Skip to contentSkip to left sidebar Skip to footer

अन्तःशुल्क नियमावली, २०५९

अन्तःशुल्क नियमावली, २०५९

नेपाल राजपत्रमा प्रकाशित मिति
२०५९।३।२४

संशोधनः

१. अन्तःशुल्क (पहिलो संशोधन) नियमावली, २०५९                                     २०५९।९।२२
२. अन्तःशुल्क (दोस्रो संशोधन) नियमावली, २०६०                                        २०६०।४।१
३. अन्तःशुल्क (तेस्रो संशोधन) नियमावली, २०६१                                         २०६१।४।१
४. अन्तःशुल्क (चौथो संशोधन) नियमावली, २०६२                                        २०६२।४।१
५. अन्तःशुल्क (पाँचौ संशोधन) नियमावली, २०६२                                         २०६२।१०।१
६. अन्तःशुल्क (छैठौं संशोधन) नियमावली, २०६३                                          २०६३।३।२८
७. अन्तःशुल्क (सातौं संशोधन) नियमावली, २०६४                                          २०६४।३।२८
८. अन्तःशुल्क (आठौं संशोधन) नियमावली, २०६४                                           २०६४।६।३
९. अन्तःशुल्क (नवौं संशोधन) नियमावली, २०६५                                           २०६५।६।३
१०. अन्तःशुल्क (दशौं संशोधन) नियमावली, २०६६                                         २०६६।३।२९
११. अन्तःशुल्क (एघारौं संशोधन) नियमावली, २०६७                                       २०६७।८।४
१२. अन्तःशुल्क (बार्‍हौं संशोधन) नियमावली, २०६८                                        २०६८।३।३१
१३. अन्तःशुल्क (तेर्‍हौं संशोधन) नियमावली, २०७०                                         २०७०।३।३०
१४. अन्तःशुल्क (चौधौं संशोधन) नियमावली, २०७१                                        २०७१।३।२९
१५. अन्तःशुल्क (पन्ध्रौं संशोधन) नियमावली, २०७२                                        २०७२।३।२९
१६. अन्तःशुल्क (सोह्रौं संशोधन) नियमावली, २०७३                                         २०७३।६।२०
१७. अन्तःशुल्क (सत्रौं संशोधन) नियमावली, २०७४                                           २०७४।४।१०
अन्तःशुल्क ऐन, २०५८ को दफा २५ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ ।

परिच्छेद – १ प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भः (१) यी नियमहरूको नाम “अन्तःशुल्क नियमावली, २०५९” रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।

२. परिभाषाः विषय वा प्रस·ले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “ऐन” भन्नाले अन्तःशुल्क ऐन, २०५८ सम्झनु पर्छ ।
(ख) “इजाजतपत्रवाला” भन्नाले अन्तःशुल्क लाग्ने वस्तु उत्पादन, पैठारी, बिक्री वा सञ्चय गर्न वा अन्तःशुल्क लाग्ने सेवा प्रदानका लागि नियम ४ बमोजिम इजाजतपत्र प्राप्त गरेको व्यक्ति, फर्म, कम्पनी वा संस्था सम्झनु पर्छ ।
(ग) “गोदाम” भन्नाले अन्तःशुल्क लाग्ने वस्तु ………. सञ्चय गरेको स्थान सम्झनु पर्छ ।
(घ) “कार्यालय” भन्नाले विभाग अन्तर्गत स्थापना भएको कार्यालय सम्झनु पर्छ र सो शब्दले अन्तःशुल्क असुल उपर गर्ने प्रयोजनको लागि नेपाल सरकारले तोकेको कार्यालय समेतलाई जनाउँछ ।
(ङ) “अन्तःशुल्क विवरण” भन्नाले अन्तःशुल्क असुल तथा दाखिला गर्ने दायित्व भएका इजाजतपत्रवालाले प्रत्येक महिना बुझाउनु पर्ने
अन्तःशुल्क लाग्ने बस्तु तथा सेवाको कारोवार सम्बन्धी विवरण सम्झनुपर्छ ।

परिच्छेद–२ इजाजतपत्र सम्बन्धी व्यवस्था

 

३. इजाजतपत्रका लागि निवेदन दिनु पर्नेः ऐनको दफा ९ को उपदफा (१) बमोजिम इजाजतपत्र लिनका लागि अनुसूची–२ बमोजिमको इजाजतपत्र दस्तुर दाखिला गरेको प्रमाण संलग्न गरी अनुसूची–१ बमोजिमको ढाँचामा अन्तःशुल्क अधिकृत समक्ष निवेदन दिनु पर्नेछ ।

४. इजाजतपत्र दिनु पर्नेः नियम ३ बमोजिम प्राप्त निवेदन उपर आवश्यक जाँचबुझ गर्दा निवेदकको मागबमोजिम इजाजतपत्र दिन मनासिव देखेमा अन्तःशुल्क अधिकृतले अनुसूची–३ बमोजिमको ढाँचामा आवश्यक शर्त तथा वन्देजहरू तोकी इजाजतपत्र दिनु पर्नेछ ।

५. इजाजतपत्र नवीकरण सम्बन्धी व्यवस्थाः (१) इजाजतपत्रवालाले आफूले प्राप्त गरेको इजाजतपत्र नवीकरण गराउन चाहेमा त्यस्तो इजाजतपत्र नवीकरणको लागि अनुसूची–२ बमोजिमको नवीकरण दस्तुर दाखिला गरेको प्रमाण संलग्न गरी अनुसूची–१ बमोजिमको ढाँचामा अन्तःशुल्क अधिकृत समक्ष निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम प्राप्त निवेदन उपर आवश्यक जाँचबुझ गर्दा अन्तःशुल्क बाँकी वक्यौता भएको नदेखिएमा र इजाजतपत्र नवीकरण गर्न मनासिव देखेमा
अन्तःशुल्क अधिकृतले इजाजतपत्र नवीकरण गरिदिनुपर्नेछ ।
५क. इजाजतपत्र रद्दसम्बन्धी व्यवस्थाः (१) कुनै इजाजतपत्रवालाले अन्तःशुल्क लाग्ने वस्तु तथा सेवाको कारोवार गर्न छाडेको वा इजाजतपत्रवालाको मृत्यु भएको कारणले इजाजतपत्र रद्द गर्नुपर्ने भएमा कारोवार छाडेको हकमा इजाजतपत्रवालाले र इजाजतपत्रवालाको मृत्यु भएको हकमा निजको हकवालाले इजाजतपत्र रद्द गर्न अन्तःशुल्क अधिकृत समक्ष निवेदन दिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम प्राप्त निवेदन उपर आवश्यक जाँचबुझ गर्दा इजाजतपत्र रद्द गर्न मनासिव देखेमा अन्तःशुल्क अधिकृतले इजाजतपत्रवालासँग कुनै अन्तःशुल्क रकम, जरिवाना असुल गर्न बाँकी भए सो असुल उपर गरी इजाजतपत्र रद्द गर्न सक्नेछ ।
(३) उपनियम (२) बमोजिम इजाजतपत्र रद्द गरिएको जानकारी तीस दिन भित्र निवेदकलाई दिनु पर्नेछ ।
(४) उपनियम (२) बमोजिम जाँचबुझ गर्दा इजाजतपत्र रद्द गर्नु नपर्ने देखिएमा सोही बमोजिमको जानकारी तीस दिन भित्र निवेदकलाई दिनुपर्नेछ ।
(५) उपनियम (३) बमोजिम इजाजतपत्र रद्द भएको जानकारी प्राप्त नभएसम्म इजाजतपत्रवालाले मासिक रूपमा अन्तःशुल्क विवरण पेश गर्नु पर्नेछ ।
(६) यस नियमबमोजिम इजाजतपत्र रद्द गरिएको जानकारी उद्योग विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय वा अन्य सम्बन्धित निकायलाई समेत दिनु पर्नेछ ।

परिच्छेद–३ अन्तःशुल्क असुली सम्बन्धी व्यवस्था

 

६. अन्तःशुल्क लगाउने प्रक्रियाः (१) मदिरा, स्प्रिट, खुदो (मोलासेस) र वियरलाई उत्पादन गरी निष्कासन गर्दाको अवस्थामा नै अन्तःशुल्क लगाई असुल उपर गर्ने गरी भौतिक नियन्त्रण प्रणाली अन्तर्गत निष्कासन गर्न दिइनेछ ।
(२) उपनियम (१) मा उल्लिखित वस्तु बाहेकका अन्य अन्तःशुल्क लाग्ने वस्तु तथा सेवालाई स्वयं निष्कासन प्रणाली अन्तर्गत निष्कासन गर्न दिइनेछ ।
(२क) उपनियम (१) र (२) मा जनुसुकै कुरा लेखिएको भए तापनि चुरोट, सूर्ती, खैनी, गुट्खा, निकोटिन युक्त वा निकोटिन रहित पानमसाला तथा यस्तै अन्य सूर्तीजन्य पदार्थहरु निस्कासन गर्दा लाग्ने अन्तः शुल्क राजश्व दाखिला गरी माग फाराम स्वीकृत गराई निस्कासन गर्न दिइनेछ ।
(३) उत्पादन गरी निष्कासन गर्दाको अवस्थामा नै अन्तःशुल्क लगाई असुल उपर गर्नु पर्ने भौतिक नियन्त्रण प्रणालीमा आधारित वस्तुको हकमा उत्पादकले आर्थिक वर्षभरीमा उत्पादन गर्ने वस्तु र सो वापत बुझाउनु पर्ने अन्तःशुल्क रकमको अन्तःशुल्क अधिकृतले हिसाब गरी त्यस्तो रकम उत्पादकबाट अग्रीम रूपमा धरौटी राख्न लगाउन सक्नेछ । त्यसरी धरौटी राखिएको रकम अन्तःशुल्क वापत बुझाउनु पर्ने रकम भन्दा कम भएमा अन्तःशुल्क अधिकृतले नपुग रकम जति उत्पादकबाट दाखिला गर्न लगाउन सक्नेछ र बढी भए जति रकम उत्पादकलाई फिर्ता गर्नु पर्नेछ ।
(४) स्वयं निष्कासन प्रणाली अन्तर्गत निष्कासन हुने वस्तु तथा सेवाका हकमा अनुसूची–१३ बमोजिमको बिजकमा अन्तःशुल्क असुल गरी ऐनको दफा ३ बमोजिम दाखिला गर्नु पर्नेछ ।
…………
(५) भौतिक नियन्त्रण प्रणाली अन्तर्गतका वस्तुको निष्कासन माग फाराम स्वीकृत भएपछि पनि अनुसूची–१३ बमोजिमको बिजक जारी गरी सामान निष्कासन गर्नुपर्नेछ ।

६क. अन्तःशुल्क अधिकृतले अन्तःशुल्क निर्धारण गर्न सक्नेः (१) ऐनको दफा १०घ. को उपदफा (१) बमोजिम अन्तःशुल्क अधिकृतले अन्तःशुल्क निर्धारण गर्दा अनुसूची–४क. बमोजिमको ढाँचामा अन्तःशुल्क निर्धारण आदेश जारी गर्नु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम जारी भएको आदेशका सम्बन्धमा ऐनको दफा १०घ.को उपदफा (२) बमोजिमको म्यादभित्र पेश भएका प्रमाण तथा लिएका जिकिरको छानविन गरी अन्तःशुल्क अधिकृतले अनुसूची ४ख. बमोजिमको अन्तिम अन्तःशुल्क निर्धारण आदेशजारी गर्नु पर्नेछ । त्यस्तो आदेशमा अन्तःशुल्क निर्धारण आदेश जारी भएको मितिसम्मको ऐनको दफा ४ख. को उपदफा (२) बमोजिम लाग्ने विलम्ब दस्तुर समेत समावेश गर्नुपर्नेछ ।
(३) उपनियम (२) बमोजिम जारी भएको अन्तःशुल्क निर्धारण आदेश बमोजिमको अन्तःशुल्क, विलम्ब दस्तुर तथा जरिवाना रकम सम्बन्धित व्यक्तिले त्यस्तो आदेश प्राप्त गरेको मितिले सात दिनभित्र सम्बन्धित कार्यालयमा दाखिला गर्नुपर्नेछ ।

६ख. अन्तःशुल्क निर्धारण आदेशको सूचना पठाउने कार्यविधिः (१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भएतापनि अन्तःशुल्क अधिकृतले इजाजतपत्रवालालाई नियम ६क. बमोजिम अन्तःशुल्क निर्धारण आदेशको सूचना पठाउँदा निजलाई बुझाउन वा त्यस्तो व्यक्तिको ठेगानामा राखिएको टेलिफ्याक्स, टेलेक्स वा त्यस्तै विद्युतीय उपकरण मार्फत पठाउन वा निजको कार्यालयमा बुझाउन वा निजको ठेगानामा रजिष्ट्री गरी हुलाक मार्फत पठाइ तामेल गर्न सकिनेछ । त्यसरी तामेल गरिएको सूचना रीतपूर्वक तामेल
भएको मानिनेछ ।
(२) उपनियम (१) बमोजिम अन्तःशुल्क निर्धारण आदेशको सूचना तामेल हुन नसकेमा अन्तःशुल्क अधिकृतले सम्बन्धित व्यक्तिलाई रेडियो, टेलिभिजन वा राष्ट्रियस्तरको कुनै पत्रपत्रिकामा तत्सम्बन्धी आदेशको सूचना प्रशारण वा प्रकाशन गरी जानकारी गराउन सक्नेछ र यसरी सूचना प्रसारण वा प्रकाशन गरिएकोमा सम्बन्धित व्यक्तिले त्यस्तो सूचना प्राप्त गरेको मानिनेछ ।

६ग. इजाजत पत्र नलिई उठाएको अन्तःशुल्कको निर्धारण र असुलीः कसैले इजाजतपत्र नलिई अन्तःशुल्क वा अन्तःशुल्कको नाममा अन्य कुनै रकम उठाएमा निजले उठाएको अन्तःशुल्क रकम नियम ६क. बमोजिम निर्धारण गरी असुल उपर गरिनेछ ।

६घ. अन्तःशुल्क निर्धारणको अवधिः ऐनको दफा १०घ. को उपदफा (१) को प्रतिबन्धात्मक वाक्यांश बमोजिमको अवधि गणना गर्दा अन्तःशुल्कको सम्बन्धमा कुनै अदालतमा निवेदन परि स्थगन आदेश जारी भएको अवस्थामा सोको निर्णय नभएसम्मको अवधि कटाइ गणना गरिनेछ ।

७. बाँकी अन्तःशुल्क रकम असुल उपर गर्न सकिनेः अन्तःशुल्क लाग्ने वस्तु वा सेवा बापत कसैले ऐन तथा यस नियमावली बमोजिम अन्तःशुल्क रकम भन्दा घटी रकम वुझाएको देखिएमा अन्तःशुल्क अधिकृतले निजबाट बा“की अन्तःशुल्क रकम असुल उपर
गरी लिन सक्नेछ ।

८. इजाजतपत्र रद्द भएमा मौज्दात रहेको वस्तु विक्री गर्नेः ऐन तथा यस नियमावली बमोजिम इजाजतपत्र रद्द हुँदाका अवस्थामा गोदाममा मौज्दात रहेका वस्तुका हकमा वक्यौता अन्तःशुल्क बुझाइ विभागको स्वीकृति लिई विक्री गर्न सकिनेछ । विभागलाई वुझाउनु पर्ने वक्यौता अन्तःशुल्क नबुझाएमा विभागले त्यस्तो वस्तु लिलाम विक्री गरी प्राप्त भएको रकमबाट वक्यौता अन्तःशुल्क लिई बाँकी रहन गएको रकम सम्बन्धित व्यक्तिलाई फिर्ता गर्नु पर्नेछ ।

परिच्छेद–४ सम्पत्ति रोक्का, लिलाम बिक्री र जफत सम्बन्धी व्यवस्था

 

९. सम्पत्ति रोक्का गर्न सकिनेः (१) कुनै व्यक्तिले उत्पादन स्थलबाट अन्तःशुल्क लाग्ने वस्तु अन्तःशुल्क छली निष्काशन गरी वा विदेशबाट पैठारी गरी लिई जान लागेको अन्तःशुल्क अधिकृत वा निजले खटाएको कर्मचारीले फेला पारेमा त्यस्तो वस्तु लान नपाउने गरी अन्तःशुल्क अधिकृतले रोक्का राख्न सक्नेछ ।

(२) कुनै व्यक्तिले ऐन र यस नियमावली बमोजिम बुझाउनु पर्ने अन्तः शुल्क म्यादभित्र नबुझाएमा अन्तःशुल्क अधिकृतले त्यस्तो व्यक्तिको सम्पत्ति रोक्का राख्न सक्नेछ ।
(३) उपनियम (१) र (२) बमोजिम अन्तःशुल्क अधिकृतले रोक्का राखेको वस्तु वा सम्पत्ति विक्री वितरण वा कुनै पनि किसिमले हक हस्तान्तरण गर्न नपाउने गरी रोक्का राख्नको लागि त्यस्तो वस्तु वा सम्पत्ति रोक्का गर्न त्यस्तो वस्तु वा सम्पत्ति रोक्का राख्न सम्बन्धित कार्यालयमा लेखी पठाउनु पर्नेछ । यसरी रोक्का राख्नको लागि लेखी आएकोमा त्यस्तो वस्तु वा सम्पत्ति रोक्का राखिदिनु सम्बन्धित कार्यालयको कर्तव्य हुनेछ ।
१०. लिलाम बिक्री सम्बन्धी व्यवस्थाः (१) ऐनको दफा १७ बमोजिम रोक्का रहेको वस्तु वा सम्पत्ति लामो समयसम्म कब्जामा राख्दा खिया लागी वा अरू कुनै परिवन्दबाट टुटफुट वा नोक्सान हुन सक्ने देखिएमा वा सडी गली जाने भएमा वा पुरानो भै मूल्य घट्न जाने भएमा वा वेवारिसे भएमा वा स्थान अभावको कारणबाट राख्न नसकिने भएमा वा संरक्षण प्रदान गर्न नसकिने अवस्थाको भएमा त्यस्तो वस्तु वा सम्पत्तिको अवस्था र प्रकृति हेरी बढीमा सात दिनसम्मको म्याद दिई लिलाम बिक्रीको सूचना कार्यालयको सूचना पाटीमा टाँस गरी लिलाम बिक्री गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम लिलाम विक्री गर्दा लिलाम विक्री गर्ने वस्तु रहेको स्थानको स्थानीय निकायको एकजना प्रतिनिधि वा नजिकको सरकारी कार्यालयको एक जना कर्मचारी र सम्भव भएसम्म सम्बन्धित व्यक्ति वा निजको प्रतिनिधि समेतलाई रोहवरमा राख्नु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम लिलाम विक्री गरिने वस्तु वा सम्पत्तिको लिलाम विक्री गर्दा त्यस्तो वस्तु वा सम्पत्तिको प्रचलित बजार मूल्यलाई आधार मानी न्यूनतम मूल्य कायम गरी बढाबढको आधारमा लिलाम विक्री गर्नु पर्नेछ ।

११. वस्तु वा सम्पत्ति जफत गर्न सकिनेः (१) अन्तःशुल्क लाग्ने वस्तु अन्तःशुल्क नबुझाइ प्रतिष्ठानको उत्पादन स्थलबाट निष्काशन गरी लगेको वा विदेशबाट पैठारी गरी ल्याएको प्रमाणित भएमा त्यस्तो वस्तु अन्तःशुल्क अधिकृतले आफ्नो कब्जामा लिई जफत गर्न सक्नेछ ।
(२) ……………..

(३) झुठ्ठा लेखा वा किर्ते कागज तयार गरी अन्तःशुल्क लाग्ने वस्तु उत्पादन, पैठारी, बिक्री वा सञ्चय गरेमा वा अन्तःशुल्क लाग्ने सेवा प्रदान गरेको पाइएमा अन्तःशुल्क अधिकृतले सोसँग सम्बन्धित सम्पूर्ण वस्तु जफत गर्न सक्नेछ ।

(४) तिर्नु पर्ने अन्तःशुल्क दवाए, छिपाए वा छलेमा अन्तःशुल्क अधिकृतले सो सँग सम्बन्धित वस्तु र सो वस्तु उत्पादन गर्ने उपकरण समेत जफत गर्न सक्नेछ ।
(५) कब्जामा लिएको वस्तु अन्तःशुल्क अधिकृतले जफत गर्नु अघि सम्बन्धित व्यक्तिलाई जफत गर्नु नपर्ने कुनै कारण भए सोको प्रमाण पेश गर्नको लागि सात दिनको सूचना दिनु पर्नेछ ।

परिच्छेद–५ अन्तःशुल्क अधिकृत र इजाजतपत्रवालाको काम, कर्तव्य र अधिकार

 

१२. अन्तःशुल्क अधिकृतको काम, कर्तव्य र अधिकारः (१) अन्तःशुल्क अधिकृतको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछः–

(क) गोदाममा रहेको अन्तःशुल्क लाग्ने वस्तु बिक्री वितरण वा ओसार पसार गर्न गोदाम बाहिर निकाल्दा आफ्नो उपस्थितिमा त्यस्तो वस्तु निकाल्न लगाइ सोको लगत प्रतिष्ठानको उत्पादन स्थलमा राख्न लगाउने,
(ख) विभागबाट माग गरिएको अन्तःशुल्क लाग्ने वस्तुको उत्पादन वा बिक्री वितरण वा गोदाममा रहेको वस्तुको परिमाण र असुल उपर भएको अन्तःशुल्क वा विभागले मागेको अरू कुनै कुराको प्रतिवेदन विभागमा पठाउने,
(ग) अन्तःशुल्क लाग्ने वस्तुको उत्पादन वा बिक्रीको विवरण अनुसूची–४ बमोजिमको दैनिक किताबमा राख्न लगाउने,
(घ) भन्सार नाकाबाट अन्तःशुल्क लाग्ने वस्तु पैठारी भएको अवस्थामा पैठारी गर्ने इजाजतपत्रवालाको नाम, पैठारी गरिएको वस्तुको परिमाण र मूल्य स्पष्ट खुल्ने गरी दैनिक किताबमा जनाइ राख्ने,
(ङ) इजाजतपत्रवालाले नियम १३ बमोजिम पूरा गर्नु पर्ने काम, कर्तव्य पूरा गरे नगरेको समय समयमा निरीक्षण गर्ने,
(ङ१) अन्तःशुल्क लाग्ने वस्तु उत्पादन गर्ने प्रतिष्ठानको मासिक रूपमा निरीक्षण गरी अन्तःशुल्क निर्धारण गर्ने,
(च) अन्तःशुल्क अधिकृतले यस नियमावली बमोजिम आफ्नो कर्तव्य पालन गर्ने सन्दर्भमा विभागले तोकेको अन्य कार्यहरू गर्ने ।

(२) इजाजतपत्रवालाले स्वयं निष्काशन प्रकृया अनुसार आफै निष्काशन गरेको अन्तःशुल्क लाग्ने वस्तुको हकमा अन्तःशुल्क अधिकृतले विभागले तोके बमोजिमको प्रकृया अपनाई इजाजतपत्रवालाको खाता तथा विवरण जाची प्रमाणित गर्नु पर्नेछ ।

१३. इजाजतपत्रवालाको काम तथा कर्तव्यः (१) अन्तःशुल्क लाग्ने वस्तु उत्पादन गर्ने इजाजतपत्रवालाको काम तथा कर्तव्य देहायबमोजिम हुनेछः–
(क) यस नियमबमोजिम पेश गर्नु पर्ने विवरण र फाँटवारी विभागले तोकेको ढाँचामा वस्तुको हकमा वस्तु निष्काशन भएपछि तथा सेवाको हकमा बिजक जारी भएपछिको महिनाको २५ गतेभित्र अन्तःशुल्क अधिकृत समक्ष पेश गर्नु पर्ने ।
(ख) उत्पादन भएको बिक्री वितरण भएको वस्तुको विवरण दैनिक किताबमा जनाई राख्ने र निरीक्षणको क्रममा अन्तःशुल्क अधिकृत वा निजले खटाएको कर्मचारीलाई सो किताब देखाउने,
(ग) उत्पादन भएको वस्तुको नमूना अन्तःशुल्क अधिकृत वा निजले खटाएको कर्मचारीबाट प्रमाणित गराइ कार्यालयमा पठाउने,
(घ) गोदाममा राखिएको वस्तुको विवरण अन्तःशुल्क अधिकृत वा निजले खटाएको कर्मचारीबाट प्रमाणित गराइ सो को निस्सा
राख्ने ।
(२) अन्तःशुल्क लाग्ने वस्तुको सेवा प्रदान गर्ने इजाजतपत्रवालाको काम तथा कर्तव्य देहायबमोजिम हुनेछः–
(क) प्रदान गरेको सेवाको बीजक र सोको हिसाब दैनिक रूपम राख्ने,
(ख) अन्तःशुल्क लाग्ने सेवा प्रदान गर्ने काममा प्रयोग हुने अन्तःशुल्क लाग्ने वस्तुको खरिद प्रमाण वा खरिद बीजक साथमा राख्ने,
(ग) अन्तःशुल्क अधिकृत वा निजले खटाएको कर्मचारीले मागेका बखत खण्ड (क) बमोजिमको कागजात उपलब्ध गराउने ।

(३) अन्तःशुल्क लाग्ने वस्तुको पैठारी गर्ने इजाजतपत्रवालाको काम तथा कर्तव्य देहायबमोजिम हुनेछः–

(क) अन्तःशुल्क लाग्ने वस्तु पैठारी गरिएको अवस्थामा अन्तःशुल्क अधिकृत वा निजले खटाएको कर्मचारी समक्ष बीजक पेश गर्नु पर्ने,
(ख) प्रतितपत्रको माध्यमबाट अन्तःशुल्क लाग्ने वस्तु पैठारी गरिएको अवस्थामा वस्तुको किटानी विवरण, भन्सार प्रयोजनको लागि वस्तु वर्गीकरण शीर्षक, प्रत्येक वस्तुको प्रति इकाई मूल्य र परिमाण अन्तःशुल्क अधिकृत समक्ष पेश गर्नु पर्ने ।

(४) इजाजतपत्रवालाले प्राप्त गरेको इजाजतपत्र आÇनो कारोबार स्थलमा सबैले देख्ने गरी राख्नु पर्नेछ ।
(५) ………………..

परिच्छेद ५क. कारोवारको अभिलेख सम्बन्धी व्यवस्था

 

१३क. अभिलेख राख्नु पर्नेः—

(१) इजाजतपत्रवालाले ऐन र यस नियमावलीको प्रयोजनको निमित्त देहायका कागजात र विवरणको अभिलेख राख्नु पर्नेछः–

(क) चुरोट उत्पादक इजाजतपत्रवालाले अनुसूची– ४, ५, ६, ७, ८, ९ र ९क. बमोजिमका खाता र तिनको विवरण,
(ख) मदिरा, स्प्रिट, खुदो र वियर उत्पादक इजाजतपत्रवालाले अनुसूची – ४, ९क., १०, ११ र १२ बमोजिमका खाता, फाँटवारी र तिनको विवरण,
(ग) अन्तःशुल्क विवरण वुझाउनु पर्ने सबै इजाजतपत्रवालाले अनुसूची–४ग. र ४घ. बमोजिमका खरिद तथा बिक्री खाताहरू,
(घ) आफूले जारी गरेका तथा प्राप्त गरेका बिजकहरू,
(ङ) व्यापार, लेखा, नगद प्राप्ती र भुक्तानी सम्बन्धी अभिलेख,
(च) आफूले गरेको आयात र निर्यातसँग सम्बन्धित सम्पूर्ण कागजातहरू,
(छ) विभागले तोकेका अन्य कागजातहरू ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि कुनै उद्योग वा खास व्यवसायको लागि थप अभिलेखहरू राख्नुपर्ने गरी विभागले तोक्न सक्नेछ ।
(३) इजाजतपत्रवालाले यस नियमबमोजिम राख्नु पर्ने अभिलेखहरू विभागको अनुमति लिई कम्प्युटर वा त्यस्तै अन्य यान्त्रिक प्रणालीमा विभागले तोकिदिए बमोजिमको तरिका अपनाइ राख्न सक्नेछ ।
(४) यस नियमबमोजिम इजाजतपत्रवालाले राखेको अभिलेख अन्तःशुल्क अधिकृतले कारोबार समय वा कार्यालय समयमा जुनसुकै बखत हेर्न सक्नेछ ।
(५) उपनियम (४) बमोजिम अन्तःशुल्क अधिकृतले अभिलेख जाँच गर्ने सिलसिलामा माग गरेका कागजात र विवरण उपलब्ध गराउनु र आवश्यक सहयोगका लागि कर्मचारीको व्यवस्था गर्नु इजाजतपत्रवालाको कर्तब्य हुनेछ ।

१३ख. खाता प्रमाणितसम्बन्धी व्यवस्थाः ऐनको दफा १०ख. को उपदफा (२) बमोजिमका खाताहरू कारोवार शुरु गर्नु पूर्व अन्तःशुल्क अधिकृतबाट प्रमाणित गराउनु पर्नेछ ।

१३ग. इजाजतपत्रवालाले अन्तःशुल्क विवरण पेश गर्नु पर्नेः अन्तःशुल्क उठाइ बुझाउनु पर्ने दायित्व भएका इजाजतपत्रवालाले विक्रम संवत् अनुसारको एक महिनाको अन्तःशुल्कको  विवरण सो महिना समाप्त भएको मितिले २५ दिनभित्र अनुसूची–४ङ. बमोजिमको ढाँचामा सम्बन्धित अन्तःशुल्क अधिकृत समक्ष पेश गर्नु पर्नेछ ।

१३घ. अन्तःशुल्क विवरण पेश गर्न लगाउन सकिनेः कुनै इजाजतपत्रवालाको मृत्यु भएमा वा  निजले अन्तःशुल्क विवरण पेश गर्न शारीरिक वा मानसिक रूपमा असमर्थ भएमा निजको मृत्यु भएको वा निज शारीरिक वा मानसिक रूपमा असमर्थ भएको अघिल्लो दिनसम्मको अवधिसम्म निजले अन्तःशुल्कजन्य कारोबार गरेको मानी अन्तःशुल्क अधिकृतले सो महिनाको अन्तःशुल्क विवरण निजको हकवाला वा कानून बमोजिमको प्रतिनिधिलाई पेश गर्न लगाउन सक्नेछ ।

१३ङ अन्तः शुल्क फिर्ता सम्बन्धी व्यवस्थाः (१) ऐनको दफा ३ख. को उपदफा (५) बमोजिम अन्तः शुल्क फिर्ता पाउन आन्तरिक राजश्व विभागले तोकेको ढाँचामा अन्तःशुल्क अधिकृत समक्ष दरखास्त पेश गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम पेश हुने दरखास्त साथ विभागले तोके बमोजिमका निर्यात प्रमाणित हुने कागजात पेश गर्नु पर्नेछ ।
(३) ऐनको दफा ३ख( को उपदफा (६) बमोजिम फिर्ता गरिने अन्तःशुल्क रकम बीस हजार रुपैयाँभन्दा बढी भएमा सम्बन्धित व्यक्तिको बैंक खातामा जम्मा हुने गरी चेक मार्फत भुक्तानी गर्नु पर्नेछ ।

परिच्छेद–६ चुरोट र बिडीका सम्बन्धमा विशेष व्यवस्था

 

१४. चुरोटको उत्पादन तथा बिक्री वितरणः चुरोट उत्पादन गर्ने इजाजतपत्रवालाले देहाय बमोजिमको कार्य गर्नु पर्नेछः–

(क) कच्चा र कोरा सूर्तिको हिसाब राख्नु पर्नेः चुरोट बनाउनको निमित्त प्रतिष्ठानमा झिकाइएको सबै प्रकारको स्वदेशी र विदेशी सूर्तिको हिसाब तथा विवरण अनुसूची–५ बमोजिमको ढाँचामा राखी प्रतिष्ठानमा खटिएका अन्तःशुल्क अधिकृत वा निजले खटाएको कर्मचारीबाट प्रमाणित गराइ राख्नु पर्ने,
(ख) सूर्ति खपतको हिसाब राख्नेः चुरोट बनाउनलाई प्रयोग गरिएको सूर्तिको हिसाब अनुसूची–६ बमोजिमको ढाँचामा राखी प्रतिष्ठानमा खटिएका अन्तःशुल्क अधिकृत वा निजले खटाएको कर्मचारीबाट प्रत्येक दिन जँचाइ प्रमाणित गराइ राख्नु पर्ने,
(ग) चुरोटमा सुर्तिको अनुपात खुलाउनेः विभिन्न प्रकारको चुरोट बनाउन प्रयोग गरिने स्वदेशी र विदेशी सुर्तिको अनुपात खुलाइ विभागबाट स्वीकृती लिई राख्नु पर्ने,
(घ) तयारी चुरोट बट्टा बन्दी गर्नेः  बिक्रीयोग्य तयारी चुरोटलाई राम्रोसँग जाचबुझ गरी बट्टामा हाली बन्द गर्ने तथा गोदामबाट बिक्रीको लागि निकालिएको चुरोट अन्तःशुल्क अधिकृतको स्वीकृति बेगर कारखानामा पुनः ल्याउन नहुने,

(ङ) चुरोटका बट्टाहरू प्याकि· गर्नेः तयारी चुरोटका बट्टाहरूलाई ठूलो कागजमा बन्द गरी दैनिक बन्द गरिएको चुरोटको बट्टा संख्या, सिलसिलेवार नम्बर र बन्द गरिएको मिति समेत स्पष्ट देखिने गरी अनुसूची–७ बमोजिमको ढाचामा उल्लेख गर्ने तथा गोदाममा राखिएको चुरोटको हिसाब अनुसूची–८ बमोजिमको ढाँचामा राख्नु पर्ने,
(च) गोदामबाट चुरोट निकाल्ने तरिकाः चुरोट बिक्री गर्नको निमित्त गोदामबाट बाहिर निकाल्नलाई अनुसूची–९ बमोजिमको ढाँचामा फाराम भरी अन्तःशुल्क अधिकृत वा निजले खटाएको कर्मचारी समक्ष पेश गर्ने तथा निजहरूबाट जाँची निष्काशन गर्ने इजाजत प्राप्त भएपछि सोको विवरण भरी राख्ने ।

१४क.विभागले चुरोट र बिडीको प्रतिलब्धी दर तोक्न सक्नेः (१) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि चुरोट र बिडीको उत्पादनको प्रतिलब्धी दर विभागले तोक्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम विभागले प्रतिलब्धी दर नतोकेको अवस्थामा चुरोट र बिडी उत्पादन गर्ने इजाजतपत्रवालाले पेश गरेको प्रतिलब्धी दर उपर जाँचबुझ गरी त्यस्तो प्रतिलब्धी दरलाई विभागले मान्यता दिन सक्नेछ ।

१५. बिडीको उत्पादन तथा बिक्री वितरणः (१) बिडी उत्पादन गर्ने इजाजतपत्रवालाले सो बिडी उत्पादन गर्नको लागि खपत भएको कच्चा सूर्तिको हिसाब राखी बिडीको उत्पादन तथा बिक्री वितरण गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम बिडीको उत्पादन गरी बिक्री गर्नु पूर्व अनूसूची –९ बमोजिमको निष्काशन माग फाराम अन्तःशुल्क अधिकृत वा निजले तोकेको कर्मचारीबाट स्वीकृत गराएर मात्र निष्काशन गर्नु पर्नेछ ।

परिच्छेद–७ मदिरासम्बन्धी विशेष व्यवस्था

 

१६. मदिरा उत्पादनः (१) मदिरा उत्पादन गर्ने इजाजतपत्रवालाले पेटेन्ट स्टिल प्लाण्टबाट उत्पादित स्प्रिटको मिश्रण (ब्लेडिङ्ग) बाट मात्र मदिरा उत्पादन गर्नु पर्नेछ ।

(२) मदिरा उत्पादन गर्ने इजाजतपत्रवालाले आफूले उत्पादन गरेका १५, २५, ३०, ४० र ५० यू.पी. शक्तिको मदिरालाई विभागले तोके बमोजिम बोतलबन्दी गर्नु पर्नेछ ।
(३) मदिरा उत्पादन गर्ने इजाजतपत्रवालाले आफूले उत्पादन गरेको ७० यू.पी. शक्तिको मदिरालाई ३०० मिली लिटरको पेट बोतल वा विभागले तोकेबमोजिम बोतलबन्दीमा मात्र बिक्री गर्नु पर्नेछ ।

१७. कच्चा पदार्थको संरक्षणः

मदिरा उत्पादन गर्ने इजाजतपत्रवालाले मोलसिस, स्प्रीट लगायतका कच्चा पदार्थको उचित संरक्षणको प्रबन्ध गर्नु पर्नेछ । त्यस्ता कच्चा पदार्थको उचित संरक्षणको प्रबन्ध नगरी हानी नोक्सानी भएमा सो बापत त्यस्तो इजाजतपत्रवालाले उत्पादन गर्ने मदिरा तर्फको उच्चतम दरबन्दी अनुसार लाग्ने राजश्व सो इजाजतपत्रवालाबाट असुल उपर गरी लिनु पर्नेछ ।

१८. व्याच र सिलसिलेवार नम्बर अंकित गर्नु पर्नेः

(१) मदिराको उत्पादन प्रक्रिया समाप्त भएपछि त्यस्तो मदिरा राखिएको प्रत्येक बोतलमा व्याच नम्बर, सिलसिलेवार नम्बर, उत्पादन मिति, उत्पादन गर्ने इजाजतपत्रवालाको नाम, टेडमार्क र शक्ति लेखिएको लेवल अंकित गरी गोदाममा पठाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम गोदाममा पठाउँदा अनुसूची–९क बमोजिमको ढाँचामा व्याच नियन्त्रण खाता प्रमाणित गरी राख्नु पर्नेछ ।

१९. वाससबन्धी रेकर्ड राख्नेः (१) मदिरा उत्पादन गर्ने इजाजतपत्रवालाले वास बनाउनको लागि फरमेन्टेशन गर्दा प्रयोग गरेको कच्चा पदार्थ, पानीको मात्रा समेत उल्लेख गरी सोको विवरण स्पष्ट देखिने गरी लगत राख्नु पर्नेछ ।
(२) मदिरा उत्पादन गर्ने इजाजतपत्रवालाले डिष्टिलेशन (चुहान) को लागि तयार भएको वास डिष्टिलेशन प्लाण्टमा हाल्नु अगावै डिष्टिल गर्ने वासको परिमाण र भेट नं. को लगत राखी सोको जानकारी अन्तःशुल्क अधिकृत वा निजले खटाएको कर्मचारीलाई दिनु पर्नेछ ।

२०. इजाजत वेगर डिष्टिलरी वा ब्रुअरीभित्र प्रवेश गर्न नपाउनेः डिष्टिलरी वा ब्रुअरीभित्र मदिरा बनाउने वा मदिरा राखेको ठाउनिर डिष्टिलरी र ब्रुअरीको कामदार बाहेक बेसरोकारवाला अन्य कुनै पनि व्यक्ति अन्तःशुल्क अधिकृत वा निजले खटाएको कर्मचारीको इजाजत बेगर प्रवेश गर्न पाउने छैन ।

२१. निरीक्षण पुस्तिका राख्नु पर्नेः मदिरा उत्पादन गर्ने इजाजतपत्रवालाले डिष्टिलरी वा ब्रुअरीमा विभागले तोके बमोजिमको एउटा निरीक्षण पुस्तिका राख्नु पर्नेछ । अन्तःशुल्क अधिकृत वा निजले खटाएको कर्मचारीले डिष्टिलरी वा ब्रुअरी निरीक्षण गर्दा निरीक्षण मिति, समय र मदिरा उत्पादन प्रक्रियामा सम्बन्धमा देखेको त्रुटि सम्बन्धी सबै कुरा सो पुस्तिकामा लेख्नु पर्नेछ ।

२२. मदिराको हिसाब राख्नेः (१) मदिरा उत्पादन गर्ने इजाजतपत्रवालाले वासबाट चुहान भएको मदिराको परिमाण र त्यसको शक्ति समेत खुलाइ अनुसूची–१० र मदिरा बिक्री र सोबाट प्राप्त हुने अन्तःशुल्कको फाट“वारी अनुसूची–११ बमोजिमको ढाँचामा विवरण
तयार गरी राख्नु पर्नेछ ।

(२) मदिरा उत्पादन गर्ने इजाजतपत्रवालाले मदिरा बनाउन प्रयोग गरेको अन्न र फलफूलको हिसाब राखी त्यसबाट के कति मदिरा उत्पादन भयो सो को विवरण भरी अन्तःशुल्क अधिकृत वा निजले खटाएको कर्मचारीबाट प्रमाणित गराइ राख्नु पर्नेछ ।

(३) ……….

२३. मौज्दात कमीको मिन्हाः (१) मदिरा उत्पादन गर्ने इजाजतपत्रवालाले आफूसँग रहेको मदिराको मौज्दातमा वाष्पिकरण, दुर्वौधिकरण, चुहावट वा वोतलमा मदिरा भर्दाको कारणबाट एक प्रतिशतसम्म कमी हुन आएमा मासिक विवरणमा उल्लेख गरी मिन्हाको लागि अन्तःशुल्क अधिकृत समक्ष पेश गर्नु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम पेश भएको विवरण अन्तःशुल्क अधिकृतले तीस दिनभित्र जाँच गर्नु पर्नेछ ।

(३) उपनियम (२) बमोजिम जाँच गर्दा मौज्दात कमी भएको मनासिब माफिकको कारण भएमा आधार स्पष्ट खुलाइ अन्तःशुल्क अधिकृतले एक प्रतिशतसम्म मौज्दात कमी मिन्हा दिन सक्नेछ ।
(४) …………

(४क) ………………….

(५) …………….

२३क. वियर मौज्दात कमीको मिन्हाः (१) वियर उत्पादन गर्ने इजाजतपत्रवालाले तयारी वियर अन्तिम रूपमा बोतल बन्दी गर्दा फलोमिटरले देखाएको परिमाण भन्दा बोतल बन्दी भएपछिको बोतल काउण्टरले देखाएको परिमाणको मौज्दात कमी र पाश्चरराइजेशन, प्याकेजिङ्ग तथा गोदाममा भण्डारण गर्दा टुटफुट वा बिग्रेर बोतलमा प्रयोग हुन नसक्ने अवस्थाका क्राउनकर्कको मौज्दात कमीको विवरण विभागले तोेकेको ढाँचामा मासिक रूपमा उल्लेख गरी मिन्हाका लागि अन्तःशुल्क अधिकृत समक्ष पेश गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम पेश भएको विवरण अन्तःशुल्क अधिकृतले तीस दिन भित्र जाँच गर्नु पर्नेछ । त्यसरी जाँच गर्दा फलोमिटरले देखाएको परिमाण भन्दा बोतल बन्दी भएपछिको बोतल काउण्टरले देखाएको परिमाणको मौज्दात कमी भएमा बढीमा १.५ प्रतिशत सम्म र पाश्चरराइजेशन, प्याकेजिङ्ग तथा गोदाममा भण्डारण गर्दा टुटफुट वा बिग्रेको वियरको भौतिक परीक्षण गरी बढीमा दुई प्रतिशतसम्म मौज्दात कमीको मिन्हा दिन सक्नेछ ।

परिच्छेद–८ सख्खर र खुदो (मोलासिस) सम्बन्धी विशेष व्यवस्था

 

२४. सुरक्षित साथ राख्नु पर्नेः चिनी तथा खाडसारी मिलले आफूले उत्पादन गरेको मोलासिस सञ्चय गर्दा पानी नपस्ने गरी संरक्षणको उचित प्रबन्ध गरी सोको बिक्री कार्यालयको सिफारिसमा गर्नु पर्नेछ । त्यसरी उपयुक्त संरक्षणको व्यवस्था नगरी हानी नोक्सानी भएमा त्यस्ता मोलासिसमा लाग्ने अन्तःशुल्क मिन्हा दिइने छैन ।

२५. उत्पादन र बिक्रीको हिसाब राख्नु पर्नेः चिनी वा खाँडसारी मिलले सख्खर वा खुदो (मोलासिस) उत्पादन गरेपछि दैनिक रूपमा भएको त्यस्तो उत्पादनको बिक्रीको हिसाब अनुसूची–१२ बमोजिमको ढाँचामा अद्यावधिक गरी मासिक रूपमा कार्यालयमा प्रतिवेदन पेश गर्नु पर्नेछ ।

२५क.स्प्रिट तथा इथानोललाई अन्य प्रयोगमा ल्याउनेः

(१) इजाजतपत्रवालाले स्प्रिटलाई अन्य प्रयोगमा ल्याउने उद्देश्यले डिनेचर्ड स्प्रिट बनाउँदा सम्बन्धित आन्तरिक राजश्व कार्यालयबाट स्वीकृति लिई रेक्टिफाइड वा हेड्स स्प्रिटमा पाइरिडिन वा कोचिसिन वा मिथायल अल्कोहल आयतनको हिसाबबाट कम्तिमा ०.०२ प्रतिशत मिश्रण गरी डिनेचर्ड स्प्रिट बनाउन पर्नेछ । यस्तो मिश्रण गर्दा आवश्यकता अनुसार रंगिन गर्नुपर्ने गरी विभागले इजाजतपत्रवालालाई निर्देशन दिन सक्नेछ । आन्तरिक राजश्व कार्यालयले रेक्टिफाइड स्प्रिटबाट डिनेचर्ड स्प्रिट बनाउने स्वीकृति दिँदा रेक्टिफाइड स्प्रिटबाट आउने अन्तःशुल्क नघटने गरी मात्र स्वीकृति दिनु पर्नेछ ।

(२) इजाजतपत्रवालाले पेट्रोलमा समिश्रण गर्ने प्रयोजनको लागि उत्पादन गरेको एनहाइड्रस इथानोल नेपाल आयल निगम वा नेपाल सरकारबाट स्वीकृति प्राप्त निकायलाई मात्र बिक्रि गर्नु पर्नेछ । यस्तो वस्तु बिक्रिको लागि प्रतिष्ठानबाट निष्काशन गर्दा आन्तरिक राजश्व कार्यालयबाट स्वीकृति लिनु पर्नेछ । आन्तरिक राजश्व कार्यालयले यस्तो स्वीकृति दिँदा त्यस्तो वस्तुमा कम्तिमा दुई प्रतिशत पेट्रोल मिश्रण गर्नुपर्ने गरी निष्काशन गर्न स्वीकृति दिनु पर्नेछ ।
३) मोलासेस, रेक्टिफाईड स्प्रिट, इ.एन.ए, माल्ट स्प्रिट लगायतका मदिराका कच्चा पदार्थ तथा डिनेचर्ड स्प्रिटको पैठारी, उत्पादन तथा बिक्री वितरणका लागि विभागले प्रक्रिया तोकी नियन्त्रण गर्न सक्नेछ ।

परिच्छेद–९ विविध

 

२६. मौज्दात जाच्न सक्नेः इजाजतपत्रवालाले अन्तःशुल्क लाग्ने वस्तु सम्बन्धी कच्चा पदार्थ अर्ध तयारी पदार्थ वा वस्तु तथा तयारी पदार्थ वा वस्तुको मौज्दात जाच गर्नका लागि कार्यालयले कुनै पनि समयमा कर्मचारी खटाउन सक्नेछ । त्यस्तो कर्मचारीलाई मौज्दात जाच गर्न दिनु इजाजतपत्रवालाको कर्तव्य हुनेछ । त्यसरी जाच गरिएको विवरणको प्रतिवेदन कार्यालयले विभागमा पेश गर्नु पर्नेछ ।

२७. इजाजतपत्रवालाले दुर्घटनाको सूचना दिनु पर्नेः ईजाजतपत्रवालाले उत्पादन स्थलमा कुनै किसिमको दुर्घटना भएमा सो कुराको सूचना यथाशीघ्र सम्बन्धित अन्तःशुल्क अधिकृत वा विभागलाई दिनु पर्नेछ । सो बमोजिमको सूचना नदिएमा त्यस्तो दुर्घटनाबाट नेपाल सरकारलाई हुन गएको अन्तःशुल्क सम्बन्धी हानी नोक्सानी इजाजतपत्रवालाले नै व्यहोर्नु पर्नेछ ।

तर इजाजतपत्रवालाले अन्तःशुल्क लाग्ने वस्तु वा पदार्थ एक स्थानबाट अर्को स्थानमा ढुवानी गर्दा दुर्घटना भै त्यस्तो वस्तु वा पदार्थ नोक्सानी भएको अवस्थामा सो वस्तुको बीमा गराएको रहेछ र सोको क्षतिपूर्ति प्राप्त भएको रहेछ भने सो क्षतिपूर्ति प्राप्त भएको हदसम्म नेपाल सरकारलाई हुन गएको अन्तःशुल्कसम्बन्धी हानी नोक्सानी इजाजतपत्रवालाले व्यहोर्नु पर्ने छैन ।

२८. प्रतिष्ठान बन्द गर्दा सूचना दिनु पर्नेः (१) कुनै प्रतिष्ठान कुनै पनि कारणले बन्द गर्नु परेमा त्यस्तो कारण प्रष्ट खुलाइ त्यसरी बन्द गर्नुभन्दा तीन दिन अगावै सम्बन्धित अन्तःशुल्क अधिकृत र विभागलाई लिखित रूपमा जानकारी गराउनु पर्नेछ ।

तर इँटा उद्योगको हकमा यो व्यवस्था लागू हुने छैन ।

(२) उपनियम (१) बमोजिमको सूचना प्राप्त भएमा बिभागले आवश्यक सम्झेमा सो प्रतिष्ठान चालु राख्न सम्बन्धित व्यक्तिलाई आदेश दिन सक्नेछ ।

२९. मूल्य खुलाउनु पर्नेः (१) मदिरा, बियर, चुरोट, सुर्ती, खैनी, गुट्खा, निकोटि युक्त वा निकोटिन रहित पानमसाला तथा यस्तै अन्य सूर्तीजन्य पदार्थहरु उत्पादन गर्ने तथा पैठारी गर्ने इजाजतपत्रवालाले आफ्नो वितरक, थोक तथा खुद्रा विक्रेतालाई बिक्री गर्ने मूल्य सार्वजनिक गरी आफूले उत्पादन गरेको वस्तुमा अधिकतम खुद्रा मूल्य अंकित गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको इजाजतपत्रवालाले आकार र गुणस्तर परिवर्तन

गर्नु परेमा वा नयाँ ब्राण्ड उत्पादन गर्नु परेमा विभागको पूर्व स्वीकृति लिनु पर्ने र नयाँ ब्राण्डको उत्पादन गर्नु अघि बाँकी वक्यौता राजस्व चुक्ता गरेको हुनु पर्नेछ ।
२९क.सेवा बिक्री गर्दा बीजक जारी गर्नु पर्नेः ऐनको दफा ३ को उपदफा (१) बमोजिमको  सेवा बिक्री गर्दा अनुसूची–१३ बमोजिमको ढाँचामा बिजक जारी गर्नु पर्नेछ ।

२९ख. अन्त शुल्क टिकटको प्रयोगः

(१) नेपाल भित्र उत्पादन तथा पैठारी हुने विभागले तोकेका अन्तःशुल्क जन्य वस्तुमा विभागले तोकेको ढाँचाका अन्तःशुल्क टिकट प्रयोग
गर्नुपर्नेछ ।
(२) उपनियम (१) बमोजिम प्रयोग गर्ने टिकट विभागले तोकेको प्रकृया बमोजिम टाँस गर्नुपर्नेछ ।

२९ग.पारदर्शी प्लाष्टिकको खोल (श्रिंक क्याप) प्रयोग गर्नु पर्नेः मदिरा उत्पादन गर्नेप्रतिष्ठानले आफूले उत्पादन गरेको मदिरा (वियर, वाइन र साईडर बाहेक) को   बोतलमा
अन्तःशुल्क टिकटको सुरक्षाको लागि संवत् २०७४ साल माघ १ गतेदेखि पारदर्शी प्लाष्टिकको खोल (श्रिंक क्याप) प्रयोग गर्नुपर्नेछ ।

३०. अन्तःशुल्क टिकट दस्तुर लाग्नेः (१) नेपालभित्र उत्पादन हुने वा पैठारी हुने मदिरा रचुरोटको बिक्री तथा पैठारी गर्दा मदिराको प्रत्येक बोतलमा र चुरोटको  प्रत्येक बट्टामा अन्तःशुल्क टिकट लगाउनु पर्नेछ ।

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बियर उत्पादन गर्ने प्रतिष्ठानले तयारी बियर अन्तिम रूपमा बोतलबन्दी गर्दा विभाग वा कार्यालयबाट
सिलबन्दी गरिएको स्थायी रूपमा जडित विद्युतीय सूचना सम्प्रेषण क्षमता भएको अटो फ्लोमिटर सहितको पाइपबाट मात्र बोतलबन्दी गर्ने गरी विभागले तोक्नेछ । त्यसरी बोतलबन्दी गरेपछि प्रतिष्ठानले प्रत्येक बोतलको बिर्कोमा पर्ने गरी अन्तःशुल्क टिकट टाँसी कार्टुनमा राखी गोदाममा भण्डारण गर्नु पर्नेछ ।

(२क) सिगारको प्रत्येक बट्टामा र मुखमा राख्ने सूर्ति, खैनी, गुट्खा, निकोटिनयुक्त वा निकोटिन रहित पानमसाला तथा यस्तै अन्य सूर्तिजन्य पर्दाथहरुको प्रत्येक प्याकेट, बट्टा वा पोकामा विभागले तोके बमोजिम अन्तःशुल्क टिकट लगाउनु पर्नेछ ।

(३) उपनियम (१), (२) र २(क) बमोजिम लगाइने अन्तःशुल्क टिकट विभागले तोकेको दस्तुर तिरी आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयबाट खरिद
गर्नु पर्नेछ । त्यस्तो टिकट विभागले तोके बमोजिम अंकित गरी अन्तःशुल्क लाग्ने वस्तु बिक्री गर्नु पर्नेछ ।
(४) करपाटीको दायाँ कुनामा कार्यालयले उपलब्ध गराएको इजाजत चिह्न(स्टीकर) सबैले देख्ने ठाउँमा टाँसी राख्नु पर्नेछ ।

(५) ……….. प्रतिष्ठानलाई उपलब्ध गराइएका अन्तःशुल्क टिकट प्रयोग गर्ने सिलसिलामा च्यातिएमा, बिग्रीएमा वा कम भएमा अन्तःशुल्क अधिकृत वा निजले
खटाएको कर्मचारीले भौतिक परीक्षण गरी प्रमाणित गरेको आधारमा कार्यालयले त्यस्ता अन्तःशुल्क टिकट प्रतिस्थापन गर्न सक्नेछ । त्यसरी च्यातिएका र बिग्रीएका अन्तःशुल्क टिकटको मुचुल्काको आधारमा विभागले तोकेको प्रक्रिया अनुसार सम्बन्धित कार्यालयले नष्ट गर्नु पर्नेछ ।
३१. ……………
३२. अन्तःशुल्क कर्मचारी बस्ने घरः कुनै प्रतिष्ठानको लागि नियुक्त भएका अन्तःशुल्क कर्मचारी लाई प्रतिष्ठान परिसरभित्र बस्नको लागि फर्निचर सहितको घर वा कोठाको व्यवस्था प्रतिष्ठानले गर्नु पर्नेछ ।
३३. तयारी वस्तु राख्ने ठाउः  (१) उत्पादन गरिएको वस्तु इजाजतपत्रवालाले त्यस्तो वस्तु उत्पादनस्थल परिसरभित्र गोदाममा राख्नु पर्नेछ । स्वयं निष्काशन प्रणाली अनुरूप निष्काशन हुनेमा बाहेक गोदामको एउटा ताल्चाको साचो ईजाजतपत्रवालाको प्रतिनिधि र अर्को ताल्चाको सा“चो अन्तःशुल्क अधिकृत वा निजले खटाएको कर्मचारीले राख्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम राखिएका अन्तःशुल्क लाग्ने वस्तुहरू सुरक्षित साथ राख्ने जिम्मेवारी इजाजतपत्रवालाको हुनेछ । आगो लागी वा चोरी भई वा अरू कुनै कारणले त्यस्तो अन्तःशुल्क लाग्ने वस्तु नोक्सान भएमा उक्त नोक्सानी बापत नेपाल सरकार जवाफदेही हुने छैन ।

(३) अन्तःशुल्क लाग्ने उत्पादनस्थलभित्र रहेका वस्तु अन्तःशुल्क अधिकृतको पूर्णरेखदेखमा रहनेछ । अन्तःशुल्क अधिकृत वा निजले खटाएको कर्मचारीको इजाजत वेगर कुनै पनि अन्तःशुल्क लाग्ने वस्तु सम्बन्धी कच्चा पदार्थ, अर्ध तयारी पदार्थ वा तयारी पदार्थ उत्पादनस्थल बाहिर लैजान हुदैन । स्वयं निष्काशन प्रणाली अन्तर्गत निष्काशन हुने वस्तुको हकमा अन्तःशुल्क अधिकृत वा निजले खटाएको कर्मचारीले खाता तथा विवरण जाची प्रमाणित गरे मात्र पुग्नेछ ।

३४. प्रतिलब्धी दरसम्बन्धी व्यवस्थाः रेक्टिफाइड स्प्रीट वा ई.एन.ए. उत्पादन गर्ने इजाजतपत्रवालाले प्रत्येक महिनाको चुलाईमा प्रति क्वीण्टल खुँदोबाट न्यूनतम ६५ ओ.पी. शक्तिको कम्तीमा २० लिटर रेक्टिफाइड स्प्रीट वा १९ लिटर ई.एन.ए. उत्पादन गर्नु पर्ने गरी र एनहाइड्रस इथानोल उत्पादन गर्ने इजाजतपत्रवालाले प्रत्येक महिनाको जुलाईमा प्रति क्विण्टल खुदो (मोलासेस) बाट न्यूनतम ७२ ओ.पी. शक्तिको कम्तीमा १९ लिटर इथानोल उत्पादन गर्नु पर्ने गरी प्रतिलब्धी दर कायम गर्नु पर्नेछ । १०० लिटर रेक्टीफाइड स्प्रिटबाट ई.एन.ए. बनाउँदा न्यूनतम ९५ लिटर प्रतिलब्धी हुनु पर्नेछ । अन्नको दानाबाट …………. प्रति क्वीटल ६८.८ ओ.पी. शक्तिको कम्तीमा ३०.५७ लिटर ई.एन.ए. उत्पादन गर्नु पर्नेछ । सो बाहेक अन्य बस्तुबाट उत्पादन हुनेको हकमा विभागले
तोकेबमोजिम हुनेछ । तर सो भन्दा घटी प्रतिलब्धी दर कायम भएमा इजाजतपत्रवालाले त्यसको उचित तथा पर्याप्त कारण विभागमा पेश गरी स्वीकृति लिनु पर्नेछ र विभागबाट स्वीकृति प्राप्त नभएमा फरक परिमाणमा मदिरा तर्फको सो उद्योगले आफ्नो उत्पादनको उच्चतम दरबन्दी अनुसार लाग्ने सम्पूर्ण अन्तःशुल्क कार्यालयले इजाजतपत्रवालाबाट असुल उपर गर्नेछ ।

३४क. …………..
३५. अनुसूचीमा हेरफेर तथा संशोधनः नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी आवश्यकता अनुसार अनुसूचीमा हेरफेर तथा संशोधन गर्न सक्नेछ ।
३६. खारेजी र बचाउः (१) अन्तःशुल्क नियमहरू, २०१९ खारेज गरिएको छ ।

(२) अन्तःशुल्क नियमहरू, २०१९ अन्तर्गत भए गरेका सम्पूर्ण काम कारवाहीहरू यसै नियमावली बमोजिम भए गरेको मानिने छन् ।