Skip to contentSkip to left sidebar Skip to footer

वन्यजन्तु अारक्ष नियमावली,२०३४

वन्यजन्तु आरक्ष नियमावली, २०३४

 नेपाल राजपत्रमा प्रकाशित मिति

२०३४।४।२४

संशोधन

वन्यजन्तु आरक्ष (पहिलो संशोधन) नियमावली, २०४२           – २०४२।६।२१

 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ३३ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायको नियमहरू बनाएको छ ।

१.  संक्षिप्त नाम र प्रारम्भ: (१) यी नियमहरूको नाम “वन्यजन्तु आरक्ष नियमावली, २०३४” रहेकोछ ।

(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।

२.   परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,-

(क)   “ऐन” भन्नाले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ सम्झनु पर्छ ।

(ख)   “आरक्ष” भन्नाले ऐन अन्तर्गत घोषित वन्यजन्तु आरक्ष सम्झनु पर्छ ।

(ग) “संरक्षक” भन्नाले आरक्षको मूख्य अधिकृत सम्झनु पर्छ ।

(घ)   “सहायक संरक्षक” भन्नाले आरक्षको सहायक संरक्षक (असिस्टेन्ट वार्डेन) सम्झनु पर्छ ।

३.   आरक्षको सिमाना: आरक्षको सिमाना ऐनको दफा ३ बमोजिम नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी घोषित गरिए बमोजिम हुनेछ ।

४.   आरक्षभित्र प्रवेश:(१) आरक्षभित्र प्रवेश गर्न चाहने वा आरक्षभित्र क्याम्पिङ्ग गर्न (बास बस्न) चाहने व्यक्तिले अनुसूची -१ बमोजिमको दस्तुर बुझाई अनुसूची-२ बमोजिमको प्रवेशपत्र लिनु पर्नेछ ।

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नियम १९ बमोजिम बाटोको सुविधा प्रयोग गर्ने व्यक्तिले आरक्षको सम्बन्धित प्रवेश चौकीबाट अनुमति लिई आरक्षभित्रबाट हिडेकोमा कुनै दस्तूर लाग्ने छैन ।

(३) आरक्षको अध्ययन भ्रमण गर्न चाहने कुनै शिक्षण वा अन्य कुनै संस्थाको टोलीलाई संरक्षकले नि:शुल्क प्रवेश गर्न दिन सक्नेछ ।

५.   आरक्षमा प्रवेश आफ्नै दायित्वमा हुने: अनुमति लिई वा नलिई आरक्षभित्र प्रवेश गर्ने व्यक्तिलाई आरक्षभित्र कुनै किसिमको हानी नोक्सानी भएमा वा चोट पटक लागेमा वा निजको मृत्यु भएमा समेत त्यस्तो हानी नोक्सानी, चोट पटक वा मृत्यु भए वापत क्षतिपूर्तिको निमित्त नेपाल सरकार जिम्मेवार हुने छैन ।

६.   आरक्षभित्र निषिद्ध कार्यहरु: कुनै पनि व्यक्तिले संरक्षक भए संरक्षकको, संरक्षक नभए सहायक संरक्षकको र सो दुबै नभए नेपाल सरकारले तोकेको कुनै कर्मचारीको लिखित अनुमति नलिई आरक्षभित्र देहायका काम गर्न पाउने छैन:-

(क)   जुनसुकै प्रकारको घर, छाप्रो, आश्रय वा अरू बनौट बनाउन वा भोग गर्न,

(ख)   कुनै भू-भाग कब्जा गर्न, बनस्पति सफा गर्न, नोक्सानी पुर्‍याउन, आवादी गर्न, खेती गर्न वा कुनै बाली उब्जाउन वा काट्न,

(ग)   घर पालुवा जीवजन्तु वा पंक्षी चराउन वा तिनीहरुलाई पानी खुवाउन,

(घ)   रुख, विरुवा, झाडी वा अन्य कुनै वन पैदावार काट्न, ढाल्न, हटाउन, छेक्न, छाँट्न वा वन पैदावार सुक्ने कुनै काम गर्न वा वन पैदावारमा आगो लगाउन वा अरु कुनै प्रकारले हानी नोक्सानी पुर्‍याउन,

(ङ)   कुनै स्थानमा रात विताउन वा क्याम्प गर्न वा आगो बाल्न,

(च)   ढुङ्गा, बालुवा वा खानी खन्न वा कुनै खनिज पदार्थ, माटो वा अन्य यस्तै पदार्थ हटाउन,

(छ)   आखेटोपहार वा कुनै वन्यजन्तुको सुकेको वा आलो मासु लैजान,

(ज)   आरक्षभित्र वग्ने नदी, खोला वा पानीको कुनै श्रोत थुन्न, फर्काउन वा त्यसमा कुनै हानीकारक वा विष्फोटक पदार्थहरू प्रयोग गर्न ।

७.   साथमा राख्न वा लैजान नपाइने बस्तुहरू: संरक्षक भए संरक्षकको, संरक्षक नभए सहायक संरक्षकको र सो दुबै नभए नेपाल सरकारले तोकेको कुनै कर्मचारीको लिखित अनुमति विना कुनै व्यक्तिले आरक्षभित्र प्रवेश गर्दा वा रहँदा वा नियम १९ अन्तर्गत तोकिएको बाटोबाट हिंड्दा देहायका वस्तुहरू साथमा लैजान, राक्न वा प्रयोग गर्न पाउने छैन:-

(क) धनुषवाण, भाला, दर्जन, पासो, जाल, धराप, गुलेली वा चोट पुर्‍याउन सकिने वा गोली चलाउने जुनसुकै हातहतियार, खरखजाना, विष, विष्फोटक पदार्थ वा सो प्रयोग गर्ने साधनहरू,

(ख) आखेटोपहार वा कुनै वन्यजन्तुको सुकेको वा आलो मासु,

८.  क्षति पुर्‍याउन नहुने: (१) आरक्षको सीमानाभित्र वा बाहिरबाट आगो बाली वा अन्य कुनै प्रकारबाट आरक्षभित्रको वनस्पति, झारपात वा अन्य कुनै चिज वस्तुलाई क्षति पुर्‍याउन हुँदैन ।

(२) आरक्षभित्रको बाटो, पुल,मचान, घर, कार्यालय भवन, तारवार, चिन्हपट वा अन्य कुनै चिज वस्तुलाई क्षति पुर्‍याउन हुँदैन ।

९.   वन्यजन्तु वा पंक्षी शिकार गर्न र पंक्षी वा कीट किटाणुको फुल, गुँड वा गोला बिगार्न नहुने: ऐन अन्तर्गत इजाजतपत्र प्राप्त गरेकोमा बाहेक अन्य अवस्थामा संरक्षक भए संरक्षकको, संरक्षक नभए सहायक संरक्षकको र सो दुबै नभए नेपाल सरकारले तोकेको कुनै कर्मचारीको लिखित अनुमति प्राप्त नगरी कुनै पनि व्यक्तिले आरक्षभित्र कुनै पनि वन्यजन्तु वा पंक्षीलाई शिकार गर्न, लखेट्न वा तर्साउन वा कुनै पनि वन्यजन्तु, पंक्षी वा कीट किटाणुलाई मार्न, पक्रन वा चोट पटक पुर्‍याउन वा कुनै पनि पंक्षी वा कीट किटाणुको फुल, गुँड वा गोला हटाउन, बिगार्न वा खल्वल्याउन हुँदैन ।

१०. अनुमतिपत्र नलिई माछा मार्न नपाईने: संरक्षकले तोकिदिएको शर्त पालना गर्ने गरी अनुसूची-१ बमोजिम दस्तुर बुझाई अनुसूची -३ बमोजिम अनुमतिपत्र नलिई आरक्षभित्र रहेको खोला वा पोखरीमा माछा वा अन्य कुनै जलचर मार्न पाइने छैन ।

११. नेपाल सरकारको पूर्व स्वीकृति लिनु पर्ने: कसैले आरक्षभित्र अनुसन्धान सम्बन्धी कुनै काम गर्न चाहेमा नेपाल सरकारको पूर्व स्वीकृति प्राप्त गरी गर्न सक्नेछ र त्यस्तोमा निजले गरेको अनुसन्धानको एकप्रति नेपाल सरकार समक्ष पेश गर्नु पर्नेछ ।

१२. विज्ञापन टाँस्न वा राख्न नपाइने: सरकारी काममा प्रयोग हुने बाहेक आरक्षभित्र कुनै व्यक्तिले कुनै किसिमको चिन्हपट, सूचना, विज्ञापन वा अन्य यस्तै किसिमका पोष्टरहरू टाँस्न वा राख्न पाउने छैन ।

१३.   बाजा बजाउन नपाइने: आरक्षभित्रका सरकारी कार्यालय भवन र अन्य यसै स्थानमा बाहेक अन्यत्र रेडियो, टेप, रेकर्ड वा बाजाहरू बजाउन पाइने     छैन ।

१४.   फोहर मैला गर्न नपाइने: कुनै पनि व्यक्तिले आरक्षभित्र फोहर मैला गर्न वा फाल्न हुँदैन ।

१५. विषालु पदार्थ फ्याँक्न नपाइने: आरक्षभित्र वा आरक्षभित्र पुग्ने गरी बाहिरबाट कुनै पनि व्यक्तिले कुनै किसिमको कीटनाशक विष वा रासायनिक पदार्थ वा लागू वा विषालु पदार्थ फ्यांक्न वा आरक्षभित्र भएर बग्ने नदी, खोला वा पानीको अन्य कुनै श्रोतमा हाल्न वा छर्न वा आरक्षभित्र पुग्ने गरी अरु तरिकाबाट हाल्न समेत हुँदैन ।

१६.    आरक्षभित्र सवारी चलाउँदा पालन गर्नु पर्ने शर्त: आरक्षभित्र सवारीको साधन चलाउने व्यक्तिले देहायको कुराहरूको अधिनमा रहेर मात्र सवारी चलाउनु पर्नेछ;-

(क)   पाँच टनभन्दा बढी वजनको सवारी चलाउन पाइने  छैन ।

तर आरक्षभित्र कुनै सरकारी परियोजना सम्बन्धी निर्माण कार्य गर्नु परेमा नेपाल सरकारले पाँच टनभन्दा बढी ओजनको सवारी चलाउन स्वीकृति दिन सक्नेछ ।

(ख)   सवारीको साधन, पैदल यात्रु वा अन्य वस्तुहरूको आवागमनमा वाधा पर्ने गरी सवारी चलाउन वा अङ्याई राख्नु हुँदैन ।

(ग)   हर्न बजाउन वा तोकिएको भन्दा बढी गतिमा सवारी चलाउन
हुँदैन ।

(घ)   नियम १९ को उपनियम (३) बमोजिम कुनै बाटो बन्द गरिएको अवस्थामा त्यस्तो बाटोबाट सवारी चलाउन हुँदैन ।

१६क.           आरक्षभित्रको राजमार्ग खुला रहने: आरक्षभित्रबाट जाने राजमार्ग कुनै पनि ओजनको सवारीका लागि सधै खुला रहनेछ । त्यसरी राजमार्गबाट जाने सवारीमा रहेका सबै सामानहरू प्रवेश चौकीमा जँचाई लैजान र ईजाजतपत्र प्राप्त हातहतियार साथमा लैजान समेत नियम ७ मा लेखिएको कुनै कुराले बाधा पुर्‍याएको मानिने छैन ।

१७. संकेत वा चिन्ह मान्नु पर्ने: आरक्षको क्षेत्रभित्र सबै सवारी चालकले आरक्षको कर्मचारीले गरेको संकेत वा चिन्हलाई वा त्यस्तो संकेत वा चिन्ह जनाउनको लागि राखिएको कुनै चिन्हपट बमोजिम सवारी चलाउनु पर्नेछ ।

१८. आवागमनमा प्रतिबन्ध: संरक्षक भए संरक्षकको, संरक्षक नभए सहायक संरक्षकको र सो दुबै नभए नेपाल सरकारले तोकेको कुनै कर्मचारीको लिखित अनुमति विना सूर्यास्तदेखि सूर्योदयसम्म आरक्षभित्र पस्न वा हिंडडुल गर्न वा सवारी चलाउन हुँदैन ।

१९. बाटोको सुविधा: (१) संरक्षक भए संरक्षकले, संरक्षक नभए सहायक संरक्षकले र सो दुबै नभए नेपाल सरकारले तोकेको कुनै कर्मचारीले आरक्षभित्र सर्वसाधारण जनताका सुविधाको लागि पैदल यात्रा गर्न, घरपालुवा जीवजन्तु हिंडाउन वा सवारी साधन चलाउन चिन्हपट लगाई बाटो तोकिदिन सक्नेछ र सर्वसाधारणले यसरी चिन्हपट लगाई तोकिदिएको बाटो मात्र उपयोग गर्नु पर्नेछ ।

(२) उपनियम (१) मा तोकिएको अधिकारीको लिखित अनुमति बिना कुनै पनि अवस्थामा कुनै व्यक्तिले उपनियम (१) बमोजिम चिन्हपट लगाई तोकिदिएको बाटो छोडी अन्य बाटोको प्रयोग गर्न पाउने छैन ।

(३) उपनियम (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रतिकूल मौसममा त्यस्तो कुनै बाटो बन्द गर्न उपयुक्त ठानेमा मौसम अनुकूल नहुन्जेलसम्म बन्द गर्नसकिनेछ ।

१९क. दस्तूर बुझाउनु पर्ने: आरक्षभित्र देहायका काम गर्न चाहने व्यक्तिले
अनुसूची -१ बमोजिम दस्तूर बुझाई अनुसूची-४ बमोजिमको अनुमतिपत्र लिनु पर्नेछ:-

  • सवारी चलाउन,
  • आरक्षको गाईडको सेवा उपलब्ध गर्न,
  • खर खडाई काट्न,
  • नियम १९ अनुसार सुविधा प्राप्त बाटोबाट घरपालुवा जन्तु आफ्नो साथ लैजान ।

२०. सवारीको साधन वा घर पालुवा जन्तु पक्री कारबाहीको लागि बुझाउने: यस नियमावली बमोजिम आरक्षभित्र सुविधा दिएको बाटो बाहेक अन्य बाटोबाट कुनै सवारीको साधन चलाएको वा घर पालुवा जीवजन्तु हिंडाएको भेटिएमा संरक्षक भए संरक्षकले, संरक्षक नभए सहायकले र सो दुबै नभए नेपाल सरकारले तोकेको कुनै कर्मचारीले पक्री सम्बन्धित अधिकारीको समक्ष कारबाहीको लागि बुझाउनेछ ।

२१. गिरफ्तार गर्न सकिने: (१) संरक्षकबाट वारेण्ट प्राप्त गरी सहायक संरक्षक, वन्यजन्तु गार्ड वा आरक्षका अन्य कर्मचारीले ऐन वर्खिलाप काम गरेको अभियोगमा कुनै व्यक्तिलाई गरिफ्तार गर्न वा त्यस्तो व्यक्तिको मालसमान वा सवारीको साधनको खानतलासी लिन सक्नेछ ।

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै अभियुक्त भागी जाने अवस्था भएमा भने विना वारेण्ट पनि सहायक संरक्षक, रेन्जर वा सुवेदार दर्जासम्मका वन्यजन्तु गार्डले अभियुक्तलाई पक्राउ गर्न वा निजको सरसामान वा सवारीको खानतलासी लिन सक्नेछ ।

२२. सरकारी कामको लागि आरक्षभित्र प्रवेशमा छुट: यस नियमावलीमा लेखिएको कुनै कुराले पनि आरक्ष वा अन्य कुनै सरकारी कार्यालयको कुनै कर्मचारीलाई आफ्नो कार्यालय वा अन्य कुनै सरकारी कार्यालयको आदेशा अनुसार कुनै सरकारी काम कारबाही कार्यान्वयन गर्नको लागि आरक्षभित्र कुनै समयमा पनि प्रवेश गर्न वाधा पुर्‍याएको मानिने छैन ।

२३. मुद्दा हेर्ने अधिकारी: (१) यस नियमावली अन्तर्गत कसूर सम्बन्धी मुद्दाको कारबाही र किनारा गर्ने अधिकार संरक्षकलाई हुनेछ ।

(२) उपनियम (१) को सर्वसामान्यतामा प्रतिकूल असर नपर्ने गरी देहायको कसूर सम्बन्धी मुद्दाको कारबाही र किनारा गर्ने अधिकार सहायक संरक्षक वा रेन्जरलाई हुनेछ ।

(क)   नियम ४ बमोजिम प्रवेशपत्र नलिई आरक्षभित्र प्रवेश गरेमा,

(ख)   नियम ६ को खण्ड (ग), (घ) वा (ङ) को बर्खिलाप कुनै काम कारबाही गरेमा,

(ग)   नियम १० बमोजिम अनुमति नलिई माछा वा अन्य कुनै जलचर मारेमा,

(घ)   नियम १२ को बर्खिलाप चिन्हपट, सूचना, विज्ञापन वा पोष्टरहरू टाँसेमा वा राखेमा,

(ङ)   नियम १३ को बर्खिलाप बाजा बजाएमा,

(च)   नियम १४ को बर्खिलाप फोहर मैला गरेमा वा फ्याँकेमा,

(छ)   नियम १६ वा १७ को बर्खिलाप सवारी चलाएमा,

(ज)   नियम १८ को बर्खिलाप आरक्षभित्र पसेमा, हिंडडुल गरेमा वा सवारी चलाएमा,

(झ)   नियम १९ को बर्खिलाप काम कारबाही गरेमा ।

२३क. अनुसूचीमा संशोधन: नेपाल सरकारले आवश्यक देखेमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी अनुसूचीहरुमा संशोधन गर्न सक्नेछ ।

 

अनुसूची -१ दस्तूर

(नियम ४, १० र १९क. सँग सम्बन्धित)

दस्तूर

  • आरक्षको प्रवेश दस्तूर (प्रति व्यक्ति प्रतिदिन)

नेपाली नागरिकलाई                                                                 रु. २०।–

सार्क मुलुक भित्रका अन्य नागरिकलाई                  रु. २००।–

अन्य विदेशी नागरिकलाई                            रु. ५००।–

(दशवर्ष भन्दा मुनिका केटाकेटीलाई दस्तूर लाग्ने छैन)

  • क्याम्पिङ्ग (वास बस्ने) दस्तूर (प्रतिव्यक्ति प्रत्येक रातको लागि):

नेपाली नागरिकलाई                                 रु. ५०।–

सार्क मुलुक भित्रका अन्य नागरिकलाई                  रु. २००।–

अन्य विदेशी नागरिकलाई                            रु.  ५००।–

  • माछा मार्ने दस्तूर (बल्छीले मात्र प्रतिव्यक्ति प्रतिदिनको लागि):

नेपाली नागरिकलाई                                 रु. ५०।–

सार्क मुलुक भित्रका अन्य नागरिकलाई          रु. २००।–

अन्य विदेशी नागरिकलाई                            रु. ५००।–

  • सवारी साधन दस्तूर:
  • सवारी साधन दस्तूर सुविधा प्राप्त बाटोका लागि:-
  • कार, जीप, बस, ट्र्याक्टर, लरी वा ५ टनसम्मको ट्रकको लागि          रु. ५०।–
  • मोटर साइकल, टाँगा वा बयल गाडाको लागि               रु. १०।–
  • अन्य आरक्ष पथका लागि:
  • मोटर इन्जिन जडान भएको कुनै पनि साधनको लागि रु. १५०।–
  • पर्यटक घुमाउने व्यवसायिक (जंगल ड्राइभ)

कार                                 रु. १०००।–

जिप                                 रु. २०००।–

भ्यान                                रु. २५००।–

  • हेलिकप्टर अवतरण प्रत्यक पटकको लागि         रु.  २०००।–
  • खर खडाई दस्तूर (प्रतिपूर्जी): रु. १०।–
  • प्रत्येक घरपालुवा जीवजन्तुलाई आरक्षको सुविधा प्राप्त बाटोबाट लैजाँदाको दस्तूर लाग्ने छैन ।
  • ————-

सिनेमा (डकुमेन्ट्री फिल्म) छायाँङ्कन दस्तुर:

नेपाली नागरिकलाई                    रु.  ५०००।-

सार्क मुलुकभित्रका  नागरिकलाई                      रु. २५०००।-

अन्य राष्ट्रका नागरिकलाई  यु.एस. डलर १,०००.०० बरावरको नेपाली रुपैयाँ

द्रष्टव्य: छायाँङ्कन टोलीका साथ विभागले एकजना सर्म्पक अधिकारी खटाउनेछ ।

द्रष्टव्य:

  • रीतपूर्वकको प्रवेशपत्र बाहकलाई मात्र आरक्षभित्र प्रवेश गर्न दिइनेछ ।
  • खर खडाई पूर्जीको म्याद ७ दिनको हुनेछ ।
  • व्यवसायिक जंगल ड्राइभमा प्रयोग गरिने सवारी साधनमा निम्नानुसारको संख्या भन्दा बढी पर्यटक राख्न पाइने छैन ।

कार   –  ४ जना

जिप   – १० जना

भ्यान -१५ जना

  • सिनेमा डकुमन्ट्री खिच्ने अनुमतिपत्रको म्याद एक महिनासम्म बहाल रहनेछ ।
  • गाइड शुल्क बुझाउने गाइडलाई आरक्ष प्रवेश दस्तूर लाग्ने छैन ।
  • प्रवेशपत्र वा अनुमतिपत्र नलिई आरक्षभित्र प्रवेश वा उपरोक्त बमोजिम कुनै काम गर्ने व्यक्तिलाई तोकिएको दस्तूरमा शत प्रतिशत अतिरिक्त दस्तूर लिई प्रवेशको अनुमति दिइनेछ ।

मिति २०५७।२।९ को राजपत्रमा प्रकाशित सूचनाद्वारा संशोधित ।

मिति २०५९।२।२७ को राजपत्रमा प्रकाशित सूचनाद्वारा झिकिएको ।

मिति २०६३।१।३१ को राजपत्रमा प्रकाशित सूचनाद्वारा थप ।

अनुसूची -२ (नियम ४ (१) सँग सम्बन्धित)

(नियम ४ (१) सँग सम्बन्धित)

नेपाल सरकार

वन तथा भू-संरक्षण मन्त्रालय

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

———————- आरक्ष कार्यालय

सि.नं. ‍——————-

मिति——————-

प्रवेशपत्र

प्रवेशपत्र लिने व्यक्तिको नाम, थर, वतन:-

उमेर:-

नागरिकता:-

प्रवेश गर्ने व्यक्तिको संख्या:‍-

प्रवेश  दस्तूर:-

 

प्रवेशपत्र प्रदान गर्नेको दस्तखत

——————————

अनुसूची -३ (नियम १० सँग सम्बन्धित)

(नियम १० सँग सम्बन्धित)

नेपाल सरकार

वन तथा भू-संरक्षण मन्त्रालय

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

———————- आरक्ष कार्यालय

 

सि.नं. ‍——————-

मिति——————-

अनुमतिपत्र

अनुमतिपत्र लिने व्यक्तिको नाम, थर, वतन:-

उमेर:-

नागरिकता:-

माछा मर्न पाउने खोला वा पोखरीको नाम, खण्ड:-

अनुमतिपत्र बहाल रहने अवधि:‍-

माछा मार्दा पालन गर्नु पर्ने शर्त:-

अनुमतिपत्र  दस्तूर:-

 

अनुमतिपत्र प्रदान गर्नेको दस्तखत

——————————

अनुसूची -४  (नियम १९क. सँग सम्बन्धित)

 (नियम १९क. सँग सम्बन्धित)

नेपाल सरकार

वन तथा भू-संरक्षण मन्त्रालय

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

———————- आरक्ष कार्यालय

सि.नं. ‍——————-

मिति——————-

अनुमतिपत्र

दस्तूर बुझाउनेको नाम, थर, वतन:-

  • सवारी वा घरपालुवा जीवजन्तुको किसिम:-

सवारी नम्बर:-

दस्तूर:-

  • खरखडाई संकलन गर्न क्षेत्र:-

दस्तूर:-

अवधी:-

अनुमतिपत्र प्रदान गर्नेको दस्तखत

——————————