणिज्य, सांस्कृतिक तथा विज्ञान तथा प्रविधि सम्बन्धी सम्बन्धको समीक्षा गर्नु पर्नेछ ।

(३) राजदूतले उपनियम (२) बमोजिम भएको समीक्षाको प्रतिवेदन मन्त्रालयमा पठाउनु पर्नेछ ।

१६. खारेजीः अवैतनिक वाणिज्यदूतहरूका सम्बन्धमा भईरहेको यसअघिका सबै निर्णयहरू खारेज गरिएका छन् ।