परिच्छेद–१० निर्वाचन बदर सम्बन्धी व्यवस्था

परिच्छेद–१० निर्वाचन बदर सम्बन्धी व्यवस्था

४३. निर्वाचन बदर गर्न उजूर दिन सक्नेः (१) सम्बन्धित उम्मेदवारले देहायका कुनै आधारमा निर्वाचन बदर गरी पाऊँ भनीे उजूर गर्नु पर्ने कारण सिर्जना भएको मितिले पन्ध्र दिनभित्र सम्बन्धित अदालतमा उजूरी दिन सक्नेछः–

(क) निर्वाचनमा यस ऐनको परिच्छेद–२, ३, ४, ५, ६ र ७ विपरीतको कार्य भएकोलेनिर्वाचन निष्पक्ष नभएको,

(ख) निर्वाचनमा कुनै व्यक्तिले उम्मेदवार हुनको लागि दिएको मनोनयनपत्र सदर हुनु पर्नेमा सदर नभएको वा बदर वा खारेज हुनु पर्नेमा बदर वा खारेज नभएकोले त्यस्तो निर्वाचनको नतिजामाफरक परेको,

(ग) निर्वाचित उम्मेदवारले निर्वाचनमा प्रचलित सङ्घीय कानून बमोजिम तोकिएको हदभन्दा बढी खर्च गरेको वा निजले अस्वाभाविक रुपले वा गैरकानूनी प्रयोजनको लागि खर्च गरेकोवा गैरकानूनी रुपमा सहयोग प्राप्त गरेको ।

(२) उपदफा (१) बमोजिम दिएको उजूरी प्रमाणित भएमा अदालतले निर्वाचित उम्मेदवारको निर्वाचन बदर गर्नेछ ।

(३) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका कुराहरु प्रमाणित भएमा त्यस्तो निर्वाचन बदर हुने छैनः–
(क) उपदफा (१) को खण्ड (क) बमोजिमको कुनै काम कारबाही निर्वाचित उम्मेदवार वा निजको प्रतिनिधिको जानकारी वा अनुमति बिना भएको वा निजले निर्वाचनमा त्यस्तो काम कारबाही हुन नदिने प्रयत्न गरेको, वा

(ख) उपदफा (१) को खण्ड (क) मा उल्लेख भएको कुनै काम कारबाहीबाट निर्वाचनको परिणाममा वास्तविक रुपमा असर नपरेको।

४४. दोहोर्याई मतगणना हुन सक्नेः (१) कुनै निर्वाचनमा सम्बन्धित उम्मेदवारले देहायका कुराको आधारमा मतगणना कार्य बदर गरी पाऊँ भनी उजूर गर्नु पर्ने कारण सिर्जना भएको मितिले पन्ध्र दिनभित्र सम्बन्धित अदालतमा उजूरी दिन सक्नेछः–
(क) आफूले बढी मत प्राप्त गरेको भए तापनि अर्काे उम्मेदवारले गैरकानूनी तरीकाले बढी मत प्राप्त गरी विजयी भएको,

(ख) बदर हुने मतपत्र बदर नगरेको वा कानून बमोजिम सदर हुने मतपत्र सदर नगरेको,

(ग) कानून बमोजिम मतगणना गर्नु पर्नेमा त्यस बमोजिम नगरी मतगणना गरेको।

(२) उपदफा (१) बमोजिम दिएको उजुरी प्रमाणित भएमा अदालतले त्यस्तो मतगणना कार्य बदर गरी दोहोर्याई मतगणना गर्न सक्नेछ ।

(३) उपदफा (२) बमोजिम मतगणना गर्दा सम्बन्धित निर्वाचन क्षेत्रका सबै उम्मेदवारले पाएको मत गणना गर्नु पर्नेछ ।

(४) उपदफा (२) बमोजिम मतगणना गर्दा उम्मेदवार वा निजको प्रतिनिधिको रोहवरमा गर्नु पर्नेछ । तर मतगणनाको रीतपूर्वक जानकारी दिएकोमा कुनै उम्मेदवार वा निजको प्रतिनिधि उपस्थित नभएको कारणले मतगणना गर्न बाधा पर्ने छैन ।

(५) उपदफा (२) बमोजिम मतगणना गर्दा उजुरवाला उम्मेदवार वा अन्य कुनै उम्मेदवारले बढी मत पाएको प्रमाणित भई त्यसकोकारणले निर्वाचन परिणाम फरक पर्ने देखिएमा निर्वाचित उम्मेदवारको निर्वाचन परिणाम बदर हुनेछ र अदालतले बढी मत पाउने उम्मेदवार कानून बमोजिम निर्वाचित भएको निर्णय गर्नेछ ।

४५. मतदान गरेको विषयमा नसोधिनेः यस ऐन वा प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐन अन्तर्गत चलेको कुनै मुद्दा मामिला वा कानूनी कारबाहीमा कुनै पनि साक्षी वा अन्य कुनै व्यक्तिलाई निर्वाचनमा निजले कसलाई मत दिएको हो भनी सोधिने छैन ।

४६. धरौटी राख्नु पर्नेः (१) दफा ४३ वा दफा ४४ बमोजिम उजूरी दिँदा पन्ध्र हजार रुपैयाँ धरौटी राख्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिमको उजूरी झुट्टा ठहरेमा सो उपदफा बमोजिम राखिएको धरौटी जफत हुनेछ ।

४७. मत बराबर भएमा गर्नेः दफा ४४ बमोजिम मतगणना गर्दा दुई वा दुईभन्दा बढी उम्मेदवारहरुले पाएको मत सङ्ख्या बराबर भई निर्वाचित उम्मेदवार छुट्याउन नसकिने भएमा अदालतले मत बराबर पाउने उम्मेदवारहरु बिच गोला हाली निर्णय गर्नु पर्नेछ र त्यस्तो निर्णय बमोजिम छानिएको उम्मेदवारले एक मत बढी प्राप्त गरी निर्वाचित भएको मानिनेछ ।

४८. प्रमाण नलाग्नेः यस ऐन बमोजिमको मुद्दाको कारबाहीको सिलसिलामा अदालतले सोधेको कुनै प्रश्नको सम्बन्धमा कुनै साक्षीले दिएको जवाफ निजको विरुद्धमा चलेको कुनै मुद्दामा प्रमाण लाग्ने छैन र त्यस्तो जवाफलाई प्रमाणको रुपमा पेश गर्न पाइने छैन ।

४९. उजूरी फिर्ता लिन सक्नेः उजूरवालाले दफा ४३ वा ४४ बमोजिम दिएको उजूरी अदालतको अनुमतिले फिर्ता लिन सक्नेछ ।
तर कुनै अनुचित लाभको लागि उजूरी फिर्ता लिन निवेदन दिएको हो भन्ने लागेमा
अदालतले त्यस्तोउजूरी फिर्ता लिन अनुमति दिने छैन ।