Skip to contentSkip to left sidebar Skip to footer

राष्ट्रिय सिमसार नीति, २०५९

१. पृष्ठभूमि

१. पृष्ठभूमि

सिमसार क्षेत्रलाई कृषि उत्पादनको दृष्टिले उर्वर भूमि र जैविक विविधताको दृष्टिले अत्यन्तै धनी क्षेत्रका रुपमा लिइन्छ । सिमसारले धैरै किसिमका प्राणीहरूलाई वासस्थान प्रदान गर्दछ । तराईको समथर भूभागदेखि हिमालको उच्च पहाडी भू भागसम्म पाइने विविध पारिस्थितिक प्रणाली भित्र सिमसार क्षेत्रहरू विद्यमान रहेका छन् । नेपालको तराईका सिमसार क्षेत्रहरूमा मात्रै ३२ प्रजातिका स्तनधारी जनावर, ४६१ प्रजातिका चराहरू (जसमध्ये १५ प्रजाति दुलर्भ श्रेणीका), ९ प्रजातिका कछुवा, २० प्रजातिका सर्प र २८ प्रजातिका माछा पाइन्छन् । सिमसारले विभिन्न प्रजातिका वनस्पति तथा जीवजन्तुहरूलाई वासस्थान प्रदान गर्दछ । जीवजन्तु एवं वनस्पतिको विविधताका लागि सिमसारले महत्वपूर्ण भूमिका खेल्दछ । भूमिगत जलस्रोत र पानीका अन्य स्रोतहरू कायम राख्न, पहिरो रोकथाम गर्न र पोषकतत्वको चुहावट रोक्न सिमसारको अह्म भूमिका रहन्छ । वैज्ञानिक अनुसन्धानका लागि पनि सिमसारले महत्वपूर्ण स्रोत
उपलब्ध गराउँदछ । यस्तो महत्वको सिमसार क्षेत्रलाई योजनाबद्ध रुपमा संरक्षण, सम्बद्र्धन र विकासका साथै सो क्षेत्रको बुद्धिमत्तापूर्ण प्रयोग गरी आर्थिक, सामाजिक एवं सांस्कृतिक विकासमा टेवा पु¥याउने र सिमसारमा आश्रित स्थानीय समुदायको जीवनस्तरमा सुधार गर्न यो नीति तर्जुमा गरिएको छ । नेपालले अन्तर्राष्ट्रिय महत्वका खासगरी जलपन्छीको वासस्थान सम्बन्धी सिमसार महासन्धि (रामसार महासन्धि), १९७१ मा हस्ताक्षर गरी आफ्ना् प्रविद्धता जाहेर गरेको र सो महासन्धिको धारा ३(१) ले निर्दिष्ट गरे अनुसार पक्ष राष्ट्रका हैसियतले राष्ट्रिय सिमसार नीति तयार गर्नुपर्ने आवश्यकता महसुस गरी रामसारमा सूचिकृत सिमसार र अन्य सिमसार एवं तिनका जलाधार क्षेत्रको व्यवस्थापन स्थानीय व्यक्तिहरूलाई प्रत्यक्ष रुपमा सक्रिय सहभागी गराउने सम्बन्धमा सन् १९९६ मा भएको पक्ष राष्ट्रहरूको सम्मेलनले समेत पक्ष राष्ट्रलाई नीति निर्माण गर्न निर्देश गरे बमोजिम यो नीति तर्जुमा गरिएको छ । नेपाल अधिराज्यको संविधान, २०४७, नेपाल संधि ऐन, २०४७, स्थानीय स्वयत्त शासन ऐन, २०५५, वन ऐन, २०४९, जलश्रोत ऐन, २०४९, विद्युत ऐन, २०४९, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९, जलचर संरक्षण ऐन, २०१७, भू तथा जलाधार संरक्षण ऐन, २०३९ र वातावरण संरक्षण ऐन, २०५३ एवम् यी ऐनहरुसँग सम्बन्धित विभिन्न नियमावलीहरु विद्यमान भएतापनि यिनीहरुले सिमसारको परिभाषित नगरेको, सिमसार व्यवस्थापनको सम्बन्धमा उल्लेख नगरेको र सामुदायिक सहभागितामा सिमसारको संरक्षण, व्यवस्थापन नगरेको एवम् सिमसारको बुद्धिमत्तापूर्ण प्रयोगका सम्बन्धमा समेत व्यवस्था नगरेको हुनाले ती सबै पक्षहरुलाई दृष्टिगत गरी प्रस्तुत नीति तर्जुमा गरिएको छ ।

२. सिमसारको परिभाषा

२. सिमसारको परिभाषा

साधारणतया सिमसार भन्नाले नदी, ताल, जलाशय एवं वन जंगल तथा आवादी क्षेत्रमा पानीले भिजेको वा पानी भएको स्थान भन्ने बुझिन्छ । सिमसार शब्दको “सिम” ले पानी नसुक्ने जमीन र “सार” भन्ने बुझाउँछ । नेपालमा साधारणतया सिमसार भन्नाले धानखेतको धाप, पानी जमेको ठाउँ वा दह भन्ने बुझिन्छ । विश्वमा हालसम्म सिमसारका करिब ५० थरिका परिभाषाहरू छन् । सिमसारमा वनस्पति जीवजन्तु तथा चराचुरुँगी को प्रचुरता हुने गर्दछ । नेपालमा सिमसार सम्बन्धी १२ थरिका शब्दहरू प्रयोगमा आउने गरेका छन् । यस परिप्रेक्ष्यमा सिमसारलाई निम्न अनुसार परिभाषित गर्न सकिन्छ– “भूमिगत जलस्रोत वा वर्षात्का कारण पानीको परिणाम रहने वा प्राकृतिक वा मानव निर्मित, स्थायी वा अस्थायी जमेको वा वगेको, स्वच्छ वा नुनिलो पानी भएकोे धापिलो जमिन  दलदले जमिन , नदीबाट प्रभावित जमिन , ताल  पोखरी, जलभण्डार क्षेत्र  र कृषि जमिन  समेतले सिमसारलाई जनाउँछ ।”

३. लक्ष्य

३. लक्ष्य

यस राष्ट्रिय नीतिको प्रमुख लक्ष्य स्थानीय जनसहभागितामा सिमसार क्षेत्रको संरक्षण र व्यवस्थापन गरी स्रोतहरूको बुद्धिमत्तापूर्ण तथा दिगो प्रयोग गर्नु हो । यस नीतिले सिमसारको व्यवस्थापन र संरक्षणको पक्षलाई बृहत् वातावरणीय व्यवस्थापनको दायराभित्र राख्ने लक्ष्य लिएको छ ।

 

४. उद्देश्य

४. उद्देश्य

नेपालका सिमसार र ती सिमसार क्षेत्रमा भएको जैविक विविधताको संरक्षण गरी बुद्धिमत्तापूर्ण प्रयोगका लागि सिमसारको व्यवस्थापनमा स्थानीय जनतालाई सहभागी बनाउनु यस नीतिको प्रमुख उद्देश्य रहेको छ ।

अन्य उद्देश्यहरू 

४.१ नेपालका सिमसार क्षेत्रहरूको पहिचान गरी ती क्षेत्रहरू लोप हुनबाट बचाउन अवस्था विग्रन नदिन तिनको दिगोे संरक्षण तथा विकास गर्दै त्यस्ता स्रोतहरूको बुद्धिमत्तापूर्ण प्रयोग गर्न प्रत्येक सिमसार क्षेत्रको विस्तृत व्यवस्थापन योजना तयार गरी प्राथमिकता, सम्भाव्यता र आवश्यकताको आधारमा कार्यान्वयन गर्दै लैजाने ।
४.२ स्थानीय समुदायको सिमसार सम्बन्धी ज्ञान, सीप, अभ्यास र आविष्कार पहिचान गरी सिमसार स्रोतको संरक्षण एवं दिगो उपयोगका लागि ती ज्ञान, सीप, अभ्यास र पारम्परिक अनुसन्धानलाई बढावा दिने ।

४.३ वैज्ञानिक प्रविधि र ज्ञानका आधारमा आवश्यकता अनुसार सिमसारको संरक्षण एवं व्यवस्थापन गर्ने ।
४.४ सिमसारको संरक्षण, व्यवस्थापन र बुद्धिमत्तापूर्ण प्रयोगमा महिलाहरूको सहभागिता अभिबृद्धि गर्ने ।
४.५ सिमसार क्षेत्र व्यवस्थापनका लागि भएका अन्तर्राष्ट्रिय सन्धिहरूको क्रमशः कार्यान्वयन गर्दै लैजाने ।
४.६ सिमसार क्षेत्रबारे सर्वसाधारणमा जानकारी दिन प्रचार गर्ने ।

५. स्थानीय सभागितामा आधारित सिमसार व्यवस्थापन नीति

५. स्थानीय सभागितामा आधारित सिमसार व्यवस्थापन नीति

५.१ रामसार महासन्धिको भावनाअनुरुप वातावरणीय अखण्डता कायम गर्दै स्थानीय जनसमुदायको सहभागितामा उनीहरूको हितका लागि सिमसारको संरक्षण र व्यवस्थापन कार्य गर्ने ।

५.२ स्थानीय जनसहभागितामा आधारित सिमसार व्यवस्थापनको माध्यमद्वारा सिमसारका स्रोतहरूमाथि समन्यायिक अवसर दिलाउँदै बुद्धिमत्तापूर्ण प्रयोगको अवधारणलाई सार्थक तुल्याउने ।

५.३ स्थानीय व्यक्ति, समुदाय एवं निकायलाई संलग्न गराउँदै सिमसारको संरक्षण र व्यवस्थापन कार्य प्रभावकारी बनाउने ।

५.४ वर्तमान र भावी पुस्ताको फाइदाका लागि प्राकृतिक स्रोत संरक्षण गर्न स्थानीय वासिन्दाको हित हुने खालका सामाजिक र आर्थिक विकासका कार्यक्रमहरू संचालन गर्ने,
५.५ सिमसारमा आश्रित सङ्कटापन्न जीवजन्तु, जलचर, सापेक्षिक जङ्गली जनावर तथा अन्य जल आश्रित आनुवंशिक स्रोतको संरक्षण गर्ने ।
५.६ वातावरणीय असर न्यून हुने गरी सिमसार क्षेत्रमा वातावरण अनुकूल पर्यटनको विकास गर्दै प्राप्त लाभलाई यथासम्भव सिमसारको व्यवस्थापन र स्थानीय जनसमुदायको हितमा परिचालन गर्ने ।

५.७ सिमसार संरक्षण र व्यवस्थापनका लागि तयार गरिने कार्ययोजनाहरूमा स्थानीय जनसहभागिता सुनिश्चित गर्ने ।
५.८ सिमसार क्षेत्रमा आश्रित विभिन्न जातजातिहरूको अनुभव, अभ्यास, सीप र ज्ञानको संरक्षण गर्दै सोही आधारमा सिमसारको संरक्षण र व्यवस्थापन गर्न प्रश्रय दिने ।
५.९ सिमसार व्यवस्थापनमा देखा पर्ने समस्याहरूको पहिचान गरी स्थानीय स्तरमै समाधानका उपायहरूको खोजी गर्न जनसहमतिका आधारमा व्यवस्थापन कार्ययोजना बनाई लागू गर्ने गराउने ।
५.१० सिमसार व्यवस्थापन योजना तर्जुमा गर्ने र व्यवस्थापन समितिमा स्थानीय जनसमुदायका साथै संघ संस्थाको प्रतिनिधित्व गराउन आवश्यक कानुनी एवं प्रशासनिक व्यवस्था गर्ने ।

६. सिमसारको वर्गीकरण र व्यवस्थापन नीति

६. सिमसारको वर्गीकरण र व्यवस्थापन नीति व्यवस्थापनको दृष्टिले सिमसार क्षेत्रलाई तीन भागमा वर्गीकरण गरिएको छ ः

क) संरक्षित क्षेत्र र मध्यवर्ती क्षेत्र भित्रका सिमसार
ख) संरक्षित क्षेत्र बाहिरका सरकारी एवं सार्वजनिक सिमसार
ग) निजी क्षेत्र भित्रका सिमसार

६.१ संरक्षित क्षेत्र र मध्यवर्ती क्षेत्र भित्रका सिमसार संरक्षित क्षेत्र बाहिर रहेका सरकारी एवं सार्वजनिक सिमसार एवं निजी सिमसारको अवस्था के कस्तो छ र तुलनात्मक रुपमा राम्रो संरक्षण र व्यवस्थापन कहाँ भएको छ भन्ने बारेमा नियमित रुपमा अध्ययन गराउने ।
६.२ राष्ट्रिय निकुञ्ज र आरक्षभित्र रहेका सिमसारको व्यवस्थापनको जिम्मा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलाई दिने व्यवस्था मिलाउने ।
६.३ संरक्षण क्षेत्र भित्र रहेका सिमसारको संरक्षण एवं व्यवस्थापन कार्यको जिम्मेवारी सम्बन्धित निकायहरूलाई दिने व्यवस्था मिलाउने ।
६.४ विभिन्न निकायहरूबाट सिमसारको व्यवस्थापन हुँदै आएकोमा सम्बन्धित नियकायहरूको अधिकार र क्षेत्राधिकारलाई समन्वय गरी सिमसार व्यवस्थापन कार्य प्रभावकारी बनाउन आवश्यक कानुनी व्यवस्था तर्जुमा गर्ने ।
६.५ संरक्षित क्षेत्र भन्दा बाहिर रहेका सार्वजनिक सिमसार क्षेत्रहरूको संरक्षण र व्यवस्थापन कार्य प्रभावकारी एवं चुस्त बनाउन कबुलियत सिमसार, सामुदायिक सिमसार, निजी व्यवस्थापन सिमसार र संयुक्त व्यवस्थापन सिमसार जस्ता विभिन्न नमूनाहरू निर्धारण गरी उपयुक्त स्थानमा उपयुक्त नमूना आकर्षित गरी सिमसारको व्यवस्थापन गर्ने ।

६.६ मध्यवर्ती क्षेत्रको व्यवस्थापनमा समेत स्थानीय समुदायको संलग्नता अभिबृद्धि गरी बुद्धिमत्तापूर्ण प्रयोगलाई बढावा दिने ।
६.७ निजी तथा व्यक्ति विशेषको स्वामित्व रहेका जग्गामा भएका सिमसारलाई व्यक्तिगत सिमसारका रुपमा मान्यता दिँदै त्यस्ता सिमसारका धनीहरूको प्राविधिक एवं व्यवस्थापन क्षमता अभिबृद्धि गर्नका लागि आवश्यक तालीम र प्राविधिक सहयोग प्रदान गर्ने र सिमसारको प्रयोग, आनुवंशिक स्रोतहरूको संरक्षण एवं प्रयोग, जीव एवं प्राणीहरूको संरक्षण, जलास्रित पन्छीहरूको संरक्षण र सिमसारको बुद्धिमत्तापूर्ण र दिगो प्रयोगलाई नियमित र व्यवस्थित गर्ने ।
६.८ निजी सिमसार क्षेत्रको संरक्षणलाई सुनिश्चित गर्न सिमसारको भू–उपयोग परिवर्तन गर्ने वा सिमसार नष्ट गर्ने वा प्रतिकूल प्रभाव पार्ने कार्य हतोत्साहित गर्ने ।
६.९ सिमसारमा आस्रित स्थानीय जनसमुदायलाई सिमसारबाट प्राप्त हुने लोभको न्यायोचित बाँडफाँडका लागि आवश्यक व्यवस्था गर्ने ।
६.१० सिमसारको संरक्षण सम्बन्धी बहुआयामिक नमूनालाई प्रोत्साहन गर्न र बढावा दिन संरक्षण सम्बन्धी एकीकृत कार्ययोजना तर्जुमा गरी लागू गर्ने ।

 

७. सिमसारको बुद्धिमत्तापूर्ण प्रयोग सम्बन्धी नीति

७. सिमसारको बुद्धिमत्तापूर्ण प्रयोग सम्बन्धी नीति

मानवजातिको हितका लागि पारिस्थितिक प्रणालीका प्राकृतिक सम्पदाको जगेर्ना गर्न सिमसारको बुद्धिमत्तापूर्ण र दिगो प्रयोग गर्नु पर्दा रामसारमा सूचीकृत वा अन्य सिमसार क्षेत्रहरूको संरक्षण र व्यवस्थापन बुद्धिमत्तापूर्ण प्रयोग गर्नै तौर तरिका लागू हुन्छ ।
बुद्धिमत्तापूर्ण प्रयोगको नीतिले सिमसारका स्रोतहरूको विवेकपूर्ण, सोचपूर्ण र बुद्धिमत्तापूर्ण उपयोग गर्न जोड दिन्छ । बुद्धिमत्तापूर्ण प्रयोगको यस नीतिले निम्न पक्षलाई आत्मसात गर्दछ ः

७.१ सिमसार सम्बन्धी राष्ट्रियस्तरको तथ्यांक सूची तयार गर्ने,
७.२ सिमसार व्यवस्थापन र बुद्धिमत्तापूर्ण प्रयोग सम्बन्धी आधारभूत सूचना एवं तथ्यांकहरू संकलन गरी सिमसारको महत्व र फाइदाहरूको पहिचान गर्ने,
७.३ महत्वपूर्ण सिमसार क्षेत्रहरूलाई सामाजिक, आर्थिक, धार्मिक, सांस्कृतिक र ऐतिहासिक अवस्थाका आधारमा मान्यता दिने र प्राथमिकता निर्धारण गर्ने,
७.४ सिमसारका स्रोतहरूको दिगो उपयोग र यसको संरक्षणलाई बढावा दिने किसिमको आयोजनाका लागि रकम छुट्याउने,
७.५ सिमसारको दुरुपयोग वा अति उपयोग हुन नदिई जीवजन्तु र वनस्पती संरक्षण गर्ने,
७.६ सिमसार क्षेत्र वरिपरी हुने विकास निर्माणका क्रियाकलाप र कार्यक्रमहरू स्वीकृत गर्नु अगाडि प्रचलित कानुनबमोजिम वातावरणीय प्रभव मूल्यांकन गर्नुपर्ने व्यवस्था गर्ने,
७.७ सिमसार क्षेत्र वरिपरिका विकासका क्रियाकलाप एवं कार्यक्रमहरूको नियमित अनुगमन गरी वातावरणीय संरक्षण सुनिश्चित गर्ने ।

८. चेतना अभिबृद्धि सम्बन्धी नीति

८. चेतना अभिबृद्धि सम्बन्धी नीति

८.१ सिमसार क्षेत्रमा बसोवास गरिरहेका समुदायमा संरक्षण सम्बन्धी चेतना अभिबृद्धि गर्न आवश्यक कार्यक्रम तयार गरी सो कार्यक्रमलाई स्थानीय समुदायका साथै व्यापारी, उद्योगपति, राजनीतिज्ञ र कानुन कार्यान्वयन गर्ने निकाय एवं अन्य सरोकार निकायहरू समक्ष पनि लैजाने ।
८.२ स्थानीय समुदायलले आफ्ना आवश्यकताहरू पूरा गर्ने सिलसिलामा सिमसारका स्रोतहरूको अत्यधिक दोहन गर्न सक्ने सम्भावनालाई मध्यनजर राखी सोको नियन्त्रण गर्न चेतना अभिबृद्धि कार्यक्रम संचालन गर्ने गराउने ।
८.३ सिमसार संरक्षण र व्यवस्थापनका दृष्टिले महत्वपूर्ण ठहरिएका सरोकारवालाहरूको पहिचान गरी सिमसारबाट हुने फाइदा, यसका विविध कार्य र महत्वका बारेमा उनीहरूलाई जानकारी दिई जागरुक तुल्याउने ।
८.४ सिमसार र सिमसारका स्रोतको बुद्धिमत्तापूर्ण प्रयोग र संरक्षणको सफलता स्थानीय बासिन्दाहरूको सक्रीय सहभागिता माथि निर्भर रहने हुँदा स्थानीय बासिन्दा खास गरी सिमसार क्षेत्र वरिपरि बसोवास भई सिमसारबाट आफ्नो जीविकोपार्जन गर्ने माझी जस्ता जातिका पुरुष तथा महिलाहरूलाई सिमसारका स्रोतहरूको बुद्धिमत्तापूर्ण प्रयोग गर्ने सम्बन्धमा सक्रिय रुपमा सहभागी हुन सचेत गराउने र सक्षम बनाउने ।
८.५ स्थानीय जनतालाई सिमसार सम्बन्धी कानुनी एवं प्रशासनिक तौरतरिका एवं सिमसारको पारिस्थितिकीय प्रणालीको महत्वका बारेमा जानकारी गराउन र चेतना जगाउन स्थानीय निकाय, शैक्षिक एवं अन्य निजी संघ संस्था र संचार माध्यमलाई सक्रिय भूमिका निभाउन प्रोत्साहन गर्ने ।
८.६ सिमसार सम्बन्धी सूचना, तथ्यांक, नीति, कानुन, नक्सा तथा श्रव्यदृष्य आदिको माध्यमबाट प्रचार प्रसार गर्ने ।

९. मिचाहा प्रजातिलाई रोकथाम, नियन्त्रण र व्यवस्थापन गर्ने

९. मिचाहा प्रजातिलाई रोकथाम, नियन्त्रण र व्यवस्थापन गर्ने

९.१ सिमसार क्षेत्रको जैविक विविधता एवं रैथाने प्रजातिलाई नष्ट गर्ने, विस्थापित गर्ने र अतिक्रमणा गर्ने खालका मिचाहा प्रजातिका जीवजन्तु, विरुवा, जिवाणु बंशाणुगत रुपमा परिवर्तित जिवाणु एवं जीवित रुपमा परिवर्तित जिवाणुलाई देश भित्र प्रवेश गर्न नदिन, प्रवेश भएकालाई नियन्त्रण, रोकथाम र व्यवस्थापन गर्ने दिशामा ठोस कदम चाल्न आवश्यक कार्य गर्ने ।

१०. सिमसार व्यवस्थापन सम्बन्धी संस्थागत नीति

१०. सिमसार व्यवस्थापन सम्बन्धी संस्थागत नीति

१०.१ सिमसार संरक्षण र व्यवस्थापनका लागि उत्तरदायी निकायहरू र तिनको क्षेत्राधिकार सुनिश्चित गर्न एवं सामञ्जस्य गर्नक लागि सिमसार सम्बन्धी ऐन, नियम र निर्देशिका तर्जुमा गर्ने,
१०.२ सिमसारको प्रभावकारी संरक्षण र बुद्धिमत्तापूर्ण प्रयोगका लागि सिमसार क्षेत्रलाई निम्न अनुसार व्यवस्थापन गर्ने गराउने—
१०.२.१ समुदायद्वारा व्यवस्थित सिमसार,
१०.२.२ निजी सिमसार,
१०.२.३ कबुलियत सिमसार,
१०.२.४ संयुक्त व्यवस्थापन सिमसार,
१०.२.५ धार्मिक सिमसार र
१०.२.६ राज्यद्वारा व्यवस्थित सिमसार ।

११. सिमसार प्रतिकूल कार्यमा रोक लगाउने नीति

११. सिमसार प्रतिकूल कार्यमा रोक लगाउने नीति

११.१ सिमसार लोप गराउने, मास्ने, व्यवधान सिर्जना गर्ने जस्ता कारणहरू पत्ता लगाई तिनको निराकरण गर्ने ।
११.२ सिमसारको पानी कम गर्ने वा सुकाउने, पानी बगेर आउने स्रोत बन्द गर्ने वा अन्यत्र स्थानमा लैजाने, भूक्षय गराउने, परम्परागत प्रयोगमा ह्रास गराउने, सिमसारलाई कृषियोग्य जमिनमा परिवर्तन गर्ने वा नगदे बाली लगाउने, सिमसार वरिपरि अनियन्त्रित रुपमा उद्योग व्यवसाय गर्ने, उत्खनन् कार्य गर्ने, भूमिगत जलस्रोत निकाल्ने र अति चरिचरण गर्ने जस्ता विभिन्न कार्यबाट सिमसार पर्ने असरहरू रोक लगाउने वा सो कार्यमा हतोत्साहित गर्ने ।
११.३ सिमसार क्षेत्रमा रासायनिक एवं घरायसी फोहोरमैला फाल्ने, औद्योगिक निष्काशन गर्ने, विषादी प्रयोग गर्ने, विद्युतीय तरङ्ग प्रयोग गर्ने र विस्फोटक पर्दाथ फाल्ने जस्ता कार्यमा रोक लगाउने ।
११.४ नेपाल सरकारको ऐन तथा नियम तर्जुमा गरी सिमसार वरिपरिको निश्चित क्षेत्रमा वातावरण प्रतिकूल कार्य निरुत्साहित गर्ने ।
११.५ निजी सिमसार क्षेत्रको संरक्षणमा स्थानीय जनतालाई प्रोत्साहन गर्न सुविधाहरूको व्यवस्था गर्ने ।

१२. मासिएका एवं मासिने खतरामा पुगेका सिमसार सम्बन्धी नीति

१२. मासिएका एवं मासिने खतरामा पुगेका सिमसार सम्बन्धी नीति

१२.१ मासिएका सिमसार पत्ता लगाई त्यस्ता सिमसारलाई पुनस्र्थापना गर्नका लागि आवश्यक कार्यहरू कार्यान्वयन गराउने ।
१२.२ स्थानीय समुदाय र स्थानीय निकायको संलग्नता अभिबृद्धि गर्दै मासिएका सिमसारको पुनस्र्थापनका लागि विशेष कार्यक्रमहरू निर्धारण गरी संचालन गर्ने ।
१२.३ मासिने खतरामा पुगेका सिमसारहरूको पहिचान गरी त्यस्ता सिमसारको जगेर्ना गर्न, सुधार गर्न र संरक्षण गर्न आवश्यक कार्यहरू गर्ने÷गराउने ।

१३. सिमसारको संरक्षण र व्यवस्थापनका लागि तत्काल गरिने कार्यहरू

१३. सिमसारको संरक्षण र व्यवस्थापनका लागि तत्काल गरिने कार्यहरू

१३.१ सिमसारको संरक्षण, व्यवस्थापन र बुद्धिमत्तापूर्ण प्रयोगका लागि विशेष ऐन, नियम र निर्देशिका तर्जुुमा गर्ने ।
१३.२ रामसार सूचिमा समावेश गर्न योग्य सिमसारहरूको पहिचान गरी आवश्यक पहल गर्ने ।
१३.३ नेपालमा भएका सिमसारहरूको विस्तृत विवरण सूची ९क्ष्लखभलतयचथ० तयार गर्ने र प्र्र्र्र्र्राथमिकताका आधारमा क्रमशः व्यवस्थापन कार्ययोजना बनाई कार्यान्वयन गर्नै जाने ।
१३.४ सिमसारको दिगो विकासका लागि आवश्यक सामुदायिक, आन्तरिक तथा बाह्य आर्थिक सहयोग जुटाउन आवश्यक कार्य गर्ने ।
१३.५ सिमसारको संरक्षण र व्यवस्थापन सम्बन्धी स्थानीय सीप, ज्ञान र प्रविधिलाई बौद्धिक सम्पत्ति कानुन अनुसार संरक्षण गर्न पहल गर्ने ।

१४ सिमसारको संरक्षण र व्यवस्थापनका भावी कार्यहरू

१४ सिमसारको संरक्षण र व्यवस्थापनका भावी कार्यहरू

१४.१ व्यवस्थापन एवं संरक्षणका दृृष्टिले अति महत्वपूर्ण तर रामसार क्षेत्रका रुपमा घोषणा नभएका सिमसार क्षेत्रहरूलाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय जगतमाा चिनाउने र रामसार सूचीकृत गर्दै जाने ।

१४.२ अति विशिष्ट एवं संकटग्रस्त सिमसार क्षेत्रहरूको पहिचान गरी संरक्षण गर्न प्राथमिकता दिने ।

१४.३ सिमसारको संरक्षण र व्यवस्थापनको नमूना तयार गरी सिमसार क्षेत्रको विकास गर्ने ।
१४.४ ग्रामीण जनजीवनसँग मेलखाने किसिमले सिमसारका स्रोतहरूको व्यवस्थापन गर्न स्थानीय समुदायहरूलाई नै केन्द्रविन्दु बनाउने ।
१४.५ भौगोलिक हिसाबले सिमसार क्षेत्रको अस्तित्व यसै क्षेत्र वरिपरि वा यसको उपल्लो भेगको जलाधार क्षेत्रले निर्धारण गर्ने भएकोले त्यस्ता जलाधार क्षेत्रलाई कायम राख्ने, सोको दोहनलाई कम गर्ने र रोक्ने दिशामा आवश्यक पहल गर्ने ।
१४.६ भूमिगत पानीको दोहनलाई नियोजित गर्ने र जल प्रदूषण रोक्ने ।
१४.७ सिमसारको उचित व्यवस्थापनका लागि समन्वयात्मक संस्थाको विकास गर्ने ।
१४.८ सिमसार क्षेत्रमा रहेको जैविक विविधता नष्ट हुन नदिन आवश्यक कदम चाल्ने ।
१४.९ पर्वतीय क्षेत्रमा रहेका जलकुण्ड, जलाशय र अन्य सिमसार क्षेत्रहरूको व्यवस्थापनमा जोड दिने ।
१४.१० अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा रहेका सिमसारहरूको प्रभावकारी संरक्षण र व्यवस्थापनका लागि सम्बन्धित मुलुकसँग समन्वय गरी संरक्षण तथा व्यवस्थापन कार्य संचालन गर्ने ।
१४.११ सरकारी एवं निजी विद्यालय र विश्वविद्यालयका पाठ्य सामग्रीहरूमा सिमसारको संरक्षण, दिगो विकास र सिमसारबाट हुने लाभको वितरण सम्बन्धी विषयवस्तु समावेश गर्ने ।
१४.१२ सिमसार सम्बन्धी चेतना अभिवृद्धिका कार्यक्रमहरूलाई अनौपचारिक क्षेत्र एवं अन्य सामग्रीहरूको विकास र विस्तार गरी प्रचार प्रसार गर्ने ।
१४.१३ सिमसार सम्बन्धी ज्ञानलाई बढी प्रभावकारी बनाउन आवश्यक श्रव्य दृष्य एवं अन्य सामग्रीहरूको विकास र विस्तार गरी प्रचार प्रसार गर्ने ।
१४.१४ देशमा भएको सम्पूर्ण सिमसारको जानकारी उपलब्ध गराउन सक्ने किसिमको सिमसार सूचना केन्द्रको विकास गर्ने ।
१४.१५ ग्रामीण क्षेत्रमा सम्भव भएसम्म स–साना सिमसार सूचना केन्द्रहरूको स्थापना गरी ती सूचना केन्द्रहरूमा सिमसार सम्बन्धी चित्र, पोष्टर, पाठ्यक्रम, पाठ्यपुस्तक र अन्य श्रव्य दृश्यका सामग्रीहरू क्रमशः उपलब्ध गराउने कार्यको थालनी गर्ने ।
१४.१६ देशका विभिन्न भागमा सिमसार सम्बन्धी गोष्ठी, तालीम र छलफल जस्ता कार्यक्रमहरू आयोजना गर्दै स्थानीय निकाय, स्थानीय गैरसरकारी संस्था, जनसाधारण र निजी निकायमा रहेका निर्णयकर्ताहरूलाई सिमसार संरक्षण व्यवस्थापन र बुद्धिमत्तापूर्ण प्रयोग सम्बन्धमा ज्ञान, सीप, र तालीम प्रदान गरी सिमसार संरक्षण गर्न प्रोत्साहन गर्ने ।
१४.१७ सिमसारको संरक्षण र व्यवस्थापनका लागि स्थानीय समुदाय आफैले आवश्यक स्रोत जुटाउन सक्षम बनाउन कार्यक्रमहरूको विकास गर्ने ।
१४.१८ महिलाद्वारा सञ्चालन गरिएका सिमसारसँग सम्बन्धित गैरसकारी संघ÷संस्थाहरूलाई मद्दत पुग्ने खालका कार्यक्रमहरू संचालन गर्ने र उनीहरूको सिमसार संरक्षणमा रहने भूमिकालाई प्रश्रय दिने ।
१४.१९ स्थानीय जनतालई प्रत्यक्ष लाभ हुने, उनीहरूको जीवनस्तर उकास्ने किसिमका सिमसार संरक्षण सम्बन्धी कार्यक्रमहरूलाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने ।
१४.२० सिमसार संरक्षण र व्यवस्थापनमा स्थानीय जनतालाई उत्साहित गर्न आयमूलक कार्यक्रमहरूको विकास गरी संचालन गर्दै जाने ।
१४.२१ सिमसार क्षेत्रको संरक्षण, व्यवस्थापन र यसका जैविक स्रोतहहरूको दिगो प्रयोग सम्बन्धी स्थानीय जनताको सीप तथा ज्ञानलाई वैज्ञानिक रुपले सुधार गरी अघि बढाउने र नयाँ सीप र ज्ञान सम्बन्धी आवश्यक कार्यक्रमहको विकास गरी प्रयोगमा
ल्याउने ।
१४.२२ आवधिक मूल्यांकन प्रगति विवरणका साथै सिमसार संरक्षण र व्यवस्थापनको प्रभाव र परिणामबारे अनुगमन गर्ने ।
१४.२३ सिमसार क्षेत्र सम्बन्धी अनुसन्धान कार्य गर्नका लागि विभिन्न सरकारी एवं गैरसरकारी राष्ट्रिय एवं अन्तर्राष्ट्रिय संस्थालाई प्रोतसाहन गर्ने ।
१४.२४ राष्ट्रियस्तरका सिमसार क्षेत्रहरूको सूचना प्रणालीलाई गुणात्मक एवं परिमाणात्मक रुपमा अभिबृद्धि गर्दै लैजाने ।
१४.२५ सिमसारको संरक्षण र दिगो विकासका लागि आवश्यक पर्ने आर्थिक स्रोत व्यवस्था गर्न सिमसार संरक्षण कोषको व्यवस्था गर्ने ।
१४.२६ सिमसार संरक्षण कार्यको प्रोत्साहनका लागि आर्थिक तथा आवश्यक सहयोग जुटाउने ।
१४.२७ सिमसारको संरक्षण र व्यवस्थापन सम्बन्धी परियोजनामा लगानी गर्न सरकारी, गैरसरकारी र अन्तर्राष्ट्रिय संस्थाहरूलाई प्रोत्साहन गर्ने ।
१४.२८ आर्थिक एवं वित्तीय नीतिलाई सिमसार नीतिसँग सुहाउने किसिमबाट विकास गरी सिमसार क्षेत्रबाट कर तथा राजश्व उठाउन पहल गर्ने ।
१४.२९ सिसार संरक्षण एवं व्यवस्थापनका लागि दीर्घकालीन रुपमा आन्तरिक स्रोत परिचालन गर्नेतर्फ जोड दिने ।
१४.३० स्थानीय जनता वा उपभोक्ता समूहले सिमसारको संरक्षण, व्यवस्थापन र दिगो उपयोग गरे वापत निश्चित समयसम्म आर्जित आयमा आयकर सुविधा दिने । ऐनहरूमार्फत मूल्य अभिबृद्धि कर लगायतका अन्य करमा आवश्यक सुविधा र सहुलियत प्रदान गर्ने ।
१४.३१ उपभोक्ता समूहहरूको भूमिका र महत्वलाई बुझी सिमसारको व्यवस्थापन, संरक्षण एवं दिगो विकासका बारेमा निर्माण गरिने योजना एवं एकीकृत विकास आयोजनाहरूमा ती उपभोक्ता समूहको भूमिका अभिबृद्धि गर्ने ।
१४.३२ सिमसारसँग सम्बन्धित ऐनहरूको समीक्षा गरी तिनीहरूमा रहेका द्विविधा, बाधा अड्चन फुकाउन नीतिगत तहमा छलफल गराई आवश्यक सुधार गर्ने र सिमसार संरक्षण तथा व्यवस्थापनका लागि छुट्टै कानुनको तर्जुमा गर्ने ।